Sunday, January 26, 2020

के भएको हो सांसद मैनालीको कम्पनीमा ?

निर्माणको अन्तिम चरणमा रहेको नुवाकोट शीतभण्डारको मुख्य भवन
विदुर\प्रदेश सांसद बद्री मैनाली अध्यक्ष रहेको नुवाकोट शतिभण्डारी प्रालिले प्राप्त गरेको प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाको  अनुदान रकम बढि भुक्तानी भएको समाचार सार्वजनिक भएसंगै नुवाकोट तरंगित भएको छ । प्रदेश सांसद बद्री मैनालीले अध्यक्षता गरिरहेको कम्पनीले सरकारसंग सम्झौता भन्दा ५० लाख बढि रकम लिएको खबर नायँ पत्रिका दैनिकले शुक्रवार सार्वजनिक गर्यो । अन्तिम किस्ता लिन बाँकी रहँदैमा ५० लाख बढि लिएको र फिर्ता गर्नका लागि कार्यालयले पत्राचार गरेको समाचारमा उल्लेख छ ।
विदुर नगरपालिका वडा नं. २ गंगटेमा निर्माण भइरहेको नुवाकोट शीतभण्डार प्रालिलाई बढी भुक्तानी दिएको हो । समाचारमा उल्लेख भए अनुसार शीतभण्डार निर्माणका लागि परियोजनाले प्रालिसँग १८ करोड ७८ लाख रुपैयाँमा सम्झौता गरेको थियो । त्यसमध्ये १० करोड ५० लाख रुपैयाँ परियोजनाले अनुदान दिने र बाँकी आठ करोड २८ लाख प्रालिले व्यहोर्ने सहमति भएको थियो । तर, परियोजनाले निर्माण कार्य नै नसकी प्रालिलाई ५० लाख रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । शीतभण्डार बनिनसक्दै प्रालिले परियोजनाबाट ११ करोड पाँच लाख ५९ हजार १५१ रुपैयाँ भुक्तानी पाइसकेको छ । शीतभण्डार निर्माण सम्बन्धमा बनेको कार्यविधिअनुसार विभिन्न चार चरणमा निर्माण कार्यको भुक्तानी गर्ने उल्लेख छ । पहिलोमा २०, दोस्रो र तेस्रोमा ३०–३० र अन्तिम चरणमा २० प्रतिशत भुक्तानी गर्ने उल्लेख छ  । परियोजनाका प्रमुख डा. रेवतीरमण पौडेलले प्रालिलाई दिनुपर्ने अन्तिम किस्ता बाँकी रहेको बताए ।‘फाइनल बिलिङ नै भएको छैन,उनले भने, ‘हिसाबकिताब फरफारक हुनै बाँकी छ ।’ हिसाबकिताब नै फरफारक नभई किन बढी भुक्तानी गयो भन्ने प्रश्नमा उनले भने, ‘मूल्य अभिवृद्धि करको भुक्तानी बाँकी नै छ, यसको फरफारक हुन्छ ।’ सम्झौताभन्दा बढी रकम भुक्तानी भएपछि परियोजनाले रकम फिर्ता गर्न प्रालिलाई केही समयअघि पत्राचार नै गरेको सुवास भट्टले समाचार लेखेका छन् । सम्झौता रकमभन्दा बढी भुक्तानी दिएकोलगायत सम्बन्धमा कृषि मन्त्रालयले पनि परियोजनासँग स्पष्टीकरण मागेको बताइएको छ ।

