Monday, November 11, 2019

दुई हजार बढी सवारी साधन कारबाही

उषा रेग्मी
विदुर/नेपालीहरूको महान पर्वहरू बडादशै देखि तिहारहुँदै छठसम्मको अबधिमा नुवाकोटमा दुई हजार भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् भने दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको अनुसार दशैको फुलपातीदेखि अहिलेसम्मको अवधिमा दुई हजार सवारी साधन कारबाही गर्दै १६ लाख ९६ हजार रुपैया राजश्व संकलन भएको छ ।
पर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत गरिएको चेकजाँचका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, चालक अनुमति पत्र नभई गाडी चलाएको लगायतका कुसरमा चालकहरू कारबाहीमा परेका छन् । जसमा ५२२ वटा ट्रक, ३७८ वटा जीप तथा कार, २०९ वटा मोटरसाईकल, १५३ वटा बस, ४५ वटा ट्रयाक्टर र यात्रुसंग बढी भाँडा असुल्ने ७ वटा बसलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए ।

हामी नागरिक स्तम्भको पहिलो सामाग्री

माछी जालैमा जेलिएको एउटा जिन्दगी
बेत्रावती\नुवाकोट र रसुवा जिलको सिमास्थल बेत्रावतीका मानबहादुर गुरुङ तीन दशकदेखि माछा मार्ने जालसँगै खेल्दै आएका छन् । बेत्रावतीको पुलमाथी एउटा लिखुरे फलाममा लेखिएको छ– रसुवा जिल्लामा हार्दिक स्वागत छ तर कतै लेखिएको छैन पुलमुनी एउटा जालहारी जिन्दगी छ भनेर । रसुवा छिर्ने ठाउँमा बेत्रावतीमा तपाईलाई स्वागत छ भनेर लेखिएको छ, पारी नुवाकोट वारी रसुवा । त्यही जिल्लाको प्रवेशद्धारमा छ एउटा छाप्रो ।
‘जिन्दगीको के भर छ र’ भन्ने गीत जस्तै लाग्छ उनलाई आफ्नै जीन्दगी आजभोलि । फलाखु र त्रिशुली नदीका किनारमा आफ्नो जीवनधान्न माछा मार्ने बहानामा नदीको छालसंग पौठेजोरी खेलेका अनगिन्ती स्मृतीले उनी आफैलाई कल्पनाको संसारमा पु¥याउने गर्छ अचेल । खोलाका चिप्ला ढुङ्गाहरू पानी चिप्लीएसरी उनको सुकुम्बासी जिन्दगी बितेको तीन दशक पुगेछ थाहै नपाई । ‘हिजो जस्तो लाग्छ पुल मुनी बसेको, अनुहारमा एक झप्को मुस्कान ल्याएर मानबहादुर भन्छन्– तीन दशक आँखै अगाडी चिप्लीएर गईसकेछ ।’ उनलाई लाग्न थालेको छ मान्छेको जीन्दगी पनि जालजस्तै जेलिएको छ । जेलिएपछि कतैबाट पनि निस्कन र उम्कने बाटो नभएजस्तो लाग्छ उनलाई ।
मजदुरी र माछा गुरुङको जिन्दगीको पर्याय हुन् । यसैबाट चारजनाको परिवार पाल्ने मेसो जुटाइरहेका उनले दुई छोराछोरीको लालनपालन र शिक्षादीक्षा समेत थेगेका छन् ।
उनका दुई छोराछोरीमध्ये छोरा आशिषले केही बर्ष अघि मात्रै रसुवा जिल्लाको लहरेपौवास्थित नीलकण्ठ उच्च माविबाट प्रबेशिका परीक्षा उत्तिर्ण गरेका थिए । सुकुम्बासीको छोरो बिद्यालयकै प्रथम भए पछि उनको खुसीको सिमा रहने । जिन्दगीमा त्यती धेरै खुसी नभएका मानबहादुर छोराको सफलताले उनलाई निकै खुसी तुल्यायो । ‘म मेरो जिन्दगीमा त्यति धेरै खुसी कहिल्यै भएको थिइन’ मानबहादुरले भने ।
आर्थिक अबस्था कमजोर भएका गुरुङ छोरालाई कलेजमा भर्ना गर्न नसक्दाको क्षणमा दुखि भएका रहेछन् । छोराका भर्ना गराउन नपाउदाँ उनका चार रात अनिदो बिते । हाल छोराले छात्रबृतीमा पढ्न पाएकोमा उनी खुसी छन् । ‘बिजयकुमार नाउँको पत्रकार आएका थिए उनैलै म पढाउँछु भनेर लगे, गुरुङले भने– मेरो छोराले इञ्जिनिरिङ्ग पढ्दै छ ।’ राम्रा घर बनाउन नसकेका उनले छोरालाई इञ्जिनियर बनाएर एउटा राम्रो घर बनाउने धोको छ । सानो झुप्रोमा हिउदँमा मात्रै बस्ने गरेका उनले बर्षायाम लाग्ने बित्तीकै बजारमा कोठा खोज्न जाने गरेका छन् ।

उपमेयरलाई खुल्ला पत्र

आदरणीय उपप्रमुखज्यू, बेलकोटगढी नगरपालिका
युद्धमा आफ्नो बा गुमाएको तपाईं आफैंमा एक क्रान्तिकारी योद्धा र सुझबुझ भएको नेता हुनुहुन्छ । प्राज्ञिक रूपमा पनि तपाईंको योग्यता मननयोग्य छ । फेसबुकमा पेजमा यहाँले आफ्नो नगरपालिकाको खास कुनै क्षेत्रमा फोहर संकलन गरिरहेको तस्विर राखेपछि मलाई सकसक लाग्यो र मैले जानेबुझेसम्मका केही सुझाव दिन मन लाग्यो । कमसेकम तपाईंको नगरपालिकामा खासगरि वातावरणीय क्षेत्रमा अनुकरणीय कदम चालियोस् र त्यसका लागि गम्भीर पहल होस् भन्ने आह्वानका साथ म यो आग्रह गर्दैछु ।
१. प्लास्टिकजन्य फोहरका कारण संसारका खोलानाला प्रदुषित छन् । ठूला मैदान र शहर हुँदै बग्ने नदीहरू त प्रदुषित भईहाले, गाउँठाउँका खोल्छाखाल्छी प्राङ्गारिक (अर्गानिक) पाखामा पनि विशाक्त प्लास्टिक छरिएका छन् । त्यसले पानी, जलचर र वन्यजन्तुको प्राकृतिक जीवन वर्वाद भएको छ । र, अन्तत : त्यसले हरियापरिया र मलिला पाखा र कुवा तथा पानीका मूलहरूलाई प्रदुषित पार्नेछ । अहिले नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पहल नगर्ने हो भने भोलि त्यसले कस्तो अवस्था निम्तेला, कल्पना नि गर्न सकिन्न ।
२. नाफा कमाउने होडमा पुँजिवाद/उपभोक्तावाद/बजारबाद/साम्राज्यवादले असिमित र अनावश्यक सामानहरू समेत सिर्जना गरेको छ । मान्छेको जीवनलाई सहज बनाउने नाममा त्यसले स्याम्पु, साबन, चक्लेट, गुट्खा र रक्सीका समेत अत्यन्त साना प्याकेट बनाएको छ । र, एकचोटी प्रयोग गरेर सडक/खोलामा सिधै फालिन्छन् त्यस्ता फोहर । गाडीमा हिँड्दा आलुचिप्स/चाउचाउ/कुरमुरे/झुरझुरेका प्याकहरू सर्वसाधारणले प्रयोगपश्चात फ्याँकेको देख्नुभएकै होला । मोबाइलका चार्जर लगायत प्रविधिजन्य फोहर पनि सिधै माटो र पानीमा मिसिन आइपुगेको छ ।
३. यस्ता प्लास्टिकजन्य नकुहिने फोहरले पृथ्वीलाई बर्वाद बनाउँदैछ तर उपभोक्तावाद र दलाल नोकरशाही/पुँजीपतिहरूको चंगुलमा फसेका राज्य सञ्चालकहरू ‘सिंगल युज’ प्लास्टिक रोक्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् ।
४. यस्तोमा कमसेकम तपाईंको नगरपालिकाले जस्तोसुकै प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान चलाउन सक्छ । ल्याइएको प्लास्टिकजन्य हलुका फोहोरको नगरपालिकाले प्रतिकिलोका हिसाबले पैसा दिन पनि सकिन्छ । च्यातिएका बोरा, प्रयोगमा नआउने सबै खालका प्लास्टिक, चाउचाउ, गुट्खाका खोल, टुटेफुटेका प्लास्टिकका भाँडा, ‘वन टाइम युज’ दारी काट्ने रेजर, फाटेका प्लास्टिकका नाम्ला, दाम्ला, चक्लेट÷बिस्कुटका मसिना/ठूला खोल, आदि सङ्कलन गर्न सकिन्छ । सङ्कलित प्लास्टिकहरू त रिसाइकल गर्ने कम्पनीलाई मासिक÷अर्धवार्षिक रूपमा बेच्न पनि सकिन्छ । फोहोर व्यवस्थापन बारे यस क्षेत्रका जानकारहरूसँग अझ बढी जानकारी होला ।
५. स्कुल पढ्ने विद्यार्थीहरूलाई विद्यालयबाटै सूचना दिएर यो काम गराउँदा झनै प्रभावकारी पो होला कि ! स्कुलमा वातावरण समूह बनाएर तिनलाई वडा र टोलहरूमा परिचालित गर्दा पो होला कि!  अनि वडा र टोलमा पनि प्राज्ञिक र समझदार व्यक्तिहरूको वातावरणीय समूह बनाउने कि ! स्कुले विद्यार्थी र त्यस्तो टोल समुहको समन्वयमा प्लास्टिक÷फोहर विरोधी अभियान सफल बन्छ कि!  अझ प्रत्येक वर्ष कसको टोल वडा सफा भनेर घोषणा पो गर्ने कि ! वषैपिच्छे कक्षा परिवर्तन हुने हुनाले कक्षा ८/९ का विद्यार्थीलाई विद्यालयको वातावरीय समुहमा पदेन यस्तो भूमिका पो दिने कि ! जे जसरी होस्, फोहर नगरपालिकामा आइपुगोस् ।
६. प्लास्टिक होस् या जुनसुकै फोहर, त्यसलाई सडक, घारी, नदीमा फ्यात्त फाल्न सहज हुन्छ । तर त्यसको व्यवस्थापन असहज हुन्छ तर कमरेड कविता, तपाईंले नाफाखोर पुँजिवादी व्यवस्थाले जन्माएको यो घिनलाग्दो फोहरको व्यवस्थापनमा जमेर कदम चाल्नुभयो भने हाम्रो क्षेत्रले तपाईंले सधा स्मरण गर्नेछ । शहिदपुत्रीले धर्तिप्रति निर्वाह गरेको असल कर्तव्यलाई पितृप्रतिको श्राद्धको रूपमा असल मान्छेहरूले सम्झनेछन् । तपाईंलाई ख्याल गराउँ, सिक्किमको एउटा ठूलो गाउँक्षेत्रमा पूर्ण रूपमा प्लास्टिक प्रतिवन्ध छ । गाउँ छिर्ने गाडीहरूले लुकाएर प्लास्टिक लगेकि भनेर स्थानीयहरूले नै खोतल्छन् । उसो त सिक्किम आफैंमा ‘अर्गानिक’ राज्य हो ।
७. डोकोमा अघिअघि फोहर उठाउँदै जाने, पछिपछि फोहर फ्याँक्दै जाने यो हाम्रो संस्कार बनेको छ । गुट्खा, पानमसला र चुरोटका ठूटा र चाउचाउका खोल पसल र गाडी गुड्ने सडक किनार परपर छिचोली साध्य छैन । हत्तपत्त नदेखिने यस्तै फोहरले माटो, पानी, जलजीवन र वन्यजीवन वर्वाद हुँदैछ । यसर्थ, बेलाबेला सचेनात्मक फोहरमैला सङ्कलन कार्यक्रम चलाएपनि फोहरमैलाको जरोमै पुग्नुपर्छ भन्ने लाग्छ ।
८. स्थानीय रूपमा यस्ता फोहर सङ्कलनका काम छँदैछ, अर्काेतर्फ नगरपालिकाले प्लास्टिक उत्पादन गर्ने कम्पनी, स्याम्पु, उत्पादक/वितरक, खैनी उत्पादक/वितरक कहाँ ‘सिंगल युज’ सामान नबनाउनका लागि दवाब पनि दिन सकिन्छ । उद्योग वाणिज्य महासंघ मार्फत दवाव दिएर हुन्छ या मिडियामार्फत यसको ‘एड्भोकेसी’/काम गर्न सकिन्छ ।
९. स्थानीय स्तरमा अचेल आरसिसि भवन बन्न थालेका छन् र आरसिसि चर्पी । कतिपयले चर्पीको निकासलाई खोला/नदीतिर सोझ्याएका पनि छन् रे । त्यस विषयलाई पनि सम्बोधन हुनेगरी पहल गर्नुपाए हुने ।
१०. कविताजी, महिलाका लागि राजनीति फलाम चपाउनु जत्तिकै असहज छ । अझ विवाहितालाई त झनै सकस । महिलाको पारिवारिक र प्रजनन दायित्व, आफन्त, औपचारिकताले समाज वदल्ने महान महत्वाकांक्षामा तुषारापात भएका उदाहरण नेपालमा मात्र होइन, विश्वभर छन् । तर, जतिसुकै कठिन भएपनि कमसेकम तपाईंको (हाम्रो पनि) रसिलो–पोषिलो बेलकोटगढी नगरपालिकालाई अर्गानिक पालिका बनाउने प्रण गर्नुहोला भन्ने अपेक्षा गर्दछु । उपाय देखाउन, सुझाव दिन सहज छ तर काम गर्न गाह्रो छ । आशा छ, तपाईंले सम्भव भएसम्म आफ्नो नगरपालिकालाई प्लास्टिकमुक्त र प्रांगारिक बनाउन पहल गर्नुहुनेछ ।
नोट : एउटा झन्झावात/युद्धबाट गुज्रिएको परिवारको सदस्य भएकाले र त्यस्ता व्यक्तिहरूले परिवर्तन/रूपान्तरणका विषयलाई गम्भीरताका साथ लिन्छन् भन्ने आशयका साथ सुझाव पेश गरेको हुँ । वातावरणीय विषयमा बेलकोटगढीले आफूलाई प्रयोगात्मक/अनुकरणीय रूपमा पेश गर्न सके भोलि तपाईंको नगरपालिकाबाट देशभरका गाउँपालिका/ नगरपालिकाले फोहोर/प्रदुषण व्यवस्थापनबारे राम्रोसँग सिक्न सक्लान् भन्ने अपेक्षा छ । अभिवादन ।
प्रकाश आस्था, वातावरण संवेदनशील नागरिक

