Monday, December 23, 2019

दुप्चेश्वर जात्रा : सहज र आधुनिक

जात्राका लागि मन्दिर परिषरमा बनेको अस्थायी फिल्म हल । 
कपिलदेव खनाल 
दुप्चेश्वर (रामती)/‘यहाँको महादेवको दर्शन गरेर मागेपछि पुरा हुनछ रे भन्ने सुनिरहेको थिएँ पहिलादेखि, यही भएर यो पाली दर्शन गर र माग्नको लागि आएको हुँ’ –जोत्सना श्रेष्ठ, मेलम्ची सिन्धुपाल्चोक । श्रेष्ठ जस्ता हज्जारौं भक्तजन तथा धार्मिक पर्यटकहरू बर्षेनी नुवाकोटको दुप्चेश्वर महादेवको दर्शन र पुजाआजाका लागि आइपुग्छन् र यस्तै भन्छन् । दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ बताउँछन् ।
आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा यि लामा तथा झाक्रीहरू दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका मुल झाक्री अक्कलबहादुर तामाङ बताउँछन् । ‘पुर्खाहरूले राखेको आस्थालाई हामीले कायम गरेका छौं, हामी बर्षेनी यो जात्रामा यसैगरी आफ्नो भेषभुषासहित आउने गरेका छौं’ तामाङले भने । 
हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतिहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएकोछ । पुजारी भगवानहरि धिताल धेरै मात्रामा छोरा माग्नेहरू आउने गरेका बताउँछन् । ‘यहाँ आएर माग्नेहरूको सन्ताल लाभ त्यसमा छोरा नै हुने गरेकोछ, पछि उनीहरू आस्र पुजा गर्छन् र हामीलाई भन्छन्’ पुजारि धिताललेभने–भगवान्ले कसैलाई विखुम गर्नुभएको छैन ।’
अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरूका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो रहेको बताउछन् गाउँपालिका अध्यक्ष तामाङ । ‘बिगत तीन वर्षदेखि यातायातका कारणले भक्तजनहरूले कुनै समस्या भोग्नु परेको छैन, यही नजिकैसम्म यातायातको साधनमा आउन सकिने अवस्था छ’, उनले भने– ‘जात्रा गाउँपालिकाकै सक्रियतामा व्यवस्थित पारेका छौं ।’
झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरू छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरूमा बाक्लै पाउन सकिन्छ । रसुवा जिल्ला सरमथलीका दोम्बोले तामाङले २०५५ सालमा यही आइ दुप्चेश्वर महादेवसंग आफ्नो सन्तानमा छोरा होस् भनि मागेका थिए । छोरानै प्राप्त गरेपछि यिनी स–परिवार र गाउँघरका अन्य मानिसहरूसित बर्षको कम्तिमा एकपल्ट महादेवको दर्शन गर्न आइपुग्छन् । ‘त्यस बेलामा मैले दुप्चेश्व्रसंग मार्ग शुक्लपक्षको धान्यपूर्णिमामा यस दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा भर्न आउने अधिकांश दम्पतिहरूको एउटै कामना भनेको सन्तान प्राप्ति कै हुन्छ । त्यस बाहेक अन्य भाकलका लागि पनि यहाँ भक्तजनहरूको भिड र आस्था रहेको छ । यस मन्दिर रहेको दुप्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेल पनि यस महादेवको दर्शनपछि आफुलाई पुत्र प्राप्त भएको स्मरण गर्नुहुन्छ । ‘२०४१ सालमा म महादेवको दर्शन गर्न आएको थिएँ, यहाँबाट फर्केको रात मेरो सपनामा दुई बालकहरू तामाको खड्करोमा खेलिरहेको देखेँ, मेरो जीवनमा त्यो सपनाको प्रभाव पर्यो, मेरो जीवनमा पनि पुरा भयो’ गजुरेलले भने ।
दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न इाँहा आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका अर्जुन पण्डितका अनुसार यहाँ बर्षेनी गाईभैसीको दाम्लो चढाउन आउनेहरूको संख्या सयौं रहेको छ । ‘दुध धेरै आउने, नब्याएको पोथी चौपाया ब्याउने शक्ति यहाँबाट प्राप्त हुने देखेको छु’ पण्डितले भने ।
यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरूका लागि खाना र बासको अस्थायी संरचनाहरू तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरूको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरू बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरूको समेत उपस्थिति रहिआएको सुनाउछन् दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष ध्रुबकर केसी । ‘हिन्दु र बौद्ध धर्मालम्विहरूको संख्या यहाँ आउनेमा बढि छ’, अध्यक्ष केसीले भने– त्यसका साथै अन्य धर्मालम्बीहरू पनि यहाँ आइरहेका छन् ।’ मार्ग शुक्लपक्षको धान्यपूर्णिमा बाहेक सामान्य पूजा र रुद्री लगाउनेको लर्को सधै देखिने गर्छ । थाहा पाउनेहरूमा ठूलो आस्था छ यी देवधिदेव महादेवप्रति ।
यहाँ प्रत्येक वर्ष अक्षय तृतियाका दिन लघुरुद्री गर्ने प्रचलन अहिलेसम्म पनियस महादेव मन्दिरमा छँदैछ ।
कुनै एक चिज जे मागेपनि पुरा भएको भन्दै फेरि पुजा गर्न र आफ्नो भाकल पुरा गर्न आउने भक्तजनहरूको संख्या दिनानुदिन थामिनसक्नु भएको छ । नेपालको कुनाकुनबाट भक्तजन आउने क्रमले अहिले यत्ति व्यापकता पाएको छ कि, यहाँका पुजारी भगवानहरि धितालसमेत अचम्मित छन् । ‘जो जो दर्शन गर्न आउछन्, मेरो मनोकांक्ष पुरा भयो मात्रै भन्छन्, म त यहाँको श्री महादेवको शक्ति देखेर अचम्मित छु’ पुजारी धितालले भने ।
नुवाकोटका छिमेकी जिल्लाहरू रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरबाट त बर्षेनी मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रामा भक्तजनहरू आउने गरेका छन् । असाध्यै सम्मान र आदरका साथ जात्रामा सहभागि हुने तामाङ समुदाय सिङ्गै गाउँ नै एकै साथ आउने गरेका छन् । केही वर्षअघिसम्म ३÷४ दिन लगाएर पैदल हिडेर दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले झन् सजिलो भएको छ । रसुवाको धुञ्चेबाट बर्षेनी दुप्चेश्वर दर्शन गर्न आइरहेका बाबुलाल तामाङ योपाली पनि दुई सय भन्दा बढीको डफ्फा सहित जात्रा आइपुगेका छन् । उनी भन्छन्– ‘यो त हाम्रो परम्परा नै बनिसेको छ, पहिला हामी दुई तीन दिन लगाएर हिडेर आउने गरेका थियौं, अहिले यातायातको सहज भएको छ, बस्नका लागि सुविधा छ, त्यो भएरपनि रसुवाबाट दुप्चेश्वर महादेजवको दर्शन गर्न आउने र जात्रा हेर्न आउनेहरूको संख्या बढेको छ ।’
दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतवेशीमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ति मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई चाँहि धेरै जनाले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि आजसम्म सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै आएको हो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।
अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । यहाँको परम्परा र ईतिहासका बारेमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जानकार छन् । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरूको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको उनी बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ तामाङ भन्छन्– अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरू दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’
दुप्चेश्वर मन्दिर आठसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरू तल्लिन देखिएका छन् । दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोष र त्यसको सचिवालयको संयोजन वडा नं. ६ का अध्यक्षले गरिरहेका छन् । कोष सञ्चालन कार्यविधिले दुप्चेश्वर महादेव अवस्थित वडा नं. ६ का अध्यक्षलाई पदेन रुपमा संयोजकको जिम्मेवारी दिएको छ । कोषका संयोजक एवं दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्य विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष आचार्यले भने । 
स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ । हिन्दु र बौद्ध धर्मालम्वीहरूको बरोबरी आस्था रहेको र नेपाल राज्यभरिबाटै भक्तजनहरूको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढ्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेलले बताए । उनी भन्छन्– ‘त्यसका लागि हामी गुरुयोजना निर्माण गरिरहेका छौं । यो तुरुन्तै कार्यान्वयमा आउने छ । ’
जिल्ला समन्य समिति नुवाकोटले नेपाल भ्रमण वर्ष २०२० मा यसलाई नुवाकोटको भ्रमण गर्नै पर्ने स्थलको रुपमा राखेको छ । काठमाडौंबाट समेत नजिक रहेको, यातायातको सहज पहँुचका कारण दुप्चेश्वर महादेवस्थान आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत आर्कषणको केन्द्र रहेको बुझाई आम जिल्लावासीहरूमा छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ यो भ्रमण वर्षले नुवाकोटका धार्मिक तथा साँस्कृतिक स्थानहरूको पहिचान दिलाउने बताए । ‘सरकारले घोषणा गरेको भ्रमण वर्षमा नुवाकोटले उच्च लाभ लिनसक्ने गरी हामी काम गरिरहेका छौं, त्यसो हुँदा यस दुप्चेश्वर मन्दिर क्षेत्र पर्यटकहरूका लागि पहिलो गन्तब्य बन्ने छ’ तामाङले भने ।
नेपाल भ्रमण वर्ष २०२० मा दुप्चेश्वर गाउँपालिका र त्यसमा पनि यस दुप्चेश्वर मन्दिरमा पर्यटकहरूलाई आकर्षित गर्नका लागि गाउँपालिकाको कार्यालय र दुप्चेश्वर क्षेत्र विकास कोषले विशेष अभियान गरिरहेको छ । स्थानीयदेखि संघिय सरकारको सक्रियता र आम सञ्चारका माध्यामको प्रयोगबाट यसको महत्व र सम्भावना प्रस्तुत गरिरहेको कोषका संयोजक एवं वडा नं. ६ का अध्यक्ष किशोर आचार्य बताउछन् ।
दुप्चेश्वर महादेवस्थानको पहिचान भएको मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रा नुवाकोट जिल्लाकै पहिचनाका रुपमा देखिएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो ।
पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरू आउने गरेका थिए भने अहिले श्री महादेवको दर्शन गरेर फर्कनेहरूको संख्या बढी छ । यातायताको सहज पहँुच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरूको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरू अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरूको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ । पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन  युवाहरूले अहिले चासो व्यक्त गर्न थालेका छन् । देशैभरी प्रख्याती पाप्त दुप्चेश्वर जात्रामा झाक्रि सहभागिता कायम राख्न घ्याङ्फेदीका २१ वर्षिया मन्जित तामाङ अघि सरका छन् । ‘पहिलाको भन्दा त केही फरक होला हामी युवाहरूले धान्ने परम्परामा, तर यो संस्कृति मर्न नदिनका लागि म जस्ता युवाहरू यसरी ढ्याङ्ग्रो बोकेर लागि परिसकेका छौं’, उनले भने ।
कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरूले तीन÷चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरूको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ ।
यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरूले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरूले राम्रो मुल्य सहित बजार पाइरहेको छ । 

तीन सहकारीको बार्षिक साधरण सभा

श्रीकृष्णका संस्थापक रघुनाथ रिमाल (बाँयाँ) र उत्कृष्ठ बचतकर्ता रामप्रसाद रिमाल ।
विदुर/नुवाकोटकामा सञ्चालित विभिन्न सहकारी संस्थाहरूको बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बट्टारको सम्पन्न र श्रीकृष्ण तथा त्रिशुलीको उपकार बचत तथा ऋण सहकारी संस्थाहरूले बेग्ला बेग्लै कार्यक्रम गरी बार्षिक साधारण सभा गरेका छन् ।
बट्टारमा रहेको सम्पन्न बचत तथा ऋण सहाकरी संस्थाको दशौँ बार्षिक साधारण सभामा बोलदै संघिय सांसद नारायणप्रसाद खतिवडाले राज्यको अर्थनीतिमा समेत समाबेश भएका सहकारी संस्थाहरूका सञ्चालक आफैमा आर्थिक अनुशासनमा रहनु पर्ने बताए । विदुर नगरपाकिाका उपप्रमुख गीताकुमारी दाहालले स्थानीय सरकार सहकारीको सुधार र गुणस्तर विकासका लागि सक्रिय रहेको बताए । १ करोड २३ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले यस आर्थिक बर्षमा ७ करोड निक्षेप संकलन गरेको छ ।
यस्तै, त्रिशुलीमा रहेको उपकार बचत तथा ऋण सहकारी संथा लिमिटेडको १० औँ बार्षिक साधारण सभा विदुरमा सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीको १ करोड ६३ लाख रुपैयाँ पुँजी रहेको व्यवस्थापक अरुणकुमार श्रेष्ठले जानकारी दिए । उक्त सहकारीले सहज र सरल तबरले ब्यबसायीक क्षेत्रमा ऋण प्रबाह गर्दै आएको बताइएको छ ।
बिना धितो ब्यबसायीक ऋण प्रबाह गर्दै नागरिकहरूलाई आत्मनिर्भर बनाउनमा सहकारीले अहम भुमिका निर्बाह गरेको विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितले बताए । सहकारीको बार्षिक साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि रञ्जितले अबको दिनमा सहकारीहरू आफै मर्जरमा जानु पर्ने बताए । मुलुकको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको सहकारीहरू मर्जर भई ठुला ब्यबसायीक क्षेत्र तर्फ आकर्षित हुनु पर्नेमा उनको जोड छ ।
कार्यक्रममा उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण प्याकुरेलले सहकारीले ससाना क्षेत्रहरूमा प्रबाह गरेको ऋणले नागरिकहरूलाई उद्यमी बनाएको बताए । बैङक तथा बित्तिय संस्थाहरूले धितो राखेर मात्रै ऋण उपलब्ध गराउने भएकाले साना ब्यबसायीहरू सहकारी तर्फ आकर्षित भएको बताए ।
यस्तै, बट्टारको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्थाको २२ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । ६ करोड १६ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले झढडै १९ करोड निक्षेप संकलन गर्दै यस आर्थिक बर्षमा ६ करोड ऋण लगानी गरेको छ । कृषि र ब्यबसायिक क्षेत्रमा ऋण प्रबाह गर्दै सहकारीले नागरिकहरूको जिबिकोपार्जनमा सहयोग गर्दै आएको छ । सहकारीको साधारण सभालाई सम्बोधन गर्दै विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष टलकमान श्रेष्ठले सहकारी राज्यको अभिन्न अङ्गको रुपमा दर्ज भएको बताए ।
सहकारीले त्यस अवसरमा २२ संस्थापक सदस्यहरू रघुनाथ रिमाल, तोरणकुमारी रिमाल, मोहनबहादुर खड्का र निर्मल खड्कालाई दोसल्ला ओडाएर सम्मान गरेको छ । साथै उत्कृष्ट बचतकर्ता रामप्रसाद रिमाल र चुनेलाल प्रधानलाई सम्मान गरेको छ । यसैगरी सहकारीकै सदस्यहरूको सन्तान मध्येबाट एसइइ परिक्षामा सवोत्कृष्ट अनुष्का तिवारी र अनुष्ठान तिवारीलाई पनि सम्मान गरेको छ । 

