Saturday, March 07, 2020

तेश्रो पटक कुमारी पुजा

प्रितिका थापा
नुवाकोट दरवार\नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कुमारी पुजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए । त्यस अवसरमा उनले संस्कृति संरक्षणका लागि नागरिक र सकरका बरोवरी हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । उनले पहिचान गराउने संस्कारको बिकाश संरक्षण तथा कुप्रथाको परिबर्तन गर्नुपर्ने बताए ।
पृथ्वीनारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृति र भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रिय धरोहरको सबै मिलेर संरक्षण गर्नुपर्ने खनालले बताए ।
संघिय सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मिकक्षेत्रको अबलोकन भ्रमणका लागि काठमाडौंका जनप्रतिनिधि तथा कुमारी पुजामा उपस्थिती सबै सरोकारवाला पक्षहरूलाई आग्रह गरेका थिए । काडमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल सरकारले बिकास निर्माणको कामसँगै पर्यटकीय, धार्मिक सम्पदाको क्षेत्रमा निकै बिकास गरेको बताए ।
बागमती प्रदेश सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सांसद केशवराज पाण्डेले धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धमा आफु लागी पर्ने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नेताहरू राजु नापित, बिरेन्द्रकुमार शाही लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो । ह्युमत महिला समुह काठमाडौं नेपालको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवी कुमारीहरूको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडांैका अध्यक्ष मचानानी महर्जनले बताए । समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरू रहेको स्थानमानै भक्तजनहरूका साथ २०७० साल देखी पुजा सुरु गरेको बताएको छ । यो समुहले २०७३ मा दोश्रोपटक पुजा गरेको थियो ।
    समुहले माघ ११ मा उपत्यकाको ८ जिवित देवी कुमारीहरूको पुजा सम्पन्न गरी  नुवाकोटको कुमारीको पुजा गरेको हो । पुजाकालागि काठमाडौ बाट झण्डै ७ सय जना भक्तजनहरू नुवाकोट आएका थिए ।
नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवी कुमारीको रुपमा पुँजिदै आएकोे छ ।
नुवाकोटकी जिवित देवी कुमारी इतिहास
रिना खनाल
विदुर\नेपालको इतिहासमा नुवाकोटको विशिष्ट स्थान छ । सयौं वर्षअघि देखिको आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल हो, नुवाकोट । ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको नुवाकोट आफैंमा दर्शनीय त छ नै यसलाई विश्व समुदायमाझ चिनाउन सकियो भने काठमाडौं आउने कुनै पनि पर्यटक नुवाकोट भ्रमण नगरी फर्किने छैन । यहाँको मौलिक कला, संस्कृति एवं दर्शनीय स्थलहरूको आकर्षणले पक्कै मुग्ध बनाउने छ ।
नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ–तीमध्ये एक हो कुमारी ।    हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौंको बसन्तपुरमा रहेको जीवित कुमारीलाई मात्र बुझ्ने गर्छौं । यहाँकी कुमारी राजकीय मानिन्छिन् । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका व्यक्तिहरू पुग्छन् । तर यति मात्र होइन, नेपालका विभिन्न स्थानमा जीवित देवीस्वरूपा कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् । त्यस्तै, नुवाकोट मण्डला (दरबार क्षेत्र)का जात्राहरूमा कुमारी नभइ हुँदैन । विभिन्न जात्राहरूमा कुमारीकै विशेष भूमिका रहन्छ ।
नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरबार क्षेत्र) मण्डलामा रहेकी छन् । जहाँ २०७० सालदेखि हाल ७ वर्षीया दिनिशा डंगोललाई कुमारीका रूपमा पूजा गरिँदै आएको छ । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारी प्रथाले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च र जीवन्त राखेको छ । कला र संस्कृति सधैं कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरू भयो भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै तोक्न मिल्ने कुनै लिखित प्रमाण छैनन् ।
तथापि, नेपालको इतिहासमा कतिपयले लिच्छवी राजा मानदेवले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरूआत गरेको भन्ने पाइन्छ ।

त्यस्तै, अर्को मान्यता, मल्लकालीन समयमा राजालाई सपनामा तुलजा भवानीले आफ्नो खलकमा अन्तिम राजा भएको र शासन अवधि १२ वर्षभन्दा बढी समय टिकाउने हो भने पुजारीहरूको खलकबाट भवानीको प्रतिरूपमा बालिकालाई कुमारी बनाएर मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न‘ भनिएको जनश्रुति रहेको छ । सपनाकै आधारमा राजाले कुमारी पूजा गर्न थालेको र त्यो प्रथालाई निरन्तरता दिइएको हो भनिन्छ ।
अन्तिम मल्लहरूका अन्तिम राजा जयप्रकाश मल्लले १८ वर्ष शासन गरे र आफ्नो शासनकालमा कुमारी पूजालाई निरन्तरता दिएका थिए । त्यसपछिका शाह राजाहरूले पनि यो परम्परा
तोडेनन् । कुमारी पूजाको सन्दर्भमा विभिन्न सांस्कृतिक तथा धार्मिक मान्यता रहेका पाइन्छन् । धार्मिक रूपमा कुमारी पूजा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा प्रतीकका रूपमा लिइन्छ । बौद्ध धर्मावलम्बीहरूले कुमारीलाई बज्रदेवीको रूपमा पूजा गर्ने र हिन्दुहरूले भवानीको रूपमा पुज्ने गरेका छन् ।
कुमारीको पूजा देश र जीवनको रक्षाको रूपमा गरिने भैरवीका पूजारी हरिमानसिंह डंगोल भन्छन्, ‘कुमारीको पूजा देश र जीवनको रक्षाका निम्ति गरिएको हो ।’ कतिपय कुमारी पूजा गर्न‘ भनेको कौमार्यको सम्मान गरिएको अर्थमा पनि बुझ्छन् । वास्तवमा भन्ने हो भने कुमारी भनेको स्त्री जीवन चक्रको प्रारम्भिक अवस्था हो ।
त्यसैले हुनुपर्छ, रजस्वला नभएसम्मको अवस्थालाई कुमारी भन्ने गरिएको ।
जानकारहरूका अनुसार जबदेखि यहाँ मानव बस्ती बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । यो नेवार समुदायमा बढी प्रचलनमा रहेको, वर्षौंदेखि चल्दै आएको मौलिक, संस्कृति त हो जाति विशेष जनाउने पहिचान पनि हो । नुवाकोटको प्रसिद्ध देवीका पूजारी डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरूप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।
नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि पछिल्लो समयमा आएर यो प्रथा छायामा पर्दै गएको प्रतीत हुन्छ ।
नेपालमा राजकीय कुमारीबाहेक विभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय कुमारी, काठमाडौं मखनटोलको कुमारी, काठमाडौं किलाथलको  कुमारी, टोखाको कुमारी, भक्तपुरको कुमारी, पनौतीको कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको कुमारी, साँखुको कुमारी, पनौतीको कुमारी र नुवाकोटको कुमारी । यसरी सय स्थानहरूमा कुमारी रहेको बताइन्छ । विगत केही वर्षदेखि काठमाडौंका ह्यूमत महिला समूहले, यस संस्थाका प्रचारप्रसार संयोजक राजु नापितले बताएअनुसार, हरेक तीन तीन वर्षमा विभिन्न कार्यक्रम गरी कुमारी पूजा गर्दै आइरहेको छन् ।
यो संस्था कुमारीको प्रचारप्रसार गर्दै यस प्रथाको संरक्षण गर्न‘पर्छ भनेर लागि परेको छ । कुमारी पूजामा स्थानीयहरूको चासोमा कमी रहेको देखिन्छ । यस सम्बन्धमा स्थानीय सरकारको ध्यान जान जरूरी छ । यस्तै, स्थानीय सांस्कृतिक पहिचानले नै समृद्ध नेपालको राजमार्ग बन्न सम्भव हुन्छ । कुमारी भन्ने बित्तिकै यसलाई नेवारी समुदायको पहिचान मात्रै हो भन्न मिल्दैन, यो नेपालकै पहिचान हो । हरेक घरमा कन्या कुमारीको पूजा गर्ने चलन रहेको छ । जीवित कुमारी देशका ११ स्थानमा रहेको कुरा पनि प्रचारप्रसारको कमीले नुवाकोटकी कुमारीबारे कमैलाई मात्र जानकारी भएको स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् ।
विभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ । स्थानीय जात्राहरूको संरक्षणतर्फ यसर्थ स्थानीय समुदाय तथा सरोकारवालाहरूको पनि विशेष ध्यान जानु जरूरी देखिन्छ ।
पुजा गर्न आएका झलनाथले अरु के भने ?
सरोज डंगोल
विदुर\नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । शनिबार विदुरमा प्रेस सङ्गठन नेपाल नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताएका हुन् । पत्रकारले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै नेता खनालले भने– ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’ उनले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताएका छन् ।

उनले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताए । ‘पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, खनालले भने । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को शंसोधन पछि मात्रै पारित गर्नु पर्ने बताए । उनले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति अध्ययन गरेकाले शंसोधनको आबाश्यक रहेको बताए । एमसिसी शंसोधन भएमा मात्रै संसदबाट पारित हुने उनको धारणा रहेको छ । नेकपा पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको थियो । खनाल कार्यदलका सदस्य थिए ।


