Sunday, December 22, 2019

दुईको मृत्यु, छ घाइते

विदुर\आइतवार बिहान भएको सबारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भिर छ । विदुर नपा ६ मुल्थलामा बिहान साढे आठ बजे आइचर दुर्घटना भएको हो । मृत्यु हुनेमा रसुवा लाङटाङका १९ बर्षिया सुदिप तामाङ र खोटाङका १९ बर्षिया  अनिल तामाङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए ।
अन्य पाँच जनाको अवस्था गम्भिर छ । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेहरूमा गाडीका चालक नुवाकोट ककनी गापा १ का ३८ बर्षिया गणेश बलामी, जाजरकोट स्याला गापाका १८ बर्षिया बिमल सुनार, जाजरकोट भेरी नपा २ का २२ बर्षिया टंकराज सुनार, सोही गाउँका २४ बर्षिया हेमराज ठकुरी, सोही गाउँका ३० बर्षिया तिलक खत्री  छन् । विदुर नपा ६ मुल्थलाका ४५ बर्षिया सचितकुमार रिमालको अवस्था भने सामान्य छ ।
उनीहरू सबै मुल्थला चैनपुर भित्री सडक खण्डमा नागार्जुन कन्ट्रक्सन कम्पनी अन्र्तगत कार्यरत कामदार हुन् । उनीहरू सबार बा २ क ७९१० नम्वरको आइचर एक सय मिटर तल खसेको प्रहरीले जनायो ।
दुर्घटनामा फेरि अर्को संयोग 
विदुर\सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुक्रवार विदुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले भने– ‘दुई महिना अघि हामीले विदुरमा सवारी चालक देखि सरोकारवाला जम्मा पारेर दुर्घटना न्युनिकरणका लागि कार्यक्रम गर्यौ, तर त्यसको पर्सीपल्टै बट्टारमा भएको दुर्घटनामा बालकको ज्यान गयो ।’
उनले भने जस्तै यो पटक दोश्रो संयोग नुवाकोटमा तुरुन्तै परेको छ । शुक्रवार सडक सुरक्षा र दुर्घटना न्युनिकरण गर्नका लागि भएको प्रयासको पर्सीपल्टै (आइतवार) दुर्घटना भएको छ । त्यो पनि दुई जनाको निधन र पाँच जना चिन्ताजनक अवस्थामा पुग्ने गरी । पछिल्लो समय देशका विभिन्न भागमा दैनिक सवारी दुर्घट्ना हुन थालेपछि प्रहरीले शुक्रवार देशैभरी अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यस कार्यक्रममा आफ्नो तर्क राखिरहेका डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्य सवारी साधन दुर्घटनामा मानिसको ज्यान जाने घटना मालबाहक साबरी साधनले मानिस बोकेपछि बढि हुने बताइरहेका थिए । केही महिना अघि घ्याङ्फेदीमा भएको आइचर दुर्घटनामा ३० जनाले ज्यान गुमाएको प्रसङ्गलाई उल्लेख गर्दै उनले अझै पनि मालबाहक सवारी साधनले
यात्रु बोकिरहे मृत्युको संख्या बढ्ने दावी गरेका थिए । आइतवार विदुर नगरपालिका वडा नंं. ६ मुल्थलामा भएको घटनाले यहि पुष्टि गरेको छ ।
नुवाकोट प्रहरी र ट्राफिक प्रहरी कार्यालय नुवाकोटले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सबारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तक्रिया आयोजना गरेको हो ।
त्यस कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबारी तथा सडक सुरक्षामा यातायात ब्यबसायीहरू सचेत हुनु पर्ने बताए । ट्राफिक नियमको राम्रोसंग पालना नभएकै कारण सडक दुर्घटनामा ज्यान गइरहेको उनले बताए । जिल्लामा सञ्चालित सबै यातायातका साधनमा बढ्दो सवारी चाप र बिग्रदो सडक दुर्घटनाको कारक बनेकोले दुवै बिषयमा चालक सचेत रहनुपर्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । बिगत देखिनै दुर्घटना न्युनिकरणमा आफुहरूले चाँसो देखाएको बताउदै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिकल भट्टराईले देशभरको दुर्घनालाई हेर्दा नुवाकोटमा सामान्य जस्तै रहेको उल्लेख गरे । कार्यक्रममा नेकपा नुवाकोटका यमकुमार खाती, काँग्रेस नुवाकोट  प्रवक्ता राजु थापा, नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्य, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने लगायतले सुझाव पेश गरेका थिए ।  

