Friday, May 01, 2020

लकडाउनको समयमा नुवाकोटका एफएम रेडियोहरुले सामुहिक रुपमा के गरिरहेका छन् ? चित्रमा हेनुृहोस्





विक्रि भएन तरकारी

विदुर\नुवाकोटको मानिसहरूको बढी बसोवास रहेको क्षेत्रहरूमा अहिले हरियो तरकारीको अभाव छ । पाइहालेको तरकारीको मुल्य पनि अचम्मैसंग बढेको छ । तर त्यही तरकारी बेच्न आउने गाउँका तरकारी उत्पादक कृषकहरू भने तरकारी विक्रि नभएर दिनहुँ आधा भारी बाटोमा फालेर घर फर्किरहेका छन् । बेलकोगढी नगरपालिका वडा नं. १० बेलकोट हर्रेको कृषक पवन पौडेलले अहिले यस्तै समस्या भोगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि जारी रहेको यो बन्दाबन्दीले अहिले दैनिक जनजीवन अस्तब्यस्त बनिसकेको छ । कतै खान नपाउनेहरूको भिड छ भने कतै उत्पादन भएको कृषिजन्य सामाग्रीहरू कुहिने अवस्था आएको छ । 
विशेष गरी दैनिक रुपमा प्रयोग गर्नुपर्ने र लामो समय भण्डार गर्न नसकिने तरकारीका कारण दुई तर्फ मार परिरहेको छ । उपभोक्ताहरू सहरी क्षेत्रमा महंगो परिरहेको गुनासो गरिरहेका छन् । त्यत्ति मात्रै होइन दोब्बर भाउमा पनि हरियो तरकारीहरू नपाउने अवस्था आइसकेको बताउछन् विदुरका राजु थापा ।
तर तरकारी उत्पादक कृषकको पिडा भने अर्कै छ । उनीहरूले डोकोमा बोकेरै नुवाकोटको बढी घनत्व रहेको ठाउँसम्म सबेरै तरकारी पु¥याउँदा पनि किन्ने ग्राहक छैनन् । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल दिनहुँ तरकारी बोकर त्रिशुली, बट्टार लगायतका बजार डुल्छन् र घर जाँदा आधी थुञ्चे बाटोमा फालेर जान्छन् ।
यसरी उपभोक्ताले दोब्वर तिर्दा पनि नपाउने र कृषकहरू आधा उत्पादन फालेर घर जानु पर्ने दोहोरो अनौठो अवस्था नुवाकोटमा सृजना भएको छ । तरकारी व्यवसायीहरूले बिक्न छाडेको भनेर कृषकसंग तरकारी खरिद गर्न नमान्ने र कृषकहले सिधै उपभोक्ता भेट्न नपाउने कारणले नै यसो भएको हो । 
आफ्नो बारीमा अहिले लहलहाइरहेको हरियो तरकारी के गर्ने भन्नेमा चिन्तित् छन् तरकारी उत्पादक पवन पौडेल ।
तरकारी जस्तै दुध, अण्डा तथा मासु उत्पादन गर्दै आएका किसानहरू पनि बजार नपाएर अहिले भुतुक्कै भएका छन् । यस अघि काठमाडौंको तरकारी बजारमा महत्वूर्ण हिस्सा लिइरहेको थानसिंग क्षेत्रका कृषकहरू अहिले डोका थुञ्चेमा गाउँ डुलाएर विक्ने तरकारीको आम्दानीमा चित्त बुझाइरहेका छन् । तरकारी ढुवानीका लागि सरकारले छुट दिएको भएपनि अहिलेको अवस्थामा गाउँ अनि कुनातिरका कृषकहरूले बजारमा उत्पादन 
लैजान नसकेको थानसिंगका प्रदिपप्रसाद पाठक ‘सुमन’ले बताए ।
यसरी नुवाकोटको उत्पादनशिल क्षेत्रका कृषकहरू कोरोना भाइरसको बन्दाबन्दीको प्रभावमा परिरहेका छन् । आफ्ना गुनासो राख्ने ठाउँसम्म नमिनेको कृषकहरूको भनाई छ । काम गर्ने कृषक खेतबारीमै अल्झिरहने भएको अहिलेको यो समस्या कहाँ लगेर सुनाउँदा समाधान हुने पत्तो नभएको बताउछन् कृषक पवन पौडेल । 
नुवाकोटका अहिले काठमाडौं र धादिङ्गबाट हरियो तरकारी आइरहेको छ । मुल्य ह्वात्तै बढिसकेको छ । तर नुवाकोटकै उत्पादनहरू भने यसरी कुहिएर गइरहेको छ । यसमा कृषि सहकारी, कृषक समुहहरूले अग्रसरता लिएर यहाँको उत्पादन यही नै खपत हुने वातावरणको सृजना गर्नु आवश्यक देखिएको छ । 

