Monday, February 21, 2022

प्रेस सेन्टरले तोक्यो बागमतीका १० जिल्लामा इञ्चार्ज

धादिङ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोश्रो पूर्ण बैठक धादिङमा बिहीबार सम्पन्न भएको छ । 

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सह–सचिव बिजय बुर्लाकोटी सहितको उपस्थितीमा बसेको बैठकले प्रदेशका पदाधिकारीलाई जिल्ला र पालिका केन्द्रीत कार्यक्रम गर्नका लागि इञ्चार्ज बनाइ खटाउने निर्णय गरेको छ । बैठकमा संगठनका केन्द्रीय अध्यक्ष जुगलले संगठनलाई अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बैठकले बाग्मती प्रदेशका दशवटै जिल्लामा जिल्ला इन्चार्ज तोकेर पठाएको छ । बागमती प्रदेशका प्रमुख सचिव धुब्र अधिकारीका अनुसार प्रदेश उपाध्यक्ष नानीमैया विष्टलाई चितवन, प्रदेश उपाध्यक्ष कपिलदेव खनाललाई रसुवा, प्रदेश उपाध्यक्ष अञ्जु डिम्दोङलाई कार्भे इञ्चार्ज तोकेको छ । बागमती प्रदेशका सचिवहरू सुमन गैरे मकवानपुर, सन्तोष दाहाल सिन्धुपाल्चोक, ध्रुबचन्द्र खड्का रामेछाप, चन्द्रकला खत्री दोलखा, गम्भिर विक सिन्धुली, इच्छापूर्ण कार्की नुवाकोट र सन्तोष देवकोटालाई धादिङ्ग इञ्चार्ज बनाइएको छ । 

इञ्चार्जले जिल्लामा पत्रकारिताको वस्तुस्थिति र संगठन विस्तार, कार्यालय स्थापना गर्ने, प्रेस सेन्टर नेपालको गाउँपालिका तथा नगरपालिका तहमा कमिटी गठनमा सहजिकरण गर्ने छन् । 

बैठकले मकवानपुरका इच्छापूर्ण कार्कीलाई प्रदेश सचिब पदमा मनोनित गर्ने, प्रेस सेन्टरमा आवद्ध पत्रकारको उपचार तथा बिपदमा सहयोग गर्नका लागि  आपत्कालिन कोषको स्थापना, हेटौंडामा कार्यालय स्थापना लगायतका निर्णयहरू गरेको प्रदेश अध्यक्ष यदुनाथ गौतमले जानकारी दिएका छन् । 

दोश्रो पूर्ण बैठकमा प्रेस सेन्टर नेपालका नेताद्वय सुरेशचन्द्र अधिकारी, लक्ष्मण खड्का, नेकपा माओवादी केन्द्र प्रदेश प्रवास कमिटी सदस्य रमेश तिवारी, संगठनका केन्द्रीय सदस्य रमेश आचार्य, नारायण सिलवाल र कृष्ण सारु मगर, संगठन वागमती प्रदेशका अनुशासन कमिटीका संयोजक भरत अधिकारी लगायतकाको आतिथ्यता थियो ।


विकासका लागि छलफल

गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेशी सडक आयोजनाको कामलाई गति दिनका लागि र अधुरो काम सम्पन्न गर्नका लागि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको पहलमा बैठक भएको छ । बैठकमा नगर उप–प्रमुख गीताकुमारी दाहाल, वडा अध्यक्षहरू, आयोजना प्रमुख, आयोजना ईन्जिनियरहरूको सहभागिता रहेको थियो । आयोजनाको बाँकी काम पिपलटार–गंगटे देखि ढुङ्गेसम्मको सडक निर्माणको लागि सरोकारवालाहरू बीच छलफल गर्ने निर्णय गरेको छ । तस्बिर : इमेज साप्ताहिक


चौतारीमा श्रेष्ठ र संगठनमा गजुरेल अध्यक्ष

संगठनका अध्यक्ष गजुरेल पदभार ग्रहण गर्दै

विदुर । बिहीवार विदुरमा भएको नेकपा एमाले निकट पत्रकारहरू र नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको छुट्टा छुट्टै जिल्ला भेलाले नयाँ कार्य समिति चयन गरेको छ । 

एमाले निकट प्रेस चौतारी नेपाल नुवाकोट शाखाको छैठौं जिल्ला अधिवेशनले नवदीप श्रेष्ठको अध्यक्षतामा र समाजवादी निकट समाजवादी प्रेस संगठनको पहिलो भेलाले जमुना गजुरेलको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । चौतारीको नुवाकोट उपाध्यक्षहरूमा श्रीराम अधिकारी र शुशिला लामिछाने, सचिवमा सुनिल श्रेष्ठ, सह सचिवहरूमा कृष्ण अधिकारी र पुजा तामाङ तथा कोषाध्यक्षमा केदार ढकाल चयन भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरूमा कृष्णप्रसाद ढुङ्गाना, लोकबहादुर पुडासैनी, किशोर वली, संगिता लामिछाने छन् । 

यस्तै,  नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नुवाकोटको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणी अधिकारी र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् । कमिटिको सदस्यहरूमा हरिजंग पाण्डे, बिपस्ना बस्नेत (जानकी), सृजन पौडेल, मनोज न्यौपाने र सुबास भट्ट छन् । भेलाले समाजवादी प्रेस संगठन बागमती प्रदेश कमिटि सचिव भोलाराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ सदस्य छन् ।

प्रेस चौतारी नुवाकोटको कार्यसमिति


नेपालको पुस्तक शिवगढीदेखि प्रतिबन्धसम्म

पत्रकार एवं लेखक नारायण नेपालको पुस्तक ‘शिवगढीदेखि प्रतिबन्धसम्म’ प्रकाशन भएको छ । पत्रकार नेपालले राजनीतिक एवं समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

नेपालले तत्कालीन नेकपा–माओवादीबाट अलग भइ नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषण सहित पुस्तक प्रकाशन गरेका हुन् । 

विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई शिलशिलेवर रूपमा पुस्तकमा समेटिएको छ । २०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको विश्लेषण नेपालको पुस्तकमा पाइन्छ । कम्पन मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकको बजार व्यवस्थापन भुँडीपुराण प्रकाशन बागबजारले गरेको छ । पुस्तकमा भूमिका लेख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली सुदर्शनले ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेको अनुभूति भएको बताएका छन् । ‘एउटा प्रत्यक्षदर्शीले सात वर्षका ऐतिहासिक घटनाक्रमको आलोचनात्मक समीक्षा गरेजस्तो अनुभूति हुन्छ’ उनले भने ।

लेखक नेपालका यसअघि कञ्चना (गीतिकविता संग्रह), कुन्मिङ यात्रा (यात्रा संस्मरण), विद्रोही मनहरू (गजलसंग्रह), विद्यार्थी आन्दोलन र नुवाकोट (इतिहास विविध) र क्रान्तियात्राका भरियाहरू (कवितासंग्रह) प्रकाशित छन् । लेखक नेपालले पछिल्लोपटक सहिद भरत  ढुंगाना स्मृतिग्रन्थ संकलन एंव सम्पादन गरी प्रकाशन गरेका छन् ।


समाज बदल्ने औजारहरू

रामलाल श्रेष्ठ

नेपाली समाज बदलिरहेको छ । नेपाली समाज मात्र होइन पुरै मानव समाज बदलिरहेको हुन्छ । समाज तपाई हामीहरूले चाल नै नपाई बदलिरहेको हुन्छ । त्यसो त समयसंगै समाज पनि बदलिरहेको हुन्छ ।

समाज कसरी बदलिन्छ ?

मानिस जन्मेदेखी नै बदलिरहेको हुन्छ । मानिस आफू बदलिरहेको आफैंलाई थाहा हुदैन । समाज पनि मानिस जस्तै बदलिरहेको हुन्छ । समाज बदलिरहेको समाजमा बस्ने मानिसलाई थाहा नै हुँदैन । जब समयको लामो अन्तरालमा दुई परिचित मित्र भेट हुँदा मात्र मानिस बदलिरहेको चाल पाइन्छ । ठिक त्यसैगरी लामो समयको अन्तरालपछि कुनै परिचित समाजमा पुग्दा मात्र समाज बदलिएको चाल पाइन्छ ।

नेपालको राजनीतिमा समाज कसरी बदलिन्छ भन्ने बहस सुरु भएकै छैन । नेपालको राजनीतिमा सरकार बनाउने र सरकार बदल्ने बहस मात्र हुन्छ । समाज बनाउने र समाज बदल्ने बहस सुरु गर्न ढिलो भइसकेको छ । नेपाली राजनीतिको युवा कार्यकर्तालाई समाज बनाउने र समाज बदल्ने कसरी भनेर प्रश्न गर्ने हो भने कुनै उत्तर आउदैन । एउटा सामान्य उत्तर चाँही आउछ आफ्नो पार्टीको सरकार आएपछि समाज बनाउने काम हुन्छ । नयाँ युवा पुस्तालाई त समाज भनेको के हो भन्ने सामान्य ज्ञान समेत छैन ।

चिन्तनका वा दर्शनका सामान्य ब्याख्या समेत नेपाली समाजले बुझिरहेको छैन । पढेलेखेका वा जानेबुझेका ब्यक्तिहरू समेत दर्शनको सामान्य ब्याख्या समेत बुझिएन भन्ने सुनिन्छ । यसको मतलव नेपाली समाजमा चिन्तन वा दर्शनको सामान्य ज्ञान समेत छैन भन्ने देखाउछ । चिन्तन वा दर्शनको सामान्य ज्ञान बिना समाज बनाउने वा समाज बदलिने कुराहरू नबुझनु सामान्य नै हो । मानव शरीर समयसंगै जसरी बदलिरहेको हुन्छ ठिक त्यसैगरी मानव समाज पनि समयसंगै बदलिरहेको हुन्छ । मानव शरीर बदलिन पहिलो आवश्यकता समय हो । समय नबदलिने हो भने मानव शरीर पनि बदलिदैन । समय पल पलको गतीमा बदलिरहेको हुन्छ । ठिक त्यही गतीमा मानव समाज पनि बदलिरहेको हुन्छ । मानव शरीर बदलिन समयसंगै मानव सरिर बदलिन पोषण पदार्थको आवस्यकता पर्दछ । यदि मानव सरिर जिवित रहन आवश्यक पोषण पदार्थ बाहिरबाट नदिने हो भने मानव शरीर बदलिने क्रम रोकिन्छ । ठिक त्यसैगरी मानव समाज बदलिन समाजलाई आबश्यक पोषण पदार्थको जरुरत पर्दछ । समाज बदलिने पोषण पदार्थ नै समाज बदल्ने औजारहरू हुन् ।

मानव शरीर जिवित रहन जन्मना साथ आमाको दूध उसको पौष्टिक आहार हो । आमाको दूध विना भर्खर जन्मेको बालक जिवित रहन सक्दैन । केही महिना आमाको दूधको सहारामा बालक जिवित हुदै बदलिरहेको हुन्छ । छ महिनाको समय पछी शिशुलाई दूध बाहेक थप पौष्टिक पदार्थको आवश्यकता पर्दछ । यदी छ महिना पछि शिशुलाई दूध बाहेक थप पौष्टिक पदार्थ नदिने हो भने शिशुको विकास वा जीबन रहन सक्दैन । थप खाद्य पदार्थको रुपमा नेपाली समाजमा ‘भात ख्वाई संस्कृती’ गर्ने परम्परा छ । छ महिना पछि बालकलाई दूध संगै दाल भात मिची मिची ख्वाइने गरिन्छ । आमाको दूध र थप खाद्य पदार्थको सेवनले बालक बदलिरहेको हुन्छ । मानव शरीर बदलिन मानव शरीरलाई समय बित्दै जाँदा मानव शरीरलाइ पुनः अर्को पदार्थहरूको जरुरत पर्दै जान्छ । मानव शरीरको आकार वा तौल बढ्दै जाँदा थप खाद्य पदार्थको आवश्यकता पर्दछ । तीन वा चार बर्ष पछि मानव शरीरसंगै मानव मष्तिष्क समेत बदल्न पर्ने आवश्यकता पर्दछ । बालकलाई बिद्यालय पठाउन पर्ने हुन्छ । यदी सानै उमेरमा बिद्यालय नपठाउने हो भने मानव मष्तिष्क बदलिन पाउदैन । मानव शरीर समय अनुसार बदलिरहेको हुन्छ तर विद्यालय नपठाउने हो भने मानव मष्तिष्क बदलिन पाउदैन । मानव मष्तिष्क शरीर जस्तै पौष्टिक पदार्थले भरिन आवश्यक हुन्छ । मानव मष्तिष्कको पौष्टिक पदार्थ भनेको जीबन र जगतको ज्ञान हो । शरीर जिवित रहन हर पल पौष्टिक खाद्य पदार्थको जरुरत परे जस्तै मानव मष्तिष्क जिवित वा तन्दुरुस्त रहन जीबन र जगतको ज्ञानको जरुरत पर्दछ । जीबन र जगतको ज्ञान विना मानव मष्तिष्क खाली खाली वा शून्य हुन्छ । शून्य मष्तिष्क भनेको मानिस र धर्तीका अन्य जिवहरू बीच कुनै फरक नहरने स्थिति हो ।

