Saturday, March 07, 2020

नुवाकोट टिम बिजयी

विदुर\सेना दिबसको अबसर शुक्रवार महाशिबरात्रीका दिन जबरजङग गण देबिघाटले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा नुवाकोट जिल्ला टिम बिजयी भएको छ ।
राष्ट्रसेबक कर्मचारी र नुवाकोट जिल्लाबासी टिम बिचमा भएको मैत्रिपुर्ण प्रतियोगिता ३-१ अन्तरले नुवाकोट जिल्ला टिमले जितेको हो ।
सेना दिबसको अबसरमा आयोजना भएको मैत्रिपुर्ण प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपालमा संकट परेको समयमा नेपाली सेनाले गरेको कार्य उल्लेखनिय रहेको बताए । सबैलाई एकताको सुत्रमा बाँध्दै सम्बृद्ध नुवाकोट निर्माणमा लाग्नको लागी उनले आग्रह गरे ।
कार्यक्रममा जबरजङ गण देबिघाटका गणपति उदयबहादुर लामिछानेले मैत्रिपुर्ण फुटबल प्रतियोगिताले समुदायसँग सेनालाई जोडने पुलको काम गरेको बताए । बिकास निर्माण, सेवाको भावना बिकास र सम्बन्ध बृद्धिको लागी प्रतियोगिता सञ्चालन गरेको उनको भनाई रहेको थियो ।
हिन्दु धर्मावलम्बीले शुक्रवार शिवरात्री पर्व मनाएका छन् । फागुन कृष्ण चतुर्दशीमा पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दुहरूको विश्वास छ । शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नुवाकोटका शवशक्ति पिठहरूमा शुक्रवार भिड लागेको थियो ।

गजुरेल प्रथम

विदुर\राष्ट्रिय युवा परिषदले गरेको नुवाकोट जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा विदुर नपाका रामेश्वर गजुरेल प्रथम, बेलकोटगढी नपाका मन्दिप पौडेल दोश्रो र पञ्चकन्या गापाका क्षतिज न्यौपाने तेश्रो भएका छन् । उनीहरूलाई क्रमश ७, ५ र  ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम भएका  गजुरेल प्रदेश स्तरमा हुने  वक्तृत्वकला प्रतियोगितामा नुवाकोटको तर्फबाट सहभागि हुनेछन्। प्रतियोगितामा नुवाकोटको १२ वटै स्थानिय तहको सहभागीता थियो ।

भ्रष्टाचार संस्थागत भयो : लोहनी

ककनी\राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन तहको सरकार स्थापनाले झन् अनियमितता र भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन् ।
जसले जहा सक्छ लुट भन्ने शिद्धान्तमा सरकारका नेतृत्व गर्नेहरू देखिएको उनको आरोप छ । नुवाकोटको ककनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै डा. लोहनप्ले भ्रष्टाचार काण्डमा मुछिएका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजिनामा दिएर मात्र नपुग्ने भन्दै उनले चर्को टिप्पणी गरे । अरबौं भ्रष्टाचारमा बास्कोटा मुछिएको आशंका रहेको उल्लेख गर्दै छानविनको माग गरे ।
नुवाकोट जिल्लाको ककनी गाँउपालिका वडा नं १, २, ३ को संयुक्त मेलामा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नुवाकोटमा भइरहेको विकास निर्माणका कार्य र प्रयासहरूको विषयमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो अर्थमन्त्री हुँदाको कार्यकालमा भएका विकासका केही महत्वपूर्ण पक्षहरूलाई टालटुल गर्ने बाहेकको देखिदो र खास काम नभएको टिप्पणी उनको छ । 

राष्ट्रपति रनिङशिल्ड निलकण्ठको पोल्टामा

शशीकुमार डंगोल
बेत्रावती(रसुवा)\दोश्रो उतरगया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि बुधवार बोगटीटार स्थित निलकण्ठ माबिले हात पारेको छ । नबबिजयी महेन्द्र मावि भलायडाँडाँ भने दोश्रो भएको छ ।
पहिलो रनिङशिल्ड बिजेतालाई अंक र पदक तालिकाको आधारमा पछि पार्दै यसपटक निलकण्ठ माबि बोगटीटारले शिल्ड हात पारेको छ । भलिबल छात्र र छात्रा, चार सय मिटर रिले दौड, लमजम्प छात्रा, सटफुट् छात्रा, दुई सय दौड छात्र, चार सय मिटर रिले दौड छात्र, लमजम्प छात्रमा प्रथम निलकण्ठ मावि प्रथम भएको थियो ।
नबबिजयी महेन्द्र माविले हाइजम्प छात्र छात्रा दुबै, एक सय मिटर दौड छात्र, दुई सयम मिटर दौड छात्रा, ज्यावलिङ थ्रो छात्रामा पदक जितेको थियो । तेश्रो भएको डाँडागाँउ माविले एक सय मिटर दौड छात्र, ज्याबलिङ थ्रो छात्रा, भलिबल दुबैमा तेश्रो स्थानमा पाएको थियो । भुमेदेबी मावि ठुलोगाउँले भलिबल छात्र छात्रा दुबैमा द्धितीय, सटफुट छात्र पहिलो भए पनि पदकको आधारमा चौथो भै सान्त्वना स्थान हात पारेको छ । भलिबलमा उत्कृष्ट खेल प्रदर्शन गरे बापत छात्र तर्फ निलकण्ठ माविका पेम्बा तामाङ, छात्रा तर्फ भुमेदेबी माविका बिनिता गुरुङ पुरस्कृत भए ।
पुरस्कार तथा शिल्ड वितरण समारोहमा बोल्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले गाउँपालिका स्तरमा हुने यस्ता खेलकुदका गतिविधिहरूबाटै राष्ट्रिय खेलाडीको उत्पादन हुने बताए । उनले अन्य क्षेत्रमा झैं खेलकुद र युवाको क्षेत्रमा समेत उत्तरगया गाउँपालिका विशेष रुपमा लाग्ने बताएका छन् । कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशाकिय अधिकृत अर्ज‘न खड्का, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ रसुवा जिल्ला अध्यक्ष मोचनाथ न्यौपाने, जिल्ला स्काउट रसुवाका आयुक्त श्याम पुडासैनी, उत्तरगया गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदमबहादुर कुबँर, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्णबहादुर घले लगायत मन्तब्य राखेका थिए ।
प्रतियोगितामा रसुवाको उत्तरगया गाउँपालिका भित्रका निलकण्ठ मावि बोगटीटार, नबबिजयी महेन्द्र मावि भलायडाँडा, डाँडागाउ मावि, ठुलोगाउ मावि, र मोर्डन ट्रिनिटी अङ्ग्रेजी बोर्डिङ स्कुल बेत्रावती गरी ५ समुहको सहभागिता थियो । 

तस्बिर खबर


काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न भारत्तोलनका खेलाडी अस्मिता राई (विदुर नगरपालिका वडा नं. २ विदुर) लाई छैठौं नुवाकोट महोत्सवको समापनको दिन गएको सोमवार कदर पत्र प्रदान गरेर जिल्लावासीको तर्फबाट सम्मान गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, साथमा महोत्सव आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की । – सरोज डंगोल

चौथो निर्वाचन दिवस

विदुर\जिल्ला निर्वाचन कार्यलय नुवाकोटले चौथो निर्वाचन दिवस मनाएको छ ।
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा आयोगले यो दिवस फागुन ७ गते मनाउन सुरु गरेको हो । 
दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले अन्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति नुवाकोका प्रमुख सन्तमान तामाङले निर्बाचनको माध्यमबाट नै जनताले प्रजातन्त्रको आभाष गर्न पाएको बताए । हाल तीनै तहाको निर्बाचन पछि बनेको दिगो सरकारले मुलुकमा स्थायित्व पाएको तामाङले बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मतदाता नामावलीमा दर्ता हुन अझै पनि छुटिरहेकोहरू आफ्नो अधिकारबाट बञ्चित रहेकोले त्यस तर्फ निर्वाचन कार्यालयले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । 

कर्मकाण्डी बन्दै प्रजातन्त्र दिवस

विदुर\बीर वीरागङ्ना शहिदहरूको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नुवाकोटमा प्रजातन्त्र दिवस मनाईएको छ । नागरिकस्तरबाट वेवास्था हुँदै आएको यस दिवसलाई जिल्ला समन्वय समितिले यसपालि प्रवचनात्मक कार्यक्रम राखेर मनाएको हो । जनप्रतिनिधि, कर्मचारीको बढि सहभागिता रहेको कार्यक्रममा नागरिक समाजका केही अगुवाको उपस्थिति थियो । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको चौथों निर्वाचन दिवस कार्यक्रम पनिसंगै जोडिएको कारण दिवस मनाउने कार्यक्रममा केही देखिने संख्यामा सहभागिहरूको उपस्थिति थियो ।
तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरका सामू राणा शासकहरूको केही जोर चलेन, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ७० वर्ष अघि, विसं २००७ फाल्गुन ७ अर्थात्  प्रजातन्त्र उदय भएको दिन ।
उतिबेला आएको प्रजातन्त्र नेपालीहरूको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीका बीच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरिकको आवाज दबाउने श्रृंखलाहरूको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।
जिल्लागत रुपमा मनाईएको  प्रजातन्त्र दिबसको अबसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रजातन्त्रसँगै भएका उपलब्धिहरूलाई संस्थागतमा चुनौती थपिदै गएको बताए । प्रजातन्त्र भनेर दिबस मनाईरहनु भन्दा प्रजातन्त्रको उदयको भएको दिनको स्मरण गर्दै भएका उपलब्धिलाई संस्थागत गर्नु सबै भन्दा ठुलो दायित्व रहेको बताए । प्रजातन्त्रको नाममा हुने छुटले निम्त्याएको समस्यालाई नजरअन्दाज गर्दा मुलुकले पटक पटक समस्या भोग्दै आएको प्रमुख तामाङले बताए । 
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शहिदहरूको बलिदानी ब्यर्थ हुँदै गएको बताए । सरकारको बागडोर सम्हाल्ने राजनितिक दलहरूले शहीदले बगाएको रगत र पसिनालाई बुझ्न नसक्दा प्रजातन्त्रलार्य संस्थागत गर्न नसकेको बताए । लामो ईतिहास बोकेको राणशासनको अन्त्यको लागी रगत बगाएका शहिदहरूको सपना पुरा गर्नु नै जनप्रतिनिधिहरूको कर्तब्य र प्रजातन्त्रको संस्थागत रहेको पण्डितले बताए । उनले अझैपनि प्रजातन्त्रको अनुमुभी आम नागरिकहरूले गर्न नसकिरहेको जिकिर गरेका छन् ।
कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले प्रजातन्त्र भन्दैमा नागरिकहरूले आफ्नो कर्तब्य भुल्न नहुने तर्क गरे । नागरिक र शासन बीचको सम्बन्धलाई समानान्तर भएर अगाडी बढेमा मात्रै प्रजातन्त्रको संस्थागत हुनु पर्ने उनको धारणा छ । 

नागरिकस्तरबाट सडकको अनुगमन

विदुर\रसुवाको मुलखर्क सडक स्तरोन्नतिमा अनियमितताको सवाल उठेपछि नागरिकस्तरबाट अनुगमन भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्ज‘न भण्डारी, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष सन्जिव अमात्यय सहित प्राविधिक टोलीले पहिरो क्षेत्र, सडक ढलान भइरहेको स्थानमा अनुगमन गरेको हो । उनीहरूले गुणस्तरिय सडक ढलान गर्न र सडक आवतजावत सुचारु गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका छन् ।
यस अघि उक्त सडकको अप्ठ्यारो स्थानमा भइरहेको सडक ढलामा गुणस्तरिय काम नभएको आबाज उठेको थियो । ढलानलाई बलियो बनाउन आवश्यक निर्माण सामाग्रीको मात्रा बढाउनका लागि भ्रमण गरेका नागरिक समाजका अगुवाहरूले आग्रह गरेको छ ।
नेपाल चीनबाट व्यापारका लागी एक मात्र रसुवागढी नाकाबाट आयात÷निर्यात हुने सडक ढलान हुन थालेपछि दिनहँु सबारी जाम हुने भएकाले बैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाईएको छ । रसुवागढी नाका बाट सामाग्री आयात÷निर्यात गर्ने कन्टेनरहरूलाई मैलुङ स्याफुबेशीको सडक मार्ग प्रयोग गरेका छन् ।
सडक विभागबाट उक्त सडकका लागि विनियोजित १ करोड १३ लाख रुपैयाँबाट २२० मिटर पर्खाल तथा पिच निर्माणको काम भैरहेको छ ।

