Monday, September 12, 2022

विदुरको ‘मिनी निर्वाचन’मा एमालेले पल्टायो सत्ता

विदुर खानेपानीमा नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरू । तस्बिरः प्रितिका थापा

विदुर । विदुर नगरपालिकाको मिनी निर्वाचनको रुपमा समेत हेर्ने गरिएको खानेपानी संस्थाको यसपटकको निर्वाचनमा काँग्रेस–माओवादी–समाजवादीले सर्वानाक हार ब्यहोरको छ । एमालेसंगको गठजोडमा चुनावमा होमिएको एमालेले खानेपानीको ‘सत्ता’ पल्टाएको छ । 

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा एमालेका उम्मेदवार मात्रै निर्वाचित भएका छन् । एकातर्फ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र अर्कोतर्फ एमाले–राप्रपाको गठबन्धनबाट उम्मेदवारहरू चुनावी मैदानमा थिए । सञ्जिबबहादुर श्रेष्ठ प्यानलको उपाध्यक्ष बाहेकका सबै निर्वाचित भएको परिणाम आज विहान सार्वजनिक भएको हो । उपाध्यक्षमा छत्रराज डंगोल प्यानलबाट उम्मेदवार बनेर निर्वाचित भएका नवराज न्यौपाने पनि एमालेकै हुन् ।

सञ्जिब प्यानलमा उपाध्यक्षको टिकट नपाएपछि न्यौपाने काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनबाट उपाध्यक्षमा उठेका थिए । उनलाई भदौ २० गते एमाले विदुर नगरकमिटिले साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि सिफारिस गरिसकेको छ । एमालेले आफ्नो आधिकारिक उम्मेदवार समेत रहेको भन्दै विज्ञप्ती नै जारी गरेका राप्रपाका महेशकुमार डंगोल ३८ मतले हारेका छन् । उनलाई एमाले छाडेर काँग्रेस–माओवादी–एस गठबन्धनबाट उम्मेदवार बनेका उनै न्यौपानेले हराइदिए । न्यौपानेले आफ्नो बलमा यो चुनाव जितेको बताइएको छ । डंगोल प्यानलका सबै बढारिदा झिनै मतले उनी निर्वाचित हुनुमा उनकै व्यक्तिगत कारण र प्रभाव प्रधान रहेको तर्क गर्नेहरू छन् । २० वर्ष भन्दा बढी समय सोही संस्थाका कार्यालय सचिवका रुपमा काम गरेर केही महिना अघि मात्रै जागिर छाडेका उनलाई भर्खरै छाडेको पार्टी एमाले निकटका मतदाताहरूले पनि विना हिचकिचाहट मत दिएका छन् ।

एमाले–राप्रपा गठबन्धनमा उपाध्यक्ष मात्रै राप्रपालाई दिएर एमालेले अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू गरी आठ सिट लिएको थियो । अर्को गठबन्धनमा भने काँग्रेसले अध्यक्ष, उपाध्यक्ष, महिला सदस्य १ र खुल्ला सदस्य २ गरी ५ सिट, माओवादी उपाध्यक्ष र खुल्ला सदस्य १ गरी २ सिट र समाजवादी सचिव र महिला सदस्य १ गरी २ सिट लिएर प्रतिस्पर्धा गरेका थिए ।

बाहिरबाट हेर्दा बलियो देखिएको काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारहरू मत गणनाको सुरुवात देखिनै सञ्जिब प्यानलका सबै उम्मेदवारहरूलाई पछ्याइमात्रै रहेका थिए । पहिलो सय मत गन्दा देखिनै एमाले छाडेर गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार बनेका न्यौपाने बाहेक काँग्रेस, माओवादी र एकीकृत समाजवादीका उम्मेदवार एमालेका उम्मेदवार संग धेरै पछाडी थिए ।

यसरी बलियो भनिएको सत्तापक्षयिय गठबन्धनको हारको कारण उम्मेदवार चयनदेखि तीन महिना अघि सम्पन्न स्थानीय चुनावको परिणामलाई हेर्न थालिएको छ । पहिलो, विदुर नगरपालिकामा खानेपानीको सेवा दिइरहेको वडाहरू जो संस्थाका मतदाताका रुपमा छन्, त्यसमा स्थानीय निर्वाचनमा एमालेका वडा अध्यक्षहरू निर्वाचित भएका छन् । खानेपानी संस्थाको सेवा रहेको सात वटा वडामा २ वडा बाहेक सबै वडा अध्यक्षमा एमाले निर्वाचित भएका छन् । दुई वटा वडामा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् । त्यसले पनि एमालेको मतभार अधिक रहेको देखाएको छ ।

अर्को तर्फ काँग्रेसकै कार्यकर्ताहरूले उम्मेदवार चयनमा असन्तुष्टि राखेका र पार्टीको आन्तरिक चुनावदेखि स्थानीय तह चुनावसम्मको तिक्ततालाई खानेपानीको निर्वाचनमा ‘हिसाव मिलान’ गरेको बुझिएको छ । एमालेले खडा गरेको अध्यक्ष पदका उम्मेदवारका तुलनामा काँग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार बनेका व्यक्ति कमजोर देखिएको, उपाध्यक्षमा बिहान मात्रै एमाले छाडेर आएकालाई टिकट दिएको, सचिव पद एकीकृत समाजवादी, कोषाध्यक्ष पद माओवादीको भाग परेकै कारण काँग्रेसका केही कार्यकर्ताहरू यसप्रति सन्तुष्ट थिएनन् ।

खानेपानी संस्थाको यो निर्वाचनलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको कार्यशैलीले समेत प्रभाव पारेको एक जनाले बताएका छन् । मेयरमा निर्वाचित भएपछि उनले गर्ने गरेको ब्यवहार, कमजोर कार्यशैली र ‘सिण्डिकेट’का कारण पनि काँग्रेसका र स्थानीय तह चुनावी गठबन्धनका सहयात्री पार्टी माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताहरू पार्टीले उभ्याएकै भरमा भोट हाल्नै पर्ने मनस्थितिमा थिएनन् ।

अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेर संस्थामा काम गरिसकेको र व्यक्तिगत सम्वन्ध बढी विकास गरेका कारण सञ्जिबबहादुर श्रेष्ठलाई अन्तरपार्टीका तर्फबाट पनि मतदाताहरूले रुचाएको पाइएको छ ।

अन्तिम मत परिणाम अनुसार सबै भन्दा बढी मतान्तर (३९०) सचिव पदमा देखिएको छ भने कम मतान्तर (३८) उपाध्यक्ष पदमा छ । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा सञ्जिबबहादुर श्रेष्ठले १२७१, छत्रराज डंगोल (काँग्रेस)ले ९४७ मत पाएका छन् । अध्यक्ष पदमा दुई जना बीच ३२४ को मतान्तर छ ।

उपाध्यक्षमा डंगोल प्यानलका नवराज न्यौपाने (भर्खरै एमाले त्यागेका)ले ९८३, श्रेष्ठ प्यानलका महेशकुमार डंगोल (राप्रपा)ले ९४५, र मुरारी नेपाल (स्वतन्त्र)ले २२७ मत पाएका छन् । उपाध्यक्ष पदमा पहिलो र दोश्रो बीच ३८ को मतान्तर छ ।

सचिवमा श्रेष्ठ प्यानलका राजेन्द्र पाण्डे (एमाले)ले १२६४ र डंगोल प्यानलका नरेशबहादुर डंगोल (एस)ले ८७४ मत पाएका छन् । सचिव पदमा ३९० को मतान्तर रहेको छ ।

कोषाध्यक्षमा श्रेष्ठ प्यानलका अम्बिका चित्रकार खनाल (एमाले)ले ११८८ र डंगोल प्यानलका रविता भट्ट (माओवादी)ले ९२४ मत पाएका छन् । कोषाध्यक्ष पदमा २६४ को मतान्तर छ ।

महिला सदस्यमा दुवै जना श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन् । बिष्णुमाया डंगोलले ११६७ र सीता अधिकारीले १०९९ मत पाएका छन् । डंगोल प्यानलका शान्ती श्रेष्ठ (एस)ले ९१० र शुसिला पौडेल (काँग्रेस)ले ८९४ मत पाएका छन् । यस पदमा पहिलो र तेश्रो बीच २५७, दोश्रो र तेश्रो बीच १८९ मतान्तर रहेको छ ।

सदस्यहरूमा तीनै जना श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन् । निर्वाचित भएकाहरू कृष्णप्रसाद भट्टले ११३९, दीपकबहादुर तिम्सिनाले ११०३ र लबप्रसाद न्यौपानेले १०३३ मत पाएका छन् । डंगोल प्यानलका रामजी भट्ट (काँग्रेस)ले ९३३, राजेन्द्र सापकोटा (काँग्रस)ले ८६१ र पदमकान्त न्यौपाने (माओवादी)ले ८११ मत पाएका छन् । बिमल खड्का (स्वतन्त्र) ले १८२ मत पाएका छन् । यस पदमा पहिलो र चौथो बीच २०६, तेश्रो र चौथो बीच १०० मतान्तर रहेको छ ।

भदौ २२ गते सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम आज (२४ गते) बिहान सार्वजनिक भएको हो । ३ हजार १४१ मतदाता रहेको खानेपानी संस्थाको चुनावमा २ हजार ३२५ (७४ प्रतिशत) मत खसेको थियो । यस संस्थाले विदुर नगरपालिकाको सात वटा वडाहरू (वडा नं. १, २, ४, ५, ६, ८ र ९) मा पानीको सेवा दिँदै आएको छ । २०३८ सालबाट यस संस्थाले विदुर नगरपालिकामा पानी आपुर्तीको सेवा दिन थालेको हो । संस्था २०५२ सालमा मात्रै दर्ता भएको थियो ।

क्षेत्र १ को क मा संजीव गुरुङको सम्भावना


विदुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट ठूला राजनीतिक दलहरूले उम्मेदवार छनोटका लागि सिफरिस गरेर पठाइसकेको छ । काँग्रेस–माओवादी केन्द्रबीच हुने गठबन्धनका कारण कुन क्षेत्र कसको पोल्टामा पर्ने भन्ने टुङ्गो नलागेकै कारण कुन क्षेत्रमा को उम्मेदवार पक्का भन्ने अहिले अनुमान मात्रै भइरहेको छ । 

काँग्रेसले यस पटक सिफारिस गरेर पठाएका उम्मेदवाहरू मध्ये केही लोकप्रिय, युवा र सम्भावना बोकेकाहरू पनि देखिएका छन् । यस क्रममा युवा पुस्ता माझ चर्चित नेपाली काँग्रेस नुवाकोटका युबा नेता तथा क्षेत्र नं. १ तरुण दलका सल्लाहाकार संजीव गुरुङ नुवाकोट क्षेत्र नं. १ को प्रदेश ‘क’ मा प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । 

पार्टी भित्र गुटगत राजनीतिको विरोध गर्दै आएका गुरुङ युवापुस्ता र पाका पुस्तालाई जोड्ने कडीका रुपमा यस अिघ देखिनै स्थापित भएका छन् । शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेका ४० वर्षिया संजीव गुरुङ परिवर्तन र युवापुस्ताको पार्टी भित्र उदयका लागि आफ्नो कार्य प्रधान रहने बताउँदै आएका छन् । उनको साझा व्यक्तित्व र काँग्रेसका प्रायः अग्रज नेताहरूको प्रिय रहेका कारण गुरुङले नुवाकोट क्षेत्र नं. १ को ‘क’ मा टिकट पाउने सम्भावना रहेको काँग्रेसका एक नेताले बताएका छन् ।  

देशभर युवा नेतृत्व चयन गर्न‘पर्ने आवाज बुलन्दरुपमा उठ्दै आउँदा नुवाकोटबाट उम्मेदवार सिफारिस भएका युवा नेता गुरुङ एक बलिया उम्मेदवारको रुपमा अगाडि आएका छन् । नेता गुरुङ जनताले नै युवा नेतृत्व चाहेका कारण पार्टीले पनि युवा नेताहरूलाई नै प्राथमिकता दिएर चुनावमा होमिनु पर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’ जनताको आवाज, शिक्षा, स्वास्थ्य तथा आफ्नो क्षेत्रमा आवश्यक रहेका सम्पूर्ण विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर प्रदेशसभा देखि संघसम्म पु¥याउने आफ्नो उद्देश्य रहेको नेता गुरुङको भनाई छ ।

