Monday, June 27, 2022

सिसडोलमा रंगशाला बनाउने बालेनको चाहना

 

विदुर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले सिसडोल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर रंगशाला तथा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् । ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लडलाइट जडान गरेर राति खेल्न मिल्ने बनाउँछौँ,’ प्रमुख शाहको भनाइ छ ।

कुराकानीका क्रममा शाहले, काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ,’प्रमुख शाहले भने, ’अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन,’‘वि डिभिजन’ र ‘सी डिभिजन’फुटबल क्लबहरूलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौं ।’ 

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरू महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताए ।

यसै बीच, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन् । 

उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा समाधान गर्न‘पर्नेमा जोड दिइन् । झाँक्रीले फोहोर गर्नेबाटै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यकता औँल्याइन् । 

उनले भनिन्, ‘सहरका समस्या झनै विकराल छन् । सहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । सहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन् । आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरू बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्न‘पर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबै कुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ ।’ झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजानुपर्नेसमेत बताइन् ।

साना तीन दलले मात्र बुझाए निर्वाचनको खर्च विवरण

 विदुर । स्थानीय तह निर्वाचन सकिए पनि नुवाकोटमा साना राजनीतिक दलहरूले मात्रै खर्च विवरण बुझाएका छन् । ठुला अधिकांश दलले निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । 

खर्च विवरण नबुझाउनेमा सानादेखि राष्ट्रिय मान्यता प्राप्त ठूला २५ दल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा राष्ट्रवादी, मंगोलियन नेसनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीका ९५ जना उम्मेदवारले आफ्नो खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार १० हजारदेखि ३ लाख ५९ हजार रुपैयाँसम्मको खर्च भएको विवरण बुझाएका छन् । 

कम खर्च भएको मौलिक जरोकिलो पार्टीले १० हजार रुपैयाँ देखाएको छ भने बढी नेकपा राष्ट्रवादीले ३ लाख ५९ हजार रुपैयाँ खर्च भएको देखाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचारप्रसार खर्चको विवरणमा दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेस गर्नुपर्ने उल्लेख छ । यसरी प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनुपर्ने भनिएको छ । नुवाकोटमा २५ दलले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाउनेलाई जरिवाना गर्ने कानुनी प्रावधान रहेको छ । 

२८ वटा दलले निर्वाचनमा सहभागी थिए । नुवाकोटमा १२ स्थानीयतह छन् । त्यसमा ८८ वटा वडा छन् । स्थानीय निर्वाचनमा २ हजार ३ जना उम्मेदवार चुनावी मैदान थिए भने २ जना दलित महिला निर्विरोध भएका थिए । अरू पार्टीको खर्च विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए । स्थानीय तह निर्वाचनमा सहभागी भएका २ हजार ३ जना मध्ये ६८५ जनाको धरौटी जफत भएको छ । सदरमतको १० प्रतिशत भन्दा कम भए धरौटी जफत गरिन्छ ।

नयाँ सरकारको पहिलो काम किसानहरूलाई अनुदानमा मिनिटिलर

 

बेलकोटगढी । अधिकांश भु–भागहरू खेतीयोग्य रहेको बेलकोटगढी नगरपालिकाले किसानहरूलाई मिनिटिलर बितरण गरेको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा १७० वटा मिनिटिलर बितरण गरेको हो । नगरपालिका भित्र रहेका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूलाई बितरण गरिएको छ । 

किसानहरूले उक्त संस्थामार्फत समुह बनाई उपयोग गर्न पाउने प्रमुख प्रसासकिय अधिकृत दिपक खतिवडाले जानकारी दिए । उनका अनुसार फरक मुल्यको २ किसिमको मिनिटिलर बितरण गरिएको छ । १५ हजार ७६६ र १६ हजार ७६० रुपैयाँ पर्ने मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । 

मिनिटिलर बितरण गर्दै नगरप्रमुख जगत गुरुङले नगरपालिकाका किसानहरूको आयआर्जन बृद्धि गर्न र कृषिमा आत्मनिर्भर नागरिकहरूको आयस्तर बढाउनको लागी अन्य योजनाहरूको परिकल्पना गरिरहेको बताए । नगरपालिकाको प्रायः भुभागहरू खेतीयोग्य रहेका छन् । बेलकोटगढी नगरपालिकाको मदानपुर, रातमाटे, जिलिङ, बेलकोट, कुमरी, दुईपिपललगायतका स्थानमा उब्जिएको तरकारीलगायत अन्य अन्नबालीहरू किसानहरूले बिक्री गरी मनग्य आम्दानी गर्ने गरेका छन् । 

बितरण कार्यक्रममा उपप्रमुख शिव दाहाल, विभिन्न वडाका वडा अध्यक्षहरू, कृषि शाखा प्रमुख दामोदर दाहाल लगायतको सहभागिता थियो । 

पर्यटन प्रबद्र्धन बिशेष कार्यक्रम

 विदुर । बागमती प्रदेश सरकारले नुवाकोट जिल्लाको पर्यटन प्रबद्र्धनका लागि बिशेष कार्यक्रमहरू कार्यान्वयन गर्ने भएको छ । 

प्रदेश सरकारले उक्त कार्यक्रमहरू कार्यान्वयनका लागि बजेट बक्तब्यमा उल्लेख्य बजेटहरू बिनियोजन गरेको छ । आगामी आर्थिक बर्षलाई घुमफिर बर्ष मनाउने घोषणा गरेको प्रदेश सरकारले बिनियोजन गरेका रकमहरूको सार्थक कार्यान्वयनले नुवाकोटको पर्यटन प्रबर्धनमा महत्वपूर्ण योगदान पुग्ने होटल तथा पर्यटन ब्यवसायी संघ बाग्मती प्रदेश अध्यक्ष सन्तोष उप्रेतीको भनाई रहेको छ ।

बागमती प्रदेश सरकारले बेलकोटगढी नगरपालिकामा पर्ने पर्यटकीय चिम्टेश्वर क्षेत्रलाई नमुना गन्तब्यको रुपमा बिकास गर्ने भएको छ । उक्त क्षेत्रको पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दे निर्माण भईरहेको भ्यू टावरलाई पूर्णता दिँदै उक्त स्थानमा बन, बँगैचा र पार्क निर्माणका लागि एक करोड ९५ लाख ७९ हजार रुपैया बिनियोजन गरेको छ । नुवाकोटको प्रमुख पर्यटकीय गन्तब्य ककनीमा हिलस्टेशन प्याकेज निर्माण गर्न एक करोड ६८ लाख ७४ हजार बिनियोजन भएकोछ ।

यसैगरी प्रदेश सरकारले बजेट बक्तब्य मार्फत नुवाकोटको धार्मिक क्षेत्र दुप्चेश्वर मन्दिर संरक्षण, फिकुरीमा निर्माण, शिवपुरीमा तामाङ साँस्कृतिक संग्रहालय निर्माण, पिपलटारमा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणलाई पूर्णता लगायत कार्यक्रमहरूमा बजेट बिनियोजन गरेको छ ।

सबैथोक रहेन अब चुनाव चिह्न

 

काठमाडौं । राणाशासनको अन्त्यपछि २०७६ मंसिरको उपनिर्वाचन बाहेक कहिल्यै पनि गैरकम्युनिस्ट उम्मेदवार अनुमोदन नगरेको धरानले यसपटक हर्क साम्पाङलाई मेयर चयन गरेको छ, त्यो पनि सहज मतान्तरसहित । बलियो संगठन र आम परिचित चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत पाएर निकटतम प्रतिद्वन्द्वी बन्दा साम्पाङले २० हजार ८२१ मत ल्याएर मेयर जिते ।

जितपछि साम्पाङप्रतिको समर्थन, प्रशंसा र भरोसा बढेको छ । उनले पनि आफ्नो जितलाई धराने जनतासँग जोड्दै भनेका छन्, ‘मेयर सधैं धराने जनता भन्दा तल हो, सेवक हो ।’ धरानको राजनीतिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिको ऐतिहासिक प्रवृत्तिलाई आधार मान्ने हो भने गैरदलीय उम्मेदवारी दिएर धरान उपमहानगरकै नेतृत्व लिन सक्नु साम्पाङको असाधारण सफलता हो ।

अझ अढाइ वर्ष पहिलेको धरानकै नतिजासँग तुलना गर्दा साम्पाङको जितलाई चमत्कार भन्न सकिन्छ । २०७६ को उपनिर्वाचनमा मेयर पदका उम्मेदवार बनेका साम्पाङले जम्मा ४२२ मत पाएका थिए । खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाएर दशक यता सामाजिक अभियानमा सक्रिय साम्पाङले त्यसबेला जमानत समेत जोगाउन सकेका थिएनन् । त्यो चुनाव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राई (२३ हजार ९१४ मत) लाई हराउँदै कांग्रेसका तिलक राई –२६ हजार ७०९ मत पाएर) ले जितेका थिए ।

त्यसबेला साम्पाङको चुनाव चिह्न ‘खानेपानीको धारा’ थियो । खानेपानीकै समस्या लिएर सामाजिक अभियानमा सक्रिय रहेकाले यसपटक पनि उनी उपनिर्वाचनकै चुनाव चिह्न लिने चाहनामा थिए, दाबी पनि गरे । तर नेकपा एमालेबाट विद्रोह गरी मेयर पदमा उठेका धरान–९ का निवर्तमान वडाध्यक्ष रत्न कटवालले त्यो चिह्न लिइसकेका थिए । त्यसैले निर्वाचन आयोगले अरू कुनै चिह्न रोज्न भनेपछि हर्क ‘लौरो’ चिह्न लिएर मतदातासमक्ष गए । तर ‘खानेपानीको धारा’बाट चुनाव चिह्न ‘लौरो’ फेरिंदा पनि उनले ठूला दलको बलियो संगठन र लामो विरासत सजिलै तोडिदिए । ‘खानेपानीको समस्या धराने जनतासँग जोडिएको छ । तर जनताको समस्याप्रति राजनीतिक नेतृत्व गैरजिम्मेवार बन्यो, हर्क साम्पाङ निरन्तर लागिरहे’, धरानका एमाले नेता भीम ज्वाला भन्छन् । साम्पाङसँग पराजित हुँदै निकटतम प्रतिद्वन्द्वी बनेका किशोरलाई सत्तारुढ पाँच दलको समर्थन थियो ।

मेयरको प्रतिस्पर्धामा १२ हजार ८२५ मतमै सीमित रहेर तेस्रो बनेकी मञ्जु भण्डारीसँग भने एमालेको आक्रामक संगठन र सात दशक लामो विरासत थियो । २००७ सालबाटै कम्युनिस्ट प्रभावमा हुर्किएको धरानले कम्युनिस्ट भनेर एमाले नै चिन्दै आएकाले पनि मञ्जुको उम्मेदवारी सशक्त मानिएको थियो । किनभने धरानसँग एमाले ‘कनेक्सन’ राणाशासन अन्त्य हुँदै गर्दा भएको (सन् १९५० मा) दिल्ली सम्झौतासँगै जोडिएको छ । दिल्ली सम्झौताको विरोधमा तत्कालीन राजा त्रिभुवनलाई रत्नबहादुर श्रेष्ठ र पृथ्वीमान मोते नेतृत्वको टोलीले कालो झण्डा देखाएपछि धरान ‘कम्युनिस्ट गढ’ बन्न पुगेको थियो ।

श्रेष्ठ र मोतेले उठाएको विद्रोहको झण्डालाई धरानले पञ्चायत र त्यसपछि पनि निरन्तरता दियो । पूर्वी पहाडबाट झरेका कम्युनिस्ट, झापा विद्रोही र महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले निरन्तरता दिएको कम्युनिस्ट प्रभावकै जगमा पञ्चायतमै पनि जनपक्षीय उम्मेदवारी दिएर बम देवानले धरानको मेयर जितेका थिए । २०४६ सालपछिका हरेक चुनाव –२०६४ को पहिलो संविधानसभा चुनावमा माओवादी र २०७६ को उपनिर्वाचनमा कांग्रेसले जितेको बाहेक) एमालेकै उम्मेदवारले जिते ।

