Sunday, November 10, 2019

३७ सय लाभग्राही हराए

शर्मिला उप्रेती
विदुर/नुवाकोटमा भूकम्पको कारण घरको क्षति भएर लाभग्राही सूचीमा परेका ३७ सय भन्दा बढी लाभग्राही सरकारी सम्पर्कबाट हराएका छन् ।
२०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पको कारण घरमा क्षति ब्यहोरेका पीडितलाई सरकारले लाभग्राही सूचीमा समावेश गरेर नयाँ घर बनाउनको लागी तीन लाख रुपैयाँ दिने जनाएपनि नुवाकोटका ३ हजार ७५८ लाभग्राही सम्पकमा नै नआएको जिल्ला आयोजना कार्यान्वय इकाईले जनाएको छ ।
कविलासमा भुकम्पपछि पुनर्निर्माण भएको एक घर । तस्बिर : इमेज
भूकम्प पीडित लाभग्राही सूचीमा परेका धनीले स्थानीय सरकार समक्ष तोकिएको मापदण्ड अनुसार घर निर्माण सम्झौता गरेपछि उनीहरूलाई पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ दिने भएपनि सम्झौता गर्न एवं रकम लिन नै नआएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनायो । नुवाकोटमा ७६ हजार ८०९ घरधुरी लाभग्राही भएपनि अहिलेसम्म ७३ हजार ५१ परिवारले मात्र नयाँ घर निर्माणको लागी सम्झौता गरेर पहिलो किस्ता बापतको सरकारी अनुदान लिएका छन् । ४ वर्ष बित्दापनि नुवाकोटमा पुननिर्माणले कार्य सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसरी घरमा क्षती भएको भन्दै सरकारी सूचीमा नाम रहेर पनि रकम लिन सम्पर्कमा नआउनुले उनीहरु नक्कली भुकम्प पिडित रहेको अनुमान गरिएको छ । पहिलो किस्ता रकम लिएपछि घरको तयार गर्नुपर्ने संरचना नभएकै कारण उनीहरु थप रकम लिनका लागि नआएकोले यत्तिको संख्यामा लाभग्राहीहरु हराएको अनुमान गरिएको छ । 


‘काम यथास्थितिमा राख्नु’

प्रितिका थापा
विदुर/गल्छि–त्रिशुली–बेत्रावती–मैलुङ्ग सडक आयोजनालाई काम यथास्थितिमा राख्न सर्वाेच्च अदालतले आदेश गरेको छ । अहिले जे भईरहेको हो त्यही अवस्थामा कात्तिक २६ गतेसम्मलाई राख्नका लागि अदालतबाट आदेश आएको हो । काम नियमित हुने वा रोकिने चाँहि २६ गते थाहा हुनेछ । न्यायाधीश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई काम यथास्थितिमा राख्न निर्देशन दिएको हो । २६ गते दुवै पक्षलालई बोलाएर छलफल गराउने भएकोले उक्त दिन तोकिएको हो । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका  नारायणप्रसाद प्याकुरेलले सडक आयोजनाले मुअब्जा वितरण न्यायोचित नगरेको भन्दै रिट दायर गरेका छन् ।

सदस्यको निधन

विदुर/बेलकोटगढी नपा वडा नं २ (कुमरी) का सदस्य सान्नानी सुनारको मृत्यु भएको छ ।
६१ वर्षको उमेरमा उनको मृत्यु भएको हो । विभिन्न रोगको कारण बिरामी सुनार काठमाडौमा उपचार गराएर केही दिन अघि घर फर्किएका थिए । उनी २०७४ साल बैशाख ३१ मा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट महिला दलित वडा सदस्य पदमा निर्वाचत भएका थिए ।

१२२ मुद्दा किनारा लाग्यो

सुजित भण्डारी
न्यायाधीश उमेशप्रसाद लुईटेल
विदुर/तीन महिना अघि कास्कीबाट नुवाकोट सरुवा भई आएका जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलले शुक्रवार पत्रकारहरूसंग भेटघाट गरेका छन् । अदालतको हालसम्मको कार्य प्रगती विवरण सार्वजनिक गर्न तथा अदालत प्रति पत्रकारहरूको धारणा सुन्नका लागि जिल्ला अदालतले कार्यक्रमको आयोजना गरेको थियो । विगतमा विभिन्न घटनामा जोडिएको अदालत, अदालतका कर्मचारी र नुवाकोटका जिल्ला न्यायाधीशको छवी विस्तारै सुधार हुँदै आएको प्रतिक्रृया पत्रकारहरूले दिए ।
यसै बीच, नुवाकोट जिल्ला अदालतले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा १२२ थान मुद्दाको किनारा लगाएको छ । गत बर्षहरूको लगत सरेर आएको सहित ५३५ थान मुद्दा रहेकोमा हालसम्म १२२ थान मुद्दाको फैसला भएको श्रेष्तेदार शिबप्रसाद बञ्जाराले सुनाए । उनका अनुसार कम कर्मचारीका कारण अदालतमा मुद्दा र कामको चाप बढेको छ ।
न्यायाधीश उमेशप्रसाद लुईटेलले जिल्ला अदालतका केही वेतिथिहरूको सुधार गर्दै काम थालिएको बताए । नागरिकहरूलाई सक्दो छिट्टो न्याय दिन आफु र कार्यालय लागिरहेको सुनाए । ‘जनताले तत्कालै अनुभत गर्ने गरी हामी काम गर्नेछौं’ न्यायाधीश लुईटेलले भने ।
जिल्ला अदालत नुवाकोट बार ईकाई अध्यक्ष देबराज कँडेलले पछिल्लो समय न्यायका लागि अदालत आउने नागरिकहरूले सहजता महशुस गरिरहेको सुनाए । ‘हिजोका केही मस्या र नराम्रा कुराका कारण अहिले राम्रो र परिर्वनत देखिएको छ, कँडेलले भने– कुनै पनि कारण र बहानामा न्याय मर्न हुन्न, जिल्लाक ानागरिकहरूले न्याय पाउने विषयमा सबै पक्ष सम्वेदनशील बन्नुपर्छ ।’ नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले अदालत, सरकारी वकिलको कार्यालयले नागरिकहरूलाई निःशुल्क प्रदान गर्ने सेवाका बारेमा धेरै नागरिक जानकार नरहेको बताए ।

