Friday, May 01, 2020

लकडाउनको समयमा नुवाकोटका एफएम रेडियोहरुले सामुहिक रुपमा के गरिरहेका छन् ? चित्रमा हेनुृहोस्





विक्रि भएन तरकारी

विदुर\नुवाकोटको मानिसहरूको बढी बसोवास रहेको क्षेत्रहरूमा अहिले हरियो तरकारीको अभाव छ । पाइहालेको तरकारीको मुल्य पनि अचम्मैसंग बढेको छ । तर त्यही तरकारी बेच्न आउने गाउँका तरकारी उत्पादक कृषकहरू भने तरकारी विक्रि नभएर दिनहुँ आधा भारी बाटोमा फालेर घर फर्किरहेका छन् । बेलकोगढी नगरपालिका वडा नं. १० बेलकोट हर्रेको कृषक पवन पौडेलले अहिले यस्तै समस्या भोगिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि जारी रहेको यो बन्दाबन्दीले अहिले दैनिक जनजीवन अस्तब्यस्त बनिसकेको छ । कतै खान नपाउनेहरूको भिड छ भने कतै उत्पादन भएको कृषिजन्य सामाग्रीहरू कुहिने अवस्था आएको छ । 
विशेष गरी दैनिक रुपमा प्रयोग गर्नुपर्ने र लामो समय भण्डार गर्न नसकिने तरकारीका कारण दुई तर्फ मार परिरहेको छ । उपभोक्ताहरू सहरी क्षेत्रमा महंगो परिरहेको गुनासो गरिरहेका छन् । त्यत्ति मात्रै होइन दोब्बर भाउमा पनि हरियो तरकारीहरू नपाउने अवस्था आइसकेको बताउछन् विदुरका राजु थापा ।
तर तरकारी उत्पादक कृषकको पिडा भने अर्कै छ । उनीहरूले डोकोमा बोकेरै नुवाकोटको बढी घनत्व रहेको ठाउँसम्म सबेरै तरकारी पु¥याउँदा पनि किन्ने ग्राहक छैनन् । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल दिनहुँ तरकारी बोकर त्रिशुली, बट्टार लगायतका बजार डुल्छन् र घर जाँदा आधी थुञ्चे बाटोमा फालेर जान्छन् ।
यसरी उपभोक्ताले दोब्वर तिर्दा पनि नपाउने र कृषकहरू आधा उत्पादन फालेर घर जानु पर्ने दोहोरो अनौठो अवस्था नुवाकोटमा सृजना भएको छ । तरकारी व्यवसायीहरूले बिक्न छाडेको भनेर कृषकसंग तरकारी खरिद गर्न नमान्ने र कृषकहले सिधै उपभोक्ता भेट्न नपाउने कारणले नै यसो भएको हो । 
आफ्नो बारीमा अहिले लहलहाइरहेको हरियो तरकारी के गर्ने भन्नेमा चिन्तित् छन् तरकारी उत्पादक पवन पौडेल ।
तरकारी जस्तै दुध, अण्डा तथा मासु उत्पादन गर्दै आएका किसानहरू पनि बजार नपाएर अहिले भुतुक्कै भएका छन् । यस अघि काठमाडौंको तरकारी बजारमा महत्वूर्ण हिस्सा लिइरहेको थानसिंग क्षेत्रका कृषकहरू अहिले डोका थुञ्चेमा गाउँ डुलाएर विक्ने तरकारीको आम्दानीमा चित्त बुझाइरहेका छन् । तरकारी ढुवानीका लागि सरकारले छुट दिएको भएपनि अहिलेको अवस्थामा गाउँ अनि कुनातिरका कृषकहरूले बजारमा उत्पादन 
लैजान नसकेको थानसिंगका प्रदिपप्रसाद पाठक ‘सुमन’ले बताए ।
यसरी नुवाकोटको उत्पादनशिल क्षेत्रका कृषकहरू कोरोना भाइरसको बन्दाबन्दीको प्रभावमा परिरहेका छन् । आफ्ना गुनासो राख्ने ठाउँसम्म नमिनेको कृषकहरूको भनाई छ । काम गर्ने कृषक खेतबारीमै अल्झिरहने भएको अहिलेको यो समस्या कहाँ लगेर सुनाउँदा समाधान हुने पत्तो नभएको बताउछन् कृषक पवन पौडेल । 
नुवाकोटका अहिले काठमाडौं र धादिङ्गबाट हरियो तरकारी आइरहेको छ । मुल्य ह्वात्तै बढिसकेको छ । तर नुवाकोटकै उत्पादनहरू भने यसरी कुहिएर गइरहेको छ । यसमा कृषि सहकारी, कृषक समुहहरूले अग्रसरता लिएर यहाँको उत्पादन यही नै खपत हुने वातावरणको सृजना गर्नु आवश्यक देखिएको छ । 

उपमेयर सुत्केरी मसला सहित

सुजित भण्डारी
विदुर\बन्दाबन्दीको समयमा सुत्केरी भएकाहरूलाई विदुर नगरपालिकाले घरभेट गर्ने अभियान प्रभावकारी मात्रै बनेको छैन, त्यसबाट नागरिकहरू उत्साही समेत छन् । विदुर नगरपालिका वडा नं. १२ का सावित्री विक यसरी अप्ठ्यारो अवस्थामा नगरपालिकाको तर्फबाट उपप्रमुख सुत्केरी मसला लिएर भेट्न आउने कुराले खुसी दिएको सुनाउँछन् । 
विदुर नगरपालिकाले लकडाउनको अबधिमा सुत्केरी भएकाहरूलाई भेट्न घरघरमा नै पौष्टिक आहार सहित पुग्न थालेको छ । तीन हजार रुपैयाँ नगद, सुत्केरी मसला र एक शिशी ध्यु कोशेली बोकेर जनप्रतिनिधि घरमै सुत्केरी र नवजात शिशु भेट्न पुग्ने प्रयासलाई यहाँ रुचाईएको छ । त्रिशुली अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरबाट तथ्याङ्क संकलन गरेर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल सुत्केरीको घर घरमा पुगिरहेका छन् । 
विपदको समयमा महिला, बालकालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भन्दै नगरपालिकाले यो नीति लिएको हो । विदुर नगरपालिकाले नीति तथा कार्यक्रममा नै समाबेस गरेर सुत्केरी भेटघाट कार्यक्रम राखेको र उक्त अभियानलाई उपप्रमुखले समुदायमा पु¥याउनुभएको बताउनुहछन् नगर प्रमुख सञ्जु पण्डित । 
विदुर नगरपालिकामा बन्दाबन्दी सुरु भएपछि अर्थात् चैत ११ गतेदेखि २७ जना सुस्केरी भएको तथ्याङ्क नगरपालिकासंग छ । २७ जनाकै घर परिवारको विदुरमा विदुर नगरपालिकाको यो कार्यक्रम पुगिसकेको छ । यो लम्बिएको बन्दाबन्दीको अवधिमा सुत्केरी हुनेहरूले पनि यो सेवा स्थानीय सरकारबाट पाउने छन् । उहाँहरूले पोषणयुक्त खाना खरिद र जोहो गर्नका लागि समस्या भएकोले सहजिकरण गर्न थालिएको यो अभियानलाई निरन्तरता दिँदा राम्रो हुने देखिन्छ । 

चलेकै छ खेतीपाती

शर्मिला उप्रेती
बुधसिंगका ज्ञानकुमार श्रेष्ठ बारी जोत्दै । 
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण प्रभावित नहुने क्षेत्र छैन । तर सरकारले र नागरिक स्वयमंले पनि कृषि क्षेत्रलाई अत्यावश्यकको सूचीमा राखेको छ । 
घर भित्रै बस्नु पर्ने यो अवस्थामा कृषि पेशालाई चाँही गराउनु भन्ने निर्देशन र आशय सरकारकै रहेको छ । गएको हप्ता तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीसित भिडियो मार्फत् कुराकानी गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कृषकहरूलाई काम गर्नका लागि सहजिकरण गर्न निर्देशन दिए । गाउँपालिका अध्यक्ष वस्तीले पनि कृषकहरू सुरक्षित रहेर खेतीपातीमा नियमित रहेको बताए । 
नुवाकोटको सबै स्थानीय तहले कृषकहरूलाई थोरै थोरैको संख्यामा खेतवारीमा काम गर्न उत्साहित गरिरहेको छ । किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा समेत आफ्नो गाउँपालिकामा कृषि पेशको काम नरोकिएको बताउछन् । अहिलेको मौसक अनुसारको बाली लगाउने र पाकेको बाली भित्र्याउने काममा यो लकडाउनमै पनि कृषकहरू सक्रिय रहेको लामाले बताए ।
नुवाकोटकै अर्को स्थानीय तह पञ्चकन्या गाउँपालिकामा पनि कृषकहरू खेतपातीमा निस्किरहेका छन् । आफ्नै घरपरिवारका सदस्य, दुई चार जना भएर थोरै थोरै भएपनि खेतीको काम वडा नं. २ मा चलिरहेको छ । कृषकहरूलाई अहिलेको समयमा आवश्यक पर्ने रसायनिक मलका लागि समेत स्थानीय सरकारले सहजिकरण गर्न थालेको छ । स्थानीय सहकारी संस्था मार्फत् रसायनिक मल आपुर्ती गराएर कृषकलाई उपलब्ध गराइरहेको बताउछन् पञ्चकन्या वडा नं. २ का अध्यक्ष ध्रुवप्रसाद मिश्र ।
अहिले नुवाकोटको अधिकांश स्थानमा गहुँ भित्र्याउने, धान लगाउने र मकै रोप्ने बेला छ । त्यस्तै मौसम अनुसारको नयाँ तरकारीको बिउ समेत लगाउने बेला अहिले भएको छ । यसरी एकै पटक ठूला र नगदे बाली लगाउने र भित्र्याउने यो समयमा भने कृषकहरूले समस्या व्यहोरेका छन् । कत्तिपय काममा आफु र परिवारका सदस्य मात्रैले सम्भव नहुने छ । र पनि अन्य काम गर्ने मानिस खोज्ने र जम्मा गर्ने बेला अहिले छैन । बेलकोटगढी नगरपालिका वडा नं. १० बेल्कोट हर्रेका पवन पौडेल अप्ठारैसंग पनि खेतीको काम धानिरहेको बताउछन् ।
तर, नयाँ लगाउने बाली र तरकारीको विउ नपाउने कृषकहरू भने नुवाकोटमा धेरै छन् । शहरका केही तरकारीका बिउ बिजर र औषधि विक्रि गर्ने पसल फाट्टफुट्ट खुलेपनि ग्रामिण भेगमा त्यो सुविधा छैन । गाउँतिरका पसलहरूमा भएकै विउ पनि सकिएको छ । अहिलेको समयलाई आवश्यक पर्ने विब गाउँमा ति ब्यपारीहरूले लैजान पनि सकेका छैनन् । कृषकहरू विउ खरिदकै लागि शहर पस्न सक्ने अवस्था अहिले छैन । त्यसले गर्दा अर्को तरकारी र मौसमी उत्पादन आउने समयमा चाँही खडेरी लाग्ने बताउछन् लिखु गाउँपालिका ५ थानसिंगका प्रदिपप्रसाद पाठक ।
अहिले कृषकमा कोरोनाको त्रास हटोस् अनि काममा जाउला भन्ने मनोभाव बढि देखिन्छ । अहिले त खानका लागि अन्नपातको अभाव देखिएको छैन । तर अहिले नगरिने कामले अर्को तीन महिनापछि अभाव खडा गर्न सक्छ । त्यसैले भाइरसको संक्रमणबाट सुरक्षित रहने उपायाँ अपनाएर खेतवारीको काममा निरन्तारता दिनु उपयुक्त देखिएको छ । 

कोरोनाले देखाएको आश

कपिलदेव खनाल
विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउनले केही परिवर्तनको संकेत समेत गरेको छ ।
कोरोना भाइरसका कारण विश्वभरीमा १ लाख ६५ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । झण्डै २४ लाख जना संक्रमित भएका छन् साढे छ लाख जना त यो रोग लागेर निको पनि भएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि कोरोना भाइरसबाट ३१ जना संक्रमित भएकोमा चार जना निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । 
यो विश्व माहामारीबाट प्रभावित हुन बाँकी मानिसहरू सायदै छन् । तर यो कोरोना भाइरसले विश्वस्तरमा निम्त्याएको संकटले सम्भावना ल्याएको देख्नेहरू पनि छन् । विशेष गरी बैदेशीक रोजगारी, अध्यायनका लागि विदेशमा रहेकाहरू अहिले गाउँ फर्किएका छन् । नुवाकोटमा चैत ४ गतेदखि चैत ११ गतेको बीचमा साढे चार सय जना गाउँ आएका छन् । त्यस्तै अन्य विभिन्न जिल्ला र सहरमा नोकरी तथा अन्य सिलसिलमा बस्दै आएकाहरू आफ्नो सपरिवारनै दिएर आफ्नो पुर्खौली वा जन्मथलो फिरेका छन् । 
नेपालमा कोरोना भाइरसको संकट अहिलेकै अवस्थामा टरेमा यसले हामीलाई सम्भावना दिएको तर्क गर्छन् नुवाकोटका उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा । उनका अनुसार कोरोना भाइरस नियन्त्रणमा आएपछि पनि निक्कै लामो समय बैदेशीक रोजगारी र अन्य काम गर्नका लागि नेपालीहरू जाने वातावतरण नबन्न सक्छ । जसले गर्दा गाउँघरले पुरानो शैली र नागरिकहरूको चहलपहल पाउने छ ।
अहिले शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा नागरिकहरूको घनत्व बढि देखिएको छ । लक डाउन लम्बिदै गर्दा भने नागरिकहरूलाई अहिले घरघरमा बस्ने बानी परेको छ । स्वास्थ्य परीक्षणका लागि र स्थानीय सरकारहरू बीचको समन्वयका लागि गाउँ गाउँ डुलिरहेका जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ अहिले नागरिकहरू अनुसाशित रुपमा घरमा बसिरहेको सुनाउछन् ।
नुवाकोटमा लडक डाउन अघि र लक डाउनको बीचमा गरेर २० हजार भन्दा बढि मानिसहरू काठमाडौं वा अन्य स्थानबाट फर्किआएको अनुमान छ । यसमा आधिकारीक तथ्याङ्क चाँही संकलन भएको छैन । काठमाडौं लगायतका ठूला शहरहरूमा दैनिक ज्याला मजदुरी गर्नेहरू त हिजोआज पनि हिडैरै जिल्ला भित्रिरहेका छन् । यस्तै, जिल्ला भित्रै पनि दैनिक मजदुरी गरेर आफ्नो दैनिकी टार्दै आएकाहरू थुप्रै छन् । अहिले उनीहरू चाँही लकडाउनले बढि मर्कामा परेको बुझाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको छ । 
यसरी दैनिक ज्याला मजदुरी गर्ने र वैदेशी रोजगारीमा जानेहरूले अहिले खेप्नु परेको समस्याका कारण अब आफ्नो जन्मभूमीमा आधुनिक कृषि वा घरेलु उद्योग गरेर गुजारा गर्ने मनस्थिति बनाउनेहरू यो लकडाउनले जन्माउने अपेक्षा गर्न सकिन्छ । जसले गर्दा रित्तिदै गएको ग्रामिण क्षेत्रहरूले कोरोनाको अन्त्यपछि अर्को स्वरुप प्राप्त गर्न सक्नेछ । 