सामूहिक खेतीमा सांसदको बजेट

विदुर/पञ्चकन्या र लिखु गाउँपालिकामा सामूहिक खेती प्रर्बद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । सामुहिक खेती प्रर्बद्धन कार्यक्रमका लागी नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले संसद बिकास कोषको रकमबाट ५० लाख रुपैयाँ बिनियोजन गरेका छन् ।
पञ्चकन्याको चारवटा वडा र लिखु गाउँपालिकाको एउटा वडामा सञ्चालन गर्न लागिएको ‘सामूहिक खेती प्रर्बधक कार्यक्रम’ का लागि औपचारिक छलफल समेत भएको छ ।
लिखु गाउँपालिका वडा नं ३ मा आयोजना गरिएको कार्यक्रममा लिखु–पञ्चकन्या सामूहिक खेती प्रबद्धक समितिको पदाधिकारी सहित लाभान्वित किसानसंगको छलफलमा सञ्चालनमा ल्याउन लागिएको कार्यक्रमलाई प्रभावकारी र नमूनाको रुपमा चलाउन प्रतिबद्धता जनाए ।
भेलामा पञ्चकन्याका वडा न १,२,३,४ र लिखु गाँउपालिका ४ का वडा अध्यक्ष सहित सम्पूर्ण वडा सदस्यहरू, कृषि, पशु र सहकारीका कर्मचारीहरूको सहभागिता थियो । 

२०७६ कात्तिक २५ गतेको सम्पादकिय

रसुवागढी नाका सुधार गर
नेपालको रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया नै प्रवेश गर्ने मूलद्वारको रुपमा हेर्न थालेको पाइएको छ । दक्षिण एसिया प्रस्थान गर्ने मुख्य मार्गको रुपमा बिकास गर्न चीन तर्फ अत्याधुनिक संरचना र सडक मार्ग चीनले बिस्तार गरिरहेको छ । रसुवागढी केरुङ नाकाभन्दा पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन केही वर्ष अघि नै बनेको छ । त्यसो त, अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । नाकाबाट केरुङ बजारसम्म पुग्न दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ ठाउँमा सुरुङ र आकाशे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुङ्गा रोक्नको लागि तारजाली लगाइएको छ । यि भौतिक संरचनाको विकासलाई मध्यनजर गरेर हेर्दा यस नाकालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।
रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि नेपालतर्फ सीमामा भौतिक पूर्वधारको अवस्था नाजुक छ । पानी पर्दा पहिरो र घाम लाग्दा धूलो उड्ने, हावा चल्दा माथिबाट ढुंगा खस्ने नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्नु पर्ने बाध्यता नेपाल पट्टि रहेको छ । झण्डै झण्डै नाका खुलेको बेलाको जस्तो अवस्थामा अहिले पनि रहेको नेपाल तर्फको भौतिक संरचना विकास र सुस्त जाँगरका कारण एउटा विन्दुमा उभिएर दुई पट्टि हेर्दा नेपालको अवस्था दयनिय रहेको छ । त्यसो त बिकासको क्रम र चरणको स्मरण गर्दा पनि २०७२ साल बैशाख १२ गतेको केरुङ भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो । अहिले निकै अग्ला–अग्ला आधुनिक घरहरू निर्माण भएका छन् । सरकारी कार्यालय समेत चीनले थपेको छ । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस ट्राफिक लाइट राखिएको छ ।
नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर मात्रै छ । चीनले यसरी महत्व दिइरहेको नाका र मार्गलाई नेपाल सरकराले पनि उत्तिकै चासो राखेर भौतिक संरचनाहरू निर्माणमा तदारुकता देखाउनु पर्ने अवस्थाको सृजना भएको छ । जस्तापाताले बारेको सरकारी कार्यालय र माथिबाट खस्न ठिक परेको ढुङ्गासम्मको व्यवस्थापन गर्न तर्फ नेपाल सरकारले सोचेको छैन, वा जाँगर देखाएको छैन । दक्षिण एशियामै प्रवेशको पहिलो नाकाको रुपमा चीनले रसुवागढी नाकालाई तयार गरिरहेको अहिलेको अवस्थामा नेपालले पनि न्युनतम भौतिक पुर्वाधारणहरू खडा गरेर त्यसका लागि उपयुक्त वातावरण तयार गर्नु तत्कालको आवश्यकता बनेको छ । 

Monday, November 04, 2019

सडकले मार्दै छ सम्भावना

सुजित भण्डारी
विदुर/भिजिट नेपाल ट्वान्टी ट्वान्टीमा नुवाकोटका केहि स्थान गतिलो गन्तब्इ रहेपनि सडकका कारण त्यसको सम्भावना मर्ने भएको छ ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्यान यतिखेर नुवाकोट लालायित भएको छ । तर सडकले साथ दिएको छैन ।
पर्यटन प्रवद्र्धनलाई नै जोड दिँदै पूर्व युवा तथा खेलकुद मन्त्री तथा नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचत संघिय सांसद हितबहादुर तामाङले पर्यटकीय दृष्टिकोणले जिल्ला समुन्नत भए पनि व्यवसायमा भनेपछि परेको बताए । राजधानीसँग जोडिएको तर प्राकृतिक, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण क्षेत्रमा अवसर पाएर पनि उपयोग हुन नसकेको उनको भनाइ छ । ‘हामीसँग के छैन । प्रकृतिले दिएको सुन्दर हराभरा उच्च पहाड, नजिकै टल्कने हिमाल, चारैतिर देखिने अग्ला पहाड, थुम्की, पाटी भञ्ज्याङ, प्रख्यात धार्मिक स्थलहरू । पुर्खाले चलाएका रीतिरिवाजहरू । त्यसमाथि अझ हामीसँग सिङ्गै युग बोकेको ऐतिहासिक धरोहरहरू छन् ।’ तामाङले भने, ‘हामीसँग कमी छ त केवल इच्छिाशक्ति र प्रचार प्रसारको । अब हामीले नुवाकोटलाई विश्वमा चिनाउनु पर्छ । भिजिट नेपाल २०२० त्यसको गतिलो उपाय हुनसक्छ ।’
तामाङले राजधानीसँग नजिकै रहेर पनि र विकासका प्रचुर सम्भावना नै सम्भावना भएर पनि नुवाकोटको विकास हुन नसक्नुमा पूर्वाधारको विकासमा गम्भीर नहुनु आँैल्याएका छन् । राजधानीसँग जोड्ने मूल सडक बाटोसहित तीनवटै वैकल्पिक बाटोको प्रसंगमा उनी आफूले ठूलो पहल गर्दा समेत सरकारी काम प्रक्रिया र ठेकेदारको बदमासीले असहयोग भएको बताउँछन् । ‘काठमाडौँ–छहरे बाटो सुधारका लागि अर्थमन्त्रालयसँग म आफैले बजेट माग गरे । बजेट आउने बेला २७ करोड प्रस्ताव गरिएकोमा १ करोड मात्र दिने भनिएछ । पछि म आफै मन्त्रीकोमा गएर बजेट बढाइदिन आग्र गरे ।’ तामाङले भने, ‘तत्कालीन अर्थमन्त्री वर्षमान पुनले थप २ करोड थपेर बजेट ३ करोड पु¥याइदिए । तर सरकारी प्रक्रियाअनुसार रकम आउन ढिला भयो । आउँदा बर्खा लागिसकेपछि काम गर्न सकिएन ।’
पृथ्वीनारायण शाहको पालादेखि नै ऐतिहासिक रहन सफल नुवाकोटमा अथाहा प्राकृतिक तथा एतिहासिक धरोहरहरूले जिल्लालाई पर्यटकीय नगरी बनाएको स्थानीय प्रदेश सरकार सांसद केशव पाण्डे बताउछन् । यसै पर्यटकीय सम्भावनाहरूलाई उपयोग गर्दै नुवाकोटले बढीभन्दा बढी लाभ लिनुपर्ने उनको भनाइ छ ।
‘नुवाकोट प्राकृति, धार्मिक, सांस्कृति तथा ऐतिहासिक रूपमा सम्पन्न छ । यसले पर्यटन व्यवसायको प्रचुर सम्भावना देखाउँछ । हामीले यसको भरपुर उपयोग गर्न सक्नुपर्छ’ पाण्डले भने, ‘भिजिट नेपाल २०२० लाई लक्षित गरेर जाने हो भने पनि त्यसको फाइदा नुवाकोटले पछिसम्म लिइरहन सक्छ । २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा २० लाखको १० प्रतिशत पर्यटक मात्र पनि नुवाकोटमा भित्र्याउन सकियो भने यसले जिल्लाको अर्थतन्त्रमा ठूलो उपलब्धि ल्याउँछ ।’
जिल्लाक ासमै स्थानीइ तह, पेशाकर्मी, व्यापारी व्यवसायी लगायत अन्य निजी क्षेत्रहरूले समेत समग्र नुवाकोटको पर्यटन प्रवद्र्धनमा सडक पूर्वाधार नै प्रमुख चुनौती विषय भएको औँल्याएका छन् । यो समस्याको शीघ्र व्यवस्थापन हुनुपर्नेमा उनीहरूको जोड छ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ का अध्यक्ष सन्तोष उप्रेती होटल व्यवसायमार्फत पर्यटन प्रवद्र्धनमा नेपाल सरकारलाई सक्दो सहयोग गर्ने बताउँछन् । ‘तर त्यसको लागि सडक चाँही ठिक हुनुपर्यो’, उनले भने । ‘पर्यटन व्यवसायसँगै होटल व्यवसाय पनि जोडिएर आउँछ । यो क्षेत्र बिना पर्यटन व्यवसायलाई विकास एवं विस्तार गर्न सकिँदैन । त्यसैले पर्यटन प्रवद्र्धनमा हाम्रो उपस्थिति महत्त्वपूर्ण छ ।’ उप्रेतीले भन्छन्, ‘ सहयोग गर्न तयार छौँ । पाहुनालाई स्वागत सत्कार सहित व्यवस्थित खानपान गराउँछौँ । तर सरकारले हामीलाई सोही किसिमको वातावरण बनाइदेओस् ।’

त्रिशुली १ मा लगानी जुट्यो

विदुर/निर्माणधिन जलविद्युत् आयोजना माथिल्लो त्रिशूली–१ का लागि विदेशी लगानी जुटेको छ । शुक्रबार काठमाडौंमा अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुन लगायतका उच्च अधिकारीको उपस्थितिमा  कोरियाली कम्पनी एनडब्लुइडिसी, विश्व बैंक अन्तर्गतको आइएफसी र ९  वित्तीय संस्थाले लगानी सम्झौता गरेका छन् ।
आयोजनाको अनुमानित लागत ६४ अर्ब रुपैयाँ भन्दा पनि बढी छ । जसमध्ये ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणदाताबाट, १९ अर्बको संस्थापक सेयर र बाँकी लगानी ऋण मार्फत् जुटाइने उल्लेख छ । आयोजनामा जुटाइने ऋणमा आइएफसीले १६६.३ मिलियन डलर, कोरियाली एक्जिम बैंकले १०० मिलियन डलर, एसियन पूर्वाधार लगानी बैंकले ४० मिलियन अमेरिकी डलर र एसियाली विकास बैंकले ६० मिलियन डलर ऋण लगानी गर्नेगरी सम्झौता गरिएको हो ।
बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) ले ३०.८ मिलियन डलर लगानी गर्ने भएका छन् । त्यसैगरि कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंकको पनि यस
आयोजनामा लगानी रहेको छ । आयोजनामा नौ कम्पनीबाट ४ सय ५३ मिलियन डलर वित्तीय व्यवस्थापन गरिएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र कम्पनीबीच २०७३ पुष १४ गते आयोजना विकास सम्झौता भएको थियो ।
सरकारले माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालिसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) पनि गरिसकेको छ ।

तीन लाख ऋण पाउने

विदुर/पहिलो किस्ताको रकम पाएर पनि घर बनाउन नपाएका गोरखा र धादिङ्गका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख ऋण सहयोग पाउने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न सम्झौता गरिएको छ ।
समजादारी पत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले हस्ताक्षर गरे ।
सम्झौतापछि धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियतदरमा भूकम्पपीडितले घर कर्जा पाउने छन् ।
सम्झौतापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावले घर बनाउन नसकेकालाई सहजीकरण गर्ने र अन्यत्र घर भएका वा घर आवश्यक नभए पनि किस्ता लिएकालाई कारवाही प्रक्रिया अघि बढाइने बताए ।
पहिलो किस्ता पाएर पनि घर बनाउन शुरु नगर्नुका कारण आर्थिक अभावले नै गर्दा हुनसक्ने उनको भनाई छ । सहुलियत कर्जाबाट धेरै महिला उद्यमी लाभान्वित भएका उनको भनाइ छ । सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता दाहालले यो सम्झौताले भूकम्पपछिको पुनःनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