काट्ने बेलामा बाला पनि लागेन

संगम भड्ताल
विदुर/धेरै फल्ने अनुमानमा उन्नत धानको बीउ लगाएका तारकेश्वर गाउँपालिका ४ बुधसिङ चारघरेका किसानहरू धान काट्ने बेलासम्म बालै नलागेपछि चिन्तित छन् ।
३ रोपनीमा गरिमा हाइब्रिड जातको धानको बीउ लगाएकोमा अहिले धान काट्ने बेलासम्ममा पनि बाला नलागे पछी किसानहरू चिन्तित भएको रमेशपुकार वस्तीले बताए ।  उनी पनि यही समस्इामा परेका छन् । त्यसो त उनी मात्र नभई छिमेक विष्णुबहादुर पुडासैनीले पनि त्यही जातको  बीउ लगाएका थिए ।
उनीहरूले यही गाउँको एग्रिगेट पसलबाट धानको बीउ ल्याएर लगाएका थिए । अरू जात लगाउनेले धान भित्र्र्याइसकेका छन् । उनीहरूको खेतमा भने भर्खरै कतै कतै मात्रै धान निस्किन थालेको छ ।
उता, नुवाकोटको लिखु गाउँपालिका ५थानसिङ, पञ्चकन्या गाउँपालिका २ मिश्रफाँट, वडा ५ भद्रुटार, शिवपुरी गाउँपालिका ५, ६, ८ वडाका सुनखानी, गुरुङगाउ, थानापति, बेलकोटगढी नगरपालिका ७ र ८ को रातोमाटे, जिलिङ, तारकेश्वर गाउँपालिका १ दाङसिङ, ४ को बुधसिङ चारघरे, ढकालथोक, विदुर नगरपालिका ३ लगायतका स्थानमा पनि उही धानखेती गरिएको छ । त्यहा पनि यस्ता समस्या रहेको बताइएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोटमा अहिले उक्त धान लगाइएको क्षेत्रको लगत लिने कार्य भइरहेको जनाइएको छ । अहिले सम्बन्धित स्थानिय तहबाट केन्द्रले लगत संकलन गरिरहेको छ ।

साना शहरीको ९० प्रतिशत काम !

प्रितिका थापा
विदुर/विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्य सहित निर्माण भइरहेको विदुर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम ९० प्रतिशत सकिएको दावी पेश भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजना कार्यान्वयन सम्वन्धी सहजीकरण बैठकमा उक्त दावी पेश भएको हो । दुई वर्षमा आयोजनाको निर्माण कार्य सकिने गरि २०७३ साल जेठ १४ गते सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिए पछि पहिलो पटक ३५१ दिनमा सक्नेगरि समय थप गरिएको थियो ।
थप गरिएको उक्त समयमा पनि आयोजना सम्पन्न नभए पछि २४५ दिनको लागि अर्थात आउदो माघ १४ गतेसम्मलाई समय थपिएको थियो । दोस्रो पटक समय थपिएको निर्धारित समय सकिन मात्र तीन महिना मात्र बाँकी रहेको छ । बाँकी रहेको ३ महिनामा जसरी पनि काम सम्पन्न गर्न आयोजनालाई सम्वन्धितहरूले निर्देशन दिए । बेत्रावतीदेख भैसेसम्मको साढे दुई किलोमिटरमा र ढुङ्गेदेखि गंगटेसम्म पर्ने बजार क्षेत्रमा पाइपलाइन बिच्छाउन स्थानीयबाट अबरोध आइरहेको गुनासो आयोजना पक्षले गरे पछि नुवाकोट क्षेत्र नम्बर २ का सासंद नारायणप्रसाद खतिवडाले त्यसको समाधानको लागि वडा स्तरदखि संघसम्मको जनप्रतिनिधिले पहल गर्ने प्रतिवद्धता जनाए ।
आयोजना सम्पन्न गर्न पटकपटक समय थपिरहदा सरकारको समेत बदनामी हुने
भएकोले कहिकतै अवरोध सिर्जना भएमा जनप्रतिनिधि, प्रशासन, प्रहरीसँगै नागरिक समाजसँगै बसेर अवरोधको बाटो खोल्नु पर्ने प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले बताए ।
बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आयोजनाले काम गर्ने बाताबरण हुँदा समेत ठेहेदार कम्पनीलाई दोष लगाएर बसेको बताए । बिदुर नगरपालिकाका नागरिकहरूले आयोजना समयमै सम्पन्न गर्नमा सहयोग गरेता पनी समय थप्ने बाहाना आयोजनाले खोजेको बताए । बिदुर नगरपालिका भित्र एसियालि बिकास बैङकको झण्डै १ अर्ब ऋण सहयोगमा आयोजना निर्माण भैरहेको छ । 