नुवाकोटको प्रचारप्रसार गर्दैै २५ पत्रकार

विदुर\नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन र यर्पटकिय स्थानहरूको प्रचार गर्न जिल्ला भ्रमणमा निस्केका पत्रकारहरूको टोली हिमाली क्षेत्रका पर्यटकिय गन्तब्यको अबलोकनको क्रममा नुवाकोट र रसुवाका पर्यटकिय स्थान घुमेर फर्केका छन् । 
प्रदेश नम्बर ३ उद्ययोग पर्यटन बव तथा बाताबरण मन्त्रालय पर्यटन बिकास आयोजनाको संयोजनमा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको टोली नुवाकोट शनिवार आईपुगेको हो । प्रचार प्रसारको अभाबले पछाडी पर्दै आएको पर्यटकिय गन्तब्यहरूको पहिचान र प्रचार प्रसारको लागी उनीहरू अबलोकनमा आएका हुन् । ३ नम्बर प्रदेशको १३ वटै जिल्लाका २५ पत्रकारहरूले भ्रमण गरेका स्थानहरूको प्रचार गर्नेछन् ।त्यस क्रममा नुवाकोटको एतिहासिक साततले दरबार पुगेका पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले नुवाकोटका पर्यटपकिय गन्तब्यहरूको बिषयमा जानकारी गराएका थिए ।
अबलोकन भ्रमण कार्यक्रममा सहभागी ३ नम्बर प्रदेश पर्यटन बिकास आयोजनाका ताराप्रसाद सिवाकोटीले प्रदेशले हाल नुवाकोटमा सञ्चालन गर्दै आएको कामहरूको समेत जानकारी गराएका थिए । प्रदेश सरकारको ‘ड्रिम प्रोजेक्ट’ र पर्यटनसँग जोडिएका अन्य बिषयमा पत्रकारलाई चासो राख्न आग्रह गरे । पत्रकार महासंघ प्रदेश नं. ३ का महासचिव कृष्ण सारु मगरका अनुसार
२५ जना पत्रकारको टोलीले नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोखला, रामेछाप र सिन्धुलीका विभिन्न पर्यटकिय स्थलहरूको सात दिन लगाएरु भ्रमण गरेका छन् । 

वडामै योजना सम्झौता

अध्यक्ष रमेशबहादुर वस्ती
बुधसिंग\तारकेश्वर गाँउपालिकाले योजनाको बिषयमा स्थानिय नागरिकहरूसंग छलफल गर्दै योजनाको दिगोपन र निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । यसका लागि गाउँपालिकाले वडा वडामा अभियाननै सुरु गरेका छ । यसको सुरुवात तारकेश्वरको वडा नं. ४ बाट भएको छ । यो अभियान अन्र्तगत वडा वडामै आयोजनाको सम्झौता गर्ने प्रक्रृया पुरा हुनेछ ।
गाँउपालिकाले सञ्चालन गर्ने विकाय निर्माणका योजनाहरूलाई प्रभाबकारी बनाउन सबै वडामा एक दिने अन्तक्रिया कार्यक्रम सुरु गरेको अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । सबै वडामा बिनियोजित योजनाको सम्झौता गरी समयमा नै काम सम्पन्न गर्न वडा तहमै अन्तक्रिया कार्यक्रम सुरु गरेको बताइएको छ । गाँउपालिकाबाट योजना छनौट भई काम हुन नसक्ने अबस्थालाई चिर्नको लागी अभियान सुरु गरेको उपाध्यक्ष तारादेवी रिमालले बताए ।
आर्थिक बर्ष २०७६\०७७ को योजना सम्झौता गर्नका सबै वडामा उपभोक्ता समितिहरूलाई योजनाको कार्य अगाडी सहयोग गर्नका लागी अभियान सञ्चालन गरेको हो ।

‘पत्रकार महासंघ–बिद्यार्थी’ अभियान

नेपाल पत्रकार महासंघ नुवाकोटको कार्य समिति बैठक ।
विदुर\नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले ‘महासंघ–विद्यार्थी अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका सञ्चार गृहमा भइरहेको जनशक्ति अभाव कम गर्नका लागि महासंघले अभियान सञ्चालन गर्न लागेको हो । पत्रकारिता अध्यायन गरिरहेका विद्यार्थीहरूलाई पेशमा आकर्षित गराउन तथा सञ्चार गृह तथा प्रशिक्षार्थी पत्रकारहरू बीचमा समन्वय गराउन यो अभियान सञ्चालन गर्न लागेको जिल्ला अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।
जिल्लामा आम सञ्चार तथा पत्रकारिता अध्यायन गरिरहेका विद्यार्थीहरूसंग अन्तरक्रिया गर्ने र उनीहरूलाई पेशामा आकर्षित गर्ने अभियान सञ्चालन हुन लागेको हो । अन्य विषयमा अध्यायनरत विद्यार्थीलाई समेत पत्रकारिता पेशाका सम्भावनालाई अभियान मार्फत् बुझाईने भएको छ । महासंघका पदाधिकारहरू विद्यालय विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । जिल्लामा आठ वटा एफएम÷रेडियो, एउटा दैनिक, आठ वटा साप्ताहिक, एउटा टेलिभिजन, एउटा मासिक र दुई वटा त्रैमासिक पत्रिकाहरू प्रकाशन तथा प्रशारणमा रहेका छन् । त्यस्तै, आधा दर्जन भन्दा बढी अनलाईन खबर पत्रिकाहरू नुवाकोट जिल्लाबाट सञ्चालित छन् ।
यसै बीच, नेपाल पत्रकार महासंघले २०७६ सालका लागि प्रदान गर्न लागेको पत्रकारिता पुरस्कार तथा सम्मान यही पुसमा हस्तान्तरण गर्ने भएको छ । महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा पुस १८ गते शुक्रवार कार्यक्रमको आयोजना गरिएको छ । पोहोरबाट प्रदान गर्न थालिएको पुरस्कार र सम्मान यो पाली माधवप्रसाद खनाल, किरणप्रसाद अधिकारी, नवदीप श्रेष्ठ, रामहरि गजुरेल र बसुधा केसीले पाउने छन् । नयाँ रुपरेखा साप्ताहिकका प्रधान सम्पादक माधवप्रसाद खनालले जिल्लामा धेरै पत्रकार उत्पादन गर्ने सञ्चार गृह÷उद्यमी र सुन्दरादेवी सन्देश साप्ताहिकको कार्यकारी सम्पादक किरणप्रसाद अधिकारीले दिर्घसेवा सम्मान पाउने छन् ।