नुवाकोट शीतभण्डार प्रालिका अध्यक्ष एवं प्रदेश सांसद बद्री मैनाली
 शुक्रवार जारी गरेको विज्ञप्तीमा उल्लेखित  आर्थिक विवरण । 
यो खबर बाहिर आएसंगै शुक्रवार कम्पनीका अध्यक्ष प्रदेश सांसद बद्री मैनालीले तीन पृष्ठ लामो विज्ञप्ती जारी गरेका छन् । उनले आफुले नेतृत्व गरिरहेको कम्पनीले ठिकढंगले काम गरिरहेको र राज्य कोषको एक पैसापनि अनियमितता नभएको बताए ।
शुक्रवार सम्झौता भन्दा ५० लाख बढी भुक्तानी भएको समाचार बाहिर आएसंगै कम्पनीले अहिलेसम्म भौतिक संरचनामा निर्माणमा गरेको प्रगतीलाई सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरिएको छ । कम्पनीका सञ्चालक तथा जानकारहरूले उक्त कम्पनीको कामको विषयमा सामाजिक सञ्जालमै समीक्षा, चर्चा र बचाउ गरेका छन् । यो समाचारको पक्ष र विपक्षमा देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा राजनीतिक आस्थाका आधारमा विभाजित भएको देखिएको छ । नेकपा समर्थकहरूले कम्पनी र आयोजनाको बचाउ गरेका छन् भने काँग्रेस निकटकाहरूले सम्झौता भन्दा बढी रकम भुक्तानी पाएको समाचारलाई सामाजिक सञ्जाल र समाजिक सञ्जालको ‘क्लोज ग्रुप’मा फैलाइरहेका छन् ।
शाख धुमिल्याउने प्रयास मात्रै :मैनाली
सांसद बद्री मैनाली 
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासँग २०७५÷३÷२४ को सम्झौता बमोजिम २०७७ असार २३ सम्ममा सम्पन्न गरिसक्नु पर्ने शित भण्डार निर्माण कार्य देशका अन्य विकास निर्माणका आयोजना सम्झौता अवधि सम्ममा पनि सम्पन्न भइनरहेको अवस्थामा नुवाकोट शित भण्डार प्रा.लि.ले समयावधि भन्दा अघि नै सम्झौता बमोजिमको कार्य सम्पन्न गरि नेपालमा हालसम्मकै ठूलो र आधुनिक प्रविधिबाट निर्मित ६० लाख किलो क्षमता (६ हजार मेट्रिक टन) को कोल्ड स्टोरेज सञ्चालनमा आउन लागेकोे छ । सञ्चालनमा आएपछि जिल्लाका ६ हजार घरधुरीका ३० हजार कृषक र कृषक समूहबाट उत्पादित कृषिजन्य बस्तुकोे सहुलियत दरमा भण्डारण हुनेछ । योे शीतभण्डार गृह नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको नमूना उप–आयोजना रहेको छ ।
यस कम्पनीले शीतभण्डार निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा प्रस्ताव पेश गर्दा प्रस्तावित स्टमेटमा मु.अ.कर बाहेकको हिसाब गरेर अठार करोड अठहत्तर लाख रुपैंमा पेश गरी मु.अ.कर बाहेक १० करोड ५० लाख रकमको अनुदान प्राप्त गर्ने गरी सम्झौता गरेकोमा छ । मु.अ.कर रकम सहित ११ करोड ८६ लाख ५० हजार पाउनु पर्ने मध्येमा हालसम्म पेश्की रकम,  मु.अ.कर सहितको रनिङ बिल रकम गरी जम्मा ११ करोड ५ लाख ५९ हजार १५१ रुपैंया मात्र भुक्तानी लिएको छ । ८० लाख ९० हजार ८४९ रुपैंया अझै लिन बाँकी भएकाले समाचारमा उल्लेख भए अनुसार ५० लाख बढी भुक्तानी लिई अनियमितता भएको भन्ने कुरा यथार्थ छैन । एकै वर्षमा एउटै कम्पनीलाई ११ करोड भुक्तानी भएको भन्ने बारेमा सम्झौता अवधि २ वर्ष भएतापनि सम्झौता बमोजिमको कार्य मध्ये १ वर्ष भित्रमा नै अनुगमन तथा नाप जाँचबाट प्रमाणित भई ११ करोड (पेश्की सहित) बराबरको कार्य सम्पन्न भएकाले समय सिमा भन्दा अगाबै कार्य सम्पन्न गरेमा भुक्तानी दिन बाधा नपर्ने भन्ने सम्झौतामा प्रावधान बमोजिम नै निकासा पाएको हो ।
शीतभण्डार गृह निर्माण सामाग्रीमा मु.अ.कर नलाग्ने प्रावधान बमोजिम निर्माण सामाग्री खरिद तथा आयातमा मु.अ.कर नलाग्ने र भन्सार महशुल एक प्रतिशत मात्र लाग्ने भएकोले सो सम्बन्धी रकमहरू तिरेको बिल, प्रमाणहरू सहित परियोजनामा बिल पेश गरी मु.अ.कर सहितको रकम निकासा लिइएको हो ।
यस कम्पनीले परियोजनाबाट ८० लाख ९० हजार ८४९ रुपैंया लिन बाँकी हुँदाकै अवस्थामा बढी निकासा लिइ अनियमितता नगरिएको भन्ने प्रष्ट्याउन चाहन्छु । साथै यो कम्पनी र यो कम्पनीका सदस्यहरू ऐन, कानून, विधि पक्रिया र तथ्य माथि विश्वास गर्दछ र सोहि भरोसालाई आत्मसाथ गर्दै अगाडि बढिरहेकोमा, यो कम्पनीले सम्झौता बमोजिम नै कार्य गरी नियम कानून बमोजिम नै गरिव किसान एवं निम्न वर्गका व्यक्तिहरूको सेवा गर्न लागेकाले कम्पनीसँग जोडिएका व्यापारिक बर्ग एवं राजनीतिक व्यक्तित्वको शाखलाई धुमिल्याउने गरी आएको भ्रामक समाचार प्रति विश्वास र भरोस नगर्न आम जनसमुदायलाई अनुरोध र आग्रह गर्दै आधारहीन प्रचारबाजीको प्रयास नगर्न नगराउन सचेत गराउन चाहन्छु ।
यो हो वास्तविकता 
–बशन्त न्यौपाने
शीतभण्डारमा जडान गरिएको आधुनिक मेसिन
नुवाकोटमा करिब ७२ हजार मेट्रिकटन आलु उत्पादन हुन्छ । घरायसी खपत भएर बिक्रिका लागि बजारमा उपलब्ध हुने करिब ४५ हजार मे.टन आलुका लागि भण्डारण गर्ने ठाउँ चाहिन्थ्यो नै । आलुको पकेट क्षेत्र भनेर चिनिएको ढिकुरे, सिमरा, थान्सिङका उत्पादनको आपुर्ती नियन्त्रणका लागि र पछिसम्म उपभोग गर्न मिल्ने भण्डारण आवश्यक थियो र ढुवानी गर्न मिल्ने राजमार्ग संगै जोडिएका हिसाबले गंगटेमा स्थापना भएको नुवाकोट शीतभण्डार प्रालि उचित ठाउमानै छ ।
देशभरिमा प्रधानमन्त्री कृषि अनुदान परियोजना अन्तर्गत शीतभण्डार निर्माण गर्न विभिन्न ठाउँका परियोजनालाई सरकारी मापदण्ड अनुसार कम सरकारी सहयोग स्वीकार गर्नेगरी बोलपत्र मार्फत अनुदान बितरण गरियो ।  नुवाकोटका लागि चाहिँ नुवाकोट शीतभण्डार प्रालिले प्रतिस्पर्धाबाट कुल लागतको करिब ५५ प्रतिशत सरकारी करिब १० करोड पचास लाख अनुदान उपलब्ध गराउने र तीन बर्ष भित्र निर्माण सक्ने गरि सम्झौता भयो । कुल लागत १८ करोड भन्दा केही बढी अनुमान गरिएको परियोजनामा हाल सम्म ३२ करोड भन्दा बढी खर्च भैसकेको छ भने निर्धारित समय ३ बर्ष भएकोमा १ बर्ष ६ महिना अर्थात् आधा समय अगावै परियोजना सम्पन्न हुने अवस्थामा पुगेको छ ।
अब यहाँ नेर हेक्का राख्नु पर्ने कुरा के हो भने अनुदान लिनु मात्र ठूलो कुरा होइन । अनुदान लिदा तोकिएका मापदण्ड पूरा भयोकि भएन, प्रबिधि प्रयोग भयो की भएन र अनुदान बाहेकको स्वःपुँजी लागाउने क्षमता छ कि छैन भनेर हेरिएन भने इमानदारिताका साथ सरकारसंगको सहमती पालना गरेर काम गर्नेहरू हतोत्साही हुने अवस्था आउन सक्छ । बागमती प्रदेश सदस्य भएका बद्री मैनाली मात्र त्यो कम्पनीका धनी होइनन् ! त्याहा त अन्य व्यावसायीपनि जोडिएका छन् ।
त्यसैले पत्रकार मित्रहरू, कम्तिमा आँखै अगाडि भएका सकारात्मक कामलाई सहि मुल्यांकन गरेर राम्रो भएछ भन्दा तपाईहरूको के जान्छ र ? फेरि समाजलाई सकारात्मक सन्देश दिएर प्रगतिपथमा लैजाने जिम्मेवारी तपाईहरूको पनि हो नि ! होइन र ? संगै सम्झौता भएका चिसियान केन्द्रका हालत कस्तो छ ? त्यो सबैलाई थाहा छ । नेपालको कानुन अनुसार सरकार र नुवाकोट शीतभण्डार प्रालिसंग भएको सम्झौता अनुसार नै भुक्तानी भयको हो । यहि फागुनभित्र शीतभन्डर सञ्चालनमा आउँछ । नुवाकोटका किसानलाई राहत मिल्छ ।