रसुवा कला यात्रा २०७६

बेत्रावती/विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यका बाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरेको छ ।
फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरूले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरेको हो ।
कार्यक्रम अन्र्तगत बिहिवार बेलुका कदलाकारहरू बेत्रावती आइपुगेका थिए । शुक्रवार बेत्रावतीमा र कालिकास्थानमा बसेर उनीहरूले चित्रकला कोलेरका छन् । आइतवार नुवाकोट दवरवार र नुवाकोटका केही स्थानहरूको अवलोकन भ्रमण सकेर उनीहरूको टोली उपत्याका फिर्ता भएको छ । आइतवार विदुर सिथ्त सुखद पाहुना घर।ले कलाकारहरूलाई नुवाकोटको चित्रकलामा उतार्नुपर्ने पक्ष र क्षेत्रहरूको जानकारी दिँदै विदाई कार्यक्रम गर्यो ।

यसपटक ‘रसुवा कला यात्रा’ नाम दिएर चित्रकला कार्यशाला आयोजना गरेको कार्यक्रमका संयोजक दिवेश प्रधानले बताए । कलायात्राका सहभागी कलाकारको टोली उपत्यकाबाट बिहिबार बेत्रावती आईपुगेका छन् । रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण पछि  शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधिनी) एकादशी मेलामार शनिवार कालिकास्थानमा सकिएको हो ।
कलायात्रामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, राधेश्याम कर्माचार्य, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, झलक केसी, सूर्यराम सुवाल, रुविन बाडेलगायत कलाकार सहभागी हुँदैछन् । स्थानीयस्तरमा कलाकार शशीकुमार डङ्गोल र डिल्लीराम घिमिरेले संयोजन गरेका छन् । यस विषयमा पत्रकार नारायण ढुङ्गानाले तयार पारेको थप सामाग्री :
कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्रउने बेलाको पहेँलपुर धान । धान भित्र्र्याइसकेपछिका खेतका टम्म मिलेका सुख्खा गरा । माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशुली ।
हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौँबाट कलायात्रामा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए । क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया)का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उनको मन तान्यो । बेत्रावतीको भिमसेनथानबाट क्यामरामा कैद भएको नुवाकोटको तुप्चेलाई एक्रेलिकका माध्यमबाट उनले क्यानभास रङ्ग्याए ।
उत्तरगयास्थित त्रिशुली र फलाखु खोलाको सङ्गम किनारबाट चित्रकार राधेश्याम कर्माचार्यले पाखा, पखेरा र ढुङ्गासँग पौँठेजोरी खेल्दै नागबेली भएर छङ्छङ बग्दै गरेको त्रिशुलगङ्गालाई क्यान्भासमा उतार्न चुकेनन् । वैदिक पुराण श्रीमत्भागवत्को हिमावत्खण्डमा वर्णित गोसाइँकुण्डबाट बग्ने त्रिशुलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिने ठाउँ उत्तरगयाका रुपमा प्रख्यात छ । भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ कि छैन भनेर सोध्ने चलन रहेकाले पनि यसको महत्व धेरै छ भन्न सकिन्छ ।

नेपाली पर्वमा विभिन्न जिल्लाबाट आएर ब्रतालुहरूले स्नान गर्ने ठाउँमा ‘रसुवा कला यात्रा’ लिएर यसपाली राजधानीबाट चित्रकारको टोली आइपुगेको हो । ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे । कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशुलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा उने । उनीहरूको चित्रमा त्रिशुलीको छालमात्रै होइन काउले, भाल्चे र मानेगाउँ समेत कैद भयो ।
केही माथि थिए अर्का कलाकार दिवेश प्रधान । गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दै गरेको त्रिशुलीको बहावमा उनको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले । तल्लो भेगमा थिए कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे । त्रिशुलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल तथा यहाँ रहेका ठूलाठूला ढुङ्गासहितको प्राकृतिक दृष्य उनीहरूको क्यान्भासमा प¥यो । कलाकार प्रजापति भन्छन्–‘ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाई भित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो ।’ त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशुलीसँगै देखिने माथिल्लो पहाडी बस्ती उतार्न कूची चलाउँदै थिए कलाकार झलक केसी ।

माने गाउँलाई पृष्ठभूमिमा राखेर त्रिशुलीको बहावलाई कैद गरेका केसी त्रिशुलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएको अनुभव सुनाउछन् । अलीमाथि फलाखु खोलाका बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भासमा दृष्य बनाए । उनको क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो ।
कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन । उनले हरिबोधिनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाले । कञ्चन फलाखु खोला र त्रिशुलीको मिलन बिन्दु, त्यसमाथि बनेको झोलुङ्गे पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उनको क्यान्भासमा स्थान पायो । लक्ष्मीप्रसाद खतेजा र तथागत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उतारे ।
ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान् शिवले कालकुट विष
(हलाहल)  सेवन गरेका र कैलाशबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको बेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविश्वास छ । त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो ।
नेपाल तिब्बतबीचको युद्ध रोक्न वि.सं १८४९ मा भएको ऐतिहासिक बेत्रावती सन्धिले यसको ऐतिहासिक महत्वको स्मरण गराउँछ । योगी नरहरीनाथले वि.सं २०४९ मा कोटीहोम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन् । यतिका महत्व बोकेर पनि उचित प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकीय महत्व ओझेलमा परेकाले यहाँको परिचय विश्वमा पु¥याउन चित्रकला कार्यशाला गरिएको ‘रसुवा कला यात्रा’का स्थानीय संयोजक शशिकुमार डङ्गोल बताउछन् ।