उनले कांग्रेसलाई जनताको उत्कृष्ट ‘माइलस्टोन’ बनाउने अभियानमा लाग्ने पनि बताए । उनी भन्छन्, ‘अब समाज तथा देशमा केही गरेर देखाउने बेला आएको छ, त्यो म गरेर देखाउँछु पनि, कांग्रेसलाई जनताको उत्कृष्ट ‘माइलस्टोन’ बनाउने अभियानमा पनि लाग्ने छु ।’ नेता गुरुङ आफ्नो क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसैपनि यसपटक युवाहरूलाई जनताको साथ रहेका कारण पनि प्रदेशसभा सदस्यमा आफु निर्वाचित हुनेमा नेता गुरुङ विश्वस्त छन् । विश्वका ७० भन्दा बढी देशहरूमा आफुले लिएको विकासको अनुभवलाई नुवाकोटमा केही हदसम्म कार्यान्वय गर्न सकयिो भनेपनि त्यसले पुस्तौपुस्तालाई प्रभाव पार्ने उनी बताउँछन् । 

राजनीतिमा नीति मात्र होइन नेतृत्व पनि परिवर्तन गारैं भन्ने उनी त्यस निर्वाचन क्षेत्रमा चर्चित छन् । राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण आवश्यक रहेको बताउने उनी राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएर पन्छिनु भन्दा यसलाई सफा गर्न चेतनशील र सचेत युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने सोच राख्छन् । 

गुटमा सिमित रहेको नुवाकोटको राजनीति सांगठानिक तहमा विस्तार हुनु पर्ने उनले भनाई रहेको छ । आफु निर्वाचित भएपछि नुवाकोटलाई विकासको मोडेलको रुपमा अघि सार्ने उनले बताए । नुवाकोटको सर्वाङ्गिण विकासको लागि जल, जङ्गल, जमिन, जडिबुटी, जलविद्युतमा आन्तरिक र वाह्य लगानी आवश्यक रहेको र ति श्रोतको पहिचान आफुले गर्ने नेता गुरुङको भनाई रहेको छ । 

राजनीतिमा स्वार्थ केन्द्रित आर्थिक समूह र ब्यापारिक घरानाहरूको हालीमुहाली चलेको भन्दै स्वच्छ र निष्कलंक छवि भएका व्यक्तिको हातमा नीति निर्माणको कलम हुनुपर्ने उनी बताउँछन् । राजनीतिक संस्कारसहितको सम्मान पनि आवश्यक रहेको युवा नेता गुरुङले औंल्याएका छन् । 

काँग्रेस प्रवक्ता महतको अडान नुवाकोटमै

विदुर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोटको क्षेत्र नं. १ र काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी आफैं भने काठमाडौंबाट नभई नुवाकोटबाटै चुनाव लड्ने अडानमा छन् । गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क रहेको छ ।

२०७४ को चुनावमा महत काठमाडौं ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले विजयी भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा ३० वैशाखको स्थानीय निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा अहिले पनि एमाले पहिलो छ । उसको १९ हजार २२९ मत छ भने काँग्रेसको १४ हजार ५३२ मत छ । २७३९ मतका साथ राप्रपा तेश्रो, १ हजार ५५३ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार १३९ मतका साथ माओवादी केन्द्र पाँचौं स्थानमा छ । गठबन्धन गर्दा पनि एमाले अगाडि भएका कारण डा. महतले काठमाडौं ५ मा उठ्ने रुची देखाएका छैनन् । त्यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि काँग्रेसले यो क्षेत्रमा अडान लिएको छैन ।

महत निकट एक नेता भन्छन्, ‘नुवाकोट १ बाट उठ्ने उहाँको तयारी छ, काठमाडौं ५ मा उठ्नुहुन्न ।’ महतको नाम गृहक्षेत्र नुवाकोट १ बाट पनि सिफारिस भएको छ । नुवाकोट १ बाट २०७४ मा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका थिए । स्थानीय चुनाव २०७९ को मतका आधारमा भने यो क्षेत्रमा माओवादीभन्दा काँग्रेसको मत धेरै छ । वडा तहमा काँग्रेसले २८ हजार ९६२ र माओवादी केन्द्रका उम्मेदवारले २३ हजार २०० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको एमालेको १८ हजार २६७ मत छ ।

गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । बरु प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क छ । ‘अघिल्लोपटक माओवादीले एक्लैले जितेको होइन, एमालेको पनि मत मिसिएको थियो’ महत निकट एक नेता भन्छन्, ‘माओवादी फेरि जित्न काँग्रेसको मत चाहिन्छ । काँग्रेसकै मतले जित्ने भएपछि 

नुवाकोट २ मा उठेपनि हुन्छ ।’ नुवाकोट २ मा प्रत्यक्षतर्फ आकांक्षी रहेका नेता अर्ज‘ननरसिंह केसीलाई समानुपातिक निर्वाचन पद्धतितर्फ सिफारिस गरिएको छ । यद्यपि उनले यसमा असहमति जनाएका छन् । नुवाकोट २ मा बहादुरसिंह लामा पनि आकांक्षी छन् । तर संस्थापन समूहका भएकाले उनलाई मनाउन सकिने महत पक्षको तर्क रहेको छ । 

काठमाडौं ५ मा भने काँग्रेसले उम्मेदवार भेट्टाएको छैन । यद्यपि पाँच जनाको विषयमा छलफल भइरहेको छ । क्षेत्रीय समितिले सुधा त्रिपाठी, श्याम खड्का, दामोदर खड्का, प्रेमबहादुर खड्का र रमेश खड्काको नाम वैकल्पिकमा राखेर सिफारिस गरेको छ । त्यसमध्ये क्षेत्रीय सभापति श्याम खड्काको सम्भावना बढी छ । ‘प्रकाशशरण दाजु यहाँ उम्मेदवार नहुने भए काँग्रेसबाट क्षेत्रीय सभापति श्याम खड्का उठ्नुहुन्छ’ क्षेत्रीय सचिव रजनी थापाले भनिन् ।

काँग्रेसको क्षेत्रीय समितिले गठबन्धनका अन्य दललाई काठमाडौं ५ छोड्न नसकिने बताएको छ । । गठबन्धनका अरु दलको मत न्यून रहेकाले काँग्रेसले अन्य दलको उम्मेदवारलाई स्विकार्न नसकिने क्षेत्रीय सभापति श्याम खड्काले बताए । ‘अरुको मत खासै छैन । एमालेपछि काँग्रेसको हो । त्यसैले अरुको उम्मेदवार स्वीकार्न सकिँदैन’ खड्काले भने ।

डेंगु नियन्त्रण अभियान

शुक्रवार विदुरमा आयोजित डेंगु नियन्त्रण अभियानमा सहभागिहरू । तस्बिर : इमेज 

विदुर । देशका विभिन्न ठाउँमा डेंगुको संक्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डंगुको सक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र पालिका तहसँगको समन्वयमा बिभिन्न सचेतनाका कार्यक्रमहरू गरिरहेको छ ।

विदुर नगरपालिकाको स्वास्थ्य शाखाले पनि नगर क्षेत्र भित्र विभिन्न ठाउँमा डेंगुको सक्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । शुक्रबार नगरको विभिन्न स्थानमा समन्वय प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, वडा अध्यक्षहरू दिपक कायस्थ, निलमबाबु ढुङ्गेल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी सहितको टोलीले सचेतनासँगै लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट अभियान सुरु भएको छ । 

समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान सञ्चालनमा आवश्यक संघ संस्थाहरूसँग नगरपालिकाले सहकार्य गर्ने जनाएको छ । बिशेषगरी पानी जम्ने स्थानहरू पुर्ने, लामखुट्टेको बास्स्थानको खोजी र नष्ट गर्ने कार्यमा केन्द्रित रहने जनाएको छ । डेंगु संक्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको ठाउँमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न नगरपालिकाले अपिल गरेको उपप्रमुख प्रभा बोगटीले जानकारी दिए । 

डेंगुको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटक पटक गर्नको लागी स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

यसै बीच, महामारीको रुपमा फैलिरहेको डेंगु संक्रमण नुवाकोटमा २२ जनामा पुष्टि भएको छ । जिल्ला अस्पताल त्रिशुलीमा डेंगुको उपचार निःशुल्क सुरु गरेको छ । दैनिक रुपमा डेंगुको संक्रमणको दर बढ्न थालेसँगै परिक्षणलाई निःशुल्क बनाएको छ । 

पछिल्लो समय लामखुट्टेको टोकाईबाट महामारिको रुपमा फैलदै आएको डेंगुको संक्रमण रोकथाम 

तथा नियन्त्रणको लागी अस्पतालले निःशुल्क परिक्षणको ब्यबस्था मिलाएको त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डा. दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार संक्रमण नियन्त्रणको लागी अस्पतालमा सहायता कक्ष समेत स्थापना भएको छ । 

डेंगु संक्रमणको लक्षण देखिएको वा सम्भाबित लक्षण देखिएकाहरूको परिक्षण तथा थप उपचारको लागी अस्पतालले ब्यबस्था मिलाएको मेसु पाण्डेले बताए । 

डेंगु संक्रमणबाट सुरक्षित रहनको लागी नुवाकोटका १२ वटैै स्थानीय तहले बिभिन्न सचेतनामुलक कार्यक्रममा जोड दिएका छन् । त्रिशुली अस्पतालले संक्रमण परिक्षण गर्न पुगेका बिरामीहरूलाई संक्रमणबाट बच्ने तथा रोकथामका लागी परामर्श समेत प्रदान गर्दै आएको छ । यस अघि त्रिशुली अस्पतालको प्रयोगशालामा डेंगु संक्रमणको परिक्षण गरेबापत ८५० रुपैयाँ लिदै आएको थियो । हाल संक्रमणको दर बढ्न थालेको र संक्रमितको पहिचानलाई सहज बनाउन निःशुल्क परिक्षणको ब्यबस्था मिलाएको मेसु पाण्डेले जानकारी दिए । 

नुवाकोटबाट संक्रमितहरू धेरै जिल्ला बाहिर गएर परिक्षण गराउने भएकाले जिल्लामा  डेंगुको संक्रमण एकिन हुन सकेको छैन । डंगु रोगको संक्रमण एडिस जातको लामखुट्टेको टोकाईबाट हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । जमेको पानीनै एडिस जातको मुख्य बासस्थान रहेकाले त्यस्ता क्षेत्रको खोजी तथा नष्ट गर्न‘पर्ने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जमेको पानीमा एडिस जातको लामखुट्टे बस्ने र दिनमा मात्रै यसले संक्रमण फैलाउने भएकाले सुरक्षित रहनको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । 

डेंगुको संक्रमण भएमा ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनी दुख्ने जस्ता साधारण लक्षण देखा पर्छन् । यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ । 

अधिकांश संक्रमितहरू सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्ने भएकाले स्वास्थ्य कार्यालय नुवाकोटले सतर्कता अपनाउन आग्रह गरेको छ । 

बिहीवार विदुर नगरपालिका स्वास्थ्य कार्यालयले आयोजना गरेको डेंगु नियन्त्रण अभियानका क्रममा डेंगुको लार्भा नष्ट गर्नका लागि औषधि छर्कदै स्वास्थ्य प्राविधिक र साथमा सरसफाईमा सहभागी सुरक्षाकर्मीहरू । तस्बिर : इमेज


कार्यकर्ता खुसी पार्न मात्रै पनि सिफारिस

विदुर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूबाट उम्मेदवार बन्ने आकांक्षी धेरै देखिएका छन् । प्रत्यक्ष र समानुपातिकमा नुवाकोट जिल्लाबाट नाम सिफारिस भइरहँदा आकांक्षीको सिफारिस आवश्यकताभन्दा धेरै भएको छ । कर्यकर्ता खुसी पार्नका लागि मात्रै पनि अधिक मात्रामा नाम सिफारिस भएका छन् । काँग्रेस, एमाले माओवादी, केन्द्र, समाजवादी, राप्रपा पार्टीको आफ्नो हैसियत स्थापित गर्न उम्मेदवारी सिफारिसका लागि नाम समावेश गर्न तछाड मछाड नै चलेको छ । आवश्यकता भन्दा बढी नाम सिफारिस गर्नेमा काँग्रेस पार्टी छ । नुवाकोटमा संघीय र प्रदेश गरी ६ निर्वाचन क्षेत्रमा काँग्रेस एक्लैले एक सय भन्दा बढीको नाम सिफारिस गरेर पठाएको छ । समानुपातीमा पठाइएको नाममा पनि उत्तिकै भिडभाड देखिएको छ । 

निर्वाचनका लागि नुवाकोटको दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा ठूला दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रका तल्ला कमिटीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । प्रदेश र प्रतिनिधिसभाको ६ वटा सिटमा निर्वाचन हुने नुवाकोट जिल्लामा तीन दल काँग्रेस, एमाले, माओवादीले प्रत्यक्ष र समानुपातिक तर्फको लागि पार्टीका विधानअनुसार प्रक्रिया पूरा गरेर दुई सय ३७ जनाभन्दा बढी आकांक्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिससहित पुगेको छ । 