पञ्चकन्याको प्राथमितामा शिक्षा

बन्देवी आधारभुत विद्यालय फुयालडाँडा । तस्बिर : दिपेन श्रेष्ठ/इमेज
शर्मिला उप्रेती
पञ्चकन्या/पञ्चकन्या गाउँपालिका विद्यालय शिक्षालाई समतामुलक र गुणस्तरीय बनाउँदै विद्यालयको व्यवस्थापकिय क्षमता अभिवृद्धि गर्ने गरी आवश्यक कार्य भइरहेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम स्थानिय तहबाटै सञ्चालन हुन थालेसंगै यो शिर्षकमा बजेट प्रशस्त विनियोजन हुँदै आएको छ ।
त्यसका साथै एसईई परिक्षामा यस गाउँपालिकाबाट सम्लग्न भई उत्कृष्ट स्थान हासिल गर्ने २ जना छात्र तथा २ जना छात्रालाई जनही १०÷१० हजार  रुपैयाँ राशी सहितको पुरस्कार र सम्मान पत्र प्रदान गर्ने व्यवस्था समेत भएको छ । यसका अलवा यस पञ्चकन्या गाउँपालिका भित्रको शैक्षिक संस्थाहरूलाई भौतिक रुपले सक्षम बनाउन निःशर्त अनुदानबाट समेत रकम बिनियोजन हुँदै आएको छ । ‘गाउँपालिकाको दिर्घकालिन ििवकास र नागरिकहरूको स्तर उन्नतीका लागि हामी शिक्षालाई प्राथमकिता दिइरहेका छौं’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले भने ।
यस गाउँपालिकामा आधारभुत तहदेखि माविसम्मको २८ वटा सामुदायिक विद्यालयहरू छन् । त्यसै गरी हाल कक्षा १० सम्म सञ्चालनमा रहेका विद्यालयहरूलाई कम्तिमा कक्षा १२ सम्म बनाउनका लागि वडास्तरबाट समेत पहल हुनथालेको वडा अध्यक्ष रामबाबु पराजुली सुनाउँछन् ।
विकास बजेट कटौटी गरेर शिक्षकलाई तलव खुवाउनु पर्ने समस्या सबै स्थानीय तहलाई छ । तर यस गाउँपालिकाले यो समस्या दिर्घकालिन रुपमा समाधान हुने भएको छ । बढी भन्दा बढी रकम विकास निर्माणमा लगाउने र शिक्षाका लागि खर्च हुने रकमको परिपुर्ती र व्यवस्थापनका लागि पञ्चकन्या गाउँपालिकाले बेग्लै कोष सञ्चालनमा ल्याएको छ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाले लिएको नीति अनुरुप २०७५ साल कात्तिक २९ गतेबाट यो कार्यविधि लागू भएको छ ।
यस गाउँपालिका भित्र कार्यरत सम्पूर्ण कर्मचारीको तलव तथा जनप्रतिनिधिको भत्ताको एक प्रतिशत रकम कट्टा गरेर कोषमा जम्मा गरिदै आएको छ । यसरी जम्मा भएको रकम बरावरको थप रकम गाउँपालिकाले कोषमा राख्दै आएको यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनी बताउँछन् । यसरी जम्मा भएको रकमलाई १० प्रतिशत ब्याजदरमा योगदानकर्ताहरूलाई ऋण परिचान गरिने र त्यसको ब्याजबाट निजी श्रोतका शिक्षकहरूलाई तलव खुवाइने छ । यस कार्यविधिको कल्पनाकार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनी हुन् ।
स्वयसंसेवक शिक्षक कार्यक्रम समेत यस गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । यसरी गाउँपालिकाले शिक्षाको समग्र विकासका लागि तयार गरेको शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कोष सञ्चालन सम्वन्धि कार्यविधिको यहाँका अग्रज शिक्षकहरूले स्वागत पनि गरेका छन् । यस विषयमा आफहुरु जानकार रहेको बताउछन् पञ्चकन्या माविका शिक्षक रामबहादुर विष्ट । ‘यो कार्यक्रम र अवधारणले शिक्षा क्षेत्रमा राहत महशसु भएको छ ।’ उनले भने ।
बिल्कुलै फरक अवधारणाका साथ कार्यान्वयमा आएको
यस गाउँपालिकाको शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कोष सञ्चालन सम्वन्धि कार्यविधिले विकासे बजेटलाई तलबमा खर्च गर्नुपर्ने समस्याको समाधान अब हुने अनुमान गरिएको छ ।
भौतिक संरचना विकास
शिक्षा क्षेत्रको दिर्घकालिन विकासका लागि यहाँ सबै वडाहरूमा रहेका विद्यालयहरूमा भौतिक संरचना, भवन निर्माणका कार्य समेत द्रुत गतीमा भइरहेको पञ्चकन्या गाउँपालिका वडा नं. ५ का अध्यक्ष डिल्लीबहादुर थापा बताउँछन् ।
भौतिक पुर्वाधारले सम्पन्न भएका केही सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या कम छ । यो समस्या समाधानका लागि जनप्रतिनिधिहरू चिन्तित छन् । सुविधा सम्पन्न भवन, कक्षा कोठा र पाठ्यक्रम भइसक्दा पनि विद्यार्थीको संख्या सामुदायिक विद्यालयमा कम हुनुमा कुनै विद्यालयका शिक्षक दायित्व र कर्तब्य निर्वाहमा चुकेको वडा नं. ४ का कार्यबाहक अध्यक्ष कृष्णबहादुर कँडेल बताउछन् । उनले त्यस्ता शिक्षकहरूलाई सुध्रन र विद्यार्थी तथा अभिभावकहरूलाई सुन्तुष्ट पार्न निर्देशन समेत दिएका छन् ।
यस पञ्चकन्या गाउँपालिकामा अनौपचारिक र अतिरिक्त कक्षा र पढाईहरू पनि हुँदै आएको छ । प्रौढ शिक्षा, चेलिवेटी शिक्षा, युवा शिक्षा, खेल्दै सिक्दै लगायतका कार्यक्रम गाउँपालिकामा सञ्चालन छन् । त्यस्तै, प्रत्येक वडामा एक÷एकवटा ई–पुस्तकालय सहितको सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि छ ।


डिभीले राहदानी बनाउने बढे

प्रितिका थापा
विदुर/डिभीको आबेदन र्फम खुले पछि नुवाकोटका सेवाग्राहीहरू राहदानी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ओईरिएका छन् ।
बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुले संगै  सेवाग्राही राहदानी लिन ओइरिएका हुन् । नुवाकोट जिल्ला प्रशासन कार्यालयमा सधैंको भन्दा झण्डै तिन गुणा बढी राहदानी आवेदन भर्ने सेवाग्राही आएको प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 
गत असोज १५ मा डीभी आवेदन खुलेपछि राहदानी बनाउनेर  झिक्नेको संख्या हवात्तै बढेको हो । अरू बेला दैनिक १५ देखि २० जना सम्म आउने गरेकोमा अहिेल संख्या बढेर दैनिक ८०÷९० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत धर्मराज भट्टले बताए । उनले अघिल्लो बर्ष दशै पछि राहदानी बनाउनेको भिड भएपनि यस बर्ष अघिल्लो बर्षको भन्दा बढेको बताए । अमेरिकी सरकारले लगाएको भी आवेदनमा यसपटक एमआरपी नम्बर अनिवार्य हुनैपर्ने प्रावधान थपिएपछि तत्काल डीभी भर्ने हतारमा सेवाग्राहीहरू राहादानी बनाउन आएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहदानी बनाउ २०७६ साउन देखि असोज मसान्त सम्ममा ९ सय जनालाई सिफासिर गरेर पठाएको छ । यस्तै नेपाल सरकारलाई राजस्व तिरेर १३ सय ३७ जनाको राहादानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म असोज १५ गते देखि खुलेको हो । यही कात्तिक १९ गते सम्म ई डि भिको फर्म दर्ता गराउन पाईने छ ।

प्रदेश राजधानीमा अन्योल

विदुर/तीन नम्वर प्रदेशको राजधानी तोक्ने विषयमा अन्योल बढेको छ ।
तश्रो अधिवेशनमा ‘जसरी पनि राजधानी टुंगो लगाउने’ सदनमा नै घोषणा गरेको प्रदेश सरकारले चौथो अधिवेशन सकिसक्दा समेत यो विषय अघि बढाउन सकेको छैन । प्रदेशको अर्को अधिवेशन अनिश्चित भएको अवस्थामा प्रदेश राजधानी तोक्ने विषय पेचिलो बनेको हो । प्रदेशसभाको चौथो अधिवेशनको सुरुवातमा विपक्षी दलको दबाबपछि राजधानी टुंगो लगाउने अपुरो कार्यबिधि पारित भएको थियो ।
प्रतिपक्षी कांग्रेसले सदन अवरुद्ध गरेपछि वैशाख ३० गते प्रदेश सरकारले राजधानी टुंगो लगाउने कार्यबिधि ल्याए पनि स्थायी राजधानीका लागि मतदान गर्ने मिति तोकेको थिएन । राजधानीको विषयमा सभामुख सानुकुमार श्रेष्ठ आफैंले अग्रसरता देखाएर कार्यबिधि ल्याए पनि सरकारलाई दबाब दिन सकेका छैनन् । सदनमा प्रस्तुत हुने कार्यसूचीमा सम्पूर्ण अधिकार सभामुखलाई दिइएको छ । तर, सरकारको सहजताकै लागि सभामुखले राजधानीको विषय अघि नसारेको विपक्षीहरूको आरोप छ ।
प्रदेश ३ मा नेकपाको स्पष्ट बहुमत भए पनि राजधानीको विषय पेचिलो बनिरहेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यसबीच राजधानीको विषय टुंगो लगाउने कसरत गरेको बुझिएको छ ।
प्रदेशसभामा रहेको कुल एक सय नौ सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २१ र अन्य दलको आठ मत रहेको छ । राजधानीको विषय पेचिलो बनिरहेका बेला मुख्यमन्त्री डोरमणि पौडेलले आफ्ना सरकारका मन्त्रीहरूलाई यस विषयमा प्रतिक्रिया दिन रोक लगाएका
छन् । नेकपा संसदीय दलका नेतासमेत रहेका पौडेलले नेकपाका सांसदलाई समेत राजधानीको विषय उठाउन रोक लगाए पनि प्रदेशसभाको हरेक जसो विशेष र शून्य समयमा सत्तापक्षकै सांसदहरूले राजधानी टुंगो लगाउनुपर्ने आवाज चर्को पार्दै आएका छन् । 
प्रदेश राजधानी तोक्नका लागी नेकपा सांसद दीपक निरौलाको संयोजकत्वमा १४ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन भएको थियो । समितिले ४५ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन सभामुखलाई बुझाएको एक वर्षपछि मात्रै सदनमा प्रबेस भएको थियो ।
राजधानी सम्भाव्यता अध्ययन समितिले काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरमध्ये एक जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन पेस गरेको लामो समयपछि सरकारले कार्यबिधि पास गरेको थियो ।

देउसी भैलो खेल्दै त्रिशुलीका मुस्लिम धर्मावलम्बीहरू

विदुर/धार्मिक सहिष्णुता बढाउन आग्रह गर्दै नुवाकोटमा मुस्लिम धर्मावलम्बीहरूले हिन्दूहरूसँगै यो पालीको तिहार पर्व मनाएका छन् । तिहारको रौनक बढाउन मुस्लिम समुदायका युवा सहभागी भएका थिए ।
विदुर नगरपालिकाको त्रिशुली, कोलोनी, हात्तीगौँडा, देवीघाट र बेत्रावतीका बस्तीमा मुसलमान समुदायका युवा हिन्दू युवासँगसँगै देउसीभैलो खेल्न गएका थिए । तिहारमा खासगरी युवाले गर्ने रमाइलोमा हिन्दू र इस्लाम युवा बराबरी देखिने गरेको त्रिशुलीका परवेज खानले बताए । 
तिहारमा इस्लाम धर्मावलम्बी युवाको सहभागिताले आपसी सद्भाव वृद्धिमा सहयोग पुगेको त्रिभुवन त्रिशूली उच्च मावि त्रिशुलीका शिक्षक अभिभावक संधका अध्यक्ष लिडर श्रेष्ठले बताए । 
इदुलफित्र, इद–उल–जोहा, मुहर्रम र सवे बरातजस्ता आफ्ना पर्वमा हिन्दू युवाको हुने सक्रिय सहभागिताले आफूहरूलाई हिन्दूले मनाउने चाडबाडमा सहभागी हुन प्रेरित गरेको मुसलमान युवाको भनाइ छ । एउटै बस्तीका बासिन्दा भएकाले एक अर्काको पर्वमा सहभागी हुँदा सामाजिक सम्बन्ध प्रगाढ भई आपसी सहयोग बढाउन मद्धत पुगेको बट्टारका अमजद खानले बताए । 
पुस्तै देखि नुवाकोटको विभिन्न स्थानहरूमा बसोवास गर्दै आएका मुस्लिम समुदायले हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको पर्वमा पनि सरिक हुँदै आएका छन् ।
साथै उनीहरूलाई पनि परम्परागत पर्वमा अन्य धर्मालम्बीहरूले साथ र सहयोग दिइरहेका छन् ।