सामाजिक सञ्जालबाट

तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंद्वारा देशका विभिन्न स्थानमा सञ्चालित १७ वटा जिल्ला केन्द्रहरू मध्येमा सन् २०१८ को उत्कृष्ट आँखा केन्द्र घोषित जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारी अवार्डका साथ । 

चिनियाँ सहित चार जना जेल चलान

विदुर/किस्पाङ गाउँपालिका वडा नं. ५ स्थित माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनामा स्काभेक्टर चालकको हत्यामा सम्लग्न रहेको अभियोगमा पक्राउ परेका एक चिनियाँ सहित चार जना कारागार चलान भएका छन् ।
माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनमा स्काभेक्टर चालकको रुपमा कार्यरत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ का रुपेन्द्र थापामगर कात्तिक ३ गते मृत भेट्टिएपछि हत्याको आशंकामा पक्राउ परेका चारैजनालाई नुवाकोट जिल्ला अदालतले पुर्पक्षमै राखेर घटनाको थप अनुसन्धान गर्न कारागार चलान गरेको हो । आयोजना नजिकै मृत भेट्टिएका ४८ वर्षका रुपेन्द्र थापाको हत्यामा सम्लग्न रहेको अभियोगमा पक्राउ परेका नुवाकोट किस्पाङ गाउँपालिका वडा नं ३ काहुलेका आईसिंह तामाङ, वडा नं. ५ मनकामनाका बलबहादुर तामाङ, विदुर नगरपालिका वडा नं. ९ का कृष्णबहादुर अधिकारी र चिनियाँ नागरिक वाङगो छेनलाई पुर्पक्षको लागी कारागार चलान गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
यस्तै, नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गापाका १५ बर्षिय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई पक्राउ गरेको हो ।
तारकेश्वर गापाका फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको प्रहरीले जनाएको छ । झगडामा गम्भीर घाइते लामा भएको उपचारका क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको र परिवारको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

बाआमाको स्मृतिका कपडा वितरण

विदुर\बौद्धिक अपाङगता सेवा केन्द्र नुवाकोटलाई बट्टारको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरले न्यानो कपडा बितरण गरेको छ ।
केन्द्रलाई १६ थान सिरक र १६ थान तकिया प्रदान गरेको हो । सेन्टरका सञ्चालक शान्ति प्रधानको स्वर्गिय बुवा शेरबहादुर प्रधान र स्वर्गिय आमा दलकुमारी प्रधानको सम्झनामा न्यानो कपडा बितरण गरेको हो । प्रधानले आमा बुबाको स्मृतिमा बर्षेनी सामाजिक हितका काम गर्ने पनि घोषणा गरेका छन् ।
न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै विदुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दिवाकर चापागाईले बौद्धिक अपाङ्गता केन्द्रमा रहेका बालबालिकाहरूलाई ससानो सहयोगले पनि मद्दत पुग्ने बताए । 

प्रतिष्ठानको अध्यक्षमा ढुङ्गाना

विदुर\पुर्ब जिबिस सभापति समेत रहेका स्वर्गिय भरत ढुङ्गानाको नाममा नुवाकोटका नेकपाका नेताहरूले प्रतिष्ठान गठन गरेका छन् ।
बर्गिय मुक्ति आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका ढुङ्गानाको आदर्श र बिचारलाई जनमाससम्म पु-याउने उद्देश्यले प्रतिष्ठानको गठन गरेको बताईएको छ । प्रतिष्ठान मार्फत समाजमा सामाजिक चेतना फैलाउने, शहित तथा बेपक्ता योद्धाहरूको बलिदान र आदर्शलाई स्थापित गर्ने, शैक्षिक बिकास तथा आयआर्जनका साथसाथै बिकासको क्षेत्रमा काम हुने बताइएको छ ।
प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा दिपक ढुङ्गाना, उपाध्यक्षमा मनराज गुरुङ, सचिबमा रामहरि पाण्डे, सह सचिबमा कौशिला पुडासैनी र कोषाध्यक्षमा बुद्धिमान तामाङ छन् । सदस्यहरूमा बद्री नेपाल, गोबिन्दप्रसाद भट्ट, श्याम मुडबरी, सिता लामा, पुष्पा न्यौपाने, गोमा कटुवाल, सुनिता ठकुरी, कृष्ण ढकाल, राजु तिवारी र ज्ञानु आचार्य छन् । यस्तै, प्रतिष्ठान दर्ताको लागी बिधान मस्यौदा तयारीको लागी गोकर्ण न्यौपानेको संयोजकत्वमा ३ सदस्यिय समिति गठन भएको छ ।

थपलिया केन्द्रमा

विदुर\होटल ब्यबसायी महासंघ नेपालको तेश्रो अधिबेशनबाट नुवाकोट होटेल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष मधुसुदन थपलिया केन्द्रिय सदस्यमा चुनिए ।
सुर्खेतमा शनिवार सम्पन्न  महाधिवेशनबाट थपलिया केन्द्रिय सदस्यमा सर्वसम्मत चुनिएका हुन् । त्यस्तै, केन्द्रिय लेखासमिति सदस्यमा नुवाकोटका होटल ब्यवसायी सबिन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

गोली सहित पक्राउ

विदुर/नुवाकोटबाट ४४ राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका–७ रातमाटे बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आले मगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित  प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरी टोलीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा गोली फेलापारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूले के प्रयोजनका लागि यति ठूलो परिणाममा गोली राखेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हरिबहादुर दोषि ठहर

विदुर\दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ भाल्चेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।
तामाङलाई दोषी ठहर गर्दै जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । श्रेस्तेदार शिवप्रसाद बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो । २०७५ चैत ९ गते शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा तामाङलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

२०७६ पुस ७ गतेको सम्पादकिय

तेश्रो पटक म्याद नथपियोस्
‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको दोश्रो पटक थपिएको समय सिमा सकिन अब झण्डै दुई महिना मात्रै बाँकी छ । २०७३ पुस १ देखि सुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने थियो । तर त्यस पछी दुई पटक ६ महिना र १ बर्ष समय थपिएको थियो । दोश्रो पटक थपिएको समयसिमामा समेत काम सम्पन्न नहुने भए पछी तेश्रो पटक समय थप्ने प्रकृया अगाडी बढाईएको छ । नियमानुसार दुई पटक भन्दा बढि समय थप्न नामिल्ने भएपनि राष्ट्रिय गौरबको आयोजना र राज्यले काम गर्ने ‘साईड क्लियर’ नगरिदिएको नाममा समय थप्ने तयारी भइरहेको बुझिएको छ । निर्माण कम्पनीले काम गर्ने बाताबरण आयोजनाले नबनाएको भन्दै समय थप गर्न माग गरेको हो । सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्याले निर्माण काममा ढिलाई भएको बताउने गरेको छ । गल्छि देखि रसुवागढी सम्मको सडकलाई राष्ट्रिय गौरबको रुपमा स्तरउन्नती भैरहेको छ । सडक विस्तारको काम पहिलो पटक सम्झौता अवधिभन्दा छ महीना थप गरी २७ महीना पु¥याइएको थियो । पहिलो पटक थप भए अनुसार २०७५ फागुन ५ मा आयोजना पूरा गर्न‘पर्ने समयसीमा तोकिएको हो । तर सडक स्तरउन्नतीको लागी आबाश्यक जग्गा अधिग्रहण नभएकाले समयसिमा लम्बिएको राम्रो बहाना निर्माण कम्पनीले पायो । पहिलो पटक थपिएको समयमा काम सम्पन्न नभए पछी दोश्रो पटक पुन १ बर्ष समय थपिएको हो । दोश्रो पटक थपिएको १ बर्ष समय सिमा अनुसार २०७६ फागुन ५ गते भित्र सडकको स्तर।उन्नती गरि सक्नु पर्ने छ । तर अझै जग्गाको मुअब्जा निर्धारण नँहुदा आयोजना अन्यौलमा परेको हामी सहजै देख्न सक्छौं ।
धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडकको ८२ किमी लम्बाइ छ । सडक निर्माण अन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)कोे प्रगति निराशाजनक नै छ । दुई लेन सडकमा ११ मिटर कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजनाले जनाएको छ ।   गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन प्रस्ताव छ । अब यही समस्याको रुपमा देखा परेर आयोजनाले समयमै काम नसक्ने अनुमान गर्न सकिन्छ । किनकि बजार क्षेत्रमा जग्गा अधिग्रहण र घरको मुअब्जा निर्धारण हुन सकेको छैन ।
अब आयोजनाको समयसिमा थपिदा केही यस्ता अमुर्त पक्षहरूलाई प्नि ठोस रुपमा केलाएर योजना बनाउनु आवश्यक छ । बजार क्षेत्रमा आएको ममस्याका कारण भन्दै तेस्रो पटक म्याद थप हुने, तर कामको अवस्था भने अहिलेको जत्तिमात्रै रहरिहने दुर्भाग्यको अन्त्य होस् । अब थपिने समयसिमा भित्रै काम सकियोस् वा अहिले नै सबै समस्याहरूको पहिचान होस् । 

Sunday, December 08, 2019

सागमा चम्कियो नुवाकोट दुई स्वर्ण सहित सात पदक

कराँतेमा स्वर्ण पदक बिजेता अनु अधिकारी
शर्मिला उप्रेती
विदुर/१३ औं दक्षिण एशियाली खेलकुद (साग)को जारी खेलहरूमा नुवाकोटका खेलाडी चम्किएका छन् । आइतवार साँझसम्म दुई स्वर्ण सहित सात पदक नुवाकोटका खेलाडीले हात पारेका छन् । प्रतिस्पर्धामा सहभागि भएका दुईवटा देशको भन्दा नुवाकोटको यो उपलब्धि माथि देखिएको छ । अहिलेसम्मको खेलमा माल्दिभ्स एक स्वर्ण र दुई कास्य गरी ३ पदकमा छ भने भुटानले ६ वटा कास्य पदक मात्रै जितेको छ ।
पहिलो दिननै नेपालले प्राप्त गरेको स्वर्ण पदकले नुवाकोटको शान बढेको थियो । कराँतेको ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेका अनु अधिकारीले सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई ८–० ले ‘नकआउट’ गरेर स्वर्ण पदक जितेका हुन् । अधिकारी नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ थप्रेकका हुन् । सन् २०१६ मा भएको १२ औं सागमा आयोजक राष्ट्र भारतले कराँते खेलनै समावेश नगरेपछि प्रतियोगिताबाटै बञ्चित हुनुपरेको अनुलाई यो वर्ष स्वर्णिम बनेको छ । १२ औैं सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएका थिए । ११ औँ सागमा रजत जितेका अनु स्वर्ण पदकका लागि दावेदार रहेको अनुमान गरिदै आएको थियो । कराँतेका अनु अधिकारीले गएको सोमबार ५० केजी तौल समूहमा स्वर्ण जित्दा विपक्षीलाई १ अंक पनि दिएनन् । अनुले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८–० हराउँदै ‘नकआउट’ पारे । अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८–० ले नकआउट गरे । उनी विरूद्ध दुवै देशका खेलाडीले एक अंक सम्म पनि जोड्न सकेनन् ।
साइक्लिङमा स्पर्ण पदक विजेता लक्ष्मी मगर 
अधिकारी सहित स्वर्ण पदकमा दुई, रजतमा दुई र कास्य पदक तीन जना नुवाकोटका खेलाडीले जितेको जिल्ला खेलकुद विकास समिति नुवाकोटका प्रमुख सन्तोषी बैद्यले जानकारी दिए । साइक्लिङ्गमा विदुर नगरपालिका वडा नं. ११ केराधारीका लक्ष्मी मगरले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, विदुर नगरपालिका वडा नं. १३ आमथाङका कृष्णबहादुर तामाङले तेक्वान्दोमा रजत, सुर्यगढी लच्याङका मिना ग्लानले उसुमा रजत, विदुर नगरपालिका वडा नं. १ त्रिशुलीबजारका रेजिन रिमालले तेक्वान्दोमा कास्य पदक, बेलकोटगढी नगरपालिकाका राजिव पुडासैनीले कराँतेमा कास्य पदक र विदुर नगरपालिकाका विदुरचोकका अस्मिता राईले भारत्तोलनको ८७ केजी माथी तौल समुहमा कास्य पदक जितेका छन् ।