बट्टार क्याम्पसको ३४ औं बार्षिक उत्सव

बट्टार\नुवाकोट, रसुवा र धादिङ्गको अग्रणी क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न सम्पन्न भएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शिक्षा समाज परिवर्तनका लागि नभई नहुने स्थायी साधन भएको प्रमाणित भई सकेकोले पुनः प्रमाणित गर्न नपर्ने कुरामा जोडदिए ।
उनले शिक्षाले नै समाज परीवर्तन गर्न सकिने भएकोले युग अनुसारको सूचना सञ्चार तथा प्रबिधिको प्रयोग गरी शैक्षिक स्तर माथि उठाउनु पर्ने कुरामा जोड दिएका छन् । नेपालमा भर्खर भर्खर कम्प्युटर शिक्षा र कम्प्युटर प्रणालीको सुरुवात भएको अवस्थालाई स्मरण गर्दे केही वर्ष पहलिा नै भारतीय राजदुतावासको सहयोगमा उक्त क्याम्पसमा भवन सहित कम्प्युटर लाईब्रेरीको लागि आफुले निर्माण गराएको बताए । ‘म मन्त्री नै भइराख्नु पर्दैन नुवाकोट जिल्ला र यस क्याम्पसको विकासका लागि, पदमा हुदाँ वा नहुदाँ जतिबेला पनि भौतिक तथा शैक्षिक क्षेत्रको बिकासका लागि सक्दो सहयोग रहिरहने छ’ डा. महतले भने ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङले जुनसुकै क्षेत्रमा गुरु योजना बनाएर कार्य गर्दा सफल हुने भएकोले नुवाकोटको शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसको बिकास शैक्षिक श्रोत केन्द्रको रुपमा बिकास गरी अघि बढ्नु पर्ने कुरामा जोड दिए ।
यस्तै, कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष रामेश्वर उपाध्यायले क्याम्पसको शैक्षिक योगदानको चर्चा गर्दै क्याम्पसको शैक्षिक भौतिक बिकासमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काँग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले ऐतिहासिक बट्टार क्याम्पसलाई उत्कृष्ठ शैक्षिक गन्तब्यको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले देश भरीको क्याम्पसमध्ये ४५ क्याम्पसहरू छनोटमा ४३ स्थानमा उक्त क्याम्प्स छनोट भएको र क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तर अभिबृद्धिका लागि बिभिन्न निकायहरूसंगको समन्वय तथा सहयोगमा गरेका प्रयासहरूको बारेमा जानकारी गराए । उनले आगामी दिनमा क्याम्पसलाई उत्कृष्ठ शैक्षिक थलोको रुपमा बिकास गर्न क्यूएए अर्थात् गुणस्तर सुनिश्चितताको प्रत्याभुतिका प्रमाण पत्र यसै वर्ष प्राप्त गरी क्याम्पसलाई देशको नमुना क्याम्पस बनाउने बताए । उनले गएको असारको ७ देखि ९ गते सम्म क्याम्पसमा क्यूएएका लागि प्रिभिजिट सम्मन्न भईसकेको र प्रिजिटले औल्याएका सुझावहरू छिटै कार्यान्वयन गरी अन्तिम भिजिटका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । क्याम्पसका संस्थापक शिवप्रसाद गजुरेलले क्याम्पसको शैक्षिक आरोह अवरोहका बारेमा चर्चा गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरेका छन् ।
क्याम्पसका सञ्चालक समितिका सदस्य निवर्तमान तथा विदुर नगर पालिकाका पुर्व कार्यकारी प्रमुख लिलानाथ न्यौपानेले पनि क्याम्पसको शैक्षिक गतिबिधिको चर्चा गर्दै सरोकारवालाहरूलाई क्याम्पसको विकासमा र क्यूएए प्राप्त गर्नका लागि एक जुट भएर लाग्न अपिल गरे । क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले आर्थिक वर्ष २०७६।७७ सालको  २ करोड ८१ लाखको आयब्यय र आब २०७६।७७ को अनुमानित ४ करोड ६८ लाख रुपैयाँको बजेट पेश गरे । पूर्व क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको समग्र उत्तरचढावको चर्चा गर्दै क्याम्पसको बिकासमा कसैले रोक्न नसक्ने र सबैको सहकार्यमा हरेक प्रगती सम्भव हुने कुरा उल्लेख गरेका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघका जितेन्द्र अर्यालले पेशागत हकहितमा सदैव लाग्ने तथा प्राध्यापकहरूले आफ्नो दायित्व निर्वाह गर्न चुक्न नहुने बताए ।
कार्यक्रममा लिखु गाउँपालिका वडा नं. ३ का रुकुमणी सेढाईका प्रतिनिधि तथा क्याम्पसका संस्थापक एवं सञ्चालक तर्कराज सिलवाल ले स्वर्गिय सान्नानी सिलवालल असाहय गरीब तथा जेहेन्दार बिद्यार्थी अक्षय  कोषबाट असाहय गरीब तथा जेहेन्दार २ जना बिद्यार्थीहरू श्रीराज पाण्डे र योजना  अधिकारीलाई जनही पाँच् पाँच हजारका दरले छाज्ञवृीत्त प्रदान गरे । स्वर्गिय बलबहादुरभक्तकुमारी प्याकुरेल स्मृति उत्कृष्ठ बिद्यार्थी सम्मान पुरस्कार अक्षय कोषका संरक्षक नानीकाजी प्याकुरेलले असाहय गरीब तथा जेहेन्दार ५ जना बिद्यार्थीहरू ज्योती भुजेल, प्रकृती अधिकारी, निर्जला भट्ट, बिशाल घिमिरे र श्रीजन रिजाललाई जनही दुई÷दुई हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । सिलबाल समाजको तर्फबाट हरेक बर्ष झै यस वर्ष पनि कोषका संस्थापक सुरज सिलबालले पञ्चमाया तामाङ र भगवती तिमिल्सिनालाई दुई हजार पाँच् सय रुपैयाँको दरले छात्रबृत्ति प्रदान गरेका थिए ।
सानिमा बंैक विदुर शाखाका प्रबन्धक भोलाराज पन्तले हरेक बर्ष २ जना बिद्यार्थीका लागि लाग्ने सम्र्पूण किताब, कापी स्टेशनरी लगायत क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क समेत प्रदान गर्दै आएकोमा क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो । प्रभु बैंक बट्टार शाखाका प्रबन्धक दिपक सिंखडालाई क्याम्पसका फुटबल खेलाडीलाई जर्सी उपलब्ध गराए बापत पनि सम्मान गरियो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, होटल ब्यावसायी संघ बागमती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, नेपाल शिक्षक संघ नुवाकोटका पुर्व अध्यक्ष श्री सापकोटा, क्याम्पसका पुर्व स्वबियु सभापति लक्ष्मण श्रेष्ठ, अनेरास्वबियुका अध्यक्ष बिष्णुहरि रिमाल सत्य, नेविसंघका अध्यक्ष अनिल ढकाल, अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष राजेन्द्र पनेरु लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा उत्कृष्ठ अभिभावक तथा बिभिन्न बिधामा राष्ट्रिय स्तरमा उत्कृठ बिद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७५ मा क्याम्पस टप गर्ने, बिभिन्न संकायमा प्रथम, द्धितीय तथा तृत्तिय र अतिरिक्त कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

सालको काठ सहित पक्राउ

सहरेटार\नुवाकोट प्रहरीले अबैध काठ बोकेको एक थान गाडी सहित दुई जनालाई डिभिजन वन कार्यालय विदुर नुवाकोटमा बुझाएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नम्वर २ कबिलासबाट अबैध सालको काठ चोरी निकासी गर्दै गरेको अबस्थामा सोही वडाका दीपेन्द्र राई र बिकास परियारलाई प्रहरीले गएको सोमबार पक्राउ गरेको हो ।
काठ चोरी निकासीमा प्रयोग गरिएको बा २ ख ६४४२ नम्बरको आईचार सहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटवाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

२०७६ फागुन १९ गतेको सम्पादकीय

सांस्कृतिक संवेदनशिलता
स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्कृति, सम्पदा संरक्षणमा ठोस काम हुने अपेक्षा गरिएको थियो । तर स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बित्नलाग्दा पनि सोचेअनुरूप काम हुन नसकेको नागरिकहरूको अनुभब रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानीय तहलाई सांस्कृतिक नगरी वा क्षेत्र घोषणा गर्न सक्नेसम्म अधिकार जनप्रतिनिधिलाई दिएको छ ।
स्थानिय तहको कार्यान्वयन भएसँगै ठुलो बजेट सडक पुर्बाधार बिकासमा खर्चिएपछी संस्कृति, सम्पदा संरक्षणमा चुनौती उत्पन्न भएको हो । यससँगै साँस्कृतिक सम्पदा पुनःनिर्माण र एतिहासिक गाँउको पुनःनिर्माणमा समेत चुस्तता पाउने बिस्वास गरिएको थियो । भूकम्पपछि पुनर्निर्माण थाल्ने धेरैले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन् । यसले मौलिकपन, परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेको छ ।
पुराना मौलिक शैलीका घरमा झिँगटी छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ । त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ । यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ । यसले ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडो याममा न्यानो र गर्मीमा शीतल प्रदान गर्ने ग्रामिण भुगोलका घरहरू रहेका थिए । तर बिनासकारी भुकम्प पछीको पुनःनिर्माणमा सबै कङक्रिट घरहरू बनेका छन् । जसले गर्दा एतिहासिक घरहरू र प्राचिन शैलीको लोप भएको छ ।
हुन त विदुर नगरपालिकाले नुवाकोट सम्पदा गाउँ अन्र्तगत रहेका घरहरूले पुरानो शैलीमा तयार गर्दा थप अनुदान दिँदै आएको छ । तर यसले मात्रै आफ्नो सम्पदाको संरक्षणमा टेवा पुग्दैन । विदुर नगरपालिकाले आफु भित्रका सबै गाउँमा सम्पदा झल्कने घरहरूको निर्माणमा र अन्य ११ वटै स्थानीय सरकारले नागरिहरूलाई सहयोग गर्नु जरुरी देखिएको छ । 

गल्छी रसुवागढी सडक ४० प्रतिशत बाँकी

रसुवाको मैलुङ्ग क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको
सडकको फाइल तस्बिर । 
शर्मिला उप्रेती
विदुर\राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले ६० प्रतिशत काम सकेको छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको यो आयोजना अन्र्तगतको सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ ।
पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र आयोजनाले ६० प्रतिशत कामको प्रगति गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडक स्तरोन्नति गरेको छ । अब ४० प्रतिशत काम बाँकी रहेको बताइएको छ । त्यस्तै, योजना अन्तर्गत निर्माण भइरहेको विभिन्न स्थानका ११ वटा पुलको प्रगति भने ३० प्रतिशत मात्रै रहेको छ ।
पिच नभएको ठाउँमा बेस, सब–बेस राखिएकाले बाह्रै महिना सडक सुचारु हुने आयोजनाका योजना प्रमुख भण्डारीले बताए । त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का आह्वान गरेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुनेछ । आगामी वर्षमा पहिलो खण्डको बाँकी ४० प्रतिशत काम भित्र पर्ने २३ किमि सडक पूरै पिच गरिसक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
२०७७ साल जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले ३ बर्षभित्र पूरै काम सक्ने गरी काम अघि बढी रहेको प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिनामा काम सक्ने लक्ष्य छ भने स्याफ्रुबेंसी–रसुवागढी ३९ महिनामा काम सकिनेछ । २०७२ सालको मन्त्रिपरिषद्को निर्णय अनुसार गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक गौरवको आयोजना सूचीकृत गरेको हो ।
आयोजनाको कार्यालय विदुरमा स्थापनाको समयमा नौ अर्ब ५० करोड बजेट प्रक्षेपण भएपनि त्यो रकम अहिलेनै सडक निर्माणका लागि अपुग हुने देखिएको छ ।
पृथ्वी राजमागस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि सुरु भएको हो । विसं २०७८ भित्र यो सडक निर्माणको काम सकिनु पर्नेछ ।
सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनी मार्फत भइरहेको ४६ किमिको गल्छीदेखि त्रिशुली हुँदै बेत्रावतीबाट मैलुङसम्मको कार्य कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम गरिरहेको छ । 

हेल्थ डेस्क स्थायी बन्दै

मन्त्री दुलाल रसुवागढीको हेल्थ डेक्स हेर्दै । 
विदुर\कोरोना भाइरसको परीक्षणका लागि नेपाल र चीन बीचको सिमानाका रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ ।
रसुवागढी नाका अवलोकन पछि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचमा स्थायी हेल्थ डेस्क निर्माण गर्ने बताए । नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिएका छन् । अर्को सातामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ । हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सक सहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले बताए ।
कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाल उक्त नाका बन्द गरिएको छ ।
यसै बीच, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी नाकामा राखिएको ‘हेल्प डेस्क’ को अवस्थाबारे अध्ययन अबलोकन गरेका छन् ।
मन्त्री दुलालसहितको टोली गएको आइतबार नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।  त्यहाँका कर्मचारीले चीनबाट आएका नेपाली वा चिनियाँको सुरुमा अध्ययन गर्ने, भाइरस छ वा छैन भन्नेबारे बुझ्ने र तीन पटक जाँच गरेर मात्र पठाउने गरेको जानकारी दिए । निरिक्षणपछि मन्त्री दुलालले रसुवागढी नाका हुँदै चीनबाट आउने पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्प डेस्क राखेको र यसलाई अझै व्यवस्थित बनाउने बताए । 

६२ हजारले लिए तेश्रो किस्ता

सुजित भण्डारी
विदुर\२०७२ सालको विनाशकारी भुकम्पका कारण घर क्षति व्यहोरेका नुवाकोटका ६२ हजार घरपरिवारले तेश्रो किस्ताको रकम लिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय नुवाकोटका अनुसार ७६ हजार लाभग्राही मध्ये ६२ हजार ६५० लाभग्राहीले तेश्रो किस्ताको अनुदान रकम लिएको छ ।
भुकम्प लगत्तै भएको सर्भेक्षण र त्यसपछी गुनासो सम्बोधनबाट थपिएका सहित ७६ हजार ८१६ जना लाभग्राहीहरू छन् । राज्यले भुकम्पबाट क्षतीग्रस्त भएका संरचनाको पुनःनिर्माणको लागी ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउदै आएको छ । ३ किस्तामा उपलब्ध गराउने अनुदान रकम मध्ये पहिला किस्ताको ५० हजार रुपैयाँ रकम लिने नागरिकहरूको संख्या ७४ हजार ४२२ छ ।
६९ हजार ८९८ जनाले दोश्रो किस्ताको डेढ लाख रुपैयाँ लिएका छन् । निजि आबास निर्माणको डिपिसी तहसम्मको संरचना तयार भए पछि दोश्रो किस्ताको रकम प्राप्त गर्ने ब्यबस्था छ । अन्तिम किस्ता एक लाख रुपैयाँ लिनका लागी भने लाभग्राहीले आफ्नो घरको छाना हालेको हुनु पर्ने छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएका संरचनालाई मात्रै राज्यले अनुदान रकम दिइरहेको  बताइएको छ ।
प्राधिकरणबाट गाँउमा खटिएका प्राबिधिकहरूले प्रमाणिकरण गरेर पठाएका घरहरूलाई मात्रै राज्यले अनुदान रकम उपलब्ध गराउदै आएको हो । ७६ हजार लाभग्राही रहेको नुवाकोट जिल्लामा निजि आबास निर्माण सम्पन्न गर्ने नागरिकहरूको संख्या धेरै रहेपनि मापदण्ड अनुसार निर्माण सम्पनन भएका नागरिकहरूको संख्या मात्रै प्राधिकरणसँग रहेको जनाएको छ । राज्यले तोकेको निश्चित मापदण्ड भन्दा बाहिर गएर केहि संरचना निर्माण भएकाले त्यसलाई प्रबलिकरण गरेर मात्रै अन्तिम किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।
नुवाकोट जिल्लामा सबै भन्दा बढि लाभग्राही बेलकोटगढी नगरपालिकामा रहेका छन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा बेलकोटगढी नगरपालिकामा १३ हजार ९७ लाभग्राही कायम भएका छन् ।
नुवाकोट जिल्लामा रहेका लाभग्राही मध्ये १४ हजार नागरिकहरूले अन्तिम किस्ताको रकम लिन बाँकी रहेका सरकारी तथ्याङ्क रहेको छ । यस्तै, दोश्रो किस्ताको रकम लिन बाँकी रहने लाभग्राहीको सख्या १४ सय ३९ रहेको छ ।