उनले वर्षांदेखिको आफ्नो सपना पूरा भएको बताए । विगत एक वर्षदेखि हरेक शनिबार स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएको फेसबुकबाट जोडिएको कलाकारको एक समूहले नजिकिँदो नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर पछिल्लो समया सम्पदा क्षेत्रमा चित्रकला कार्यशाला गर्दै आएको छ । चित्रका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले अहिले धार्मिक, ऐतिहासिक, पुरातात्विक र सम्पदा क्षेत्रमा पुगेर चित्रकला कार्यशाला आयोजना गरी प्रदर्शनसमेत गरिँदै आएको कलाकार दिवेश प्रधान बताउछन् ।
उनले बेत्रावती र कालिकास्थानमा बनाइएको चित्रलाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने बताए । बच्चाले लेख्न पढ्न नजान्ने बेलामा पनि चित्र कोर्न सक्छ । भावना व्यक्त गर्ने माध्यम हो चित्रकला । अभिलेखको महत्वपूर्ण माध्यम भएकाले पनि एउटा देशका लागि चित्रकला अति नै महत्वपूर्ण रहेको प्रधान बताउछन् । अझै धेरै अध्ययन चित्रकलाबाटै हुने गरेको उनले बताए ।
उक्त टोलीले यसअघि भोटेकोशी सभ्यता शीर्षकमा सिन्धुपाल्चोकमा चित्रकला कार्यशाला गरिसकेको छ । उक्त समूहले उपत्यकाका तीनै जिल्लामा शृङ््खलाबद्ध रुपमा कार्यशाला गर्दै आएको छ । त्यसैको निरन्तरता हो ‘रसुवा कला यात्रा’ । नियमित शनिबारीय स्थलगत चित्रकला कार्यशाला शृङ्खला अन्तर्गत रसुवाको कालिका गाउँपालिकामा पनि कार्यशाला आयोजना भएको रसुवाका कलाकार डिल्लीराम घिमिरेले बताए ।
उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्साल काठमाडौँबाट आएका कलाकारले बेत्रावतीको परिवेशलाई विश्वमा पु¥याउने प्रयास गरेकामा सराहना व्यक्त गरे । यस्ता कार्यक्रमले कलाकारमा निखारता आउने र स्थानको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास कलाकारको छ । तस्बिरहरु:शशीकुमार डंगोल/इमेज

दर्पण सहकारीको १० औं साधारण सभा

सहकारीको १० औं बार्षिक साधारण सभा 
विदुर/दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुरले दशौँ बार्षिक साधारण सभाको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । शनिवार विदुरमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिना, कोषाध्यक्ष रामेश्वर अधिकारी र लेखा समिति सदस्य सन्तोषकुमार तामाङको प्रतिवेदन पारित गरेको छ ।
विदुर नगरपालिका रोडमा स्थापना भएको संस्थाको शेयर पुँजी ५० लाख रहेको छ । १० औं बार्षिक साधारण सभाको अवसरमा संस्थाले आफ्ना शेयर सदस्यहरूलाई चाँदीको सिक्का प्रदान गरेको छ । सहकारीको १० औं स्थापना दिवस र बार्षिक साधारण सभा अंकित सिक्का शनिवार आयोजित कार्यक्रमका बीच वितरण गरिएको अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए । 
संस्थाले आफ्ना शेयर सदस्यहरूको हितका लागि सञ्चालित स्वास्थ्य उपचार कोषको रकम समेत प्रदान गरेको छ । २०७५ चैत्र २८ मा सवारी साधन दुर्घटनामा परी घाइते भएका शेयर सदस्य सन्तोषकुमार तामाङको उपचारका लागि संस्थाले १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
दर्पण सहकारीले आफ्नो स्थापना दिबसको अबसरमा शुक्रवार जिल्ला अस्पताल त्रिशुलीका बिरामीहरूलाई फलफुल समेत बितरण गरेको थियो ।
जिल्ला अस्पतालमा फलफुल वितरण गर्दै । तस्बिर : रोशन बोगटी/इमेज
यसै, बिच उत्प्रेरणा बहुउद्देश्यिय सहकारी संस्था विदुरले १२ औँ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न गरेको छ । सहकारीको कार्य समिति पुनः श्रीकृष्ण आचार्यकै अध्यक्षमा गठन भएको छ ।


सिसडोलमा महानगरको बीमा कार्यक्रम

केदार ढकाल
विदुर/काठमाडौँ महानगरपालिकाले नुवाकोटमा फोहोर फाल्दै आएको स्थान वरपरका नागरिकहरूलाई तत्कालै लाभ मिल्ने कार्यक्रमको घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बीमा गर्ने भएको हो ।
फोहोरका कारण स्थानीहरूमा अनेकौं समस्या परेको भन्दै बीमा गर्ने तयारी गरेको बताइएको छ । काठमाण्डौ महानगरपालिकाले १४ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको छ ।
बीमाका लागि अहिले प्रभावित नागरिकहरूको नामावली संकलनको काम भइरहेको बताईएको छ । नामावली संकलनको काम सकिएपछि बीमाको कार्य शुरु गर्ने महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले कताए । सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर फालिदै आएको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन भन्दा पनि बढी फोहर बस्तुहरू निस्कने अनुमान गरिएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत नुवाकोटको सिसडोलमा आइपुगिरहेको छ । अन्य फोहोर व्यवस्थापन उतै हुने गरेको छ ।
दुई वर्षका लागि भन्दै अहिले सम्म फोहर थुपार्दा स्थानीय निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि तीव्ररूपमा अघि बढेको जनाएको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । उक्र रकमबाट निर्माण थालिएको नयाँ डम्पिङ्ग साइटको काम सुरु भएपनि ढिलो गतीमा भइरहेको छ । 