मानव शरीर बदलिने क्रम निकै धिमा गतिमा हुन्छ । मानव समाज पनि निकै धिमा गतिमा बदलिरहेको हुन्छ । मानव शरीर बदलिने क्रम उसले पाउने पोषण पदार्थमा आधारित भए झै मानव समाज बदलिने क्रम पनि समाजले पाउने पोषण पदार्थमा नै आधारित हुन्छ । मानव शरीरलाइ एकै चोटी पाँच बर्षको बनाउन सकिदैन । ठिक त्यसैगरी मानव समाजलाई पनि एकै चोटी पुँजीवादी वा समाजवादी बनाउन सकिदैन । नेपाली समाजले नबुझेको दर्शन समाज बदलिने गति हो । नेपाली समाज छिटो छिटो बदलिन चाहन्छ । यसको पछाडि उसका छिमेकी र अलि पर खाडी मूलुक र अली पर युरोप र अमेरिका  देखेको छ । आफू पनि त्यस्तै बन्न हतार गर्दछ । एउटा पाँच बर्षको मानव शरीर अर्को तीन बर्ष भित्र बीस बर्षको जवान मानव शरीरमा बदलिन सकिन्छ र ? समाज बदलिने एउटा गति हुन्छ । त्यो गति भन्दा छिटो समाज बदलिदैन । यही गतिको नाम हो डाइलेक्टिकल गति ।

डाइलेक्टिकल गति के हो ?

मानिस बदलिने, समाज बदलिने गतिको नाम हो डाइलेक्टिकल गति । मानव शरीर बदलिने जुन गति छ त्यही गतिको नियम भित्र मानव समाज बदलिन्छ । मानव समाज बदलिने गतिको नियम नबुझेसम्म डाइलेक्टिकल गतिको नियम बुझिदैन । प्रत्येक दिन पछि रात हुने समयको गतिको नियम हो । धर्ती आफ्नो धुरीमा एक चक्कर लगाउन २४ घण्टा लाउने समयको गति हो । यो गतिलाई मानवले न बढाउन सक्छ न घटाउन सक्छ । यो गतिको नाम हो धर्तीको यान्त्रिक गति । धर्तीले सूर्यलाई एक चक्कर लगाउन ३६५ दिन लगाउछ । यो एक बर्षको समय धर्तीको मेकानिकल गति हो । यो गति भित्र धर्तीमा जीबनको जन्मने र हुर्कने गति निर्धारण भएको हुन्छ । धर्तीमा जिवनको जन्मने र हूर्कने गति मेकानिकल वा यान्त्रिक गति जस्तो हुदैन । धर्तीमा जीबनको जन्मने र हुर्कने र बदलिने गतिको नामलाई नै डाइलेक्टिक्ल गति भनिन्छ । डाइलेक्टिकल गतिको नियम भित्र मानव समाज बदलिरहेको हुन्छ । मानव समाज बदलिने यो नियम नबुझेसम्म समाज बदल्ने कुरा कुइरोको काग झैं हुन्छ ।


प्रदेश सभापतिलाई सुझाव !

 जगदीश्वरनरसिंह केसी

नेपाली कांग्रेसको हालै सम्पन्न चौधौं महाधिवेशनले सातवटै प्रदेशमा गठित पार्टीका प्रदेश समितिहरूको भूमिका पार्टी संगठनको लागि एकदमै जिम्मेवारीपूर्ण हुने कांग्रेसको विधानले स्पष्ट पारेको छ । त्यसमा पनि संघीय राजधानी रहेको र देश विदेशका नागरिकहरूको बाक्लो आवतजावत र बसोबास हुने १३ जिल्ला समावेश सबभन्दा ठूलो प्रदेशमा त कांग्रेस समितिको भूमिका झनै सर्वाधिक महत्वपूर्ण हुने गर्छ । तसर्थ कांग्रेस बागमती प्रदेशका सभापति तथा अन्य पदाधिकारी र सदस्यहरू यो महत्वलाई सार्थक र सफल बनाउन सक्षम हुनुहोस् भन्ने मेरो फेरि पनि हार्दिक शुभकामना छ । कांग्रेसको सङ्गठन विस्तार, सशक्तीकरण, सन्तुलन र प्रभाव तथा प्रतिष्ठा अभिवृद्धिको लागि बागमती प्रदेश समितिलाई म लगायत मेरा सम्पूर्ण साथीहरूको निस्वार्थ र निःशर्त सहयोग रहने कुरामा बचनवद्ध छौं ।

तर प्रदेश समितिको निर्वाचन सकिएको साँढे दुई महिना बितिसक्दा पनि हाम्रो यो शुभेच्छालाई समेट्ने र प्रदेशमा पार्टीको संगठन तथा प्रभाव विस्तार गर्ने जिम्मेवारीमा प्रदेश सभापतिको उचित व्यवहारको आभास पाइएन । पार्टीको आन्तरिक निर्वाचनलाई अर्को पार्टीसँग प्रतिस्पर्धामा जितेको जस्तो ढङ्गले लिन थाल्दा पार्टीको संरचना, संगठन र सन्तुलन सबै कुरा खल्बलिन जाने वास्तविकताप्रति कम्तीमा प्रदेश सभापतिले सजग रहनु पर्ने हो । प्रदेश निर्वाचनको सिलसिलामा म सभापतिको प्रत्याशी थिएँ, तर झिनो मतको अन्तरले पराजित भएँ । निर्वाचनलाई प्रभावमा पार्न अनेकौं अपवित्र शैलीको सहारा लिइयो भनेर हामीले आपत्ती जनाएनौं । जे भए पनि मैले आफ्नो पराजय स्वीकारेँ । विजेता सभापतिजी मेरो प्रिय मित्र पनि हुनुभएकोले उहाँको विजयलाई मैले आफ्नै विजयको अर्को रूपमा बुझेको थिएँ ।

तर निर्वाचित भएको यतिका दिनसम्म प्रतिस्पर्धी समुहलाई पनि साथै समेटेर कांग्रेसको संस्कार अनुरूप लोकतान्त्रिक पद्धतिका साथ चल्ने सभापतिजि बाट प्रयत्न नै नहुनु उदेकलाग्दो भएको छ । यस्तो एकलकाँटे र काँग्रेसको लोकतान्त्रिक संस्कारसँग मेल नखाने गतिविधिले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी विजय गराउन सकिन्छ ? चौधौं महाधिवेशनको क्रममा यो प्रदेशमा पनि ४ जिल्लामा अधिवेशन र नेतृत्व निर्वाचन गर्न बाँकी नै छ । पार्टीका सहधर्मी साथीहरूको ठूलो समूहलाई निषेध र निष्कृय बनाउने नियतले सन्तुलन खल्बल्याउँदै अधिनायकवादी विकृतिको सहारामा पार्टीको सू–सञ्चालन हराउँछ, पार्टीलाई आफ्नो स्वार्थमा जबरजस्ती घिसार्न खोज्ने अहंकार हावी हुन्छ । हाल बाग्मती प्रदेश कांग्रेस समिति यस्तै विकृत र विसंगत गतिविधिको शिकार हुने कुबाटोमा धकेलिने खतरा बढिरहेको देखिन्छ । यसलाई समयमै सकारात्मक ढङ्गले नियन्त्रण गरिएन भने यसको महँगो मूल्य पार्टीका हामी कार्यकर्ताले चुकाउनु नपर्ने ग्यारेन्टी कसैले दिन सक्दैन ।

त्यसैले वास्तबमा पार्टीको आन्तरिक निर्वाचनमा बिजेताले एकलौटी चलाउने र पराजित पक्षको भूमिका नै समाप्त हुने खालको हुँदैन । लोकतान्त्रिक पार्टी–नेतृत्वको आन्तरिक निर्वाचनमा ‘विनर’ र ‘लुजर’ होइन ‘विनर’ र ‘रनर’ हुन्छ । प्रदेश सभापतिबाट आफ्नो कार्यशैलीमा आमूल सुधार गरी सबैलाई समेट्ने, विश्वास र सन्तुलनमा लिने फराकिलो मानसिकता देखाउनु पर्ने जरुरी छ । लोकतान्त्रिक पार्टीमा सबैको भूमिका र गतिविधिलाई नेतृत्वले संयोजन गर्न सक्नुपर्छ । विजेताले प्रतिस्पर्धीहरूलाई पनि न्यायोचित ब्यवहारद्वारा सँगै लिएर सक्रिय हुने र पराजित हुनेले चुनावी तिक्ततालाई हटाएर एकताका साथ क्रियाशील हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । प्रदेश सभापतिजिबाट पनि सोही अनुरूपको कार्यकशैली अपनाइयोस् भन्ने सुझाव दिन चाहन्छु ।

(नेपाली काँग्रेस नुवाकोटका निवर्तनमा सभापति केसी काँग्रेस बागमती प्रदेश सभापतिका प्रत्यासी हुन् ।)

कम्युनिष्ट पार्टीलाई समेत बुझ्न सकिने पुस्तक : ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’

 
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’(सिद्धान्त तथा नीतिको परिचयसहित) नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसको सिद्धान्त तथा नीतिको परिचयसमेत समेटिएको उक्त पुस्तकको विमोचन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता केसी, लेखक तथा समिक्षक पुरुषोत्तम दाहाल, लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम लगायतले आफ्नो भनाइ राखेका थिए । पुस्तकबारे बोल्दै प्रधानमन्त्री देउवाले उक्त पुस्तकले पुराना पुस्ताका धेरै व्यक्तिहरूलाई नयाँ पुस्ता समक्ष चिनाउन मद्धत गर्ने बताए । नेपाली कांग्रेसमा योगदान दिने धेरै व्यक्तिहरूलाई पुस्तकले समेटेको बताउँदै नेता र नेतृत्वप्रति सम्मान बढाउनुपर्नेमा जोड दिए । अझै पनि कतिपय ठाउँमा कांग्रेसका पुराना नेताहरूबारे कार्यकर्ताहरू अनविज्ञ रहेको बताउँदै यस्ता पुस्तकले त्यसलाई चिनाउने काम गर्ने भन्दै पुस्तकको सफलताको शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै कांग्रेस महामन्त्री थापाले पुस्तकबारे बोल्दै पार्टीसँग आवद्ध हुने हरेकलाई किन र केका लागि पार्टीभित्र लागियो भन्ने कुराको जानकारी राख्नुपर्नेमा जोड दिए । साथै पार्टीभित्रको नीति विधि र शिद्धान्तलाई चिनाउनका लागि पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने थापाको भनाइ रहेको छ । त्यस्तै लेखक तथा समिक्षक दाहालले पुस्तकबारे बोल्दै पुस्तकले नयाँ र पुरानो पुस्ताबीचको सम्बन्ध सेतुको काम गर्ने बताए । पार्टीका पुराना पुस्ताले नयाँ पुस्ताका लागि इतिहासिक कुराहरूको बारेमा यसरी नै संग्रहित गरेर पस्किनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली कांग्रेसको इतिहासमा एक राम्रो दस्तावेज लेखिएको बताउँदै दाहालले उक्त पुस्तकले नेता केसीको थप परिचय बढाएको भन्दै प्रशंसा समेत गरे । पुस्तकबारे बोल्दै लेखक तथा समिक्षक गौतमले नेपाली कांग्रेस बुझ्न चाहनेहरूका लागि उक्त पुस्तक राम्रो हुने उनको भनाइ रहेको छ ।