लाभग्राहीद्धारा रकम फिर्ता
निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम भएका तर घर बनाउन आवश्यक नठान्ने नुवाकोटका एक लाभग्राहीले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
अनुदानको लागि पाएको रकम फिर्ता गर्नेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका उत्तम अधिकारी रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानिय शाखाले जनाएको छ ।
प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिले लाभग्राही सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी सरकारले आग्रह गरेको छ ।

गुरु योजना कार्यान्वय माग
विदुर\विदुर नगरपालिका वडा नम्बर २ नुवाकोट दरबार परिषरमा पुनःनिर्माण भैरहेको सम्पदा बस्तीमा गुरु योजनाको सार्थक कार्यान्वयन आबाश्यक रहेको  सरोकारवालाले बताएका छन् । 
साततले दरबार र दरबार परिसरलाई बिश्व सम्पदा सूचीमा समाबेश गर्नको लागी युनेस्कोले सम्भाब्यताको सूचीमा समेत राखेको छ । दरबार सहित आसपासका सम्पदाको समयमा नै पुनःनिर्माण सकिएमा बिश्व सम्पदा सूचीमा सुचिकृत हुने सम्भाबना रहेको पुरातत्व बिभागले जनाएको छ ।
पुरातत्व बिभागका अनुसार नुवाकोटको ऐतिहासिक साततले दरबारको परिसरमा नुवाकोट सम्पदा बस्ति गुरुयोजना बनाएर काम अगाडी बढेको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणको लागी पुनःनिर्माण प्राधिकरणले बिशेष योजना सहित पुरातत्व बिभाग अगाडी बढेको हो । चिन सरकारले पुनःनिर्माण थालेको साततले दरबार यसको उदाहरण रहेको पुरातत्व बिभागको भनाई छ । सम्पदा बस्ती अन्तर्गत ४२८ घरधुरी समाबेश छन् । बस्तीमा मापदण्ड विपरित घरहरू बनेका छन् भने
नगरपालिकाले नियमन गर्नुपर्ने नागरिकहरूको भनाई छ । सम्पदा बस्ती अन्तर्गत सिनर्माण हुने घरहरूलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र विदुर नगरपालिकाले समेत अनुदान रकम उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्ती अन्तर्गतका घरहरूलाई निजर्माण सम्पनन भए पस्चात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप ५० हजार रुपैयाँ दिने प्राबधान छ । साथै विदुर नगरपालिकाले थप ४० हजार रुपैयाँ दिँदै आएको छ । यसका साथै नुवाकोट सम्पदा गाँउले घर नक्सा बनाउनको लागी १५ हजार रुपैयाँ समेत उपलब्ध गराउदै आएको छ ।
सम्पदा बस्तीको नियम अनुसार संरचना निर्माण गर्नेहरूको लागी थप सेवा सुबिधा समेत वडा कार्यालयले निर्धारण गरेको छ ।
एकिकृत रुपमा प्राचिन महत्व झल्किने घरहरू निर्माले पर्यटन प्रबद्धनमा ठुलो महत्व राख्ने नुवाकोट सम्पदा गाँउमा अध्यक्ष पुस्कर शर्मा रिमालले बताए ।  

सह चालकका कारण दुर्घटना

प्रितिका थापा
बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेट्दै संघीय सांसद
हितबहादुर तामाङ र बागमती प्रदेशका
 उप सभामुख राधिका तामाङ । तस्बिर : 
एलिसा थापा
विदुर\नुवाकोट र रसुवामा गत साता भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको बढि गम्भिर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । काठमाडौंका लागि गुढेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहिवार बिहान करिब सवा नौ बजे दुर्घटनामा भएको हो ।
इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीले घटनामा १६ जना घाइते भएको पुष्ट गरेका थिए । १५ घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको थियो । एक जना सामान्य उपचारपछि गाउँबाटै घर फर्किएका छन् । दुई जनाको अवस्था गम्भिर रहेकोमा सुधार भइरहेको छ । घाइतेहरूको काठमाडौंको ग्राण्डी र ग्रिनसिटीमा उपचार भइरहेको छ । 
गम्भिर थप्रेक आरुखर्कका इन्दिरा खतिवडा र अर्का एक जनालाई भने हेलिकप्टर मार्फत काठमाडौं पठाईएको थियो । बस चालक फरार छन् भने सहचालक हरि मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सहचालकले बस चलाएका बेला दुर्घटना भएको यात्रुहरूले बताएका छन् । बस सडकबाट करिब २० मिटर खसेको थियो । दुर्घटनामा थप्रेक आरुखर्ककी मंगलबहादुर तामाङ, अनिल तामाङ, रामेश्वर खतिवडा, लालरि तामाङ, सपना तामाङ, छावाछिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, विष्णु बिक, लालसिंह तामाङ, सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ, अजय तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए ।
यसै बीच, रसुवामा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर ५ का सवारी चालक ४५ वर्षीय खिलप्रसाद भट्टराई, ४२ वर्षीय हेमप्रसाद भट्टराई, रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका आइतमान तामाङ र ३२ वर्षीय बुटीमाया तामाङ छन् । उनीहरूको पनि काठमाडौंमा उपचार भइरहेको छ । शान्तीबजारबाट मैलुङतर्फ जाँदै गरेको बा३ख ५२२७ नम्बरको खाली मिनिट्रक मंगलबार बिहान सिम्लेमा दुर्घटना भएको हो । 

नुवाकोटमा चार अरबको योजना

सडकको शिलान्यासको क्रममा नुवाकोटको शिवपुरी
गाउँपालिकाको वडा नं. ६ मा आइपुगेका बागमती प्रदेशका
मुख्य मन्त्री  डोरमणि पौडेल । 
रोशन बोगटी
शिवपुरी\बागतमी प्रदेशका मुख्यमन्त्री डोरमणी पिौडेलले नुवाकोट विकास निर्माणको दृष्टिमा अग्रस्थान उन्मुख भएको बताएका छन् । त्यसका लागि असारे विकसालाई अन्त्य गर्नुपर्ने सुझाव उनको छ । चार अरब भन्दा बढिको विकास योजनाहरू नुवाकोटमा हाल सञ्चालनमा रहेको पौडेलले बताए ।
बिहिबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर (समुन्द्रटार) सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्त धारणा राखेका हुन् । आर्थिक वर्ष सकिनै लाग्दा बजेट निकासा हुने र वर्खाको समयमा हुने कामले दिगो विकास हुन नसकेको उनले बताएका छन् । पछिल्लो एक वर्षमा बागमती प्रदेशले गरेको कामका सवालमा सातवटै प्रदेशमा नमूना रहेको दावी उनको छ ।
भौतिक संरचना निर्माण देखि सबै पक्षमा जिल्लामा भइरहेको कार्य र प्रयासका कारण नुवाकोट प्रदेशका जिल्लाहरूका बीचमा विकासशिल जिल्ला रहेको जिकिर उनले गरे ।
यसै बीच उनले जनताको शिर निहुरीने काम आफुहरूले नगरेको बताएका छन् । दुई वर्षको अवधीमा प्रदेश सरकारले बागमती प्रदेशका जनताले शिर निहुराउने काम नगरेको बताए । पैसा छरेर र भाग भण्डा गरेर राखिने योजनाले विकास नहुनेमा आफु प्रष्ट रहेकोले प्रदेशको बजेट दुरुपयोग नभएको उनको भनाई छ ।
उनले आफुहरूले चाहे अनुसार काम गर्न नसकेको भएपनि भएका कामहरू उपलिब्धपूर्ण रहेको दावी गरे । मुख्यमन्त्री पौडेलले फरक प्रसंगमा बागमती प्रदेशले ५० वटा कानुन बनाइसकेको र बागमती अन्य प्रदेशको तुलनामा अघि रहेको दाबी गरे । उनले प्रदेशको विकास निर्माणले तिब्रता नपाउनुमा आफुहरू दोषी नरहेको भन्दै विधि, प्रक्रिया र व्यवस्था दोषी रहेको आरोप लगाए । आफुहरू आउँदा बस्नका लागि सुकुल÷गुद्री समेत भएको प्रदेश संरचनालाई यहाँसम्म ल्याउननका लागि आफ्नो समय बढि खर्च भएको उनले बताए ।
संघीय विकासका मोडल र नागरिकहरूको आवश्यकताका आधारमा प्रदेश सरकारले काम गरिरहेको उनको भनाई रहेको छ । मुख्यमन्त्रिले प्रदेशको प्राथमिकतामा नुवाकोट रहेको सुनाए ।
नुवाकोटका संघीय सांसदहरू हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदशे सांसद केशबराज पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनाली शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी लगायतले विकास निर्माणको सम्भावना र सरकारका प्रयासहरूका बारेमा आफ्नो धारण राखेका थिए । 

बाघखोरमा सानिमा बैंक

विदुर\सानिमा बैंकले बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा बिस्तारित काउन्टर खोलेको छ ।
स्थानीय सरकार स्थापना भएको साढे दुई वर्ष बित्दा पनि बेलकोटगढी नगरपालिकाको केन्द्रमा कुनै बैंक स्थापना भएको थिएन । काउन्टरको उद्घाटन गर्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको केन्द्रमा बैंकको अभाब टरेको बताए । ठुलो रकम स्थानिय तहले कार्यान्वयन गर्नु परेको समयमा बैंक तथा बित्तिय संस्था नँहुदा समस्या हुँदै आएको थियो । 

नुवाकोट टिम बिजयी

विदुर\सेना दिबसको अबसर शुक्रवार महाशिबरात्रीका दिन जबरजङग गण देबिघाटले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा नुवाकोट जिल्ला टिम बिजयी भएको छ ।
राष्ट्रसेबक कर्मचारी र नुवाकोट जिल्लाबासी टिम बिचमा भएको मैत्रिपुर्ण प्रतियोगिता ३-१ अन्तरले नुवाकोट जिल्ला टिमले जितेको हो ।
सेना दिबसको अबसरमा आयोजना भएको मैत्रिपुर्ण प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपालमा संकट परेको समयमा नेपाली सेनाले गरेको कार्य उल्लेखनिय रहेको बताए । सबैलाई एकताको सुत्रमा बाँध्दै सम्बृद्ध नुवाकोट निर्माणमा लाग्नको लागी उनले आग्रह गरे ।
कार्यक्रममा जबरजङ गण देबिघाटका गणपति उदयबहादुर लामिछानेले मैत्रिपुर्ण फुटबल प्रतियोगिताले समुदायसँग सेनालाई जोडने पुलको काम गरेको बताए । बिकास निर्माण, सेवाको भावना बिकास र सम्बन्ध बृद्धिको लागी प्रतियोगिता सञ्चालन गरेको उनको भनाई रहेको थियो ।
हिन्दु धर्मावलम्बीले शुक्रवार शिवरात्री पर्व मनाएका छन् । फागुन कृष्ण चतुर्दशीमा पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दुहरूको विश्वास छ । शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नुवाकोटका शवशक्ति पिठहरूमा शुक्रवार भिड लागेको थियो ।

गजुरेल प्रथम

विदुर\राष्ट्रिय युवा परिषदले गरेको नुवाकोट जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा विदुर नपाका रामेश्वर गजुरेल प्रथम, बेलकोटगढी नपाका मन्दिप पौडेल दोश्रो र पञ्चकन्या गापाका क्षतिज न्यौपाने तेश्रो भएका छन् । उनीहरूलाई क्रमश ७, ५ र  ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम भएका  गजुरेल प्रदेश स्तरमा हुने  वक्तृत्वकला प्रतियोगितामा नुवाकोटको तर्फबाट सहभागि हुनेछन्। प्रतियोगितामा नुवाकोटको १२ वटै स्थानिय तहको सहभागीता थियो ।