आगामी निर्वाचनका लागि सबैभन्दा बढी नेपाली काँग्रेसबाट एक सय २६ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । काँग्रेसको प्रदेश र क्षेत्रमा संस्थापन पक्ष हाबी रहेकाले नुवाकोटबाट नेपाली काँग्रेसले खम्बाको रूपमा रहेका अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई समानुपातिकमा सिफारिस गरेर प्रत्यक्षतर्फ उठ्नका लागि ढोका बन्द गरेको छ । क्षेत्र नं. १ बाट डा. प्रकाशशरण महत र क्षेत्र नं. २ बाट बहादुरसिंह लामाको नाम प्रत्यक्षमा सिफारिस भएको छ । 

क्षेत्र नं. १ बाट डा. रामशरण महतको नाम प्रत्यक्षतर्फ दोस्रो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारको सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फ १ नम्बरमा डा. रामशरण महत, दोस्रोमा डा. केदारनरसिंह केसी, क्रमशः कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे, सीता मिजार सिफारिस भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ बहादुरसिंह लामा, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, लालीमाया तामाङ र समानुपातिकमा अर्जुननरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, रुक्मणी सेढाईं सिफारिस भएका छन् ।

अर्जुननरसिंह केसी यसपटक प्रदेश नं. २ का प्रत्यक्षमा निर्वाचन लड्न खोजेका थिए । संस्थापन पक्ष हाबी रहेको नुवाकोटमा संस्थापनइतर कोइराला पक्षका केसी र डा. रामशरण महतलाई समानुपातिकमा धकेलेर बहादुर र डा. प्रकाशशरण प्रत्यक्षतर्फ उम्मेदवार हुने रणनीतिमा लागेका छन् । 

काँग्रेसको तर्फबाट क्षेत्र नं. १ ‘क’ प्रदेश सभामा प्रत्यक्षतर्फ जगदीश्वरनरसिंह केसी, महेन्द्र थिङ, रामकृष्ण थापा, नारायण प्रसाद पाण्डेसहित दशजना रहेका छन् । यो प्रदेशबाट २७ जनाको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । क्षेत्र नं. १ प्रदेश ‘ख’का लागि प्रत्यक्षतर्फ रमेशकुमार महत, जगदीश्वरनरसिंह केसी, वैकुण्ठ मिश्रसहित आठजना र समानुपातिक तर्फ १५ जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’का लागि प्रत्यक्षमा जगदीश्वरनरसिंह केसी, रमेशकुमार महत, वैकुण्ठबहादुर पाण्डे, ताराबहादुर कार्की, मोहनबहादुर खड्का, महेन्द्र थिङसहित २१ जनाको नाम सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा १६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’को प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ, राजकुमार भट्टराई र समानुपातिकमा चोकराज शाक्य, सुरेन्द्रराज अधिकारी, बिन्दा अर्यालसहित ११ जनाको नाम सिफारिस भएको छ ।

डा. प्रकाशशरणले नुवाकोटको क्षेत्र नं. १ रोजेपछि भने यो विषय माओवादी अध्यक्ष प्रचण्डको टेबुलमा पुगेको छ । महतले प्रचण्डलाई भेटेर आफुलाई क्षेत्र नं. १ लिाइदिन आग्रह गरेका छन् । तर म ाओवादी आफुले जितेको क्षेत्र नछाड्ने मनस्थितिमा छ । 

गठबन्धन हुँदा नेपाली काँग्रेसको बागमती प्रदेशमै यो क्षेत्र सुरक्षित रहेको प्रकाशशरण पक्षका कार्यकर्ताको विश्लेषण छ । तर माओवादीले निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ हितबहादुर तामाङको नाम मात्र सिफारिस गरेको छ । यसबाट पनि माओवादीले क्षेत्र नं. १ नछाड्ने संकेत देखाएको छ । 

नुवाकोटको क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ केशव पुडासैनी, माधव पाण्डे, सुभद्रा नेपालको नाम सिफारिस गरेको छ । माओवादीबाट क्षेत्र नं. १ प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ राधिका तामाङको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट ६ जनाको नाम समानुपातिकमा परेको छ । 

क्षेत्र नं. १ प्रदेश ‘ख’को प्रत्यक्षमा पुष्प लामिछानेको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट आठजनाको नाम समानुपातिकमा सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’को प्रत्यक्षमा रामप्रसाद ढुङ्गानाको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा सातजनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ हीरानाथ खतिवडा, जयमान वाइवा, कल्पना रिमालको नाम सिफारिस भएको छ भने समानुपातिकमा ६ जनाको नाम सिफारिसमा परेको छ ।

नेकपा एमालेले पनि आगामी निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं. १ बाट प्रतिनिधि सदस्यका लागि प्रत्यक्षमा जिल्ला अध्यक्ष बद्री मैनालीको एकल नाम पठाएको छ । प्रदेश ‘क’, ‘ख’ र क्षेत्रीय कमिटीबाट सिफारिस भएपछि जिल्लाले प्रदेशमा मैनालीको नाम मात्र पठाएको जानकारी उक्त पार्टीले दिएको छ । 

क्षेत्र नंं. १ को प्रदेश सभा ‘ख’को प्रत्यक्ष उम्मेदवारका लागि प्रदेश कमिटीमा पूर्णलाल श्रेष्ठको एकल नाम सिफारिस गरेको कारण जिल्ला कमिटीले श्रेष्ठको नाम मात्र प्रदेशमा सिफारिस गरेको छ । 

क्षेत्र नं. १ को प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ प्रदेश कमिटीले जिल्ला कमिटीका उपसचिव नीलकण्ठ आचार्य, सुशील खड्का, बलराम आचार्य, राजकुमार पण्डित सहित आठजनाको नाम जिल्लालाई सिफारिस गरेको थियो । जिल्लाबाट राय लेखेर प्रदेश कमिटीमा पठाएको छ । 

एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ नम्बरमा बहालवाला सांसद नारायणप्रसाद खतिवडाको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । खतिवडासँगै बहालवाला प्रदेश सांसद केशवराज पाण्डे, रामशरण प्याकुरेल, विष्णु लोहनी, रामकृष्ण खड्का, माधव तिवारी र अजितमान तामाङको नामसमेत जिल्ला कमिटीलाई सिफारिस गरेको थियो । 

२०७९ साल भदौ २७ गते । वर्ष : १५, अंक : ४५

 





२०७९ साल भदौ २७ गतेको सम्पादकीय

 डेंगु प्रति उच्च सतर्कता जरुरी

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ  । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरू सिकिस्त हुने गर्छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ । वर्षातपछि पानी जम्ने स्थानहरूमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फुल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ । 

एक्कासी उच्च ज्वरो आउनु, लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउनु यसको लक्षणहरू हुन् । खास गरी, डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्न‘पर्छ । पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ । फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्न‘पर्छ । एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न‘ पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्न‘पर्छ ।

यसको इतिहास हेर्ने हो भने सन् २००४ मा पहिलोपटक डेंगु संक्रमण नेपालको चितवनमा देखापरेको थियो । त्यसपछि बर्सेनी यो रोगका बिरामी बढ्दै जाँदा हाल यो महामारीका रूपमा देखापरिसकेको छ । विज्ञको दाबीअनुसार डेंगुको संक्रमण दर नेपालमा अझै बढ्दै गइरहेको छ । अझैं दुई महिना यसको जबर्जस्ती प्रभाव रहने अनुमान चिकित्सकले गरेका छन् । जसका कारण सबैमा चिन्ता बढाएको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न पानी जम्न सक्ने भाँडा गमला, फुलदान, खालीबट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिएर सतर्कता अपनाउनुपर्छ । सबैले सर्तकता अपनाऔं र डेंगुबाट बचौं ।

विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ । डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् । विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

Monday, September 05, 2022

नुवाकोट काँग्रेसमा केसी पक्ष धकेलिए

 

विदुर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट र काठमाडौंबाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका छन् ।उनी संघीय सांसदको प्रत्यक्ष निर्वाचनका लागि नुवाकोट क्षेत्र नं. १ बाट र काठमाडौं क्षेत्र नं. ५ बाट सिफारिस भएका हुन् । 

नेपाली काँग्रेसले मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । यसैक्रममा नुवाकोट जिल्लाको क्षेत्र नं. १ का लागि नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई पहिलो नम्बरमा सिफारिस गरेको छ । दोश्रो नम्बरमा डा. रामशरण महतलाई सिफारिस गरेको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले जानकारी दिए । 

समानुपातिकमा पहिलो नम्बरमा डा. रामशरण महतलाई नै राखिएको छ भने दोस्रो नम्बरमा डा. केदारनरसिंह केसीको नाम सिफारिस गरिएको छ । केसीलाई क्षेत्रले समानुपातिकको दोस्रो नम्बरमा राखेको छ । पुर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई भने प्रदेश कार्यसमितिले प्रदेशका लागि सिफारिस गरेको छ । समानुपातिकमा कृष्ण वाईवा, प्रकाश गौतम र सीता मिजारको नाम सिफारिस भएको छ । 

क्षेत्र नं. १ को प्रदेश (क) ले ४३ जनाको नाम प्रदेश उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क का कार्यबाहक सभापति उपेन्द्र दाहालका अनुसार प्रत्यक्षतर्फ पुर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, प्रमोद रिमाल, महेन्द्र थिङ, कृष्ण कुईकेल, रामेश्वर अधिकारी, नारायणप्रसाद पाण्डे, रामकृष्ण थापा, गोकर्णराज पण्डित, रामेश्वर थापा, मुकुन्दप्रसाद पाण्डे, माधवराज अधिकारी, सञ्जिब गुरुङ रहेका छन् । महिलातर्फ एक मात्र इन्दिरा अधिकारीको नाम सिफारिस गरेको छ ।

यस्तै, समानुपातिक खुल्ला तर्फ रमेशकुमार महत, डा. केदारनरसिंह केसी, बैकुण्ठ मिश्र, विषम रिमाल, अच्चुत गुरागाई, निरञ्जन थापा, प्रेमबहादुर पाठक, बिनोद शाह, हरिबहादुर दुलाल, दिनेश पण्डित, निदेश खनाल, शिवहरि बिष्टलाई सिफारिस भएको छ । खुल्ला महिलामा मञ्जुकुमारी केसी, सिता पराजुली खड्का, उमा आचार्य, अप्सरा थापा, अञ्जु आचार्य करुणा पाण्डे सिफारिस भएको छ । जनजाती पुरुषमा सुर्यबहादुर तामाङ, कविराज गुरुङ, नरेश तामाङ, दिनेश तामाङ, रामबहादुर डंगोल, सुनबहादुर तामाङ, लालबहादुर तामाङलाई सिफारिस गरेको छ । 

यस्तै जनजाती महिलामा सिर्जना तामाङ र खसआर्यमा सरोज केसी र नेमा ह्याल्मो शेर्पा सिफारिस भएका छन् । 

नेपाली काँग्रेस क्षेत्र नं. १ को (ख) प्रदेशले प्रदेशसभा सदस्यका लागि विभिन्न तहमा गरेर २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति रामजी पौडेलको सभापतित्वमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक, जनजाती र महिला गरेर २३ जनाको नाम सिफारिस गरेको हो । 

उम्मेदवार बन्नका लागि ४३ जनाले निवेदन दिएपनि २३ जनाको मात्रै सिफारिस भएको छ । प्रत्यक्षमा पार्टी सभापति रमेश महतलाई पहिलो नम्बरमा र दोश्रोमा पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई राखिएको छ । तेश्रो नम्बरमा सुकुम्बासी आयोगका अध्यक्ष तथा पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपाने सिफारिस भएका छन् । 

चौथोमा जिल्ला सचिव बैकुण्ठ मिश्रको नाम सिफारिस भएको छ । यस्तै यदुमान लामा, पशुपतिदेव पाण्डे, र ऋषिकुमार तामाङ र भाग्यश्री लामालाई प्रत्यक्षमा सिफारिस भएका छन् । 

समानुपातिकमा भने क्षेत्रिय सभापति रामजी पौडेल, शिव अधिकारी, प्रल्हाद पन्थ, उपेन्द्र मिश्र, राजु कँडेल श्रीराम ढुंगाना, उपेन्द्र कुईकेल र दिपक परियारको नाम सिफारिस भएको छ । समानुपातिक जनजातीमा कुमार गुरुङ, बिष्णुबहादुर गुरुङ र पुर्णलाल श्रेष्ठको नाम छ । महिलातर्फ भवानी देवकोटा, धनकुमारी थापा (सरु), सरस्वती मल्ल र सरिता आचार्यको नाम छ । 

नेपाली काँग्रेस नुवाकोट प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. २ को प्रदेश (क) कार्यसमितिले २१ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डेको सभापतित्वमा बसेको बैठकले नाम सिफारिस गरेको हो । 