सुरु भयो दुप्चेश्वरको मेला

प्रितिका थापा
रामती/नुवाकोटको प्रशिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने मेला गएको सातादेखि नै सुरु भएको छ ।
मेलामा विद्युत भार हुने भएकोले २५ केभिएको ट्रान्सफर्मर जडान गरिदै । 
अघिल्लो हप्तादेखि नै मेला भर्ने भक्तजन र पर्यटकहरूको घुईचो लागिरहेपनि विशेष मेला भने भोलि मंगलवारबाट सुरु हुँदैछ । भोली मंसिर २४, २५ र २६ गते मुख्य मेला लाग्ने मन्दिरका पुजारी पण्डित भगवानहरी धितालले बताए । अघिल्ला वर्षहरूको तुलनामा यो पाली मेलाको मुख्य दिन सुरु हुनु पुर्वनै भक्तजनहरूको घुइँचो लागेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाले बताए । हिन्दु र बौद्ध धर्मालम्बीहरूले बरोबरी आस्थाका रुपमा मान्दै आएको दुप्चेश्वर मेलामा यो पाली पाँच लाख भन्दा बढीले उपस्थिति जनाउने अनुमान उनको छ । गाउँपालिकाको प्रशिद्धि र पहिचानको रुपमा रहेको रहेको यो मन्दिर र पर्वलाई भब्य बनाउनका लागि स्थानीय सरकारले समेत विशेष रुपमा लिएको बताइएको छ । मन्दिरसम्म पुग्ने सडकको स्तर उन्नती, विजुली बत्तिको सहज पहुँच, भक्तजन तथा पर्यटकहरूको सहजताका लागि होटलमा एकरुपता, स्वास्थ्य संस्था, पिउने पानीको उचित प्रवन्धमा गाउँपालिका लागेको छ ।
दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि दुप्चेश्वरलाई पुजिदै आएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया
नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वर महादेवको प्रख्याती छ ।

निर्माण हुँदै ‘म्यागङ’

सुजित भण्डारी
म्यागङ गापाको टुँडीमैदानमा निर्माण सम्पन्न भएपछि देखिने दृष्यको स्केच 
देउराली/नुवाकोटको म्यागङ गाउँपालिका आन्तरिक पर्यटकहरूका लागि आर्कषक स्थानको रुपमा विकास हुने भएको छ । सोही क्रममा वडा नम्बर ३ र ६ को सङ्गमस्थल टुँडीमैदानमा ताल एवं पार्क निर्माण सुरु भएको छ । यसले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत केही टेवा पुगेको छ । हाल टँुडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाख रुपैयाँको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको बताइएको छ । तालसहितको पार्क निर्माणले पर्यटकीय एवं  धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रुपमा निर्माण गरिने छ ।
पहिलो चरणको संरचना २०७७ असारभित्र पूरा गर्न‘पर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टँुडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ । दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तिर हान्न लागेको शालिक बनाइने अध्यक्ष तामाङले बताए ।
शिलान्यास कार्यक्रमको एक झलक । तस्बिर : इमेज
अहिले उक्त ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरी सहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको पाकाहरू बताउछन् ।
टुँडि क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको ईतिहाँस रहेको छ ।
म्यागङ नामाकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरव योजनाको रुपमा पर्यटकीयस्थल बनाउन प्रथामिकतामा राखिएको उपाध्यक्ष शान्तिमाया लामाले बताए ।

तस्बिर खबर


समृद्ध नुवाकोट नामक फेसबुक पेज बनाएर स्थानीय स्तरमा सामाजिक गतिविधि गर्दै आएका युवा अभियन्ताहरूले पहिलो वार्षिक उत्सवको अवसर पारेर गएको सोमवार विदुर नगरपालिका वडा नं. ५ माझिटारमा स्थित बौद्धिक अपाङ्ग सेवा केन्द्रका बाबालिकाहरुलाई खाना खुवाएका छन् । अभियन्ताहरूको आफ्नो दैनिक खाजा खर्च बचत गरी सामाजिक कार्यमा खर्च गर्ने नीति अनुसार अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोररिूलाई खना खुवाएको सञ्जय भट्टले बताए । समृद्ध नुवाकोट नामक फेसबुक पेज मार्फत केही महिनादेखि युवाहरूले नुवाकोटमा सामाजिक काम थालेका छन् । शब्द/तस्बिर : दिपेन्द्र तिमल्सिना

स्वास्थ्यमा तीन वटा कार्यक्रम प्राथमिकता

वडा नं. ३ को सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन । तस्बिर : कपिलदेव खनाल
दिपेन्द्र श्रेष्ठ
घलेभञ्याङ/नुवाकोटका स्थानीय सरकार नागरिकहरूको स्वास्थ्यप्रति सचेत रहेको भेटिएको छ । गाउँपालिकाको कार्यक्रम तथा नीतिलाईए नागरिकहरू समेत रुचाएको पाइएको छ । यस पञ्चकन्या गाउँपालिकाका आम नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त सकुन् भन्ने उद्देश्यले गाउँपालिकामा प्राथमिकताका साथ तीन वटा कार्यक्रमहरू सञ्चालनमा छन् । अन्य नियमित कार्यक्रम र सेवाहरूको अलावा गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश भएको ‘म स्वस्थ्य, मेरो गाउँ स्वस्थ्य’, ‘गाउँघर क्लिनिक’ र ‘स्वास्थ्य केन्द्रमा जन्म’ जस्ता कार्यक्रमहरू सञ्चालनमा छन् ।
स्वास्थ्य केन्द्र स्थापना भएपनि केही रोग र कत्तिपय नागरिकहरू लुकेर बस्ने र रोग लुकाउने अवस्था अहिले पनि समाजमा विद्यमान छ । विशेष गरी महिलासंग सम्वन्धि रोगहरू अझै खुलेर उपचारका लागि नआउने भएकोले गाउँपालिकाले टोलटोलमै महिला लक्षित निःस्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको छ । गाउँपालिकाका प्मुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताए ।
यस पञ्चकन्या गाउँपालिकाका नागरिकहरूको मुटु, मृगौला र क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपरको अवस्थामा गाउँपालिकाबाट जनही डेढ लाख रुपैयाँ आर्थिक अनुदान प्रदान हुँदै आएको छ । यस गाउँपालिकाको सबै वडाहरूमा स्वाथ्य केन्द्र स्थापनाको साथमा सुविधा सम्पन्न भवनहरू निर्माण भएका छन् । गाउँपालिका तथा सझेदार गैर सरकारी संस्थाहरूको बजेटमा निर्माण सम्पन्न भएका यि सुविधा सम्पन्न स्वास्थ्य केन्द्रबाट नागरिकहरूले सेवा पाउन थालेका छन् । भुगोलका कारण पायक नपर्ने एउटै वडामा दुई वटासम्म पनि स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकहरूको पहुँच स्थापित गरिएको छ ।
त्यसको नमूनाको रुपमा रहेको छ ः वडा नं. १ मा रहेको दुई वटा स्वास्थ्य संस्था । यस वडालाई भौगोलिक रुपमा दुई खण्डमा विभाजन गर्नुपर्ने अवस्था रहेको छ । वडा नं. १ को आपचौर र बाँनियाटारमा बेग्लाबेग्लै स्वास्थ्य केन्द्र स्थापना भएका छन् । वडा नं. ४ मा पनि दुई वटा स्वास्थ्य केन्द्र सञ्चालनमा छ । वडा नं. ३ मा दातृ निकायको लगानीमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र्र तयार भएको छ । अब गाउँपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि आवश्यक कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले बताए ।
गाउँपालिकाको वडा÷वडामा सञ्चालनमा भएको आधुनिक सुविधा सहितको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर पनि सञ्चालनमा रहेको छ । जसले गर्दा गाउँपालिकाकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको कार्यक्रमको लक्ष्य पुरा हुँदै गएको छ । घरमा बच्चा नजन्माउने गाउँपालिका घोषणा गर्नका लागि पञ्चकन्या गाउँपालिकालाई यसले महत्वपूर्ण आधार तयार गरेको छ ।
स्थानीय सरकारले अन्य गैर सरकारी संस्था र साझेदार निकायसंगको सहकार्यमा समेत यस पञ्चकन्या गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । स्थानीय सरकारले व्यवस्थापन गरेको स्वास्थ्य केन्द्र बाहेक गैर सरकारी स्तरबाट सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रले पनि उत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको वडा नं. २ का अध्यक्ष ध्रुव मिश्र बताउछन् ।

एकीकृत वस्ती स्वीकृत

विदुर/राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी ४ हजार ६४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ ।
प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । ४१० जनालाई सम्भावित लाभग्राही र २६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको हो । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
समितिले रसुवाको एउटा र मकवानपुरका दुईवटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नं. २ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले एकीकृत वस्ती बनाउने छन् । उनीहरूले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी थप ५ जग्गाधनी मिली जम्मा ५१ घरधुरी एकीकृत वस्ती विकास गर्न लागेका हुन् । 

सौर्य प्लान्टको उत्पादन दुई चरणमा

उषा रेग्मी
विदुर/नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टले दुई चरणमा काम सम्पन्ने गर्ने भएको छ । नौं महिना अघिनै निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिलेसम्म पनि जारी रहेको छ । 
निर्माण सम्पन्न भई उत्पादनको अन्तिम चरणमा रहेपनि यसले सुरुमा झण्डै आधा कम मात्रै उर्जा उत्पादन गर्ने छ । जारी काम अनुसार तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।  हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ ।
आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन लक्ष्य छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र वडा नं. १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ ।
२.५ मिटर लम्बाइको ‘पिल्लर गाड्न ड्रिल’ गर्ने उपकरण प्रयोगमा ल्याइएकाले तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्रमा ल्याउने आउने क्रममा रहेको आयोजनाका प्रमुख रघुवंशीले बताए । निर्माण तीव्र बनाउन सकेमा माघमै विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।
पहिलो चरणमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । नेपाली सेनाको ब्यारेक पछाडिको चउरमा सौर्य प्यानल जडानका लागि ३६ सय पिल्लर गाड्ने काम अन्तिम चरणमा पुगिसेको बताइएको छ ।
आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजना अन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले
जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर नीरज कर्णले बताए ।
थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको हो । दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा जग्गा सम्याउने काम अन्तिम चरणमा छ ।
नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना मार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत भइरहेको छ । करिब तीन अर्ब ८० करोड रुपैयाँ लागत रहने अनुमान गरिएको आयोजना विद्युत् उत्पादनका लागि प्रभावकारी र सस्तो हुने दाबी छ ।
प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुनेछ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ । 
परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ ।
प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किलोमिटर मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।

थाहा अनलाई डट कमका पत्रकार राजेन्द्र गजुरेल नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ६ डाडाँखर्क स्थित बागभैरव आधारभुत विद्यालयमा न्यानो कपडा स्वीटर, झोला, कापी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै । साथमा वडाध्यक्ष ज्ञानबहादुर तामाङ, वडा सदस्य नारायणप्रसाद रिमाल । उक्त विद्यालयको ३० जना विद्यार्थीलाई पत्रकार गजुरेलको पहलमा शैक्षिक सामाग्री र लत्ताकपडा वितरण गरिएको छ । 

सामाजिक सञ्जालबाट

विदुर नगरपालिका वडा नं. २ विदुर चोकका अस्मिता राई भारत्तोलनको ८७ केजी माथी तौल समुहमा कास्य पदक जितेपछि प्रशन्न मुद्रामा । 

दुई स्कुलमा गाउँपालिकाको सहयोग

नर्जामण्डप/नुवाकोटको तादी गाँउपालिकाले दुई बिद्यालयलाई खेलकुद र शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
नर्जामण्डपको बिज्ञान मावि र जनजागृत माविलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो । शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई उत्तिकै सक्रिय गारउन सामाग्ी हस्तान्तरण गरिएको तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
गाँउपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेतीले शिक्षा र खेलकुदलाई संगै लगेमा स्वस्थ्य समाज र जनशक्ति उत्पादन हुने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, वडा नम्बर ५ का अध्यक्ष बिष्णुप्रसाद अधिकारी, वडा नम्बर ६ का अध्यक्ष केशब थापा लगायतको उपस्थिति  थियो । 