उपमेयर सुत्केरी मसला सहित

सुजित भण्डारी
विदुर\बन्दाबन्दीको समयमा सुत्केरी भएकाहरूलाई विदुर नगरपालिकाले घरभेट गर्ने अभियान प्रभावकारी मात्रै बनेको छैन, त्यसबाट नागरिकहरू उत्साही समेत छन् । विदुर नगरपालिका वडा नं. १२ का सावित्री विक यसरी अप्ठ्यारो अवस्थामा नगरपालिकाको तर्फबाट उपप्रमुख सुत्केरी मसला लिएर भेट्न आउने कुराले खुसी दिएको सुनाउँछन् । 
विदुर नगरपालिकाले लकडाउनको अबधिमा सुत्केरी भएकाहरूलाई भेट्न घरघरमा नै पौष्टिक आहार सहित पुग्न थालेको छ । तीन हजार रुपैयाँ नगद, सुत्केरी मसला र एक शिशी ध्यु कोशेली बोकेर जनप्रतिनिधि घरमै सुत्केरी र नवजात शिशु भेट्न पुग्ने प्रयासलाई यहाँ रुचाईएको छ । त्रिशुली अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरबाट तथ्याङ्क संकलन गरेर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल सुत्केरीको घर घरमा पुगिरहेका छन् । 
विपदको समयमा महिला, बालकालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भन्दै नगरपालिकाले यो नीति लिएको हो । विदुर नगरपालिकाले नीति तथा कार्यक्रममा नै समाबेस गरेर सुत्केरी भेटघाट कार्यक्रम राखेको र उक्त अभियानलाई उपप्रमुखले समुदायमा पु¥याउनुभएको बताउनुहछन् नगर प्रमुख सञ्जु पण्डित । 
विदुर नगरपालिकामा बन्दाबन्दी सुरु भएपछि अर्थात् चैत ११ गतेदेखि २७ जना सुस्केरी भएको तथ्याङ्क नगरपालिकासंग छ । २७ जनाकै घर परिवारको विदुरमा विदुर नगरपालिकाको यो कार्यक्रम पुगिसकेको छ । यो लम्बिएको बन्दाबन्दीको अवधिमा सुत्केरी हुनेहरूले पनि यो सेवा स्थानीय सरकारबाट पाउने छन् । उहाँहरूले पोषणयुक्त खाना खरिद र जोहो गर्नका लागि समस्या भएकोले सहजिकरण गर्न थालिएको यो अभियानलाई निरन्तरता दिँदा राम्रो हुने देखिन्छ । 