भ्रष्टाचार संस्थागत भयो : लोहनी

ककनी\राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन तहको सरकार स्थापनाले झन् अनियमितता र भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन् ।
जसले जहा सक्छ लुट भन्ने शिद्धान्तमा सरकारका नेतृत्व गर्नेहरू देखिएको उनको आरोप छ । नुवाकोटको ककनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै डा. लोहनप्ले भ्रष्टाचार काण्डमा मुछिएका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजिनामा दिएर मात्र नपुग्ने भन्दै उनले चर्को टिप्पणी गरे । अरबौं भ्रष्टाचारमा बास्कोटा मुछिएको आशंका रहेको उल्लेख गर्दै छानविनको माग गरे ।
नुवाकोट जिल्लाको ककनी गाँउपालिका वडा नं १, २, ३ को संयुक्त मेलामा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नुवाकोटमा भइरहेको विकास निर्माणका कार्य र प्रयासहरूको विषयमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो अर्थमन्त्री हुँदाको कार्यकालमा भएका विकासका केही महत्वपूर्ण पक्षहरूलाई टालटुल गर्ने बाहेकको देखिदो र खास काम नभएको टिप्पणी उनको छ । 

राष्ट्रपति रनिङशिल्ड निलकण्ठको पोल्टामा

शशीकुमार डंगोल
बेत्रावती(रसुवा)\दोश्रो उतरगया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि बुधवार बोगटीटार स्थित निलकण्ठ माबिले हात पारेको छ । नबबिजयी महेन्द्र मावि भलायडाँडाँ भने दोश्रो भएको छ ।
पहिलो रनिङशिल्ड बिजेतालाई अंक र पदक तालिकाको आधारमा पछि पार्दै यसपटक निलकण्ठ माबि बोगटीटारले शिल्ड हात पारेको छ । भलिबल छात्र र छात्रा, चार सय मिटर रिले दौड, लमजम्प छात्रा, सटफुट् छात्रा, दुई सय दौड छात्र, चार सय मिटर रिले दौड छात्र, लमजम्प छात्रमा प्रथम निलकण्ठ मावि प्रथम भएको थियो ।
नबबिजयी महेन्द्र माविले हाइजम्प छात्र छात्रा दुबै, एक सय मिटर दौड छात्र, दुई सयम मिटर दौड छात्रा, ज्यावलिङ थ्रो छात्रामा पदक जितेको थियो । तेश्रो भएको डाँडागाँउ माविले एक सय मिटर दौड छात्र, ज्याबलिङ थ्रो छात्रा, भलिबल दुबैमा तेश्रो स्थानमा पाएको थियो । भुमेदेबी मावि ठुलोगाउँले भलिबल छात्र छात्रा दुबैमा द्धितीय, सटफुट छात्र पहिलो भए पनि पदकको आधारमा चौथो भै सान्त्वना स्थान हात पारेको छ । भलिबलमा उत्कृष्ट खेल प्रदर्शन गरे बापत छात्र तर्फ निलकण्ठ माविका पेम्बा तामाङ, छात्रा तर्फ भुमेदेबी माविका बिनिता गुरुङ पुरस्कृत भए ।
पुरस्कार तथा शिल्ड वितरण समारोहमा बोल्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले गाउँपालिका स्तरमा हुने यस्ता खेलकुदका गतिविधिहरूबाटै राष्ट्रिय खेलाडीको उत्पादन हुने बताए । उनले अन्य क्षेत्रमा झैं खेलकुद र युवाको क्षेत्रमा समेत उत्तरगया गाउँपालिका विशेष रुपमा लाग्ने बताएका छन् । कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशाकिय अधिकृत अर्ज‘न खड्का, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ रसुवा जिल्ला अध्यक्ष मोचनाथ न्यौपाने, जिल्ला स्काउट रसुवाका आयुक्त श्याम पुडासैनी, उत्तरगया गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदमबहादुर कुबँर, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्णबहादुर घले लगायत मन्तब्य राखेका थिए ।
प्रतियोगितामा रसुवाको उत्तरगया गाउँपालिका भित्रका निलकण्ठ मावि बोगटीटार, नबबिजयी महेन्द्र मावि भलायडाँडा, डाँडागाउ मावि, ठुलोगाउ मावि, र मोर्डन ट्रिनिटी अङ्ग्रेजी बोर्डिङ स्कुल बेत्रावती गरी ५ समुहको सहभागिता थियो । 

तस्बिर खबर


काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न भारत्तोलनका खेलाडी अस्मिता राई (विदुर नगरपालिका वडा नं. २ विदुर) लाई छैठौं नुवाकोट महोत्सवको समापनको दिन गएको सोमवार कदर पत्र प्रदान गरेर जिल्लावासीको तर्फबाट सम्मान गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, साथमा महोत्सव आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की । – सरोज डंगोल

चौथो निर्वाचन दिवस

विदुर\जिल्ला निर्वाचन कार्यलय नुवाकोटले चौथो निर्वाचन दिवस मनाएको छ ।
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा आयोगले यो दिवस फागुन ७ गते मनाउन सुरु गरेको हो । 
दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले अन्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति नुवाकोका प्रमुख सन्तमान तामाङले निर्बाचनको माध्यमबाट नै जनताले प्रजातन्त्रको आभाष गर्न पाएको बताए । हाल तीनै तहाको निर्बाचन पछि बनेको दिगो सरकारले मुलुकमा स्थायित्व पाएको तामाङले बताए ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मतदाता नामावलीमा दर्ता हुन अझै पनि छुटिरहेकोहरू आफ्नो अधिकारबाट बञ्चित रहेकोले त्यस तर्फ निर्वाचन कार्यालयले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । 

कर्मकाण्डी बन्दै प्रजातन्त्र दिवस

विदुर\बीर वीरागङ्ना शहिदहरूको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नुवाकोटमा प्रजातन्त्र दिवस मनाईएको छ । नागरिकस्तरबाट वेवास्था हुँदै आएको यस दिवसलाई जिल्ला समन्वय समितिले यसपालि प्रवचनात्मक कार्यक्रम राखेर मनाएको हो । जनप्रतिनिधि, कर्मचारीको बढि सहभागिता रहेको कार्यक्रममा नागरिक समाजका केही अगुवाको उपस्थिति थियो । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको चौथों निर्वाचन दिवस कार्यक्रम पनिसंगै जोडिएको कारण दिवस मनाउने कार्यक्रममा केही देखिने संख्यामा सहभागिहरूको उपस्थिति थियो ।
तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरका सामू राणा शासकहरूको केही जोर चलेन, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ७० वर्ष अघि, विसं २००७ फाल्गुन ७ अर्थात्  प्रजातन्त्र उदय भएको दिन ।
उतिबेला आएको प्रजातन्त्र नेपालीहरूको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीका बीच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरिकको आवाज दबाउने श्रृंखलाहरूको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो ।
जिल्लागत रुपमा मनाईएको  प्रजातन्त्र दिबसको अबसरमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रजातन्त्रसँगै भएका उपलब्धिहरूलाई संस्थागतमा चुनौती थपिदै गएको बताए । प्रजातन्त्र भनेर दिबस मनाईरहनु भन्दा प्रजातन्त्रको उदयको भएको दिनको स्मरण गर्दै भएका उपलब्धिलाई संस्थागत गर्नु सबै भन्दा ठुलो दायित्व रहेको बताए । प्रजातन्त्रको नाममा हुने छुटले निम्त्याएको समस्यालाई नजरअन्दाज गर्दा मुलुकले पटक पटक समस्या भोग्दै आएको प्रमुख तामाङले बताए । 
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शहिदहरूको बलिदानी ब्यर्थ हुँदै गएको बताए । सरकारको बागडोर सम्हाल्ने राजनितिक दलहरूले शहीदले बगाएको रगत र पसिनालाई बुझ्न नसक्दा प्रजातन्त्रलार्य संस्थागत गर्न नसकेको बताए । लामो ईतिहास बोकेको राणशासनको अन्त्यको लागी रगत बगाएका शहिदहरूको सपना पुरा गर्नु नै जनप्रतिनिधिहरूको कर्तब्य र प्रजातन्त्रको संस्थागत रहेको पण्डितले बताए । उनले अझैपनि प्रजातन्त्रको अनुमुभी आम नागरिकहरूले गर्न नसकिरहेको जिकिर गरेका छन् ।
कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले प्रजातन्त्र भन्दैमा नागरिकहरूले आफ्नो कर्तब्य भुल्न नहुने तर्क गरे । नागरिक र शासन बीचको सम्बन्धलाई समानान्तर भएर अगाडी बढेमा मात्रै प्रजातन्त्रको संस्थागत हुनु पर्ने उनको धारणा छ । 

नागरिकस्तरबाट सडकको अनुगमन

विदुर\रसुवाको मुलखर्क सडक स्तरोन्नतिमा अनियमितताको सवाल उठेपछि नागरिकस्तरबाट अनुगमन भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्ज‘न भण्डारी, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष सन्जिव अमात्यय सहित प्राविधिक टोलीले पहिरो क्षेत्र, सडक ढलान भइरहेको स्थानमा अनुगमन गरेको हो । उनीहरूले गुणस्तरिय सडक ढलान गर्न र सडक आवतजावत सुचारु गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका छन् ।
यस अघि उक्त सडकको अप्ठ्यारो स्थानमा भइरहेको सडक ढलामा गुणस्तरिय काम नभएको आबाज उठेको थियो । ढलानलाई बलियो बनाउन आवश्यक निर्माण सामाग्रीको मात्रा बढाउनका लागि भ्रमण गरेका नागरिक समाजका अगुवाहरूले आग्रह गरेको छ ।
नेपाल चीनबाट व्यापारका लागी एक मात्र रसुवागढी नाकाबाट आयात÷निर्यात हुने सडक ढलान हुन थालेपछि दिनहँु सबारी जाम हुने भएकाले बैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाईएको छ । रसुवागढी नाका बाट सामाग्री आयात÷निर्यात गर्ने कन्टेनरहरूलाई मैलुङ स्याफुबेशीको सडक मार्ग प्रयोग गरेका छन् ।
सडक विभागबाट उक्त सडकका लागि विनियोजित १ करोड १३ लाख रुपैयाँबाट २२० मिटर पर्खाल तथा पिच निर्माणको काम भैरहेको छ ।

जेष्ठ नागरिकको उपचार घरघरमै

विदुर\विदुर नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मानमा स्वास्थ्य परिक्षण घरघरमै पुगेर गर्न थालेको छ । यो अभियानको शुक्रवार औपचारिक रुपमा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले गरेका छन् । उनले त्यस अवसरमा नगरवासीलाई सम्वोध गर्दै सबै ज्येष्ठ नागरिकलाई  स्वास्थ्य सेवाको पँहुचमा ल्याउनको लागी अभियान सुरु गरेको बताए ।
विदुर नगरपालिका वडा नम्बर ८ को भैरमकोटमा सेवाको सुभारम्भ गर्दै नगर प्रमुख पण्डितले स्वास्थ्य संस्थाको पँहुचमा भएपनि परिक्षण गर्ने बानीको बिकासको जरुररी रहेकोले अभियान आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार विदुर नगरपालिकाको १३ वटै वडामा ज्येष्ठ नागरिकको प्रत्येक ३÷३ महिनामा घरघरमै पुगेर स्वास्थ्य परिक्षण गरिनेछ । अभियान सुरुवातमा नपाका उपप्रमुख गिताकुमारी दाहालले ज्येष्ठ नागरिक जिवन्त ईतिहास र साक्षी रहेकोले उनीहरूको सम्मान स्वरुप निःशुल्क स्वास्थ्य परिक्षण अभियान सञ्चालन गरेको बताए । नगरपालिकाले नीतिगत रुपमै सबै नागरिकहरूलाई स्वास्थ्य सेवाको पँहुचमा ल्याउन अभियान सफल हुने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष फैसिङ तामाङले आफ्नो वडामा स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिक नभएको र यस्ता निःशुल्क स्वास्थ्य परिक्षण अभियानले नागरिकहरूले राहत महशुस गरेको बताए । विदुर नपाले सामाजिक सुरक्षा भक्ता लिने सबै ज्येष्ठ नागरिकको सहजताको लागी  घरघरमा स्वास्थ्य परिक्षण र निःशुल्क औषधि बितरण गरेको हो ।