प्रत्यक्षतर्फ नाम सिफारिस भएकाहरूमा निर्वतमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, जिल्ला सभापति रमेश महत, पुर्व जिल्ला सभापति धुव्र अधिकारी, जिल्ला उपसभापति राजु थापा, प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डे, चोकराज शाक्य, हरिकृष्ण श्रेष्ठ, यादवप्रसाद नेपाल, जयराम दाहाल, श्यामराज पाण्डे, प्रतापसिंह लामा, मोहनबहादुर खड्का, प्रदिपकुमार सेढाई, कृष्णबहादुर अधिकारी, विष्णुराज नेपाल, गोविन्द अर्याल, अर्ज‘नकुमार नेपाल, महेन्द्र थिङ, सुनिमा तामाङ, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र बेलकोटगढीका नगरसभापति लेखनाथ मुडवरी छन् । 

समानुपातिकतर्फ १५ जना सिफारिस भएको छ । जसमा बद्रीप्रसाद मुडवरी, बिन्दा थापामगर, श्रीराम श्रेष्ठ, गीता अमात्य, प्रकाश राई, दिपक लामा, अक्कलबहादुर ढुङ्गाना, हिरा पाण्डे, राजेन्द्र चित्रकार, लक्ष्मण श्रेष्ठ, अञ्जली पाण्डे, बबी रिमाल, भोजबहादुर रिमाल, सुर्दशन नेपाली र कृष्णप्रसाद पाण्डे रहेको बताइएको छ । 

क्षेत्र नं. २ को (ख) प्रदेशले प्रदेशसभाका लागि १४ जनाको नाम सिफारिस गरेको छ । सभापति गणेश लामाका अनुसार प्रत्यक्षमा पहिलो नम्बरमा क्षेत्रीय सभापति जगत लामाको नाम सिफारिस भएको छ । प्रत्यक्षमा महाधिवेशन प्रतिनिधि फैसिङ तामाङ र राजकुमार भट्टराईको नाम सिफारिस छ । समानुपातिकमा चोकराज शाक्य, सुरेन्द्रराज अधिकारी, श्री सापकोटा, विन्दादेवी अर्याल, शान्ती लामा तामाङ, सुनमाया तामाङ, गरबहादुर तामाङ, हरि श्रेष्ठ, जितेन लामा र कृष्ण नेपालीको नाम सिफारिस भएको छ । 

प्रत्यक्षमा तामाङ, समानुपातिमा केसी

विदुर । नेपाली काँग्रेस क्षेत्र नं. २ ले काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङसहित अन्य दुई जनाको नाम सिफारिस गरेको छ । 

शुक्रवार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहित राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाङको नाम सिफारिस गरेको हो । प्रत्यक्षबाट क्षेत्र नं. २ मा चुनाव उठ्ने इच्छा व्यक्त गर्दै आएका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई भने क्षेत्रिय समितिले समानुपातिकमा राखेको छ । केसी पछि धुव्र अधिकारी र रुक्मिणी सेढाईको नाम समानुपातिकमा सिफारिस गरेको छ । 

सहकारी संघको उप समिति

 

ढिकुरे । जिल्ला सहकारी संघ नुवाकोटको लिखु गाउँपालिकामा समन्वय उप समिति गठन भएको छ । 

शुक्रवार आयोजित कार्यक्रममा बिवेक ढकालको संयोजकत्वमा ११ सदस्यीय लिखु सहकारी संघ समन्वय उपसमिति गठन भएको हो । सचिवमा रामप्रसाद ढकाल, र सदस्यहरूमा रामशरण थापा, जनक थपलिया, बासु थापामगर, दीपककुमार पन्त, रामेश्वर अगस्ती, रामप्रसाद न्यौपाने, संगीता घिमिरे, बाबुकृष्ण डंगोल र अनन्त गुरूवाचार्य छन् । 

समन्वय उप समितिमा लिखु गाउँपालिका कार्यक्षेत्र रहेका २७ सहकारी संघसंस्थाहरूको प्रतिनिधित्व रहेको छ । 

उप समिति गठनका लागि आयोजित भेलामा लिखु उपसमितिले प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो । लिखु गाउँपालिका भित्रका सहकारी संस्थाका अध्यक्ष तथा ब्यवस्थापकहरूलाई तालिम दिइएको संयोजक ढकालले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गोकणनाथ न्यौपानेले संघीयताको मर्म अनुसार जिल्ला सहकारी संघले स्थानीय स्तरमा समेत उप समिति गठन गर्न थालेको बताएका छन् । स्थानीय स्तरका सहकारीहरूका सम्भावना र समस्याका विषयमा नजिकैको समिति बढी जानकार र दत्तचित्त हुने उल्लेख गर्दै अध्यक्ष न्यौपानेले यसरी पालिका स्तरमा गठन हुने समन्वय उपसमितिहरू सहकारीहरूलाई थप बलियो पार्ने बताएका छन् । 

कार्यक्रममा लिखु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछाने, वडा अध्यक्ष नरहरी पाण्डे, सहकारी विज्ञ पुष्कर शर्मा रिमाल पार्वती उप्रेतीको सहभागिता रहेको थियो । 

मौखिक थपियो म्याद

खरानीटार–उर्लेनी सडक अन्र्तगतको डाँडागाउँको सडक अवस्था । तस्बिर : इमेज फाइल

खरानीटार । कार्यपालिका बैठकले ठेक्काको निर्धारित समयभित्र सम्झौता बमोजिमको काम नगर्ने ठेक्काहरूको हकमा म्याद नथप्ने गरी निर्णय गरेपनि तादी गाउँपालिका अध्यक्षले मौखिम रुपमा निर्माण ब्यवसायीलाई काम लगाएको पाइएको छ । 

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आफु निकट दलका निर्माण ब्यवसायी जोडिएको कामलाई मौखिम रुपमा म्याद थप गरेर असोज मसान्तसम्म पु¥याएका छन् । तादी गाउँपालिका वडा नं. ३ को खरानीटार–डाडाँगाउँ सडक योजनालाई अध्यक्ष तामाङले ‘मौखिक म्याद’ गरेका हुन् । कार्यपालिकाको निर्णय विपरित उक्त कार्य भएको भन्दै कार्यपालिका सदस्यहरूले एकमुष्ठ रुपमा विरोध जनाइरहेको भएपनि निर्माण ब्यवसायीले आफ्नो कागजी प्रक्रिया समेत पुरा गरिसकेको छ ।

बागमती प्रदेशबाट समपुरक बजेटमा निर्माण आरम्भ भएको उक्त सडकमा अहिले ५० देखि ५४ प्रतिशत मात्रै काम भएको छ । खरानीटार–डाडाँगाउँ–टुटुङ–उर्लेनी सडकखण्ड अन्र्तगतको खरानीटार डाँडागाउँको एक किलोमिटर क्षेत्रका लागि गाउँपालिकाका दुई करोडको ठेक्का निकालेको थियो । प्रदेश सरकार र गाउँपालिकाले आधाआध रकम ब्यहोर्नुपर्ने उक्त योजनामा पछिल्लो समय निर्माण ब्यवसायीले हातै हाल्न छाडेको छ । काठमाडौं उपत्यकाको थ्रिडिआई कन्ट्रक्सनले एक करोड दुई लाख रुपैयाँमा उक्त ठेक्का लिएको हो । सो ठेक्का काँग्रेस बागमती प्रदेश सदस्य प्रमोद रिमाल (तादी गाउँपालिकावासी) का छोरा प्रभाकर रिमालले हेरिरहेका छन् । उनी उक्त कम्पनी सञ्चालक भने होइनन् । यही ठेक्काका लागि यो कम्पनीलाई गाउँपालिका भित्र्याएका हुन् । 

२०७८ सालको चैतमा सक्नुपर्ने कामको प्रगती निराशाजनक भएपछि गाउँकार्यपालिकाले म्याद नथप्ने गरी निर्णय गरेको एक कार्यपालिका सदस्यले बताए । त्उबेला समेत अन्तिम पटक भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्यले असार मसान्तसम्मका लागि तीन महिना म्याद थप गरेको थियो । तर चुनावको अबधी र वर्खा भन्दै ठेकेदारले एक साबेल माटो पनि उत्त सकडमा खोतलेन । अहिले भने गाउँपालिका अध्यक्ष सन्तमान तामाङले काम गर्नु भनेर मौखिक आदेश दिएको र सोही आदेश अनुसार म्याद थप भएर काम थालेको निर्माण ब्यवसायीले जनाएका छन् । 

थ्रिडिआई कन्ट्रक्सनका दिनेश चौलागाइँका अनुसार गाउँपालिकाबाट बैंक ग्यारेण्टी जम्मा गर्न असारमसान्तमा पत्र काटिएको छ भने गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ र प्राविधिक शाखाबाट फोन गरेर काम गर्दै गर्नु भन्ने खबर आएको छ । उनका अनुसार असोज मसान्तसम्म योजनाको म्याद थप भएको छ । ‘हामीले असोजसम्मका लागि बैंक काम गर्ने अवधी पाएका छौं, बैंक गयरेन्टी पनि बुझाएका छौं’ उनले भने । उनका अनुसार कामका लागि म्याद थप भएको पत्र गाउँपालिकाबाट आउन बाँकी रहेको छ । 

प्राविधिक शाखाका प्रमुख ईञ्जिनियर सन्तु तामाङले समेत कार्यालयको तर्फबाट म्याद थपको पत्र निर्माण ब्यवसायीलाई नगएको बताएका छन् । उनका अनुसार बैंक ग्यारेन्टीका लागि मात्रै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत आचार्यले पत्र काटेका हुन् । ठकेकेदारसंग आवश्यक कागजपत्र गाउँपालिकाबाट माग भएको भन्दै साउन पहिलो साता प्राविधिक शाखामा आइपुगेको छ । ‘मैले उक्त सडकको टिप्पणी चाँही उठाएर राखेको छु, काम ५० प्रतिशत मात्रै भएकोले कार्यपालिकाबाट म्याद थप गर्ने निर्णय नभएकोले मैले टिप्पणी सदरको लागि माथी पठाएको छैन’ ईञ्जिनियर तामाङले भने । 

सरुवा भई हाल अर्थ मन्त्रालयमा रहेका अघिल्लो प्रमुख प्रशासकीय अधिकृत  आचार्यले समेत आफुले उक्त ठेकेदारलाई म्याद थपको पत्र नपठाएको बताए । बिहीवार यस प्रतिनिधिसंग टेलिफोनमा कुराकानी गर्दै आचार्यले बैंक ग्यारेण्टीका लागि मात्रै आफुले पत्र लेखेको र अबधी बढाउनका लागि म्याद थपको पत्र आफुले नपठाएको बताए । ‘कार्यपालिकाले म्याद थप गर्ने निर्णय नगरिकन मैले कसरी म्याद थपको पत्र पठाउन मिल्छ र’ उनले भने । 

तर गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने ठेकेदारले काम गरिरहेको र गाउँपालिकाबाट पत्र गएको दावी गरेका छन् । उनले आफुबाट मैखिक आदेश नभएको र कर्मचारीको तर्फबाट गर्नुपर्ने काम पुरा भएर नै ठेक्काले निरन्तरता पाएको दावी गरेका छन् । साथै उनले गाउँपालिकाको बैठकमा ठेक्काको म्याद नथप्ने गरी कुनै निर्णय नभएको पनि जिकिर गरेका छन् । 

तर, तादी गाउँकार्यपालिकाको मिति २०७९ असार २४ गते बसेको १३१ औं बैठकमा उक्त निर्णय भएको एक वडा अध्यक्षले बताएका छन् । एउटा मात्रै बुँदामा छलफल भएको उक्त बैठकमा वडा नं. १ का अध्यक्ष नकुरदोङ तामाङ बाहेक (बैठकमा अनुपस्थित) सबैको सहमती रहेको थियो । ठेक्काको म्याद थप सम्वन्धमा बसेको सो बैठकको निर्णयमा लेखिएको छ– ‘निर्धारित समयभित्र ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गर्न नसक्ने ठेक्काहरूको हकमा श्रोतको सुनिश्चितताको अभाव समेत रहेको कारण ऐन तथा नियमावलीको परिधिभित्र रही आवश्यक प्रक्रिया अवलम्व गर्ने निर्णय गरियो ।’ यही निर्णय अनुसार पनि उक्त ठेक्काको म्याद थप नहुने देखिन्छ ।  ‘तर गाउँपालिका अध्यक्षले असार २४ गते नै बेलुका फोन गरेर कार्यपालिकाले दिउँसो गरेको निर्णय गलत भएको र जसरी पनि ठेक्काको म्याद थप गर्नुपर्यो भनेर सबै कार्यपालिका सदस्यहरूलाई फोन गरेका थिए’ एक वडा अध्यक्षले भने । उनको सो प्रस्तावलाई उनी निकट (काँग्रेका) वडा अध्यक्षले समेत अस्विकार गरेका थिए ।

गाउँपालिका अध्यक्ष तामाङ भने ठेक्का सम्झौता तोड्नका लागि गर्नुपर्ने कानूनी प्रक्रियामा कार्यालय ढिलो भएका कारण सम्झौताको म्याद थप्नु पर्ने बाध्यता रहेको बताउछन् । ‘१५ दिने सूचना दिएर सम्झौता भंग गर्नुपर्नेमा एकैपटक कार्यपालिका बैठकले म्याद नथप्दा गाउँपालिका कानूनी रुपमा तल पर्ने देखियो’ तामाङले भने । 

तर उनले मद थप गर्नका लागि पहिल्यै देखि योजनाबद्ध काम गरको आरोप अन्य कार्यपालिका सदस्यहरूको छ । असार २४ भन्दा अघिल्लो कार्यपालिका बैठकको एजेण्डामा त्यस विषयलाई समावेश नगर्ने, समयमै सूचना ननिकाल्ने र असार मसान्तमै बैंक ग्यारेण्टीका लागि पत्राचार गर्न लगाउने घटनाक्रमले उनी म्याद थप गर्ने खेलमा सुरुदेखिनै थिए भन्ने बुझ्न सकिने एक वडा अध्यक्षले बताएका छन् ।  

बैठक नै अबैध बनाउने प्रयास

खरानीटार । तादी गाउँ कार्यपालिकाको बैठकको ‘क्लोज’ अध्यक्षले हस्ताक्षर गरेर गर्ने प्रावधान रहेको छ । कम्युटर प्रिन्ट गरेर रजिष्टरमा टाँसिने माइन्युटको पहिलो पानामा उपस्थिति मात्रै र दोश्रो पानादेखि प्रस्ताव र निर्णयहरू लेखिने चलन छ । कार्यपालिका सदस्यहरूको उपस्थितिमा हस्ताक्षर गर्ने र निर्णय पुस्तिका (माइन्युट) को अन्त्यमा गाउँपालिका अध्यक्षले मात्रै हस्ताक्षर गर्ने चलन रहेको छ । तर ठेक्काको म्याद थप गर्ने सम्बन्धमा बसेको बैठकको निर्णयमा अध्यक्षले हस्ताक्षर गरेका छैनन् । 

अध्यक्षले हस्ताक्षर नगर्दा बैठकले मान्यता नपाउने र निर्णय कार्यान्वयन नहुने भएकै कारण यो तरिका गाउँपालिका अध्यक्षले अपनाएको एक कार्यपालिका सदस्यले बताए । अघिल्लो आर्थिक वर्षमा कार्यपालिकाले गरेका निर्णयहरूको अध्ययन र त्यसको कार्यान्वयनको अवस्था बुझ्न एक कार्यपालिका सदस्यले बैठकको निर्णय फोटोकपी गरेर लिदा मात्रै उक्त बैठकको ‘क्लोजिङ’मा अध्यक्षको हस्ताक्षर नभएको पत्ता लागेको हो । ‘हामीलाई त जानकारी हुने कुरा पनि भएन, कार्यपालिका बैठकको क्लोजिङ नभएको देखेपछि ठेक्काहरूको खोजीनीति गर्न थाल्दा खरानीटार–डाँडागाउँ सडकलाई म्याद थप भएको जानकारी पायौं’ ति कार्यपालिका सदस्यले भने । उनका अनुसार कार्यपालिकाको बैठकको निर्णय भन्दा विपरित अध्यक्षले गरेको कार्यको विरोध भइरहेको छ । भुक्तानी दिन कार्यपालिकाले निर्णय गर्नुपर्ने भएकोले समस्या हुने उनले बताए । 

उक्त बैठकको निर्णयको अन्त्यमा अहिले (आइतवार दिउँसो) सम्म गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेका छैनन् । 

यसरी सभाअध्यक्षका भुमिकामा रहेको गाउँपालिका अध्यक्षले बैठक पुस्तिकाको अन्त्यमा हस्ताक्षर नै नगरी बैठकलाई अबैध बनाउन थालेपछि गएको हप्ता बसेको कार्यपालिका बैठकमा हङ्गामा भएको छ ।  असार २४ गतेपछि एक्कैपटक भदौ ९ गते १३२ औं बैठक बसेको हो । उक्त बैठकमा कार्यपालिका सदस्यहरूले निर्णयको अन्त्यमा अध्यक्षले हस्ताक्षर नगरेसम्म आफुहरूले उपस्थिति नै नजनाउने अडान लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले अब त्यस्तो हुन नदिने र अर्को बैठकदेखि निर्णयको अन्तिम रुप देखाएर÷सुनाएर मात्रै कार्यपालिका सदस्यहरूलाई विदाई गर्ने प्रतिबद्धता जनाएका छन् । 

पहिलो पानामा उपस्थिति सदस्यहरूको हस्ताक्षर हुने र अरु पानामा अध्यक्षको एक्लैको हस्ताक्षरमा प्रस्ताव र निर्णयहरू लेखिदा अध्यक्षको अनुकुल र आवश्यकता अनुसार निर्णय परिवर्तन गरेर पुनः कम्प्युटर प्रिन्टलाई रजिष्टरमा टाँस हुनसक्ने आशंका समेत कार्यपालिका सदस्यहरूले गर्न थालेका छन् ।    

खानेपानीमा दुई गठबन्धनबीच भिडन्त

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि सुरु भएको चुनावी सरगर्मी बढेको छ । शनिवार उम्मेदवारी दर्ता गराएर २० जना उम्मेदवारहरू उपभोक्ताको घरदैलोमा दौडधुप गरिरहेका छन् ।

संस्थाले आफ्नो नवौं बार्षिक साधारण सभा आज सोमवार विदुर स्थित जिल्ला समन्वय समितिको सभाहलमा राखेको छ । नयाँ कार्य समिति गठनका लागि हुने आठौं अधिवेशन अन्र्तगतको निर्वाचन भदौ २२ गते हुने संस्थाका कार्यालय प्रमुख राजकुमार तिमल्सिनाले जानकारी दिएका छन् । 

यस पटकको नेपाली काँग्रेस–माओवादी केन्द्र र एकीकृत समाजवादीको एक समुह चुनावी प्रतिस्पर्धामा देखिएको छ । त्यस्तै नेकपा एमाले र राप्रपा एक समुहमा प्रतिस्पर्धा गर्न लागेका छन् । दुई जनाले उपाध्यक्ष र सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी पनि दर्ता गरेका छन् ।

काँग्रेस–माओवादी–समाजवादी गठबन्धनबाट छत्रराज डंगोल अध्यक्षको उम्मेदवार बनेका छन् । उनी नेपाली काँग्रेसका हुन् । उपाध्यक्ष पदका उम्मेदवार नवराज न्यौपाने शनिवारनै एमाले परित्याग गरी उक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् । सचिवमा एकीकृत समाजवादीका नरेशबहादुर डंगोल, कोषाध्यक्षमा माओवादी केन्द्रका रविता भट्ट उम्मेदवार छन् । दुई महिला सदस्यहरूमा शुसिला पौडेल र शान्ती श्रेष्ठ, खुल्ला सदस्यमा राजेन्द्र सापकोटा, रामजी भट्ट र पदमकान्त न्यौपाने काँग्रेस–माओवादी–समाजवादी गठबन्धनबाट उम्मेदवार छन् ।

नेकपा एमाले र राप्रपाको गठबन्धनबाट सञ्जिबबहादुर श्रेष्ठ अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उपाध्यक्षमा राप्रपाका महेशकुमार डंगोल उम्मेदवार छन् । बाँकी सबै पदमा यो गठबन्धनबाट एमालेका उम्मेदवार छन् । सचिवमा राजेन्द्र पाण्डे, कोषाध्यक्षमा अम्बिका चित्रकार खनाल, महिला सदस्यहरूमा बिष्णुमाया डंगोल र सीता अधिकारी उम्मेदवार छन् । त्यस्तै खुल्ला सदस्यहरूमा लबप्रसाद न्यौपाने, कृष्णप्रसाद भट्ट र दीपकबहादुर तिम्सिना छन् । 

यी दुई प्यानल बाहेक पनि उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष पदमा मुरारी नेपालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । कार्य समितिको सदस्य पदका लागि बिमल खड्काले समेत स्वतन्त्र रुपमा उम्मेदावारी दिर्ता गराएका छन् ।

दुई प्यानलमा विभाजन भएर दर्ता भएको उम्मेदवारीको आधारमा काँग्रेस–माओवादी–समाजवादी गठबन्धनमा नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य उठाएको छ । त्यस्तै सोही प्यानलबाट माओवादीले कोषाध्यक्ष र एक सदस्य गरी दुई जना उठाएको छ । समाजवादीका तर्फबाट सचिव र एक सदस्य गरी दुई जनाको उम्मेदवारी परेको छ ।

 अर्को गठबन्धन एमाले–राप्रपामा भने राप्रपाले उपाध्यक्ष एक सिट र बाँकी आठ सिटमा एमालले उम्मेदवारी दिएको छ ।

औषधिको पैसा गोलमाल


खरानीटार । खरानीटार अस्पतालमा औषधि उपलब्ध गराउने एक सप्लायर्स् झण्डै ५ वर्षदेखि आफुले भुक्तानी पाउनु पर्ने रकम खोजीकै गोलचक्करमा परेको छ । 

अस्पताल विकास समिति र समय–समयका कर्मचारीहरूले एकर्कालाई देखाएकै भरमा तीन लाख रुपैयाँ भन्दा बढी अस्पतालबाट भुक्तान भएरपनि सप्लायर्स्को हातमा नपरेको तथ्य बाहिर आएको छ । बट्टारस्थित सापकोटा मेडिकल हलले ९ भदौ, २०७९ मा तादी गाउँपालिकाको कार्यालयमा रकम उठाउन सहयोग माग्दै निवेदन दिएपछि घटना सार्वजनिक भएको छ । 

तत्कालिन बेलामा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको खरानीटार अस्पतालमा सञ्चालन भएको ‘ड्रग स्क्याम’ कार्यक्रम अन्र्तगत सापकोटा मेडिकल हलले २०७४ सालदेखि पटक पटकगरी झण्डै छ लाख रुपैयाँको औषधि पठाएको थियो । त्यस मध्ये दुई पटक गरी साढे दुई लाख रुपैयाँ मात्रै भुक्तान भएको सञ्चालक प्रेमकुमार सापकोटा बताउछन् । अस्पतालले मेडिकल हललाई तीन लाख १८ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ । २०७४ मंसिरमा १ लाख ८४ हजार र २०७८ बैशाखमा ८७ हजार रुपैयाँ लिएका उनलाई अस्पतालका कर्मचारीले भुक्तानीका लागि विकास समितिलाई चार लाख जिम्मा लगाएको बताएका छन् । 

तत्कालित अस्पताल ईञ्चार्ज, कर्मचारीहरूले अस्पताल विकास समितिलाई औषधिको रकम तिर्नका लागि चार लाख रुपैयाँ छाडेर समायोजनमा अन्यत्र गएको बताएका छन् । 

लामो समयदेखि तत्कालिन गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, तत्कालिन अस्पताल  विकास समितिका अध्यक्ष मनोज उप्रेती (पुर्व वडा अध्यक्ष), गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक बिनोदराज खरेल लगायतलाई पटक पटक हारगुहार गरेको भएपनि औषधि बेचेको रकम हात पार्न नसकेको सापकोटाले बताए । 

तत्कालिन अस्पताल ईञ्चार्ज डा. इशु पोखरेल, अस्पतालका कर्मचारीहरू विनोद शाह (हाल तारकेश्वर नपा काठमााडौं) र हेमनारायण महतो (हाल पञ्चकन्या गापा नुवाकोट) ले अस्पताल विकास समितिका अध्यक्षलाई चार लाख रुपैयाँ छाडेर आफुहरू समायोजन भई अन्य कार्यालयमा सरुवा भएको बताएका छन् । अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष मनोज उप्रेतीले भने यस विषयमा आफुलाई जानकारी नभएको र सापकोटा मेडिकललाई दिनु भनेर कर्मचारीहरूले रकम नछाडेको बताएका छन् । 

‘उनीहरूले मलाई रकम बुझाएको केही प्रमाण छैन, बरु तिर्नु पर्ने चाँही ४/५ लाख रुपैयाँ माइन्युटमा चाँही देखाएको छ’ उप्रेतीले भने । समायोजन भएर हिडेकै कर्मचारीहरूले औषधिको उक्त रकम लिएर हिडेको उनको दावी छ । आफुलाई हिसाव मात्रै देखाएको भन्दै उप्रेतीले अघिल्लो अध्यक्ष वा पछिल्लो अध्यक्षले हिनामिना गरेको भए आफ्नो जानकारीमा नभएको र कुनै टिप्पणी नगर्ने बताए । 

स्वास्थ्य केन्द्र अस्पतालका रुपमा परिणत भएपछि गाउँपालिकाका अध्यक्ष समितिको अध्यक्ष हुने व्यवस्थाका कारण उप्रेती भने छ महिनामै अध्यक्षबाट हटेका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे अस्पतालको अध्यक्ष भएका थिए । मनोज उप्रेती भन्दा अघि अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा मकरराज उप्रेती थिए ।  