चलेकै छ खेतीपाती

शर्मिला उप्रेती
बुधसिंगका ज्ञानकुमार श्रेष्ठ बारी जोत्दै । 
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण प्रभावित नहुने क्षेत्र छैन । तर सरकारले र नागरिक स्वयमंले पनि कृषि क्षेत्रलाई अत्यावश्यकको सूचीमा राखेको छ । 
घर भित्रै बस्नु पर्ने यो अवस्थामा कृषि पेशालाई चाँही गराउनु भन्ने निर्देशन र आशय सरकारकै रहेको छ । गएको हप्ता तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीसित भिडियो मार्फत् कुराकानी गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कृषकहरूलाई काम गर्नका लागि सहजिकरण गर्न निर्देशन दिए । गाउँपालिका अध्यक्ष वस्तीले पनि कृषकहरू सुरक्षित रहेर खेतीपातीमा नियमित रहेको बताए । 
नुवाकोटको सबै स्थानीय तहले कृषकहरूलाई थोरै थोरैको संख्यामा खेतवारीमा काम गर्न उत्साहित गरिरहेको छ । किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा समेत आफ्नो गाउँपालिकामा कृषि पेशको काम नरोकिएको बताउछन् । अहिलेको मौसक अनुसारको बाली लगाउने र पाकेको बाली भित्र्याउने काममा यो लकडाउनमै पनि कृषकहरू सक्रिय रहेको लामाले बताए ।
नुवाकोटकै अर्को स्थानीय तह पञ्चकन्या गाउँपालिकामा पनि कृषकहरू खेतपातीमा निस्किरहेका छन् । आफ्नै घरपरिवारका सदस्य, दुई चार जना भएर थोरै थोरै भएपनि खेतीको काम वडा नं. २ मा चलिरहेको छ । कृषकहरूलाई अहिलेको समयमा आवश्यक पर्ने रसायनिक मलका लागि समेत स्थानीय सरकारले सहजिकरण गर्न थालेको छ । स्थानीय सहकारी संस्था मार्फत् रसायनिक मल आपुर्ती गराएर कृषकलाई उपलब्ध गराइरहेको बताउछन् पञ्चकन्या वडा नं. २ का अध्यक्ष ध्रुवप्रसाद मिश्र ।
अहिले नुवाकोटको अधिकांश स्थानमा गहुँ भित्र्याउने, धान लगाउने र मकै रोप्ने बेला छ । त्यस्तै मौसम अनुसारको नयाँ तरकारीको बिउ समेत लगाउने बेला अहिले भएको छ । यसरी एकै पटक ठूला र नगदे बाली लगाउने र भित्र्याउने यो समयमा भने कृषकहरूले समस्या व्यहोरेका छन् । कत्तिपय काममा आफु र परिवारका सदस्य मात्रैले सम्भव नहुने छ । र पनि अन्य काम गर्ने मानिस खोज्ने र जम्मा गर्ने बेला अहिले छैन । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल अप्ठारैसंग पनि खेतीको काम धानिरहेको बताउछन् ।
तर, नयाँ लगाउने बाली र तरकारीको विउ नपाउने कृषकहरू भने नुवाकोटमा धेरै छन् । शहरका केही तरकारीका बिउ बिजर र औषधि विक्रि गर्ने पसल फाट्टफुट्ट खुलेपनि ग्रामिण भेगमा त्यो सुविधा छैन । गाउँतिरका पसलहरूमा भएकै विउ पनि सकिएको छ । अहिलेको समयलाई आवश्यक पर्ने विब गाउँमा ति ब्यपारीहरूले लैजान पनि सकेका छैनन् । कृषकहरू विउ खरिदकै लागि शहर पस्न सक्ने अवस्था अहिले छैन । त्यसले गर्दा अर्को तरकारी र मौसमी उत्पादन आउने समयमा चाँही खडेरी लाग्ने बताउछन् लिखु गाउँपालिका ५ थानसिंगका प्रदिपप्रसाद पाठक ।
अहिले कृषकमा कोरोनाको त्रास हटोस् अनि काममा जाउला भन्ने मनोभाव बढि देखिन्छ । अहिले त खानका लागि अन्नपातको अभाव देखिएको छैन । तर अहिले नगरिने कामले अर्को तीन महिनापछि अभाव खडा गर्न सक्छ । त्यसैले भाइरसको संक्रमणबाट सुरक्षित रहने उपायाँ अपनाएर खेतवारीको काममा निरन्तारता दिनु उपयुक्त देखिएको छ । 

कोरोनाले देखाएको आश

कपिलदेव खनाल
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउनले केही परिवर्तनको संकेत समेत गरेको छ ।
कोरोना भाइरसका कारण विश्वभरीमा १ लाख ६५ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । झण्डै २४ लाख जना संक्रमित भएका छन् साढे छ लाख जना त यो रोग लागेर निको पनि भएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि कोरोना भाइरसबाट ३१ जना संक्रमित भएकोमा चार जना निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । 
यो विश्व माहामारीबाट प्रभावित हुन बाँकी मानिसहरू सायदै छन् । तर यो कोरोना भाइरसले विश्वस्तरमा निम्त्याएको संकटले सम्भावना ल्याएको देख्नेहरू पनि छन् । विशेष गरी बैदेशीक रोजगारी, अध्यायनका लागि विदेशमा रहेकाहरू अहिले गाउँ फर्किएका छन् । नुवाकोटमा चैत ४ गतेदखि चैत ११ गतेको बीचमा साढे चार सय जना गाउँ आएका छन् । त्यस्तै अन्य विभिन्न जिल्ला र सहरमा नोकरी तथा अन्य सिलसिलमा बस्दै आएकाहरू आफ्नो सपरिवारनै दिएर आफ्नो पुर्खौली वा जन्मथलो फिरेका छन् । 
नेपालमा कोरोना भाइरसको संकट अहिलेकै अवस्थामा टरेमा यसले हामीलाई सम्भावना दिएको तर्क गर्छन् नुवाकोटका उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा । उनका अनुसार कोरोना भाइरस नियन्त्रणमा आएपछि पनि निक्कै लामो समय बैदेशीक रोजगारी र अन्य काम गर्नका लागि नेपालीहरू जाने वातावतरण नबन्न सक्छ । जसले गर्दा गाउँघरले पुरानो शैली र नागरिकहरूको चहलपहल पाउने छ ।
अहिले शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा नागरिकहरूको घनत्व बढि देखिएको छ । लक डाउन लम्बिदै गर्दा भने नागरिकहरूलाई अहिले घरघरमा बस्ने बानी परेको छ । स्वास्थ्य परीक्षणका लागि र स्थानीय सरकारहरू बीचको समन्वयका लागि गाउँ गाउँ डुलिरहेका जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ अहिले नागरिकहरू अनुसाशित रुपमा घरमा बसिरहेको सुनाउछन् ।
नुवाकोटमा लडक डाउन अघि र लक डाउनको बीचमा गरेर २० हजार भन्दा बढि मानिसहरू काठमाडौं वा अन्य स्थानबाट फर्किआएको अनुमान छ । यसमा आधिकारीक तथ्याङ्क चाँही संकलन भएको छैन । काठमाडौं लगायतका ठूला शहरहरूमा दैनिक ज्याला मजदुरी गर्नेहरू त हिजोआज पनि हिडैरै जिल्ला भित्रिरहेका छन् । यस्तै, जिल्ला भित्रै पनि दैनिक मजदुरी गरेर आफ्नो दैनिकी टार्दै आएकाहरू थुप्रै छन् । अहिले उनीहरू चाँही लकडाउनले बढि मर्कामा परेको बुझाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको छ । 
यसरी दैनिक ज्याला मजदुरी गर्ने र वैदेशी रोजगारीमा जानेहरूले अहिले खेप्नु परेको समस्याका कारण अब आफ्नो जन्मभूमीमा आधुनिक कृषि वा घरेलु उद्योग गरेर गुजारा गर्ने मनस्थिति बनाउनेहरू यो लकडाउनले जन्माउने अपेक्षा गर्न सकिन्छ । जसले गर्दा रित्तिदै गएको ग्रामिण क्षेत्रहरूले कोरोनाको अन्त्यपछि अर्को स्वरुप प्राप्त गर्न सक्नेछ । 