गाउँपालिकामा औषधि निःशुल्क

प्रितिका थापा
विदुर\बन्दाबन्दीका कारण नियमिति औषधि खानुपर्नेहरूलाई खरिदका लागि समस्या उत्पन्न भयो । नागरिकहरूको यही समस्याका लागि स्थानीय सरकारले आफै औषधि खरिद गरेर खुवाउन थालेको छ । नुवाकोटको केही स्थानीय सरकारले थालेको यो कार्यका कारण नागरिकहरूलाई केही सहजता महशुस भएको छ । 
नुवाकोटको तादी गाउँपालिकाले सुरुवात गर्दै त्यहाँका नागरिकहरूलाई निःशुल्क औषधि खुवाउन थालेको छ । 
एक महिनाको लागि निःशुल्क औषधि उपलब्ध गराएपछि सिंहदरबारको अधिकार घरमै आएको अनुभुति भएको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका जयराम खनाल बताउनुहुन्छ । बन्दाबन्दीका कारण आफुले नियमित खाइरहेको औषधि किन्न जान समस्या भइरहेको बेलामा गाउँपालिकाले घरमै औषधि पु¥याउन आएको उनी सुनाउँछन् । 
नियमित औषधि सेवन गर्नुपर्ने नागरिकहरूलाई समस्या परेको देखेर नुवाकोटका स्थानिय तहहरूले मागको आधारमा औषधि उपलव्ध गराउन थालेको छ ।  
उच्च रक्तचाप, सुगर, मुटु रोग, मानसिक रोग, दम लगायतका दीर्घ रोगका औषधी अस्पतालले सिफारिसका आधारमा नागरिकहरूलाई उपलब्ध गराउन थालेको हो । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले अहिले ५१ जनालाई गाउँपालिकाले औषधि खुवाइरहेको बताए । 
नुवाकोटको तादी गाउँपालिका सुरु गरेको यो अभियानालई अरु गाउँपालिकाहरूले पनि सुरुवात गर्न थालेको छ । दुप्चेश्वर र सुर्यगढीले पनि नागरिकहरूलाई औषधि खुवाउन थालेको छ । ति दुवै गाउँपालिकाले नियमित औषधि सेवन गर्दै आइरहेका आफ्ना नागरिकहरूलाई एक महिनाको औषधि उपलव्ध गराउन थालेको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताए । 
नुवाकोटकै अर्को स्थानीय तह किस्पाङ गाउँपालिकाले पनि नियमित औषधि प्रयोग गर्दै आएका बिरामीहरूलाई औषधि खुवाई रहेको छ । यसरी औषधि उपलब्ध गराउँदा नागरिकहरूको चहलपहल कम हुने बुझाई गाउँपालिका अध्यक्ष छत्र लामाको छ । औषधि किन्नकै लागि नागरिकहरू लकडाउनको अवधिमा त्रिशुलीसम्म जानुपर्ने र  त्यसले जोखिम बढाउने भन्दै गाउँपालिकाले यो अभियान सुरु गरेको लामाले बताए । 
नियमिति खानुपर्ने औषधि सकिएको र खरिद गर्नका लागि बजार जान बन्दाबन्दीले अप्ठ्यारो पार्दै आएको थियो । अझै काठमाडौंनै पुगेर औषधि ल्याउनु पर्ने नागरिकहरूको त केहि दिन औषधिनै छुटिसकेको थियो । अब स्थानीय सरकारले थालेको यो गतिविधिले नुवाकोटका नागरिकहरूलाई केही राहत महशुस भएको छ । 

आपत परे मात्रै अस्पताल

विदुर\त्रिशुली अस्पताल नुवाकोटले आकस्मिक भएमा मात्रै अस्पताल आउनको लागी आग्रह गरेको छ ।
अस्पतालले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरेर चिकित्सकसँग सल्लाह गरेर मात्रै अस्पताल आउनको लागी त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले बताए । कोरोना भाईरसको संक्रमण त्रास रहेकाले अत्याबश्यक नभइ अस्पताल नआउनको लागी उनले आग्रह गरे । 
हाल त्रिशुली अस्पतालमा ज्वरो तथा खोकिको परिक्षणका लागी छुट्टै फाष्ट डेस्क सञ्चालन गरेकाले अस्पताल आएका अधिकांश बिरामीको सम्बोधन त्यसैबाट हुने उनले बताए । दैनिक रुपमा अस्पताल आउने ५०-६० जना बिरामीहरू फाष्ट डेस्कमा परिक्षण पछि मात्रै अस्पताल भित्र प्रबेश गर्ने ब्यबस्था मिलाएकाले सुरक्षित तबरले नियमित सेवा प्रबाह भैरहेको उनले बताए । हाल दैनिक सञ्चालन हुने बहिरङ सेवा बन्द भएकोले बिरामीको संख्यामा कमी आएको बताए । 
हाल अस्पतालबाट प्रबाह हुने दैनिक बहिरङ सेवा 
बन्द रहेकाले अत्याबश्यक बिरामीहरू मत्रै अस्पताल आउन आग्रह गरेको हो । अस्पतालबाट अरु भाईरसको संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । अस्पतालमा गर्भवती सेवा भने जारी रहेको बताईएको छ । सुत्केरी सेवा तथा गर्भवती परिक्षणको लागी भने निरन्तर तोकिएको समयमै अस्पताल आउन त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिेटेन्डेण्ड डा. रेमकुमार राईले बताए । 

सामाजिक सञ्जालबाट

अनि रोग नलागेर के लागोस त ?
भकारीभरि धान र कोदो हुन्थ्यो, बोराभरी नुन, बारीभरी तरकारी, मुदुसभरी मरमसला हुन्थ्यो ! गोठमा २ वटा लैनाभैँसी हुन्थे : एउटा वर्षालाई एउटा हिउँदलाई । दूध बाह्रैमास उपलब्ध हुन्थ्यो । चिया खान सिकेका थिएनन्, दूध पिउँथे । चिनीको टन्टो थिएन, चियापत्तिको टन्टो थिएन ।
अधिकांश शाकाहारी थिए, मासु खानले वनमा चरेर हुर्केको ‘टेसिलो’ खसी खान्थे । सुइ घोची घोची ४ किलो फुलाएको बोइलर खाने चलन थिएन । साग सुकाएर गुन्द्रुक, मूला सुकाएर सिन्की बनाउँथे । कर्कलो काटेर चुल्ठी बनाएर राख्थे ।
अनिकाल र दुर्भिक्षमा काम लाग्ने यस्ता ड्राइ फुड’हरू घरघरमा हुन्थे ताकि आपतकालमा प्रयोग गर्न पाइयोस् । बिहान उठ्थे, नुहाउँथे । तुलसीका मठमा गएर माला जप्थे, जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो । वेद पढ्थे । उपनिषद् पढ्थे । नभए भाषिकामै चलिआएका सुललित पदावली पाठ गर्थे । विहान विहानै गरिएको आवृत्तिले ग्रन्थहरू कण्ठस्थ हुन्थे ।
सिलौटोमा मसला पिस्दा महिलाहरूका हात दरा हुन्थे, ठेकीमा मोही घार्रघुर्र पार्दा पुरुषहरूका हात दरा हुन्थे । बिहान उठेर महिलाहरू घरगोठको काम गर्थे । पुरुषहरू घाँसको भारी लिएर आउँथे । घर र गोठको कामले शरीरलाई कसरत पुग्थ्यो, कसैलाई ‘मर्निङ वाक’ गर्ने आवश्यकता थिएन ।
‘रिफाइन’ गरेको तेल आएकै थिएन, ग्यास्टिक पनि कसैलाई हुँदैनथ्यो । घिउको चोखिन खान्थे । ५०-५५ किलाको धानको बोरा माथि अर्को बोरा खप्टेर बोकी हिँड्ने तागत भएका बलियाबाङ्गा मान्छे हुन्थे । मोही पारेपछि आगोमा नौनी चढाएर घर नै बास्नामय बनाउँथे । घरमा आगो बाल्ने हुनाले मच्छर, झिङ्गा र चमेरा पस्दैनथे । सरसफाइको ख्याल गर्थे ।
अहिले झैँ कोठैपिच्छे ‘वासरूम’ थिएनन् । घरबाहिर टाढा दिसापिसाब गर्थे । दिसा गर्दा कपडा फेरेर गर्न‘पथ्र्यो । दिसापिसाब गरेका कपडा लगाएर खान नपरोस् भनेर धोती फेरेर ढिँडो खान्थे । सके खरानी, नसके माटोले हात धुन्थे । दिसा गरेपछि ११ पटक, पिसाब गरेपछि ७ पटक हात धुने नियम थियो । खरानीपानीले हात धुन्थे । दिसापिसाब गरेपछि यौनाङ्ग राम्रोसँग धुने चलन थियो, पानी नभएका ठाउँमा पखाल्न पाइँदैन भनेर दिसापिसाब नै गर्दैनथे ।
खानुअघि बलि वैश्वदेव हुन्थ्यो । पहिलो गास कागलाई, दोस्रो गाइलाई, तेस्रो गास कुकुरलाई । घरबाहिर राखिदिएको खानामा चराचुरुङ्गी किराफट्याङ्ग्रा रमाउँथे । घर भित्र किराफट्याङ्ग्रा आउन कम हुन्थ्यो । अग्निमा खाना चढाउँथे । खानामा कुनै रसायन या विकृत पदार्थ भए, धुवाँ गन्हाउँथ्यो । आगो रङ्ग बदलेर बल्थ्यो ।  अनि खाना खान्थे । खाना खाएपछि मोही पिउँथे । मोहीले पचाउँथ्यो ।
उठ्नेबित्तिकै तामाको अम्खराको पानी पिउँथे, यसले दिसा खुलाउँथ्यो । सुत्नुअघि मनतातो दूध पिउँथे, यसले निद्रा लाग्थ्यो । ‘टाइट जिन्स’ लगाउने चलन थिएन । शरीरलाई आराम दिने खालका कपडा लगाउँथे । पितापुर्खाका नाममा चौतारी चिन्ने पोखरी बनाउने चलन थियो । चौतारीको वरपीपल नमासुन्, नकाटुन् भनेर विष्णु भगवानको, अंश मानेर पूजा गर्थे ।
रूखले चीसो हावा दिन्थ्यो । पोखरी बनाएर मौलो गाड्थे । मौलेले धार्मिक भाव उत्पन्न गथ्र्यो । डाँडामा लगेर पोखरी बनाएकाले अझै पनि डाँडापोखरी नामका गाउँहरू यत्रतत्र भेटिन्छन् । पाप लाग्ने डरले पोखरी फोहोर गर्दैनथे । वर्षातको पानी पोखरीमा रिजर्भ हुन्थ्यो । फलस्वरूप कुवा, मूल जस्ता पानीका स्रोत १२ महिनै रसाइरहन्थे । प्रकृतिप्रेम अनौठो थियो । प्रकृतिको सम्मान सबैले गरून् भनेर प्रकृतिलाई ईश्वरका अवतारसँग जोड्थे । विष्णुको पहिलो अवतार मत्स्य भनेर माछा लगायत पानीमा बस्ने जलचर प्राणीमाथि प्रेम गरे । दोस्रो अवतार कूर्म भनेर कछुवा लगायत पानी र जमीन दुवैतिर बस्ने उभयचर प्राणीमाथि सम्मान गरे ।
तेस्रो अवतार वराह भनेर केबल जमीनमा मात्रै बाँच्ने बँदेल लगायतका स्थलचरमाथि प्रेम गरे । नृसिंह भनेर दुई प्रजातिको मिलनबाट पैदा भएका ‘क्रस’ या खच्चर प्रजातिका प्राणीमाथि सम्मान गरे । हरेक प्राणीलाई कुनै न कुनै देवताको वाहन बताएर  संरक्षणको अधिकार दिए ।  यो अवतार सिद्धान्तको बिलकुलै मिल्दोजुल्दो स्वरूपमा पछि चार्ल्स डार्बिनले क्रमिक विकास सिद्धान्तको व्याख्या गरे । गोठ सारेर गाइवस्तु पाल्ने हुनाले जमीन मलिलो थियो, विकासे मल हालेर रासायनिक खेती गर्ने चलन थिएन ।
अन्नपात बिल्कुलै अर्गानिक उब्जिन्थ्यो । घरघरमा जडिबुटीका जानकार थिए । बिरामी परेमा प्राकृतिक शैलीको उपचार हुन्थ्यो ।
वर्षाैँपछि यदाकदा हुने महामारीले ज्यान गएको बाहेक अरू कसैको सामुहिक मरण सुनिदैँनथ्यो । खानापान, सरसफाइ, वातावरण, प्रकृतिप्रेम, अध्यात्म अनि स्वस्थ्य जीवनशैलीको यो भन्दा अनुपम नमूना के होला ? त्यसैले, उ बेला न कोरोना थियो, न इबोला थियो, न सार्स थियो न इन्फ्लुएञ्जा ।
अहिले पनि त्यही पूर्ववत् जीवनशैली बनाउने हो भने, यी कोरोना जस्ता महामारी रोग व्याधिबाट छुटकारा पाइन्थ्यो कि?