तर यसपटक भने धरानले आफ्नै राजनीतिक इतिहास र कम्युनिस्ट विरासत मात्रै नभएर प्रमुख दल र तिनको चुनाव चिह्नबाट मात्रै जित्न सकिने आममान्यता समेत तोडेको छ । यसलाई दलहरूप्रतिको विद्रोहका रूपमा लिनुपर्ने धरानका पूर्व मेयर बम देवान बताउँछन् । ‘पञ्चायतकालमा निरंकुश राजाविरुद्ध विद्रोह हुन्थ्यो, विस्तारै त्यो विद्रोह राजनीतिक दलप्रति देखिन थाल्यो’ देवान भन्छन्, ‘दल र नेताहरूले आफ्नो सिद्धान्त, नीति र कार्यक्रम लिएर जनतामाझमा संगठन बनाउन छोडेपछि मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरे ।’

राजनीतिक इतिहासका अध्येता राजेश गौतम पनि जनताको एजेण्डाबाट दलहरू अलग हुन पुग्दा ‘ब्रान्डेड’ चुनाव चिह्नप्रति विद्रोह भएको बताउँछन् । ‘यो चुनावले ब्रान्डेड चिह्नबाट मात्रै भोट लिन सकिन्छ भन्ने मान्यतामा वेग्लै दृष्टिकोण बनाउन बाध्य बनाएको छ । निर्वाचनमा चिह्न मात्रै ठूलो कुरो होइन रहेछ भन्ने पनि यसले प्रष्ट संकेत दिएको छ’, गौतम भन्छन् ।

स्वतन्त्रको लहर

धरानका हर्क साम्पाङ भन्दा बढी चर्चा सहित राजधानी शहर काठमाडौं महानगरमा बालेन्द्र साह मेयर बनेका छन् । उनले पनि सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका सिर्जना सिंह र एमाले उम्मेदवार बनेका पूर्व मेयर केशव स्थापित जस्ता बलिया उम्मेदवारलाई सजिलै पछि पारे । सिर्जनाको चुनाव चिह्न ‘रूख’ काठमाडौंवासीले ६४ वर्ष पहिले नै चिनेका हुन् भने स्थापितको चिह्न ‘सूर्य’ ३५ वर्षदेखि फरफराइरहेको छ । तर, चुनाव आउन १३ दिनअघि मात्रै पाएको ‘लौरो’ चिह्नबाट बालेनले परम्परागत मान्यता भत्काइदिए ।

‘बालेनजीलाई १७ वैशाखमा चुनाव चिह्न लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो । त्यतिञ्जेल चुनाव चिह्न मतपत्रमा भएका मध्येबाट छान्न पाइन्छ भन्ने पनि थाहा थिएन’ बालेनको समूहमा सम्लग्न एक जना सदस्य भन्छन्, ‘आयोगले दिएका विकल्पमध्ये उहाँलाई लौरो सजिलो हुन्छ जस्तो लाग्यो र त्यही छान्नुभएको थियो ।’

चुनाव चिह्न पाएपछि बालेन आफैंले ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ नारा बनाए ।

चुनाव चिह्न प्रचारका लागि मुख्यगरी सामाजिक सञ्जाललाई माध्यम बनाइएको उनका समूहका ती सदस्य बताउँछन् । ‘मतदानको समय आउन लाग्दासम्म भोट फर बालेन भनेर हिंडिरहेका थियौं’ ती सदस्य भन्छन्, ‘तर यसपालि मतदाता आफैं सचेत देखिनुभयो, हामीले भन्दा पहिले उहाँहरू आफैंले आ–आफ्नो सामाजिक सञ्जाल मार्फत प्रचार गरिदिनुभयो ।’

भौतिक प्रचारका रूपमा घरदैलो अभियानमा गएका वेला लौरो लिएर हिंड्ने र प्रचार सामग्रीमा चिह्न छाप्ने बाहेक अन्य काम नगरेको उनीहरू बताउँछन् । ‘खासमा हाम्रा लागि चिह्न ठूलो कुरा थिएन, विचार मुख्य कुरा थियो’ बालेनका एकजना सहयोगी गणेश कार्की भन्छन्, ‘विचारको अगाडि मतदाता आफैंले अन्य सबै कुरालाई साइड लगाइदिनुभयो ।’ काठमाडौंका मतदाता चिह्न भन्दा पनि उम्मेदवार, तिनका विचार र प्रतिबद्धता हेर्न सक्षम भएकैले बालेन मेयर बनेको कार्कीको भनाइछ ।

बालेन र हर्क साम्पाङ जतिकै प्रभाव नदेखिए पनि धनगढी उपमहानगरमा गोपाल हमाल, जनकपुर उपमहानगरमा मनोजकुमार साह, बर्दिबास नगरपालिकामा प्रल्हादकुमार क्षेत्री लगायतको जितले प्रमुख दलहरूको चिह्नबाट मात्रै चुनाव जित्न सकिन्छ भन्ने मान्यता कमजोर बनाएको छ ।

साझा पार्टीको राजनीति त्यागेर ‘आँप’ चिह्नमा गैरदलीय उम्मेदवारी दिएका हमालले २६ हजार ८६५ मत ल्याएर धनगढी उपमहानगरको मेयर जिते । यहाँ पनि ‘रूख’ चिह्नका कांग्रेस उम्मेदवार नृपबहादुर वड (१४ हजार ८१७ मतसहित) निकटतम प्रतिद्वन्द्वी बने । जनकपुरमा कांग्रेसबाट विद्रोह गरी गैरदलीय उम्मेदवारी दिएका मनोज साहले ‘घण्टाघर’ चुनाव चिह्नमा १३ हजार ४६५ मत ल्याएर मेयर जिते । बर्दिबास नगरपालिकामा ‘जेब्रा’ चिह्नमा १४ हजार २१० मत ल्याएर प्रहृलादकुमार क्षेत्रीले मेयर जिते । जबकि कांग्रेसको रूख चिह्नबाट उम्मेदवारी दिएका चिरञ्जीवी हमाल भने १२६३ मतमै सीमित रहेर चौथो बने ।

पार्टीबाट टिकट नपाएपछि अलग चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गर्ने अभ्यास यसअघि पनि थियो । तर आफू जित्न भन्दा पार्टी हराउन त्यस्तो उम्मेदवारीले बढी काम गथ्र्यो । तर, यसपटक भने एक महानगर र तीन उपमहानगरसहित १३ स्थानीय तहमा गैरदलीय उम्मेदवार विजयी भए । राजनीतिक विश्लेषक जुगल भुर्तेल, यो चुनावको नतिजालाई प्राविधिक (संख्यात्मक) रूपमा मात्रै हेरिन नहुने बताउँछन् । ‘धेरै सिट त दलहरूले नै पाए । तर प्रमुख शहरमा स्वतन्त्रले जित्नुको राजनीतिक अर्थ छ, त्यसतर्फ ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

सबै पद गरी यो चुनावबाट गैरदलीय उम्मेदवारी दिएर ३८५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । २०७४ को भन्दा यो संख्या बढी हो । त्यो चुनावमा ६ स्थानीय तहको नेतृत्वसहित २३३ जना जनप्रतिनिधि गैरदलीय थिए । तर त्यसबेलासम्म दलको स्थानीय विवादकै कारणले गैरदलीय उम्मेदवारले जितेको तर्क गरिन्थ्यो । 

दल भनेकै चिह्न !

प्रमुख दलको चिह्न नपाउनेले नजित्ने मान्यता स्थापित हुनुमा राजनीतिक परिवर्तनहरूमा दलहरूको निर्णायक नेतृत्व र संवैधानिक व्यवस्था कारण देखिन्छ । दलहरूले चिह्न लिएको इतिहास भने २०१५ सालदेखि हो । त्यसअघि राणा र राजाले गराउने चुनावमा थोरै उम्मेदवार हुने भएकाले हरियो, रातो लगायत रंगका आधारमा भोट दिइन्थ्यो ।

तर २०१५ सालको चुनावमा नेपालले छिमेकी भारतको अभ्यासको सिको ग¥यो । १०९ निर्वाचन क्षेत्र तोकिएको त्यो चुनावमा कांग्रेसका सबै उम्मेदवारले एउटै चिह्न ‘रूख’ मा उम्मेदवारी दिए । दुई तिहाइ अर्थात् ७४ जनाले जिते । त्यसबेला कांग्रेसले आफ्नो चुनाव चिह्न ‘रूख’लाई कल्पवृक्ष भनेको थियो ।

संयुक्त प्रजातन्त्र पार्टीले ‘धानको बाला’, नेपाल प्रजापरिषदको ‘हलो’ र गोरखा परिषदले ‘छाप्रो घर’ र नेपाल कम्युनिस्ट पार्टीले ‘मकैको घोगा र हँसिया’ चिह्नबाट चुनाव लडेका थिए । ‘भारतमा जस्तो किसिमले चुनाव हुन्थ्यो, त्यस्तै किसिमले नेपालको चुनावी प्रणाली अगाडि बढ्यो । अरू देशमा पनि आ–आफ्नो ट्रेडमार्क (चुनाव चिह्न) लिएर लड्ने परम्परा थियो’, इतिहासकार राजेश गौतम भन्छन् । त्यसबेला गैरदलीय उम्मेदवारी दिने पनि थिए । लालसिंह महर्जनले ‘घण्टा’, पद्मबहादुर बुढाथोकीले ‘हात्ती’, खनुपरुदे (रामबाबु प्रसाईं) ले ‘तराजु’ लिएर चुनाव लडेका थिए ।

तर चुनाव जित्ने र राष्ट्रिय राजनीतिमा प्रभाव भने दलीय उम्मेदवार हुनेको बढी भयो । अर्कातिर दललाई आफ्ना उम्मेदवारहरू सबै एउटै चिह्नमा छन् भनेर प्रचार गर्न पनि चुनाव चिह्नले सहयोग पुग्यो । ‘पार्टीभित्रै भिन्न दृष्टिकोणमा रहेकाहरूलाई एउटैमा बाँध्ने आधार त चाहियो । त्यस्तो आधार रूख चिह्न बन्यो । नत्र त कांग्रेस पार्टी भनेर चुनावमा उठ्ने, तर चुनाव चिह्न भने अलगअलग हुनेभयो’, दलका उम्मेदवारले एउटै चिह्न लिएको ऐतिहासिक पृष्ठभूमि केलाउँदै गौतम तर्क गर्छन् ।

त्यसबेला कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय अभ्यास र पार्टीको सिद्धान्तका आधारमा ‘मकैको घोगा र हँसिया’ चिह्न लिएका थिए । तर, कांग्रेसले रूख चिह्न लिनुमा भने बलियो तर्क देखिंदैन । रूखले सबैलाई ओत दिने तर्ककै आधारमा लिइएको चिह्न कांग्रेसले त्यसपछि कहिल्यै छोडेको छैन ।

तर कम्युनिस्ट पार्टी भने लगातार एकता र विभाजनको शृङ्खलाबाट बढेकाले २०१५ सालको चुनाव चिह्न छोड्यो । अहिले एमालेले लिएको चुनाव चिह्न ‘सूर्य’ भने २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका पद्मरत्न तुलाधरले काठमाडौंमा र रूपचन्द्र बिष्टले मकवानपुरमा लिएका थिए ।

‘सूर्य चिह्न लिएर पद्मरत्न तुलाधर काठमाडौंमा चुनाव लडेपछि राष्ट्रव्यापी हलचल नै आयो । रूपचन्द्र बिष्टले पनि जिते’ एमालेले सूर्य चिह्न लिनुको पृष्ठभूमिबारे मुकुन्द न्यौपाने भन्छन्, ‘परिवर्तनको पक्षमा सूर्यमा मत आएपछि त्यसैलाई निरन्तरता दिने निर्णय भयो ।’ एमालेका संस्थापकमध्येका एक न्यौपाने अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