क्रिकेटको उपाधि अर्किडलाई

बट्टार/नुवाकोटमा भएको अन्तर बिद्यालय स्तरिय जिल्लाब्यापी क्रिकेट प्रतियोगिताको उपाधि अर्किड एकेडेमी बट्टारले जितेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारसम्पन्न खेलमा शहिद प्रकाशजङ्ग शाह संस्कृत माबि देबिघाटलाई अर्किडले ३ विकेटले पराजित गरेको हो ।
अन्तर बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको समापन गर्दै बिदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिबकुमार चित्रकारले बिद्यालय स्तरबाटनै खेलकुदको बिकासमा स्थानिय तह लाग्नु पर्ने बताए ।
जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकले बिद्यालय स्तरको प्रतियोगिताले नै खेलाडीहरू उत्पादनमा सहयोग पुग्ने बताए । 

काठ सहित दुई गाडी नियन्त्रणमा

विदुर/बेलकोटगढी नगरपालिका वडा नं १२ मदानपुरबाट चिरानीको लागी पिपलटार तर्फ ल्याउदै गरेको दुई गाडी काठ सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वन कार्यालयको सहयोगमा उक्त काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । वडा नं १२ को कार्यालयले सडक विस्तारको क्रममा ढलेका सार्वजनिक जग्गाको काठ बोलपत्र आह्वान गरेर बिक्री गरेको भएपनि ओसार पसारको लागी पूरा गर्न‘पर्ने आवश्यक कानूनी प्रक्रिया नभएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागी वन कार्यालयमा बुझाएको छ ।

विदुरमै पानी परिक्षणका लागि ल्याव

रोशन बोगटी 
विदुर/नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाईयुक्त देश बनाउने राष्ट्रिय लक्ष्यलाई टेवा पु¥याउने गरी नुवाकोटमा पानी परिक्षण गर्ने मिनी ल्याव सञ्चालनमा आएको छ । विदुरमा वातावरण जनस्वास्थ्य संस्था (एन्फो) र डिकोन नेपालले पानी परिक्षणको मिनी ल्याव सञ्चालनमा ल्याएको हो ।
    ल्याव स्थापना संगै पानीको मुहान, सङ्कलन ट्याङ्की, धारा तथा कुवाको पानीको गुणस्तर जाँच गराउन जिल्लामै सम्भव भएको छ । डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यका अनुसार पानीको सबै खाले परीक्षण अब मिनी ल्यावमा सम्भव भएको छ पानीको धमिलोपना, पिएच रंग, फलाम, क्लोराइड, नाइट्रेड, कडापन, एमोनिया, क्याल्सियम, म्याग्नेसियम, क्लोरिन अवशेष, इ–कोली र कोलफर्म उक्त ल्यावमा परिक्षण हुनेछ ।
त्यसका लागि केही शुल्क लाग्ने संस्थाले जनाएको छ । पानीको आधारभूत ३ प्रकारका कोलिफर्म, एमोनिया र फलाम परिक्षण गरेमा साढे दूई सय देखि ३ सय रुपैयाँ सम्म शुल्क लाग्ने छ । पानीका सबै १३ प्रकारकै परीक्षणको सेवा लिएमा १५ सय देखि १७ सय रुपैयाँसम्म शुल्क रहेको छ । घरायसी प्रयोजन, उपभोक्ता समिति र व्यवसायी संघसंस्था तथा कार्यालयका लागि पानी परिक्षणको फरक फरक सेवा शुल्क तोकिएको छ ।

नगरपालिकाको ‘करियर’ परामर्श

विदुर/स्थानीय सरकार आफ्नो क्षेत्रभित्रका विद्यालयममा पढिरहेका नानीबाबुहरूलाई भविष्य कसरी बनाउने र त्यसका लागि आफैले गर्नुपर्ने प्रयासहरू के के हुन् भनेर सिकाउदै हिड्न थालेको छ । विदुर नगरपालिका शिक्षा युवा तथा खेलकुल शाखाले देविघाटनमा रहेको शहिद प्रकाशजङ्ग शाह संस्कृत मावि र हात्तिगौडामा रहेको भैरुम माविमा ‘करियर’ परामर्श सञ्चालन गरेको हो । कक्षा ८, ९ र १० का बिद्यार्थीहरूको भबिष्य र त्यसलाई साकार पार्नका लागि गर्नुपर्ने काम र उपाँयाको बारेमा परामर्श दिइएको छ । उच्च शिक्षा अध्यायन र भबिष्यको योजनाको बिषयमा विद्यार्थीहरूसंग अन्तक्रिया र सहजिकरण गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिवाकर चापागाँईले बताए ।
विदुर नगरपालिकाका शिक्षा बिज्ञ तथा परामर्शदाता तुलध्वज खतिवडाले बिद्यार्थीहरूले आफु भित्र रहेको प्रतिभालाई उजागर गर्ने अबसर स्थानीय तह र बिद्यालयले दिनु पर्नेमा कार्यक्रम र अभियान केन्द्रित रहेको बताए । 

कविता

म भित्रको म
रामबहादुर सिंखडा
भिडमा भएर पनि,
एक्लै हिडिरहेको म
अट्टाहास हाँसो हाँसेर पनि,
आफैं भित्र चिच्याइरहेको म ।
आकाश चुम्न चाहेर पनि,
बादलुमै निस्सासिरहेको म
सागर बन्न चाहेर पनि,
खहरेमै विलाइरहेको म ।
आँखा भित्र रम्न चाहेर पनि,
आँशु बनेर टलपलाई रहेको म ।
जुन बनेर हाँस्न खोजे पनि,
आंैसी आउने रातमै हराईरहेको म ।
    (हाल अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालय नुवाकोट,विदुर) 

‘फोहोरको कुरा प्रधानमन्त्रीसित गर्छु’

ककनी/सांसद हितबहादुर तामाङले काठमाडौको फोहोरबाट पिडित ककनी गाउँपालिका ओखरपौवा र सिसडोलबासीको समस्या प्रधानमन्त्री सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  संसदको विकास तथा प्रविधि समितिले केहि समय अघि गरेको अनुगमनको निष्कर्ष प्रधानमन्त्री कार्यालयसम्म पु¥याएको भएपनि कार्यान्वयन नभएपछि अब सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर जानकारी गराउने तामाङले बताए ।
शुक्रबार वास मिडिया फोरम नेपालले सिसडोलमा गरेको कार्यक्रममा सांसद तामाङले  सिसडोलमा फोहोर विसर्जन गर्ने स्थलबाट कति किलोमिटर टाढासम्म बस्ती बसाल्न मिल्ने भन्ने बारेमा बैज्ञानिक रुपमा प्रतिवेदन तयार हुनु आवश्यक रहेको बताए ।
सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण सुरु गरिएको बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण समेत सुस्त भएकोमा सांसद तामाङको असन्तुष्टि रह्यो । ‘निर्माण सुरु भएको ८ महिनामा २५ प्रतिशत मात्रै काम ?, उनले प्रतिप्रश्न गरे–बाँकी रहेको ४ महिनाभित्र कसरी काम सम्पन्न हुन्छ होला त ?’ तामाङले तोकिएका समयमा उक्त निर्माण सम्पन्न नहुने भएकाले नागरिकलाई समेत खवरदारी गर्न आग्रह गरे । फोहोरमा वर्षैदेखि जीबन बिताउँदै आएका नागरिकहरू प्रति सरकार उदासिन रहेको उल्ल्ेख गर्दै उनले भने– ‘अब यसो हुन दिन्न ।’
सहरी तथा भवन निर्माण विभागले २०७६ बैशाख २२ बाट मा बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माण थालेको छ । त्यसको जिम्मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई दिएको छ । त्यसको म्याद सम्झौता भएका मिति देखि एक वर्ष मात्रै छ । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले बञ्चरेडाँडा ल्याण्डफिल साईड समयमै निर्माण सम्पन्न गरी सिसडोल ल्याण्डफिल साईडमा फोहोर फाल्न बन्द गरिने प्रतिवद्धा कार्यक्रममै राखेका छन् । पहिलापनि महानगरले धेरै कुरामा झुक्याएको भन्दै यसमा स्थानीयहरूले शंका व्यक्त गरेका छन् । 
सिसडोल संघर्ष समितिका अध्यक्ष विश्वास डिसीले फोहोर र मान्छे एकै ठाउँमा राख्न नमिल्ने भन्दै यसलाई छुट्याउन आग्रह गरे । दुईबर्ष फोहोर फाल्ने सम्झौता गरेर १४ बर्षसम्म फोहोर फालेको प्रति उनले महानगरप्रति आक्रोश पोखे ।

३५ सयमा परिवारकै उपचार

विदुर/स्वास्थ्य बीमा कार्यक्रम नुवाकोटमा पनि सुरु भएको छ । नुवाकोट सहित नेपालको ५० जिल्लामा यो कार्यक्रम लागू भएको हो । बीमा कार्यक्रममा सहभागी हुन ५ जनासम्म परिवार संख्या भएकाहरूले बार्षिक ३५ सय रुपैयाँ तिर्नु पर्ने प्राबधान छ । सबै नागरिकहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न २०७१ सालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्य सेवाका लागी पुर्ब भुक्तानी प्राप्त गरी जोखिम न्युनिकरणको ब्यबस्था, बित्तिय संरक्षण प्रदान गर्ने, स्वास्थ्य सेवा प्रबाहमा, गुणस्तर र प्रभाबाकरिता बनाउने उद्देश्य रहेको छ ।
बीमा कार्यक्रममा सहभागी भएकाहरूले तोकिएको स्वास्थ्य संस्थामा गएर उपचार गराएमा अधिकतम १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार हुने छ । यसका सथै ११३३ प्रकारका औषधिहरू निशुल्क पाउने छन् । ५ जना भन्दा बढि परिवार भएकाहरूको हकमा भने अधिकतम बार्षिक २ लाख रुपैयाँसम्मको उपचार सेवा पाउने बीमा बोर्डले जनाएको छ ।

घरघरमै क्षयरोगको औषधि लगिने

विदुर/विदुर नगरपालिका स्वास्थ्य शाखाले क्षयरोगको बिषयमा समीक्षा गरेको छ ।
नगर क्षेत्र सहित नुवाकोटमा क्षयरोगका बिरामीहरूको संख्या धेरै रहेको बताईएको छ । क्षयरोग लागेका बिरामीहरू रहेपनि अस्पतालसम्मको पँहुचमा पुग्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता ब्यक्त गरेका छन् ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले क्षयरोगको भयावह रहेकाले मासिक रुपमा स्थानीय समुदायमा नै गएर चेकजाँचको ब्यबस्था गर्नु पर्ने बताए । स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटसँग समन्वय गर्दै स्थानीय समुदायमा नै गएर रोगको पहिचान गर्ने काममा लाग्न उनले निर्देशन दिए । नगरवासीलाई स्वास्थ्य सेवा घरघरमै पु¥याउन स्थानीय सरकार तल्लिन रहेको नगर प्रमुख पण्डितको भनाई रहेको छ । 
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका उत्तम खनालले नुवाकोटमा ४०० बढीमा क्षयरोग देखिएको बताए । धेरै संख्यामा रोगीहरू रहेपनि अस्पतालको पँहुचमा भने २ सयको हाराहारीमा मात्रै आएको उनको भनाई छ ।
विदुर नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई वडा÷वडामा वा ग्रामिण भेगमा नै पुगेर क्षयरोगको पहिचानको लागी आबाश्यक प्रकृया अगाडी बढाउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ ।

त्रिशुली थ्रि बीको ४० प्रतिशत काम

विदुर/नुवाकोटमा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको पहिलो योजना ‘माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना’को निर्माण ४० प्रतिशत काम सकिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशुली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको ३८ सय पाँच मिटर मुख्य सुरुङ मध्ये १४ सय मिटर खनिसकेको कम्पनीले जनायो । यो आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा अघि बढाइएको हो ।  २०७४ फागुन मसान्तमा सुरु भएको ३७ मेगावाट क्षमताको यो आयोजना २०७७ फागुन मसान्तभित्रै पूरा गर्ने जिम्मेवारी दिइएको छ ।

भालुको आक्रमणबाट प्रहरी घाइते

विदुर/रसुवामा भालुको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत उनीहरू खानेपानी पाइप मर्मतका लागि जंगल गएका थिए ।
घाइते हुनेहरूमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ का २५ वर्षीय प्रहरी जवान किरण तामाङ र रसुवा नौकुण्ड–४ का ३१ वर्षीय सहायक हवलदार बिरबहादुर थिङ छन् । थिङ गम्भीर घाइते भएका छन् । उनको टाउको गम्भीर चोट लागेको छ । घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार पछि काठमाडौं पठाइएको छ ।

तारकेश्वर गाउँपालिकाका पर्यटकिय स्थल

कपिलदेव खनाल
तारकेश्वर/तस्बिरमा देखिएको यही मन्दिरको नामबाट यस गाउँपालिकाको नाम तारकेश्वर रहन गएको हो । राज्य पुर्नसंरचना अन्र्तगत स्थापना भएको नुवाकोटको १२ वटा स्थानीय तह मध्येको यो तारकेश्वर गाउँपालिकाको नामाकरण गर्ने तारकेश्वर मन्दिर वडा नं. २ मा पर्दछ । त्रिशुली नदीको किनारमा अवस्थित यो मन्दिरको उत्पत्ती र विकासक्रमका बारेमा प्रष्ट तथ्य भने भेटिएको छैन ।
देविघाट गल्छीखण्डको मुख्य सडक तारुकाघाटबाट ठिक वारीपट्टी त्रिशुली नदीको किनारमा रहेको यस स्थानलाई नुवाकोट र धादिङ्गका भक्तजनहरूले श्रद्धाका साथ लिदै आएका छन् । अन्तराष्ट्रिय सडक मार्गबाट गाउँपालिका प्रवेश गर्दा मुख्य नाकामा नै रहेको यो मन्दिरमा हरेक मंसिरको बालाचतुर्दशीमा बिशेष मेला लाग्दै आएको वडा नं. २ का अध्यक्ष समरबहादुर आले मगर बताउछन् ।
यस्तै, यस तारकेश्वर गाउँपालिका वडा नं. ५ को मानेडाडा आफैमा रमणिय स्थान रहेको छ । उचाईका हिसावले तारकेश्वर गाउँपालिकाको प्राय गाउँटोलको अवलोकन गर्न सकिने यहाँबाट नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको अधिकांश स्थान देख्न सकिन्छ । नुवाकोटको बट्टारबजारबाट १७ किलोमिटर सडक दुरीमा रहेको यो स्थान आन्तरिक पर्यटकहरूका लागि भ्रमण, अबलोकन र दिन बिताउने राम्रो गन्तब्यको रुपमा रहेको छ । तारकेश्वर गाउँपालिकाको मध्ये भागमा रहेको यहाँ नजिकै बज्र गुम्बा रहेको छ । २०६५ सालमा स्थापना भएको यो गुम्बा र आपसासको क्षेत्र पर्यटकका लागि उपयुक्त रहेको स्थानीय श्याम तामाङ सुनाउछन् ।
पुरानो गाविस भवनसंगै रहेको बज्र गुम्वाको प्रचिन ईतिहास रहेको छ । डाडाथोक नामले समेत चिनिने यहाँको गुम्बामा लामा ज्ञानको सिकाई हुँदै आएको छ । यस वडाको कुल जनसंख्या मध्ये ७५ प्रतिशत भन्दा बढी तामाङ समुदायको बसोवास रहेको यहाँ तामाङका पुरोहित लामा तथा तन्त्रमन्त्र विद्या प्राप्तीका लागि यस गुम्बा महत्वपूर्ण बन्दै गएको छ । लामा उत्पादनका लागि आशन बस्ने र साधना गर्ने स्थान बस्तीबाट निक्कै टाढा रहेको र त्यहाँसम्म आवश्यक पुर्वाधार तथा आधुनिक सुविधा पु¥याउन असम्भव देखिएपछि यहाँ गुम्बा तयार गरिएको हो । बज्र गुम्बाको नामले परिचित यो बौद्धधर्मालम्वीको आस्थाको केन्द्रलाई स्थानीय सरकार तारकेश्वर गाउँपालिका र वडा नं. ५ ले पनि विशेष रुपमा हेर्दै आएको छ । तारकेश्वर गाउँपालिका वडा नं. ५ का अध्यक्ष चुडामणिप्रसाद गजुरेल यस स्थानलाई धार्मिक पर्यटक भित्र्याउने सम्भावना भएको बताउछन् ।
त्यसो त, साविकको तारुका गाविसको शिरमा रहेको शिवालय मन्दिर पनि यहाँको ऐतिहासिक रहेको छ । यहाँका स्थानीय एक जाइफर सुब्बा अधिकारी नाम गरेका व्यक्तिले आमाको ईच्छा पुरा गर्नका लागि मन्दिर निर्माण गराएको इतिहास यहाँ सुनिन्छ । यो मन्दिरको संरक्षण र सञ्चालनका लागि उनले व्यक्तिगत गुठी तयार गरेका थिए । अहिलेपनि उक्त गुठी अन्र्तगत ८० रोपनी खेत र ९६ रोपनी बारी छ । यो शिवालय स्थापना र मन्दिर निर्माणको कार्य विक्रम सम्वत १८७२ मा सम्पन्न भएको यहाँ रहेको शिलालेखमा उल्लेख छ । जाईफर सुब्बा अधिकारीले राजा राजेन्द्र विरविक्रम शाहाको शासनकालमा यो मन्दिरको स्थापना गरेको तारकेश्वर गाउँपालिका वडा नं. ३ का सदस्य कुलदिप ढकाल बताउछन् ।
यसरी धार्मिक, ऐतिहासिक, पर्यटकिय स्थान, श्रोत साधन र नीधिले भरिपूर्ण तारकेश्वर गाउँपालिका नुवाकोटको अन्य गाउँपालिका भन्दा सम्पन्न देखिएको छ । कला, संस्कृति र परम्परालाई पर्यटनसंग जोड्दै यहाँका नागरिकहरूको आर्थिकस्तर वृद्धि र सम्मुनत विकासका लागि स्थानीय सरकारले कार्य आरम्भ गरेकोले पनि तारकेश्वर गाउँपालिका नमूना र अब्बल गाउँपालिकाको रुपमा स्थापना हुनेमा कुनै शंका छैन । त्यसका तारकेश्वर गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गर्दै आएको र कला, संस्कृति अनि इतिहासको संरक्षण र प्रर्वद्धनका लागि काम भइरहेको छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकिय पक्षलाई स्थानीय सरकारको आम्दानीको श्रोत बनाउने तर्फपनि गाउँपालिकाले योजना तयार गरेको छ । त्यसका लागि आवश्यक पुर्वाधारहरू तयार भइरहेको, पाहुनाको सहजताको लागि होमस्टेको काम गाउँपालिकामा अगाडी बढेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती बताउछन् ।
गाउँपालिकाको पहचिाननै बनिसकेको परम्परालाई संरक्षण गर्नका लागि यस गाउँपालिकाले नीतिगत रुपमै व्यवस्था गरेको छ । नागरिकहरूको मागको आधारमा मात्रै नभईकन जनप्रतिनिधिहरूले संरक्षण र प्रचारका लागि आवश्यक देखेका पक्षहरूमा काम हुँदै आएको उपाध्यक्ष तारादेवी रिमाल सुनाउछन् । त्यसैले पनि तारकेश्वर गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ की पर्यटनको माध्यमबाट विकासको गती छिटो बढाउन यस गाउँपालिका भित्रका पर्यटकीय सम्भावनाको पहिचान गरिने उपाध्यक्ष रिमालको तर्क छ । यस गाउँपालिका भित्रका मध्येपनि वडा नं. ६ को ऐतिहासिक फिर्केपकोट, भूमेस्थान मन्दिर, ढिंकीजाँतो चूली, जन्तरे गढी, काफलपानी, फलाटेडाँडा, तारुकाघाटको तारकेश्वर, गोरु जुधाई मेलालाई व्यवस्थित ढंगले विकास गरिने लक्ष्य गाउँपालिकाको रहेको छ । जसले सन् २०२० को पहिलो दिनबाटै सुरु हुने नेपाल भ्रमण बर्षमा नुवाकोटको गतिलो पर्यटकिय स्थानहरूको उजागर गरेको छ ।

गाउँपालिकाको घर दर्ता अभियान

घलेभञ्याङ्ग/पञ्चकन्या गाउँपालिकाले घर दर्ता कार्यलाई अघि बढाएको छ । वडामा कत्ति घर छन्, कत्ति परिवारको बसोवास रहन्छ भन्ने यकिन तथ्याङ्क नहुँदा गाउँपालिका र अन्य सेवा प्रदायकहरुलाई अप्ठ्यारो परेकोले गाउँपालिकामा घर दर्ता अभियान थालिएको हो । नुवाकोट जिल्लाका अन्य स्थानीय तहमा नभएको यस अभ्यासले पञ्चकन्या गाउँपालिकालाई नमूना बनाएको छ । यो कार्य अहिले अन्तिम अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
साथै, पञ्चकन्या गाउँपालिकाले विभिन्न विषयमा २५ वटा कानून बनाएर कार्यान्वयनमा ल्याएको छ । यसमा आधा दर्जन भन्दा बढी ऐन, कार्यविधि तथा कानून मौलिक रहेको प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले जानकारी दिए । 

२०७६ मङ्सिर २३ गतेको सम्पादकिय

प्राविधिक शिक्षा दिऔं
कृषि प्रधान नेपालका अधिकांश स्थानीय तहहरूको मुख्य आम्दानीको श्रोत र नागरिकहरुको जीवन यापनको माध्याम कृषि रहेको छ । नुवाकोट जिल्लाका सबै स्थानीय तहमा कृषिलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम र विकासका बजेटमा पनि स्थानीय सरकारले कृषिलाई महत्व दिएको देखिएको छ । तर कृषिका कार्यक्रम र नीतिलाई कार्यान्वया गर्न, किसानसम्म पु¥याउनका लागि हुनुपर्ने संरचनाका कारण भने प्रक्षेपण भए अनुरुपको लक्ष्य प्राप्तिका लागि असहजता देखिएको छ । त्यसो त, पहिलाको जिल्ला कृषि विकास कार्यालयको संरचना खारेज भएर यतिबेला प्रत्येक स्थानीय तहमा कृषि शाखा स्थापना भएका छन् । स्थानीय तहमा अधिकार गए पनि कार्यबिधि अनुसारको स्रोत र जनशक्ति व्यवस्थापन नहुँदा कृषि क्षेत्रमा पर्याप्त काम हुनै सकेको छैन । पहिलेको संरचनाका आधारमा आफ्नो कार्यक्षेत्रमा खटिने प्राविधिकस्तरका कर्मचारीले नै स्थानीय तहको नेतृत्व गरिरहेका छन् । यो सबै नगरपालिका र गाउँपालिकाको अवस्था हो, नुवाकोटमा ।
कृषि भित्रका काम, स्थानीय सरकारले तय गर्ने नीति र कार्यक्रम अनि कृषि शाखा अन्तर्गत रहने विभिन्न शाखा र कार्यक्रमहरू लगभग अलपत्र जस्तै परेको देखिएको छ । कृषि शाखा अन्र्तगत नै नियमित रुपमा सञ्चालन हुनुपर्ने कृषि प्रसार, बाली विकास, बाली संरक्षण, मसला बाली लगायत क्षेत्रका विषय विज्ञ नहुँदा नुवाकोट जिल्लाको कृषि क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन । सबै स्थानिय तहमा कृषि शाखाको ब्यबस्था हुने र शाखा अधिकृत स्तरको कर्मचारी शाखा प्रमुख रहने नीतिगत ब्यबस्था नै छ ।
तर नुवाकोटमा रहेका कतिपय स्थानिय तहमा करारमा नियुक्त गरिएका ‘जेटिए’हरूले त्यसको जिम्मेवारी सम्हाल्दै आएका छन् । त्यसले गर्दा पनि कार्यक्रम र नीति कार्यान्वयमा समस्या उत्पन्न भएको हो । त्यसो त, गाउँपालिका तथा नगरपालिकाहरुको सबै वडामा जेटिए पु¥याउने नेपाल सरकारको कार्य योजना समेत सफल हुन सकेको छैन । शाखामा नै करारमा नियुक्त भएका कर्मचारीको हातमा सुम्पनु परेपछि वडासम्म कृषिको संरचनाको कल्पना गर्न कठिन भइरहेको छ । यस्तो परिस्थितिमा कृषिसंग सम्वन्धित जनशक्ति उत्पादनका लागि कृषि विषयको पढाईका लागि प्राविधिक शिक्षालयको आवश्यकता सबै स्थानीय तहमा देखिएको छ । त्यसका लागि प्रत्येक गाउँपालिकाले आफ्नो कुनै माविलाई प्राविधिक विषयको पठनपाठन गराउने केन्द्रका रुपमा विकास गर्नु आवश्यक छ ।
त्यसो गर्दा, १२ वटा स्थानीय तहले फरक फरक १२ विषयका जनशक्ति उत्पादन गर्न सक्नेछ । जसबाट कृषि बाहेकका क्षेत्र जस्तै, पशु, शिक्षा, स्वास्थ्य र अन्य प्राविधिक विषयका दक्ष जनशक्ति स्थानीय स्तरमै उपलब्ध हुनेछन् । 