कपिलदेव खनालसंग (श्रृङ्खला ५)

यसरी सम्भव भयो रेडियोबाट रिजल्ट
बैशाख ११, २०७७ मा नुवाकोटबाट प्रशारण हुने टिभि त्रिशुली र सात वटा एफएम रेडियोहरूबाट एउटा विद्यालयको बार्षिक परीक्षफलको नतिजा सार्वजनिक भयो । नुवाकोटको सन्र्दभमा विल्कुलै फरक अनुभव र प्रयोगको रुपमा रहेको आम सञ्चारका माध्यमबाट विद्यालयको परीक्षाफल सार्वजनिक गर्ने प्रयास सम्भवत अन्यत्र पनि नभएको वा कमै भएको हुनुपर्छ । विश्व महामारीको रुपमा रहेको कोभिड(१९ अर्थात् कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११, २०७६ देखि अहिलेसम्म नेपाल लकडाउन (बन्दाबन्दी) मा छ । नेपाल मात्रै होइन विश्वका लगभग सबै देशहरू अहिले लकडाउनको अवस्थामा छ । मानिस–मानिस बीचको भौतिक वा शारिरिक दुरी कायम गर्नका लागि गरिएको लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । यो अवस्थामा नियमित हुने पर्ने काम, गतिविधि, अभियान ठप्प प्रायः छ ।
विदुरमा रहेको पृथ्वी मावि बर्षेनी एसईई परीक्षामा सर्वोकृष्ट नतिजा सहित तारिफको केन्द्रमा रहँदै आएको छ । एक दशक भन्दा पनि कम समयमा गरिएको सुधारमुखी ब्यवस्थापनले पृथ्वी माविलाई ‘यहाँबाट त्यहाँ’ पु¥याएको छ । विद्यार्थी, अभिभाव, शिक्षा र नतिजाका लागि ‘क्रियटिभ’ काम हुँदै आएको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने एक किसिमको औडाह र उकुसमुकुसमा हुनुहुँदो रहेछ । बैशाख १० गते राती मलाई फोन आयो । परीक्षाको नतिजा तयार पारेर राखिएको तर अभिभावक र विद्यार्थीहरू माझमा एकै साथ पु¥याउने बिकल्पको खोजीमा उहाँ हुनुहुँदो रहेछ ।  विद्यालयमा नतिजा टाँस गरेर सामाजिक सञ्जालमा राख्ने विकल्प उहाँसित थियो । तर त्यो गर्दा पनि आम अभिभावकहरू ईन्टरनेटको पहुँचमा नरहेकोले कम प्रभावकारी हुने बुझाई उहाँकै देखियो । फेरि अभिभावकहरू बन्दाबन्दी छल्न र जीवन सहज पार्न विदुर र आसपासलाई छाडेर आफ्नो पुख्यौली ठाउँ वा गाउँतिर फर्किएको अवस्था पनि छ । यो अवस्थामा एफएम रेडियोलाई प्रयोग गरेर नतिजा प्रकाशन गर्ने तरिका मैले उहाँलाई सुझाएँ । उहाँ तुरुन्तै तयार देखिनुभयो र सुरु भयो रेडियोबाट विद्यालयको नतिजा प्रकाशन गर्नका लागि गृहकार्य ।
एफएम रेडियोबाट कुनै विद्यालयको नतिजा सार्वजनिक गर्नु एउटा क्रमभङ्गता थियो । मानिसहरूले के भन्छन्, वा कुन कुन कोणबाट बहश हुनसक्दा भन्ने सामान्य आँकल पनि मनमनै नगरेको होइन । तर अहिलेको अवस्थामा यही तरिका बढि सान्र्दभिक ठानें । भर्खरै सुरु भएको नुवाकोट रेडियो सञ्जालका सदस्य रेडियोहरूलाई यो प्रस्ताव पठाएँ, सबैले सहर्ष स्विकार गर्नुभयो । सातवटा एफएम रेडियोहरू रेडियो त्रिशुली, रेडियो जालपा, नुवाकोट एफएम, रेडियो सञ्जिबनी, मिक्स एफएम, गज्जवको रेडियो र रेडियो भैरबीमा एकैसाथ परीक्षाको नतिजा प्रशारण गर्ने आन्तरिक सहमती जुट्यो । सबैको अनुकल समय अपरान्ह साढे चार बजे उपयुक्त भएपछि स्कुलका प्रधानाध्यापक बाबुराम सरलाई समय प्रस्ताव गरेँ । नतिजलाई पुनः हेर्ने र अन्तिम रुप दिँदा दिउँसोको समय नै उपयुक्त हुने भएपछि उहाँहरू नतिजालाई अतिम रुपम दिनतिर लाग्नु भयो, हामी रेडियोमा प्रशारण गर्नका लागि चाहिने तरतम्य तिर लाग्यौं । विद्यालयमै गएर रेकर्ड गर्ने, विद्यालयबाटै टेलिफोन प्रयोग गरेर प्रत्यक्ष प्रशारण गर्ने, स्टेशनमै बोलाएर प्रत्यक्ष प्रशारण गर्ने वा स्टेशटमा उहाँहरूलाई बोलाएर रेकर्ड गरेर साढे चार बजे प्रशारण गर्ने । हामीसति यही विकल्पहरू थिए । यसमध्यै एउटा विकल्प छनौट
गरेर त्यसको तयारी तिर लागियो । त्यसबेलासम्म फोनमै भइरहेको सम्वाद, तयारीले अन्तिम रुप लिने बेला करिव दिउँसोको १ बज्नै लाग्दा भयो ।
प्रधानाध्यापक बाबुराम लामिछाने र सहायक प्रधानाध्यापक विश्वराज भट्टराई रेडियो त्रिशुलीको स्टेशनमा आउनु भयो । यो बीचमा मेरो योजना केही फेरिसकेको थियो । रेडियोबाट मात्रै किन टेलिभिजनबाट पनि प्रशारण गरु भनेर तयारी सुरु गरिसकेको थिएँ । टिभि त्रिशुली र रेडियो त्रिशुलीको स्टेशन एकैठाउँमा भएरै मलाई सजिलो भइरहेको थियो । टिभिका समाचार प्रमुख भाई सुजित भण्डारीलाई स्टेशनमा बोलाएर रेडियोमा प्रस्तुत गर्ने विद्यालयको बार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्यक्रमलाई रेडियोकै स्टेशनमा छायाङ्कन गर्ने भनिसकेको थिए । रेडियो त्रिशुलीका प्राविधिक बहिनी प्रितिका थापा तयारी अवस्थामा थिए । टिभिको ‘लाइट’लाई रेडियोको स्टुडियोमा सार्ने काम भइसकेको थियो । यी सबैको जोरजम्मा र व्यवस्थापनका लागि रेडियोका स्टेशनम्यानेजर शर्मिला उप्रेती लागेका थिए ।
प्रधानाध्यापक बाबुराम सर र सहायक प्रधानाध्यापक विश्वसरले रेडियोको स्टुडियोमा बसेर नतिजा रेकर्ड गर्नुभयो । विश्वसरसित एफएम रेडियोमा लामो समयसम्म कार्यक्रम प्रस्तुत गरेको अनुभवका कारण पनि झन् सजिलो भयो । मलाई मनमनै भइरहेको खुल्दुली चाँही अनुत्र्तिण हुने विद्यार्थीहरूको नाम यसरी आम सञ्चारका माध्यामबाट भन्दा विद्यार्थीमा के चोट पर्ला भन्ने थियो, तर उहाँहरूको तयारी उत्र्तिण विद्यार्थीको नाम र प्राप्ताङ्क मात्रै भन्ने गरि भएको रहेछ । मेरो कौतुहलता पहिलो कक्षाको नतिजा सुन्दा नै शान्त भयो । करिव साढे १ बजेतिर सकिएको रेकर्डिङलाई साढे चार बजेबाट सात वटै एफएम रेडियो, टिभि त्रिशुलीमा एकसाथ प्रशारण गरियो । संगै टिभिको युटुयुव च्यानल, रेडियोहरूको अनलाईन पेज, फेसबुक पेजबाट पनि प्रशारण भए ।
प्रशारण सुरु भएसंगै अधिकांश टिप्पणीहरू सकारात्मक आए । ओहो ! लकडाउनले नतिजा पनि सार्वजनिक गर्न पाइएन भनेर बसेका हामीलाई यो सिकाईको रुपमा रह्यो, हामीले पनि यसरी गर्दा त हुने रेछ नि भन्ने केही विद्यालयका शिक्षकहरू पनि भेटिनु भयो । अब उहाँहरूले यसै गरी नतिजा सार्वजनिक गर्नुहुन्छ वा कसो गर्नुहोला, तर रेडियोकर्मको केही वर्षको यो समयमा लकडाउनकै बहानामा भएपनि नयाँ अनुभव प्राप्त गर्ने अवसर प्राप्त गरें । नयाँ काम र अनुभव सृजनाका सहयात्री हुनुहुन्छ ः रेडियो जालपाका जगदीश खनाल, रेडियो भैरबीका देवचन्द्र भट्ट, नुवाकोट एफएमका श्रीराम अधिकारी, रेडियो सञ्जवनीका गमला लामा, मिक्स एफएमका रुपा अर्याल, विष्णु अधिकारी र गज्जवको रेडियोका पुरुषोत्तम बस्नेत ।
(लेखक नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ४)

लकडाउनमा मेरो दैनिकी
चैत ११ गतेदखि हामी निरन्तर लकडाउनमा छौं । यो विश्वव्यापी महामारीको समयमा हामी पत्रकाहरूको भूमिका र जिम्मेवारी झन् थपिएको छ । यस्तो अवस्थामा लडकाउनलाई बहाना बनाएर नागरिकहरूको सू–सुचित हुने अधिकारलाई कुण्ठित पार्न हामीले कुनैपानि अवस्थामा सक्ने कुरै भएन ।
त्यस कारणले कोरोना भाइरसबाट सुरक्षित रहने स्वासथ्य उपायाहरूलाई अवलम्व गर्दै हामी नुवाकोटका पत्रकारहरू निरन्तर काममा छौं । म पनि व्यक्तिगत रुपमा यसै गरी सुरक्षित रहेर काममा र लागिरहेको छु । कोरोना भाइरसको अहिलेको जिल्लाको अवस्था, सरकारले नागरिकहरूको स्वास्थ्य र ज्यानको सुरक्षाका लागि गरिरहेको कामको बारेमा नागरिकहरूलाई जानकारी गराउने, नागरिकहरूको अवस्था, आवश्यकता र अपेक्षालाई सम्वन्धित पक्षसम्म पु¥याउने काममा सक्रिय रहेको छु ।
आजभोली जिल्लामा अन्य गतिविधिहरू नभएका कारण काममा केही होला भएपनि जोखिमपूर्ण अवस्था रहेकोले सावधानी अपनाउँदै र मुल्यका हिसाबले अधिक र सार्वजनिक चासोेका विषयमा समाचार संकलन, समाचार संकलनका लागि फिल्डमा जाने साथीहरूको व्यवस्थापनमा दैनिकी खर्चिरहेका छु । चैत ११ गतेभन्दा अघिको अर्थात् लकडाउन भन्दा पहिलाको अवस्था र अहिलेको अवस्थामा मेरो दैनिकी र काममा खासै कमी आएको छैन ।
ठिक समयमा ठिक जानकारी दिनका लागि झन् चनाखो र तयारी अवस्थामा रहनु पर्ने अहिलेको अवस्था छ । त्यही रुपमालाई आफुलाई ‘हाई अलर्ट’मा राखेको छु ।
बिहान ६ बजेदेखि बेलुकी साढे सातबजेसम्म कार्यालयमा बिताउने गरेको छु, सम्भावन भएसम्मका रिपोर्टिङ्ग र समाचार संकलन सामाजिक सञ्जाल र टेलिफोन प्रयोग गरेर गरिरहेको छु, सकेसम्म घर र अफिस बाहिर निस्किएको छैन । मलाई चाँही आफुले काम गर्ने सञ्चार गृहको कार्यालय र मेरो निवास एउटै घरमा भएकोले बढि सजिलो भएको छ ।
समाचारश्रोत र अन्य व्यक्तिहरूलाई समेसम्म कार्यालयमा नआउनका लागि अनुरोध गरिरहेको छु, म कार्यरत सञ्चारगृहका अन्य साथीहरूलाई पनि घरकै एकान्तबासमा रहेका काम गर्न चैत ११ गतेदेखि पठाएको छु । प्रायः साथीहरू घरबाटै काम गरिरहेका छन् ।