जेष्ठ नागरिकको उपचार घरघरमै

विदुर\विदुर नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मानमा स्वास्थ्य परिक्षण घरघरमै पुगेर गर्न थालेको छ । यो अभियानको शुक्रवार औपचारिक रुपमा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरेका छन् । उनले त्यस अवसरमा नगरवासीलाई सम्वोध गर्दै सबै ज्येष्ठ नागरिकलाई  स्वास्थ्य सेवाको पँहुचमा ल्याउनको लागी अभियान सुरु गरेको बताए ।
विदुर नगरपालिका वडा नम्बर ८ को भैरमकोटमा सेवाको सुभारम्भ गर्दै नगर प्रमुख पण्डितले स्वास्थ्य संस्थाको पँहुचमा भएपनि परिक्षण गर्ने बानीको बिकासको जरुररी रहेकोले अभियान आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार विदुर नगरपालिकाको १३ वटै वडामा ज्येष्ठ नागरिकको प्रत्येक ३÷३ महिनामा घरघरमै पुगेर स्वास्थ्य परिक्षण गरिनेछ । अभियान सुरुवातमा नपाका उपप्रमुख गिताकुमारी दाहालले ज्येष्ठ नागरिक जिवन्त ईतिहास र साक्षी रहेकोले उनीहरूको सम्मान स्वरुप निःशुल्क स्वास्थ्य परिक्षण अभियान सञ्चालन गरेको बताए । नगरपालिकाले नीतिगत रुपमै सबै नागरिकहरूलाई स्वास्थ्य सेवाको पँहुचमा ल्याउन अभियान सफल हुने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष फैसिङ तामाङले आफ्नो वडामा स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिक नभएको र यस्ता निःशुल्क स्वास्थ्य परिक्षण अभियानले नागरिकहरूले राहत महशुस गरेको बताए । विदुर नपाले सामाजिक सुरक्षा भक्ता लिने सबै ज्येष्ठ नागरिकको सहजताको लागी  घरघरमा स्वास्थ्य परिक्षण र निःशुल्क औषधि बितरण गरेको हो ।

तस्बिर खबर

विदुर नगरपालिका वडा नं. १० को कार्यालय भवनको शुक्रवार महाशिवरात्रीको दिन शिलान्यास गर्दै नगरप्रमुख सञ्जु पण्डित, साथमा उपप्रमुख गीताकुमारी लाहाल लगायतका । ५१ लाख रुपैयाँ लागतमा गेर्खुटारमा भुकम्प प्रतिरोधी चारकोठे भवन निर्माण हुने उक्त कार्यक्रमको अवसरमा वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । –संगम भड्ताल

दृष्टिबिहिनलाई घरमै नागरिकता

विदुर\जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक जना दृष्टिबिहिन घरमै पुगेर नागरिकता दिएको छ । घरमै नागरिकता वितरण भएको नुवाकोटमा यो पहिलो घटना हो ।
प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठले अपांगता भएका विदुर नगरपालिका ११ चालिसे टोलका १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई गएको सोमबार घरमै नागरिकता प्रदान गरेका हुन् । हिँड्डुल गर्न नसक्ने र दृष्टिविहीन कृष्णप्रसादलाई बोकेर विदुर ल्याउनु भन्दा घरमै नागरिकता पठाउनु सजिलो भएकाले यसो गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार उनलाई नागरिकता दिनका लागि पुरा गर्नु पर्ने सरकारी प्रक्रियाका लागि आवश्यक कर्मचारी र कागजपत्र घरमा पठाइएको थियो ।

अशक्तलाई परिचय पत्र

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिकाले शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका नागरिकहरूलाई परिचय पत्र वितरण र पाएकाहरूको नवीकरण सम्बन्धी शिविर सम्पन्न गरेको छ ।
शिविरबाट १२३ जना लाधान्विय भएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जनाकारी दिए । सामाजिक न्याय दिवसको अवसरमा सम्बोधन परियोजनासँग सहकार्य गरेर गाउँपालिकाले परिचय पत्र वितरण र नविकरण कार्यक्रम गरेको हो ।
त्यस दिन ७५ जनालाई अपांगता परिचय पत्र प्रदान गरिएको छ भने ४८ जनाको परिचयपत्र नवीकरण भएको छ । २ जनालाई रातो, ४० जनालाई निलो, २४ जनालाई पहेँलो र ९ जनालाई सेतो रङको परिचय पत्र प्रदान गरेको गाउँपालिका कार्यालयले जनायो ।
यस्तै यसअघि वितरण भएको १७ रातो कार्ड, २२ निलो कार्ड, ३ पहेँलो कार्ड र २२ सेतो कार्डको नवीकरण भएको छ । विभिन्न प्रकारका अपांगता भएकाहरूको पहिचान गरी हरेक महिनाको २७ गते परिचय पत्र वितरणका साथै नवीकरण हुँदै आएको छ ।
गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनमा जोड्न गैर सरकारी संस्थाहरूसंगको सहकार्यमा जीविकोपार्जनको कार्यक्रम समेत सञ्चालन भइरहेको उपाध्यक्ष अञ्जु आचार्यले बताए । 

सामाजिक सञ्जालबाट

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल (कालो टोपी लगाउने), उप सभामुख राधिका तामाङ (बाँयाँबाट पहिलो) लगायतकाहरू नुवाकोटको शिवपुरी गाउँपालिका स्थित पर्यटकिय स्थल सुइरेचौरमा ।

गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

पुरुषोत्तम लम्साल
मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन ।
गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता) थिए । त्यो भन्दा अलिक पर तीनथुम्कीमा थियो तीनथुम्की महादेव । त्योभन्दा पर गएपछि लामाबाजे भेट हुन्थ्यो । अब फटाफट पाँच मिनेट हिडेपछि बितलव छोइन्थ्यो जहाँ दामेकाका भेटिन्थे । दामेकाकाको घरै मुन्तिर थियो बितलव महादेवथान । दामेकाकाको दबाइखाना थियो र, उहाँ ननरजिस्टर्ड मेडिकल पर्सन । तर त्यहाँ सांसारिक वा भौतिक दबाईभन्दा आध्यात्मिक दबाईको अन्तरंग चर्चा हुन्थ्यो । ‘गाँजालाई यसरी पिस्नपर्छ कि सिलौटोमा जमेको गाँजाको लेपमा लोहोरो टाँसिनपर्छ’, काका भन्थे– त्यसपछि मात्रा मिलाएर उडाए पनि भो, घोटे पनि भो, बीषै बनाए भो, अमृतै बनाए पनि भो । विरामी वस्तुभाउलाई दिए पनि भो, बिरामी मान्छेलाई मात्रा पु¥याए पनि भो ।’
पात्रमा नजाऔं तर, गाँजा के हो भन्ने थाहा नहुँदा चलन र सँस्कृति भनेर मैले तिनथुम्की र बितलव महादेवका आँगनमा पर्वअनुसार गाँजा सेवन गरें । कोकोसँग बसेर ? प्रश्नको गोपनियता राखौं तर धूनी जगाउँदै पनि, धूनीबेगरै पनि । त्यो थियो सँस्कृतिमा बाँधिएको सन्दर्भ । सामाजिक यथार्थ अन्यत्रसरह मेरा गाउँमा पनि उही थियो, तागाधारी बर्गभित्र मदिराजन्य पदार्थ तुच्छ थियो, घृणित थियो भनौं बर्जितसरह थियो तर गाँजा एक किसिमले स्वीकृत । यसैले होला बालबालिकाले विशेष पर्वमा गाँजालाई विशेष उपयोग गर्न‘ आपत्ति मानिएन । त्यो थियो सामाजिक बर्गको मनोविज्ञान ।
गाउँमा पेट दुखे पनि गाँजाको चिलिम पड्काउने थिए, टाउको दुखे पनि सोतेमा गाँजा भर्ने र त्यसमाथि जुटको डोरी सल्काएर धुँवा उडाउने भेटिन्थे । काम नगर्नेले आनन्दका लागि, काम गर्नेले थकान मेट्न र उर्जा जोहो गर्ने बाटो । लामो नलीयुक्त हुक्काको शीरमा रहेको फराकिलो चिलिममा सख्खरै मिसाएर मोलिएको मुठ्ठीभरी गाँजाको उच्चबर्गीय आनन्द र विलासको सन्दर्भ अर्कै हो । तर गाउँको बेसीदेखि शिरसम्म मादक वासना छर्ने त्यो गाँजा प्रतिबन्धित पदार्थ हो भन्ने न कसैलाई थाहा थियो न चासो नै ।
उमेर बढ्यो । गाँजा नशालु वस्तु भन्ने थाहा भयो । गाँजाको कुलत हुन्छ र त्यसमा फसेकालाई गँजडी भनिन्छ भन्ने थाहा भो । जब गाँजा बीष होइन, मस्तिष्क र स्नायुको ओखती पनि हो भन्ने थाहा भयो त्यसपछि अवसर र उपलब्धतामा ‘लौ त सोम !’ भन्न छाडिएन । त्यो उमेरमा तहतहका बर्गबर्गका ‘सोम’ भेटिए । त्यो ‘सोम’ शब्द र गाँजाको सम्बन्ध धेरै पछि बुझें ।
‘सोम’ अर्थात् चन्द्रमा अर्थात् शितलता । अर्थात् सोमपान । सौम्यपान अर्थात् शान्त नशा । अर्थात्, मुक्तिकारी धुँवा । ऋग्वेदमा एउटा श्लोकको अर्थ रहेछ ‘हे सोम ! हामीलाई सबै कोणबाट पबित्र बनाइदेऊ, मनभित्र पूर्ण उर्जा (जोश) प्रवेश गराइदेऊ, हाम्रो वााणी सशक्त होस् र हामीमा उत्तम बुद्धि उत्पन्न होस् (९.९७.३६) ।’ यो ‘सोम’ ले ध्यानको उच्चतम अवस्था वा तेजोमय अवस्था प्राप्त गर्न सकिन्छ भन्दोरहेछ । त्यहाँ थप रहेछ, ‘सोम’ अति सामान्य मान्छेका लागि मात्र नशा रहेछ । सामान्य मान्छेका लागि त्यो ओखती रहेछ । ऋग्वेद भन्दोरहेछ ‘नशामा लीन हुनेहरूले आफ्नो बुद्धि गुमाउँछन्, निर्वस्त्र हुन्छन् र कलह निम्त्याउँछन् (८.२.१२) तर, प्रज्ञा वा बुद्धिको प्रयत्न गर्नेका लागि त्यो ‘सोम’ रहेछ । सोम औ मित्र । अर्थात्, मन्दबुद्धिका लागि नशा र ऋषि वा ज्ञानीका लागि दिव्य कर्म्तिर प्रेरित गर्ने पदार्थ रहेछ ।
यसलाई पछि विज्ञानका बादशाह अल्बर्ट आइन्स्टाइनले शब्दमा यसरी उतारेछन्,No Problem can be solved from the same level of consciousness that created: Einstein. अर्थात् कुनै पनि समस्या चेतानाको त्यही तहबाट समाधान गर्न सकिंदैन जुन तहबाट त्यो उत्पन्न भएको हो । यसमा वैज्ञानिकहरूले थपेस ‘गाँजाको सेवनले तपाईलाई चेतनाको अर्को तहमा पु¥याएर सोच्ने वा कल्पनाशक्तिमा फेरबदल ल्याइदिन्छ’ । त्यसैले होला आइन्टाइनले व्यक्तिको धुम्मपानको अधिकारमाथि प्रतिबन्ध लगाउने विपक्षमा मत प्रकट गरेका । तर विज्ञानको चर्तिकला शुरु हुनभन्दा हजारौं वर्षअगाडि पूर्वीय संस्कृतिले गाँजाको महत्व स्थापित गरिसकेको थियो । झण्डै चार हजार वर्षअगाडि (इशापूर्व १५ सय) नै लेखिएको रहेछ ।
पञ्च राज्यानिवीरुधां सोमश्रेष्ठनि ब्रुमः । दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्ववंहस ।। (अथर्ववेद भाग ५) अर्थात् लहराका पाँच पवित्र वनस्पति कुश, भांग (गाँजा) जौलगायतले हाम्रो पापमोचन गरुन्, कष्ट हटाउन् । यो त्यही गाँजा हो जसलाई सँस्कृतले अहिफेन भन्यो, अपभ्रंश भयो अफेन बन्यो र अंग्रेजीले अफिम बनाएर सर्पको बीषभन्दा कडा बीषवर्धक पदार्थको रुपमा व्याख्या गर्यो । पछि सुश्रुत संहितामा गाँजालाई सुस्ती, नजला र पाचनको दीव्यऔषधी पहिचान दिइएको रहेछ ।
दशकअगाडिसम्म कहिले उर्जाको बहानामा त कहिले आध्यात्मिक बहानामा मैले अवसर बनाएरै गाँजा पिएँ । मेरा केही समकक्षी समवयी जो विभिन्न खेलकलामा सम्लग्न थिए तिनले पनि उर्जाका लागि भन्दै सखारै चिलिम दर्शन गरेर मैदानमा गए । सँगै ट्रयाकमा दौडने साथी दौडको आनन्द लिनको सट्टा दूरी र गतिको चिन्तामा हुन्थ्यो । उसले पछि थाहा पायो दौडको आनन्द गाँजासँगै रहेछ । जो हात र खुट्टाको कलामा विश्वास गर्दथ्यो उसले पनि विपक्षीको चाल र आफ्नो ध्यानमा केन्द्रित हुने भन्दै भीडन्तअगाडि गाँजा पिएर उपस्थित हुनथाल्यो । यो त लडाईमा जानुअघि र लडाईबाट फर्किपछि भाङ्ग वा गाँजा पिउने भारतीय सँस्कृतिको अर्को अध्यायजस्तो लाग्यो ।
तर एउटा कुरा ढुक्क हुनुस्, गाँजा पिउने सबै बब मार्ली हुन्छन् भन्ने होइन । सबै बैज्ञानिक गाँजा पिउँछन् वा गाँजा सेवन गरेर बैज्ञानिक भइन्छ भन्ने होइन । विख्यात पौडिबाज माइकल फ्लेप्सले फगत गाँजाकै भरमा ओलम्पिकमा कूल २३ स्वर्णपदक प्राप्त गरेका होइनन् । पाइप तानेर सबै चे ग्वेभारा हुने भए विश्व अहिले साम्यवादी क्रान्तिकारीहरूको परेडस्थलै हुने थियो । गाँजा पिएरै सबै कम्युटर इञ्जिनियर स्टिभ जब्स हुने भए एप्पललाई विस्थापन गर्न उहिल्यै बनाना, ग्रेप, म्याङ्गो, पिच नामका मोबाइल कम्पनी खडा भइसक्थे । गाँजाकै नशामा लठ्ठिएर सबै साधु, सन्त, ऋषि वा शिवजी नै भएको कल्पना गर्न‘ फगत गँजडी कल्पना हो ।
किनकि, स्वैरकल्पनाको उत्पत्ति पनि नशाको गुणै हो, धर्मै हो ।
गाँजा ओखती हो
कि नशा ?
एउटा चक्कुलाई चिकित्सकले शल्यक्रियामा उपयोग गर्दछ । त्यही चक्कु अपराधीका लागि अपराधको हतियार हुन्छ । यसको अर्थ चक्कुलाई प्रतिबन्ध लगाउनपर्छ भन्ने तकसँग सहमत हुन सकिदैन । गाँजालाई त्यही चक्कुको रुपमा व्याख्या गर्दा हुन्छ । नत्र विश्वका २४ वटा देशले चिकित्सकीय प्रयोजनका लागि गाँजालाई बैध घोषणा गरेको र ४८ वटा देशले गाँजालाई प्रतिबन्धको स्थानमा नियमन गरेको अज्ञानी र अबुझ भएर हो भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, एड्स, दमलगायतका दर्जनौं रोगका लागि गाँजा औषधी हो त्यसै भन्ने थिएन । एपिलेप्सी एण्ड बिहेभियर पुस्तक लेखेर कुष्ठरोगका लागि गाँजा नै अचूक ओखती हो भनेर संसारले पछ्याउने थिएन ।
नेचुरल थेरापी एण्ड क्यान्सर ड्रग डिस्कभरीले अर्ब‘द रोगका बिरामीलाई केमोथेरापी चलाएपछि गाँजाको उचित मात्र सेवन गराउने हो भने विकृत सेलको विकास रोकिन्छ भनेर भन्ने थिएनन् । इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्मास्यूटिकल्सले गाँजालाई रोग प्रतिरोधी ४० तत्व भएको संसारकै शक्तिशाली वनस्पति नामाकरण गर्ने थिएनन् । संसारका श्रेष्ठ खेलाडीहरूले द मोस्ट डाइनामिक प्लान्ट अन अर्थ भनेर ध्यान केन्द्रित गर्न खेलाडीका लागि गाँजाको वकालत गर्ने थिएनन् । क्यानाबीसः इभोल्युसन एण्ड एथनोबोटनी पुस्तक लेखेर पश्चिमाहरूले गाँजाको विधिपूर्वक सेवनले स्नागु र मस्तिष्कका दर्जनौं जटिल रोगहरूमा काम गर्ने व्याख्या गर्ने थिएनन्चाइनिज पर्माकोपिया (परम्परागत चिनियाँ पद्दति अनुसार औषधी बनाउने विधि) को नक्कल गरेर अमेरिकाले दर्दनाशक र स्नायु तन्तुका लागि गाँजा र गाँजानिर्मित औषधिलाई शहरशहरमा खुल्ला गर्ने थिएन । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले जहाँ गाँजालाई बैधता दिइएको छ त्यहाँ लागूऔषध र सम्बन्धित अपराधमा बृद्धि भएको कुनै तथ्याङ्क छैन भनेर संसारलाई भन्ने थिएनन् । गाँजाकै कारण तेस्रो चरणमा पुगेको क्षयरोगबाट बचेकी प्रिया मिश्राले गाँजालाई गरिबको नशा र औषधी दुबै मानेर त्यसको समूचित प्रयोगका लागि संसारलाई आग्रह गर्ने थिइनन् । क्यानाबीज फ मेडिकल यूज स्अ साइन्टिफि रिभ्यु (२०१७) ले ४८ देशमा गाँजाको उपयोगको विषद् अध्ययन गरेर गाँजाको प्रयोगका लागि जहाँ कानुनी अड्कचन छ त्यहाँको व्यवस्थामा लचकतापूर्वक फेरबदल गर्न भइरहेको प्रयत्नको प्रशंसा गर्ने थिएन ।
हिप्पीकालीन समयमा नेपाल र भारतलगायतका देशमा गाँजामाथि प्रतिबन्ध लगाउन दवाव दिने र हस्तक्षेप गर्ने अमेरिकाको ९ शहरमा अहिले गाँजा बैध छ र त्यहाँ तिब्रत्तर विकास भइरहेको उद्योगमा गाँजा खेती पर्दछ । त्यहींको ३१ राज्यमा औषधिय प्रयोजनका लागि गाँजा उत्पादन, विक्रि र उपभोग छुट छ । अल्जाइमरका बिरामीका लागि दीव्यौषधी भनेर गाँजा पसलपसलमा उलपब्ध छ । उसै पनि अमेरिकाको कृषि इतिहासमा सीमान्तकृत किसानको आयआर्जनमा सुधार ल्याउन गहूँ र मकैपछि गाँजा खेतीलाई उपयोग गरिएको दृष्टान्त भुल्न हुँदैन (मार्टिक बेकर सन् १८१२ को केन्टकी) । त्यहाँको जुन राज्यमा गाँजा प्रतिबन्ध छैन त्यहाँ दर्दनाशक (पेनकिलर) औषधी र मदिराको व्यापार चौपट भएपछि मदिरा (लिकर) उत्पादक र व्यवसायीले गाँजा प्रतिबन्ध फुकवा रोक्न संघीय सरकारसँग गरेको गुहार (द वाशिंगटन पोष्ट) रिपोर्ट बनेर आउने थिएन । र, गाँजा उत्पादक ठूलो संस्था ग्रिनवेभका संस्थापक म्याट कार्नेसले आउँदो वर्षसम्म अमेरिकामा गाँजाको वार्षिक कारोबारले ३० बिलियन डलरको आँकडा छुने र केही वर्षपछि अमेरिकाले अन्य वस्तुसहर गाँजालाई पनि अन्य देशमा निर्यात गर्ने दावी गर्ने थिएनन् । र, हामी चाँहि प्रतिबन्धको नाममा गाँजाको अवैध व्यापारलाई चालिस वर्षदेखि संरक्षण गर्दै आइरहेका छौं । गाँजा नष्ट गर्न‘ प्रहरी र प्रशासनका मुखियाहरूको पदबहाली र सरुवाताकाको हतियार मात्र बनाइरहेका छौं । जंगबहादुरको अफिमको उदाहरणमै रमाइरहेछौं । त्यसैले सांसद विरोध खतिवडा लगायतका नेताको अगुवाईमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको सकारात्मक सुनुवाई आवश्यक छ । गाँजालाई अपराध र घृणाको वस्तु होइन औषधिय वनस्पतिको रुपमा स्वीकार गरौं । केशव स्थापितको शैलीमा वायुपंखी घोडा चढेर गाँजाले कायापलट गर्छ नभनौं, तर नियामक निकायको निगरानीमा माउन्टेन मारिवाना फर मेडिसिनसम्म चाँहि सोचौं । जय शम्भो !
(नुवाकोट, हाल भर्जिनिया)

२०७६ फागुन १२ गतेको सम्पादकिय

सम्पदा संरक्षणमा उदासिनता
२०७२ सालको विनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लाको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र धरोहरहरू खण्डहर बनायो । नुवाकोटको पहिचानसंग जोडिएको सम्पदा संरक्षण, मर्मत, पुननिर्माणका लागि समय बित्दै गएसंगै सरोकारवालाहरूको चासो हराउदै गएको छ । नागरिकसमाजदेखि यस विषयमा सरोकार राख्नेहरूसम्मले देखाएको उदासिनताका कारण नुवाकोटको साततले दरवार लगायतका भौतिक संरचनाको पुनर्निमाण गतिशुन्य जस्तै बनेको छ । चीन सरकारले पुन निर्माणको जिम्मा लिएको साततले दरवार र तुलजा भवानीको मन्दिरको काम लामो समयदेखि रोकिएको छ । चार महिना अघि चीनमा सुरु भएको ल्होछारका कारण कामदारहरू स्वदेश फर्किएपछि रोकिएको कामलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आतंकले झन् प्रभाव पारेको छ । भाइरसका कारण चीनले ब्यहोरेको चौतर्फी समस्या र हैरानीलाई विश्व समुदायले साथ दिएका छन् । यस अवस्थामा नुवाकोटको ऐतिहासिक र पुरातात्विक सम्पदा निर्माणको गतीको लेखाजोखा गरेर टिप्पणी गर्नु सान्र्दभिक देखिन्न । तैपनि कुनैनकुनै कारण र बहानामा निर्माणमा रोकिएको गतीलाई सुचारु गर्नका लागि जिल्लाका सरोकारवाला निकाय तथा नागरिक समाज अग्रसर हुने बेला भएको छ । दुई वर्षदेखि फलामका डण्डी र जस्तापाताले बेरिएको दरवार, तुलजा भवानी मन्दिरको मर्मत÷निर्माण समयमै नहुँदा त्यसबाट उत्पन्न हुने विनाशको विषयमा चर्चा र अनुमान गर्ने बेला भइसकेको छ । अबको केही महिनामै सुरु हने वर्षायामले यो पटक ति सम्पदाहरूमा ठूलै क्षती पु¥याउन सक्नेछ । ति भवनहरूको कत्तिपय स्थानहरू मर्मतका लागि खुल्ला राखिएको छ भने पर्खाल तथा छानोहरू मर्मत गर्दागर्दै खुल्ला छाडिको छ । अबको बर्खायामममा पर्ने पानीका कारण त्यहा पुग्ने क्षति रोक्नका लागि जिल्लावासीले नै पहलकदमी उठाउनु जरुरी छ ।
नुवाकोट जिल्लाका अन्य ऐतिहासिक सम्पदाहरूको निर्माणको अवस्था पनि उस्तै उस्तै देखिएको छ । नुवाकोटको भैरबी मन्दिर, कविलासको कपिलेश्वर महादेवको मन्दिर, ककनीको बशन्ती दरवार लगायतका सम्पदा र ऐतिहासिक संरचनाको पुननिर्माणमा धिमा गती छ । वर्षैदेखि निर्माणकै चरणमा देखिइरहने यि सम्पदाहरूका कारण नेपाल भ्रमण वर्षमा नुवाकोट आइपुग्ने पर्यटहरूको मन प्रफुल्ल पार्न सकेको छैन । पुरातत्व विभाग मार्फत् स्थानीयहरूले नै निर्माणको जिम्मा लिएको कामलाई अब थपिएको समयमै सम्पन्न गर्नका लागि र भ्रमण वर्षलाई बढि प्रभावकारी पार्नका लागि द्रुत गतीमा काम गर्नका लागि नागरिक स्तरबाट दवाव दिनु जरुरी देखिएको छ ।  अन्यथा सचेत नागरिकहरूको बाहुल्यता रहेको नुवाकोटमा देखिएको उदासिनताका कारण भ्रमण वर्षको लाभ जिल्ला र जिल्लावासीले उठाउन सक्ने छैन । 