गाउँपालिकामा औषधि निःशुल्क

प्रितिका थापा
विदुर\बन्दाबन्दीका कारण नियमिति औषधि खानुपर्नेहरूलाई खरिदका लागि समस्या उत्पन्न भयो । नागरिकहरूको यही समस्याका लागि स्थानीय सरकारले आफै औषधि खरिद गरेर खुवाउन थालेको छ । नुवाकोटको केही स्थानीय सरकारले थालेको यो कार्यका कारण नागरिकहरूलाई केही सहजता महशुस भएको छ । 
नुवाकोटको तादी गाउँपालिकाले सुरुवात गर्दै त्यहाँका नागरिकहरूलाई निःशुल्क औषधि खुवाउन थालेको छ । 
एक महिनाको लागि निःशुल्क औषधि उपलब्ध गराएपछि सिंहदरबारको अधिकार घरमै आएको अनुभुति भएको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका जयराम खनाल बताउनुहुन्छ । बन्दाबन्दीका कारण आफुले नियमित खाइरहेको औषधि किन्न जान समस्या भइरहेको बेलामा गाउँपालिकाले घरमै औषधि पु¥याउन आएको उनी सुनाउँछन् । 
नियमित औषधि सेवन गर्नुपर्ने नागरिकहरूलाई समस्या परेको देखेर नुवाकोटका स्थानिय तहहरूले मागको आधारमा औषधि उपलव्ध गराउन थालेको छ ।  
उच्च रक्तचाप, सुगर, मुटु रोग, मानसिक रोग, दम लगायतका दीर्घ रोगका औषधी अस्पतालले सिफारिसका आधारमा नागरिकहरूलाई उपलब्ध गराउन थालेको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले अहिले ५१ जनालाई गाउँपालिकाले औषधि खुवाइरहेको बताए । 
नुवाकोटको तादी गाउँपालिका सुरु गरेको यो अभियानालई अरु गाउँपालिकाहरूले पनि सुरुवात गर्न थालेको छ । दुप्चेश्वर र सुर्यगढीले पनि नागरिकहरूलाई औषधि खुवाउन थालेको छ । ति दुवै गाउँपालिकाले नियमित औषधि सेवन गर्दै आइरहेका आफ्ना नागरिकहरूलाई एक महिनाको औषधि उपलव्ध गराउन थालेको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताए । 
नुवाकोटकै अर्को स्थानीय तह किस्पाङ गाउँपालिकाले पनि नियमित औषधि प्रयोग गर्दै आएका बिरामीहरूलाई औषधि खुवाई रहेको छ । यसरी औषधि उपलब्ध गराउँदा नागरिकहरूको चहलपहल कम हुने बुझाई गाउँपालिका अध्यक्ष छत्र लामाको छ । औषधि किन्नकै लागि नागरिकहरू लकडाउनको अवधिमा त्रिशुलीसम्म जानुपर्ने र  त्यसले जोखिम बढाउने भन्दै गाउँपालिकाले यो अभियान सुरु गरेको लामाले बताए । 
नियमिति खानुपर्ने औषधि सकिएको र खरिद गर्नका लागि बजार जान बन्दाबन्दीले अप्ठ्यारो पार्दै आएको थियो । अझै काठमाडौंनै पुगेर औषधि ल्याउनु पर्ने नागरिकहरूको त केहि दिन औषधिनै छुटिसकेको थियो । अब स्थानीय सरकारले थालेको यो गतिविधिले नुवाकोटका नागरिकहरूलाई केही राहत महशुस भएको छ । 

