Monday, October 23, 2017

तपाई कुन प्रदेश सभाको मतदाता हुनुहुन्छ ? दुविधामा हुनुहुन्छ भने यो पढ्नुस्, नुवाकोटको कुन गाउ कुन प्रदेशमा ? र उम्मेदवारहरु को को ?

कपिलदेव खनाल
गएको स्थानीय तह निर्वाचनसंगै नयाँ संरचनाको निर्वाचन क्षेत्र प्रयोगमा आएको छ । तर पनि नुवाकोटका नागरिकहरुलाई आफ्नो निर्वाचन क्षेत्र र उम्मेदवारको विषयमा दुविधा भएको पाइएको छ ।
              प्रतिनिधि सभा र प्रदेश सभाको सिमानाको विषयमा मतदाताहरु पूर्ण रुपमा जानकार नहुँदा आफ्नो क्षेत्रको उम्मेदवारको विषयमा समेत अन्यौल रहेको पाइएको छ । संघ अन्र्तगतको प्रतिनिधि सभा र प्रतिनिधि सभा भित्रको दुई वटा प्रदेश सभालाई कुन गाउँपालिका र कुन वडाले विभाजन गर्छ भन्ने विषयमा मतदाताहरुमा आवश्यक जानकारी भएको पाइएको छैन ।
              प्रतिनिधि सभाको लागि नुवाकोटलाई दुई वटा निर्वाचन क्षेत्रमामा विभाजन गरिएको छ । त्यस्तै दुवै प्रतिनिधि सभालाई दूई÷दुई वटा प्रदेश सभामा विभाजन गरिएको छ ।
             प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. १ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्दछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एक लाख पाँच हजार २ सय ८७ जना मतदाता रहेका छन् । त्यस क्षेत्रमा १३ जनाले उम्मेदवारी दिएका छन् ।
              जसमा काँग्रेसको तर्फबाट डा. रामशरण महत, बाम गठबन्धनको तफृबाट माओवादी केन्द्रका हितबहादुर तामाङ, राप्रपा राष्ट्रवादीबाट बिमल थापा, राप्रपा प्रजातान्त्रिकबाट राजेन्द्रप्रसाद फुयाँल, नेकपा मालेबाट जयागार तामाङ, नयाँ शक्ति पार्टी नेपालाबाट शन्तबहादुर तामाङ, नेपाल जनलोकतान्त्रिक पार्टीबाट कृष्णप्रसाद लामिछाने, संघीय समाजवादी फोरमबाट उत्तम अधिकारी, राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट प्रदिप तामाङ रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुमा एलिसा थापा, कृष्णबहादुर तामाङ र रबिन गुरुङ छन् ।
               त्यस अन्र्तगतको प्रदेश सभाका लागि पहिलो निर्वाचन क्षेत्रमा दुप्चेश्वर, शिवपुरी, तादी गाँउपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ अर्थात् पहिलाको थप्रेक र पञ्चकन्या गाउँपालिका परेको छ । प्रतिनिधिसभाको क्षेत्र नं १ को उत्तः पहिलो प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ हजार एक जना मतदाता छन् । क्षेत्र नं. १ को पहिलो निर्वाचन क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिनेहरुमा ७ जना रहेका छन् ।
                जसमा  काँग्रेसबाट महेन्द्र थिङ, बामगठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ, राप्रपा राष्ट्रवादीबाट रामु पण्डित राप्रपा प्रजातान्त्रिकका दामोदर थापा, नयाँ शक्ति पार्टीबाट ज्यायुमी शेर्पा, विवेकशील साझा पार्टीबाट विमल तामाङ र स्वतन्त्र उम्मेदवारमा सुनिता थोकर रहेका छन् ।
                 निर्वाचन क्षेत्र नं. १ कै दोश्रो प्रदेश सभामा ककनी गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाँउपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ५ अर्थात् पहिलाको  चौंघडा, कविलास र भद्रुटार गाविसलाई मिलाएर बनाइएको छ । त्यस प्रदेश सभामा मतदान गर्न मिल्ने नागरिकहरुको संख्या ५३ हजार २ सय ८६ जना रहेको छ । उक्त प्रदेश सभामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
                जसमा काँग्रेसबाट रमेशकुमार महत, बाम गठबन्धनको तर्फबाट एमालेका बद्री मैनाली, राप्रपा राष्ट्रवादीबाट पुरेन्द्रप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकबाट दिपककुमार राई, नयाँ शक्ति पार्टीबाट ईश्वरकुमार राउत, विवेकशील साझा पार्टीबाट कृष्णप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाईजेसनबाट कृष्ण तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राजन लामिछाने र स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर तामाङको उम्मेदवारी परेको छ ।
               संघको लागि प्रतिनिधि सभाको लागि नुवाकोटमा अर्को निर्वाचन क्षेत्र नं. २ रहेको छ । क्षेत्र नं. २ मा हालका दुई वटै नगरपालिका सहितका बाँकी रहेको गाउँपालिकाहरुलाई मिसाइएको छ । प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ्ग गाउँपालिका, मेघाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका रहेको छ । क्षेत्र नं २ मा प्रतिनिधि सभामा मतदाना गर्ने मतदाताहरुको संख्या एक लाख दुई हजार ९ सय ४ जना रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ११ जनाले उम्मेदवारी दिएका छन् ।
               जसमा, काँग्रेसबाट अर्जुननरसिंह केसी, बामगठबन्धनको तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा, राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मी श्रेष्ठ पाँडे, राप्रपा प्रजातान्त्रिकबाट मधुसुदन रिसाल, नेकपा मालेबाट डिलबहादुर पुडासैनी, नयाँ शक्तिबाट धर्मबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्र तामाङ, नेपाल जनलोकतन्त्र पार्टीबाट नारायण पौडेल, विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट लक्ष्मी मुडबरी र संघीय समाजवादी फोरम नेपालबाट सिताराम तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।
                नुवाकोट निर्वाचन क्षेत्र नं. २ को पहिलो प्रतिनिधि सभामा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ लाई समेटिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को पहिलो प्रदेशसभा निर्वाचन क्षेत्रमा ५१ हजार ६ सय ४९ जना मतदाता छन् । उक्त निर्वाचन क्षेत्रमा ८ जनाले उम्मेदवारी दिएका छन् ।
               जसमा काँग्रेसबाट जगदिश्वरनरसिंह केसी, बामगठबन्धनबाट एमालेका केशवराज पण्डे, राप्रपा राष्ट्रवादीबाट दिपेश लामा, राप्रपा प्रजातान्त्रिकबाट शिवप्रसाद अधिकारी, नयाँ शक्ति पार्टीबाट केशवप्रसाद पुडासैनी, विवेकशील साझा पार्टीबाट दामोदर नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट अर्जुनलाल श्रेष्ठ र स्वतन्त्रबाट बद्रीप्रसाद त्रिपाठी उम्मेदवारी दिउका छन् ।
               क्षेत्र नं. २ कै प्रदेश सभा ख मा किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका पुरै र विदुर नगरपालिकाको वडा नं ७, ८, ९, १२, १३ अन्र्तगतको  खड्गभञ्ज्याङ्ग र चारघरको माथिल्लो भेगसहित, तुप्चे र कल्याणपुर क्षेत्रलाई हालिएको छ । प्रदेश सभाको दोश्रो निर्वाचन क्षेत्रमा ५१ हजार २ सय ५५ जना मतदाता रहेका छन् । उक्त क्षेत्रमा ९ जनाले उम्मेदारी दिएका छन् ।
                 जसमा, काँग्रेसबाट जगतबहादुर तामाङ, बामगठबन्धनबाट माओवादी केन्द्रका हिरानाथ खतिवडा, राप्रपा राष्ट्रवादीबाट यादवराज सिलवाल, राप्रपा प्रजातान्त्रिकबाट हरिप्रसाद रिजाल, नयाँ शक्ति पार्टीबाट डा. भिमलाल तामाङ, विवेकशील साझा पार्टीबाट कमान तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट रवी अधिकारी र स्वतन्त्र उम्मेदवारहरु कृष्णबहादुर खड्का र रिता ओझा रहेका छन् ।
               यसरी विभाजन भएको निर्वाचन क्षेत्र अन्र्तगत मतदाताले प्रतिनिधि सभाका लागि एक जना र प्रदेश सभाका लागि एक जनालाई मतदान गर्न सक्ने छन् । साथै समानुपातिक मतपत्रमा पनि दुई छाप लगाउन पाउने व्यवस्था गरिएको छ । त्यसले चाँही प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारहरुलाई जिताउन राजनीतिक दललाई मतदान हुनेछ ।
                यो पालीको चुनावमा एउटा मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातीक उम्मेदवार गरी दुइ÷दुई स्थानमा गरी चार स्थानमा मतदान गर्नेछन् ।

Sunday, October 22, 2017

नुवाकोटमा को को भिड्दैछन् ?


कपिलदेव खनाल, नुवाकोट
काँग्रेसका डा. रामशरण महत
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला दलहरुले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस र बाम गठबन्धनबाट नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङ्गो लगाएको हो । काँग्रेसमा अर्जुननरसिंह केसी र उनको भाई जगदीश्वरनरसिंह केसी, डा. रामशरण महत र उनका भतिज रमेशकुमार महतले उम्मेदवारी दिने भएका छन् ।
    प्रतिनिधि सभाको लागि नुवाकोटमा रहेको दुई वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट केन्द्रिय सदस्यहरु डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी मैदानमा आउने भएका छन् । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ मा पुर्व अर्थमन्त्री डा. रामशरण महत र क्षेत्र नं. २ मा पुर्व शहरी विकास मन्त्री अर्जुननरसिंह केसी उठ्ने छन् ।
    नेकपा एमाले र माओवादी केन्द्रले भने यो पटकको चुनावमा तालमेल गरेको छ । प्रतिनिधि सभामा एमाले र माओवादीको एक÷एक जना उम्मेदवार र प्रदेश सभामा दुई÷दुई जना उम्मेदवार भाग लगाएर लिएको छ । जस अनुसार नुवाकोटको क्षेत्र नं. १ माओवादी केन्द्रलाई र क्षेत्र नं. २ नेकपा एमालेलाई भाग लगाइएको छ ।

माओवादी केन्द्रका हितबहादुर तामाङ
क्षेत्र नं. १ मा पुर्व खेलकुल मन्त्री हितबहादुर तामाङ र क्षेत्र नं. २ मा नेकपा एमाले नुवाकोट अध्यक्ष नारायणप्रसाद खतिवडा उम्मेदवार बन्ने छन् ।
    प्रदेश सभा अन्र्तगत क्षेत्र नं. १ को क मा माओवादी केन्द्रका राधिका तामाङ, ख मा एमालेका बद्री मैनाली, क्षेत्र नं. २ को क मा एमालेका केशव पाण्डे र ख मा माओवादी केन्द्रमा हिरानाथ खतिवडाको उम्मेदवारी पर्नेछ ।
    नेपाली काँग्रेसले नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क मा महेन्द्र थिङ्ग, ख मा रमेशकुमार महतलाई अघि सारेको छ । क्षेत्र नम्वर २ को प्रदेश सभा क मा जगदिश्वरनरसिंह केसी र ख मा जगतबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।
    यसरी हेर्दा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि काँग्रेसका डा. रामशरण महत र बमगठबन्धनका तर्फबाट माओवादी केन्द्रमा हितबहादुर तामाङ बीच चुनावी प्रतिस्पर्धा हुँदै छ । उनीहरु बीचको यो तेश्रो पटकको प्रतिस्पर्धा हो । दुई वटै संविधान सभा चुनावमा हितबहादुर तामाङ काँग्रेसका डा. महतसंग झिनो मतले पराजित भएका थिए ।

काँग्रेसका अर्जुननरसिंह केसी
यता क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका अर्जुननरसिंह केसी र बाम गठवन्धनका तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा बीच प्रतिस्पर्धा हुनेछ ।
    प्रदेश सभा निर्वाचनमा भने १ को क मा नेपाली काँग्रेसका महेन्द्र थिङ्ग र बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका राधिका तामाङले प्रतिस्पर्धा गर्दैछन् । १ को ख मा काँग्रेसका रमेशकुमार महत र बाम गठवन्धनको तर्फबाट एमालेका बद्री मैनाली बीच प्रतिस्पर्धा हुँदैछ ।
    प्रदेश सभा निर्वाचनमा २ को क मा काँग्रेसका जगदिश्वरनरसिंह केसी र बाम गठवन्धनबाट एमालेका केशब पाण्डेबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै २ को ख मा काँग्रेसका जगतबहादुर तामाङ र बमगठबन्धनको तर्फबाट माओवादी केन्द्रका हिरानाथ खतितवडाको प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेका नारायणप्रसाद खतिवडा