नुवाकोट क्षेत्र नं. १ को विषय प्रचण्डको टेबुलमा

विदुर । काँग्रेस–माओवादी गठबन्धन हुँदा आसन्न संघीय निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ कसले लिने भन्ने चासो र चिन्ता राजनीतिक दलको केन्द्रीय तहसम्म पुगेको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले क्षेत्र नं. १ बाट चुनाव उठ्ने घोषणा गरेपछि माओवादी केन्द्रका नेताहरू अघिल्लो हप्ता अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुले जितिरहेको निर्वाचन क्षेत्र नछाड्ने र यस विषयमा काँग्रेसका सभापति शेरबहादुर देउवासंग नै कुरा हुने बताएका छन् । 

‘हामी अध्यक्षलाई भेट्न उहाँको निवासमा पुगेको हौं, उहाँले नुवाकोटको क्षेत्र नं. १ काँग्रेसलाई नदिने कुरामा हामीलाई आश्वस्त पार्नुभएको छ’ हितबहादुर तामाङले भने । भेटका क्रममा प्रचण्डले वाग्मती प्रदेशको बलियो निर्वाचन क्षेत्र मध्येका नुवाकोटको १ नंं पनि रहेकोले त्यस्तो नहुने बताएका छन् । पार्टीको समसामयिक विषय छलफलका लागि अध्यक्षकहाँ पुगेको बेला यो विषयमा पनि कुरा उठेको तामाङले बताए । ‘क्षेत्र नं. १ हामीलाई चाहियो भन्न अध्यक्षको निवासमा पुगेको हैनौं, कुराकानीको क्रममा प्रसङ्ग चलेको हो ।’ उनले भने

क्षेत्र नं. १ मा काँग्रेसबाट डा. प्रकाशशरण महतले माओवादीसहितको गठबन्धनबाट टिकट लिने हल्ला चलिरहेकै बेला नुवाकोटमा माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसँग भेटेर आफ्नो निर्वाचित क्षेत्रहरू कायम राख्न आग्रह गरेका हुन् । प्रचण्डले नुवाकोट निर्वाचन क्षेत्र नं. १ का विषयमा जिल्ला पार्टी र यसअघि जितेको नाताले पनि आफूसँग सल्लाह नगरी निर्णय नलिई नबोल्ने बताएको सांसद तामाङले बताएका छन् । सांसद तामाङ, माओवादी केन्द्र नुवाकोट इञ्चार्ज विमला सुवेदी, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्र वाग्मती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुंगाना, नुवाकोट संयोजक पुष्प लामिछाने प्रचण्डको निवास खुमलटार पुगेका थिए । 

केही दिनअघि काँग्रेसका नेता डा. महत समेत प्रचण्डलाई भेट्न उनको निवासमा पुगेका थिए । क्षेत्र नं. १ मा आफुलाई उम्मेदवार बनाउनका लागि प्रस्ताव दिएर गएका महतलाई प्रचण्डले ‘सल्लाह गरौंला’ भनेर फर्काएका थिए । 

बाढीपहिरोबाट नुवाकोटमा ४० करोडको क्षती

साउन अन्तिम साता दुप्चेश्वरमा बाढीले पु-याएको क्षतीको अवलोकन गर्दै । फाइल तस्बिर 

विदुर । प्राकृतिक प्रकोेपका कारण नुवाकोटको नौं स्थानीय तहमा झन्डै ४० करोडको क्षती पुगेको छ । 

नुवाकोटको तादी, विदुर, शिवपुरी, दुप्चेश्वर, लिखु, शिवपुरी, तारकेश्वर, पञ्चकन्या, किस्पाङ र सूर्यगढी गाउँपालिकामा बाढीपहिरोले साउनमा ठूलो क्षती पु-याएको छ । ति पालिकाहरूमा नागरिकका घरजग्गा, पशुचौपाया, निजी तथा सार्वजनिक संरचनामा क्षती पु-याएको छ । 

दुप्चेश्वरको वडा नम्बर १ देखि ६ सम्म ३ सय ४ धुरी जोखिममा परेका छन् । विदुरमा ३८, तादीमा २४, किस्पाङमा १३, शिवपुरीमा ८ सूर्यगढीमा ६ र तारकेश्वरमा २ घरधुरी उच्च जोखिममा परेको प्रतिवेदन तयार भएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । उनका अनुसार बढी क्षती दुप्चेश्वर गाउँपाकिलामामा पुगेको छ । त्यहाँ १ हजार ४७८ रोपनीमा लगाएको करिब १ करोड मूल्य बराबरको धानबाली नष्ट भएको छ । ४५ वटा सिँचाइ कुलो र ३२ वटा खानेपानी योजनामा क्षती पुगेको छर ।

दुप्चेश्वरको समुद्रटारदेखि सानो गोल्फु भन्ज्याङ सम्मका विभिन्न स्थानमा करिब ४ किलोमिटर सडकमा क्षती पुगेको छ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले हाल पनि समय समयमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै नागरिकलाई सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यकता रहेको बताए । 

विदुर नगरपालिकाको वडा नं. ५, ७, १० र ११ मा १ सय १५ रोपनीमा लगाइएको धानबालीमा क्षती पुगेको छ भने ५ वडा पसल नष्ट भएका छन् । सडक, खानेपानी र सिँचाइ कुलो गरी २४ ठाउँमा क्षती पुगेको छ । लिखुको १ देखि ६ वडामा ४४ सिँचाइ कुलो योजना नष्ट भएका छन् । 

किस्पाङ गाउँपालिकाको नेलगाउँ, पैरेबेंसी र पुरानोगाउँ र सातदोबाटे बढी जोखिममा छन् । बाढीपहिरोले सूर्यगढीको १ देखि ५ वडासम्म सडक, खानेपानी र सिँचाइ कुलो गरी २४ वटा योजनामा क्षती पुगेको छ । तादीको वडा २ देखि ४ सम्म सिँचाइ कुलो, ४ वटा कृषि फार्म र ५ सय रोपनी खेतमा लगाइएको धानबाली नष्ट भएको छ ।

तादीखोलामा निर्माण भएका ४ वटा पुलमा पनि बाढीले क्षती पु-याएको छ । पञ्चकन्या–२ र तादी–६ जोड्ने पुल, तादी–४ र पञ्चकन्या–४ जोड्ने सातबिसेको पुल र भ्याङ्लेको पुलमा क्षती पुगेको हो । दुप्चेश्वर गाउँपालिकामा मात्रै सडक, खानेपानी, सिँचाइ कुलो र संरक्षणमा गरी १० करोड रुपैयाँभन्दा बढी रकमको क्षती देखिएको छ । विदुरको ५, ७, १० र ११ वडामा गरी ८ करोड बराबरको क्षती भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, पञ्चकन्यामा पनि १ वडादेखि ५ सम्ममा ६० रोपनीमा लगाइएको धानबाली नष्ट भएको छ । शिवपुरीको ५, ६ र ८ वडाका सडक, खानेपानी र सिँचाइ कुलो गरी १४ वटा ठाउँमा क्षती पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पुल मर्मत र भत्किएका सडकमात्रै बनाउन ११ करोड रुपैयाँ लाग्ने सरोकारवाला निकायले हिसाव निकालेको छ । दुप्चेश्वरका विभिन्न वडाका गरी २९ घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिले टेन्ट र ४० धुरीलाई त्रिपाल र रेडक्रसले खाना पकाउनेलगायतका हाइजेनिक किट प्रदान गरेको प्रजिअ रिसालले बताए । 

दसैंको सामान नेपाल छिर्न पाएन

रसुवा । बाढी, पहिरो र कोभिडको बहाना बनाउँदै चिनियाँ पक्षले रसुवागढी नाका खोल्ने र बन्द गर्दा नेपाली व्यवसायीले पैसा तिरेर ल्याएको अर्बौँको सामान अलपत्र परेको छ । चीनको तानाशाही र हेपाहा नीतिले गर्दा विगतदेखि नै चीनप्रति सकारात्मक रहँदै आएका नेपाली अहिले चीनप्रति नकारात्मक बन्न थालेका छन् । नेपालको चीनतर्फको दुई नाका रसुवागढी र तातोपानी सञ्चालनमा चिनियाँ पक्षले जालझेल गर्दा नेपालीको चीनलाई हेर्ने सोचाइमा परिवर्तन आएको छ । अझ नुवाकोट र रसुवावासीको त चीनप्रति नकारात्मक भावना पैदा हुँदै गएको छ ।

चीनले भूकम्पपछि नुवाकोट दरबारलगायत पुरातात्विक महत्वका भवन पुनर्निर्माण गर्ने भनेर ओगटेर राखिरहेको छ । उक्त दरबार भारत सरकारले बनाइदिने भनेको थियो । चीनको कारणले हालसम्म नुवाकोट दरबार फलामको टेको दिएर त्रिपालले छोपेर राखिएको छ । 

त्यसैगरी, नुवाकोट–काठमाडौं जोड्ने छहरे–टोखा सुरुङमार्ग पनि अनुदानमा सर्भे गरी निर्माण गर्ने भनेर ओगटेर राखेको तीन वर्ष बितिसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजनाको स्याफ्रुबेँसी–रसुवागढी खण्ड निर्माण गर्ने सम्झौता गरेर ६ वर्षदेखि काम अगाडि बढाएको छैन । उक्त सडकखण्ड चीनकै कारणले अरू देशले सहयोग गर्न पाएको छैन । 

भूकम्प र कोरोनाको बहाना बनाएर चीनले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका विगत सात वर्षदेखि सहज रूपले सञ्चालन हुन दिएको छैन । यो नाका सञ्चालनमा चीनले अवरोध गर्दा नेपाली व्यवसायीले लगानी गरी आयात गरिएको अर्बौँ रुपैयाँको सामान बाटोमै अलपत्र भइरहेको छ । बाटोमै सामान अलपत्र भएको कारण साना र मझौला धेरै व्यवसायी पेसाबाट पलायन भएका छन् भने सयौँ व्यवसायी टाट पल्टेका छन् । 

रसुवा र तातोपानी नाकाबाट आउने सामान भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्र्याउँदा व्यापार लागत प्रतिकन्टेनर एक हजार अमेरिकी डलरसम्म बढी पर्ने गरेको छ । रसुवागढी बाट १५ दिनमा नेपाल आइपुग्ने सामान भारत हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने गरेको व्यवसायीले बताएका छन् । उत्तरी नाकाबाटै सामान ल्याउँदा तुलनात्मक रूपमा सस्तो र कम समय पर्ने भएकाले पनि व्यवसायीले सकेसम्म रसुवागढी नाकानै रोज्ने गरेको रसुवा भन्सार कार्यालय प्रमुख नारायण प्रसाद मैनालीले बताए । 

तर, नाका अनियमित हुँदा भने व्यापार प्रभावित भइरहेको छ ।

रसुवा भन्सार कार्यालय प्रमुख मैनालीले नेपालका आयातकर्ताले मगाएको मालवस्तु रूटमै रहेको बताउनु भयो । तर, नाका बन्द हुँदा ती सामग्री नेपाल भित्रिने विषय अनिश्चित छ । नाका औपचारिक जानकारी नदिई बन्द भएकाले कहिले खुल्छ भन्ने एकिन मिति रहेको छैन् । दैनिक सरदर १० ट्रक सामग्री भित्रिने रसु्वागढी नाकामा नेपालले मगाएका एक सय ५० ट्रक सामग्री चीनतर्फ अड्किएको छ ।

चीनले कोभिड संक्रमण बढेको भन्दै ३ सातादेखि नाका पूर्ण रूपमा बन्द गराएको छ । यसले गर्दा दसैँका लागि मगाइएको सामान चीनतर्फ अड्किएको छ । दसैँका लागि मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका कच्चा पदार्थ, विद्युतीय सामग्रीलगायत सामान सिगात्से, खासा तथा केरुङमा अड्किएका छन् । 

तामाङ मुक्ती मोर्चाको अध्यक्षमा सोमबहादुर

विदुर । तामाङ राष्ट्रिय मुक्ती मोर्चाको नुवाकोट अध्यक्षमा सोमबहादुर तामाङ चयन भएका छन् । शनिवार भएको जिल्ला भेलाले तामाङको अध्यक्षमा ५५ सदस्य जिल्ला कमिटि गठन गरेको हो । उपाध्यक्षहरूमा ज्ञानबहादुर तामाङ, बच्चुराम तामाङ, र सानुमाया तामाङ सचिवमा सुरज तामाङ, सहसचिवहरूमा कमल तामाङ, भिम तामाङ र हिरा तामाङ, कोषाध्यक्षमा लालबहादुर तामाङ, सहकोषाध्यहरूमा दावाछिरिङ तामाङ र उर्ची निर्वाचित भए । 