कृषकलाई प्रविधि वितरण

ककनी/कृषिमा आधुनिकिकरण ल्याउन तारकेश्वर गाउँपालिकाको कृषि समुहलाई हाते ट्याक्टर बितरण भएको छ ।
गाउँपालिका र कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक सहयोगमा वडा नम्वर २ का कृषकहरूलाई हाते ट्याक्टर र पम्प उपलव्ध गराईएको हो । आधुनिक र प्रविधियुक्त खेतीमा लाग्न किसानहरूलाई कृषि औजार सामग्री वितरण गरिएको बताइएको छ । प्रविधिको प्रयोगले किसानहरू ब्यबसायीक हुने बिश्वास गाउँपालिकाको रहेको छ ।

दुईलाई बैंकको छात्रवृत्ति

विदुर/सानिमा बैंक किस्पाङ शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत दुई विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । बैंकले उपलब्ध गराएको छात्रबृत्ति गाउँपलिका अध्यक्ष छत्रबहादुर लामाले विद्यार्थीहरू सञ्जु तामाङ र रामशरण विश्वकर्मालाई प्रदान गरे । बैंकले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउदै आएको छ । त्यस अन्र्तगत जनही साढे ३७ हजार प्रदान गरिएको बैंकका किस्पाङ प्रमुख प्रसन्न सेढाईले बताए । 

ऐतिहासिक पाटी निर्माण सुरु

रोशन बोगटी
बट्टार/विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो बजारमा रहेको ऐतिहासिक पाटीको पुननिर्माण सुरु गरेको छ । पुरातत्व विभागले यो पाटी निर्माण गराउन थालेको हो । 
करिब ३ सय वर्षअघि निर्माण भएको पाटी विभागले दुरुस्तै निर्माण गर्ने विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष टलकमान श्रेष्ठले जनाए । मल्लकालमा निर्माण भएको सो पाटी निर्माणको लागि पुरातत्व विभागले ८० लाख रुपैयाँ बजेट तर्ज‘मा गरेकोमा त्यसमा निर्माण व्यवसायीले ५५ लाख रुपैयाँमा पहिलाको जस्तै संरचना तयार गर्ने बताइएको छ । २०७२ सालको महाभुकम्पले ध्वस्त भएको पाटी यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

जेष्ठ नागरिकको सम्मान

रानिपौवा\ककनी गाउँपालिकाले ९० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ ।
विसं २०७५ चैत्र मसान्तसम्म ९० वर्ष उमेर पार गरेका वडा नम्बर १, २ र ३ का १० जना जेष्ठ नागरिकलाई मंगलबार उनीहरूको घरमा नै पुगि सम्मान गरिएको उपाध्यक्ष सीता लामा खतिवडाले बताए । सम्मानित हुने जेष्ठ नागरिकलाई २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । उनको अनुसार सम्मानित हुने व्यक्तिहरूलाई दोसल्ला ओढाएर न्यानो कपडापनि प्रदान गरिएको छ ।

दुई हजार बढी सवारी साधन कारबाही

उषा रेग्मी
विदुर/नेपालीहरूको महान पर्वहरू बडादशै देखि तिहारहुँदै छठसम्मको अबधिमा नुवाकोटमा दुई हजार भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् भने दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको अनुसार दशैको फुलपातीदेखि अहिलेसम्मको अवधिमा दुई हजार सवारी साधन कारबाही गर्दै १६ लाख ९६ हजार रुपैया राजश्व संकलन भएको छ ।
पर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत गरिएको चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, चालक अनुमति पत्र नभई गाडी चलाएको लगायतका कुसरमा चालकहरू कारबाहीमा परेका छन् । जसमा ५२२ वटा ट्रक, ३७८ वटा जीप तथा कार, २०९ वटा मोटरसाईकल, १५३ वटा बस, ४५ वटा ट्रयाक्टर र यात्रुसंग बढी भाँडा असुल्ने ७ वटा बसलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए ।