चिम्टेश्वरमा भ्यू टावर र पार्क बन्ने

बेलकोटगढी/नुवाकोटको बेल्कोटगढीमा रहेको चिम्टेश्वरमा बन्ने पार्क र ‘भ्यू टावर’को विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार भएको छ ।
नुवाकोटको चिम्टेश्वर एतिहाँसिक धामिर्क र पर्यटकिय स्थल हो । चिम्टेश्वरबाट नेपालका विभिन्न १५ जिल्लाको अवलोकन गर्न सकिन्छ । चिम्टेश्वरबाट लाङटाङ, गणेश, जुगल लगाएतका हिमालहरू देखिन्छ । नगरपालिकाले तयार पारेको बिस्तृत परियोजना प्रतिबेदन अनुसार पार्क ब्यबस्थित रहेको छ । पार्कमा हेलिप्याडदेखि, होमस्टे, छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए ।
स्थानीयको दशकौँदेखिको मागका वाबजुद सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति यसअघि नै बजेट विनियोजन गरेको थियो । बेल्कोटगढी नगरपालिकाको महत्वपुर्ण धार्मिक एवं पर्यटकिय स्थलको रुपमा रहेको चिम्टेश्वरलाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न नगरपालिकाले ‘भ्यु टावर’ निर्माण गर्ने जनाएको हो । प्रदेश र संघ र स्थानिय तहको बजेटबाट ‘भ्यु टावर’ सहितको पार्क निर्माण गर्ने बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताए ।
पार्कसँगै पर्यटन प्रबद्धनका लागी होमस्टेको समेत परिकल्पना गरिएको छ । बिभिन्न १५ जिल्ला तथा हिमालको अबलोकन गर्न सकिने चिम्टेश्वरमा आउने पाहुनालाई सत्कार गर्नको लागी होमस्टेको परिकल्पना गरेको नगरपालिकाले जनाएको छ ।

तारकेश्वर गाउँपालिकाका झरनाहरु

तारकेश्वर गाउँपालिकाको केन्द्र पुग्नै लाग्दा मुख्य सडकमा देखिने छाङ्गे झरना
राजु रिमाल
तारकेश्वर/तारकेश्वर गाउँपालिकाको केन्द्र पुग्नै लाग्दा मुख्य सडकको कुनापट्टि देखिने यो झरनासित नलोभिने सायदै होलान् ।
बाह्रै महिना, बाह्रै काल यसैगरी निर्मल र कलकल झरिरहने झरनाले आन्तरिक पर्यकटहरूलाई मोहित बनाएको छ । आन्तरिक पर्यटकहरूका लागि अबलोकन, भ्रमण र मनोरञ्जनका लागि गतिलो गन्तब्य बन्नसक्ने यो झरना तारकेश्वर गाउँपालिकालाई सुनमाथि सुगन्ध भने जस्तै भएको छ । यसलाई स्थानीयहरूले छाङ्गे झरनाको नामबाट चिन्दछन् । यसमा विदेशी पर्यटकहरूलाई समेत लक्षित गरेर पानीमा हुने रोमाञ्चक खेल सहितको कार्यक्रमहरू सञ्चालन गर्दा प्रभावकारी हुने देखिएको छ । गाउँपालिकाले पनि यसलाई आम्दानी र पहिचानको रुपमा विकास गर्ने सोच बनाएको छ । गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती गाउँन्पालिकाले यस झरनाको संरक्षण र प्रचारका लागि विशेष कार्यक्रम तयार गर्न लागेको सुनाउँछन् ।
त्यस्तै, तारकेश्वर गाउँपालिकाको वडा नं. ३ मा पर्ने अर्को झरनाले पर्यटकको प्रतीक्षा गरिहरेको छ । तारकेश्वर गाउँपालिका र धादिङ्गको निलकण्ठ नगरपालिकाको सिमानामा रहेको यो झरना स्थानीयहरूका लागि भने नियमित अवलोकन र भ्रमणको स्थान बनिरहेको छ ।
धादिङ्गको सिमानामा रहेको झरनाको बारेमा बताउँदै वडा अध्यक्ष  । तस्बिर : केदार/इमेज
उक्त स्थानमा नुवाकोटको तारकेश्वर गाउँपालिका, धादिङ्गको निलकण्ठ नगरपालिकाका नागरिकहरू आउने गरेका छन् । यो झरनासंगै रहेको यो महादेवस्थानको नाम पनि तारकेश्वर नै रहेको छ । टारी खेतको तारकेश्वर महादेव भनेर पनि यस स्थानलाई भन्ने गरिएको छ । आन्तरिक पर्यटकहरूलाई तानिरहेको यहाँ झरनासंगै लमतन्न सुतेको शिलाको मध्ये भागमा ठुलो खाल्डोे परेको छ । यो खाल्डोभित्र शिवलिङ्ग उत्पति भएको छ । शिलाभित्र हरेको यो शिबलिङ्ग सधै पानीले छोपिने गरेको छ । शिलाबाट पानी निस्कनुलाई भक्तजनहरूले दैविकशक्तिको रुपमा लिने गरेको र नियम रुपमा आउने गरेको तारकेश्वर वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।
त्यसो त यहाँ नियमित रुपमा नागनागिनको पुजा आराधाना हुँदै आएको छ । यस क्षेत्रमा खडेरी जादा यहाँ पुजाअर्चना गर्दा पानी पर्ने जन विश्वास रहेको छ । यहाँ पुग्नका लागि स्थानीय सरकारले पिपलडाडाबाट सडक समेत निर्माण गरेको छ । झरना तथा महादेवस्थानमै सवारी साधन लिएर पुग्न सकिने यस स्थानलाई आन्तरिक पर्यटकहरूको गन्तब्यका लागि काम सुरु भएको छ ।  

तीन वर्षिया बालकको हत्या

विदुर/बेलकोटगढी नगरपालिका वडा नम्बर १२ मा खुर्पा प्रहार गरी एक महिलाले तीन वर्षे बालकको हत्या गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का पार्बती राना मगरले आफ्नो दाई नबराज राना मगरको ३ बर्षिय छोरा सुजन राना मगरलाई खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरमा कोहि नभएको समयमा खुर्पाले घाँटीमा प्रहार गर्दा बालकको घटनास्थलमा नै मृत्यु भएको हो । पार्बतीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएर आनुसन्धान सुरु गरेको छ ।

ल्यान्डफिल्डको समस्या जस्ताको तस्तै

उषा रेग्मी
विदुर/एक बर्ष भित्र निर्माण सक्ने सम्झौता भएपनि नुवाकोट स्थित ककनी गाउँपालिकाको बञ्चरे डाडा ल्यान्डफिल्डको समस्या जस्ताको तस्तै रहेको पाइएको छ ।
बञ्चरेडाँडालाई २०६२÷०६३ मा सेनेटरी ल्यान्डफिल साइट (फोहोर प्रशोधनयुक्त स्थल) का रूपमा छनोट गरिएको थियो । एक हजार सात सय ९२ रोपनी जग्गामा रहेको यो साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । कोसी न्यौपाने एन्ड लुम्बिनी जेभीले भ्याटबाहेक ३४ करोड रुपैयाँमा २०७४ सालमा ठेक्का पाएका थिए । एक वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि अझै पूर्वाधार बनिसकेको छैन । सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्म तीन किलोमिटर सडक निर्माणको जिम्मा पाए पनि अपुरो छ ।
सरकारले १७ सय रोपनी जग्गा व्यवस्थापन गरेको यो क्षेत्रमा उपत्यकाका तीन जिल्लाको फोहोर २० वर्षसम्म व्यवस्थापन गर्न सकिने अनुमान छ । उपत्यकामा दैनिक हजार टन फोहोर उत्पादन हुने गर्छ । उपत्यकाको फोहोरमैला समस्या समाधानको ठोस पहल नगर्दा १४ वर्षदेखि राजधानी दुर्गन्धित बन्दै आएको छ ।
नुवाकोट क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले फोहोरमैला समस्या समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समन्वय गर्नुपर्ने बताए । उनका अनुसार उपत्यका भित्रका सबै नगरपालिकासँग समन्वय गर्ने जिम्मा मन्त्रालयको हो । पटक–पटक मन्त्रालयलाई ध्यानार्कषण गराएपनि सुनुवाई नभएको बताए ।
लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको थियो ।
सार्वजनिक–निजी साझेदारी मोडलमा फोहोरमैला व्यवस्थापन गर्न ‘नेप वेस्ट’ र दुई महिनाअघि ‘क्लिन भ्याली’ नामक संस्थासँग परियोजना विकास सम्झौता (पीडीए) गरिएको थियो । पीडीए कार्यान्वयनमा ल्याउन लगानीकर्ता र सम्बन्धित नगरपालिका बीच सम्झौता हुनुपर्छ। तर, यसबारे काठमाडौं र ललितपुर महानगरले ठोस निर्णय लिन नसक्दा योजना अन्योलमा परेको छ ।
२०७६ वैशाखदेखि लागू भएको भए फोहरमैला संकलन गरेबापत् वेस्टले प्रतिघर मासिक दुई सय १९ रुपैयाँ शुल्क उठाउने थियो । मस्यौदामा २० प्रतिशत फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने र ८० प्रतिशत फोहोरबाट कम्पोस्ट मल, चारदेखि पाँच मेगावाटसम्म विद्युत, प्राकृतिक ग्यास निकाल्ने र पुनः प्रयोग गर्ने व्यवस्था छ । यसरी संकलन गरेको फोहोर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जम्मा गर्ने योजना छ । सरकारले फोहोरमैला विसर्जन गर्न बन्चरेडाँडा र नुवाकोट आलेटारमा ट्रिटमेन्ट प्लान्ट राख्न ८० रोपनी जग्गाको व्यवस्थापन गर्नेछ । वेस्ट कम्पनीले आलेटारमा ८० प्रतिशत फोहोर खपत गर्न प्लान्ट निर्माण गर्नेछ । प्लान्टका लागि ७४ रोपनी जग्गा अधिग्रहण गरिसकेको बोर्डले जनाएको छ ।

फरक फरक घटनामा चारको मृत्यु

विदुर/काठमाडौंँको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको गोल्फुभञ्ज्याङबाट काठमाडौँ जाँदै गरेको हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । चालकसहित अन्य थुप्रै घाइतको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनामा घाइते ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ४९ जना घाइते रहेको बताइएको छ ।
नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षिय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घोरघाटका बिशााल मिजारका ९ वर्षिय छोरा बिप्लब मिजार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मिजारलाई खोलामा पौडी खेल्ने क्रममा पानिमा डुबेको अबस्थामा स्थानियबासीले देखेपछि उद्धार गरी उपचारको लागि विदुर स्थित एक निजी अस्पतालमा ल्याइएको थियो ।
उनको उपचारको क्रममामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

राक्सेश्वरमा गुरुकुल बन्ने

राक्सेश्वरमा गुरुकुल बन्नेगुरुकुल निर्माण हुने स्थान. तस्बिर:कपिलदेव खनाल
छहरे/धार्मिक पर्यटनका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कबिलासमा गुरुकुल निर्माण कार्य भईरहेको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्वर २ राक्सेश्वरमा निर्माणाधिन गुरुकुलका माध्यमबाट लोप हुँदै गएको संस्कृत अध्ययनलाई थप परिष्कृत गर्दै बेद र मेडिटेसन सेन्टर सञ्चालन गरिने बताईएको छ ।
गुरुकुल निर्माणमा सहयोगार्थ गतबर्ष वैदिक सनातन धर्म संरक्षण समाजको तत्वाबधानमा सो क्षेत्रमा धान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । पहिलो चरणमा १० वटा कोठा निर्माण गरिने उक्त गुरुकुल देशी बिदेशी नागरिकका लागि संस्कृत शिक्षाको आधार भुमि हुने स्थानिय अगुवाहरूको भनाई छ ।
गुरुकुल निर्माण पश्चात बिश्वका १२ वटा ब्रम्हक्षेत्र मध्ये एक रहेको यो क्षेत्र समग्र हिन्दु धर्मको अध्ययन केन्द्र बन्न सक्ने बताईएको छ । धार्मिक पर्यटनको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएका हुनाले यसलाई प्रर्वद्धन र बिकास गर्नका लागि आफुहरू लागिपरेको स्थानियहरूको भनाई छ । योगका लागि उत्कृष्ट गन्तव्य ब्रम्हक्षेत्रलाई बनाउन सकिने स्थानियको बिश्वास रहेको छ ।
ब्रम्हक्षेत्र धार्मिक पर्यटनको लागि अत्यन्तै महत्वपुर्ण, पुरातात्विक र ईतिहास बोकेका भौगोलिक क्षेत्र हुनाका साथै योग साधाना गर्न चाहनेहरूका लागि उपयुक्त क्षेत्र रहेको छ । कबिलास क्षेत्र भगवान शिबको अखण्डभुमि, अलौकीक गुफा पर्यटकहरूका लागि आर्कषणको केन्द्रबिन्दु बन्दै आएको छ । जसअनुसार हरेक बर्षको शिबरात्रीमा यहाँ बिशेष मेला लाग्ने गर्दछ ।

माघ १ बाट नमूना जनगणना

विदुर/राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना आउँदो माघ १ गतेबाट सुरु हुने भएको छ ।
केन्द्रिय तथ्याङ्क विभागले सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो । सही तथ्याङ्क ल्याउनका लागि नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको हो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार सो नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि लामिछानेले बताए । यस अघि शिक्षकहरूलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरूलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ ।
सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान  छ । पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो  तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।