आपत परे मात्रै अस्पताल

विदुर\त्रिशुली अस्पताल नुवाकोटले आकस्मिक भएमा मात्रै अस्पताल आउनको लागी आग्रह गरेको छ ।
अस्पतालले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरेर चिकित्सकसँग सल्लाह गरेर मात्रै अस्पताल आउनको लागी त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले बताए । कोरोना भाईरसको संक्रमण त्रास रहेकाले अत्याबश्यक नभइ अस्पताल नआउनको लागी उनले आग्रह गरे । 
हाल त्रिशुली अस्पतालमा ज्वरो तथा खोकिको परिक्षणका लागी छुट्टै फाष्ट डेस्क सञ्चालन गरेकाले अस्पताल आएका अधिकांश बिरामीको सम्बोधन त्यसैबाट हुने उनले बताए । दैनिक रुपमा अस्पताल आउने ५०-६० जना बिरामीहरू फाष्ट डेस्कमा परिक्षण पछि मात्रै अस्पताल भित्र प्रबेश गर्ने ब्यबस्था मिलाएकाले सुरक्षित तबरले नियमित सेवा प्रबाह भैरहेको उनले बताए । हाल दैनिक सञ्चालन हुने बहिरङ सेवा बन्द भएकोले बिरामीको संख्यामा कमी आएको बताए । 
हाल अस्पतालबाट प्रबाह हुने दैनिक बहिरङ सेवा 
बन्द रहेकाले अत्याबश्यक बिरामीहरू मत्रै अस्पताल आउन आग्रह गरेको हो । अस्पतालबाट अरु भाईरसको संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । अस्पतालमा गर्भवती सेवा भने जारी रहेको बताईएको छ । सुत्केरी सेवा तथा गर्भवती परिक्षणको लागी भने निरन्तर तोकिएको समयमै अस्पताल आउन त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिेटेन्डेण्ड डा. रेमकुमार राईले बताए । 

सामाजिक सञ्जालबाट

अनि रोग नलागेर के लागोस त ?
भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मुदुसभरी मरमसला हुन्थ्यो ! गोठमा २ वटा लैनाभैँसी हुन्थे : एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो । चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन, चियापत्तिको टन्टो थिएन ।
अधिकांश शाकाहारी थिए, मासु खानले वनमा चरेर हुर्केको ‘टेसिलो’ खसी खान्थे । सुइ घोची घोची ४ किलो फुलाएको बोइलर खाने चलन थिएन । साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलो काटेर चुल्ठी बनाएर राख्थे ।
अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता ड्राइ फुड’हरू घरघरमा हुन्थे ताकि आपतकालमा प्रयोग गर्न पाइयोस् । बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो । वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलिआएका सुललित पदावली पाठ गर्थे । विहान विहानै गरिएको आवृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।
सिलौटोमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा मोही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे । बिहान उठेर महिलाहरू घरगोठको काम गर्थे । पुरुषहरू घाँसको भारी लिएर आउँथे । घर र गोठको कामले शरीरलाई कसरत पुग्थ्यो, कसैलाई ‘मर्निङ वाक’ गर्ने आवश्यकता थिएन ।
‘रिफाइन’ गरेको तेल आएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउको चोखिन खान्थे । ५०-५५ किलाको धानको बोरा माथि अर्को बोरा खप्टेर बोकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे । मोही पारेपछि आगोमा नौनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा आगो बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे । सरसफाइको ख्याल गर्थे ।
अहिले झैँ कोठैपिच्छे ‘वासरूम’ थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्न‘पथ्र्यो । दिसापिसाब गरेका कपडा लगाएर खान नपरोस् भनेर धोती फेरेर ढिँडो खान्थे । सके खरानी, नसके माटोले हात धुन्थे । दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियो । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि यौनाङ्ग राम्रोसँग धुने चलन थियो, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।
खानुअघि बलि वैश्वदेव हुन्थ्यो । पहिलो गास कागलाई, दोस्रो गाइलाई, तेस्रो गास कुकुरलाई । घरबाहिर राखिदिएको खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा आउन कम हुन्थ्यो । अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्यो । आगो रङ्ग बदलेर बल्थ्यो ।  अनि खाना खान्थे । खाना खाएपछि मोही पिउँथे । मोहीले पचाउँथ्यो ।
उठ्नेबित्तिकै तामाको अम्खराको पानी पिउँथे, यसले दिसा खुलाउँथ्यो । सुत्नुअघि मनतातो दूध पिउँथे, यसले निद्रा लाग्थ्यो । ‘टाइट जिन्स’ लगाउने चलन थिएन । शरीरलाई आराम दिने खालका कपडा लगाउँथे । पितापुर्खाका नाममा चौतारी चिन्ने पोखरी बनाउने चलन थियो । चौतारीको वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानको, अंश मानेर पूजा गर्थे ।
रूखले चीसो हावा दिन्थ्यो । पोखरी बनाएर मौलो गाड्थे । मौलेले धार्मिक भाव उत्पन्न गथ्र्यो । डाँडामा लगेर पोखरी बनाएकाले अझै पनि डाँडापोखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पोखरी फोहोर गर्दैनथे । वर्षातको पानी पोखरीमा रिजर्भ हुन्थ्यो । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्रोत १२ महिनै रसाइरहन्थे । प्रकृतिप्रेम अनौठो थियो । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जोड्थे । विष्णुको पहिलो अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दोस्रो अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे ।
तेस्रो अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिको मिलनबाट पैदा भएका ‘क्रस’ या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताको वाहन बताएर  संरक्षणको अधिकार दिए ।  यो अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे । गोठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलो थियो, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन ।
अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्यो । घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो ।
वर्षाैँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैको सामुहिक मरण सुनिदैँनथ्यो । खानापान, सरसफाइ, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीको यो भन्दा अनुपम नमूना के होला ? त्यसैले, उ बेला न कोरोना थियो, न इबोला थियो, न सार्स थियो न इन्फ्लुएञ्जा ।
अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हो भने, यी कोरोना जस्ता महामारी रोग व्याधिबाट छुटकारा पाइन्थ्यो कि?