यस्तै, स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार त्रिशुली
खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठलाई, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिका जिल्ला सम्वाददाता रामहरि गजुरेललाई र महिला पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार वाचिका बसुधा केसीलाई प्रदान गरिदैछ । सबै पुरकारको नगद राशी ११ हजार १११ रहेको छ ।
२०७५ सालबाट प्रदान गर्न थालिएको यि तीन वटा पुरस्कारको राशी सौजन्य क्रमशः डबली खबर डट कम, नुवाकोट जेसिस र त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएको छ । मंसिर २३ गते बसेको जिल्ला समिति बैठकले सम्मान र पुरस्कारको निर्णय गरेको हो ।
अघिल्लो दिर्घसेवा सम्मानबाट उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा, स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता देवचन्द्र भट्ट, स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका जिल्ला संवाददाता भोलाराज पौडेल र महिला पत्रकारिता पुरस्कारबाट रेडियो जालपाका समाचार प्रमुख भगवती लामा पुरस्कृत भएका थिए ।
नेपाल पत्रकार महासंघ नुवाकोटले पुस १८ गते शुक्रवार विदुरमा सम्मान र पुरस्कार प्रदान गर्न लागेको पत्रकारहरू बाँयाँबाट क्रमश ः , किरणप्रसाद अधिकारी, नवदीप श्रेष्ठ, रामहरि गजुरेल र बसुधा केसी । 

बस साहित्य


निःसन्तानलाई सन्तान अपुत्रलाई पुत्र, दुप्चेश्वरको दर्शन गरेपछि मात्र : दुप्चेश्वरजात्रामा यात्रु बोकेर मन्दिर पुगेको बसमा बुधवार राती भेटिएको ‘बस साहित्य’।  –जगदीश खनाल

त्रिशुली नदी सफाई अभियान

विदुर\मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरूले चासो व्यक्त गर्न थालेका छन् ।
दिगो बिकासको लक्ष्य अनुरुप २०३० सम्म नेपालले सबै नागरिकहरूका लागी स्वच्छ खानेपानी तथा सरसफाई सुबिधामा पँहुच पुराउने लक्षय राखेको छ । त्यसै अनुसारको कार्यक्रम सञ्चालन गर्दै आएको युएन ह्याबिट्याटले नुवाकोट र रसुवामा बग्ने त्रिशुली नदीलाई पिउन योग्य पानी बनाउन नदी सफाई अभियान कार्यक्रम सञ्चालन सुरु गरेको हो ।
धार्मिक दृष्टिकोण र जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशुली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा पर्दै जान थाले पछी संरक्षणको आबाज उठ्न थालेको छ । नदी छेउमा बढ्दै गएको अव्यवस्थित वस्ती, अवैध खानी तथा वालुवा प्रशोधित उद्योगका कारण नदीमा प्रदुषण बढेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पछिल्लो समय सबै क्षेत्रबाट नदी माथीको आक्रमण बढ्दो रहेको बताए । नदी आसपासमा रहेका बस्ति देखि ब्यबसायीहरूले नदी माथीको आक्रमणलाई रोक्न स्थानिय सरकार प्रतिबद्ध हुनु पर्ने उनको भनाई छ ।
जल सम्पदामा विश्वकै दोश्रो धनी देश नेपालमा नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदुषण तथा विनाशका कार्यहरू हुने गरेको भन्दै सम्बन्धित स्थानिय तहहरूले नदी संरक्षण नीति ल्याउनु पर्ने सरोकारवालहरूले बताएका छन् ।
त्रिशुली नदी संरक्षणको लागी विदुर नगरपालिकाले प्रदेश र संघिय सरकारसँगको सहकार्यमा काम गर्दै आएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । नदी आसपासमा रहेका मुख्य तीन शहरहरू बेत्रावती, त्रिशुली र देबिघाटमा फोहोर तथा ढल नदीमा नमिसाउन एकिकृत पदतिबाट काम भैरहेको उनले बताए ।
युएन ह्याबिट्याटको सहयोगमा नुवाकोटमा कार्यक्रम सञ्चालन गर्दै आएको बिकास तथा बातावरण संरक्षण केन्द्र नेपाल (डिकोन)का कार्यकारी निर्देशक चोकराज शाक्यले
नदीको पानी पिउन योग्य बनाउनको लागी स्थानिय तहसँग सहकार्य गर्ने बताए । धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण मानिएको त्रिशुली नदी प्रदुषण हुँदा प्रत्यक्ष रुपमा नागरिकहरूमा असर परिरहेको उनले बताए ।
धार्मिक तथा पर्यटकीय हिसावले महत्वपुर्ण मानिएको त्रिशुली नदीमा ढल तथा फोहोर विर्सजन गर्ने तथा डोजर तथा स्क्याभेटर प्रयोग गरी ढुंगा, वालुवा, गिटी निकासी बन्द गरी र नदीहरूमा सञ्चालन भईरहेका पर्यटनलाई व्यवस्थित गर्नु पर्ने आबाज उठेको हो । नुवाकोटको बेत्रावती, त्रिशुली र देबिघाटमा नदीमा ढल मिसाउने र फोहोर फाल्ने काम बन्द गराउन अभियान केन्द्रित हुनु पर्ने पनि बताईएको छ । नदी सफाई र संरक्षणका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको संयोजकत्वमा समिति गठन भएको छ । 