आफ्नो पुस्तकबारे बोल्दै नेता केसीले आफूले आफ्ना लेख रचनाहरूको संग्रह मात्रै नभइ नेपाली कांग्रेसमा योगदान दिएका गुमनाम पात्रहरूको बारेमा समेत उजागर गरेको बताए । त्यसैगरी पार्टी भित्र रहेर मात्र नभइ पार्टी बाहिर रही स्वतन्त्र रुपमा समेत लोकतन्त्रको लागि योगदान दिनेहरूका लागि सम्मान र स्मरण गर्ने बेला आएको प्रति प्रधानमन्त्री एवं सभापति देउवाको ध्यानाकर्षण गराए । आफूले कोरोना महामारीको समयमा पुस्तकको लेखनको उपयुक्त समय पाएको बताउँदै नेता केसीले पुस्तक लेखनदेखि प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे । नेता केसीले यस पुस्तकबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे ।

उनले भने– ‘यो किताव झण्डै झण्डै म केन्द्रीय कार्यसमितिको सदस्य भएको २६/२७ वर्ष भयो । यो बीचमा जहाँ जहाँ जुन प्रशिक्षणका कार्यक्रमहरूमा देशविदेशमा सहभागी बनेँ । त्यहाँ नेपाली कांग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षहरूको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाहरूको उत्तर मैले जे दिन्थेँ त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिएँ । यो मेरो २०/२२/२५ वर्षकै प्रयत्न हो । यसमा नेपाली कांग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरूलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र वास्तविकता पुगोस् भन्ने प्रयास हो । इतिहासमा कांग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान प¥याएका छन् । उनीहरूले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था कांग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ । भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरूलाई उत्खनन गरेर यसमा राख्ने कोशिष यसमा भएको छ । अर्को कुरा यसमा १३ औँ महाधिवेशनसम्म नेपाली कांग्रेसले लिएको कार्यदिशा, वीपी कोईरालाले देखाएको समाजवाद, नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिदेखि नेपाली कांग्रेसलाई लगाइएका विभिन्न आरोपहरूको खण्डन र नेपाली कांग्रेसको झण्डाको महिमाका कुराहरू नेपाली कांग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यक्ता ठानेर यो पुस्तक लेखेको हुँ । यसमा नेपाली कांग्रेसका अन्तरंग कथाहरू, समाजवादी चिन्तन, सामाजिक न्यायपद्धतिका बारेमा लेखेको छु ।’

नेपाली कांग्रेसको नीति विधि र शिद्धान्त समेटिएको उक्त पुस्तकमा नेपाली कांग्रेसको उत्पतिदेखि लिएर हालसम्मको अवस्थालाई सटिक ढंगले समेटिएको छ । कांग्रेसको पहिलो महाधिवेशन देखि १३ औँ महाधिवेशनसम्मको घटनाक्रमलाई समेत शिलशिलेवार ढंगले उक्त घट्नाक्रमको उल्लेख गरिएको छ । ४८४ पृष्ठ लामो उक्त पुस्तकमा कांग्रेसको बारेमा मात्र नभइ कम्युनिष्ट र अन्य पार्टीको बारेमा समीक्षा गरिएको छ । त्यस्तै कांग्रेस प्रति कम्युनिष्टहरूले लगाउने गरेको विभिन्न आरोपहरूको तथ्यगत रुपमा समिक्षा गरिएको छ ।

पुस्तकको मौलिकता र अन्तर्वस्तु
नेपाली काँग्रेसको बारेमा इतिहास, संरचनागत संगठन, इतिहास निर्माता नेताहरूको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेको लागि यो पुस्तक उपयोगी छ । विचारमूलक राजनीति गर्न चाहने काँग्रेसका कार्यकर्ताहरूका लागि त यो पुस्तक उपयोगी जानकारी मात्र होइन जरुरतको ज्ञान–भण्डार हो भन्नु अतिशयोक्ति हुँदैन । नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना, दुवै काँग्रेसको एकीकरण, काँग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, काँग्रेसले उनीहरूको योगदानलाई विरासतको रुपमा ग्रहण गर्न‘को कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति यसमा छ ।

खासगरी, इतिहासका विभिन्न कालखण्डमा परिवर्तनको निम्ति सम्लग्न, त्याग, योगदान र जीबन उत्सर्ग गरेका हराएका, ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीहरूलाई चिनाउने जमर्को यस पुस्तकमा भएको छ । काँग्रेस इतिहासमा १४ वटा उच्च आदर्श र उदाहरण स्थापना गर्ने पहिलो पार्टी भएको प्रमाण वा काँग्रेसमा आफूले पाएको पद साथीलाई सहजै हस्तान्तरण गरेका करिब १० वटा ऐतिहासिक र आदर्शवान् घटना, वा काँग्रेसमा महाकवि देवकोटाको सक्रियता जस्ता प्रमाणिसिद्ध इतिहासलाई पनि यस पुस्तकले समेटेको छ ।

२००७ सालको क्रान्ति कसरी सम्पन्न भयो, २००७ सालपछि २०१५ सालसम्म काँग्रेस कसरी सक्रिय रह्यो, २०१५ सालमा आमनिर्वाचन सम्पन्न भएपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न काँग्रेसले गर्न‘परेको संघर्ष र सामना गर्न‘परेको व्यवधान आदिका बारेमा यस पुस्तकमा पढ्दा रोचक कहानी वा उपन्यास पढेजस्तो महसुस हुन्छ ।

२०१७ सालपछि पार्टीहरूले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा काँग्रेसको गतिविधि र भूमिका के थियो रु प्रजातन्त्र पुनःस्थापनाको लागि हतियार उठाएर क्रान्ति गरेको पार्टी राष्ट्रिय मेलमिलापको अभियन्ता कसरी भयो र त्यसमा भित्री रुपबाट के–कस्ता खेल भए, मेलमिलाप नीति लागु गर्न क–कसले अहम् भूमिका निर्वाह गरे, इतिहास खोतलेको तथ्य यो पुस्तकले समेटेको छ ।

प्रजातन्त्रको निम्ति समर्पित भएर होमिएका बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइरालादेखि योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइराला, तेजबहादुर अमात्य, एनडी प्रकाश जस्ता नेताहरूको उल्लेख त हुने नै भयो । तर पार्टीका कार्यकर्तादेखि नयाँ पुस्तासम्मले चिन्नैपर्ने यस्ता इतिहास निर्माता क्रान्तिकारी नेताहरू, वीर शहिदहरू गरी करिब एकसय व्यक्तिहरूको युगान्तकारी योगदान र परिचयको चित्ताकर्षक विवरण पाईन्छ ।

काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृसंस्था स्थापनाको अर्को रोचक पक्षलाई पनि पुस्तकले समेटेको छ ।

२०१७ सालपछि निर्वासित अवस्थामै स्थापित प्रजातान्त्रिक समाजवादी युवा दल र राष्ट्रिय विद्यार्थी तथा युवा लीगको स्थापना कसरी भयो भन्ने जस्ता काँग्रेस इतिहासका अनेकौं अध्याय यो पुस्तकले समेटेको छ ।

२०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत संग्रह, त्यसअघिको देशब्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन, अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्नमासम्म काँग्रेसको भूमिका के रह्यो भन्ने सबै विवरण पुस्तकका अध्याय हुन् ।

आदिवासी–जनजाति, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ ।साथै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्यमार्ग, काँग्रेस विरुद्ध चलाईएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले धेरै स्पष्ट पारेको छ ।

पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमिति सहित उल्लेख र पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।

ऐतिहासिक दस्तावेज, समाजवाद बारे बीपीका विचार, कार्यकर्ताहरूलाई बीपीको आलोचनात्मक चर्चित पत्र, अन्त्यमा लेखक स्वयंबाट पार्टीका साथीहरूमा विचारोत्तजक आह्वानले पनि पुस्तकलाई थप गहकिलो बनाएको छ ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखक स्वयंद्वारा हिन्दी भाषामा रचित नेपाली काँग्रेसको झण्डा–गान पनि अतिरिक्त मौलिक आकर्षण भएर रहेको छ । काँगे्रसका नेताहरूले आत्मकथा लेख्दा पार्टीको इतिहासका धेरै रोचक सत्य–तथ्य उजागर गरे ।

तर पार्टी नेताले नै आफ्नो पार्टीको यति प्रभावशाली समीक्षात्मक इतिहास पुस्ताकारमा लेखेको सम्भवतः यो नै पहिलो हो ।

Monday, February 14, 2022

दोहोरिने ‘मुड’मा जनप्रतिनिधि


विदुर । तीन साता अघि बट्टारमा अयोजित नुवाकोट जेसिजको पदस्थापना कार्यक्रममा विेशष अतिथिका रुपमा मन्तब्य राख्दै  पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले घोषणा गरे : ‘आउने कार्यकाल पनि म नै अध्यक्ष हुँ ।’ पार्टीको र नागरिकहरूको चाहनाका कारण आफु दोश्रो कार्यकालका लागि समेत पञ्चकन्या गाउँपालिका अध्यक्षमा उठ्न र निर्वाचित हुनका लागि तयार रहेको उनको दावी रहेको थियो । 

सोही कार्यक्रममा सहभागि भएर मन्तब्य दिएका म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले आफ्नो झण्डै पाँच वर्ष हुन लागेको कार्यकालको समीक्षा गर्दै परिस्थिति आँकलन गरेर अघि बढ्ने वा पछि हट्ने अभिव्यक्ति दिए । तर अनौपचारिक रुपमा भने उनी पनि गाउँपालिका अध्यक्ष दोहो¥याउने ‘मुड’ व्यक्त गरिरहेका छन् । 

तीन सात अघिको एकै कार्यक्रममा प्रस्तुत जनप्रतिनिधिहरूको आंकाक्ष र अभिव्यक्तिले नुवाकोटका स्थानीय सरकार प्रमुखहरू पुनः दोहोरिने तयारीमा रहेको संकेत गरेको छ । यी दुई गाउँपालिका मात्रै होइन नुवाकोटका १२ वटै स्थानीय सरकारका प्रमुखहरू पुनः सोही पदका लागि ‘मुड’ तयार गरिरहेका छन् । उप प्रमखहरू प्रमुखमा आफ्नो सम्भावनालाई प्रस्तुत गरिरहेका छन् । नुवाकोटमा सबै प्रमुख पुरुष र सबै उपप्रमुख महिला छन् । संबिधान अनुसार लगातार दुई पटकसम्म नेतृत्वमा रहन मिल्ने छ । 

दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा नेपाली काँग्रेसले ७ स्थानीय तह, नेकपा एमालेले ३ स्थानीय तह र नेकपा माओबादी केन्द्रले दुई स्थानीय तहको प्रमुख जितेको छ । उप प्रमुखमा काँग्रेसबाट ७, एमालेबाट ३ र माओवादीबाट २ वटा स्थानीय तहमा निर्वाचित भएका छन् । विदुर नगरपालिमा प्रमुख उपप्रमुख एमालेबाट, बेलकोगढी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख माओवादीबाट निर्वाचित भएका छन् । त्यस्तै, दुप्चेश्वर, तादी, शिवपुरी, म्यागङ, किस्पाङ, सुर्यगढीमा अध्यक्ष र उपाध्यक्ष नै काँग्रेसबाट निर्वाचित छन् । लिखुमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष एमालेबाट, पञ्चकन्या अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसबाट, ककनीमा अध्यक्ष उपाध्यक्ष नै माओवादीबाट र तारकेश्वरमा अध्यक्ष, उपाध्यक्ष नै एमालेबाट निर्वाचित छन् ।

उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचितहरू आफु प्रमुख तथा अध्यक्षका लागि योग्य भइसकेको र महिलाले पनि नेतृत्व गर्न पाउनु पर्ने दावी सहित आफ्ना राजनीतिक शक्तिकेन्द्रहरूमा लाग्न थालेका छन् । काँग्रेस भित्र भर्खरै सम्पन्न आन्तरिक चुनावमा देखिएको विभाजनले चुनावी टिकट बाडँफाँटमा हुने नयाँ समीकरणका कारण आफ्नो पल्लाभारी हुने जिकिर पनि रहेको छ । तर अधिकांश स्थानीय तहमा आफ्नै पार्टीबाट अध्यक्षमा निर्वाचित अध्यक्षहरूले दोहोरिने रहर गरेपछि भने उपाध्यक्षहरूलाई चुनौती थपिएको छ ।  

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी गाउँपालिका अध्यक्षमा दावी रहेको सुनाउँछन् । गाउँपालिका अध्यक्ष रामकृष्ण थापा ‘अपग्रेड’ हुने बेला भएको उल्लेख गर्दै गाउँपालिकामा अध्यक्षका लागि सम्भावना भए मात्रै आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘गाउँपालिकाको अध्यक्षमा मेरो दावी प्रशस्त रहेको छ, उपाध्यक्ष केसीले भने– उपाध्यक्षमै चाँही दोहो¥याउने रहर छैन ।’ उनी थप्छन्– पार्टीले यसमा विवेक पु¥याएर निर्णय गर्छ भन्ने लागेको छ ।’