टिभि त्रिशुली र रेडियो त्रिशुली बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित प्रशारणमा छन् । मनोरञ्जनात्मक कार्यक्रमहरू कटौती गरेर समाचारमुलक कार्यक्रम र समाचार बुलेटिनलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको छु । कोरोना भाइरसको फैलदो त्रास र नेपालमा पनि कोरानो संक्रमितको संख्या बढ्न थालेसंगै समाज, समुदाय र नागरिकहरूलाई सहि सूचना सही समयमा दिनका लागि मेरै पहलमा नुवाकोट जिल्लाका सात वटा एफएम रेडियोहरूले कोरानो अपडेटलाई दैनिक रुपमा प्रस्तुत गर्दै आएको छ । नुवाकोट अपडेट नाम दिइएको त्यो आधा घण्टाको दैनिक रेडियो कार्यक्रमको तयारी, उत्पादन र प्रशारणका लागि दैनिक दुई घण्टा समय खर्चिदै आएको छु । जुन कार्यक्रमलाई कोरोना भाइरसको संक्रमणको दृष्टिबाट नुवाकोट अवस्था, त्यसको रोकथाम र नागरिकहरूको हिफाजतका लागि सरकारी र गैर सरकारी पक्ष अनि सचेत व्यक्तिहरूले गरिरहेको गतिविधिलाई जस्ताकोतस्तै प्रस्तुत गर्दै आएको छ । यही काम र जिम्मेवारीका कारण आजभोलिको लकडाउनमा पनि मेरो दैनिकी र दिनचर्यामा खास फुर्सद निस्किएको छैन ।
जिल्लामा कार्यरत पत्रकार साथीहरूसंग सामाजिक सञ्जाल र टेलिफोन मार्फत् जोडिरहेको छु, एक पटक जिल्लाका सञ्चालित प्रायः विद्युतिय सञ्चार माध्यामका कार्यालयहरू हेर्न र साथीहरूलाई भेट्न पुगें । त्यस बाहेक अन्य समयमा समाचार संकलनका लागि बाहिर निस्कदा साथीहरूसंग भेटघाट भइनै रहेको छ ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

कपिलदेव खनालसंग (श्रृङ्खला ३)

नुवाकोटका पत्रकारहरु कर्तव्य र काममा निरन्तर छन्
हामी अहिले कुरा गरिरहेको समयको तथ्याङ्क हेर्ने हो भने विश्वभरी एक लाख नौं हजारको मृत्यु भइसकको छ । कोरोना भाइरसबाट झण्डै १८ लाख मानिसहरू संक्रमिण भएका छन् । यस्तो डरलाग्दो अवस्थामा हामी नेपाली र फ्रण्टलाइनमा रहेका काम गर्ने पत्रकारहरू चाहि जोखिममा नपर्ने त कुरै भएन । नेपालमै पनि आज आइतवारसम्ममा १२ जना व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । यस हिसावले पनि नेपाल विस्तारै असुरक्षित बन्दै गएको महशुस गरेको छु ।
सिङ्गै मानव जातीको अस्तित्वनै संकटमा पर्न सक्ने यो विश्व महामारीलाई फैलन नदिन र मानविय क्षति कम गर्नका लागि अहिले भइरहेको लकडाउनले पक्कै पनि महत्वपूर्ण भूमिका खेलेको छ जस्तो मलाई लागेको छ । सरकारले चैत ११ गतेदेखि गरिरहेको बन्दाबन्दीलाई नागरिकहरूले सहर्ष स्विकार गरेका छन् । नुवाकोटमा पनि यस्तै अवस्था छ । पहिला विश्व महामारीको रुपका विकास भएको कोरानो भाइरसेको संक्रमण समुदायमा समाजमा छैन भन्ने निक्यौल होस् अनि मात्रै दैनिकीमा फर्कने मनस्थितिमा जिल्लाको नागरिकहरूलाई पाएको छु । यस अवस्थामा परिहेको समस्या र गुुम्फनलाई नागरिकहरूले उत्तिसाह्रो पिडाका रुपमा मानेका छैनन् ।
यस अवस्थामा जिल्लाका पत्रकारहरूको भुमिका र सक्रियतालाई नागरिक समाजले, आम श्रोता, पाठक, दर्शकले मुल्याङ्कन गर्ने हो । हामी निरन्तर समाचार र जानकारी स्ंकलन अनि प्रबाहमा छौं । चैत १० गते र त्यसपछिको दिनदेखि अहिलेसम्म जिल्लामा काम गरिहरनुभएका पत्रकारहरूको गतीका खास कुनै परिवर्तन छैन । एक किसिमले भन्नुपर्दा आफ्नो स्वास्थ्य र शरिरलाई जोखिममा राखेर नुवाकोटका अधिकांश पत्रकार साथीहरू र अग्रहजहरूले गरिरहनुभएको काम प्रशंसनिय र लोभलाग्दो छ । २०७२ साल बैशाख १२ गते र त्यपछिका भुकम्पहरूमा जसरी जिल्लाका सञ्चार गृह र पत्रकारहरूले आफ्नो कर्तब्यलाई पुरापुर पालन गरेर सिङ्गै नागरिक समाजको तर्फवाट प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर प्रशंसा बटुलेको थियो, अहिले पनि नुवाकोटका पत्रकारहरू यसै गरी आफ्नो कर्तव्य र काममा निरन्तर छन् ।
लकडाउनको यो अवधिमा हामीलाई समाचार संकलन र सम्प्रेषणमा कुनै अवरोध छैन । स्वाभाविकै हो हिजो सहज दिनमा जत्तिनै पत्रकार साथीहरू बाहिर फिल्डमा कुद्नुभएको छैन, बाहिर नदेखिने साथीहरू घरभित्रै रहेर र कार्यालयमा एकान्तबास बनाएर काम गरिहरनु भएको छ । जिल्लाबाट प्रशारण हुने टेलिभिजन रेडियो र प्रकाशन हुने सबै अनलाई पत्रिकाहरू नियमित छन् । कही कतैबाट कुनै साथीहरूले काम गर्न समस्या भयो भनेर गुनासो गुर्नभएको छैन । अधिकांशसित म पनि दैनिक रुपमा जोडिरहको छु टेलिफोन र सामाजिक सञ्जाल मार्फत्, उहाँहरू आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । दैनिक र साप्ताहिक पत्रिकाहरूको प्रकाशनचाँहि अहिले नुवाकोटमा पूर्ण रुपमा बन्द भएको छ । पत्रिका प्रकाशनका लागि धेरै पक्ष र जनशक्ति एकैठाउँमा हुनु पर्ने र तारतम्य मिल्नुपर्ने कारणले यो समस्या भएको हो । पत्रपत्रिका नियमित हुननसक्नेमा नुवाकोट मात्रै होइन यो राष्टिूय रुपमै समस्या भइरहेको छ ।
फिल्डमा दौडधुप गरिरहनुहुने पत्रकार साथीहरूलाई सहयोग र सद्भाव राख्ने सरकारी तथा गैर सरकारी निकायहरू पनि छन् । यही अवस्थाको आँकलन गरेर हामीले चैत ७÷८ गतेतिर पत्रकारले कोरोना भाइरसबाट सुरक्षित हुँदै काम गर्ने सन्र्दभमा पत्रकार महासंघमै बसेर छलफल पनि गरेका थियौं । सुरक्षाको उपाया थाहा पाएका तर सामाग्री नभएका हामीलाई निजी तथा सार्वजनिक संस्थाहरूले अत्यावश्यक सामाग्रीहरू केही मात्रामा भए पनि उपलब्ध गराउनु भएको छ । जसले गर्दा हामीलाई केही भए पनि सहजता मिलेको छ ।
सम्रगमा नुवाकोटका सञ्चार माध्याम र पत्रकारहरू आम नागरिकहरूको स्वास्थ्य अनि जीवनको सुरक्षाका लागि अहिलेको परिस्थितिमा आवश्यक पर्ने सूचना र जानकारी संकलन गरेर विद्युतीय सञ्चार माध्यामबाट प्रेषित गरिरहेका छन् । जिम्मेवारीबाट नुवाकोटका पत्रकारहरू चुकेका छैनन् ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष हुन् ।)

Sunday, March 22, 2020

नाकामा कडाई

डा.रेमकुमार राई कोल्पुटारमा
तारकेश्वरका अध्यक्ष रमेश वस्तीको जाँचगर्दै ।
विदुर\कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न राज्यले मुलुकलाई ‘सेमि लकडाउन’ को अवस्थामा राखेर आफ्ना सबै संयन्त्रहरूलाई संक्रमण नियन्त्रण अभियानमा परिचालन गरिसकेको छ । नुवाकोटमा पनि कोरोना भाईरस बिरुद्धको अभियानलाई तिब्रताका साथ अघि बढाईएको छ भने संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाईएको छ ।
यसैक्रममा शनिवार काठमाडौं र तराईका जिल्लाहरूबाट नुवाकोट प्रबेश गर्ने प्रमुख नाका गल्छी रसुवागढी सडक खण्डमा पर्ने बेलकोटगढी नगरपालिका वडा नम्वर ६ को कोल्पुटारमा चेकप्वाईन्ट सहित हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । चेकप्वाईन्टको जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राईले प्रतिनिधिसभा सदस्य नारायण खतिवडाको शरिरको तापक्रम ‘थर्मोमिटर गन’बाट परिक्षण गरेर सुरुवात गरियो । यससंगै यो नाकाबाट प्रबेश गर्ने सबै नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रबेश गर्न दिईने प्रबन्ध मिलाईएको छ । चेक प्वाईन्टमा विदुर नपा, बेलकोटगढी नपा र तारकेश्वर गापाका स्वास्थ्यकर्मीका साथै प्रहरी चौबिसै घण्टा तैनाथ रहनेछन् । नुवाकोट प्रबेश गर्ने गुर्जेभञ्ज्याङ र ककनी नाकामा समेत चेकप्वाईन्ट सहितको हेल्थ डेस्क स्थापना गरिएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।
यसअघि कोल्पुटार बजारमा आयोजित स्थानीयहरूसंगको अन्तरक्रियाका क्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल र तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले कोरोना संक्रमण रोकथामका लागि राज्यले चालेका हरेक प्रयासहरूलाई प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
त्रिशुलीअस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राई र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना रोकथामका लागि भए गरेका प्रयास, उपलब्ध जनशक्ति र प्राबिधिक पक्षको जानकारी गराए ।
पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङ
नाकाको हेल्थडेक्स उद्घाटनगर्दै ।
यसै बीच, नुवाकोटको पञ्चकन्या गाँउपालिका जाने सबै नाकाहरूमा हेल्थ डेस्कको स्थापना भएको छ । कोरोना अर्थात कोभिड १९ को भाईसको संक्रमण गाउँपालिका भित्रिन नदिनका लागि सहरेटार, छहरे, बुढिशेरा र चौघडामा गापाले केन्द्र राखेको छ । गापाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’का अनुसार अन्य स्थानबाट पञ्चकन्या प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरिने छ । रुखा, खोकी, ज्वरो जस्ता रोगको परीक्षण पनि मात्रै पञ्चकन्या प्रवेश गर्न दिइने छ । केही समय हेल्थ डेस्कमा राखेर ३ पटक तापक्रम लिए पछी उनीहरू गाँउपालिका प्रवेश गर्न पाउने बताइएको छ । 
 नागरिकलाई गाउँपाकिलाले सकेसम्म बाहिर नजान आग्रह गरेको छ । साथै, घरघरमा पुगेर भाईरसको संक्रमणबाट बच्ने उपायको बिषयमा जनचेतना समेत फैलाउदै आएको छ । ‘घरको दैलोमा नाग टाँसेको जस्तै गरेर कोरोनाबाट बच्ने उपायको पर्चा घरघरको दैलोमा टाँसेका छौं’ अध्यक्ष तामाङले भने । साथै, गाँउपालिका आफैले सबै वडाको बिभिन्न स्थानमा हात धुने ब्यबस्था समेत मिलाएको छ । त्यसका लागि साबुन र पानीको ब्यबस्था गाउँपालिकाले ठाउँ ठाउँमा गरेको छ । 
यातायातको निःशुल्क सुविधा
विदुर\विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंबाट नुवाकोट आउने यात्रुलाई विभिन्न संघसंस्था, व्यवसायी र जनप्रतिनिधिहरूले निःशुल्क बससेवा सञ्चालन गरिरहेको छ । 
संक्रमण नेपालमा फैलन नदिन सरकारले आज सोमवार (चैत १० गते)देखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ । तर नुवाकोट–काठमाडौं लामो दुरीमा पर्दैन ।  
ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले काठमाडौंबाट त्रिशुलीसम्म आउने बस आइतबारदेखि सञ्चालनमा ल्याएको छ । प्रालिले दुई वटा बस सञ्चालन गरेको छ । काभ्रेका लागि पनि दुई वटा बस सञ्चालन गरेको छ । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर घर जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको बताए । 
यस्तै, दुप्चेश्वर गाउँपालिकाले सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरूका लागि चैत्र ८ र ९ गते काठमाडौंस्थित नयाँ बसपार्कदेखि पालिकासम्मका लागि बस सेवाको व्यवस्थामा सहजीकरण गरेको अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए ।
यस्तै, टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुली रुटमा सोमबारदेखि निशुल्क वस सञ्चालन गर्ने भएको छ । आज सोमवारदेखि दैनिक ४ वटा एसी बस निःशुल्क रुपमा सञ्चालन गर्न लागेको टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशीले बताए । बसहरू आज सोमबार विहान ६ः०० बजे र दिउँसो १ः०० बजे काठमाण्डौबाट त्रिशुलीका लागि छुट्ने र त्रिशुलीबाट बिहान ७ः ०० बजे र दिउँसो १२ः०० बजे काठमाडौंका लागि छुट्ने छन् । त्यस्तै सोही समयमा मंगलवार र बुधवार पनि निःशुल्क सेवा दिनेछ ।
विदुर नगरपालिका वडा नंं. १० ले पनि निःशुल्क बस सेवाको व्यवस्था गरेको छ । वडाअध्यक्ष तोयानाथ थपलियाका अनुसार गेर्खु आउन चाहानेहरूले काठमाडौं नयाँ बपसपार्क–माछापोखरीबाट निःशुल्क बस सेवा पाउने छन् । 
‘आईसियु बनाउँछौं’
विदुर\तारकेश्वर गाउँपालिकाले कोरोना भाईरस संक्रमणप्रतिको सतर्कतालाई उच्च प्राथमिकतामा राख्दै त्रिशुली अस्पतालमा सघन उपचार कक्ष (आईसियु) निर्माण गर्ने भएको छ । 
कोरोना भाईरसबाट संक्रमित भएकाहरू मध्ये केहीलाई उपचारका लागि आईसियु अत्याबश्यक पर्ने भएपनि जिल्लामा उक्त सेवा उपलब्ध नभईरहेको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले आईसियु निर्माणमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । 
आईतबार बिहान पत्रकार शिव देबकोटासंग कुरा गर्दै अध्यक्ष वस्तीले कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई जोगाउनु सबैको दायित्व भएको बताउँदै स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिक प्रताडित हुन नपरोस भनेर गाउँपालिका आईसियु निर्माणको निष्कर्षमा पुगेको बताए । केही दिनमै बस्ने गाउँपालिका बैठकले यसबारेमा आधिकारीक निर्णय गर्ने बताउँदै अध्यक्ष वस्तीले जिल्लाका अन्य गाउँपालिकाहरूलाई पनि यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे । 
त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईका अनुसार कोरोना संक्रमितहरू मध्ये ५ प्रतिशतमा ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ देखिने र उनीहरूलाई ‘भेन्टिलेटर’मै राखेर दक्ष जनशक्तिद्वारा उपचार गर्नुपर्ने भएकाले ‘आईसियु’ आवश्यक हुन्छ । 
पत्रकारहरु जिम्मेवारीबोधका साथ क्रियाशिल 
विदुर\नुवाकोटका पत्रकारहरूले कोभिड–१९ को संक्रमणका कारण सिर्जित समस्याहरूको सामना गर्न राज्यका सबै पक्ष क्रियाशिल भएको सन्दर्भमा आफ्नो पेशागत मर्यादालाई समेत मध्यनजर गर्दै जिम्मेवारी बोधका साथ क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।
कोरोनाको त्रासका कारण आम नागरिक समस्यामा रहेका बेला सत्य र तथ्य समाचार संप्रेषण गरी समाजमा फैलाईएका नकारात्मक समाचारहरू खण्डित गर्दे नागरिकको तेस्रो आँखाका रुपमा आफुलाई क्रियाशिल बनाउन पत्रकारहरू प्रतिबद्ध भएका छन् । शनिवार नेपाल पत्रकार महासंघ नुवाकोटले आयोजना गरेको कोरोनाको सन्त्रासका बेला पत्रकारहरूको भूमिका सम्बन्धि अन्तरकृया कार्यक्रमका सहभागी पत्रकारहरूले संकटको बेला नागरिकले सञ्चार माध्यमहरूबाट प्रवाह हुने समाचारलाई बिश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण रुपमा समाचार संप्रेषण गर्न‘पर्ने धारणा ब्यक्त गरे । आधिकारिक स्रोतबाट प्राप्त समाचारलाई संप्रेषण गर्ने र सम्प्रेषण गर्दा कुनै कोणबाट पनि नागरिकमा त्रास र उत्तेजना फैलन नपाओस भन्ने तथ्यलाई आत्मसात गर्न‘पर्ने उनीहरूको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले समाचार संकलन गर्दा जिम्मेवार बन्न र आफ्नो सुरक्षालाई ध्यान दिँदै नागरिकप्रतिको दायित्वबोध गर्न आग्रह गर्दे सकेसम्म भीडमा नजान र आफूले जानेका सुरक्षात्मक उपायहरूबारे अरुलाई पनि जानकार बनाउन आग्रह गरेका थिए । उनले कोरानोको संक्रमणबाट पहिला पत्रकार जोखिममा पर्ने तर्फ इंकित गर्दै सुरक्षित रहरेर समुदायलाई सूसूचित गर्ने तरिका र तयारकिा बारेमा बताएका छन् । 
त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरि गजुरेल, प्रेस संगठनका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य शिव देबकोटा, प्रेस संगठनका नुवाकोट अध्यक्ष भोलाराज पौडेल, नुवाकोट उदोग बाणिज्य संघका द्धितिय उपायक्ष सन्तोष उप्रेती लगायतले अनुपम उदाहरण देखाउन सबै पत्रकारहरूले आफूलाई जिम्मेवारी बोधका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर दिपेश उप्रेती र स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना भाईरसको बिबिध पक्षहरूका बारेमा जानकारी गराउँदै सचेतना अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका अपेक्षित रहेको धारणा ब्यक्त गरे ।

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको विज्ञप्ती


जिल्ला प्रशासन कार्यालय नुवाकोटको विज्ञप्ती


सामाजिक सञ्जालबाट

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोट र मातहतमा कार्यरत प्रहरीहरूलाई बितरण गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरी कर्मचारी मास्क सिलाउदै । 

१२ दिन सेवा बन्द

विदुर\सरकारले आइतवार (चैत ९ गते) देखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरेको छ । सरकारी कार्यालयहरू भने खुल्ने छन् ।
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य  सेवाहरू आइतवारदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो । 
नेपाल भित्रिने सबै अन्तराष्ट्रिय हवाई उडानहरू आइतवार (चैत ९ गते) देखि देखि १८ गतेसम्मको लागि स्थगित । 
देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी आइतवार(चैत ९ गते) देखि चैत २१ गतेसम्म बन्द ।
आज (चैत १० गते) देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक ।
मानिसहरूको भीडभाड हुने स्थान, सिनेमा घर आदि बन्द ।
विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू स्थगित ।
बन्द नहुने सेवाहरू : 
डाँक तार वा टेलिफोन ।
जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार
हवाइअड्डा, हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत
हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने 
प्रिन्ट वा सरकारी छापाखाना  
हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने  
सञ्चार
आन्तरिक सुरक्षा कार्य 
खानेपानीको सञ्चालन तथा वितरण 
पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट
पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरण 
अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी (एम्बुलेन्स)
औषधि निर्माण तथा बिक्री वितरण 
फोहोर मैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्र 
बैंकिङ 
बीमा
विद्युत
दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरण 
मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना 
नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका बारेमा कुनै पनि निर्णय नगरिएको बताए । ‘हामीले आन्तरिक उडानका बारेमा कुनै निर्णय गरेका छैनौँ, अन्तराष्ट्रियका हकमा मात्रै निर्णय भएको छ । 
जरीवाना शुल्क मिनाह
विदुर\सरकारले मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवाना वापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो । 
गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन् ।
बुधबार नै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो । बिलम्ब शुल्क नलाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन हतार नगर्न आग्रह गरेको अधिकृत पोखरेलले बताए । जरीवाना लाग्ने अवस्था भए, जरीवाना शुल्क सरकारले मिनाह गरिदिने उनले बताए । 
घरबाटै सेवा दिन आग्रह
विदुर\सरकारले अत्यावश्यक बाहेकका विद्युतीय माध्यमबाट दिन सकिने निजी क्षेत्रका सेवा र सम्बन्धित कर्मचारीलाई घरबाटै सेवा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा यस्ता सेवा घरबाटै प्रदान गर्न प्रोत्साहन गर्ने बताएका हुन् । 
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाजगर्न पनि सम्बोधनमा भनिएको छ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी साधनहरू आवश्यकता अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले सम्बोधनमा बताएका छन् ।
इन्टरनेट बैंकिङलाई प्रोत्साहन
विदुर\जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो । 
यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरूमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । 
प्रहरीको हेल्प डेस्क
विदुर\कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले त्रिशुली अस्पतालसंगको समन्वयमा दुईवटा हेल्प डेस्क स्थापना गरेको छ । त्रिशुली अस्पताल परिसर र वडा नम्वर २ बट्टारको सापकोटा मेडिकल हल अगाडि हल्प डेक्स सञ्चालन गरिएको छ ।
यसै बीच, बेत्रावतीमा समेत हेल्प डेस्क स्थापना भएको छ । उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको सो हेल्प डेस्कमा रसुवाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई कोरोना भाइरस संक्रमण र बच्ने उपायबारे जानकारी गराइने छ । चैत २ गते आईतबारबाट सुरू गरिएको उक्त हेल्प डेस्कमा स्वास्थ्य सम्बन्धी स्वंयमसेवक खटाइएको छ । 

सात रुपैयाँमै माक्स पाइन्छ : श्रेष्ठ

चेम्बरका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठ(बाँयाँ) नुवाकोट अध्यक्ष
कविन्द्रमान प्रधानलाई ५०० थान माक्स हस्तान्त्रण गर्दै । 
विदुर\नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा देखिएको मास्क अभावलाई निराकरण गर्दै तुरुन्तै सहज रुपमा उपलब्ध गराईने बताएका छन् ।
नुवाकोट चेम्बर अफ कमर्सको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले सात रुपैयाँमै मास्क उपलब्ध गराईने प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बरकै पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन भइरहेकोले अभाव कम हुने दावी उन रहेको छ । 
होलसेल पसल र चेम्बरको जिल्ला च्याप्टरहरू मार्फत् नागरिकहरूलाई वितरण र विक्रि गरिने बताइएको छ । उनले हर्बल स्यानिटाइजरको उत्पादनको परीक्षण भइरहेको हुनाले केहि सातामै बजारमा पठाईने बताए । देशभरीका महिला चेम्बरहरूको आर्थिक विकासका कार्यक्रमहरू आगामी दिनमा ल्याउने पनि श्रेष्ठले बताए । 

होटल, पर्यटन व्यवसायीलाई राहत देउ

सन्तोष उप्रेती
प्रदेश अध्यक्ष
होटल तथा पर्यटन व्यवसायीसंघ नेपाल, 
बागमती 
संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा छरिएका ठूला, मझौला तथा साना होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित २६ वटा संघहरू आवद्ध रहेको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश २०७४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको छ । यसले विभिन्न विदेशी तथा नेपाली पर्यटकहरूलाई सेवा सुविधा पु-याउँदै आईरहेको र होटल व्यवसायीहरूको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीहरूको हकहित र पर्यटन विकासका लागि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक सम्वृद्धितर्फ अगाडि बढ्दै आएको छ । गएको साउनमा सम्पन्न संघको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित ३३ सदस्यीय कार्य समितिले समय समयमा विभिन्न खालका कार्यक्रमहरूलाई अगाडि बढाउँदै आईरहेको सर्वविदितै छ । 
नेपाल सरकारले अगाडि सारेको नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि यस संघले प्रभावकारी रुपमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको थियो । तर, गत डिसेम्बर २०१९ मा चीनमा देखापरेको कोभिद–९०, नोबल कोरोना भाईरस यत्तिखेरसम्म आइपुग्दा विश्वका १४२ भन्दा बढि दैशमा फैलिईसकेको छ । यसबाट डेढ लाख भन्दा बढि मानिसहरू संक्रमित भएको विश्व तथ्याङ्क छ । यही भाइरसका कारण १३ हजार १ सय भन्दा बढिले ज्यान गुमाइसकेको भयावह अवस्था छ । त्यतिमात्र होइन चीनमा मात्र गएको दुई महिनाको अवधिमा करिब २० लाख मानिस बेरोजगार भएका छन् । यस्तो अवस्थामा संसारभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको असर नेपालमा नपर्ने त कुरै भएन । उक्त भाईरसको संक्रमण र असरबाट बच्न नेपालको संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरू समेतले कुने प्नि सभा सम्मेलन, भेला गोष्ठी तथा समूहगत रुपमा जम्मा भएर गरिने कार्यक्रमहरूमा रोक लगाईसकेको छ र उक्त भाईरसको संक्रमणबाट बच्न र रोग नियन्त्रणका लागि सम्पूर्ण नागरिकलाई पूर्ण रुपमा सजग समेत गराउँदै आएको छ । 
एकातिर कोरोना भाईरसको महामारी दिनानुदिन तीब्र गतिमा संसारभर फैलिँदो छ भने अर्कोतर्फ उक्त भाईरसको संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन हरेक देशका नागरिकहरू घरभित्र बस्न बाध्य भएको अवस्था छ । अझ विश्वभरका अधिकांश देशहरूले संकटकाल समेत घोषणा गरेर नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचित गरेको छ । जसले गर्दा अहिले देशभरका सम्पूर्ण व्यवसाय, उद्योगधन्दा, कलकारखाना ठप्प प्रायः छन् । अझ त्यसमा पनि स्वदेश तथा विदेशका पर्यटकहरूको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्ण रुपमा धारासायी हुने देखिएको छ । प्रत्यक्ष रुपमा होटल तथा पर्यटन व्यवसायलाई आफ्नो जीवनयापन र गुजाराको मूल आधार बनाएर व्यवसाय सञ्चालन गरिरहेकालाई शतप्रतिशत जस्तै असर परिसकेको छ । आगामी दिनमा त पूर्ण रुपमा ठप्प हुनसक्ने अवस्था सिर्जना नहोला भन्नसक्ने अवस्था पनि देखिएको छैन । कोरोना भाईरसका कारण विश्वव्यापी रुपमा फैलिएको महामारीको असरले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरू कै भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने देशकै सिङ्गो अर्थतन्त्रमा दीर्घकालिन रुपमा नकारात्मक असर पर्नेमा दुईमत छैन । 
त्यसैले अप्रत्याशित रुपमा आईपरेको यस प्रकारको विषम परिस्थितिमा देशभरका साना, मझौला तथा ठूला व्यवसायीहरूलाई बचाईराख्न र सिंगो होटल तथा पर्यटन व्यवसायलाई नै पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउन निम्न राहत उपलब्ध गराई जनजीवन सामान्य अवस्थामा नआईपुग्दासम्म सहयोग गरिदिनु हुन संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई हार्दिक अपिल गर्दछौँ । 
१. नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरी वैधानिक रुपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैंकबाट लिएको व्यवसायिक कर्जाको व्याजमा ५० प्रतिशत छुट मिलाईदिनुहुन । 
२. होटल तथा पर्यटन व्यवसायको सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुर, पानी, विजुली लगायतका महशुलमा ५० प्रतिशत छुट गराइदिनुहुन । 
३. घरजग्गा, सटर, कोठा आदि बहालमा लिई होटल तथा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरूले बुझाईरहेको घर बहालमा ५० प्रतिशत छुट गराउने व्यवस्था मिलाईदिनुहुन । उक्त छुट गराए बापत घर धनीलाई समेत घर बहाल करमा समेत छुट दिने व्यवस्था गरिदिनुहुन ।
४. होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरूले पाउने मासिक तलब सुविधा मध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोष मार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन । 
५. होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैँकबाट लिएको कर्जा बापत बैँकलाई बुझाउनु पर्ने मासिक किस्ता वा व्याज हाललाई एक वर्षसम्मका लागि नबुझाउँदा पनि त्यसपछि नियमित बुझाउनेलाई जरिवाना मिनाहा गर्ने व्यवस्था गराईदिनुहुन ।
६. अधिकांश होटल तथा पर्यटन व्यवसाय बन्द हुने स्थिति भएको र त्यसमा कार्यरत कर्मचारीहरू आ–आफ्नो घर फर्कने अवस्था भएकाले ती कर्मचारीहरूका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू जस्तै नाथम, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग, नेपाल भ्रमण वर्षको सचिवालय आदिद्वारा  स्तरवृद्धिका तालिमको आयोजना गर्ने व्यवस्था मिलाईदिनुहुन । 
७. बागमती प्रदेशभित्रका होटल तथा पर्यटन क्षेत्रमा आवद्ध व्यवसाय तथा तिनका स्तर, स्वरोजगार, रोजगारी संख्या आदिको विस्तृत तथ्याङ्क अद्यावधिक गरी राज्यका सम्बन्धित निकायहरूसंग प्रत्यक्ष रुपमा जोडिने वातावरणको सिर्जना गर्न यस संघलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराईदिनुहुन । 