तस्बिर खबर

विदुर नगरपालिका वडा नं. १० को कार्यालय भवनको शुक्रवार महाशिवरात्रीको दिन शिलान्यास गर्दै नगरप्रमुख सञ्जु पण्डित, साथमा उपप्रमुख गीताकुमारी लाहाल लगायतका । ५१ लाख रुपैयाँ लागतमा गेर्खुटारमा भुकम्प प्रतिरोधी चारकोठे भवन निर्माण हुने उक्त कार्यक्रमको अवसरमा वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । –संगम भड्ताल

दृष्टिबिहिनलाई घरमै नागरिकता

विदुर\जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक जना दृष्टिबिहिन घरमै पुगेर नागरिकता दिएको छ । घरमै नागरिकता वितरण भएको नुवाकोटमा यो पहिलो घटना हो ।
प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठले अपांगता भएका विदुर नगरपालिका ११ चालिसे टोलका १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई गएको सोमबार घरमै नागरिकता प्रदान गरेका हुन् । हिँड्डुल गर्न नसक्ने र दृष्टिविहीन कृष्णप्रसादलाई बोकेर विदुर ल्याउनु भन्दा घरमै नागरिकता पठाउनु सजिलो भएकाले यसो गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार उनलाई नागरिकता दिनका लागि पुरा गर्नु पर्ने सरकारी प्रक्रियाका लागि आवश्यक कर्मचारी र कागजपत्र घरमा पठाइएको थियो ।

अशक्तलाई परिचय पत्र

समुन्द्रटार\दुप्चेश्वर गाउँपालिकाले शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका नागरिकहरूलाई परिचय पत्र वितरण र पाएकाहरूको नवीकरण सम्बन्धी शिविर सम्पन्न गरेको छ ।
शिविरबाट १२३ जना लाधान्विय भएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जनाकारी दिए । सामाजिक न्याय दिवसको अवसरमा सम्बोधन परियोजनासँग सहकार्य गरेर गाउँपालिकाले परिचय पत्र वितरण र नविकरण कार्यक्रम गरेको हो ।
त्यस दिन ७५ जनालाई अपांगता परिचय पत्र प्रदान गरिएको छ भने ४८ जनाको परिचयपत्र नवीकरण भएको छ । २ जनालाई रातो, ४० जनालाई निलो, २४ जनालाई पहेँलो र ९ जनालाई सेतो रङको परिचय पत्र प्रदान गरेको गाउँपालिका कार्यालयले जनायो ।
यस्तै यसअघि वितरण भएको १७ रातो कार्ड, २२ निलो कार्ड, ३ पहेँलो कार्ड र २२ सेतो कार्डको नवीकरण भएको छ । विभिन्न प्रकारका अपांगता भएकाहरूको पहिचान गरी हरेक महिनाको २७ गते परिचय पत्र वितरणका साथै नवीकरण हुँदै आएको छ ।
गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनमा जोड्न गैर सरकारी संस्थाहरूसंगको सहकार्यमा जीविकोपार्जनको कार्यक्रम समेत सञ्चालन भइरहेको उपाध्यक्ष अञ्जु आचार्यले बताए । 

सामाजिक सञ्जालबाट

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल (कालो टोपी लगाउने), उप सभामुख राधिका तामाङ (बाँयाँबाट पहिलो) लगायतकाहरू नुवाकोटको शिवपुरी गाउँपालिका स्थित पर्यटकिय स्थल सुइरेचौरमा ।

गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

पुरुषोत्तम लम्साल
मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन ।
गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता) थिए । त्यो भन्दा अलिक पर तीनथुम्कीमा थियो तीनथुम्की महादेव । त्योभन्दा पर गएपछि लामाबाजे भेट हुन्थ्यो । अब फटाफट पाँच मिनेट हिडेपछि बितलव छोइन्थ्यो जहाँ दामेकाका भेटिन्थे । दामेकाकाको घरै मुन्तिर थियो बितलव महादेवथान । दामेकाकाको दबाइखाना थियो र, उहाँ ननरजिस्टर्ड मेडिकल पर्सन । तर त्यहाँ सांसारिक वा भौतिक दबाईभन्दा आध्यात्मिक दबाईको अन्तरंग चर्चा हुन्थ्यो । ‘गाँजालाई यसरी पिस्नपर्छ कि सिलौटोमा जमेको गाँजाको लेपमा लोहोरो टाँसिनपर्छ’, काका भन्थे– त्यसपछि मात्रा मिलाएर उडाए पनि भो, घोटे पनि भो, बीषै बनाए भो, अमृतै बनाए पनि भो । विरामी वस्तुभाउलाई दिए पनि भो, बिरामी मान्छेलाई मात्रा पु¥याए पनि भो ।’
पात्रमा नजाऔं तर, गाँजा के हो भन्ने थाहा नहुँदा चलन र सँस्कृति भनेर मैले तिनथुम्की र बितलव महादेवका आँगनमा पर्वअनुसार गाँजा सेवन गरें । कोकोसँग बसेर ? प्रश्नको गोपनियता राखौं तर धूनी जगाउँदै पनि, धूनीबेगरै पनि । त्यो थियो सँस्कृतिमा बाँधिएको सन्दर्भ । सामाजिक यथार्थ अन्यत्रसरह मेरा गाउँमा पनि उही थियो, तागाधारी बर्गभित्र मदिराजन्य पदार्थ तुच्छ थियो, घृणित थियो भनौं बर्जितसरह थियो तर गाँजा एक किसिमले स्वीकृत । यसैले होला बालबालिकाले विशेष पर्वमा गाँजालाई विशेष उपयोग गर्न‘ आपत्ति मानिएन । त्यो थियो सामाजिक बर्गको मनोविज्ञान ।
गाउँमा पेट दुखे पनि गाँजाको चिलिम पड्काउने थिए, टाउको दुखे पनि सोतेमा गाँजा भर्ने र त्यसमाथि जुटको डोरी सल्काएर धुँवा उडाउने भेटिन्थे । काम नगर्नेले आनन्दका लागि, काम गर्नेले थकान मेट्न र उर्जा जोहो गर्ने बाटो । लामो नलीयुक्त हुक्काको शीरमा रहेको फराकिलो चिलिममा सख्खरै मिसाएर मोलिएको मुठ्ठीभरी गाँजाको उच्चबर्गीय आनन्द र विलासको सन्दर्भ अर्कै हो । तर गाउँको बेसीदेखि शिरसम्म मादक वासना छर्ने त्यो गाँजा प्रतिबन्धित पदार्थ हो भन्ने न कसैलाई थाहा थियो न चासो नै ।
उमेर बढ्यो । गाँजा नशालु वस्तु भन्ने थाहा भयो । गाँजाको कुलत हुन्छ र त्यसमा फसेकालाई गँजडी भनिन्छ भन्ने थाहा भो । जब गाँजा बीष होइन, मस्तिष्क र स्नायुको ओखती पनि हो भन्ने थाहा भयो त्यसपछि अवसर र उपलब्धतामा ‘लौ त सोम !’ भन्न छाडिएन । त्यो उमेरमा तहतहका बर्गबर्गका ‘सोम’ भेटिए । त्यो ‘सोम’ शब्द र गाँजाको सम्बन्ध धेरै पछि बुझें ।
‘सोम’ अर्थात् चन्द्रमा अर्थात् शितलता । अर्थात् सोमपान । सौम्यपान अर्थात् शान्त नशा । अर्थात्, मुक्तिकारी धुँवा । ऋग्वेदमा एउटा श्लोकको अर्थ रहेछ ‘हे सोम ! हामीलाई सबै कोणबाट पबित्र बनाइदेऊ, मनभित्र पूर्ण उर्जा (जोश) प्रवेश गराइदेऊ, हाम्रो वााणी सशक्त होस् र हामीमा उत्तम बुद्धि उत्पन्न होस् (९.९७.३६) ।’ यो ‘सोम’ ले ध्यानको उच्चतम अवस्था वा तेजोमय अवस्था प्राप्त गर्न सकिन्छ भन्दोरहेछ । त्यहाँ थप रहेछ, ‘सोम’ अति सामान्य मान्छेका लागि मात्र नशा रहेछ । सामान्य मान्छेका लागि त्यो ओखती रहेछ । ऋग्वेद भन्दोरहेछ ‘नशामा लीन हुनेहरूले आफ्नो बुद्धि गुमाउँछन्, निर्वस्त्र हुन्छन् र कलह निम्त्याउँछन् (८.२.१२) तर, प्रज्ञा वा बुद्धिको प्रयत्न गर्नेका लागि त्यो ‘सोम’ रहेछ । सोम औ मित्र । अर्थात्, मन्दबुद्धिका लागि नशा र ऋषि वा ज्ञानीका लागि दिव्य कर्म्तिर प्रेरित गर्ने पदार्थ रहेछ ।
यसलाई पछि विज्ञानका बादशाह अल्बर्ट आइन्स्टाइनले शब्दमा यसरी उतारेछन्,No Problem can be solved from the same level of consciousness that created: Einstein. अर्थात् कुनै पनि समस्या चेतानाको त्यही तहबाट समाधान गर्न सकिंदैन जुन तहबाट त्यो उत्पन्न भएको हो । यसमा वैज्ञानिकहरूले थपेस ‘गाँजाको सेवनले तपाईलाई चेतनाको अर्को तहमा पु¥याएर सोच्ने वा कल्पनाशक्तिमा फेरबदल ल्याइदिन्छ’ । त्यसैले होला आइन्टाइनले व्यक्तिको धुम्मपानको अधिकारमाथि प्रतिबन्ध लगाउने विपक्षमा मत प्रकट गरेका । तर विज्ञानको चर्तिकला शुरु हुनभन्दा हजारौं वर्षअगाडि पूर्वीय संस्कृतिले गाँजाको महत्व स्थापित गरिसकेको थियो । झण्डै चार हजार वर्षअगाडि (इशापूर्व १५ सय) नै लेखिएको रहेछ ।
पञ्च राज्यानिवीरुधां सोमश्रेष्ठनि ब्रुमः । दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्ववंहस ।। (अथर्ववेद भाग ५) अर्थात् लहराका पाँच पवित्र वनस्पति कुश, भांग (गाँजा) जौलगायतले हाम्रो पापमोचन गरुन्, कष्ट हटाउन् । यो त्यही गाँजा हो जसलाई सँस्कृतले अहिफेन भन्यो, अपभ्रंश भयो अफेन बन्यो र अंग्रेजीले अफिम बनाएर सर्पको बीषभन्दा कडा बीषवर्धक पदार्थको रुपमा व्याख्या गर्यो । पछि सुश्रुत संहितामा गाँजालाई सुस्ती, नजला र पाचनको दीव्यऔषधी पहिचान दिइएको रहेछ ।
दशकअगाडिसम्म कहिले उर्जाको बहानामा त कहिले आध्यात्मिक बहानामा मैले अवसर बनाएरै गाँजा पिएँ । मेरा केही समकक्षी समवयी जो विभिन्न खेलकलामा सम्लग्न थिए तिनले पनि उर्जाका लागि भन्दै सखारै चिलिम दर्शन गरेर मैदानमा गए । सँगै ट्रयाकमा दौडने साथी दौडको आनन्द लिनको सट्टा दूरी र गतिको चिन्तामा हुन्थ्यो । उसले पछि थाहा पायो दौडको आनन्द गाँजासँगै रहेछ । जो हात र खुट्टाको कलामा विश्वास गर्दथ्यो उसले पनि विपक्षीको चाल र आफ्नो ध्यानमा केन्द्रित हुने भन्दै भीडन्तअगाडि गाँजा पिएर उपस्थित हुनथाल्यो । यो त लडाईमा जानुअघि र लडाईबाट फर्किपछि भाङ्ग वा गाँजा पिउने भारतीय सँस्कृतिको अर्को अध्यायजस्तो लाग्यो ।
तर एउटा कुरा ढुक्क हुनुस्, गाँजा पिउने सबै बब मार्ली हुन्छन् भन्ने होइन । सबै बैज्ञानिक गाँजा पिउँछन् वा गाँजा सेवन गरेर बैज्ञानिक भइन्छ भन्ने होइन । विख्यात पौडिबाज माइकल फ्लेप्सले फगत गाँजाकै भरमा ओलम्पिकमा कूल २३ स्वर्णपदक प्राप्त गरेका होइनन् । पाइप तानेर सबै चे ग्वेभारा हुने भए विश्व अहिले साम्यवादी क्रान्तिकारीहरूको परेडस्थलै हुने थियो । गाँजा पिएरै सबै कम्युटर इञ्जिनियर स्टिभ जब्स हुने भए एप्पललाई विस्थापन गर्न उहिल्यै बनाना, ग्रेप, म्याङ्गो, पिच नामका मोबाइल कम्पनी खडा भइसक्थे । गाँजाकै नशामा लठ्ठिएर सबै साधु, सन्त, ऋषि वा शिवजी नै भएको कल्पना गर्न‘ फगत गँजडी कल्पना हो ।
किनकि, स्वैरकल्पनाको उत्पत्ति पनि नशाको गुणै हो, धर्मै हो ।
गाँजा ओखती हो
कि नशा ?
एउटा चक्कुलाई चिकित्सकले शल्यक्रियामा उपयोग गर्दछ । त्यही चक्कु अपराधीका लागि अपराधको हतियार हुन्छ । यसको अर्थ चक्कुलाई प्रतिबन्ध लगाउनपर्छ भन्ने तकसँग सहमत हुन सकिदैन । गाँजालाई त्यही चक्कुको रुपमा व्याख्या गर्दा हुन्छ । नत्र विश्वका २४ वटा देशले चिकित्सकीय प्रयोजनका लागि गाँजालाई बैध घोषणा गरेको र ४८ वटा देशले गाँजालाई प्रतिबन्धको स्थानमा नियमन गरेको अज्ञानी र अबुझ भएर हो भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, एड्स, दमलगायतका दर्जनौं रोगका लागि गाँजा औषधी हो त्यसै भन्ने थिएन । एपिलेप्सी एण्ड बिहेभियर पुस्तक लेखेर कुष्ठरोगका लागि गाँजा नै अचूक ओखती हो भनेर संसारले पछ्याउने थिएन ।
नेचुरल थेरापी एण्ड क्यान्सर ड्रग डिस्कभरीले अर्ब‘द रोगका बिरामीलाई केमोथेरापी चलाएपछि गाँजाको उचित मात्र सेवन गराउने हो भने विकृत सेलको विकास रोकिन्छ भनेर भन्ने थिएनन् । इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्मास्यूटिकल्सले गाँजालाई रोग प्रतिरोधी ४० तत्व भएको संसारकै शक्तिशाली वनस्पति नामाकरण गर्ने थिएनन् । संसारका श्रेष्ठ खेलाडीहरूले द मोस्ट डाइनामिक प्लान्ट अन अर्थ भनेर ध्यान केन्द्रित गर्न खेलाडीका लागि गाँजाको वकालत गर्ने थिएनन् । क्यानाबीसः इभोल्युसन एण्ड एथनोबोटनी पुस्तक लेखेर पश्चिमाहरूले गाँजाको विधिपूर्वक सेवनले स्नागु र मस्तिष्कका दर्जनौं जटिल रोगहरूमा काम गर्ने व्याख्या गर्ने थिएनन्चाइनिज पर्माकोपिया (परम्परागत चिनियाँ पद्दति अनुसार औषधी बनाउने विधि) को नक्कल गरेर अमेरिकाले दर्दनाशक र स्नायु तन्तुका लागि गाँजा र गाँजानिर्मित औषधिलाई शहरशहरमा खुल्ला गर्ने थिएन । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले जहाँ गाँजालाई बैधता दिइएको छ त्यहाँ लागूऔषध र सम्बन्धित अपराधमा बृद्धि भएको कुनै तथ्याङ्क छैन भनेर संसारलाई भन्ने थिएनन् । गाँजाकै कारण तेस्रो चरणमा पुगेको क्षयरोगबाट बचेकी प्रिया मिश्राले गाँजालाई गरिबको नशा र औषधी दुबै मानेर त्यसको समूचित प्रयोगका लागि संसारलाई आग्रह गर्ने थिइनन् । क्यानाबीज फ मेडिकल यूज स्अ साइन्टिफि रिभ्यु (२०१७) ले ४८ देशमा गाँजाको उपयोगको विषद् अध्ययन गरेर गाँजाको प्रयोगका लागि जहाँ कानुनी अड्कचन छ त्यहाँको व्यवस्थामा लचकतापूर्वक फेरबदल गर्न भइरहेको प्रयत्नको प्रशंसा गर्ने थिएन ।
हिप्पीकालीन समयमा नेपाल र भारतलगायतका देशमा गाँजामाथि प्रतिबन्ध लगाउन दवाव दिने र हस्तक्षेप गर्ने अमेरिकाको ९ शहरमा अहिले गाँजा बैध छ र त्यहाँ तिब्रत्तर विकास भइरहेको उद्योगमा गाँजा खेती पर्दछ । त्यहींको ३१ राज्यमा औषधिय प्रयोजनका लागि गाँजा उत्पादन, विक्रि र उपभोग छुट छ । अल्जाइमरका बिरामीका लागि दीव्यौषधी भनेर गाँजा पसलपसलमा उलपब्ध छ । उसै पनि अमेरिकाको कृषि इतिहासमा सीमान्तकृत किसानको आयआर्जनमा सुधार ल्याउन गहूँ र मकैपछि गाँजा खेतीलाई उपयोग गरिएको दृष्टान्त भुल्न हुँदैन (मार्टिक बेकर सन् १८१२ को केन्टकी) । त्यहाँको जुन राज्यमा गाँजा प्रतिबन्ध छैन त्यहाँ दर्दनाशक (पेनकिलर) औषधी र मदिराको व्यापार चौपट भएपछि मदिरा (लिकर) उत्पादक र व्यवसायीले गाँजा प्रतिबन्ध फुकवा रोक्न संघीय सरकारसँग गरेको गुहार (द वाशिंगटन पोष्ट) रिपोर्ट बनेर आउने थिएन । र, गाँजा उत्पादक ठूलो संस्था ग्रिनवेभका संस्थापक म्याट कार्नेसले आउँदो वर्षसम्म अमेरिकामा गाँजाको वार्षिक कारोबारले ३० बिलियन डलरको आँकडा छुने र केही वर्षपछि अमेरिकाले अन्य वस्तुसहर गाँजालाई पनि अन्य देशमा निर्यात गर्ने दावी गर्ने थिएनन् । र, हामी चाँहि प्रतिबन्धको नाममा गाँजाको अवैध व्यापारलाई चालिस वर्षदेखि संरक्षण गर्दै आइरहेका छौं । गाँजा नष्ट गर्न‘ प्रहरी र प्रशासनका मुखियाहरूको पदबहाली र सरुवाताकाको हतियार मात्र बनाइरहेका छौं । जंगबहादुरको अफिमको उदाहरणमै रमाइरहेछौं । त्यसैले सांसद विरोध खतिवडा लगायतका नेताको अगुवाईमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको सकारात्मक सुनुवाई आवश्यक छ । गाँजालाई अपराध र घृणाको वस्तु होइन औषधिय वनस्पतिको रुपमा स्वीकार गरौं । केशव स्थापितको शैलीमा वायुपंखी घोडा चढेर गाँजाले कायापलट गर्छ नभनौं, तर नियामक निकायको निगरानीमा माउन्टेन मारिवाना फर मेडिसिनसम्म चाँहि सोचौं । जय शम्भो !
(नुवाकोट, हाल भर्जिनिया)