दुप्चेश्वर जात्रा : सहज र आधुनिक

जात्राका लागि मन्दिर परिषरमा बनेको अस्थायी फिल्म हल । 
कपिलदेव खनाल 
दुप्चेश्वर (रामती)/‘यहाँको महादेवको दर्शन गरेर मागेपछि पुरा हुनछ रे भन्ने सुनिरहेको थिएँ पहिलादेखि, यही भएर यो पाली दर्शन गर र माग्नको लागि आएको हुँ’ –जोत्सना श्रेष्ठ, मेलम्ची सिन्धुपाल्चोक । श्रेष्ठ जस्ता हज्जारौं भक्तजन तथा धार्मिक पर्यटकहरू बर्षेनी नुवाकोटको दुप्चेश्वर महादेवको दर्शन र पुजाआजाका लागि आइपुग्छन् र यस्तै भन्छन् । दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ बताउँछन् ।
आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा यि लामा तथा झाक्रीहरू दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका मुल झाक्री अक्कलबहादुर तामाङ बताउँछन् । ‘पुर्खाहरूले राखेको आस्थालाई हामीले कायम गरेका छौं, हामी बर्षेनी यो जात्रामा यसैगरी आफ्नो भेषभुषासहित आउने गरेका छौं’ तामाङले भने । 
हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएकोछ । पुजारी भगवानहरि धिताल धेरै मात्रामा छोरा माग्नेहरू आउने गरेका बताउँछन् । ‘यहाँ आएर माग्नेहरूको सन्ताल लाभ त्यसमा छोरा नै हुने गरेकोछ, पछि उनीहरू आस्र पुजा गर्छन् र हामीलाई भन्छन्’ पुजारि धिताललेभने–भगवान्ले कसैलाई विखुम गर्नुभएको छैन ।’
अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरूका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो रहेको बताउछन् गाउँपालिका अध्यक्ष तामाङ । ‘बिगत तीन वर्षदेखि यातायातका कारणले भक्तजनहरूले कुनै समस्या भोग्नु परेको छैन, यही नजिकैसम्म यातायातको साधनमा आउन सकिने अवस्था छ’, उनले भने– ‘जात्रा गाउँपालिकाकै सक्रियतामा व्यवस्थित पारेका छौं ।’
झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरू छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरूमा बाक्लै पाउन सकिन्छ । रसुवा जिल्ला सरमथलीका दोम्बोले तामाङले २०५५ सालमा यही आइ दुप्चेश्वर महादेवसंग आफ्नो सन्तानमा छोरा होस् भनि मागेका थिए । छोरानै प्राप्त गरेपछि यिनी स–परिवार र गाउँघरका अन्य मानिसहरूसित बर्षको कम्तिमा एकपल्ट महादेवको दर्शन गर्न आइपुग्छन् । ‘त्यस बेलामा मैले दुप्चेश्व्रसंग मार्ग शुक्लपक्षको धान्यपूर्णिमामा यस दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा भर्न आउने अधिकांश दम्पतिहरूको एउटै कामना भनेको सन्तान प्राप्ति कै हुन्छ । त्यस बाहेक अन्य भाकलका लागि पनि यहाँ भक्तजनहरूको भिड र आस्था रहेको छ । यस मन्दिर रहेको दुप्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेल पनि यस महादेवको दर्शनपछि आफुलाई पुत्र प्राप्त भएको स्मरण गर्नुहुन्छ । ‘२०४१ सालमा म महादेवको दर्शन गर्न आएको थिएँ, यहाँबाट फर्केको रात मेरो सपनामा दुई बालकहरू तामाको खड्करोमा खेलिरहेको देखेँ, मेरो जीवनमा त्यो सपनाको प्रभाव पर्यो, मेरो जीवनमा पनि पुरा भयो’ गजुरेलले भने ।
दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न इाँहा आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका अर्जुन पण्डितका अनुसार यहाँ बर्षेनी गाईभैसीको दाम्लो चढाउन आउनेहरूको संख्या सयौं रहेको छ । ‘दुध धेरै आउने, नब्याएको पोथी चौपाया ब्याउने शक्ति यहाँबाट प्राप्त हुने देखेको छु’ पण्डितले भने ।
यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरूका लागि खाना र बासको अस्थायी संरचनाहरू तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरूको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरू बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरूको समेत उपस्थिति रहिआएको सुनाउछन् दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष ध्रुबकर केसी । ‘हिन्दु र बौद्ध धर्मालम्विहरूको संख्या यहाँ आउनेमा बढि छ’, अध्यक्ष केसीले भने– त्यसका साथै अन्य धर्मालम्बीहरू पनि यहाँ आइरहेका छन् ।’ मार्ग शुक्लपक्षको धान्यपूर्णिमा बाहेक सामान्य पूजा र रुद्री लगाउनेको लर्को सधै देखिने गर्छ । थाहा पाउनेहरूमा ठूलो आस्था छ यी देवधिदेव महादेवप्रति ।
यहाँ प्रत्येक वर्ष अक्षय तृतियाका दिन लघुरुद्री गर्ने प्रचलन अहिलेसम्म पनियस महादेव मन्दिरमा छँदैछ ।
कुनै एक चिज जे मागेपनि पुरा भएको भन्दै फेरि पुजा गर्न र आफ्नो भाकल पुरा गर्न आउने भक्तजनहरूको संख्या दिनानुदिन थामिनसक्नु भएको छ । नेपालको कुनाकुनबाट भक्तजन आउने क्रमले अहिले यत्ति व्यापकता पाएको छ कि, यहाँका पुजारी भगवानहरि धितालसमेत अचम्मित छन् । ‘जो जो दर्शन गर्न आउछन्, मेरो मनोकांक्ष पुरा भयो मात्रै भन्छन्, म त यहाँको श्री महादेवको शक्ति देखेर अचम्मित छु’ पुजारी धितालले भने ।
नुवाकोटका छिमेकी जिल्लाहरू रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरबाट त बर्षेनी मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रामा भक्तजनहरू आउने गरेका छन् । असाध्यै सम्मान र आदरका साथ जात्रामा सहभागि हुने तामाङ समुदाय सिङ्गै गाउँ नै एकै साथ आउने गरेका छन् । केही वर्षअघिसम्म ३÷४ दिन लगाएर पैदल हिडेर दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले झन् सजिलो भएको छ । रसुवाको धुञ्चेबाट बर्षेनी दुप्चेश्वर दर्शन गर्न आइरहेका बाबुलाल तामाङ योपाली पनि दुई सय भन्दा बढीको डफ्फा सहित जात्रा आइपुगेका छन् । उनी भन्छन्– ‘यो त हाम्रो परम्परा नै बनिसेको छ, पहिला हामी दुई तीन दिन लगाएर हिडेर आउने गरेका थियौं, अहिले यातायातको सहज भएको छ, बस्नका लागि सुविधा छ, त्यो भएरपनि रसुवाबाट दुप्चेश्वर महादेजवको दर्शन गर्न आउने र जात्रा हेर्न आउनेहरूको संख्या बढेको छ ।’
दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतवेशीमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ति मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई चाँहि धेरै जनाले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि आजसम्म सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै आएको हो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।
अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । यहाँको परम्परा र ईतिहासका बारेमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जानकार छन् । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरूको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको उनी बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ तामाङ भन्छन्– अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरू दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’
दुप्चेश्वर मन्दिर आठसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरू तल्लिन देखिएका छन् । दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोष र त्यसको सचिवालयको संयोजन वडा नं. ६ का अध्यक्षले गरिरहेका छन् । कोष सञ्चालन कार्यविधिले दुप्चेश्वर महादेव अवस्थित वडा नं. ६ का अध्यक्षलाई पदेन रुपमा संयोजकको जिम्मेवारी दिएको छ । कोषका संयोजक एवं दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्य विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष आचार्यले भने । 
स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ । हिन्दु र बौद्ध धर्मालम्वीहरूको बरोबरी आस्था रहेको र नेपाल राज्यभरिबाटै भक्तजनहरूको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढ्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेलले बताए । उनी भन्छन्– ‘त्यसका लागि हामी गुरुयोजना निर्माण गरिरहेका छौं । यो तुरुन्तै कार्यान्वयमा आउने छ । ’
जिल्ला समन्य समिति नुवाकोटले नेपाल भ्रमण वर्ष २०२० मा यसलाई नुवाकोटको भ्रमण गर्नै पर्ने स्थलको रुपमा राखेको छ । काठमाडौंबाट समेत नजिक रहेको, यातायातको सहज पहँुचका कारण दुप्चेश्वर महादेवस्थान आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत आर्कषणको केन्द्र रहेको बुझाई आम जिल्लावासीहरूमा छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ यो भ्रमण वर्षले नुवाकोटका धार्मिक तथा साँस्कृतिक स्थानहरूको पहिचान दिलाउने बताए । ‘सरकारले घोषणा गरेको भ्रमण वर्षमा नुवाकोटले उच्च लाभ लिनसक्ने गरी हामी काम गरिरहेका छौं, त्यसो हुँदा यस दुप्चेश्वर मन्दिर क्षेत्र पर्यटकहरूका लागि पहिलो गन्तब्य बन्ने छ’ तामाङले भने ।
नेपाल भ्रमण वर्ष २०२० मा दुप्चेश्वर गाउँपालिका र त्यसमा पनि यस दुप्चेश्वर मन्दिरमा पर्यटकहरूलाई आकर्षित गर्नका लागि गाउँपालिकाको कार्यालय र दुप्चेश्वर क्षेत्र विकास कोषले विशेष अभियान गरिरहेको छ । स्थानीयदेखि संघिय सरकारको सक्रियता र आम सञ्चारका माध्यामको प्रयोगबाट यसको महत्व र सम्भावना प्रस्तुत गरिरहेको कोषका संयोजक एवं वडा नं. ६ का अध्यक्ष किशोर आचार्य बताउछन् ।
दुप्चेश्वर महादेवस्थानको पहिचान भएको मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रा नुवाकोट जिल्लाकै पहिचनाका रुपमा देखिएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो ।
पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरू आउने गरेका थिए भने अहिले श्री महादेवको दर्शन गरेर फर्कनेहरूको संख्या बढी छ । यातायताको सहज पहँुच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरूको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरू अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरूको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ । पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन  युवाहरूले अहिले चासो व्यक्त गर्न थालेका छन् । देशैभरी प्रख्याती पाप्त दुप्चेश्वर जात्रामा झाक्रि सहभागिता कायम राख्न घ्याङ्फेदीका २१ वर्षिया मन्जित तामाङ अघि सरका छन् । ‘पहिलाको भन्दा त केही फरक होला हामी युवाहरूले धान्ने परम्परामा, तर यो संस्कृति मर्न नदिनका लागि म जस्ता युवाहरू यसरी ढ्याङ्ग्रो बोकेर लागि परिसकेका छौं’, उनले भने ।
कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरूले तीन÷चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरूको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ ।
यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरूले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरूले राम्रो मुल्य सहित बजार पाइरहेको छ । 