Sunday, December 01, 2019

नयाँ नेता चुनिए

सुजित भण्डारी
विदुर/दुई मुख्य राजनीतिक दलले नुवाकोटमा नयाँ संरचनाको आधारमा नेता चयन गरेको छ । नेपाल कम्न्युष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले जिम्मेवारी बाडफाँट गरेको हो । काँग्रेसले १२ वटा स्थानीय तहको संयोजकको मात्रै टुङ्गो लगाएको छ भने नेकपाले निर्वाचन क्षेत्र संयोजक देखि पालिकाको सचिवसम्मको टुङ्गो लगाएको छ । नेकपाले विभिन्न २८ वटा विभागको जिम्मेवारी बाढेको छ, तर यो समाचार तयार पार्दासम्म सार्वजनिक भने गरेको छैन ।
काँग्रेसको भने संयोजक मात्रै तोकिएकोले अन्य पदका लागि संयोजकहरूले आन्तरिक गृहकार्य थालेका छन् । निर्वाचित गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे र सन्तबहादुर घले तामाङले पार्टीको पनि जिम्मेवारी लिएका छन् ।
नेकपाले संघिय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी ६० जनालाई नयाँ जिम्मेवारी दिएको छ । अहिले दिइएको जिम्मेवारी अनुसार मुख्य राजनीतिक पात्रका रुपमा पदम उप्रेती (पुर्व एमाले) र राजकुमार रेग्मी (पुर्व माओवादी) उदायका छन् । उप्रेतीले शिवपुरी गापामा अध्यक्ष हारेका थिए । रेग्मी दुई वर्ष अघि नयाँ शक्ति पार्टीबाट पुनः माओवादीमा प्रवेश गरेका थिए । स्थानीय चुनाव हारेका अन्य पनि नेकपाको नेता बनेका छन् । निर्वाचित वडा अध्यक्ष, दुई पत्रकार सह ईञ्चार्ज बनाइएको छ । 
जिल्लामा एक महिलाले मात्रै जिम्मेवारी पाएका छन् । किस्पाङ गापाको सह ईञ्चार्जमा पुर्व एमालेका श्रीमाया लामा तोकिएको छ । महिला अधिकार र समाताको वकालत गर्ने तत्कालिन माओवादी समेत मिसिएको नेकपामा पुरुष हावी नेतृत्वको विषयमा नकारात्मक टिप्पणी भइरहेको छ । नीति भन्दा पनि नेतामुखी भएर जिल्लास्तरका नेता छानिएको कारण यो समस्या आएको नेकपाका एक नेताले बताए । ठूला नेताले काखी च्यापेका व्यक्ति नेकपाका ‘झन् बलियो’रुपमा उदायको उनी बताउछन् । ‘स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारका विरुद्ध खुलेर लाग्नेलाई पार्टीले ठुलो मान्छे बनायो’ उनले भने ।  नेकपाले जिम्मेवारी बाढ्दा ‘क्रस’ नीति लिएको बैठकमा सहभागि एक नेताले बताए । पहिलो र दोश्रो पदमा पुर्व एमाले र  पुर्व माओवादीलाई पालोमा राखिएको छ ।
काँग्रेस नुवाकोट
स्थानीय तहको नाम/संयोजकको नाम
बेलकोटगढी नगरपालिका/गोकुलप्रसाद दाहाल
विदुर नगरपालिका/नेत्रप्रसाद ढकाल
तारकेश्वर गाउँपालिका/होमबहादुर तामाङ
म्यागाङ गाउँपालिका/सिंहबहादुर तामाङ
शिवपुरी गाउँपालिका/प्रेमबहादुर थापा
ककनी गाउँपालिका/सुपोल तामाङ
सुर्यगढी गाउँपालिका/सन्तबहादुर घले तामाङ
पञ्चकन्या गाउँपालिका/बैकुण्ठ खनाल
लिखु गाउँपालिका/परशुराम लामिछाने
तादी गाउँपालिका/नारायणप्रसाद पाण्डे
दुप्चेश्वर गाउँपालिका/ईन्द्रबहादुर पाण्डे
किस्पाङ गाउँपालिका/रणबहादुर तामाङ

नेकपा नुवाकोट
कार्यक्षेत्र/नाम/जिम्मेवारी
प्रतिनिधि सभा क्षेत्र नं. १/पदम उप्रेती/संयोजक
     ” राजन गौतम/सचिव
प्र.स. क्षे.१ प्रदेश सभा क/बलराम आचार्य/संयोजक
     ” राजन श्रेष्ठ/सचिव
प्र.स. क्षे.१ प्रदेश सभा ख/सुभाष तामाङ/संयोजक
     ” जीतबहादुर घले/सचिव
प्रतिनिधि सभा क्षेत्र नं. २/राजकुमार रेग्मी/संयोजक
     ” हरि अधिकारी/सचिव
प्र.स. क्षे.२ प्रदेश सभा क/नविन पुडासैनी/संयोजक
     ” माधव पाण्डे/सचिव
प्र.स. क्षे.२ प्रदेश सभा ख/गणेश श्रेष्ठ/संयोजक
     ” सुभाष तामाङ/सचिव
विदुर नगरपालिका/रामचन्द्र पौडेल/ईञ्चार्ज
     ” शरणउत्सुक सापकोटा/सह ईञ्चार्ज
     ” राजकुमार श्रेष्ठ/अध्यक्ष
     ” सुजन मगराती/सचिव
बेलकोटगढी नगरपालिका/सुर्दशन नेपाल/ईञ्चार्ज
     ” शिवप्रसाद पौडेल/सह ईञ्चार्ज
     ” प्रेमबहादुर तामाङ/अध्यक्ष
     ” नमराज तिवारी/सचिव
दुप्चेश्वर गाउँपालिका/लालबहादुर तामाङ/ईञ्चार्ज
     ” सुरज शेर्पा/सह ईञ्चार्ज
     ” युवराज तामाङ लामा/अध्यक्ष
     ” शंकर थापा/सचिव
तादी गाउँपालिका/प्रमोदलाल श्रेष्ठ/ईञ्चार्ज
     ” बिजयकुमार खनाल/सह ईञ्चार्ज
     ” सोभियतराज पाठक/अध्यक्ष
     ” रोशन श्रेष्ठ/सचिव
लिखु गाउँपालिका/धर्मराज अधिकारी/ईञ्चार्ज
     ” प्रदिपकुमार पाठक/सह ईञ्चार्ज
     ” मेघनारायण श्रेष्ठ/अध्यक्ष
     ” बिवेक ढकाल/सचिव
शिवपुरी गाउँपालिका/उज्वल खड्का/ईञ्चार्ज
     ” गणेश उप्रेती/सह ईञ्चार्ज
     ” बिरबहादुर तामाङ/अध्यक्ष
     ” दिनेश अधिकारी/सचिव
पञ्चकन्या गाउँपालिका/अर्जुन कार्की/ईञ्चार्ज
     ” मणिनाथ लामिछाने/सह ईञ्चार्ज
     ” कुमार केसी/अध्यक्ष
     ” रामेश्वर सुवेदी/सचिव
ककनी गाउँपालिका/जीतबहादुर बलामी/ईञ्चार्ज
     ” उत्तम घिमिरे/सह ईञ्चार्ज
     ” रामहरि श्रेष्ठ/अध्यक्ष
     ” योगेन्द्र तामाङ/सचिव
सुर्यगढी गाउँपालिका/इमानसिंह तामाङ/ईञ्चार्ज
     ” घकुमार लामा/सह ईञ्चार्ज
     ” राजेन्द्र रिजाल/अध्यक्ष
     ” पुरुषोत्तम अधिकारी/सचिव
किस्पाङ गाउँपालिका/अर्जुन न्यौपाने/ईञ्चार्ज
     ” श्रीमाया लामा/सह ईञ्चार्ज
     ” बिरबल तामाङ/अध्यक्ष
     ” नेत्रप्रसाद भट्ट/सचिव
म्यागाङ गाउँपालिका/मेघनाथ तामाङ /ईञ्चार्ज
     ” सुकबहादुर तामाङ/सह ईञ्चार्ज
     ” बुद्धिबहादुर तामाङ/अध्यक्ष
     ” सेल्कर तामाङ/सचिव
तारकेश्वर गाउँपालिका/राजेन्द्र न्यौपाने/ईञ्चार्ज
     ” चुडामणी गजुरेल/सह ईञ्चार्ज
     ” केशव घिमिरे/अध्यक्ष
     ” सोमबहादुर तामाङ/सचिव

बिदेशको मोह त्यागेर किम्ताङमा माछा पालन

शर्मिला उप्रेती
नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. ४ किम्ताङका ५१ वर्षिया पुर्णबहादुर तामाङको परिचय र दैनिक फेरिएको छ । जीवनकको सुरुवाती समय भेडा चराएर बिताएका उनको उर्वर समय भने खाडी मुलुकमा पसिना बगाएर बित्यो । तै पनि आफ्नै ठाउँमा केही गर्ने र आफ्नै काम गर्ने यिनको सोच र जाँगर यसरी भरिएर आयो कि साउदी अरबमा १६ वर्ष ६ महिनाको अभ्यस्त जीवनलाई चटक्कै छाडेर उनी १३ वर्षदेखि मातृभुमिमा छन् । त्यो पनि संसारभर रुचाईएको रेम्बो ट्राउट माछा पालनका लागि । ‘आफैले काम गरेको मम्पनी हेर्दा हेर्दै कहा पुग्यो कहाँ, अन िआफु चाँही के जाँगरि खाएर बस्नु भनेर आफ्नै काम गर्न विदेशबाट फकिए’ तामाङले भने । उनी साउदी अरवमा आल्मुनियको फ्याक्ट्रीमा काम गर्थे भने यता आएर ट्राउट माछा पालन गरिरहेका छन् ।
त्यसो त, नेपालमै ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो । ककनीबाट सुरु भएको ट्राउट माछा पालन र व्यवसायीक उत्पादन अहिले आन्तरिक रुपमा प्रशस्त विस्तार भएको छ । यही उत्पादन हुने मध्येको यो किम्ताङ ट्राउट माछा उत्पादन केन्द्र र यसका सञ्चालकले अहिले नुवाकोटमा पाइने ट्राउट माछा मध्ये सबै भन्दा स्वादिलो माछा उत्पादनको पंक्तिमा देखिएको छ । समुन्द्रि सतहदेखि १८ सय मिटर उचाईमा भइरहेको यो व्यवसायीक खेतीको सोच समुन्द्रि किनारा वरपरनै तामाङले बुनेका थिए ।
आठ वर्षदेखि व्यवसायीक रुपमा उत्पादन भइरहेको किम्ताङको यो रेम्बो ट्राउट माछा पालनमा ७० लाख लगानी भइसकेको छ । यहाँ २०६८ साल मंसिरबाट माछा पालन सुरु भएको हो । बैदेशिक रोजगारीबाट आर्जन भएको रकमले जोडेको घडेरी विक्रि गरेर पखेरोमा यसरी लगानी गरेका यी पुर्णबहादुरलाई सुरुमा अत्यास लागेको थियो । २३ लाख ४० हजार रुपैयाँ लगानी सकिँदा पनि उत्पादनको सुरसार नभएको उनको स्मरण छ । तर अब अवस्था फेरिएको छ । आफ्नो उत्पादनलाई विक्रिका लागि बजारको समस्या झेलेका यिनले आफ्नै विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन् । आफ्नै परिवारका सदस्यहरू मिलेर भइरहेको ट्राउट माछा पालनले अहिले यिनलाई खुसी दिएको छ । ‘विदुर नगरपालिकाको माछापोखरी मुनी रहेको मत्य अनुसन्धान केन्द्र नजिर्क एक वर्षदेखि ट्राउ माछाम खुवाउने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ, पुर्णबहादुर तामाङ भने–स्वरोजगको बाटोमा छु, त्यही भएर घरपरिवारका सदस्यले हेर्ने गरेका छन् रेष्टुरेन्ट र माथी रहेको माछा पोखरी पनि ।’
संसारभर रुचाइएको ट्राउट माछा २० डिग्रीसेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । त्यसैले पनि यो हिमालको काखमा रहेको किम्ताङमा असाध्यै राम्रोसंग हुर्किरहेको छ । यही पोखरी र माछा पालन हेरेर पुर्णबहादुर तामाङका छिमेकी दमाई घले समेत फुरुङ्ग छन् । यसरी जंगलको बीचमा कोही आएर लाखौं लगानी गर्लान् भन्ने नै उनले कल्पना गरेका थिएनन् । ‘पुर्णबहादुरको कामले हामी पनि उत्साही भएका छौंं, दमाई घलेले भने– गाउँका युवाहरू यसरी काम गर्नुपर्छ भनेर सल्लाह गर्न थालेका छन् ।’ 
यसरी छिमेकीलाई समेत प्रेरणा बनेको किम्ताङको ट्राउट माछा पालनको सुरुवातमा पुर्णबहादुर तामाङका दाजुभाई पनि सक्रिय रहेका थिए । भाईहरूले गाउँमा गर्न लागेको काम देखेर विदेशबाट फर्किएका पन्तबहादुर तामाङ पनि बसे । अहिले उनी आफ्नो सवारी चलाउने पेशामा रहेपनि माछा पोखरीमा बरोबरी भेट भइरहन्छन् । काम राम्रो भइरहेको छ कि छैन, रोग लागेको छ कि माछालाई भन्ने चिन्ताले उनी धरी धरी पोखरीतिर गइरहन्छन् । ‘म सन् २०१२ मा विदेशबाट आउँदा त भाईहरूले के गर्यो यो पखेरमा डोजर लगाएर सम्याएको छ, भन्ने लागिरहन्थ्यो, अहिले खुसी लाग्छ’ पन्तबहादुर तामाङले भने ।
नुवाकोटको त्रिशुली बजारबाट २७ किलोमिटरको दुरीमा रहेको यो किम्ताङ रेम्वो ट्राउट माछा पालन भइरहेको फर्ममा पुग्नका लागि सडकको सहज पहँुच रहेको छ । नुवाकोट र धादिङ्गका कत्तिपय आन्त्रिक पर्यटकहरू यही आइपुगेर माछा खाने गर्दछन् ।
यहाँसम्म आउन नसक्नेहरूका लागि विदुर नगरपालिका वडा नं. ९ को माछापोखरीको मत्य अनुसन्धान केन्द्रसंगै रेष्टुरेन्ट सञ्चालनमा आएको छ । माछा पालन केन्द्रमा आइपुग्नका लागि विदुर नगरपालिकाको भैरमकोट–देउराली–म्यागङडाँडा हुँदै किम्ताङ पुग्न सकिन्छ । नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिकाका मात्रै होइन धादिङ्गको नेत्रावती गाउँपालिका, खनायोबास गाउँपालिका लगायतका स्थानबाट समेत यहाँ माछा खान आउने गरेका छन् ।  कुनै समय यहाँको माछा बोकेर विक्रि गर्न टाढा जानुपरेको अवस्था र अहिले यही माछाको पारखीहरू आउने गरेको तुलना गर्छन् पुर्णबहादुरका दाई पन्तबहादुर तामाङ ।
यसरी पारिवारिक रुपमा सुरु भएको निजी व्यवसायले गाउँपालिका र गाउँकै नाम परपरसम्म पुग्ने अवस्थाको सृजना भएको छ । सुरुमा भएको दुःखपनि अहिले सुखको महशुस पुर्णबहादुर तामाङ र उनको परिवारलाई हुन थालेको छ । भएभरका १८ वटै पोखरी २०७२ सालको भुईचालोका कारण चुहिने भएपनि माछा पालनमा चाँहि केही समस्या परेको छैन । पोखरीबाट पानि चुहिरहेता पनि उनले निरन्तर आफ्नो ब्यबसाय सञ्चालन गरि रहेका छन् । सुखको काम गरियो जस्तो महशुस गरेका पुर्णबहादुरकी श्रीमती आशामाया तामाङलाई अब पोखरी मर्मत गर्ने रहर छ । ‘पोखरी मर्मत गरेर सधै भरिलाई हुने गरी माछा पालेर बस्न मन छ, खेतिपाती भर्नुभन्दा त यो पेशा धेरै सजिलो लाग्यो’ उनले भनिन् ।
विदुर नगरपालिका वडा नं. ९ मोछापोखरीमै रहेको किम्ताङ ट्राउट रिसोर्टमा भन्दा यही माछा पालन केन्द्रमा अझ सस्तोमा माछा उपलब्ध हुँदै आएको छ । रिसोर्टमा जिउँदो ट्राउट माछाको १३ सय, फ्राई गरेको १५ सय र ग्रेभीको १६ सय रुपैयाँ प्रतिकिलोमा विक्रि गरिदै आएको छ । माछा पालन केन्द्र किम्ताङमै आएर माछा खरिद गर्ने वा यहि बनाउन लगाएर खानेलाई ति सबै प्रकारमा एक÷एक सय रुपैयाँ कम रहेको छ । यसरी यहाँ आइपुग्ने पाहुना अतिथिहरूको चाहाना अनुसारको स्वादमा समेत माछा फर्मले सेवा दिँदै आएको छ ।
अहिले विदुर नगरपालिकामा आफ्नै लगानीमा ट्राउट माछा खुवाउनकै लागि सञ्चालनमा ल्याएको यो रेष्टुरेन्ट हुनुभन्दा पहिला पुर्णबहादुर तामाङलाई बजारिकरणको सास्ती थियो । पोखरी भरी भएको माछा विक्रिको चिन्ताले रातोदिन पिरलोमा परेका यिनी आफै माछा लिएर विक्रिका लागि पोखरासम्म पुगेका थिए । तर अहिले अवस्था फेरिएको छ । ‘अहिले त आफुले  पालेको माछा आफ्नै रेष्टुरेन्टबाट विक्रि गर्दै आएको छु’ उनले भने– पहिला बजार आफैले तयार गर्नुपर्ने रहेछ यो माछाको लागि, ढिलै भएपनि सिकियो, गरिरहेको छु ।’ 
झण्डै १  वर्षदेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिएको छ । सामान्य व्यवस्थापन नमिल्दा पनि लगानी स्वाहा हुनसक्ने यो जोखिमपूर्ण व्यवसायलाई असाध्यै मिहिनेतले जोगाएका छन् यि पुर्णबहादुरले । अहिले यिनको रेष्टुरेन्टमा माछा विक्रिको चाप यसरी बढेको छ कि आफ्नो उत्पादनले नभ्याएर रसुवा र सिन्धुपाल्चोबाट ल्याउने गरेका छन् । 
बैदेशिक मोह लत्याएर आफ्नै पाखुरी बजारिरहेका पूर्णबहादुर तामाङलाई हौसला र प्रोत्साहन समेत मिलेको छ । माछा पालक कृषकहरूलाई प्राप्त हुने केही अनुदान र स्थानीय सरकारको सहयोग धेरथोर यिनले प्राप्त गरेका छन् । यहाँ माछाको ह्याचरी घर निर्माणका लागि कृषि कार्यालयले साढे सात लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै म्यागाङ गाउँपालिकाले पोखरी संरक्षणका लागि तारबार लगाउन झण्डै तीन लाख रुपैयाँ अनुदान दिएको छ । यसरी सरकारी स्तरबाट समेत प्राप्त हौसलाका कारण पूर्णबहादुर तामाङ र उनको परिवारले आन्तरिक तथा बाह्य पर्यटनका लागि समेत काम गर्ने सोच बनाएका छन् । केही पोखरीलाई आधुनिक र बलियो बनाउने, माछा नियमित उपलब्ध हुने वातावरण तयार गर्ने योजना पूर्णबहादुर तामाङको छ । त्यसो त उनी गाउँपालिका स्तरमै होमस्टे सञ्चालन गर्ने योजनमा पनि छन् ।
आफ्नै काम र सृजनशिल बन्नका लागि आफ्नै गाउँ पसेका पुर्णबहादुर तामाङ र उनको परिवारका कारण भएको यो गाउँको चर्चा र आर्थिक आर्जनले जिल्लामा नमूनाको रुपमा चर्चा पाउन थालेको छ । आफ्नो उत्पादनलाई आफै विक्रि गर्ने देखि आफ्नै पाखुरीले आर्जन गरिरहेका पुर्णबहादुरलाई सरकारले समेत प्रोत्साह दिन थालेपछि अन्य कृषकहरू समेत ट्राउट माछा पालनको आकर्षमा छन् । 

तस्बिर खबर

दिपेन्द्र श्रेष्ठ
गतीशील मावि खड्गभञ्याङको भवन उद्घाटन तथा अभिभावक भेलामा सहभागि हुने क्रममा गएको सोमवार प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाशप्रसाद ढुङ्गेल(दाँयाबाट दोश्रो), प्रदेश सांसद केशव पाण्डे (दाँयाबाट पहिलो), विद्यालयका अध्यक्ष रामकृष्ण खड्का (दाँयाबाट चौथो) ।

संग्रहालय शिलान्यास

कुवापानीमा निर्माण सुरु भएको शाह संग्रहालयको नक्सा
मुकुन्दराज अर्याल  
विदुर/विदुर नगरपालिकामा पृथ्विनारायण शाह संग्रहालय निर्माण हुने भएको छ । संग्राहलयको गएको आइतवार विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष बिरेन्द्रकुमार शाहीले शिलान्यास गरेका हुन् ।
वडा नं. २ नुवाकोट दरवार क्षेत्रको कुवापानीमा पृथ्वीनारायण शाह संग्रहालय बन्न लागेको हो । उशहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई बवरमहलले भवन निर्माण गर्न थालेको हो । संग्रहालय भवन निर्माणको लागत ५ करोड २७ लाख रुपैयाँ रहने छ । श्रृङ्खला निर्माण सेवा प्रालि बट्टारले भवन निर्माणको जिम्मा पाएको छ । २०७६ असार २४ गते सम्झौता भएको थियो । २०७८ असार २३ मा भवन सम्पन्न गर्नुपर्नेछ ।

हिंसा विरुद्धको १६ दिने अभियान

विदुर/लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान गएको सोमवारबाट सुरु भएको छ । नुवाकोटमा अभियानको सुरु गर्दै दिपप्रज्वलन गरिएको छ । बिदुर नगरपालिका वडा नम्बर ४ लोकतान्त्रिक चौतारामा अधिकारकर्मिहरूले दिप प्रज्वलन गर्दै लैङिगक हिंसाको अन्त्यको माग गरेका छन् ।
१६ दिने अभियान हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरू आयोजना हुँदै आएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरेपछि १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

तयार भयो चिम्टेश्वरको ‘डिपिआर’

विदुर/नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको चिम्टेश्वरमा बन्ने पार्क र भ्यूटावरको बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको छ ।
स्थानीयले लामो समयदेखि आवाज उठाइरहेको यहाँ ‘भ्यू टावर’ निर्माणका लागि सरकारले यसअघि नै बजेट विनियोजन गरेको थियो । त्यसेको डिपिआर तयार भएको बेलकोटगढी नगरपालिकाले जनाएको छ । प्रदेश र संघ र स्थानिय तहको बजेटबाट भ्यु टावर सहितको पार्क निर्माण गर्ने बेल्कोटगढी नगरपालिकाले जनाएको हो ।
पार्कसँगै पर्यटन प्रबद्र्धनका लागी होमस्टेको समेत परिकल्पना गरिएको मेयर राजेन्द्ररमण खनालले बताए । बिभिन्न १५ जिल्ला तथा हिमालको अबलोकन गर्न सकिने चिम्टेश्वरमा आउने पाहुनालाई सत्कार गर्नको लागी होमस्टेको परिकल्पना गरेको उनको तर्क छ ।
चिम्टेश्वरलाई एतिहासिक, धार्मिक र पर्यटकिय स्थलको रुपमा मानिदै आएको छ । चिम्टेश्वरबाट नेपालका विभिन्न १५ जिल्लाको अवलोकन गर्न सकिन्छ । चिम्टेश्वरबाट लाङटाङ, गणेश, जुगल लगाएतका उच्च स्थानका मनोरम हिमालहरू देखिन्छ ।
नगरपालिकाले तयार पारेको डिपिआर अनुसार पार्क ब्यबस्थित रहेको छ । पार्कमा हेलिप्याडदेखि, होमस्टे, छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको उपमयेर कविता ढुङ्गानाले बताए ।

गोसाइँकुण्ड हेलम्बु जोड्ने पदमार्ग बन्दै

सागर खनाल
विदुर/गोसाइकुण्ड र लाङटाङलाई सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुसँग जोडने पदमार्ग निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ ।
पर्यटन विभागको दुई करोड लागत र हेलम्बु गाउँपालिकाको सहयोग तथा समन्वयमा हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लाङटाङ जोडने ३० किमि मध्ये १५ किमिको काम भइरहेको छ । गापा प्रमुख निमा ग्याल्जेन शेर्पाकाअनुसार प्रमुख पदमार्ग बाहेक हयाल्मो धार्मिकस्थल जोडने र्माग बन्दै छन् ।
शाक्यमुनी बुद्ध पछिका दोस्रो बुद्ध मानिएका गुरु रिन्पोछेया पदसम्भव तिब्बत महायोगी मिलारेप तपस्या स्थल पुराना गुम्बादेखी आमायाङग्री (धनको देवी) सम्मको ट्रकिङ रुट कायम छ भने रसुवा र सिन्धुपाल्चोक वासि आवत–जावत गर्ने पुरानो पदमार्ग मानिने गञ्जलापास रसुवाको लाङटाङ ४० किमिमा मर्मतको काम बाँकी छ ।
पुरानो पदमार्गको निर्माण कार्यलाई तीव्रता दिइएको हो । लाङटाङबाट हेलम्बु भित्रने पर्यटकले हयोलमो परम्परा धार्मिक स्थल हुल्कुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमचाङ हेर्ने प्याकेज टे«किङ स्पटको योजना हलम्बु गापाले बनाएको छ ।
हेलम्बु वडा नं.१ का अध्यक्ष मिङमार लामाले हयोलो ग्रन्थ अनुरुप पवित्र मानिने छुघ्यालागेन्जेन १०८ वटा पानीको मुल फुटिरहेको या बालुवा भएको खोलाको मुहान हेर्न पाइने बताए ।
गुम्बै गुम्बाको शेर्माथान, घ्योल्मो बस्ती मेलम्चीघ्याङ तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पघसम्भवले तपस्या गरेको गुफा तेम्बायाङ आमायाङग्री चिरिगुम्बा पाल्चोक भगवती कुटुम्साङजस्ता आर्कषक स्थल हेर्न सकिन्छ ।

स्थानीय सरकारको प्रभावकारितामा छलफल

विदुर/जिल्ला समन्वय समिति र संवाद समुह नुवाकोटले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवालाहरूसंग आइतवार अन्तरक्रिया गरेको छ । दुई नगरपालिका र १० गाउँपालिकाबाटै प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरू सहभागि कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने काम र त्यसको अवस्थाको बारेमा छलफल भयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव रुद्रसिंह तामाङले सहजिकरण गरेका छन् । गाउँपालिका, नगरपालिकामा सञ्चालन भइरहेको योजना तथा विकासका कार्यक्रमको प्रकृति र त्यसको प्रभावकारिताको बारेमा कार्यक्रममा बढि चर्चा भएको छ ।
उक्त छलफलले औल्याएको समस्या निराकरणका लागि जनप्रतिनिधिहरूबाट सामुहिक प्रतिवद्धता व्यक्त भयो । आयोजक संस्थाका भोलाराज पौडेलका अनुसार कार्यसम्पादनमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्वन्ध कमजोर रहेको देखि योजनाहरूको स्थलगत अनुगमनको कमीसम्ममा सुधारको प्रतिवद्धता आएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबै स्थानीय तहसंग समन्वय गरेका विकास निर्माण र नागरिकहरूले सेवा पाउने मुलभुत पक्षमा पारदर्शिता अपनाउन सहजिकरण गर्ने बताए ।  