लिखु–३ सुर्यमतीका धार्मिक तथा पर्यटकिय स्थलहरू

कपिलदेव खनाल
लिखु गाँउपालिका नेपालको बागमती प्रदेश, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ र  सुर्यमती गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ नम्वर वडाहरू, थानसिंग गाविसको १ देखि ७ नम्वर सम्मका वडाहरू र थानापति गाविसको वडा नं. ५ समेटेर बनेको हो । ६ वडा रहेको लिखु गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग किलोमटिर छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमती गाविस वडा नं. १ डुँडेमा अवस्थित छ । नुवाकोटको सबैभन्दा सानो र कान्छो स्थानीय सरकार भईकन पनि लिखु गाउँपालिकाले थुप्रै विशेषताहरू बोकेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकयिक रुपमा प्रशस्त सम्भावना रहेको लिखु गाउँपालिकाका महत्वपुर्ण स्थानहरू वडा नं. ३ मा बढी छन् । 
कपिलदेव खनाल
लिखु गाउँपालिका वडा नं. ३ साविकको सुर्यमती गाविस यस गाउँपालिकाका अन्य वडाको तुलनामा भुगोलका हिसावमा तथा सम्पदा, संस्कृतिहरूका तुलनामा असाध्यै सम्पन्न देखिन्छ । नुवाकोटको नामाकरण भएको नौं वटा कोटहरू मध्येको एउटा कोट : मालाकोट, माघे संक्रान्तिमा गोरु जुधाउने अन्तराष्ट्रिय ख्याती कमाएको नुवाकोटको पहिचानदेखि नेपाल एकीककरणको सुरुवाती एक सामरिक किल्ला नागीगढीसम्म यही लिखु गाउँपालिकाको वडा नं. ३ मा पाइन्छ । त्यसो त, धामी जात्राको नामले प्रख्यात नुवाकोटको सबै भन्दा लामो जात्रा बैशाखपूर्णिमा जात्रा यहीबाट सुरु हुन्छ । विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको घाटकी देवी जालपादेवीको उत्पत्ति र जन्म पनि यही भएको हो ।    
मालाकोट :
नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोट र नेपाल एकीकरणमा सामरिक रुपमा प्रयोग गरिएको मालाकोट यस लिखु गाउँपालिकाको वडा नं. ३ मा रहेको छ । लिखु गाउँपालिलाई विदुर नगरपालिका र बेलकोगढी नगरपालिकासंग सिमा छुट्याउने गरी भौगोलिक संरचना लिएको मालाकोट आन्तरिक पर्यटकहरूका लागि उत्तिकै आकर्षणमा रहेको छ । 
नुवाकोट, रसुवा, धादिङ्ग, गोरखला, लमजुङ्ग, पोखरा, तनहुँबाट काठमाडौं उपत्यका प्रवेश गर्ने पैदलमार्गको एक महत्वपूर्ण भञ्याङ्गका रुपमा रहेको मालाकोटमा अहिले सडकको सहजतासंगै केही कम चलहपल छ । तर पनि यो मालाकोट हेर्न र घुम्नकै लागि आन्तरिक पर्यटकहरू आउनेक्रम भने रोकिएको छैन । ४० को दशकसम्म पनि काठमाडौं उपत्यका आवातजावत गर्नेहरूले प्रयोग गर्ने पैदल मार्गको झण्डै मध्ये भागमा पर्ने मालाकोट यात्रुहरूका लागि बास बस्ने गाउँ हो । स्थानीय कृष्णलाल श्रेष्ठका अनुसार अहिले यस स्थानको अवलोकनका लागि मानिसहअरु आउने गरेका छन् । ‘बस बस्नैको लागि भनेर त अक आउँदैनन्, तर पहिला पैदल मार्ग प्रयोग गर्दा बस बस्ने ठाउँ मालाकोटा कस्तो रेछ भनेर मानिसहरू हेर्न र द्धघुम्न चाहिअ आउने गरेका छन्’ श्रेष्ठले भने । 
यात्रुको रात्री बासकै लागि मल्लकालमै यहाँ पाटी निर्माण भएको थियो । जुन पाटी अहिलेसम्म पनि उत्तिकै तन्नेरी संरचनामा देखिन्छ । यो पाटी र मालाकोटको नाम संगसंगै आउने गरेको छ । मालाकोटको यो ऐतिहासिक पाटीसंग रहेको गणेशस्थान पनि उत्तिकै प्राचिन रहेको छ । यहाँको गणेशको मुर्ती चाँदीबाट बनाइएको छ । सुरक्षाका दृष्टिले एक व्यक्तिले किर्तिपुर स्थित आफ्नो घरमा राख्दै आएको उक्त गणेश मुर्ती यहाँ हुने पर्व, जात्रा र पुजाआजामा फिर्ता ल्याएर प्रर्दशन र गाउँ परिक्रमा गरिन्छ । मालाकोट भन्ने वत्तिकै बुढापाकाहरूले पाटीको प्रसङ्ग कोट्याउने गरेको स्मरण गर्छन् वडा सदस्य सञ्जीबबहादुर राई । राई भन्छन्– ‘यहाँ आठ वटा थाम छ, यस बारेमा राम्रो जानकारी भएकाहरू चाँही साच्चिकै मालाकोटको बासिन्दा रहेछन् भनेर बुढापाकाहरूले भन्ने गरेका छन् । आफु बास बसेको ठाउँको मानिस भनेर छुट्टै दृष्टिले उनीहरूले मालाकोटका नागरिकलाई हेर्ने गरेका छन् ।’ 
ऐतिहासिक मालाकोटको संरक्षण, विकास र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले आवश्यकता अनुसारको कार्य गर्दै आएको छ । यस कोटमा रहेका मल्लकालिन पाटी, गणेशस्थानलाई पुरातत्व विभागले रुचीपुर्वक हेरिरहेको छ । 
मालाकोट र यस लिखु गाउँपालिका वडा नं. ३ का अन्य थुप्रै ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरूको संरक्षण, विकास मात्रै नभई पहिचान हुन बाँकी रहेको सम्पदाहरूको लागि समेत आफुहरू क्रियाशिल रहेको वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेँढाई बताउँछन् । ‘यो नुवाकोटको नौं वटा कोटहरू मध्येको एक हो, यसको महत्वपूर्ण र ऐतिहासिक पक्षको बरेमा सदिऔंदेखि चर्चा हुँदै आएको छ, सेढाई भन्छन्– यसको संरक्षण गर्दै भावि पुस्तालाई सुरक्षित रुपमान हस्तान्तरण गर्न हामी प्रतिवद्ध छौं ।’
जालपादेवी :
१०७ वर्ष अघि सुर्यमतीमा स्थापना भएको जालपादेवीथान ।
यसको पुरातत्वले अध्ययन थालेको छ ।
यो जालपादेवीथानको स्थापना १९६९ सालमा भएको हो । लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यो मन्दिर पुरातत्व विभागको सूचीमा समेत परेको छ । यस मन्दिरको ईतिहास रोचक छ । परापुर्व कालमा मन्दिर निर्माणका लागि दिनभरि लगाएको पर्खाल राति भत्किदो रहेछ । यो क्रम छ महिनासम्म हरेक रात चल्यो । मन्दिर बनाउने श्रमिक मध्ये १ जनाको सपनामा देवी प्रकट भएर मन्दिर नबनाई आफुलाई खुल्ला राखिदिन आग्रह भए अनुसार त्यहि बेलादेखि यो मन्दिरको संरचना यस्तो रहँदै आएको जनविश्वास छ । त्यसबेलामा मन्दिर बनाउन लगाएको पर्खालको भग्नाबषेश अहिलेपनि हामी देख्न सक्छौं । स्थानीइ शिक्षक श्रीराम भारतीका अनुसार यही परम्पराका कारण यस मन्दिरलाई आजसम्म खुल्लै राखिएको छ । ‘यसरको प्राचिनता जोगाईराख्नका लागि हामीले यसो गरेका छौं’ उनले भने । 
यहाँ माघे संक्रान्तिको अघिल्लो रात भब्य मेला लाग्ने गरेको छ । रातभरि पुजा आराधन गर्ने, मादी बाल्ने, धुनी लगाउने र माघे संक्रान्तिको शुभकामना आदानप्रदान तथा घ्यु, चाकु र तरुल खाने प्रचलन यहाँ छ । हिन्दु महिलाहरूको महान पर्व हरितालीका तिज, दशैंको नौरथा, हरेका अष्टमी, पूर्णिमा र शनिवार यस जालपादेवीथानमा विशेष मेला लाग्दै आएको छ । भक्तजनहरूले गरेको भाकल पुरा हुने र पञ्चबली दिने चलन यस मन्दिरमा रहँदै आएको छ । हाँस, बोका, राँगाको बली यस जालपादेवीथानमा चढ्दै आएको छ । त्यसो त, लामो समयसम्म खडेरी पर्यो भने वर्षाद्को कामना गर्दै यस देवीथानमा क्षमा पुजा गर्ने प्रचलन छ । यहाँ गरिने क्षमा पुजा र लिखु नदी किनारमा विराजमान जलदेवीलाई जलधारा गरेपछि पानी पर्ने जनविश्वास छ ।   
प्राचिन शक्तिपिठ जालपादेवी मन्दिरको संरक्षण र प्रचारमा लिखु गाउँपालिका र वडा नं. ३ को कार्यालयले उच्च महत्व दिएको छ । यसको परापुर्वकालको सौन्र्दय बचाउन र पुरातात्विक रुपमा कायम राख्न यहाँ हुने मर्मत र विकास निर्माणमा सिमेन्ट प्रयोग गरिएको छैन । यस वडाका अध्यक्ष भोलाप्रसाद सेढाई पुरातत्व विभागले यस मन्दिरको अध्ययन गरिसकेको र उनीहरूको सूचीमा समावेश भएको बताउछन् । गाउँपालिका र वडासंग पुरातत्वले आग्रह गरेर आफुहरूले नै संरक्षण र आवश्यक मर्मत गर्ने भएको छ । ‘पुरातत्व विभागले आवश्यक अध्ययन र अनुसन्धान गरेर फर्किएको छ, यो मन्दिर पुरातत्वको सूचीमा पर्ने भएको छ’ वडा अध्यक्ष सेढाईले भने । 
आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत प्रमुख गन्तब्यको रुपमा विकास गर्ने योजना सहित स्थानीय सरकार क्रियाशिल देखिएको छ । लिखु गाउँपालिकाका वडा नं. ३ को प्रमुख पर्यटकिय स्थलहरूमा पर्ने यो जालपाथान मन्दिर आपसापका क्षेत्र प्राकृतिक रुपमा समेत सिघारिएको छ । छिमेकी पालिकाहरू ककनी, शिवपुरी, बेलकोट, विदुर, तादी, सुर्यगढीको अधिकांश भु–भाग यहाँबाट प्रष्ट हेर्न सकिन्छ । यसरी पर्यटकिय स्थलको रुपमा प्रचुर सम्भावना देखिएको लिखु गाउँपालिका वडा नं. ३ सुर्यमतीको प्रमुख पर्यटकिय स्थलहरूलाई समेट्दै विकासको पहिलो पुर्वाधार सडकमा काम भइरहेको छ । योसंगै पर्यटकहरूलाई खानपिन र बसोवासका लागि होमस्टेको अवधारणा समेत वडा अध्यक्षले प्रस्तुत गरेका छन् । 
लिखु गाउँपालिका वडा नं. ३ को शिरमा रहेको यस जालपादेवीथानसम्मै आइपुग्ने सडक देखि बासोवाससम्मको सुविधाको बारेमा स्थानीय सरकार र जनप्रतिनिध प्रचारमा लागिपरेका छन् । पुरातत्व विभागले आफ्नो सूचीमा राखेको यस मन्दिर र यस वरपरको स्थान आन्तरिक पर्यटकहरूका लागि गतिलो गन्तब्य हो । ढिकुरे–छहरे–टोखा सडक खण्ड अन्र्तगतको पट्टाबारीबाट १५ मिनेटको सडक यात्रामा आइपुग्न सकिने यस क्षेत्रमा आन्तरिक पर्यटकहरूका लागि दिनभरि समय बिताउन प्रशस्त आधारहरू छन् । 
नागीगढी :
यो नागीगढी ऐतिहासिक रहेको छ । नेपाल एकीकरणको क्रममा तत्कालिन गोरखा राज्यका राजा पृथ्विनारायण शाहले नुवाकोट बिजय गर्नका लागि यो गढीलाई सामरिक रुपमा प्रयोग गरेका थिए । नुवाकोट बिजयका लागि महत्वपूर्ण किल्ला बनेको नागीगढीमा अहिले पनि त्यसबेलाको युद्धकालिन संरचनाहरू देख्न सकिन्छ । सेना, सेनाका हातहतियार लुकाउन तयार गरिएको ‘बङ्कर’को डोबहरू अहिले पनि छन् । घनाजंगलले ढाकेको नागीगढी लिखु गाउँपालिकाको वडा नं. ३ अन्र्तगत पर्ने ऐतिहासिक र पर्यटकिय स्थलहरू मध्ये एक हो । यो गढी निर्माणका लागि लिखु खोलाबाटै पृथ्बिनारायण शाहले आफ्ना सेनालाई ढुङ्गा बोकाएको बुढापाकाहरू सुनाउँछन् । लिखु गाउँपालिका वडा नं. ३ कट्टिछापका गोपालबहादुर मगरका अनुसार यहाँ अहिले हेर्न पाइने साढे दुई सय वर्ष पहिला ओसारिएको ढुङ्गा लिखु खोलाको हो । ‘अहिले संरक्षण नहुँदा रुखहरू बढ्ने र झाडीले छोपेर नदेखिएको मात्रै हो, राजाले सेनालाई सुरक्षित गर्न र युद्ध लड्न बनाएका बङ्कर प्रशस्त छन्’ मगरले भने । 
बेलासपुर, मालाकोट तथा पट्टावारीको शिरको रुपमा देखिएको यो नागीगढी र नुवाकोटको साततले दरवार आमनेसामने जस्तै देखिन्छ । यस वडा अनि गाउँपालिकाको मात्रै नभई सिङ्गै नुवाकोटको ऐतिहासिक साक्षी यस नागीगढीको विकास र संरक्षणका लागि गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । त्यस अन्र्तगत सडक निर्माणको काम भइरहेको छ । सवारी साधन रोकेर १५ मिनेट पैदलयात्रा गरेरै गढीमा पुग्न सकिने अवस्थाको सृजना भएको छ । यहाँबाट सिङ्गै नुवाकोट र मनोरम हिमाल हेर्नका लागि ‘भ्यू टावर’ बनाउने गरी तयारी थालिएको छ । बहुवर्षिय योजना अन्र्तगत नागीगढीमा लिखु गाउँपालिकाले ६ करोड ४३ लाख रुपैयाँ खर्चिदैछ । वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईका अनुसार त्यसका लागि विस्तृत अध्यायन प्रतिवेदन ‘डिपिआर’ तयार भइसकेको छ । 
जलदेवी :
देविघाटमा रहेको जालपादेवीको मुर्ती उत्पत्ति भएको
सुर्यमती स्थित लिखु नदीको किनार ।
यहाँ चाँही जलदेवता स्थापना गरिएको छ । 
नुवाकोटको प्रमुख शक्तिपिठहरू मध्येको एक विदुर नगरपालिका वडा नं. ५ देविघाटमा रहेको जालपादेवीको उत्पत्तिको कथा रोचक छ । यो त्रिशुली र तादी नदीको संगमस्थलमा अवस्थित घाटकिदेविलाई कुनै एक माझीले स्थापना गरेका हुन् । परापुर्व कालमा नदीमा माछा मार्ने क्रममा सधै एउटै ढुङ्गा जालमा आइरहेपछि ति माझिले आफ्नो घरमा लगेर राखे । त्यस रातको सपनामा उनलाई देवीले दर्शन दिएर आफुलाई ठूला दुई नदी मिसिएको ठाउँमा स्थापना गरिदिन आग्रह गरे अनुरुप जालपादेबीको स्थापना देविघाटमा भएको हो । सदियौंदेखि सुन्दै आएको जालपादेवीको उत्पत्ति यो प्रसङ्ग लिखु गाउँपालिकाको यही वडा नं. ३ संग जोडिन्छ भन्ने जानकारी कमैलाई छ । धेरैले देविघाटमै घाटकीदेवी उत्पत्ति भएको अनुमान गरेपनि यसको वास्तविकता यो स्थानसंग सम्वन्धित छ । यस जलदेवी रहेको ठाउँमा देविघाटमा रहेको देबी फेला परेकी थिइन् । चौघडा गड्खारका राईलाई सपनामा आएको निर्देशन अनुसार घाटकी देवीको स्थापना देविघाटमा पुगेर भएको हो । स्थानीय धर्मराज अधिकारी सोही कारणले नुवाकोटको प्रशिद्ध जात्रा सिन्दुरे जात्राको सुरुवात यहीबाट हुने बताउँछन् । उनी भन्छन्– ‘यहाँको माइतीपक्ष कोशेली बोकेर नपुगी धामी जात्रा सुरु हुँदैन, धामीपनि यहाँ आएर पुजा आराधना नगरी अन्य पुजा गरेर जात्रा सुरु गर्न मिल्दैन ।’
नुवाकोटको सबै भन्दा लामो समयसम्म चल्ने र देशैभरी प्रशिद्ध बैशाखपूर्णिमा जात्रा यहाँबाट सूरुवात हुन्छ । यहाँ रहेको जलदेवी र गड्खारका राईहरू देविघाटको माइतीको रुपमा रहँदै आएका छन् । यहाँबाट देविघाटमा बली चढाईने कुखुरा, बोका, भेँडा, हाँस र गाढ्ने लिङ्गो कोशेली लैजाने चलन छ । त्यस्तै, नुवाकोट भैरबी मन्दिरका पुजारी धामीले यहाँको भँडारदेवीको आराधना गर्ने, बन्दुक पड्काउने र फुतपाती लिएर गएपछि मात्रै जात्रा सुरु हुने प्रचलन शताब्दि देखि रहँदै आएको छ । यस मन्दिर मुख्य सडकसंगै रहेकोले भ्रमणका लागि पर्यटकहरूलाई कष्ठ गर्नुपर्ने छैन । ढिकुरेबाट थानसिंग तर्फ जाने सडकमा ५ मिनेट गुढेपछि यहाँ आइपुग्न सकिन्छ । ‘हामी यो लुकेर बसेको पहिचान र धेरैलाई जानकारी नभएको विषयमा खुव प्रचार गर्ने छौं, सामान्इ भौतिक सुधार गर्नु मात्रै आवश्यक छ, मुख्य सडकसंगै रहेको यो स्थललाई हामी आन्तरिक पर्यटकको दर्विलो गन्तब्इको रुपमा तयार गर्नेछौं’ सेढाईले भने । 
नुवाकोटको धार्मिक र पर्यटकिय रुपमा प्रख्यात भैरबी मन्दिर, देविघाटको जालपादेवी मन्दिर, बैशाखपूर्णमा अर्थात् धामी जात्रासंग जोडिएको यस जलदेवी र भडाँरदेवीको प्रचार र इतिहास संरक्षणमा लिखु गाउँपालिका वडा नं. ३ ले विशेष अभियान सञ्चालन गरिरहेको छ । यहाँका ऐतिहासिक पक्षलाई लोप हुन नदिई नयाँ पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न भौतिक पक्षमा समेत प्रयास थालिएको छ । 
पञ्चकन्या मन्दिर :
अझै पनि दैविक शक्तिको प्रभाव हेर्ने हो भने यो मन्दिर आसपासमा रहेको कुनै रुख काट्यो भने उदाहरण तुरुन्तै देख्न पाइन्छ । लिखु गाउँपालिका वडा नं. ३ नागीगाउँमा रहेको यो पञ्चकन्या मन्दिरको परिषरको कुनै पनि रुख काट्ने वित्तिकै बाघ, चितुवा मानव वस्तिमा पस्ने गरेको छ । 
बाजेको पालादेखि नै यहाँको मन्दिर र मानव बस्तिबीच यस्तै सम्वन्ध देखिएको छ । मन्दिर रहेको जंगलमा कुनै रुख जो कसैले काट्ने वित्तिकै बाघ, चितुवा गाउँ पस्ने र पशु चौपाया मार्ने गरेको सुनाउछन् यहाँका बिष्णु रिजाल । ‘यहाँ जंगलमा रुख काट्यो, उता गाउँमा बाघ पसिसकेको हुन्छ, झुक्किएर पनि यो जंगलको कुनै रुख काट्न हुँदैन’ रिजालले भने । यस पञ्चकन्या मन्दिरलाई स्थानीयले महाशक्ति देवीको रुपमा पुजा आराधना गर्दै आएका छन् । वडा नं. ३ को प्रशिद्ध धार्मिक स्थल मध्ये प्रमुख रुपमा रहेको यस मन्दिरमा पुजा आराधन गर्न अन्य वडा र गाउँपालिकाबाट समेत भक्तजनहरू आउने गरेका छन् । पञ्चकन्या मन्दिरमा गरेको भाकल पुजा गर्न अन्य दुई वटा मन्दिरलाई पनि समेट्न पर्ने भएकोले यहाँको पुजा आराधना गर्दा यात्रा केही लामो भएपनि भक्तजनहरूले मनमोहक प्राकृतिक छटासित रमाउन पाउछन् । लिखु नदी किनारमा रहेको जलदेवी र माथी रहेको भडाँरदेवीलाई पनि पञ्चकन्या मन्दिरसंगै पुज्नु पर्ने मान्यता रहि आएको छ । स्थानीय विरेन्द्र तामाङका अनुसार यो पञ्चकन्यासंग जोडिएर आउने भडाँरदेवी, जलदेवीको सामुहिक पुजाआराधना नै यस मन्दिरको सुन्दर पक्ष हो ।
ढिकुरे बजारबाट डेढ घण्टाको पैदलयात्रामा आइपुग्न सकिने यहाँ अहिले सुविधायुक्त सडक निर्माण भइसकेको छ । ढिकुरेबाटै सवारी साधन चढेर २० मिनेटमा आइपुग्न सकिने पञ्चकन्या मन्दिर र यस आसपासको क्षेत्र धार्मिक तथा अन्य पर्यकटकका लागि दैविक शक्ति आर्जनका लागि आराधना गर्ने र भ्रमण गर्ने असाध्यै शान्त र सुन्दर स्थान हो । यस पञ्चकन्या मन्दिरको संरक्षण र प्रचारका लागि लिखु गाउँपालिका र वडा नं. ३ ले विशेष कार्यक्रमहरूको तयारी गरिरहेको छ । स्थानीयहरूले पनि विभिन्न समयमा सप्ताह, एकाह लगाएर यस क्षेत्रको विकास र प्रचारका लागि योगदान दिँदै आएका छन् । 
चमेरे गुफा\गुप्चेश्वर महादेव :
२०५८ सालमा पत्ता लागेको यो चमेरे गुफाले २०७२ सालको विनाशकारी महाभुकम्प ब्यहोर्यो । तर भुकम्पले यत्तिको विशाल गुफाको संरचनामा अल्लिकत्ति पनि असर गरेन । यो गुफा फेला पार्दा स्थानीयहरूले यस भित्रै महादेवको मन्दिर र अनेकौं देविदेवताका आकृतिहरू फेला पारे । लिखु गाउँपालिका वडा नं. ३ को उच्च भाग नागीडाँडाको उत्तरपश्चिम भागमा अवस्थित चमेरे गुफा नुवाकोटमा भेटिएका ठूला गुफाहरू मध्येमै परेको छ । एकैपल्ट ५० जना भन्दा बढि अट्ने खुल्ला भाग रहेको यो गुफा भित्र देवाधिदेव श्री महादेवको उत्पत्ति भएको छ । साक्षत शिवलिङ्गमा यहाँ नियमित रुपमा भक्तजनहरू पुजा आराधना गर्दै आएका छन् । गुफामा अनेकौं देवी देवताको मुखाकृति देखिन्छन् । 
भुकम्प अघिसम्म यो गुफा हेर्न र अन्य भौगोलिक सुन्दरताको आनन्दपान गर्न तराई र मधेशदेखिका पर्यटकहरू धेरै संख्यामा आउने गरेका थिए । अहिले संख्याका कमी आएको छ । भुकम्प पछि पनि गुफा सुरक्षित रहिरहेको सन्देश फैलन नसक्दा टाढाबाट आउने पर्यटकहरूको संख्यामा कमी भएको अनुमान स्थानीय राजाराम तामाङको छ । ‘भुकम्पले भत्क्यो होला भन्ने पनि परेको हुनसक्छ, पहिला त्यस्तो धेरै मान्छेहरू आउथे, अहिले कम भएको छ, यो गुफा सुरक्षित छ भनेर खबर फैलाउन पाए पहिलाको अवस्थामा पुग्थ्यो !’ तामाङले भने । 
भुकम्पले यस नागीडाँडा वरपरको पानीका मुहान सुकायो । पानीका कारण यहाँका नागरिकहरू तल्लोगाउँतिर बसाई सरे । त्यसले पनि यहाँ घुम्न आउने पर्यटकहरूको संख्यामा कमी भएको बुझाई लिखु गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोलाप्रसाद सेंढाईको छ । यहाँ कुनै एक पटक भ्रमणमा आउने पर्यटकहरूले फेरि–फेरि आउनका लागि देखाउने रुचीका कारण स्थानीय सरकारले यहाँको भौतिक संरचना विकासका लागि बजेट खर्चिएको छ । सडक मार्ग सकिने वित्तिकै सुरु हुने पक्की ढलानयुक्त छिँडिले गुफा र यस भित्रको गुप्तेश्वर महादेवसम्म पुग्न सहज भएको छ ।
गुफा भित्र भएकै कारणले पनि गुप्चेश्वर महादेवलाई यहाँका स्थानीयहरूले बढि रुची र हार्दिकताका साथ लिदै आएका छन् । यहाँ फागुपूर्णीमा, धान्यपूर्णीमा विशेष मेला लाग्ने गरेको छ । भक्तजनहरूले यस गुप्चेश्वर महादेवलाई दुप्चेश्वर महादेवको अर्को रुपमा समेत पुज्दै आएका छन् । यस गुफा वरिपरिको क्षेत्रमा आन्तरिक पर्यटकहरू ‘पिकनिक’ आउने क्रम पनि बढेको छ । आसपासको क्षेत्रबाट विशेष गरि बिदाको दिनमा यस क्षेत्रको भ्रमण र मनमोहन दृष्यावलोकनका लागि पर्यटकहरू आउने गरेका छन् । 
गणेशगौडा :
सुर्यमतीको गणेशगौडा स्थित भँडारदेवीको मन्दिर परिषर ।
जहाँबाट स्थानीयहरुले परापुर्व कालमा भोजभत्तेरका
लागि भाँडाकुँडा पाउथे । 
परापुर्व कालमा गाउँघरमा हुने ठूलो भोज भत्तेरका लागि आवश्यक भाडाबर्तनको अभाव हुने गर्दथ्यो । अहिलेको जस्तो ‘क्याटरिङ’ सेवा उपलब्ध नभएको समयमा यस पट्टावारी, कट्टिछाप, नागीडाँडा र आसपासका नागरिकहरूले गणेशगौडाको पुकारा गर्थे । अघिल्लो दिन साँझ गणेशगौडा नजिकै रहेको भडाँरदेवीको नाममा धुपवत्ति बालेर आवश्यक भाडाँकुँडा मागेको भोलीपल्ट प्राप्त हुन्थ्यो । कुनै समय कसैले लगेको भाँडा मध्ये एउटा बटुका छुटेपछि भने उक्त दैविक शक्तिबाट प्राप्त हुने सहयोगमा क्रमभङ्गता आयो । यहाँका पाका व्यक्तिहरू आफ्नो बाजेहरूले सुनाएको यस प्रसङ्ग स्मरण गर्छन् । स्थानीय गोपालबहादुर मगरका अनुसार यहाँ दैविक शक्तिबाट प्राप्त हुँदै आएको भाँडाकुँडाको सापटी त्यही बेलादेखि टुट्यो । उक्त बटुवा रहेको जाँडको घ्याम्पो नै दैविक शक्तिले उडाएर गाउँको पुछारमा पानीको रहमा पु¥याएको र त्यही बेलादेखि त्य रहको नाम अहिलेपनि घ्याम्पे रह रहेको छ ।   
गणेशगौडामा केही वर्ष पहिला स्थानीयहरूले लगाएको सप्ताह महायज्ञमा चमत्कार भयो । सप्ताह लगाएको पाँचौ दिनको राती गणेगौडाको पहरोमा निक्कै लामो समयसम्म पच्चे बाजाको आबाज गुञ्जियो । सप्ताहमा सहभागि पण्डित, पाहुना तथा स्थानीयहरूले रातभरी त्यो चमत्कारिक आवाज सुनिरहे । त्यपछि झन् श्रद्धाका साथ हेरिदै आएको यस गणेशगौडामा विभिन्न देविदेवताका आकृति, ऋषिमुनीहरूको प्रतिविम्व, गाई, हात्तिको टाउको तथा गणेश भगवान्का अर्धाङ्गीनी ऋद्धि र शिद्धि देख्न पाइन्छ । दैविक शक्तिले भरिपूर्ण यस स्थानको प्रचार र संरक्षणका लागि स्थानीय सरकारले केही गर्नेमा आशावादी छन् संरक्षण समितिका अध्यक्ष बिरबहादुर कुँबर । दैविकशक्तिले पुर्ण स्थानमा धार्मिक पर्यटक भित्र्याउन स्थानीय सरकारले पहल गर्नुपर्ने उनी बताउँछन् । 
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट पाँच मिनेट सडक मार्ग र १० मिनेटको पैदल हिडेपछि आइपुग्न सकिने यहाँ अन्य गाउँपालिकाबाट हेर्न र घुम्न दिनहुँ आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पर्यटकहरूको भ्रमणलाई यहाँका स्थानीयहरूको आम्दानीको माध्याम बनाउने गरी वडा कार्यालयले योजना बनाउने सुनाउँछन् यस वडाका अध्यक्ष भोलाप्रसाद सेँढाई । 
पञ्चदेवतालय :
लिखु गाउँपालिका वडा नं. ३ पट्टावारीमा मुख्य सडकमै रहेको यस पञ्चदेवतालयको निर्माण २०६३ सालमा भएको हो । २०६९ साला मंसिर ९ गते हरिवोधनी एकादशीको दिन यहाँ पञ्चदेवताको स्थापना भएको हो । विभिन्न तिथि, पर्वमा स्थानीयहरू जमघट भई भगवान्प्रति आस्था प्रकट गर्ने नजिकैको तिर्थको रुपमा स्थानीय अभियन्ता खिलराज गुनीले मन्दिरको स्थापना गराएका हुन् । यहाँ शिवपार्वती, गणेश, कुमार, हनुमान र भडाँरदेवीको प्रतिमा स्थापना भएको छ । भडाँरदेवीलाई यहाँका स्थानीयहरूले उच्च सम्मान र श्रद्धाभावका साथ मान्दै आएका छन् । भडाँरदेवीसम्म पुग्न टाढा भएपछि प्रतिमाको रुपमा यहाँ स्थापना गरिएको यस ान्दिरका संस्थापक खिलराज गुनीले बताए । 
यस क्षेत्रको अर्को विशेषताको रुपमा पितृ मोक्षका लागि बैकुण्ठ चतुर्दशीका दिन गरिने धार्मिक कार्य पनि रहेको छ । लिखु खोलाको वारिपारी पितृ मोक्षका लागि फुल तारिन्छ । स्थानीय दाताहरूले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको यस धाममा स्थानीय मात्रै नभई छिमेकी गाउँपालिकाबाट समेत  पर्यटकहरू आउने गरेका छन् । 
महादेव पार्वती मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ को कट्टिछापमा स्थापना भएको यो शिवपावर्ती मन्दिरले यहाँका नागरिकहरूलाई धार्मिक पर्यटकको सम्भाव्यतातर्फ डो¥याएको छ । छिमेकी गाउँपालिकाहरू सुर्यगढी, तादी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी र विदुर नगरपालिकाको मनोरम र प्राकृतिक दृष्टिलाई आनन्दका साथ हेर्न सकिने स्थानमा यो मन्दिर निर्माण भएको छ । २०६४ सालमा स्थापना भएको यस मन्दिरले वस्ति बीचमा सार्वजनिक स्थानको समेत विकास गरेको छ, त्यो पनि यत्तिको मनोरम स्थानमा । यो मन्दिर सहित यस मनमोहक स्थानको भौतिक विकासका लागि लिखु गापाले बजेट विनियोजन गर्दै आएको छ । यस मन्दिरकै लागि गोपालबहादुर मगरले जग्गा दान गरेका छन् । 
लिखु गाउँपालिकाको कार्यालय नजिकैबाट माथितिर उकालो लाग्ने सडक हुँदै पाँचै मिनेटमा आइपुग्न सकिने यो मनोरम स्थानलाई ‘ड्राइ पिकनिक’ स्थल, नुवाकोटको पुर्वीदक्षिणी भुगोल एकैसाथ अवलोकन गर्न उपयुक्त छ । 
पितृनारायण मन्दिर :
लिखु गाउँपालिका वडा नं. ३ का श्यामबहादुर थापामगरलाई एक रात सपनीमा प्रकट भएका देवताले भने ः तैले जे सम्झिन्छस् म त्यही हुँ, म लिखु नदीको किनारमा पानीले छोपिएको छु ।’
श्यामबहादुरले आफ्ना पितृहरू तार्नका लागि यहाँ मन्दिर र एउटा धाम बनाउँदै थिए । यही नजिकै फेला परेको यि देव आकृतिलाई पितृनारायणको रुपमा स्थापना गरिएको छ । नेपालकै पहिलो र एक मात्रै पितृनारायणको मन्दिर यही लिखु गाउँपालिका वडा नं. ३ मा रहेको छ । ढिकुरे, छहरे सडक खण्डसंगै रहेको लिखु नदी किनारमा निर्माण भएको यो मन्दिरमा पितृनारायणको प्रतिमा स्थापना भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर थापा मगरका अनुसार यो वर्षबाट बेत्रावतीमा गर्ने पृत्ति श्रद्धाको विकल्पमा यस स्थानालाई भक्तजनहरूले ठूलो संख्याले रोजेका छन् । ‘नेपालकै पहिलो र एक मात्र पितृ नारायणको स्थापना भएकोले भक्तजनले विशेष श्रद्धाभाव प्रकट गर्छन्, हेर्न र घुम्न पनि आइपुग्छन्’ मगरले भने । 
२०७१ सालमा स्थापना भएको यस धार्मिक क्षेत्रलाई उत्तरगयाको अर्को रुपमा भक्तजनहरूले मान्दै आएका छन् । पितृ मोक्षका लागि उत्तरगया बेत्रावतीमा गरिने श्राद्ध लगायतका कार्य यस पितृनारायण मन्दिर र लिखु नदी किनारमा सुरु भएको छ । लिखु, पञ्चकन्या, शिवपुरी, तादी, सुर्यगढी लगायतका गाउँपालिकाका श्रद्धालुभक्तजनहरूले दोश्रो उत्तरगयाका रुपमा पितृनारायण स्थानलाई मानिरहेका छन् ।   
यसको अलावा लिखु गाउँपालिकाको वडा नं. ३ मा अन्य थुप्रै संस्कृति, सम्पदा र जीवनशैली छन् । जसले सिङ्गै मानव सभ्यताको प्रतिनिधित्व गरिरहेको छ । नुवाकोट जिल्लाको पहिचानको रुपमा स्थापित माघे संक्रान्तिमा गोरु जुधाउने परम्परा यही वडामा रहेको छ । कट्टिछापमा हरेक माघे संक्रान्तिमा गोरु जुधाएर मनाईने पर्वले राष्ट्रिय महत्व र चर्चा प्राप्त गरेको छ । 
नुवाकोटको भौगोलिक संरचनाका हिसावमा करिव करिव मध्ये भागमा पर्ने लिखु गाउँपालिकाको वडा नं. ३ यातायातको पहुँचका कारण पनि सबैका लागि सहज र पायक पर्ने देखिन्छ । पुष्पलाल मध्येपहाडी लोकमार्गले समेत छोएको यस वडा ढिकुरे–छहरे सडकको मध्ये भागमा छ । विदुरबाट २०मिनेट,काठमाडौंको टोखाबाट डेढ घण्टा भन्दा कम समयमा आइपुग्न सकिने यो ठाउँ आन्तरिक मात्रै नभई बाहिरि पर्यटकहरूका लागि समेत हेर्न, भ्रमण गर्न र पहाडी जीवनशैली अध्ययन गर्ने उपयुक्त गन्तब्य हो । 

पाण्डे नेकपाका मुख्य सचेतक

विदुर\नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन् । 
नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं. २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । २०४० सालमा तत्कालीन अनेरास्ववियु (पाँचौँ) नुवाकोट अध्यक्ष बनेका पाण्डे २०४५ सालमा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । 
पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव समेत बनेका थिए । तत्कालीन नेकपा(एमाले)को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव थिए । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि छन् । 
यसअघि मुख्य सचेतक रहेका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो ।