Monday, April 04, 2022

२०७८ साल चैत २१ गतेको सम्पादकीय

 गठबन्धनको दुरगामी महत्व

शुक्रवार राती सम्भवत देशमै जिल्ला स्तरमा सत्तारुढ गठबन्धनका दलहरू स्थानीय तह निर्वाचनमा एकता गरेर जाने सहमती भएको पहिलो खबर बाहिर आयो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला प्रमुखहरूले साझा धारणाको विज्ञप्ती जारी गरेर गठबन्धनका लागि प्रक्रिया सुरु भएको जनाउ सहितको घोषणा गरे । त्यसो त विचार मिल्दा राजनीतिक दलका बीचमा एकता हुन्छ, त्यो स्वाभाविक र पक्कै हो । अनि अर्को कुरा सिद्धान्तमा एकरूपता भएका पार्टीबीचको सहमति दिगो हुनसक्छ । तर आदर्श उस्तैउस्तै भएका दलबीचको गठबन्धन दुनियाँले देख्दा पनि नसुहाउँदो मानिँदैन । सिद्धान्त, आदर्श र विचारमा कुनै पनि तादात्म्य नदेखिएका दलको एकता क्षणिक हुने हुँदा तत्कालका लागि ठीक देखिए पनि त्यसको प्रतिफल मिठै हुन्छ भन्न सकिँदैन । तथापी मुलुकमा आइपरेको विकराल समस्यामा भिन्न विचार बोकेका दलका बीचमा सहकार्य हुँदा पनि मुलुकलाई दुर्घटनाबाट जोगाउन सकिने रहेछ भनेर नेपाली काँग्रेसको नेतृत्वमा गरिएको पाँच दलको सहकार्यले भने पुष्टि गर्न थालेको छ । अल्लि कत्ति पुष्ठभूमिलाई हेर्ने हो भने पनि तत्कालिन नेकपा र वर्तमान समयको नेकपा एमालेका अध्यक्ष र उक्त दलले मुलुकलाई भड्खालोमा हाल्ने प्रयास गरेकै हो । संविधान बनाउँदाको सयम पाँच वर्षभन्दा पहिला संसद् विघटन गरिने कार्यलाई दुरुत्साहन गर्ने उद्देश्यले राखिएका प्रावधानलाई लत्याउँदै असमयमै मुलुकलाई पुनः निर्वाचनमा धकेल्ने बदनियत बोकिएकै थियो । अर्बाैं खर्च हुने निर्वाचन पटक पटक गरिनु नेपालजस्तो कम आर्थिक हैसियत भएको मुलुकका लागि हितकर थिएन । र त्यसबाट उत्पन्न हुने राजनीतिक गतिरोध, सन्नाट र अध्यारो युगको सुरुवातलाई अहिलेको सत्ता गठबन्धनले संसद्लाई जोगाएकै हो । राजनीतिक अस्थिरताबाट मुलुकलाई बचाउन वर्तमान गठबन्धन सफल भएको प्रजातान्त्रि र अग्रगामी विचारका सचेत नागरिकहरूमा दुई मत छैन ।

त्यसो त अहिले हुन लागेको चुनावी गठबन्धनको अभ्यास नयाँ र नौलो पक्कै पनि होइन । बाम एकतादेखि माओवादी–काँग्रेस गठबन्धसम्मको अभ्यास भइसकेको छ । अघिल्लो चुनावी गवन्धलाई केलाउने हो भने पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनावमा जाँदा करिब दुईतिहाइ बहुमत जम्मा भएको थियो । हुन त दुवै कम्युनिस्ट दल नै थिए र उनीहरूका सिद्धान्त, विचार, आदर्श सबै एकैखाले थिए, त्यसैले पनि त्यत्तिको सफलता हात परेको हुनसक्छ । पार्टीका नाम अलगअलग भए पनि उनीहरूका कार्यकर्ताको अध्ययन, प्रशिक्षण र भावना एकैखालको हुने भएका कारण त्यसरी मिलन भएको पनि हुनसक्छ । काँग्रेस र कम्युनिस्ट दलका बीचमा सहकार्य हुँदा कार्यकर्ताका बीचको चारित्रिक भिन्नताका कारण ठ्याक्कै त्यस्तै परिणाम हात लाग्छ कि लाग्दैन त्यो छिट्टै नतिजाको रुपम आउने नै छ । मुलत : राजनीतिक दलको मुख्य कुरा भनेको जनताको सेवा र उन्नत समाज विकास सहितको मुलुक बनाउने नै हो । 

आफ्नो राजनीतिक विचार र आदर्शलाई जनताका बीचमा पु-याएर त्यसैका बलमा सत्तामा पुग्ने र सत्ताका माध्यमबाट देश र जनतालाई समृद्ध बनाउने मूल लक्ष्य नै राजनीतिक दलको हो । सत्तामा पुग्न सकिएन भने जतिसुकै राम्रो सिद्धान्त भए पनि र कार्ययोजना बोकेको भए पनि कार्यान्वयनमा लैजाने अवसर मिल्दैन । त्यसैले चुनावमा विजय हासिल गर्न विचार नमिलेकै दलसँग भए पनि एकप्रकारको तालमेल गर्नुलाई गलत भन्न मिल्दैन । चुनावी तालमेल नगरी अघि बढ्दा बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गर्ने नेकपा एमाले नै फेरि काँग्रेसपछिको शक्तिशाली दल बन्ने र मुलुकको समस्या जस्ताको त्यस्तै रहनेछन् । नेकपा एमालेको अहम् र अधिनायकवादको यात्रालाई पूर्णविराम लगाउन पनि एमालेलाई साइजमा ल्याउनुपर्ने बाध्यता भएका कारण गठबन्धनको महत्व देखिन्छ ।

२०७८ साल चैत २१ गते । वर्ष : १५, अंक : २६ ।

 


Monday, March 28, 2022

म्यादी प्रहरी नेताको टाउको दुखाई

२०७३ मा म्यादी प्रहरीमा छनोट भएका नुवाकोटका युवाहरू । फाइल तस्बिर

विदुर । यस अघि आफ्ना कार्यकर्तालाई जागिर खुवाउन दवाद दिएर फोन गर्ने राजनीति दलका नेताहरूलाई अहिले म्यादी प्रहरी टाउको दुखाई बनेको छ । स्थानीय तह निर्वाचनमा गाउँटोलमै खटिनुपर्ने र पार्टीलाई मतदान गर्नुपर्ने युवाहरू म्यादी प्रहरी बन्नका लागि सिडिओ र एसपीलाई फोन गदिर्नु पर्यो भन्दै आउन थालेपछि नेताहरू अप्ठ्यारोमा परेका हुन् । ‘चुनावी कार्यक्रम लिएर खटिनुपर्ने युवाहरू म्यादी पुलिस बन्नुपर्यो भन्दै फोन गराउन आउछन्’, एक नेताले भने– ‘स्थानीय तहमा दुई चार भोटले हार्ने अवस्था आउछ यसरी जागिर खान जानु हुँदैन भन्ने गरेको छु, तर रिसाएर फर्कन्छन् ।’

नेताहरू विपक्षी पार्टीका युवाहरू मात्रै म्यादी प्रहरीमा गईदिए हुन्थ्यो भन्ने चाहन्छन् । आफ्ना कार्यकर्ताहरू म्यादी प्रहरीको फारम भर्न विदुर झर्न थालेको जानकारी पाएपछि काँग्रेस, माओवादी केन्द्र, एमाले लगायतका ठुला पार्टीहरूले समेत रोक्नका लागि सकुर्लर नै जारी गरेको थियो । ठुला पार्टीका जिल्ला नेताहरूले म्यादी प्रहरी बनाउन आफ्ना मान्छेका लागि फोन गर्ने काम बन्द गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एक अधिकृतका अनुसार म्यादी प्रहरी भर्नाका लागि नेताहरूको फोन र दवाव कम आउने गरेको छ । अघिल्लो निर्वाचनको अनुभवका आधारमा उनले भने– ‘बरु सेना, प्रहरीबाट रिटायर भएका, पूर्व वन रक्षकहरूले चाही बढी बल गर्ने गरेका छन् ।’

म्यादी प्रहरीको लागि आवेदन लिन आउनेमा दुधे बालकका आमाहरू सम्म छन् । ४० दिनको काममा राम्रो रकम हात पर्ने भएकोले आफु आकर्षित भएको बेलकोटगढी नगरपालिकाका एक महिलाले बताए । ‘अब दुध छुटाउने बेलापनि भएको छ, घरमा बच्चा हर्ने मान्छे छन्, मैले जागिर पाए भने पनि कुनै समस्या हुँदैन’ ति महिलाले भने । 

त्यसो त, म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने र नेपाली नागरिकता भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । तर सामान्य लेखपढ गर्ने आवेदकको संख्या अत्यन्त न्यून भएको एक प्रहरीले बताएका छन् । ‘हामीकहाँ प्रहरी निरीक्षक तहमा भिड्न योग्य मान्छेको आवेदन परिरहेको छ’, उनले भने । म्यादी प्रहरीको आवेदन दिनेहरूमा स्नातक तह उत्तीर्ण गरेकाको समेत आवेदन परेको नुवाकोटका एसपी  रामप्रकाश शाहले बताए । विविएस उत्र्तिण गरेका विदुर नगरपालिकाका एक युवाले आफुले पनि म्यादी प्रहरीका लागि आवेदन दिएको सुनाए । ‘विदेशमा सेक्युरिटको काम गर्थें, केही समय भयो घर आएको’, उनले भने– ‘अझ केही समय यता बस्ने भएपछि दुई÷चार पैसा किन छाड्नु भनेर म्यादी प्रहरीका लागि फारम भरेको हुँ ।’

म्यादी प्रहरीमा भर्ना हुन नुवाकोटको सबै स्थानीय तहबाट युवाहरू आएका छन् । कुन पालिकाबाट कत्तिजनाको आवेदन पर्यो भन्ने चाँही जिल्ला प्रहरी कार्यालय नुवाकोटले तथ्याङ्क तयार गरेको छैन । पछिल्लो समयको बढ्दो बेरोजगार, गाउँ–गाउँमा रहेका युवा तथा अवकाशप्राप्त सेना, प्रहरी म्यादीमा आकर्षित भएका हुन् । 

अहिले आवेदन लिने र पछि छनोटमा प्राप्त अंकका आधारमा भर्ना गरिने प्रमुख जिल्ला अधिकारी एवं म्यादी प्रहरी छनोट समितिका संयोजक नारायणप्रसाद रिसालले बताएका छन् । म्यादी प्रहरीमा भर्ना हुनेले करीब दुई महिना समय बर्दीमा बिताउनेछन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएको आइतबारदेखि ११ गतेसम्म नुवाकोटमा ३ हजार ५८१ जनाले आवेदन दिए । ११ गते आवेदन दिने अन्मित मिति थियो । नुवाकोटका लागि एक हजार ३२७ जना मात्रै म्यादी प्रहरी माग छ । 

४० दिन काम गरेको तलव र भत्ता गरेर एक व्यक्तिले ४३ हजार ३४० रुपैयाँ एकुमष्ठ बुझ्छन् । दिनको ७५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको सात हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर निर्वाचनको सुरक्षामा खटाउने छ । 

म्यादी प्रहरी भर्ना गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ । चैत ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिक भर्ना हुन पाउनेछन् । 

स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुने छ । म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको पाँच फिट दुई इन्च र ५० केजी तौल, महिलाको हकमा पाँच फिट उचाई र तौल कम्तीमा ४२ केजी हुनुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ । 

हराएको सहकारी खोज्दै वडा अध्यक्ष

नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा हुनु पर्ने शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (काठमाडौं) वडा नं. २ मा फेला परेको छ । तस्बिर : इमेज साप्ताहिक
विदुर । विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठलाई केही समयदेखि मौखिक उजुरी आइरहेको छ : ‘हाम्रो वडामा शाखा खोल्ने गरी काठमाडौंबाट एउटा सहकारी आएको थियो, त्यो खोई ? त्यसको कार्यालय कहाँ छ ?’ सुरुमा सहकारीको कार्यालय खोज्दै के हिड्नु भनेर पन्छिएका वडा अध्यक्ष श्रेष्ठले गुनासो बढ्दै गएपछि अनौपचारिक रुपमा सोधिखोजी थाले । बागमती प्रदेशको सहकारी महाशाखाबाट अनुमती लिएर काठमाडौंको एक सहकारी विदुर–४ मा स्थापना हुनुपर्ने जानकारी पाएपछि सहकारीको खोजी थालेका वडा अध्यक्ष श्रेष्ठ त्यत्तिखेर चित परे, जत्तिबेला त्यो सहकारी वडा नंं. २ मा फेला पारे । 

काठमाडौं न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड नुवाकोटमा शाखा स्थापना गर्ने गरी वडा नं. २ को बट्टारमा भेटिएको छ । तै पनि वडा नं. ४ का अध्यक्ष अझै पनि अर्को सहकारी पो हो की आफ्नोे वडामा स्थापना हुने चाँही भनेर खोजी गरिरहेका छन् ।  

यही विषयमा जानकारी लिन आइतवार सो सहकारीको कार्यालयमा पुगेको इमेज प्रतिनिधिलाई  सेवा केन्द्रका प्रबन्धक जयबहादुर थापाले पुष्टि गरे । ‘हामीलाई विभागले विदुर नगरपालिकाको वडा नं. ४ को लागि नै स्विकृत दिएको हो, तर हामी वडा नंं .२ मा बसिरहेका छौं’ उनले भने । यस विषयमा वडा नं.४ का अध्यक्ष श्रेष्ठले पनि अनौपचारिक रुपमा सुनेको र वडा नं. २ मा स्थापना भएको सहकारी भएकोले केही सोधिखोजी गर्न नमिलेको बताएका छन् । ‘बट्टार चोकमा पुगेर यसो साइनबोर्ड पढ्यो कार्यालयको ठेगाना वडा नं. २ लेखेको छ, मेरो वडाबाट हराएको सहकारी यही हो भनेर दावी गर्न मिल्यो त अब ?’ श्रेष्ठले भने । 

वडा नं. २ का अध्यक्ष बिरेन्द्रकुमार शाही भने आफ्नो वडाका कुनै सहकारीले शाखा स्थापना गरेको र सदस्य बनाएर बचत संकलन गर्ने अनुमती लिएको जानकारी नभएको बताउछन् । ‘मलाई त यो बारेमा कसैले केही पनि भनेन् त’ शाहीले भने । अझ उनले शुभप्रभात नाम गरेको सहकारी आफ्नो वडामा रहेको स्मरण गर्दै प्रश्न गरे– ‘शुक्रपथ भन्या की शुभप्रभात ? शुभप्रभात सहकारी चाँही छ २ नं. मा ।’ 

विदुर नगरपालिका सहकारी शाखामा समेत यो सहकारीको विवरण भेटिएको छैन । शाखा प्रमुख पुष्कर शर्मा रिमालले त्यस्तो नाम गरेको कुनै सहकारी विदुर नगरपालिकाभित्र स्थापना भएको जानकारी कार्यालयसंग नभएको बताए । ‘हाम्रो कार्यालयको रेकर्डमा त्यो नाम गरेको सहकारी देखिदैन’ रिमालले भने ।  

यो सहकारीले २०७८ असोज ६ गतेबाट नुवाकोटमा कारोवार गर्दै आएको छ । साढे छ महिनादेखि काम गरिरहेको यो सहकारीले आफ्नो कार्यक्षेत्र नुवाकोट जिल्लाभरी रहेको दावी गरेको छ । ‘काम गर्न थालेको साढे छ महिना हुनै लाग्यो, तर यहाँ हामी दर्ता हुन भने बाँकी छ’ सेवा केन्द्र प्रवन्धक थापाले भने । 

तीन हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्ने

विदुर । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने देखिएको हो । अध्ययनअनुसार सो प्रसारण लाइन उच्च क्षमताको हुनेछ ।

आगामी भदौसम्म वातावरणिय प्रभाव मूल्याङ्कनको काम सकेर प्रसारण लाइन निर्माणमा जान सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनाको नेपालतर्फको क्षमता ४०० केभी डबल सर्किटको हुनेछ । यस्तै चीनतर्फ भने ५०० केभी डबल सर्किटको हुनेछ । सो आयोजनामा प्राधिकरणको आयोजना विकास विभागले काम गरिरहे पनि नेपाल र चीनका संयुक्त प्राविधिक समूहको बैठक बस्न नसक्दा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)मा बाँकी रहेका केही काम सम्पन्न हुन सकेको छैन ।

पछिल्ला दिनमा कोरोनाका कारण केही जटिलता पैदा भए पनि सहजरुपमा दुई देशबीचको नाका सञ्चालनमा आउन नसक्दा ज्वाइनट क्रसिङ प्वाइन्ट’ का विषयमा टुङ्गो लगाउन सकिएको छैन । दुवै देशका प्राविधिकले स्थलगतरुपमा अध्ययन गरेर सम्पन्न गर्न‘पर्ने काम बाँकी रहेकाले संयुक्त रूपमा ‘लोड फ्लो टेस्ट’ र डीपीआरको काम भने हुन सकेको छैन । नेपालतर्फको काम भने अन्तिम चरणमा पुगे पनि संयुक्तरुपमा गर्नुपर्ने काम कोरोनाको असर कम हुँदै गएपछि अगाडि बढ्ने विश्वास लिइएको छ ।

चिनियाँ पक्षले जिलोङ काउन्टीमा सवस्टेशन निर्माण गरिरहेको जानकारी नेपाली पक्षलाई गराएको छ । केरुङसमेत सोही काउन्टीमा पर्छ । नेपालतर्फ यसअघि नै लोडफ्लो टेस्टको काम सकिए पनि संयुक्त लोडफ्लोको काम गर्न बाँकी छ । सो काम स्टेट ग्रिड अफ चाइनाले गर्र्नेछ । नेपालतर्फको अध्ययनअनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल र चीनबीच तीन हजार मेगावाट बराबरको बिजुली आयात निर्यात गर्न सकिन्छ । आयोजनामा कूल २०८ टावर रहनेछ । प्रसारण लाइनको नेपालतर्फको खण्ड ७० किलोमिटर बराबर छ । प्रसारण लाइनको लागत रु १० अर्ब बराबर रहने प्रारम्भिक अनुमान छ ।

नुवाकोटको रातमाटेदेखि रसुवागढीसम्म निर्माण हुने नेपालतर्फको प्रसारण लाइन लाङटाङ राष्ट्रिय निकुञ्जभित्र भएर जान्छ । आयोजनाले निकुञ्जभित्र र बाहिर दुवैतर्फ अध्ययन गरेको आयोजना प्रमुख आत्रेयको भनाइ छ । सो प्रसारण लाइन निर्माण भएपछि नेपाल, चीन र भारतबीच विद्युत् आयात निर्यातका लागि त्रिदेशीय मार्गसमेत खुल्छ । सरकारले अगाडि सारेको १० हजार १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई साकार पार्न पनि सो प्रसारण लाइन महत्वपूर्ण मानिएको छ । हाल भारतसँग ११ वटा सम्पर्क बिन्दुमार्फत बिजुली आयात निर्यात भइरहे पनि चीनतर्फ भने कुनै पनि प्रसारण सम्पर्क सञ्जाल बन्न सकेको छैन । नेपालले प्रस्ताव गरेअनुसार वान बेल्ट वान रोड परियोजनामा सो प्रसारण लाइनसमेत समावेश छ ।

यतिबेला भारत मात्रै होइन, संसारभर नै कोइलाको बजारमा सङ्कट पैदा भएको छ । यस्तो अवस्थामा स्वच्छ र हरित ऊर्जा उत्पादन हुने नेपालका लागि महत्वपूर्ण अवसरको ढोका खुल्नेछ । आयोजना प्रमुख आत्रेय प्रसारण लाइन नेपालकै लागि महत्वपूर्ण भएको बताउछन् । ल्हासामा दुई वटा प्रसारण प्रणालीबाट बिजुली आयात भइरहेको छ । सिचुवानबाट आएको बिजुली दुई हजार किलोमिटर लामो प्रसारण लाइन प्रवाह भएको छ । यस्तै चाङ्घाईबाट आएको बिजुली एक हजार ४०० किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राप्त भएको छ । नेपालतर्फबाट प्रसारण प्रणाली जोड्दा झण्डै ९०० किलोमिटर हाराहारी हुने भएकाले तिब्बतमा बिजुली प्रवाह गर्न सहज हुने देखिन्छ । चीनतर्फ जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन तथा अन्य कुनै पनि प्रकारको प्राविधिक समस्या नहुने भएकाले एकाध वर्षमा नै सयौँ किलोमिटर प्रसारण लाइन निर्माण हुन सक्छ ।

रेलमार्गका लागि अपरिहार्य

चीनबाट नेपालमा ल्याइने भनिएको रेलमार्ग निर्माणका लागि समेत प्रसारण लाइन उत्तिकै महत्वपूर्ण छ । नेपालमा चल्ने भनिएको रेल विद्युतीय हुने भएकाले रेलमार्गको काम सुरु हुनुभन्दा पहिल्यै प्रसारण प्रणाली निर्माण भइसक्नुपर्नेछ । जानकारहरूका अनुसार चीनबाट आउन भनिएको रेल विद्युतीय हो । रेल आउनुभन्दा दुई वर्ष पहिले नै प्रसारण लाइन बनाइसक्नुपर्छ । त्यसका लागि बिजुलीको असाध्यै राम्रो आपूर्ति हुनुपर्छ । ‘यो प्रसारण लाइन नबनी नेपालमा रेल आउनै सक्दैन’, अमेरिका, युरोप र चीनमा समेत रेल आउनुभन्दा पहिल्यै बिजुलीको प्रसारण प्रणाली निर्माण गरिएको हुन्छ ।

नेपालको ऊर्जा सुरक्षा, प्रसारण प्रणालीको विविधिकरणका अलावा रेलका लागि समेत यो प्रसारण लाइन आवश्यक रहेको आयोजना प्रमुख आत्रेयको भनाई छ । नेपालतर्फको अध्ययनमा लाङटाङ राष्ट्रिय निकुञ्जका तर्फबाट असाध्यै ठूलो सहयोग प्राप्त भएको आयोजनाले जनाएको छ । नेपालको विद्युत् आदानप्रदान तथा क्षेत्रीय बजारमा पहुँचका लागि महत्वपूर्ण मानिएका अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा समेत सो प्रसारण लाइन निर्माणका बारेमा चर्चा भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चीनको स्टेट ग्रिडका कार्यकारी निर्देशक कोउ वीले २०७५ असार ६ गते बेइजिङमा नेपाल चीन पावर ग्रिड इन्टरकनेक्सनअन्तर्गत सो प्रसारण लाइनको अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । चीन सरकारले अगाडि सारेको बीआरआईमा सन् २०३० सम्म सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति छ । सोहीअनुसार दुई देशबीच प्रसारण लाइन जोड्ने र त्यसबाट भारत तथा अन्य मध्य एशियाली मुलुकलाई समेत आबद्ध गर्न सकिन्छ । नेपालतर्फ नुवाकोटको रातमाटे वा प्राधिकरणको त्रिशुलीमा रहेको जग्गामा सवस्टेशन निर्माण हुनेछ ।

भारततर्फ ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोस्रो न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । प्राधिकरणले रक्सौल–परवानीपुर, कुशाहा–कटैया, रामनगरलगायत विभिन्न ११ स्थानबाट बिजुली ल्याए पनि चीनतर्फ भने एउटा पनि प्रसारण प्रणाली निर्माण भएको छैन ।

अमेरिकी सहयोग सम्झौता एमसिसीले पनि नुवाकोटको रातमाटेमा नै सवस्टेशन निर्माण गर्ने तयारी थालेको छ । नेपालले प्रसारण लाइनमा सहयोग उपलब्ध गराइदिन चीन सरकारसँग यसअघि नै आग्रह गरिसकेको छ । चीनसँग विद्युत् आदानप्रदानका लागि रसुवागढी–केरुङ प्रसारण लाइनका अलावा तातोपानी, कोरला, किमाथाङ्कालगायत स्थानबाट पनि प्रसारण प्रणाली एक आपसमा जोड्ने चर्चा भइरहेको छ । 

केन्द्रीय कारागार निर्माण अन्तिम चरणमा

विदुर । नुवाकोटको विदुर नगरपालिका– ६ खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारी अनरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी अनुगमन गत हप्ता गरेको थियो । कारागार निर्माणकार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले निर्माणाधीन कारागारको भौतिक पूर्वाधार निर्माणतर्फ ९० प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको जानकारी दिएका छन् । 

उनका अनुसार चैत मसान्तसम्ममा काम सक्नुपर्ने भए पनि एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माणकार्य भइरहेको छ । करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउन लागेको छ । सिसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा पोस्ट, भेटघाट कक्ष कानुनी परामर्श कक्ष आदि निर्माण भइरहेको छ । 

कारागार प्रमुख योगीका अनुसार पहिलो चरणमा काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ । गत हप्ता भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले ठेकेदार कम्पनीसँग छलफल गरेर कार्य प्रगति साप्ताहिक रूपले बुझाउने सहमति भएको छ । 

निर्माणकार्यका लागि आवश्यक सहयोग भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना भए पनि कोरोना संक्रमण महामारीका कारण दुई महिना ढिलो भएको छ । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हनु नसकेकाले थप सुधारका काम पनि जारी रहेको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले जानकारी दिए । 

निर्माणाधीन खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको छ । 

   अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री– वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा हुनेछ । उक्त कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । 

‘जसको लागि बनेको हो उसलाई अविछिन्न सेवा दिनु’

शिवपुरी । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शनिवार शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरे । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शितलता महसुस गरेको बताउँदै डा. यादवले चुरे दोहन रोकिनुपर्नेमा जोड दिए । यहि क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो । 

सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले देशको अर्थतन्त्र राम्रो बनाउन कृषि,  जलविद्युत उत्पादन वृद्धि गर्नुपर्ने बताए । 

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शिवपुरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ रहेको बताए । नेतृत्वमा बस्नेले विचार नमिल्नेहरूको पनि कुरा सुनेर सबैलाई मिलाउनुपर्ने केसीले बताए । 

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गरे । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा धेरै विकास भएको उनले बताए । स्थानीय समस्या स्थानीय स्तरमै समाधान गर्न स्थानीय सरकार गठन भएको बताउँदै डा. महतले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । 

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निष्पक्ष ढंगले सेवा प्रवाह गर्न सबै कर्मचारीहरूलाई आग्रह गरिन् । अब चाँडै स्थानीय तहको निर्वाचन आएकाले जनप्रतिनिधि परिवर्तन भए पनि कर्मचारी परिवर्तन नहुने भन्दै उनले सेवा प्रवाहमा कमीकमजोरी नगर्न सचेत गराईन् । 

संविधानसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसीले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुनाले नेपाली जनताले दुःख पाएको बताए । उनले नेताहरू सम्वृद्ध बनेको तर जनताले सुखको अनुभूति गर्न नपाएको जिकिर गरे । 

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आफ्नो कार्यकालमा भएका प्रगतीबारे प्रकाश पारे । उनले प्रशासकीय भवनसँगै वडा भवन निर्माण, १० शैयाको आधारभूत अस्पताल निर्माण, कृषि रिङरोड निर्माण, शिवपुरी शित भण्डार निर्माण, कृषि उपज केन्द्र निर्माण लगायत अन्य प्रगतिबारे ३९ बुँदामा प्रष्ट्याए । उनले शिवपुरीमा निर्माण भएका सबै भवनको जग्गा निःशुल्क प्राप्त भएको बताए ।

प्रशासकीय भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश मन्त्री बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी, नेपाली कांग्रेस नुवाकोटका सभापती रमेश महत, नेकपा एकिकृत समाजवादीका नुवाकोट जिल्ला सचिव पदम उप्रेती लगायत अन्यले बोल्दै नयाँ प्रशासकीय भवन उद्घाटन भएकोमा शुभकामना दिए । 

प्रशासकीय भवन, शिवपुरी आधारभूत अस्पताल भवन, कृषि उपज केन्द्र, कोल्ड स्टोर लगायत अन्य स्थानमा जग्गादान गर्ने, शिवपुरी गाउँपालिकामा जन्मिएका पूर्व विशिष्ट राष्ट्रसेवकहरू, पूर्व प्रमुख प्रशासकीय अधिकृत, भवन निर्माण गर्ने निर्माण व्यवसायी र इन्जिनियरलाई सम्मान गरिएको थियो । 

पुर्व जिविस सभापति पाण्डेको शालिक अनावरण

खरानीटार । जिल्ला विकास समिति (जिविस) नुवाकोटका पुर्व सभापति स्वर्गिय गोबिन्दप्रसाद पाण्डेको स्मृतिमा निर्माण भएको भवन तथा उनको शालिक नेपाली काँग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले अनाबरण शुक्रवार खरानीटारमा अनावरण गरेका छन् । 

तादी गाँउपालिका वडा नम्बर ३ खरानीटारमा निर्माण भएको भवन र शालिकको अनाबरण भएको हो । २०१४ सालबाट नेपाली काँग्रेसमा क्रियाशिल रहेका पाण्डे २०१८ देखि दश बर्षसम्म खरानिटार गाँउ पञ्चायतको प्रधानपञ्च थिए । उनकै सक्रियतामा २०२४ सालमा अमरज्योती निमाविको स्थापना भएकोले सोही विद्यालय परिषरमा पाण्डेको स्मृति भवन र शालिक स्थापना भएको छ । 

पाण्डे २०२८ सालदेखि २०३३ सालसम्म नुवाकोट जिल्ला पञ्चायतको उपसभापति, २०३९ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएका थिए । उनी २०४९ सालको स्थानिय निकायको निर्बाचनमा खरानीटारमा गाबिस अध्यक्षमा समेत निर्बाचित भएका थिए । कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा ५ बर्षसम्म रहेर उनले काम गरेका थिए । स्वर्गिया पाण्डे तत्कालिन राजा बिरेन्द्रबाट सुप्रबल गोरखा दक्षिणबाहु चौथोद्धारा सम्मानित भएका थिए । उनको २०६३ साल बैशाख २८ गते देहबसान भएको थियो ।

गोबिन्दप्रसाद पाण्डे स्मृति भवन तथा शालिकको अनाबरण कार्यक्रममा उनका पुत्र एवं तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बुवाले सुरुवात गरेको स्कुलमा स्मृतिमा भवन निर्माण तथा शालिक निर्माण गरेको बताए । आफ्नै पवरिवारबाट संकलन भएको रकमले उनको स्मृतिलाई ताजा बनाईराख्न भवन निर्माण र शालिक राखिएको उनको भनाई रहेको छ । 

शालिक अनाबरण गर्दै डा. महतले स्वर्गिय पाण्डेलाई स्मरण गर्दै कुशल राजनितिज्ञ र निर्भिक ब्यक्तिको रुपमा रहेको बताए । समाज परिबर्तन, सुुधार र ग्रामिण भेगका नागरिकहरूको जिबनस्तर उकास्नको निमित्त उनले जीबन समर्पण गरेको बताउदै तत्कालिन समयमा नुवाकोटको अबिभाबको रुपमा पाण्डे रहेको महतले बताएका छन् । पाण्डेको सामाजिक योगदान नरहेको भए नुवाकोटको पुर्वी क्षेत्रको सर्वाङ्गिण क्षेत्र नै पछाडी पर्ने महतको तर्क रहेको छ । 

सोही कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिङ केसीले तत्कालिन समयमासँगै रहेर काम गरेको समरण गर्दै गोबिन्दप्रसाद पाण्डेको वाक कला र सामाजिक कार्यबाट आफु प्रभाबित भएको बताए । नागरिकहरूको सेवामा सक्रिय रहदै लाभको पदमा बस्न नचाहने तर समाज परिबर्तनको संबाहको रुपमा आफुलाई उभ्याउन सफल ब्यक्तिको रुपमा स्वर्गिय पाण्डे रहेको केसीले बताएका छन् । 

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका निबर्तमान सभापति जगदिश्वरनरसिङ केसीले आर्दशवान स्वर्गिया पाण्डेका कारण  नुवाकोटमा राजनैतिक र आर्थिक गतिविधि समेत अगाढी बढेको बताए । पाण्डेकै कारणले नागरिकहरूमा जागरण आएको र राजनीति चेत खुलेको केसीले बताए । नयाँ पुस्तालाई पाण्डेको योगदना र आर्दश पक्षका बारेमा जानकारी दिनुपर्ने उनको भनाई रहेको छ । 

समितिले सोध्यो : आयोजना अघि बढाउन समस्या के ?