मैलुङ सडकखण्ड बढि प्रयोग

शशीकुमार डंगोल
बेत्रावती/सामान आयातका लागि चीनसितको नाका रसुवागढी जाने सवारी साधनले रसुवाकै मैलुङतर्फको सडक प्रयोग गर्न थालेका छन् । सडक दुरी कम भएकोले पेट्रोल, डिजेल कम लाग्ने भएकोले यो सडक बढीको रोजाईमा पर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हँुदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन् ।
दैनिकरूपमा सयाँै सवारी साधन गुड्ने नदी किनाराको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको बताइएको छ । गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको र अधिकांश ठाउँका राजमार्ग फराकिलोे पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन सहज हँुदै गएको सवारी चालकहरूले बताए ।
गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हँुदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर रहेको छ । यता, बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम पर्ने भएकाले ईन्धन खपत हुने छ । यो सडकमार्ग कम घुम्तिले मालबाहक साधन चलाउन सजिलो भएको श्याम तामाङले बताए । 

सामुदायिक स्कुल किशोरी अनुकुल

प्रितिका थापा
विदुर/यहाँको चारघरे स्थित महेन्द्र माध्यमिक विद्यालयमा लैङ्गिकमैत्री शौचालय निर्माण पछी छात्राहरूलाई सहज भएको छ ।
महिनावारी भएको समयमा फोहोर र छात्रछात्रा सबैले प्रयोग गर्ने शौचालय एउटै हुँदा छात्राहरू कक्षा छाडेर घर जाने गरेका थिए ।
तर बिभिन्न निकायको सहयोगमा लैङ्गिकमैत्री शौचालय निर्माण भएपछी बिद्यालयका छात्राहरूमा उत्साह छाएको छ ।
महिनावारी भएको समयमा सरसफाईका लागी कक्षा छाडेर घर जानु पर्ने बाध्यता लैङिकमैत्री शौचालय निर्माण सँगै हराएको कक्षा ९ मा अध्यनरत छात्रा सुष्माले बताए । धेरैजसो महिनावारी भएको समयमा उनि घरमा नै बस्ने गर्दा पढाईमा समेत प्रभाब पर्दै आएको थियो । तर गुणस्तरिय शौचालय निर्माण र ‘स्यानेटरी प्याड’ बिद्यालयमा नै उपलब्ध भएपछी पढाईसँगै छात्राहरूमा पर्ने मानसिक तनाब समेत हटेको उनले सुनाए ।
महिनावारी हुनु भनेको नियमित प्राकृतिक जैविक प्रक्रिया हो तर नियमित सरसफाइ गरिएन भने योनाङ्गदेखि पाठेघरसम्म नै असर गर्न सक्छ । महिनावारी हुँदा बहने रगतले भिज्नेबित्तिकै र सामान्य अवस्थामा ७ घण्टामा प्याड फेर्नै पर्ने बैज्ञानिक आधार छ ।
फोहोर गरिएको प्याड जथाभावी फाल्दा वातावरणको स्वच्छतामा पनि कमी आउने देखेर विद्यालयले प्रयोग भएको प्याड राख्ने छुट्टै व्यवस्था समेत गरिदिएको छ ।
बिद्यालयमा लैङ्गिक शौचालय निर्माण भएपछी छात्राहरूसँगै शिक्षिकाहरूलाई समेत सहज भएको शिक्षक सुमित्रा पौडेलले बताए ।
बिद्यालयमा अध्यनरत छात्राहरूको लागी सेनेटरी प्याडको समेत निःशुल्क ब्यबस्था गरिएको छ । महिनावारी हुँदा अधिकांश छात्राहरू बिद्यालय नआउने भएकाले बिद्यलायले नै निःशुल्क प्याड उपलब्ध गराउन थालेको उनले बताए ।
बिद्यालयका प्रधानाध्यापक चिरञ्जिबि भट्टका अनुसार लैङ्गिकमैत्री शौचालय निर्माण गरि प्रयोगमा आएपछि विशेष गरी छात्राहरूको कक्षा नियमित भएको र पढ्ने वातावरणको सिर्जना भएको छ । बिद्यालयमा अध्यायन गर्न आउने छात्राहरूमा लैङ्गिकमैत्री शौचालय र निःशुल्क सेनेटरी प्याड बितरणले गर्दा बिद्यार्थीहरूले सुरक्षित महशुस गरेको उनले बताए । 
विद्यालयमा निर्माण गरिएको लैङ्गिकमैत्री शौचालय जाईकाको आर्थिक सहयोगमा निर्माण भएको प्रअ भट्टले जानकारी दिए ।
यसका साथै बिद्यालयका शिक्षिका तथा छात्राहरूलाई महिनावारी भएको बेलामा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम समेत दिईएको छ ।
खुलेरै हुन थाल्यो छलफल
बट्टार/विदुर नगरपालिकाका प्रायः विद्यार्थीहरूले महिनावारीको विषयमा खुलेर कुरा गर्न थालेका छन् । विद्यार्थी, शिक्षक तथा अभिभावकमा यस विषयमा सदिऔंदेखि रहँदै आएको संकुचनका कारण किशोरी विद्यार्थीहरूलाई पढाईमा समस्या हुँदै आएको थियो । महिनावारी हूँदा विद्यालय जान मुस्किलसम्म हुने अवस्था सृजना भएको किशोरीहरूलाई सहजता प्रदान गर्न सरकारी र गैर सरकारी पक्षबाट एक वर्ष देखि अभियान नै सञ्चालन भएको छ ।
विदुर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत ३० वटा विद्यालयमा एक वर्ष देखि परियोजना सञ्चालनमा रहेको थियो ।
परियोजनाको समापन तथा किशोर किशोरमिा आएको परिर्वनतलाई सार्वजनिक गर्न गएको आइतवार औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रस्तुत हुँदै स्पार्कल इन्टरनेशन स्कुलका सिम्रन पाण्डेले अब केटा साथीहरूसंग समेत महिनाबारी हुँदा स्कुलमा छलफल गर्न सक्ने वातावरण बनेको सुनाए ।
भैरुम मावि हात्तिगौडाका विकास अधिकारीले महिलाहरूमा हुने नियमित प्रक्रियालाई सहि रुपमा ख्याख्या गर्ने र बुझाउने काम नहुँदा किशोरीहरूलाई समस्या भएको अहिले आफुले बुझेको बताए । उनले केटाहरूबीच पनि यो प्रकृति प्रक्रृयाको बारेमा जानकारी हुनु र सरकारले किशोरीहरूलाई महिनाबारी हुँदा आवश्यक पर्ने प्याड लगाएतका सामाग्री विद्यालयमा निःशुल्क उपलब्ध गराउनु राम्रो रहेको बताए ।
विदुर नगरपालिका सहित केहि स्थानीय तहमा भिजिवल इम्प्याक्ट् नामक संस्थाले किशोरीहरूमा हुने महिनावारी प्रक्रृया र त्यसबाट पर्ने समस्या सहजिकरणको लागि अभियान सञ्चालन गर्दै आएको र नुवाकोटमा अभियान पुरा भएको घोषणा संस्थाले गरेको छ ।

सामाजिक सञ्जालबाट

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद बहादुरसिंह लामा तामाङ आफ्नो निजी खर्चमा बुधवार बिदुर नपा वडा नं. ११ गेर्खु स्थित कालिका माविमा बिद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरू बितरण गर्दै । उक्त विद्यालयका १२६ जना बिद्यार्थीलाई उनले पोशाक र सामाग्री हस्तान्तरण गरेका छन् । उनले सामाग्री हस्तान्तरण छिको कार्यक्रममा बोल्दै गुणस्तरिय र वैज्ञानिक शिक्षाबाट मात्र समृद्ध समाज निर्माण हुने बताए । शिक्षामा देखिएको राजनीतिकरणले शैक्षिक बिकासमा बाधा उत्पन्न भएकोले त्यसको अन्त्यका लागि खास अभियान चालाउनु पर्ने उनले बताए । 

हाइड्रोको रकम अन्तै

संगम दर्जी भड्ताल
विदुर/जलविद्युत् कम्पनीमा लगानी गर्न भनी एक व्यापारिक प्रतिष्ठानले सर्वसाधरणहरूबाट उठाएको रकम अन्यत्र खर्च गरेको पाइएको छ । त्रिशुली गल्छी बिद्युत आयोजनाको सेयरमा लगानी गर्ने भन्दै सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी गरेको भेटिएको हो ।
गुरुप्रसाद न्यौपाने अध्यक्ष र उनका आफन्तहरू सञ्चालक रहेको सिद्धकाली पावर लिमिटेडले संस्थापक शेयरमा लगानी भन्दै ९० करोड उठाएर ब्यक्तिगत कम्पनी मार्फत सेयरको दोस्रो बजारमा लगानी गरी रकमको दुरुपयोग गरेकोे हो । धादिङ र नुवाकोट सिमा गल्छीमा बनाईने भनिएको ७५ मेगावाटको जलबिद्युत आयोजनाको बिद्युत उत्पादन लाईसेन्स प्राप्त नगर्दै आयोजना बनाउने नाममा आब्हान पत्र छापेर कम्पनीले सर्बसाधारणबाट पैसा उठाएको थियो ।
त्रिशुली गल्छी आयोजनाले बिद्युत उत्पादन लाईसेन्सका लागि बिद्युत बिकास बिभागमा २६ नम्बरमा निबेदन दर्ता गराई प्रक्रियामा रहेको र तत्काल रकम आबश्यक नपर्ने भए पनि सर्बसाधारणबाट रकम असुल गरी दुरुपयोग गरिदा हजारौ सर्बसाधारणको रकम जोखिममा परेको छ ।
गुरुप्रसाद न्यौपाने बद्रिप्रसाद दाहाल, नातिहरू, ब्यक्तिगत पारिबारिक प्राईभेट कम्पनी र नजिकका नातेदारहरूको नाममा सेयर किनेको विवरण बाहिर आएको छ । पछिल्लो एक महिनाको बीचमा पारिबारिक कम्पनी, अपी हाईड्रोमेकानिकल कम्पनी, सिद्धकाली ईन्भेष्टमेन्ट कम्पनी, मकालु डेभलपर्स, पलाञ्चोक भगवती कन्ट्रक्सन प्रालि लगायतलाई सापटी र अल्पकालीन कर्जा लगायतका शीर्षक जनाएर सर्बसाधारणबाट संकलन भएको सिद्धकाली पावर लिमिटेडमने सेयर रकम अपचलन भएको हो ।

वकिलहरूको भुमिका सकारात्मक

विदुर/नुवाकोटमा कार्यरत कानुन व्यवसायीहरूको कार्य क्षमता र विगतको योगदानको सार्वजनिक व्यक्तिहरूले खुलेर प्रशंसा गरेका छन् । १० बर्षे शसस्त्र द्धन्द्धमा मानव अधिकार रक्षाका लागि र जनआन्दोलनकामा वकिल र उनीहरूको छाता संस्थाले पु¥याएको योगदानको चर्चा भएको हो ।
शुक्रवार नेपाल वार एशोसिएसन नुवाकोट जिल्ला अदालत वार इकाईको विदुरमा भएको १३ औं बार्षिक साधारण सभामा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नागरिकहरूले बढि भरोगार गरेको व्यवसायिक संस्था बारले समुदाय र राष्टूका लागि गरेको योगदान भुल्दा कानुनी राज्य नै मासिने खतरा हुने बताए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सरकारी तवरबाट गरिने न्याय सम्पादनमा बार एशोसिएसन र यहाँका कानून व्यवसायीहरूको सहयोग र सकारात्मक भुमिका उल्लेख्य रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उप प्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उप प्रमुख गीताकुमारी दाहाल, जिल्ला सकारी वकिलको कार्यालयका प्रमुख न्यायाधीवक्ता गोपाल ढकाल, जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिबप्रसाद बञ्जरा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, जिल्ला बार एसोसिएसन नुवाकोटका पुर्व अध्यक्ष रामेश्वर उपाध्यायले नुवाकोट बारको कामको बारेमा प्रशंसा गरे । उनीहरूले संविधान कार्यान्वय र कानूनको जानकारी तथा न्यायलाई सहज र सरल बनाउ वकिलहरूले गर्न सक्ने योगदानको सुझाव समेत दिएका छन् ।
नुवाकोट बारले जिल्ला अदालत अगाडी भवन निर्माण गरिरहेको छ । दुई ढलान भएको भवन निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष देवराज कँडेलले बताए । २०४५ सालमा स्थापना भएको बारले पेशागत हक संरक्षण, सामाजिक उत्तरदायित्वको साथमा भौतिक संरचना विकासमा पनि एकै साथ काम गरिरहेको छ । बार्षिक साधारण सभामा जिल्ला अध्यक्ष कँडेलको वार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुमार अधिकारीको आर्थिक प्रतिवेदन बन्दसत्रले सर्बसम्मत रुपमा पारित गरेको छ ।