कपिलदेव खनालसंग (श्रृङ्खला ५)

यसरी सम्भव भयो रेडियोबाट रिजल्ट
बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरूबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड(१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरू अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि, अभियान ठप्प प्रायः छ ।
विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरू माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ ।  विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरू ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरू बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।
एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरूले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरूलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरू रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरू नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्य तिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरूलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरू थिए । यसमध्यै एउटा विकल्प छनौट
गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।
प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।
प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरूको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरूको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरूको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए ।
प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरू सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरू पनि भेटिनु भयो । अब उहाँहरूले यसै गरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ ः रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।
(लेखक नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ४)

लकडाउनमा मेरो दैनिकी
चैत ११ गतेदखि हामी निरन्तर लकडाउनमा छौं । यो विश्वव्यापी महामारीको समयमा हामी पत्रकाहरूको भूमिका र जिम्मेवारी झन् थपिएको छ । यस्तो अवस्थामा लडकाउनलाई बहाना बनाएर नागरिकहरूको सू–सुचित हुने अधिकारलाई कुण्ठित पार्न हामीले कुनैपानि अवस्थामा सक्ने कुरै भएन ।
त्यस कारणले कोरोना भाइरसबाट सुरक्षित रहने स्वासथ्य उपायाहरूलाई अवलम्व गर्दै हामी नुवाकोटका पत्रकारहरू निरन्तर काममा छौं । म पनि व्यक्तिगत रुपमा यसै गरी सुरक्षित रहेर काममा र लागिरहेको छु । कोरोना भाइरसको अहिलेको जिल्लाको अवस्था, सरकारले नागरिकहरूको स्वास्थ्य र ज्यानको सुरक्षाका लागि गरिरहेको कामको बारेमा नागरिकहरूलाई जानकारी गराउने, नागरिकहरूको अवस्था, आवश्यकता र अपेक्षालाई सम्वन्धित पक्षसम्म पु¥याउने काममा सक्रिय रहेको छु ।
आजभोली जिल्लामा अन्य गतिविधिहरू नभएका कारण काममा केही होला भएपनि जोखिमपूर्ण अवस्था रहेकोले सावधानी अपनाउँदै र मुल्यका हिसाबले अधिक र सार्वजनिक चासोेका विषयमा समाचार संकलन, समाचार संकलनका लागि फिल्डमा जाने साथीहरूको व्यवस्थापनमा दैनिकी खर्चिरहेका छु । चैत ११ गतेभन्दा अघिको अर्थात् लकडाउन भन्दा पहिलाको अवस्था र अहिलेको अवस्थामा मेरो दैनिकी र काममा खासै कमी आएको छैन ।
ठिक समयमा ठिक जानकारी दिनका लागि झन् चनाखो र तयारी अवस्थामा रहनु पर्ने अहिलेको अवस्था छ । त्यही रुपमालाई आफुलाई ‘हाई अलर्ट’मा राखेको छु ।
बिहान ६ बजेदेखि बेलुकी साढे सातबजेसम्म कार्यालयमा बिताउने गरेको छु, सम्भावन भएसम्मका रिपोर्टिङ्ग र समाचार संकलन सामाजिक सञ्जाल र टेलिफोन प्रयोग गरेर गरिरहेको छु, सकेसम्म घर र अफिस बाहिर निस्किएको छैन । मलाई चाँही आफुले काम गर्ने सञ्चार गृहको कार्यालय र मेरो निवास एउटै घरमा भएकोले बढि सजिलो भएको छ ।
समाचारश्रोत र अन्य व्यक्तिहरूलाई समेसम्म कार्यालयमा नआउनका लागि अनुरोध गरिरहेको छु, म कार्यरत सञ्चारगृहका अन्य साथीहरूलाई पनि घरकै एकान्तबासमा रहेका काम गर्न चैत ११ गतेदेखि पठाएको छु । प्रायः साथीहरू घरबाटै काम गरिरहेका छन् ।