तीन सहकारीको बार्षिक साधरण सभा

श्रीकृष्णका संस्थापक रघुनाथ रिमाल (बाँयाँ) र उत्कृष्ठ बचतकर्ता रामप्रसाद रिमाल ।
विदुर/नुवाकोटकामा सञ्चालित विभिन्न सहकारी संस्थाहरूको बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बट्टारको सम्पन्न र श्रीकृष्ण तथा त्रिशुलीको उपकार बचत तथा ऋण सहकारी संस्थाहरूले बेग्ला बेग्लै कार्यक्रम गरी बार्षिक साधारण सभा गरेका छन् ।
बट्टारमा रहेको सम्पन्न बचत तथा ऋण सहाकरी संस्थाको दशौँ बार्षिक साधारण सभामा बोलदै संघिय सांसद नारायणप्रसाद खतिवडाले राज्यको अर्थनीतिमा समेत समाबेश भएका सहकारी संस्थाहरूका सञ्चालक आफैमा आर्थिक अनुशासनमा रहनु पर्ने बताए । विदुर नगरपाकिाका उपप्रमुख गीताकुमारी दाहालले स्थानीय सरकार सहकारीको सुधार र गुणस्तर विकासका लागि सक्रिय रहेको बताए । १ करोड २३ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले यस आर्थिक बर्षमा ७ करोड निक्षेप संकलन गरेको छ ।
यस्तै, त्रिशुलीमा रहेको उपकार बचत तथा ऋण सहकारी संथा लिमिटेडको १० औँ बार्षिक साधारण सभा विदुरमा सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीको १ करोड ६३ लाख रुपैयाँ पुँजी रहेको व्यवस्थापक अरुणकुमार श्रेष्ठले जानकारी दिए । उक्त सहकारीले सहज र सरल तबरले ब्यबसायीक क्षेत्रमा ऋण प्रबाह गर्दै आएको बताइएको छ ।
बिना धितो ब्यबसायीक ऋण प्रबाह गर्दै नागरिकहरूलाई आत्मनिर्भर बनाउनमा सहकारीले अहम भुमिका निर्बाह गरेको विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितले बताए । सहकारीको बार्षिक साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि रञ्जितले अबको दिनमा सहकारीहरू आफै मर्जरमा जानु पर्ने बताए । मुलुकको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको सहकारीहरू मर्जर भई ठुला ब्यबसायीक क्षेत्र तर्फ आकर्षित हुनु पर्नेमा उनको जोड छ ।
कार्यक्रममा उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण प्याकुरेलले सहकारीले ससाना क्षेत्रहरूमा प्रबाह गरेको ऋणले नागरिकहरूलाई उद्यमी बनाएको बताए । बैङक तथा बित्तिय संस्थाहरूले धितो राखेर मात्रै ऋण उपलब्ध गराउने भएकाले साना ब्यबसायीहरू सहकारी तर्फ आकर्षित भएको बताए ।
यस्तै, बट्टारको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्थाको २२ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । ६ करोड १६ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले झढडै १९ करोड निक्षेप संकलन गर्दै यस आर्थिक बर्षमा ६ करोड ऋण लगानी गरेको छ । कृषि र ब्यबसायिक क्षेत्रमा ऋण प्रबाह गर्दै सहकारीले नागरिकहरूको जिबिकोपार्जनमा सहयोग गर्दै आएको छ । सहकारीको साधारण सभालाई सम्बोधन गर्दै विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष टलकमान श्रेष्ठले सहकारी राज्यको अभिन्न अङ्गको रुपमा दर्ज भएको बताए ।
सहकारीले त्यस अवसरमा २२ संस्थापक सदस्यहरू रघुनाथ रिमाल, तोरणकुमारी रिमाल, मोहनबहादुर खड्का र निर्मल खड्कालाई दोसल्ला ओडाएर सम्मान गरेको छ । साथै उत्कृष्ट बचतकर्ता रामप्रसाद रिमाल र चुनेलाल प्रधानलाई सम्मान गरेको छ । यसैगरी सहकारीकै सदस्यहरूको सन्तान मध्येबाट एसइइ परिक्षामा सवोत्कृष्ट अनुष्का तिवारी र अनुष्ठान तिवारीलाई पनि सम्मान गरेको छ । 