हामी नागरिक स्तम्भको पहिलो सामाग्री

माछी जालैमा जेलिएको एउटा जिन्दगी
बेत्रावती\नुवाकोट र रसुवा जिलको सिमास्थल बेत्रावतीका मानबहादुर गुरुङ तीन दशकदेखि माछा मार्ने जालसँगै खेल्दै आएका छन् । बेत्रावतीको पुलमाथी एउटा लिखुरे फलाममा लेखिएको छ– रसुवा जिल्लामा हार्दिक स्वागत छ तर कतै लेखिएको छैन पुलमुनी एउटा जालहारी जिन्दगी छ भनेर । रसुवा छिर्ने ठाउँमा बेत्रावतीमा तपाईलाई स्वागत छ भनेर लेखिएको छ, पारी नुवाकोट वारी रसुवा । त्यही जिल्लाको प्रवेशद्धारमा छ एउटा छाप्रो ।
‘जिन्दगीको के भर छ र’ भन्ने गीत जस्तै लाग्छ उनलाई आफ्नै जीन्दगी आजभोलि । फलाखु र त्रिशुली नदीका किनारमा आफ्नो जीवनधान्न माछा मार्ने बहानामा नदीको छालसंग पौठेजोरी खेलेका अनगिन्ती स्मृतीले उनी आफैलाई कल्पनाको संसारमा पु¥याउने गर्छ अचेल । खोलाका चिप्ला ढुङ्गाहरू पानी चिप्लीएसरी उनको सुकुम्बासी जिन्दगी बितेको तीन दशक पुगेछ थाहै नपाई । ‘हिजो जस्तो लाग्छ पुल मुनी बसेको, अनुहारमा एक झप्को मुस्कान ल्याएर मानबहादुर भन्छन्– तीन दशक आँखै अगाडी चिप्लीएर गईसकेछ ।’ उनलाई लाग्न थालेको छ मान्छेको जीन्दगी पनि जालजस्तै जेलिएको छ । जेलिएपछि कतैबाट पनि निस्कन र उम्कने बाटो नभएजस्तो लाग्छ उनलाई ।
मजदुरी र माछा गुरुङको जिन्दगीको पर्याय हुन् । यसैबाट चारजनाको परिवार पाल्ने मेसो जुटाइरहेका उनले दुई छोराछोरीको लालनपालन र शिक्षादीक्षा समेत थेगेका छन् ।
उनका दुई छोराछोरीमध्ये छोरा आशिषले केही बर्ष अघि मात्रै रसुवा जिल्लाको लहरेपौवास्थित नीलकण्ठ उच्च माविबाट प्रबेशिका परीक्षा उत्तिर्ण गरेका थिए । सुकुम्बासीको छोरो बिद्यालयकै प्रथम भए पछि उनको खुसीको सिमा रहने । जिन्दगीमा त्यती धेरै खुसी नभएका मानबहादुर छोराको सफलताले उनलाई निकै खुसी तुल्यायो । ‘म मेरो जिन्दगीमा त्यति धेरै खुसी कहिल्यै भएको थिइन’ मानबहादुरले भने ।
आर्थिक अबस्था कमजोर भएका गुरुङ छोरालाई कलेजमा भर्ना गर्न नसक्दाको क्षणमा दुखि भएका रहेछन् । छोराका भर्ना गराउन नपाउदाँ उनका चार रात अनिदो बिते । हाल छोराले छात्रबृतीमा पढ्न पाएकोमा उनी खुसी छन् । ‘बिजयकुमार नाउँको पत्रकार आएका थिए उनैलै म पढाउँछु भनेर लगे, गुरुङले भने– मेरो छोराले इञ्जिनिरिङ्ग पढ्दै छ ।’ राम्रा घर बनाउन नसकेका उनले छोरालाई इञ्जिनियर बनाएर एउटा राम्रो घर बनाउने धोको छ । सानो झुप्रोमा हिउदँमा मात्रै बस्ने गरेका उनले बर्षायाम लाग्ने बित्तीकै बजारमा कोठा खोज्न जाने गरेका छन् ।