भवानी राणाले उद्घाटन गर्ने

विदुर\छैठौँ नुवाकोट महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको छैठौँ नुवाकोट महोत्सब २०७६ को व्यबस्थापनका कार्यहरू अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यही माग १६ गतेदेखि २६ गते सम्म हुन लागेको महोत्सबमा स्टल र स्टेज निर्माण, खेल तथा मनोरञ्जनका सामाग्री जडान एंव सञ्चालन लगायतका कामहरू भैरहेको मुल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले बताए ।
उनका अनुसार महोत्सवको उद्घाटनको लागी १६ गते दिउँसो १ बजे नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा आउने छन् । ब्यबसायिहरूको संस्था नुवाकोट उद्योग बाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवलाई राजनीति विवाद नआउने गरी राणाबाट महोत्सवको उद्घाटन गरिने बताए ।
महोत्सबमा यसपालि एतिहासिक कला संस्कृतिको सम्बद्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने नारा तय भएको छ । पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा सांस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गरिने नुवाकोट उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।
महोत्सवमा नुवाकोटका बिभिन्न समुदायले प्रयोग गर्ने भेषभूषा, भाषा, धर्म, संस्कृति, खाना, पहिरन, लवज, पर्व तथा चाड लगायतका जिल्लाका धरोहरहरूलाई समेत गरिने नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।
महोत्सबमा झाकी सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य प्रतियोगिता, लोपोन्मुख बालन भजन तथा पञ्चे बाजा प्रतियोगिता राखिएको छ । कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि अटोमोबाइल प्रदर्शनी तथा बिक्री, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक सांस्कृतिक पहिचान तथा अवलोकन, लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनी साथै नेपालका चर्चित कलाकारहरूको साङ्गितिक प्रस्तुती रहने संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । राष्ट्रिय स्तरका कलाकाहरूको ‘सेडुल तयारी भइरहेको र राष्ट्रिय स्तरमा चर्चामा रहेको विभिन्न विधाका कलाकाहरू महोत्सवमा आउने उनले बताए ।
महोत्सबलाई भब्य रुपमा सफल बनाउन नुवाकोटका १२ वटै स्थानिय तहहरू सह–आयोजक, बिभिन्न संघ संस्थाहरू सहयोगी छन् । यस्तै, नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाई रहेकाले नुवाकोटमा पर्यटकहरूलाई आकर्षण गर्ने बिषयहरूलाई समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ । महोत्सब स्थलमा आईपुगेका सबै नागरिकहरूलाई नुवाकोट जिल्लाको समग्र चिनारी, धार्मिक एतिहासिक एवं पर्यटकिय स्थलहरूको बारेमा जानकारी दिने ब्यबस्था समेत मिलाएको नुवाकोट उद्योग बाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले बताए ।

आठ वटा एफएमले एउटै समाचार प्रशारण गर्ने

अकोराब नुवाकोट अध्यक्षमा भट्ट
विदुर\सामुदायिक रेडियो प्रशारण संघ (अकोराब) नेपालको जिल्ला समन्वय समिति नुवाकोट शनिवार गठन भएको छ ।
नाफा नकमाउने एफएम÷ रेडियोहरूको छाता संस्था अकोराब नुवाकोटको संयोजकमा रेडियो भैरबीका अध्यक्ष देवचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भए । समितिका सदस्यमा  नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, रेडियो त्रिशुलीका स्टेशन म्यानेजर शर्मिला उप्रेती, रेडियो जालपाका स्टेशन म्यानेजर जगदीश खनाल,चिम्टेश्वर एफएमका सदस्य रामहरि न्यौपाने र रेडियो तादीका अध्यक्ष सुजित भण्डारी छन् । नुवाकोटमा सामुदायिक रेडियोहरू ६ वटा छन् ।

अकोराब जिल्ला समन्वय समितिले आफ्ना सदस्य रेडियोहरू बीचमा सहकार्य गर्ने, साझा चासोको विषयमा सामाग्री उत्पादन र प्रशारण  गर्नेछन् । अकोराबको प्रथम जिल्ला अधिवेशको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष एवं अकोराबका केन्द्रिय अध्यक्ष कपिलदेव खनालले सामुदायिक रेडियोहरू समुदायसंग घुलमिल हुन नसकेको र अब निजी र सामुदायिक रेडियो बीचमै फरक नरहेको बताए । उनले रेडियो सञ्चालकहरूले चाहेको सामाग्री मात्रै रेडियोबाट प्रशारण हुन थालेपछि समुदायले अपनत्व महशुस नगरेको उल्लेख गर्दै सामुदायिक रेडियोलाई आफ्नै चरित्रमा प्रशारण हुन आग्रह गरे ।
यस्तै, नुवाकोटबाट प्रशारण हुने रेडियोहरूले साझा समाचार बुटेलिन प्रशारण गर्ने भएका छन् । स्थानीय समाचार र समाचारजन्य सामाग्रीमा एकरुपता र गुणस्तरियता प्रदान गर्नका लागि आठ वटा एफएम रेडियोहरूले दैनिक दुई वटा समाचार बुलेटिन साझा रुपमा उत्पादन तथा प्रशारण गर्नेछ । पाँच वटा सामुदायिक र तीन वटा व्यवसायीक एफएम \ रेडियोहरूले नै उक्त साझा समाचार बुलेटिन प्रशारण गर्ने प्रतिवद्धता जनाएका छन् ।
विहान र बेलुकाको दुई वटै बुलेटिन जिल्लामा सञ्चालित आठ वटा रेडियोहरूले एकै साथ प्रशारण गर्नेछन् । जिल्ला खबर नाम दिइएको समाचार बुलेटिन नुवाकोट एफएम १०६.८ मेगाहर्ज, रेडियो जालपा १०४.५ मेगाहर्ज, रेडियो त्रिशुली ८८.४ मेगाहर्ज, रेडियो सञ्जीवनी ८९ मेगाहर्ज, मिक्स एफएम ८९.४ मेगाहर्ज, गज्जवको रेडियो १०५.७ मेगाहर्ज, रेडियो भैरबी ८८ मेगाहर्ज र रेडियो तादी १०५.३ मेगाहर्जमा सुन्न सकिने छ ।   
साझा समाचार बेलेटिन प्रशारण आरम्भ फागुनबाट हुने बताइएको छ । सार्वजनिक चासोेका  विषयमा सबै एफएम रेडियोले पहुँच पु¥याउन नसकेको र समाचारको गुणस्तरियतामा काम भएको श्रोताको प्रतिक्रयाको आधारमा समाचारका लागि सामुहिक कार्य गर्न थालेको बताइएको छ ।
शनिवार विदुरमा भएको एफएम\रेडियोहरूको वर्तमान अवस्था र भावी कार्ययोजनमा बोल्दै पत्रकार महासंघ नुवाकोटका अध्यक्ष एवं अकोराबका केन्द्रिय सदस्य कपिलदेव खनालले नागरिकको बोली र अभिव्यक्ति जस्ताको तस्तै राख्न रेडियोहरू बढि सफल हुने उल्लेख गर्दै सामुहिकतामा विश्वास टुट्दै गएको सञ्चार व्यवसायलाई रुपान्तरण गर्न पनि सहकार्य आवश्यक रहेका बताए । निष्पक्षता हराउदै गएको र भरपर्दो श्रोत प्रयोग गरेर समाचार तयार नगर्दा श्रोतहरूले विश्वास कम गर्न थालेको अहिलेको डरलाग्दो अवस्थालाई फरक बनाउन आठ वटै एफएम\रेडियोहरूको साझा समाचार बुलेटिन आउन लागेको बताए । विकास पत्रकारितामा केन्द्रित गरेर समाचार बुलेटिन तयार गरिने बताइएको छ ।
पत्रकार महासंघ बागमती प्रदेश सदस्य द्धय रामहरि गजुरेल र शर्मिला उप्रेती, अकोराब नुवाकोटका संयोजक देबचन्द्र भट्ट, पत्रकाहरु रामहरि न्यौपाने, रुपा अर्याल, श्रीराम अधिकारी, श्रीराम नेपाल, मुकुन्दराज अर्याल, नवदीप श्रेष्ठ, पुरुषोत्तम बस्नेत, गमला लामा लगायतका वक्ताहरूले जिल्लाबाट सञ्चालित एफएम रेडियोबीचको सहकार्य र सामुहिक कार्यमा जोड दिए ।   