ककनी गाउँपालिका उपाध्यक्ष सिता लामाले पनि अध्यक्षको दावी गरेका छन् । माओवादीबाटै निर्वाचित अध्यक्ष मानबहादुर लामा भने ‘एक पटक त हेर्नु पर्ला की’ भनिरहेको समयमा उपाध्यक्ष लामा आफ्नो अध्यक्षको दावी लिएर पार्टी केन्द्रमा र नेताहरूसंग छलफलमा बस्न थालेका छन् । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष पनि अध्यक्ष पाए मात्रै उठ्ने र आफ्नो योग्यता रहेको दावी पेश गरिरहेका छन् । त्यहाँ पनि उनकै पार्टी एमालेबाट अध्यक्षमा रमेश वस्ती छन् । वस्ती संविधानले व्यवस्था गरे अनुसार एक पटक पुनः नागरिकबाट ‘टेस्टेड’ हुने बताइरहेका छन् । 

नुवाकोटका केही गाउँपालिका अध्यक्षहरूलाई पुनः निर्वाचनमा जानका लागि पार्टीको लाइन मिलाउन सजिलो देखिएको छ । आफ्ना पार्टीको परिवर्तिन समीकरणका कारण केही अध्यक्षहरू चाहना राख्दा पार्टीको टिकट लिनसक्ने अवस्थामा रहेको जानकारहरूले बताउन थालेका छन् । अनौपचारिक रुपमा चर्चा हुने नामहरूमा माओवादीबाट पञ्चकन्या गाउँपालिाका अध्यक्षमा हाल माओवादीबाट निर्वाचित तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्षमा हाल काँग्रेसबाट निर्वाचित नारायणप्रसाद पाण्डे, लिखु गाउँपालिकामा काँग्रेसबाट निर्वाचित हालका अध्यक्ष ध्रुब श्रेष्ठ, तारकेश्वर गाउँपालिका अध्यक्षमा हाल एमालेबाट निर्वाचित रमेश वस्तीले पुनः पार्टीबाट टिकट लिने सम्भावना छ । 

त्यस्तै संघीयता कार्यान्वयन र आफ्नो कार्यकालको प्रगती समीक्षा गर्दै अन्य जनप्रतिनिधहरूले समेत पार्टीलाई टिकटका लागि मनाउने देखिएको छ । पहिलो पाँच बर्षको अबधिमा स्थानीय तहको नीति निर्माण, कार्यबिधि निर्माण र बिकासको खाका तयार पार्नमै बितेका बताउँदै त्यसको सफल कार्यान्वयन र कार्य सम्पन्नताको लागी आफुहरू एक पटक नेतृत्वमा आउनु पर्ने दावी छ । 

हाल कार्यान्वयनमा रहेका कामहरूलाई पूरा गरेर १० वर्षमा विकासमा नमूना नगरपालिका निर्माण गर्ने लक्ष्य रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । एमालेका तर्फबाट निर्बाचित पण्डित यस बर्ष आफुलाईनै पार्टीले मेयरको उम्मेदवार बनाउनेमा आशाबादी छन् । पाँच बर्षको अबधिमा नगरपालिकाको विकासमा भौतिक पूर्वाधार विकास, कृषि उद्यम, मोटरबाटोलगायत जनताका काम धेरै भएको र त्यसलाई निरन्तरताको लागी समेत पार्टीले फेरि उम्मेदवार बनाउने उनले बताएका छन् । उनी भन्छन्– ‘हाल कार्यान्वयनमा रहेको अधुरा काम र कार्ययोजना अनुसारका बाँकी काम पूरा गर्ने, पालिकाभित्रका सबै मोटरबाटा पिच गर्ने, युवालाई स्वरोजगार उन्मुख बनाउने लगायतका थुप्रै एजेण्डा मसंग बाँकी छ । खासमा विदुरमा सम्वृद्ध नुवाकोटको मुहारको रुपमा तयार गर्ने प्रष्ट भिजन मसंग छ र यस अनुरुप काम गर्नका लागि मलाई अर्को एक कार्यकाल आवश्यक छ ।’  

केन्द्रमा तय हुने राजनीति समीकरणको प्रतीक्षा नुवाकोटमा बढी देखिएको छ । माओवादी र समावादीको चुनावी तालमेल देखि, वर्तमान सत्ता गठबन्धको स्थानीय तहको चुनावी एकातासम्मले भने नयाँ तरंग पैदा गरेको छ । 

चुनावी गठबन्धका कारण हुने भागबण्डामा आफ्नो स्थानीय तह आफ्नो पार्टीलाई नपर्ने नपर्ने ढुक्क नभएसम्म मुख खोलिनहाल्ने अवस्था पनि केही नेताहरूको देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा निकतटम भएका उम्मेदवारहरू पुनः उठ्ने चर्चा पनि छ । 


नुवाकोटमा सोलारबाट १७ मेगावाट बिजुली उत्पादन


बट्टार । नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा उत्पादित १७ मेगावाट सोलार बिजुली राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपिएको छ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनाबाट १७ मेगावाट विद्युत् हालै राष्ट्रिय प्रसारणमा थपिएको हो । 

नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा देवीघाट जलविद्यत् केन्द्रको पाँच सय रोपनी जग्गामा सोलार प्यानल रहेको छ । नेपालकै सबैभन्दा ठूलो यो सोलार आयोजनाबाट दैनिक सरदर पाँच घन्टा बिजुली उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ । 

यो आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । यो नेपालको ठूलो सोलार आयोजना हो । 

नुवाकोटमा सञ्चालन भएको २५ मेगावाट जडित क्षमता रहेको आयोजनामा आठवटा मेगावाटका लागि सोलार प्यानल जडानको काम भइरहेको छ । आगामी वैशाखसम्ममा आठ मेगावाट विद्युत् थपिने आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिएका छन् । 

तीन अर्ब ८० करोड रुपैयाँको लागतमा तीन वर्षअघिदेखि निर्माण सुरु भएको यो आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन हुन थालेपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ । नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली थी ‘ए’, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र निजी क्षेत्रबाट निर्माण भएको सातबिसेमा रहेको तादीबाट पाँच मेगावाट जलविद्यत् केन्द सञ्चालनमा रहेको छ । 

नुवाकोटमै ३७ मेगावाटको माथिल्लो त्रिशूली थी ‘बी’ निर्माणाधीन अवस्थामा रहेको छ ।

 


प्रेमका लागि सुन्दर बहाना भ्यालेनटाइन्स् डे


अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ । सम्भवत यस्तै मान्यताले नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाइने गरिन्छ ।

भ्यालेन्टाइन पश्चिमा संस्कृति भएपनि संसारलाइ प्रणय सूत्रको सन्देश सिकाउनु कुनै नराम्रो कार्य अबश्य होइन् । संसारमा हत्या, हिंसा र मानवीयताको खडेरी परिरहेको समयमा प्रेमको भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो । प्रेम विश्वास हो, प्रेम जीवन जीउने आधार हो अनि प्रेम एक सुन्दर रचना हो । यसकारण, प्रेमको कुनै खराबी देखिदैनन् । न त प्रेम भन्ने शब्द आफैले कुनै अशोभनीय अर्थ बोकेको छ । एकपटक गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि, जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरूले पनि अंकमाल गरिरहेका हुन्छन् । प्रेम अनुभुतिको खाँचो मानिसलाई मात्रै होइन पशुलाई पनि हुन्छ । प्राणीहरू पनि अब्यक्त प्रेम गरिहेका हुन्छन् । यसकारण प्रेम समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजिव भावनाहरूको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ ।

यसरी भयो सुरु  

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’ 

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले भ्यालेनटाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

भ्यालेनटाइन गिफ्ट 

भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् ।

प्रेम सप्ताह

पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

७ फेब्रुअरी : यो दिनलाइ च्यकभ म्बथ  रुपमा मनाइन्छ । यो  दिन आआफ्नो प्रेमीलाइ वा मन पराएकोलाइ रातो गुलाव दिएर आफूप्रति आकषिर्त गर्ने गरिन्छ । हिटलरले पनि आफ्नी प्रेमिका इभालाइ ७ फेब्रुअरीमा रातो गुलाव उपहार दिएको किम्वदन्ती छ ।

८ फेब्रुअरी : ८ फेब्रुअरीलाई प्रपोज डेकोरुपमा मनाइने गरिन्छ । यो दिन आफूलाइ मन परेको मान्छेसंग सम्मान सहित निर्धक्क प्रेम प्रस्ताब राख्न सकिन्छ । यदि तपाइको दिलमा कोही छ भने यो दिन ढुक्कसँग प्रेम प्रस्ताब राख्न सक्नुहुन्छ तर प्रतिउतर जे भएपनी सहर्स स्विकार्न भने तयार रहनुपर्छ ।

९ फेब्रुअरी : ९ फेब्रुअरीलाई चकलेट डेकोरुपमा मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक हुन सकिन्छ । मीठो खानेकुरासँगै माया पनि झाँगिदै जाने विश्वास छ । स्वादिलो चकलेटले मायालाइ अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

१० फेब्रुअरी ः १० फेब्रुअरीलाई टडी डे को रुपमा मनाइने गरिन्छ । टेडी एकदमै नरम र मुलायम खालको हुन्छ । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेडी गिफ्ट दिने गरिन्छ ।

११ फेब्रुअरी : ११ फेब्रुअरीलाई प्रोमिस डे का रुपमा मनाइन्छ । यो दिन आफ्नो मायालुसँग प्रेमलाई सधै सार्थक पार्ने कसम खाइन्छ । अर्थात्, मायामा विश्वासको कदम बलियो बनाउने यो विशेष दिन हो । जीवनभर अटुट साथ दिने वाचा जोडीहरूले यस दिन खाने गर्दछन् ।

१२ फेब्रुअरी :  १२ फेब्रुअरी हग डे हो । यो दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमीहरूले आफ्नो प्रेमको गहिरो अनुभुति ब्यक्त गर्ने गर्दछन् । यो दिन तपाइले आफ्नो प्रेमिलाई जाँच्ने दिन पनि हो । उसले कति टाइट हग गर्छ यसबाट प्रेमप्रतिको समर्पण मापन गर्ने गरिन्छ । प्रेमीले यदि टाइट हग गरेन भने बुझ्नुस् कि त्यो प्रेम झुटो हो । अनि, आलिंगनमा बाँधिदा तपाइँको प्रेमीको धड्कनमा एक प्रकारको सान्त भाव पाउँनु भयो भने त्यो प्रेम 

साँच्चीकै अमर हो भनेर बुझ्नुहोस् ।

१३ फेब्रुअरी : फेब्रुअरी १३ एक महत्वपूर्ण दिन हो । यसलाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइने गरिन्छ । यसदिन आफ्नो प्रेमिलाई यहाँले मायाको जादु देखाउन सक्नुहुन्छ । यस दिनमा आफ्नो मायालुलाई सुमधुर चुम्बन गरेर आफ्नो अपार माया ब्यक्त गर्न सकिन्छ ।

१४ फेब्रुअरी : यो अन्तिम तथा बिशेष दिन हो अर्थात् भ्यालेन्टाइन डे । यसअघि मनाइएको सबै दिनको स्वादसँगै चाख्ने दिने हो यो । यो दिनमा प्रेमीहरूबीच रहेका तीतामीठा सबै भावना खुलस्त एकअर्कालाई भनेर सेतो पर्दाजस्तो सफा हृदय बनाउनुपर्ने हुन्छ । यस दिनलाई यादगार बनाउन कुनै महंगो उपहार होइन् कुनै अर्थपूर्ण उपहार आफ्नो प्रेमीलाई दिनुहोस् जसले तपाइँको प्रेमलाई सधै ताजा बनाई राखोस् । कुनै नव प्रेमीले आफुले मन परेको मन्छेलाई जे जस्तो प्रतिक्रिया आएपनि प्रेमको प्रस्ताब राख्ने यो एक उत्तम दिन हो । यो दिन जो सुकैलाई प्रेम प्रस्ताब राख्न खुल्ला छ । तर कसैलाई परिक्षण गर्ने गरि र कसैलाई होच्याउने ढंगले प्रेम प्रस्ताब भने नराख्नुहोस् । भित्री मनदेखी चाहनु हुन्छ भने मात्रै प्रेम प्रस्ताब राख्न सक्नु हुन्छ । यो दिनलाई अत्यन्नै स्मरणीय बनाउनुहोस् यो दिन सकेसम्म पहिलो भेटमा रातो गुलाव दिएर माया ब्यक्त गर्नुहोस् ।