रसुवा । व्यापार पूर्वाधार निर्माण कम्पनी इन्टर मोडल यातायात विकास समितिले रसुवा–टिमुरे सुख्खा बन्दरगाह निर्माणको कामलाई गति दिन निर्देशन दिएको छ । स्थलगत अनुगमन पछि निर्माण आयोजनालाई गति दिन निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका छन् ।

चीनको सहयोगमा २०७६ सालदेखि निर्माण थालिएको व्यापारिक आयोजना लक्ष्यअनुसार अघि नबढेपछि चिनियाँ पक्षलाई यस्तो निर्देशन दिइएको गजुरेलले बताए । आयोजना सकिने बेलामा जम्मा प्रगति २८ प्रतिशत मात्रै देखिएपछि यस्तो निर्देशन दिइएको उनले बताए । 

‘आयोजना अघि बढाउन समस्या के हो ? सरकारले गर्न‘ पर्ने सहजीकरण के हो ? प्रष्ट्याउन भनेका छौं’ गजुरेलले भने । यस अघि विभिन्न समस्याले अड्किएको निर्माण कार्यलाई जनशक्ति बढाएर गति दिन आग्रह गरिएको पनि समितिले जनाएको छ । हाल ५५ जना कामदारबाट दैनिक काम भइरहेको भए पनि आयोजना निर्माणमा अपेक्षअनुसार प्रतिफल नपाइएको गजुरेलले बताए । छलफलमा चिनियाँ अधिकारीहरू निर्माणलाई तिब्रता दिने विषयमा गम्भीर देखिएको पनि उनको भनाई छ ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको चिनियाँहरूको दाबी थियो । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते परियोजनाको शिलान्यास गरिएको थियो । यसअघि खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पु¥याएको थियो । 

पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ । आयोजनामा चीन सरकारले डेढ अर्ब लगानी छ । नेपाल–चीन सीमा क्षेत्रबाट १ किलोमिटर नेपालतर्फ आयोजना निर्माण भइरहेको छ ।

पैसा नहुनेको चर्चा हुँदैन : उप सभापति थापा

विदुर । नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले पैसा नहुनेहरूको आफ्नो पार्टीमा चर्चा नहुने भन्दै वित्रिष्णा ब्यक्त गरेका छन् । पैसा भएका नेताहरूको मात्रै चुनावमा उम्मेदवार बन्नेमा नाम आउने र चर्चा हुने भन्दै राजनीति आर्थिक हैसियतसंग तौलिने परम्परा संस्थागत भएको बताएका छन् । 

बुधबार विदुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाहरूको भूमिकासम्बन्धी राजनीतिक दलहरूसँगको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । मतदाताहरूले पनि पैसा लिएर मात्रै भोट हाल्ने गरेकोले आफु जस्ता पैसा नभएका नेताको कुनै सम्भावना नभएको उनले बताए । ‘मसंग पैसा पनि छैन, उम्मेदवार हुनेको चर्चामा मेरो नाम पनि छैन’ थापाले भने । 

नुवाकोटका राजनीतिमा धेरै नेताहरू गरिव भएकै कारण पछाडी परेको र निष्ठाले हार खाएको उनको भनाई रहेको छ । निर्वाएचन पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै एजेण्डा लिएर मतदातामा गएर मात्रै पनि जित्ने दिन कहिला आउला भनेर काँग्रेस उपसभापति थापाले प्रतिप्रश्न गरे । 

नगरपालिकाकै भेटेरिनरी प्रयोगशाला

विदुर । विदुर नगरपालिकाले पशु चिकित्सकसहित भेटेरिनरी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गएको सोमबार विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पशु सेवा शाखा र भेटेरिनरी प्रयोगशालाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले कृषकको टड्कारो समस्या तत्कालनै समाधान गर्नु आफ्नो जिम्मेवारी भएकोले प्रयोगशाला सञ्चालनमा ल्याएको बताएका छन् । ‘कृषि र पशु आधारित कृषकहरू धेरै भएकोले कृषकका समस्यालाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरुवात गर्यौ’ प्रमुख पण्डितले भने । उनका अनुसार संघीय मामिला मन्त्रालय अन्तर्गत कुनै पनि भेटेरिनरी डाक्टरको दरबन्दी प्राप्त नभएपनि विदुर नगरपालिकाको नगरसभाबाट नै डाक्टरको दरबन्दी सिर्जना गरिएको छ । 

जिल्लाको भेटेनरी पशु सेवाले समयमा सेवा दिन नसकिरहेको अवस्थामा नगरले आफ्नै स्रोत र साधनबाट नगरका पशु पन्छीपालन कृषकको व्यवसाय सुरक्षित राख्न र प्रोत्साहन गर्न भेटेनरी सेवा सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहालले संघीय र प्रदेश सरकारले पकेट क्षेत्रको रुपमा पशुपालन व्यवसायलाई विभिन्न कार्यक्रममार्फत् बढाएतापनि पशु र पन्छीहरूमा देखिने विभिन्न रोगहरूलाई नगरमै परीक्षण गर्ने वातावरण सिर्जना गर्न सके कृषकहरूलाई सहज हुने धारणा राखेका छन् । 

कृषकको समस्या समाधान गरेर कृषि व्यवसाय बनाउन सके कृषि क्षेत्रमा रोजगारीको अवसर धेरैले पाउने उद्देश्यसाथ यसको सुरुवात गरिएको उनको भनाई रहेको छ । 

भेटेरिनरी प्रयोगशालाबाट गोबर जाँच तथा लार्भा परीक्षण, थुनेलो परीक्षण लगायतका सेवा दिइने पशु चिकित्सक सनम महर्जनले बताएका छन् । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण, पशु बन्ध्याकरण, कृत्रिम गर्वधान र विशेषज्ञ सेवा प्रदान गरिने उनले बताए । उक्त शाखाबाट निःशुल्क रुपमा औषधि समेत वितरण हुने छ । 

पशुपन्छीमा लाग्ने बर्डफ्लु लगायत अन्य रोगहरूको रोग परीक्षण पनि गरिनेछ विदुर नगरपालिकाले जनाएको छ । शाखा सञ्चालनमा आएदेखि पशुपन्छीको गम्भीर प्रकृतिको रोग परीक्षणको लागि काठमाडौं लगिनुपर्ने बाध्यता हटेको बताइएको छ । 

नुवाकोटले जित्यो १८ पदक

विदुर । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोमा नुवाकोटले चार स्वर्णपदकसहित १८ पदक जितेको छ । नुवाकोट दोश्रो भएको छ । 

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडामा तेक्वान्दो खेलका विजयीलाई गएको सोमबार पुरस्कार वितरण भयो । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नुवाकोटका सुस्मिता राई, प्रिजना तामाङ, प्रविण वाइवा, धनबहादुर तामाङले स्वर्णपदक प्राप्त गरेका छन् । 

नुवाकोटले तेक्वान्दोतर्फ १० रजत र चार कास्यपदक प्राप्त गरेको छ । ८ स्वर्ण, ६ रजत, २ काश्य पदकसहित चितवन टिम प्रथम भएको हो । 

आगलागी पिडितलाई राहत

विदुर । नुवाकोटको ककनी गाउँपालिकामा आगलागीमा परी घर क्षति भएका तीन परिवारलाई घरमै पुगेर शुक्रबार राहत वितरण भएको छ । ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको थियो । 

शनिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल विपद व्यवस्थापन अन्तर्गत राहत स्वरूप प्रति पिडित परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ प्रदान गरेका छन् । साथै उनीहरूलाई ककनी गाउँपालिकाबाट १४ बोरा चामल, १ बोरा दाल, तेल तथा अन्य खाद्यान्न सामाग्रीहरू वितरण भएको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले प्रति परिवार १/१ थान टेन्ट, कम्मल र भाडाँकुडाँ वितरण गरेको छ । 

गत साता घरको बिजुली सर्ट भई आगलागी भएको थियो । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको छ । अन्नपात, भाडा, लत्ताकपडा, गरगहना गरी ५३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सवा अर्ब रुपैयाँको परियोजना निरन्तरताको माग

विदुर । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडिपीको साझेदारीमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को कार्यान्वयन प्रभावकारिताको समीक्षा भएको छ । परियोजना सञ्चालित बागमती प्रदेशका ६ वटा जिल्लाहरूमध्ये हालैमात्र छनोटमा परेका दुई जिल्ला नुवाकोट र चितवनको अवलोकन भ्रमणसहित परियोजनाको समीक्षा भएको हो । 

साथै सोही अवसरमा अन्य चार जिल्लामा सञ्चालित परियोजनाको समेत समीक्षा भएको छ । सो अवसरमा परियोजना कार्यान्वयनमा रहेका ६ वटा जिल्ला सहकारी संघहरूले परियोजनाको थप निरन्तरताको माग गरेका छन् । जिल्ला सहकारी संघ नुवाकोट, जिल्ला संघ धादिङ, चितवन, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोकले सिएमडिपी परियोजनाको थप  निरन्तरताको माग गरेका हुन् ।  पाइलट प्रोजेक्टको रुपमा पहिलोपटक सरकारले दातृ निकाय यूएनडिपीसँगको सहकार्यमा स्थानीय कृषि उत्पादनलाई सिधै बजारसँग जोड्ने गरि परियोजना अघि बढाए पनि सो परियोजनाको उद्देश्य पूरा भइनसकेको र लक्ष्यमा पुग्न पनि यसको निरन्तरता खाँचो रहेको उनीहरूले औंल्याएका छन् । परियोजनालाई बीचमै त्यसै छाड्दा राम्रो सन्देश समेत नजाने हुँदा परियोजनाको निरन्तरता अपरिहार्य रहेको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । 

तर, यता परियोजना नपाउने बागमती प्रदेश अन्तर्गतकै अन्य जिल्ला संघहरूले भने सो अवसर आफुहरूले पनि पाउनुपर्ने माग गरेका छन् । यद्यपि, सिएमडिपी कार्यक्रम यहीँ आउँदो ३१ जनवरी, २०२३ मा सकिँदैछ । नेपाल सरकारको ५१ करोड ५० लाख रुपैयाँ र यूएनडिपीको २२ करोड रुपैयाँसहित थप स्रोत व्यवस्थापन गर्नेगरि कुल एक अर्ब १४ करोड रुपैयाँको पूर्ण प्याकेजमा गत फेब्रुअरी, २०१८ देखि सञ्चालित यस परियोजना ३१ जनवरी, २०२३ मा सकिदैछ । तर परियोजनाको पाँच वर्षे समयावधि सकिनै लाग्दा लक्ष्य अनुरुपको उपलब्धि खासै हात पार्न नसकिएको सरोकारवाला, परियोजनाका हिस्सेदारहरूनै बताइरहेका छन् । यसका लागि पनि परियोजनाको थप निरन्तरताको खाँचो रहेको न्यौपानेको भनाइ छ ।

कृषि उत्पादन फलफूल तथा तरकारीमा कायम बिचौलिया प्रणालीको अन्त्य गर्दै सिधै बजारसम्म कृषक र कृषि उपजको पहुँच स्थापित गर्ने उद्धेश्यले सिएमडिपी कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि परियोजनाले छनोटमा परेका सहकारी संघ संस्थालाई कृषि बीउबिजन, मल, कृषि औजार, ढुवानीका साधनका साथै यस्ता कृषि उपजहरूको व्यवस्थापनका लागि संकल केन्द्र तथा चिस्यान केन्द्र निर्माणमा  परियोजनाले अनुदान उपलब्ध गराइरहेको छ । 