सांसदको नाममा पक्राउ पुर्जी

विदुर\सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि नुवाकोटका संघीय सांसद बहादुरसिंह लामालाई डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ । उनी सहति चार जनालई यो मुद्दा लागेको छ । सांसद लामा मालिक रहेको कम्प्नीको सवारी साधनले प्राकृति सोधन साधनको चोरी गरिरहेको फेला परेपछि उक्त मुद्दा लागेको बताइएको छ ।
पूर्वी मकवानपुरको बकैया ७ स्थित कालीवनमा अवैध ढुंगागिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेशराम महरालाई डिभिजन वन कार्यालय मकवानपुरले समातेको थियो । पुस १३ गते एक्साभेटर चालक, वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पक्राउ गरिसेकेको छ । लाई पनि वन कार्यालयले पक्राउ गरेको छ । हिमडुङ एण्ड थोकर कन्सट्रक्सन प्रालि, टोखा नगरपालिका ७ धापासी काठमाडौंको ठेगानामा रहेको उक्त सवारी साधन सांसद लामाको रहेको पुष्टि भएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष लामा, कम्पनी सञ्चालकहरू नुवाकोट पञ्चकन्या ५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरेको नाममा पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई पुस १५ गते वन कार्यालयमा हाजिर हुन पत्र काटेपछि अटेर गरिरहेका छन् । जिल्ला अदालत मकवानपुरबाट दोस्रोपटक म्याद थप हुँदासमेत कोही सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते सबै सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । बन कार्यालयले उनीहरूको खोजतलास भइरहेको बताएको छ । कम्पनीको बकैया–७ अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने विदुर नगरपालिका वडा नं. १० का सुवास डंगोलबिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सा.स्द लामाको कम्पनीले सामुदायिक वन क्षेत्रभित्र ९ हजार ५६४ क्यूफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको वन कार्यालयको दाबी छ । बिगोवापत १ लाख ६४ हजार ११२ रुपैयाँ ५० पैसा जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिमको सजाय माग गरिएको छ । उक्त उपदफा अनुसार साढे ५ वर्ष कैद सजाय हुनेछ ।
उक्त कम्पनीले सामुदायिक वनभित्रबाट नदीजन्य पदार्थ अवैध उत्खनन गरी फास्ट ट्रयाकमा प्रयोग गरेको पाइएको छ । हिमडुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिले काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको क्रममा उक्त सामग्री प्रयोग गर्दै आएको थियो ।

स्कुलमा सरकारको हस्तक्षेप

सेढाईं (बाँयाँ) लम्साललाई मायाको चिनो प्रदान गर्दै ।
 तस्बिर :रोशन\इमेज
ढाडेफेदी\स्थानीय सरकार स्थापनासंगै सामुदायिक विद्यालयमा राजनीति प्रभाव बढ्न थालेको उदाहरण सुमर्यमती मावि ढाँडेफेदीमा देखिएको छ । मंगलवार स्कुलमा भएको कार्यक्रममा बोल्ने क्रममा यस स्कुलका निर्वतनमा अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका सदस्य सम्झना सेढाईंले कार्यक्रमको मञ्च बाटै स्कुलको सदस्य पदबाट राजिनामा दिए ।
व्यवस्थापन समितिको अध्यक्ष गठनका लागि स्कुलले पठाएको चार जनामध्ये छानिएका अध्यक्ष आर्थिक चलखेल र राजनीति आस्थाका कारण आफुलाई पाखा लगाउन नगरपालिकाले हस्तक्षेप गरेको उनको आरोप छ । ‘नुनलाई सुन बनाएर नगरपालिकाले अध्यक्ष बनायो, यसरी स्कुलमा राजनीतिक हस्तक्षेप गर्न हुन्छ ? म यस्तो दलदलमा बसेर काम गर्नसक्दिन, अहिले नै सदस्य पदबाट राजिनामा घोषणा गर्दछु’ सेढाईंले भने । स्कुलले सेढार्इं सहित चार जनालाई अध्यक्ष चयनका लागि नगरपालिकामा सिफारिस गरेको थियो । गत साता बेलकोटगढी नगरपालिकाले दिपेशप्रसाद पाण्डेलाई अध्यक्षमा मनोनित गरेको छ । 
विद्यालय र शिक्षा क्षेत्र कब्जा नै गर्ने रणनीतिका साथ बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनाल लागेको सेढाईंको आरोप छ ।
बेलकोटगढी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १३ का अध्यक्ष पशुपती लोहनीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकारले विशेष अभियान सञ्चालन गरिरहेको र शैक्षिक गुणस्तरमा सम्झौता नहुँने बताएका छन् । प्रवक्ता लोहनीले स्थानीय सरकारले छोटो समयमा शिक्षा क्षेत्रमा पनि गर्नुपर्ने काम धेरै भएकोले सुधारको नतिजा फटाफट नदेखिएको र अब शैक्षिक सुधारको परिणाम नागरिकले महशुस गर्न पाउने बताए ।
बेलकोटगढी नगरपालिका वडा नं. १३ ढाडेफेदीमा रहेको सुर्यमती माविलाई लायन्स क्लव अफ काठमाडौं मिलनले तीन लाख रुपैयाँ बरावरको सामाग्री सहयोग गरेको छ । सुर्यमती माविको ६३ औं बार्षिकोत्सवमा क्लवले १८ जोर डेक्सबेञ्च, दुई सेट कम्प्युटर, एक थान प्रिन्टर र खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो ।
      लायन्स क्लफ अफ काठमाडौं मिलनको जिल्ला गर्भनर इन्दु लम्सालले सामुदायिक विद्यालयमा पढाईकोस्तर वृद्धि हुँदै गएको बताए । आफुहरूको सामान्य सहयोग पनि महत्वपूर्ण हुने देखेर विद्यालयलाई सामाग्री सहयोग अभियान सञ्चालन गरेको उनले बताए । प्रमुख अतिथि लम्सालले सुर्यमती माविका सम्पूर्ण विद्यार्थीलाई एक एक जोर जुत्ता उपलब्ध गराउने घोषणा गरे ।
     पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले निजी र सामुदायिक विद्यालयहरूको तुलना गर्दै भौतिक संरचनामा सामुदायिक विद्यालयले प्राप्त गरेको उपलब्धि अब नतिजामा जोड्नुपर्ने बताए । 
स्कुलको ६३ औं बार्षिकोत्सवमा लाइन्स क्लव अफ काठमाडौं मिलन सहभागि भएर सहयोग प्रदान गर्न नवराज घिमिरेले गरेका थिए । उक्त विद्यालयलाई क्लबको तर्फबाट भौतिक सामाग्रीको सहयोग निरन्तर रहने अध्यक्ष शिवराम फुँयालले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रअ अमृतमान गुरुवाचार्यले वितेको शैक्षिक वर्षको प्रगती तथा आर्थिक वर्षको कारोवार सार्वजनिक गरेका छन् । 