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, माओवादी केन्द्रका नुवाकोट इन्चार्ज बिमला सुवेदी, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, मोर्चाका वाग्मती अध्यक्ष सोमबले तामाङ लगायतको उपस्थिति थियो । 

नवनिर्वाचित अध्यक्ष सोमबहादुर तामाङले मोर्चाको थप प्रभावकारिताका लागि गाउँगाउँमा संगठन विस्तार गरी समुदायको हक अधिकार र पहिचान स्थापित गराउन लागिपर्ने बताएका छन् ।

शेयर सदस्यसंग व्यवसायिक प्रस्ताव माग


विदुर । नुवाकोटमा स्थापना भई बागमती प्रदेश कार्यक्षेत्र रहेको सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष विष्णुराज नेपालको सभापतिमा सम्पन दोश्रो साधारण सभामा प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले कार्यक्रमको उद्घाटन गदै सहकारीले जिल्लामा रहेका निष्किृय पुजीँलाई परिचालन गर्दै जिल्लाका युवाको रोजगार बृद्धि, कृषिमा लगानी, व्यापार व्यवसायलाई यस सहकारीले महत्वपूण भुमिका खेल्नुपर्ने बताएका छन् ।  

जिल्ला समन्वय समितिका उप प्रमुख दलबहादुर तामाङले सहकारीले गरिव निमुखाहरूको जिवनस्तरमा सुधार हुने, रोजगारीमा बृद्धि हुने र सहकारीको मर्म र भावना अनुसार कार्य गदै लैजानुपर्ने बताए । 

बेलकोटगढी नगरपालिका उपप्रमुख तथा यस संस्थाका संस्थापक शेयर सदस्य शिवप्रसाद दहालले यस सहकारीले बचत तथा ऋणमा मात्र कारोबार नगरी अन्य विभिन्न क्षेत्रहरू जसमा शुलभ पसल, व्यवसाय, कृषिमा पनि लगानी गर्दै लानुपर्नेमा जोड दिएका छन् ।

सहकारीका अध्यक्ष विष्णुराज नेपालले आव २०७८।७९ को प्रगति आय र व्याय प्रस्तुत गरेका थिए । १८० जना शेयर सदस्य रहेको सो सहकारीको कुल शेयर पुँजी रकम  एक करोड ६३ लाख ४४ हजार छ । सहकारीले ३९ जना शेयर सदस्यलाई एक करोड ८५ लाख ऋण लगानी गरेको छ ।

सहकारीको अघिल्लो वर्ष ५९ हजार नाफा गरेको छ । सहकारी संस्थाका शेयर सदस्यलाई स्वरोजगार उन्नमुख, आर्थिक उपार्जन, जीविकोपार्जनलाई प्रशय दिनकोलागि विभिन्न नीति र कार्यक्रम समेत सभामा प्रस्तुत भएको छ । स्थानीय स्तरमा उत्पादन हुने विभिन्न किसिमका वस्तुहरूको आधुनिकरण गदै व्यवसाय प्रवद्र्धन गर्नको लागि शेयर सदस्यलाई व्यवसायिक प्रस्ताव माग गरिएको र विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेशस्तरसम्म सदस्यहरूको उत्पादनलाई पु-याइने बताइएको छ ।  

सो अवसरमा स्थानीय तह निर्वाचनमा संस्थापक शेयर सदस्यहरू मध्येबाट विभिन्न पदमा निर्वाचितलाई सम्मान समेत गरेको छ । बेलकोटगढी नगरपालिकामा निर्वाचित उपप्रमुख शिवप्रसाद दहाल, तारकेश्वर गाउँपालिका वडा नंं ३ मा निर्वाचित वडा अध्यक्ष सुर्यमान श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटमा सदस्य पद निर्वाचित सम्झना सेँढाई, लिखु गाउँपालिका वडा नं. ३ मा वडा सदस्य निर्वाचित अमृतमान गुरुवाचार्य र लिखु गाउँपालिका वडा नंं. १ मा वडा सदस्य निर्वाचित माधवप्रसाद लामिछानेलाई सहकारीले सम्मान गरेको हो । 

हेटौडा जाने खेलाडीको विदाई


बट्टार । नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा नुवाकोटबाट जाने खेलाडीहरूको बिहीबार एक कार्यक्रमका बीच विदाई भएको छ । 

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा भएको कार्यक्रममा १३३ जना खेलाडीको विदाई गरिएको छ । नुवाकोटबाट ८ विधामा छानिएका १०४ जना र बागमती प्रदेशले नुवाकोटबाट ६ विधामा छानेको २९ खेलाडीको विदाई गरिएको समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिएका छन् । 

प्रदेशस्तरीय प्रतियोगिताका लागि टेबलटेनिसमा १२, फुल कन्ट्याक्ट करातेमा १०, कबड्डीमा २८, आटिएफ तेक्बान्दोमा २०, उसुमा १२, जुडोमा ५, चेसमा ८ र ब्याडमिन्टनमा ९ जना छनोट भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोषी बैद्यले जानकारी दिए ।  

त्यस्तै प्रदेशले छानेका नुवाकोटका २९ खेलाडीहरूमा तेक्वान्दोमा १४, कराते, क्रिकेट, भलिबल, फुटबल र एथेलेटिक्समा ३÷३ जना रहेको प्रशिक्षक उत्तम राईले जानकारी दिए । 

खलाडीहरूको विदाई कार्यक्रम बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले नुवाकोटका खेलाडीहरूले विगतमा रच्दै आएको इतिहासलाई स्मरण गर्न र अधम्य साहसका साथ खेलेर अवार्ड जिल्ला भित्र्याउन खेलाडीहरूलाई आग्रह गरे । कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल लगायतको सहभागिता थियो । 

२०७९ साल भदौ २० गतेको सम्पादकीय

 उपभोक्ताहरूलाई ठगिनबाट जोगाऔं

सन् १९६२ मार्च १५ मा पहिलोपटक अमेरिकी राष्ट्रपति जोन एप केनेडीले उपभोक्ताका चार अधिकार घोषणा गरेका थिए । सुरक्षा, सूचना, छनोट र सुनुवाई हुन् । यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप ८ अधिकारसहितको मार्गदर्शन पारित भएको थियो । उपभोक्ताका ८ अधिकारमा उपभोक्ता शिक्षा, सुनुवाई, क्षतिपूर्ति, सुरक्षा, सुक्षित छनोट, स्वस्थ तथा स्वच्छ वातावरणको अधिकार र आधारभूत आवश्यकतामा पहुँच रहेका छन् । त्यसबेलादेखि आजको दिनसम्म आइपुग्दा सम्मपनि अधिकांश उपभोक्ताहरू आफ्नो अधिकारबारे अनविज्ञ छन् । बजारमा आम उपभोक्ताहरू दिनकै ठगिरहेका छन् । आम उपभोक्ताले सरकार नभएको अनुभूति गरिरहेका छन् । पञ्चायतकालमा कालोबजार ऐन थियो, जतिबेला उपभोक्ता संरक्षण ऐन बनेको पनि थिएन । त्यतिबेला जिल्ला प्रशासन, आपूर्ति मन्त्रालायबाट कारबाही हुन्थ्यो । कालोबजारी ऐनमार्फत नै कारबाही गरिन्थ्यो । त्यो बेला जुन किसिमले बजार अनुगमन गरिन्थ्यो, आम उपभोक्तालाई पनि राहत थियो । कतै कसैले अनुचित व्यापारिक क्रियाकलाप गर्ने थाहा पाउन साथ प्रशासनले कारबाहीमा ल्याइहाल्थ्यो । आज संघीयता घोषणा भएसँगै गणतन्त्रात्मक राज्यमा प्रवेश गरिसकेपनि, आफैले रोजेको व्यक्तिबाट राज्य सञ्चालन गर्ने यो परिस्थितिमा पनि पञ्चायतकालमा भन्दा पनि झनै दयनिय अवस्थामा छन् उपभोक्ता । अनुगमन, कारबाही गर्दा पनि बजारमा सुधार भएको देखिदैँन ।

त्यसो त, उपभोक्ता अधिकार बुझ्नुपूर्व उपभोक्ताबारे जान्नु आवश्यक छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता भन्नाले कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था भनेर व्याख्या गरिएको छ । उपभोक्ता अधिकार भन्नाले कानुनमा उल्लेख गरेअनुसार वस्तु वा सेवामा सहज पहुँचको अधिकार, गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाको प्रयोगबाट हानी, नोक्सानीविरुद्द क्षतिपूर्तिको अधिकार, अनुुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्द उचित कारबाही गराउन पाउने अधिकार, उपभोक्ता शिक्षा पाउने अधिकार लगायत छन् । नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था गरिएको छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न पाउने हक उल्लेख गरिएको छ । त्यस्तै संविधानको धारा ५१ को ७ ‘घ’ मा राज्यका नीति तथा अनुसूचीमा अधिकारसम्बन्धी व्यवस्था रहेको छ । धारा ५१ कोे उपधारा ७ ‘घ’ मा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिपस्र्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापरिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हीत संरक्षण गर्ने व्यवस्था गरिएको छ । अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकारको सूची नम्बर २ मा आवश्यक वस्तु तथा सेवाको आपूर्ति,वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनको व्यवस्था छ । अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची ४ नम्बरमा स्थानीय सेवाको व्यवस्था छ ।यी र यीबाहेक उपभोक्तासँग सम्बन्धित व्यवस्थाहरू कानुनमा भएतापनि यसबारे उपभोक्ताले ध्यान दिएको पाईँदैन । 

उपभोक्तालाई सचेत, जागरुग गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था लागिपरेका छन् । तर जति उपभोक्ताको लागि भन्दै विविध कार्यक्रम, सेमिनार, प्रभातफेरी हुने गर्छन् ती सबै भाषण र कानुनी कागजमा मात्रै सीमित भइरहेका छन् । लक्षित उपभोक्ताबीच यी कार्यक्रम पुग्न सकेको छैन । सरकार, उपभोक्ता अधिकारकर्मी, विभिन्न संघ संस्थाले उपभोक्ताको हक, हीतको लागि भनेर हिडेतापनि जति हुनुपर्ने त्यो भएको देखिदैँन । आजको २१ औँ शताब्दीमा पनि उपभोक्तामा ज्ञान र प्रविधिबारे अनविज्ञ छन्, उपभोक्तामा अझै परम्परावादी सोच छ । सीमित वर्गले मात्र आफ्नो अधिकारबारे जानेका छन्, धेरै उपभोक्ताहरू आज बजारमा सामान किन्न जाँदा न वस्तु छनोटमा ध्यान दिन्छन्, न वस्तुको उत्पादन मिति, म्याद सकिने मितिहेर्ने चलन छ, न त सामान किनिसकेपछि बिल माग्ने आदत । ज्ञानको कमीले गर्दा उपभोक्ताहरू व्यापारीबाट आफू ठगिएको चाल नै पाउँदैनन् ।उपभोक्ता स्वयंम सचेत नबनिदिँदा र उपभोक्ताकै लापरबाहीको कारणले गर्दा व्यापारीहरूको ठग्ने मनोबल झन् बढ्दै जान्छ । व्यापारीको काम ठग्ने हो ठगिरहन्छ, तर हामी उपभोक्ता ठगिनबाट बच्न सचेत जरुरी छ । कतिपय बिक्रेताहरूले थाहा नपाएर पनि बदमासी गर्ने गरेको पाईन्छ । त्यसमा उपभोक्ता आफैले उपभोग्य वस्तु खरिद गर्न‘पूर्व वस्तुको गुणस्तर, उत्पादन मिति, मूल्यसूची हेरेर मात्र खरिद गर्न‘पर्छ । उपभोक्ताका चार अधिकारमा उपभोक्ता स्वंयम सचेत हुनु आवश्यक छ ।

सरकारी तथा गैरसरकारी संस्थाको फितलो कामले गर्दा पनि उपभोक्ता सधै मारमा परिरहेको छन् । सरकारी नियामक निकायले गरिने अनुगमन उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ । सहरी क्षेत्र र सीमित फर्महरूमा मात्र अनुगमन गरिने हुँदा दुर्गम जिल्लामा बस्ने उपभोक्ताहरू झन् बढी ठगिएका छन् । सरकाले कडाइका साथ अनुगमनमा जोड नदिएसम्म बजारमा उपभोक्ता ठगिने काम जस्ताको तस्तै रहन्छ । त्यसैले सरकारले कडाइका साथ अनुगमन गर्न‘पर्ने देखिन्छ । अनुगमनमा खटिने टोलीहरू पनि पैसाको लागि भन्दा पनि जिम्वेवारीको सोचले कडाका साथ अनुगमनमा खटियो भने उपभोक्ता ठग्ने व्यवसायीहरू कारबाहीमा पर्छन्, तबमात्र बजारमा सुधार आउँछ, उपभोक्ताहरू बजारमा ठगिनबाट जोगिनेछन् ।