काँग्रेस ३२ हजार मतले पछाडी
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको चुनावी सरगर्मी बढ्दै जाँदा नुवाकोटमा निर्वाचन जित्ने पार्टी र उम्मेदवारहरुको आँकलन सुरु भएको छ । कुनै सयम जिल्लामा प्रभावशाली मानिने राप्रपा लगायतका अन्य केही साना राजनीतिक दल अस्तित्वका लागि मात्र नगन्य अवस्थामा देखा परेपनि निर्वाचनमा मुख्य तीन पार्टी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकै प्रभाव रहने देखिएको छ ।
राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउन सक्ने काँग्रेसको ‘हेब्भीवेट’का नेता डा. रामशरण महत र अर्जुननरसिंह केसी यस जिल्लाबाट पहिला पनि जनप्रतिनिधी रहेका कारण नुवाकोटमा काँग्रेसलाई बलियो शक्तिका रुपमा राजनीतिक वृत्तमा बुझ्ने गरिएको छ । तर, काँग्रेसको अघिल्ला निर्वाचनमा भन्दा पछिल्ला निर्वाचनमा लगातार घट्दो मत परिणाम र एमाले तथा माओवादीको बढ्दो मत परिणामका कारण काग्रेसलाई नुवाकोटमा चुनौती बढेको छ । अझ एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलका कारण काँग्रेसलाई कमजोर रहेको विश्लेषण पनि गरिएको छ ।

काँग्रेसका रमेशकुमार महत
काग्रेसले अघिल्लो संविधानसभामा भन्दा ३१ बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा समग्र जिल्ला भरीमा पार्टीको मत परिणाम घटाएको छ । नुवाकोटका दुई नगरपािलका र १० वटा गाउपालिका गरि १२ वटा स्थानिय तह रहेका छन् । स्थानिय तह निर्वाचनमा गाँउ तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले प्राप्त गरेको मत जोड्दा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन परिणाम बामगठवन्धनसंग यसपटक निर्वाचनमा जुध्न काँग्रेसलाई फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा ४४ हजार १ सय १८ मत सहित काँग्रेस पहिलो, ४२ हजार १२ मत सहित नेकपा एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्द्र तेश्रो स्थानमा छन् ।

एमालेका बद्री मैनाली
संविधानसभा निर्वाचनमा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ । यस अगाडीको संविधान सभा निर्वाचन नतिजा हेर्दा काँग्रेस पहिलो, माओवादी दोश्रो र एमाले तेश्रो शक्तिको रुपमा रहेको थियो । त्यस वेला तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाका तीन ओटै क्षेत्रमा काँग्रेसले जितेको थियो ।
तर अहिले प्रतिनिधीसभामा दुई ओटा निर्वाचन क्षेत्र कायम भएको छ भने प्रदेश सभाका लागि चार वटा क्षेत्र नुवाकोटमा छ । यहाँ प्रतिनिधि सभाका लागि एमाले र माओवादीले एक÷एक वटा क्षेत्र र प्रदेश सभामा दुई÷दुई वटा क्षेत्र बाँडफाँड गरेर निर्वाचन लडदैछन् ।
प्रतिनिधिसभाका लागि नुवाकोट क्षेत्र नम्वर १ मा अहिले शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउपालिका पर्छन् । स्थानिय तह निर्वाचन परिणाममा यी स्थानीय तहका अध्यक्षले प्राप्त गरेको मत परिणामलाई हेर्दा यो क्षेत्रमा काँग्रेसले २२ हजार ६ सय ५२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १८ हजार ७ सय ७८ मत पाएको छ । एमालेले १८ हजार १ सय ८४ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रका राधिका तामाङ
त्यस अन्र्तगत, शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसले ३८ सय १८, नेकपा एमालेले ३५ सय ३२ र माओवादी केन्द्रले २४ सय १३ मत पाएका थिए । दुप्चेश्वर गाउँपालिकामा नेपाली काग्रेसले ३७ सय १४, माओवादी केन्द्रले ३३ सय ३ र नेकपा एमालेले २२ सय ३९ मत ल्याएको थियो ।
नुवाकोटको क्षेत्र नं. १ मा नै रहेको पञ्चकन्या गाउँपालिकामा माओवादीले २९ सय ६२, काग्रेस २८ सय ५४ र एमालेले २ हजार २६ मत पाएको थियो । तादी गाउपालिकामा काँग्रेसको ३ हजार ९०, एमालेको २७ सय ३७ र माओवादीको २३ सय ६५ मत स्थानीय तह निर्वाचनमा रहेको छ ।
सूर्यगढी गाउपालिकामा काँग्रेसले ३२ सय, एमालेले २३ सय ८५ र माओवादीले १८ सय ५४ मत ल्याएको छ ।  उता, लिखु गाउपालिकामा काँग्रेसले २४ सय २५, एमालेले १८ सय ६२ र माओवादीले १३ सय ४७ मत पप्त गरेको थियो । ककनी गाउपालिकामा माओवादीले ४५ सय ३४, काँग्रेसले ३५ सय ५१ र एमालेले ३४ सय ३ मत प्राप्त गरेको थियो ।

काँग्रेसका महेन्द्र थिङ्ग
नुवाकोट क्षेत्र नं. १ मा मंसिर १० गतेको प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसबाट डा. रामशरण महत र माओवादी केन्द्रबाट हितवहादुर तामाङले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।  केन्द्रीय तहमै एमाले माओवादीबीच चुनावी तालमेल भएकोले यो क्षेत्रमा एमालेले माओवादी उम्मेदवार तामाङलाई सघाउनेछ । काँग्रेसको २२ हजार ६ सय ५२ मत र एमाले माओवादी गठवन्धनको ३६ हजार ९ सय ६२ मत हुने देखिन्छ । स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा रामशरण महतको भन्दा हितबहादुर तामाङको मत १४ हजार ३ सय १० बढी देखिएको छ ।
रामशरण महत र हितबहादुर तामाङ बीचको यो प्रतिस्पर्धा तेश्रो पटकको हो । पहिलो संविधान सभामा निर्वाचनमा तामाङ महतसति १ सय ४ मतले हारेका थिए । त्यस्तै दोश्रो संविधान सभा निर्वाचनमा झण्डै ३५ सय मतान्तरमा तामाङले हारेका हुन् ।
यसै बीच, नुवाकोटको क्षेत्र नम्वर २ मा काँग्रेसमाका प्रभावशाली मानिने नेता अर्जुननरसिंह केसी र नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा हुने छ । अन्तरपार्टी सम्वन्ध राम्रो बनाएका र जिल्लातहमा प्रभावशाली नेताका रुपमा स्थापित भएका नारायणप्रसाद पाण्डेसंगको प्रतिस्पर्धा काँग्रेसका पुराना नेता अर्जुननरसिंह केसीलाई फलामको चिउरा सरह बन्ने देखिएको छ ।

काँग्रेसका जगदीश्वरनरसिंह केसी
स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा काँग्रेस, एमाले र माओवादीका गाउँपालिका नगरपालिका अध्यक्ष÷प्रमुखले पाएको मतको आधारमा पनि केसी र खतिवडाबचि निक्कै मतको अन्तर देखिएको छ ।
क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउपालिका, विदुर नगरपलिका, मेघाङ गाउपालिका र किस्पाङ गाउपालिका पर्छन् । स्थानिय तहमा तीन पार्टीका अध्यक्ष÷प्रमुखले प्राप्त गरेको मत परिणामलाई जोडने हो भने यो क्षेत्रमा काँग्रेसको २१ हजार ४ सय ६६, एमालेको २३ हजार ८ सय २२ र माओवादी केन्द्रको १५ हजार ५ सय मत रहेको छ । यो क्षेत्रमा एमाले एउटैको काँग्रेसको भन्दा २ हजार ३ सय ५६ मत वढी छ । एमाले माओवादीले चुनावी गठवन्धनका कारण थप हुने मत सहित अर्जुननरसिंह केसी भन्दा नारायणप्रसाद खतिवडाको मत १७ हजार ८ सय ५६ ले बढी देखिएको छ ।
क्षेत्र नं. २ मा रहेको बेलकोटगढी नगरपालिकामा एमालेको ६६ सय ४३, माओवादीको ६३ सय ५१ र काँग्रेसको ४९ सय ४२ मत रहेको थियो । तारकेश्वरमा एमालेको ३६ सय १४, काँग्रेसको २६ सय ८८, माओवादीको १२ सय ३७, विदुर नगरपालिकामा एमालेको ९७ सय १६, काँग्रेसको ८७ सय ४० र माओवादीको ४७ सय ३६ मत रहेको छ । स्थानीय तह निर्वाचनमा अध्यक्षले पाएको मतको आधारमा मेघाङ गाउपालिकामा काँग्रेसको २५ सय २८, एमालेको २१ सय ८७ र माओवादीको १५ सय ५६ मत रहेको छ । त्यस्तै, किस्पाङ गाउपालिकामा काँग्रेसको २५ सय ६८, एमालेको १६ सय ६५ र माओवादीको १६ सय २० मत रहेको छ ।

एमालेका केशव पाण्डे
ई दलको मत एकातिर हुँदा संख्याको हिसावले नुवाकोटमा काँग्रेसका उम्मेदवार कमजोर देखिएका छन् । त्यसो त, नुवाकोटमा विगत देखि नै महत र केसी पक्षमा काँग्रेस विभाजित छ । एकले अर्काे पक्षको अस्तित्व स्वीकार्न नचाहने कारण पनि काँग्रेसलाई आन्तरिक चुनौती पनि उत्तिकै रहेको काँग्रेसकै नेताहरुको भनाई रहेको छ ।
उम्मेदवारी सिफारिसकै क्रममा क्षेत्रिय समिति र जिल्ला समितिले केन्द्रमा फरक फरक नाम सिफारिस गरेकोले पनि काँग्रेसमा गुटवन्दी झनै मौलाएको एक जिल्ला सदस्यले बताएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनमा अन्तरघात गरेकाहरुलाई पार्टीले कारबाही गर्न नसकेको र जिल्ला सभापति देखि नै अन्र्तघातीको सूचीमा परेकोले त्यसको असर चुनावमा प्रष्ट देखिने छ । अझ केसी दाजुभाई र महतको काका भतिजले टिकट पाएपछि नुवाकोटको पुराना काँग्रेसमा वितृष्णा बढेको छ । पारिवारिक घेराबाट काँग्रेस मुक्त हुन नसकेको भन्दै काँग्रेस कार्याकर्ताहरुले पार्टीको हारको कारण यो पनि बन्ने बताएका छन् ।
नुवाकोटमा यस अघि निर्वाचित भएका काँग्रेसका केन्द्रिस सदस्य बहादुरसिंह लामालाई समानुपातीको सूचीमा राखिएको छ । अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतलाई काठमाडौंको क्षेत्र नं. ५ बाट उठाउने तयारी गरिएको छ ।

२२ हजार मतदाता थपिए
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीय तहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् ।
वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एक लाख ८५ हजार ७ सय ८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुई लाख आठ हजार १ सय ९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

माओवादी केन्द्रका हिरानाथ खतिवडा
स्थानीय तहको निर्वाचन पछि चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार ४ सय ९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनु भएको छ ।
जिल्लामा मतदाता बृद्धि भएसँगै मतदान केन्द्र समेत बढेको छ । स्थानीय तहको निर्वाचनमा १ सय २९ मतदानस्थलमा २ सय ४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदान स्थल साविक राखेर केन्द्र भने २० वटा थप गरी २ सय ६० पु¥याइएको हो ।
एक मतदान केन्द्रमा एकहजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोग मार्फत स्वीकृति लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नुवाकोटका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एक लाख पाँच हजार २ सय ८७ जना र क्षेत्र नं २ मा एक लाख दुई हजार ९ सय ४ जना मतदाता रहेका छन् ।

काँग्रेसका जगतबहादुर तामाङ
यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं १ को प्रदेशसभा १ मा ५२ हजार एक जना मतदाता रहेका छन् । क्षेत्र नं. २ मा ५३ हजार २ सय ८६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ मा मतदाता ५१ हजार ६ सय ४९ जना र प्रदेश सभा २ मा ५१ हजार २ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