हाल परियोजनाले परिक्षणका लागि छनोट गरेको बागमती प्रदेशका ६ वटा जिल्लाहरू नुवाकोट, धादिङ, मकवानपुर, चितवन, ललितपुर र काभ्रेपलाञ्चोकमा गरी ७२ वटा सहकारी संस्थाहरूमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । यसबाट प्रत्यक्ष रुपमा १४ हजार ४०० कृषक घरधुरी  लाभान्वित भएको परियोजनाले दाबी गरेको छ । समीक्षा कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरूमध्ये काठमाडौं, रसुवा, सिन्धुपाल्चोक र सिन्धुली बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी  संघका अध्यक्ष प्रतिनिधि उपस्थित रहेका थिए भने परियोजना साझेदार सहकारी महासंघ, सिएमडिपी प्रतिनिधि र नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को  समेत सहभागिता थियो ।

लेखक संघको अध्यक्षमा गजुरेल

विदुर । प्रगतिशील लेखक संघ नुवाकोटको चौथो जिल्ला अधिबेशन शुक्रवार विदुरमा सम्पन्न भएको छ । 

अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा सुमी, सहसचिवमा बिविना लामिछाने र कोषाध्यक्षमा शम्भुप्रसाद गजुरेल रहेका छन् । कार्यसमिति सदस्यहरूमा प्रदिपकुमार भट्ट, काजी खान, रामेश्वर गजुरेल, कोपिला अर्याल, राजकुमारी खड्का, शुसिला नेपाल, दुर्गा पनेरु र सुदन लामिछाने चयन भएका छन् ।

निर्वाचन आचारसंहिताको विषयमा अन्तरक्रिया

कार्यक्रममा मन्तब्य राख्दै माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने । 
विदुर । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, प्रभावकारी, विश्वश्नीय र मर्यादित बनाउन राजनीतिक दल र मतदाताहरूलाई आग्रह गर्दै मर्यादित र निष्पक्ष हुने बताएका छन् । 

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा निर्वाचन आयोग र नेपाल कानुन समाजले विदुरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाको भूमिका सम्बन्धी अन्तक्रियामा जिल्ला न्यायाधीश लुइँटेलले सो भनाई राखेका हुन् । भयरहित वातावरणमा मतदान गर्न सकोस् भनी निर्वाचन आचारसंहिता पालना गर्नु सबै उम्मेदवार, राजनीतिक दल र मतदाताहरूको रहेको उनले बताएका छन् । एकअर्कालाई आरोपप्रत्यारोप नगरी सरोकारवालाहरूले सहि ढंगले भूमिका निर्वाह गर्नु बाध्यता, कर्तव्य र दायित्व रहेको उनको टिप्पणी रहेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले आचारसंहिताले निर्धारण गरेको खर्च सीमाभन्दा पनि निर्वाचनमा खर्चरहित वातावरण सिर्जना गर्नुपर्ने बताए । निर्वाचनमा मतदाताको मतलाई बदरबाट हुन जोगाउनको लागि मतदाता शिक्षामार्फत् सहि तरिकाले मतदान गर्न सिकाउनुपर्ने उनको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा सरकारी, सार्वजनिक अधिकार, शक्ति, स्रोत र साधनको दुरुपयोग नहोस् भनि आचारसंहिता लागू गरेको बताएका छन् । निर्वाचनमा जनताले सचेत रुपमा विवेक प्रयोग गर्ने वातावरणमा रोकावट गर्न नहुने लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरूमा सरोकारवालाहरूको भूमिका र निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकमी तथा सुरक्षा सम्बद्ध कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठनले मान्नुपर्ने निर्वाचन आचारसंहिता बारे प्रष्ट पारेका छन् । यस्तै, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता र पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरूको आचारसंहिता विषयक जानकारी गराएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसारबारे कार्यपत्र प्रस्तुत गरे । 

पिपल्टारमा फुटसल प्रतियोगिता हुने

विदुर । नुवाकोटको पिपल्टारमा क्लव स्तरीय खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । पिपल्टार फुटवल क्लवको आयोजनामा आउदो चैत १९ गतेबाट प्रतियोगिता सुरु हुने छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सो प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको उद्धव पनेरुले जानकारी दिएका छन् । 

पिपल्टार फुटसलको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ । खुल्ला रुपमा टिम सहभागी हुन पाउने प्रतियोगिताको विजेताले नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । 

वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश


विदुर । नेकपा एमालेबाट निर्वाचित विदुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलवार बट्टारमा नेकपा एकिकृत समाजवादीद्धारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा सडौला समाजवादी प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । सडौलासहित एमालेका डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् । 

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा जनताको लहर र मोह बढ्दै गैरहेको बताएका छन् । एकीकृत समाजवादी पार्टी नुवाकोटले आयोजना गरेको जिल्ला भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टी प्रति देशभर जनताले देखाएको चासो, सहभागिता र मन्त्रीहरूले देश र जनताको लागी गरेको कार्य देखेर नेकपा एमालेका नेताहरूलाई ‘हर्ट याट्राक’ हुने बताए । 

साथै उनले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच आगामी निर्वाचनमा तालमेल हुने बताएका छन् । आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउन आतुर रहेको बताए । 

आफूहरू देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उनले भने– ‘एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरू परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।’ एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरूको अधोगती सुरु भएको उनको भनाई छ । 

नुवाकोटमा सेयर बजार सम्बन्धी शिक्षा

बट्टार । अनलाइन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ४९) को व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित नुवाकोट शाखाको सक्रियतामा सुरक्षित लागानीका उपाय विषयमा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रवार बट्टारमा भएको कार्यक्रमका प्रमुख अतिथि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले यस किसिमको कार्यक्रमले लागानीकर्ताले हल्लाको भरमा नभई बुझेर लगानी गरी लागानी सुरक्षित गर्न टेवा पुर्याउने बताए । उनले पछिल्लो समय सुरक्षित लगानीका साथै युवा पुस्ताको आकर्षणमा रहेको सेयर बजारलाई थप सरलिकृत गर्नका लागि निजी क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहने र संघले पनि काम गर्ने बताए । 

सो कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विभिन्न क्षेत्र मा क्रियाशील व्यक्तिहरूलाई सेयर बजारमा आबद्ध गराउन यस्ताखाले कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । अनलाइन सेक्युरिटिज प्रालिले नुवाकोटका नागरिकहरलाई पुँजी बजारमा प्रवेश गराउनका लागि महत्वपूर्ण भुमिका खेल्नु पर्ने र सेयर शिक्षा अभियानलाई वडा तहसम्म लैजानु आवश्यक रहेको खनालले बताएका छन् । 

त्यसैगरी जिल्ला सहकारी संघ नुवाकोटका सचिब प्रकाशकुमार अधिकारीले बुझेर लगानी गर्न सबैमा अनुरोध गरेका छन् । आफुपनि पुँजी बजारमा कारोवार गर्ने उल्लेख गर्दै उनले नजानेर भएपनि धेरै नागरिकहरू यसमा सम्लग्न रहेको र अब उनीहरूलाई सुरक्षित लगानी गर्ने र मनग्य कमाउने सिप यस्ता कम्पनीहरूले दिनु पर्ने बताएका छन् । 

कार्यक्रममा प्रालिका कारोबार अधिकृत बिजयप्रसाद लामिछानेले कसरी लगानी सुरक्षित गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानीकर्ताहरूले उठाएका सवाल र जिज्ञासाको जवाफ दिँदै प्रालिका अध्यक्ष दिनेश शर्मा बिडारीले बुझेर मात्र लागानी गर्न र हल्लाको पछि नलागी कारोवार गर्न आग्रह गरेका छन् । 

पौडेल बागमती अध्यक्ष चयन

विदुर । महिला मानव अधिकारको लागि महिला, एकल महिला समुहको बागमती प्रदेश अध्यक्षमा नुवाकोटका अधिकारकर्मी देवकी पौडेल चयन भएका छन् ।

बिहीवार काठमाडौंमा भएको दोश्रो प्रदेश अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा चितवनका रुकु अधिकारी, सचिवमा सिन्धुपाल्चोकका सुपामाया नेपाल र कोषाध्यक्षमा काभ्रेका सरिता शाही चयन भएका छन् । 

नव निर्वाचित प्रदेश अध्यक्ष पौडेल यस अघि सो संस्थाका प्रदेश उपाध्यक्ष थिए । उनको कार्यकाल दुई वर्षको छ । 

मानव अधिकारको लागि महिला, एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो । सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलाहरूलाई स–सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न संस्था स्थापनाकाल देखी नै अग्रसर रहदै आएको छ । 

प्रदेश अध्यक्ष चयन भएपछि देवकी पौडेलले सामाजिक सांस्कृतिक तथा सशक्तिकरण र अभियानमा आफ्नो समय र कार्ययोजना केन्द्रित हुने बताएका छन् । दिगो जिविकोपार्जन मार्फत आर्थिक स्तरमा सुधार, मानव अधिकारको लागि शान्ति र न्याय, स्थानिय सुशासनमा एकल महिलाको सहभागिता, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा एकल महिलाको सवालमा मूलप्रवाहीकरण लगायतका उद्देश्य यो समुहको रहेको छ । 

नुवाकोटमा निर्वाचन पर्यवेक्षण समिति

विदुर । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नुवाकोटमा गठन भएको छ । आसन्न स्थानीय तह निर्वाचनको स्वतन्त्र पर्यवेक्षणका लागि गठन भएको हो । 

समितिको संयोजकमा मकुन्द नेपाल, सह–संयोजकमा शर्मिला थापा मगर, सचिवमा कपिलदेव खनाल र कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा देवकी पौडेल, गरिमा पाण्डे र गोकर्ण नेपाल छन् । 

कांग्रेस बागमतीमा नुवाकोटका दुई

विदुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरूलाई मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरूमा नुवाकोटका अर्जुनप्रसाद न्यौपाने र कल्पना नेपाली छन् । नेपाली प्रदेशको स्वास्थ्य राज्य मन्त्री छन् भने न्यौपने भुमि अधिकार आयोग नुवाकोटका संयोजक छन् । 

उनीहरू सहित काँग्रेस बागमतीमा नुवाकोटबाट ७ जनाको प्रतिनिधित्व भएको छ । यस अघि निर्वाचनबाट नुवाकोटका प्रमोद रिमाल, बद्री मुडवरी, मणिराम केसी, बिन्दा थापा मगर, र धनकुमारी थापा ‘सरु’ प्रदेश समितिमा चुनिसकेका थिए । 

सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, धादिङबका तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवती कुमारी खड्का काँग्रेसको प्रदेश कार्य समिति सदस्यमा छन् । ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन, दोलखाका प्रभुराम श्रेष्ठ छन् । 

होटल व्यवसायी पलायन हुन थाले

विदुर । रसुवाको पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालन गर्ने व्यवसायीहरू पछिल्लो समय पलायन हुन थालेका छन् ।

विशेष गरि भाडामा होटेल लिएर व्यवसाय गरिरहेका व्यवसायीहरू आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएसँगै व्यवसायबाट पलायन भएका हुन् । रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार भूकम्प तथा कोरोना महामारीका कारण होटलको भाडा तिर्न नसकेर जिल्लामा सञ्चालित १५ प्रतिशत होटल व्यवसायी पलायन भएका छन् ।

रसुवाका पर्यटकीय क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जहरूमा करिब तीन सय होटेल संञ्चालनमा रहेकोमा अहिले करिब दुई सय ५० वटा होटेल मात्र सञ्चालनमा रहेका छन ।

होटल व्यवसायीले २० हजारदेखि एक लाखसम्म मासिक भाडा तिरेर होटल व्यवसाय सञ्चालन गरिरहेका थिए । जिल्लामा सञ्चालित होटलहरूमा २० जनादेखि एक सय ५० जना पर्यटक अट्ने क्षमताका होटलहरू रहेको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघले जनायो ।

भूकम्प तथा कोरोनाका कारण व्यवसाय धराशायी भएसँगै सदरमुकाम धुन्चे, स्याफ्रु, क्यान्जिङ, थुमन, गतलाङ, टिमुरे, तातोपानीका होटल व्यवसायी अन्य व्यवसायतर्फ लागेका छन् ।

सुख्खा बन्दरगाह निर्माण तीव्र

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । 

बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको हो । ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजनाको हालसम्म करिब २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

चिनियाँ कामदार १५ जना र नेपाली कामदार ३५ जनाले काम गरि रहेको तिबेत फूली कन्सट्रक्शनले जनाएको छ । दश जना चिनियाँ कामदार अझै नेपाल आउन नसक्दा कामले थप गति लिन नसकेको हो । वर्षामा काम गर्न असहज हुने स्थानमा अहिले काम गरि रहेको कन्सट्रक्शनले जनाएको छ ।

सन् २०१९ को नोभेम्बरबाट सुरु भएको काम कोरोना महामारीले गर्दा समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीको भनाइ छ । चीन सरकारको सम्पूर्ण सहयोगमा निर्माण हुने बन्दरगाहकोे लागत एक करोड ७७ लाख १४ हजार अमेरीकी डलर रहेको उक्त निर्माण कम्पनीले जनाएको छ ।

२०७८ साल चैत १४ गतेको सम्पादकीय

शुक्रपथ प्रवृत्तिको बहश जरुरी

काठमाडौंमा कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले अहिले नुवाकोट सहित ८ जिल्लामा सेवा केन्द्र स्थापना गरेको छ । रसुवा लगायतका आथिृक अतिविधि कम देखिएको जिल्लाहरूमा यसको सेवा केन्द्र छैन । प्रदेश स्तरबाट अनुमती लिएर नुवाकोट वित्रिएको उक्त सहकारीले सिधै नियमविपरित सञ्चालनमा रहेको पाइएको छ । वडा नं. ४ मा स्थापना हुनुपर्ने सहकारी वडा नं. २ मा भेटिएको छ । वडा नं. ४ मा स्थापना हुँदा कुनाकाप्चातिर बस्नु पर्ने र वडा नं. २ मा बस्दा नुवाकोटको मुख्य ब्यापारिक केन्द्र बट्टारको मुख्य चोकमा कमर्सियल बैंकहरूसंग प्रतिस्पर्धामा सजिलो हुनेगरी बसेको छ । न त छोडेको वडा कार्यालयलाई जानकारी छ, न त बसेको वडा कार्यालयलाई जानकारी छ, यत्तिसम्म कि स्थानीय सरकार विदुर नगरपालिकालाई समेत शुक्रपथ सहकारीले विदुर नगरपालिकामा बसेर आर्थिक कारोवार थालेको, कार्यालय स्थापना भएको जानकारी छैन । साढे छ महिनादेखि सदस्य बनाउदै बचत संकलन गर्दै आएको शुक्रपथ सहकारीले स्थानीय तहमा गर्नु पर्ने कुनै प्रक्रिया पुरा गरेको छैन । ‘काठमाडौंबाट आएको विकास बैंक सरहको हैसियत भएको सहकारी पो हौं त’ भन्ने रवाफ सहकारीमा देखिएको गुनासो उसैको सदस्यहरूबाट उठ्न थालेको छ । बचतकर्ताहरूले पहिला स्थानीय सरकारमा पनि दर्ता हुन आग्रह गर्न थालेको भएपनि, पिर नगर्न भन्दै टार्ने गरेको छ । ‘शुक्रपथ प्रवृत्ति’ ले नुवाकोटमा सहकारी अभियानमा लागेहरूलाई सोच्नुपर्ने अवस्थामा उभ्याएका छन् । सरकारले बनाएको ‘ल्याङ्फ्याङ’ नीतिलाई टेकेर निहित स्वार्थमा आउन चाहाने ‘सहकारी’हरूले कसरी स्थानीय सहकारी जो सहकारीको मर्मत र भावनामा सञ्चालनह ुने प्रयासमा छन् र स्थानीयहरूको साना पुँजी जम्मा भएको छ त्यसलाई कसरी धराशायी बनाउने प्रपन्च हुँदो रहेछ संकेत मिल्न थालेको छ । यसको नियमन कसले, कसरी र कहिले गर्ने हो एक मिनेट भएपनि छिट्टो हुनु जरुरी छ । आकर्षण ब्याजदरको लोभमा सार्वसाधारणको सम्पत्ति नै उढ्ने अवस्था आउदा, नहुन पनि सक्ला तर, स्थानीय तहमा दर्ता हुन नमान्नुले के को संकेत गरिराखेको छ ?’ यसैले आंशका गर्ने सुविधा प्राप्त भएको छ । 

त्यसो त, बैंक तथा वित्तीय संस्थाले हरेक ३/३ महिनामा आफ्नो वित्तीय प्रतिवेदन राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गर्न पर्छ । तर, सहकारी संस्थाहरूलाई त्यस्तो बाध्यता छैन । यही कमजोरीको फाइदा उठाउँदै सहकारी संस्थाका अध्यक्ष र ऋण उपसमितिका सदस्यहरूले आफ्नो तजबिजमा आफ्ना नातागोता, परिवार र साथीभाइलाई बिनाधितो ऋण प्रवाह गरिरहेका छन् । यही कारण विगतमा केही सहकारी संस्थामा समस्या आउँदा हज्जारौ जनाको अर्बौ रुपैयाँ डुबेको छ । डुबेकाहरुको  सम्पत्ति फिर्ता आउने सम्भावना छैन । अझै पनि सहकारीलाई व्यवस्थित गर्नका लागि विशेष जोड नगर्ने हो भने, आउँदा दिनमा धेरै सहकारीमा समस्या आउने र धेरै सर्वसाधारणको सम्पत्ति डुब्ने सम्भावना छ । यस्तो अवस्थामा सहकारीको मूल्य र मान्यताअनुरूप ऐन बनाउनुपर्छ जसले गर्दा यो क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन सकियोस् । 

अहिले मुलुकमा विभिन्न प्रकृतिका गरी ५० हजार माथी  सहकारी संस्था छन् । ती सहकारीले सर्वसाधारणबाट खर्बौ रुपैयाँ बराबरको बचत संकलन गरी लगानी गर्दै आएका छन् । तर, ती संस्थाहरूको प्रभावकारी नियमन हुन नसक्नु अचम्मलाग्दो पक्ष हो । सहकारीको सिद्धान्तअनुसार घरजग्गा र सेयरमा लगानी गर्न पाइँदैन । अहिले अधिकांश ठूला सहकारी संस्थाले ती क्षेत्रमा लगानी गरेका छन् । तर, घरजग्गा र सेयर कारोबारमा लगानी गरी सर्वसाधारणको रकम डुबाउने संस्था र व्यक्तिहरूलाई समेत कारबाही नहुनु दुःखद पक्ष हो । सहकारी संघसंस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड अनुसार पनि कुनै पनि व्यक्ति जिल्लाभित्रका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्य हुन पाउनेछैनन् । उजुरीका आधारमा सम्बन्धित कार्यालय वा विभागले दोहोरो सदस्यता खारेज गर्नेछ । तर, अधिकांश सहकारीले त्यो मापदण्ड पालना गरेका छैनन् । परिणाम एकै व्यक्तिले उस्तै प्रकृतिका एकभन्दा बढी संस्थाबाट बचत तथा ऋणको कारोबार गरिरहँदा पनि सरकार, सहकारी विभागलगायत नियामक निकायहरू मौन छन् । त्यस्तै बचत तथा ऋणको वित्तीय कारोबार गर्ने संस्थाले ‘कार्यक्षेत्र बाहिरका र सदस्यबाहेक व्यक्ति तथा निकायसँग कारोबार’ गर्न प्रतिबन्ध लगाए पनि सहर बजारका करिब ९० प्रतिशतभन्दा बढी सहकारीले कार्यक्षेत्र बाहिरकासँग कारोबार गर्ने गरेको प्रमाणहरू छन् । 

Wednesday, March 23, 2022

उम्मेदवारी दर्ता ११ र १२ मा

विदुर । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

यसै बीच, स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ । जनप्रतिनिधिले उम्मेदवारी दिनुअगाडि राजीनामा दिनुपर्ने भनिएको छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्न‘ अगावै वहाल पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ । कसैले आचारसंहिता उलंघन गरे उजुरी दिन सक्नेछन् । ‘कसैले यो आचारसंहिता उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ’, उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ ।

चिठ्ठा परेको भन्दै ह्वाट्सएपबाट ठगी


विदुर । यस इमेज साप्ताहिकका प्रकाशक कपिलदेव खनाललाई फागुन ३० गते ह्वाट्सएपमा चिठ्ठा परेको म्यासेज आयो (माथी तस्बिरमा हेर्नुहोस्) । पाँच देशको इन्टनेशनल कोभिड–१९ लक्की ड्र २०२२ मा छनोट भएको र २५ लाख रुपैयाँ जितेको खबर आयो । ९८६३९७८८७२ नम्वरको मोवाइल प्रयोग कर्ताको ह्वाट्सएप एकाउन्टबाट आएको उक्त सन्देशमा भनिएको र पुरस्कार संकलन गर्नका लागि आकाश वर्मालाई ९८११६४६८०० मा सम्पर्क गर्नुहोस् । यही ब्यहोराको सन्देश एक महिना अघि यस इमेज साप्ताहिकका प्रमुख समाचारदाता प्रतिका थापालाई पनि ह्वाट्सएपमा आएको थियो ।

यसरी चिट्ठा परेको भन्दै ठगी गर्नका लागि सामाजिक सञ्जालमा जालो फिजाउनेहरू सक्रिय मात्रै हुन थालेका छैनन् । सामान्य नागरिकहरू झुक्किने र लाखौं रुपैयाँ गुमाउने घटना पनि हुन थालेको छ । यसै गरी चिट्ठाको म्यासेजको विश्वास गर्दा गएको हप्ता एक जनाले लाखौं रुपैयाँ गुमाएका छन् । 

चिट्ठा परेको लोभमा फस्दा काठमाडौंका एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको हो । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई  ९० लाखको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउन्ड भएको सुटकेस पार्सल पठाएको सूचनाका आधारमा लोभिँदा २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरूले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एप मार्फत फोन गरी पार्सल र चिट्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।

पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका– ४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको मानगरीय अपराध महाशाखाले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा उनलाई गएको सोमबार पक्राउ गरी कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

नीतिगत भ्रष्टाचारले विकास र विनाश संगसंगै


रानीपौवा । नयाँ अस्पताल भवन बनाउँदा पुरानो सञ्चालन भइरहेको अस्पताल भवनलाई जोखिम हुने काम गरेपछि ककनी गाउँपालिका रानीपौवाबजारवसी आन्दोलित भएका छन् ।

दश बेडको नयाँ अस्पताल भवन बनाउने क्रममा ककनी स्वास्थ्य केन्द्रलाई धरापमा पारेपछि स्थानीयवासी विरोधमा उत्रेका छन् । उक्त भवनको जग खन्ने क्रममा चरम लापरबाही र नीतिगत भ्रष्टाचारको दुष्परिणामस्वरूप ३० वर्ष पुरानो जापानी सहयोगमा बनेको ‘ककनी स्वास्थ्य केन्द्र’को भवन खण्डहरमा परिणत भएको छ । संवेदनशील विषय र ठूलो भौतिक क्षतिको साथमा आइपर्ने जोखिमको जिम्मेवार को भन्दै स्थानीयले यसको खबरदारी गरिरहेका छन् । 

२०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री अर्जुननरसिंङ केसी र परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा नेपाल–जापान ‘मित्यव्ययिता’ सम्बन्धको प्रतीक स्वरूप निर्माण भएको ककनी स्वास्थ्य केन्द्रको भवन कठिन परिस्थितिको सामना गर्दै सहयोगी संस्था र 

स्थानीयवासी र भवानी माविका विद्यार्थीको श्रमदानपश्चात् निर्माण भएको थियो । उक्त भवननजिक दश बेडको अस्पताल भवन बनाउन जग खन्न सम्याउने क्रममा गरेको लापरबाही र गैरजिम्मेवारीका कारण जोखिम बनेको छ । 

भवन निर्माण पूर्वभौगोलिक अध्ययन र अनुसन्धान नगरी, देखासिखीको भरमा जनतालाई विकासको अनुभूति मात्र गराउन हतासमा गरिएको अपरिपक्वताको परिणाम हो यो । नयाँ निर्माण गर्न लागिएको अस्पताल भवन मात्र होइन निर्माणाधीन गाउँपालिका भवनमा समेत चरम लापरबाही र ठूलो गल्ती भएको स्थानीयबासी बताउँछन् । यसको सत्यतथ्य सम्बन्धित निकायले खोजी गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।

हत्तार हुनेलाई परिचयपत्र तुरुन्तै

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 

उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीको टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर अति जरुरी परेका सेवाग्राहीको लागि हिजो आइतवारदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइएको जिल्ला प्रशासनले जनाएको छ । अत्यावश्यक हो÷होइन पहिचानको मापदण्ड स्वास्थ्य उपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायतमा सहभागी हुन सम्बन्धित निकायबाट सिफारिस गरिएको तथा निमन्त्रणा आएको लगायतलाई आधार मानेर उक्त बिषयसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताएका छन् ।

हाल चलनचल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई प्रतिस्थापन गर्दै विद्युतीय राहदानी अनिवार्य गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य गरिएको छ । सोही कारण देशभर नै राष्ट्रिय परिचयपत्र बनाउन चाहने सेवाग्राहीको संख्या धेरै देखिएको नुवाकोटका सहायक प्रजिअ अर्यालले बताए ।

दुई दिन नियमिति खोप लगाइदै

विदुर । कोरोना रोग विरुद्धको खोपमा सबैको पहुँच पु-याउन स्वास्थ्य कार्यालय नुवाकोटले हप्ताको दुई दिन खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । 

बाँकी रहेका तथा दोश्रोडोज र बुस्टर डोजको खोप सेवा हरेक साताको सोमबार र बुधबार उपलब्ध भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनले बताए । सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशुली अस्पतालमा खोप उपलब्ध छ । 

यसैगरी, १२ स्थानीयतहले पनि अबदेखि मासिक रुपमा पालिकामा कुनै एक स्थानमा खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप सेवा उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउदा आउजाउको क्रममा रोगको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो ।

कृषि व्यवसायमा प्रकाश राई


पिपल्टार (नुवाकोट) । ड्रयागन फल, कालो बेसार, अगरउड अनि मेवा । मानव स्वास्थ्यका लागि संसारभर प्रख्याती कमाएको यी बहुमुल्य कृषि उत्पादन एकै ठाउँमा खेती भइरहेको देख्ने र हेर्ने अवसर सायदै मिल्ला । तर नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ तल्लो पिपल्टारमा आउने हो भने संसारका यि सर्वाधिक खोजिहुने गुणकारी र मानव स्वास्थ्यका लागि अमृत सरहका ड्रयागन फल, कालो बेसार, अगरउड र मेवा उत्पादन भइरहेको पाउनु हुने छ । 

नुवाकोटका सफल ब्यवसायी प्रकाश राई पछिल्लो तीन वर्षदेखि यसै गरी नै यहाँका यि बहुमुल्य उत्पादनहरूको स्याहारसुसार गर्छन् । तल्लो पिपल्टारमा सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेर उनले ब्यवसायीक खेती थालेका छन् । 

कृषि व्यवसायीको परिचय बनाउने रहरले उनले थालेको यो काममा पाँच करोड भन्दा बढी नगद लगानी भइसकेको छ । आफ्नै नाममा रहेको यो ५० रोपनी क्षेत्रफलमा सुरु भएको यी बहुमुल्य उत्पादन हेर्न र स्याहारसुसार गर्नका लागि उनले कर्मचारी समेत राखेका छन् । 

मानव स्वास्थ्यसंगै अन्तरािष्ट्रय स्तरमै माग रहेको कृषि उत्पादनका लागि आफ्नो अभियान सुरु भएको र यसबाट आत्मसन्तुष्टि प्राप्त भएको उनी सुनाउछन् । कृषि, यस भित्र पनि आधुनिकिकरण र अधिक मुल्य आउने आफ्ना यी चार थरी कृषि उत्पादनले नुवाकोटलाई अन्तराष्ट्रिय बजारसम्म चिनाउने प्रकाश राई बताउछन् ।     

प्रति किलो सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म विक्रि हुँदै आएको ड्रयागन फल पिपल्टार स्थित यो सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरमा ब्यवसायिक रुपमा उत्पादन सुरु भएको छ । यहाँ दुई किसिमको ड्रयागन उत्पादन भइरहेको छ । एकथरी बाहिर रातो र भित्र रातो भएको अनि अर्को बाहिर र भित्र सेतो भएको ड्रयागनको उत्पादन यहाँ भइरहेको छ । यहाँ १५ सय पिल्परमा चार हजार पाँच सय ड्रयागन लगाइएको छ । प्रति बोटले २५ किलो भन्दा माथी उत्पादन दिन थालेको कृषि ब्यवसायी प्रकाश राईले बताएका छन् । 

नेपालमा भर्खर भित्रिएको हल्का गुलाबी रङको, खादा मिठो अनि गर्मी समयमा फल्ने नवआगन्तुक फल ड्रागन थाईल्यान्ड, मलेशिया, इजरायल भियतनाम हुदै दक्षिण पूर्व एशिया र ल्याटिन अमेरिकामा मुख्य रूपमा लोकप्रिय छ । यसको माग संसारभरी छ । भएको यो फल अहिले नेपालमा पनि लगाउने गरिएको पाइन्छ । ड्रयागन फल खेतीको लागी गर्मी २०–३० डिग्री तापक्रम र कम वर्षा अर्थात् ५०% वार्षिक औसत वर्षा हुने ठाउँमा अनुकूल हुने भएकोले पनि यहाँ यो बढी प्रभावकारी देखिएको छ । नेपालमा यसको खेती समुद्री सतह देखि ४५०० फिट सम्म गर्न सकिन्छ । यो फल क्यान्सर बिरामीका लागी एकदमै फलदायिक हुनुका साथै मधुमेह भएका व्यक्तिले पनि सेवन गर्न मिल्छ । यस फलमा प्रशस्त भिटामिन, खनिज पदार्थ र औषधिजन्य गुणहरू पाईन्छ । यस फलले एक स्वास्थ र चमकदार छाला बनाउन मद्दत पुर्याउछ । ड्रागन फलमा भिटामिन सी अत्याधिक मात्रामा भएकाले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन पनि मद्दत गर्दछ । यस फलले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत पु¥याउछ र उच्च फाइबर सामग्री भएकाले पाचन प्रक्रियामा सहयोग गर्छ ।

त्यसो त यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरको अर्को खेतीको मुख्य आकर्षणको रुपमा यो अगरउड रहेको छ । सञ्जिवनी बुटी सरहर रहेको यो रुख अहिले यहाँ हुर्केर यत्रा भएका छन् । भगवानको वृक्षको रुपमा चिनिने अगरवुड हिन्दु, बौद्ध लगायतका अन्य धार्मिक आस्थासँगै जोडिएको वृक्ष औषधिका लागि प्रयोग हुँदै आएको छ । यस वनस्पतिबाट विश्वकै उच्च श्रेणीको तेल निकालिन्छ । 

यसको तेल डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपटाइटिस, कलेजो र मृगौलाको समस्या तथा फोक्सो, पेटमा हुने ट्युमर आदि रोगहरूको उपचार गर्न आयुर्वेदमा प्रयोग गरिन्छ । यसका  विभिन्न भागको छुट्टाछुट्टै महत्व हुन्छ रहने गरेको छ । जसमा यसको  पात मजेदार चियाको लागि, मधुमेह, दम उपचारका लागि प्रयोग हुँदै आएको छ । 

त्यस्तै तेल छाला सम्बन्धि, बाथ, यौन रोग आदिका लागि प्रयोग हुन्छ । त्यसै गरी, यो काठको धुलो धुपको रूपमा प्रयोगमा आएको छ भने अगरउडको चोप  एरोमा थेरापी, अत्तर र अन्य वास्नादार बस्तुहरू बनाँउन प्रयोग गरिन्छ ।

अगरउड संसारको सबै भन्दा महँगो रुख हो । अगरउड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । बिशेष गरी उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरूमा यो विरुवा पाउन सकिन्छ । तर पिपल्टारको यही सद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले विश्वमा महंगो र दुर्लभ भएको यो रुखलाई हुर्काउँदै आएको छ । अबको पाँच वर्षमा यहाँका अगरउड उत्तर पूर्वी एसिया तथा ताइवान, कोरिया, जापानका बजारहरू र अरेवियन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरू विक्रिका लागि पु¥याइने ब्यवसायी प्रकाश राईले जानकारी दिएका छन् ।  

५ देखी १० बर्षमा अगरउडको उत्पादन लिन सकिने मात्रै होइन एउटा राम्रो चोप भएको अगरउडले १० लाख देखी २ करोड रुपैयाँसम्म दिने सक्नेछ । अगरउडाको विश्वबजारमा अहिले मुल्य प्रति केजी ३५ लाख रुपैयाँ रहेको छ । 

औषधिको रुपमा यसको तेल विभिन्न रोगहरू जस्तै डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । त्यसै गरी, सजावटको रुपमा यसको काठबाट निकालिने तेल विभिन्न बास्नादार चिजहरू जस्तै अत्तर बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरू बास्नादार बस्तुहरू बनाउनमा यसको प्रयोग गरिन्छ ।

यहाँ रहेको अर्को मत्वपूर्ण उत्पादनका रुपमा कालो बेसार रहेको कृषि ब्यवसायी प्रकाश राई बताउँछन् । 

त्यसो त, कालो बेसारको उत्पत्ति बीच भारत भएको हो र अहिले विश्व भरी  फैलिएको पाइन्छ । जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । कतै कतै नेपाली बन जंगलहरूमा पाइने यसको संरक्षण तथा खेती नेपालमा उत्ति धेरै भएको पाइदैन । तर प्रकाश राईको यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले पिपल्टारमा यसको खेती गरेर दिनप्रतिदिन लोप हुदै गएको र लोपन्मुख हुने बोटबिरुवाको सूचीको अग्रपंतिमा परेको कोलो बेसारको संरक्षण गरेको छ । 

यस बिरुवाको कोषहरू कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनिएको हो । यसको एउटा बोटमा  १० देखि २० वटा पातहरू हुन्छन् । सञ्जिबनी बुटीको रुपमा रहेको यो कालो बेसारमा ३० खाले  महत्वपूर्ण तत्वहरू पाईन्छ । 

नुवाकोटमा परिक्षण र सोखका लागि धेरै ठाउँमा ड्रयागन फलको खेती त भइरहेको छ । मेवालाई घको छेउछाउमा एक दुई वोट मात्रै रोप्ने चलन हामी कहाँ छ । अन्य दुई उत्पादन कालो बेसार र अगरउडको त नाम पनि अधिकाशंले सुनेका छैनन् । तर यहाँ यी चार चिजको ब्यवसायी खेती भइरहेको छ । जसका कारण युवा अनि सफल ब्यवसायी प्रकाश राईको  चर्चा छ । 

त्यसो त उनी अहिले नुवाकोटमा राजनीतिक रुपले पनि चर्चाको केन्द्रमा छन् । नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा झण्डै दुई दशकदेखिको अर्जुननरसिंह केसी पक्षलाई पछाडी पार्दै अन्य समुहहरूका नेता अगाडी आए । यस्तो अवस्थामा पनि केसी पक्षबाट निर्वाचित भएर काँग्रेसको महासमिति सदस्यसम्म बनेका राईको राजनीतिक सम्भावना र मार्ग प्रशस्त भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा काँग्रेसबाट प्रमुखको उम्मेदवार बन्नका लागि उनलाई काँग्रेकै नेता कार्यकर्ताहरूबाट आग्रह हुन थालेको छ । लामो समयदेखि समाजसेवा र व्यवसायमा रहेका प्रकाश राईले नै काँग्रेस भित्रको गुटगत विभाजनलाई एकतावद्ध गर्नसक्ने काँग्रेसकै नेताहरूले बताउने गरेका छन् । 

२०५० सालबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका राई काँग्रेसको क्षेत्रिय सचिव, जिल्ला कार्य समिति सदस्य हुँदै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेका छन् । 

भ्रष्टाचार मौलाएको बेलकोटगढीको कार्यसम्पादन पनि कमजोर


बेलकोटगढी । सामुदायिक बिद्यालयको रकम हिनामिना देखी बर्षौसम्म बृद्धभत्ता बितरण नगरी ७० बर्ष उमेर कटेका बृद्धबृद्धालाई दुःख दिएका मेयर राजेन्द्ररमण खनालको बेलकोटगढी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा कमजोर भएको छ । 

खेलकुद मैदान निर्माणका लागी वाग्मती प्रदेश सरकारले दिएको २५ लाख रुपैयाँको सम्झौता नगरेपछि कार्यालय घेराउ गर्न पुगेका स्थानीयलाई छलेर भागेका मेयरको नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा  कमजोर देखिएको हो । सडक निर्माण, खेलकुद मैदान निर्माण, किसानलाई बितरण गरिने अनुदानको औजार सामग्रीहरूको भ्रष्टाचारमा मुछिएर चर्चा कमाएका खनाल १ बर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर ‘प्रसिद्धी’ कमाउँदै पटक पटक लफडामा फस्दै आएका छन् ।

नुवाकोटका १२ स्थानीय तह मध्ये दुई नगरपालिका रहेको नुवाकोटमा बेलकोगढी नगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार विदुर नगरपालिकाले ५४.९४ अंक प्राप्त गर्दा बेलकोटगढीले ४७.९३ अंक मात्र प्राप्त गरेको छ । १२ स्थानीय तहमा १० आंै नम्बरमा बेलकोटगढी नगरपालिका रहेको छ । 

सूर्यगढी गाउँपालिकाले ६३.३९ अंक प्राप्त गरी सबैभन्दा बढी अंक ल्याएको छ । गाँउपालिकाको तुलनामा समेत बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार ककनी गाउँपालिकाले सबैभन्दा कम अंक प्राप्त गरेको छ । ककनी गाउँपालिकाले ४७.६० अंक प्राप्त गरेको उक्त तथ्याङ्कमा उल्लेख छ । 

यस्तै दुप्चेश्वर गाउँपालिकाले ४८.५४, तादी गाउँपालिकाले ४७.८१, विदुर नगरपालिकाले ५४.९४, किस्पाङ गाउँपाालिकाले ५३.१५, म्यागङ गाउँपालिकाले ५८.३५, तारकेश्वर गाउँपालिकाले ५२.५८, वेलकोटगढी नगरपालिकाले ४७.९३ अंक प्राप्त गरेको छ । यस्तै लिखु गाउँपालिकाले ५९.५५, पञ्चकन्या गाउँपालिकाले ५६.५३, शिवपुरी गाउँपालिकाले ६१.५६ अंक प्राप्त गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्न गरेर अंक प्रदान गरेको होर । 

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियोर । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियोर । १७ सूचकहरूमा बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूती संख्या लगायत शिर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको होर । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम दिनको लागी सिफारिस गर्नेे छ । 

शनिबार बाहेक ४३ दिन बिदा

विदुर । सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।

वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी ९५ दिन सार्वजनिक बिदा हुने भएको छ । बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार बिदा, पाँच दिन सबैका लागि दिवस बिदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र बिदा गरेर ६ दिन दिवस बिदा दिइएको छ । यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि बिदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।  दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ । तिहार बिदा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ । विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा बिदा दिने भएको छ । बुद्ध जयन्तीमा देशभर सबैलाई लागू हुने गरी बिदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरूलाई मात्रै बिदा दिइने छ ।

नयाँ शैक्षिक सत्र जेठबाट

विदुर । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरेको छ ।

सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने जनाइएको छ । चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरू नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरूको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हो ।

कोभिड–१९ ले परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ ।’ कुनै विद्यालयले अनलाइन प्रक्रियाबाट भर्ना अभियान चलाउन खोजे छुट दिइने शर्माले बताए ।

वि.सं २०७९ को शैक्षिक सत्र चैत्र मसान्तभित्र सक्नेगरी पठनपाठन हुने शर्माको भनाइ छ । यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि भर्ना अभियान सञ्चालन गर्ने बताएका छन् । ‘अब त कोरोनाको धेरै जोखिम छैन,’ उनले भने ‘त्यसैले वैशाखमा कोभिडअघि जसरी भर्ना कार्यक्रम सञ्चालन गरेका थियौँ, त्यही अनुसार देशभर भर्ना कार्यक्रम सञ्चालन हुन्छ ।’ उनका अनुसार वैशाख १५ गतेदेखि प्रभावकारी ढङ्गले भर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

भौतिक उपस्थितिमा विद्यार्थी भर्ना गरिनेछ । ‘हामी सूचना पनि प्रकाशित गर्छौँ, सम्भव भएसम्म कार्यक्रम आयोजना पनि गरेर भर्ना गराइनेछ,’ उनले भने । कतिपय स्थानीय तहहरूले चैत महिनामै विद्यालय तहको परीक्षा राखेकाले त्यो क्षेत्रमा पाठ्यक्रम पूर्णरुपले सम्पन्न भएको छ भने सञ्चालन गर्न दिनुपर्ने पुरीको भनाइ छ ।

छहरे–टोखा सुरुङमार्ग निर्माण सुरु गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

तादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि खरानीटारमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : इमेज साप्ताहिक

विदुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा जनप्रतिनिधिले चार वर्षसम्म गरेको कामको मुल्याङ्कन गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै गएको र नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० गते निर्वाचन हुने भएकाले चार बर्षको कार्यकालको समीक्षा गरेर मतदान गर्नको लागी उनले आग्रह गरेका हुन् । नुवाकोटको किस्पाङ गाँउपालिका र तादी गाँउपालिकाको प्रमुख प्रशासकिय भवनको उद्घाटन गर्न गएको सोमवार नुवाकोट आएका प्रधानमन्त्री शेरबहादुर देउबाले मुलुकलाई अझै बलियो र सुदृढ बनाउनका लागि अबको स्थानीय तहको निर्बाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले सो दिन छुट्टा छुट्टै कार्यक्रममा दुई गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री देउवाले संविधानले लिएको लक्ष्य प्राप्ति र समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी र अधिकार दिएको छ । त्यसैले संविधानले परिकल्पना गरेको समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे । 

प्रधानमन्त्री देउवाले सरकारले काठमाडौं–केरुङ सम्पर्कका लागि छहरे–टोखा सुरुङमार्गसहितको सडक स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यस क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रहितमा रहेको पनि बताए । किस्माङ गाउँपालिकाको भवन उद्घाटन गर्दै एमसीसीबारे एमाले नेता भीम रावलले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । 

एमसीसी राष्ट्रहितमा छ, यो अनुदानको बजेट हो । हुन त यहाँ एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्नेहरू पनि छन्,’ देउवाले भने, ‘पूर्वप्रधानमन्त्री केपी ओलीजीकै पालामा एमसीसी संसद्मा दर्ता भएको हो । उहाँकै सरकारले संसद्बाट स्वीकृत गराएको हो । अहिले त्यही पार्टीको नेता हुनुहुन्छ, भीम रावल । उहाँले एमसीसीको विरोधमात्रै होइन, झुटो प्रचार गर्न‘भएको छ । त्यो बेला उहाँले केही बोल्नुभएन, अहिले हामीले अघि बढाउँदा उहाँ विरोध गर्दै हुनुहुन्छ ।’

तादी गाँउपालिकाको भवन ४ करोड ३० लाख ४६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो । वन निर्माणका लागि केन्द्रीय सरकारबाट अनुदानस्वरुप ८५ लाख, जिल्ला समन्वय समिति नुवाकोटको मौज्दात कोषबाट १ करोड ६० लाख र तादी गाउँपालिकाबाट विनियोजित रकम १ करोड ८५ लाख ८६ हजार खर्च भएको जनाइएको छ ।  भवन बनाउन २०७६ साल जेठ १७ गते ठेक्का सम्झौता भएर २०७७ साल पुस ६ गते निर्माण सम्पन्न भएको हो । भवन निर्माणको जिम्मा मिलिनियम कल्पवृक्ष जेभी बालाजुले पाएको थियो ।   

प्रधानमन्त्री शेरबहादुर देउवा गएको सोमवार किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन पछि मन्तब्य व्यक्त गर्दै