उपमेयरलाई खुल्ला पत्र

आदरणीय उपप्रमुखज्यू, बेलकोटगढी नगरपालिका
युद्धमा आफ्नो बा गुमाएको तपाईं आफैंमा एक क्रान्तिकारी योद्धा र सुझबुझ भएको नेता हुनुहुन्छ । प्राज्ञिक रूपमा पनि तपाईंको योग्यता मननयोग्य छ । फेसबुकमा पेजमा यहाँले आफ्नो नगरपालिकाको खास कुनै क्षेत्रमा फोहर संकलन गरिरहेको तस्विर राखेपछि मलाई सकसक लाग्यो र मैले जानेबुझेसम्मका केही सुझाव दिन मन लाग्यो । कमसेकम तपाईंको नगरपालिकामा खासगरि वातावरणीय क्षेत्रमा अनुकरणीय कदम चालियोस् र त्यसका लागि गम्भीर पहल होस् भन्ने आह्वानका साथ म यो आग्रह गर्दैछु ।
१. प्लास्टिकजन्य फोहरका कारण संसारका खोलानाला प्रदुषित छन् । ठूला मैदान र शहर हुँदै बग्ने नदीहरू त प्रदुषित भईहाले, गाउँठाउँका खोल्छाखाल्छी प्राङ्गारिक (अर्गानिक) पाखामा पनि विशाक्त प्लास्टिक छरिएका छन् । त्यसले पानी, जलचर र वन्यजन्तुको प्राकृतिक जीवन वर्वाद भएको छ । र, अन्तत : त्यसले हरियापरिया र मलिला पाखा र कुवा तथा पानीका मूलहरूलाई प्रदुषित पार्नेछ । अहिले नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पहल नगर्ने हो भने भोलि त्यसले कस्तो अवस्था निम्तेला, कल्पना नि गर्न सकिन्न ।
२. नाफा कमाउने होडमा पुँजिवाद/उपभोक्तावाद/बजारबाद/साम्राज्यवादले असिमित र अनावश्यक सामानहरू समेत सिर्जना गरेको छ । मान्छेको जीवनलाई सहज बनाउने नाममा त्यसले स्याम्पु, साबन, चक्लेट, गुट्खा र रक्सीका समेत अत्यन्त साना प्याकेट बनाएको छ । र, एकचोटी प्रयोग गरेर सडक/खोलामा सिधै फालिन्छन् त्यस्ता फोहर । गाडीमा हिँड्दा आलुचिप्स/चाउचाउ/कुरमुरे/झुरझुरेका प्याकहरू सर्वसाधारणले प्रयोगपश्चात फ्याँकेको देख्नुभएकै होला । मोबाइलका चार्जर लगायत प्रविधिजन्य फोहर पनि सिधै माटो र पानीमा मिसिन आइपुगेको छ ।
३. यस्ता प्लास्टिकजन्य नकुहिने फोहरले पृथ्वीलाई बर्वाद बनाउँदैछ तर उपभोक्तावाद र दलाल नोकरशाही/पुँजीपतिहरूको चंगुलमा फसेका राज्य सञ्चालकहरू ‘सिंगल युज’ प्लास्टिक रोक्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् ।
४. यस्तोमा कमसेकम तपाईंको नगरपालिकाले जस्तोसुकै प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान चलाउन सक्छ । ल्याइएको प्लास्टिकजन्य हलुका फोहोरको नगरपालिकाले प्रतिकिलोका हिसाबले पैसा दिन पनि सकिन्छ । च्यातिएका बोरा, प्रयोगमा नआउने सबै खालका प्लास्टिक, चाउचाउ, गुट्खाका खोल, टुटेफुटेका प्लास्टिकका भाँडा, ‘वन टाइम युज’ दारी काट्ने रेजर, फाटेका प्लास्टिकका नाम्ला, दाम्ला, चक्लेट÷बिस्कुटका मसिना/ठूला खोल, आदि सङ्कलन गर्न सकिन्छ । सङ्कलित प्लास्टिकहरू त रिसाइकल गर्ने कम्पनीलाई मासिक÷अर्धवार्षिक रूपमा बेच्न पनि सकिन्छ । फोहोर व्यवस्थापन बारे यस क्षेत्रका जानकारहरूसँग अझ बढी जानकारी होला ।
५. स्कुल पढ्ने विद्यार्थीहरूलाई विद्यालयबाटै सूचना दिएर यो काम गराउँदा झनै प्रभावकारी पो होला कि ! स्कुलमा वातावरण समूह बनाएर तिनलाई वडा र टोलहरूमा परिचालित गर्दा पो होला कि!  अनि वडा र टोलमा पनि प्राज्ञिक र समझदार व्यक्तिहरूको वातावरणीय समूह बनाउने कि ! स्कुले विद्यार्थी र त्यस्तो टोल समुहको समन्वयमा प्लास्टिक÷फोहर विरोधी अभियान सफल बन्छ कि!  अझ प्रत्येक वर्ष कसको टोल वडा सफा भनेर घोषणा पो गर्ने कि ! वषैपिच्छे कक्षा परिवर्तन हुने हुनाले कक्षा ८/९ का विद्यार्थीलाई विद्यालयको वातावरीय समुहमा पदेन यस्तो भूमिका पो दिने कि ! जे जसरी होस्, फोहर नगरपालिकामा आइपुगोस् ।
६. प्लास्टिक होस् या जुनसुकै फोहर, त्यसलाई सडक, घारी, नदीमा फ्यात्त फाल्न सहज हुन्छ । तर त्यसको व्यवस्थापन असहज हुन्छ तर कमरेड कविता, तपाईंले नाफाखोर पुँजिवादी व्यवस्थाले जन्माएको यो घिनलाग्दो फोहरको व्यवस्थापनमा जमेर कदम चाल्नुभयो भने हाम्रो क्षेत्रले तपाईंले सधा स्मरण गर्नेछ । शहिदपुत्रीले धर्तिप्रति निर्वाह गरेको असल कर्तव्यलाई पितृप्रतिको श्राद्धको रूपमा असल मान्छेहरूले सम्झनेछन् । तपाईंलाई ख्याल गराउँ, सिक्किमको एउटा ठूलो गाउँक्षेत्रमा पूर्ण रूपमा प्लास्टिक प्रतिवन्ध छ । गाउँ छिर्ने गाडीहरूले लुकाएर प्लास्टिक लगेकि भनेर स्थानीयहरूले नै खोतल्छन् । उसो त सिक्किम आफैंमा ‘अर्गानिक’ राज्य हो ।
७. डोकोमा अघिअघि फोहर उठाउँदै जाने, पछिपछि फोहर फ्याँक्दै जाने यो हाम्रो संस्कार बनेको छ । गुट्खा, पानमसला र चुरोटका ठूटा र चाउचाउका खोल पसल र गाडी गुड्ने सडक किनार परपर छिचोली साध्य छैन । हत्तपत्त नदेखिने यस्तै फोहरले माटो, पानी, जलजीवन र वन्यजीवन वर्वाद हुँदैछ । यसर्थ, बेलाबेला सचेनात्मक फोहरमैला सङ्कलन कार्यक्रम चलाएपनि फोहरमैलाको जरोमै पुग्नुपर्छ भन्ने लाग्छ ।
८. स्थानीय रूपमा यस्ता फोहर सङ्कलनका काम छँदैछ, अर्काेतर्फ नगरपालिकाले प्लास्टिक उत्पादन गर्ने कम्पनी, स्याम्पु, उत्पादक/वितरक, खैनी उत्पादक/वितरक कहाँ ‘सिंगल युज’ सामान नबनाउनका लागि दवाब पनि दिन सकिन्छ । उद्योग वाणिज्य महासंघ मार्फत दवाव दिएर हुन्छ या मिडियामार्फत यसको ‘एड्भोकेसी’/काम गर्न सकिन्छ ।
९. स्थानीय स्तरमा अचेल आरसिसि भवन बन्न थालेका छन् र आरसिसि चर्पी । कतिपयले चर्पीको निकासलाई खोला/नदीतिर सोझ्याएका पनि छन् रे । त्यस विषयलाई पनि सम्बोधन हुनेगरी पहल गर्नुपाए हुने ।
१०. कविताजी, महिलाका लागि राजनीति फलाम चपाउनु जत्तिकै असहज छ । अझ विवाहितालाई त झनै सकस । महिलाको पारिवारिक र प्रजनन दायित्व, आफन्त, औपचारिकताले समाज वदल्ने महान महत्वाकांक्षामा तुषारापात भएका उदाहरण नेपालमा मात्र होइन, विश्वभर छन् । तर, जतिसुकै कठिन भएपनि कमसेकम तपाईंको (हाम्रो पनि) रसिलो–पोषिलो बेलकोटगढी नगरपालिकालाई अर्गानिक पालिका बनाउने प्रण गर्नुहोला भन्ने अपेक्षा गर्दछु । उपाय देखाउन, सुझाव दिन सहज छ तर काम गर्न गाह्रो छ । आशा छ, तपाईंले सम्भव भएसम्म आफ्नो नगरपालिकालाई प्लास्टिकमुक्त र प्रांगारिक बनाउन पहल गर्नुहुनेछ ।
नोट : एउटा झन्झावात/युद्धबाट गुज्रिएको परिवारको सदस्य भएकाले र त्यस्ता व्यक्तिहरूले परिवर्तन/रूपान्तरणका विषयलाई गम्भीरताका साथ लिन्छन् भन्ने आशयका साथ सुझाव पेश गरेको हुँ । वातावरणीय विषयमा बेलकोटगढीले आफूलाई प्रयोगात्मक/अनुकरणीय रूपमा पेश गर्न सके भोलि तपाईंको नगरपालिकाबाट देशभरका गाउँपालिका/ नगरपालिकाले फोहोर/प्रदुषण व्यवस्थापनबारे राम्रोसँग सिक्न सक्लान् भन्ने अपेक्षा छ । अभिवादन ।
प्रकाश आस्था, वातावरण संवेदनशील नागरिक