पञ्चायतको अन्त्यपछि २०४८ सालको चुनावयता एमालेले सूर्य चिह्नबाटै चुनाव लड्दै आएको छ । २०५१ सालमा ठूलो दल बन्दै एमालेले एकल सरकार बनायो । त्यसपछि कांग्रेसको रूखको प्रतिस्पर्धामा एमालेले ‘सूर्य’ लाई ब्रान्डका रूपमा स्थापित गरेको छ । ‘राजनीतिक संघर्ष र प्राप्त उपलब्धिलाई नै चुनाव चिह्नमा लगेर हामीले जोड्यौं । दल भन्नासाथ चिह्नका रूपमा मतदातालाई चिनाउने काम ग-यौं’, न्यौपाने भन्छन् ।

२०६४ सालपछि संसदीय चुनावमा भाग लिन थालेको नेकपा माओवादी केन्द्रले पनि ‘गोलाकारभित्रको हँसिया र हथौडा’ लाई आफ्नो ब्रान्डका रूपमा स्थापित गराउने प्रयत्न गरिरहेको छ । 

संसदीय राजनीतिमा छिरेको माओवादी केन्द्रले पार्टी नाम लगातार बदलिरहे पनि चुनाव चिह्न फेरेको छैन । जबकि २०६४ यता एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा र फेरि माओवादी केन्द्र बनिसकेको छ ।

अहिले ‘गोलाकारभित्रको हँसिया हथौडा’का रूपमा मतदाताबीच स्थापित माओवादी केन्द्रले २०४८ सालको चुनावमा संयुक्त जनमोर्चाका रूपमा चुनावमा भाग लिएको थियो । त्यसबेला ‘हँसिया र तारा’ चिह्न थियो । तर २०५२ सालमा संसदीय राजनीतिकै विरुद्धमा सशस्त्र विद्रोह सुरु ग¥यो, त्यो विद्रोह दश वर्ष चल्यो । 

२०६३ सालको अन्तरिम संसद र ५ मंसिर २०६४ को शान्ति सम्झौता हुँदै २०६४ पछि मात्रै चुनावमा भाग लिन थालेकाले कांग्रेस र एमालेभन्दा आफ्नो चुनाव चिह्न मतदाताबीच कम परिचित रहेको तर्क कतिपय सन्दर्भमा माओवादी केन्द्रका नेताहरूले गर्ने गर्छन् । 

अन्य दलहरूको चुनाव चिह्नको निरन्तरता र स्वीकार्यता तुलनात्मक रूपमा कमजोर देखिन्छ । पार्टी विभाजन र एकताकै कारणले चुनाव चिह्न बदलिरहनु परेकाले कांग्रेस–एमाले जस्तो बलियो बन्न नसकेको उनीहरूको तर्क हुने गर्छ ।

सधैंको विवाद

बलियो संगठन र स्थापित चिह्नले चुनाव जितिने बुझाइकै कारण चुनाव चिह्न दलहरूमा सधैं विवादको विषय बन्दै आएको छ । यो चुनाव (३० वैशाखमा) हुनु अगाडि पनि साना दलहरूले चुनाव चिह्नकै मागसहित निर्वाचन आयोग घेराउदेखि सडक प्रदर्शनसम्म गरेका थिए । मतपत्रमा राष्ट्रिय दलको हैसियतसहित चुनाव चिह्न राखिनुपर्ने माग राखेर भएको आन्दोलनको अन्ततः सुनुवाई गर्न निर्वाचन आयोग पनि बाध्य भयो ।

५ पुस २०७७ मा तत्कालीन नेकपा विभाजन हुँदा चुनाव चिह्न ‘सूर्य’ कसले पाउने भन्नेमा ठूलै संघर्ष भएको थियो । पार्टीमा बहुमत भएकाले चुनाव चिह्न आफूले पाउनुपर्ने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दाबी गरेका थिए । तर प्रथम अध्यक्षको हैसियतले केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यको बहुमत संख्या देखाएर आफ्नो दाबी छोडेनन् । एकअर्काविरुद्ध शक्ति प्रदर्शन भयो, लामो समय अनिर्णयमा बसेको भन्दै आयोग नै विवादित बन्यो । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले माग दाबी नै नभएको फैसला गरेर नेकपाको एकता प्रक्रिया भंग गरिदिएपछि चुनाव चिह्नको विवाद पनि सकियो ।

एमाले पुनस्र्थापित हुँदा सूर्य चिह्न पनि आफैंले पाएको खुसियालीमा अदालतको फैसलाको ओली निकट नेता–कार्यकर्ताले देशभर दीपावली गरे । त्यसलाई प्रचण्ड र माधव पक्षले ‘पार्टी विभाजन हुँदा पनि दीपावली गर्ने मनोवृत्ति’को संज्ञा दिएका थिए । तर त्यो दीपावली सूर्य चिह्न पाएकोमा थियो ।

एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया चलिरहँदा पनि चुनाव चिह्न प्रमुख विषय थियो । दुवैले आफ्नो चुनाव चिह्न छोड्न चाहेका थिएनन् । 

२०७४ को चुनावमा साझा घोषणापत्र बनाउँदा पनि आ–आफ्नो अलगअलग चिह्नमै उम्मेदवारी दिनुको कारण पनि चुनाव चिह्नलाई प्रतिष्ठा बनाउनु थियो ।

चुनाव चिह्न पार्टीको आधिकारिकतासँग जोडिने भएकाले दलहरूको एकता र विभाजनमा सधैंको समस्या बन्ने गरेको छ । पूर्वन्यायाधीश रणबहादुर बमको हत्या प्रकरण त्यसको बलियो उदाहरण हो ।

मधेश आन्दोलनको ‘काउन्टर’मा सर्लाहीको पहाडी क्षेत्र केन्द्रित भएर बनेको चुरे भावर राष्ट्रिय पार्टीको वैधानिकताबारे फैसला दिएकै कारण बमको हत्या भएको थियो । त्यो पार्टी २०६६ जेठ अन्तिमतिर विभाजित भयो । एउटा समूहको नेतृत्व केशव मैनाली र अर्को समूहको नेतृत्व उपाध्यक्ष बाबु थापाले गरेका थिए ।

दुवै पक्ष २७–२९ जेठ २०६६ मा अलगअलग महाधिवेशन गर्दै वैधानिकता दाबी गर्न निर्वाचन अयोग गए । आयोगले थापा समूहलाई वैधानिकता दियो । यसपछि मैनाली भने सर्वोच्च अदालतमा रिट लिएर गए । सर्वोच्चका न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न आदेश दियो ।

तर, तीन वर्षपछि काठमाडौंको यूएन पार्क नजिकै ती न्यायाधीश बमको हत्या भयो । घटनाको पटाक्षेप गरेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यस घटनाको मुख्य कारण भनेको पार्टीभित्र उनको समूहले आधिकारिकता नपाउनु हो ।’ पक्राउ परेपछि बयानका क्रममा थापाले फैसलाकै कारण आफूले तीन वर्ष दुःख पाएको बताएका थिए ।

२०७९ साल असार १३ गतेको सम्पादकीय

 

सांसदको जिम्मामा रकम दिनु गल्तीमाथि गल्ती

संघीय सरकारले सांसद विकास कोषका नामले परिचित ‘स्थानीय पूर्वाधार विकास कार्यक्रम’ खारेज गरिसकेको छ । तर, संघीय सरकारकै सिको गरेर प्रदेशहरूले विभिन्न नाममा सुरु गरेको यस्तै निरन्तरता दिइरहेका छन् । संविधानको मर्म र बजेटको सिद्धान्तविपरीत मानिएको यस कार्यक्रमलाई प्रदेशहरूले आगामी वर्ष समेत निरन्तरता दिने छन् । नागरिक, संविधानविद्, अर्थविद्, पूर्वप्रशासक तथा सरोकारवालाले सांसदको तजबिजीमा खर्च हुने ‘सांसद विकास कोष’जस्ता कार्यक्रम खारेज गर्न दबाब दिँदै आएका छन् । चौतर्फी दबाब र सुझावअनुसार संघीय सरकारले सांसदहरूको तजबिजीमा खर्च हुने कार्यक्रम खारेज गरिसकेको सन्दर्भमा प्रदेशले पनि खारेज गर्न‘को विकल्प छैन । आफूखुसी खर्च गर्न सकिने यस कार्यक्रमलाई निरन्तरता दिन प्रदेशमा सत्तापक्ष र प्रतिपक्ष एकमत देखिन्छन् । संघीय सरकारले स्थानीय विकास साझेदार कार्यक्रमका नाममा सांसदहरूमार्फत वार्षिक १० अर्ब रुपैयाँसम्म खर्च गर्दै आएको थियो । कोभिड–१९ महामारी सुरु भएपछि भारतले सरकारले सांसदमार्फत खर्च हुने कार्यक्रम स्थगन ग¥यो । नेपालले पनि यस्तो कार्यक्रम खारेज गर्नुपर्ने चौतर्फी दबाब भयो । त्यसपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८÷७९ को बजेट अध्यादेश सार्वजनिक गर्दै स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेको घोषणा गरे । त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि स्थानीय पूर्वाधार विकास कार्यक्रमलाई खारेज गर्ने अघिल्लो सरकारको नीतिलाई निरन्तरता दियो । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गरेर ल्याएको बजेटमा पनि सांसदलाई बजेट दिइएन । अर्थमन्त्री शर्माले ल्याएको आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमा पनि यस्तो कार्यक्रम छैन । 

विकास निर्माणमा जनतासँग जनप्रतिनिधि जोडिनुपर्छ नै । यो बजेट नभए पनि आफ्ना क्षेत्रका योजना र कार्यक्रमसँग सांसद त जोडिनैपर्छ । तर जोडिने कसरी भन्ने मूल प्रश्न हो । विगतमा लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएको बेला सांसद नै जनताको सबै आकांक्षा र समस्यासँग जोडिनुपथ्र्यो र त्यसलाई सम्बोधन गर्नुपथ्र्यो । जनप्रतिनिधिका प्रतिबद्धता र जनताका अपेक्षा सम्बोधन गर्ने क्रममा जनतासँग जोडिने एउटा उपाय सांसद विकास कोषलाई पनि लिइयो । केही हदसम्म अहिले पनि त्यही मनोविज्ञानले काम गरेको छ । तर अब मुलुक संघीयतामा गएको छ । गाँउ गाँउमा जनप्रतिनिधिहरू काम गरिरहेका छन् । प्रदेश सरकार छ । अब त्यही सांसद विकास कोष वा निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई हेर्नुपर्छ । त्यसैले यो कार्यक्रमलाई अब निरन्तरता दिनु हुँदैन । बन्द गर्नुपर्छ । यो कार्यक्रम नेपालको संविधानको प्रतिकूल हुन्छ । नेपाल संघीय संरचनामा गइसकेपछि संविधानले तीन तहको सरकारलाई के काम गर्ने र नगर्ने भनेर स्पष्टसँग क्षेत्राधिकार तोकिदिएको छ । संघीय सरकारले गर्न‘पर्ने र गर्न नपाउने अधिकारको सूची पनि त्यहाँ लिपीबद्ध गरिएको छ । जनप्रतिनिधिहरू सांसद त्यो संविधान पालना गर्ने र कार्यन्वयन गर्ने भनेर शपथ खाएर गएका छन् । उनीहरूको प्राथमिक जिम्मेवारी संविधान कार्यन्वयन गर्नु हो, संगसंगै सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी बन्यो भने ट्याकमा ल्याउने पनि संसदले हो । जुन विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्दैन, त्यही विषय संघीय सांसदले गर्न पाउनुपर्छ भन्नु तर्कसंगत हुँदैन । स्थानीय वा प्रदेश सरकारले मात्रै गर्न पाउने भनेर जुन क्षेत्रहरू छुट्याइएका छन्, निर्वाचन क्षेत्र विकास कोषको रकम पनि त्यही खर्च खर्च हुन्छ । रकम चाहिँ निर्वाचन क्षेत्र विकास कोषको नाममा आउँछ, तर व्यवहारिक रुपमा चाहिँ स्थानीय सरकारले मात्रै खर्च गर्न पाउने ठाउँमा खर्च हुन्छ । स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने योजना संघीय सांसदले क्षेत्रविकास कोषमार्फत सिधै गर्न पाउनुपर्छ भन्नु चोर बाटोबाट गरिएको संविधानको उल्लंघन हो । त्यसैले, संघीयता आउनुभन्दा अगाडि जेजस्तो गरिएको भएता पनि अहिले यस्तो गर्न पाइँदैन। २०७२ सालभन्दा अगाडि गरेको हो, त्यसैले अहिले गर्न पाउनुपर्छ भन्नु हुँदैन । त्यो बेला निर्वाचित स्थानीय तह थिएन, संघीयता थिएन।जनप्रतिनिधि भनेको सांसद मात्रै थिए तर अहिले वडादेखि नै निर्वाचित जनप्रतिनिधि छन्, कार्यकारी अधिकार त्यही पुगेको छ, अब सांसदले कार्यकारी भुमिकाको अपेक्षा गर्नु हुँदैन ।