गुलाबका रङहरूको बिषेशता 

गुलावको फूलका रङहरू पनि आ–आफ्नै विशेषता छन् । रातो गुलावले एकदमै गाढा प्रेममा रहेको जनाउन्छ । यदि कसैले रातो गुलाब सहर्ष स्विकारे उ तपाईको प्रेममा मदहोस छ भनेर बुझिन्छ । पहेलो रङको गु्लाबको फूल भर्खर सुरु भएको मायामा लागू हुन्छ । कुनै साथीलाई मन पराइएको छ तर अभिब्यक्त गर्न सकिएको छैन भने पहेलो गुलावबाट सुरु गर्नुहोस् । पहेलो गुलाव दिनुको अर्थ निकटता जनाउनु र कसैलाई केयर गर्छ‘ भन्ने हो । यसले मित्रताको सुत्रलाइ सुरुवात गरेको बुझिन्छ जुन पछि प्रेममा बदलिन्छ । सेतो गुलावले पवित्र सम्बन्धलाइ जनाउँछ जुन तपाइले जो सुकैलाइ जतिवेला पनि दिन सक्नुहुन्छ ।  तपाइँ कालो गुलाव भने प्रयोग नगर्नुहोस् त्यो कालो गुलाव पीडाको संकेत हो ।

नुवाकोट काँग्रेसले थाल्यो मस्यौदाको काम

विदुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव श्रीराम श्रेष्ठको अध्यक्षतामा कार्यविधि मस्यौदा निर्माण उपसमितिको बैठक भएको छ । 

काँग्रेस नुवाकोटले पार्टीलाई चुस्त र दुरुस्त बनाएर कार्य सञ्चालन गर्नका लागी मस्यौदा निर्माण उपसमिति गठन भएको बताइएको छ । मस्यौदा निर्माण उपसमितिले जिल्ला कार्यसम्पादन समिति तथा जिल्ला कार्यसमितिको बैठक सञ्चालन कार्यबिधि, काठमाडौँ जिल्ला सम्पर्क समिति गठन तथा सञ्चालन कार्यबिधि, जिल्ला सचिवालय सञ्चालन कार्यबिधि, जिल्ला कार्यसमितिबाट गठन भएका तथा  भविष्यमा गठन हुने उप समितिहरूको कार्य सञ्चालन कार्यविधि निर्माण गर्ने छ । 

पार्टीको सबै अङ्गहरूलाई ब्यबस्थित र नीतिगत रुपमा सञ्चालन गर्नको लागी मस्यौदा निर्माण सुरु भएको हो । सचिब श्रेष्ठको संयोजकत्वमा निर्माण भएको उपसमितिले मस्यौदा निर्माण गरि जिल्ला कार्य समितिको बैठकमा पेश गर्ने बताईएको छ । काँग्रेस नुवाकोटको पुर्ण बैठकले मस्यौदालाई छलफल मार्फत कार्य बिधिको रुप दिएर कार्यान्वयन गर्न लागेको काँग्रेस नुवाकोट सभापति रमेशकुमार महतले बताए । संगठन सुदृढिकरण, पार्टीका सबै अङ्गहरूको सही ब्यबस्थापन र कार्य सञ्चालनजको लागी जिल्ला नेतृत्व तहले कार्यबिधि निर्माण गर्नको लागि उपसमितिले काम सुरु गरेको हो । 

निःशुल्क पिपिआर खोप

शिवपुरी गाउँपालिकामा पिपिआर रोगविरुद्धको खोप लगाइदै । 

विदुर । नुवाकोट र रसुवाका भेडाबाख्रालाई माघ २५ देखि आज सोमवारसम्म निःशुल्क पिपिआर रोगविरुद्धको खोप अभियान भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले सञ्चालन गरिरहेको छ । 

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोपको अभियान सुरु गरेको हो । खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरण पश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिएका छन् । 

नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्यक्षेत्र तोकेर पठाइएको छ । 

यो अभियानलाई सबै स्थानीय तहले आफ्नै कार्यक्रमका रूपमा सफल बनाउन सहयोग गरिरहेको वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठले बताए । 

पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. सुलोचना श्रेष्ठले अनुरोध गरेका छन् । भेडाबाख्रामा हैजाको रूपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । 

दुई करोड २६ लाखमा विद्यालय भवन निर्माण


विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ करेजुङ्ग स्थित नवज्योति आधारभूत विद्यालयमा नवनिर्मित भवनहरू सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलाई हस्तान्तरण गरेका छन् ।

बिहिवार विद्यलायमा भएको कार्यक्रममा प्रमाण–पत्र र नमूना साँचो हस्तान्तरण पश्चात दुप्चेश्वर गाउँपालिका, ६ नं. वडा कार्यालय, विद्यालय तथा सप्रोस नेपालको भूमिका तथा कार्य जिम्मेवारीहरू उल्लेख गरी सम्बन्धित सवै पक्षको हस्ताक्षर सहितको सहमति–पत्र आदानप्रदान भएको थियो । सो कार्यक्रममा अभिभावक, विद्यार्थी, समाजसेवी, विद्यालय भवन निर्माणमा प्रत्यक्ष सम्लग्न मट म्याकडोनाल्ड, जिइओसिई कन्सल्ट्यान्ट, सप्रोस नेपाल, गाउँपालिका कार्यालयका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य प्रतिनिधहरूको उपस्थिति थियो ।

कार्यक्रममा सप्रोस नेपालको तर्फबाट विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलले भवन निर्माण परियोजना सम्बन्धित मुख्य गतिविधि तथा निर्माणमा भएको खर्चको विवरण प्रस्तुत गरेका छन् । 

उनका अनुसार ७ वटा कक्षा कोठाहरू भएको दुई भवनहरू, लैङ्गिक मैत्री शौचालय, १४८ मिटर घेराबार निर्माण भएको छ । त्यस्तै, इन्टेक तथा १९ सय ६५ मिटर पाईपलाइन बिछयाएर दिगो खानेपानीको श्रोत व्यवस्थापन, प्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर, बालबालिकाको लागि खेल उद्यान तथा खेल सामाग्री, हात धुने स्थान निर्माण भएको बताइएको छ । दुई करोड २६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङले सम्पूर्ण सुविधा सहित निर्मित भवन, शौचालय, खेलमैदानको व्यवस्थाले यस विद्यालय दुप्चेश्वर कै नमूना विद्यालयको रुपमा स्थापित भएको बताए । 

उनले पूर्णिमा कार्यक्रम र गाउँपालिका बीच लामो सहकार्य भएको र गाउँपालिका दुई विद्यालयहरूमा निर्मित भौतिक सरंचनाहरूको लागि पूर्णिमा कार्यक्रमलाई धन्यवाद ज्ञापन गरेका छन् । अबको उद्देश्य शैक्षिकस्तर सुधार्नु नै रहेको बताउँदै तामाङले नवज्योति आधारभूत विद्यालयमा थप एक शिक्षकको कोटा स्वीकृत भैसकेको जानकारी दिए । 

उक्त कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्य र दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्यले दुप्चेश्वरमा भए गरेका विकास निर्माणका कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै दुःखका साथ कमजोर भौतिक अवस्थामा पढाई सञ्चालन हुँदै आएकोमा नवनिर्मित भवन, खेल सामाग्री लगायतका सुविधाले पढाईस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।


सामाजिक सञ्जालबाट

आदरणीय मामा पोष्टबहादुर बोगटी प्रति नमन । यही फागुन १४ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आउँदै हुनुहुन्छ । विदुर नगरपालिका–५ पिपलटारमा निर्माण भइरहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा माओवादीका तत्कालिन उपाध्यक्ष पोष्टबहादुर बोगटीको पुर्णकदको ढलौटको शालिक अनावरण गर्न अध्यक्ष प्रचण्ड नुवाकोट आउन लाग्नु भएको हो । 

वि. सं.२०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्ला तुप्चे गाबिस वडा नं. २ भित्रिनिटारमा आमा लेखकुमारी बोगटी र पिता भैरबबहादुर बोगटीको कोखबाट जेठा सन्तानको रुपमा जन्मनु भएको पोष्टबहादुर बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

पोष्टबहादुर बोगटी निधन हुनु पुर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौ.म.को जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित हुनु भएको थियो । २०४५ साल देखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।

राष्ट्रिय एकता माहधिबेशन पछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय व्यूरोे इन्चार्ज हुदै, २०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती–माहाकाली क्षेत्रीय व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो ।

२०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । २०७१ बैशाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अत्याधिम लोकप्रिय मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भयो ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्न‘ भएको थियो ।

स्वअध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा बिचार र ब्यवहारको एकरुपताको कौशलताका धनी बोगटी सादा, सरल र सामुहिकतामा रमाउने अत्यन्तै व्यवहारिक नेता हुनुहुन्थ्यो । उहाँ आधारभूत श्रमजीवि सर्बहाराबर्ग जातजाति, भाषाभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरूको आर्थिक, सामाजिक साँस्कृतिक जीवन स्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।

– सुजिना खड्का


विदुरमा पशुधन बीमा कार्यक्रम प्रभावकारी


विदुर । नुवाकोटका स्थानीय तहहरूले किसानको न्यूनतम लागतमा सञ्चालन गर्दै आएको पशुधन बीमा कार्यक्रम प्रभाबकारी देखिएको छ । 

व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानहरूले सबै पशुको मुल्याङ्कन गरि बीमा गर्दै आएका छन् । राज्य र स्थानीय सरकारले समेत सहुलियत प्रदान गरे पछि नुवाकोटका किसानहरू बीमा कार्यक्रममा सहभागी हुन थालेका हुन् । 

१२ स्थानीय तह रहेको नुवाकोटमा सबै भन्दा पहिला विदुर नगरपालिकाले पशु बीमा कार्यक्रमको लागि ५० प्रतिशत बीमाङ्क रकम तिर्दै आएको छ । नेपाल सरकारले जम्मा बीमाङ्कको ५० प्रतिशत र बाँकि रकमको पनि बिदुर नगरपालिकाले ५० प्रतिशत बीमाङ्क रकम तिरिदिए पछि पशु बीमा कार्यक्रममा किसानहरू आकर्षित भएका छन् । पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको छ । सुरुमा बीमा कार्यक्रम लागू भएपनि जानकारी कम हुँदा किसानहरू सहभागी नभएपछि ५० प्रतिशत बीमाङ्क रकम नगरपालिकाले तिरेपछि किसानहरूको आकर्षण बढेको हो । 

विदुर नगरपालिका, तादी गाँउपालिका, पञ्चकन्या गाँउपालिका, शिबपुरी गाँउपालिका लगायतले पशुधन बीमा कार्यक्रम नीतिगत ब्यबस्था गरेर कार्यान्वयन गर्दै आएको छ । 

बिबिध कारणले पशु र पशुको माध्यमबाट हुने क्षतीको निबारण तथा भरणपोषणको लागि पशु बीमा कार्यक्रम सञ्चालन गरेको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पशु बीमा कार्यक्रम लागू भएपछि किसानहरू पशु पालनमा समेत आकर्षित हुन थालेको बताए । कृषि र पशु ब्यबसायमा सम्लग्नलाई राहतको प्याकेज स्वरुप बीमा कार्यक्रम सञ्चालन गरेको पण्डितले बताए । उनका अनुसार केन्द्र सरकारले नै पशु बीमा कार्यक्रमले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउँदै आएको छ । 

यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । 

नुवाकोट मासु अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात समेत 

गर्न थालिसकेको छ । दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा बिक्रिमा अनुदानको समेत ब्यबस्था मिलाएको छ । दुध बिक्रिमा अनुदानको ब्यबस्था भएसँगै पशु पालन र दुध उत्पादनमा समेत बृद्धि हुँदै गएको छ । 


नुवाकोटमा आलु उत्पादन घटेको अनुमान


विदुर । बेमैसमी वर्षाका कारण नुवाकोटमा यसवर्ष आलुको उत्पादन घटेको अनुमान गरिएको छ । 

आवश्यक परेको बेलामा उपलब्ध नभएको रसायनिक मलका कारणले पनि नुवाकोटमा आलुको उत्पादन घटेको हो । 

कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार यस बर्ष ३५ हजार मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष नुवाकोटमा झण्डै ४२ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो । गतवर्ष १९.२ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष उत्पादकत्व घटेर १८.२४ मेट्रिकटनमा आउने अनुमान गरिएको छ । 

आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आएको हो । नुवाकोटमा आलु लगाउने मुख्य समयमा रसायनिक मल नपाउदा समेत आलु उत्पादनमा कम भएको अनुमान कृषि ज्ञान केन्द्र प्रमुख केशब खनालको रहेको छ । 

नुवाकोटका केही स्थानमा किसानहरूले आलु भित्र्याउन थालेका छन् । गत बर्षको तुलनामा आलुमा भनेजस्तो दाना नलागेको थोरै मात्रामा उत्पादन भएको किसानहरूको भनाई रहेको छ । आलुमा पछौटे डढुवा समेत देखिएको छ । चिसो मौसमका कारण आलुमा डढुवा 

देखिएकाले आलु उत्पादनमा गिरावट हुने कृषि ज्ञान केन्द्र नुवाकोटले अनुमान गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या देखिएको छ । 

सरुवा भई हिडेका अधिकृतलाई मोसो, गाउँपालिकादेखि वडासम्मको सेवा रोकियो

 


बेत्रावती । रसुवाको कालिका गाउँपालिकाबाट सरुवा भएर काठमाडौं जान लागेको प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय एक युवाले शुक्रवार दिउँसो मोसो दलेका छन् । यादव सापकोटालाई कालिका गाउँ पालिका वडा नं. २ का विश्वप्रसाद ढकालले हातपात गरी मोसो दलेका हुन् । 

गाउँपालिकाको कार्यालयमा आयोजित विदाई कार्यक्रममा रसिक भएर काठमाडौं हिडेका अधिकृत सापकोटालाई प्रहरी चेक पोष्टमा सवारी साधन रोकेर ढकालले मोसो दलेका हुन् । गाउँपालिकामा रहदा उनले अनियमितता गरेको र नागरिकलाई दुःख दिएको आरोप लगाउदै उनले दुब्र्यबहार गरेका हुन् । लामो समयदेखि गाउँपालिकाको कामकारबाही प्रति समेत असन्तुष्ट रहँदै आएका उनले सरुवा भई हिडेका प्रमुख प्रशासकीय अधिकृतको ज्यान लिने समेतको प्रयास गरेको गाउँपालिकाका अध्यक्षले जनाएका छन् । 

गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले आफ्नो अधिकारिक फेसवुक पेजमा यस घटनाको विषयमा लेखेर दोषिलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनले फेसबुमा लेखेका छन्– ‘यस कालिका गाउँपालिकाबाट सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत यादव सापकोटामाथि कालिका २ बस्ने विश्व ढकालले हातपात गरी कालो मोसो दल्ने र ज्यान लिने सम्मको हर्कत गरी प्रहरीको सहयोगले मात्रै सुरक्षित रहनु भएको हुँदा बिना कुनै गल्ति राष्ट्र सेवक कर्मचारीमाथी यो हुनु निन्दानिय छ । दोषीमाथि कारबाहीको माग राख्दै कर्मचारीहरूले निकालेको प्रेस विज्ञप्तीको ब्यवास्था गरी यस घटनालाई राजनीतिकरण गरिएमा भोलि कुनै अप्रिय घटना भएमा प्रशासन जिम्मेवारी हुनुपर्नेछ । त्यसैले पीडितलाई न्याय गर्न ढिलाई नहोस् ।’

यही विषयमा कालिका गाउँपालिका गाउँकार्यपालिकाको लेटरप्याडमा विज्ञप्ती समेत जारी भएको छ । गाउँपालिकाको कार्यालय र सबै वडाको सेवा अनिश्चितकालको लागि बन्द गरिएको सोही बिज्ञप्ती मार्फत् जनाइएको छ । शुक्रवार नै विज्ञप्ती जारी भएको छ । 

३० जना भन्दा बढीको हस्ताक्षर रहेको कालिका गाउँपालिकाको बिज्ञप्ती अनुसार सम्पूर्ण कर्मचारीको ब्यक्तिगत सुरक्षाको प्रत्याभुत नहुन्जेलसम्म कर्मचारीहरूले सेवा रोकेका छन् । सो घटनाले कर्मचारीको मनोबल गिरेकोले मोसो दल्ने र आक्रमण गर्नेलाई कानूनी सजाया हुनुपर्ने माग कर्मचारीहरूले राखेका छन् । 





घ्याङफेदीमा विज्ञान र कानुनको पढाई हुने


समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदी माध्यमिक विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि विज्ञान र कानुनको विषयको पढाई हुने भएको छ । 

दुप्चेश्वर गाउँपालिका शिक्षा समितिको बैठकको निर्माणार्थ आउँदो शैक्षिक सत्रबाट विद्यालयले मानविकी सङ्काय तर्फ कानुन विषय र विज्ञान विषयमा पठाई गर्ने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । २०७१ सालमा प्राथमिक विद्यालय हुँदा उक्त विद्यलायमा पढ्ने विद्यार्थीहरूको संख्या २५ रहेको थियो । २०७३ सालपछि ७ कक्षासम्म सञ्चालित घ्याङफेदी माध्यमिक विद्यालयले  २०७६ बाट मात्रै एसईई परीक्षामा सहभागिता जनाउन थालेको हो । पहिलो वर्ष १० जना र दोस्रो वर्ष ७ जनाले एसईई उत्तीर्ण गरेका छन् । यो वर्ष १९ जनाले एसईईको तयारी गरेको सहायक प्रअ प्रेम स्याङ्तानले जानकारी दिए ।

विद्यालयमा आधार संस्थाबाट ८ जना शिक्षक र २ जना कार्यालय सहयोगीलाई सम्पूर्ण तलब सुविधा र विद्यार्थीलाई खानासहित पोसाक व्यवस्थापन भएको छ । साथै गाउँपालिकाको कार्यालयबाट ६ जना शिक्षकलाई तलब सुविधा उपलब्ध हुँदै आएको छ । 

दक्षिणाबाट शिक्षकलाई तलब


देवीघाट । विदुर नगरपालिका– ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले श्रीपञ्चमीको दिन विगतदेखि नै गराउँदै आएको सामूहिक व्रतबन्धलाई निरन्तरता दिएको छ । 

विद्यालय सञ्चालनका लागि शिक्षकलाई तलव खुवाउने आर्थिक स्रोत बढाउन यो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यपाक मञ्जु चित्रकारले बताएका छन् । उनले भने – ‘त्यसका साथै हिन्दू धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न विद्यालयले २०६० सालदेखि श्रीपञ्चमीको दिन सामूहिक व्रतबन्ध गराउँदै आएको छ ।’ 

यस पटक विद्यालयले आयोजना गरेको सामूहिक वतबन्धमा ११४ बटुकको कर्मकाण्ड गरिएको छ । यस वर्ष १० वर्षदेखि २३ वर्षसम्मका बटुकको व्रतबन्ध भएको थियो । विद्यालयले बर्सेनी हुँदै आएको सामूहिक व्रतबन्धको फाइदा लिन नुवाकोट मात्र नभई धादिङ, रसुवा र काठमाडांैकाले समेत पाएका छन् । 

प्रअ चित्रकारका अनुसार प्रत्येक बटुकबाट विद्यालयले पाँच हजार रुपैयाँ लिएको छ । 

सो रकमबाट विद्यालयले बटुकलाई धोती, टोपी, गन्जी र अभिभावकका लागि समेत खानाको व्यवस्था गर्ने गरेको छ । 

यो वर्ष बटुकसँग लिएको शुल्कबाट पाँच लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ । शुल्कसँगै भेटीबाट सङ्कलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनका लागि खर्च गरिने विद्यालयले जनाएको छ । 

२०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाई हुँदै आएको छ । हालको यस शैक्षिक सत्रमा आवासीय रूपमा ३० जना विद्यार्थीले संस्कृत भाषामा पठन– पाठन गरिरहेका छन् ।

विद्यालयले सामूहिक रूपमा आयोजना गरेको व्रतबन्धले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको छ । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएको विदुर नगरपालिकाका एक अभिभावकले बताए । 

तत्कालका लागि छोराको व्रतबन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामूहिक व्रतबन्धमा सहभागी भएको पनि उनको भनाई रहेको छ । 

Saturday, February 12, 2022

कोरोनाले कुपोषण बढायो

विदुर । दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका बुद्धिमाया तामाङको १० महिने छोरोलाई कुपोषणले सर्ताएको छ । 

ज्याला मजदुरी गर्ने र शहरी क्षेत्रमा काम खोज्दै बालबालिकाको पालनपोषण गर्दै आएका उनले कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि परिवारमा समस्या भएको हो । स्वयंसेविकाको सल्लाहमा उनी स्वास्थ्यचौकी पुगे । तर भनेअनुसारको पोषतत्व भएको खाना खरिद गर्ने उनमा सामथ्र्य भने छैन । 

स्वास्थ्यकर्मीले औषधि लेखिदिँदै छोरोलाई हरियो सागपात, दूध, फलफूल, लिटोका परिकारको सन्तुलित भोजन गराउन सुझाएका छन् । उनको बारीमा मकै र कोदो मात्रै फल्ने गरेको छ । सागपात त अलिअलि देख्न पाइएपनि त्यहाँ फलफूल भने किनेर खानुपर्छ । १२ जनाको परिवारलाई बारीको उब्जनीले वर्षभरि खानै पुग्दैन । गरिबी र अशिक्षाले व्याप्त घ्याङफेदी नुवाकोटकै विकट क्षेत्रका रूपमा चिनिन्छ । बुद्धिमायाले जस्तै अरूले पनि स्वास्थ्यचौकीको सल्लाह अनुसार बच्चाहरूलाई खानपान जुटाउन सकेका छैनन् । सन्तुलित खानपानको वातावरण नमिलेर बच्चाहरूमा कुपोषण भैरहेको थाहा पाएपनि नागरिकहरू रोजगारी पाएपछी चिन्तित रहेका छन् । 

नुवाकोटको ग्रामिण भु–भागमा कोरोना संक्रमणका कारण कुपोषण हुने बालबालिकाको संख्या बढेको युनिसेफको प्रतिवेदनले देखाएको छ ।


नुवाकोटको घ्याङफेदीसँगै रसुवाको हिमाली भुभागमा अहिले कुपोषणको समस्याले सताउन थालेको छ । लामो समय सम्म कोरोना संक्रमणका कारण रोजगारी गुमाएको, पर्यटनमार्फत आम्दानी हुने क्ष्गोत्रमा पर्यटकको संख्या सुन्य भएपछी उनीहरू आफ्नो दैनिकी चलाउन समेत नसक्ने अबस्थामा पुगेका छन् । शरीरको आवश्यकता अनुसार पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन जस्ता पर्याप्त रुपमा सन्तुलित आहारहरू नै नपुगेर बालबालिकामा कुपोषण यथावत् रहेको युनिसेफको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे’ मा उल्लेख छ । 

हालै प्रकाशित सर्वेक्षणहरूले पनि कोरोना महामारीले गर्दा भरपेट खानका लागि संघर्ष गरिरहेको परिवारका बालबालिकाको पोषणमा थप असर पुगेको उल्लेख छ । युनिसेफले माघ ६ मा जारी गरेको ‘मातृ तथा बाल पोषण जर्नल’का अनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धिमा ‘हाल कायम असमानता र कोभिड–१९ महामारीका कारण’ जोखिम थपिएको छ ।

नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतीको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्यूनीकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकअनुसार ‘आवश्यक गतिमा’ अघि नबढिरहेको र कोभिड–१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले भनेको छ । 

कोरोनाले रोजगारी गुमाउने संख्या बढ्दा आर्थिक अभाव र गरिबीका कारण बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुगेको युनिसेफले उल्लेख गरेको छ । सबैभन्दा धेरै ९० प्रतिशतले पैसाको अभावले र ४३ प्रतिशतले खाद्य सामग्रीको मूल्यवृद्धिले खानका लागि संघर्ष गर्नुपरेको बताएका थिए ।

किसानले गहुँमा हाल्नका लागि मल पाएनन्


विदुर । गहुँ पसाउने बेला नुवाकोटका किसानले मलको अभाव खेप्नुपरेको छ । प्रत्येक बाली लगाउने समयमा नुवाकोटका किसानहरूले मल अभाब झेल्दै आएका छन् । धान, आलु, हिउँदे बाली लगायत बाली लगाउने र रसायनिक मलखाद दिनु पर्ने हरेक समयमा नुवाकोटका किसानहरू खाली हात बन्दै आएको छ । 