टिभि त्रिशुली र रेडियो त्रिशुली बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित प्रशारणमा छन् । मनोरञ्जनात्मक कार्यक्रमहरू कटौती गरेर समाचारमुलक कार्यक्रम र समाचार बुलेटिनलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको छु । कोरोना भाइरसको फैलदो त्रास र नेपालमा पनि कोरानो संक्रमितको संख्या बढ्न थालेसंगै समाज, समुदाय र नागरिकहरूलाई सहि सूचना सही समयमा दिनका लागि मेरै पहलमा नुवाकोट जिल्लाका सात वटा एफएम रेडियोहरूले कोरानो अपडेटलाई दैनिक रुपमा प्रस्तुत गर्दै आएको छ । नुवाकोट अपडेट नाम दिइएको त्यो आधा घण्टाको दैनिक रेडियो कार्यक्रमको तयारी, उत्पादन र प्रशारणका लागि दैनिक दुई घण्टा समय खर्चिदै आएको छु । जुन कार्यक्रमलाई कोरोना भाइरसको संक्रमणको दृष्टिबाट नुवाकोट अवस्था, त्यसको रोकथाम र नागरिकहरूको हिफाजतका लागि सरकारी र गैर सरकारी पक्ष अनि सचेत व्यक्तिहरूले गरिरहेको गतिविधिलाई जस्ताकोतस्तै प्रस्तुत गर्दै आएको छ । यही काम र जिम्मेवारीका कारण आजभोलिको लकडाउनमा पनि मेरो दैनिकी र दिनचर्यामा खास फुर्सद निस्किएको छैन ।
जिल्लामा कार्यरत पत्रकार साथीहरूसंग सामाजिक सञ्जाल र टेलिफोन मार्फत् जोडिरहेको छु, एक पटक जिल्लाका सञ्चालित प्रायः विद्युतिय सञ्चार माध्यामका कार्यालयहरू हेर्न र साथीहरूलाई भेट्न पुगें । त्यस बाहेक अन्य समयमा समाचार संकलनका लागि बाहिर निस्कदा साथीहरूसंग भेटघाट भइनै रहेको छ ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ३)