सांसदले निर्वाह गरेको विधायिकाको भूमिकालाई राम्रो वा नराम्रो भन्ने ढंगबाट सञ्चार माध्यमले पनि खासै मतलब गर्दैनन् । जसले गर्दा एउटा सांसद जहिले पनि त्यो दबाबमा परिरहन्छ। आफ्नो निर्वाचन क्षेत्रमा योजना वा बजेट नल्याएसम्म उक्त सांसदले विधायिकाको रुपमा गरेको कुनै पनि काम नदेख्ने अवस्था छ । केही न केही देखिने काम गर्नुपर्छ भन्ने मनोविज्ञान छ । त्यसैले पनि योजना र बजेट लैजान वा यस्ता कार्यक्रम मार्फत आफ्नो उपस्थिति देखाउन खोज्दो रहेछ । त्यस्तै योजना छनौट र स्रोत वितरणको चलन नै त्रुटिपूर्ण छ । हाम्रो योजना निर्माण पहुँचमूखी छ, पहुँचवाला नेता, मन्त्री, निर्णय गर्ने ठाँउमा बसेका कर्मचारीले चाहेको ठाउँमा दर्जनौं योजना पार्न सक्छन् । बलिया नेताहरूले जति पनि पार्न सक्छन् । यसरी त सरकारमा बस्नेहरूको झन् हालिमुहाली हुने भयो । स्थानीय सरकारका जनप्रतिनिधिले जनताको दैनन्दीसँग सम्बन्धित समस्या नजिकबाट हेर्छन् र समाधानको प्रयास गर्छन् ।  समस्याहरू अब सिधै स्थानीय सरकारसँग ठोकिन्छन् । संविधानले सांसदलाई निश्चित सीमा तोकेको छ । संघीय वा प्रदेश सांसदको काम स्थानीय व्यवस्थापनको होइन, विधायिकी हो । स्थानीय सरकारको क्षमता वृद्धिका लागि संसदले भूमिका निर्वाह गर्न सक्छ तर स्थानीय सरकारको काम नै आफैं गर्ने होइन । त्यसैले अहिले जे भइरहेको छ, त्यो गलत छ । त्यसको कारण यो कार्यक्रमलाई निरन्तरता दिनु भनेको गलत कुरालाई निरन्तरता दिनु हो । समस्यालाई दिर्घकालीन बनाउनु हो । बरु ध्यान दिनुपर्ने केही फरक कुराहरू छन् । योजना छनौट गर्ने, बजेट विनियोजन गर्ने, न्यायोचित वितरण गर्ने, संसदमा भएको छलफललाई सरकारले सुन्ने, विधायिकाले संसदमा प्रभाव पार्ने कुरालाई सच्याउनेतिर लाग्नुपर्छ । संसदले सरकारलाई कसरी जवाफदेही बनाउन सक्छ । यतातिर नलागी सांसदको जिम्मामा रकम दिनु भनेको गल्तीमाथि गल्ती गर्नु हो ।

२०७९ साल असार १३ गते । वर्ष : १५, अंक : ३७

 

Monday, June 20, 2022

जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मालक्ष्मीलाई घरमै नागरिकता प्रदान गर्दै । 
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नागरिकहरूको सेवाका लागि घर घरमै पुगेर नागरिकता वितरण गरिरहेको छ । विशेष अवस्थामा रहेको नागरिकहरूलाई घरमै नागरिकता प्रदान गर्नका लागि एक वर्षदेखि प्रशासन कार्यालयले सक्रियता बढाएको छ । यस क्रममा बुधवार शारिरिक अपाङ्गता भएका तारकेश्वर गाउँपालिकाका दुई जनालाई घरमै नागरिकता वितरण भएको छ । 

शारिरिक रुपमा अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेका उनीहरूलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरेको नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनका अनुसार तारकेश्वर गाउँपालिका वडा ३ हटियाका दुई जनालाई नागरिकता प्रदान गरिएको छ । २५ वर्षीय भवनाथ ढकाल र ५९ वर्षीया लक्ष्मी श्रेष्ठले यो सेवा पाएका हुन् । उनीहरूलाई नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र अप्सरा पोखरेल गएका थिए । 

जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मा भवनाथलाई घरमै नागरिकता प्रदान गर्दै । 
भवनाथ आजीवन अपाङ्गता भएका नागरिक हुन् भने लक्ष्मी २ वर्षदेखि ओछ्यानमा परेका छन् । ढकाल बोल्न र हिँडडुल गर्न पनि सक्दैनन् । दिसापिसाब लगायत सबै नित्यकर्म परिवारकै भरमा हुने गरेको उनका बुबा कृष्णलालले बताएका छन् । जन्मेदेखि नै उनको अबस्था उस्तै रहेको छ । उपचार गराउँदा सुस्तमनस्थिति भएको र हातगोडाले काम गर्दैन भनिएको बुवा कृष्णलालले बताए । खाना खुवाउने देखि सबै अरुले नै गर्नुपर्छ ।  
पाँच सन्तानकी आमा लक्ष्मीको नसासम्बन्धी रोगका कारण शरीरको तल्लो भाग चल्दैन । उनी बोल्न सक्छिन् । तर, शौच गर्न अरूकै भर पर्नुपर्ने अवस्था रहेको श्रीमान् हरि श्रेष्ठले बताए । भारतको मुम्बइमा कार्यरत उनले ५ छोराछोरीको पढाई र घर खर्च धान्दै आएका थिए । श्रीमती थला परेपछि उनी स्वदेश फर्किएर लक्ष्मीको हेरचार गरिरहेका का छन् । ‘श्रीमतीको स्याहारसुसारमा लाग्दा कमाइ बन्द भएको छ, अहिले घर खर्च चलाउन समस्या हुन थालेको छ,’ उनले भने । 
शारिरिक रुपमा अपाङ्गता भएका उनीहरू नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट बन्चित थिएर । उनीहरू दुवैलाई नागरिकता दिलाउन २ वर्षदेखि प्रयास भइरहेको थियो । वडाध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार तारकेश्वर गाँउपालिका वडा नम्बर ३ मा मात्रै ४१ जना शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय त परको कुरा वडा कार्यालयसम्म जान सक्दैनन् । 
शुक्रवार तारकेश्वरमा घरमै जिल्ला प्रशासन कार्यालयको टोली पुगेर शारिरिक रुपमा अपाङ्गता भएकाहरूलाई नागरिकता प्रदान गरेको खबर फैलिएपछि धेरैले यो सुविधाको विषयमा सोधिखोजी थालेका छन् । यसरी एक/दुई जनाका लागि घरमै पुगेर कसरी प्रशासनले नागरिकता दियो होला भनेर सोध्ने र जानकारी लिनेहरूको संख्या बढेको छ । शारिरिक रुपमा अपाङ्गता भएका कारण हिडडुल गर्न नसक्ने र नागरिता नै बनाउनका लागि विदुर लैजान पनि असम्भव भएका अन्य नागरिकहरूका लागि घरमै नागरिकता प्राप्त गर्ने विधिका सोधिन थालेको छ । 
निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार विभिन्न रोगका कारण लामो सयमदेखि ओछ्यान परेका प्रमाणित हुने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि घरै पुगेर नागरिकता प्रदान गर्ने प्रक्रियाको सुरुवात हुन्छ । आवश्यकताको प्राथमिकिकरण र भुगोल अनुकुल पारेर प्रशासनले कर्मचारीलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउँदै आएको छ । घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको उनले बताए । ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरूलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिदै आएका छौं ।’
अहिले पनि जिल्ला प्रशासन कार्यालयमा शारिरिक रुपमा अशक्त भएका कारण नागरिकता लिन विदुर आउन नसकेका तीन जनाको निवेदन परेको छ । विदुर नगरपालिकाको कल्यणपुर, ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकाका एक/एक जनाको यस्तो निवेदन जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको छ । उनीहरूलाई नागरिकता दिन कार्यालयको कामको चाप कम भएको अवस्था हेरेर टोली घरमा जाने अर्यालले बताए । 
नुवाकोटमा विदुर नगरपालिका वडा नं. ११ माथिल्लो गेर्खुमा २०७६ सालमा पहिलो पटक जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । 
    २०७६ फागुन ८ गते त्यसबेला १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । उनी हिँडडुल गर्न नसक्ने र दृष्टिविहीन हुन् । कृष्णप्रसादलाई बोकेर जिल्ला प्रशासन ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको निर्देशनमा उनको घरमै पुगेर नागरिकता दिइएको हो । नुवाकोटमा घरमै गएर नागरिकता दिएको यसलाई पहिलो मानिएको छ । 
नुवाकोटमा पहिलो पटक घरमा पुगेर नागरिकता वितरण गरिदै । 

एक वर्षमा सात जनाले पाए नागरिकता

विदुर । नुवाकोटमा एक वषको अवधिमा घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले सात जनालाई नागरिकता प्रदान गरेको छ । नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार तारकेश्वर गाउँपालिका बाहेक पञ्चकन्या गाउँपालिका, बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा यस अघि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । 

पञ्चकन्या गाउँपालिकामा दुई जना, बेलकोटगढी नगरपालिका दुई जना, तारकेश्वर गाउँपालिका दुई जना र ककनी गाउँपालिकामा एक जनाले घरमै नागरिकता पाएका छन् । 

यसरी नागरिकता वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले नागरिकता शाखाका कर्मचारी, नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतदेखि ढड्डानै घरमा पठाउने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार ढड्डानै घरमा पठाउनु पर्ने भएकोले कार्यालयको काम सकिएपछि यो सुविधा दिइएको छ । 

धेरैजसो शुक्रवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य सकेर तीन बजेपछि त्यसरी नागरिकको घरमा ढड्डा बोकेर कर्मचारी पठाइने गरेको अर्यालले बताए ।

नागरिकहरूको समस्याप्रति गम्भिर देखिएको जिल्ला प्रशासन कार्यालयले त्यसरी दीर्घ रोगका कारण वा अन्य अशक्तताका कारण नागरिकता लिनका लागि विदुर आउन नसक्ने नागरिकहरूका लागि अतिरिक्त सेवा दिइरहेको हो । पछिल्लो समय नागरिक बनाउनका लागि गाउँ टोलमा घुम्ती शिविर पनि सञ्चालन नभएकोले अप्ठ्यारोमा परेका नागरिकहरूका लागि आफुहरूले सहयोग पु-याएको निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनले भने– ‘यसरी हामीले दिने सेवाका लागि नागरिकहरूले कुनै खर्च वा शुल्क भुक्तान गर्नुपर्दैन ।’ उनका अनुसार नागरिकहरूलाई अपरझट नागरिकताको आवश्यकता पर्दा पनि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको घटना नुवाकोटमा छ । 

लामो समय विरामी परेर काठमाडौंमा उपचार गरिरहेका एक जनालाई थप उपचारका लागि विदेश जानुपर्ने भएपछि नुवाकोट र काठमाडौंको सिमानामै पुगेर नागरिकता प्रदान गरिएको थियो । बिरामीलाई एम्बुलेन्समा राखेर नुवाकोटको सिमा ल्याइपु-याइएको र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू ढड्डा लिएर गुर्जेभञ्याङ पुगेका थिए । ‘भोलीपल्टै थप उपचारका लागि भारत जानुपर्ने भएको जानकारी प्राप्त भएपनि हामीले कार्यालयको तर्फबाट सेवा दिएका हौं’, अर्यालले भने । 

यसरी घरमै पुगेर नागरिकता दिने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई हुने भएपनि प्रजिअहरूले खासै नागरिकका सुविधाका लागि प्रयास गरेको पाइदैन । जिल्लाभरी कुनै पनि ठाउँमा पुगेर आवश्यक कागजी र कानूनी प्रक्रिया पुरा गराएर अशक्त, अपाङ्गता भएका नागरिकहरूलाई नागरिक दिन सक्ने व्यवस्था छ ।  

नयाँ ‘लाइफ लाइन’ को शिलान्याश


विदुर । विदुर नगरपालिका वडा नं. १ धोवीखोलास्थित त्रिशुली र ढुंगे जोड्ने त्रिशुली खोलामा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । हाल धोबिखोला पट्टि पुलको बेस बनाउन थालिएको छ । अर्को पट्टी समेत पुलको बेसको लागी काम सुरु भएको बताइएको छ । 

पक्कि पुल निर्माणका चासो राख्दै वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितले नगरको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको भन्दै वडामा निर्माण हुन लागिएको चक्रपथको अवधारणा अनुसार काम गरिने बताए । 

तत्कालिन पश्चिम क्षेत्र नम्बर १ को प्रमुख नाकाको रुपमा रहेको साँघु बजार अहिलेको त्रिशुली बजारको खस्किएको व्यापारलाई प्रबद्र्धन गर्न नयाँ पुलको निर्माणले टेवा पुग्ने उनको भनाई छ । २०१७ सालमा निर्मित त्रिशुली पुल जिर्ण हुदैं गईरहेको छ । शहरी विकाससँगै साँघुरो पनि हुँदै गईरहेको र पिक टाईममा ट्राफिक जामको समस्या झेल्नुपरिरहेको अवस्था छ । पुल निर्माण भएपछि नयाँ र पुरानो पुलमा एकतर्फी नियम लागू गरी ट्राफिक व्यवस्थापन गरिने छ । 

नेपाल सरकारको नीतिअनुसार ११ मिटर भन्दा सानो बनाउन नमिल्ने र हाल पुल रहेको स्थानमा नयाँ पुल बनाउँदा क्षति धेरै हुने भएकोले धोवीखोलामा पुल निर्माण गर्न सुरु गरेको हो । सांसद नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका तत्कालिन मयेर सञ्जु पण्डितको पहलमा बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट पुल निर्माण भैरहेको हो । 

हिमडुङ एण्ड थोकर गणेशकुण्डले ठेक्का पाएको उक्त पुल आरसीसी बक्स ग्रिडर प्रि स्ट्रेसमा निर्माण हुनेछ । कुल लागत भ्याटसहित ८ करोड रुपैयाँमा निर्माण हुने उक्त पुलको लम्वाई ६० मिटर र चौडाई ११ मिटर हुनेछ । 

दायाँबायाँ १ मिटर ७५ सेन्टिमिटर फुटपाथ रहने पुलको आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका राजेन्द्र थपलियाले जानकारी दिएका छन् । 

स्थानीय सरकारको उपेक्षामा सहकारी क्षेत्र

विदुर । मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बन्न थालेको छ । 

नुवाकोटमा  करिब ४ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब १५ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यक कानुन, नियम, पूर्वाधार र जनशक्ति तयार नगरी हस्तान्तरण भएका कारण सहकारीको व्यवस्थापनमा भद्रगोल देखिएको हो ।

अनुगमन समेत नहुँदा ‘केही सहकारी’ का कारण समग्र सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । संघीयतापछि सहकारी व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेको छ । तर यो क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । मुलुक पुनःसंरचनामा गएपछी सहकारीको अनुगमन तथा ब्यबस्थापनको जिम्मेवारी सम्हाल्दै आएको डिभिजन सहकारी संघले सम्बन्धित स्थानीय तहमा सहकारीको फाईल हस्तान्तरण गरेको थियो । सहकारीको सबै काम स्थानीय तहमै हुने भएपनि स्थानीय तहले सहकारी क्षेत्रलाई प्राथमिकतामा नराख्दा समस्या सिर्जना भएको छ । 

संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका अधिकार क्षेत्रमा सहकारी राखेको छ । संघले सहकारीको नियमन गर्ने उल्लेख छ भने प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने पनि उल्लेख छ । संघ र प्रदेशको साझा अधिकार र तीनवटै सरकारको साझा अधिकार सूचीमा पनि सहकारी छ । 

कार्यविस्तृतीकरण प्रतिवेदनमा अन्तरप्रदेश कार्य क्षेत्र भएका सहकारीलाई संघ, अन्तरपालिका र जिल्लास्तरीय सहकारीलाई प्रदेश र पालिकास्तरीय सहकारी संस्थालाई स्थानीय तहले व्यवस्थापन गर्ने उल्लेख छ । २०७५ असार मसान्तसम्ममा सहकारीका फाइल सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति भने हस्तान्तरण भएको थिएन । 

वाग्मती प्रदेशअन्तर्गत रहेका ९ डिभिजन सहकारी कार्यालय खारेज भएपछि ती कार्यालयले आफ्नो सबै विवरण सम्बनिधत स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  फाइलका पोका हस्तान्तरण भए तर कर्मचारी स्थानीय तहमा गएका छैनन् । स्थानीय तहमै रहेका रहेका कर्मचारीहरूले जसोतसो सहकारीको काम गर्दै आएका छन् । हाल नुवाकोटको केहि स्थानीय तहमा सहकारी शाखा समेत छैन । पालिकामा रहेका सहकारीहको प्रतिबेदन लिन काम मात्रै स्थानीय तहहरूले गर्दै आएका छन् । 

विदुर नगरपालिकामा बाहेक नुवाकोटमा अरु स्थानीय तहमा सहकारी शाखा भनेर छुट्टै ब्यबस्थापन भएको छैन । स्थानीय तह आफैमा कर्मचारी अभाब भएकाले सहकारीको अनुगमन र ब्यबस्थापनको लागी कर्मचारी ब्यबस्थापन गर्न नसकेको सुर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले बताए । 

सहकारीको अनुगमन र ब्यबस्थापनमा सम्बन्धित स्थानीय तहले प्रभाबकारी काम गर्न नसक्दा सबै सहकारीलाई हेर्ने नजर एउटै बनेको छ । एक सहकारीले बदमासी गरेमा त्यसको असर जिल्ला भरि पर्ने अबस्था रहेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने बताउछन् । 

जिल्लामा सबैभन्दा धेरै सहकारी हस्तान्तरण भएको विदुर नगरपालिकामा एक जना मात्रै सहकारी शाखामा कर्मचारी छन् । नगरपालिकाले पुस्कर शर्मा रिमाललाई सहकारी शाखामा खटाए पनि एक जना मात्रै रहदा सहकारीको अनुगमन तथा ब्यबस्थापनमा समस्या भएको उनी बताउछन् । विदुर नगरपालिकामा झण्डै १२० वटा सहकारी हस्तान्तरण भएका थिए । सहकारी ऐन बनाएको नगरपालिकाले सहकारी दर्ता मापदण्ड समेत तय गरेको छ । त्यस बाहेक सहकारी क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन । 

संघ सरकारले पठाएको नमूना कानुनलाई नै सहकारी ऐन बनाएका स्थानीय तहले सहकारी सम्बन्धी प्रशासनिक बाहेक अन्य उल्लेखनीय काम गर्न सकेका छैनन् । कृषि, बहुउद्देश्यीय सहकारी दर्ता, सेवा केन्द्र विस्तार, सहकारी शिक्षा तालिम, गोष्ठी, लेखा परीक्षण प्रतिवेदन बुझ्ने लगायत काममा नै सहकारी शाखाहरू सिमित छन् । 

स्थानीय तहले पूर्वाधार विकासमा नै जोड दिँदा सहकारी लगायतका सामाजिक विकासका काम प्राथमिकतामा नपरेको हो । सहकारी शाखाका लागि बजेट, अनुगमन, तालिम केही पनि सञ्चालन गर्न नसक्दा नगरपालिकामा भएको सहकारी शाखा समेत प्रतिबेदन बुझ्ने काममा सिमित भएको छ ।

सहकारीको परियोजना अन्तिम चरणमा

विदुर । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को  ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । 

बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ । सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा सम्लग्न कृषकसँग लक्षित छ । 

सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ । परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार नुवाकोटसहित चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर र मकवानपुरमा यो कार्यक्रम लागू भएको छ । ६ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिएका छन् । 

यहि कार्यक्रम अनुसार जिल्ला सहकारी संघ नुवाकोटले नुवाकोटमा तरकारी संकलन केन्द्र तथा सुपथ तरकारी बजार सञ्चालनमा ल्याएको छ । यसका साथै, किसानहरूले उत्पादन गरेका तरकारी संकलनका लागी एक सबारी साधन समेत यहि परियोजनना अन्तर्गत खरिद गरेको हो । 

यस्तै, सहकारी बजार विकास कार्यक्रम अन्तर्गत नुवाकोटमा केहि कृषि सहकारी संस्थाहरूलाई ब्यबसायिक रुपमा सामुहिक कृषि प्रणलीमा समेत अग्रसर बनाएको छ ।

मतदाता नामावली संकलन सुरु


विदुर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु गरेको छ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावलीमा नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए नामावलीबाट हटाइने छ ।

विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा स्थानान्तरण गर्न सकिनेछ । मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि अद्यावधिक गरिने छ ।

वि. सं. २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखितभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्न मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । 

सम्वन्धित व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्न सकिने आयोगले जनाएको छ । 

मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन लिन प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने र यस्तो सूचनाको विवरणमाथि निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भन्दै आयोगले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

दिपक थापाको मसानघाट

विदुर । लोकगायक तथा सञ्चारकर्मी दिपक थापाको नयाँ लोक दोहरी गित ‘मसानघाट’ सार्वजनिक भएको छ । 

प्रेमिल जोडीहरूको लामो समयको मायाप्रेम पछिको बाध्यात्मक बिछोडलाई ‘मसानघाट’ गितमार्फत उजागर गरिएको छ । संगै बाच्ने र मर्ने कसम खाई दायाँबायाँ जताजतै मायानै माया छ भनी हिडेका प्रेमीप्रेमीका बीच मायामा अबरोध सिर्जना भएपछि प्रेमीले ‘फुलझैँमाया पलभरमै काडा भो, मैले मुटु दिदा नी टाढा भो, मसानघाटमा गएर टोलाउछु, बाच्नै मन लाछैन कत्तिनी आइज काल भनेर बोलाउछु’ भनेर गितको सुरुवात गरिएको छ । यसैगरी, ‘देनन् मलाई घरबाट निस्कन चाहेर नी पाईएन एक हुन, झ्यालको छेउमा गएर टोलाउछु जहाँ हेरेनी तिमी झै लाईरन्छ मेरो राजा भनेर बोलाँउछु’ भनी प्रेमिकाले गितमा  जवाफ फर्काएकी छिन् ।

गितमा लय शव्द गायक दिपक थापाकै रहेको छ भने गायिका राधा प्रसाईले आवाजमा साथ दिएका छन् । यसअघि बजारमा ल्याईएको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ को अपार सफलतापछि गायक थापाले ‘मसानघाट’ बजारमा ल्याएका हुन् ।  

लामो समयको प्रेम जिवनपछि बिबाहको तयारी गर्दे संगै बाच्ने र मर्ने कसम खाएका दुई प्रेमी बीचको प्रेमकहानी प्रेमीकाको घरमा थाहा भएपछिको बिछोडको अबस्थालाई गितका शव्दले समेटेको गायक थापाले बताए । त्यस्तो अबस्थामा न्याउली झै बिरहको गित गाउदै रातको १२ बजे मसानघाट पुगेर टोलाउदै, आईज काल भनेर बोलाउन मन लाग्ने सम्मको परिस्थितीको सिर्जनालाई गितमा उजागर गरिएको छ । 

टिकटकमा भाईरल गितको म्युजिक भिडियोको निर्देशक गायक मिलन श्रेष्ठले गरेका छन् भने सम्पादन रोशन धितालले गरेका हुन् । गितलाई मिलन फिल्मसको अफिसियल युट्युव च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ । 

बाल उमेरदेखी नै गित संगितमा रुचि रहेका गायक थापाले आगामी दिनमा पनि गित संगितको क्षेत्रमा अनबरत रुपमा लागिरहने बताएका छन् । 

तस्बिर समाचार

सामुदायिक विकास केन्द्र, नेपाल सिडिसीले नुवाकोट र रसुवामा सञ्चालन गरेको परियोजनाको बारेमा समीक्षा सहित शनिवार विदुरमा जानकारी दिँदै संस्थाका कार्यक्रम संयोजक योगराज शर्मा (योगेश) । अगुवा नागरिक समाजको रुपमा स्थापित सिडिसीले आफ्ना परियोजनाहरू सकिदै गर्दा नागरिकसंग अन्तरक्रिया र समीक्षा थालेको छ । 

रसुवाका पदमार्गमा पर्यटक छिटफुट

विदुर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्याधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् ।

पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनःसञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्लाध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थाला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको भनाइ छ ।

एक/दुई दिन अगाडिदेखि दैनिकरूपमा १५/२० जना आन्तरिक र चार/पाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्यसमेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, एवं लौरिविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृङ्खलाले यात्रा मनमोहक बनाएको छ । 

रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौँमार्फत पर्यटकका रूपमा गोसाइँकुण्ड आएका अमेरिकन नागरिक पाठरिक एवं युकेबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उल्लेख गरे । चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म रहने उनीहरूको भनाई छ ।

शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, ग्रीष्म ऋतुको जेठ, शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि अत्यन्तै उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिएका छन् । 

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्गअन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्विम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

जग्गा धिता राखेर ऋण लिन नपाइने

विदुर । बैंक तथा वित्तीय संस्था र सहकारीहरूले जग्गा धितो/बन्धकमा राखेर ऋण दिन बन्द गरेका छन् । 

सरकारले गत २३ जेठमा जारी गरेको भू–उपयोग नियमावली–२०७९ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द भएको हो । नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरूले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो राख्न नसकिने देखिएको छ ।

बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्काका लागि मालपोत कार्यालयमा पत्र पठाउनुपर्ने हुन्छ । तर नियमावली अनुसार स्थानीय तहले वर्गीकरण नगरेका जग्गा रोक्का राख्न नसकिने बताइृउको छ । त्यसका कारण बैंकले ऋण दिन पनि पाएका छैनन् ।

अहिलेसम्म अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रको भू उपयोग योजना बनाएका छैनन् । नियमावलीको व्यवस्थाका कारण अब कहिलेसम्म जग्गा धितोमा राख्न रोकिने हो भन्ने स्पष्ट छैन । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मातहतका निकायलाई पात्राचार गर्दै खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नपर्ने भन्दै निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्न‘पर्ने स्पष्ट गरेको छ ।

तोकिएअनुसारको वर्गीकरण गरेपछि मात्रै धितो वा बन्धकका रुपमा जग्गाको कारोबार रोक्का गर्ने व्यवस्था गरेको छ ।

एकीकृत पाठ्क्रम सम्बन्धी तालिम

विदुर । ककनी गाँउपालिकामा एकीकृत पाठ्क्रम सम्बन्धी पेशागत बिकास तालिम सम्पन्न भएको छ । 

गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयको १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई शिक्षक सिकाइमा सहजिकरणका लागी तालिम सञ्चालन गरेको हो । पालिकाका ४१ बिद्यालयबाट १२३ जना शिक्षक÷शिक्षिकाहरूको सहभागीता रहेको थियो । पाँच वटा समूह निर्धारण गरि विभिन्न विद्यालयमा १५ दिनको प्रशिक्षण दिईएको हो 

गाँउपालिकाको केहि बिद्यालयहरूमा एकिकृत पाठ्यक्रम सुरुवात भैसकेको छ । सबै बिद्यालयमा एकिकृत पाठ्यक्रमको बिकासस तथा कार्यान्वयन गर्नको लागी शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख केशव ज्ञवालीले बताए ।

पाण्डे शिक्षक संघ नुवाकोट अध्यक्ष

विदुर । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा मञ्जु प्रधान र कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।

सचिवमा नवराज लामिछाने र रामप्रसाद रिमाल चयन भए । सह–सचिवमा सुरेन्द्र मुडवरी, तुलसा प्याकुरेल, चोकमाया गुरुङ, सितालाल तामाङ र सेतिमाया तामाङ निर्वाचित भएका छन् ।

सदस्यहरूमा गोमादेवी न्यौपाने, देवकी अधिकारी, अप्सरा ढकाल, सिताराम भण्डारी, भक्तराज जोशी, रामचन्द्र ढुङ्गेल र प्रकाश गौतम चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिमा कमला प्याकुरेल, सावित्री रिजाल, मेनुका अधिकारी, बलराम गिरी, मुकुन्दराज अर्याल, मधुसुधन सापकोटा, रामकृष्ण भट्टराई र श्रीराम गजुरेल चयन भएका छन् । 

संघले केन्द्रिय प्रतिनिधिमा हरेराम गिरी, निलम उप्रेती, रुपा अर्याल पाण्डे, बाबुराम लामिछाने, अर्जुनप्रसाद लामिछाने, वासुदेव खनाल र चर्तुशन अधिकारी छन् ।

दुर्घटनामा परी दुई जनाको मृत्यु

विदुर । नुवाकोटमा भएको दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । तादी गाउँपालिकामा सवारी दुर्घटनामा महिलाको र बेलकोटगढी नगरपाकिलामा खोलामा डुवेर पुरुषको मृत्यु भएको हो । 

तादी गाउँपालिका ४ घिरौंले भीरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका ६ स्थित घरबाट सुन्दरादेवी तादी–४ मा रहेको सुन्दरादेवी माविमा अध्यापन गर्न जाँदै गर्दा महिला शिक्षिक राधिका आचार्यको मृत्यु भएको हो । ३६ वर्षीया आचार्यको स्कुटर भीरको बीचमै अल्झिएको थियो । दुर्घटनापछि खोजीको क्रममा मृतक आचार्यको शव तादी खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

उता, बेलकोटगढी नगरपालिकामा भने एक जनाको खोलामा डुबेर मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर मृत्यु भएको हो । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रिहरीले जनाएको छ । घटना केहि शंकास्पद समेत रहेकाले अनुसन्धान भैरहेको बताईएको छ ।

मिनकुमार केसी बुद्धिजीवी संगठनको संयोजक


विदुर । बाग्मती प्रदेश अन्र्तगत रसुवा, नुवाकोट र धादिङका तिसवटै पालिकहरूमा बुद्धिजीवीहरूको अभियान बढाईने भएको छ । नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत रसुवा, नुवाकोट र धादिङका बुद्धिजीवीहरूको बिस्तारीत बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सो संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीले बौद्धिक हस्तक्षेपका लागि संगठन अभियान जरुरी भएको बताएका छन् ।

नेपालको राष्ट्रियता बलियो पार्न, स्वाधिनता र सार्वभौमिकता अक्षुण राख्न तथा आमुल परिवर्तनकारी जनसमुदायको चाहनालाई सम्बोधन गर्न माओवादी शक्ति बलियो पार्नुको बिकल्प नरहेकाले माओवादीहरूको बृहत एकताको बातावरण तयार पार्न, समाजवादका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका बहुआयामिक आधार तयार गर्न स्थानीय तहसम्मै संगठन निर्माण जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले बुद्धिजीवी संगठनलाई केवल संगठनको औपचारिकतामा सिमित नराखी आन्दोलन, पार्टी र राष्ट्रलाई नै रचनात्मक योगदान दिँदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परिचालनमा समेत कार्यखाका बनाएको बताए ।  

संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारिक र अनुशासनका बिषयमा प्रशिक्षण समेत दिएका थिए । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य तथा नुवाकोट संयोजक पुष्प लामिछाने ‘अरुण’ ले राजनैतिक बैचारिक कामसाथै पार्टी सुदृढ पार्न पनि बुद्धिजीवीहरूको भूमिका बढाउनुपर्ने बताएका छन् । संगठनका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश स्कुल बिभागका सचिव जयराम आचार्यले समसामयिक अन्तर्राष्ट्रिय परीस्थितीको चर्चा गर्दै घरेलु नीतिका बारेमा बौद्धिक भुमिका थप्नुपर्नेमा जोड दिए । 

अर्का केन्द्रीय सदस्य डा. गणेश धमलाले संगठन निर्माणका साथै बौद्धिक स्तरीयता सम्बन्धमा धारणा राखेका छन् । 

नुवाकोटको विदुरमा आयोजित बैठकको अध्यक्षता गरेका संगठनका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष कृष्ण कोपीलाले प्रतिवेदनहरूको तथ्य उतार र बिश्लेषण गरिने प्रतिबद्धता सहित संगठनको कार्ययोजना बनाए । 

बैठकमा धादिङ संयोजक रामकुमार श्रेष्ठ, रसुवाका संयोजक प्रकाश नेपाल, हरी देवकोटा, सुवास बिक, मीनकुमार केसी, हरीबहादुर थापा, ज्ञानु धरेल बुर्लाकोटी, बिष्णु बोहोरा, होमनाथ कोईराला, ओमनाथ तिमिल्सिना लगायतले पालिकाहरूको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेश उपाध्यक्ष बशुराम रिजालका अनुसार बाग्मतीका १३ जिल्ला र ११९ पालिका मध्ये ११ जिल्लाका ४ क्लष्टर अन्तर्गत १०२ पालिकाको सांगठनिक स्थिती र स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको छ ।

बैठकमा पार्टी र संगठनबीचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्दाहरूमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’लाई गम्भिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागि अनिवार्य कदम चाल्नुपर्ने, बैचारिक राजनैतिक काममा जोड दिनुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।

बैठकले नुवाकोटको संयोजकमा मिनकुमार केसीलाई चयन गरेको छ । निबर्तमान संयोजक बाग्मती प्रदेश बुद्धिजीबी संगठनको उपाध्यक्षमा चयन भएकाले नुवाकोटको संयोजनकमा केसीलाई चयन गरेको हो । यस्तै, बैठकले तीन जिल्लाका तिसवटै पालिकामा संगठन अभियान तिव्र पारीने निर्णय भएको छ । गौतमका अनुसार बिभिन्न पेशागत क्षेत्रमा रहेका बिचारले उत्कृष्ट प्रतिभाहरूलाई सो संगठनमा आबद्ध गरिदै आएको छ ।

विपदको बेला खोज र उद्धारको पुर्व तयारी


विदुर । मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाहरूमा देखिने विपत् रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले चन्द्रज्योती माध्यमिक बिद्यालय पिपलटारमा अभ्यास गरेको छ । 

नुवाकोट स्थित नेपाली सेनाको श्रीनाथ गण गणले गएको सोमबार बिद्यालय परिसरमा एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास सञ्चालन गरेको हो । लगातारको वर्षातका कारण उत्पन्न हुने विपतमा नागरिकको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

विपतजन्य घटना जुनसुकै समयमा पनि घट्न सक्ने भएकाले स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सेनाले प्रतिकार्य अभ्यासमा बाढी पहिरोमा उद्धार गर्ने विधि, नदी वा तालमा डुबेको पीडितको उद्धार गर्दा प्रयोग हुने हाइलाइन रेस्क्यु, इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु, फ्लिप डिलजस्ता विधिको प्रदर्शन गरेको थियो ।

ग्रामीण तहमा घरेलु विधि सहज हुने भएकाले ड्रम, खाली बोतल, जर्किनजस्ता स्थानीय सामग्रीको प्रयोग गरी डुंगा बनाएर गरिने इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु गर्न सकिने बिषयलाई समेत  अभ्यासमा देखाईएको थियो । 

कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले प्रतिकूल मौसममा सजग रहन सबै नागरिकलाई आह्वान गरेका छन् । उनले विपतमा परेर उद्धार हुनुभन्दा जोगिनुनै नै उपयुक्त हुने भन्दै त्यस्ता घटना परिहालेमा विपत् व्यवस्थापन समितिमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् । 

मनसुन जन्य बिपद्मा बाढि, पहिरो लगायतका बिपद्हरू रहेकाले समुदायका नागरिकहरूलाई समेत सहभागी गराएर भएको अभ्यासले तत्कालै बिपद्बाट रेस्क्युको लागी नागरिकहरूनै अग्रसर हुनु पर्ने बताएका छन् । एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसकर्मी, नगरका विपत् उद्धारकर्मीहरूको टोली सहभागी थिए । 

कार्यक्रमका सहभागीले विपतको समयमा सम्बद्ध सबै निकाय सक्रिय रहनुपर्नेमा जोड दिएका छन् । नुवाकोटमा रहेको श्रीनाथ गणले विपतजन्य घटना रोकथामका लागि सचेतना कार्यक्रमदेखि अन्य थुप्रै अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको  छ । 

६ अर्ब ५५ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६ अर्ब ५५ करोड ४५ लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले यो अवधिमा ६ अर्ब २५ करोड २६ लाख ९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । 

यो लक्ष्य भन्दा ४.८३ प्रतिशत बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेका कारण  राजस्व सङ्कलन बढेको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए । तर पछिल्लो समय आयातमा कमी आएको छ । कार्यालयले राखेको लक्ष्य भन्दा समग्रमा राजश्व संकलनमा वृद्धि भएको देखिएपनि आयातमा सुधार आउन सकेको छैन । गएको जेठ महिनामा लक्ष्यको तुलनामा ९२.१३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । 

कार्यालयले जेठमा ५५ करोड ९३ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ५३ लाख २८ हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ ।      २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २८ महिनादेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व सङ्कलन प्रभावित बन्दै गएको छ । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३÷७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५÷७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६÷७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्क       रहेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कोभिडका कारण निर्यात लामो समयदेखि ठप्प रहँदै आएको छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारी साधन आवतजावत गथ्र्यो । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

धमाधाम धान रोपाई


विदुर । यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।

नुवाकोटका अधिकांश भुभागमा रोपाई सुरु भएको छ । धानबाली हुने मुख्य फाँटहरूमा समेत धान रोपाई सुरु भैसकेको छ । अहिले नुवाकोटका बिभिन्न स्थानका किसानलाई धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्ष असार पहिलो हप्ताबाट रोपाइँ सुरु हुने भएपनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाई अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्नेमा मनसुन चाँढै भित्रिए पछि रोपाई सुरु भएको हो । खेतमा पानी भरिएपछि रोपाइँ तिर किसान लागेका हुन् । 

रोपाइँ सुरु भए पनि धानखेतीका लागि नभइ नहुने रासायनिक मलको भने अभाव छ । समयमै पानी परेकाले यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभएपछि उत्पादन आधा घट्नेमा चिन्तित छन् । सरकारले यो महिनाको अन्त्यसम्ममा मल सहज हुने दाबी गरेको छ । 

ओझेलमा परेको एउटा गन्तब्य : चिम्टेश्वर


धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन महादेवस्थान छ भन्ने कुरा मैले पछि मात्रै थाहा पाएको हुँ ।

सानै उमेरदेखि त्यहाँको बारेमा सुनेको र त्यहाँ बाग छ भन्ने कुराले निकै डरलाग्दो बिम्ब दिमागमा बसेको थियो । त्यो बाटो हिँड्दा बाघ देखेको अनुभव सुनाउँदा एक प्रकारको डर दिमागमा बसेको थियो । पछि बिस्तारै त्यो डर हराउँदै गयो । त्यसपछि त्यहाँ पुग्ने उत्कण्ठा अरु तीव्र भएर आउन थाल्यो ।

नुवाकोटकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने त्यो स्थान मेरो घरबाट त्यति टाढा त होइन तर नजिकको तीर्थ हेला भनेझैँ टाढा–टाढा घुम्न जाने म आफ्नै घरको धुरीमा रहेको चिम्टेश्वर भने अहिलेसम्म पुग्न सकेको थिइनँ । यस पटक मेसो मिल्यो । स्थानीय चुनावमा उठेको उम्मेदवारलाई सहयोग गर्न भन्दै व्यक्तिगत बिदा लिएर घर गएको थिएँ । एक हप्ताको गाउँ घुमाइपछि मतदानको दिन आयो । उत्साहपूर्वक मतदान भयो र हाम्रो काम पनि सकियो । जित्ने हार्ने तपसिलको कुरा रह्यो । म फुर्सदिलो भएँ । ३१ गते मेरो ४१औँ जन्मोत्सव थियो । बिहानै उठेर नहाइधुवाइ गरेर बसेको थिएँ । जन्मोत्सवमा केक काट्ने संस्कारलाई मैले कहिल्यै आत्मसात् गरिनँ, बरु कुलपुरोहितलाई बोलाएर अष्टचिरञ्जीवीको पूजा गराउने गर्थेँ । यसपालि कुलपुरोहित बर्खीमा भएकाले त्यो पनि गरिनँ ।

घुम्न जानलाई गर्मीको डर थियो । देवीघाट पुगेर आउनुपर्ला भनेर सोचिरहेको थिएँ । त्यही बेला प्रकाश नेपाल आइपुगे । उनी यसै महिनाको अन्त्यतिर स्नातकोत्तर पढ्न जापान जाँदै छन् । प्रकाश आएपछि एकाएक चिम्टेश्वर जाने कार्यक्रम बन्यो । हामी खाना खाएर जाने भयौँ । खाना पाकेकै थियो । खासमा प्रकाश काफल खाने बहानाले जाने तयारी गर्दै थिए । मचाहिँ चिम्टेश्वर जाने लामो उत्सुकताले उद्वेलित बनेको थिएँ । खाना खाएर पाँचखलेमा निस्कँदा ९ बजेको थियो । गल्छी–देवीघाट खण्डको बालुवाखानीबाट दुई लेनको पक्की बाटो पाँचखले हुँदै बेलकोटगढी नगरपालिकाको कार्यालय भएको बाघखोरसम्म पुगेको छ । बीचमा अलिकति पिच गर्न बाँकी छ ।

हामी त्यही बाघखोर जाने बाटो उकालो लाग्यौँ । केउरेनीसम्म पिच भएकाले सजिलै गयौँ त्यसपछि कच्ची बाटो हिँड्दाको राम्रा÷नराम्रा पक्षलाई आत्मसात् गर्दै हामी पौने घण्टामा बाघखोर पुग्यौँ । समय त्यति धेरै लाग्ने त होइन, हर्रे पुगेपछि हामी चढेको मोटरसाइकलले धोका दिन खोजेको जस्तो ग–यो । तर जसोतसो उक्लियौँ । क्लजतार खुकुलो भएको रहेछ । बाघखोरमा पुगेर त्यो बनायौँ । त्यसपछि भने कुनै समस्या आएन । सिउरेनीको पल्लोछेउ पुगेपछि हामी चिम्टेश्वरतिर उकालो लाग्यौँ । दुई घुम्ती उक्लिएपछि प्रकाश एकाएक खुसी हुँदै कराए । उनले बोटभरि कालै भएर पाकेको काफल देखेका थिए । मोटरसाइकल रोकेर काफल खायौँ र हेर्यौँ जताततै काफल पाकेको थियो । जङ्गलमा अधिकांश बोट काफलका थिए र सबैमा राताम्मे र कालाम्मे भएर काफल पाकिरहेको देखिरहेका थियौँ ।

फर्किँदा खाने भनेर हामी माथितिर लाग्यौँ । कच्ची बाटो एक÷दुई दिनअघि आएको वर्षाले कतै–कतै खोतलेकाले मोटरसाइकलमा जान अलि गह्रो भइरहेको थियो तै पनि हामी कतै हिँडेर कतै चढेर चिम्टेश्वर क्षेत्रमा पुग्यौँ । त्यहाँ पुग्दा लाग्यो म सानो स्वर्गमा आइपुगेको छु । सम्म परेको घाँसे मैदान, स–साना थुम्का अनि सल्लाका रुख र अन्य झाडीले पनि त्यसको सुन्दरतालाई झल्काइरहेको थियो । चिम्टेश्वरको घाँसे मैदानमा पुग्नुअघि हामीले एक जना मानिसलाई बाटोमा भेटेका थियौँ । मैले उनीसँग जङ्गली जनावरबारे जिज्ञासा राखेको थिएँ । त्यहाँ बाघ, बँदेल र दुम्सीको बिगबिगी रहेको कुरा उनैबाट थाहा पाएँ । मनमा हल्ला डर पनि लाग्यो ।

जङ्गलको बीचमा मन्दिर कहाँ छ भनेर पहिले त हामीले चालै पाउन सकेनौँ । त्यहाँ गएका एक जना जो निस्फिक्री भएर घुमिरहेका थिए । उनलाई सोध्यौँ र मन्दिर गयौँ । मन्दिरमा खास कुनै तामझाम थिएन । कंक्रिटको प्रयोग गरेर भर्खरै बनाइएको हो । बाहिरतिर असाध्यै राम्रोसँग कुँदिएका ढुङ्गाहरू देखिँदै छ जो पर्खाल लगाउन प्रयोग गरिएका छन् । मन्दिरभित्र पुरानो ढुङ्गामा शिवलिङ्गको यौनी भाग कुँदिएको छ । बीचमा लिङ्गभागचाहिँ कालो पत्थरको छ, जो कुनै बेला भाँचिएको जस्तो पनि देखिन्छ । उत्तर–पश्चिम कोणमा पत्थरको नन्दी देखिन्छ, जसको टाउको भाग फुटेको प्रस्टै देखिन्छ । नन्दी एउटा ढुङ्गामाथि छ र त्यो ढुङ्गो पनि फुटेको छ । नन्दीको आकृति हेर्दा केही पुरानोजस्तो पनि देखिन्छ । सायद गोठालाले या त्यहाँ जाने कुनै भक्तले अतिश्रद्धावश नन्दीलाई घुमाउँदा फुटेको हुनुपर्छ ।

हामीले श्रद्धासाथ शिवलिङ्गमा ढोग्यौँ । मन्दिरमा मानिसको आस्था हुन्छ । हामीले पनि आस्थालाई ढोग्यौँ । मन्दिरभित्र घुम्दै गर्दा मनमा एकाएक आयो– ‘शरीर स्वस्थ रहोस् सबैभन्दा सुख र सम्पत्ति पनि त्यही हो । म स्वस्थ रहूँ ।’ त्यहाँबाट निस्किएर मैले केहीबेर सुनसान जङ्गलमा ध्यान गरेँ । मन पवित्र भयो । लाग्यो मेरो ४१औँ जन्मोत्सव खास भएको छ । भनिन्छ पृथ्वीनारायण शाहले यस ठाउँमा गढी बनाएका थिए । सायद नुवाकोट र बेलकोटगढी आक्रमण गर्न तथा काठमाडौं उपत्यका हेर्न त्यो स्थान उपयुक्त ठानेका थिए । उनले त्यहाँ चिम्टेश्वर महादेवको आराधना गरेको किंवदन्ती पनि रहेको छ । चिम्टेश्वर महादेवको आफ्नै प्रकारको कथा पनि त्यहाँ सुनिन्छ । समुद्र मन्थनबाट निस्किएको विष खाएपछि महादेव उत्तरापन्थ लागेका र त्यो स्थानमा आइपुगेर चिम्टा छोडेका कारण त्यहाँ चिम्टेश्वर महादेव पुजिन थालेको कहानी त्यस स्थानसँग जोड्ने गरिएको छ । मन्दिरमा पूजा एक जना माताले गर्दै आएकी छिन् । हामीले उनको आफ्नै गुनासो सुन्यौँ ।

मन्दिरभन्दा माथिल्लो थुम्कोमा विकासको भद्दा रूप ‘भ्यु टावर’ बन्दै छ । परिवारसहित रात बिताउन मिल्ने स्तरीय होटल, स्थानीय उत्पादन र सेवा अनि सांस्कृतिक विशिष्टताको अभावमा ‘भ्यु टावर’ विकासको नाममा मजाक मात्रै हो भन्ने लाग्यो । त्यो डाँडो आफैँमा ‘भ्यु टावर’ हो । त्यहाँबाट लाङटाङ, गणेश, जुगल, दोर्जेलाक्पालगायत आधा दर्जन हिमश्रृङ्खलाका अतिरिक्त काठमाडौं उपत्यका, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, दोलखा, रामेछाप, धादिङ जिल्लाको केही भाग देख्न सकिन्छ ।