रसायनिक मल बिक्रि गर्दै आएको दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्दै आए पनि अभाब हुँदै आएको छ । 

रसायनिक मल अभाबकै कारण नुवाकोटमा प्रत्यके बालीको उत्पादनमा गिरावट आउने गरेको छ । अहिले गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै रहेका छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि आउने टुङ्गो छैन । 

यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन ।

मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।

गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । किसानले मल नपाउने र यो बेलामा ढुसी तथा सिँदुरे रोगले समेत सताउने भएकाले उत्पादनमा समस्या हुने भएको हो । 

क्याम्पस अध्यक्षमा श्रेष्ठ निर्वाचित


बट्टार । दुई वर्षदेखि चयन हुन नसकेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको सञ्चालक समिति बुधवार गठन भएको छ । क्याम्पसको छैठौं क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको अध्यक्ष श्रीराम श्रेष्ठ चयन भएका छन् । 

    अन्य आठ जना सदस्यहरूमा लिलानाथ न्यौपाने, मोहनबहादुर खड्का, सुरेन्द्र मुडभरी, केदार डोटेल, बद्री त्रिपाठी, प्रकाशचन्द्र ढुङ्गाना, भगवती खनाल र राजाराम अधिकारी छन् । क्याम्पस सभाले लबबहादुर डङ्गोलको संयोजकत्वमा तथा लेखा समिति समेत निर्वाचित गरेको छ । जसको सदस्यहरूमा गोपाल आचार्य र मनिषा सुनार छन् । 

श्रेष्ठ यस अघि पनि एक कार्यकाल क्याम्पस सञ्चालक समितिको अध्यक्ष बनिसकेका छन् । 

३३ लाख ६६ हजारको लागतमा गुम्बा निर्माण हुँदै

तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन शिलान्यास गर्दै सांसद हितबहादुर तामाङ

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ ।  एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गरेका हुन् । प्रमुख लामा शेरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङ, गाउँपालिकाका उपाध्यक्ष सीता खड्का, पवडा नं. ३ का अध्यक्ष रामबाबु पराजुली, राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका सव इन्जियर लक्ष्मीनारायण साह, स्थानीय लामागुरु श्रीमान् लामा, पञ्चकन्या मन्दिरका मूलपुजारी लालबहादुर तामाङ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी उपस्थिति थियो । 

संघीय सांसद तामाङ र प्रदेश उपसभामुख तामाङले निर्माण सुरु भएपछि भवनलाई पूर्णता दिनुपर्ने र त्यसका लागि अपुग बजेट जुटाउन आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गुम्बाको नयाँ भवन बनाउने वर्षौंदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै बजेटको पहल गर्न‘हुने संघीय सांसद र उपसभामुखलाई धन्यवाद व्यक्त गरेका छन् । गाउँको पुरानो गुम्बा निर्माणमा पहिलेदेखि नै पहल गरेको तर गाउँपालिकाको साधनस्रोतले नभ्याइरहेको अवस्थाले यो सपना अधुरो रहेको उनले बताए । स्थानीय सरकारको नेतृत्वमा आफू आइसकेपछि गाउँपालिकाको तर्फबाट सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग रहने उनको भनाई रहेको छ । 

पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्का पराजुलीले पनि उक्त गुम्बा भवन समयमै सकिने आशा व्यक्त गर्दै निर्माणका लागि नपुग बजेट व्यवस्थापनका लागि संघीय सांसद र उपसभामुख तामाङलाई आग्रह गरे । 

गुम्बा ८ सय स्वायर फिटको मौलिक डिजाइनमा बन्नेछ । गुम्बाका लागि स्थानीय छिरिङ तामाङले १ रोपनी जग्गा उपलब्ध गराएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुनिलदोर्जे लामाले जानकारी दिएका छन् । उनका अनुसार नयाँ गुम्बाका लागि ३३ लाख ६६ हजार ६०८ रुपैयाँ लागत अनुमान छ । जसमा स्थानीय पूर्वाधार विभाग, भूकम्पीय पुनर्निर्णाणामा शाखा पुल्चोक ललितपुरबाट २३ लाख बजेट उपलब्ध हुने छ । बाँकी ३० प्रतिशत बजेटमा आधा स्थानीय सरकार गाउँपालिकाले र गुम्बा व्यवस्थापन समितिले १५ प्रतिशत आर्थिकभार बेहोर्ने समिति अध्यक्ष लामाले बताए । 

नुवाकोटबाट सह–महामन्त्रि र सहायक महामन्त्रि


विदुर । रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीमा नुवाकोटका दुई नेता मनोनित भएका छन् । सह–महामन्त्रिमा झनक प्याकुरेल र सहायक महामन्त्रिमा दिपककुमार राई मनोनित भएका हुन् ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले गएको आईतवार पार्टीको विधान बमोजिम नुवाकोटका उनीहरूलाई मनोनयन गरेका हुन् ।

लामो समय राप्रपामा लागेका प्याकुरेल यस अघि जिल्ला विकास समिति नुवाकोटका सभापति समेत भइसकेका छन् । राईको भुगोल लिखु गाउँपालिका वडा नं. ४ मा गएको स्थानीय तह निर्वाचनमा सेटनै राप्रपाले जितेको थियो । 

नुवाकोट जेसिजको पदस्थापन


बट्टार । नुवाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा नवराज सुवेदी सहितको नयाँ कार्य समितिले गएको सोमवार एक समारोहका बीच पदस्थापन गरेको छ । वर्ष २०२१ का जिल्ला अध्यक्ष अञ्जली पाण्डेले वर्ष २०२२ का जिल्ला अध्यक्ष सुवेदीलाई पदस्थापन गराएका हुन् । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्इ अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

गएको शनिबार सम्पन्न सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । जिल्ला समितिको कार्यकारिणी उपाध्यक्षमा अरुणराज पाठक र विनोद लामिछाने, उपाध्यक्षमा करण खतिवडा किशोर अर्याल, निरोज चित्रकार र हेमन्त रिमाल चयन भएका छन् । अधिवेशनबाट महासचिवको जिम्मेवारी सुमन भण्डारीलाई र कोषाध्यक्षको जिम्मेवारी रामधन ढकाललाई दिइएको छ । 

रसुवाका ९५ प्रतिशतले लगाए पूर्ण खोप


धुञ्चे । रसुवा जिल्लाका ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार मापदण्ड पूरा गरेका १८ वर्षभन्दा माथिका नागरिकहरू ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।

तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १०६ जना रहेकोमा २९ हजार १०१ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९.९९ प्रतिशत हो । हालसम्म कोभिशिल्ड खोपको १ हजार ३० जनाले पूर्ण मात्रा लगाएका छन् भने २० हजार १५६ जनाले भेरोसेलको पूर्ण मात्रा लगएका छन् ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप २ हजार जनालाई लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुल ४ हजार २५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार रसुवामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको छ । जसमा ३ हजार ४०३ जना बालबालिकाले  कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनायो ।

सबैले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएपछि रसुवा पूर्ण खोपयुक्त जिल्ला पनि बनेको हो ।

गाउँपालिका र भूमि आयोगबीच सम्झौता

विदुर । रााष्ट्रिय भूमि आयोगसंग नुवाकोटको लिखु र तादी गाउँपालिकाले सम्झौता गरेको छ । दुई गाउँपालिकाले सुकुम्बासी तथा भूमिहिनहरूको भुमि सम्बन्धि सबै समस्या समाधान गर्न आयोगसंग सम्झौता गरेको छ । 

गएको सोमवार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ र तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले सम्झौता गरेका हुन् । उनीहरूसंग आयोगका तर्फबाट सदस्य सचिव अमिरप्रसाद न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आयोगका नुवाकोट जिल्ला संयोजक अर्जुनप्रसाद न्यौपानेको पनि त्यस अवसरमा उपस्थिति रहेको थियो । 





सुरुङमार्ग र रानीपौवा सडकप्रति चासो

अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नुवाकोटका माओवादी नेताहरू



विदुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा नुवाकोटका जनप्रतिनिधिहरूले टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाइदिन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । 
    लगातार तीन आर्थिक वर्ष बजेट छुट्याइए पनि काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको कुनै काम सुरु नभएको भन्दै संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले मंगलबार बिहान अर्थमन्त्री शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानसभा सदस्य विमला सुवेदी, वागमती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, सचिवालय सदस्य पुष्प लामिछाने सहितको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा–गुर्जे भञ्ज्याङ–छहरे सुरुङमार्गका साथै अलपत्र रहेको पासाङल्हामु सडकको बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार खण्ड निर्माण पनि छिटो सम्पन्न गर्ने पहल लिइदिन अर्थमन्त्री शर्मासँग माग गरेका छन् । तीन आर्थिक वर्षसम्म लगातार बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्ष २०७८/७९ को आधा समय वितिसक्दा पनि सुरुङमार्ग निर्माणसँग सम्बन्धित कुनै पनि काम अघि नबढिरहेकोले ध्यानाकर्षण गराएको सांसद हितबहादुर तामाङले जानकारी दिएका छन् । 
    आवश्यक पर्ने बजेट तथा आर्थिक स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिन र आवश्यक पहलकदमी लिइदिनको लागि यो ध्यानाकर्षण पत्र पेस गरेको उप सभामुख राधिका तामाङले बताए । टोखा–छहरे–गुर्जे भञ्ज्याङ सुरुङमार्ग निर्माणका लागि सरकारले २०७६/०७७ मा ४० लाख, २०७७/०७८ मा १५ करोड १० लाख र २०७८/०७९ मा ५० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शक्तिशाली छिमेकी मुलुक चीनलाई छोटो दुरीमा जोड्ने तथा दुई देशबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई थप सुदृढ गराउने विश्वास लिइएको टोखा–छहरे सुरुङमार्गको २०७६ माघ दोस्रो साता चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ टोलीका अनुसार चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । 
    यस्तै रानीपौवा–पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकारले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गर्न अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ यता, त्यसैगरी बालाजु–रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको नेता पुष्प लामिछानेले जानकारी दिएका छन् । 
    दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको सांसद तामाङले जानकारी दिए । बालाजु–रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।

नुवाकोट र सुन्दरादेवीको स्मरण

राम बहादुर सिंखडा, हाल चितवन

नुवाकोट दरवार क्षेत्रको पुरानो तस्बिर 

तत्कालिन सुन्दरादेवी गाविस (तामे, हाल तादी गाउँपालिका अन्तर्गत) मा २०५३ साल जेठ १३ गते गाविस सचिवको रूपमा स्थायी जागिर प्रारम्भ गरेको २०७८ जेठ १३ गतेबाट २५ वसन्त पार गरिसकेछ । विदुरदेखि बट्टार, ढिकुरे हुँदै आँपरहसम्म बस सेवा चालु भई सात विसे हुँदै समुद्रटार, शिखरबेशीसम्मको बाँकी कामको रेखांकन कोरिएर धमाधम सडक निर्माणको काम हुँदै थियो ।

आँपरहबाट सातविसेसम्म तेर्सो तेर्सो एक डेढ घण्टाको पैदल हिँडेपछि गन्तव्य (सुन्दरादेवी, तामे) जानेतिर थोरै उकालो चढ्नु पथ्र्यो । उकालो चढिसकेपछि चौतारीमा बसेर चिसो हावाका साथ थकाई मार्दा कम आनन्द आउँदैन्थ्यो । आजकल सातविसे हुँदै तामे भएर वाघमारा र समुद्रटार भएर सिखरबेशीसम्मै यातायातको सुविधा पुगेको रहेछ । आजकल बाघमारामा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति देखिने गरेको छ । यही ठाउँ भएर गोसाइँकुण्ड पनि जान सकिने रहेछ । चामलको लागि नेपालकै प्रसिद्ध ठाउँ शिकरबेसीमा खाना खाएको कहिलेकाहीँ सम्झना आउँदा अहिले पनि जिब्रो रसाई रहन्छ ।