स्वर्ण पदक विजेताको सम्मान

समुन्द्रटार\नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई गएको सोमवार नगद सहित सम्मान गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका बुद्धिबहादुर तामाङलाई दुप्चेश्वर गाउँपालिकाले १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
तेश्रो दुप्चेश्वर कप अन्तर गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा तामाङलाई सम्मान गरिएको हो । उनाी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का स्थायी नागरिक हुन् । तामाङले साईक्लिङ तर्फ क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा १ घण्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितेका थिए ।
यसै बीच, तेश्रो दुप्चेश्वर कप भलिबल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । फाइनलमा आयोजक दुप्चेश्वर गाँउपालिकालाई ३–१ को सेटमा हराउदै म्यागङले उपाधि जितेको हो । म्यागाङले ८० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
दुप्चेश्वर गाउँपालिका– ६ रुक्मिणी माविको खेल मैदानमा भएको प्रतियोगितामा म्यागङ र दुप्चेश्वर टिमको अंक २०–२५, २५–१९, २५–१६ र २५–१३ रहेको थियो । दोश्रो भएको आयोजक टिम दुप्चेश्वरले ५० हजार नगद, तेश्रो भएको पञ्चकन्या गाउँपालिकाले ३० हजार र चौथो स्थान पाएको सहआयोजक सोसल सर्भिस युथ क्लब समुन्द्रटारले १० हजार नगद सहित प्रमाणपत्र पाएको छ । 

बजेट खर्च ३३ प्रतिशत मात्रै

विदुर\नुवाकोटको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को आधा समय वित्दा पनि विनियोजित बजेट कार्यान्वयन निराशाजनक छ ।
आर्थिक बर्ष आधा मात्रै बाँकी रहँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयले ५ प्रतिशत मात्र खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट तीन अर्ब ३१ करोडमा ८८ करोड सात लाख खर्च भएको छ ।
प्रदेश सरकार मातहतका जिल्ला स्थित सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकार समेतका २० कार्यालयमा एक अर्ब ९९ करोड प्राप्त बजेटमा १० करोड ३९ लाख मात्रै खर्च भएको छ । जनप्रतिनिधिको निगरानीमा सञ्चालन हुने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गतको २४ करोड बजेट अझै कार्यान्वयनमा आउन बाँकी छ ।

रनिङशिल्डमा गणेश मावि पहिलो


 चोगते\नुवाकोटको सुर्यगढी गाँउपालिकाद्धारा आयोजित गाँउपालिका स्तरिय रनिङशिल्डको प्रतियोगितामा गणेश मावि हल्देकालिका पहिलो भएको छ ।
९ स्वर्ण, ९ रजत र ५ कास्य सहित गणेश माविले पहिलो स्थान हासिल गर्न सफल भएको हो । ६ स्वर्ण, ६ रजत र ७ कास्य सहित कालिका मावि हल्देकालिकाले दोश्रो भएको छ । बागेश्वरी मावि चोकते ६ स्वर्ण, ६ रजत र ३ कास्य सहित तेश्रो भएको छ ।
खेलकुद समिति संयोजक दिपक नेपालीका अनुसार प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माविको सहभागिता थिए ।
विजयी विद्यालय टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले खेल क्षेत्रको विकास तथा खेलाडी प्रोत्साहनको लागी लगानी तथा अवसरमा स्थानीय सरकारले प्रथामिकता दिने बताए । उनले गाउँपालिका अन्र्तगतका सबै पक्षहरूलाई उत्तिकै सवल बनाउने अभिप्रायका साथ सुर्यगढीमा खेलकुदको क्षेत्रमा पनि विशेष रुपमा कार्यक्रम सञ्चालन गरिने बताएका छन् । 

समितिको अध्यक्ष तामाङ

विदुर\जिल्ला खेलकुद विकास समिति नुवाकोटको अध्यक्षमा बुद्धिमान तामाङ चयन भएका छन् । बागमती प्रदेश तथा सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद विकास समितिको नुवाकोटको अध्यक्षको जिम्मा तामाङलाई दिएको हो । अध्यक्षमा नियुक्त भएका तामाङ नेकपा नुवाकोटका नेता हुन् । समितिको सदस्यहरूमा सन्तोस राई, लक्ष्मी तामाङ, सुदिप श्रेष्ठ र मिना पुडासैनी न्यौपाने चयन भएका छन् । 

सुरुङ मार्गको अध्ययन

विदुर\नुवाकोटको छहरेबाट काठमाडौंको टोखा जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर चिनियाँ टोली फर्किएको छ ।
नौ जनाको टोलीले एक महिना लगाएर सुरुङबारे अध्ययन गरेको हो । आउँदो चैतसम्म टोलीले चीन सरकारलाई प्रतिवेदन बुझाउने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङ मार्गका लागि अध्ययन गर्न आउने चिनियाँ टोलीहरूसंग समन्वय र सहकार्य गर्दै आएको छ । महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार उनीहरूले चीन सरकारलाई रिपोर्ट बुझाएपछि थप अध्ययनका लागि अर्को टोली आउनेछ ।

मुआब्जाका लागि विदुर प्रमुखको पहल

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउदै विदुर नगरपालिकाका
प्रमुख सञ्जु पण्डित लगायतका संघीय, प्रदेश सांसदहरू ।
 तस्बिर : रामेश्वर ढकाल\इमेज
विदुर\विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित नागरिक समाज, संघीय सांसद, प्रदेश सांसद तथा आफ्नो वडा अध्यक्षसहितको जम्बो टोली लिएर बुधवार सिंहदरवार प्रबेश गरे । अघि काम विशेषले सिंहदरवार आउजाउ गर्दा भन्दा बुधवार प्रमुख पण्डित तयारी र व्यवस्थापनमा मज्जैले भिडेका देखिन्थ्यें । सिंहदरवार प्रवेश गर्नेहरूको गेट पास तयार गर्नेदेखि, नुवाकोटबाट सिंहदरवार जानका लागि हिडेकाहरू कहाँ आइपुगे भनेर निरन्तर ‘फलोअप’मा थिए ।
लामो समयदेखि राष्ट्रिय गौरवको आयोजनाले विदुर नगरपालिकामा चर्चिने सडकको जमिनको विषयमा चियापसले देखि चौतारसम्म तर्क, फैसला, र टिप्पणी हुने गरेको छ । तर नेपाल सरकारलाई नै चाँही यस विषयमा आधिकारी रुपमा अहिलेसम्म जानकारीसम्म रहेनछ । त्यसैबाट झस्याङ्ग भएका नगर प्रमुख पण्डित जम्बो टोली सहित उपप्रधानमन्त्रीको कार्याकक्षमा हानिएका थिए ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक आयोजनाले विदुर नगरपालिका क्षेत्रका नागरिकहरूलाई मुआब्जा नदिने गाइँगुँई चलेसंगै नागरिकका माग बोकेर जनप्रतिनिधिहरू सिंहदरवार पुगेका हुन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अगुवाई गरेको उक्त कार्यक्रममा नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सांसदहरू केशव पाण्डे, बद्री मैनाली, आशामाया तामाङ, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर नगरपालिकाका वडा अध्यक्षहरू तथा नेकपा नुवाकोटका नेताहरू सहभागि थिए ।   
उनीहरूले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । गल्छि त्रिशुली आयोजनाले विदुर नगरपालिकाको  वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङ्गेसम्मका प्रभावितहरूलाई मुआब्जा दिन नमिल्ने बताउदै आएको छ । बालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको हो । आयोजनाले २०३४ सालको राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशुली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५\१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने दावी गर्दै आएको छ ।
एउटै आयोजनामा कसलाई मुआब्जा दिने कसैलाई नदिने गर्न नहुँदे भन्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राज्यले सबै नागरिकहरूलाई एकै ब्यबहार गर्न आग्रह गरेका छन् । केही नागरिकहरू सकडकको कारण सुकुम्वासी हुने अवस्थामा पुगेकाले उचित मुआब्जाको व्यवस्था गर्न उपप्रधानमनत्री मार्फत् पण्डितले नेपाल सरकारलाई आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बिकास निर्माणको कार्यमा स्थानिय नागरिक देखि सरोकारवाला निकाय सबैले सहयोग गर्न‘पर्ने बताए । यस विषयमा आफु सकारात्मक रहेको र मुआब्जाको विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल हुने मन्त्री पोखरलले बताएका छन् । सडक र विकास निर्माणका कारण राज्यले नागरिकहरूलाई मर्का पार्ने वा सुकुम्वासी बनाउने काम नगर्ने र नुवाकोटबाट जनप्रतिनिधिहरू नै आइपुगेपछि यस मागको सम्वोधन हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बताएका छन् । 
विदुर नपाले मुआब्जाको विषयमा गरेको यो अगुवाईको नागरिकहरूले सकारात्मक टिप्पणी राखेका छन् । वडा नं. ५ देखि वडा नं. १ सम्मको मुख्य बजार क्षेत्रका नागरिकहरू मुआब्जाविना हट्नु पर्ने अवस्थाको सृजना हुँनै लाग्दा स्थानीय सरकारले गरेको यो प्रयासको प्रशंसा गरेका छन् । उद्धव पनेरुले सामाजिक सञ्जालमै लेखेका छन्–‘राजनितिक स्वार्थ जोडेर विशेषगरी विदुरका जनप्रतिनिधिलाई जनताका नजरमा छारो हाल्ने नियतले चिया र भट्टिमा उफ्रिनेहरूले वझ्न जरुरी छ मुअव्जा सरकार, सदन र मन्त्रालयबाट मिल्ने हो न कि चिया पसलबाट ।’
विदुर स्थित सडक आयोजना कार्यालयले मुआब्जा नदिने बताइरहेको र मुआब्जाको लागि हुने गरेको छलफल र प्रयासकाहरू जिल्लामा मात्रै सिमिति हुँदा नेपाल सरकारको ध्यान केन्द्रित नभइरकेको अवस्थामा आफुहरूले यो प्रयास गरेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । 