२०७६ फागुन १२ गतेको सम्पादकिय

सम्पदा संरक्षणमा उदासिनता
२०७२ सालको विनाशकारी भुकम्पका कारण नुवाकोट जिल्लाको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र धरोहरहरू खण्डहर बनायो । नुवाकोटको पहिचानसंग जोडिएको सम्पदा संरक्षण, मर्मत, पुननिर्माणका लागि समय बित्दै गएसंगै सरोकारवालाहरूको चासो हराउदै गएको छ । नागरिकसमाजदेखि यस विषयमा सरोकार राख्नेहरूसम्मले देखाएको उदासिनताका कारण नुवाकोटको साततले दरवार लगायतका भौतिक संरचनाको पुनर्निमाण गतिशुन्य जस्तै बनेको छ । चीन सरकारले पुन निर्माणको जिम्मा लिएको साततले दरवार र तुलजा भवानीको मन्दिरको काम लामो समयदेखि रोकिएको छ । चार महिना अघि चीनमा सुरु भएको ल्होछारका कारण कामदारहरू स्वदेश फर्किएपछि रोकिएको कामलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको आतंकले झन् प्रभाव पारेको छ । भाइरसका कारण चीनले ब्यहोरेको चौतर्फी समस्या र हैरानीलाई विश्व समुदायले साथ दिएका छन् । यस अवस्थामा नुवाकोटको ऐतिहासिक र पुरातात्विक सम्पदा निर्माणको गतीको लेखाजोखा गरेर टिप्पणी गर्नु सान्र्दभिक देखिन्न । तैपनि कुनैनकुनै कारण र बहानामा निर्माणमा रोकिएको गतीलाई सुचारु गर्नका लागि जिल्लाका सरोकारवाला निकाय तथा नागरिक समाज अग्रसर हुने बेला भएको छ । दुई वर्षदेखि फलामका डण्डी र जस्तापाताले बेरिएको दरवार, तुलजा भवानी मन्दिरको मर्मत÷निर्माण समयमै नहुँदा त्यसबाट उत्पन्न हुने विनाशको विषयमा चर्चा र अनुमान गर्ने बेला भइसकेको छ । अबको केही महिनामै सुरु हने वर्षायामले यो पटक ति सम्पदाहरूमा ठूलै क्षती पु¥याउन सक्नेछ । ति भवनहरूको कत्तिपय स्थानहरू मर्मतका लागि खुल्ला राखिएको छ भने पर्खाल तथा छानोहरू मर्मत गर्दागर्दै खुल्ला छाडिको छ । अबको बर्खायामममा पर्ने पानीका कारण त्यहा पुग्ने क्षति रोक्नका लागि जिल्लावासीले नै पहलकदमी उठाउनु जरुरी छ ।
नुवाकोट जिल्लाका अन्य ऐतिहासिक सम्पदाहरूको निर्माणको अवस्था पनि उस्तै उस्तै देखिएको छ । नुवाकोटको भैरबी मन्दिर, कविलासको कपिलेश्वर महादेवको मन्दिर, ककनीको बशन्ती दरवार लगायतका सम्पदा र ऐतिहासिक संरचनाको पुननिर्माणमा धिमा गती छ । वर्षैदेखि निर्माणकै चरणमा देखिइरहने यि सम्पदाहरूका कारण नेपाल भ्रमण वर्षमा नुवाकोट आइपुग्ने पर्यटहरूको मन प्रफुल्ल पार्न सकेको छैन । पुरातत्व विभाग मार्फत् स्थानीयहरूले नै निर्माणको जिम्मा लिएको कामलाई अब थपिएको समयमै सम्पन्न गर्नका लागि र भ्रमण वर्षलाई बढि प्रभावकारी पार्नका लागि द्रुत गतीमा काम गर्नका लागि नागरिक स्तरबाट दवाव दिनु जरुरी देखिएको छ ।  अन्यथा सचेत नागरिकहरूको बाहुल्यता रहेको नुवाकोटमा देखिएको उदासिनताका कारण भ्रमण वर्षको लाभ जिल्ला र जिल्लावासीले उठाउन सक्ने छैन । 