गाविसको कार्यसञ्चालन उपाध्यक्षको घरमा बसेर तमाम गर्न‘पर्ने अवस्था थियो । टेबल कुर्चीहरू थिएनन् । ओछ्याएको सुकुलमाथि पलेंटी कसेर काम गर्न‘ पर्दा घुँडा र ढाडलाई उस्तै तक्लिफ हुन्थ्यो । सबै कागजात भगवान भरोसाको भरमा थन्क्याउनुपर्ने अवस्था थियो । भर्खरै भर्खरै गाविस कोषमा ५ लाख निकासा हुने क्रम चलिरहेको हुँदा लाभग्राहीको बाक्लै उपस्थिति र कागजातको आयतन बढ्दै जाँदा कार्यालय सञ्चालनको हिसाबले चिन्ताको विषय पनि उसैगरी थपिँदै थियो । ग्रामीण तहमा खाने बस्नेको समस्या उस्तै थियो। भाग्यवश एक जना आचार्य थरका पण्डितकहाँ सुव्यवस्थित रूपमा खानपानको व्यवस्था मिल्यो । मेरो लगभग २२ महिनाको त्यहाँको बसाइ खानपान र बस्ने व्यवस्थाको लागि थप तनाव बोक्नु पर्ने अवस्था रहेन ।

सदरमुकाम विदुरहुँदै बट्टारबाट आँपरहसम्म बस चले पनि बसको यात्राभन्दा पैदल यात्रा सुविधा लाग्थ्यो । कोचाकोच यात्रु, बाटोको दुरावस्थाबाट गुज्रिँदै गन्तव्यमा पुगेर ओर्लंदा गर्मी मौसममा त झन् कालको मुखबाट फुत्किएजस्तो लाग्थ्यो । त्यसैले रूख बुट्यानहरूको छेल पर्दै चिसो हावासँगै बहेली खेल्दै खोल्सीबाट झरेका कञ्चन पानी अञ्जुली थापेर पिउँदै लगभग ४ घण्टामा वट्टार, ढिकुरे, आँपरहदेखि सात विसेसम्मको यात्रा धेरैजसो हिँडेरै तय गरिन्थ्यो । ढिकुरे र आँपरह बजार थकाई मार्ने र भोक मेट्ने स्टेशन जस्तै थियो । सदरमुकाम विदुर गएर सातविसे फर्कंदा धेरैपटक आपरहमा बास बसाइको क्रममा मीठो अनुभूती संगालेको छु । मेरा लागि अहिले पनि पैदल यात्राको त्यो दिन अविस्मरणीय रूपमा रहिरहेको छ । कामको सिलसिलामा सदरमुकाम विदुर आएको बेला म लगायत अरू कर्मचारी साथीहरू मौका छोपी घरतिर जाने चाँजोपाजो मिलाउँथ्यौं। बिहानै ५ बजे नै नुवाकोटको विदुरबाट देवीघाट हुँदै त्रिशुलीको किनारै किनार पृथ्वी राजमार्गको गल्छी पक्डन्थ्यौं । त्यतिखेर गल्छी–देवीघाटको ग्रामीण सडक बन्ने क्रम चलिरहेको थियो ।

झण्डै २० किमि धुलेबाटोमा बीच–बीचमा आराम गर्दै सडक छेउछाउका पसलमा मकै, भटमास र मोहीले भोक र प्यास हटाउँदै झण्डै चार घण्टाको निरन्तर यात्रामा गल्छी पुगेर थकाइ माथ्र्यौ । गल्छीमा त्यतिखेर पुरानै शैलीका घरहरू राजमार्ग आसपासमा कतै–कतै देखिन्थे । त्रिशूलीको माछा सहितको स्वादिष्ट भोजन लिएर एक घण्टाको विश्रामपछि गल्छीबाट आ–आफ्नो गन्तव्यतिर लागिन्थ्यो । यातायातको असुविधाले गन्तव्यसम्म पुग्न असहज बनाए पनि गाउँको वातावरण भने रमाइलो थियो । हरिया वनपाखा, स्वच्छ हावा, कलकलाउँदो पानी, देउरालीको चिसो बतासमा सुसाउँथे सालका पातहरू उसैगरी लहलह परेका मौसम अनुसारका बाली । उत्पादन राम्रै लाग्थ्यो । तत्कालीन सुन्दरादेवी गाविसको ९ वडामध्ये वडा नं. ७, ८, ९ मा तामाङहरूको बाहुल्यता थियो । ती वडामा भएका बासिन्दासँग आत्मीयता घनिष्ठ थियो ।

कर्मचारीको रूपमा भन्दा पनि सहयोगी र सेवकको रूपमा प्रस्तुत हुँदै गएँ । पार्टीका जनप्रतिनिधिबीच रहेर काम गर्दा रमाइलो अनुभूति पाएँ । गाविसको नियमित कामले नै व्यस्त थिएँ । लेखापाल पदमा लिखित परीक्षाको जाँच दिएको लगभग नतिजा निस्कने समय भैसकेको थियो । बुधबारको गोरखापत्रमा ध्यान पुर्याए पनि नियमितता थिएन । गाउँमा पत्रिकाको नियमितता कसरी सम्भव हुन्थ्यो र । त्यसैले आफ्नो नतिजाप्रति मनमनै पिरली राखेको थिएँ ।

एकदिन अपरान्हतिर अचानक सोही गाविसको चिरपरिचित व्यक्तिको हातमार्फत् काठमाडौं घर भएका मेरा मित्रले खामबन्दी गरेर पठाएको चिठी हात पर्यो । एकान्तमा खोलेर हेरें । त्यो चिठीमा छोटकरीमा यति मात्र लेखिएको थियो, लिखित परीक्षा उत्तीर्ण गरेकोमा बधाई, अन्तर्वार्ता यति गते अर्थात् त्यो चिठी पाएको पर्सिपल्ट अन्तर्वार्ता तोकिएको रहेछ । हर्षको सीमा रहेन । साथीको त्यो पवित्र कार्यलाई मुरी–मुरी धन्यवाद दिएँ । सबै देवी देवता सम्झिएँ । दुःखमा मात्र ईश्वर सम्झिन्छन् भन्थे मान्छे सुखको यो क्षणमा आज म ईश्वरप्रति धेरै भरोसा गरें जस्तो लाग्यो । बालाई विशेष कामले काठमाडौं जान लागेको बताएँ । अन्तर्वार्तामा प्रस्तुत गरिने प्रमाणपत्र लगायत आवश्यक कागजात र सहयोगी एक दुई ओटा हल्का किताब झोलामा राखें। बिहान हतारमा बिर्सन सकिने भएकोले आवश्यक सामान सम्झी सम्झी जतन साथ राखें । बिहान ५ बजे नै झोला बोकेर लागे गन्तव्यतिर ।

बस चल्ने ठाउँ आपरहसम्म पुग्न घरदेखि झण्डै १ घण्टा लाग्थ्यो । पँधेर्नीहरू धारामा पानी थाप्न हिँडेकोबाहेक बाटोमा पूरै सन्नाटा थियो । संक्रमणकालीन अवस्थाले खेतबारीमा राखिएका बुख्याँचाले पनि बेला–बेलामा आँखालाई धोका दिएको हुन्थ्यो । आकाश खुला भएकोले मेरो शिरमा शित तपतप खसिरहेको थियो । मेरो संघर्षका कथा पढेर होला, मेरो यो जोखिमपूर्ण यात्रामा यसरी आँसु झारिरहेकी । आँपरह नपुगुन्जेलसम्म मेरा तर्कनाहरू पद मार्गमा विद्युतीय तरंगझैं दौडिरहे । ७ बजे बसमा चढेपछि भने हरियाली फाँटतिर पोखिएको सूर्यको पहेंलपुर किरणले थोरै आशा जगायो । यसले आफूलाई अलि हल्का बनाएको महसुस गरें । अन्तर्वार्तामा समय तालिका बमोजिम नै उपस्थित भै शिष्टताका साथ परिचय दिएँ । पहिलो पटक चितवन महोत्सव हुँदा चितवन सम्बन्धी लेखिएको किताब सोहीबेला महत्वपूर्ण लागेर खरिद गरी सुरक्षित राखेको थिएँ । सो किताब चितवनसँग सम्बन्धित इतिहास, संस्कृति, परम्परा र प्राकृतिक सम्पदासँग सम्बन्धित भएकोले र यस जिल्लाको बासिन्दा भएको नाताले पनि खुब चाख मानी मानी पढिन्थ्यो । चितवनको विषयवस्तुमा प्रश्नकर्ता केन्द्रित हुँदा ‘कानोलाई आँखा पाए’ जस्तो भयो । विषयवस्तु प्रति पूर्ण विश्वस्त भएर प्रस्तुत हुन पाउँदा नतिजा सुखद हुने कुरामा आत्मविश्वास जागेर आयो । साविकझैं काममा फर्किएँ । नतिजाको प्रतीक्षामा रहें । 

जतिसुकै राम्रो गरे पनि परिणाम नआउँदासम्मको अवस्था भने धुकचुकमै बिताउनु पर्दोरहेछ । अन्तर्वार्ताको नतिजा निस्कन धेरै समय नलाग्ने हुँदा २ हप्ताको समयलाई निकै चियो चर्चो गर्न थालें । सदाझैं दिनभरिको कामले थकित भएर बास स्थानतिर फर्कंदै थिएँ । घाम अस्ताउँदै थियो । नतिजाको सुखद खबर पाएपछि भने जिन्दगीको अर्को घाम पूर्वतिरबाट तत्कालै उदाएजस्तो भयो । नतिजाको सुखद परिणाम हात लाग्दा भुइँमै खुट्टै रहेन । मेरा हर्षका आँसु तप्प भुइँमा खसे । परिवार, साथी भाइबीच पृथक भएर बस्नु पर्दा खड्किएको अभावबीच पनि कत्रो आनन्द । वसन्त ऋतुको समय थियो । मैले आफूभित्रै ढकमक्क गुराँस फुलेको अनुभूति गरें । अन्तर्वार्तामा कथमकदाचित अनुपस्थित हुन गएको भए फेरि त्यो खुसीयाली यसै गरी छाउन निकै संघर्षमा मेरा भावी दिनहरू निरासाका घडीमा फनफनी घुमिरहेकै हुन्थे होलान् । लिखित परीक्षाको नतिजाको जानकारी दिने मेरा मित्रप्रति आज पनि उतिकै आभारी छु ।

कार्यालय जाँदा आउँदा बीच बाटोमा पर्ने सुन्दरादेवीसँग सुखद नतिजाको कामना गर्दै गन्तव्यतिर लागिन्थ्यो । मेरो कामना पूरा हुन गएकोमा धन्य–धन्य छ, सुन्दरादेवी तिमीलाई पनि। जहाँ पढ्नको लागि अनुकूल वातावरण नै थिएन । जिन्दगी भनेकै असम्भव कुरालाई सम्भव बनाउँदै आफ्नो बाटो आफैंले पहिल्याउँदै जानुपर्दो रहेछ । गाविसमा ५ लाख रुपैयाँको हिसाब किताब राख्न म एक जनालाई भ्याइनभ्याइ थियो । नियमित कामको अघि पछि समयलाई सदुपयोग गर्दै विचलित नभई बडो कठिनका साथ अध्ययनलाई निरन्तरता दिइरहेको थिएँ । मसँगै नियुक्ति भएका साथीहरू सरूवा भएर लगभग सबै गइसकेको अवस्था थियो । मेरो पदस्थापना काठमाडौंस्थित रक्षा लेखा नियन्त्रक कार्यालय सुन्धारामा हुने भयो । सरूवाभन्दा पदोन्नति भएर स्थानान्तरण हुँदाको क्षणको छुट्टै रमाइलो अनुभूति हुने रहेछ ।

मेरो सफलताले मलाई नै यो गाउँबाट बिदा दिँदै थियो । बसन्तले बिदाइ गरेपछि गुराँसका थुंगाहरू पाखा लागेजस्तै लाग्ने भएँ म पनि । लगभग २ वर्षदेखि पाइला टेकेको यो गाउँ, समाजमा हुर्किएको सम्बन्ध रूपी चमेलीको वृक्षबाट आत्मीयता रूपि सुगन्धको त्यो वास्नामा सर्पले नागमणी च्यापेजस्तै गरी अझै च्यापेर बसिरहुँजस्तो लाग्यो । सम्बन्ध जतिसुकै प्रगाढ बने पनि नदीले मुहान छोडेजस्तै गरिछाड्नु पर्ने हाम्रो दिनचर्या पनि यस्तै–यस्तै रहेछ । आँखामा अटाउन नसकेको त्यो चित्र जनम जनम नबिर्सने गरी मनमा संगालेर राखिबसे । मेरो नुवाकोट, मेरो सुन्दरादेवी । नेपालको भूगोलमा सधैं सुन्दर भएर फूल फुलिरहेको सुन्न, देख्न पाइरहूँ ।