Monday, March 19, 2012

सहकारीको कर खारेजी माग

विदुर÷नुवाकोट जिल्लाका सहकारीहरू संस्थाहरूले आफुले तिर्नुपर्ने मुनाफा कर खारेज गर्न माग गरेका छन् ।
    मुनाफाको १५ प्रतिशत भन्दा कम लाभांश लिएर २० प्रतिशत कर तिर्नुपरिरहेको सहकारीहरूको अवस्थालाई सुर्धान गर्नको लागी उक्त माग उठाइएको जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले बताए ।
    मुनाफा करकै कारण सहकारीले सामाजिक हितका कार्यक्रमलाई बढावा दिन नसकेको सहकबारीकर्मीहरूको भनाई छ ।
    डिभिजन सहकारी कार्यालय नुवाकोटका प्रमुख रोमाकान्त काफ्लेका अनुसार जिल्लामा तीन सय सात सहकारी संस्थाले वार्षिक दुई अर्ब ७० करोड रुपैयाँको वित्तीय कारोबार गर्ने गरेका छन् ।
    विदुुर नगरपालिका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संख्या एक सय २० छ । उनीहरूले वार्षिक एक लाखदेखि १५ करोड रुपैयाँसम्मको कारोबार गरिरहेका छन् ।
    आयकर ऐनमा नगरपालिका क्षेत्रभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले मुनाफाको २० प्रतिशत कर तिर्नुपर्ने प्रावधान राखेको छ । ऐनले ग्रामीण क्षेत्रका सहकारीको लागि भने यस्तो कर तिर्न नपर्ने ब्यवस्था गरेको छ ।

एक साता देखि दिदीबहिनी बेपत्ता

राजु रिमाल
विदुर÷खड्गभञ्ज्याङ गाविस–१ दाङसिङ्गखर्कका दुई किशोरीहरू एक साता देखि परिवार र आफन्तको सम्पर्कबाट बाहिरिएका छन् ।
    तीन वर्ष देखि चितवनको नारायणगढ स्थित एक घरमा कामदारका रुपमा रहेका  १८ वर्षिय कमला तामाङ घर आएको र साहिली बहिनी कुमारीलाई पनि रोजगारीमा लगाउने भनी लगेकोमा एक सातादेखि दुवै जना बेपत्ता भएको आफन्तहरूले जानकारी दिएका छन् । फागुन २३, २०६८ मा घर आएका कमलाले बहिनी कुमारीलाई पनि काम खोजिदिने भनेर चितवन लगेको बताइएको छ । तर चितवन स्थित उनी कार्यरत घर र आफन्तहरू कसैको सम्पर्कमा दुवै जना हालसम्म नआएको बताइएको छ ।
    दुवै छोरीहरूलाई विदाई गर्न बाबुआमा बट्टारसम्म फागुन ३० गते आएको र त्यसपछि कसैसंग सम्पर्क नभएको बताइएको छ । खोजीको लागी अभिभावकले प्रहरीमा निवेदन दिएका छन् । उनीहरूको खोजी गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।

ग्लोवल सहकारी संस्थाको उद्घाटन

इमेज समाचारदाता
बट्टार÷नुवाकोटको बट्टार वजारका युवाहरूको सक्रृयतामा स्थापित ग्लोवल उपभोक्ता सहकारी संस्थाको आईतवार उद्घाटन भएको छ ।
    बट्टार बजारस्थित संस्थाको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पानसमा बत्ती वालेर उद्घाटन गरेका थिए ।
    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले व्यापारिक सम्भावना बोकेको बट्टार वजारमा स्थापित ग्लोवल सहकारीले जिल्लाको व्यवसायिक विकासमा योगदान दिने विश्वास व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष सुदर्शन दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बट्टार सहकारी संस्थाका सञ्चालक मोहनवहादुर खड्काले सहकारी संस्थाहरूले न्युन आय भएका वर्गलाई सम्वोधन गर्नुपर्ने वताएका थिए ।
    ५० जना सेयर सदस्यहरूवाट शुरु गरिएको उक्त संस्थाको अधिकृत पुँजी एक करोड रुपैयाँ र चुक्ता पुँजी २१ लाख रुपैयाँ रहेको जनाईएको छ ।
    संस्थाले साधारण वचत, विशेष वचत, गृहीणी वचत, वाल वचत लगायत वचत कार्यक्रमका साथै कृषि कर्जा, व्यवसायिक कर्जा प्रवाह गर्ने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो ।
    यसअघि, बट्टार वजारमा भएको सेयर सदस्यहरूको भेलाले स्थानीय युवा व्यवसायी सुदर्शन दुवालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा विष्णुप्रसाद रिमाल, पुरुषोत्तम सापकोटा र पवन नेपाल छन् । यस्तै सदस्यहरूमा देबनारायण चित्रकार, रिनेस श्रेष्ठ, विवेशबहादुर लवट, सर्जुकुमारी श्रेष्ठ छन् । भेलाले लेखा समिति संयोजकमा गजेन्द्र खड्का, ऋण कमिटी संयोजकमा उसनमान श्रेष्ठ र सल्लाहकार समिति संयोजकमा दामोदर नेपाललाई चयन गरेको  छ ।

१० मिनेटमा विवाह

इमेज समाचारदाता
राउतवेशी÷सुन्दा अचम्म लाग्छ १० मिनटैमा पनि विवाह हुन्छ भन्दा । तर फागुन महिनाको अन्तिम दिन नुवाकोटको राउतबेशीमा रुकुमका इन्द्रबहादुर घर्तिमगर र नुवाकोटका विमला तामाङ बीच  १० मिनेटमानै विवहा सम्पन्न भएको छ ।
    आफ्नो दुई बर्षे प्रेमसम्बन्धलाई सफल पार्दै इन्द्र र विमलाले १० मिनेटमा जनवादी विवहा गरेका हुन् । न त कुनै तामझाम न कुनै देखासिकी दुई जनाको मन मिलेपछि जनवादी विवाहनै उचित लागेर  यस्तो विवाह गरेको बताउछन् इन्द्र । तर विमलाको विचार भने थोरै फरक छ । सामाजिक कु–संस्कार विरुद्धनै आफु यो निर्णयमा पुगेर विवहा गरेको बताउछन् ।
    नवविवाहित दम्पतिलाई अविर माला लगाएर एकिकृत नेकपा माओवादीका केन्द्रिय नेता हितबहादुर तामाङले सुखद् दाम्पत्य जीवनको शुभ कामना दिएका थिए ।
    नव दम्पतीले पनि एकले अर्कालाई अविर र माला लगाएर हात मिलाउदै जीवन भर साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य परिक्षण

इमेज समाचारदाता
विदुर÷जिल्ला स्वास्थ्य कार्यालयनुवाकोट, सोलिड नेपाल र छिपाश्वरी युवा क्लब कल्याणपुरको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    कल्याणपुर–७ डेउडीमा सम्पन्न उक्त शिविरमा चार सय जनाको स्वास्थ्य परिक्षण भएको बताइएको छ । शिविरमा ल्याव टेष्ट, रक्त परिक्षण तथा महिला सम्वन्धि रोगको उपचार भएको थियो ।
    शिविरमा ७५ प्रतिशत महिलाहरूको उपचार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
    शिविरमा जनस्वास्थ्यका आसी केसी, एस्विना पोखरेल, सोलिडबाट खेम कार्की, राजेन्द्रकुमार गिरी, हरि पोखरेल, राधा गुरुङ्ग, मैथली सैन्य तालिम केन्द्रका चिकित्सकहरूले स्वास्थ्य परिक्षण गरेको कल्याणपुरका कमल खड्काले जानकारी दिएका छन् । 

भोलिबाट एसएलसी परिक्षा सुरु

प्रकाश सुयल
विदुर÷भोलि मङ्गलबारबाट यसपालीको प्रवेशिका परिक्षा (एसएलसी) सुरु हुँदै छ ।
    परिक्षाको लागि नुवाकोट जिल्लामा २० वटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय नुवाकोटले जनाएको छ ।
    यस अघि १५ वटा परिक्षा केन्द्र रहेकोमा पाँच वटा केन्द्र थप भएको हो । थप भएका परिक्षा केन्द्रहरूमा पञ्चकन्या उच्चमावि बेलकोट, रुक्मिणी मावि समुन्द्रटार, सुन्दरीक्यौरिनी उच्चमावि गेर्खु, बागेश्वरी उच्चमावि बागेश्वरी र जनज्ञान निकेतन उच्चमावि थानापती रहेको शिक्षा कार्यालयले जनाएको छ ।
    यस पटक जिल्लाका ८७ सामुदायिक, १३ वटा निजी र संस्थागत तथा १ खुल्ला विद्यालयकबाट परिक्षार्थीहरू एसएलसी परिक्षामा सम्लग्न रहनेछन् । जसमा नियमित र मौका परिक्षामा छ हजार एक सय ४७ विद्यार्थीहरू सम्लग्न हुनेछन् ।
    देशभर एकै पठक सञ्चालनहुने एसएलसी परीक्षाका लागि सबै जिल्लामा प्रश्नपत्र पुगीसकेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्ष देखि गार्डहरूको समेत ब्यावस्था भैसकेको परीक्षा नियान्त्रण कार्यलय भक्तपुरले जनाएको छ ।
    परीक्षालाई सुरक्षित एवं मर्यादित बनाउन उचित सुरक्षाकर्मी ब्यवस्था गरीएको र अभद्र ब्याहार देखाउने, चीट चोर्न उक्साउने देखि कुनै पनि प्रकारले अनैतिक आचरण प्रस्तुत गर्नेलाई एक लाख रुपैयाँ नगद जरीवाना र छ महिनाको कैद वा दुबै सजाय ब्यावस्था गरिएको छ ।
    परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसबर्ष एसएलसी दिन फारम भर्ने कुल पाँच लाख ८२ हजार दुई सय मध्ये चार लाख ४६ लाख एक सय ६० जना नियमित तर्फ र ८२ हजार ९१ जनाले आशिंक तर्फबाट परीक्षा दिदैछन् ।  


असई पक्राउ

बट्टार÷ दिउँसै मदिरा सेवन गरेर हिडेका प्रहरी सहायक निरिक्षक दिलिप गौतमलाई प्रहरीले बट्टारबजारबाट पक्राउ गरेको छ ।  बिहिवार पुरानो बजारमा मदिारमा मात्तिएर बसेको अवस्थामा भेटिएका गौतममलाई पक्राउ गरी प्रहरीले विभागिय कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । 



शैक्षिक सामग्री प्रदान

विदुर÷कार्नेट नेपालले चारघरे गाविसमा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्यायनरत विद्यार्थीहरूका लागी शैक्षिक सामग्री वितरण गरेको छ । उक्त गाविसका विभिन्न विद्यालयका प्राथमिक तहमा अध्यायन गर्ने दुई सय ५० विद्यार्थीलाई शैषिक सामग्री वितरण गरिएको कार्नेट नेपालका कार्यक्रम संयोजक पुरुषोत्तम डोटेलले जनाकारी दिएका छन् । चारघरे स्थित महेन्द्र उच्चमाविमा आयोजना गरिएको कार्यक्रममा ति बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

बायो जिडेलका लागी अडिर

विदुर÷जैविक इन्धन (वायो डिजेल) उत्पादनका लागी नुवाकोट जिल्लामा सोको कच्चा पदार्थ अडिरको खेती सुरु भएको छ ।
    चौघडा गाविस–३ का पदमबहादुर तामाङले पाँच रोपनी जग्गामा अडिर खेती थालेका छन् । एक रोपनी जमिनमा अडिर खेती गर्न दुई हजार रुपैयाँ खर्च लागेको छ । उक्त खेतीबाट छ महिनादेखि पाँच वर्षसम्म नियमित उत्पादन लिन सकिने बताइएको छ ।
    वर्षमा तीन पटक उत्पादन लिन सकिने अडिर अन्य बाली नहुने सुख्खा पाखो, भिरालो जमिन र खोलाको बगरमा पनि खेती गर्न सकिने विशेषज्ञहरूको भनाई रहेको छ । समुन्द्रि सतहदेखि एक हजार मिटरको उचाइसम्म अडिर खेति गर्न सकिने छ । उक्त उत्पादनबाट वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने छ ।


पहिरो अध्ययन समयावधि थप

विदुर÷किम्ताङ्गको पहिरो अध्ययन गर्न गठित सरकारी प्रतिनिधहरू सम्मिलित कार्यदको एक महिना समयावधि थप गरिएको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले फागुन २३ मा प्रतिवेदन बुझाउनुपर्नेमा नसकेपछि साय थपिएको बताइएको छ । स्थलगत अध्ययान सकिएपनि त्यस अघि भएगरेका कार्यहरूको अध्यायनको लागी सयम माग गरिएको र एक महिना थप भएको बताइएको छ ।
    १९ वर्ष देखि बग्दै आएको सुख्खा पहिरोका कारण नुवाकोट जिल्लाको किम्ताङ्ग गाविस सिङ्गै पहिरोको चपेटामा परेको छ । वस्ती पुछारबाट बगिरहेको पहिरो गाँउ परेपछि स्थानीयहरूले आफुहरूलाई सुरक्षित बसोवास प्राप्त हुनुपर्ने माग गर्दै पटक पटक सरकारी जग्गा कब्जा गरेर समेत बसेका थिए ।
    पछिल्लो पटक विदुर नगरपालिकाको चण्डिपोखरी स्थित खम्वाली क्याम्प कब्जा गरेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले अध्यायन गरेर सुरक्षित बासस्थान उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्यदल गठन गरेको थियो ।

तीन हजारलाई छात्रबृत्ति

विदुर÷जिल्ला शिक्षा कार्यालय नुवाकोटले जिल्लाका तीन हजार भन्दा बढी विद्यार्थीलाई चालु शैक्षिक सत्रमा छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
    यसरी छात्रवृत्ति उपलब्ध गराइने विद्यालयहरूमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मात्र छन् । तीन हजार ६ सय ३५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने निर्णय भएको शिक्षा कार्यालयले जनाएको छ ।

Monday, March 12, 2012

आगलागीमा परि एकको मृत्यु

विदुर÷आइतवार राती नुवाकोट जिल्लाको काहुले गाविस वडा नं. ६ दावाचेतमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
    मृत्यु हुनेमा पाँच वर्षिया बालक चिली तामाङ रहेका छन् । घरमा बालेको मैनबत्तीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मैनबत्ती बालेर पढिरहेको र बालक निधाएपछि आगलागी भएको बताइएको छ ।
    साथै चिलीका पिता मङ्गले तामाङ गम्भिर घाइते भएका छन् । उनको उपचार त्रिशुलीमा सम्भव नभएपछि काठमाडौँ पठडाइएको छ । छोरालाई आगोबाट बचाउँन खोज्दा उनी पनि जलेका हुन् । परिवारका अन्य पाँच सदस्यहरु भने सकुशल छन् ।
    आगलागीमा परी घरका सम्पूर्ण सामग्री, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ । २२ लाख रुपैया भन्दा बढीको क्षतिभएको प्रारम्भिक अनुमान छ ।