Sunday, February 16, 2020

पुननिर्माण परियोजनाबाट जनप्रतिनिधिको तिर्थाटन


इमेज समाचारदाता
पत्रकार उदय जिएम हरिद्धारमा सेल्फि खिच्दै, पछाडी जिससस प्रमुख तामाङ 
विदुर\भुकम्प पिडितलाई घर बनाउन सहयोग गर्न नुवाकोट जिल्लामा सञ्चालन भइरहेको एक परियोजनाको खर्चमा जिल्लाका एक गाउँपालिका अध्यक्ष बाहेक सबैले भारतको हरिद्धार भ्रमण गरेका छन् । नुवाकोटमा भारत सरकारको अनुदान तथा ऋण सहयोगमा २३ हजार ८८ घरलाई आर्थिक र प्राविधिक सहयोग गर्न भन्दै स्थापना भएको भारत सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युपोप्स्) खडा गरेको छ ।
भुकम्प पिडितहरूको लागि आएको परियोजनाको खर्च र दैनिक भ्रमण भत्तामा भारत घुमेर आउनेहरूमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङदेखि सबै गाउँपालिकाका उपाध्यक्षसम्म छन् ।
नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकामा उक्त परियोजनाले काम नगरेका कारण त्यहाँका अध्यक्ष र उपाध्यक्षहरूलाई भने भारतले लगेको थिएन ।
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति बाहेक ९ वटा गाउँपालिकका अध्यक्षहरू, १० वटा गाउँपालिकाका उपाध्यक्ष, दुई वटै नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू छ दिने भ्रमण सकेर शनिवार भारतबाट काठमाडौं उत्रिएका छन् । बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गाना भने एक दिन भ्रमण छोट्याएर फर्किएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरहरू अनुसार उनीहरूले नेपालका लागि भारतका पुर्व राजदुत मञ्जिवसिंह पुरीसंग भेट गरेर सामुहिक तस्बिर खिचेका छन् । त्यस्तै हरिद्धार तिर्थाटन गरेका छन् ।
जिएमको पछाडी दुप्चेश्वर गापा अध्यक्ष र लिखु गापा अध्यक्ष । 
गएको सोमवार (माघ २७ गते) भारत भ्रमणममा जाने जननिर्वाचित प्रतिनिधिहरूमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनाल, उप प्रमुख कविता ढुङ्गाना, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष सन्तबहादुर घले तामाङ, उपाध्यक्ष मञ्जु बुढाथोकी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई, म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा गुरुङ्ग, किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा, उपाध्यक्ष मायादेवी घले न्यौपाने र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल छन् ।   
फेसबुकमा आएन फोटो
नुवाकोटका निर्वाचित जनप्रतिनिधि २० जनाले भारत भ्रमणको फोटो आफ्नो फेसबुक तथा सामाजिक सञ्जालमा शेयर गरेका छैनन् । टोलीमा मिसिएर गएका पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमले शेयर गरेको केही तस्बिर केही अध्यक्ष, उपाध्यक्षको ‘टाइमलाइन’मा देखिएको छ । तर त्यसमा पुरीसंग भएको औपचारिक भेटको फोटो र नुवाकोटका २१ जना जनप्रतिनिधि भारत भ्रमणमा भन्ने समाचार लिङ्क मात्रै छ । हरिद्धारको बम्हकुण्डमा लिइएको फोटोहरू र हवाइजहाजमा बसेर भारत उढ्दै गरेको पाmेटो जिएमको फेसबुकबाट सार्वजनिक भएको हो ।
वडा अध्यक्ष निमित्त
प्रमुख र उपप्रमुख गयल भएपछि दुवै नगरपालिकाको ठूला काम प्रभावित देखियो । त्यस्तै सात वटा गाउँपालिकाहरूमा प्रमुख र उपप्रमुख दुवै नहुँदा सामान्य गाउँपालिकाको छाप लगाउने काजग तयार हुने बाहेकका कुनै काम अघि सर्न सकेन । ‘अध्यक्ष, उपाध्यक्ष अहिले हुनुहुन्न’ भन्दै नागरिकलाई सबैले फर्काए । तादी गाउँपालिले वडा नं. ६ का अध्यक्षलाई गाउँपालिकाको कार्यबाहक अध्यक्ष दियो । वडाअध्यक्ष केशव थापाले सामाजिक सञ्जालमै यो खुसीयाली बाढेका थिए ।
केन्द्रबाट लगियो पत्रकार
स्थापनादेखि विवादमा पर्दै आएको युनोप्स्ले यसपालि भारत भ्रमणमा नुवाकोटबाट एक जना पत्रकारलाई पनि लैजाने तयारी गरेको थियो । अराजक व्यवहार र कार्य निर्देशिका विपरित काम गरिरहेको युनोप्सको बारेमा समाचार लेख्ने र संकलन गर्ने पत्रकारमाथी भदौ, २०७६ मा भएको दुव्र्यबहार पछि पत्रकार महासंघ नुवाकोट र जिल्लाका प्रायः पत्रकारसंग युनोप्स्को सम्वन्ध चिसिएको छ । महासंघका पदाधिकारीलाई जनप्रतिनिधिसंगै भारत लैजानसके नकारात्मक समाचार बाहिर नआउने उद्देश्य परियोजनाले लिएको थियो । एकैपटक गाउँपालिका नगरपालिकाबाट प्रमुख उपप्रमुख उठाएर भारत लैजादा हुने समस्या र त्यसको समाचार रोक्नकै लागि महासंघबाट जिम्मेवार पत्रकार लैजाने गरी तयारी थालिएको थियो । नुवाकोटका पत्रकारहरूले युनोप्स्को भारत भ्रमण र भुकम्प पिडितको घर बनाउन अनुदानमा आएको रकममा भ्रमण नजाने देखेपछि संस्थाले रणनीति फेरेको बताइएको छ । युनोप्स्को नुवाकोटका कार्यरत कर्मचारी बन्दना सिंहले आफ्नो सहोदर दिदि पत्रकार महासंघका केन्द्रिय सदस्य स्वेता सिंह मार्फत् केन्द्रबाट सचिव उदय जिएमलाई भ्रमणमा लगेका हुन् । ‘जिल्लाबाट नभए केन्द्रबाट ठेगान लाग्छ नी भन्ने दम्भ देखिन्थ्यो’, समाचार श्रोतले भन्यो– ‘त्यो भ्रमण टोलीमा भारत सरकारलाई देखाउन एक जना पत्रकार जसरी पनि लैजानु पर्ने अवस्था थियो ।’ 
सार्वजनिक विदा
बेलकोटगढी नपाका प्रमुख र उपप्रमुख हरिद्धारमा । 
सबै तस्बिरहरू उदय जिएमको फेसबुकबाट
बेलकोटगढी नगरपालिकाका प्रवक्ताले त आफ्नो नगरपालिकाले दिएको सार्वजनिक विदा समेत चाल पाएनन् । माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाका अधिकृत शिवराम अधिकारीले विदा दिएका थिए । माघ २४ गतेको मितिमा तयार भएको सार्वजनिक सूचनाको बारेमा समेत नगरपालिकाका प्रवक्ताले २७ गते चाल पाए, त्यो पनि फेसबुक मार्फत् । प्रवक्ता लोहनीले फेसबुकमै लेखेका छन्– ‘नगर कार्यपालिकाको सदस्य कसैलाई जानकारी नदिइकन नै विदा स्वीकृत हुने । नगरको काम कारबाही फेसबुकको पोष्टबाट थाहा पाउनुपर्ने भयो ।’  
माघ २७ गते भारत भ्रमणमा निस्केका प्रमुख र उपप्रमुख अनि नगरको स्थापना दिवसको नाममा २७ गतेनै सार्वजनिक भएको विदाले नगरपालिका विवादमा पर्यो । विदुर  बाहेक नुवाकोटका सबै स्थानीय तहको स्थापना एकै दिन हो । तर अन्य स्थानीय सरकारले माघ २७ मा स्थापना दिवसको विदा दिएन । फागुन २७ मा स्थापना भएको स्थानीय सरकारहरूले एक महिना अघि नै आफ्नो स्थापना दिवस मनाउनुमा कुनै तुक थिएन । तर सञ्चार माध्याममा आएको समाचार र टिप्पणीलाई नगरपालिकाले गम्भिरताका साथ नलिएर प्रतिवाद र खण्डन मात्रै गरिरह्यो । 
यस क्रममा भारत जाँदै नगएको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीलाई समेत भारत गएको भनेर प्रचार गरियो । नगर उपप्रमुख कविता ढुङ्गानाले दिएको स्प्रष्टिकरण आएको समाचारहरूमा नुवाकोट जिल्लाका सबै जनप्रतिनिधि भारत भ्रमणमा रहिरहेको समाचार आए । ढुङ्गानाले मेयर र आफु भारत भ्रमणमा जानका लागि नगरपालिकामा सार्वजनिक विदा दिएको भन्ने समाचारले बदमान गराउन खोजेको जिकिर गरेर समाचारको खण्डन गरेका छन् । भारत भ्रमणमा रहेकै बेला आफुहरू भ्रमणमा रहेकाले विदा दिएको समाचारले बेचैन बनायो भन्दै भ्रमण छोट्याएर एकदिन अघि फर्किए । तर २०७३ साल फागुन २७ गते प्रकाशित नेपाल राजपत्र खण्ड ६६ ले बेलकोटगढी नगरपालिकाको स्थापना दिवस फागुन २७ गते तोकेको छ ।
सित्तैमा भनेर हुन्छ ?
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले विवादित र काम चोर संस्थाको भजन गाउन नजाने ठोकुवा गरे गएको आइतवार नै गरेका थिए । कार्यक्षेत्रका काम नगर्ने, भारतिय सहयोग र ऋण सहयोगबाट सञ्चालित परियोजनाने जनता ठगिरहेको देख्दादेख्दै उनीहरूको खर्चमा आफु भ्रमणमा नजाने प्रतिवद्धता उनको थियो । आइतवार राती इमेजले प्रायः जनप्रतिनिधिसंग टेलिफोन संवाद गरेको थियो । केहीले काठमाडौं पुगेर संस्थाको गतिविधि र अवस्था हेरेर मात्रै सोमवार भारत उढ्ने या नउढ्ने पक्का हुने भनेका थिए र तर काठमाडौं पुगेको २० जना नै जनप्रतिनिधि भारत हान्निए । तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्ती आइतवारको रात्रि भोजमा पनि गएनन् र छ दिने भारत म्रमण पनि दुत्कारे ।  
‘सित्तैमा पाइयो भनेर युनोप्स्को भात खान म गइन, धेरैले यसको परियोजना र काम प्रति नकारात्मक टिप्पणी गरिरहेका छन् । अनि उनीहरूको पछाडी लागेर घुम्ने हो भने त उनीहरूलाई सिधै अनुमोदन गरे जस्तो भएन र !’ गाउँपालिकाका अध्यक्ष वस्तिले भने । 
जनप्रतिनिधिलाई तिर्थ लाने युनोप्स् के हो ? 
२०७६ साल भदौ ९ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार
विदुर\भुकम्पपछि नुवाकोटको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन सञ्चालन भएको भनिएको परियोजना भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मार्फत् सञ्चालन भइरहेको छ । २३ हजार ८८ घरलाई नुवाकोटमा इष्टमेट प्रदान गर्नुपर्नेमा परियोजना नुवाकोटमा सञ्चालन भइरहेको छ ।
नेपाल सरकारलाई भुकम्प पछिको पुनर्निमाणमा भारत सरकाले दिने भनेको अनुदान सहयोगमा यो परियोजना सञ्चालन भएको हो । भारत सरकारले भुकम्प प्रभावित नुवाकोट र गोरखामा ५० हजार घर पुननिर्माणका लागि अनुदान सहयोग गर्नका लागि यो परियोजना सुरु गरेको हो । यो परियोजना अङ्ग्रेजी पात्रो अनुसार सन् २०१८ को मार्च महिनाबाट सुरु भएको छ । तर नुवाकोटमा काम थालेको १५ महिना जत्ति मात्रै हुनलाग्यो । नेपालको भुकम्पपछिको पुर्निमाण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले परियोजना सञ्चालन गर्यो । परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याउने जिम्मेवारी पाएको छ । भारत सरकाले यस अघिको सहयोग सम्झौता अन्तर्गत संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई नुवाकोट र गोरखामा सुरक्षित पुननिर्माणका लागि झन्डै एक अर्ब ६२ करोड रुपैयाँ (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । त्यही घोषणा र सम्झौता अन्र्तगत अहिले नुवाकोटमा यो कार्यक्रम लागू भइरहेको छ । 
भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा नुवाकोटमा २३ हजार ८८ भुकम्पपीडित धरनीलाई र गोरखामा २९ हजार ९१२ भुकम्प पीडित घरधनी रसामाजिक प्राविधिक सहजीकरण अन्तर्गत सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समुहले नेपाल सरकारले भकुकम्पीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्ड बमोजिम भूकम्पपीडित घरधनीका घर पुननिर्माणमा सहयोग गर्ने कुरा उल्लेख छ । उनीहरूले निरीक्षण र प्रमाणीकरणको प्रक्रिया मार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशका घरधनीलाई सहयोग बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ ।
साझेदारी पत्रमा तत्कालिन नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा. अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयर, युएनओपिएस एसिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथजुरले हस्ताक्षर गरे । हस्ताक्षर पत्र आदान प्रदान कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थिति थियो । 
परियोजनाले नुवाकोटमा २० स्थानमा प्राविधिक सहायता केन्द्र स्थापना गरी काम गरिरहेको जनाएको छ । घरको निःशुल्क नक्सा प्रदान, निर्माण सम्बन्धी सल्लाह सुझाव प्रदान, निर्माण सुपरिवेक्षण, घरधनी सचेतनाका साथै घरधनी पहिचानमा छुटेका घरधनीको पहिचानजस्ता काम गरेको दावी परियोजनाको छ । 
के भएको थियो पहिला ?
२०७६ साल भदौ १६ गतेको इमेज साप्ताहिकमा प्रकाशित समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वय इकाई विदुर नुवाकोटले ११ चैत, २०७५ मा लेखेको पत्र भदौ, २०७६ मा इमेज साप्ताहिकले फेला पारेको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरण बैदेशिक सहायता समन्वय शाखा सिंहदरवार काठमाडांैलाई तत्कालिन निमित्त आयोजना प्रमुख बिकि लाखाले लेखेको पत्रमा रहेका चार वटै वुँदाहरू गम्भिर देखिएको छ । समन्वय अभाव, प्रगती विवरण लुकाउने, तथ्याङ्क नदिने र गुणस्तरहिन प्राविधिक सेवाको बारेमा कार्यान्वय इकाईले प्रष्टसंग नै लेखेर पठाएको छ । बैदेशिक सहायता समन्वय शाखाले नुवाकोटमा भुकम्प पुनर्निमाण प्राविधिक सहायता उपलब्ध गराउन काम गरिरहेको संस्था संयुक्त राष्ट्रसंघिय सहयोग कार्यक्रम युएनडिपीको बारेमा राखेको जिज्ञासाको उत्तर पठाउने क्रममा यो तथ्य लिपिबद्ध भएको हो । 
निमित्त आयोजना प्रमुख बिकि लाखाले बैदेशिक सहायता समन्वय शाखामा पठाएको इमेलमा भनिए अनुसार युनोप्स्का प्राविधिक र पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरू बीचमा समन्वयको अभाव थियो । ‘जसले सेवा प्रबाहमा गुणस्तरमा कमी भएकोले प्राविधिक जटिलता परेको छ र असुरक्षित घरको तथ्याङ्कमा बृद्धि भएको पाइएको छ । युनोप्स्बाट खटिएका प्राविधिकहरू लाभग्राहीको घरमा नपुगी नक्सा बनाईदिने गरेको समेत गुनासो आउने गरेको छ ।’ आयोजना कार्यान्वय इकाईले युनोप्स्को क्रियाकलापका कारण नुवाकोटमा पुनर्निमाणको प्रगतीमा योगदान नभएको ठोकुवा गरेको छ ।     
त्यस्तै, युनोप्स्ले जिल्ला वा पालिकास्तरिय कुनै पनि निकायमा आफुले गरेको क्रियाकलापको बारेमा कुनै प्रतिवेदन बुझाउने गरेको पाइएको छैन । यदि पालिकाले मागेमा दिन नमिल्ने बताउने गरेको छ । यो पनि चिठीमा भनिएको छ ।  
त्यस्तै १७ बैशाख, २०७६ मा जिल्ला आयोजना कार्यान्वयन ईकाईले युनोप्स्को बारेमा अर्को पत्र लेखेर यही समस्याहरू दोहो¥याएको छ । केन्द्रिय आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय ललितपुरलाई पत्र लेखेर निमित्त प्रमुख बिकि लाखाले युएनओपिएसले गरिरहेको कामको असन्तुष्टि जाहेर गरेका हुन् ।  
जसमा समन्वय नभएको, प्रगती प्रतिवेदन सन्तोषजनक नरहेको, तथ्याङ्क लिन कठिनाई भएको र प्राविधिक सेवा जटिल बनेको उल्लेख छ । जिम्मेवार सरकारी निकायले ‘युनोप्स्को काम गुणस्तरिय नरहेको र कच्ची घरहरू निर्माण भइरहेको’ किटान गरेर तालुकदार निकायमा पत्राचार गरेको छ । समाचार श्रोतका अनुसार जिल्ला आयोजना कार्यान्वय इकाईका निमित्त प्रमुख बिकि लाखाले लेखेको यही पत्रका कारण यो परियोजनाले उनलाई सरुवा समेत गराएको छ । परियोजनासित सिधै भारतिय दुतावास जोडिएकोले उच्चस्तरिय पहुँचका आधारमा लाखाको सरुवा जेठमा गराइएको थियो । कार्यालय प्रमुखलाई आर्थिक बर्ष सकिन एक महिना बाँकी रहँदा पनि रातारात सरुवा गरेर परियोजानले अर्को कार्यालय प्रमुख ल्याएको चर्चा छ । ‘त्यसपछि युनोप्स्बाट नुवाकोटमा भएगरेका कामको बारेमा यस्तो प्रष्ट समीक्षा र अनुगमन भइरहेको छैन’, श्रोत भन्छ– ‘परियोजना आफ्नै तालसुरमा काम गरिरहेको छ, कसको आँट हुनु भारतिय परियोजना, युएनडिपीको बारेमा बोल्ने !’ 