सामाजिक सञ्जालबाट

तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंद्वारा देशका विभिन्न स्थानमा सञ्चालित १७ वटा जिल्ला केन्द्रहरू मध्येमा सन् २०१८ को उत्कृष्ट आँखा केन्द्र घोषित जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारी अवार्डका साथ । 

चिनियाँ सहित चार जना जेल चलान

विदुर/किस्पाङ गाउँपालिका वडा नं. ५ स्थित माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनामा स्काभेक्टर चालकको हत्यामा सम्लग्न रहेको अभियोगमा पक्राउ परेका एक चिनियाँ सहित चार जना कारागार चलान भएका छन् ।
माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनमा स्काभेक्टर चालकको रुपमा कार्यरत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ का रुपेन्द्र थापामगर कात्तिक ३ गते मृत भेट्टिएपछि हत्याको आशंकामा पक्राउ परेका चारैजनालाई नुवाकोट जिल्ला अदालतले पुर्पक्षमै राखेर घटनाको थप अनुसन्धान गर्न कारागार चलान गरेको हो । आयोजना नजिकै मृत भेट्टिएका ४८ वर्षका रुपेन्द्र थापाको हत्यामा सम्लग्न रहेको अभियोगमा पक्राउ परेका नुवाकोट किस्पाङ गाउँपालिका वडा नं ३ काहुलेका आईसिंह तामाङ, वडा नं. ५ मनकामनाका बलबहादुर तामाङ, विदुर नगरपालिका वडा नं. ९ का कृष्णबहादुर अधिकारी र चिनियाँ नागरिक वाङगो छेनलाई पुर्पक्षको लागी कारागार चलान गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
यस्तै, नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गापाका १५ बर्षिय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई पक्राउ गरेको हो ।
तारकेश्वर गापाका फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको प्रहरीले जनाएको छ । झगडामा गम्भीर घाइते लामा भएको उपचारका क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको र परिवारको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

बाआमाको स्मृतिका कपडा वितरण

विदुर\बौद्धिक अपाङगता सेवा केन्द्र नुवाकोटलाई बट्टारको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरले न्यानो कपडा बितरण गरेको छ ।
केन्द्रलाई १६ थान सिरक र १६ थान तकिया प्रदान गरेको हो । सेन्टरका सञ्चालक शान्ति प्रधानको स्वर्गिय बुवा शेरबहादुर प्रधान र स्वर्गिय आमा दलकुमारी प्रधानको सम्झनामा न्यानो कपडा बितरण गरेको हो । प्रधानले आमा बुबाको स्मृतिमा बर्षेनी सामाजिक हितका काम गर्ने पनि घोषणा गरेका छन् ।
न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै विदुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दिवाकर चापागाईले बौद्धिक अपाङ्गता केन्द्रमा रहेका बालबालिकाहरूलाई ससानो सहयोगले पनि मद्दत पुग्ने बताए । 

प्रतिष्ठानको अध्यक्षमा ढुङ्गाना

विदुर\पुर्ब जिबिस सभापति समेत रहेका स्वर्गिय भरत ढुङ्गानाको नाममा नुवाकोटका नेकपाका नेताहरूले प्रतिष्ठान गठन गरेका छन् ।
बर्गिय मुक्ति आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका ढुङ्गानाको आदर्श र बिचारलाई जनमाससम्म पु-याउने उद्देश्यले प्रतिष्ठानको गठन गरेको बताईएको छ । प्रतिष्ठान मार्फत समाजमा सामाजिक चेतना फैलाउने, शहित तथा बेपक्ता योद्धाहरूको बलिदान र आदर्शलाई स्थापित गर्ने, शैक्षिक बिकास तथा आयआर्जनका साथसाथै बिकासको क्षेत्रमा काम हुने बताइएको छ ।
प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा दिपक ढुङ्गाना, उपाध्यक्षमा मनराज गुरुङ, सचिबमा रामहरि पाण्डे, सह सचिबमा कौशिला पुडासैनी र कोषाध्यक्षमा बुद्धिमान तामाङ छन् । सदस्यहरूमा बद्री नेपाल, गोबिन्दप्रसाद भट्ट, श्याम मुडबरी, सिता लामा, पुष्पा न्यौपाने, गोमा कटुवाल, सुनिता ठकुरी, कृष्ण ढकाल, राजु तिवारी र ज्ञानु आचार्य छन् । यस्तै, प्रतिष्ठान दर्ताको लागी बिधान मस्यौदा तयारीको लागी गोकर्ण न्यौपानेको संयोजकत्वमा ३ सदस्यिय समिति गठन भएको छ ।

थपलिया केन्द्रमा

विदुर\होटल ब्यबसायी महासंघ नेपालको तेश्रो अधिबेशनबाट नुवाकोट होटेल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष मधुसुदन थपलिया केन्द्रिय सदस्यमा चुनिए ।
सुर्खेतमा शनिवार सम्पन्न  महाधिवेशनबाट थपलिया केन्द्रिय सदस्यमा सर्वसम्मत चुनिएका हुन् । त्यस्तै, केन्द्रिय लेखासमिति सदस्यमा नुवाकोटका होटल ब्यवसायी सबिन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

गोली सहित पक्राउ

विदुर/नुवाकोटबाट ४४ राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका–७ रातमाटे बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आले मगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित  प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरी टोलीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा गोली फेलापारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूले के प्रयोजनका लागि यति ठूलो परिणाममा गोली राखेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हरिबहादुर दोषि ठहर

विदुर\दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ भाल्चेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।
तामाङलाई दोषी ठहर गर्दै जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । श्रेस्तेदार शिवप्रसाद बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो । २०७५ चैत ९ गते शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा तामाङलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

२०७६ पुस ७ गतेको सम्पादकिय

तेश्रो पटक म्याद नथपियोस्
‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको दोश्रो पटक थपिएको समय सिमा सकिन अब झण्डै दुई महिना मात्रै बाँकी छ । २०७३ पुस १ देखि सुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने थियो । तर त्यस पछी दुई पटक ६ महिना र १ बर्ष समय थपिएको थियो । दोश्रो पटक थपिएको समयसिमामा समेत काम सम्पन्न नहुने भए पछी तेश्रो पटक समय थप्ने प्रकृया अगाडी बढाईएको छ । नियमानुसार दुई पटक भन्दा बढि समय थप्न नामिल्ने भएपनि राष्ट्रिय गौरबको आयोजना र राज्यले काम गर्ने ‘साईड क्लियर’ नगरिदिएको नाममा समय थप्ने तयारी भइरहेको बुझिएको छ । निर्माण कम्पनीले काम गर्ने बाताबरण आयोजनाले नबनाएको भन्दै समय थप गर्न माग गरेको हो । सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्याले निर्माण काममा ढिलाई भएको बताउने गरेको छ । गल्छि देखि रसुवागढी सम्मको सडकलाई राष्ट्रिय गौरबको रुपमा स्तरउन्नती भैरहेको छ । सडक विस्तारको काम पहिलो पटक सम्झौता अवधिभन्दा छ महीना थप गरी २७ महीना पु¥याइएको थियो । पहिलो पटक थप भए अनुसार २०७५ फागुन ५ मा आयोजना पूरा गर्न‘पर्ने समयसीमा तोकिएको हो । तर सडक स्तरउन्नतीको लागी आबाश्यक जग्गा अधिग्रहण नभएकाले समयसिमा लम्बिएको राम्रो बहाना निर्माण कम्पनीले पायो । पहिलो पटक थपिएको समयमा काम सम्पन्न नभए पछी दोश्रो पटक पुन १ बर्ष समय थपिएको हो । दोश्रो पटक थपिएको १ बर्ष समय सिमा अनुसार २०७६ फागुन ५ गते भित्र सडकको स्तर।उन्नती गरि सक्नु पर्ने छ । तर अझै जग्गाको मुअब्जा निर्धारण नँहुदा आयोजना अन्यौलमा परेको हामी सहजै देख्न सक्छौं ।
धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडकको ८२ किमी लम्बाइ छ । सडक निर्माण अन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)कोे प्रगति निराशाजनक नै छ । दुई लेन सडकमा ११ मिटर कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजनाले जनाएको छ ।   गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन प्रस्ताव छ । अब यही समस्याको रुपमा देखा परेर आयोजनाले समयमै काम नसक्ने अनुमान गर्न सकिन्छ । किनकि बजार क्षेत्रमा जग्गा अधिग्रहण र घरको मुअब्जा निर्धारण हुन सकेको छैन ।
अब आयोजनाको समयसिमा थपिदा केही यस्ता अमुर्त पक्षहरूलाई प्नि ठोस रुपमा केलाएर योजना बनाउनु आवश्यक छ । बजार क्षेत्रमा आएको ममस्याका कारण भन्दै तेस्रो पटक म्याद थप हुने, तर कामको अवस्था भने अहिलेको जत्तिमात्रै रहरिहने दुर्भाग्यको अन्त्य होस् । अब थपिने समयसिमा भित्रै काम सकियोस् वा अहिले नै सबै समस्याहरूको पहिचान होस् ।