Sunday, October 15, 2017

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण सुरु

विदुर । डिभिजन सडक कार्यालय नुवाकोटले ४० किलोमिटर लामो दुईलेनको सडक (लोकसञ्चार मार्ग) निर्माण सुरु गरेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने उक्त सडकको पहिलो खण्डको दश किलोमिटर सडकको शुक्रबारदेखि निर्माण सुरु भएको हो । डीपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङ्गको धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण पूरा हुने छ । सडक कार्यालय नुवाकोटका अनुसार पहिलो खण्ड जिलिङ्गको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबीसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने डिभिजन सडक कार्यालय भरतपुर चितवनले गर्ने छ । 
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम नामको रेडबुकमा आर्थिक वर्ष २०७३÷०७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश छ । बजेट उप शीर्षक नम्बर ३३७३३५ भएको पी वानको उक्त सडकको शुक्रबार जिलिङको पाँचखलेमा आयोजित एक कार्यक्रममा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गर्नुभयो । निर्वाचन आचारसंहिता लागू भएको कारण राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई नबोलाई सडक कार्यालय आफैंले काम सुभारम्भ गरेको हो ।
लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको ९ किलोमिटर ९ सय मिटर सडक कालोपत्रेमा स्तरोन्नति गर्न स्वच्छन्द÷वल्र्डवाईड÷अमृत जे.भी. नामको काठमाडौंमा दर्ता भएका तीनवटा ठेकेदार कम्पनीले संयुक्त रुपमा २४ करोड, २८ लाख ८४ हजार ३ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । पहिलो खण्डको कालो पत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरे लगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको हो । अर्थले दिएको भन्दा आधा रकममा ठेक्का सम्झौता भएको कारण बाँकी पैसाको दोस्रो खण्डको ठेक्का आव्हान सडकले चाँडै नै गर्ने तयारी गरेको छ ।  
दोस्रो चरणमा हर्रे–बाह्रबीसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डीपीआरको प्रारम्भिक रिपोर्टमा १ अर्ब ५ करोड ६६ लाख २७ हजार २ सय ३ रुपैयाँ ५२ पैसा बजेट लाग्ने उल्लेख गरिएको छ । उक्त रिपोर्टमा केही संशोधन भई रकम थप÷घट हुन सक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खण्डको डीपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डीपीआर भने तयार भइसकेको छ ।
लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट सुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिने छ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता प्रदान गर्ने छ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । साथै उक्त सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सडक निर्माणको शुभारम्भ गर्दै सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले उक्त सडक महत्वपूर्ण भएकाले निर्माण कम्पनीलाई ढिला नगरी काम गर्न आग्रह गर्नुभयो । साथै उनले सडक कार्यालय र ठेकेदारको पहलमा मात्र सडक निर्माण पूरा हुन समस्या पर्ने भएको भन्दै स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख शाक्यले सडक नै सम्पूर्ण विकासको मेरुदण्ड भएकाले त्यही अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले आफू र नगरपालिकाले सडक निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चारकर्मी रामप्रसाद पुडासैनीले यातायातको विकास नै सम्पूर्ण विकासको आधार भएकाले सडक निर्माणको काममा सहयोग गर्न सबैसँग अपील गर्नुभयो ।

Saturday, October 07, 2017

नुवाकोट काँग्रेसले १२ सिटमा पठायो एक सय ३९ जनाको नामावली, पार्टी भित्र कारबाही माग गरिएका देखि आपराधिक क्रृयाकलापमा सम्लग्न सम्मको नाम सिफारिस

नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि सम्भावित उम्मेदवारको नाम छनौटका लागि केन्द्रिय समितिमा सिफारिस गरेको छ । प्रदेश र संघमा प्रत्यक्ष र समानुपातीक गरी जम्मा १२ जनाको नाम छनोट गर्नका लागि नुवाकोट काँग्रेसले एक सय ३९ जनाको नाम संकलन गरेको छ ।
अर्जुनतनरसिंह केसी र रामशरण महतलाई एकै क्षेत्रमा सिफारिस गरिएको छ । क्षेत्र नं. १ मा उहाँहरु दुवैको नाम रहेको छ । त्यस्तै अर्को एकै क्षेत्रमा प्रकाशशरण महत र जगदीश्वरनरिसंह केसीको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले पठाउनुभएको उम्मेदवारहरुको सूचीमा तीन वर्ष अघि क्रियाशिल सदस्यता लिएका देखि आपराधिक क्रृयाकलापमा सम्लग्न देखिएकासम्मको नाम रहेको छ । साथै समानुपातीमा पठाएको काँग्रेसको सूचीमा पत्रकार महासंघका तीन जना सदस्य समेत रहेका छन् । त्यस्तै स्थानीय तहमा चुनाव हारेका उम्मेदवारलाई पनि समानुपातीको सूचीमा राख्नको लागि केन्द्रिय समितिमा पत्रचार गरेको छ ।
समानुपातिका लागि पठाइएको अधिकांश नाम राजनीतिक वृत्तमा चर्चामा नरहेका र नचिनिएकाहरु रहेको छ । क्षेत्रीय कार्यसमितिले केन्द्रको निर्देशन बमोजिमको मापदण्ड पुरा नगरेको लगायतको विषय पनि उल्लेख गरेर जिल्ला सभापतिले प्राप्त भएको सबै नाम केन्द्रिय समितिमा पठाएको बताइएको छ ।

नेपाली काँग्रेस नुवाकोटले प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा. रामशरण महत र सरीता लामाको सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नं. १ को १ बाट प्रदेशसभामा टिकट लिनका लागि महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, दिनेश खनाल, निलम उप्रेती र बिनोद शाहको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं १ कै २ बाट प्रदेशसभाको प्रत्यक्ष चुनाव लड्नका लागि यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा  र कृष्णबहादुर लामालाई सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा तामाङ, डा. प्रकाशशरण महत लगायतको नाम सिफासिस भएको छ । निर्वाचन क्षेत्र नं. २ को १ नं. मा प्रदेशसभाको लागि सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, बैकुण्ठबहादुर पाण्डे, भुपेन्द्र बानियाँ, बिष्णुराज नेपाल, दिपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई सिफारिस गरेको छ ।

नुवाकोट क्षेत्र नं. २ को २ मा प्रत्यक्ष चुनाव लड्नका लागि जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकी माया तामाङलाई सिफारिस गरेको छ ।
काँग्रेस नुवाकोटले समानुपातमिा पठाएको नामहरु अत्याधिक रहेको छ । आन्तरिक विवाद र कलहका कारण जिल्ला समतिले कुनै पनि नाम छनोट र शंसोधन गर्न नसकेपछि जिल्लामा पुगेको सबै नामलाई केन्द्रमा पठाएको हो । टिकटको लागि दावी गरिएको नामहरुमा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ । जसमा पदमराज पौडेल, डा. केदार नरसिंह के.सी., मुकुन्दराज सिटौंला, खेमराज सेढाई, बाबुकाजी पाठक, विष्णुप्रसाद अधिकारी, रमा उप्रेती, इन्द्रबहादुर पाण्डे, रामबाबु उप्रेती, नरेन्द्रराज महत, हरिश्चन्द्रसिंह तामाङ, डिल्लीबहादुर खनाल र तुलसा नेपाल रहेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा समानुपातिक तर्फ पनि काँग्रेस नुवाकोटले नौं जनाको नाम पठाएको छ । जसमा श्रीप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल, देवकी डोटेल, यासीवा रहमान, सुरथबहादुर चित्रकार, सुनबहादुर गुरूङ, अर्जुन नेपाल, शेरबहादुर घले र भोजबहादुर नेपाली रहेका छन् । 

नुवाकोटको क्षेत्र नं. १ को प्रदेशसभा १ को समानुपातिकतर्फ काँग्रेसले २३ जनाको नाम सिफारिस गरेको छ । जसमा लक्ष्मणराज थापा, कविराज गुरूङ, रामबहादुर डंगोल, यमबहादुर थापा, रामचन्द्र खनाल, सीता मिजार, अच्युत गुरागाई, उमा थापा, नरेश तामाङ, सुर्यबहादुर तामाङ, सुनबहादुर तामाङ, प्रमोद रिमाल, सरोज केसी, इन्दु थापा, रामेश्वर भण्डारी, नारायण भण्डारी, नरहरी आचार्य, स्वेच्छा उप्रेती, सलिना केसी, शुशीला मोक्तान, श्यामबहादुर केसी, कमलबहादुर श्रेष्ठ र ललिता भण्डारी रहेका छन् ।
क्षेत्र नं १ को प्रदेशसभा २ को समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस भएको छ । जसमा डिल्लीप्रसाद ढकाल, उपेन्द्र कुइकेल, विष्णुबहादुर गुरूङ घले, भेषराज ढकाल, भवानी देवकोटा, रामप्रसाद पाण्डे, शिवप्रसाद अधिकारी, सफलता बोगटी, कल्पना नेपाली, दिपक नेपाली, रामजी पौडेल, महानन्द ढकाल, माधवप्रसाद सापकोटा, रामकृष्ण श्रेष्ठ, सचिता कुइकेल, शंकर प्याकुरेल, हम्सराज गिरी, दुर्गा प्रसाद ढकाल, सुमन गिरी, दिनेश तामाङ, हरेराम बजगाई र बैकुण्ठप्रसाद खनाल रहेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा नम्वर १ समानुपातिक तर्फ पनि अन्य क्षेत्रमा जस्तै झण्डै दुई दर्जन नाम सिफारिस भएको छ । जसमा प्रतापसिंह लामा, लक्ष्मण श्रेष्ठ, राजु थापा, प्रकाश राई, लेखनाथ मुडभरी, श्रीराम श्रेष्ठ, लालबहादुर बिश्वकर्मा, शिव देवकोटा, बद्री मुडभरी, शिव प्रसाद गजुरेल, इन्द्र बहादुर लामा, गोकुलप्रसाद दहाल, बद्री त्रिपाठी, शुदर्शन पाण्डे, मोहमद करिम, श्रीराम पाण्डे, रामप्रसाद गजुरेल, मुसमलाल श्रेष्ठ र  रूक्मिणी सेढाई रहेका छन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा नं. २ को प्रत्यक्षतर्फ उम्मेदवार बन्न लायक भनेर काँग्रेसले २१ जनाको नाम सिफारिस गरेको छ । जसमा हरिलाल श्रेष्ठ, लालीमाया तामाङ, लक्ष्मण श्रेष्ठ, राजु थापा, धनसिङ तामाङ, राजकुमार भट्टाराई, केशब अर्याल, हरेराम पैडेल, सुमन अधिकारी, गरबहादुर तामाङ, अन्जना अर्याल, सेम्जोङ तामाङ, शिव अधिकारी, जानुका घिमिरे, रेणुका अधिकारी, दिलमान तामाङ, बसन्तजंग ठकुरी, गोपी शर्मा, दिपिका थापा रिमाल, बासु भट्ट र होमबहादुर तामाङको नाम रहेको छ ।








उम्मेदवार छनोटका लागि एमाले भित्र मतदान, बद्री मैनालीले पाए सबै मत . नयाँ शक्तिका कृष्ण कुईकेल काँग्रेसमै फर्कने तयारीमा

एमाले नुवाकोटका उपाध्यक्ष बद्री मैनाली
इमेज समाचारदाता
नेकपा एमाले नुवाकोटले उम्मेदवार छनोटको लागि मतदान विधि अपनाएको छ । निर्वाचन क्षेत्र नं. १ को २ मा उम्मेदवार बन्ने नेतको टुङ्गो लगाउन एमालेले मतदान विधि अपनाएको हो ।
    जसमा एमालेको जिल्ला उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख बद्री मैनालीले खसेको सबै मत प्राप्त गर्नुभएको छ । १३ जना मतदाता रहेको उक्त निर्वाचनमा बद्री मैनालीले सबै मत पाउनुभएको छ । प्रदेश सभामा उम्मेदवारी दिनका लागि छनोट हुने एउटा नामका लागि तीन जनाको नाम जिल्ला समितिले केन्द्रमा सिफारिस गनु पर्नेमा तीन जनाको नाम छनोट गर्न नसकेपछि निर्वाचन भएको एमाले नुवाकोटले जनाएको छ ।
    क्षेत्रिय समितिले नाम छनोट गर्न नसेकपछि जिल्ला समितिलाई नाम छान्नको लागि सिफारिस गरेकोमा जिल्ला समितिले क्षेत्रिय समितिलाई मतदान प्रक्रृयाबाटै भएपनि तीन जनाको नाम छानेर सिफारिस गर्न आग्रह गरेको थियो ।
    जसमा पाँच जनाको बलियो दावी थियो । १३ जनाले तीन तीन जनाको नाममा मतदान गरेका थिए । जिल्ला उपाध्यक्ष बद्री मैनालीले १३ मा १३ नै मत, पुर्णलाल श्रेष्ठले ५, अच्युत पाण्डेले ४, लोकनाथ सापकोटाले तीन र कृष्णबहादुर जिसीले ३ मत पाउने भएको छ ।
    मतका आधारमा बढी ल्याउने तीन जनाको नाम केन्द्रिय समितिमा टिकटको लागि सिफारिस गर्ने बताइएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नंं १ को २ मा नेकपा एमालेका तर्फबाट बद्री मैनालीलाई एमालेले टिकट दिने पक्का जस्तै बनेको एमालेले जनाएको छ ।
    उता, नेपाली काँग्रेस भित्रको विवादका कारण अहिलेसम्म उम्मेदवारको लागि सिफारिस हुने नामहरु तयार हुन सकेको छैन । स्थानीय तह निर्वाचनमा अन्र्तघात गर्नेहरुलाई कारबाही माग गर्दै काँग्रेसले केन्द्रिय समितिमा बुझाएको ज्ञापन पत्रले अहिले उम्मेदवारको नाम सिफारिसको कार्यलाई अल्मल्याएको छ । पराजित उम्मेदवारहरुले अन्तरघाती भन्दै कारबाहीको माग गरेका नेताहरुलाई क्षेत्रिय समितिले उम्मेदवारको लागि सिफारिस गरेपछि अहिले जिल्ला समितिमा उम्मेदवारको नाम अड्किएको छ ।