भैरबी एकेडेमी र कल्याणकारीको बार्षिकोत्सव

विदुर/विदुर र बट्टारमा रहेका दुई निजी विद्यालयहरुले गएको साता छुट्टा छुट्टै कार्यक्रम गरेको आफ्नो स्थापना दिवस मनाएको छ । बट्टारमा रहेको भैरबी एकेडेमीले कात्तिक ९ गते १४ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका उपप्रुमख गीताकुमारी दाहालले निजी क्षेत्रबाट सञ्चालित विद्यालय भैरबी एकेडेमी नुवाकोटमा नमूना विद्यालयको रुपमा उदायको बताइछन् । कार्यक्रममा विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठ, विदुर नगरपालिका शिक्षा शाखाका विज्ञ तुलध्वज खतिवडा, विद्यालयका अध्यक्ष पवन नेपाल, प्याब्सनका केन्द्रिय सदस्य ठाकुर पुडासैनी, प्याब्सनका प्रदेश नं. ३ का अध्यक्ष रामहरि रिमाल, नेपाल पत्रकार महासंघ नुवाकाटका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ भएका विद्याथीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।
विदुरको कल्याणकारी विद्या मन्दिरले कात्तिक ८ गते ११ औं बार्षिकोत्सव, तिहारको शुभकामना आदानप्रदान तथा साँस्कृति कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न  क्रियाकलापमा  उत्कृष्ठ भएका विद्यार्थीहरुलाई  पुरस्कार वितरण गरिएको स्कुलका अध्यक्ष पुर्णलाल श्रेष्ठले बताए । 

ओम श्री गोसाइँकुण्डको अध्यक्षमा पण्डित

बट्टार/बट्टारमा रहेको ओम श्री गोसाइँकुण्ड बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बट्टारले यस आर्थिक बर्षमा १८ लाख रुपैयाँ फाईदा गरेको छ ।
१८ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिबेशनको शनिवार उद्घाटन कार्यक्रममा सहकारीले बचत संकलन तथा ऋण लगानीबाट १८ लाख भन्दा बढी रकम फाईदा भएको जनाएको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका अरु सहकारी भन्दा ओम श्री गोसाइँकुण्ड बहुउद्धेश्यिय सहकारी पृथक रहेको बताए ।
नगर र आसपासका गाँउहरूमा समुह गठन गरी आयआर्जनमा बढावा दिनका लागी सहकारीले पहल कदमी गर्दै आएको बताए । राज्यले लिएको सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई यो सहकारीले टेवा पु¥याएको बताए । छरिएर रहेको थोरै पुँजीलाई एकत्रित गरी ब्यबसायीक क्षेत्रमा लगानी गर्न सहकारी सफल भएको उनले बताए । सहकारीका अध्यक्ष भुवनलाल राजभण्डारीले सहकारीको सांगठानिक सुधार, ब्यसायिक बिस्तार, जोखिम स्थानमा लगानी नगर्ने र आर्थिक उपार्जनको लागी समुदखाय स्तरसम्म सहकारी पुगेको बताए ।
सहकारीले निर्धन उत्थान कार्यक्रम, रेमिट्यान्स सेवा, स्वरोजगार कर्जा, सदस्यता राहत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सहकारीले १८ वर्षदेखि आफ्नो सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यस्तै, सहकारीको सातौँ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा ईन्द्रबहादुर पण्डित, उपाध्यक्षमा माणिकलाल श्रेष्ठ, सचिबमा रामकृष्ण राजभण्डारी, कोषाध्यक्षमा दिपकराज सिलवाल चयन भएका छन् । यस्तै, सदस्यहरूमा गंगालाल श्रेष्ठ, राजेन्द्रबहादुर प्याकुरेल, लक्ष्मी प्रधान, सुन्तली श्रेष्ठ र रामकृष्ण रिमाल चयन भएका छन् । यस्तै, लेखा उप समितिको संयोजकमा धु्रबप्रसाद अर्याल र लेखा उप समिति सदस्यहरूमा होमनाथ घिमिरे र सबिना खड्का रहेका छन् । यस्तै, ऋण उप समिति संयोजकमा गोपिनी केसी र सदस्यमा जुना कुमारी डङ्गोल चयन भएका छन् ।

ज्येष्ठ नागरिक प्रतिष्ठानमा पुनः नेपाल

देविघाट/देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केशबराज पाण्डेले प्रतिष्ठानको लागी प्रदेश सरकारबाट नर्सिङ सेवा सहितको संरचना निर्माणमा पहल गर्ने बताए । ज्येष्ठ नागरिकहरूको संरक्षणको लागी प्रतिष्ठानलाई नमूनाको रुपमा प्रस्तुत गर्ने योजना प्रदेश सरकारको रहेको उनले सुनाए ।
बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महिनाको १ दिन जिल्ला अस्पताल त्रिशुलीका चिकित्सकहरूबाट प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षणको ब्यबस्था मिलाउने प्रतिबद्धता जनाए । कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर नगरपालिकाका पुर्व प्रमुखहरू ठाकुर गजुरेल, शिवप्रसाद गजुरेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालले आगामी कार्ययोजनाहरूको बिषयमा जानकारी गराएका थिए । प्रतिष्ठानको अक्षयकोषलाई बृद्धि गर्दै केन्द्रमा उचित सेवा प्रबाह गर्नमा प्रतिष्ठान लागी रहेको उनले बताए । प्रतिष्ठानमा पुर्बिय दर्शन संस्कृति झल्किने संग्राहलय र पुस्तकालयको निर्माण गर्ने, प्रतिष्ठान पसिरमा बिश्राम स्थल निर्माण गर्ने लगायतको भाबी योजना तायार पारेको छ । कार्यक्रममा प्रतिष्ठानको ४० जना आजिबन सदस्यलाई सम्मान गरेको थियो ।
यसै बीच, अधिवेशनले निर्विरोध रुपमा विष्णुप्रसाद नेपालको अध्यक्षतामा पुनः कार्य समिति चयन गरेको छ । कार्य समिति २९ सदस्यिय रहेको छ । उपाध्यक्षमा बद्रीलाल श्रेष्ठ, सचिवमा हेमप्रसाद अधिकारी, कोषाध्यक्षमा बिन्दादेवी अर्याल, सह सचिवमा रामहरि गजुरेल छन् ।
सदस्यहरूमा ठाकुरप्रसाद गजुरेल, बिष्णुप्रसाद सापकोटा, सुरथबहादुर चित्रकार, गोविन्दलाल चित्रकार, भरतकाजी चित्रकार, केशव अर्याल, शिव कोइराला, मिनकुमार खतिवडा, कुवेरमान श्रेष्ठ, डम्वरकुमार भट्ट, शम्भुप्रसाद शर्मा, बलराम अधिकारी, गोपालमान श्रेष्ठ, भरत पुडासैनी, ठाकुर पुडासैनी, रामकृष्ण भट्ट, शिवसुन्दर पुडासैनी, रुम्किणी सेढाई र दीपक न्यौपाने छन् । १५ सदस्यिय सल्लाहकार समिति समेत गठन भएको कार्य समिति सदस्य विष्णुप्रसाद सापकोटाले बताए । 

तिहार सकिए लगत्तै खेतीपातीमा


विदुर/तिहार सकिएसँगै ग्रामिण भेगका नागरिकहरू खेत बारीमा ब्यस्त हुन थालेका छन् ।
कात्तिक सुरु भएसँगै नुवाकोटका किसानहरू धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले नुवाकोटको खेतका फाँटहरूमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरू व्यस्त देखिन थालेका छन् । किसानहरूको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ । नुवाकोट लगायतका जल्लाहरूमा यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ ।
अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् ।
धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको किसानहरूको भनाई छ ।
खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्रयाक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ । समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।
कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । धान उत्पादनका लागि उर्बर मानिएको नुवाकोटको फाँट खेतहरूमा अहिले खलामा नै धान किन्न ब्यापारिहरू पुगेका छन् । 

ब्राउन सुगर कारोवारको आशंकामा पक्राउ

विदुर/अबैध लागू औषध ब्राउन सुगर कारोवारको आशंकामा नुवाकोट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सुर्यगढी गाउँपालिका ५ का ४६ वर्षिया नकुल मगर र ३८ बर्षिया हरिबहादुर मगर छन् । यस अघि असोज ७ गते बट्टारमा पार्किङ गरेको बा ७५ प ७०११ नम्वको स्कुटको डिक्कीबाट प्रहरीले ब्राउन सुगर फेला पारेको थियो । उक्त स्कुटरधनी  सुनिलकुमार पनेरु यस अघिनै पक्राउ परिसकेका छन् । नुवाकोटमा लागू औषधको प्रयोगकर्ता र कारोवार बढेको आन्तरिक जानकारीका आधारमा प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणमा सक्रिता देखाएको नुवाकोट प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिएका छन् । 

रसुवामा चिज उत्पादनमा बृद्धि

रसुवा/बिगतका बर्षमा रसुवामा चिज उत्पादनमा गिरावट आएता पनि यस बर्ष भने बढेको एक तथ्याङ्कले देखाएको छ ।
वार्षिक १० हजार केजी उत्पादन क्षमता रहेको चिज उत्पादन केन्द्रले क्षमता भन्दा बढी चीज उत्पादन गर्दै आएको छ । केन्द्रका अनुसार यो वर्ष ११ हजार केजीभन्दा बढी चीज उत्पादन भएको छ । यो वर्ष ११ हजार ३८० केजी चीज र ३ हजार ९५३ केजी मखन उत्पादन भएको उत्पादन केन्द्रले जनाएको छ ।
यो वर्ष मात्रै केन्द्रले ८७ लाख ५० हजार ५६५ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन भएको केन्द्र प्रमुख जीतबहादुर जिरेलले बताए । गत वर्ष ६३ लाख २८ हजार २७७ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन गरेको थियो ।
चौरी पाल्ने कृषक बढ्दै गएको कारण उत्पादन पनि बढ्दै गएको उनको भनाई रहेको छ । पहिले कृषक आफैंले छुर्पी बनाएर बेच्थे । पछिल्लो समय केन्द्रले दुधको मूल्य बढाएका कारण वरिपरि रहेका सबै कृषकले चिज उत्पादन केन्द्रलाई दुध उपलब्ध गराउन थालेका छन् ।
पहिले चारवटा केन्द्र रहेकोमा अहिले सातवटा पुगेको छ । दुग्ध विकास संस्थानअन्तर्गत छवटा र निजी एउटा चिज उत्पादन केन्द्र सञ्चालनमा रहेको छ ।

२०७६ कात्तिक १८ गतेको सम्पादकिय

भ्रमण वर्षमा नुवाकोटको स्थान
नुवाकोट सात तले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो । वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरूको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए । निकै कलात्म तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा देशै अनुपम नमुना मानिन्छ । पहिले नौ तलामा रहेको यो दरबार वि.सं १९९० सालको महाभूकम्पले क्षति पुर्याई सात तलामा सीमित भएको थियो । हाल वि.सं. २०७२ सालमा आएको विनासकारी महाभूकम्पले यो दरबारलाई पुनः क्षति पुर्याएको छ । अहिले यसको पुनर्निर्माण कार्य भइरहेको छ । 
यस क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरू छन् । यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो । 
नुवाकोटको ऐतिहासिक स्थलहरूमध्येको एक हो बेलकोटगढी । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्य भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना छ ।
दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किमि उत्तरपूर्वमा पर्छ ।  धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ । यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ । उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरूको भीड लाग्ने गर्छ ।
समुद्र सतहदेखि २९१५ (दुई हजार नौ सय पन्ध्र) मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । काठमाडौँदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरू यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था छ । 
राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ । यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ । समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरूमध्ये पर्छ । उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरूका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरूको देख्न सकिन्छ । यस क्षेत्रमा हिउँदमा पिकनिक जाने र रमाइलो जमघठहुनेहरूको भीड लाग्ने गर्छ । 
त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरूमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, त्रिशुलीको राम मन्दिर, कविलासको कपिलेश्वर, तारकेश्वर र विदुर नगरपािलको सिमानामा रहेको ढिकिजातो चुली, तारकेश्वरको जन्तरेगढी रहेका छन् । सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ । यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसंक्रान्तिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरू समेत प्रख्यात छन् ।

अनुदान कात्तिकसम्म

विदुर/दोस्रो किस्ता अनुदान नलिएका भुकम्प पिडित नागरिकहरूलाई निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ ।
कात्तिक मसान्त्सम्ममा पनि दोस्रो किस्ताको अनुदान नदिएमा उनीहरू अनुदान पाउने सूचीबाट हट्न सक्ने छन् । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको हो । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।
भूकम्पबाट क्षति भएका मध्ये ४ लाख ६९ हजार २५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४५६ घर पुनर्निर्माणका क्रममा छन् भने नुवाकोटमा भूकम्पले भत्काएको ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ ।
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटको अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले भूकम्पले भत्काएको घर पुनःनिर्माण गरेका हुन् ।
पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा  तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोबास गर्न थालेका छन् ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८ शय ०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिशमा सरकारी अनुदानस्वरुप  तीन लाख उपलब्ध गराइएको थियो ।
जिल्ला आयोजना कार्यान्वयन एकाइको अनुसार घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर पुनःनिर्माण अघि बढाएका छन् । सरकारले भूकम्पपीडित लाभग्राही नागरिकहरूलाई निजी आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्ने बित्तिकै पहिलो किस्तावापत  ५० हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्तावापत  एक लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्तावापत  एक लाख गरेर तीन चरणमा  तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । विनाशकारी भूकम्पले भत्काएको निजी आवासको पुनःनिर्माण यो वर्षभित्रै पूरा गर्ने सरकारी लक्ष्य रहेको छ । नागरिकहरूमा यसको खवर दिनका लागि प्रधिकरणले स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई समेत आग्रह गरेको छ ।