नागरिक र सञ्चारले विकासमा पारेको प्रभावको समीक्षा

विकासका लागि नागरिक समाज र सञ्चारजगत विषय
कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका अध्यक्ष खनाल
र कार्यक्रममा सहभागिहरू । तस्बिर : संगम\इमेज
विदुर\अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्यको अवस्थाका बारेमा नुवाकोटमा छलफल गरेको छ ।
नागरिक समाज नुवाकोटका अध्यक्ष बाबुराम लामिछानेले विकासका लागि नागरिक समाज र सञ्चारजगतले आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न‘पर्ने बताए । राजनीतिक दलभन्दा पनि एक कदम अगाडी बढेर नागरिक समाजले साझा हितका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले नुवाकोट जिल्लामा पनि नागरिक समाजको भुमिका उत्कृष्ट रहेको बताए । सडकको सिमाना, मुआब्जा जस्ता साझा विषयमा जिल्लामा नागरिक समाजहरूले पछिल्लो समय खेलेको भुमिकाको उदाहरण दिँदै उनले नागरिक समाजलाई राज्य पक्षले समेत भरोसा र आफ्नो कामकाजको एउटा पाटोको रुपमा लिइरहेको उल्लेख गरे ।
पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले बिकासका लागी नागरिक समाज तथा सञ्चार जगतबिचको सहकार्य बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले नुवाकोट जिल्लामा विकासका लागि भइरहेको नागरिक समाज र सञ्चार जगतको सहकार्य, द्धन्द्ध र हालको विद्यमान अवस्थाको बारेमा चर्चा गरे । नागरिक समाजका सचेत सदस्यहरूले प्रयोग गर्ने व्यक्तिगत सञ्चार माध्यम र आम सञ्चारका माध्यम विकासलाई सघाएको उनले बताए । तर विकास भन्ने वित्तिकै भौतिक संरचनालाई कल्पना गर्ने र रहर गर्ने नागरिकहरूका कारण अभौतिक विकासमा सञ्चार जगतले प्रभावकारी भुमिका निर्वाह गर्न नसकिरहेको खनालले बताए ।
नुवाकोट बार एशोसिएसनका अध्यक्ष देवराज कँडेलले विकास, नागरिक समाज र सञ्चार जगत तीन वटै विषय, क्षेत्र असाध्यै फराकिलो रहेकोले यसको सहकार्य र अन्तसम्वन्ध पनि उत्तिकै बाक्लो रहेको बताए । नागरिक समाजले उठान गरेका विषयवस्तु र एजेण्डालाई सञ्चार क्षेत्रले अपनत्व महशुस गर्ने र त्यसलाई मुल विषयका रुपमा नुवाकोटमा उठान भइरहेको उनले बताए । निश्चित मुद्दाका लागि स्वत जम्मा हुने नागरिकहरूको निःस्वार्थ समुहलाई जसरी नागरिक समाज भनिएको छ, नुवाकोटमा त्यसै गरिनै काम भएको कँडेलले बताए ।
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष मिनकुमार केसीले सञ्चारकर्मीहरूले राजनीतिक सवाललाई मात्र उठान गरिरहेको उल्लेख गर्दै समाजमा विद्यमान नागरिकका सवाललाई उठान गर्न‘पर्नेमा जोड दिए । गैर सरकारी संस्थाहरू पनि नागरिक समाजको अङ्ग रहेको बताउदै उनले समाज परिबर्तन र बिकासमा गैससको योगदान रहेको बताए । राजनीतिले प्रायः क्षेत्र र विषयको नेतृत्व गरिरहेको भएपनि विशेष गरि सञ्चार माध्यमले नागरिक स्तरबाट सञ्चालन हुने अभियान वा गतिविधिहरूलाई राजनीतिक विषय जत्तिकै प्राथमिकतामा राख्नु पर्ने उनको धारणा छ ।
मानव अधिकार एलाएन्सका केन्द्रिय सदस्य यमकुमार खाती क्षेत्री, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद नेपाल, सामाजिक अभियन्ताहरू रामशरण थापा, दिपेश घिमिरे लगायतले धारणा प्रस्तुत गरे ।

हाकुवासीको जग्गा फेरि खोसियो

शशी डंगोल
बेत्रावती\नेपाल सरकारको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ (साविकको हाकु गाविस–३) का कामी तामाङ, नोर्जे तामाङ, काजी तामाङ, ताक्र्याल तामाङ, इचुङ तामाङलगायतलाई सुकुम्बासी बनाएको छ । पुरानो हाकु गाविस– ३ देखि ७ सम्मका ५०० भन्दा बढी घरधुरी गुठीको जग्गाका कारण समसयममा थिए । त्रिशूली–१ जलविद्युत् आयोजनाका नाममा नदिई २०७४ सालमा स्वयम्भू गुठीका मोहीलाई दिएको जग्गा हाल सरकारले फिर्ता लिएर आयोजनालाई सुम्पिएपछि नागरिकहरू सुकुम्वासी भएका हुन् । उनीहरूले उक्त जग्गा ४२ वर्षदेखि जोतभोग गर्दै आएका थिए ।
पाँच पुस्तादेखि स्थानीयले कमाइ गर्दै आएको जग्गा हसरकारले खोसेको नेकपाका तेब्रेल तामाङले बताए । २०३५ सालमा त्यसबेलाका लामा र बाठाहरूले जग्गा सोधा गाउँलेबाट हडपेको उनको भनाई छ । यस अघि पनि स्थानीय जनता र जलविद्युत् आयोजना पक्षबीच ११० रोपनी जग्गाबारे चर्को मोलमोलाइ भएको थियो ।
पुस १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णइ नंं ७ मा भनिएको छ : ‘मन्त्रिपरिषद्को २०७० साउन २४ गतेको बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९.२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकोमा मन्त्रिपरिषद्को मिति २०७४ पुस २८ गतेको निर्णय अनुसार मालपोत कार्यालय रसुवाबाट उक्त वन क्षेत्रमध्ये ११० रोपनी जग्गा मिति २०७४ चैत ३० गते स्वयम्भु पुरानो घ्याङ गुठीको नाममा दर्ता कायम भएकोमा वन ऐन २०७६ को दफा ७ को उपदफा २ बमोजिम सो जग्गा दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने र मन्त्रिपरिषदको मिति २०७० साउन २४ गतेको निर्णयअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई प्रयोग गर्न दिएको ७९.२७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।’
यसरी नागरिकहरू फेरि भुमिहिन भएपछि भुमी आन्दोलनमा लागेका स्थानीयहरूले असहमती प्रकट गरेका छन् । अन्यत्र जग्गाजमिन भएका स्थानीयहरूलाई अब बासकै समस्या हुनेभएकोले निर्णण्प्रति पुर्नविचार गर्न स्थानीयहरूले सरकारलाई आग्रह गरेका छन् ।

२०७६ माघ १३ गतेको सम्पादकिय

महोत्सवको योगदान   

नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको छैठौं नुवाकोट महोत्सवको आरम्भ हुन अब दुई दिन मात्रै बाँकी छ । बिहिवारबाट सुरु हुने महोत्सवले आन्तरिक मात्रै होइन बाहिरि रुपमा समेत चहलपहल बढाउन थालेको छ । हरेक पटक महोत्सव भइरहँदा हुने गरेको बहश भनेकै, महोत्सवको प्रभाव र त्यसबाट जिल्लाले लिन नसकेको लाभको विषय हो । १३ वर्ष अघिको पहिलो नुवाकोट महोत्सव सकिएदेखि यो छैठौं महोत्सव आरम्भको संघारसम्ममा हुने गरेको टिप्पणीहरूमा निराशा र नकारात्मक कोणहरू बढि झल्किएका छन् । महोत्सवले जिल्लामा गर्नुपर्ने परिर्वतनको सूची लामै छ । वा भनौं महोत्सवकै कारण नुवाकोटमा आउनुपर्ने वदलावको फेहरिस्ता अर्कै रहेको बुझाई धेरैमा छ । यो कत्तिपयको पुर्वाग्रह, कतिपयको कम बुझाई र केहीको अरुले व्यक्त गरेका धारणाबाट तयार भइरहेका छन् । कुनै एक समय थियो मनोरञ्जनकै लागि महोत्सवको आवश्यकता थियो । अब अहिले त्यो अवस्था छैन, मानिसका मनोरञ्जको विकल्प हातहातमै सृजना भएको छ । त्यही भएर नै समयसंगै महोत्सवको शैली र आयोजकको प्राथमिकता फेरिदै आएको छ ।