Sunday, February 16, 2020

पुननिर्माण परियोजनाबाट जनप्रतिनिधिको तिर्थाटन


इमेज समाचारदाता
पत्रकार उदय जिएम हरिद्धारमा सेल्फि खिच्दै, पछाडी जिससस प्रमुख तामाङ 
विदुर\भुकम्प पिडितलाई घर बनाउन सहयोग गर्न नुवाकोट जिल्लामा सञ्चालन भइरहेको एक परियोजनाको खर्चमा जिल्लाका एक गाउँपालिका अध्यक्ष बाहेक सबैले भारतको हरिद्धार भ्रमण गरेका छन् । नुवाकोटमा भारत सरकारको अनुदान तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आर्थिक र प्राविधिक सहयोग गर्न भन्दै स्थापना भएको भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युपोप्स्) खडा गरेको छ ।
भुकम्प पिडितहरूको लागि आएको परियोजनाको खर्च र दैनिक भ्रमण भत्तामा भारत घुमेर आउनेहरूमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङदेखि सबै गाउँपालिकाका उपाध्यक्षसम्म छन् ।
नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकामा उक्त परियोजनाले काम नगरेका कारण त्यहाँका अध्यक्ष र उपाध्यक्षहरूलाई भने भारतले लगेको थिएन ।
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति बाहेक ९ वटा गाउँपालिकका अध्यक्षहरू, १० वटा गाउँपालिकाका उपाध्यक्ष, दुई वटै नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू छ दिने भ्रमण सकेर शनिवार भारतबाट काठमाडौं उत्रिएका छन् । बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गाना भने एक दिन भ्रमण छोट्याएर फर्किएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरहरू अनुसार उनीहरूले नेपालका लागि भारतका पुर्व राजदुत मञ्जिवसिंह पुरीसंग भेट गरेर सामुहिक तस्बिर खिचेका छन् । त्यस्तै हरिद्धार तिर्थाटन गरेका छन् ।
जिएमको पछाडी दुप्चेश्वर गापा अध्यक्ष र लिखु गापा अध्यक्ष । 
गएको सोमवार (माघ २७ गते) भारत भ्रमणममा जाने जननिर्वाचित प्रतिनिधिहरूमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनाल, उप प्रमुख कविता ढुङ्गाना, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष सन्तबहादुर घले तामाङ, उपाध्यक्ष मञ्जु बुढाथोकी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई, म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा गुरुङ्ग, किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा, उपाध्यक्ष मायादेवी घले न्यौपाने र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल छन् ।   
फेसबुकमा आएन फोटो
नुवाकोटका निर्वाचित जनप्रतिनिधि २० जनाले भारत भ्रमणको फोटो आफ्नो फेसबुक तथा सामाजिक सञ्जालमा शेयर गरेका छैनन् । टोलीमा मिसिएर गएका पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले शेयर गरेको केही तस्बिर केही अध्यक्ष, उपाध्यक्षको ‘टाइमलाइन’मा देखिएको छ । तर त्यसमा पुरीसंग भएको औपचारिक भेटको फोटो र नुवाकोटका २१ जना जनप्रतिनिधि भारत भ्रमणमा भन्ने समाचार लिङ्क मात्रै छ । हरिद्धारको बम्हकुण्डमा लिइएको फोटोहरू र हवाइजहाजमा बसेर भारत उढ्दै गरेको पाmेटो जिएमको फेसबुकबाट सार्वजनिक भएको हो ।
वडा अध्यक्ष निमित्त
प्रमुख र उपप्रमुख गयल भएपछि दुवै नगरपालिकाको ठूला काम प्रभावित देखियो । त्यस्तै सात वटा गाउँपालिकाहरूमा प्रमुख र उपप्रमुख दुवै नहुँदा सामान्य गाउँपालिकाको छाप लगाउने काजग तयार हुने बाहेकका कुनै काम अघि सर्न सकेन । ‘अध्यक्ष, उपाध्यक्ष अहिले हुनुहुन्न’ भन्दै नागरिकलाई सबैले फर्काए । तादी गाउँपालिले वडा नं. ६ का अध्यक्षलाई गाउँपालिकाको कार्यबाहक अध्यक्ष दियो । वडाअध्यक्ष केशव थापाले सामाजिक सञ्जालमै यो खुसीयाली बाढेका थिए ।
केन्द्रबाट लगियो पत्रकार
स्थापनादेखि विवादमा पर्दै आएको युनोप्स्ले यसपालि भारत भ्रमणमा नुवाकोटबाट एक जना पत्रकारलाई पनि लैजाने तयारी गरेको थियो । अराजक व्यवहार र कार्य निर्देशिका विपरित काम गरिरहेको युनोप्सको बारेमा समाचार लेख्ने र संकलन गर्ने पत्रकारमाथी भदौ, २०७६ मा भएको दुव्र्यबहार पछि पत्रकार महासंघ नुवाकोट र जिल्लाका प्रायः पत्रकारसंग युनोप्स्को सम्वन्ध चिसिएको छ । महासंघका पदाधिकारीलाई जनप्रतिनिधिसंगै भारत लैजानसके नकारात्मक समाचार बाहिर नआउने उद्देश्य परियोजनाले लिएको थियो । एकैपटक गाउँपालिका नगरपालिकाबाट प्रमुख उपप्रमुख उठाएर भारत लैजादा हुने समस्या र त्यसको समाचार रोक्नकै लागि महासंघबाट जिम्मेवार पत्रकार लैजाने गरी तयारी थालिएको थियो । नुवाकोटका पत्रकारहरूले युनोप्स्को भारत भ्रमण र भुकम्प पिडितको घर बनाउन अनुदानमा आएको रकममा भ्रमण नजाने देखेपछि संस्थाले रणनीति फेरेको बताइएको छ । युनोप्स्को नुवाकोटका कार्यरत कर्मचारी बन्दना सिंहले आफ्नो सहोदर दिदि पत्रकार महासंघका केन्द्रिय सदस्य स्वेता सिंह मार्फत् केन्द्रबाट सचिव उदय जिएमलाई भ्रमणमा लगेका हुन् । ‘जिल्लाबाट नभए केन्द्रबाट ठेगान लाग्छ नी भन्ने दम्भ देखिन्थ्यो’, समाचार श्रोतले भन्यो– ‘त्यो भ्रमण टोलीमा भारत सरकारलाई देखाउन एक जना पत्रकार जसरी पनि लैजानु पर्ने अवस्था थियो ।’ 
सार्वजनिक विदा
बेलकोटगढी नपाका प्रमुख र उपप्रमुख हरिद्धारमा । 
सबै तस्बिरहरू उदय जिएमको फेसबुकबाट
बेलकोटगढी नगरपालिकाका प्रवक्ताले त आफ्नो नगरपालिकाले दिएको सार्वजनिक विदा समेत चाल पाएनन् । माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाका अधिकृत शिवराम अधिकारीले विदा दिएका थिए । माघ २४ गतेको मितिमा तयार भएको सार्वजनिक सूचनाको बारेमा समेत नगरपालिकाका प्रवक्ताले २७ गते चाल पाए, त्यो पनि फेसबुक मार्फत् । प्रवक्ता लोहनीले फेसबुकमै लेखेका छन्– ‘नगर कार्यपालिकाको सदस्य कसैलाई जानकारी नदिइकन नै विदा स्वीकृत हुने । नगरको काम कारबाही फेसबुकको पोष्टबाट थाहा पाउनुपर्ने भयो ।’  
माघ २७ गते भारत भ्रमणमा निस्केका प्रमुख र उपप्रमुख अनि नगरको स्थापना दिवसको नाममा २७ गतेनै सार्वजनिक भएको विदाले नगरपालिका विवादमा पर्यो । विदुर  बाहेक नुवाकोटका सबै स्थानीय तहको स्थापना एकै दिन हो । तर अन्य स्थानीय सरकारले माघ २७ मा स्थापना दिवसको विदा दिएन । फागुन २७ मा स्थापना भएको स्थानीय सरकारहरूले एक महिना अघि नै आफ्नो स्थापना दिवस मनाउनुमा कुनै तुक थिएन । तर सञ्चार माध्याममा आएको समाचार र टिप्पणीलाई नगरपालिकाले गम्भिरताका साथ नलिएर प्रतिवाद र खण्डन मात्रै गरिरह्यो । 
यस क्रममा भारत जाँदै नगएको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीलाई समेत भारत गएको भनेर प्रचार गरियो । नगर उपप्रमुख कविता ढुङ्गानाले दिएको स्प्रष्टिकरण आएको समाचारहरूमा नुवाकोट जिल्लाका सबै जनप्रतिनिधि भारत भ्रमणमा रहिरहेको समाचार आए । ढुङ्गानाले मेयर र आफु भारत भ्रमणमा जानका लागि नगरपालिकामा सार्वजनिक विदा दिएको भन्ने समाचारले बदमान गराउन खोजेको जिकिर गरेर समाचारको खण्डन गरेका छन् । भारत भ्रमणमा रहेकै बेला आफुहरू भ्रमणमा रहेकाले विदा दिएको समाचारले बेचैन बनायो भन्दै भ्रमण छोट्याएर एकदिन अघि फर्किए । तर २०७३ साल फागुन २७ गते प्रकाशित नेपाल राजपत्र खण्ड ६६ ले बेलकोटगढी नगरपालिकाको स्थापना दिवस फागुन २७ गते तोकेको छ ।
सित्तैमा भनेर हुन्छ ?
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले विवादित र काम चोर संस्थाको भजन गाउन नजाने ठोकुवा गरे गएको आइतवार नै गरेका थिए । कार्यक्षेत्रका काम नगर्ने, भारतिय सहयोग र ऋण सहयोगबाट सञ्चालित परियोजनाने जनता ठगिरहेको देख्दादेख्दै उनीहरूको खर्चमा आफु भ्रमणमा नजाने प्रतिवद्धता उनको थियो । आइतवार राती इमेजले प्रायः जनप्रतिनिधिसंग टेलिफोन संवाद गरेको थियो । केहीले काठमाडौं पुगेर संस्थाको गतिविधि र अवस्था हेरेर मात्रै सोमवार भारत उढ्ने या नउढ्ने पक्का हुने भनेका थिए र तर काठमाडौं पुगेको २० जना नै जनप्रतिनिधि भारत हान्निए । तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्ती आइतवारको रात्रि भोजमा पनि गएनन् र छ दिने भारत म्रमण पनि दुत्कारे ।  
‘सित्तैमा पाइयो भनेर युनोप्स्को भात खान म गइन, धेरैले यसको परियोजना र काम प्रति नकारात्मक टिप्पणी गरिरहेका छन् । अनि उनीहरूको पछाडी लागेर घुम्ने हो भने त उनीहरूलाई सिधै अनुमोदन गरे जस्तो भएन र !’ गाउँपालिकाका अध्यक्ष वस्तिले भने । 
जनप्रतिनिधिलाई तिर्थ लाने युनोप्स् के हो ? 
२०७६ साल भदौ ९ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार
विदुर\भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजना भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मार्फत् सञ्चालन भइरहेको छ । २३ हजार ८८ घरलाई नुवाकोटमा इष्टमेट प्रदान गर्नुपर्नेमा परियोजना नुवाकोटमा सञ्चालन भइरहेको छ ।
नेपाल सरकारलाई भुकम्प पछिको पुनर्निमाणमा भारत सरकाले दिने भनेको अनुदान सहयोगमा यो परियोजना सञ्चालन भएको हो । भारत सरकारले भुकम्प प्रभावित नुवाकोट र गोरखामा ५० हजार घर पुननिर्माणका लागि अनुदान सहयोग गर्नका लागि यो परियोजना सुरु गरेको हो । यो परियोजना अङ्ग्रेजी पात्रो अनुसार सन् २०१८ को मार्च महिनाबाट सुरु भएको छ । तर नुवाकोटमा काम थालेको १५ महिना जत्ति मात्रै हुनलाग्यो । नेपालको भुकम्पपछिको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले परियोजना सञ्चालन गर्यो । परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याउने जिम्मेवारी पाएको छ । भारत सरकाले यस अघिको सहयोग सम्झौता अन्तर्गत संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई नुवाकोट र गोरखामा सुरक्षित पुननिर्माणका लागि झन्डै एक अर्ब ६२ करोड रुपैयाँ (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । त्यही घोषणा र सम्झौता अन्र्तगत अहिले नुवाकोटमा यो कार्यक्रम लागू भइरहेको छ । 
भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा नुवाकोटमा २३ हजार ८८ भुकम्पपीडित धरनीलाई र गोरखामा २९ हजार ९१२ भुकम्प पीडित घरधनी रसामाजिक प्राविधिक सहजीकरण अन्तर्गत सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समुहले नेपाल सरकारले भकुकम्पीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्ड बमोजिम भूकम्पपीडित घरधनीका घर पुननिर्माणमा सहयोग गर्ने कुरा उल्लेख छ । उनीहरूले निरीक्षण र प्रमाणीकरणको प्रक्रिया मार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशका घरधनीलाई सहयोग बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ ।
साझेदारी पत्रमा तत्कालिन नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा. अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयर, युएनओपिएस एसिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथजुरले हस्ताक्षर गरे । हस्ताक्षर पत्र आदान प्रदान कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थिति थियो । 
परियोजनाले नुवाकोटमा २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी काम गरिरहेको जनाएको छ । घरको निःशुल्क नक्सा प्रदान, निर्माण सम्बन्धी सल्लाह सुझाव प्रदान, निर्माण सुपरिवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम गरेको दावी परियोजनाको छ । 
के भएको थियो पहिला ?
२०७६ साल भदौ १६ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वय इकाई विदुर नुवाकोटले ११ चैत, २०७५ मा लेखेको पत्र भदौ, २०७६ मा इमेज साप्ताहिकले फेला पारेको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरण बैदेशिक सहायता समन्वय शाखा सिंहदरवार काठमाडांैलाई तत्कालिन निमित्त आयोजना प्रमुख बिकि लाखाले लेखेको पत्रमा रहेका चार वटै वुँदाहरू गम्भिर देखिएको छ । समन्वय अभाव, प्रगती विवरण लुकाउने, तथ्याङ्क नदिने र गुणस्तरहिन प्राविधिक सेवाको बारेमा कार्यान्वय इकाईले प्रष्टसंग नै लेखेर पठाएको छ । बैदेशिक सहायता समन्वय शाखाले नुवाकोटमा भुकम्प पुनर्निमाण प्राविधिक सहायता उपलब्ध गराउन काम गरिरहेको संस्था संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम युएनडिपीको बारेमा राखेको जिज्ञासाको उत्तर पठाउने क्रममा यो तथ्य लिपिबद्ध भएको हो । 
निमित्त आयोजना प्रमुख बिकि लाखाले बैदेशिक सहायता समन्वय शाखामा पठाएको इमेलमा भनिए अनुसार युनोप्स्का प्राविधिक र पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरू बीचमा समन्वयको अभाव थियो । ‘जसले सेवा प्रबाहमा गुणस्तरमा कमी भएकोले प्राविधिक जटिलता परेको छ र असुरक्षित घरको तथ्याङ्कमा बृद्धि भएको पाइएको छ । युनोप्स्बाट खटिएका प्राविधिकहरू लाभग्राहीको घरमा नपुगी नक्सा बनाईदिने गरेको समेत गुनासो आउने गरेको छ ।’ आयोजना कार्यान्वय इकाईले युनोप्स्को क्रियाकलापका कारण नुवाकोटमा पुनर्निमाणको प्रगतीमा योगदान नभएको ठोकुवा गरेको छ ।     
त्यस्तै, युनोप्स्ले जिल्ला वा पालिकास्तरिय कुनै पनि निकायमा आफुले गरेको क्रियाकलापको बारेमा कुनै प्रतिवेदन बुझाउने गरेको पाइएको छैन । यदि पालिकाले मागेमा दिन नमिल्ने बताउने गरेको छ । यो पनि चिठीमा भनिएको छ ।  
त्यस्तै १७ बैशाख, २०७६ मा जिल्ला आयोजना कार्यान्वयन ईकाईले युनोप्स्को बारेमा अर्को पत्र लेखेर यही समस्याहरू दोहो¥याएको छ । केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय ललितपुरलाई पत्र लेखेर निमित्त प्रमुख बिकि लाखाले युएनओपिएसले गरिरहेको कामको असन्तुष्टि जाहेर गरेका हुन् ।  
जसमा समन्वय नभएको, प्रगती प्रतिवेदन सन्तोषजनक नरहेको, तथ्याङ्क लिन कठिनाई भएको र प्राविधिक सेवा जटिल बनेको उल्लेख छ । जिम्मेवार सरकारी निकायले ‘युनोप्स्को काम गुणस्तरिय नरहेको र कच्ची घरहरू निर्माण भइरहेको’ किटान गरेर तालुकदार निकायमा पत्राचार गरेको छ । समाचार श्रोतका अनुसार जिल्ला आयोजना कार्यान्वय इकाईका निमित्त प्रमुख बिकि लाखाले लेखेको यही पत्रका कारण यो परियोजनाले उनलाई सरुवा समेत गराएको छ । परियोजनासित सिधै भारतिय दुतावास जोडिएकोले उच्चस्तरिय पहुँचका आधारमा लाखाको सरुवा जेठमा गराइएको थियो । कार्यालय प्रमुखलाई आर्थिक बर्ष सकिन एक महिना बाँकी रहँदा पनि रातारात सरुवा गरेर परियोजानले अर्को कार्यालय प्रमुख ल्याएको चर्चा छ । ‘त्यसपछि युनोप्स्बाट नुवाकोटमा भएगरेका कामको बारेमा यस्तो प्रष्ट समीक्षा र अनुगमन भइरहेको छैन’, श्रोत भन्छ– ‘परियोजना आफ्नै तालसुरमा काम गरिरहेको छ, कसको आँट हुनु भारतिय परियोजना, युएनडिपीको बारेमा बोल्ने !’ 

  


बालिका जवान बनाउन पशुको औषधि

शर्मिला उप्रेती
शक्ति समुह नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रम । तस्बिरःजालपान्युज
विदुर\यौन व्यवसायका लागि भारतको विभिन्न कोठीहरूमा बन्धक बनाइएको नुवाकोटका ११ जनाको उद्धार भएको छ । यसरी उद्धार भरएको किशोरी तथा महिलाहरू अहिले सुरक्षित र संरक्षित रुपमा रहेको शक्ति समुह नुवाकोटले जनाएको छ । मानब ओसारपसार तथा आधुनिक दासताको बिषयमा शक्ति समुह नुवाकोटले जिल्लाका पत्रकारहरूसंग शुक्रवार गरेको अन्तरक्रिया उक्त तथ्य सार्वजनिक भएको हो ।
मानब ओसारपसारको चपेटामा नुवाकोट रहेको भन्दै शक्ति समुहले सञ्चारकर्मीहरूले यसको बिषयमा लेख्न आग्रह गरेको छ ।
पछिल्लो पटक उद्धार गरिएकाहरूमा १८ वर्ष भन्दा मुनी उमेर समुहका रहेको समेत बताइएको छ । उनीहरूको शारिरिक विकासका लागि पशुलाई खुवाउने औषधि सेवन गराइएको स्वास्थ्य परिक्षणबाट देखिएको छ ।
रोजगारी, अध्ययन तथा भ्रमणको बिभिन्न बाहना बनाउदै कलिला बालीकाहरूलाई ‘सेक्स ओर्कर’को रुपमा प्रयोग हुँदै आएको शक्ति समुहले जनाएको छ । चालु आर्थिक वर्षको अवधिमै नुवाकोटका ११ जनालाई उद्धार गरिएको तथ्याङ्कका आधारमा जिल्लाबाट मानव विक्रिको अवस्था भयावह रहेको बताइएको छ । उनीहरूलाई नेपाल फिर्ता ल्याइसकिएको छ । तर भारतको यौन बजारमा रहेको नेपाली महिला तथा किशोरीहरूलाई फिर्ता ल्याउन कानूननै परिमार्जन गर्नुपर्ने आबाज समेत उठेको छ ।
शक्ति समुहका केन्द्रिय तालिम तथा कानुन अधिकृत दिलिप कोईरालाले भारतको बिभिन्न स्थानबाट उद्धार गरिएका चेलीहरूलाई नेपाल ल्याउन कानूनी अड्चन रहेको बताए । दुई देश बिचमा रहेको संबैधानिक सम्स्याले  सहज रुपमा नेपाली महिला तथा बालिकाहरूको उद्धारमा समस्या रहेको उनले बताए ।
शक्ति समुह नुवाकोटका जिल्ला अधिकृत सम्झना प्रसाईले समस्यामा परेपनि फिर्ता हुन नचाहने र परिवारिक सहयोग नहुने गरेको बताएका छन् । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लाका पत्रकारहरू मानव विक्रि जस्तो जघन्य अपराधको विरुद्धमा निरन्तर सक्रिय रहेको बताए । उनले यस विधिमा समाचार लेख्दै आएका पत्रकाहरूको क्षमता विकास र प्रोत्साहका लागि यस क्षेत्रका काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरूले विशेष कार्यक्रम ल्याउदा समुदायमा लाभ मिल्ने बताएका छन् ।
मानव विक्रको दृष्टिबाट बढि प्रभावित देखिएका नुवाकोटको दुप्चेश्वर गाउपालिकाका सबै वडा, तादी गाउपालिकाको २ नम्बर वडा, पञ्चकन्याको गाउँपालिकाको वडा नं. ४ र शिवपुरी गाउँपालिकाको वडा नं. १ मा शक्ति समुहले दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गरेको छ । 

रसुवागढी नाका अझै बन्द

रोशन बोगटी
विदुर\कोरोना भाइरस नेपाल भित्रने डरले बन्द गरिएको रसुवागढीदेखि केरूङसम्मको आवतजावतमा बन्द कायम राखिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । त्यो म्याद बढाएर फागुन ७ गतेसम्म पु¥याइएको छ ।
रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा  स्वास्थ्यको चेतनामूलक कार्यक्रम भएको प्रशासनले जनाएको छ ।
तर, रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
नेपाल सरकारले भने साथै केही दिनका लागि आवतजावतमा निगरानी राख्दै सीमामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको जनाएको छ । तिब्बतमा झन्डै ५ सय नेपालीको बसोबास छ, केरुङमा पनि ठुलो संख्यामा नेपाली नागरिकहरू बसोबास गर्दै आएका छन् ।
चीन र नेपालबीच १४ सय १४ किलोमिटर सीमा जोडिएकामा आवश्यक स्थानमा चीन सरकार स्वयंले नाका र आवतजावत बन्द गरेको छ । 
कोरोना भाइरसको प्रकोप बढेपछि चीनसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी मुलुकले चिनियाँ नागरिकको आवतजावतमा कडाइ गरे पनि नेपालले थप कडाइ वा सीमा सतर्कताको तयारी गरेको छैन ।
गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ मसान्तसम्म रसुवा नाकाबाट १५ दिनका लागि आवागमनमा कडाइ गरिए पनि अन्य नाकाबारे कुनै निर्णय गरिएको छैन ।

७० हजारले हेरे महोत्सव

प्रितिका थापा
बट्टार\छैटौँ नुवाकोट महोत्सबमा ७० हजार दर्शकले अबलोकन गरेको आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सबमा ६० हजारले टिकट काटेर अबलोकन गरेको र बाँकी बृद्धबृद्धा र बाणिज्य संघका साधारण सदस्यहरू रहेको बताइएको छ । धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ यही माघ १६ गते सुरु भएको महोत्सवले नुवाकोटमा बिकासको लहर सिर्जना गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले दावी गरेका छन् । नुवाकोट जिल्लाको सम्भावनलाई उजागर गर्दै महोत्सबले ब्यबसायिक क्षेत्रमा फड्को मारेको उनले बताए ।
यसै बीच, महोत्सबमा पाँच करोड रुपैयाँको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताएका छन् ।
बट्टारको बसपार्क नजिकै १२ दिनसम्म सञ्चालन भएको छैठौं नुवाकोट महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थियो । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरूमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन विशेष योगदान पुगेको नेपाल उद्योग बाणिज्य महासंघका केनिद्रय सदस्य राजन श्रेष्ठले बताए । 

छाला सहित दुई पक्राउ

मुकुन्दराज अर्याल
विदुर\संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी उनीहरू लाई सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुह्ेश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो । उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको बताईएको छ । उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

बोगटीलको निधनले मलाई ठूलो क्षति भयो : प्रचण्ड

सुजित भण्डारी
पोष्टबहादुर बोगटीको जन्मस्थल विदुर नपा–७ तुप्चेमा
शालिक अनावरण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड । तस्बिर : संगम भड्ताल\इमेज
तुप्चे\सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहकर्मी पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा गएको सोमवार आयोजित कार्यक्रममा प्रचण्डले बोगटीको शालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण कार्यक्रममा पोष्टबहादुर बोगटीलाई सम्झदै प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरूमा निसर्त साथ दिएको बताए । उनको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण प्रचण्डले गरे ।
सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रहण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको प्रचण्डको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उनले बोलेपछि पार्टीका शीर्ष नेताहरू समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहने गरेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’
बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । प्रचण्डले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरे । त्यस अवसरमा चण्डेश्व्री माविको अभिभावक भेलालाई समेत अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको जन्मथलोमा निर्माण भएको अर्धकदको शालिकसंगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालिका, वडा कार्यलय , स्थानिय युवा क्लबहरू लगायतको झण्डै १५ लाख रुपैयाँ आर्थिक सहयोगमा २ महिनामा नै शालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष कल्पना रिमालले जानकारी दिएका छन् ।
यसै बीच, प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उनको संकेत थियो । ‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’ कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गरेका थिए । लामाको भनाइ प्रति टिप्पणी गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिए । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको बताए । 
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरूले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र ‘कनेक्टिभिटी’ नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे ।

भलिबल उपाधि आयोजक टिमलाई

संगम भड्ताल
प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको
फाईनलका लागि भलिबल हस्तान्तरण गर्दै नेपाली काँग्रेसका
बरिष्ठ नेता रामचन्द्र पौडेल, साथमा पञ्चकन्या
गाउँपालिकाअध्यक्ष तेजबहादुर तामाङ । तस्बिर : इमेज
कबिलास\नुवाकोट जिल्ला अन्तरपालिका स्तरिय प्रथम पञ्चकन्या चेयरम्यान कप भलिवल प्रतियोगिताको उपाधी आयोजक टिम पञ्चकन्याले जितेको छ । पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थित कालिका माबिस्थित खेलमैदानमा मंगलवार भएको फाइनल प्रतियोगितामा प्रतिस्पर्धि म्यागङ गाउँपालिकालाई सोझो सेटमा हराउँदै पञ्चकन्याले उपाधि जितेको हो ।
उक्त प्रतियोगिताको विजयी पञ्चकन्या गाउँपालिकाको टिमले १ लाख नगद रुपैयाँ सहित ट्रफी हात पारेको छ । उप बिजेता म्यागङ गाउँपालिकाको टिमले ७५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।
यस्तै दुप्चेश्वर गाउँपालिका अन्तरपालिका स्तरिय चेयरम्यान कप भलिवल प्रतियोगितामा तेश्रो स्थानमा उक्लेको छ । शिवपुरी गाउँपालिकालाई पराजित गरेको दुप्चेश्वर गाउँपालिकाले ५० हजार रुपैयाँ र ट्रफी पाएको छ । अनुसाशित खेल प्रदर्शनमा तारकेश्वर गाउँपालिकालाई सम्मान गरिएको छ । प्रतियोगितमा विभिन्न विधिमा उत्कृष्ठ भएका खेलाडीहरूलाई पुरस्कृत समेत गरिएको थियो । त्यस क्रममा लिखु गाउँपालिकाको टिम भित्रका डेनिश राई उदयमान खेलाडी, बेस्ट स्ट्राईकरमा म्यागङका आयुश खड्का, बेष्ट ब्लकरको अवार्ड आयोजक पञ्चकन्याका सुजन थापालाई, बेस्ट डिफेन्डरमा दुप्चेश्वरका सिताराम तामाङ, बेस्ट सटरमा पञ्चकन्याका केशव बोहोरा, बेस्ट सर्भरमा म्यागाङका आईतराम तामाङ, बेस्ट प्रशिक्षकमा पञ्चकन्याका प्रशिक्षक उत्सव खड्का, बेस्ट प्लेयरको अवार्ड सन्जय शाह ठकुरी र ब्यबस्थापकमा स्थानिय शिक्षक राजकुमार ठकुरीले अवार्ड गरेका छन् ।
पञ्चकन्या गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम पञ्चकन्या चेयरम्यान कप प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटै पालिकाबाट खेलाडीहरू सहभागि भएका थिए । कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिजेता टोली तथा उत्कृष्ठ खेलाडीहरूलाई आयोजक गाउँपालिकाको तर्फबाट पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
यसै बीच, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षपाती रुपमा नेकपाले राज्य सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।  नेकपाको सरकार एकपक्षिय ढङ्गले सञ्चालन भैरहेको बताए । आफु अनुकुल नरहेका ब्यक्तिहरूको पक्षमा एकोरोह राज्य लागेको उनको आरोप छ । एकै प्रकृतिका कसुरमा पनि कसैलाई हदैसम्मको सजाय र कसैलाई उन्मुक्ति दिनु आपत्तिपूर्ण रहेको पौडेलले बताए ।
यस्तै, भलिवल प्रतियोगिताको समापन गर्दै पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले सम्बृद्ध पञ्चकन्या निर्माणको लागी एकजुट हुनुको बिकल्प नरहेको बताए । आफु गाँउपालिकाको अध्यक्षमा निर्बाचित भएसँगै सबैलाई एकजुट हुन आग्रह गर्दै गाँउपालिकाको बिकासमा होमिएको उनले बताए ।
शनिवार कविलास पुरनीडाँडा स्थित कालिका माविको खेलमैदानमा प्रथम चेयरम्यान कप भलिवल प्रतियेगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।  

शिक्षा पहिलो प्राथमिकतामा

काहुले\नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यत्तिको लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने रहेकोमा अचम्म माने । उनले आफ्नो सम्वोधनको क्रममै ३१ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिका निर्वाह गरिरहनुभएका भनेर सम्मान सम्वोधन गरेका थिए ।
    प्रचण्डले किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा बोल्दै समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए ।
भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन उअवसरमा उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने बताए ।
नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने उनको भनाई छ ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिएका छन् । संघीय सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्र्धन गर्ने सिकाइको बिकास गराउन सक्नुपर्ने बताए । त्यसका लागि ऐसेलुभुमे मावि नमुनाको रुपमा विकास हुनेमा उनले विश्वास व्यक्त गरे । 
नेकपा नुवाकोटका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको  दावी गरे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेका बताए । उनले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनःनिर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गरे ।
उक्त विद्यालयको १५ कोठ नयाँ भवन तीन करोड ९५ लाख रुपैयाँ लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताए ।
नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको हो । यस विद्यालयले ६३७ विद्यार्थीहरू पढिरहेका छन् ।
भारत सरकारको ३९.५७ मिलियन रुपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ संरचनामा तीनवटा ब्लकहरू छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेको छ । दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ ।

‘सर्वस्व’ सुम्पने नन्दराम ३१ वर्षदेखि अध्यक्ष

ऐँसेलुभूमे माविको भवन उद्घाटनका क्रममा नेकपाका अध्यक्ष प्रचण्ड, मन्त्री अनन्तको
साथमा विद्यालयका अध्यक्ष नन्दराम न्यौपाने (दाँयाँ)
अक्षर काका
किस्पाङ (नुवाकोट) । माथि हेर्याे ढुङ्ग्यान डाँडो । तल आँखाले भ्याएसम्म ढुङ्गिलो जमिन । करिब २० वर्षअघिसम्म भूमेथानको परिचय ढँड्यान र बलोटे जमिनमा सीमित थियो । थाप्लोमा किस्पाङ पोखरी बोकेकाले उब्जाको संकट थिएन । आयस्ताले मात्रै गरिबी कहाँ पन्छाउँथ्यो र ! शिक्षाको पहारिलो घाम नलागेसम्म किस्पाङको आङको ठिही कहाँ हट्थ्यो र सजिलै !  पश्चिमोत्तर नुवाकोट, काहुले (किस्पाङ गाउँपालिका–३) को अवस्था २० वर्षअघिसम्म यस्तै थियो । गाउँलेहरूले अशिक्षाको चक्रब्यूह तोड्न सकेका थिएनन् । अशिक्षाकै कारण जग्गा–जमिन भए पनि गरिबीको गर्तमा धकेलिएका थिए । पञ्चायतको उत्तराद्र्धलाई सम्झँदै ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने भन्छन्, ‘दलितको बाहुल्य रहेको भूमेथानका बालबच्चाहरूले स्कुलको अनुहार देख्न पाएका थिएनन् । पिता–पुर्खाको पालादेखि नै निर्धन भाग लाग्दै आएकाले उनीहरूको भविष्यले बेस्सरी पिरोल्थ्यो !’
काहुलेको मात्रै होइन, साल्मे, भाल्चे, फिकुरी र मनकामनाको नियति पनि काहुलेको पृथक थिएन । जिल्लाका अन्यत्र भू–भागमा पञ्चायतको मध्यतिर नै फाट्टफुट्ट विद्यालय खुलेका थिए । त्यसको पिलपिले उज्यालो अन्यत्र पनि फिँजिएको थियो । काहुलेको अँध्यारो अझै सघन हुँदै थियो । नन्दरामले जिल्ला शिक्षा कार्यालयमा विद्यालय खोल्न निकै ताकेता गरेका थिए । तर, जति धामा गरे पनि कतैबाट केही हात लागेको थिएन । बालबच्चा हुँर्कंदै जाँदा पढ्न कहाँ पठाउने होला भन्ने चिन्ताको आगो दन्किइरहेकै थियो । २०४५ सालको अन्त्यतिर हुनुपर्छ, पश्चिम नुवाकोटमा कहलाएका जिसिङ (काजी) का भाइ मदनमान सिंह जिल्ला शिक्षा समितिका अध्यक्ष थिए । उनैले नन्दरामलाई भने, ‘तपाईंले निकै ताकेता गर्दै आउनुभएको छ । तपाईंकै क्षेत्रमा विद्यालयका दुईवटा कोटा पठाइदिएको छु, विद्यालय थपना गर्नुस् है !’
उनको अनुहारमा झुल्केघाम लाग्यो । तर केही समयपछि नै अनिश्चयको कालो बादलले छोपिहाल्यो । वरिपरि बलौटे पाखो भन्दा छैन । सम्म ठाउँमा कि झुरुप्प बस्ती छ, कि खर्क । कहाँ स्थापना गर्ने विद्यालय ? मनकामना क्षेत्रले ठाउँ तय गरेर एउटा कोटा लगिहाल्यो । अर्को ‘अलपत्र’ थियो । नन्दरामले चारचौरास ठाउँ खोजे । कहीँ पाएनन् । तत्काल ठाउँ जुगाड नभए कोटा फिर्ता हुने भएको थियो । मिल्दो जग्गा नभेटेर निराशा मात्रै हात लागेको थियो । उनले सोचे, आफ्नै जग्गामा विद्यालय ‘थपना’ गर्छ‘ । ‘आफैंले पढ्न नपाएको चिन्ता छँदैथियो । बालबच्चाले पनि पढ्न नपाउने भए भन्ने चिन्ताले टोकस्न थाल्यो । खेत त फेरि जोड्न सकिन्थ्यो, विद्यालय कसरी जोड्नूु’ उनी अहिले पनि त्यतिबेलाको क्षण सम्झन्छन् ।
गाउँको मध्य भागमा ४ रोपनीको धान खाने खेत थियो ।  बालबच्चाको मुख हेरेनन् । सिङ्गो भूमे थान, काहुलेको अनुहार हेरे । रोग, भोकलाई प्रारब्धको भागभोग ठानेर बेहोरिरहेका निमुखा र तिनका बालबच्चाको भविष्य हेरे । भोलि के–कसो होला भनेर सोच्दैनसोची उनले ऐँसेलुभूमे विद्यालयको नाममा बकसपत्र गरिदिए । ‘त्यतिबेला जग्गा दिने आँट नगरेको भए, कोटा त उम्कन्थ्यो नै विद्यालय नहुँदाको सकस पनि कायमै रहन्थ्यो,’ त्यतिबेलाको क्षण सम्झिएर आफैंले आफैंलाई धन्यवाद दिन्छन् उनी ।
जसोतसो विद्यालय त स्थापना भयो । विद्यार्थी कहाँ पढाउने भन्ने अर्को समस्या आइलाग्यो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लौकिक कहावत् त्यहाँ पनि चरित्रार्थ भयो । गाउँले सबै मिलेर चित्रेगोठ, कटेरो ठड्याए । त्यहीँबाट सुरु गरे अक्षरारम्भ । चित्रेगोठले हिउँद–वर्षा र पूर्वतिरबाट ठोकिन आइपुग्ने त्रिशुलीको मुटु छेड्ने सिरेटो झेलिरहन सम्भव थिएन । गाउँका भद्रभलाद्मी भेला भए । जनश्रमदानबाट, आफ्नै बलबुतामा भवन उभ्याउने निधो गरे । २०४६ सालमा विद्यालयको सुरुआत भयो । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो । ‘बजेट नहँदा विद्यालयको भौतिक अवस्था सुधार भएन । शैक्षिक अवस्थामा आशातीत प्रगति भए पनि बाहिरबाट हेर्दा कक्षाकोठा थिएनन् । छिट्टै बढुवा गर्न सकिएन,’ विद्यालयको स्तरोन्नति हुन नसक्नुको कारण उधिन्छन् उनी । २०५८ सालमा बल्ल निमावि भयो । त्यतिबेला पनि ठूलै युद्ध जितिएजस्तो भान भएको थियो ।
गाउँलेहरूको उत्साहलाई व्यापकता प्रदान गर्दै, पुँजीकृत गर्दैै दोस्रो–तेस्रो वर्षमै माध्यामिक विद्यालय बनाउने लक्ष्य लिएका थिए । त्यहाँ पनि स्रोतको जुगाड हुन सकेन । विद्यालयको भौतिक प्रगति आशातीत हुन सकेन । शैक्षणिक र प्राज्ञिक सुधारले मात्रै पुगेन । ‘भवन नै नभए कहाँ पढाउने भन्ने प्रश्न टड्कारो भएर आयो,’ नन्दराम निम्न माध्यामिकबाट माविमा बढुवा गर्दाको संघर्षको एकएक फेहरिस्त सुनाउँछन् ।
माध्यामिक विद्यालय बनाउन २०६६ साल नै पर्खनुपर्याे । किस्पाङको पाखामा एकैपटक सात सूर्य उदाएझैं भयो । वर्षौंदेखिको सपना साकार भयो । गाउँको दैलामै माध्यामिक शिक्षालय खडा भयो । पढ्नकै लागि भनेर बालबच्चाले भीरपहरो छिचोल्नुपरेन । दूरदराजको गाउँ शिक्षाले सुगम तुल्यायो । विद्यालयलाई त माध्यामिक बनाइयो । पढाइलाई कसरी ‘माध्यामिक’ बनाउने ? ऐँसेलु भूमेमा पढेका विद्यार्थीलाई कसरी देश– दुनियाँसँगको प्रतिस्पर्धामा जित्ने बनाउने ? अतिरिक्त कार्यकलापमा पनि कसरी अब्बल, क्षमतावान् तुल्याउने ? पाठ्यक्रमले निर्धारण गरेको लक्ष्य, उद्देश्यअनुरूपको वैज्ञानिक शिक्षा कसरी दिने भन्ने चुनौती अद्यावधिक हुँदै आएको थियो ।
भौतिक पूर्वाधारसँग गाँसिएका समस्या किनारा लाग्नुको अझ परिस्कृत बन्दै थिए । नन्दरामले आफैं अगुवाइ गरे । समयसमयमा शिक्षक, अभिभावकहरूको मिटिङ, छलफल, भेला राखे । शिक्षक–अभिभावक, शिक्षक–विद्यार्थी बीचको दूरी मेट्ने कोसिस गरे । शिक्षकलाई पठन–प्रणाली, विषयवस्तुसँग अद्यावधिक राख्न भूमिका खेले । शिक्षक तालिम, सेवा–सुविधा, दक्षतामा जोड दिए । कक्षाकोठामा आइपरेका समस्याको पहिचान गर्ने र निराकरणका लागि पहलकदमी लिए । आफू पढेलेखेको त थिइन । तर विद्यालयमा बरोबर  आइरहने समस्यासँग परिचित थिए । विद्यार्थीको चाप बढ्दै गएपछि शिक्षकको अभाव हुन्थ्यो । अनुदानका लागि गाविस, राहत शिक्षका लागि शिक्षा कार्यालय धाउँथे । दरबन्दीकै लागि नधाएको पनि महिना हुँदैनथ्यो । भेटेजति दातृ निकाय र सहयोगी संघ–संस्थाका दैलो ढक्ढक्याउँथेँ । हारगुहार गर्थें । बिन्ती बिसाउँथे । शिक्षा कार्यालयले र सम्बन्धित निकाले पनि कुरा सुन्न कञ्जुस्याइँ गर्दैनथ्यो,’ विद्यालयको अवस्था सुधार्न आफूले गरेको एकएक प्रयत्नको बेलीबिस्तार लगाउँछन् उनी ।
उनले गरेको मिहिनेतको बोट झाँगियो । लटरम्म फल लाग्यो । त्यसको लाभ नन्दराम एक्लैले उठाएनन् । काहुले र किस्पाङको सम्पत्ति भयो । बालबच्चाको भविष्य बन्यो । ऐँसेलुभूमेको आभा गाउँ–गाउँ फिँजारिँदै नुवाकोटव्यापी बनेको छ । २०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालको एसएलसी नतिजामा सामुदायिकतर्फ जिल्लाका सबै विद्यालय उछिन्यो । त्यसपछि भने नन्दरामले विश्राम लिन खोजेका थिए । अगुवाइको जिम्मेवारी अरूकै काँधमा सुम्पिएर र आफू परै बसेर विद्यालयको प्रगतिको साक्षी बन्न मन लागेको थियो । तर समुदायको शिक्षाको निम्ति पसिना बगाउने बानी परेका नन्दराम जिम्मेवारीबाट सजिलै पन्छन कहाँ सक्थे र ! पाउँथे र !
समुदायले अग्रसरता देखाए सामूहिक विद्यालय पनि अब्बल हुन्छ भनेर उदाहरणीय बनिरहन आफैं प्रेरित भइरहे । २०७२ सालको विस्मयकारी भूकम्पले विद्यालय खण्डहर तुल्याएपछि उनले झनै गह्रौं भारी उचाल्नुपर्यो । ‘दुःखजिलो गरेर ठड्याएको विद्यालयमा भूकम्पको आँखा लाग्यो । श्रमदानमा ठड्याएका अधिकांश भवन खण्डहर बने । पुरानै चित्रेगोठ, टहरामा फर्कनुपर्ने अवस्था आइलाग्यो,’ उनी भूकम्पको कहर शब्दमा समेट्न खोज्छन् ।
भूकम्पले विनाश मात्रै निम्त्याएन । विकासको बाटो पनि खोलिदियो । भूकम्पलगत्तै ऐँसेलुभूमे देशभर सञ्चालित २२२ नमुना विद्यालयमा पर्याे । नमुना विद्यालय पाउनुका पनि आफ्नै दुःख छन् । कुल ६ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेकाले कक्षागत विद्यार्थीको योग पुग्थ्यो । विद्यालय भू–क्षयलगायत प्राकृतिक प्रकोपको जोखिममा थिएन । तर, नमुना विद्यालय सञ्चालन गर्न न्यूनतम १० रोपनी जग्गा आवश्यक पथ्र्यो । विद्यालयको नाममा नन्दरामले नामसारी गरेर दिएको चार रोपनी जग्गाभन्दा थिएन । यसपटक पनि उनले ठूलो छाती देखाए । विद्यालयले तिर्न सक्नेभएपछि बुझ्नेगरी आफ्नो नाममा रहेको जग्गा नामसारी गरे ।
जग्गा र भौतिक, शैक्षिक पूर्वाधार विकासका लागि गरी उनले १५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । ऋण स्वरूप उपलब्ध गराए पनि विद्यालयको स्रोत व्यवस्थापन भएपछि शोध भर्ना लिने बताउँछन् । त्यसबाहेक नुमना विद्यालय व्यवस्थापनको कार्यक्रम ल्याउन गर्नुपरेको धामा शब्दमा समेट्न दुरुह छ ।
अहिले देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समिति राजनीतिक दलका क्रिडास्थल बनेका छन् । अभिभावकसम्म पहुँच विस्तारका लागि सजिलो हुने र कद बढाउन सजिलो ठानेर नेतृत्व हत्याउन राजनीति दलबीच मारमुङ्ग्री चल्छ । तराईका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको छनोटमा हिंसात्मक घटना भएका खबरहरू अखबारमा पढ्न पाइन्छ । अधिकांश ठाउँमा नेतृत्व छान्न चुनावै हुन्छ ।
त्यहीँ पर्तिर, किस्पाङ–२, सातदोबाटोको ज्ञानज्योति माविमा पनि दलीय सहमति नजुट्दा विद्यालय व्यवस्थापन समितिले अध्यक्ष पाएको छैन । तर ऐँसेलुभूमेको विद्यालय व्यवस्थापन समितिको नेतृत्व ३१ वर्षदेखि नन्दरामकै काँधमा छ । तदर्थ समिति बन्दा केही महिना सूर्यबहादुर वाइवा संयोजक बनेका थिए । त्यसपछि नन्दराम अबिराम छन् । ‘विद्यालय व्यवस्थापनको नयाँ नेतृत्व चुन्ने बेला भएपछि गाउँमा सर्वपक्षीय सहमति बन्छ । सबै दल, भद्रभलाद्मी एकमुख लागेर ‘तैं बन्नुपर्छ’ भन्छन् । समाजले दिएको जिम्मेवारी कसरी नाईंनास्ती गरूँ !’ पुलकित हुँदै सुनाउँछन् । ऐँसेलुभूमे विद्यालयको प्रगतिको शृङ्खला रोकिएको छैन । गएको सोमबार मात्रै भारतीय दूतावासको सहयोगमा साढे चार करोडको लागतमा बनेकोे १५ कोठे भवन उद्घाटन भयो । भूकम्पबाट विद्यालय भवन ढलेपछि नन्दरामको जाँगर ढलेको थिएन । लगन–शील धूलिसात भएको थिएन । भवन निर्माणमा सहयोग गर्न दातृ निकायको ढोका ढक्ढक्याइरहेका थिए । ‘के खोज्छस्... आँखा ! भनेझैँ पो भयो । शिक्षा विकास तथा समन्वय इकाइ आफैंले भारतीय दूतावासलाई प्रस्ताव पेश गरिदिएछ । प्रस्ताव स्वीकृत भयो । भूकम्पपश्चात् शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान कार्यक्रममार्फत् ४ करोड ४७ लाख लागतमा ९ र ६ वटा कोठा भएको दुईवटा भवन र सुविधासम्पन्न शौचालय निर्माण भयो,’ उनी खुसी हुँदै सुनाउँछन् ।
विद्यालयले समयको वेग पछ्याएको देखेकाले र हृदयङ्गम गरेकाले हुनुपर्छ सम्झौता मितिभन्दा एक महिनाअघि नै भवन निर्माण सम्पन्न भयो । अघिल्लो वर्षको मङ्सीर २७ गते निर्माण सम्झौता भएको थियो । यो वर्षको माघ २७ गते पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे । ‘भवन निर्माणको जिम्मा लिएको जोशी याङ्ग्रीले पनि हाम्रो गतिलाई बुझेजस्तो छ,’ यसपटक नन्दराम मच्चिएरै हाँसे ।
नमुना विद्यालयका अतिरिक्त ऐँसेलुभूमेमा प्राविधिक शिक्षाअन्र्तगत ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाइ भइरहेको छ । प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रम सञ्चालित छ । नर्स कार्यक्रमले विद्यार्थीको आकर्षण बढाएकै छ ।
चुनौतीका रूपमा विद्यालय छाड्ने दर छ । पठनपाठन कार्यकलापलाई समय सुहाउँदो बनाएर त्यसमा कमी ल्याउन विद्यालय लागि परेकै छ । विषयगत शिक्षकको मात्रा थप्ने र पढाइलाई परीक्षामुखी नभइ परिणाममुखी बनाउन उत्तिकै चनाखो छन् नन्दराम । ‘किस्पाङलाई शैक्षिक र पर्यटकीय हब बनाउने दीर्घकालीन योजना छ । ऐँसेलुभूमे यसैको आधार हो,’ यति भनेर नन्दरामले कुराकानी बिट मारे । –बाह्रखरीबाट साभार



सामाजिक सञ्जालबाट

धुर्मस सुन्तली फाउण्डेसनद्धारा चितवन जिल्लामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ नुवाकोट जिल्लाका आइचर व्यवसायीहरूले ३५ गाडी बालुवा र गिट्टि सहयोग गरेका छन् । उक्त सहयोग सामाग्री लिएर नुवाकोटबाट चितवन जानेक्रममा विदुर नगरपालिकामा शनिवार लामबद्ध आइचरहरू । 

संस्कृति संरक्षणमा ल्होसार

कोलोनी\कला, संस्कृति, भाषा, धर्मको प्रवद्र्धन र जगेर्नाका लागि आयोजित ल्होसार विशेष सांस्कृतिक कार्यक्रम शुक्रवार विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद हितबहादुर तामाङले जातिय बिशेष संस्कृतिले मुलुक धनी रहेको बताए । कला, संस्कृतिमा नेपाल धनी रहेको बताउदै जातिय बिशेष संस्कृतिको संरक्षणमा जोड दिएका छन्
बृहत सोनाम ल्होछार मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले संस्कार र संस्कृतिको जगेर्ना गर्ने पर्बको रुपमा ल्होसारलाई लिनु पर्ने बताए । धार्मिक सहिष्णुता, भातृत्वको प्रतिम्वको रुपमा ल्होसारलाई लिनु पर्ने उनले बताए । 