फागुन १६ देखि छैटौं नुवाकोट महोत्सव

विदुर/नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्यित गर्दै नुवाकोट उद्योग बाणिज्य संघले पृथक शैलीमा छैटौँ महोत्सब गर्ने दावी गरेको छ  । बिगतमा भएका महोत्सबहरू ब्यापारमुखि भएको भन्दै छैटौँ महोत्सबलाई प्रचार प्रसार र पर्यटन भित्र्याउने खालको बनाउने नुवाकोट उद्योग बाणिज्य संघका द्धत्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
आगामी फागुन १६ गते देखि २७ गतेसम्म महोत्सब आयोजना गर्ने निर्णय भएको बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले जनाए । महोत्सबको स्विकृतिको लागी ७ सदस्यिय उप समिति समेत गठन भएको छ । जसको संयोजकमा बरिष्ठ उपाध्इक्ष गीता अमात्य छन् ।
नुवाकोट उद्ययोग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सबको आयोजना गर्ने जानकारी दिएको हो । नुवाकोटमा उत्पादित बस्तुहरूको बजारिकरण, प्रचार प्रसार र सस्तो सुलभ बजारको लागी महोत्सब सञ्चालन हुँदै आएको थियो । यस बर्ष भने राज्यले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण बर्ष २०२० मा राज्यले लिएको लक्ष्यलाई समेट्ने गरि महोत्सब आयोजना गर्ने बताइएको छ ।
बाणिज्य संघको पछिल्लो कार्य समिति बैठकले ५ जनालाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको पाँचौँ बैठकले बिदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका राजकुमार आचार्य, लिखु गाँउपालिका वडा नम्बर १ ढिकुरेका लक्ष्मण लामिछाने, बिदुर ४ बट्टारका हरिशरण रिमाल, बिदुर १ त्रिशुलीका नबिनराज जोशीलाई मनर्य समितिकिो सदस्य पदमा मनोनित गरेको हो । अध्यक्ष कार्कीको कोटाको सदस्यमा भने बिदुर ४ बट्टारका गिता थापा ढकाल मनोनित भएका छन् ।

राप्रपा संयुक्तकोको मागः नुवाकोट राजधानी

विदुर/राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त नुवाकोटले तीन नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउनु पर्ने माग गरेको छ ।
मुलुक पुनःसंरचित भई तीन तहको सरकार कार्यान्वयनमा आएसँगै ३ नम्बर प्रदशको राजजधानी नुवाकोट बनाउनु पर्ने आबाज उठ्दै आएको छ । नुवाकोट सहित, हेटौडा, भक्तपुर, काभ्रे र चितवनलाई प्रदेशको राजधानी राख्न उपयुक्त रहेको राजधानी छनौट सिफारिस समितिले जनाएको थियो । नेपाली नागरिकहरूलाई सुबिधाको पँहुच र अधिकार सम्पन्न गराउने राज्यको परिकल्पना अनुसार प्रदेश नम्बर ३ को राजधानी नुवाकोट उपयुक्त भएको राप्रपा संयुक्त नुवाकोटले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागी जिल्ला प्रशासन कार्यालय मार्फत मुख्य मन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले जनाकारी दिए ।
प्रदेश नम्बर ३ को आगामी हिउदे अधिबेशनबाट राजधानीको नामाकरण र केन्द्र तोक्ने कार्य सञ्चालन गरि नुवाकोटलाई तोक्नु पर्ने राप्रपा संयुक्त नुवाकोटले जनाएको छ । त्रिदेशिय मार्गको ट्रान्जिट प्वाईन्ट, समथर भु–भाग, प्रशासनिक कार्यको लागी आबाश्यक संरचना भएको, जल, जमिन र बिजुलीको एथेष्ट सुबिधा भएकाले नुवाकोटको बिकल्पमा अरु जिल्ला राजधानी हुन नहुने जनाएको छ । प्रदेश नम्बर ३ मा रहेका १३ वटै जिल्लालाई पायक पर्ने, अन्तराष्ट्रिय ब्यापारिक नाकाको नजिक रहेको, नेपाल एकिकरणको पहिलो राजधानी रहेको ईतिहास रहेकाले नुवाकोटलाई प्रदेशको राजधानी बनाउनु पर्ने राप्रपा संयुक्तका केन्द्रिय सदस्य झनक प्याकुरेलले बताए ।
हाल अस्थाई मुकाम तोकिएको हेटौडा भौगोलिक हिसाबले अपायक रहेको, राज्यले लिएको उद्देश्य बिपरित रहेको जनाएको छ । राज्यको सेवा र सुबिधालाई बिकेन्द्रिकृत गर्दै नयाँ शहर र बिकास गर्ने रणनिति अनुसार हेटौडा प्रदेशको राजधानी उद्देश्य बिपरित रहेको जनाएको छ ।

जग्गाको मुआब्जा माग्ने पक्राउ

विदुर/जिल्ला प्रहरी कार्यालय नुवाकोटले गएको आईतबार विदुर नगरपालिका वडा नम्बर १० का वडा सदस्यसहित अन्य तीन जनालाई पक्राउ गरेको छ ।
गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्र्तगत शुभघाटमा स्थानियबासीले अवरोध सिर्जना भएको भन्दै प्रहरीले सोधपुछका लागी पक्राउ गरेको हो । पक्राउ पर्नेमा नगरपालिका वडा नम्बर १० का वडा सदस्य विष्णुप्रसाद प्याकुरेल, गल्छी–त्रिशुली सडक सरोकार समितिका संयोजक शिबबहादुर नेपाल, सचिव लेखनाथ रिजाल र सडक प्रभावित दुर्गा पौडेल छन् । पक्राउ पछि सोधपुछ गरि छोडेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सडक योजनाले अव्यवहारिक रुपमा मुअब्जा दिने निर्णय गरेकोले स्थानियबासीहरूले सडक निर्माणमा अवरोध पुराएको बताएका छन । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रबसी–रसुवागढी सडक योजनाले गेर्ख‘खोलादेखि–बेत्रावतिसम्म १५–१५ मिटरभित्र पर्ने जग्गाको मात्र मुल्य निर्धारण गरेको छ । तर स्थानियबासीले सडक योजनाले गरेको मुल्याङ्कन अव्यवहारिक भएको बताएका छन् ।

५६ हजार बढी घर पुनर्निर्माण

विदुर/नुवाकोटमा भूकम्पले भत्काएको ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ लाभग्राहीले भूकम्पले भत्काएको घर पुनःनिर्माण गरेका हुन् ।
पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा  तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशत नयाँ घरमा बसोबास गर्न थालेका छन् ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई प्राविधिकको सिफारिशमा  अनुदानस्वरुप  तीन लाख उपलब्ध गराइएको थियो । जिल्ला आयोजना कार्यान्वयन एकाइको अनुसार घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर पुनःनिर्माण अघि बढाएका छन् । अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरूका लागि कार्यालयले ताकेता गरिरहेको छ ।
सरकारले लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्नेबित्तिकै पहिलो किस्तावापत  ५० हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्तावापत  एक लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्तावापत  एक लाख गरेर तीन चरणमा  तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । विनाशकारी भूकम्पले भत्काएको निजी आवासको पुनःनिर्माण यो वर्षभित्रै पूरा गर्ने सरकारी लक्ष्य रहेको छ ।

हुलाकको आम्दानी १८ लाख

विदुर/जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । हुलाक टिकट वितरण, एफएम रेडियो नवीकरण, केबल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आर्थिक बर्षमा  राजस्व संकलन गरेको हो ।
०७४ र ७५ मा १८ लाख, आव ०७३ र ७४ मा १६ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । हुलाकमा व्यक्तिगत चिठी आउन छाडे पनि सरकारी कार्यालय, अन्य संघसंस्थाका चिठी पर्याप्त मात्रामा आउने गरेको कार्यालयले जनाएको छ ।
केही वर्ष अघि सञ्चारको एउटै माध्यमको रुपमा रहेको हुलाक सेवा प्रविधि विकाससँगै ओझेलमा परिरहेको छ । 

सहकारीसंगको सहकार्यमा कृषिमा लगानी गर्दै प्रदेश सरकार

विदुर/प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा २४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ । कृषि, पशुपक्षी तथा मत्स्यसम्बन्धी जिल्लाबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर मन्त्रालयले साझेदारीका लागि प्रस्ताव आह्वान गरेको छ । प्रदेशको पशुपक्षी विकास तथा मत्स्य विकास निर्देशनालयले ११ कार्यक्रममा २४ करोड २५ लाख रुपैयाँ लगानी गर्ने गरी प्रस्ताव माग गरेको छ ।
निर्देशनालयले आह्वान गरेको प्रस्ताव अनुसार काठमाडौँ, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि शत प्रतिशत साझेदारी गर्नुपर्ने छ । उक्त कार्यक्रमका लागि निर्देशनालयले अधिकतम ४० लाख रुपैयाँ छुट्याएको जनाएको छ । चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी १० लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङका छ स्थानमा बृहत्तर शाखा अनुसन्धान विस्तार तथा विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ लगानी गर्ने प्रदेशको योजना छ । त्यसैगरी कृषि र पर्यटनको प्रवद्र्धनका लागि नमूना कालिज तथा स्थानीय जातका कुखुरापालन गर्नका लागि २५ लाख रुपैयाँसम्मको साझेदारी गरिने मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिनुभएको छ । चितवन र काभ्रेपलाञ्चोकमा
पशु आहार उद्योग स्थापनाका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले एक करोड रुपैयाँ लगानी गर्ने भएको पाण्डेको भनाइ छ । दोलखामा सामूहिक गाईपालनका लागि २० लाख रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान गरिएको छ ।
चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि पनि प्रतिहेक्टर पाँच लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।

रसुवागढीमा लक्ष्य भन्दा कम राजश्व

धुञ्चे/रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको बताइएको छ ।
      कार्यालयले गएको असोज महिनामा एक अर्ब ४० करोड ३६ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार राजस्व संकलन भएको हो । यो लक्ष्यको ९८.८९ प्रतिशत हो । असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व उठेको भए पनि कार्यालयले वार्षिक लक्ष्यको ४२ प्रतिशत राजस्व उठाइसकेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्ममा राखेको लक्ष्यभन्दा ४० प्रतिशत बढी उठाइसकेको छ । कार्यालयको तथ्याङ्क अनुसार साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ र भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार उठेको छ। दसैंमा लक्ष्यभन्दा केही कम राजस्व संकलन भए पनि तीन महिनाको लागि राखिएको लक्ष्यभन्दा बढी भएकाले समस्या नरहेको रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताएका छन् ।
      असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दसैंका सामग्री, रेडिमेड सामग्री, टेलिकमका सामग्री र प्रोजेक्टको सामग्री बढी आएका छन्। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७२र७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३र७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।
      रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री,
हस्तकलाका सामान, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ ।

बलियो व्यापारिक नाका बनाउ छलफल

शशिकुमार डंगोल
बेत्रावती/रसुवागढी नाकालाई व्यवस्थित र बलियो व्यापारिक नाका बनाउनुपर्नेमा दुबै देशका अधिकारीहरू बीच छलफल भयो ।
जिलोङ काउन्टी र जिल्ला प्रशासन रसुवाका समकक्षीहरू बीच मंगलबार केरुङमा भएको काउन्टर पार्ट बैठकमा भएको हो । सीमा क्षेत्रबाट हुनसक्ने अवैध आवागमनलाई रोक्न नाकालाई थप व्यवस्थित र प्राविधि मैत्री बनाउनुपर्ने कुरामा दवै देशका अधिकारीहरू बीच बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्ज‘न भण्डारीले बताए ।
यस्तै सीमा जोडिएका वनक्षेत्रमा आगलागी हुन नदिन दुवै देशका अधिकारीहरूले समन्वय र सहयोगलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । दुवै देशको भाषा, कला र संस्कृतिको अनुभव आदान प्रदान गर्ने, सीमा क्षेत्रका अधिकारीहरूबीच नियमित छलफल तथा बैठक सञ्चालन गर्ने विषयमा दुबै देशका अधिकारीहरू बीच समझदारी समेत भएको छ ।
डेंगु रोग सीमा क्षेत्रामा देखिए दुवै देशको समन्वय र सहयोगमा नियन्त्रण गर्नुपर्ने पनि बैठकमा छलफल भएको छ । बैठकमा चीन सरकारको सहयोगमा स्तरोन्नती हुन लागेको स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डमा स्थानीय प्रशासनबाट आवश्यक सहयोग हुने विश्वास नेपाल पक्षले व्यक्त गरेको छ । जिल्लाभन्दा बाहिरका बासिन्दाको लागी वान डे पास तथा कन्टेनर चालकको लागी १५ दिने अस्थायी पासको व्यवस्था गर्न नेपाली पक्षले मंगलबारको बैठकमा पुनः चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ ।
सीमा क्षेत्रबाट हुने सुन तस्करी, चेलीबेटी तस्करी लगायत अवैध व्यापारिक गतिविधि नियन्त्रण गर्न चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भयो ।
केरुङसम्म मालवस्तु ढुवानी गर्ने कन्टेनर चालक, सीमा क्षेत्रमा काम गर्ने नेपाली तथा चिनियाँ सुरक्षाकर्मीलाई दुवै देशको भाषा सम्बन्धी आधारभुत ज्ञान उपलब्ध बताएका छन् । 