वडास्तरीय बालक्लब गठन

पिपल्टार । विदुर नगरपालिका वडा नं. ५ मा समुन्नत बाल क्लब गठन भएको छ । वडाका बालबालिकाहरूको भेलाले सामजिक गतिविधि सञ्चालन गर्न र आफ्ना क्षमता विकासका लागि स्वस्तफुर्त रुपमा क्लव गठन गरेका हुन् । 

क्लबको अध्यक्षमा बविता श्रेष्ठ, उपाध्यक्षमा सन्देश कुमाल, सचिवमा युनिसा थापामगर र कोषाध्यक्ष रमित भट्ट छन् । त्यस्तै सदस्यहरूमा शसिना केसी, मनोज कुमाल, सोनिश दाहाल, सुस्मिता पोखरेल र गायत्री प्याकुरेल छन् । उनीहरूको क्लबले मासिक बचत, टोल सरसफाई, बालबालिकाको क्षमता विकासका लागि अन्य कार्यक्रमहरू तथा भित्तेपत्रिका प्रकाशन लगायतका रचनात्मक कार्य गर्ने बताइएको छ ।   

५ नं. वडा कार्यालयमा भएको बालबालिकाहरूको भेलालाई सम्वोधन गर्दै वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपानेले स्थानीय सरकारले बालबालिकाहरूसंग समेत सहकार्य गर्नुपर्ने र उनीहरू मार्फत् समेत सामाजिक विकासका कामहरू गर्नुपर्ने भएकोले आफ्नो प्राथमिकतामा बालबालिका र यस्ता बाल क्लबहरू पर्ने बताए । साथै उनले बाल क्लबलाई कार्यक्रम सञ्चालन गर्न हौसला स्वरुप नगद तीन हजार रुपैयाँ हस्तान्तरण गरे । सोही कार्यक्रममा च्वाडी पब्लिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष लक्ष्मण श्रेष्ठले बाल क्लबलाई २ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल, वडा नम्बर ५ का सदस्य होमबहादुर कुमाल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सामाजिक अभियन्ता शर्मिला थापा मगर, समाजसेवी रामहरि घिमिरे, शिक्षक प्रतिनिधि गिता बस्नेत लगायतको सभागिता थियो । 

वडा स्तरिय उक्त समुन्नत बाल क्लब ले भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ‘मेरो अधिकार र कर्तव्य’ विषयमा वडा कार्यालयमा प्रतियेगिता सञ्चालन हुने क्लबका बयस्क सहजकर्तामा शर्मिला थापा मगरले जानकारी दिए । 

बेलकोटगढीको सय दिन सय काम

बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ कार्यावधिको समीक्षा गर्दै (बीचमा) । 
बेलकोगढी । स्थानीय तहमा नयाँ सरकार गठन भएको एक सय दिन पुरा भएको छ । एक सय दिनमै अनियमितताको दलदलमा परेको स्थानीय सरकरपनि नुवाकोटमा देखिन थालेका छन् । 

कुनै स्थानीय सरकारले सिन्को समेत भाच्न नसक्दा नागरिकसंग ‘फेस’ गर्न समेत सकेका छैनन् । तर नुवाकोटको बेलकोटगढी नगरपालिकाका आफ्नो एक सय दिनको कामको समीक्षा गरेको छ । 

गत सोमवार नगरपालिकाद्धारा आयोजित समीक्षा कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले एक सय दिनमा ‘एक सय एक’ नयाँ काम गरेको दाबी गरिएको छ । मेयर जगतबहादुर गुरुङले नियमित सेवा प्रवाह र विकास निर्माणमा जनपक्षीय सुधारको सुरुवात भएको बताएका छन् । उनका अनुसार जनप्रतिनिधिसहित कर्मचारीमार्फत दैनिक कार्य सञ्चालन बाहेक नगरवासीको हितमा नयाँ कामको थालनी भएको छ ।

जनताको घरदैलोमा पुगेर गुनासो तथा पीरमर्का सुन्नेदेखि मन्त्रालयसम्म पुगेर थप बजेट ल्याउनको लागी गरिएको पहललाई नयाँ कामको रुपमा उनले उल्लेख गरेका छन् । 

बेलकोटगढीले सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा एकाइ, शिक्षा, स्वास्थ्य, रोजगार सेवा केन्द्र, प्रशासन–अनुगमन तथा योजना, पूर्वाधार विकास, न्यायिक समिति, आर्थिक विकास शाखाको कृषि र पशुलगायत विषयगत शाखामार्फत गरिएका कार्य सम्पादन लगायत एक सय वटा काम नयाँ गरेको उत्तः कार्यक्रममा जानकारी दिइयो । 

अहिलेको नेतृत्वले गरेका सुधारका कार्यमा सहरी विकास मन्त्रालयमार्फत थप बजेट स्वरुप पूर्वाधार विकासका लागी एक करोड प्राप्त, निर्माण व्यवसायीमार्फत ठेक्का रद्द भएर अलपत्र बनेको पासाङल्हामु सडकको पहिरो पन्छाउने तथा खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा ल्याएको, पालिकाको केन्द्रसहित मोबाइल नेटवर्कको पहुँच नपुगेको स्थानमा नयाँ बिटिएस टावर निर्माणको लागी सर्वेक्षण जस्ता नयाँ काम भएको मेयर गुरुङले बताए । 

यस्तै, बेलकोटगढी नगरपालिकाका उपमेयर शिब दाहालका अनुसार पहिरो पीडितलाई ५० हजार र अग्नी पीडितलाई एक लाख राहत उपलब्ध, वडा नं. २ को कुमरी खोला र ११ को अमारे खोलामा आपत्कालीन पुल निर्माण, कृषिमा आधुनिकीकरण र यान्त्रिकरणको लागी कोरियन कम्पनी ‘ग्रीन ल्याब’सँग भगिनी सम्बन्धसहित सहकार्य सम्झौता नयाँ काममा रुपमा नगरपालिकासंग रहेको छ । त्यसै गरी, मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसिए–नेपाल) मार्फत वडा नं. ७ रातमाटेमा सवस्टेशन निर्माणले प्रभावित हुने स्थानीयवासीलाई राहतसहित पालिकाको लागी पूर्वाधार विकासमा सहकार्य प्रस्ताव, वडा नं. ५, ६ र ७ को सबै घरमा केन्द्रीय विद्युतीय प्रशारण विस्तार लगायतको कार्यलाई एकसय दिनको अवधिमा गरिएको उपलब्धिको रुपमा लिएको उपमेयर दाहालले बताएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले १३ वडा रहेको बेलकोटगढीमा अहिलेको नेतृत्वले गत जेठ ९ गते सपथ लिएर जिम्मेवारी सुरु गरेदेखि हालसम्मलाई ‘कामको लागी कमजोर’ भए पनि सेवा सुधारको लागि ‘अब्बल’ बनाउन सकिएको दाबी गरेका छन् । सुशासन, नीति निर्माण, समन्वय तथा सहजीकरणमार्फत जनताको सुधारका काममा समेत उपलब्धि हासिल भएको पण्डितले बताए । 

विद्यार्थीलाई बैचारिक प्रशिक्षण

बेलकोटगढी । नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति नुवाकोटले राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ । 

शुक्रवार र शनिवार बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्लाभरका नेता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा विद्यार्थी राजनीतिदेखि सञ्चारमाध्यमको उपयोगितासम्मको ज्ञान सीप प्रदान गरिएको अखिल क्रान्तिकारी नुवाकोट जिल्ला अध्यक्ष निराज बोगटीले जानकारी दिएका छन् । 

सहभागी विद्यार्थीहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उत्तम अधिकारी, बाग्मती प्रदशे सदस्य केशव पुडासैनी, सुर्यगढी क्याम्पसका प्रमुख शिवबहादुर भण्डारी, अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय सदस्य नारायण नेपाल, शिक्षक तथा वुद्धिजिवी ज्वालामुखी लामिछाने, प्रेस सेन्टरका बाग्मती उपाध्यक्ष कपिलदेव खनाल लगायतले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रमको समापन समारोहमा नेता लेखनाथ न्यौपानेको उपस्थिति रहेको थियो । 

होटलको अध्यक्षमा अधिकारी

बट्टार । नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको दशौं साधारण सभा तथा चौथो अधिवेशनले अधिवेशनले बासुदेव अधिकारीको अध्यक्षतामा सर्वसम्मन तयाँ कार्य समिति चयन गरेको छ । 

शुक्रवार भएको अधिवेशनले कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्दराज न्यौपाने, उपाध्यक्षहरूमा आरएस अधिकारी, रामशरण पौडेल र रमेश तमाङ, महासचिवमा रविन्द्र चालिसे, उप–महासचिवमा रितेश रुम्बा तामाङ, सचिवमा दिपक गजुरेल, कोषाध्यक्षमा शारदा ढकाललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्य समितिको सदस्यहरूमा ध्रुब बोगटी, चन्द्र घले, सन्तोषी रिमाल, सुवास घिमिरे, गोपाल तामाङ, सुरेश पौडेल, नमराज आचार्य, बिनोद शेर्पा, बिवश तामाङ, सागर साह, सविता शाही, श्यामकिशोर शाह, गोपीदाश श्रेष्ठ, दीपकप्रसाद अधिकारी, सौगात अमात्य, राजकुमार गिरी र दिपक लामा चयन भएका छन् । 

संघको चार सदस्यिय सल्लाहकार समिति समेत चयन भएको छ । जसमा सुरेशमान तामाङ, सविन श्रेष्ठ, दिपेन्द्र पौडेल र सविन राई छन् । 

नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको दशौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले होटल ब्यवसाय क्षेत्रलाई टेवा पुग्ने गरी नगरपालिकाले कार्यक्रमहरू ल्याउने सुनाए । उनले प्राधिकरणको डिसिल ट्याङ्कमा डुङ्गा चलाउने कार्यक्रम ल्याएर होटल ब्यवसायीलाई टेवा पु¥याउन मद्दत गर्ने बताएका छन् । त्यस्तै नगरपालिकामा फिल्म फेस्टिबलको आयोजना गरेर आन्तरिक पर्यटकको प्रवद्र्धन गरिने र त्यसबाट होटल ब्यवसायीलाई सहज हुने उनले बताए । 

कार्यक्रममा होटल तथा पर्यटनक ब्यवसायी संघ बाग्मती प्रदेश अध्यक्ष सन्तोष उप्रेती, पत्रकार महासंघ बाग्मती प्रदेश अध्यक्ष शिव देवकोटा, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, नुवाकोट चेम्वर अफ कर्मस्का अध्यक्ष कविन्द्रमान प्रधान, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लगायतले शुभकामना मन्तब्य राख्दै नुवाकोटको पहिचानका लागि होटल ब्यवसायीहरूले गर्नुपर्ने सृजनात्मक कामका लागि सुझाव दिएका छन् ।  

एमालेमा तोकियो जिम्मेवारी

विदुर । नेकपा एमाले बागमती प्रदेश कमिटीमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सदस्यहरूलाई नुवाकोटमा भौगोलिक जिम्मेवारी तोकेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ का लागि उत्कृष्ठ नतिजा ल्याउन जिम्मेवारी दिइएको बताइएको छ । 

प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी गर्दै संगठन कमिटीका सदस्यहरूको भौगोलिक जिम्मेवारीको जानकारी गराएको एक नेताले जानकारी दिएका छन् । नुवाकोटबाट प्रदेश संगठन कमिटीमा प्रतिनिधित्व गर्ने ३१ जना सदस्य मध्ये ३० जना सदस्यका लागि भूगोलको जिम्मेवारी तोकिएको हो ।

प्रदेश कमिटीका पदेन सदस्य बद्री मैनाली र सदस्य पूर्णलाल श्रेष्ठले सिंगो पालिका हेर्ने जिम्मेवारी पाएका छन् भने बाँकीले १० वटा पालिकामा वडास्तरमा जिम्मेवारी पाएका छन् । नेताहरूले दुई वटा वडादेखि पाँच वटा वडासम्मको जिम्मेवारी पाएका छन् ।  

कालोबजारी नियन्त्रण गर्न माग

विदुर । मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासंघसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय उपभोक्ता समितिच नुवाकोटले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिएको छ । नुवाकोट अध्यक्ष बिष्णुप्रसाद सापकोटाले उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण तर्फ प्रशासन तथा सरोकारवालाहरू एकजुट हुनु पर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय उपभोक्ता मञ्चले मुख्य चाडपर्व विदुर । मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासंघसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय उपभोक्ता समितिच नुवाकोटले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिएको छ । नुवाकोट अध्यक्ष बिष्णुप्रसाद सापकोटाले उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै प्रशासन तथा सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्चले मुख्य चाडपर्व दशैँ, तिहार छठको मौकामा कालोबजारी बढ्ने जोखिम रहेकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । 

२०७९ साल भदौ २० गते । वर्ष : १५, अंक : ४४