सम्वृद्धिको आभाष नागरिकले गर्न पाएनन् : केसी


बट्टार\नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्रि अर्जुननरसिंह केसीले स्थायी सरकार भएपनि नागरिकहरूले सम्बृद्धिको आभाष गर्न नपाएको बताए ।
गएको सोमवार छैटौँ नुवाकोट महोत्सबको समापन गर्दै नेता केसीले सरकारको दुई तिहाई दम्भबाट नागरिकहरू आजित भएको बताए । सदनदेखि सडकसम्म सरकारको बिरोधमा नागरिकहरू उत्रिन थालिसकेको उन भनाई छ । विरोधी पार्टीमा आस्था राख्नेहरूलाई भ्रष्टाचार र अन्य आपराधि मुद्दा लगाउने र आफ्ना कार्यकर्ताको संरक्षण गर्ने अभियानमा सरकार रहेको केसीको आरोप छ । ‘यही कारणले जनताले नेकपालाई २०७९ सालमा पत्तासाफ गर्नेछन्’ काँग्रेस नेता केसीले भने । 

रञ्जना लिपी कार्यशाला

विदुर\
लोकतान्त्रिक चौतारामा एकदिने गएको साता रञ्जना लिपी कार्यशाला र क्याली जात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा नेवार मात्रै नभई तामाङदेखि ब्राम्हण क्षेत्रीसम्मले सहभागिता जनाएका थिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता थियो । १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।
नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपी महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छर । संयुक्त राष्ट्रसंघमा नेपालको लिपीमा दर्ता भएको रञ्जना लिपीको प्रवद्र्धनका लागि नुवाकोटमा एक दिने कार्यशालाको आयोजना गरिएको क्लबका अध्यक्ष सुनील श्रेष्ठले बताए । उनले भखैरै सम्पन्न छैठौं नुवाकोट महोत्सवको टाईटल पनि रञ्जना लिपीमै बनाएको जानकारी दिए ।
कार्यशालामा पृथ्वी मावि, स्पार्कल एकेडेमी, कल्याणकारी विद्या मन्दिर, नव जीवन मन्टेश्वरीका विद्यार्थी र शिक्षक शिक्षिका लगायतले सहभागिता जनाएका थिए । सेतो कागजमा रञ्जना लिपीका साधारण शब्द कोर्न सिकिरहेका विदुर नगरपालिका वडा नम्बर ४ का सदस्य बशन्त रिजाले मौलिक लिपीबारे सुने पनि त्यसबारे अध्ययन गर्न नपाएको बताए ।
रञ्जना लिपीले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउने भएको यसको लेखनलाई सिकाईको माध्यमबाट व्यवहारमा उतार्दै लैजाने र नुवाकोटमा मात्र नभई रसुवामा पनि प्रवद्र्धन गर्नुपर्ने कलाकार शशीकुमार डंगोलले धारणा राखे । लिपीको अध्ययनबाट घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपीहरू सजिलै बुझ्न सकिने नेपाल लिपी गुथीका सचिव पवित्र कसासले बताए ।
कार्यशालामा कतिपय भने लेख्न मात्र नभएर बोल्न पनि सिकिरहेका थिए । कतिपयले मसी छोप्दै लेख्नुपर्ने झन्झट मानिरहेका थिए । पहिलो चरणको सुरुवात भएर लिपी लेखनको लागि कलमलाई साटो कुचोको ड़ाठलाई प्रयोग गरिएको  गुठीका सचिव कसासले बताए । त्यस्तै, छैठौं नुवाकोट महोत्सवस्थलमा पनि रञ्जना लिपी क्याली जात्रा गरिएको क्लबका सचिव प्रदीपकुमार पण्डितले जानकारी दिए । क्याली जात्रामा नेपाल लिपी गुठीका उपाध्यक्षको समुहले महोत्सवमा आउने अवलोकनकर्ताहरूको नाम रञ्जना लिपीमा लेखेका थिए । रञ्जना लिपीमा लेख्न मिल्ने मोबाइल एप ‘रञ्जना स्क्रिप्ट’बाट नेपालमा प्रचलित पुरानो लिपी रञ्जनाको वर्णमाला सिक्न र रञ्जना लिपीमा लेखेर सामाजिक सञ्जालमा सेयर गर्न मिल्नेछ ।
कार्यशाला त्रिशुली सामाजिक क्लब, पिपलबोट समुह, न्यू स्पोर्ट्स ब्वाईज क्लब, कोलेनी थ्रीडी क्लब, नुवाकोट युनाईटेड फुटबल क्लब, दारी ग्याङ्ग, सामथ्र्य नुवाकोट, नुवाकोट जेसीज, र समृद्ध नुवाकोटको संयुक्त सह–आयोजनामा भएको हो ।

एकै वर्षमा ८३ लाख रुपैयाँको दुध विक्रि

तस्बिरहरू : भगवती लामा\नुवाकोट न्युज
काहुले\नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ काउलेमा अवस्थित शुभ नव विहानी कृषि सहकारी सस्था लिमिटेडले एक वर्षमा ८३ लाख रुपैयाँ बरावरको दुध संकलन गरेको छ ।
गाइभैसी पाल्न किसानलाई उत्प्रेरणा दिन र उत्पादन भएको दुधको सहज रुपमा बजारीकरणको व्यवस्था गर्न सहकारीले गत वर्षदेखि दुध सकलन केन्द्र सञ्चालनमा ल्याएको थियो । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको अवसरमा सहकारीले एक विशेष कार्यक्रम गरी सर्वोत्कृष्ट, उत्कृष्ट र सङ्कलन केन्द्रमा दुध ल्याउने सम्पूर्ण किसानहरुलाई क्याल्सियम वितरण गरेको छ । सहकारीका अध्यक्ष क्षेत्रबहादुर तामाङको अनुसार दुध सङ्कलन केन्द्रमा दुध सङ्कलन गर्ने मध्येहरुमा त्रिशक्ति पशुपालन फर्म, शाहिल घले, कुवेरमान तामाङ, प्रेममायाँ तामाङ, चन्द्र तामाङ, जयराज तामाङ र रविन्द्र तामाङ सर्वोत्कृष्ट किसानमा छनौट भएका थिए । सहकारीलाई दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन गाउँपालिकाको २ लाख रुपैयाँ, वडा नम्बर ३ को कार्यालयले ३ लाख रुपैयाँ र वल्र्ड रिन्यू नामक सस्थाले आवस्यक सामाग्री सहयोग गरेको थियो । अहिले काहुले, भाल्चे र फिकुरीका किसानहरुले पालेको गाइभैसीबाट उत्पादन भएको दुध उक्त सहकारीले सङ्कलन गर्दै आइरहेको सहकारीका सचिव आरएन न्यौपानेले बताए । उक्त दुध सङ्कलन केन्द्रमा सङ्कलित दुधबाट पनिर बनाएर काठमाडौँमा निर्यात गर्नु गरेको सचिव न्यौपानेले बताए ।

दुध संकलन केन्द्र सञ्चालनमा आएका एक वर्षको अवसरमा आयोजिक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमबहादुर घर्ती, लेखा अधिकृत सविना अर्याल लगायतको सहभागिता रहेको थियो । किस्पाङ गाउँपालिकाले पशु पालन र दुग्ध व्यवसायलाई प्रोत्सहान गर्न गाइभैसीलाई सुत्केरी भत्ता दिदै आइरहेको छ । 

सुख्खा बन्दरगाह निर्माणमा कामदार अभाव

धुञ्चे\रसुवा नाकामा निर्माण थालिएको सुख्खा बन्दरगाहका लागी कामदारको अभाव देखिएको छ ।
मंसिरदेखि निर्मााण कार्य सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो । निर्माणमा कार्यरत २४ जना चिनियाँमध्ये ९ जना कामदार मात्र अहिले कार्यरत छन् । बाँकी नयाँ वर्ष मनाउन चिन गएका छन् भने कोरोना भाइरसका कारण पनि कामदार आउन सकेका छैनन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भएपनि पर्याप्त छैनन् ।
बन्दरगाह निर्माणका लागी पर्याप्त कामदार नहुँदा कामले गतिलिन नसकेको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । बन्दरगाहको निर्माणको कामले गति लिएको पनि छैन, बन्दरगाहको निर्माणको काम सात प्रतिशतले सकिएको छ । चिन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बन्दरगाह निर्माणको जिम्मा फुलि कन्स्ट्रक्सनले पाएको छ ।
अहिले सामाग्री आयात गर्न‘का साथै जग्गा सम्याउने कामगरिसकेको छ भने निर्माण कार्य भईसकेको र मुआब्जा पाउन बाँकी रहेका प्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ । चीन सरकारको लगानीमा चिनियाँ टोलिले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गर्छाै नेपाली पक्षले के काम गर्ने र चिनियाँ पक्षले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ । डिजाइन अनुसारको काम पहिलो चरणमा पुरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरीनेछ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा बन्ने बन्दरगाहका लागी आवश्यक पर्ने जग्गा अधिकरण गरि सकेको छ ।
लाङटाङ राष्ट्रिय निकुन्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ । चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षीय सम्झौता भएको छ ।
समितिले २०७५ माघ १ गते चीनको छेन्दूमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो । नेपालीपक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामाग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगाएतका कार्य गर्ने छ ।
निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन निगरानी र समन्वयको भुमिका निर्वाह गर्नेछ । ‘आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ द तिबेत अटोनोमस रिजन’ले डिजाइन तयार पारेको थियो । बन्दरगाहमा पार्किङ स्थल, गोदाम घर, प्रशासनिक भवन जाँचपास स्थल, भन्सार, क्वारेन्टाइन, बैक, ल्याब रहनेछ ।
बन्दरगाहमा पाँच हजार १ वर्ग मिटरको पाँचतल्ले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्ग मिटरका दुई वटा गोदाम जाँचपास स्थल रहनेछ । बन्दरगाहमा ३५० वटा माल बाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे आठ हेक्टर जमिनमा बन्दरगाह बन्न लागेको हो ।

२०७६ फागुन ५ गतेको सम्पादकिय

जनतालाई सुन र बुझ
भुकम्प पछिको पुनर्निमाणका लागि नुवाकोटमा भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) ले सञ्चालन गरेको परियोजना सुरुदेखि नै विवादित छ । गएको सोमवार नुवाकोटका १० स्थानीय सरकारका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति प्रमुखलाई भारत भ्रमणमा लगेपछि स्थानीय सरकारप्रति नै नागरिकले अनेकौं सवाल गर्न थालेका छन् । परियोजनाको प्रगती र भए गरेका कामहरूको समीक्षा र पारदर्शिताको खोजी नागरिकस्तरबाट भइरहेकै बेलामा परियोजनाले लाखौं खर्चेर जनप्रतिनिधिलाई तिर्थ यात्रामा लगेपछि भने केहि गम्भिर सवालहरू ठडा भएको छ । बेलकोटगढी नगरपालिकाको स्थापना दिवसको विवाद यही सन्र्दभमा बाहिर आयो, स्थानीय सरकार पहिलो र दोश्रो व्यक्तिको छ दिनसम्म लगातार पालिकामा रहने अनुपस्थितिले जनप्रतिनिधिहरू नागरिकहरूसंग कम जवाफदेही छन् की भन्ने आंशका जन्मायो । 
गाउँपालिका र नगरपालिका अनि त्यहाँका प्रमुख उपप्रमुखहरूसंग नागरिकहरूले गर्ने अपेक्षा र अपेक्षा अनुसारको काम नभएको तिक्तता र गुनासो सबै प्रसङ्ग र घटनाक्रममा बाहिरिदै आएको छ । स्थानीय सरकारलाई आम नागरिकहरूले पेश गर्ने सुझाव र टिप्पणीलाई सम्वन्धि पक्षले ग्रहण गर्नुको सट्टा ‘झोक फरेको’ रुपमा मात्रै बुझ्ने गरेको पाइएको छ । सरकारले गर्ने काम कारबाहि र गतिविधिहरूको सवालमा सचेत नागरिकहले राखेका धारणालाई आत्मसाथ गर्ने वा साझा हितका लागि ग्रहण गर्न समीक्षा गर्ने सम्मको चलनको खाँचो टड्कारो छ । आफु जनताबाट अनुमोदन भइसकेको र आफ्नो निजी बिचार, व्यहार,योजना सर्वस्विकार्य हुनैपर्छ भन्ने भ्रम र मान्यता जनप्रतिनिधिहरूमा पाइन्छ । जसले गर्दा नागरिक, नागरिक समाज र स्थानीय सरकारबीचको दुरी र खाडल गहिरिदो छ । यसबाट सरकारप्रति आम नागरिकहरूको अपनत्व र सदासयतामा कमी हुँदै गइरहेको छ । ‘जो जिता व सिकन्दर’ को शैलीमा चलिरहेका सरकारका कारण संविधानले परिकल्पना गरेको गाउँगाउँमा सिंहदरवारको सपनाले मुर्त रुप नपाउने देखिन्छ । बढ्दै गएको दुरी कम गर्न स्थानीय सरकारहरूले नागरिकसंग सम्वन्ध सुधार र जनतालाई सुन्ने अनि बुझ्ने अभियान चलाउनु जरुरी देखिन्छ ।