सामूहिक खेतीमा सांसदको बजेट

विदुर/पञ्चकन्या र लिखु गाउँपालिकामा सामूहिक खेती प्रर्बद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । सामुहिक खेती प्रर्बद्धन कार्यक्रमका लागी नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले संसद बिकास कोषको रकमबाट ५० लाख रुपैयाँ बिनियोजन गरेका छन् ।
पञ्चकन्याको चारवटा वडा र लिखु गाउँपालिकाको एउटा वडामा सञ्चालन गर्न लागिएको ‘सामूहिक खेती प्रर्बधक कार्यक्रम’ का लागि औपचारिक छलफल समेत भएको छ ।
लिखु गाउँपालिका वडा नं ३ मा आयोजना गरिएको कार्यक्रममा लिखु–पञ्चकन्या सामूहिक खेती प्रबद्धक समितिको पदाधिकारी सहित लाभान्वित किसानसंगको छलफलमा सञ्चालनमा ल्याउन लागिएको कार्यक्रमलाई प्रभावकारी र नमूनाको रुपमा चलाउन प्रतिबद्धता जनाए ।
भेलामा पञ्चकन्याका वडा न १,२,३,४ र लिखु गाँउपालिका ४ का वडा अध्यक्ष सहित सम्पूर्ण वडा सदस्यहरू, कृषि, पशु र सहकारीका कर्मचारीहरूको सहभागिता थियो । 

२०७६ कात्तिक २५ गतेको सम्पादकिय

रसुवागढी नाका सुधार गर
नेपालको रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया नै प्रवेश गर्ने मूलद्वारको रुपमा हेर्न थालेको पाइएको छ । दक्षिण एसिया प्रस्थान गर्ने मुख्य मार्गको रुपमा बिकास गर्न चीन तर्फ अत्याधुनिक संरचना र सडक मार्ग चीनले बिस्तार गरिरहेको छ । रसुवागढी केरुङ नाकाभन्दा पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन केही वर्ष अघि नै बनेको छ । त्यसो त, अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । नाकाबाट केरुङ बजारसम्म पुग्न दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ ठाउँमा सुरुङ र आकाशे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुङ्गा रोक्नको लागि तारजाली लगाइएको छ । यि भौतिक संरचनाको विकासलाई मध्यनजर गरेर हेर्दा यस नाकालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।
रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि नेपालतर्फ सीमामा भौतिक पूर्वधारको अवस्था नाजुक छ । पानी पर्दा पहिरो र घाम लाग्दा धूलो उड्ने, हावा चल्दा माथिबाट ढुंगा खस्ने नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्नु पर्ने बाध्यता नेपाल पट्टि रहेको छ । झण्डै झण्डै नाका खुलेको बेलाको जस्तो अवस्थामा अहिले पनि रहेको नेपाल तर्फको भौतिक संरचना विकास र सुस्त जाँगरका कारण एउटा विन्दुमा उभिएर दुई पट्टि हेर्दा नेपालको अवस्था दयनिय रहेको छ । त्यसो त बिकासको क्रम र चरणको स्मरण गर्दा पनि २०७२ साल बैशाख १२ गतेको केरुङ भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो । अहिले निकै अग्ला–अग्ला आधुनिक घरहरू निर्माण भएका छन् । सरकारी कार्यालय समेत चीनले थपेको छ । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस ट्राफिक लाइट राखिएको छ ।
नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर मात्रै छ । चीनले यसरी महत्व दिइरहेको नाका र मार्गलाई नेपाल सरकराले पनि उत्तिकै चासो राखेर भौतिक संरचनाहरू निर्माणमा तदारुकता देखाउनु पर्ने अवस्थाको सृजना भएको छ । जस्तापाताले बारेको सरकारी कार्यालय र माथिबाट खस्न ठिक परेको ढुङ्गासम्मको व्यवस्थापन गर्न तर्फ नेपाल सरकारले सोचेको छैन, वा जाँगर देखाएको छैन । दक्षिण एशियामै प्रवेशको पहिलो नाकाको रुपमा चीनले रसुवागढी नाकालाई तयार गरिरहेको अहिलेको अवस्थामा नेपालले पनि न्युनतम भौतिक पुर्वाधारणहरू खडा गरेर त्यसका लागि उपयुक्त वातावरण तयार गर्नु तत्कालको आवश्यकता बनेको छ ।