अस्पताल सुधारमा सरकार

विदुर/प्रदेश ३ सरकार जिल्ला अस्पतालहरूको सुदृढीकरणमा लागि परेको छ ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले विभिन्न समयमा गरेको अनुगमनको क्रममा सरकारी अस्पतालको सेवा कमजोर रहेकोले सुदृढीकरणका लागि मन्त्रालयले ९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छर ।
प्रदेशका जिल्ला अस्पतालहरू मध्य नुवाकोटको त्रिशुली जिल्ला अस्पतालका लागिपनि १ करोड ५० लाख बजेट छुट्याएको सामाजिक विकासमन्त्री युवराज दुलालले जनाएका छन् । प्रदेश ३ सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न बनाउने लक्ष्यसहित कार्य्िवधि बनाइसकेको र सोही आधारमा अब अगाडि बढ्ने मन्त्री दुलाले जनाए ।
जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो । न्यूनतम सेवा मापदण्ड अनुसारको निर्देशिका पठाएपछि अस्पतालले सेवा थप गर्न सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनायो ।

विदुरमा प्रअहरूको नियमति बैठक हुने

विदुर/विदुर नगरपालिका स्तरिय आधारभुत तह अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ । कात्तिक १ गते बिदुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तर आधारभुत बिद्यालय हाजिरिजवाफ प्रतियोगिताका बिजेताहरूलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो ।
प्रतियागितामा प्रथम हुने चन्द्रज्योती माबि पिपलटारले ६ हजार नगद र प्रमाण पत्र पाएको छ भने दित्तिय हुने पृथ्वी माबि बिदुरलाई ४ हजार ५ सय र प्रमाण पत्र, तृतिय हुने तिनघारे पिपलडाडा माबि चारघरे र महेन्द्र माबि गौरीबेसीलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बिदुर नगरपालिका भित्रका १६ वटा बिद्यालयले सहभागिता जनायो ।
पुरस्कार हरेक महिनाको ५ गते हुने प्रधानाध्यापकहरूको बैठकको अबसरमा प्रदान गरियो ।विदुर नगरपालिका भित्रका
स्कुलहरूको प्रधानाध्यापकहरू प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने गर्दछन् । बैठकमा आफ्नो स्कुलमा परेको समस्या लगाएतको बिषयमा छलफल हुने गर्दछ ।
पुरस्कार बितरण गर्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बिदुर नगरपालिकाभित्र रहेका बिद्यालयमा भएको समस्या समाधान गर्न र हिजोको दिनमा भएको कमिकमजोरी सुर्धाने उद्देश्यमा नगरपालिका रहेको बताए । उनले बिकास निर्माणको बजेट कटौति गरेर शिक्षा क्षेत्रमा लगानी गरेको बताए ।
बिदुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका बिद्यालयहरूलाई बिभिन्न प्रतियोगिता आयोजना गरि सहभागि गराई रहेको छ । यस्तै आउदो मंसिर ६ गते  माबि स्तरिय बतृत्वकला प्रतियोििगताको आयोजना गर्ने शाखाले जनाएको छ ।

बित्तिय बेरुजु बढ्यो

विदुर/बिकास निर्माणको काममा बित्तिय बेरुजुहरू बढेकोले नागरिक समाज र सञ्चार माध्यमले चासो राख्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
ईन्सेक नुवाकोटको आयोजनामा भएको पारस्परिक जवाफदेहिता परियोजना बिकासको लागी नागरिक समाज तथा  सञ्चार जगत बीच सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजले बिकास निर्माण र सरोकारको बिषयहरूमा नागरिक समाजले चासो नराखेको  उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताए ।
नागरिक समाजको एउटा शाखाले बिकासको लागी निर्णय पक्रिया जस्ता कुरामा सहयोग गर्न सक्ने  कार्यक्रममा उपस्थितहरूले बताएका छन् । कार्यक्रममा पत्रकार शिव देवकोटाले  नुवाकोटको बिकास निर्माणमा सञ्चार माध्यम  अहम भुमिका रहने बताए । उनले गैर सरकारी संस्थाहरूको काम पारदर्शी नभएको र स्थानिय तहले नागरिक समाज र संचारकार्मीहरू संग सहकार्य नगरेको बताए ।
कार्यक्रममा गैसस महासंघ प्रदेश समिति सदस्य देवकी पौडेल, नुवाकोट पत्रकार महासंका अध्यक्ष कपिलदेव खनाल, शक्ति समुह नुवाकोटका कार्यक्रम संयोजक सम्झना प्रशाई, संकल्प नुवाकोट अध्यक्ष शर्मिला थापामगर लगायतले बोलेका थिए । नागरिक समाज र सञ्चार माध्यम बिच सहकार्य गरेर सत्य तथ्य र निष्पक्ष समाचारहरू सञ्चार माध्यमबाट प्रचार प्रसार भएमा मात्र पिडितले न्याय पाउने कार्यक्रममा सहभागिहरूको भनाई छ । 

राज्य पुनः संरचना भएपनि सेवा केन्द्रिकृत

विदुर/मुलुक स्थानिय तहमा पुनःसंरचित भएता पनि सेवा सुबिधा बिकेन्द्रिकृत नभएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए ।
सिंहदरबारको अधिकार घरघरमा पु¥याउने उद्देश्यले मुलुक तीन तहमा पुनःसंरचित भएतापनि अधिकार लिनको लागी धाउनु पर्ने नागरिकहरूको बाध्यता अझै नहटेको बताए । नेकपा माले नुवाकोटले दिपावली, नेपाल संबत तथा छठ पर्बको अबसरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले संघिय सरकारको अधिकारलाई प्रत्येक नागरिकहरूको घरघरमा पु¥याउन संघियता कार्यान्वयन गरेता पनि बलियो हुन नसकेको बताए ।
नेकपा मालेका केन्द्रिय पोलिटब्युरो सदस्य कृष्ण रानाले मुलुकलाई धर्म निरपेक्षता बनाउदै सनातन धर्मको नाश गरेको बताए । बिदेशी मुद्रामा बिक्दै नेपालका नेताहरूले सनातन धर्मलाई डलरमा बिक्रि गरेको आरोप लगाए । धर्म निरपेक्षता बनाउदै बिदेशिहरूसँग बिभिन्न सहयोगको नाममा सहयोग र पुरस्कार लिएर सनातन धर्मको रक्षामा सरकार चुकेको बताए ।
नेपाली काँग्रेस नुवाकोट प्रबक्ता राजु थापाले तीन तहको सरकार भएता पनि नागरिकहरूले स्थाई सरकारको आबास गर्न नपाएको बताए । स्थानियदेखि केन्द्रिय तहसम्म सिमितको बोलवाला रहेको र दलहरूलाई पन्छाउने काम भएको बताए । 

मौजुदा ‘संवैधानिक त्रुटी’ उजागर

विदुर/सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटी’लाई उजागर गरेको छ ।
संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर सर्वोच्चले शुक्रबार स्थानीय तहका जनप्रतिनिधिले मासिक पारिश्रमिक दिने सम्बन्धमा बनेको प्रदेश कानुन खारेज गरेको थियो । सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको पारिश्रमिक संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरीत भएको ठहर गरेको छ । संविधानको धारा २२० को ८ मा जिल्ला समन्वय समिति सदस्यहरू र २२७ मा गाउँसभा र नगरसभा सदस्यहरूले पाउने सुविधासम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने उल्लेख छ।
सर्वोच्चको फैसलामा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा ३ अन्तर्गतको स्थानीय जनप्रतिनिधिले पारिश्रमिक पाउने गरी बनाएको अनुसूची बदर गर्न भनिएको छ । सो ऐनको दफा ३ मा स्थानीय जनप्रतिनिधिले मासिक सुविधा पाउने उल्लेख छ भने अनुसूचीमा कुन शीर्षकमा के सुविधा पाउँछन् भन्ने तोकिएको छ ।
प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरूले मासिक पारिश्रमिक लिइरहेकोमा सर्वोच्चको फैसलाले त्यसमा रोक लगाएको छ। यसैगरी ६३ वटा जिल्ला समन्वय समितिका पदाधिकारीहरूले पनि तलब र भत्ता लिइरहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको एकमुष्ट मासिक पारिश्रमिक संविधानसँग बाझिएकाले अदालतले खारेज गरेको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संविधानले काम गरेबापत भत्ता लिनु मात्र भनेको उल्लेख गरे ।
जनप्रतिनिधिहरूले तलब नलिईकन काम गर्न‘ कतिको सम्भव छ र भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता ज्ञवालीले आफ्नो घरआँगन वरिपरि, गाउँठाउँमा सेवा गर्न भत्ता लिन सकिने प्रतिक्रिया दिए । मासिक तलबझैं एकमुष्ट रकम बुझ्नुहुँदैन भनेर मात्र संविधानले भनेको छ । सर्वोच्चले स्थानीय जनप्रतिनिधिलाई सेवासुविधा नलिई काम नर्न‘ भनेको नभई प्रदेशसभाले बनाएको कानुनमा भएको त्रुटिलाई मात्र औंल्याएको गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

२०७६ कात्तिक ११ गतेको सम्पादकिय

सडकले ककनी ओझेलमा
नुवाकोटको प्रमुख पर्यटकीय स्थल ककनी सडकको कारण ओझेलमा परेको छ । ककनीमा पहिला १२ महिना पर्यटकहरू झम्मिएका हुन्थे । तर बिगत १ बर्ष देखि सडकका कारण घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या न्यून रहेको छ । राजधानी काठमाडौंदेखि पर्यटकीय स्थल ककनीसम्मको यात्रा अहिले निकै कष्टकर र जोखिमपूर्ण बनेको छ । बालाजु–बाइपासदेखि ककनीसम्मको दूरी २२ किलो मिटरको भए पनि उक्त दूरी छिचोल्न अहिले चार घन्टाभन्दा बढी लाग्ने गरेको छ । सामान्यतया ४५ मिनेटमा आई पुग्ने रमणिय स्थान ककनी आईपुग्न अहिले ४ घण्टा भन्दा बढि लाग्ने भए पछी पर्यटकहरू आउन छाडेका छन् । 
विगत लामो समयदेखि बालाजु–बाइपासदेखि ककनीसम्मको सडकखण्ड निर्माणाधीन अवस्थामा रहे पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले यो सडकखण्डको निर्माण र विस्तारको लागि योजनासहित बजेट छुट्याएका थिए । सडक स्तरउन्नतीको लागी बजेट बिनियोजन भएको १ दशक भन्दा लामो समय बितिसक्दा पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माण र विस्तारका लागि केही कार्य अगाडि बढेको देखिए पनि त्यसमा सन्तुष्ट गर्न सक्ने अवस्था छैन । सडक बिस्तार गर्ने नाममा पहिला भएको सडडक भत्काए पछी पुनः निर्माण सम्पन्न नहुँदा ककनी सुन्य हुन थालेको छ ।
यो सडक निर्माणको ठेक्का पारेको व्यक्ति नेकपा अध्यक्ष पुष्पकमला दाहालका घरपेटी भएकै कारण उनले काममा उन्मुक्ति पाउने गरेको चर्चा पहिला देखिनै हुँदै आएको छ । नुवाकाटवास िभएकै नाताले पनि ठकेकेदारले समयमानै काम सम्पन्ने गर्ने अड्कल एकाथरिले गरेका थिए । तर कुननकुनै बहानामा यो सडकको अवस्था कारुणिक बनाइएको छ । तोकिएको समयमा निर्माण सम्पन्न हुने त परेको कुरा, केही काम थालिएको स्थानाहरुलाई पनि त्यस्सै अलपत्र छाड्दा अहिले पैदल हिडेका यात्रुलाई समेत समस्या भएको छ । सवारी साधन सञ्चालन त झन् परको कुरा भएको छ । यस्तो अवस्थामा आन्तरिक पर्यटकहरूको गतिलो गन्तब्य बनिसकोको ककनीलाई पुरानो आवस्थामा ल्याउनका लागि स्थानिय सरकारले समेत केही विशेष रुपमा काम गर्नुपर्ने बेला भएको छ । सडक निर्माणको योजनालाई केन्द्रिकृत गरेर बालाजुबाट ककनीसम्म आउने सडकको सामान्य मर्मतमा ककनी गाउँपालिकाले नै ध्यान दिनुपर्ने आवश्यक देखिएको छ ।   