महोत्सवले प्रस्तुत गरेको जिल्लाको सम्भावनका कारण कृषि, पर्यटन र मानविय क्षमता विकासमा नुवाकोटले सुरुवाती समयदेखिनै राम्रो फाईदा लिएको छ । नुवाकोट काठमाडौंबाट कति नजिक छ र यहाँ आउने सडक सञ्जालको सहजता र निकटता यत्तिसम्म छ भनेर टाढाका नागरिकहरूलाई देखाउने काम महोत्सवबाटै भएको छ । पर्यटकिय रुपमा मानिसहरूको चलहपलमा हुन थालेको वृद्धिबाट प्राप्त भएको विषयगत उपलब्धि र परिवर्तनहरू अनगिन्ति छन् । विशेषत व्यवसायी तथा व्यापारीहरूको छाता संस्थाले गर्ने महोत्सव आर्थिक आर्जन र सम्बृद्धिसंग जोडिनु पर्ने र त्यसो पटक्कै नभएको एकांकी चर्चा हुन्छ । तर डेढ दशक बीचको नुवाकोट, नुवाकोट जिल्लालाई प्रतिनिधित्व गर्ने प्रमुख क्षेत्र विदुर, बट्टार, त्रिशुली लगायतका स्थानका होटल व्यवसाय हेर्ने हो भने आकाश–जमिनको परिर्वतन छ । समयक्रमले गराउने विकासले पनि केही होटल र पर्यटनको क्षेत्रका योगदान त पु¥याएकै छ, तर जिल्लामा नियमित रुपमा भइरहेका महोत्सवहरूले पनि जिल्लामा आर्कषक र सुविधा सम्पन्न होटलहरूको संख्या बृद्धि हुनुमा भारी योगदान दिएको छ । जिल्लामा एकैपल्ट भित्रने पाहुनाहरूलाई सजिलोसंग खुवाउने, बसाउने अभिप्रायले होस् वा नुवाकोट घुम्न आउँदा जिल्लामा होटल व्यवसायको सम्भावना देखेर जिल्ला बाहिरका व्यवसायीहरूले गरेको होटल व्यवसाय होस्, यिनीहरूले जिल्लाको शानलाई समेत उचो पारेका छन् । बट्टार स्थित होटल वाटर टावर नुवाकोट जिल्लाको सबै भन्दा आर्कषक होटलको रुपमा छ । यो होटल सञ्चालकहरू पहिलो नुवाकोट महोत्सव हेर्न विदुर आउँदा सुविधा सम्पन्न बसाईको खोजीका क्रममा होटल नभेटेपछि व्यवसायकै लागि गतिलो होटल खोल्ने अभियानमा लागे । फलतः चार वर्षदेखि स्टार होटल बट्टारमा सञ्चालनमा छ । पिपल्टारमा पाइप फ्याक्ट्री सञ्चालन भइरहेको छ । त्यो उद्योगको कथा पनि उही हो । नुवाकोट महोत्सव हेर्न गल्छीबाट विदुर पसेका व्यसायीहरूले पहिलो पटक थाहा पाएकी नेपालकै ‘लाइफलाईन’ पृथ्वि राजमार्ग र संघीय राजधानी काठमाडौंबाट नुवाकोट कत्ति नजिक रहेछ भन्ने । पाँच वर्षदेखि पिपल्टारमा सञ्चालनमा आइरहेको पाइप उद्योगले अहिले देशैभरी आफ्नो व्यापारलाई धानिरहेको छ, माग अनुसारको बस्तु यही उत्पादन गरिरहेको छ ।

महोत्सवहरूबाट जिल्लाले प्राप्त गरेका उपलब्धिहरू भिन्न भिन्न विषयमा ब्यापक छन् । तर नुवाकोट जिल्लाले अहिलेको अवस्थामा जुन उपलब्धि हासिल गर्नुपर्ने हो त्यो न्यून छ । अन्य जिल्लाका तुलनामा राजनीतिक, भौगोलिक र मानविय क्षमताको कोणले सहज भएको नुवाकोटले विकास र परिवर्तनमा प्राप्त गरेको उपब्धिहरूलाई सन्तोषजनक रुपमा लिन सकिदैन । त्यस अर्थमा जिल्लालाई सिङ्गै नेपालमा प्रस्तुत गर्ने अवसरको रुपमा रहने नुवाकोट महोत्सवले जिल्लाका सम्भावनालाई पूर्ण रुपमा छर्लङ्ग पार्नसक्नु पर्दछ । पछिल्लो समयका महोत्सवहरूमा बाहिर जिल्लाहरूबाट निर्यात भएका सामाग्रीहरूको व्यापार बढ्दो छ । निर्यात गरिएका कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो श्रमको रकम नुवाकोट बाहिर लैजाने क्रम बढ्दो छ । अब महोत्सवलाई बाहिरको पैसा नुवाकोट आर्जन गर्नेगरी प्रस्तुत गरिनु समयको माग बनेको छ । जिल्लाकै उत्पादित सामाग्रीहरूको विक्रि केन्द्र राख्नका लागि आयोजकले उच्च प्राथमिकता दिनु र आयातित सामाग्रीको कारोवारलाई नियन्त्रण गर्दै लान सक्दा जिल्लाबासीले झन् महोत्सवप्रति गर्व गर्न सक्नेछन् । महोत्सवका मञ्चमा प्रस्तुत हुने कलाकार वा पारिश्रमिक भुक्तान गरेर राखिने विशेष प्रस्तुतीका लागि नुवाकोट जिल्लाकै श्रष्टा, सर्जकलाई पूर्णरुपमा प्रयोग गरिनु बढि सान्र्दभिक रहने छ ।  बाँकी रहेको यि केही पक्षलाई सुधार मात्रै गर्न सक्दा पनि आयोजक संस्थाले महोत्सव आम जिल्लावासीको साझा पर्वको रुपमा विकास गरेको प्रमाणित हुनेछ ।