नुवाकोटका पत्रकारहरु कर्तव्य र काममा निरन्तर छन्
हामी अहिले कुरा गरिरहेको समयको तथ्याङ्क हेर्ने हो भने विश्वभरी एक लाख नौं हजारको मृत्यु भइसकको छ । कोरोना भाइरसबाट झण्डै १८ लाख मानिसहरू संक्रमिण भएका छन् । यस्तो डरलाग्दो अवस्थामा हामी नेपाली र फ्रण्टलाइनमा रहेका काम गर्ने पत्रकारहरू चाहि जोखिममा नपर्ने त कुरै भएन । नेपालमै पनि आज आइतवारसम्ममा १२ जना व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । यस हिसावले पनि नेपाल विस्तारै असुरक्षित बन्दै गएको महशुस गरेको छु ।
सिङ्गै मानव जातीको अस्तित्वनै संकटमा पर्न सक्ने यो विश्व महामारीलाई फैलन नदिन र मानविय क्षति कम गर्नका लागि अहिले भइरहेको लकडाउनले पक्कै पनि महत्वपूर्ण भूमिका खेलेको छ जस्तो मलाई लागेको छ । सरकारले चैत ११ गतेदेखि गरिरहेको बन्दाबन्दीलाई नागरिकहरूले सहर्ष स्विकार गरेका छन् । नुवाकोटमा पनि यस्तै अवस्था छ । पहिला विश्व महामारीको रुपका विकास भएको कोरानो भाइरसेको संक्रमण समुदायमा समाजमा छैन भन्ने निक्यौल होस् अनि मात्रै दैनिकीमा फर्कने मनस्थितिमा जिल्लाको नागरिकहरूलाई पाएको छु । यस अवस्थामा परिहेको समस्या र गुुम्फनलाई नागरिकहरूले उत्तिसाह्रो पिडाका रुपमा मानेका छैनन् ।
यस अवस्थामा जिल्लाका पत्रकारहरूको भुमिका र सक्रियतालाई नागरिक समाजले, आम श्रोता, पाठक, दर्शकले मुल्याङ्कन गर्ने हो । हामी निरन्तर समाचार र जानकारी स्ंकलन अनि प्रबाहमा छौं । चैत १० गते र त्यसपछिको दिनदेखि अहिलेसम्म जिल्लामा काम गरिहरनुभएका पत्रकारहरूको गतीका खास कुनै परिवर्तन छैन । एक किसिमले भन्नुपर्दा आफ्नो स्वास्थ्य र शरिरलाई जोखिममा राखेर नुवाकोटका अधिकांश पत्रकार साथीहरू र अग्रहजहरूले गरिरहनुभएको काम प्रशंसनिय र लोभलाग्दो छ । २०७२ साल बैशाख १२ गते र त्यपछिका भुकम्पहरूमा जसरी जिल्लाका सञ्चार गृह र पत्रकारहरूले आफ्नो कर्तब्यलाई पुरापुर पालन गरेर सिङ्गै नागरिक समाजको तर्फवाट प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर छन् ।
लकडाउनको यो अवधिमा हामीलाई समाचार संकलन र सम्प्रेषणमा कुनै अवरोध छैन । स्वाभाविकै हो हिजो सहज दिनमा जत्तिनै पत्रकार साथीहरू बाहिर फिल्डमा कुद्नुभएको छैन, बाहिर नदेखिने साथीहरू घरभित्रै रहेर र कार्यालयमा एकान्तबास बनाएर काम गरिहरनु भएको छ । जिल्लाबाट प्रशारण हुने टेलिभिजन रेडियो र प्रकाशन हुने सबै अनलाई पत्रिकाहरू नियमित छन् । कही कतैबाट कुनै साथीहरूले काम गर्न समस्या भयो भनेर गुनासो गुर्नभएको छैन । अधिकांशसित म पनि दैनिक रुपमा जोडिरहको छु टेलिफोन र सामाजिक सञ्जाल मार्फत्, उहाँहरू आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । दैनिक र साप्ताहिक पत्रिकाहरूको प्रकाशनचाँहि अहिले नुवाकोटमा पूर्ण रुपमा बन्द भएको छ । पत्रिका प्रकाशनका लागि धेरै पक्ष र जनशक्ति एकैठाउँमा हुनु पर्ने र तारतम्य मिल्नुपर्ने कारणले यो समस्या भएको हो । पत्रपत्रिका नियमित हुननसक्नेमा नुवाकोट मात्रै होइन यो राष्टिूय रुपमै समस्या भइरहेको छ ।
फिल्डमा दौडधुप गरिरहनुहुने पत्रकार साथीहरूलाई सहयोग र सद्भाव राख्ने सरकारी तथा गैर सरकारी निकायहरू पनि छन् । यही अवस्थाको आँकलन गरेर हामीले चैत ७÷८ गतेतिर पत्रकारले कोरोना भाइरसबाट सुरक्षित हुँदै काम गर्ने सन्र्दभमा पत्रकार महासंघमै बसेर छलफल पनि गरेका थियौं । सुरक्षाको उपाया थाहा पाएका तर सामाग्री नभएका हामीलाई निजी तथा सार्वजनिक संस्थाहरूले अत्यावश्यक सामाग्रीहरू केही मात्रामा भए पनि उपलब्ध गराउनु भएको छ । जसले गर्दा हामीलाई केही भए पनि सहजता मिलेको छ ।
सम्रगमा नुवाकोटका सञ्चार माध्याम र पत्रकारहरू आम नागरिकहरूको स्वास्थ्य अनि जीवनको सुरक्षाका लागि अहिलेको परिस्थितिमा आवश्यक पर्ने सूचना र जानकारी संकलन गरेर विद्युतीय सञ्चार माध्यामबाट प्रेषित गरिरहेका छन् । जिम्मेवारीबाट नुवाकोटका पत्रकारहरू चुकेका छैनन् ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)