नयाँ शक्ति नुवाकोटका निर्वतनमा संयोजक कृष्ण कुईकेल
यसै बीच, नयाँ शक्तिले निर्वाचनमा जिल्ला संयोजक कृष्ण कुईकेलको नाम उम्मेदवारको लागि सिफारिस गरेको छैन । क्षेत्र नं. १ मा कृष्ण कुईकेल संघिय संसद्मा उठ्ने चर्चा भइरहेकै समयमा जिल्ला समितिले उहाँको नाम टिकटको लागि केन्द्रमा सिफारिस नगरेको हो । नयाँ शक्ति नुवाकोटका अनुसार कुईकेलकै ईच्छा अनुसार कुनै पनि तहको निर्वाचनमा निर्वतनमा संयोजक कुईकेलको नाम टिकटको लागि केन्द्रमा नपठाइएको हो ।
    काँग्रेसको तर्फबाट रामशरण महत र माओवादीबाट हितबहादुर तामाङको प्रतिस्पर्धा रहने नुवाकोट क्षेत्र नं. १ मा नयाँ शक्तिले चुडाबहादुर मोक्तानलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरेको छ । समाचार श्रोतका अनुसार नयाँ शक्ति नुवाकोटको झण्डै एक वर्ष संयोजक रहेका कृष्ण कुईकल फेरि काँग्रेसमै फर्कने तयारीमा जुट्नुभएको छ । अघिल्लो हप्ता भएको बाम एकताको विपक्षमा देखिनुभएका नयाँ शक्तिका निर्वतनमा संयोजक कृष्ण कुईकेल पुरानै पार्टीमा फर्कन लागेको र त्यसका लागि काँग्रेसको शिर्ष तहमा छलफल सुरु भएको बताइएको छ । 

Saturday, September 30, 2017

बिजय दशमी– २०१८ को तयारी

कवि कपिलदेव खनाल
कपिलदेव खनाल
यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

हरेक महिना लुगा किन्नेलाई
दसैंको के मज्जा  ?
घाम नपस्ने कोठामा गुजारा गर्ने
जमरा जस्ता पहेला शहरियाहरुलाई 
के सुहाउँथ्यो पहेलै जमरा शिरमा !

दक्षिणा कतारबाट आउँछ,
टिकाको चामल इण्डियाबाट आउछ,
अबिर चाइनाबाट आउछ ।
अनि हामी बनाउछौं टिका
दक्षिणको नयाँ नयाँ नोट
अनि मनाउछौं र भन्छौं बडादशैं २०७४

कतारको दक्षिणा
इण्डियाको चालमको टिका
चिनको अबिर र तासका पत्ता !


यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

मासु केरुङ्गबाटै आउनु पर्ने
पिङ्गको लठ्ठा चाइनाबाटै आउनु पर्ने
चङ्ग इण्डियाबाटै ल्याउनु पर्ने
टिका थाप्ने मान्छे कतार मलेसियाबाट आउने पर्ने
यस्तै हुने हो भने
अर्को सालको दसैं बिजया दशमी–२०१८ हुनेछ  ।
अहिले त जिनतिन हामी बिजया दशमी २०७४ भनिरहेछौं
तर यस्तै हुने हो भने
अर्को साल हामी बिजया दशमी–२०१८ मनाउने छौं ।

Wednesday, September 27, 2017

कविता दसैं

कपिलदेव खनाल

हजुरबा जमरा राख्नुहुन्थ्यो,
बाले खसी ल्याउनु हुन्थ्यो,
आमाले मकेरो खोज्नुहुन्थ्यो, लिपपोत गर्नुहुन्थ्यो
र पो,
उज्यालो, सेतो
मगमग कमेरो वास्ना आउने दसैं हुन्थ्यो ।

यो पाली, यो छोरो दसैं उराठ भन्दै बजारतिर गाएर हिड्छ,
बुहारीलाई भ्याइनभ्याई छ शहरतिरै ।

भखैरै स्थानीय तह चुनाव सकियो,
चुनावसंगै गाउँका सबै खसी बोका सकियो,
बा फोन गरेर भन्नुहुन्छ ः
बोइलरले कसरी दसैं मनाउनु
घर आउँदा
बट्टारबाट ८\१० किलो मासु पोको पारेर आईजो

म सोचिरहेछु ः
गाउँ जाने वित्तिकै मनाउने गरी
मलाई कस्ले ठिक्क पार्देला यो सालको दसैं !
(२०७४ असोज ६ गते बसिवियाँलो नुवाकोटद्धारा आयोजित दसैं विशेष कार्यक्रममा वाचन गरिएको रचना)

Monday, September 25, 2017

सात जनाको ज्यान गएपछि लाइसेन्स बनाउदै चालक

फाइल तस्बिर
कपिलदेव खनाल
विदुर । भदौ २४ गते सात जनाको ज्यान लिने गरी भएको बस दुर्घटनामा सम्लग्न बसका चालक अझै पनि फरार रहेका छन् । शिवपुरी गाउँपालिकाको गुरुङ्गगाउँमा भएको बस दुर्घटनामा परेको बसका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

दुर्घटना भएको दुई हप्ता वित्दा पनि चालक प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसधनी प्रहरीको सम्पर्कमा रहेपनि चालक अहिलेसम्म नआएको प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्ठले जानकारी दिनुभयो ।

      तर, चालकसंग सवारी चलाउने अनुमती पत्र नभएकोले प्रहरी सम्पर्कमा नआएको बुझिएको छ । सामान्य सवारी साधन मात्रै चलाउने लाइसेन्स भएको व्यक्तिले ठुलो बस चलाएको र सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ । ति चालक दुर्घटना भन्दा पहिलाको मितिमा लाइसेन्स बनाउनका लागि यातायात व्यवस्था विभागमा डुलिरहेको समाचारश्रोतले जानकारी दिएको छ ।

      चालकको को थिए भन्ने विवरण पनि प्रष्टसंग बिबरण बाहिर आएको छैन । तामाङ थरका एक जना चालकको नाम प्रहरीलाई दुर्घटना भएको दिन टिपाइएको थियो । काठमाडौंका विभिन्न चार अस्पतालमा ३५ जना घाइतेको उपचार हुँदा पनि उक्त बसको चालकको कतै पनि उपचार भएको पाइएको छैन ।

      समाचार श्रोतले दिएको जानकारी अनुसार ति चालक यातायात ब्यवस्था विभागमा भेटिने गरेका छन् । उनी आफ्नो पुरानो लाइसेन्समा ठुलो बस पनि चलाउने अनुमती रहेको विवरण थप गराउन लागि परेका हुन् । यो विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोट अनभिज्ञ देखिएको छ । सात जनाको ज्यान गएकोले चालक डराएर सम्पर्कमा नआएको भन्ने बुझेको र जसरी पनि उसलाई खोजेर ल्याउने प्रहरी नायव उपरिक्षक मधुकरजङ्ग विष्टले बताउनुभएको छ ।

      यस विषयमा प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले पनि आफुलाई कुनै जानकारी नरहेको बताउनुभएको छ । उहाँले चालक उपचारमा रहेको भन्ने विवरण आफुलाई रहेको र दुर्घटना भएको १५ दिनसम्म पनि किन प्रहरी नियन्त्रणमा आएन भन्ने विषयमा छानविन गर्ने बताउनुभएको छ ।  

स्थानीय चुनावमा गाउँको खसी बोका सकिएपछि दसैं प्रभावित नुवाकोटमा मनाङको च्याङ्ग्राा, मुल्य ३३ हजार

शर्मिला उप्रेती
विदुर । यो वर्ष रसुवागढी नाकाबाट दसैंको लागि ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा ठुले गिरावट भएको हो ।
तर, यसपालि नाका प्रवेश गरेको ५५ वटा च्याङ्ग्राा धुञ्चेसम्म पनि नआइपुगेको बताइएको छ । दसैंका लागि हरेक वर्ष रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात हुने गरेकोमा यो वर्ष मुस्ताङबाट जिल्ला ल्याएको पाइएको छ । स्थानीय ब्यापारिहरुले केही संख्यामा मुस्ताङ्गबाट ल्याएको भेडा च्याङ्ग्रा नुवाकोट आइपुगेको भएपनि असाध्यै महंगो रहेको बताइएको छ ।
वर्षेनी तिब्बतबाट आउने भेडा च्याङ्ग्राले धान्दै आएको मासुको माग अव स्थानीय स्तरमा खसी बोकाले धान्नुपर्ने भएको छ । तर, दसैंमा आवश्यक पर्ने मात्रामा नुवाकोटमा खसी बोका नभएको बुझिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका कारण गाउँघरमा प्रायः खसी बोका बैशाख÷जेठ महिनामै सकिएकोले अहिले नुवाकोटमा खसी बोकाको अभाव देखिएको छ । चुनाव पछि हुर्केका खसी बोकाको संख्या कम रहेको र कलिलो भएकोले नुवाकोटमा मासुको लागि काठमाडौं वा तराईबाट खसी बोका मगाउनु पर्ने अवस्थाको सृजना भएको छ ।
दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ । चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याङ्ग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीहरुले बताएका छन् ।
गत वर्ष करिब १३ हजार पर्ने भेडाच्याङ्ग्राको मुल्य यो वर्ष २३ हजार पुगेको ब्यापारीहरुले बताएका छन् । यो पालीको दसैंका लागि भेडा च्याङ्ग्रा लिन केरुङ्ग पुगेको नेपाली ब्यपाीहरु अधिकांश मुल्यका कारण त्यसै फर्किका छन् । पोहोरको भन्दा कम तौल देखिएको र एउटै भेडा च्याङ्गमा १० हजार मुल्य वृद्धि भएपछि रित्तै आएको ब्यपारीहरुले बताएका छन् । तिब्बतमा भेडा च्याङ्ग्राको भाउ बढ्नुका साथै भन्सार शुल्कमा पनि वृद्धि भएको छ ।
२०७० सालको दसैंमा उक्त नाकाबाट दुई सय दुई भेडाच्याङ्ग्रा नेपाल भित्रिएको थियो । २०७१ मा एक सय ८०, २०७३ मा दुई सय ५० ओटा भेडाच्याङ्ग्रा रसुवा भित्रिएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क रहेको छ । २०७० साल भन्दा अघि रसुवागढी नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा दसैंको लागि आयात हुने गरेको थियो । रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको भेडा च्याङ्ग्रा फुलपातीसम्ममा काठमाडौंसम्म पुग्ने गरेको थियो ।

दसैंमा उम्मेदवार टुङ्ग्याउने चटारो, ठुल दल आन्तरिक गृहकार्यमा

राजु रिमाल
विदुर । आगामी मंसिर १० गते हुने संघीय संसद तथा प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा मुख्य तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उम्मेदवार छान्ने आन्तरिक वैठकमा केन्द्रित भएका छन् ।
काँग्रेसले उम्मेदवारको नाम सिफारिसका लागि आइतवारबाट औपचारिक छलफल थालेको छ । पुरानो संरचना अनुसारको क्षेत्र नं. १ र ३ को संयुक्त बैठक बसेको खवर प्राप्त भएको छ । उम्मेदवारहरुको नाम सिफारिस नगरेपनि मोटामोटी रुपमा बैठकमा छलफल भएको बताइएको छ । दसैं अगाडी नै अर्को बैठक बस्ने सम्भावना रहेको र उक्त बैंकबाट उम्मेदवारको नाम सिफारिस हुने सम्भावना रहेको काँग्रेस क्षेत्र नं. ३ का सचिव विष्णु चालिसेले जानकारी दिनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र पनि उम्मेदवार छनोटको लागि छलफलमा जुटिरहेको छ । एमालेलाई प्रदेश र संघ दुवैको उम्मेदवारको टुङ्गो लगाउनु पर्ने भएको छ भने माओवादी केन्द्रले अब प्रदेश उम्मेदवारको विषयमा मात्रै छलफल केन्द्रित गर्ने छ । 
नेकपा (माओवादी केन्द्र) नुवाकोटले १ नम्बर निर्वाचन क्षेत्रमा केन्द्रिय सचिवालय सदस्य हितवहादुर तामाङ र २ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला संयोजक हिरानाथ खतिवडालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
नुवाकोटमा यस अगाडी ३ वटा निर्वाचन क्षेत्र रहेको थियो भने संघीय संरचना बनेपछि  २ वटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । माओवादी केन्द्रले जिल्ला इञ्चार्ज बिमला सुबेदीलाइ संघीय संसदका लागि समानुपातिक तर्फका उम्मेदवार बनाउने निर्णय गरको छ ।
संघीय संसदको निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस, एमाले र माओवादीमा बीचमा उम्मेदवार भित्री रुपमा टुंगो लागिसकेको छ । काँग्रेसवाट पूर्व अर्थमन्त्री रहेका डा. रामशरण महत यसपटक पनि २ नम्वर निर्वाचन क्षेत्रका अधिकांश क्षेत्र समेटिएर वनेको उक्त निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । त्यहा यसपटक पनि महतलाई माओवादी केन्द्रका हितवहादुर तामाङले टक्कर दिने भएका छन् । तामाङ महतसग यस अगाडी पनि दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका नेता हुन् । झिनो मतान्तरले मात्र पराजित हुदै आएका तामाङ यसपटक भने महतलाई पराजित गरेर दुई पटकको हारको बदला लिने तयारीमा देखिएका छन् । पछिल्लो पाली भएको निर्वाचन क्षेत्र पुन संरचनाका कारण डा. महत कमजोर र हितबहादुर तामाङ बलियो देखिएको अनुमान छ ।
एमालेले भने क्षेत्र नं. १ मा राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने भएको छ । लोहनी यस अगाडी को नुवाकोट क्षेत्र नम्वर १ बाट पुर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलाई पराजित गदै सांसद समेत बनिसेकका छन् । तर उहाँको सम्पूर्ण निर्वाचन क्षेत्र पनि त्यसमा नपर्ने र जनताका बीचमा लामो समयका वीचमा नभिजेका कारण उनलाई अप्ठायारो पर्ने देखिएको छ । नुवाकोटमा एमाले विगतको संसदिय निर्वाचनहरुमा कमजोर देखिएका कारण पनि लोहनीलाई निर्वाचन फलाम चपाउनु सहर हुने नुवाकोटमा चर्चा छ ।
१ नम्वर निर्वाचन क्षेत्रमा डा. प्रकशरण महतले पनि टिकट दावी गरिरहेका छन् । दाई महतलाई यसपटक समानुपातिकमा राखेर भएपनि आफुलाई टिकट दिए हुने भन्दै उनी टिकटका लागि लविङमा देखिन्छन् । तर पनि डा रामशरणका अगाडी उनको लविङको जोर नचल्ने काँग्रेस भित्रका जानकारहरु बताउँछन् ।
उता क्षेत्र नम्वर २ मा भने काँग्रेसभित्र विवाद देखिएको छ । एउटा क्षेत्रमा महतले टिकट पाएपछि अर्काे क्षेत्र केसीले पाउने काँग्रेस नुवाकोट भित्र चर्चा छ । तर त्यस क्षेत्रको टिकटका लागि सांसद समेत रहेका बहादुरसिंह लामा तामाङले पनि अडान लिईरहेपछि केसीलाई अप्ठायारो परेको छ । तामाङले अर्जुननरसिंह केसी समानुपातिकमा बसेर आफुलाई टिकट दिनुपर्ने वताईरहेका छन् ।
तामाङले जति दावी गरेपनि अर्के क्षेत्रमा महतले पाएपछि उक्त क्षेत्रमा अर्जुननरसिंह केसीले नै टिकट पाउने एक काँग्रेस नेताले अनुमान गरेका छन् । उक्त क्षेत्रमा माओवादी र एमालेका तर्फवाट भने करिव विवाद रहित उम्मेदवार छन् । एमालेले पूर्व सांसद समेत रहेका महेन्द्रवहादुर पाण्डेलाई २ नम्वर क्षेत्रवाट उठाउने भएको छ । त्यहा माओवादी केन्द्रले भने जिल्ला संयोजक हिरानाथ खतिवडालाई उठाउने भएको छ । जिल्ला इन्चार्ज समेत रहेका विमला सुवेदीले आफु समानुपातिकमा वस्ने बताएपछि खतिवडाका लागि टिकट मिलेको हो ।
माओवादीका खतिवडा पहिलो पटक निर्वाचनमा होमिएका छन् । विदुर नगरपालिका, वेल्कोटगढी नगरपालिका पनि उक्त निर्वाच्न क्षेत्रमा नै पर्ने भएकोले उत्तः क्षेत्रमा एमाले बलियो देखिएको छ । भर्खरै सम्पन्न स्थानिय तह चुनावमा एमालेले यी दुवै नगरपालिका जितेका कारण एमालेमा टिकटका लागि महेन्द्रबहादुर पाण्डेनै लालयित देखिएका हुन् ।
काँग्रेसभित्र आन्तरिक असन्तुलनको रहेकोले काँग्रेसलाई उक्त क्षेत्रमा कमजोर रहेको अनुमान गरिएको छ ।
यसै बीच, मुख्य ठुला तीन वटै दललाई प्रदेश सभाको उम्मेदवार कसलाई अघि सार्ने भन्ने समस्या देखिएको छ । लामो समय पछि हुन लागेको निर्वाचनका कारण सबै पार्टी पुराना कार्यकर्ताहरुको व्यवस्थापन जरुरी बनेको छ । जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्नेमा युवा पुस्तालाई अघि सार्नुृ पर्ने साझा माग भने सबै पार्टीमा देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा नै युवालाई टिकट लिनका लागि लविङ्ग सुरु भएको छ ।
काँग्रेस भित्र क्षेत्र नंं २ को २ मा महाधिवेशन प्रतिनिधि श्रीराम श्रेष्ठको चर्चा सुरु भएको छ । काँग्रेसले महासमिति, महाधिवेशन र जिल्ला कार्य समितिको पदाधिकारीहरुलाई टिकट लिनको लागि प्राथमिकतामा राखेपछि श्रेष्ठको चर्चा सुरु भएको हो । उनको क्षेत्रमा २ जना महाधिवेशन सदस्य र महासमिति सदस्य १ सदस्य रहेकोमा अन्य दुई जनाले उनलाई अगाडी सार्ने भएका छन् । क्षेत्र नं. २ को प्रदेश नंं १ मा श्रीराम श्रेष्ठको सम्भावना बलियो रहेको बताइएको छ ।
उता, माओवादी केन्द्रबाट सोही निर्वाचन क्षेत्रमा प्रदेश सभाका लागि नवराज ढुङ्गाना विश्वासको सम्भावना बलियो देखिएको छ । वाइसिएल केन्द्रिय सदस्य समेत रहेको पुराना माओवादी कार्यकता विश्वास प्रचण्डका निकट रहेका छन् ।
संघीय संसदका लागि करिव अनौपचारिक रुपमा तीन वटै दलले उम्मेदवारीको टुंगो नै लगाईसकेका छन् । तर उक्त नामलाई माओवादी केन्द्र बाहेकका दलले सार्वजनिक गरेको छैन । साथै, प्रदेश सभाका लागि भने तीन वटै दलामा आकांक्षी बढी रहेका कारण सबै दललाई उम्मेदवार टुंगो लगाउन मुश्किल पर्ने देखिएको छ ।
संघीय संसद र प्रदेश सभाको निर्वाचन एकै पटक हुने भएपछि संघीय संसदमा निर्वाचन लडन चाहने नेताहरुले प्रदेश सभामा आफु अनुकुल सहज हुने, पैसा खर्च गर्न सक्ने नेताहरुलाई टिकट दिलाउन लविङ गरिरहेका छन् । संघीय संसदका लागि यस अगाडी तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा अब दुई वटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

Sunday, September 24, 2017

खसी बजार मेलामा ३० लाख रुपैयाँको कारोवार, भेडाच्याङ्ग्राको शिर्षकमा बाहिर जाने रुपैयाँ गाउँमै रोक्न सहकारीहरुको संयुक्त अभियान

ईमेज समाचारदाता
तुप्चे । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा आयोजित बृहत्त खसी बजार तथा कृषि उपज मेलामा ३०लाख भन्दा बढी कारोकार भएको छ । मेलाबाटै १ सय ३० वटा खसी बोकाको बिक्रि भएको छ । लोकल कुखुरा, फर्सी, लगायतका कृषि जन्य सामाग्रीहरुको पनि विक्रि भएको छ । 
    फिकुरीका विष्णु देवकोटाले मेलामा मात्रै २० खसी विक्रि गर्नुभएको छ । पोहोरको भन्दा सस्तोमा खसी बोका विक्रि भएको भएपनि यो मेलाले आफुलाई उत्साही बनाएको उहाँले बताउनुभयो ।
दशैमा तिब्बतबाट आउने भेडा च्याङ्ग्राले नेपाली मुद्रा बाहिर लगेकोमा चिन्ता व्यक्त गर्दै तुप्चेका सहकारी संस्थाले बर्षेनी खसी मेलाको आयोजना गर्दै आएको छ । आयोजक संस्था मध्येको हाम्रो सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रिजालले योमेलालो कृषक र ग्राहक दुवैलाई फाईदा मिलेको र सरकारीले उनीहरुको बीचमा समन्वय मात्रै गराउन मेलाको आयोजना गरेको बताउनुभएको छ ।
यो पाली पनि तुप्चेमा रहेका तीन वटा सहकारी संस्थाहरुले खसी बजार मेला सञ्चालन गरेको हो । कृषि प्रधान मुलुकमा दसैंको लागि आवश्यक खसी बोकाको विकल्पमा चीनबाट आउने भेडा च्याङ्ग्रा रहेकोले तुप्चेका सहकारीहरुले पछिल्लो पाँच वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएका छन् । सोलेबजारमो आयोजना गरिएको वृहत्त खसी बजार तथा कृषि उपज मेलामा उल्लेख्य कृषक तथा उपभोक्ताहरुको सहभागीता रहेको थियो ।
    खसी बोका विक्रिको मेलासंगै किसानहरुले उत्पादन गरेका विभिन्न कृषिजन्य सामाग्रीहरुको समेत विक्रि भएका छन् । कृषिजन्य सामाग्रीहरुमा फर्सी, बेसार, लोकल कुखुरा लगायतको बिक्रि भएको थियो ।
    गाउँमै पालेको खसी समान मुल्यमा खरिद गरेर यो पालीको दसैंलाई सर्वसुलभ र भब्य बनाउन मेलाले सहयोग पुगेको आयोजकले जनाएको छ ।
ग्रामिण भेगमा उत्पादन भएको कृषि अनाज विक्रि तथा प्रर्दशनीको लागी बृहत्त खसी बजार तथा कृषि मेलामा राखिएको हो । आयोजक संस्थाले सामाग्री विक्रिको लागि राखिने स्टल निःशुल्क उपलब्ध गराएको थियो । खसी विक्रिका लागि आउने कृषकलाई सम्मान समेत गरेको हाम्रो सहकारी संस्थाका ब्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिनुभएको छ ।


आयोजकले यो पाली विक्रि गर्ने खसीको मुल्य समेत निर्धारण गरेको थियो । जस अनुसार २१ केजी देखि २५ केजीसम्मको खसीको प्रतिकेजी ४ सय रुपैया, २६ केजी देखि ३० केजीसम्मको खसीको प्रतिकेजी ४ सय २० रुपैयाँ मा बिक्रि भएको छ ।
यस्तै, ३१ केसी देखि ३५ केजीसम्मको खसीको प्रति केजी ४ सय ३०, ३६ केजी देखि ४० केजीसम्मको खसीको प्रति केजी ४ सय ४०, ४१ केजी भन्दा माथीको खसीको प्रतिकेजी ४ सय ५० रुपैयाँ र २० केजी भन्दा तलको खसी प्रतिकेजी ३ सय ८० रुपैयाँमा बिक्रि बितरण भएको आयोजक संस्था मध्येको साबिम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
आयोजक संस्थाले निर्धारण गरेको मुल्य अनुसार नै खसिबोका तथा कृषि अनाजहरुको बिक्रि बितरण भएको थियो । हाम्रो सहकारी संस्थाबाट ऋण लिएर खसी पालन गरेको कृषकहरुले विक्रि गर्न ल्याउने खसीको प्रतिकेजी थप पाँच रुपैयाँ सहकारीले कृषकलाई उपलब्ध गराएको छ ।
पोहोर साल सोही स्थानमा आयोजना भएको वृहत्त खसी बजारमा किसानहरुले सिधै उपभोक्तलाई छ लाख रुपैयाँको खसी बोका विक्रि गरेका थिए । तर यस बर्ष भने खसीबोकाको कारोबार ह्वात्तै बढेको हो । मुल्य निर्धारण सहित कृषकलाई विक्रिको लागि आउन आग्रह गरेकोले विक्रि भएको अनुमान गरिएको छ । साथै मेलामा ल्याएको कृषकको खसी बोका विक्रि नभएमा आयोजकले नै किनेर राख्ने जनाएपछि कृषकहरुले ठुलो संख्यामा खसी बोका आयोजना स्थलमा ल्याएका हुन् । पोहोर साल ६० वटा खसी विक्रि भएको थियो भने यस बर्ष १ सय ३० वटा खसीबोकाको बिक्रि भएको छ । त्यत्तिका संख्यामा खसी विक्रिका लागि ल्याउदा पनि ग्राहकको माग धान्न नसकेको आयोजकले बताएको छ ।
ढिला पुगेका कारण खसी बोका खरिद गर्न नपाएका उपभोक्तालाइ सम्पर्कमा रहन र भोली पनि कृषकसंग सम्पर्क गरेर खसी उपलब्ध गराउने आयोजकले आग्रह गरेको छ ।
दशैंको अवसरमा तुप्चेको सोलेबजारमा सम्पन्न भएको बृहत्त खसीबजार तथा कृषि उपज मेलाको आयोजना हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा गरेको हो ।
यस्तै अर्को साल यो मेलालाई व्यवस्थित गर्दै कृषकले विक्रिका लागि ल्याउने खसी, बोका, कुखुरा तथा अन्इ कृषि उत्पादनहरुलाई सहकारीले नै खरिद गर्ने र सोही मुल्यामा उपभोक्तालाई विक्रि गर्ने भएको छ ।


विवेकशिल साझा पार्टीले नुवाकोटबाट पनि उम्मेदवारी दिने

विदुर । विवेकशील साझा पार्टी नुवाकोटले अगुवा कार्यकर्ताहरुसित अन्र्तक्रिया गरेको छ । कार्यक्रममा विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य गोविन्द नारायण र दिनेश प्रसाईको उपस्थिति रहेको थियो ।     कार्यक्रममा बोल्नुहुँदै विवेकशीला साझा पार्टीका केन्द्रिय सदस्य गोविन्द नारायणले नेपाललाई खराव राजनीतिक संस्कारले बिगारेको र अवको नयाँ पुस्ता राजनीतिमा नउत्रिएसम्म देशले मुहार नफर्ने बताउनुभएको छ ।
    त्यस्तै अर्का केन्द्रिय सदस्य दिनेश प्रसाईले नयाा मात्रै बनेको र देश बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नुवाकोटमा पनि ठुला नेता मात्रै रहेको र नागरिकको अवस्था उस्तै रहेकोमा अचम्म मान्नुभयो । विकास निर्माण देखि धेरै कुरामा पछाडी रहेको नुवाकोटको सम्वृद्धिका लागि युवा पुस्ताको सक्रियता आबश्यक रहेको बताउनुभयो ।
    कार्यक्रमाम सहभागि अगुवा कार्यकर्ताहरुले नुवाकोटमा विवेकशील साझा पार्टीको विस्तारको लागि गर्न सकिने कार्यक्रमको विषयमा छलफल र समीक्षा गरेको अगुवा नेता विमल तामाङले बताउनुभएको छ । तराजु चिन्ह रहेको विवेकशील साझा पार्टीले आशन्न प्रदेश र संघिको निर्वाचनमा प्रत्यक्षमा उम्मेदवारी दिने पनि निर्णय गरेको छ । जिल्ला अधिवेशन र उम्मेदवारको विषयमा दसैं पछि छलफल गरिने दामोदर नेपालले जानकारी दिनुभएको छ । 

Friday, September 22, 2017

नुवाकोटबाट साहित्यमा नयाँ प्रयोग, रचना वाचन गर्नेलाई हातहातै पारिश्रमिक

विदुर, नुवाकोटबाट नयाँ साहित्यिक अभियानको सुरुवात भएको छ । बासिवियाँलो नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा साहित्यिक रचना वाचन गर्ने श्रष्टाहरुलाई पारिश्रमिक प्रदान गरेको छ । 
विजया दशमी २०७४ को शुभकाना आदान प्रदान र साहित्यिक रचना वाचन कार्यक्रम कविता, जगल वाचन गर्ने साहित्यकारहरुलाई एक सय एक रुपैयाँ प्रदान गरेको छ । कार्यक्रममा २४ जना नुवाकोटका श्रष्टाहरुले साहित्यिक रचना सुनाएका थिए । त्यस्तै अमेरिका, साउदी अरब र काठमाडौंमा रहेको नुवाकोटका श्रष्टाहरुसंग भिडियो कल गरेर प्रत्यक्ष रुपमा रचना सुनाइएको थियो ।
बसिबियाँलाको दोश्रो जमघट अन्र्तगत आउनुहोस्, सुन्नुहोस् सुनाउनुहोस् श्रृङ्खला अन्र्तगत एक सय १ कविता कार्यक्रममा २८ जना कविले आफ्ना रचना सुनाए ।
कार्यक्रममा विदेशमा रहनुभएका दुई जना र काठमाडौ.बाट उक जनाले फेसबुकको म्याजेन्सरमा भिडिओ कलबाट कविता वाचन गरेर सुनाएका थिए । साउदी अरवबाट लिखुका नवराज लामिछाने र अमेरिकाबाट पुरुषोत्तम ढकालले कविता वाचन गर्नुभएको हो । त्यस्तै काठमाडौंबाट लक्ष्मी रुम्वाले दसैंसंग सम्वन्धित कविता वाचन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहँदै प्मुख अतिथि साहित्यकार शम्भुप्रसाद शर्माले नुवाकोट जिल्ला अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि अब्बल रहेको र अवका दिनमा साहित्यिक गतिविधिलाई बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
त्यस्तै महामण्डल त्रैमासिक साहित्यकि पत्रिकाका सम्पदाक श्रीराम श्रेष्ठले साहित्यकारहरुलाई रचना वाचन वापत पारिश्रमिक दिने कार्य नयाँ रहेको र यो अभियानले सबैलाई उत्साहि पार्ने बताउनुभयो ।
कार्यक्रममा सभापति तथा बसिवियाँलो नुवाकोटका अभियन्ता हरिकृष्ण श्रेष्ठले साहित्यकारहरुको कदर गर्न र साहित्यलाई ब्यवसायिकता दिनको लागि यो अभियान थालेको बताउनुभएको छ ।
कार्यक्रममा रचना वाचन गर्नेहरुले बढी दसैं केन्द्रिय सृजना सुनाएका थिए । बाल्यकाल र युवाअवस्थामा हुने दसैंको फरकपनलाई बोध गराउने कविता पनि रहेको थियो । कतिपया कविहरुले कार्यक्रम स्थलमै कविता लेखेर सुनाए । कविता वाचन गर्ने श्रष्टाहरुमा बाबुराम लामिछाने, कपिलदेव खनाल, क्षितिज थापामगर, राजकुमार पुत्ला, मुकुन्दराज अर्याल, सुमित्रा सुमी। रामकृष्ण गजुरेल, शिवसुन्दर पुडासैनी, बद्रीविन्द गजुरेल, आशिक भट्ट, कविन्द्र घिमिरे, अमंग शाक्य, कृष्णचन्द्रसिंह प्रधान, तिर्थराज खनाल, राधव सापकोटा, श्रयिा रिमाल, सोविन रिमाल, लोकबहादुर पुडासैनी, काजी खान, श्रीधर पाण्डे र विष्णुहरिरिमालले रचना वाचन गरे । 
कार्यक्रmमा मुस्लिम धर्मालम्वीले समेत कविता वाचन गर्दै हिन्दुहरुको ठुलो चाड दसैंको शुभकामना व्यक्त गरेका थिए ।

Thursday, September 21, 2017

करोडौ लगानीमा पोल्ट्री फर्म सञ्चालन

ककनी । नुवाकोटको ककनी गाउँपालिका वडा नंं ५ भोट थानसिंगका कृष्णबहादुर लामा र मजुवाका कृषक धनराज लामाले व्यवसायीक रुपमा कुखुरा पालन गरेको १० वर्ष भएको छ । बजारमा मासुको माग बढ्दै गएपछि उहाँले थाल्नुभएको बोइलर कुखुरा पालनले स्थानीय बजारमा मासुको मागलाई पुर्ती गर्नथाल्यो । कृष्णबहादुर लामाले बुद्ध कृषि फर्म र धनराज लामाले धनराज कृषि फर्म १० वर्षदेखि सञ्चालनमा ल्याउनुभएको छ ।
यो संगै उहाँहरुले नेपाल सरकारसंगको सहकार्यमा यो सालबाट उप आयोजना सञ्चालन गर्नुभएको छ । एक करोड रुपैयाँ भन्दा बढी लागतमा तयार भएको पोल्ट्रि फर्मले उपभोक्ताको स्वास्थ्यका लागि समेत चेतनामुलक कार्य गर्ने भएको छ ।
ककनी गाउँपालिका वडा नं. ५ भोट थानसिंगमा रहेको बुद्ध कृषि फर्म र मझुवामा रहेको धनराज पोल्ट्री फर्मले पोल्ट्री, कृषि विकास मन्त्रालय ब्यवसायीक कृषि तथा ब्यापार आयोजनाको संयुक्त लगानीमा ब्यवसायीक कुखुरा उत्पादन तथा बजारीकरण उप आयोजना सञ्चालन गरेको हो ।
एक करोड २१ लाख रुपैयाँको लागतको उप आयोजना दुवै पोल्ट्री फर्मले छुट्टाछुट्टै सञ्चालन गरेको छ । जसमा ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाबाट दुवै फर्मलाई ३४ लाख ८१ हजार रुपैयाँ लगानी भएको छ । बाँकी रकम पोल्ट्री फर्मले लगानी गरको बुद्ध पोल्ट्री फर्मका सञ्चालक धनराज लामालेकृष्णबहादुर लामाले बताउनुभयो ।
आयोजना सञ्चालनमा आएसंगै बुद्ध र धनराज पोल्ट्री र्फमले तीन÷तीन वटा ठूला कुखुराको खोर निर्माण गरेको छ । उक्त खोरमा बुद्ध पोल्ट्री फर्मले १० हजार र धनराज पोल्ट्री फर्मले पनि १० हजार कुखुरा पालिने बताइएको छ । कुखुराको लागि आवश्यक दाना भण्डारणको लागि समेत छुट्टै घर तयार भएको छ । बुद्ध पोल्ट्री फर्मले बार्षिक साढे दुई लाख किलो मासु उत्पादन गर्ने प्राविधिकहरुले बताएका छन् । सोही परिणाममा धनराज पोल्ट्री फर्मले पनि मासु उत्पादन गर्ने बताइएको छ ।
उन्नतजातका कुखुरा पालन र बढी मासु उत्पादनका लागि आवश्यक पर्ने यन्त्रहरु पनि खरिद गर्ने पोल्ट्री फर्म सञ्चालक धनराज लामाले बताउनुभएको छ । बुद्ध पोल्ट्री फर्म र धनराज पोल्ट्री फर्मले कुखुरा पालन मात्रै नभई उपभोक्ताहरुको स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरालाई समेटेर वृत्तचित्र समेत तयार गरेर प्रर्दशन गर्ने बताइएको छ । साथै मासु प्रयोग, कुखुरा पालनको विषयमा समेत उप आयोजना अन्र्तगत बार्षिक रुपमा सार्वजनिक सुनुवाई गर्ने धनराज पोल्ट्री फर्मका सञ्चालक धनराज लामाले बताउनुभएको छ ।  

Monday, September 18, 2017

न्यायाधीशको प्रस्ताव ‘पेण्डुलम’

कपिलदेव खनाल
न्याय क्षेत्र समन्वय समिति नुवाकोटले भदौ ३०, २०७४ मा जिल्ला अदालत नुवाकोटमा राखेको बैठकमा तीन वटा अर्धन्यायिक निकायका प्रमुख नै उपस्थित भएनन् ।
    बैठकमा प्रमुख जिल्ला अधिकारी, मालपोत अधिकृत र जिल्ला वन अधिकृत नगएर प्रतिनिधि पठाए । बैठकमा जिल्ला अदालतका न्यायाधीश लोकजङ्ग शाह, श्रेष्तेद्धार महिमानसिंह विष्ट, नुवाकोट प्रहरीका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रकुमार बस्याल, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित र नुवाकोट वारका अध्यक्ष देवराज कँडेल उपस्थित थिए ।
    जिल्ला प्रशासन कार्यालयको तर्फबाट शाखा अधिकृत नन्दलाल शर्मा र जिल्ला मालपोत कार्यालयका तर्फबाट सुब्बा रामेश्वर धिमाल र जिल्ला वन कार्यालय बाट सहायक वन अधिकृत राजकुमार यादव सहभागी भए । प्रमुख जिल्ला अधिकारी बराल र मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठले ‘कार्य ब्यस्तता’ देखाएर बैठकलाई महत्व दिएनन् । वन अधिकृत पदमराज नेपाल शुक्रवार काठमाडौं रहेकोले बैठकमा अनुपस्थित रहे ।
    बैठकका लागि ७ वटा प्रस्ताव राखिएको भएपनि यस इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशित ‘अदालतले कानून मानेन’ शिर्षकको समाचारको विषय छलफल केन्द्रित गर्ने प्रयास गरिएको थियो । तर, समाचारले उठाएको विषयवस्तुसंग सरोकार राख्ने दुई वटा कार्यालयका प्रमुखले नै महत्व नदिएपछि प्रस्तावमाथी गतिलो छलफल हुनै पाएन । बैठकमा सहभागिका अनुसार न्यायाधीश शाहबाट प्रमुख जिल्ला अधिकारी उपस्थित हुनै पर्ने भन्दै केही बेर बैठकलाई अड्काए ।
    प्रमुख जिल्ला अधिकारीले प्रतिनिधि तोकेर पठाएपनि ‘प्रमुख जिल्ला अधिकारी नै चाहिने’ भन्दै न्यायाधीशले फोन गर्न लगाए । प्रशासनका शाखा अधिकृत शर्माले आफुले १५ पटक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा नउठेको जवाफ दिए । न्यायाधीशले १६ औं पटक पनि फोन गर्न उनलाई आग्रह गरेका थिए । त्यसबेला प्रजिअ बराल नयाँ शक्ति नुवाकोटले विदेशमा रहेकाले मतदान गर्न पाउने माग गर्दै ल्याएको ज्ञापन पत्र बुझेर बसिरहेका थिए ।

उता, जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख बुद्धिलाल श्रेष्ठ पनि कार्यालयमै थिए । लालपुर्जामा सही गरेर बसीरहेका उनीले पनि ५५ मिटर पर अदालतमा चलिरहेको बैठकमा ‘जानै भ्याएनन्’ ।
    प्रमुख जिल्ला अधिकारीे र मालपोत प्रमुख बैठकमा सहभागि नभएपनि सुरु भएको वैठकमा बारका अध्यक्षले आफ्नो धारणा राखी बाहिरिए । बैठकमा रहेका सदस्य पनि हिड्ने र जिम्मेवार ब्यक्तिनै बैठकमा सहभागि नहुने भएपछि अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले प्रस्ताव सुनाएका थिए । ७ वटा प्रस्ताव मध्ये सातौं नम्वरमा ‘अदालतको नाममा दर्ता हुुपर्नेे जग्गाको पत्रिकाबाजी’ को विषय थियो । उक्त सूचना कसरी बाहिर गयो र समाचार बन्यो भन्ने विषयमा छलफल गर्न प्रस्ताव राखिएको थियो ।
    प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखले अदालतलाई नटेरेको रेडिमेड धारणा सहित बसेका जिल्ला न्यायाधीश ‘आक्रोश पोख्ने मुडमा’ देखिएपनि प्रमुख जिल्ला अधिकारी र मालपोत प्रमुख नआएपछि प्रस्ताव पेण्डुलम भएको ति सहभागि सदस्यले बताए । 
    त्यस्तै, आफ्नो नियममित र कार्यक्षेत्र भित्रै रहेको अर्धन्यायिक निकायको अनुगमन गर्न पाउने कार्यलाई पनि जिल्ला न्यायाधीशले प्रस्तावका रुपमा बैठकमा राखे । छटौं नम्वरमा रहेको अर्धन्यायिक निकायको कामको छड्के जाँच गर्ने र आकस्मिक अनुगमन गर्ने प्रस्ताव पनि सुनाउने काम मात्रै भएको श्रोतको दावी छ । उक्त निर्णय गराउने भन्दा पनि प्रमुख जिल्ला अधिकारी र मालपोतका निमित्त प्रमुखलाई सुनाएर मनोबैज्ञानिक दवाब सृजना गर्ने र जग्गा अदालतको नाममा दर्ता गराउने मनोविज्ञान न्यायाधीशको रहेको बताइएको छ ।
    ‘पाँच वटा प्रस्तावहरू सामान्य र अघिल्लो पटक नै बैठकबाट निर्णय भइसकेको विषयलाई फेरि प्रस्ताव बनाएर ल्याइएको थियो, श्रोत भन्छ – ‘अन्य प्रस्ताव बाहाना थिए, प्राथमिकता र केन्द्रित चााही अघिल्लो हप्ताको समाचार नै थियो ।’ 
    बैठकमा सहभागि अर्का एकले न्यायाधीश र श्रेस्तेदारले गर्ने कार्य र व्यवहारको विषयमा नागरिक जानकार हुन नहुने र पत्रकारले चासो राख्न र लेख्न नपाउने तानाशाह शैलीको बाटोमा हिडेको टिप्पणी गरे । यी सबै बिषयलाई उनीहरू अदालतको अपहेलनाको ‘भुत’ देखाएर तर्साउने कोशिषमा रहेको  उनको भनाई छ । ‘सूचना बाहिरिएको विषयलाई बैठकको प्रस्ताव बनाएर नागरिकको सूचनाको हक संकुचित गर्ने मनशायमा न्यायाधीश देखियो’ उनले भने । 

किन गएनन् सिडिओ, मालपोत र बन अधिकृत ?
न्यायाधीशको ‘इन्ट्रेष्ट’मा शुक्रवार बसेको न्याय क्षेत्र समन्वय समितिको बैठकको जानकारी प्रमुख जिल्ला अधिकारी जगदीशराज बराललाई बुधवार नै थियो । लिखित रुपमा पत्र प्राप्त हुँदा पनि उनले बैठकमा सहभागि हुने रुची पटक्कै नदेखाएको प्रशासनको एक कर्मचारीले बताए ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता रही जिल्ला अदालतको आवसीय भोग चलनमा रहेको जग्गा आफ्नो नाममा नामसारी गरिदिन जिल्ला अदालतले मालपोत कार्यालयलाई कानून विपरित दवाव दिएपछि प्रमुख जिल्ला अधिकारी जिल्ला न्यायाधीश लोकजङ्ग शाह र श्रेष्तेदार महिमानसिंह विष्टसंग नकारात्मक बनेको कर्मचारीहरू बताउछन् । यही बारेमा अदालत र जिल्ला प्रशासन कार्यालयको पत्र गृह मन्त्रालयसम्म आउने जाने क्रम सुरु भएको छ ।
    पटक पटक मालपोतलाई जग्गा दर्ता गर्न लिखित र मौखिक दवाव दिएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले यो विषयलाई लिएर गृह मन्त्रालयसंग समेत परामर्श थालेको छ । श्रेष्तेदार विष्टले टिप्पणी उठाउने र जिल्ला न्यायाधीशले सोही टिप्पणी माथी फैसला गर्दै प्रशासनको जग्गा अदालतको नाममा गर्न निर्देशन दिएपछि प्रजिअ ‘अदालतले कानून अवलम्वन नगरेको’ भन्दै विपक्षमा उभिएका छन् । उनीलाई अदातलका श्रेस्तेदार महिमानसिंह विष्टले यो विषयमा भेटेरै जग्गा अदालतको नाममा नभए ‘अपहेलनामा कारबाही गर्ने’ भनेर धम्क्याएका छन् ।
    अदालतको अपहेलनालाई अगाडी सारेर त्रास सृजना गर्ने र अबैध रुपमा जग्गा कब्जा गर्ने रणनीतिमा लागेको जिल्ला न्यायाधीश र श्रेष्तेदारबाट न्याय नहुने भन्दै प्रजिअ जगदीशराज बराल बैठकमा सहभागि भएनन् । समाचार श्रोतका अनुसार शुक्रवारको बैठकमा न्यायाधीश लोकजङ्ग शाह जग्गा लिइ छाड्ने ढङ्गबाट उत्रने र आफु प्रक्रृया भन्दा बाहिरबाट जग्गा दिन नचाहने भएकोले सम्भावित चर्काचर्कीको अनुमान गर्दै बराल बैठकमा अनुपस्थित भएको अनुमान छ । मालपोत निमित्त प्रमुख बुद्धि लाल श्रेष्ठले पनि बैठकमा नजाने विषयमा केही व्यक्तिसित परामर्श गरेको बुझिएको छ । बैठकमा सहभागि हुँदै जग्गा दर्ता नगरेको विषयमा सिधै न्यायाधीशको हप्की खानु पर्ने भएकोले उनले प्रतिनिधि पठाउने उपाय निकालेका हुन् ।
    उनलाई प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागि नहुने जानकारी अनौपचारिक रुपमा थियो । प्रमुख जिल्ला अधिकारी समेत बैठकमा नजाने भएपछि उनलाई प्रशस्त बल मिलेको थियो । जग्गाको विषयमा निमित्त प्रमुख श्रेष्ठ पेलिएका छन् ।
    प्रशासनले पत्रचार गरेर फिल्डबुकमा आफ्नो नाममा दर्ता रहेको उक्त जग्गाको पुर्जा आफ्नो नाममा मागिरहेको छ । जिल्ला अदालतले २०२८ सालदेखि आफ्ना कर्मचारीले भोगचलन गर्दै आएकोले अदालतकै नाममा पुर्जा बनाउन निर्देशन दिएको छ ।
    यो विषयमा निर्णय लिन नसकेपछि मालपोतका निमित्त प्रमुखले यसको फाईल विभागमा पठाएका छन् । तर, अदालतको आदेश पालना नगरेको भन्दै निमित्त प्रमुख श्रेष्ठलाई अपहेलनामा कारबाही गर्ने र जागिरबाटै हटाउन प्रक्रृया थालिने भनेर अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले मौखिक रुपमै धम्याएका छन् । 
    प्रमुख जिल्ला अधिकारी बराल जस्तै निमित्त प्रमुख श्रेष्ठ पनि अदालतले प्रक्रिया भन्दा बाहिरबाट जग्गा हडप्न खोजेको र मानासिक रुपमा तनाव दिएको बताउँछन् ।
(श्रेष्ठलाई धिम्किदिएको बारेमा इमेज साप्ताहिकको अघिल्लो अंकमा प्रकाशन भएको छ ।)

न्यायाधीश सिडिओ सम्बन्ध
जिल्ला न्यायाधीश लोकजङ्ग शाह र प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको सम्बन्ध चिसिएको छ । औपचारिकताका लागि सामान्य बोलचालमा रहेको उनीहरू एकअर्कालाई आमनेसामने देख्न रुचाउदैनन् । दुई बीचको चिसो सम्वन्ध सार्वजनिक रुपमै देख्न थालिएको छ । अदालत र प्रशासनबीच अहिले मौखिम संवाद भन्दा पत्र संवाद गहिरो छ  । न्यायाधीश र प्रजिअ साउन ४, २०७४ यता मौखिक भन्दा पत्रबाट बढी बोलिचाली गर्दै आएका छन् ।
    जगदीशराज बराल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न नुवाकोट आएको आज सोमवार १०० दिन भएको छ । त्यस्तै जिल्ला न्यायाधीश लोकजङ्ग शाह नुवाकोट आएको सात महिना भएको छ । न्यायाधीश शाह यस अघि २०६५ सालमा सरकारी वकिलको कार्यालय नुवाकोटमा सरकारी वकिलको पदमा कार्यरत थिए । उनी ८ महिना पछि  २०६६ को सुरुको समयमै नुवाकोटबाट न्यायाधीश पदमा बढुवा भई बर्दिया जिल्लामा सरुवा भएका थिए । 
    भदौ १९, २०७४ मा जिल्ला अदालत नुवाकोटको भवन शिलान्यस समारोहमा न्यायाधीश शाहले प्रजिअ बराललाई ‘इग्नोर’ गरे । प्रधानन्यायाधीश गोपाल पराजुली सहभागि गरिमामय सभामा स्वागत मन्तब्य दिन उभिएका न्यायाधीशले सामान्य कर्मचारीलाई समेत सम्वोधन गरे,
 तर प्रमुख जिल्ला अधिकारी बराललाई गरेनन् । आफ्नो मन्तब्य टुङ्याएर प्रजिअको नाम छुटेकोमा न्यायाधीशले माफी माग्दा हल हाँसोले गुञ्जियो ।
    सोही कार्यक्रममा नुवाकोट वारका कुनै पनि पदाधिकारी उपस्थित भएनन् । उक्त भब्य कार्यक्रममा बारको पदाधिकारी सहभागी नहुनुले बार–बेञ्चको दुरी बढ्दै गएको शंकेत गरेको छ । अपमानको महसुस गरेका प्रमुख जिल्ला अधिकारी बराल कार्यक्रम पछि एक्लैजस्तो बसेका थिए । कार्यक्रममा सम्वोधन छुटेको विषयमा र कार्यक्रमको विषयमा न्यायाधीश र प्रमुख जिल्ला अधिकारी बीच पछि सामान्य भलाकुसारी पनि भएन । प्रमुख जिल्ला अधिकारी बराल प्रधानन्यायाधीश गोपाल पराजुलीका स्वकिय सचिव रामप्रसाद पौडेलसंग छुट्टै टेबुलमा बसेर खाजा खाए र होटलबाट बाहिरिए ।
    त्यसको तीन दिन पछि भदौ २२ गते बिदुरमा आयोजित निजामती कर्मचारी दिवसमा विशेष अतिथिको आसनमा रहेका न्यायाधीशलाई ‘कम्फर्ट’ देखिएको थिएन । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मन्तब्य राख्ने क्रममा न्यायाधीश शाहले उक्त कार्यक्रममा विशेष अतिथिको भुमिकामा राखिएको प्रति पटक पटक आयोजकलाई विशेष आभार सहित धन्यवाद दिए । कार्यक्रमा सहभागि निजमती कर्मचारीहरूका अनुसार न्यायाधीशलाई विशेष अतिथि बनाइएकोमा भित्री पिडा थियो ।
    उक्त कार्यक्रमको सभापति प्रमुख जिल्ला अधिकारी बरालनै थिए । सो कार्यक्रममा बोल्नेका लागि माइक र स्पिकर नराखिएको प्रति पनि न्यायाधीश शाहले आयोजकलाई ब्यङ्ग्य गरेका थिए ।   

आजबाट महोत्सव सुरु

त्रिशुली, नेपालीहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्सव–२०७४’को तयारी तिब्र बनाएको छ । महोत्सवको उद्घाटन आज सोमवार भब्य समारोहका बीच त्रिशुली स्कुलको खेल मैदानमा हुनेछ ।
    ‘विबिध सास्कृति मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको आज सोमवारदेखि ११ गतेसम्म  सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्वस–२०७४’को आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि एक सय २५ वटा स्टल निर्माण भएको छ । 
    महोत्सवको स्टलमा दशैको लागि आवश्यक सबै खाद्य सामाग्री राख्ने व्यवस्था आयोजकले मिलाएको छ । मेलामा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी, चामल, ग्याँस लगायतका सामाग्री राख्ने बताइएको छ । मेलामा राखेको ग्याँसको मूल्य अहिले बजारमा तिर्नुपर्ने मूल्य भन्दा केहि सस्तो हुने आयोजक समितिका संयोजक शिब खड्गेले बताउनु भयो । 
    यस्तै, महोत्सवमा सहभागिहरूलाई चर्चित हास्य कलाकार, लोक गायक, आधुनिक तथा पप गायकहरूले पनि भरपूर मनोरञ्जन दिने महोसत्व आयोजक समितिका सल्लाहाकार नबिन्द्रमान प्रधानले बताउनु भयो । 
    महोत्सवमा स्थानीय सिपकला, चित्रकला, बास्तुकलाका सामाग्रीहरू, लत्ताकपडा, खाद्यान्न सामाग्रीको सहज उपलब्धता मिलाउन आयोजकले उपसमिति गठन गरेर काम अगाडी बढाएको छ । 
    दोश्रो नुवाकोट दशैं महोत्वसमा नुवाकोट र रसुवाका नागरिकहरूलाई दशै र तिहार पर्वको लागि एकै स्थानबाट आवश्यक सामाग्रीहरूको सहज उपलब्धता गराउने लक्ष्य रहेकाले दशैको किनमेलको लागि उपयुक्त स्थानको रुपमा महोत्सव आयोजना गरिएको स्थलान त्रिशुली स्थित त्रिभुवन त्रिशुली माबिको खेल मैदानमा करीब ५० हजार अवलोकनकर्तालाई भित्र्याउने आयोजकले बतायो ।
    चाडपर्वलाई लक्षित गरी आवश्यक सबै प्रकारको सामाग्रि राखेर सञ्चालन गर्न लागिएको महोत्वसले सस्तो र सुलभ बजार तथा चाडपर्वको समयमा हुँदै आएको कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने महोत्वस आयोजक त्रिशुली युथ स्पोर्टस् क्लबका अध्यक्ष शिव खड्गेले जानकारी दिनुभएको छ ।
    महोत्सब स्थलसम्म जानको लागि सार्वजनिक यातायातका साधनको समेत व्यवस्था मिलाइ सकेको आयोजकले जनाएको छ । चाडपर्वको समयमा बजारमा आएका नयाँ उत्पादित लत्ता कपडा, विद्युतीय, खाद्यान्न समाग्रिको समेत स्टलहरूमा राख्ने आयोजकले जनाएको छ ।
    महोत्सवमा शिखरवेशीको चामल, ककनीको मुला, जिल्लाको विभिन्न गाँउमा उत्पादन हुदै आएको ट्राउट माछा, राख्ने आयोजकले जनाएको छ ।

विश्व किर्तिमानको तयारी

विदुर, नुवाकोटको एक व्यक्ति ८४ घण्टासम्म लगातार प्रवचन दिएर विश्व किर्तिमान कायम गर्ने तयारीमा रहेका छन् ।
    शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुका ४५ वर्षिया अनन्तराम केसीले वल्र्ड रेकर्ड तोड्नका लागि आफ्नो कार्यक्रम राख्नुभएको छ । उहाँले असोज १९ गतेबाट काठमाडौंको टेक्सास इन्टरनेशनल कलेज चावहिलमा गिनिज वल्र्ड रेकर्डका लागि आधिकारीक व्यक्तिहरूको उपस्थितिमा प्रवचन दिनुहुने छ ।
    योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न लाग्नु भएको हो ।
    यस अघि भारतका एक व्यक्तिले यही विधामा ७५ घण्टा ३२ मिनेट प्रवचन दिएर विश्व किर्तिमान काय गरेका थिए । उनको यो रेकर्डलाई फराकिलो समय अन्तरले तोड्नका लागि नुवाकोटका अनन्तराम केसी लाग्नुभएको हो ।
    गिनिज बुकमा वल्र्ड रेकर्ड कायम गराएर नाम लेखाउनका लगि उहाँले काठमाडौंमा आयोजना गर्नुभएको उक्त समारोहका लागि झण्डै २३ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

शहरी खानेपानी आयोजनामा अनियमितता

विदुर, विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना मार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको पाइएको छ ।
    प्रयोग गर्नु पर्ने भन्दा कम गुणसतर र कम क्षमताको पाइप राखेको उपभोक्ताले पत्ता लगाएपछि अहिले केठेदार कम्पनीले उक्त पाइप रातारात फेरेको छ । तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ताले बताएका छन् ।
    ठकेदेरालाई यो विषयमा जानकारी गराउदा पनि जवर्जस्ती पाइप पुरको थियो । तीन दीन अघि प्राविधिक सहित उपभोक्ताहरूले पाइपको गुणस्तर र सम्झौतामा भएको शर्त जाँच गर्दा बसमासी गरेको पाइएको हो ।
    स्थानीय मानबहादुर डंगोलका अनुसार काममा बदमासी भएको प्रमाणित भएपनि ठकेकेदार कम्पनीले पाइप रातारात बदलेर फेरि पुरेको छ । यो घटनासंगै विदुर नगरपालिका भित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजना अनियमितता भईरहेको कुरा बाहिर आएको छ ।
    करिब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन उक्त आयोजनामा अनियमितताको विवाद भएपछि केही दिन काम प्रभावित भएको थियो । आयोजना अन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका थिए ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तार अन्तर्गत विदुर नगरपालिका–५ पीपलटार सहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै उपभोक्ताले विरोध जनाएका हुन् ।
    तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना मार्फत ठेकेदार कम्पनी टुण्डीले गरिरहेको निर्माण कार्य पारदर्शिता नभएको र सञ्चालन कार्यक्रम बारे उपभोक्तालाई नै जानकारी नभएको एक जना स्थानीय उपभोक्ताले बताएका छन् । विदुर नगरपालिकाका विभिन्न वडाका करिब ५८ सय घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्य सहित भइरहेको काम उपभोक्ताको सहमति अनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ ।
    निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमति अनुसार काम नभएको प्रमाण सहितको गुनासो आएकाले बताउनुभएको छ । उहाँले आफुले हेर्दा पनि कम क्षमताको पाइप हालेको पाइएकोले छानबिन गर्नुपर्नेमा जोडदिनुभयो ।
    यसरी एक ठाउामा अनियमितिा भेटिएपछि उक्त कम्पनीले अन्य स्थापनमा पुरेको पाईपको क्षमता माथी पनि उपभोक्ताहरूले शंका गरेका छन् । तल्लो पिपल्टारमा पानकिो पाइपको विषयमा राम्रो जानकारी रहेको एक उपभोक्ताको घर अगाडी पर्दै गरेको पाइप उनले हेरेपछि यो रहस्य बाहिर आएको हो । ति उपभोक्ताले कम क्षमताको पाइप नहाल्न आग्रह गर्दा पनि नमाने पछि स्थानीयहरूले दुई दिनसम्म काम रोक्न लगाएर प्राविधिक झिकाउनु परेको थियो । 
एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ ।
    ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले यो आयोजना र सडक विस्तारको आयोजनाको नाममा त्रिशुली र तादी खोलाबाट ढुङ्गा बालुवा अवैध रुपमा निकासी गर्दै आएको समेत स्थानीयहरूले बताएका छन् । सडक र खानेपानी आयोजनाको नाममा खोलामा थुपारेको सामाग्री विक्रिमा पठाएको र त्यो काम भन्दा बाहिर प्रयोग गरेको स्थानीयहरूले देखेका छन् । 

नदी तस्करीमा बृद्धि, रोक्ने कोहि भएनन्

विदुर÷नुवाकोटको त्रिशुली, तादी र लिखु नदीमा अवैध रुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन् नरोकिदा नदी आसपासका एकहजार रोपनी खेतियोग्य जमिन कटान हुनुका साथै पांच सय घरधुरी जोखिममा परेका छन् ।
    नुवाकोटको त्रिशूली,  तादी, सामरी र लिखु खोलासहित अन्य खानीबाट मापदण्ड विपरित रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन, चोरी र कालोवजारी  बढेको स्थानीयवासी हरूले बताएका छन् ।
    अवैध क्रसरलाई कारवाहीको माग गर्दै  विदुर नगरपालिका वडा नं. ५ माझीटार, पिपलटार र वेलकोटगढी नपा वडा नं. १२ मालाकोट घोडघाडका स्थानीयले जिल्ला समन्वय समितिको कार्यालयमा अबैध कार्य रोक्नका लागि उजुरी दिएपनि कुनै सुनुवाई नभएको स्थानियहरूले बताएका छन् ।
    जिल्ला समन्वय समिति नुवाकोटले असार, साउन र भदौ महिनामा नदीमा कुनै पनि उपकरण प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन वन्द गरेको छ । तर, त्यसको उल्लंघन भइरहेको छ ।
    नदीमा रातीको समयमा नदीमा अवैध रुपमा स्काभेटरको प्रयोग गरेर वालुवालगायतका सामग्रीको अवैध उत्खनन् भइरहेको वेलकोटगढी नपा वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालले बताउनुभयो । नुवाकोटका नदीहरूमा रातको समयमा ११ वजेदेखि विहान चार बजेसम्म अवैध रुपमा एकसय भन्दा बढी स्काभेटरले वालुवा झिक्ने गरेको स्थानीय वताउँछन् ।
    त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीमा जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ कानुन अनुसार उत्खनन् गर्न पाइने गरी ठेक्का लगाएको भएपनि रातको समयमा नदीबाट एक्साभेटरको प्रयोग गरी उत्खनन् भइरहेको विदुर नगरपालीकाका प्रमुख सन्जु पण्डितले वताउनुभयो ।  त्रिशूली  खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिङ, चौघडामा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेकोमा स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वय गरि रोक्नु पर्ने बताउनु भयो ।
    विभिन्न खोला नालाबाट दैनिक नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन भने मौन रहदै आएको छ । केहि समय अगाडी नदी उत्खनन् भएको र क्रसर ब्यबसायीहरूले निर्माण जन्य सामाग्रीहरूमा अत्याधिक  भाउ बढाएको भन्दै नियन्त्रण र मुल्य निर्धारण गर्नको लागी समिति समेत बनेको थियो । समितिले नुवाकोटमा निर्माण जन्य सामाग्रीहरूको मुल्य निर्धारण गरेता पनी नागरिकह्रूले भने अत्याधिक दरभाउ तिर्न बाध्य भएका छन् । 
    प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।  प्रहरीले कारवाहीका नाममा वालुवा वोकेका केहि ट्रिपर र स्काभेटरलाई नियन्त्रणमा लिएर धेरै ट्रिपरलाई उन्मुक्ति दिँदै आएको जनप्रतिनिधिको भनाई 
रहेको छ ।
    तर, अवैध कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । अबैध नदी उत्खनन् हुन नदीनको लागी सम्भाबित स्थान वरपर रातको समयमा पनी प्रहरी परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।