त्यहाँबाट तिब्बतको केरुङ पनि देख्न सकिन्छ भन्ने सुन्यौँ तर तुवाँलोले गर्दा देख्न सकिएन । वर्षको एक पटक हिउँ पर्ने गरेको कुरा सल्लाका फेदमा लागेका लेउले मौन भाषामै भनिरहेका थिए । हामी निर्माणाधीन टावरको माथिसम्म गयौँ र हेर्यौँ । बाटामा थुप्रै लालीगुराँसका बोटहरू देखिरहेका थियौँ । त्यो देखेर लाग्यो–यो ठाउँ पक्कै २००० मिटर माथि छ ।

टावरबाट ओर्लिएर सम्म परेको घाँसे मैदान घुम्यौँ । जताततै बियरका बोतल फुटाएर फ्याँकिएको थियो । खुट्टामा बिझ्नुभन्दा पहिला मनमा बिझ्यो । माल पाएर चाल नपाएपछि के लाग्छ ! जुन स्थानले त्यहाँको स्थानीय जीवनमा आमूल परिवर्तन गर्न सक्छ त्यो स्थानलाई त्यति कुरूप बनाएको त्यहीँका मानिस टुलुटुलु हेरेर कसरी बस्न सकेका होलान् ! लाखौँ मानिसको मनलाई आनन्द दिनसक्ने त्यो स्थानलाई केही मानिसले नरक बनाइरहेका छन् । संरक्षण गर्ने निकाय र मानिसको अभावमा पनि त्यो मनलाग्दीले त्यो क्षेत्रलाई निकै जोखिम बनाएको महसुस गरेँ । फुटेका सिसा मानिसको खुट्टामा बिझे के गर्ने होला?

२०७० वैशाखमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको आयोजनामा रानीपौवादेखि चिम्टेश्वर हुँदै देवीघाटसम्मको पैदलयात्रा गरेपछि यो क्षेत्र पर्यटकीय हिसाबले चर्चामा आउन थाल्यो । त्यस बेलासम्म त्यो स्थान धार्मिक हिसाबले वरपरका मानिसको आस्थाको केन्द्र बनेको थियो । २०७० पछि आन्तरिक पर्यटक जान थाले तर बियरका कार्ट‘न बोकेर । खाए, रमाइलो गरे र त्यही फुटाएर हिँडे । आज त्यो क्षेत्र हिँडिनसक्नु भएको छ । बेलकोटगढी नगरपालिकाले भर्खर–भर्खरै मोटरबाटो त्यहाँसम्म पु-याएको छ । काठमाडौंबाट रानीपौवा हुँदै ३५ किलोबाट पनि त्यहाँ पुग्न सकिन्छ । बेल्कोटको धमलेबाट बाघखोर निस्किएर पनि जान सकिन्छ । कोल्पुटारबाट सिधै उक्लिएर दुईपीपल हुँदै पनि जान सकिन्छ । यता कुमरीतिरको बाटो पनि त्यहाँ जोडिएको छ। माथि धेरै वातावरण दुषित नहोस् भनेर सिँढी पनि निर्माण गरिएको छ । हामी भने सिँढी नचढेर मोटरबाटोबाट गएका थियौँ । त्यहाँको पर्यटन विकासका लागि बागमती प्रदेश सरकारले पनि काम गरिरहेको छ । काठमाडौंबाट नजिक रहेको त्यति सुन्दर स्थान चिनाउनै नसकेर पछि प–यो भन्ने लागिरह्यो । ध्यान ग-यौँ । सुसेल्यौँ । नाच्यौँ । फोटो खिच्यौँ । घुम्यौँ । समग्रमा आनन्द लियौँ । निकैबेरको घुमाइपछि हामी तलतिर झर्यौँ ।

आउँदा सुनसान भएको जङ्गल मानिसको कोलाहलले भरिएको थियो । बाघखोरमा चुनावी परिणाम सुन्न आएकाहरू काफल खान यता आएका थिए । जताततै काफल पाकेको थियो । प्रकाश र मैले एक डेढ घण्टा लगाएर २÷३ किलो काफल टिप्यौँ र ओरालो लाग्यौँ । बाघखोरमा मानिसको भिड थियो । हामी हर्कको पसलमा चिया खाएर ओरालो लाग्यौँ । घर पुग्दा ५ बज्नै आँटेको थियो । घर पुगेपछि लाग्यो लामो समयदेखिको एउटा धोको पूरा भएको छ ।

२०७९ साल असार ६ गतेको सम्पादकीय

 विद्यालयमा दिवा खाजाको प्रभावकारिता वृद्धि गर्नु आवश्यक

साना हुर्कदै गरेका बालबालिकालाई पोषणयुक्त खाना आवश्यक पर्छ । हाम्रो समाजमा धेरै बालबालिका पोषणयुक्त खानाको कमीले कुपोषण हुने, पुड्को हुने, कम तौलका हुने मात्र होइन, रक्तअल्पतालगायत दीर्घ खालका रोगबाट समेत पीडित छन् । कुपोषणले शारीरिक मात्र होइन, बौद्धिक विकासमा समेत असर गर्ने अध्ययनहरूले देखाएका छन् । यस सम्बन्धमा भएका अध्ययनहरूले उपयुक्त खाजाको व्यवस्था गर्न सके बालबालिकालाई दिनभरका लागि चाहिने पोषण तत्व तथा क्यालोरिको एकतिहाइ भाग विद्यालय खाजा कार्यक्रमले पूर्ति गर्न सक्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म प्राप्त गर्ने गरी पारित गरेको दिगो विकासका लक्ष्यमध्ये दोस्रो भोकमारी र कुपोषण अन्त्य, तेस्रो स्वास्थ्य र चौथो सबै बालबालिकालाई समतामा आधारित गुणस्तरीय शिक्षासम्बन्धी लक्ष्य प्राप्तिलाई विद्यालय खाजा कार्यक्रमले प्रत्यक्ष सहयोग पु¥याउँछ भने अन्य लक्ष्य प्राप्तिमा समेत अप्रत्यक्ष मद्दत गर्छ । 

हाम्रो समाजका धेरै परिवारमा आर्थिक विपन्नता, पोषणको मात्रा पुग्ने खालका खाद्य वस्तु अभाव, स्तरीय खाना किन्न रकम कमी, धेरै समय श्रममा खर्चिनुपर्ने, बालबालिकालाई  खाना र खाजा बनाउन फुर्सद नहुने आदि कारण पोषणयुक्त खाना र खाजा खुवाउन नसक्ने अवस्था एकातिर छ भने अर्कातिर चेतना कमीले घरमा भएका सीमित स्रोत÷साधन पनि केलाई महत्व दिई खर्च गर्ने भन्ने निर्णय क्षमता अभाव, समाजमा इज्जत÷प्रतिष्ठा बढाउने चाहनामा बजारमा पाइने जस्तोः चाउचाउ, कोकाकोला, फ्यान्टा, चिजबलजस्ता खानेकुरामा खर्च गर्ने कारण पनि बालबालिकालाई पोषण अभाव भएको पाइन्छ । हाम्रा कतिपय खानासम्बन्धी परम्परा तथा बानी पनि स्वास्थ्यअनुकूल छैनन् । विद्यालय गएका बालबालिकालाई कि दिनभर भोकै बस्नुपर्ने कि सडक तथा नजिकका बजारमा पाइने गुणस्तरहीन र म्याद नाघेका खानेकुरा (खाजा)खानुपर्ने बाध्यता छ । अर्कातर्फ खाना सम्बन्धमा उपयुक्त परामर्श अभावमा बालबालिका लोभ्याउने व्यावसायिक र पत्रु खानाप्रति आकर्षण हुनु स्वाभाविकै हो । विद्यालयमा नियमित पोषणयुक्त खाजा खुवाउन सक्ने हो भने यस कार्यक्रमले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा त सहयोग पुग्छ नै, साथै विद्यालयप्रति बालबालिकाको अपनत्व बढ्ने, नियमित स्कुल उपस्थित हुने, विद्यालयलमा समेत पारिवारिक वातावरण दिन सकिने भएकाले बालबालिकामा त्यसको सकारात्मक प्रभाव पर्नेजस्ता महत्वपूर्ण उपलब्धि हासिल हुन्छन् । शैक्षिक उपलब्धि बढाउन, खेललगायत सिकाइमा बालबालिकाको सक्रियता बढाउन पनि यसले उत्तिकै योगदान दिन्छ । विद्यालय दिवा खाजामार्फत समुदायको खानासम्बन्धी बानीमा सुधार ल्याउन र स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्नसमेत सहयोग गर्न सकिन्छ । विद्यालयमा बालबालिकाले सँगै बसेर समान किसिमको खाजा खाँदा पनि समनताको भावना जागृत हुन मद्दत पुग्छ । अर्कातर्फ विपन्न परिवारका पोषणको मात्रा नपुगेका बालबालिकालाई पनि उपयुक्त पोषण प्राप्त हुने भएकाले यसबाट सानो लगानीमा संविधानको भावनाबमोजिम समाजवाद उन्मुख समाज निर्माण गर्नेतर्फ सहयोग पुग्छ । 

यसर्थ यस कार्यक्रमलाई प्रभावकारी बनाउन र उपलब्धिपूर्ण बनाउन विभिन्न प्रयास गर्न आवश्यक छ । चेतनामूलक कार्यक्रम गरी अभिभावकमार्फत विद्यालयमा पोषणयुक्त खाजा व्यवस्था गर्न, बालबालिकाको शारीरिक र बौद्धिक विकास गर्न बजारका पत्रु खाना होइन स्वास्थ्यवद्र्धक खानामा ध्यान दिन आवश्यक छ भन्ने सोचाइ निर्माण गर्नु अति आवश्यक छ । स्थानीय तहले पनि अभिभावकलाई खाजा सम्बन्धमा सचेतीकरण गर्ने, आफूले विनियोजन गरेका बजेट पारदर्शी गर्ने, खाजा व्यवस्थापनका लागि समिति बनाउने, बजेट पठाउँदा विद्यार्थी संख्या यकिन गरेर मात्र पठाउने, समितिमार्फत समय–समयमा खाजा कार्यक्रमको अनुगमन गर्ने गर्न आवश्यक छ । प्रदेश र संघबाट पनि अनुगमन नियमित गरिनुपर्छ । यस सम्बन्धमा अध्ययन÷अनुसन्धान गर्ने, जस्तोः नेपालका विभिन्न क्षेत्र र समुदायको खानाको बानी अध्ययन गरी घरको खानामा प्राप्त नहुने खालका तत्व पूरा गर्नेे खाजाको सूची (रेसिपी) बनाउने र विद्यालयहरूलाई सिफारिस गर्ने गर्न सकिन्छ । जस्तो : नुवाकोटको विकट तथा ग्रामिण क्षेत्रका समुदायको घरको खानामा बढी कार्बोहाड्रेड हुने, प्रोटिन कम हुने कुरा अध्ययनले देखाएका छन् । यस्तो अवस्थामा विद्यालयको दिवा खाजामा प्रोटिनको मात्रा बढी भएका खानाको सूची बनाई विद्यालयमा प्रयोग गराउँदा खाजाको प्रभावकारिता बढ्छ । यसरी स्थान, क्षेत्र र समुदाय विशेष फरक क्यालोरीसहितको सम्भावित सूची निर्माण गरी अभिमुखीकरण गर्ने, स्थानीय बाली तथा खाद्य सामग्री प्रयोग गरी खाजा खुवाउने, विद्यालयलाई पुरस्कृत गर्ने, निर्मित निर्देशिकामा विज्ञ र सरोकारवालाको सहभागितामा परिमार्जन गर्ने, निर्देशिका कार्यान्वयनलाई अनिवार्य गर्नेजस्ता काम गर्न सकेमा विद्यालयमा सञ्चालित दिवा खाजाको प्रभावकारिता आवश्यकता अनुसार वृद्धि गर्न सकिन्छ ।


२०७९ साल असार ६ गते । वर्ष : १५, अंक : ३६