लम्जुङ्ग एक्सप्रेस

जगदीश खनाल
विदुर÷त्रिशुली–३ ए जलविद्युत् आयोजनाको सवारी साधन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दुरुपयोग गरिरहेका छन् ।
    जिल्ला भित्रिएसंगै प्रजिअ पाण्डेले ३ एको बा १ ञ १८३७ र बा १ ञ १८३८ नम्वरको दुई वटा सवारी साधन श्रीमतीलाई लम्जुङ्गबाट नुवाकोट ल्याउन र लैजान प्रयोग गर्ने गरेका छन् । समाचारश्रोतका अनुसार लम्जुङ्गको एक गैर सरकारी संस्थामा कार्यरत प्रजिअ पत्निलाई कार्यालय विदाको समयमा प्रजिअसम्म ल्याइपु¥याउन र कार्यालय समय भ्याउन आयोजनाकै गाडी प्रयोग हुने गरेको छ । श्रोतका अनुसार सातामा दुई पटकसम्म नुवाकोट देखि लम्जुङ्गसम्मको यात्रा गरेर आयोजनाका चालकहरू हैरान भएका छन् । ‘न गुनासो राख्ने ठाउँ पाएका छन्, न सक्दिन भन्नसक्छन् चालकहरूले’ श्रोतले भने ।
    प्रजिअ पाण्डेले साप्ताहिक रुपमा सवारी साधन दुरुपयोग गरेको विषयमा आयोजना प्रमुख ऋषिकेश शर्माले गुनासो गर्दा उल्टै खप्की खाएको बताइएको छ । ‘केही उपायँ नभएपछि उर्जा मन्त्री पोष्टबहादुर बोगटीसँग गुनासो गर्ने तयारी भइरहेको श्रोतले दावी गरेको छ । ‘श्रीमतीमात्र होइन सासुससुरासम्म आयोजनाको गाडीले घुमाउने टेन्डर पारेझै भयो’ श्रोतले ठट्टा गर्दै भन्यो ।
    विहिवार जिल्ला विकास समितिको सभाहलमा आयोजित महिलाहरूको सम्मान कार्यक्रममा आयोजक तर्फबाटै घरमा सुतिरहेका विदुर–४ का ९३ वर्षिया राममाया गुरुङ्गलाई कार्यक्रम सकिएछि घर पु¥याउनको लागी जव हाहाकार प¥यो, त्यपछि प्रजिअ पाण्डेले दिएको प्रतिक्रियासंगै उक्त सवारी साधन अनियमितताको घटना बाहिर आएको हो । गुरुङ्गलाई घरसम्म पु¥याउनको लागी गाडी खोज्ने क्रममा अगाडी भेटिएको प्रजिअको गाडीलाई आग्रह गर्दा उनले ‘सरकारी गाडी प्रयोग गर्न मिल्दैन’ भनेपछि उपस्थितहरूले मुन्टो बटारेका थिए ।

सदरमुकाममा रेडियो त्रिशुली

सीताराम पौडेल
विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट पहिलो पटक सामुदायिक रेडियो सञ्चालनमा आउने भएको छ ।
    विकास सञ्चार नेपाल नामक गैर सरकारी संस्थाले  ८८.४ मेगाहर्जमा रेडियो त्रिशुली प्रशारणमा ल्याउन लागेको हो । शुक्रवार विदुर स्थित होटल शानदारमा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको थियो । एक सय वाट प्रशारण क्षमताको भएको रेडियो त्रिशुलीको परिक्षण प्रशारण चैत १० गते बाट गर्ने जनाएको छ । रेडियोले समुदायको हितमा बिभिन्न कार्यक्रम र सूचना प्रशारण गर्ने संस्थाका अध्यक्ष कपिलदेब खनालले जानकारी दिएका छन् । विदुर नगरपालिका–४ विदुरमा स्टेशन रहेने उक्त सामुदायिक रेडियोको प्रशारणक्षेत्र नुवाकोटको ८० प्रतिशत भन्दा बढी भु–भाग, रसुवा, धादिङ ,सिन्धुपाञ्लचोकको आधा भु–भाग र मकवानपुरको केहि भाग रहनेछ ।
    नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियो रहेका छन् ।

रेडियोका श्रोतामा लोकप्रिय भोला

विशाल आले मगर
विदुर÷कार्यक्रम सञ्चालक मात्र होइन रेडियोका श्रोतापनि लोकप्रिय बन्दारहेछन् भन्ने फरक उदाहरण पेश गरेका छन् विदुर नगरपालिका–२ नुवाकोटका ३२ वर्षिया भोला थापाले ।
    आफ्नो घरवरपर सुनिने प्रायः रेडियोहरूको धेरै कार्यक्रम नविराईकन सुन्ने थापाले नुवाकोट सहित रसुवा, गोरखा, काठमाडौँ, धादिङलगायतका थुप्रै जिल्लामा आफ्ना ‘फ्यान’हरू बटुलेका छन् ।
    ‘रेडियोमा प्रशारण हुने कार्यक्रमहरू सुनेर फोन गर्ने र सम्झनाका खवरहरू छाढ्दा छाढ्दै चार सय भन्दा बढी साथीहरू बनाइसके’ भोला थापाले भने । लोकलोहोरी र लोक सँस्कृतिसंग सम्वन्धीत कार्यक्रम मनपराउने थापा कार्यक्रमको विषयमा आफुले बनाएको धारणा राख्न रेडियोमा फोन गरिहल्छन् ।
    त्यत्ती मात्रै होइन रेडियोमा प्रशारण हुने कार्यक्रममा सहभागिता जनाउन फोन लगाउन नसकेर दिक्क हुँदा पनि उनि समाधान निकालेर अन्यसाथीहरूलाई सहजिकरण गर्छन् । ‘प्रत्येक रेडियोको फोन लाग्ने समय फरक हुन्छ, त्यो केही सेकेन्डको फरकमा मात्र रहन्छ’ थापाले भने– रेडियोमा फोन नलागेपछि साथीहरू मलाई फोन गरेर सोध्छन्, सिकाउने गरेको छु ।’
    जिल्लाका नुवाकोट एफएम, रेडियो अभियान, रेडियो जालपा र अन्य जिल्लाका रेडियोहरू रेडियो चितवन, रेडियो धादिङ, काभ्रेको रेडियो सेफड तथा गोरखाका रेडियोहरूमा उनी दैनिकजसो फोन गर्न भ्याउँछन् । ‘उपत्याकाको त सवै जसो रेडियोमा कुरा गर्नेगरेको छु’ उनले भने ।
    प्रायः रेडियोमा बोल्न भ्याउने भोला थापा भेट्नकै लागी गोरखा, ललितपुर र काभ्रेका साथीहरूले ककनीमा बनभोज कार्यक्रम राखेको सुखद् स्मृतीले थापालाई आजभोलि फोन गरिरहन हौसला मिलेको छ ।
    रेडियोका काक्रममाहरूमा फोन गर्ने र साथीहरूलाई सम्झना सुनाउने उनका लागी नशा नै बनेको छ । ‘एक दिन मात्रै कुनै रेडियोमा सुनिएन भने साथीहरूको विरामी होकी भन्ने फोनले दिक्क बनाउने गरेको छ उनलाई ।
    ‘त्यसैले रेडियो सुन्ने फुर्सद नहुँदा पनि कार्यक्रमहरूमा भने फोन गर्नेगरेको छु, मलाई कुन कार्यक्रम कुन रेडियोमा कत्ती बजे आउँछ भन्ने याद रहन्छ’ उनले भने । कार्यक्रम नसुन्दा पनि रेडियोका कार्यक्रमहरू अड्कलबाजीमै मिलाउँनु र फोन लगाउनसक्नु नै उनको खुवी रहेको साथीहरूको भनाई रहेको उनी सुनाउँछन् ।
    विदुर नगरपालिकाको कार्यालयमा नौँ वर्ष देखि विद्युत् हेल्परको रुपमा जागिरे जीवन धानिरहेका थापा दुई छोरासंग बस्छन् । श्रीमती बैदेशीक रोजगारीमा रहेका उनी भन्छन्– ‘अविवाहित भएको भए रेडियोबाढट विवाह हुनरहेछ । तै पनि विवाहको लागी मरिहत्ते गर्नेहरू थुप्रै छन् । उनीहरूले सोचेझै किन हुन्थ्यो र ? म इमान्दार मानिस ।’
    कार्यक्रमहरूमा फोन गर्दा गर्दै फोन नम्वर साटासाट गरेर चार सय भन्दा बढी साथी बटुलेका थापा अब रेडियोका श्रोताहरूको सङ्गठन बनाउने सोचमा छन् । ‘हामी रेडियोको कार्यक्रमका विषयमा समेत समिक्षा गरेर एकै साथ कार्यक्रम सुन्ने गरेका छौँ ।’




रेडियोले माया गर्नेहरू पाएँरेडियोमा कस्ता÷कस्ता कार्यक्रम सुन्न मनपराउनुहुन्छ ?
    प्रायः लोक दोहोरी अनि अलि रमाइला खालका कार्यक्रम मनपर्छ ।

धेरै रेडियोमा फोन गरेको सुनिन्छ नि ?
    रेडियो सुन्नु त मेरो पेशा जस्तै भएको छ । बिहान देखि रातीसम्म रेडियो सुनिन्छ फोन गरिन्छ ।

किन रेडियो सुन्नुहुन्छ तपाई ? हिजो आज त टिभि छ, मोबाइल पनि त छ ?
    मलाई मोबाइल टिभिमा रमाउन मनै लाग्दैन । म रेडियोमा मात्र हो खुल्न सक्ने, रेडियोमा धेरै साथी छन् जस्ले गर्दानै  मलाई रेडियो सुन्न मन लाग्छ ।

रेडियोमा लागेर धेरै श्रोता साथी बनाउनु भएको रहेछ नि ?
    होत । मेरो थुप्रै साथीहरू हुनुहुन्छ । रेडियोले गर्दानै मलाई थुप्रै साथीसंग चिनाएको छ ।

रेडियोमा फोन गरेर तपाइले त दिनमा तीन÷चार सय रुपैयाँ सिध्याउनुहुन्छ रे नि हो ?
    काँ हजुर त्यत्तिले मात्र पुग्नु, कहिलेकाही त साथीहरूलाई समेत हालिदिँदा त  एउटा  हात्तिनै सकिन्छ नि ।

रेडियोमा त तपाईको आवाज मिठो सुनिन्छ । कत्तिको केटिहरूको फोन आउछ ?
    अब रेडियोमा फोन गर्न थाले पछि चार सय जना त साथीनै छन् । त्यसमा केटा केटी त साध्य छैन । तर माया गर्नेहरू धेरै छन् ।

बिहे गरौ भनेर फोन गदैनन् ?
    फोन मात्र होत घरमानै आ’को रेकर्डनै छ । मेरो त छोराहरूनै ठिटो भैसके मलाई त्यस्तो कुराले खासै असर गदैन ।

रेडियोलाई यत्तिका माया गर्ने तपाई रेडियो भएन भने के गर्नुहुन्छ?
    ओहो...मलाई  रेडियो बिना त रहन सक्ने बानीनै छैन । बरु म रातभरि नसुति बस्न सक्छु तर रेडियो बिना सम्भावनानै छैन ।


बसपार्क सञ्चालन हुने

विदुर÷एशियाली विकास बैंकको ऋण सहयोगमाएक बर्ष अघि निर्माण सम्पन्न भएको नुवाकोटको बसपार्क सञ्चालनमा आउने भएको छ ।
    बसपार्क चैत्र १ गतेबाट सञ्चालनमा आउनेभएको विदुर नगरपालिकाको कार्यालयले जनाएको छ ।
    १ गते देखि बसपार्क प्रवेश गराएर मात्र आफ्ना सवारी साधानहरू राजधानी, रसुवा र अन्य गन्तव्यतर्फ जाने आउने व्यवस्था मिलाइएको विदुर नगरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुमागाईले जानकारी दिएका छन् ।  व्यवसायीहरू आफ्ना रुटमा सबै सवारीसाधनहरू बसपार्क प्रवेश गराएर मात्र गन्तव्यतर्फ लैजान सहमत भएको पनि उनले जानकारी दिएका छन् । व्यवसायीहरूले चार महिना सम्म बसपार्क प्रयोग गरेको कुनै पनि शुल्क समेत नलिने निर्णय भएको बताइएको छ ।
    शहरी तथा वाताबरणीय सुधार परियोजना अन्र्तगत एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा बसपार्क निर्माण भएको हो । बसपार्क निर्माणमा एक करोड ९० लाख रुपैयाँ खर्च भएको छ ।

गिट्टी बालुवा झिक्न प्रतिबन्ध

विदुर÷जिल्ला विकास समिति नुवाकोटले जिल्लाका सबै नदीबाट बालुवा, गिट्टी झिक्न प्रतिबन्ध लगाएको छ ।
    सर्वोच्चको आदेश विपरित हुने गरी कुनै पनि क्रसर सञ्चालन गर्न र नदीजन्य पदार्थ झिक्न प्रतिवन्ध लगाएको स्थानीय विकास अधिकारी दामोदर भण्डारीले बताउनुभएको छ । वाताबरणीय प्रभाव मुल्याङ्कन (आइइइ) गरेका र रितपूर्वक ठेक्का पाएका बाहेक अन्य क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको उनले बताए । प्रचलित कानुन र तोकिएको मापदण्ड विपरित सञ्चालन गरेमा १० हजार रुपैयाँ देखि एक  लाख २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।
    क्रसर उद्योगले अवैध रुपमा नदीबाट ढुङ्गा, बालुवा, गिटी उत्खनन् गर्दा नदीको वहावलाई असर पु¥याएकोले यस्तो निर्णय गरेको जिविसले जनाएको छ ।

नगर क्षेत्रमा पाकिङ्ग निषेध

विदुर÷दुर्घटना न्यूनिकरणका लागी विदुर नपरपालिका कार्यालयले नगर क्षेत्रका सडकहरूमा पार्किङ गर्न प्रतिवन्ध लगाएको छ ।
    लोड र अनलोड गर्ने समय बाहेक अरु समयमा कुनै किसिमका सवारी साधन पार्किङ गर्न नपाईने भएको विदुर नगरपालिकाको कार्यालयले जनाएको छ ।
    विभिन्न यातायात व्यवसायीहरूसंग छलफल गरी नगर क्षेत्रमा सडकमा अव्यस्थित पार्किङ गर्न  निषेध गरेको कार्यकारी अधिकृत मिठाराम हुमागाँईले बताएका छन् । 

उपेक्षामा ढिकीजाँतो चुली

विदुर÷जिल्ला सदरमुकाम विदुरबाट नजिकै रहेको ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको ढिकीजाँतो चुली अर्थात् फिर्केपकोट उपेक्षा र वेवास्थाका कारण ओझेलमा परेको छ ।
    आन्तरिक तथा बाह्य पर्यटनको गतिलो सम्भावना बोकेको नुवाकोटको खड्गभञ्ज्याङ, चारघरे र कल्याणपुर गाविसको सबैभन्दा अग्लो भेगमा अवस्थित ढिकीजाँतो चुली संरक्षण र प्रचारप्रसारको अभावमा अलपत्र परेको छ । जिल्लाभित्र र बाहिर अन्य भु–भागलाई एकै थलोबाट एकैसाथ अवलोकन गर्न सकिने उक्तकोटको आवश्यक संरक्षण र विकासमा कसैको ध्यान जान नसक्नु त्यहाँ पुग्ने जो कसैलाई पनि चिन्ताको विषय बन्न सक्छ ।
    समुन्द्री सतहदेखि झण्डै तीन हजार पाँचसय मिटरको उचाइमा रहेको चुली हाल गाईवस्तु चराउने र गोठालाहरूको दिनचर्या बिताउने थलोमा मात्र बनेको छ । चारघरे–४ का पद्मकुमारी भट्टका अनुसार केही वर्षअघिसम्म त्यस कोटको डाँडोमा पुराना ढिकी र जाँतो रहेको थियो । ढिकीजाँतो चुलीको नामले समेत चिनिने यो क्षेत्र त्यहाँका केही जागरुक स्थानिय व्यक्तिहरू बाहेक कसैको पनि आँखा खोजी र चासोका साथ फिर्केपकोटमाथि पर्न सकेको छैन ।
    ऐतिहासिक किल्लाहरूबाट जिल्लाको नामाकरण भएको नुवाकोटका नौ कोटमध्ये फिर्केपकोट पनि एक हो । राष्ट्र एकीकरणका पिता पृथ्वीनारायण शाहद्वारा नुवाकोट एकिकरणको सिलसिलामा निर्माण भएको ढिकीजाँतो चुलीको गढीलाई त्यहाँको भौगोलिक सुन्दरता, उर्वर भूमी र ऐतिहाँसिक महत्वले सिङ्गो जिल्लाको शोभा बढाएको छ । संरक्षण अभावकै कारण दुई सय ५० वर्ष पुरानो किल्लाको भग्नावशेष मात्र भेट्न सकिन्छ । नुवाकोट राज्य एकिकरणमा हालको साततले दरबार क्षेत्रलाई प्रत्यक्ष अध्ययन गरी सजिलैसँग आक्रमण गर्न नौ कोट मध्येको प्रमुख युद्ध आधार किल्ला यसैलाई बनाइएको स्थानिय बुढापाका र बुद्धिजिवीहरूको ठम्याई छ ।
    ५० मिटर चौडाई र २ सय मिटर लम्बाईको क्षेत्रफलमा फैलिएको फिर्केपकोटको टापुको वरिपरि लगाईएको पर्खाल कहीँकहीँ भत्किएको अवस्थामा भेट्न सकिन्छ भने किल्लाको पश्चिमपट्टीबाट किल्ला प्रवेश गर्ने मुलद्वार अझैँ रहेकोले त्यहाँ दरबार समेत रहेको हुनसक्ने स्थानिय जानकारहरूको अनुमान छ ।
    नुवाकोट एकिकरण अघिनै त्यस स्थानमा देवगाडे नामका राजाको वासस्थान रहेको र त्यहीँ दरबार बनाई राज्य गरेका उनले हालको बट्टार बजार र सदरमुकाम विदुरमा चरिरहेका मृग र गाइलाई ढिकीजाातो चुलीबाट बाँड हानेर मारी त्यसै ठाउँमा पु¥याएर मासु खाने गरेको किम्बदन्ती अहिलेपनि ताजै रहेको चारघरेका बद्रीप्रसाद भट्ट बताउँछन् ।
    त्यहाँबाट नुवाकोटसहित आसपासका चार जिल्ला र नुवाकोटकै चालिसभन्दा बढी गाविसहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । रसुवा, धादिङ र राजधानी काठमाण्डौसहित सिन्धुपाल्चोक र मकवानपुरका केही भु–भागहरू पनि देख्न सकिने फिर्केपकोटलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सकेमा सिङ्गो जिल्लाको गरिमा बढाउन मद्दत पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव विरेन्द्रराज केसीको भनाई छ । दृश्यावलोकन बाहेक जैविक विविधता र भौगोलिक बनावटको अध्ययनदेखि जडिबुटी खेती र पशुपालनको समेत प्रचुर सम्भावना रहेको यस भेगलाई उपयोग गरिए जिल्लाको आर्थिक विकासमा ठूलै फड्को मार्न सकिने केसीको धारणा रहेको छ ।
    हाल त्यस भेगमा चिराइँतो, पाखनवेद, सिलटिमुर, बोकेटिमुरजस्ता जडिबुटीहरू पाइन्छन् । जसका गर्दा जडिबुटीको व्यावसायिक खेतीको व्यापक सम्भावना छ । हिमश्रृङ्खलाहरूको अवलोकनदेखि त्यस चुलीको चारैतिर डेढ किलोमिटर भन्दा अग्लो चट्टानले बनेको भु–भाग रहेकोले रक क्ल्याइमिङ र बन्जिजम्पको समेत सम्भावना बोकेका कारण पर्यटनका लागी महत्वपूर्ण मात्र छैन यसबाट स्थानिय रोजगारको वातावरण सृजना गर्ने अर्को सम्भावना छ ।
    प्राकृतिक सुन्दरता र भौगोलिक बनावटले सजिएका थोरै स्थानहरूमध्येमा पर्ने यस कोटको विकासमा जिल्ला विकास समिति, पर्यटन विकासको क्षेत्रमा क्रियाशिल संघसंस्था र निकायदेखि स्वयं सम्बन्धित गाविसहरूले समेत वेवास्ता गर्दा यसको अस्थित्व सङ्कटमा पर्ने भएपछि स्थानियवासीहरू चिन्तित बनेका छन् । हालै जिविस नुवाकोटले जिल्लाको पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेकाले फिर्केपकोटको ढिकीजाँतो चुलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल
थालिएको शिक्षक रामप्रसाद भट्टले जानकारी दिनुभएको छ । जसका लागी स्थानियले आफ्नै लगानी र जनश्रमदानमा कोटको डेढ किलोमिटर तलसम्म चारघरे गाविसको भट्टगाउँदेखि करिब तीन किलोमिटर मोटरबाटो निर्माण गरिसकेका छन् ।

शिक्षकको हड्तालले पठनपाठन ठप्प

विदुर÷आइतवारबाट अनिश्चितकाली शैक्षिक हड्तालमा उत्रीएका शिक्षक सङ्गठनका जिल्लाको सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
    हड्तालमा उत्रिएका शिक्षकहरूले आइतवार जिल्ला शिक्षा कार्यालय नुवाकोटमा धर्ना समेत दिएका थिए । शिक्षक र सरकारी पक्षबीच भने वार्ता भइरहेको छ । वार्ताबाट कुनै निष्कर्ष निस्किएका छैन । वार्तामा शिक्षकहरूले आफ्ना माग पुरा गर्नुपर्ने र सहमतिपत्रमा वार्तामा सहभागी सबैले हस्ताक्षर गर्नुपर्ने अडान राखिरहेका छन् भने सरकार मागका सम्बन्धमा लचक हुने बताइरहेको छ । अस्थायी शिक्षकलाई स्थायी गर्ने लगायतका विगतमा भएका सहमति कार्यान्वयन नगरेको शिक्षकहरूको आरोप छ । वार्ता चलिरहेका बेला शिक्षकहरूले अनिश्चितकालीन आम हड्तालको घोषणा गर्नु आपत्तीजनक भएको सरकारको भनाई छ । पटक पटक भएका बार्ता असफल भएपछि आइतवारदेखि शिक्षक संगठनहरूले अनिश्चितकालीन हड्ताल सुरु गरेका छन् । हडतालका कारण देशभरका बिद्यालयहरूको पठनपाठन ठप्प रहको छ ।
    सरकार र शिक्षकहरूबीच सहमति हुन नसक्दा नजिकिदै गरेको प्रवेशिका परीक्षा समेत प्रभावित हुने भएको छ । शिक्षामन्त्रीले शिक्षकहरूसंगको बार्तालाई बेवास्ता गरेकाले प्रवेशिका परिक्षा अन्यौलमा परेको बताइएको छ ।

वन फाड्नेसंग एक लाख धरौटी

विदुर÷सरकारी वन फडानी गरेको आरोपमा पक्राउ परेका थानापती गाविसका दुई जनालाई जिल्ला अदालत नुवाकोटले जनही एक लाख रुपैयाँ घरौटीमा छोड्न आदेश दिएको छ ।
    माघ १३, २०६८ मा पक्राउ परेका थानापती–५ का विकास अधिकारी र थानसिङ–१ का महेश पाठक गएको साता छुटेका हुन् ।
    उनीहरूलाई अघेरीखोला सरकारी वन फाडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उनीहरूले सार्वजनिक अपराध अन्र्तगत जनही १५ हजार रुपैयाँ घरौटी राखेको बुझिएको छ । उनीहरूले चिलाउनेको पाँच सय थान, सालको दुई सय ४७ थान र कटुसको तीन सय थान रुख काटेको जिल्ला अदालत नुवाकोटले ले प्रमाणित गरेको बताइएको छ ।

द्धन्द्धपिडितका अधिकारका कुरा

चारघरे÷ नेपाल वार एशोसियशन जिल्ला अदालत नुवाकोट इकाईको आयोजनामा चारघरे गाउँ विकास समितिको महेन्द्र उच्च माध्यामिक विद्यालयमा द्धन्द्धपिडित महिलाहरूको अधिकार र कानूनी उपचार सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ ।
    चारघरे स्थानीय शान्ति समितिका संयोजक राजेन्द्र पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वारका अध्यक्ष एवं स्थानीय शान्ति समिति नुवाकोट सदस्य गणेशप्रसाद खनालले कानूनी पाटोहरूका विषयमा जानकारी गराएका थिए ।
    कार्यक्रममा स्थानीय शान्ति समिति संयोजक नविन पुडासैनी सदस्यहरू विन्दा अर्याल, विन्दा ढुङ्गाना लायताकाहरूले मन्तब्य राखेका थिए ।

युवा सङ्घमा पुनः न्यौपाने

विदुर÷युवा सङ्घ नुवाकोटको छैटौँ जिल्ला सम्मेलनले रमेश न्यौपानेको अध्यक्षतामा पुनः कार्यसमिति चयन गरेको छ । शुक्रवार विदुरमा सम्पन्न सम्मेलनबाट न्यौपानेको अध्यक्षतामा ४१ सदस्यिय कार्य समिति बनेको छ । 
    कार्य समितिका उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा पशुपती थापा, सह–सचिवमा बिरबल तामाङ र कोषाध्यक्षमा दिपक कार्की छन् । सङ्गठन विभाग प्रमुखमा इन्द्र पाण्डे छन् । नयाँ कार्यक्रमितिमा इलाकाबाट १३ जना, महिलाबाट पाँच जना, खुल्लाबाट १० जना, आदिवासीबाट पाँच जना र दलितबाट पाँच जना चुनिएको बताइएको छ ।

पासाङल्हामु राजमार्गको यात्रा जोखिमपुर्ण बन्दै

प्रकाश सुयल मगर
विदुर÷राजधानी काठमाडौँसँग नुवाकोट र रसुवा जिल्लालाई जोड्ने पासाङल्हामु राजमार्ग मर्मत हुननसक्दा यात्रुहरूको यात्रा जोखिमपूर्ण बनेको छ ।
    काठमाडौँ देखि नुवाकोट सम्मको ६८ किलोमिटर र नुवाकोटबाट रसुवा जिल्ला सदरमुकाम धुञ्चेसम्मको ४८ किलोमिटर सडक खण्ड खाल्डाखुल्डी र पहिरोका कारण धराप बनेको हो । नुवाकोट जिल्ला सम्म रहेको कालोपत्रे सडक मर्मत नहुँदा र रसुवा जिल्ला अन्तर्गतका सडक पहिरोका शिकार भएका कारण यात्रुहरूले चरम सास्ती उठाईरहेका छन् ।
    २०२० सालमा त्रिशुली जलविद्युत केन्द्रको निर्माण प्रयोजनको लागि खनिएको पासाङल्हामु राजमार्ग साँगुरो समेत रहेको छ । तत्कालिन अवस्थामा त्रिशुली जलविद्युत केन्द्रका सामाग्रीहरू ढुवानीको लागि निर्माण भएको यस सडकमा आजभोलि भाडाका सवारी साधनहरू सञ्चालन भईरहेका छन् । दैनिक दुई सय भन्दा बढी सवारी साधनहरू आवतजावत गर्ने यस सडकमा अत्याधिक खाल्डाखुल्डी अत्याधिक परेका छन् । घुम्ती अत्याधिक रहेको र सडक गुणस्तरहीन भएकै कारण राजमार्गअन्तर्गत काठमाडौँदेखि त्रिशुलीसम्मको जम्मा ६८ किलोमिटर दुरी पार गर्नको लागि सवारी साधनलाई चार घण्टाको हारहारीमा समयलाई लाग्ने गरेको यात्रुहरूको भनाई रहेको छ ।
    यस सडकखण्डअन्तर्गत नुवाकोट र रसुवाको सिमाना वेत्रावतीसम्म बाटो कालोपत्र गरिएता पनि ठेकेदार र कर्मचारीको मिलेमतोमा कम स्तरको काम भएकाले एक वर्ष नपुग्दै सडक भत्किने गरेको स्थानीयबासीहरूको भनाई रहेको छ । ‘थुप्रै ठाउँमा सडक भत्किएको कारण किसानले आफ्नो खेतीबारीमा उत्पादन गरिएका तरकारी एवं नगदेबालीहरू समेत समयमा बजार पु¥याउन नसक्ने भएकाले ठूलो नोक्सानी बेहोर्न‘परेको छ’ मदानपुरका सीताराम पौडेलले भने ।
    पासाङल्हामु राजमार्गबाट नुवाकोटको ऐतिहासिक नुवाकोट दरवार, भैरवी मन्दिर, जालपादेवी मन्दिर, दुप्चेश्वर, देवीघाट, बेत्रावती, वेलकोटगढी लगायतका चर्चित स्थााहरूमा पुग्न सकिन्छ । रसुवा जिल्लाको पवित्र ऐतिहासिक स्थलहरू गोसाँइकुण्ड, पावर्तिकुण्ड, पर्यटकीय स्थल लाङटाङ हिमाल, क्यान्जिङ्ग उपत्यका, रसुवागढी, तातोपानी लगायतका स्थलहरू साथै ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थलहरू यस राजमार्गबाट पुग्न सकिन्छ ।
    त्यसै गरी यस राजमार्गमा सञ्चालन हुने भाडाका सवारी साधनहरूको संख्या कमी रहेको कारण यात्रुहरूलाई सकस पर्ने गरेको छ । यस मार्गमा सञ्चालन हुने तीनबटा बस सेवा व्यवसायीहरूले सिन्डिकेट प्रक्रियाबाट बस सञ्चालन गर्ने गरेका कारणले पनि यात्रुहरूले सास्ती खेप्नु परेको हो । ‘दुईवटा समितिको एकलौटी रहेको छ, हामीलाई महँगो भाडा तिर्नु पर्ने बाध्य समेत छ’ राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटका अध्यक्ष कमानसिंह लामाले भन्नुभयो । सीमित सवारीसाधन सञ्चालमा रहेको कारण यहाँका यात्रुहरू छतमा यात्रा गर्न बाध्य छन् । जसले गर्दा हुने सवारी साधन दुर्घटनामा थुप्रै सर्वसाधारणहरूले ज्यान गुमाई सकेका छन् । यस राजमार्गमा हुने सवारी साधन दुर्घटनामा वार्षिक ४० भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

प्राविधिक कर्मचारीहरु आन्दोलनमा

विदुर÷जिल्ला विकास समिति नुवाकोट अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिउका छन् ।
    चालु आर्थिक वर्षको सुरुदेखि नै स्थलगत भ्रमण भत्ता नपाएकोमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
    कन्टन्जेन्सी रकम पारदर्शि हुनुपर्ने कार्यालय व्यवस्थापन लगायतका नौँ सुत्रिय माग राखेर कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

पाँच महिला सम्मानित

विदुर÷१०२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विहिवार नुवाकोटका विशिष्ठ पाँच जना महिलाको सम्मान गरिएको छ ।
    सम्मानित हुनेहरूमा नुवाकोटका पहिलो पाइलट गेर्खु गाविसका रिता प्याकुरेल, करातेका साफ खेलाडी थप्रेकका अनु अधिकारी, मानव वेचविखन विरुद्धको अभियन्ता रालुकादेवीमा अस्मिता थापा, भद्रुटारका विन्दा सुनार र ९३ वर्षिया वुद्धा राममाया गुरुङ छन् । उनीहरूलाई सभासद् जगदीश्वरनरसिंह केसीले सम्मानपत्र प्रदान गरेका थिए ।     कार्यक्रमको आयोजना महिला तथा वालवालिका कार्यालय नुवाकोट, अन्तरपार्टि महिला सञ्जाल, नारी चेतना समाज, शक्ति समुह, सोलिड नेपाललगायतका ११ वटा सङ्घसंस्था र कार्यालयहरूले सयुक्त रुपमा आयोजना गरेको थियो ।
    कार्यक्रममा सभासद् केसी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, प्रहरी नायव उपरिक्षक दिपक खरेललगायतको सहभागिता रहेको थियो ।

पहिरोको अध्यायन सुरु

विदुर÷नुवाकोटको किम्ताङ गाविसका १९ वर्षदेखि बगिरहेको पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमाा पुर्नवास गराउन सरकारी तवरबाट अध्यायन थालिको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा छ सदस्यीय टोली पहिरो निरिक्षणका लागि किम्ताङ पुगेको छ ।
    जिल्ला प्रशासन कार्यालयमा पहिरोपीडितहरूको मागको सम्वन्धमा गत माघको तेस्रो साता सर्वदलीय बैठकले पहिरोको स्थलगत अध्ययन र प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवाला कार्यालय सदस्य रहेको किम्ताङ पहिरो अध्ययन समिति गठन गरेको थियो । समितिले एक महिनाभित्र प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाउने जनाएको छ ।
    पौडेलको नेतृत्वमा मालपोत अधिकृत पृथबहादुर केसी, सहायक वन अधिकृत सरोजकुमार पाण्डे, प्राविधिक कार्यालयका इन्जिनियर ललितबहादुर न्यौपाने तथा भूसंरक्षण कार्यालय र नापी कार्यालयबाट कर्मचारीहरू पुगेर पहिरोको स्थलगत अध्ययन सुरु गरेका छन् ।

फर्निचर व्यवसायी आन्दोलनमा

विदुर÷नुवाकोट जिल्लाका फर्निचर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । प्रहरी र बन कार्यालयले आफ्नो काममा हस्तक्षेप गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
    नुवाकोट फर्निचर व्यवसायी सङ्घ र वन पैदावर सङ्घले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । फर्निचर व्यवसायी सङ्का सचिव मुक्तबहादुर बोगटीका अनुसार प्रहरीले फर्निचरको अनुगमन गरेर सालका काठहरूमा सिलबन्दी गरेको छ । भ्याटविल हुँदा पनि आफुहरूलाई प्रहरी र प्रशासनले दुःख दिएको बोगटीको भनाई रहेको छ ।
    व्यवसायीहरले काम गर्ने अवस्था नरहेको भन्दै उनीहरूले आइतवार जिल्ला प्शासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
    आफुहरूले चेत्र १० गतेसम्मको अल्टिमेटम दिएको र त्उस मितिसम्म माग प्रति कुनै सुनुवाई नभएमा आन्दोलनमा उत्रने उनीहरूको भनाई रहेको छ ।
    सचिव बोगटीका अनुसार फर्निचर व्यवसायीहर चैत्र १० गतेबाट आफ्नो कलकारखाना बन्द गरेर आम हड्तालमा उत्रने कार्यक्रम तय भएको छ ।
    प्रशासनबाट काम गर्नको लागी खुकुलो वातावरणको सृजना नभएसम्म जिल्लाका फर्निचर उद्योगहरू बन्द गरिने उनको भनाई रहेको छ ।
    नुवाकोट जिल्लामा तीन सय भन्दा बढी फर्निचर उद्योगहरू छन् । त्यस मध्ये एक सय पचास उद्योगहरू सङ्घमा आवद्ध छन् ।

सचेतनद्धारा दुईको सम्मान

विदुर÷१०२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समाज सचेतन केन्द्र नुवाकोटले महिलाहरुको अधिकारका वारेमा  विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
    विहिवार सचेतन हलमा सम्पन्न भएको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा नुवाकोटमा भएगरेका कार्यहरूको समिक्षा गरिएको थियो ।
    उक्त कार्यक्रममा संस्थाले दुई जनाको सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नुवाकोट होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष उप्रेती र शिक्षक मनोज मिश्र रहेका छन् ।
    उनीहरूलाई संस्थामा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष यमकुमार खातीले जनाएका छन् । 

दुर्घटनामा १२ घाइते

विदुर÷गोस्र्याङ गाविस–९ मा शनिवार साँझ भएको मिनिट्रक दुर्घटनामा परी १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ । 
    त्रिशुलीबाट दाङसिङ जाँदै गरेको बा २ ख ९८१० नम्वरको मिनिट्रक भमरामा सडकमै पल्टिएको थियो । घाईते मध्ये दाङसिङ–५ का १७ वर्षिया सन्तमाया तामाङ गम्भिर रहेको र उनलाई उपचारको लागी काठमाडौँ लगिएको छ । गोस्र्याङ–८ का १८ वर्षिया शिव तामाङ र चक्रदेवी प्राथमिक विद्यालयका शिक्षक सुकम्वरप्रसाद यादव, दाङसिङ–७ का बाटी नेपाली, सोही गाउँका गितावल्लभ घिमिरे, गोस्र्याङ–८ का शर्मिला तामाङ, राजन तामाङ, वडा नं. ६ का देवी तामाङ, वडा नं. २ का जयबहादुर तामाङ, सर्लाही बलराका राजिव मिश्र घाइते भएका छन् ।
    उनीहरूको बट्टार स्थित पञ्चकन्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लेखापढी ब्यवसायीलाई पनि प्यान

विदुर÷सरकारले सबै लेखापढी व्यवसायिको लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय सहित सम्बन्धित कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।
उक्त निर्णय फागुन भित्र कार्यान्वयन गराइसक्न भन्दै सर्कुलर गरेको नुवाकोट मालपोत कार्यालयका प्रमुख पृथबहादुर केशीले बताउनुभएको छ । महिनामा १२ हजार रुपैयाँ कमाउनेले आय कर तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । 
यसलाई लेखापढी कानून ब्यवसायि एसोसियसनले सकारात्म रुपमा लिएको छ । एसोसियसनका नुवाकोट अध्यक्ष
धनेन्द्रजङ्ग पाण्डेका अनुसार प्यानमा दर्ता गर्ने क्रम शुरु भइसकेको छ । एसोसियसनमा हाल ६६ सदस्य छन् ।

Sunday, February 19, 2012

बिना अपराध कारागार

ढुङ्गे÷शिखरवेशी गाविसका मेन्दोमाया तामाङ (तस्बिरमा दाँया) ले पाँचौ सन्तानको रुपमा मङ्सिर २०, २०६८ मा जिल्ला कारागार नुवाकोटमा छोरी जन्माए । आफ्नै जेठी छोरीलाई भारतको यौन बजारमा विक्री गरेको आरोपमा पुर्पक्षका लागी थुनामा रहेको तामाङ जेठमा पक्राउ परेका थिए । पक्राउ पर्दा उनीसंगै रहेको तीन वर्षिया छोरी सानुमाया तामाङ पनि अहिले कारागारमै छन् । मेन्दोमाया आफु एक्लैले गरेको अपराध अब तीन जनाले बरावरी भोगिरहेका छन् ।
    त्यसै गरी, जेठानीदिदीको हत्या गरेर कारागार आइपुगेका सुर्यमती गाविस चौखुँडाका सरस्वती राई (तस्बिरमा बाँया)पनि आफ्नो चार वर्षिया छोरा दिलबहादुरसंग कारागारमा सजाय काट्दै छन् ।
    यी दुई जनाले गरेको अपराधका कारण कसैले बामे सर्न नसिक्दै र कसैले जन्मिएकै पल ‘बन्दी जीवन’को सुरुवात गरेका छन् । हाम्रो समाजमा परम्परागत रुपमा भाग लगाइएको सन्तान हुर्काउने जिम्मा आमाको हुने गलत अभ्यास र सोचका कारण तीन नावालकहरू थुनिएका छन् ।
    मेन्दोमाया तामाङले छोरी जन्माएको खबर घरपरिवारमा पुगेको छ । सुत्केरी भएको केही दिनमै उनलाई जेठाजु भेट्न आएपनि उनको श्रीमान् आजसम्म आएका छ्रैनन् । प्रहरीले श्रीमान्लाई पनि पक्रन्छ भन्ने त्रासकै कारण आफुलाई भेट्न नआएको मेन्दोमायाको भनाई छ । प्रहरीसंग उनका श्रीमान् सञ्जा तामाङलाई पक्रनु पर्ने कुनै कारण नभएपनि श्रीमती समातिए पछि आफु पनि थुनिने होकी भन्ने त्रास छ । ‘छोरी लिन आउनका लागी कत्ति खबर पठाए आएनन्, मेन्दोमायाले भने– अब त अर्को पनि थपिएको छ, यो बस्न पनि अप्ठारो पर्ने सागँुरोपनमा कसरी हुर्काउने हो दुई छोरी ?’ उनले श्रीमान्लाई नयाँ सन्तानको मुख हेर्न आउनका लागी धेरै खबर पठाई सके । तर श्रीमान् कारागार आएका छैनन् ।
    सुरुको समयमा कारागारको बन्द ढोका र पर्खाल हेरेर अत्तालिदै रुने छोरी(तस्बिरको बीचमा) आजभोली दिन र रात सुतेर समय कटाउने गरेको उनको भनाई छ । आफ्नो छोरीलाई विद्यालय पठाउने विषयमा उनले केही सोचेका छैनन् । ‘कहाँ पढाउने, लाने र ल्याउने कस्ले गर्ला ?’ मेन्दोमायाले भने ।
    यसै गरी, घर परिवारमा भरिपूर्ण सदस्य भएका अर्का निर्दोष बालक दिलबहादुर राई पनि आमासंगै कारागारमा कोचिएका छन् । ‘छोरालाई मैले नराखे दुध कस्ले खुवाउँछ ?’ सरस्वती राईले भने । दुध खुवाउने नाममा राई परिवारले विद्यालय भर्ना गर्ने समयमा दिलबहादुरलाई
आमासंगै कारागार पठाएका छन् ।
    यसरी अभिभावकसंग आश्रित बालकहरू कारागारमा रहँदा व्यवस्थापन पक्षलाई समेत चिन्ता परेको छ । तर अभिभावकहरूले बालबच्चा कारागारबाट बाहिर लैजानको लागी नदेखाएको रुचीका कारण थप झण्झट बेहोर्नु परेको अवस्था हाल छ ।
    क्षमता भन्दा बढी कैदी बन्दी रहेको जिल्ला कारागारमा अभियुक्तहरूसंगै भित्र्ने बालबच्चा र कारागार भित्र जन्मिने बच्चले झन् ठाउँ अभावको समस्या तेर्सिएको छ ।
    पुरुष तर्फ ५० र महिला तर्फ १५ जनाको क्षमता रहेको यो कारागारमा अहिले पुरुष तर्फ एक सय तीन जना र महिला तर्फ २५ गरी एक सय २८ जना कैदी बन्दीहरू रहेको जेलर खगेन्द्र घिमिरेले जानकारी दिए ।

सामुहिक च्याउ खेती

देविघाट÷घर खर्च चलाउन श्रीमान्को भर पर्ने नुवाकोटको खड्गभञ्याङ्ग गाविसका महिलाले समुह गठन गरेर ब्यवसायीक च्याउ खेती थालेका छन् ।
    खड्गभञ्याङ्ग गाविस वडा नं. ५ फिर्केपका महिलाहरू खेर गएको सार्वजनिक जमिनलाई प्रयोगमा ल्याइृ सामुहिक रुपमा च्याउको खेती थालेका छन् ।
    ४३ जना महिलाहरू आबद्ध रहेको  त्रिवेणी महिला समुहका २८ सदस्यले सामुहिक रुपमा खेती थालेका हुन् ।  च्याउ खेतीका संयोजक लक्ष्मी मुनाकर्मीका अनुसार ३० हजार भन्दा बढीको लागतमा च्याउ उत्पादनको लागी अध्यारो कटेरो निर्माण भएको छ । जहाँ दुई सय ६५ वटा प्लाष्टिकको पोकामा च्याउ खेती थालिएको छ । त्यसका लागी महिलाहरूले पाँच वर्ष देखि महिला समुहमा जम्मा गर्दै आएको रकमलाई ऋण सापटीका रुपमा चलाइएको छ । अबको दुई साताबाट उत्पादन सुरु हुने छ । यो सामुहिक च्याउ खेतीबाट कम्तिमा तीन टन च्याउ उत्पादन हुने अनुमान गरिएको छ ।
    महिलाहरूको उत्साहको कदर गर्दै जिल्ला कृषि विकास कार्यालय नुवाकोटले च्याउको बिउ, डोरी, प्लाष्टिक लगायत आकश्यक सामग्री खरिदका लागी आर्थिक सहयोग समेत गरेको छ ।
    आफुहरूले व्यवसायीक रुपमा च्याउको खेती थालेता पनि बजार अभावको समस्या भोग्नुपर्ने त्रास महिलाहरूमा छ ।
    उनीहरूको सम्पूर्ण उत्पादन खपतमा समस्या हुने तथा अन्य स्थानमा निर्यातको लागी माध्याम र व्यापारी नभएको महिलाहरू बताउँछन् ।

स्वरोजगार उन्मुख युवाहरू

ढुङ्गे÷बेरोजगारीका नाममा दैनिक रुपमा खाडी मुलुक भाँसिने नेपाली युवा जमातलाई गतिलो सन्देश दिएका छन्– नुवाकोट जिल्ला कल्याणपुर गाविसका पाँच जना युवाहरूले ।
    कामलाई सानो ठूलो भनेर विभान गर्दा नै विरोजगारीको समस्या सृजना भएको ठहर गर्दै कल्याणपुर गाविस–१ हर्कपुरका पाँच युवाहरूले आफ्नै व्यवसाय सुरु मात्रै गरेका छैनन् । यो उमेर यस्तो काम गर्ने भनेर चौतर्फी तारिफ र माया पनि बटुलिरहेका छन् । ‘आदर्श खुवा’ नाम दिएर उनीहरूले थालेको स्वरोजगारको बाटोले समाजमा पहिचानको बेग्लै माध्याम पनि सृजना गरेको छ ।
    हर्कपुरका रामचन्द्र ओझा र कविन्द्र ओझा, बाबुराम रिजाल, रमेश प्याकुरेल र रामेश्वर भण्डारीले संयुक्त रुपमा त्रिशुली बजारमा खुँवा उत्पादन थालेका छन् । त्यत्ती मात्रै होइन आफुले उत्पादन गरेको खुँवालाई उनीहरूले घरघरमै पु¥याउने गरेका छन् । कक्षा १२ देखि विएसम्म उत्र्तिण गरेका यी युवाहरूको मेहेतेत र लगानका कारण उनीहरूको उत्पादनले आजभोलि नुवाकोटमा सहज रुपमा बजार लिइरहेको छ । ‘ओहो, तास खेल्ने र बराल्लिएर हिड्ने उमेरका युवाहरू यसरी मध्ये घाममा खुँवा बेच्न हिड्छन्, त्यो पनि आफैले उत्पादन गरेर भन्ने सुखद् प्रतिक्रिया पाएका छौँ’ कविन्द्र ओझाले भने ।
    २४ वर्षिया ओझा रोजगारीको लागि एक अघिदेखि अरब जाने तयारीमा थिए । पछिल्लो पाली उनको विदेश जाने योजना मिलेको पनि थियो । तर उनी विदेश नगएर आफ्नो गाउँमा रहेका साथीहरूलाई जम्मा गरेर यो ब्यवसायमा होमिए । आजभोलि उनी ‘आदर्श खुवा’ लेखिएको डेक्चीमा खुवा बोक्छन् त्रिशुली देखि बट्टारबजारको यात्रा दैनिक रुपमा तय गरिरहेका छन् । ‘अरबमा गएर कमाउने २५÷३० हजार यहीँ आराम संग कमाइरहेको छु’ ओझाले भने ।
    ओझाको समुहमा रहेकाहरूले आफ्नै घरमा भैंसी पालेर दुधको जोहो गर्दै आएका छन् । ‘घाँस, पानी र भकारो हामी आफै गछौँ, अनि उत्पादन बजारमा लाने पनि हामी नै हो’ रामचन्द्र ओझाले भने । ‘विहान पाँच बजे उठेर दूध दुन्छौँ, त्रिशुली पुगेर खुवा घोट्छौ र खुवा र गुदपाक तयार भएपछि बजार निस्कन्छौँ’ ओझाले भने । आफैले उत्पादन गरेको दुधले मात्र नधाने पछि उनीहरूले किसानसंग पनि भैसीको दुध खरिद गर्ने गरेका छन् ।
    दुघ किनेर घोटेपछि बन्ने खुवाको आधारमा किसानहरूलाई उनीहरूले मुल्य दिने गरेका छन् । उनीहरूले एक किलो खुवा तयार हुन आवश्यक भैसीको दुधको रु. २७५ मुल्य तोकेका छन् । ‘हामीले दूधको मूल्य पनि बढि दिएका छौं, रामचन्द्र भन्छन्– शुद्ध दूध प्रतिलिटर ६० रुपैयाँ देखि ७० रुपैयाँमा खरिद गरिरहेका छौँ ।’

बाइस करोड बेरुजु

विदुर÷जिल्ला शिक्षा कार्यालय नुवाकोटको बेरुजु रकम २१ करोड ६९ लाख ४० हजार रुपैयाँ छ ।
    कार्यालयका अनुसार आव ०६३÷६४ मा ६८ लाख ५० हजार, ०६४÷६५ मा चार करोड ४० लाख, ०६५÷६६ मा चार करोड ३९ लाख ६५ हजार, ०६६÷६७ मा पाँच करोड १४ लाख २५ हजार र ०६७÷६८ मा सात करोड सात लाख रुपैयाँ बेरुजु फस्र्यौट हुन सकेको छैन । पछिल्लो पाँच वर्षमा कार्यक्रम स्वीकृत भएका तीन सय ८२ मध्ये पाँच वटा विद्यालयले मात्र पेश्की फस्र्यौट गरेको कार्यालयले जनाएको छ ।
    फस्र्यौट गर्नेमा महादेव खर्क प्रावि, सुन्दरादेवी इङ्लीस स्कुल, बालकन्या प्रवि र सुन्दरी केउरीनी उमावि छन् । लगातार पाँच वर्षसम्म बेरुजु फस्र्यौट नगर्ने विद्यालयहरूमा कल्याणीदेवी उमावि जिलिङ, पिपलडाँडा मावि तारुका र विन्दुकेशर उमावि सामरी छन् । चार वर्षको बेरुजु फस्र्यौट नगर्ने विद्यालयको संख्या १२ छ । जसमा महेन्द्र उमावि चतुराले, कालिका मावि चाउथ, भवानी उमावि ककनी, त्रिभुवन मावि मनकामना, विनायक मावि बागेश्वरी, मालिका मावि दुइपिपल, सीता
निमावि बर्सुञ्चेत, सानु किम्ताङ मावि किम्ताङ, विरेन्द्र उमावि कुमरी, सुन्दरादेवी उमावि सुन्दरादेवी, उदय जालपा मावि थप्रेक र लक्ष्मेश्वरी उमावि कुमरी छन् । तीन सय ७७ विद्यालयले आर्थिक वर्ष २०६३÷६४ देखि हालसम्मको बेरुजु फस्र्यौट नगरेको कार्यालयले बताएको छ । शिक्षा नियमावलीमा प्रत्येक आर्थिक वर्षको अन्त्यमा विनियोजित बजेटको फरफारक गर्नुपर्ने ब्यवस्था भएपनि शिक्षा कार्यालय बेवास्था र सम्वन्धी विद्यालयहरूको हेपाहापनका कारण त्यसको कार्यान्वयन हुन नसकेको जानकारको बुझाई छ । कार्यालयले यस अघि मनलाग्दी रुपमा कार्यक्रम बाँडेको र प्रगती विवरण अध्यावधिक नगरेकोले यो अवस्था आएको शिक्षा अधिकारी प्रमनाथ पौडेलको भनाई छ ।

तीन वर्षमा १७ झोलुङ्गे पुल

विदुर÷एकिकृत झोलुङ्गेपुल विकास कार्यक्रम अन्तर्गत नुवाकोट जिल्लामा तीन वर्षको अवधिमा १७ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । त्यसका लागी तीन करोड ४९ लाख रुपैयाँ खर्च भएको छ ।
    पाँच वर्षको अवधिमा नुवाकोटमा ४० वटा झोलुङ्गे पुल निर्माण हुने प्रक्रियामा रहेको छ । जिल्ला प्राविधिक कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिने ४० पुल मध्ये १२ वटा भने निर्माणाधिन छन् । पाँच वर्षे कार्यक्रम आर्थिक वर्ष २०६५÷६६ देखि सुरु भएको हो । । प्राविधिक कार्यालयका सहायक प्रमुख ललितबहादुर न्यौपानेका अनुसार जिल्ला विकास समितिले सात वर्ष अघि जिल्लामा झोलुङ्गे पुलको आवश्यकता सम्बन्धि समग्र अध्ययन गरी एक प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा जिल्लाभर ९७ वटा पुल आवश्यक रहेको उल्लेख छ ।
    यस कार्यक्रम अन्र्तगत एक सय २० मिटर भन्दा कम दुरीको झोलुङ्गे पुल मात्र निर्माण हुँदै आएको । जिल्लामा सानाठूला गरी ८२ वटा झोलुङ्गे पुल प्रयोगमा छन् ।

विकास बजेटबाट ऋण तिर्नुपर्ने

विदुर÷विदुर नगरपालिका कार्यालयले सहरी विकास तथा वातावरणीय सुधार परियोजना अन्तर्गत एसियाली विकास बैंकबाट लिएको ऋणको किस्ता तिर्नलाई विकास बजेट कटैती गर्नुपर्ने अवस्था आएको छ ।
    नगरपालिकाको आन्तरिक आयमा वृद्धि नहुँदा चालु आर्थिक वर्षको पहिलो किस्ता तिर्नका लागी समस्या भएको हो । बजेट अभावकै कारण चालु आवमा पहिलो किस्ता भुक्तानी गर्न नसकिएको लेखा अधिकृत केशवबहादुर श्रेष्ठले जानकारी गराए ।
    यस्तै अवस्था रहेमा नगर विकासका लागी लगाइने विकास बजेट कटैती गरेर ऋणको किस्ता तिर्नुपर्ने श्रेष्ठको भनाई रहेको छ ।    गएको आर्थिक वर्षमा विदुर नगरपालिका कार्यालयको आन्तरिक आय ४२ लाख रुपैयाँ मात्रै थियो । लेखा अधिकृत श्रेष्ठका अनुसार कार्यालयका कर्मचारीहरूका लागी तलब भत्तामा एक करोड रुपियाँ भन्दा बढी खर्च हुँदै आएको छ । 
    एडिबीसंग बसपार्क निर्माणका लागी एक करोड ५० लाख रुपैयाँ, सार्वजनिक शौचालय निर्माणका लागि १९ लाख ५२ हजार रुपैयाँ र अन्य प्रयोजनका लागि एक करोड नौँ लाख रुपैयाँ ऋण लिएको छ ।
    उक्त ऋणको छ प्रतिशत ब्याजदर सहित १० वर्षमा किस्तामा चुक्ता गरिसक्नु पर्ने सम्झौता छ ।

सममुदायिक संवाद कार्यक्रम सम्पन्न

विदुर÷नुवाकोट जिल्लाको कृषि उत्पादन, व्यवस्थापन तथा सिञ्चाईको सम्भावना र चुनौतीहरूको सम्बोधनका लागी आज विदुरमा सामुदायिक संवाद कार्यक्रम गएको सोमवार सम्पन्न भएको छ । कार्यक्रममा सभासद् एवं सरकारी कार्यालयका प्रमुखसंग किसान तथा नागरिकहरूले छलफल गरेका थिए ।
    कार्यक्रममा सभासद् जगदीश्वरनरसिंह केसीले कृषि उत्पादन, व्यवस्थान र सिञ्चाईका लागी सरकारी पक्षबाट गरिने लागेको पहलकदमी एवं त्यसलाई राजनीतिक दल र गैह्र सरकारी संस्थाहरूले पु¥याइरहेको सघाउनको विषयमा जानकारी गराए । कार्यक्रम युएसआईडी, एनडिआई, प्रापब्लिक र सेर्फडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका जिल्ला प्रमख एवं प्रतिनिधि, गैह्र सरकारी संस्थाका प्रतिनिध, किसना, सरकारी कर्यालयका प्रमुख एवं प्रतिनिधि, सहकारी संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा सभासद् एवं नेपाली काँग्रेस नुवाकोटका सभापति केसी, एकीकृत नेकपा माओवादी नुवाकोटका जिल्ला सदस्य नविन पुडासैनी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष विन्दा ढुङ्गाना, राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका जिल्ला सदस्य रामकृष्ण भट्ट, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्र, जिल्ला कृषि सहकारी संघका अध्यक्ष उद्धव नेपाल, जिल्ला कृषि विकास कार्यालय नुवाकोटका निमित्त प्रमुख हर्षहाङ्ग राई, कृषि विज्ञ एवं जिल्ला विकास समिति नुवाकोटका पुर्व सभापति मुकुन्दराज सिटौला, कृषि विज्ञ धननारायण चित्रकार, एनडिआईका आवसिय निर्देशक मार्क वालेम, एनडिआईका कार्यक्रम अधिकृत कृपासुर निरौला, प्रो पब्लिकका निर्देशक प्रकाशमणि शर्मा, प्रो पब्लिकका जेनी मैनालीलगायतकको सहभागिता रहेको थियो ।    
    कार्यक्रममा सहभागि किसान तथा नागरिकहरूले सरकारी पक्षबाट नुवाकोट जिल्लामा स्थानपाना हुा लागेको शितभण्डार निर्माणका लागी आफ्नो क्षेत्रबाट सहयोग र समर्थन रहने धारणा राखेका छन् । त्यसै गरी, सहभागिहरूले कृषि क्षेत्रमा महिलालाई समेटेर गरिने कार्यक्रम भएमा अझ बढी प्रभावकारी रहने सुझाव दिएका छन् । खुल्ला सत्रमा सहभागिहरूका तर्फबाट आएका जिज्ञासालाई कार्यक्रममा प्रमुख अतिथि सभासद् केसीले जवाफ दिए ।
    कार्यक्रममा सभागि अतिथि एवं सहभागिहरूलाई सम्बोध गर्दै एनडिआईका आवसिय निर्देशक मार्क वालेमले कृषि र सिञ्चाई व्यवस्थापनको लागी नुवाकोट जिल्लाका महिला तथा पुरुष किसानहरूले देखाएको उत्साह र चासोको प्रशंसा गरे । प्रो पब्लिकका निर्देशक प्रकाशमणि
शर्माले जनप्रतिनिघि र नागरिकहरूका बीचमा आफुहरूले समन्वय गरेर जिल्लाको कृषि क्षेत्रको विकासको लागी सहयोग गरेको उल्लेख गर्दै नुवाकोट जिल्लाले कृषि क्षेत्रबाट बनाउन सक्ने अद्धितिथ परिचयकोका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशेष गरी नुवाकोट जिल्लामा सरकारी पक्षबाट निर्माण गर्नको लागी प्रस्ताव भएको शितभण्डारको बारेमा छलफल र समिक्षा भएको सेफर्डका अध्यक्ष बशन्त बस्नेतले बताउनुभएको छ ।
    खुल्ला सत्रमा बोल्दै सहभागि मध्येका किसान बशन्त रिजालले कृषकहरूलाई लक्षित गरेर ल्याइने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सोही प्रकृतिको ज्ञान र सिप प्रदान गर्ने तालिम आबश्यक रहेको बताउनुभयो । त्यसै गरी, खड्गभञ्याङ्ग गाविसको च्याउ उत्पादक महिला समुहका संयोजक लक्ष्मि मुनाकार्मीले जिल्लामा शित भण्डारण अभावकै कारण उत्पादन बिग्रने डरले सस्तो मुल्यमा आफ्ना उत्पादनहरूलाई बजारमा निर्यात गरिरहनु परेको अवस्थाको बारेमा प्रष्ट्याउनुभएको थियो ।
    पुष्प व्यवसायी सोमप्रसाद पाण्डेले किसानहरूको प्रत्येक घर मलको कारखाना रहेकोले त्यसलाई व्यवस्थित गरेर रसायनिक मललाई विस्थापित गर्दै कृषिजन्य उत्पादन ल्याउन सके थोरै उत्पादनले पनि गतिलो आम्दानी हातपार्न सकिने सुझाउ पेश गर्नुभएको थियो ।
    जिल्ला विकास समिति नुवाकोटको सभाहलमा चारघण्टा सम्म सञ्चालन भएको कार्यक्रममा जिल्लाका खड्गभञ्याङ्ग, चारघरे, सुन्दारदेवी, नर्जामण्डप, दुईपिपल, खानिगाउँ, तुप्चे, जिलिङ्ग, मदानपुर, गेर्खु, बागेश्वरी, कविलास, थानसिंगलगायतका १६ गाविस र विदुर नगरपालिकाका किसना, सहरकरी संस्थाका प्रतिनिधि गरी एक सय २० जनाको सहभागिता रहेको थियो ।

Monday, February 06, 2012

एकता फाउण्डेशनद्धारा सम्मान

कोलनी÷२८४८ औँ सोनाम ल्होेछारको अवसरमा एकता फाउण्डेसन तथा मेन्दोमाया प्रोडक्सन प्रालिले शनिवार यस साप्ताहिकका प्रकाशक कपिलदेव खनाल सहित चार पत्रकार, विभिन्न सञ्चार संस्था र कलाकारहरूको सम्मान गरेको छ ।
    समाचारका माध्यामबाट समुदायमा योगदान गरे वापत खनाल, त्रिशुली समाचार दैनिकका सम्पादक राजुमित्र खनाल, त्रिशुली प्रबाह साप्ताहिकका प्रमुख संवाददाता नवदिप अजनवी र इमेज च्यानलका समाचार वाचक सन्तोषी अधिकारीलाई सम्मान गरेको हो । त्यसै गरी सम्मानित हुने सञ्चार संस्थाहरूमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन,प्रेस चौतारी, क्रान्तिकारी  पत्रकार संघ, आदिवासी जनजाती पत्रकार संघ, इमेज साप्ताहिक, रेडियो अभियान, सिटिजन एफएम लगायतका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य बहादुरसिं लामाले सम्मान पत्र प्रदान गरेका थिए । रुपा विष्ट, सागरएस वाईवा, सृजनाएस वाईवा, कमल खत्री, शाहस शाक्य, जीवन महर्जन, दामोदर खतिवडा सम्मानित भएका छन् । ‘समाजमा योगदान पु¥याएका र सुसुप्त रहेकाहरूको पहिचान गरि समुदायमा प्रस्तुत गर्ने हाम्रो अभियान हो’ फाउण्डेसनका अध्यक्ष बिशाल आलेमगरले भने ।
    सम्मान कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष किरणप्रसाद अधिकारी, इमेज साप्ताहिकका प्रमुख समाचारदाता जगदीश खनाल, रेडियो अभियानका समाचार प्रमुख प्रदिप खड्का, सिटिजन एफएमका जिल्ला प्रतिनिधि श्यामसुन्दर पुडासैनीलगायतले सम्मान पत्र लिएका थिए ।
    साथै मिस्टर नुवाकोट सुमन थापा र मिस नुवाकोट कामना श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

Sunday, February 05, 2012

बाहुन बाजाको अर्को समुह


कपिलदेव खनाल
नुवाकोट 
तारुकाको बाहुन बाजा बजाउनको लागी पालो नपाएर दिक्क भएकाहरूलाई खुसीको खवर ! नुवाकोट जिल्लामा अर्को बाहुन समुदाय पनि हातमा नरसिंगा ठढ्याउँदै पञ्चेबजा बजाउन थालेका छन् । 
छैन जातपातको पर्खाल भनेर पछिल्लोपाली नमूना कार्यको उहाहरण पेश गरेका छन्– गोस्र्याङ्ग गाविसका बाहुनहरूले । विवाह, व्रतवन्ध जस्ता शुभकार्यहरूमा पञ्चेबाजा बजाउनेहरू पाउन छाडेपछि नुवाकोट जिल्लाको गोस्र्याङ्ग गाविसका बाहुन क्षेत्री समुदाय आफै पञ्चे बाजा बजाउन लागिपरेका हुन् । आफ्नै अभाव टार्नको लागी नरसिंहा, सहनाई र दमाई बजाउने उक्त समुदायले अरुलाई समेत सघाउँदै शुभ कार्यमा बाहुन बाजाका रुपमा प्रस्तुत हुने भएका छन् ।  
पुस्तौ देखि पञ्चे बाजा बजाउने दमाई समुदायले बाजा बजाउन छाडेपछि उक्त बाहुन क्षेत्रीहरू आफै कम्मर कसेर लागेका हुन् । गाउँघरमा हुने शुभकार्यको लागी बाजा बजाउने समुुहको खोजि नै झण्झटिलो बनेपछि गोस्र्याङ्ग गाविस वडा नं. ४ कल्लेरीडाँडाका बाहुनहरू पञ्चेबाजाका सामाग्री खरिद गरेर सँस्कृती र परम्परा थाम्न लागेका छन् । उनीहरूले आफ्नो पञ्चेबाजा समुहको नाम ‘नवज्योती नौमती पञ्चेबाजा समुह’ राखेका छन् । समुहका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार त्यस समुहमा पञ्चे बाजा बजाउनका लागी लागिपरेको सम्पूर्ण सदस्यहरू ब्राम्हण समुदायका छन् । ‘आफ्नो परम्परा थाम्न पनि मन गर्ने, अनि जातभातको कुरा गर्दा विरोधाभास हुँदोरहेछ, हामी आफै गर्नसक्छौँ भनेर लाग्यौ’ घिमिरेले सुनाए । गाविस भरी नै बाज बजाउने दमाईहरू पाउन छाडेको र विवाहका लागी जिल्ला बाहिर या टाढाबाट ठूलै बजेट खर्चेर बाजाको जोहो गर्नुपर्ने भएपछि जातको पर्खाल भत्काएर आफुहरू होमिएका समितिका सचिव रामकुमार अधिकारी बताउँछन् । पञ्चेबाजा समितिमा अध्यक्ष शिवप्रसाद घिमिरे, सचिव अधिकारी तथा सदस्यहरू सिताराम अधिकारी, 
राममणि घिमिरे, शिवमणि घिमिरे, रविन्द्र घिमिरे, रामबाबु अधिकारी, गजेन्द्रमणि अधिकारी, रमेश घिमिरे, केशव घिमिरे, माधवप्रसाद अधिकारीलगायतका छन् । 
सामान्यतया दलितहरूको कामको रुपमा ब्याख्या गरिदै आएको बाजा बजाउने काम बाहुनले सम्हाल्दा जानेबुझेकाहरू र छिमेकी गाउँहरूमा चर्चाको विषय बन्न थालेको छ । ठट्टा गरेर या अरुले मननपराएर ‘दमाई बाजेहरू’ भनिने उनीहरूले समुह नै खडा गरेका हुन् । नवज्योती नौमती पञ्चेबाजा समुह नाममा गाविसका २६ जना बाहुनहरू आवद्ध छन् । यस वर्षबाट सुरु भएको बाहुन बाजालाई गोस्र्याङ्ग गाउँ विकास समितिको कार्यालयले उदाहरणिय भन्दै ३६ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । सुरुका दिनमा गाउँमा मासिक ५० रुपैयाँ सङ्कलन गरेर बाजाको सामग्री खरिदको मेसो मिलाएका यिनीहरूले गाविसको उक्त सहयोगबाट बाजाको सामाग्रीहरू थपेको सदस्य रविन्द्र घिमिरेले जानकारी गराए । 
भर्खरै सुरु भएको बाहुनहरूको पञ्चे बाजा बजाउने यो अभियानले विस्तारै व्यवसायीक रुप लिन थालेको छ । जातभातको वास्ता नगरी समुदायका प्रतिनिधि पात्रहरूले सुरु गरेको यो प्रशंसायोग्य कार्यलाई सहयोग गर्दै स्थानीय स्तरमा हुने शुभकार्यमा यिनीहरूलाई नै सहभागी गराउन थालिएको छ । आफ्नो कार्य दक्षताका लागी यिनीहरू पनि बाजा बजाउन सिक्न र दक्ष बन्नका लागी जानकारहरूकोमा धाउने गरेका छन् । 
आठ वर्ष अघि नुवाकोट र धादिङ्ग जिल्लाका केही उत्साही ब्राम्हण क्षेत्री युवाहरूले सुरु गरेको पञ्चेबाजा समुहको सामाजिक परिवर्तन र आर्थिक आम्दानी राम्रो गरिरहेको उदाहरणले नै गोस्र्याङ्गका ती बाहुन जातीहरू दलितले गर्ने काम भनेर छाडिएको पेशामा आकर्षित भएका हुन् । बाहुन बाजाको रुपमा ख्याती कमाइसकेको पुरानो समुह नुवाकोट, धादिङ्ग, रसुवाका साथै काठमाडौँ, चितवनमा लोकप्रिय रहेका छन् । आफुजस्तै उपल्लो जातीले पञ्चे बाजा बजाएरै कमाएको नाम र दामका कारण उनीहरू धादिङ्ग र नुवाकोटको युवाहरूको संयुक्त बाहुन बाजा समुहमा पुगेर आजभोली बाजा बजाउन सिकिरहेका छन् ।
असल कामको सुरुवातसंगै उनीहरूलाई समाजको परम्परागत सोचले समस्या सृजना गरेको छ । बाजा बजाउन थालेपछि गाउँमा ‘अछुतहरू आयो’ भन्दै खिल्लि उडाएको पिडा उनीहरूसंग छ ।

Saturday, February 04, 2012

सरकारी जग्गा कब्जा गरि बसेका पहिरो पिडितलाई प्रहरीले हटायो

कपिलदेव खनाल
नुवाकोट माघ २१ गते । विदुर नगरपालिका–६ महारानी डिही स्थित चण्डीपोखरीमा रहेको खम्पाली क्याम्पको सरकारी जग्गा कब्जा गरेर बसोवास थालेका तीन सय भन्दा बढीलाई प्रहरीले आज दिउँसो हटाएको छ ।
जग्गा कब्जा गरेर बसेका पहिरो पिडितहरु प्रहरीले हटाउनु अघि ।
तस्बिर ः कपिलदेव खनाल
    नुवाकोटको किम्ताङ गाउँ विकास समितिका पहिरो पिडितहरुले शुक्रवाररातीबाट उक्त जग्गामा बसोवास थालेका थिए । सरकारी सम्पत्ती गैह्र कानुनी रुपमा कब्जा गरेकोमा तत्काल हटाउन जिल्ला प्रशासन कार्यालयले निदैृशन दिएपछि प्रहरीले उनीहरुलाई हटाएको हो । नुवाकोट जिल्लाका किम्ताङ गाविसमा १९ वर्ष देखि लागेको पहिरोको कारण बसोवास असुरक्षित भउका तीन सय भन्दा बढी परिवार सरकारी जग्गा कब्जा गरि बसेका थिए ।
    निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलका अनुसार यसरी सरकारी जग्गा अतिक्रमण गरिनु कानून विपरित रहेको र उनीहरुको समस्या प्रति प्रशासन गम्भिर रहेको भन्दै छलफलको लागी आग्रह गरिएको छ ।
    आफुहरुलाई सरकारले पहिरोबाट मुक्ती दिन सुरक्षित स्थानमा सार्ने घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले सरकारी जग्गामा कब्जा गरेका थिए । उक्त जग्गा गाउँलेहरुले आफ्नो कब्जामा रहेको बताएपछि किम्ताङ गाविस नै खाली हुनेगरी बसोवासको लागी आउने क्रम सुरु भएको थियो । किम्ताङ गाविसका पुर्व अध्यक्ष सञ्जयबहादुर तामाङका अनुसार सरकारलाई दवाव दिनको लागी सरकारी जग्गा कब्जा गरिएको हो । सरकारले आफुहरुलाई उपर्युक्त स्थानमा बसोवासको लागी अनुमती नदिएसम्म सरकारी जमिन कब्जा गर्ने उहाँको भनाई रहेको छ ।
    गाउँलेहरुले बसोवास गर्न थालेका उक्त जग्गा काठमाडौँको सुन्दरीजल स्थित केन्द्रिय कारागार सार्नका लागी प्रस्ताव गरिएको स्थान हो । त्यसका लागी एक टोलीले गएको दुई साता अघि अध्यायन भ्रमण समेत गरेर फर्किसकेको छ ।
    नुवाकोट जिल्लाको दुर्गम मानिएको गाविस किम्ताङ्गका वासिन्दाहरू १९ वर्ष देखि गाउँमा गइरहेको पहिरोका कारण त्रसित छन् । २०४९ सालबाट गाउँको वस्ती पुछारमा जान थालेको पहिरो २०५७ सालबाट वस्तीमा पुगेपछि उक्त गाउँका सर्वसाधारणहरू त्रासमा छन् ।‘हामी कहाँ सुख्खायाममा पनि पहिरो जाने गरेको छ, पहिरो बस्ती पसेको छ’ तामाङले भन्नुभयो ।
जग्गा कब्जा गरेर बसेका पहिरो पिडितहरु प्रहरीले हटाउनु अघि ।
तस्बिर ः कपिलदेव खनाल
    पहिरो पिडितहरूलाई उपयुक्त स्थानमा बसोवास गराउन र पहिरो रोकथाम गर्न तत्कालिन समयमा जिल्ला भु–संरक्षण कार्यालय नुवाकोटका अधिकृतको संयोजकत्वमा बनेको कार्यदलले तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन तह नै नदेखेर दराजमा थन्किएको पिडितहरुको  भनाई रहेको छ ।
सरकारी निकायले आवश्यक कदम नचाले पछि २०५८ सालमा उक्त गाविसका पुर्व अध्यक्ष सञ्जयबहादुर तामाङको नेतृत्वमा पहिरो पिडितहरू लाई बसोवासको ग्यारेष्टी गरेर पुर्नस्थापनाको लागि पिडितहरूबाट रकम समेत उठाइएको थियो । त्यसबेला जनही पाँच हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म गाउँलेहरूसंग संकलन गरेको वजेट तामाङले मासेको गाउँलेको भनाई । ‘सुरक्षित स्थानमा बस्ने भनेर २० हजार रुपैयाँ बुझाएँ, अहिलेसम्म पहिरोमाथीको बास भएको छ हाम्रो त’ एक पिडितले दुःख पोख्दै भने । पहिरो पिडितहरूलाई उक्त रकमले मकवानपुर जिल्लामा पुर्नस्थापना गर्ने भनिएता पनि सफल हुन नसकेको भन्दै पुर्व अध्यक्ष तामाङकै नेतृत्वमा २०५९ सालमा रौतहट जिल्ला कर्मैया गाविसको बागमती किनारमा जग्गा समेतको छनोट गरि जंगल फडानी भएको थियो । पुर्नवासको लागि स्थान समेत छनोट हुँदा पनि पिडितहरू वसाइँ सर्न नपाउनुमा तामाङ दोषि रहेको गाउँलेहरूको भनाई छ ।
    आर्थिक वर्ष २०६५÷६६ मा प्रधानमन्त्री वाढीपिडीत राहत कोषबाट प्राप्त भएको तीन लाख रुपैयाँले उक्त गाउँको पहिरो रोक्न भनि भु–संरक्षण कार्यालयले बाँस रोपेको थियो । तर उक्त बाँसले पहिरो रोक्ने छाँट नदेखिएको स्थानिय रामबहादुर तामाङ बताउँनुहुन्छ ।
नुवाकोटको किम्ताङमा गाविसनै बगाउने गरि गएको सुख्खा पहिरो ।
 तस्बिर ः कपिलदेव
 
    गाउँलेले कब्जा गरेको उक्त जग्गा सरकारले ३९ बर्ष अघि खम्पा बिद्रोहीहरूको पुर्न बासको लागि अधिकरण गरेको थियो ।     २०२९ सालमा तिब्वतलाई चीनबाट स्वतन्त्र गराउने उद्देश्यले मुस्ताङ जिल्लामा बिद्रोह सुरु गरेका खम्पा जातीका मानिसहरूलाई तत्कालिन नेपाल सरकारले नुवाकोटको जिल्लाको बिदुर नगरपालिका–६ महारानी डिही स्थित चण्डीपोखरीमा बसाएको थियो । त्यस क्षेत्रको आँठ सय ३४ रोपनी जग्गा अधिकरण गरि पुर्न बासको व्यवस्था सरकारले मिलाएको थियो । उनीहरूले अंगिकृत नागरिकता प्राप्त गरेपछि बसोवासको लागि काठमाडौँ भासिसकेका छन् । त्यस पछि उक्त जमिन प्रयोग विहिन बन्दै आएको छ ।




Tuesday, January 31, 2012

विद्यालयलाई जग्गा र भवन

नुवाकोट, १७ माघ । नुवाकोट जिल्लाको नर्जामण्डप गाउँ विकास समिति वडा नं. ५ मोरिया स्थित दुधेदेवी प्राथमिक विद्यालयलाई जग्गा र सहित एक समाजसेवीले तीन कोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।
    वडा नं. ५ बाट पुर्व जनप्रतिनिधि समेत भएका स्थानीय समाजसेवी हर्कमान श्रेष्ठले विद्यालयको लागी जग्गा र तीन लाख रुपैयाँको लागतमा भवन निर्माण गरी हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।
    विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठले विद्यालयको भौतिक सुधारको लागी गरेको उक्त कार्यले विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा सहयोग पुगेको बताइएको छ ।

Monday, January 30, 2012

नेपालमा निरङ्कुशता र लोकतन्त्रको लडाई जारी ः नेता पौडेल

नुवाकोट, १६ माघ । नेपाली काँग्रेसका उप सभापति एवं संसदिय दलका नेता रामचन्द्र पौडेलले नेपालमा अझै पनि निरङ्कुशता र लोकतन्त्रबीच लडाई जारी रहेको बताएका छन् ।
राजा महेन्द्रदेखि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसम्मको कित्ता एउटै भएको र त्यसका बिरुद्ध काँग्रेस लडिरहेको उनले बताए । आज सोमवार नेपाली काँग्रेस नुवाकोटको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उप सभापति पौडेलले माओवादीले जर्वजस्ती कब्जा गरेको सम्पत्तीलाई सरकारको तर्फबाट बैधानिकता दिने र सूचनाको हकलाई कुण्ठित पारेर अधिनायकवाद लाध्न खोज्ने पुर्व आभाष भएको बताए ।
माओवादीले सत्ता कब्जा गरेपछि प्रेस स्वतन्त्रता र नागरिककको मौलिक अधिकार कुण्ठित पार्ने लक्षण देखाइसकेको उनको भनाई रहेको छ । सूचनाको हक कुण्ठित गर्ने सरकारी निर्णयका विरोधमा नेपाली काँग्रेसले सदनमा कडा प्रतिरोघ गर्ने चेतावनी समेत उनले दिए । उक्त सूचनाको हक विरोधी निर्णयबाट वर्तमान सरकार र प्रधानमन्त्री बाबुराम भट्टराईकोको चरित्र उदाङ्गो भएको पौडेलले बताए । राष्ट्रबादको आर्दश कुरा गरेर राष्ट्रको सामाजिक एकतामा खलल पुग्ने गरी माओवादी र उक्त पार्टीका नेताहरुले प्रस्तुत गर्ने अभिव्यक्तिहरु विरोधाभाषपूर्ण भएको उनको भनाई छ ।
 

कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बर्तमान सरकारले सूचनाको हकमा बन्देज लगाएर सबै भन्दा ठूलो लोकतन्त्र विरोधी कार्य गरेको बताए । जनसत्ताका नाममा कब्जा गरिएका सम्पत्तीलाई बैधानिकता दिने, सूचनाको हक कुण्ठित पार्नेजस्ता क्रियाकलाप शान्ति र संविधानको विरुद्ध भएको बताउँदै उनले माओवादी नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताए । केसीले राष्ट्रिय सहमतीको वातावरण सृजना गरेर काँग्रेसले अब नयाँ मोर्चा तयार गर्ने बताए । माओवादी सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाउँदै केसीले काँग्रेसले त्यसलाई निस्तेज पार्न लाग्ने बताए ।
 




नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य डा. रामशरण महतले नेपालले छ भन्दा बढी प्रान्त थेग्न नसक्ने बताए । राज्य पुर्नसंरचनाको विषयलाई बहुमतको आधारमा टुङ्गो लगाउने चर्चा चलिरहेको उल्लेख गर्दै सहमतीको आधारमा नभई बहुमतका आधारमा राज्य पुर्नसंरचना गरिए काँग्रेसले त्यसलाई सिधै अस्विकार गर्ने बताए । शान्ति र संविधानको मुख्य बाधक एकीकृत माओवादी मात्रै रहेको उनको आरोप छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, मिन विश्वकर्मा, सभासद् लक्ष्मी परियार, सभासद् तथा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, महासमिति सदस्यहरु ध्रुव अधिकारी, बहादुरसिंह लामा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटालगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मिस नुवाकोट कामना श्रेष्ठ, मिस्टर नुवाकोट सुमन थापा, नेपाली काँग्रेस गाउँखर्क, बेलकोट गाउँ इकाईलाई कार्य सम्पादनमा राम्रो भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका काँग्रेस कार्यकर्ताहरुलाई केन्द्रिय नेताहरुले प्रशिक्षण समेत दिनुभएको थियो ।  

चार कक्षा पछि चार कक्षा

तीन वर्ष देखि कक्षा चारमा पढिरहेका राममाया र सुनिता
तस्बिर : कपिलदेव
कपिलदेव खनाल
विदुर\तस्बिरमा देखिएका घ्याङ्फेदी गाविसका यी राममाया तामाङ(बायाँ) र सुनिता मोक्तान(दायाँ)ले कक्षा चार दुई पटक उत्र्तिण गरिसके । सामान्यतया कक्षा चार पछि यिनीहरूले कक्षा पाँच पढ्न पाउनुपर्ने हो, तर तेश्रो पटक पनि कक्षा चारमा नै भर्ना भएका छन् । घ्याङ्फेदी गाविसमा यिनीहरू मात्रै होइन कक्षा चारमै विद्यार्थी जीवन विताउनेहरू १३ जना छन् ।
    गाउँमा उपलब्ध हुननसकेको विद्यलायका कारण वर्षेनी कक्षा उत्र्तिण भएर एउटै कक्षामा पढ्नु पर्ने उनीहरूलाई बाध्यता बनेको छ । विद्यालय नगए मेलापात जानुपर्ने र आफन्त तथा महिला विक्रीका दलालहरूले फकाएर बिक्री गर्ने त्रासकै कारण आफुहरू कक्षा दोहो¥याएर भएपनि पढ्ने गरेको राममाया तामाङ र सुनिता तामाङको भनाई छ । कक्षा चारमा कति वर्ष पढ्ने त ? ‘ठूलो नभएसम्म’ उनीहरूको उत्तर छ । तर तीन वर्षसम्म एउटै कक्षामा पढिरहेको उनीहरूलाई अभिभावकले अब विद्यलाय छुटाउने मनस्थिती बनाएका छन् । ‘सधै एउटै क्लासमा पढ््नु भन्दा घरको काम गर्नु नै राम्रो’ काले तामाङले भने ।
    गाविस भरिमै कक्षा चार भन्दा बढी नपाई नहुने भएकोले समस्या आएको हो । ३० वर्ष अघि स्थापना भएको घ्याङ्फेदी प्राथमिक विद्यालयमा कक्षा चारसम्म पढाई हुनेगरेको छ । जिल्ला शिक्षा कार्यालय नुवाकोटले कक्षा तीनसम्म स्विकृत दिएको उक्त विद्यलायमा शिक्षक र अभिभावकहरूको बलबाटै कक्षा चारसम्म पठनपाठन हुँदै आएको छ । गाउँमा त्यो भन्दा बढी पढ्नका लागी विद्यालयहरूमा कक्षाको व्यवस्था नभएको र स्थानीय अभिभावकहरूले बाहिर राखेर आफ्ना छोराछोरीलाई पढाउन नसक्ने अवस्थाका कारण पढ्न चाहनेहरू वर्षैसम्म कक्षा चार दोहो¥याउने गरेका छन् ।
    ‘यहाँका अभिभावकले छिमेकी गाउँमा या सहरमा राखेर आफ्ना बाबुनानीलाई पठाउन सक्ने आर्थिक अवस्था छैन, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर मोक्तान भन्छन्– पढाई छुटाउनुभन्दा त पढाइरहनु नै राम्रो भनेर एउटै कक्षामा भएपनि भर्ना गर्ने गरेका छन् ।’
    गाविसमा उच्च कक्षा (चार) सम्म सञ्चालन गर्दै आएको उक्त विद्यालय पनि समस्यामा छ । कुनै समय कक्षा पाँचसम्म पढाई हुने विद्यालयमा क्रमश कक्षाहरू घट्दै जाँदा तीनसम्म आइपुगेको छ । शिक्षा कार्यालयले गर्ने अव्यवहारिक निर्णय र अभिभावकका कम चासोका कारण विद्यालयको कक्षा क्रमश घट्दै आएको बताइन्छ । सोही विद्यलायलबाट २०४२ सालमा कक्षा पाँचसम्म उत्र्तिण गर्नेहरू पनि गाउँमा छन् ।
    त्यसो त २३ वर्ष देखि अस्थायी शिक्षकका रुपमा काम गर्दै आएका मणिराम भण्डारी प्रधानाध्यापक छन् । निजी श्रोतबाट दुई जना शिक्षक र अस्थायी एक जना शिक्षक रहेको उक्त विद्यालय आफ्नै उठिवासको खतरामा उभिएको छ । विद्यालय नभएको कारण विद्यालय छाड्ने विद्यार्थीहरू घ्याङ्फेदी गाविसमा ९५ प्रतिशत बालबालिका छन् । गाउँमा भएकै विद्यालयमा पनि विद्यार्थीहरू पठनपाठनका लागि नआउने गरेको शिक्षकहरूको भनाई रहेको छ । घ्याङ्फेदी प्राविका प्रधानाध्यापक मणिराम भण्डारी अभिभावकमा चेतना नभएको कारण यस्तो समस्या सृजना भएको बताउछन् ।
    यता, जिल्ला शिक्षा कार्यालय नुवाकोट यो विषयमा बेखबर रहेको छ । विद्यालय निरिक्षक देविराम आचार्य गाउँमा विद्यार्थी नआउने समस्या र अभिभावकमा पढाउनु पर्छ भन्ने चेतना अभावका कारण शिक्षा कार्यालयले प्रावि तहसम्मको विद्यालय स्थापना नगरेको बताउँछन् ।
    नुवाकोट जिल्लामा चार वर्षको अवधिमा शिक्षाको विकासका लागि सरकारले एक अर्व ७० करोड ४२ लाख ४० हजार रुपैयाँ खर्च गरिसकेको शिक्षाको रेकर्डले देखाउँछ । तर कक्षा पाँचसम्म पनि नढ्न नपाउने घ्याङ्फेदीका बालकालिकाहरू विद्यालय समसयमा घाँस दाउरा गर्न बनजङ्गल जाने गरेको भेटिन्छन् ।
    अशिक्षाको प्रभाव घ्याङ्फेदी गाविसमा प्रत्यक्ष रुपमा मानव बेचविखनसँग गाँसिएको छ । अभिभावकहरूले भोग्दै आएको गरिवी र बालिकाहरूमा नभएको शिक्षाले गर्दा गाविसका प्रायः बालिकाहरू भारतका यौन बजारमा पुग्ने गरेका छन्, त्यो पनि अभिभावकहरू कै सम्लग्नतामा ।
    उत्र्तिण भएर पनि कक्षा बढ्न नपाएका केही विद्यार्थीहरूले त विद्यालय जान समेत छाडेका छन् । विद्यालय परिसरमा घाँसको डोको बोकेर उभिएका अनिता तामाङलाई उनका अभिभावकले घाँस काट्नको लागी बारीमा लैजादै थिए । ‘सबै कक्षा पास भइसक्यो, अब स्कुल किन पठाउने र ?’ अनिताको बाबु काले तामाङले भने । नियमित विद्यालय पुगेर जत्तिनै पढेपनि चार भन्दा माथी पढ्न नपाइने भएकोले सुर्फदमा पढ्दै गर्दा हुने उनको बुझाई छ । 
    कक्षा चार देखि माथी पढ्न रहर गर्ने घ्याङ्फेदी गाविसका विद्यार्थीहरू छिमेकी गाविस शिखरवेशी, समुन्द्रटार या सदरमुकाम पस्नुको विकल्प नै छैन । ‘बाहिर लगेर हामीले कसरी पढाई खर्च जुटाउन सक्छौ र ? नेगीखोलाका कमानसिंह तामाङले भने– गाउँमा भएको विद्यालयमा छोराछोरीलाई पठाएकै हो नी ।’ 
    घ्याङ्फदी गाविसमा हाल सात वटा विद्यालय छन् । कक्षा दुई देखि चारसम्म पढाई हुने ति विद्यालयहरू मध्ये कतिपयको रेडर्क समेत छैन शिक्षा कार्यालयमा । अभिभावकले गाविस तथा अन्य श्रोतबाट जुटाएको रकमबाट विद्यालयका भवन त ठडिएका छन् । त्यसका लागी शिक्षक तथा अन्य शौक्षिक सामाग्री नभएकै कारण विद्यालयको रुप ग्रहण गर्न सकेको छैन ।
    यता, जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयले माध्यामिक विद्यालय नभएका विद्यालयहरूमा कमसेकम एउटै भएपछि मावि सञ्चालन गर्ने हल्ला तीन वर्ष देखि गरिरहेको छ ।
शिक्षक नजाने विद्यालय
नेगीखोलामा रहेको विद्यालय जो सधै बन्दहुन्छ ।
तस्बिर : जगदीश खनाल
जिल्लाको विकट गाउँ घ्याङ्फेदीमा रहेको  इन्द्रायणी प्राथमिक विद्यालय महिनौँ देखि शिक्षक पर्खिरहेको छ । दुई जना शिक्षक दरवन्दी रहेको उक्त विद्यालयमा कहिलेकाहीँ मात्र शिक्षक झुल्कने गरेका छन् । दुई शिक्षकले आफ्नै निजी खर्चमा केही पारिश्रमिक दिने गरी राखिएको पिएनले सम्हाल्ने गरेको विद्यालयमा  विद्यार्थी आउन छाडेका छन् । स्थानीय अभिभावकहरूका अनुसार उक्त विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद उप्रेती तीन वर्ष अघि गाउँबाट हिडेकोमा आजसम्म विद्यालय फर्किएका छैनन् । उनी सदरमुकाम र घरमा नै बसेर तलब खाएको अभिभावकको आरोप छ ।
    संयोग नौ मान्नुपर्छ, समाचार सङ्कलनका क्रममा हामी गाउँ रहेका बेला त्यस विद्यालयका शिक्षक रामकृष्ण श्रेष्ठ पुगेका थिए । उनी चाँही तीन÷चार महिनामा दुई÷चार दिन विद्यालयमा सयम खर्चिना भ्याउदा रहेछन् । गाउँमा १३ वर्षदेखि चलेको व्यथितीको विरुद्ध यसपाली अभिभावकहरूले आँटै गरेर शिक्षकसंग दोहोरो वात गरेका छन् । उनीहरूले विद्यालय नआएर घरमै बसेर तलब खाने शिक्षकहरूको प्रवृत्तिले आफुहरू आक्रोशित भएको बताए ।  विद्यालयमा यसरी भइरहेको अनियमितताको विषयमा शिक्षा कार्यालयले नदिएको ध्यान प्रति अभिभावकको गुनासो छ । ‘हामी ठूलो हेपाईमा परेका छौँ, शिक्षक गाउँ आउँदैनन्’ सीताराम तामाङले भने । शिक्षा कार्यालयमा एक साल अघि यही विषयमा उजुरी गर्न अभिभावकहरू पुगेता पनि शिक्षकहरूले टेरपुछर नलगाएको र शिक्षा कार्यालयले शिक्षहरूलाई गाउँमा धपाउन नसकेको उनको भनाई रहेको छ ।
    लेकमा रहेको उक्त गाउँ आवात जावातमा समस्या छ । अनपढ अभिभावक र दुर्गमको फाइदा उठाएर सरकारी जागिर खाइरहेका शिक्षकको हेपाहापना थामिएको छैन । घ्याङफेदी–६ स्थित सिसिपुका ६० भन्दा बढी विद्यार्थीहरू शिक्षक अभावमा मेलापात र गोठालोमा अभ्यस्त बनिसकेका छन् । शिक्षक श्रेष्ठका अनुसार विद्यालयको हाजिरी कापीमा भने ४२ जना विद्यार्थीको नामावली रहेको छ । उक्त विद्यालय २०३२ सालमा स्थापना भएको हो । 
भाषाको समस्या
शिखरवेशी गाविसको मानेडाँडामा रहेको शिखरवेशी प्राथमिक विद्यलायमा शिक्षक र विद्यार्थीबीच भाषाको समस्या देखिएको छ ।
    विद्यालयमा रहेको तीनै जना शिक्षक मधेशी मुलका र विद्यार्थीहरू तामाङ समुदायका भएकोले भाषिक समस्या सृजना भएको हो ।
    उसै त औसी पुर्णिमामा खुल्ने विद्यालय त्यसमा पनि भाषिक अन्तर सृजना भएपछि विद्यालयबाट बाहिरिने विद्यार्थीको संख्या बढ्दो छ । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा शिखरवेशी गाविसका ४,५,७,८ र ९ नम्वर वडाका वालवालिकाहरू पढ्दै आएका छन् । उक्त विद्यालयमा सर्लाही चन्द्रनगरका दुई जना र सप्तरीका एक जना गरी तीन शिक्षक १२ वर्ष देखि कार्यरत छन् ।
    उनीहरूको विद्यलायमा रहने अत्याधिक अनुपस्थितीका कारण त्यहाँ पनि विद्यालयको बन्द ढोका हेर्दै फर्कनु पर्ने अवस्था विद्यार्थीहरूमा रहेको अभिभावक बताउँछन् । ‘मास्टरहरू कहिलेकाहि आउने हुन्, त्यही पनि उनीहरूले बोलेको बुझ्दैनन् हाम्रा केटाकेटीहरूले’ विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तमान तामाङले भने । 
घाँस दाउरा गर्न डोको बोकेर हिडेका अनिता तामाङ विद्यालय अगाडी ।
 तस्बिर : कपिलदेव
डेढ अर्ब लगानी
घ्याङ्फेदी र शिखरवेशीमा भेटिएको यी प्रतिनिधि विद्यालयले देखाएको छ, समग्र जिल्लाको शैक्षिक अवस्था । वितेको चारवर्षको अवधिमा डेढ अर्व भन्दा बढी शिक्षा क्षेत्रमा खर्चेको बताउने शिक्षा कार्यालय अर्थिक वर्ष २०६८÷६९ मा नुवाकोट जिल्लामा शिक्षाका लागी १७ करोड ६३ लाख ७६ हजार रुपैयाँ खर्च गर्दै छ ।
    उक्त रकम जिल्लाको विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय साक्षरता अभियान कार्यक्रम, शैक्षिक सामग्रीलगायतमा खर्च गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    जिल्लाका विद्यालयहरूको भौतिक सुविद्या विस्तार कार्यक्रम अन्तर्गत दुई सय ३८ विद्यालयका लागी भवन तथा अन्य भैतिक पुर्वाधार विकासको लागी खर्च हुने  जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले जानकारी दिएका छन् । जिल्ला शिक्षा कार्यालय नुवाकोटले भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा साधारण तर्फका ५२ र सामुदायिक व्यवस्थापनतर्फ ४० नयाँ कक्षाकोठा निर्माण हुने बताइएको छ ।
    अनौपचारिक शिक्षा तथा महिला साक्षरता कक्षा सञ्चालन र आय आर्जन कार्यक्रममा २८ लाख ३५ हजार रुपैयाँ खर्च हुनेछ । सरकारले शिक्षा कार्यालय मार्फत माध्यामिक तहको एक खुला विद्यालयका लागी एक लाख १० हजार रुपैयाँ अनुदान दिएको छ । 
शिक्षकमा महिला आवेदक बढी
स्थायी अध्यापन अनुमती पत्र (शिक्षक लाइसेन्स)को परीक्षका लागी नुवाकोट जिल्लामा आवेदन दिनेमा महिलाहरू अत्याधिक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    अनुमती पत्रका लागी दुई हजार निवेदन प्राप्त भएकोमा महिलाहरू ७० प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयले नुवाकोटले जनाएको छ । शिक्षा कार्यालयका अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अनुमती पत्र लिनका लागी यो पटक मात्रै दुई हजार जना भन्दाबढीले दरखास्त दिएका छन् ।
    शिक्षक लाइसेन्स नपाई विद्यलायहरूमा उध्यापन गर्न नपाइने र शिक्षाशास्त्र अध्याय गरेका र १० महिने शिक्षक तालिम लिएका व्यक्तिहरूले मात्र शिक्षक लाईसेन्स पाउने व्यवस्था सरकारले गरेको छ ।




तस्कर र उपभोक्ताको पञ्जामा बन, सिल गरिएको काठ पनि चोरी

Add caption

निराजन पौडेल
रसुवा÷रसुवाको डाडाँगाउको बन सामुदायिक बन उपभोक्ता समितिका पदाधीकारीहरूले फडानी गरेका स्थानीयहरूको आरोप छ ।
    सामुदायिक बन जोगाउन बनेको उपभोक्ता समितिका पदाधीकारीहरू नै मिलेर बन फडानी गरे पछि कसले के गर्नेनै सक्छन र ! बन जोगाउन बनेको उपभोक्त समिति नै तस्करहरूसँग मिलेर खुलेआम काठ तस्करी हुदाँ यहाँको बन कुनै पनि बेला उजाड बन्न सक्ने देखिन्छ ।
    सामुदायको बन जोगाउन बसेका उपभोक्ता समिति रक्षक हुनु पर्ने हो तर उनीहरूनै भक्षक बने पछि यहाँका स्थानीयले जिल्ला बन कार्यालय रसुवामा उजुरी  दर्ता गरेका थिए । तर जिल्ला बन कार्यालय रसुवाले दुई बर्ष अघि मात्र नुवाकोटको बन कार्यालयलाई बन फडानीको निरिक्षणको जिम्मा दिए पछि नुवाकोटबाट खटिएका बनका कर्मचारीले सामुदायिक बनले बन फडानी गरेर टिप्पणी उठाएको केही समय नै बित्न नपाउँदै बन तस्करहरूले २०६६ सालमा बन निरिक्षण गरेर फर्केने क्रममा बिचबाटोमा नियन्त्रणमा लिएर जिल्ला बन कार्यालय नुवाकोटको गाडीमा आगजानी गर्नुको साथै टिप्पणी उठाएको कागजपत्र समेत जलाईदिएका थिए ।
    बन जोगाउन बसेका सामुदायिक बन उपभोक्ता समिति मार्फत यहाँका स्थानीयले आबाज उठाएको केही समय त बन फडानी रोकिएको थियो । तर केही महिना अघिबाट पुन तस्करहरूले डाडागाउँको बन फडानी थालेका छन् । बन फडानी थालेपछि जिल्ला बन कार्यालयबाट खटिएको टोलीले बनको निरिक्षण गरि काटिएको काठमा टाँचा लगाएर गए पनि रातको समयमा काठ तस्करी हुने गरेको यहाँका स्थानीय डिन्डुप तामाङ बताउँछन् ।
    ‘रातको समयमा गाउँमा गाडी आउँछन् र काठ लोड गरेर अहिले पनि लैजाने गरिएको छ तर सम्बन्धीत निकाय कानमा तेल हालेर बस्दा यो अबस्था आएको हो’ उनले भने । बन फडानी गर्ने तस्करलाई जिल्ला बन कार्यालय रसुवाले कारबाहीको प्रक्रिया अगाडी बढाउन नसक्दा यहाँका बन बिस्तारै सखाप हँुदै छ ।
    डाडागाउँको मैलुङ क्षेत्रमा करिब ५० हेक्टर क्षेत्र फलमा फैलिएको बनको संरक्षणमा भन्दा बन फडानी कसरी गर्ने सकिन्छ भन्नेमा यहाँको तस्करहरू लागिपरेका छन् । बन फडानी र तस्करी गर्ने बिरुद्ध कानुनी कारबाही गर्ने सकिने भए पनि यहाँको बन कार्यालयले तस्करलाई समाएर कठघरामा आहिले सम्म उभ्याउन सकिरहेको छैन ।
    सामुदायिक बनको कुनै पनि रुख काटिदाँ स्थानीयलाई एक हजार देखि पाँच हजार रुपैयाँ सम्म जरिवाना लगाउने यहाँको बन उपभोक्ताको मिलेमतोमा बन फडानी हुदाँ समेत कारबाही हुन नसकेको स्थानीयको गुनासो रहेको छ । ‘हामीलाई रुख काट्दा स्याउला काट्दा जरिवाना लिन्छन् तर उनीहरूनै तस्करहरू सँग मिलेर बन सखाप हुदाँ समेत कुनै कारबाही हुन सकेन’ स्थानीयहरूले भने ।
    यहाँको सामुदायिक बनमा लोपोन्मुख जातका काठ पनि काटिएको छ । चाप, साल जस्ता लोपोन्मुख काठहरू फडानी भएका छन् । तर सम्बन्धीत निकाय मौन बस्दा यहाँको बन कुनै पनि बेला उजाड पनि बन्न सक्नेछ । यस बिषयमा रसुवाको जिल्ला बन कार्यालय स्थानीय प्रशासनले बेलैमा ध्यान पु¥याउनु जरुरी छ । लोपोन्मुख जातका रुखहरू काटिनु गैरकानुनी भएको र यसले बाताबरणीय सन्तुलनमा समस्या हुने र बन संरक्षणमा सबैको ध्यान पुग्नु जरुरी रहेको सामुदायिक बन उपभोक्ता माहासंघ रसुवाका अध्यक्ष बिनोद पौडेलले बताउछन् । तस्करहरूले बेलुकाको समयमा गाडीमा लोड गरेर रातारात लाने भएका कारण नै यहाँको कति रुख काटियो स्थानीय रामं्रो सँग भन्न सकिरहेका छ्रैनन् । मैलुङ जलबिद्युत आयोजनाले र त्रिशुली ३ ए निर्माणको सामान ओसार÷पसार गर्नेका लागी बिद्युत कम्पनीले बनाएको सडक बाटो अहिले काठ तस्करीका लागी सजिलो बनेको छ ।

Saturday, January 28, 2012

शिक्षकलाई तलव खुवाउन सामुहिक ब्रतबन्ध

कपिलदेव खनाल÷नुवाकोट
देविघाट, माघ १४ गते । विद्यालयले निजी रुपमा राखेको शिक्षकहरुलाई तलव खुवाउने श्रोत जुटाउन नुवाकोट जिल्लाको एक माध्यामिक विद्यालयले सामुहिक ब्रतवन्धको आयोजना गरेको छ ।
विदुर नगरपालिका–७ देविघाट स्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले शिक्षकहरुलाई तलव खुवाउनका लागी विद्यार्थी तथा छिमेकी गाउँका किशोरहरुको शनिवार सःशुल्क रुपमा सामुहिक ब्रतवन्ध गराएको हो । शनिवारको उक्त सामुहिक ब्रतवन्धमा एक सय १० जना बटुकहरुको कर्मकाण्ड पुरा गराएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार ब्रतवन्धमा सामेल भएको बटुकहरुबाट जनही विद्यालयले एक हजार पाँच सय रुपियाँ शुल्क उठाएको छ ।    
भट्टका अनुसार शुल्कबाट मात्रै एक लाख ७५ रुपियाँ सङ्कलन भएको छ । ब्रतवन्धका लागी ५९ हजार रुपियाँ खर्च भएको छ । ‘बाँकी रकम विद्यालयको शिक्षकहरुलाई तलव खुवाउनका लागी प्रयोग गरिने छ’ भट्टले भन्नुभयो । उक्त विद्यालयले आठ वर्ष देखि विद्यालयको खर्च र निजी श्रोतमा राखिएका शिक्षकहरुलाई तलब खुवाउनका लागी प्रत्यके वर्ष श्रीपञ्चमिमा विद्यलाय परिषरमा सामुहिक रुपमा ब्रतवन्धको आयोजना गर्दै आएको छ ।
नुवाकोट जिल्लामा संस्कृति पाठ्यक्रम पढाई हुने एकमात्र उक्त विद्यालय स्थापनाकाल देखिनै आर्थिक सङ्कटमा गुज्रदै आएको छ । २०५५ सालमा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल ११ जना शिक्षक रहेकोमा चार जनामात्रै दरवन्दीका छन् । ‘बाँकी शिक्षकहरुलाई यसै गरी गरिने ब्रतवन्ध र रोइकराई गरी बटुलिने आर्थिक सहायताले धान्ने गरेका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले भन्नुभयो ।
यसरी विद्यालयले सामुहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरुलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हट्दै गएको छ । आफ्ना छोराहरुको कर्मचलाउनने नाममा गरिने ब्रतवन्धले आर्थिक र मानसिक बोझ थोपर्ने गरेकोमा सामुहिक रुपमा आयोजना भएको यस कार्यले मुक्ती मिलेको छ । ‘पन्ध्र सय रुपियाँमा छोराको ब्रतवन्ध सम्पन्न भयो’ भीमप्रसाद गजुरेलले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक हेमनीधि नेपालका अनुसार विद्यालयले गर्ने सामुहिक ब्रतवन्धको लोकप्रियता अभिभावकहरुमा मात्र नभई छिमेकी जिल्लाहरुसम्म रहेको छ । यहाँ सामुहिक ब्रतवन्धका लागी नुवाकोटका अलावा रसुवा र धादिङबाट समेत बटुकहरु आउने गरेका छन् । गएको वर्ष एक सय वटुकको सामुहिक ब्रतवन्ध गराएकोमा यो पाली बढेर एक सय १० जना पुगेको विद्यालयले जनाएको छ ।