Tuesday, October 22, 2019

प्रतीक्षामा फिर्केपकोट


नौ कोटमध्येको एक कोट फिर्केटकोटको बस्ति तस्बिर : राजु/इमेज
कपिलदेव खनाल र राजु रिमाल
फिर्केपकोट/नुवाकोट जिल्लाको नामाकरण भएको नौं वटा कोटहरू मध्येको एक यो फिर्केपकोटको ईतिहास र महत्व सामान्य छैन । नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहाले आफ्नो सेना लुकाएको र रणनीतिक योजना तय भएको ठाउँ मध्ये यो एउटा हो ।
नुवाकोट माथिको आक्रमणमा अघिल्लो पटक पराजय ब्यहोरेका शाहाले यस स्थानलाई प्रयोग गर्दा बिजयी भएको ऐतिहासिक तथ्य र सामरिक महत्व रहेको छ । पृथ्वीनारायण शाहाले राज्य एकीकरणका क्रममा दैविक शक्ति आर्जन गर्नका लागि स्थापना गरेका भुमेस्थान यहाँ अहिलेपनि अवस्थित छ । यो मन्दिरलाई यहाँका समुदायले उत्तिकै आस्था, प्राथमिकता र श्रद्धाका साथ पुज्दै आएका छन् । दैविकशक्ति प्राप्त गर्नका लागि, गाउँघरमा फैलने रोगब्याध हटाउनका लागी, खडेरीमा पानी माग्नका लागि स्थानीयहरूले यहाँ पुजाअर्चन गर्ने गरेका छन् । यस स्थानको विकास र संरक्ष्णका लागि स्थानीय सरकारले पहल गर्ने भएको छ । तारकेश्वर गाउँपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङ नुवाकोटको नामाकरण भएको कोट भध्येको एक यो कोटलाई जिवन्त राख्नेमा लागिपर्ने बताउँछन् ।
नुवाकोट जिल्लाको रमणिय र उच्च भाग मध्येमा पर्ने ढिकीजातो चुली त्यस्तै अर्को पर्यटकिय स्थल पोखरी चुली समेत यस फिर्केपकोटको वरिपरी रहेको छ । फिर्केपकोटमा पुर्ण रुपमा मगर समुदायको बसोवास छ । राज्य  एकीककरणका क्रममा पृथ्वी नारायण शाहासंगै गोरखाबाट आएका मगरहरू स्थायी रुपमा आजसम्म यस कोट र वरपर बसोवास गरिरहेका स्थानीय कृष्णबहादुर मगर बताउछन् । नजिकिदै गरेको भ्रमण वर्षका बारेमा सुनेका उनी यो कोटलाई पर्यटकको गन्तब्य बनाउनु पर्ने बताउँछन् ।
नुवाकोटको नौं कोट मध्येको एक फिर्केपकोटसंगै रहेको यो ढिकीजाँतो चुली ऐतिहासिक स्थल हो । नुवाकोट, रसुवा, धादिङ्ग, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर लगायतका टाढासम्म देख्न सकिने यो चुली समुन्द्री सहतबाट १७ सय २० मिटरको उचाई रहेको छ ।
 दसैंमा ढिकीजाँतो चुलीमा औइरिएको पर्यटक तस्बिर : राजु/इमेज
यस तारकेश्वर गाउँपालिका र विदुर नगरपालिकाको सिमानामा रहेको ढिकीजाँतो चुली अहिले आन्तरिक पर्यटकहरू ‘पिकनिक’का लागि आउने स्थानको रुपमा विकास भएको छ । चुलीको फेदीसम्मै सवारी साधन आइपुग्ने भएकोले पनि यहाँ आउने पर्यटकहरूको संख्या पछिल्लो समय वृद्धि भएको छ । यही उत्साहका कारण यसको विस्तृत अध्यायन तयार पारी जिल्लाको
पहिलो पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने गरी स्थानीय तहले काम थालेको छ । यह िसिसिलामा दसैंको बेलामा जनप्रतिनिधि, व्यवसायी र नागरिकहरूले पैदय यात्रा गरेर ढिकीजाँतो चुलीको अवलोकन गरेको तारकेश्वर गापाका अध्यक्ष वस्ती बताउँछन् ।
तारकेश्वर गाउँपालिकाको वडा नं. ६ र विदुर नगरपालिकाको वडा नं. १२ को सिमानामा रहेको यो चुलीको मुख्य भाग भने तारकेश्वर गाउँपालिकामा पर्दछ । चुलीको एकातर्फको भाग विदुर नगरपालिकामा पर्दछ ।
त्यसो त यहाँ आइपुग्नका लागि दुबै स्थानीय तहले सडकको निर्माण गराएको छ । स्थानीयवासी भिमबहादुर मगर करिव ४५ मनिेटको पैदय यात्रामा चुलीमा पुग्न सकिने र फेदीसम्म मोटर लान सकनिे बताउँछन् ।
नुवाकोट जिल्लाको सबै भन्दा अग्लो डाडामा उभिएको महशुस गराउने ढिकीजाँतो चुलीको ईतिहास पुरानो छ । जनश्रुती अनुसार कुनै समय यहाँ आँखा नदेख्ने एक जना भोटे राजाको दरवार थियो । उनले दिनहुँ यहाँबाट धनुषबाण हानेर बट्टार, विदुरमा जनावरको शिकार गर्थे र सेनालाई ल्याउन लगाएर खाने गरेको इतिहास वडा नं. ६ का सदस्य नारायण रिमाल सुनाउँछन् ।
त्यत्तिबेलाको दरवारको भग्नावशेष यहाँ पाउन सकिन्छ । यो डाँडामा ढुङ्गैढुङ्गाबाट
तयार गरिएको दरवार, सेना बस्ने घर, ढुङ्गाबाट तयार भएको ढिकीजातोको अबशेष अहिले पाउन सकिन्छ । यहाँ रहेको ढुङ्गाको पुरानो ढिकी र जाँतो कसैले भिरबाट फालेपछि अहिले नमूनाको रुपमा ढुङ्गाको ढिकी बनाइएर राखिएको छ । यहाँको ऐतिहासिक पक्ष र सुन्दरताको प्रचार विस्तारै बढ्न थालेपछि जिल्ला भित्रका पर्यटकहरू पिकनिकका लागि र भ्रमणका लागि आउने गरेका छन् ।
यसका लागि स्थानीय सरकार प्रमुख र अन्य जनप्रतिनिधिहरूले अनुगमन गरेका छन् । गाउँपालिकाले यी सम्पत्तिहरूको संरक्षणका लागि गरिरहेको कार्य र प्रयासको नागरिकहरूले समेत महसुश गरेको स्थानीय हरिप्रसाद रिमालले सुनाए ।
६० को दशकमा प्रशस्त प्रचार भएको यस ठाउँको महत्वको बारेमा बीचको समयमा छलफल नभएपनि अहिले स्थानीय तह स्थापनासंगै फेरि उठेको छ ।
यस वडाका अध्यक्ष ज्ञानेन्द्र तामाङ विकट भएकै कारण यो रमणिय र पर्यटकिय स्थान ओझेलामा परेको तर्क गर्छन् । उनी स्थानीय स्तरबाट कस्ता योजना ल्याएर ढिकीजाँतो चुलीलाई पर्यटनसंग जोड्न सकिन्छ भने आन्तरिक तयारी गरिरहेको सुनाउँछन् । नुवाकोट जिल्लाको सबै गाउँपालिका र नगरपालिका अर्थात् १२ वटै स्थानीय तहलाई नजिकैबाट हेरेको महशुस हुने यस स्थानमा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी तारकेश्वर गाउँपालिकाले काम थालेको छ । ‘यो कोट र चुलीलाई नुवाकोटको पहिलो पर्यटकिय गन्तब्य बनाउने छौं’ गापा अध्यक्ष वस्तीले भने ।

थ्रि ए ले कात्तिकबाटै व्यवसायिक उत्पादन थाल्ने

इमेज समाचारदाता
विदुर/माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकभित्र व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । निर्माण सुरु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो ।
आयोजनाले तीन महिना अघिदेखि परीक्षणको उत्पादन सुरु गरेको थियो । उत्पादन सुरु गरे पनि विभिन्न परीक्षणको काम बाँकी रहेकाले आयोजनाले ट्रेकिङ ओभर सर्टि्फिकेट दिएको थिएन । आयोजनाका अनुसार टोटल लोड, रिजेक्सन टेस्ट, टनेलको मनिटरिङ, इफिसेन्सी टेस्ट, हाइभोल्टेज टेस्टलगायत टेस्ट सकिएको छ ।
कात्तिकभित्र निर्माण कम्पनीलाई सर्टिफिकेट दिने तयारी रहेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । ‘परीक्षण कार्य सकाएका छौँ,’ उनले भने, ‘पर्फर्मेन्स टेस्टको प्रतिवेदन आउन बाँकी छ ।’ प्रतिवेदन आएपछि आयोजना, ठेकेदार र परामर्शदाताले संयुक्त रूपमा निरीक्षण गर्नेछन् । विद्युत्गृहको उत्पादन सुरु भएसँगै उद्घाटनको लागि तयारीमा आयोजना जुटेको छ ।
निरीक्षणको काम सकिएपछि आयोजनाले सर्टिफिकेट प्रदान गर्नेछ । व्यावसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ । ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहनेछ । दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ । रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो । आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो । आयोजनाको निर्माण ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी ९ सीजीजीसीले गरेको हो ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सीजीजीसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो । भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो । भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु¥याएको थियो । आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।
आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ । जसमा पावर हाउस ९ सिम्ले ० देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि वाँणभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र वाँणभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।
प्रसार लाईनको

आर्जनका लागि सिलाई कटाई

विदुर\सचेतन सामुदायिक केन्द्र विदुरले सञ्चालन गरेको निःशुल्क तीन महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
आय आर्जन बढाउने उद्देश्यका साथ सञ्चालित ३ महिने सीपमूलक तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सिलाई कटाई जानेर व्यवसाय गर्न चाहानेको लागी आवश्यक सहयोग गर्न विदुर नगरपालिका सधै तयार रहने बताए । उनले सीपलाई उपयोग गरि आफ्नो परिवारको जिवनस्तर उकासी वालबलिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा पहुँच बढाउन जोड दिए ।
सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाले समाजलाई सचेत बनाउन र आत्मनिर्भर बनाउनको लागी आधारभुत सिलाई कटाई तालिम सञ्चालन गरेको बताए । उनले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिममा ६१ जना महिलाहरूले सहभागिता जनाएका थिए । आधारभुत तालिम सम्पन्न भएसंगै सचेतन सामुदायिक केन्द्रले अर्को ३ महिने ‘स्पेशल’ आधारभुत तालिमको सुरुवात गरेको छ । जसमा ३३ जना महिलाले सिलाई कटाईको सिप लिइरहेका केन्द्रका संस्थापक यमकुमार खातीले जानकारी दिए ।

मासिदै नुवाकोटमा पानीका मुहान

प्रितिका थापा
विदुर/अधिकांश खानेपानीको श्रोत बिकाश निर्माणको नाममा ध्वस्त भएको बताइएको छ ।
साउथ एशिया ईन्सिटयूट अफ एडभान्स स्टडिज (सियास) ले आयोजना गरेको विदुर पानी चौतारी कार्यक्रममा सरोकारवालाहरूले यसो भनेका हुन् ।
बिकास निर्माणको नाममा पानीको श्रोत बिनाश भएको सरोकारवालाहरूले बताएका हुन् । विदुर पानी चौतारी कार्यक्रममा विदुर नगरपालिका भित्रको जल सुरक्षा, चुनौती, अबसर  र सम्भावनाहरूको बारेमा सरोकारवालाहरूसंग छलफल भएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले उपभोक्ताबाट आएको सुझावलाई कार्यन्वयन गर्दै जाने बताए । उनले खानेपानी सरसफाई तथा उपभोक्ता समिति को पहुँच नपुगेको ठाउमा नगरपालिकाले पानीको ब्यवस्था गर्ने उनले बताए ।
विदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले विदुर नगरपालिका भित्र खानेपानीको समस्या आएपनि नगरपालिकाले बैकल्पिक उपायाँ खोजेको बताए । नगरपालिकाले आगामी दिनमा साना मुहानहरूलाई ठुला आयोजनामा मिसाएर उपभोक्तालाई खानेपानीमा थप सहज बनाउने लक्ष्य नगरपालिकाले लिएको उपप्रमुख दाहालको भनाई छ ।
कार्यक्रममा उपस्थितहरूले पानीको बढ्दो माग र घढ्दो आपूर्तिले समाजमा द्धन्द्ध निम्तिएको बताएका छन् । उपभोक्ताहरूलाई पानी सम्बन्धि शिक्षा कमी भएकोले शिक्षा दिनु पर्ने सरोकारवालाहरूले बताए ।
सियासले विदुर नगरपालिका विदुर क्षेत्रको जल सुरक्षा, जिबिकोपार्जन अध्यायन गरिरहेको छ । सानो समुहमा रहेर पानी र सहरीकरणका सवालहरूमा केन्द्रिकृत छलफल गरि सहज बनाउने सियासका कार्यकारी निर्देशक बिर खत्रीले बताए ।

ट्राफिक नियम उलङ्घनको घटनामा बढोत्तरी

विदुर/ट्राफिक कार्यालय नुवाकोटले एकै दिन १३९ सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा एकैदिन ठुलो संख्यामा सवारीसाधन कारवाहीमा परेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट प्रमुख विकल भट्टराईका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३९ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा पर्नेहरूमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारीसाधन रहेका छन । कारवाही गरिएकमा एकसय ३९ सवारीसाधनबाट ९५ हजार राजस्व संकलन भएको उनले बताए ।
यस्तै यात्रुसँग बढी भाडा असुल्ने ३ सवारीसाधनलाई भाडा फिर्ता गर्न लगाइएको छ । उनीहरूलाई यातायात विभागको दफा अनुसार कारवाही गर्न सिफारिस गरिएको प्रमुख भट्टराईले बताए । दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि नुवाकोट प्रहरीले जिल्लाको विभिन्न् सडकमा गुड्ने सवारीसाधनलाई चेकजाँचमा कडाइ गरेको छ । यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले शनिबार एकसय ७ सवारीसाधनलाई कारवाही गरी ७२ हजारभन्दा बढी राजश्व संकलन गरेको थियो । यसै बीच, जिल्ला ट्राफिक कर्यालय नुवाकोटले एक सातामा ३३० वटा सवारी साधनलाई कारबाही गरेको छ ।
चोरीमा सम्लग्न पक्राउ
पछिल्लो ३ दिनमा मोटरसाइकल चोरीमा सम्लग्न ६ जनालाई नुवकोट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा बेलकोटगडी नगरपालिका वडा नं. ४ का  टेकबहादुर लामा, आकाश तामाङ, सुनिल गोले, सेतबहादुर तामाङ रहेका छन् । त्यस्तै विक्रम आचार्य र सितल केसीलाई भने विदुर नगरपालिका–६ बाट पक्राउ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।