  


बालिका जवान बनाउन पशुको औषधि

शर्मिला उप्रेती
शक्ति समुह नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रम । तस्बिरःजालपान्युज
विदुर\यौन व्यवसायका लागि भारतको विभिन्न कोठीहरूमा बन्धक बनाइएको नुवाकोटका ११ जनाको उद्धार भएको छ । यसरी उद्धार भरएको किशोरी तथा महिलाहरू अहिले सुरक्षित र संरक्षित रुपमा रहेको शक्ति समुह नुवाकोटले जनाएको छ । मानब ओसारपसार तथा आधुनिक दासताको बिषयमा शक्ति समुह नुवाकोटले जिल्लाका पत्रकारहरूसंग शुक्रवार गरेको अन्तरक्रिया उक्त तथ्य सार्वजनिक भएको हो ।
मानब ओसारपसारको चपेटामा नुवाकोट रहेको भन्दै शक्ति समुहले सञ्चारकर्मीहरूले यसको बिषयमा लेख्न आग्रह गरेको छ ।
पछिल्लो पटक उद्धार गरिएकाहरूमा १८ वर्ष भन्दा मुनी उमेर समुहका रहेको समेत बताइएको छ । उनीहरूको शारिरिक विकासका लागि पशुलाई खुवाउने औषधि सेवन गराइएको स्वास्थ्य परिक्षणबाट देखिएको छ ।
रोजगारी, अध्ययन तथा भ्रमणको बिभिन्न बाहना बनाउदै कलिला बालीकाहरूलाई ‘सेक्स ओर्कर’को रुपमा प्रयोग हुँदै आएको शक्ति समुहले जनाएको छ । चालु आर्थिक वर्षको अवधिमै नुवाकोटका ११ जनालाई उद्धार गरिएको तथ्याङ्कका आधारमा जिल्लाबाट मानव विक्रिको अवस्था भयावह रहेको बताइएको छ । उनीहरूलाई नेपाल फिर्ता ल्याइसकिएको छ । तर भारतको यौन बजारमा रहेको नेपाली महिला तथा किशोरीहरूलाई फिर्ता ल्याउन कानूननै परिमार्जन गर्नुपर्ने आबाज समेत उठेको छ ।
शक्ति समुहका केन्द्रिय तालिम तथा कानुन अधिकृत दिलिप कोईरालाले भारतको बिभिन्न स्थानबाट उद्धार गरिएका चेलीहरूलाई नेपाल ल्याउन कानूनी अड्चन रहेको बताए । दुई देश बिचमा रहेको संबैधानिक सम्स्याले  सहज रुपमा नेपाली महिला तथा बालिकाहरूको उद्धारमा समस्या रहेको उनले बताए ।
शक्ति समुह नुवाकोटका जिल्ला अधिकृत सम्झना प्रसाईले समस्यामा परेपनि फिर्ता हुन नचाहने र परिवारिक सहयोग नहुने गरेको बताएका छन् । पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लाका पत्रकारहरू मानव विक्रि जस्तो जघन्य अपराधको विरुद्धमा निरन्तर सक्रिय रहेको बताए । उनले यस विधिमा समाचार लेख्दै आएका पत्रकाहरूको क्षमता विकास र प्रोत्साहका लागि यस क्षेत्रका काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरूले विशेष कार्यक्रम ल्याउदा समुदायमा लाभ मिल्ने बताएका छन् ।
मानव विक्रको दृष्टिबाट बढि प्रभावित देखिएका नुवाकोटको दुप्चेश्वर गाउपालिकाका सबै वडा, तादी गाउपालिकाको २ नम्बर वडा, पञ्चकन्याको गाउँपालिकाको वडा नं. ४ र शिवपुरी गाउँपालिकाको वडा नं. १ मा शक्ति समुहले दासता र गरिबी विरुद्ध सामुदायिक नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गरेको छ । 

रसुवागढी नाका अझै बन्द

रोशन बोगटी
विदुर\कोरोना भाइरस नेपाल भित्रने डरले बन्द गरिएको रसुवागढीदेखि केरूङसम्मको आवतजावतमा बन्द कायम राखिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । त्यो म्याद बढाएर फागुन ७ गतेसम्म पु¥याइएको छ ।
रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा  स्वास्थ्यको चेतनामूलक कार्यक्रम भएको प्रशासनले जनाएको छ ।
तर, रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
नेपाल सरकारले भने साथै केही दिनका लागि आवतजावतमा निगरानी राख्दै सीमामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको जनाएको छ । तिब्बतमा झन्डै ५ सय नेपालीको बसोबास छ, केरुङमा पनि ठुलो संख्यामा नेपाली नागरिकहरू बसोबास गर्दै आएका छन् ।
चीन र नेपालबीच १४ सय १४ किलोमिटर सीमा जोडिएकामा आवश्यक स्थानमा चीन सरकार स्वयंले नाका र आवतजावत बन्द गरेको छ । 
कोरोना भाइरसको प्रकोप बढेपछि चीनसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी मुलुकले चिनियाँ नागरिकको आवतजावतमा कडाइ गरे पनि नेपालले थप कडाइ वा सीमा सतर्कताको तयारी गरेको छैन ।
गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ मसान्तसम्म रसुवा नाकाबाट १५ दिनका लागि आवागमनमा कडाइ गरिए पनि अन्य नाकाबारे कुनै निर्णय गरिएको छैन ।

७० हजारले हेरे महोत्सव

प्रितिका थापा
बट्टार\छैटौँ नुवाकोट महोत्सबमा ७० हजार दर्शकले अबलोकन गरेको आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सबमा ६० हजारले टिकट काटेर अबलोकन गरेको र बाँकी बृद्धबृद्धा र बाणिज्य संघका साधारण सदस्यहरू रहेको बताइएको छ । धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ यही माघ १६ गते सुरु भएको महोत्सवले नुवाकोटमा बिकासको लहर सिर्जना गरेको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले दावी गरेका छन् । नुवाकोट जिल्लाको सम्भावनलाई उजागर गर्दै महोत्सबले ब्यबसायिक क्षेत्रमा फड्को मारेको उनले बताए ।
यसै बीच, महोत्सबमा पाँच करोड रुपैयाँको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताएका छन् ।
बट्टारको बसपार्क नजिकै १२ दिनसम्म सञ्चालन भएको छैठौं नुवाकोट महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थियो । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरूमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन विशेष योगदान पुगेको नेपाल उद्योग बाणिज्य महासंघका केनिद्रय सदस्य राजन श्रेष्ठले बताए । 

छाला सहित दुई पक्राउ

मुकुन्दराज अर्याल
विदुर\संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी उनीहरू लाई सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुह्ेश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो । उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको बताईएको छ । उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

बोगटीलको निधनले मलाई ठूलो क्षति भयो : प्रचण्ड

सुजित भण्डारी
पोष्टबहादुर बोगटीको जन्मस्थल विदुर नपा–७ तुप्चेमा
शालिक अनावरण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड । तस्बिर : संगम भड्ताल\इमेज
तुप्चे\सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सहकर्मी पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् । विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा गएको सोमवार आयोजित कार्यक्रममा प्रचण्डले बोगटीको शालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण कार्यक्रममा पोष्टबहादुर बोगटीलाई सम्झदै प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरूमा निसर्त साथ दिएको बताए । उनको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण प्रचण्डले गरे ।
सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रहण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको प्रचण्डको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उनले बोलेपछि पार्टीका शीर्ष नेताहरू समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो । आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहने गरेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’
बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । प्रचण्डले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरे । त्यस अवसरमा चण्डेश्व्री माविको अभिभावक भेलालाई समेत अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको जन्मथलोमा निर्माण भएको अर्धकदको शालिकसंगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालिका, वडा कार्यलय , स्थानिय युवा क्लबहरू लगायतको झण्डै १५ लाख रुपैयाँ आर्थिक सहयोगमा २ महिनामा नै शालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष कल्पना रिमालले जानकारी दिएका छन् ।
यसै बीच, प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उनको संकेत थियो । ‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’ कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गरेका थिए । लामाको भनाइ प्रति टिप्पणी गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिए । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको बताए । 
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरूले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र ‘कनेक्टिभिटी’ नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे ।