Tuesday, December 13, 2016

भुकम्प पछि परिवारको साधन प्रयोगमा कमी


विदुर । तथ्याङ्क कार्यालय नुवाकोटले जिल्लाको तथ्याङ्कीय झलक सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना भएको पाँच वर्षको पछिको अवधिमा विभिन्न क्षेत्रको अवस्थाको विषयमा अध्यायन र तथ्याङ्क संकलन गरेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।
जस अनुसार नुवाकोट जिल्लामा चार जना तेश्रो लिङ्गी समेत रहेका छन् । मतदाता नामावलीमा दर्ता भएको नाम र लिङ्गका आधारमा जिल्लामा जम्मा मतदाता १ लाख ८६ हजार रहेको छ । त्यसमा ९१ हजार महिला र ९५ हजार पुरुष रहेका छन् । जनसंख्या भने अध्यावधि गरिएको छैन । जनगणना २०६८ ले सार्वजनिक गरेकै झण्डै पौने तीन लाख जना नुवाकोटमा रहेका छन् ।
त्यस्तै नुवाकोट जिल्लामा १०६ वटा गैर सरकारी संस्थाहरु क्रियाशिल रहेको छ । पुर्न निर्माणका लागि १४, शिक्षामा १०, स्वास्थ्यमा १०, खेलकुद विकासमा ८, जनचेतना र वकालतमा ६, मानव विक्रि विरुद्धको अभियानमा ८, भौतिक पुर्वाधार विकासमा ११ वटा संस्थाले काम गरिरहेको छ ।
नयाँ तथ्याङ्क अनुसार जिल्लामा कृषि र पशुपालमा १२, मानव अधिकार, द्धन्द्ध व्यवस्थापनमा ७, गरिवी निवारणमा १० र सीप विकासमा १० वटा संस्थाहरु क्रियाशिल रहेको छ । भुकम्प जानु भन्दा अगाडी नुवाकोट जिल्लामा यी सबै क्षेत्रमा काम गर्ने गरी ६५ वटा संस्था मात्रै क्रियाशिल रहेको पाइएको थियो ।
जिल्ला जनस्वाथ्य कार्यालय नुवाकोटको श्रोत उघ्रित गर्दै तथ्याङ्क कार्यालयले तयार गरेको प्रतिवेदन अनुसार नुवाकोट जिल्लामा भुकम्प पछि परिवार नियोजनाको साधन प्रयोगकर्ताहरुको संख्यामा कमी आएको छ । स्थायी परिवार नियोजनको साधन प्रयोग गर्नेमा आर्थिक वर्र्ष २०७१÷७२ मा ३ सय ८ रहेकोमा आर्थिक वर्ष २०७२÷७३ मा जम्मा १ सय २४ मात्रै रहेका छ । त्यस्तै अस्थायी साधन प्रयोग गर्नेहरुमा पनि आठ सयले कमी आएको छ ।

नुवाकोट काठमाडौं सुरुङ्गको तयारी

विदुर । राजधानी काठमाडौं र रसुवाको नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंग फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ ।
सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्ताव अनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताउनुभयो । उहाँका अनुसार सुरुङमार्ग निर्माणका लागि अर्थ मन्त्रालय मार्फत् प्रस्ताव पेस भएको छ र एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंग फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालय मार्फत एआइआइबीमा पेस भएको छ । लगानी जुटाउन अहिले छलफल जारी रहेको समेत बताइएको छ ।
सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ रहेको छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४ दशमलव ५ किलोमिटर भएमा चारदेखि पाँच अर्ब र ६ किलोमिटर भएमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ । शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंग फाँटसम्मको सुरुङमार्ग घटीमा ४ दशमलव ५ र बढीमा ६ किलोमिटर सम्मको र चार लेनको हुनेछ ।
सुरुङमार्ग रसुवागढी नाकाबाट केरुङ जोड्ने गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ सडक खण्डमा जोडिने छ । जसको लम्वाई ४८ किलोमिटर रहेको छ । उक्त सडक निर्माण गर्न सडक विभागले ठेक्का सम्झौता समेत गरिसकेको छ । सडक विभागको वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट उत्तरी नाका केरुङसम्मको दूरी छोटो हुने बताउनुभयो । सुरुङमार्ग निर्माणसँगै दूरी छोटो हुने र यसले केरुङ नाका मार्फत चीनसम्मको पहुँच विस्तार गर्ने बताइएको छ ।

प्राविधिहरु आन्दोलनमा

विदुर । भूकम्पपछिको पुनर्निमाणका लागि सरकारको तर्फबाट गाउँ गाउँमा खटिएका प्राविधिकहरुले विभिन्न माग राख्दै पुनर्निर्माणको काम छाडेका छन् ।
    आफ्नो माग पुरा गर्न सरकारलाई मंसिर मसान्तसम्मको अल्टिमेटम दिदै उनीहरुले पुनर्निर्माणको काम ठप्प पारेका हुन् । सरकारले मंसिर मसान्तसम्म पनि माग पुरा नगरे पुस ५ गते सबैले सामूहिक राजिनामा दिने उनीहरु चेतावनी दिएका छन् ।
    प्राविधिकहरूले उपत्यका बाहिरका ११ जिल्लामा संघर्ष समिति र केन्द्रमा पनि समिति गठन गरेर आन्दोलित भएका हुन् । अहिले पुनर्निर्माणमा खटेका प्राविधिक मध्ये इन्जिनियरले अधिकृत, ओभरसियरले सुब्बा र सब ओभरसियरले खरिदार सरहको पारिश्रमिक पाउँदै आएका छन् । इन्जिनियरहरुले सेवा सुविधा, जीवन बीमा, सुरक्षा, कार्यालय र स्पष्ट निर्देशिका हुनुपर्ने माग राखेका छन् । गाँउमा काम गर्न आवश्यक पुर्वाधार र वातावरण पनि नभएको प्राविधिकहरुको गुनासो छ । 

तीन करोड विनियोजन

विदुर । निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत नुवाकोट जिल्लाको क्षेत्र नं. ३ को बजेट विनियोजन भएको छ ।
    २५ वटा योजना मध्ये १९ वटा योजनालई १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै भन्दा बढी एउटै योजनामा ४० लाख रुपैयाँ परेको छ । जसमा भाल्चे गोगाभञ्याङ्ग रुप्चेत सिङ्ला सेर्तुङ्ग बोराङ्ग जोड्ने सडक रहेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।
    तीन करोड रुपैयाँको झण्डै ८५ प्रतिशत रकम सडकमा खर्चिनका लागि छुट्याइएको छ । अन्य योजनाहरुमा ब्लड बैंक, शिक्षण संस्थाको पुर्वाधार खडा, सिञ्चाई, मरनपाटी निर्माण रहेको छ । नुवाकोटको अन्य निर्वाचन क्षेत्रमा विनियोजित रकम मध्ये क्षेत्र नम्वर १ ३ को बढी सन्तुलित देखिएको छ । क्षेत्र नं. १ र २ को ९७ प्रतिशत रकम सडक निर्माणका लागि मात्रै खर्च गरिने भएको छ ।
    निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको विदुर नगरपालिकाको लागि विभिन्न आठ वटा योजनाका लागि ९४ लाख रुपैयाँ विनियोजन भएको छ । बाँकी रहेको २ करोड ६ लाख रुपैयाँ १३ वटा गाउँ विकास समितिमा विनियोजन भएको छ ।
    जसमध्ये तुप्चे गाविसमा १०÷१० लाख रुपैयाँको दुई वटा योजना, खड्गभञ्याङ्गमा पनि १०÷१० लाख रुपैयाँको दुई वटा योजना रहेको छ । १०÷१० लाख रुपैयाँको दुई वटा योजना रहेका अन्य गाविसमा बुधसिंग पनि रहेको छ । नुवाकोट क्षेत्र नं. ३ को बाँकी रहेको अन्य गाविसहरुमा एक एक वटा योजना परेको छ । उक्त योजनाको बजेट कम्तिमा १० लाख रुपैयाँ रहेको जिल्ला विकास समिति नुवाकोटले जनाएको छ ।

उत्कृष्ठ इकाई पुरस्कृत

बेत्रावती । छिमेक लघुवित्त विकास बैंक लिमिटेड बेत्रावती शाखाले उत्कृष्ट इकाईहरुलाई पुरस्कृत गरेको छ ।
    नुवाकोट र रसुवामा छिमेक लघु वित्त विकास बैंक लिमिटेडले ७० वटा इकाई गठन गरेको छ । जस मध्ये पहिलो हुने तुप्चे–५ साहुगाउँ साधीखर्क, दोश्रो हुने रसुवा भोर्ले–५ आपचौर र तेश्रो हुने सोही वडाको माझगाउँ इकाइलाई नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दशौं स्थानसम्म रहेकाहरुलाई नगद पुरस्कार प्रदान गरिएको छिमेक लघुवित्त विकास बैंक बेत्रावतीका शाखा प्रवन्धक मेघराज पन्तले जानकारी दिनुभयो ।
    पहिलो हुनेलाई चार हजार, दोश्रोलाई तीन हजार, तेश्रोलाई दुई हजार नगद पुरस्कार वितरण गरिएको छ । त्यस्तै चौथो देखि छैटौसम्म हुने सबै समुहलाई एक÷एक हजार र सातौदेखि १० औं सम्मको इकाईलाई पाँच सय रुपैयाँ प्रदान गरिएको छ । त्यसका साथै इकईमा आवद्ध भएका महिलाहरुको छोरीलाई पढाई खर्च स्वरुप २४ सय रुपैयाँ समेत प्रदान गरिएको छ ।
    छिमेक लघुवित्त विकास बैंक लिमिटेडले १० देखि २९ जना सम्मको महिलाहरुको समुह गठन गर्ने गरेको छ । इकाईको नियमित कार्यहरुको तुलनाको आधारमा बैंकले उत्कृष्ठ १० वटा इकाई छनोट गर्दै आएको छ ।

Sunday, November 15, 2015

फेरि दुर्घटना

नुवाकोटमा फेरि अर्को बस दुर्घटना भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
    


विदुर नगरपालिकाको आर्मी ब्यारेक खोल्सामा आज दिउँसो भएको माइक्रो बस दुर्घटनमा परी चार जना घाइते भएका छन् । घाइते हुनेहरु सबै जना नुवाकोटको बागेश्वरी गाउँ विकास समितिका रहेका छन् । वडा नं. ८ का ४३ वर्षिया रामकुमारी लामिछाने, वडा नं. ५ का ३३ बर्षिया राममाया तामाङ, वडा नं. ६ का २० वर्षिया विनोद धमला र सोही वडाका २ वर्षिया छत्रबहादुर लामिछाने रहेका छन् । उनीहरुको अवस्था अहिले गम्भिर नरहेको र विदुरचोक स्थित नुवाकोट सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले बताउनुभएको छ ।
    त्रिशुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ ज ९२७० नं. को माइक्रोबस सडकबाट पाखा लागेको थियो ।
    यस अघि नुवाकोटको चारघरे गाँउ बिकामस समिति वडा नम्बर ९ गौरीबेशीमा भएको ट्रक दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय विभिन्न अस्पतलाहरुमा अहिले उपचार भइरहेको छ ।
ना ५ ख १३७ नम्बरको १० चक्के ट्रक दुर्घटना हुँदा स्थानीयहरु १५ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा ३० बर्षिय कल्पना राई, ४५ बर्षिय हरी राई, ८ बर्षिय सन्देश राई, ६ बर्षिय मिसन राई, ५ बर्षिय शक्तिमान राई, ३३ बर्षिय राजकुमार राई, २७ बर्षिय सुनिता राई, ३० बर्षिय गणेश राई, ५५ बर्षिय फुलमाया राई, ३० बर्षिय निर्मला राई, ६४ बर्षिय तुलबहादुर राई, १९ बर्षिय रमेश राई, २७ बर्षिय राम राई र ट्रक चालक ४० बर्षिय होमबहादुर राई रहेका छन् ।
      घाईतेहरुको नुवाकोट सिटि हस्पिटल एण्ड रिसर्च सेन्टर विदुर र सञ्जिबनी अस्पताल बट्टारमा उपचार भैरहेको जिल्ला प्रहरी कायार्नलय नुवाकोटले जनाएको छ । ट्रकमा रहेका १५ जना सबै चारघरे गाबिस वडा नम्बर ९ गौरीबेसी राई गाँउका रहेका छन् । गाउँका लागि रसायनिक मल बोकेर गाउँ जाँदै गरेको ट्रक सडकबाट ५० फिट तल खसेको प्रहरीले बताएको छ । 
तस्बिरहरु ः मधुसुदन थपलिया


ट्रक दुर्घटनमा १५ घाइते

नुवाकोटको चारघरे गाँउ बिकामस समिति वडा नम्बर ९ गौरीबेशीमा आज भएको ट्रक दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतलाहरुमा अहिले उपचार भइरहेको छ ।
           ना ५ ख १३७ नम्बरको १० चक्के ट्रक दुर्घटना हुँदा स्थानीयह १५ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा ३० बर्षिय कल्पना राई, ४५ बर्षिय हरी राई, ८ बर्षिय सन्देश राई, ६ बर्षिय मिसन राई, ५ बर्षिय शक्तिमान राई, ३३ बर्षिय राजकुमार राई, २७ बर्षिय सुनिता राई, ३० बर्षिय गणेश राई, ५५ बर्षिय फुलमाया राई, ३० बर्षिय निर्मला राई, ६४ बर्षिय तुलबहादुर राई, १९ बर्षिय रमेश राई, २७ बर्षिय राम राई र ट्रक चालक ४० बर्षिय होमबहादुर राई रहेका छन् ।
          घाईतेहरुको नुवाकोट सिटि हस्पिटल एण्ड रिसर्च सेन्टर विदुर र सञ्जिबनी अस्पताल बट्टारमा उपचार भैरहेको जिल्ला प्रहरी कायार्नलय नुवाकोटले जनाएको छ । ट्रकमा रहेका १५ जना सबै चारघरे गाबिस वडा नम्बर ९ गौरीबेसी राई गाँउका रहेका छन् । गाउाका लागि रसायनिक मल बोकेर गाउँ जाँदै गरेको ट्रक सडकबाट ५० फिट लत खसेको प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जनाकारी दिनुभएको छ ।


Saturday, November 14, 2015

विरामी माथी कमिसनको खेल

रसुवाको राम्चेमा बस दुर्घटना भएको खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले । बिदामा रहेका डाक्टर र नर्सलाई झिकाइयो । त्यही बेला कोही बेड खाली गराउनतिर लागे, कोही शल्यक्रियामा आवश्यक पर्ने औषधि र जनशक्ति जुटाउन थाले । अस्पतालका निर्देशक डा. बुलन्द थापा आफंै बस व्यवसायी समिति महासचिव रवि रिमालसँग कुरा गरेर घाइतेलाई ट्रमामा उपचार गराउने तयारी भइसकेको सुनाउँदै बाटोको जानकारी लिँदै हुनुहुन्थ्यो । तर, साँझ खबर आयो– हेलिकप्टरमा ल्याइएकालगायत सबै घाइते त्रिवि शिक्षण अस्पताल पु¥याइयो । ती त्रिवि शिक्षण अस्पतालमा प्राथमिक उपचार गरेपछि भने उनीहरूलाई थप बेड नभएको भन्दै भटाभट महाराजगन्जस्थित अर्को निजी अस्पताल ग्रिनसिटी पु¥याइएपछि ट्रमा सेन्टरले गरेको सम्पूर्ण तयारी खेर गयो ।
दक्ष चिकित्सक एवं जनशक्ति र बहुविशेषज्ञ सुविधा भएका सरकारी अस्पतालमा उपचारको तयारी हुँदाहुँदै सरकारी अस्पतालका चिकित्सक र दलालहरूको योजनामा घाइते निजी अस्पताल पु¥याइएका थिए । रसुवा दुर्घटना ८ गम्भीरसहित १८ घाइतेको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । १५ जनाको राति नै र ३ जनालाई बुधबार बिहान सो अस्पतालमा रेफर गरिएको थियो । ‘वीर अस्पतालको एम्बुलेन्समा ल्याएका बिरामी पनि सुरुमा टिचिङ र पछि निजी अस्पताल पु¥याइएको छ,’ ट्रमा सेन्टरका निर्देशक डा. बुलन्द थापाले भन्नुभयो ।
ग्रिनसिटीका अधिकांश चिकित्सक र नर्स त्रिवि शिक्षण अस्पतालमै कार्यरत छन् । लगानीकर्तामध्ये अधिकांश शिक्षण अस्पतालकै चिकित्सक हुन् । हेलिकप्टरमा ल्याइएका गम्भीर घाइते अधिकांशको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । शल्यक्रिया गर्नु नपरे पनि सिटी स्क्यान, एमआरआईजस्ता महँगो परीक्षण गर्नुपर्ने र बेड शुल्क पनि महँगो हुनाले निजी अस्पतालले लाखांै कमाउँछन् । यो वापत रेफर गर्ने चिकित्सकदेखि एम्बुलेन्स चालक समेतले मोटो रकम कमिसन पाउने स्रोतले जनाएको छ ।
ट्रमा सेन्टरका निर्देशक डा. थापाले पनि उपचारका लागि ट्रमा अस्पतालले पूर्ण तयारी गरेर बसेपछि घाइतेलाई निजी अस्पतालमा पु¥याएर ठूलो चलखेल गरिएको बताउनुहुन्छ । ‘ए लेबलको ट्रमा सेन्टरमा निर्देशकदेखि १९ सर्जन विशेषज्ञ र २५ अन्य जना डाक्टर घाइते रिसिभ गर्न तम्तयार भएर बसेका थियौं,’ उहाँले भन्नुभयो– हाम्रो करिब ७० जनाको टिम तयार थियो, दलालहरूले निजीमा पु¥याएछन् ।’
वीरका डाक्टरले राति अबेरसम्म कुरेका थिए । एम्बुलेन्स र बस चढेर आएका केही घाइते राति १० बजेतिर ट्रमा सेन्टर पुगेका थिए । अधिकांश आफ्नै पहलमा आएका र उनीहरू खतरामुक्त अवस्थाका रहेको थापाले जानकारी दिनुभयो । उहाँले आफूले नै पासाङल्हामु यातायात व्यावसायी समितिका महासचिवसँग कुरा गरेर ट्रमामा ल्याउन भनेको बताउनुभयो । स्रोतका अनुसार दुर्घटनाका घाइतेको उपचारमा व्यवसायी समितिको पैसा खर्च हुने भएकाले सरकारी अस्पतालमा कम खर्च हुँदा र नक्कली बिलसमेत बनाउन नमिल्ने हुनाले कमिसनका लागि समितिका पदाधिकारी समेत निजी अस्पतालमै पु¥याउन खोज्ने गरेका छन् । ‘सबै मालामाल भए होलान्, तर ए लेबलका सरकारी अस्पतालमा हुने गुणस्तरीय सेवाबाट त बिरामी वञ्चित हुनुपर्यो,’ थापाले भन्नुभयो ।
चिकित्सा क्षेत्रमा बढ्दो निजी लगानी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कमिसनमा बिरामीको व्यापार गर्ने क्रम ठूलो समस्याका रूपमा देखिएको वरिष्ठ चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार यस्ता गम्भीर खालका दुर्घटनाको खबर आउनासाथ निजी अस्पतालहरूले एम्बुलेन्स चालकदेखि राजमार्गका साना क्लिनिक र जिल्लाका निजी अस्पतालसँग मिलेमतो गर्छन् र बिरामीलाई सरकारी अस्पतालमै नलगी निजी अस्पताल पु¥याउँछन् । यसो गर्दा एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर २ देखि ५ हजार रुपैयाँसम्म कमिसन पाउने गरेका छन् । पछिल्ला दिनमा त्रिवि शिक्षण अस्पताल पदाधिकारीसहित वरिष्ठ चिकित्सकहरूले अस्पतालकै वरपर चिरायु, ग्रिनसिटी लगायतका अस्पताल सञ्चालन गरेका छन् । उनीहरू अधिकांश बिरामीलाई बेड, आइसियु नभएको बहानामा निजी अस्पतालमा रेफर गर्छन् ।
अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जुनियार चिकित्सकले साँझैदेखि निर्देशक दीपक महराले नै ‘बेड छैन सकेसम्म बिरामीलाई निजीमा पठाउनू’ भनेर निर्देशन दिएको उनुभयो । ‘एक जना पनि बिरामीलाई अस्पतालमा भर्ना नगरिनु आश्चर्यको विषय हो,’ हाडजोर्नी विभागका एक चिकित्सकले भने, ‘आकस्मिक अवस्थामा शल्यक्रिया गरेपछि जुन विभागमा लगेर राखे पनि भइहाल्थ्यो ।’ निर्देशक महराले भने यति गम्भीर लापरबाहीप्रति अनभिज्ञता प्रकट गर्नुभएको छ । उहाँले आफू दिनभर व्यस्त भएकाले कुनै जानकारी राख्न नपाएको भन्दै आकस्मिक कक्षकै चिकित्सकसँग जानकारी लिन भन्नुभएको छ ।
आकस्मिक विभागका वरिष्ठ डा. रमेशकुमार महर्जनले आफूहरूले घाइतेको तत्काल सम्भव हुने सबै उपचार गरेको भन्दै भर्ना गर्ने नगर्ने काम विभागहरूको भएको बताउनुभयो । ‘किन अन्य विभागमा भर्ना गरिएन निर्देशकसँग सोध्नुस्,’ उहाँले भन्नुभयो–सर्जरी लगायतका विभागले भर्ना लिएर सर्जरी थाल्नुपर्ने हो, बेड छैन भनेपछि राति नै १५ जनालाई बाहिर पठाइएको हो ।’
डा. भगवान कोइराला अस्पताल निर्देशक हुँदा यसरी बिरामीलाई बिनाकारण रेफर गर्ने डाक्टरलाई कारबाही गर्न थालेपछि केही घटेको थियो । त्यतिबेला अस्पताल प्रशासनले बिरामी रेफर गर्नुपरे कारणसहित सुरुमा अन्य सरकारी अस्पतालमा प्राथमिकता दिने र सरकारीमा बेड नभए मेडिकल कलेजमा रेफर गर्ने निर्णय गरेको थियो । अस्पतालमा डा. कोइराला हटेसँगै नयाँ अस्पतालमा बिरामीको दलाली पुरानै अवस्थामा फर्केको छ । अधिकांश चिकित्सकले घाइते र अन्य बिरामीलाई समेत कमिसनका लागि निजीमा रेफर गर्छन् । ग्रिनसिटी अस्पतालका निर्देशक एलबी टन्डनले अस्पतालमा आइपुगेकाको उपचार भइरहेको बताउनुभएको छ उहाँले घाइतेमध्ये ८ जनाको आइसियुमा र अन्यको वाडमा राखेर उपचार भइरहेको जानकारी दिनुभएको छ । उपचारमा संलग्न डा. विष्णु गौतमका अनुसार घाइतेमध्ये अधिकांशको एमआरआईजस्ता अत्याधुनिक परीक्षण गर्नुपर्नेछ । अधिकांशको हाडजोर्नी, टाउकोको चोट रहेको छ ।
विभिन्न पत्रपत्रिकाहरुको सहयोगमा प्रमुख समाचारदाता

दुर्घटनमा हराएका बालकको परिवारसंगको पुर्नमिलन

रसुवाको राम्चे–३ ग्राङमा मंगलबार भएको बस दुर्घटनामा भाग्यले बाँचेका भोर्ले–५ का रोहित थिङ बेला बेला मुस्काउन खोजे पनि टाउको, आँखा र पिठ्युँमा लागेको चोटको पीडा सहन कठिन हुन्छ । दुर्घटना भएदेखि दिदीको एक बर्षे छोरा रोहितको खोजी गरिरहनुभएका सानीआमा श्रृजनाले उहाँलाई भेट्दा खुसी देख्दा चिन्तित भइन् । दिदीको मृत्युको शोक र छोरा रोहितको पीडाले मेरो मन पोल्यो,’ श्रृजना भन्नुहुन्छ–मैले मन थाम्नै सकिँन ।’
उपचार क्रममा त्रिशुली अस्पताल आइपुगेका बालक रोहितका परिवार नभएको प्रचार भएपछि उनलाई अपनाउन धेरै जना बाल कल्याण कार्यालय आएका थिए । तर महिला तथा बालबालिका कार्यालय नुवाकोटले रसुवाको बाल कल्याण केन्द्रसँग उनका आफन्त खोजीका लागि आग्रह गरेपछि आफन्त भेटिएका थिए । ‘हामीले थाहा नपाएको भए दिदीको फूलजस्तो छोरो अरुले नै लैजाने रहेछन्,’ श्रृजनाले भन्नुभयो– धन्न बेलैमा थाहा पायौं । दिदीभिनाजुको पत्तो लागे पनि रोहितबारे थाहा हुन सकेको थिएन । उहाँका अनुसार साँझको समाचारमा नुवाकोट बाल कल्याण केन्द्रमा एक बालक छन् भनेको सुनेर खोज्न आउँदा दिदिको छोरा फेला परेको हो । रोहित रातभर आमा खोज्दै रोएर नसुतेको सृजना बताउनुहुन्छ ।
चिलिमे जाँदै गरेको पासाङल्हामु बस व्यवसायी समितिको ना ३ ख ५७०६ नम्बरको यात्रुबाहक बस मंगलबार रसुवा राम्चेको साँघुरो घुम्तीमा पुगेर दुर्घटनाग्रस्त हुँदा रोहित बाँच्न सफल हुनुभएको थियो । बस राम्चेको ग्राङ भीरमा सडकबाट धस्सिएर पल्टदैं दुई सय मिटर तल झरेर टुक्रा टुक्रा भएको थियो । दुर्घटनास्थलमै २९ जनाको र ६ जनाको उपचार क्रममा मंगलबार मृत्यु भएको थियो । दुर्घटनामा रोहितका आमा २७ वर्षीया शान्तिमाया थिङ र हजुरआमा विष्णुमाया तामाङको मृत्यु भएको छ । बाबु हितबहादुर तामाङ गम्भिर घाइते हुनुहुन्छ । पछाडी पछ्यौरीले बाँधेर अगाडि दुई हातले चेपिएका रोहित जीवित भेटिए पनि आमा भने जीवित भेटिएनन् । उद्धारमा संलग्न रसुवा प्रहरीले बालकलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाएको थियो ।
सामान्य उपचारपछि रोहितलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्ला बाल कल्याणलाई जिम्मा लगाएको थियो । बुधबार नुवाकोट बाल कल्याणले उनलाई रसुवाको महिला तथा बालबालिका कार्यालयका बाल कल्याण अधिकृत अन्जु ढुंगानामार्फत् सानीआमा श्रृजनाको जिम्मा दिइएको छ । बाबु हितबहादुरको मन्जुरीनामा लिएपछि बालकलाई अहिले मामाघर लगिएको छ ।
रोहितका दुई दिदी ११ वर्षीया प्राकृति र १० वर्षीया प्राप्ति थिङ छन् । ‘आमा नआएपछि घरमा दुई छोरी रोएकारोयै छन्,’ मामाघरका हजुरबुवा कामिछिरिङले भन्नुभयो– नातिनीलाई सम्झाउन सकिएको छैन । आमा खोई भन्छन्, म के भनौं ।’ कक्षा ५ र ३ मा पढ्ने छोरीलाई छाडेर हितबहादुर पत्नी शान्ति आमा र काखे छोरा लिएर मंगलवार सदरमुकाम धुञ्चे जानुभएको थियो । बेलुकासम्ममा जलविद्युत्को सेयर भरेर सदरमुकाम धुञ्चेबाट फर्कने गरी गएकोमा अब कहिल्यै नआउने भएका छन् ।
रोहितका बाबु हितबहादुर भने दुर्घटनामा दाहिने खुट्टा भाँचिएर जिल्ला अस्पताल रसुवामा उपचार गराइरहनुभएको छ । रोहितकी हजुरआमाको पनि दुर्घटनामा ज्यान गएको छ भने हजुरबुवाको मृत्यु भएको ४ वर्ष जति भएको छ ।
क्षमताभन्दा तेब्बर यात्रु बोकेका कारण बस राम्चेको मोडमा दुर्घटना भएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले निष्कर्ष निकालेका छन् । दुर्घटनापछि बसेको जिल्ला सुरक्षा समिति बैठकले दुर्घटनाको प्रमुख कारण साँघुरो सडक र क्षमताभन्दा बढि यात्रु रहेको ठम्याएका हुन् । मंगलबार चिलिमेका लागि छुटेको बसका अधिकांश यात्रु जलविद्युत् कम्पनीको सेयर हाल्न जानेहरु नै थिए । त्रिशुलीबाट लोकल बस नचलेपछि स्थानीय यात्रु रसुवाबाट चिलिमे जाने पहिलो बसमा चढेका थिए । भित्र र छतमा खचाखच यात्रु भरिएको बस रसुवाको राम्चे–३ ग्राङ पुग्दा नपुग्दै भीरबाट खसेको थियो । अधिकांश मृतक रसुवाका स्थानीय रहेका छन् ।
रसुवाको कालिकास्थानदेखि धुन्चेसम्म १० ठाउँभन्दा बढि पहिरोे छ । पहिरोसँगै सडक एक लेनको मात्र छ । सडकमाथि पहिरो र तल भीर छ । वर्षेनी मुलखर्क, राम्चे र ग्राङमा जाने पहिरो सडकको मुख्य समस्या हुन् । कालिकास्थानदेखि धुन्चेसम्म कालोपत्रे सडक भए पनि राम्चे–३ को ग्राङदेखि मुलखर्कसम्म कालोपत्रे छैन र पहिरोका कारण साँघुरो पनि छ । प्रत्यक्षदर्शीको भनाइ उद्धत गर्दै र क्षमताभन्दा बढि मान्छे चढेको ठम्याउँदै त्यसकै कारण बस दुर्घटना भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउँनुहुन्छ ।
यातायात सञ्चालन भएदेखि पासाङल्हामु सडकमा भएको यो पहिलो दुर्घटना भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभएको छ । पहिरोको जोखिमका कारण ठूलो दुर्घटना हुनसक्ने भन्दै नागरिक समाजले प्रशासनमार्फत् जिल्ला सडक कार्यालय नुवाकोटसँग सडक सुधार्न आग्रह गरेको तामाङले बताउनुभयो । ‘दुर्घटना न्यूनिकरण गर्न प्रशासनले कारबाही गर्दै आएको छ । तर इन्धन अभाव देखाउँदै धेरै सवारीसाधन सञ्चालन गर्न व्यवसायी मान्दैनन्,’ प्रजिअ शिवराम गेलाल भन्नुहुन्छ ।
रसुवा प्रहरीका डिएसपी अवदेश विष्टका अनुसार प्रहरीले बिहीबारदेखि चेक जाँच कडा पारेको छ । क्षमता भन्दा बढि यात्रु हाल्न निषेध गर्ने तयारी प्रहरीले गरेको उहाँले बताउनुभएको छ । इन्धन अभावका कारण यात्रुको कष्ट ध्यानमा राखी जाँच केही खुकुलो बनाए पनि अब क्षमताभन्दा बढि यात्रु नराख्न आग्रह गर्नेदेखि बाटो सुधार गर्न समेत सडक डिभिजन कार्यालय नुवाकोटसँग आग्रह गरेको विष्टले जानकारी दिनुभएको छ ।
निराजन पौडेलको सहयोगमा सृजन ओझा, विदुर इमेज साप्ताहिक

रसुवाको ग्राङ भिरमा कात्तिक १७ गते भएको बस दुर्घटनका मृतकहरु ः

रसुवाका मृतकहरु
१. हाकु–८ का ३४ बर्षिय बुद्धिबहादुर तामाङ,
२. चिलिमे–६ का १९ बर्षिय पासाङ छिरिङ तामाङ
३. सरमथली–८ का २८ बर्षिय सुवासकर्म लामा
४. भोर्ले–७ का ४० बर्षिय बाटुली तामाङ
५. हाकु–८ का ४५ बर्षिय रिसाङ तामाङ
६. भोर्ले–४ का ५५ बर्षिय सोममाया थिङ
७. भोर्ले–४ का २७ बर्षिय शान्तीमाया थिङ
८. धैबुङ–९ का ४४ बर्षिय चरीमाया लो
९. धैबुङ–९ का १९ बर्षिय दिनेश मोक्तान
१०. धैबुङ–९ का २६ बर्षिय इन्दीरा तामाङ
११. गोल्जुङ–३ का ३८ बर्षिय मेन्दो साङबु
१२. भोर्ले–४ का ४६ बर्षिय लालकाजी तामाङ
१३. गोल्जुङ–३ का २३ बर्षिय छेवाङग घले
१४. चिलिमे–२ का ४० बर्षिय लाक्पा तामाङ
१५. चिलिमे–४ का ३२ बर्षिय लाक्पा छोमो तामाङ
१६. चिलिमे–९ का २१ बर्षिय फुर्पू छोमो तामाङ
१७. सरमथली–५ का ४८ बर्षिय नुर्पू गोम्बो
१८. सरमथली–५ का २४ बर्षिय जितमान गोम्बो
१९. भोर्ले–४ का २८ बर्षिय लक्ष्मी थिङ
२०. गत्लाङ–२ का २६ बर्षिय सुदिप लामा
२१. गत्लाङ–६ का २९ बर्षिय प्रबेश लामा
२२. गोल्जुङ–५ का ३ बर्षिय निमा टासि तामाङ
२३. राम्चे–६ का सबडोल तामाङ
२४. भोर्ले– ५ का १८ बर्षिय दीपेन्द्र घलाङ
२५. राम्चे–६ का १ बर्षिय निशा तामाङ
२६. गत्लाङ–८ का १ बर्षिय पेम्वा वाम्देङ तामाङ
२७. गत्लाङ–८ का ४२ बर्षिय पटुक तामाङ
२८. धैवुङ–९ का सेती विक

नुवाकोटका मृतकहरु ः
१. गेर्खु–८ का २३ बर्षिय बिष्णुप्रसाद घिमिरे
२. चारघरे–५ का २८ बर्षिय भुमिनन्द रिमाल ‘रामजी’
३. चारघरे–४ का २९ वर्षिय दुर्गाप्रसाद भट्ट
४. मनकामना–४ का ३५ बर्षिय भरत गुरुङ (चालक)
५. मनकामना–४ २७ का बर्षिय सुदर्शन गुरुङ (सहचालक)

अन्य जिल्लाका मृतकहरु ः
१. गढीमाई–७ बाराका २९ वर्षिय दिपा कुमारी चिमोरिया (सुआहारा रसुवामा कार्यरत)
२. रुपन्देहीका ५३ वर्षिय टिकमबहादुर शाही (गाविस सचिव)
३. सिन्धुली माँझडाँडा–८ का २६ वर्षीयाँ सोनपुरी सुनार


Thursday, November 12, 2015

तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताउनुभएको छ ।
आज गाईपूजा गरी साउन शुक्ल पूणिर्माका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धनन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।

यसपालिको तिहारमा चिल्ला रोटी नपाक्ने

तिहार चिल्ला रोटी पाक्ने चाडको रुपमा पनि चिनिन्छ । तर, यसपालिको तिहारमा चिल्ला रोटी नपाक्ने भएका छन् । किनकी भारतको नाकाबन्दीका कारण तिहारका बेला बजारमा खाने तेलको चरम अभाव छ ।
बिभिन्न मिठाई, सेल रोटी, फिनी रोटीलगायतका परिकार पकाउने तेल नै नभएपछि उपभोक्ता हैरान भएका छन् । खाने तेलनै नपाएपछि सबै गृहिणीलाई तिहारमा सेलरोटी र मिठाई बनाउन समस्या परेको छ । बजारमा अन्य खाद्य सामाग्रीमा ठूलो मूल्यबृद्धिको मार खेपेका उपभोक्ता तिहारकै समयमा तेल नपाएर झन् पीडित छन् । मिठाइलगायत विभिन्न मिष्ठान्न परिकार बनाउने प्रचलनका कारण तिहारमा अन्य समयभन्दा तेब्बर तेलको माग हुने गरेको छ ।
बजारमा अहिले खाने तेल लगभग पाइनै छोडेको छ । केही कम्पनीका तोरीका तेल बजारमा आएपनि सूर्यमुखी र भटमासको तेलको चरम अभाव छ । तिहारका लागी आबाश्यक पर्ने बिभिन्न सामाग्रीहरुको अभाबका कारण यस पालीको तिहार पनी खल्लो हुने निश्चित भएको छ । तिहारलाई बिशेष गरी सेल रोटीको चाड भएकाले नागरीकहरु यस पालीको तिहारमा कसरी रोटी पकाउने भन्ने चिन्तामा डुबेका छन् । बिदुर नगरपालीका वडा नम्बर ३ का गोमा थापा यस बषर््को तिहारमा रोटी नपमाउनेमा पुग्नु भएको छ । रोटि पकाउनका लागी आबाश्यक पर्ने तेल, ग्यास लगायतका सामाग्रीहरुको अभाबका कारण उहाँ सेल रोटी पकाउनका लागी दाउरा खोज्नुपर्ने बताउनु हुन्छ । पोहोर परारको जस्तो यस बर्ष रोटी नपकाउने र थोरै मात्रै दाउरामा पकाउने उहाँले बताउनु भएको छ । ....गोमा थापा....
कतै–कतै भेटिने तोरीको तेल पनि पनि प्रतिलिटर दुई सय ८० रुपैयाँसम्म बिक्री भएको छ । फाटफुट रुपमा भेटिने केही कम्पनिका सूर्यमूखी र भटमासको तेल बजारमा प्रतिलिटर २ सय ४० रुपैयाँसम्ममा बिक्री भइरहेको भेटिएको छ ।
यसै बीच, तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्य पनि दोब्बर भएको उपभोक्ताहरुको गुनासो रहेको छ । तिहारको भाइमसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिस, फलफूल लगायत सबै बस्तुको भाउ दोब्बर बढेको छ ।
२ सय ५० रुपैयाँ प्रतिकिलो पर्ने नरिवल ५ सय रुपैयाँभन्दा माथि पुगेको छ । अभावका बेला तेल उत्पादक र बिक्रेताहरुले मूल्य बढाएर कालोबजारी गरिरहेपनि सरकारी अनुगमन संयन्त्रहरु भने निष्क्रिय देखिएका छन् । नुवाकोटका ब्यापारीहरु यो संकटमा सामाग्री खरिद गर्न जान समेत नसकेकोले समेत सामाग्रीहरुको अभाव देखिन थालेको छ ।
भुकम्पबाट आर्थिक मारमा परेका नागरिकहरुले जसोतसो दसैं मनाएपनि तिहारमा भने खुत्रुक्कै भएका छन् ।

नेपाल संवत् ११३६

नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले इस्वि सम्वत आठ सय ८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल १९६० सालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ ।
लिच्छविकालका राजा राजवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।
विसं १९६० बाट भने नेपाल संवतलाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
आजैको दिन नेवार समुदायमा मह (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत रहेको छ ।

खुल्ला कबिता बाचन प्रतियोगिता

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौँ जन्मजयन्तीको अबसरमा हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । नुवाकोटमा पनि साहित्य समाज नुवाकोटले खुल्ला कबिता बाचन प्रतियोगिता गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि कबि तथा समालोचक आरएम डङगोलले नेपाली साहित्यमा महाकबि लक्ष्मी प्रसाद देबकोटाले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो । नुवाकोटका बिभिन्न श्रष्टाहरुको सहभागीतामा भएको कबिता प्रतियोगीतामा एलिशा पौड्याल पहिलो हुनुभएको छ ।
    यस्तै दिक्षान्त सिटौला दोश्रो, कोपिला अर्याल तेश्रो, ईश्वरी भट्ट र मनोहारिशा थापाले सान्तव्ना स्थान हालि गर्नुभएको छ । कार्यक्रममा शम्भु शर्मा, मनिश अधिर, भगवती खनाल, कृष्ण प्रसाद सापकोटा, रामकृष्ण गजुरेल, सानु घायल, प्रमिला दाहाल लगायतका  श्रष्टाहरुले महाकबि देबकोटाको स्मरण गर्दे आफ्नो साहित्यिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
    साहित्य समाज नुवाकोटका अध्यक्ष बद्रीबृन्द गजुरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठान नुवाकोटका अध्यक्ष श्रीराम, नेपाली लेखक संघ नुवाकोटका अध्यक्ष जयराम दाहाल, जनसाहित्यिक मञ्च नुवाकोटका अध्यक्ष राजकुमार पुत्ला, गजलकार पुरु लम्साल लगायतकाको सहभागिता रहेको थियो ।

जिल्लामा दाउराको प्रयोग

खाना पकाउने ग्याँसको चरम अभाव भएपछि नुवाकोट जिल्लामा दाउराको प्रयोग बढ्न थालेको छ ।
    तिहारको सुमयमा सबै भन्दा बढी ग्यासको प्रयोग हुनेमा यस बर्ष ग्यासको अभाब भएपछी दाउराको प्रयोग बढेको हो । दाउराका विकल्पमा ग्याँसको प्रयोग गर्दै आएका उपभोक्ताले  पुनःइन्धनका रुपमा दाउराको प्रयोग गर्न थालेका छन् । एक महिनादेखि बजारमा ग्याँसको चरम अभाव भएपछि उपभोक्ताहरुले दाउराको प्रयोग गर्न लागेका हुन् ।
    नुवाकोटका अधिकाँस स्थानहरुमा आजभोली दाउरा बाल्ने चुलोहरु देखिन थालेको छ । भारतले गरेको नाकाबन्दिका कारण नेपालमा ईन्धनको समस्या भएकाले नागरीकहरुले ग्यासको बैकल्पिक रुपमा दाउरा प्रयोग गर्न थालेका हुन् । जिल्लामा सञ्चालन भएका होटल देखि घरघरमा समेत दाउराबाट खाना पकाउने गरेका छन् ।

शुभकामना आदान प्रदान तथा सास्कृति कार्यक्रम

नुवाकोटको बेलकोट गाउँ विकास समितिमा रहेको पञ्चकन्या उच्च माध्यमिक विद्यालयमा तिहारको शुभकामना आदान प्रदान तथा सास्कृति कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनेरास्वबियु पञ्चकन्या मावि कमिटिको आयोजनामा भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पूर्व विदेश बिभाग सचिब केशव पाण्डले नेपालीको धेरै सस्कृति र परम्परा रहेकोले परम्परा जोगाउन सबैलाई आग्रह गर्नुभएको छ ।
    अनेरास्वबियु पञ्चकन्या मावि कमिटिका अध्यक्ष शुुशिल कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका सचिब बासुदेब कडुवाल, बद्री मैनाली, निलकण्ठ आचार्य, अनेरास्वबियु नुवाकोट क्षेत्र नम्बर एकका अध्यक्ष रितेश तिवारी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

Monday, April 16, 2012

चट्याङ्गबाट तीनको मृत्यु

विदुर÷चट्याङ्गबाट गएको साता नुवाकोट जिल्लामा तीन जनाको ज्यान गएको छ ।
    फिकुरी गाविस वडा नं. ६ पाजीगाउँमा बिहिवार राती परेको चट्याङ्गबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा पाजीका ३१ राजकुमारी न्यौपाने र रसुवा डाँडागाउँका १३ वर्षिया बालिका मेनुका पौडेल रहेका छन् ।
    उनीहरू आनन्दप्रसाद ओझाको घरमा विवाहको निम्तो मान्न गएका थिए । राती परेको चट्याङ्गले बेहुला लिलानाथ ओझा सहित १३ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
    त्यसै गरी, सूर्यमती गाविसमा  एक युवाको ज्यान गएको छ । २१ बर्षिया शिवप्रसाद चालिसेको बिहान  २ बजे परेको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शौचालय जान निस्किएको समयमा चालिसेलाई चट्याङ्ग लागेको स्थानीयले बताएका छन् । 

प्रशासनको छड्केमा ७८ कर्मचारी

विदुर÷जिल्ला प्रशासन कार्यालयको छड्केमा ७८ कर्मचारी परेका छन् ।
    प्रशासनले जिल्लाका विभिन्न २० वटा सरकारी कार्यालयमा गरेको सरकारी कर्मचारीहरू छड्केमा परेका हुन् ।  छड्के जाँचका क्रममा सहायकदेखि अधिकृतस्तरसम्मका विभिन्न कर्मचारी अनुपस्थित भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन् । उनको  नेतृत्वमा प्रशासन कार्यालयबाट गएको अनुगमन टोलीको छड्केमा २० वटा कार्यालयका ७८ वटा कर्मचारी छड्केमा परेका छन् ।
    चार वटा समूहले जिल्ला विकास समिति, तथ्याङ्क कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, डिभिजन सडक कार्यालय, जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण लगायतको कार्यालयमा अनुगमन गरेको हो ।

पहिलो आधुनिक प्लाण्टमिल

बट्टार÷नुवाकोट जिल्लामा  धान कुट्ने पहिलो आधुनिक प्लाण्ट मिल सञ्चालनमा आएको छ ।
    प्लाण्टमिल विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।
    युनिक राईस मिल नामक उक्त मिलको उद्घाटन  नेपाल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले शुक्रवार गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जोशीले लगानीकर्तालाई अब ढुक्क भएर लगानी गर्न उपयुक्त समय भएको बताए ।
राईस मिलका प्रोपाईटर तारा बहादुर कार्कीका अनुसार उक्त मिलबाट उत्पादित चामल नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाहरू प्रमुख बजार रहेको छ । 

आधुनिक प्रविधिको मेटल उद्योग सञ्चालनमा

बट्टार÷नुवाकोटको बट्टार बजारमा आधुनिक प्रविधिको मेटल तथा मेकानिकल उद्योग सञ्चालनमा आएको छ ।
    हाइड्रोलिक प्रविधि अन्र्तगत सञ्चालन हुने उक्त सुलभ मेटल तथा मेकानिक उद्योगको बिहिवार नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले गरेका थिए । उद्योगमा ४० लाख रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालक रामशरण अधिकारी र ईश्वरकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रहरीले खोस्यो मसाल

विदुर÷एकिकृत नेकपा माओवादी वैद्यपÔधरले नुवाकोटमा बुधवार बेलुकी मसाल जुलुस प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले मसाल नियन्त्रणमा लिएको छ ।
    जनमुक्ति सेनालाई नेपाली सेनाको मातहतमा बुझाइएकोमा विरोध जनाउूदै सदरमुकाम विदुरमा सरकार र पार्टीको संस्थापन पÔविरुद्ध चर्का नाराबाजी सहित वरिष्ठ उपाध्यÔ मोहन वैद्य समूहका कार्यकर्ताहरू विरोधमा उत्रेका थिए ।
    सेना समायोजन र पार्टी नेतृत्वविरुद्ध निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तÔेप गरी मसाल खोसेर निभाएको हो ।
    वैद्य समूहले प्रहरीको घेराबन्दीमै जुलुस र कोणसभा गरेको थियो । सरकार र एकिकृत नेकपा माओवादीको संस्थापन पÔले विगतमा उठाइएका मुद्दाहरू छोडेर आत्मसमर्पण गरेको जनाउदै उक्त निर्णयको विरोध
स्वरुप बेलुकी मसाल जुलुस प्रदर्शन गरेको हो ।
    जुलुसपछि कोणसभामा बोल्दै एकिकृत नेकपा माओवादी नुवाकोटकी ईन्चार्ज लक्ष्मी मुडभरीले विगतमा देश र जनताको लागी उठाइएका मुद्दाहरूलाई संस्थागत गर्ने भूमिकामा रहेका जनमुक्ति सेनालाई सेना मातहतमा पु¥याएकोले आन्दोलनमा उत्रनुपरेको बताइन् ।
    उनीहरूले राजनीतिक पार्टीका नेताहरू र विÈेश गरी माओवादीका नेताहरूले फेरि जनतालाई धोका दिएको दावी गर्दै जनताको संविधान बन्न नदिने कसरत गरिरहेको बताइन् ।


नागरिक समाजमा पुनः लामिछाने

विदुर÷नेपाल नागरिक समाजको पहिलो साधारण सभाले तदर्थ समितिका अध्यक्ष बाबुराम लामिछानेलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
    अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश ः केशव मिश्र, शिव देवकोटा र राधिका कुइँकेललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
    त्यसै गरी, सदस्यहरूमा किरणप्रसाद अधिकारी, पुरेन्द्र ढकाल, राजुमित्र खनाल, पदम उप्रेती, अस्मिता थापा, बद्रि अर्याल र रमेश श्रेष्ठ रहेका छन् । त्यसै गरी सल्लाहकारहरूमा सुरेन्द्रराज अधिकारी, रामबहादुर थापा र पुष्राज लोहनीलाई चयन गरेको छ ।
    अधिवेशनको जिल्ला न्यायधिश पदमराज भट्टले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रेस चौतारीको अध्यक्षमा भट्ट

विदुर÷प्रेस चौतारी नुवाकोटको चौथो जिल्ला अविधेशजबाट देवचन्द्र भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
    मङ्गलवार सम्पन्न अधिवेशनबाट कार्य समितिको उपाध्यक्षमा विष्णु तारुके, सचिवमा भोलाराज पौडेल, सह–सचिव भैरबी ढुङ्गाना, कोषाध्यक्ष नवदिप अजनवी रहेका छन् । त्यसै गरी सदस्यहरूमा ईश्वर पौडेल र भरतसन्तोषि लामा, सल्लाहकारहरूमा शरणउत्सुक सापकोटा र केशव मिश्रलाई चयन गरेको छ ।
    अधिवेशनको प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले गरेका थिए । उनले प्रेस स्वतन्त्रता विना कानूनी राज्य स्थापना हुन नसक्ने लोकतन्त्र संस्थागत हुन नसक्ने भनाई राखेका थिए ।

गैसस महासंघमा उप्रेती

विदुर÷गैर सरकारी संस्था महासंघ नुवाकोटको सातौ अधिवेशनबाट पुनः पदम उप्रेती अध्यक्षमा सर्वसम्ममत चुनिएका छन् ।
    अधिवेशनले उपाध्यक्षमा मिनकुमार केसी, सचिवमा लोचन भट्टराई, सहसचिवमा शर्मिला उप्रेती, कोषाध्यक्षमा बुद्धीमान तामाङलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा रमेश प्रधान, यशोदा खतिवडा, गोकर्ण नेपाल, भवानी भट्ट, दुर्गाप्रसाद ढुंगेल, साधुराम सापकोटा, पार्वती उप्रेती, भोजबहादुर नेपाली चयन भएका छन् ।
    अधिवेशनमा राजनीतिक दलहरूले आफु खुसी पदको भागबण्डा गरेर स्वतन्त्र रुपमा उम्मेदवार हुन चाहने संस्थाका प्रतिनिधिहरूलाई निषेध गरेका थिए । भागवण्डा अनुसार एकीकृत नेकपा माओवादीले उपाध्यक्ष सहित चार, नेपाली काँग्रेसले सचिव सहित पाँच र एमालेले अध्यक्ष सहित तीन सदस्य लिएका छन् ।

युनियनले वुझायो ज्ञापन पत्र

विदुर÷झापाका पत्रकार यादव पौडेलको हत्याको विरोध र दोषिमाथी कारबाहीको माग गर्दै नेपाल प्रेस युनियन नुवाकोट शाखाले मङ्गलवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापान पत्र बुझाएको छ ।
    हत्यामा सम्लग्नहरूलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रेस युनियनले पटक–पटक आग्रह गर्दा पनि संलग्न सबैलाई पक्राउ गर्न राज्य पक्ष उदासिन बनिरहेको सन्र्दभमा प्रधानमन्त्री समक्ष पु¥याउने गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको जिल्ला अध्यक्ष श्रीराम नेपालले जानकारी दिएका छन् । ‘हत्या घटनाको सत्यतथ्य छानविन गर्न र पक्राउ परेकाहरूलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ’ विज्ञप्तमिा भनिएको छ ।
    यसअघि पनि पत्रकार हत्याका घटनामा सम्लग्नलाई राज्यले कारवाही गर्न सकिरहेको छैन । यादव पौडेलको घटनामा पनि त्यसैले निरन्तरता पाउने सम्भावना बढ्दै गएको छ । यस्ता घटनाको निरन्तरताले देशमा दण्डहिनता बढेको स्पष्ट हुँदै गएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा नुवाकोट पौडेलको हत्यामा सम्लग्न सबैलाई तत्काल पक्राउ गरी कारवाही गर्न र पत्रकारहरूको सुरक्षाको लागि थप गम्भिर हुन आग्रह गरेका छन् ।

घरेलु मदिरा नष्ट

विदुर÷गणेशस्थानका महिलाहरूले विक्रीका लागि बजार लैजाँदै गरेको अवस्थामा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
    ज्वालामुखी महिला सशक्तिकरण संस्थाको अगुवाईमा ठूलो परिमाणको मदिरा सोमबार महिलाहरूले नष्ट गरेका हुन् । एक महिनादेखि गाउँमा जुवातास तथा जाँडरक्सी नियन्त्रण अभियान सञ्चालन गर्दै आएका महिलाहरूको संस्थाले गणेशस्थान–४ फेदिवेसीमा २१ पाथी घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिदिएका हुन् । संस्थाका अध्यक्ष शान्ता अधिकारी र सदस्य सुन्तली रिजालको नेतृत्वमा रहेका महिलाहरूले मदिरा नष्ट गरिदिएको बताइएको छ ।

जुवातास विरुद्ध ऐक्यबद्धता

विदुर÷गणेशस्थान गाविसका महिला समुहले सञ्चालन गरेको जाँडरक्सी तथा जुवातास नियन्त्रण अभियानमा स्थानीय राजनीतिक दलले पनि प्रतिवद्धता जनाएका छन् ।
    अभियान सञ्चालनका लागि आइपर्ने समस्या समाधानका लागि राजनीतिक दलहरूले महिलाहरूलाई साथ दिने जनाएका हुन् । ज्वालामुखी महिला सशक्तिकरण संस्थाको आयोजनामा मङ्गलबार आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका भैरव अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र बोगटी, एमालेका केशवराज गिरी, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका बद्रीनाथ ढकाल, आयोजक संस्थाका अध्यक्ष शान्ता अधिकारी सदस्यहरू राधिका पौडेल र जगत अधिकारीतले मन्तव्य राखेका थिए ।

रेडक्रसको जिल्ला सभा सम्पन्न

विदुर÷नेपाल रेडक्रस सोसाइटी नुवाकोटको २३ औं जिल्ला सभा बिहिवार सम्पन्न भएको छ ।
    सभाले उद्धारकोष वृद्धि गरिने लगायत २३ बुँदे प्रस्तावित कार्यक्रमहरू पारित गरेको छ । सभामा रेडक्रसको उद्धारकोष वृद्धि र प्रभावकारी गर्नका लागि प्रत्येक विद्यालयबाट अभियान अन्र्तगत न्युनतम दुई हजार रुपैयाँ जुनियर रेडक्रस सर्कल तथा युवा रेडक्रस सर्कल मार्फत सङ्कलन गरिने जनाइएको छ । साथै यसका लागि २० वटै उपशाखाबाट जनही पाँच हजार रुपैयाँ सङ्कलन गरी कोषको प्रयोगको लागि छुट्टै निर्देशिका जारी गरिने कार्यक्रम पारित भएको छ ।
    सशस्त्र सङ्घर्षका कारण वेपत्ता व्यक्तिहरूसँग नियमित भेटघाट गर्ने र तथ्याङ्क अद्यावधिक गर्नुका साथै इलाकास्तर र विद्यालयस्तरमा निःशुल्क आँखा परीक्षण शिविर गरिनेलगायत २३ वुँदे कार्यक्रम रेडक्रसको सभाले पारित गरेको छ । सभाले मन्त्री भरत सुवेदीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष शङ्कर अमात्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
    रेडक्रस नुवाकोटका सभापति गणेशकुमार नेपालको अध्यक्षतामा सम्पन्न सभामा स्थानीय विकास अधिकारी दामोदर भण्डारी, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, पत्रकार महासङ्घका अध्यक्ष राजुमित्र खनाल, नेपाली कांग्रेसका सचिव लक्ष्मण श्रेष्ठले मन्तव्य राखेका थिए ।

३ ए को बाँध निर्माण सुरू

विदुर÷६० मेगावाटको माथिल्ले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाले बाँध निर्माण शुरू गरेको छ ।
    प्रवेशमार्ग र तटबन्घ निर्माण सकेर मूख्य निर्माण थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख ऋषिकेश शर्माका अनुसार बाँध निर्माण संगै दुई स्थानबाट एकसाथ सुरुङ्ग खन्न शुरू गरिएको छ । चिनियाँ निर्माण कम्पनी सीजीजीसीले द्रुत गतिमा काम गरिरहेको छ । सन् २०१४ सम्म निर्माण सम्पन्न गर्ने तयारी सो आयोजनाले जेठको दोस्रो सातादेखि आयोजनाको काम शुरू गरेको थियो । आयोजना निर्माणको लागि चीन सरकारले १० अर्ब छ करोड रुपैयाँको ऋण लगानी गरेको छ ।

परोपकारको स्थापना दिवस सम्पन्न

त्रिशुली÷परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम स्थापना दिवस मङ्गलवार सम्पन्न भएको छ ।
    जिल्ला सहकारी सङ्घ नुवाकोटका सदस्य कुलबहादुर खड्गीको प्रमुख आतित्थ्यतामा स्थापना दिवस भएको थियो । कार्यक्रममा जिल्ला सहकारी सङ्घका सदस्य नरेन्द्र प्रधान, सहकारीका सल्लाहकार हरिराम भण्डारी, सहकारीका सचिव विष्णुप्रसाद सापकोटालगायतले आफ्ना धारणाहरू राखेका थिए ।


पशु स्वास्थ्य शिविर सम्पन्न

थानसिं÷ग्रामीण भेगका पशुपालक किसानहरूलाई सहयोग गर्न थानसिङ गाविसमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    थानसिङ–१ कुमालाठाटीमा भएको शिविरमा गाई, बाख्रा र भैसीको विभिन्न रोगको उपचार तथा परिक्षण गरिएको छ ।
    एक हजार पाच सय भन्दा बढी पशुको विभिन्न उपचार तथा स्वास्थ्य परिक्षण गरिएको छ । त्यसै गरी, शिविरमा एक सय भन्दा बढी पशुको गोबर परिक्षण भएको छ ।
    टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्ष्टिच्यूट ललितपुर र राक्शेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा डा. उमेश मण्डलको नेतृत्वमा रहेको प्राविधिकको टोलीले पशुहरूको परिक्षण गरेको हो ।
    शिविरलाई एन पी एल डाबर, भेट फर्मा, भीरब्याक, मेडिभेट, इन्टरभेट, हिमालय भेट, म्यानकाइन, गुरास इन्टरनेशनल, इण्डियन हर्ज, सिपिएल लगायतका औषधी कम्पनीहरूले सहयोग गरेका थिए ।

Monday, April 02, 2012

पेट्रोल बेच्ने पसल शिलवन्दी

इमेज समाचारदाता
विदुर÷जिल्ला प्रशासन कार्यालय नुवाकोटले खुद्रा पसलहरूमा पेट्रोलियम पदार्थ राखेर विक्रि गर्ने पसलहरूमा छापा मारेको छ ।
    सोही क्रममा ठूलो परिणाममा पेट्रोलियम पदार्थ भेटिएको एक पसलमा शिलन्दी गरेको छ । प्रशासन कार्यालयका अनुसार ककनी र ओखरपौवा गाविसका पसलहरूमा अनुगमन भएको थियो ।
    अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्री गर्ने ककनी गाविसको एउटा पसलमा शिलबन्दी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा गएको जिल्ला ककनी–३ स्थित पवित्रा लामाको पसलमा मापदण्ड विपरित पेट्रोलियम पदार्थ विक्रीले पसलमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयलेले जनाएको छ ।
    लामाको पसलमा डिजेल डिजेल राखिएको एक हजार लिटरको ड्रम, दुई सय लिटरको नौँ ड्रम, पेट्रोल भरिएको दुई सय लिटरको ड्रमसहितको सटर शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् ।
    हरि लामिछानेको पसलमा सात सय  लिटर, ओखरपौवा–३ का रिता श्रेष्ठको पसलमा दुई सय लिटर, शान्ता लामाको पसलमा १४ लिटर, उपेन्द्र श्रेष्ठको पसलमा ५० लिटर डिजेल र रमिला श्रेष्ठको पसलमा छ लिटर पेट्रोल फेला परेको थियो ।  डिजेल र पेट्रोलको बारेमा नेपाल आयल निगमलाई जानकारी गराइएको बताइएको छ ।
    अनुगमनका क्रममा सरकारी अनुदान प्राप्त रासायनिक मल बढी मुल्यमा विक्रि गर्नेहरूलाई समेत कारबाहि गरिने भएको छ ।
     ककनी–३ कै विष्णुप्रसाद भट्टको घरमा कृषकहरूलाई अनुदानमा विक्री वितरण हुने ६१ बोरा, विरबहादुर लामाको पसलमा २७ बोरा युरिया मल र दुई सय लिटर डिजेल बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन् ।

नेपाली–चिनियाँ झडप

जगदीश खनाल
मनकामना÷माथिल्लो त्रिशुली–३ ए जलविद्युत आयोजना निर्माणमा खटिएका चिनिया कामदार र स्थानीवासीबीच झडप हुँदा १० जना भन्दा बढी घाइते भएका छन् ।
    मङ्गलबार आयोजना निर्माणस्थल नुवाकोट जिल्लाको मनकामना गाविसको सिरुपानीमा ढल निर्माणको विषयमा झडप भएको बताइएको छ । चिनियाँ कामदारहरूले स्थानीयवासीमाथी कुटपिट गरेपछि झडप भएको बताइएको छ । चिनियाँ कामदारले नेपालीमाथी खुकुरी र रड प्रहार गरेको बताइएको छ ।
    माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनामा दुई सय चिनिया कामदार र ७० जना नेपाली कामदारहरू खटिएका छन् ।
    त्यस अघि पनि नेपाली र चिनियाँ कामदार बचि विवाद हुँदै आएको थियो । अघिल्लो महिना पनि नेपाली कामदारलाई चिनियाँहरूले
खानेपानी उपलब्ध नगराएको घटना पनि सार्वजनिक भएको थियो । 
    सडकको ढल निर्माणमा लापरबाहि रहेको भन्दै स्थानीयहरूले  हिम पाइप राख्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयलाई लिएर रड प्रहार भएको स्थानीयहरूको भनाई रहेको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि रसुवा र नुवाकोटबाट प्रहरीहरू घटनास्थलमा पुगेका थिए ।

रेडियो त्रिशुली आरम्भ

विदुर÷नुवाकोटको सदरमुकाम विदुरबाट सामुदायिक रेडियो रेडियो त्रिशुलीले आफ्नो परिक्षण प्रशारण बुधवार दिउँसोबाट थालेको छ । रेडियोको मेगाजर्ह ८८.४ रहेको छ ।
    एक सय वाट क्षमताको रेडियो त्रिशुलीले बुधवार दिउँसो २ः४५ बजेबाट परिक्षण प्रशारण आरम्भ गरेको हो । रेडियोको कार्यक्षेत्र नुवाकोटका अधिकांश भु–भाग र आसपासका जिल्लाहरूमा रहेको रेडियोका अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् ।
    रेडियोले परिक्षण प्रशारणको अवधिमा १२ घण्टा प्रशारण गर्ने बताइएको छ । रेडियोले बुधवार दुई घण्टा प्रशारण गरेको  थियो । रेडियो त्रिशुलीले समाचार र समाचारजन्य सामग्रीहरूलाई प्रमुखताका साथ स्थान दिने अध्यक्ष खनालले जानकारी दिएका छन् । नुवाकोट जिल्लामा रेडियो त्रिशुली सहित चार वटा सामुदायिक रेडियोहरू प्रशारणमा रहेका छन् । यस अघि नुवाकोट एफएम, रडियो अभियान, रेडियो जालपा रहेका छन् ।

ढिकीजाँतो–सामरी भञ्ज्याङ पैदल मार्ग

राजु रिमाल
विदुर÷ऐतिहासिक स्थल ढिकीजाँतो चुलीदेखि सामरी भञ्ज्याङसम्म पैदल मार्ग निर्माण गर्न नुवाकोट उद्योग वाणिज्य संघले पहल गर्ने भएको छ ।
    संघका अध्यक्ष शरणउत्सुक सापकोटाले पैदल मार्ग निर्माणका लागि स्थानीयबासी, जिल्ला विकास समिति र सम्बन्धित निकायको समन्वयात्मक भुमिका तयार गर्न पहल शुरू गरिएको बताए । जिल्लाकै ऐतिहासिक, पर्यटकीय एवम् धार्मिक महत्व बोकेको यस क्षेत्रमा पैदल मार्ग निर्माण गरीए आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्ने बताइएको छ ।
    लाङ्टाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई यो पैदल मार्ग पु¥याउन सके स्थानीय बासीको जीवनस्तरमा सुधार गर्न सकिने र आन्तरिक पर्यटनको लागि समेत सम्भाब्य भएकाले तत्काल योजना बनाएर ट्रेकिङ ट्रेल निर्माण गर्नुपर्ने स्थानीय बद्री भट्टले बताउनुभएको छ । सदरमुकाम विदुरबाट सबैभन्दा नजिककोे ‘भ्यू प्वइन्ट’ भएकाले पनि यो ट्रयाक निकै महत्वपूर्ण भएको स्थानीयबासी बताउँछन् ।
    खानेपानी, विद्युत्, वासस्थान, वृक्षारोपण जस्ता पर्यटन पूर्वाधारको निर्माण गर्न‘पर्ने भएकाले स्थानीय निकाय, स्थानीय समुदाय र सम्बन्धित पक्षहरूले लगानी गर्नुपर्ने पर्यटन ब्यवसायीहरू बताउँछन् । विदुरबाट ढिकीजाँतो चुली पुग्न मुख्य दुई बाटो छन् ।
    पहिलो, हात्तिगौंडा–मजुवा–माझिगाउँ–तीनधारे पिपलडाँडा माविहुँदै चारघरे–८ टिमुरडाँडासम्म मोटर पुग्छ । त्यहाँबाट आधा घण्टादेखि ४५ मिनेट हिँडेपछि चुलिमा पुग्न सकिन्छ । यो बाटोबाट जाँदा विदुरदेखि चूलिसम्मको दूरी १५ किलोमिटर पर्छ । दोस्रो बाटोचाहीँ बट्टारबाट देवीघाट जलविद्युत् केन्द्रहुँदै जानुपर्ने हुन्छ । २२ किलोमिटर लामो यो बाटो मान्द्रेढुङ्गा–महेन्द्र मावि–चारघरे–भट्ट गाउँ–जामुनेहुँदै चुली पुग्न सकिन्छ । ढिकीजाँतो चुलीबाट सिङ्ला चुली–देउराली चुली–वैकुण्ठे चुलीहुँदै सामरी भञ्ज्याङ पुग्न सकिन्छ । प्रस्तावित पैदलमार्गमा यात्रा गर्न ओषत दुई घण्टा समय लाग्छ ।
    छोटो दूरीको र सदरमुकामदेखि नजिकै भएकाले यस पैदलमार्ग विकास गर्न सके आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा स्थानीयले गरेका छन् ।

छतमा बस्ने यात्रुलाई प्रहरीको थप्पड

विदुर÷बसको छतमा बसेर यात्रा गर्ने यात्रुलाई प्रहरले थप्पड लगाउन थालेको छ ।
    गएको सोमवार बिहान ११ बजे त्रिशुलीबाट काठमाडौँतर्फ जाँदै गरेको एक बसको छतमा बसेका नुवाकोट हल्देकालिका गाविस–९ का जीतबहादुर तामाङ सहित केहीलाई प्रहरीका असईले कुटेपछि तनाव उत्पन्न भएको छ । छतमा बसेर यात्रा गर्न नपाइने नियम भएको भन्दै छतबाट तल ओरालेर ६० वर्षिया तामाङलाई कुटे लगत्तै स्थानियवासिन्दा अन्य यात्रुहरू प्रहरीमाथि खनिएका थिए । तनावका कारण करिब तीन घण्टा सवारी आवागमन बन्द भएको थियो । घटना साम्य पार्न ४० जनाको प्रहरी टोलीले भिडलाई नियन्त्रणमा लिएर कुटपिटमा परेका यात्रुहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । प्रहरीले अब प्रहरीबाट कुटपिट नहुने बताएर यात्रुहरूलाई फर्काएको छ । जिल्लामा सञ्चालित सवारी साधनका छतमा यात्रुहरू बस्ने र दुर्घटनाका घटनाहरूमा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले छतमा बसेर यात्रा गर्न कडाई गरेको छ । प्रहरीले छतमा बसेर यात्रा गरेका यात्रुलाई ओरालेर कुट्न थालेको हो ।

बंैकमै पैसा असुरक्षित भएपछि

धुञ्चे÷बैकमा सुरक्षित राखिएको पैसा हराउला भनेर सायद स्याफ्रु गाविस– २ का ढिण्डुप तामाङले कहिलै सोचेका पनि थिएनन् होला, तर त्यस्तै भयो । उनले सुरक्षाका लागि बैंकमा गायव भएपछि रुन्चेहाँसो सुरु भएको छ । बुधबार ढिण्डुप तामाङले २०४७ साल देखि नेपाल बैँकको धुञ्चे शाखामा राखिएको पैसा गायव भएपछि असुरक्षाको भेद खुलेको हो ।
    आफ्नो चौरी गोठ नै बेचेर जम्मा गरेको पाँच लाख रुपैयाँ भन्दा बढी गायव भएपछि तामाङमात्रै होइन बैंकका कर्मचारीहरूको समेत निद उडेको छ । उनको खातामा रहेको पैसा नक्कली नाम भएका धुञ्चे–५ का ढिण्डुप तामाङले तीन पटक गरेर झिकेको बैकको अभिलेखमा उल्लेख छ । ‘पैसा लिन आईयो तपाईले सबै पैसा झिकिसक्नु भयो भन्दा त म झस्याङ्गै भए’ उनले सुनाए ।
    बैंकको अभिलेखमा २०६८ असोज १५ गते पाँच हजार रुपैयाँ, २०६८ साल कार्तिक ४ गते २० हजार  रुपैयाँ र २०६८ साल मङ्सिर १६ मा पाँच लाख रुपैयाँ गरी जम्मा पाँच लाख २५ हजार रुपैयाँ रकम धुञ्चे घर भएको ढिण्डुप तामाङले किर्ते हस्ताक्षर गरेर झिकिएको पाईएको छ ।
    बैकका कर्मचारीको मिलेमतोमा उक्त  काम भएको भन्दै पिडित पक्षको उजुरीको आधारमा बैंकका बरिष्ठ सहायक अधिकृत युवराज श्रेष्ठ र बैंकमा कार्यरत कर्मचारी लामा तेन्जिङ तामाङ र नक्कली खातावाल बनेर रकम निकाल्ने ढिण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरूमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक अच्युत पुडासैनीले जानकारी दिएका छन् ।

चार वर्ष पछि काज फिर्ता

शर्मिला उप्रेती
त्रिशुली÷विभिन्न कारणहरू देखाउँदै वर्षै देखि काजमा बस्दै आएका नुवाकोट जिल्लाका ग्रामिण भेगका स्वास्थ्यकर्मीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले फिर्ता गरेको छ ।
    पियनको भरमा स्वास्थ्य कार्यालयहरू छाडेर हिँडेका र काम नै नगरी तलब खाइरहेका एक जना डाक्टर, तीन जना अहेव, तीन जना अनमी र दुई जना कार्यालय सहायक गरी गरी नौँ जनालाई जिल्ला स्वास्थ्य कार्यालयले गाउँ फिर्ता पठाइएको हो ।
    काज फिर्ता भएर सम्वन्धि कार्यालयमा हाजिर हुने कर्मचारीहरूमा डा. दिपेन्द्र पाण्डे प्राथमिक स्वाथ्य केन्द्र खरानिटार, अहेवहरू दिपक रिमाल रातमाटे, भुवनराज केसी समुन्द्रटार र सुनिल बैद्य दुईपिपल रहेका छन् । त्यसै गरी अनमी लक्ष्मी सापकोटा वागेश्वरी गाविस, चारु तामाङ ककनी र ललिता नेपाली देउराली रहेका ।
    त्यसै गरी कार्यालय सहायकहरू उदय डङ्गोल मनकामना र खिलबहादुर प्याकुरेल ककनी फिर्ता भएका छन् । उनीहरू चार वर्षदेखि जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा चार वर्ष देखि काजमा रहेका थिए । बुद्धिबहादुर खड्काको देउरालीमा दरवन्दी रहेको भएपनि उहाँको काज भने फिर्ता भएको छैन । चालु आर्थिक वर्षमै उमेरहदका कारण अवकाश पाउने भएकोले जिल्ला अस्पताल त्रिशुलीमै रहेको बताइएको छ ।
    शुसासन अनुमगन समिति नुवाकोटले ग्रामिण भेगमा दरवन्दी रहेका स्वास्थ्यकर्मीहरूको काज फिर्ता हुनुपर्ने माग एक वर्षदेखि उठाउँदै आएकोमा यो पाली कार्यान्वयन भएको संस्थाका अध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य बसन्तराज केसीले जानकारी गराएका छन् । केसीका अनुसार अन्य स्वास्थ्यकर्मीहरू अझै पनि दरवन्दी कायम नभएका कार्यालयहरूमा नगएका र जिल्ला अस्पतालमै रहेकोले उनीहरूको काज फिर्ता गराउनका लागि समेत पहल भइरहेको छ ।   
    ग्रामिण भेगका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र अन्य स्वास्थ्य केन्द्रहरूमा दरबन्दी कायम भएका अहेव लगाएतका कर्मचारीहरूलाई सम्बन्धित गाविसमा गएर सेवा दिन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंहले जानकारी दिएका छन् ।

तीन घरमा भिषण आगलागी

विदुर÷ घ्याङफेदी गाविस–५ घ्याङडाडाँमा गएको साता भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ ।
    विहीवार दिउँसो भएको उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको स्थानीय कर्मजित तामाङले जानकारी दिएका छन्  ।
    उनका अनुसार स्थानीय याङदोर्जे मोक्तान र श्रीमेन्दो मोक्तानको घर जलेर नष्ट भएको छ । त्यसै गरी छिमेकी श्यामबहादुर मोक्तानको घरमा भने आशिंक रुपमा क्षति भएको छ ।
    दिउँसोको समयमा आगलागी भएको कारण मानविय क्षती नभएको बताइएको छ । दिउँसोको समयमा घरका अभिभावक खेतवारीको काममा गएको समयमा घरमा बालबालिकाले आगो खेलाउँदा आगलागीको घटना भएको बताइएको छ ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न

विदुर÷स्वास्थ्यकर्मीहरूको लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । कार्यक्रम गएको सोमवारबाट सुरु भएको थियो ।
    कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, प्राथमिक स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंह, तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नवराज लम्साल,  जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामेश्वर कुँवर सरकारी वकील कार्यालयका देवेन्द्रराज अर्याललले प्रशिक्षण दिएका थिए ।

खोलामा डुबेर विद्यार्थीको मृत्यु

विदुर÷नुवाकोटको तादी नदीमा डुबेर मङ्गलवार शाँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेर्खु गाविस–१ का २० वर्षिय दिपक लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कक्षा ९ मा अध्ययनरत लामाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जनाईएको छ ।

.श्रीमती भन्दा भैँसी प्यारो... खुकुरी प्रहारबाट श्रीमती घाइते


विदुर÷कहिले काँही आफ्नै श्रीमती भन्दा पनि भैँसी प्रिय हुन्छ भन्ने प्रमाणित गरेका छन् रसुवाका एक व्यक्तिले ।  भैँसीको स्याहारसुसार नगरेको झोकमा मदिरा पदार्थ सेवन गरेका धैबुङ्ग गाविस–८ का लयुल तामाङले श्रीमतीलाई मरणासन्न हुने गरी खुकुरी हानेका छन् ।
    विदुर नगरपालिका–४ बट्टारमा डेरा गरी बस्दै आएका तामाङले श्रीमती कान्छी तामाङमाथी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले छ । तामाङले श्रीमतीलाई भैंसीको स्याहार नगरेकोमा रिस उठेको र खुकुरी प्रहार गरेको प्रहरी वयान उल्लेख गरिएको बताइएको छ ।
    तामाङको उपचार काठमाडौँमा भइरहेको छ ।

पत्रकार महासङ्घको स्थापना दिवस

विदुर\नेपाल पत्रकार महासङ्घको ५७ औँ स्थापना दिवसको आवसरमा जिल्ला शाखा नुवाकोटले शुक्रवार विदुरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
    शाखा अध्यक्ष राजुमित्र खनालको सभापत्तिवमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए । आउँदो जेठ १४ मै संविधान भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
    कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनबहादुर खड्का, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं बागमती अञ्चल ईञ्चार्ज शिव देवकोट, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारी नुवाकोटका उपाध्यक्ष देवचन्द्र भट्ट, क्रान्तिकारी पत्रकार सङ्घ नुवाकोका सदस्य रामहरि गजुरेल, महिला मानव अधिकारी रक्षक सञ्जाल नुवाकोटका उपाध्यक्ष अस्मिता थापाल गायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागि वक्ताहरूले लोकतान्त्रिक नेपाल निर्माणमा प्रेसले निर्वाह गरेको भुमिका र पप्त उपलब्धीहरूको सुरक्षा गर्ने विषयमा आफ्ना भनाईहरू राखेका थिए ।

प्रशिक्षक प्रशिक्षण तालिम

बट्टार÷कार्नेट नेपालले छ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवार बट्टारमा सम्पन्न गरेको छ ।
    तालिममा नुवाकोटका दुईपिपल, तारुका, रातमाटे तथा खड्गभञ्ज्याङ गाविसका मण्डलीहरूका १७ जना अगुवाहरूको सहभागिता रहेको थियो ।
    प्रशिक्षण कार्यक्रममा सहभागिहरूलाई बाल दुब्र्यवहार तथा मानब बेचविखन विरुद्धको प्रशिक्षण दिइएको थियो ।
    तालिम पश्चात सहभागीहरूले आ–आफ्नो मण्डली तथा समुदायमा बाल यौन शोषण तथा मानव बेचविखन विरुद्धका सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने भएका छन् ।
        उक्त कार्यक्रम सञ्चालन गर्न सहभागीहरूले तीन महिनाको लागि सचेतनाका कार्य योजना पनि बनाएका छन् ।
    तालिमलाई कार्नेट नेपालका फिल्ड सुपरभाईजर सुरेन रसाईली, फिल्ड संयोजक गिरिजा भट्टराई तथा शाखा कार्यालयका क्लोसटर म्यानेजर पुरुषोतम डोटेलले सहजीकारण गरेका थिए ।
    कार्नेट नेपाल नुवाकोट वर्किङ गु्रपका संयोजक ईश्वर पुडासैनी र कोषाध्यक्ष दिपक भर्तालले सहभागीहरूलाई शुभकामना दिँदै प्रमाण पत्र प्रदान गरेका थिए ।
    सहभागीहरूले मानब बेचविखनका सम्बन्धमा आफुहरूमा भएका नकारात्मक धारणामा परिवर्तन भएको बताएका छन् ।

महिला सञ्जालमा थापा मगर

विदुर÷महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल समिति नुवाकोटको प्रथम अधिवेशन विदुरमा सम्पन्न भएको छ ।
    अधिवेशनले दुई बर्षे कार्यकालको लागी शर्मिला थापा मगरको अध्यक्षतामा नौ सदस्यिय कार्यसमितिको चयन गरेको छ ।
    कार्य समिचिको उपाध्यक्षमा अस्मिता थापा, सचिवमा शर्मिला उप्रेती र कोषाध्यक्षमा सविना रिमाल छन् । त्यसै गरी सदस्यहरूमा मणि लामा, मिका रिमाल र दलितबाट मनोनित सदस्य सम्झना नेपाली छन् । मनोनित अन्य सदस्यहरूमा सुकुमाया तामाङ र पार्वती उपे्रती छन् ।
    सल्लाहकारहरूमा शोभा श्रेष्ठ, विन्दा ढुङ्गाना, विन्दा अर्याल र महिला तथा बालबालिका कार्यालयका एक जना प्रतिनिधि रहने गरी चयन भएको छ ।

आर्थिक उपार्जनको लागि महिलाहरु समूहमा

बागेश्वरी÷वागेश्वरीका महिलाहरू आजकाल समूमा आबद्ध हुनथालेका छन् । कार्नेट नेपालले गरिब तथा विपन्न वर्गका महिलाहरूलाई ब्यवसायीक सीप अभिवृद्धि तालिम प्रदान गरि ब्यवसायीक कर्जा प्रदान गर्न थाले पछि गाउँलेहरूका निम्ति प्रशस्त अर्थ उपार्जनको लागि ठुलो ढोका खुलेको बागेश्वरीका महिलाहरू बताउँछन् ।
    समूहमा लामबद्ध हुने क्रममा बुधवार बागेश्वरी गाविसको फलाँटेमा वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूह र सुनौलो विहानी वचत तथा ऋण समूह गठन भएको छ । प्रत्येक समूहमा १२ जना सदस्यहरू रहेका छन् । उक्त समुहका अध्यक्षमा क्रमशः प्रमिसा सेडाई र भगवती सुनुवार छन् ।
    त्यस अघि तालिमको आयोजना गरिएको बताइएको छ । तालिमलाई कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलले सहजीकरण गरेका थिए । तालिममा समूहका आधारभूत तत्वहरू, वचत तथा ऋण परिचालनका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । वागेश्वरी दिदी बहिनी उद्दार वचत तथा ऋण समूहका कोषाध्यक्ष अनुष्का आचार्यले आफ्नो नवगठित समूहले वित्तिय कारोवार मात्र नगरी समूदायमा हुने विकृति, विसंगति विरुद्ध तथा वाल दुब्र्यबहार र मानब बेचविखन विरुद्धका सामुदायिक सचेतनाका कार्यक्रमहरू पनि गर्ने बताए । चैत्र २७ गते चोगदेमा एक समारोहमा विच नवगठित दुवै समूहका सदस्यहरूलाई जनहि दश हजार रुपैयाँ रकम बराबरको ब्यवसायीक सामानहरू तथा घर पालुवा जनावरहरू वितरण गर्ने जानकारी डोटेलले दिएका छन् ।

स्थानीयहरु फेरि आन्दोलनमा

ओखरपौवा÷उपत्याकाको फोहोर व्यवस्थापनमा पटकपटक अवरोध सृजना गर्दै आएका नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइडको आसपासका बासिन्दाले फेरि विभिन्न माग राखी स्थानीय विकास मन्त्रालयमा मङ्गलवार सात दिनको अल्टिमेटम दिएका छन् ।
    सिसडोल संघ समितिका उपाध्यक्ष श्यामसुन्दर बलामीसहितको टोलीले स्थनीय विकास मन्त्रालय फोहोरमैला व्यवस्थापन तथा श्रोत परिचालन केन्द्रका महाप्रवन्धक रामशरण महर्जनलाई विभिन्न तीन सुत्रीय माग राखी सात दिनभित्र माग पूरा गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा ओखरपौवा गाविस वडा नंं ४ सिसडोलमा गत सात वर्ष देखि फालिदै आएको उपत्यकाको फोहोर वैज्ञानिकरुपमा व्यवस्थापन गरिनुपर्ने, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रको विकास र विस्तारका लागि आधिकारीक विकास समिति गठन गरी सार्वजनिक गरिनुपर्ने तथा विगतमा भएका माग र सहमतिहरू पालना गरिनुपर्ने उल्लेख गरिएको छ ।
    आफ्ना मागहरू प्रति एक साता भित्रमा पनि सम्वन्धित निकाय गम्भिर नबने फोहोर व्यवस्थापनमा अवरोध सृजना गरिने उनीहरूले बताएका छन् ।

दुईलाई निजामति सन्तती छात्रबृत्ति

विदुर÷निजामति कर्मचारीका दुई जना सन्ततीले उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति पाउने भएका छन् ।
    सुन्दरादेवी आयुर्वेद औषधालयका सहायक विदुर पाण्डेका छोरा अभिषेक र जिल्ला भूसंरक्षण कार्यालयका सहयोगि छत्रप्रसाद ढुङ्गानाका छोरी प्रमीला ढुङ्गानाले छात्रबृत्ति पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चैत्र ५ गते बसेको विद्यार्थी छनोट सकितिको बैठकले उनीहरूलाई छात्रबृत्ति दिने निर्णय गरेको हो । उनीहरूले दुई वर्षसम्म मासिक पाँच हजार रुपैयाँ छात्रबृत्ति पाउने छन् । गतवर्षको एसएलसी परिक्षामा अभिषेकले ८२ प्रतिशत र प्रमीलाले ५१ दशमलव १३ प्रतिशत अङ्क प्राप्त गरेका थिए ।
    बहाल वा भूतपूर्व निजामति कर्मचारीका ती सन्तती, जो सामुदायिक विद्यालयमा अध्ययन गरेर उत्कृष्ठ प्रतिशत ल्याउनेलाई यस्तो छात्रबृत्ति दिने घोषणा सरकारले गत आवमा गरेको थियो । यसको लागि ‘निजामति कर्मचारीलाई छात्रबृत्ति उपलब्ध गराउने निर्देशिका २०६७’ जारी गरी आवेदन माग गरिएको थियो ।

Monday, March 26, 2012

निषेधको राजनीति

सभासद् प्रेम तामाङ
कपिलदेव खनाल
रसुवा÷एकीकृत नेकपा माओवादीको रसुवा नेतृत्वको गैह्र राजनीतिक चरित्रको कारणले एक अर्काका बीचमा भौतिक आक्रमणसम्मको स्थितीमा आइपुगेको छ । गत एकवर्ष देखिको तल्लो स्तरको विवाद गत साताको प्रेस विज्ञेप्ती सार्वजनिक भएबाट चुलिएको हो ।  आन्तरिक विवादले रसुवा जिल्लामा ठुलो रुप लिएको छ । माओवादी संस्थापन पक्ष र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षका जिल्ला स्तरिय नेताहरूको असन्तुष्टि र टकराबले निषेधको राजनीति सुरु भएको छ ।
    जिल्ला विकास समिति रसुवाको १९ औँ जिल्ला परिषद्मा राजनीतिक दलहरूले योजना र बजेट बाडफाँड गरेर खाएको आरोपमा भट्टराई खेमाका सभासद् प्रेम तामाङले आफ्नै पार्टी र अन्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमालेका विरुद्ध लगातार एक वर्षसम्म भण्डाफोर अभियान सञ्चालन गरेपछि दलहरूले सभासद्लाई निषेध नै गरेका छन् । एकीकृत माओवादी सहित नेपाली काँग्रेस, नेकपा एमाले र अन्य साना दलहरूले सभासद् उपस्थित रहने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्न थालेका छन् । काँग्रेस, एमाले सहितका अन्य दलहरूको सहयोगमा एकीकृत माओवादीले सभासद् तामाङलाई ‘एक्लाएको’ घोषणा गरेका छन् ।
    एकीकृत नेकपा माओवादी रसुवाद्धारा चैत ७, २०६८ मा जारी विज्ञप्ती अनुसार सभासद् तामाङले चैत १, २०६८ मा माओवादी पार्टीको नाममा अनाधिकृत रुपमा प्रयोग गरि पार्टीको नाममा प्रेस विज्ञप्ती जारी गरिरहेका छन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘कालिकास्थानको घुम्तीवजारमा कोणसभाको आयोजना गरी सभासद् प्रेम तामाङले जिल्ला पार्टीका जिम्मेवार नेताहरूको नामै किटान गरि आक्रमणको धम्की दिनुको साथै वेलुकी जिवजिवेमा नारायण देवकोटा, शंकर देवकोटा र अर्जुन लामिछानेको घर खानतलासी गरि जिल्ला सेक्रेटरी समिरलाई खोजी गरिनु र आक्रमण गर्ने धम्की दिने काम गरियो । सो को निरन्तरतामा अज्ञात समुहले चैत ४, २०६८ को राती १२ः५० वजे जिल्ला सेक्रेटरी समिरको घरमा ढुङ्गामुढा गर्ने काम भयो ।’  
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर
जिल्ला सेक्रेटरी माधव लामिछाने ‘समिर’का अनुसार जनताका लागि काम गर्दागर्दै सभासद् तामाङले सबै दललाई भ्रष्टाचारीको आरोप लगाएका कारण माओवादी, काँग्रेस, एमाले, नेकपा एकीकृत सहितका दलहरूले सभासद्लाई बहिष्कार गरेका हुन् । सभासद् तामाङले राजनीतिक दलका नाममा नेताहरूले गर्न लागेको आर्थिक अनियमितता र भ्रष्टाचारको पर्दाफास गरेकोमा आफुलाई माओवादी पार्टीले कालोमोसो लगाएर सडकमा पछार्ने धम्कि दिएको बताएका छन् । ‘जनप्रतिनिधि हुँ, जनताकै नाममा दलहरूले लुटगरेको विषयमा मैले बोल्न पाउनुपर्छ, रोक्न पाउनुपर्छ’ सभासद् तामाङले भने । माओवादीको पालुङटार बैठक अघि देखिनै रसुवामा विचार विहिन र विचार बोकेका माओवादीहरू बीच निरन्तर लडाई चलिरहेको उनको भनाई छ । ‘माओवादी जनतासंगै रहनुपर्छ भन्ने बिचार बोकेका र ऐसआराम गर्नुपुर्छ, उत्थानको प्रक्रृया आफैबाट थालिनुपर्छ भन्ने बिचारविहिन पक्षको लडाई जिल्लामा जारी छ’ तामाङले भने । रसुुवा माओवादीमा पछिल्लो पटक देखापरेको कलह पनि सोही प्रक्रृयाको निरन्तरता मात्रै भएको उनको दाबी छ । सेक्रेटरी समिरमाथीको आक्रमण प्रयासलाई तामाङले स्विकार गरेका छैनन् ।
    जनताले खानेपानीको पाइप, विद्यालयमा बस्ने बेञ्च र चक समेत नपाइरहेको अवस्थामा प्रमख तीन राजनीतिक दलहरूले विभिन्न नाम देखाएर एकमुष्ठ रकम हत्याउन लागेको भन्दै दलका नेताहरू भ्रष्टाचारी रहेको दावी गर्दै सभासद् तामाङले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा विरोध जनाउँदै आएका छन् । माओवादी पार्टीले भने राजनीतिक दलहरूले जिविसको योजना तर्जुमा बैठकमा जनताबाट माग भएका योजनाहरूलाई प्राथमिकतामा रहेर बजेट बाडफाँड गरिएको र आफ्ना व्यक्तिगत माग परिषद्बाट सम्बोधन नभएपछि सभासद् तामाङले आफ्ना पार्टी सहित अन्य दलहरूलाई भ्रष्टाचारीको आरोप लगाएको बताएको छ ।
    चालु आर्थिक वर्षको लागि जिल्ला विकास समिति रसुवाको १९ औँ परिषद्बाट एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र एमालेले आ–आफ्ना फरक योजनामा २०÷२० लाख रुपैयाँ विनियोजन गरेकोमा सभासद् तामाङले आपत्ति जनाउँदै आएका छन् । एक वर्ष अघि सम्पन्न परिषद्बाट माओवादीको भागमा रेडियो सञ्चालन गर्न १५ लाख, सहकारीका लागी पाँच लाख गरी २० लाख रुपैयाँ, काँग्रेसको भागमा सहकारी संस्थाहरूमा खर्च गर्नेगरी २० लाख रुपैयाँ र एमालेको भागमा जडिबुटीको क्षेत्रमा काम गर्न भनि २० लाख रुपैयाँ एकमुष्ठ विनियोजन गरेको थियो । सभासद् तामाङ व्यवस्थापन समितिका अध्यक्ष रहेको कालिका हिमालय उच्चमाविका लागि समेत १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । विवादका कारण ती योजनाहरू कुनै पनि सञ्चालनमा आएका छैनन् ।
    नेपाली काँग्रेस रसुवाले भने माओवादीको आर्थिक द्धन्द्धका कारण आफ्नो पार्टीलाई समेत भ्रष्टाचारीको कित्तामा राखेर आलोचना गरेकामा आपत्ति जनाएको छ । रसुवा सभापति लामाकार्पो तामाङले सभासद्ले आफ्नो मर्यादा कायम राख्न नसकेको र माओवादीको आन्तरिक आर्थिक द्धन्द्धमा काँग्रेसलाई मुछिनु खेदपुर्ण रहेको बताए । ‘रसुवा माओवादीले आठ वटा ट्रिपर गाडी, पेट्रोल पम्प र सहकारी सञ्चालन गरिरहेको र त्यसैको आन्तरिक विवाद सडकमा आएको हो, सभापति तामाङले भने– सभासद् आफ्नै चार वटा ट्रिपर सञ्चालन गरिरहेको सुनेका छौँ, यो विवाद दुई खेमाको र  केही हदमा आर्थिक द्धन्द्धले छताछुल्ल भएको हो ।’ माओवादी भ्रष्टाचारी पार्टी रहेको दाबी गर्दै काँग्रेस सभापति तामाङले सभासद्ले आफ्नो पार्टीको विषयमा सही मुल्याङ्क गरेपछि काँम्ग्रेसलाई मुछेर सार्वजनिक कार्यक्रममा भ्रष्टाचारी भनिनु आपत्ति जनक रहेको बताएका छन् ।
    सभासद् तामाङ विद्यार्थी राजनीतिबाट माथी उठेका हुन् । जिल्ला तहमा सह–सक्रेटरीको हैसियतमा रहेका तामाङलाई जिल्लामा माओवादी नेतृत्वले जुनियर नेताका रुपमा हेर्ने गरेका छन् । २५ जना जिल्ला सदस्य रहेको रसुवा माओवादीमा संस्थापन पक्षको बहुमत रहेको छ । मोहन बैद्यको पक्षधर जिल्ला स्तरिय नेता र कार्यकर्ता भने रसुवामा छैनन् । जिल्ला ईञ्चार्ज इन्द्र गौतम ‘जगतजङ्ग’, सेक्रेटरी माधव लामिछाने ‘समिर’ सहितका नेताहरू संस्थापनमा र सभासद् एवं सह सक्रेटरी प्रेम तामाङ, जिल्ला समिति सदस्य दावा तामाङलगायत छन् । 
यमी गुट भेलामा सहभागी

हिसिला सभासद् प्रेम तामाङका साथमा रसुवामा ।
भोर्ले÷केन्द्रिय स्तरमा एकीकृत माओवादीको संस्थापन र उपाध्यक्ष डा. बाबुराम भट्टराई एउटै कित्तामा देखिएपनि रसुवामा भने फरक फरक भेलामा लागेका छन् । रसुवामा संस्थापन र भट्टराई पक्षका मात्र कार्यकर्ताहरू छन् ।
    शनिवार उपाध्यक्ष भट्टराई पक्षधर समुहका नेताहरूले आयोजना गरेको बनभोजमा उपाध्यक्ष भट्टराई पत्नि हिसिला यमीनै सहभागि भएका छन् । रसुवाको भोर्ले गाविसमा भट्टराई पक्षधर मानिने सभासद् प्रेम तामाङले राखेको भेलामा यमी सहभागी हुन आएका हुन् । माओवादीको संस्थापन पक्षका जिल्ला ईन्चार्ज ईन्द्र गौतम ‘जगतजङ्ग’ले भने आफुहरू सो भेलामा सहभागी नभएको जनाएका छन् । संस्थापन पक्ष र भट्टराई पक्ष बिचार समुहले मिलेर जाने र किरण पक्षसंगै बैचारिक प्रतिस्पर्धा गर्ने वातावरण तयार भईरहेको बेला प्रधानमन्त्री पत्नी हिसिला यमीले गुटको भेलामा सहभागिता जनाउनु आपत्तिजनक रहेको रसुवा माओवादीले प्रतिक्रृया दिएको छ ।
    पार्टीभित्रै द्धन्द्ध बढ्दै गएपछि सभासद् प्रेम तामाङले आफ्नो शक्ति प्रर्दशनका लागी बनभोज तथा भेलाको आयोजना गरेको माओवादीका एक सदस्यले बताए । भेलामा सहभागी ठाकुर अधिकारीका बनभोजमा भट्टराई पक्षका कार्यकर्ताहरूका लागि गोप्य तथा आन्तरिक प्रशिक्षण दिइएको थियो । भेलामा चार सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
    बनभोजमा पत्रकारहरूलाई आन्तरिक छलफल भएको र कार्यकर्ताहरू मात्र सहभागि हुनसक्ने भनेर प्रवेश दिइएको थिइएन । तर नुवाकोटबाट आएका पर्यटन साप्ताहिकका श्यामसुन्दर पुडासैनीलाई भने प्रवेश दिइएको थियो । पुडासैनीले कार्यकर्ता नभई पत्रकारको हैसियतले कार्यक्रममा सहभागि भएको दावी गरेका छन् ।

नुवाकोट एफएमलाई कारबाहिको माग

इमेज समाचारदाता
विदुर÷नेपाल विद्यार्थी सङ्घ नुवाकोटले नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको र गल्ति स्विकार नगरेको भन्दै कारबाहिको माग गरेको छ ।
    जिल्लामा सञ्चालित प्रवेशिका परिक्षा (एसएलसी) नेविसंघले अमर्यादित बनाएको भन्दै समाचर सम्प्रेषण गरेकोमा कारबाहिको माग गरेका हुन् । मदानपुर स्थित शक्ति उच्चमावि परिक्षा केन्द्रमा नेविसंघले चैत ७ गते विद्यार्थीहरूलाई चिट चोराएको भन्दै नुवाकोट एफएमले गलत समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारको जिल्ला शिक्षा कार्यालय नुवाकोटले खण्डन समेत गरेको छ ।
    नेविसंघ शक्ति उमावि इकाई सभापति अश्विन सिलवालले चैत ८ गते विज्ञप्ती जारी गरेर भ्रमक र कपोलकल्पित समाचार सम्प्रेषण गरेकोमा खेद व्यक्त गरेका छन् । नेविसंघ नुवाकोटका सभापति मछिन्द्र खड्काले राजनीतिक पुर्वाग्रहका आधारमा नुवाकोट एफएमले आफ्नो संस्थामाथी आक्षेप लगाएको बताएका छन् ।
    विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले मङ्गलवार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटी कारबाहिको लागि ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरूले नुवाकोटले एफएमले उक्त समाचारको पुष्टि गर्न नसकेको र माफी नमागेको कारण आफुहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
    साथै नुवाकबोट एफएम सञ्चालन गर्ने संस्था जिल्ला प्रशासन कार्यालयमा केही आर्थिक वर्ष देखि नविकरण समेत नभएको उल्लेख गर्दै गैह्र कानूनी हिसावबाट सञ्चालन भएको सञ्चार संस्थालाई रोक लगाउन आग्रह गरेका छन् ।
    प्रजिअ पाण्डेले भने सञ्चार संस्थालाई आफुले केही गर्न नसक्ने र विद्यार्थी या नागरिक स्तरबाट बहिष्कार र भौतिक कारवाही भएपनि आफुले आँखा चिम्लने आशयको अभिव्यक्ति दिएका छन् । मैले केही गर्न मिल्दैन, प्रजिअले भने– तपाईहरू गर्नुस् ।’ पत्रकार र सञ्चारसंस्थाले पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । 

उज्यालोको यात्रामा मर्सेनी तामाङ

चार वर्षदेखि दुवै आँखाको ज्योती गुमाएका घ्याङफेदी गाविसका ७४ वर्षिया मर्सेनी तामाङ घ्याङफेदी प्राविमा एक साता अघि सञ्चालित आँखा शिविरमा आँखाको परिक्षणका लागि छोरी जरिना र आफन्तसंग आउँदै । तस्बिर सौजन्य ः दिपक खड्का÷तिलगङ्गा आँखा केन्द्र  
शर्मिला उप्रेती
विदुर÷खरानीटारमा गएको साता भएको निःशुल्क आँखा शल्यक्रियामा दुई सय दुई जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
  
 जसमा नुवाकोट जिल्लाको घ्याङ्फेदी गाविस नेगीका मर्सेनी तामाङले जीवनमा पहिलो पटक ठूलो उपहार पाएँ । चार वर्ष देखि ओछ्यान र भान्सामा ओहोरदोहोर गर्न पनि अरुको सहारा आवश्यक पर्ने ७४ वर्षिया तामाङको दुवै आँखाको ज्योती जब शल्यक्रियाबाट फर्कियो, संसारमा अत्यान्तै खुसी हुने मध्येमा त्यस बेला उनी पनि एक थिइन् ।
    तीलगंगा आँखा केन्द्र काठमाडौं, नुवाकोट सामुदायिक आँखाको केन्द्र र नेपाल रेडक्रस

सोसाइटी नुवाकोटको संयुक्त आयोजनामा खरानीटारको अमरज्योति उच्च माविमा सम्पन्न तीन दिने शिविरमा मर्सेनी तामाङले आँखाको ज्योती उपहार पाएका हुन् । उनीजस्ता दुई सय दुई जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
   
डा. वेन लिम्वु र रचना सिंहसहित दुई चिकित्सक र १७ जनाको आँखा प्राविधिकको टोलीले दुई सय दुई जनाको आँखाको मोतीयाविन्दुको शल्यक्रिया र तीन सय सात जनाको आँखा परिक्षण गरि आवश्यक औषधि निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक दिपक खड्काले जानकारी दिएका छन् ।
   
मोतियाविन्दुका विरामीहरू पहिचान गर्न गत महिना जिल्लाको विभिन्न नौँ गाविसमा शिविर सञ्चालन गरी छानिएका  मोतियाविन्दुका रोगीहरूको खरानिटारमा शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिएका छन् ।



























पहाडमा हाट बजार सञ्चालन

बिशाल आले मगर
चोकदे÷हिजो सम्म घरधन्दाबाट फुर्सद नपाएका नुवाकोटका महिलाहरू हाट बजार सञ्चालन गरी आर्थिक उर्पाजन गर्न थालेका छन् । बागेश्वरी गाउँ विकास समिति –४ चोकदेका १२ जना महिलाहरूले हाट बजार हरेक हप्ताको बुधवार सञ्चालन गर्न थालेका हुन् ।
    हाट बजारमा बिभिन्न खालका घरायसि उत्पादनका सामाग्रीहरू, खाद्य सामाग्रिहरू, आफ्नै करेसामा फलाइएका तरकारी, हस्तकलाका सामाग्रीहरू, सरसफाइका सामाग्रीहरूको बिक्रि गरिएको थियो । जिल्लामा पहिलो पल्ट राखिएको हाट बजारमा गा्रहकहरूको घुइचो लागेको थियो ।
    गा्रहकहरू स्थानियस्तरमा उत्पादित वस्तुहरूको किनबेच गर्न पाएकोमा खुशि थिए । कार्नेट नेपालले नविन मण्डली चोगदेमा गएको  चैत्र ३ गते देखि ८ गते सम्म सञ्चालन गरेको छ दिने अति विपन्न वर्गकाहरूका निम्ति ‘ब्यवसायीक सीप अभिवृद्धि तालिम’को समापन सँगै सहभागीहरूले हाट बजार सञ्चालन गरेको बताइएको छ ।
    कार्नेट नेपाल नुवाकोटका क्लस्टर म्यानेजर पुरुषोतम डोटेलका अनुसार  हाटबजार सञ्चालकहरूले   अर्थ उपार्जन गर्दै आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाई अधिकार प्रर्वद्धन गर्ने तथा शैक्षिक अवसरलाई सहजै प्रदान गरि बालबालिकाहरूमा हुने विभिन्न दुव्र्यवहारहरू तथा अनेक खालका जोखिमको निकटतालाई दुर गराउन प्रतिबद्ध हुनेमा विश्वास ब्यक्त गरेका छन् । आमा दिदीबहिनीहरू बीचको सामुहिक एकतालाई सुदृढ गरि आफुहरू माथी हुने हिंसा विरुद्धको प्रतिरक्षात्मक चिन्तन र कार्यको उचाईमा पुग्ने समेत डोटेलले बताएका छन् ।
    तालिमको  समापन कार्नेट नेपालकी निर्देशक शर्मिला घिमिरेले गरेका थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र बितरण गदै अतिथि तथा सुर्यगढी क्याम्पस बागेश्वरीका प्रमुख लालबहादुर कुँवरले तालिम लक्षित व्यक्तिहरूले नै पाएको भन्दै समाज रुपान्तरणको लागि यस तालिमले ठुलो सहयोग गर्ने कुराको उद्घोष गदै सहभागीहरूको सफल ब्यवसायको निम्ति शुभकामना  व्यक्त गरेका थिए ।

१२ करोडमा पुल निर्माण हुने

राजु रिमाल
विदुर÷विदुर–७ र खड्गभन्ज्याङ गाविस–४ को त्रिशुली नदीमाथि पुल निर्माण हुने भएको छ । पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र उर्जामन्त्री पोष्टबहादुर बोगटीले संयुक्त रुपमा शनिवार शिल्यान्यास गरेका छन् ।
    पुल १२ करोड ७४ लाख ६८ हजार पाँच सय रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पुलको निर्माण कार्य २०७० साल मंसिर भित्र हुने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताएका छन् । स्टिल ट्रसका साथ आरसीसी ढलान गरिने पुलको लम्वाई एक सय ८० मिटर र ६ मिटर चौडाई हुने जनाइएको छ ।
    यसैवीच, जिल्लाका राजनीतिक दलहरूलाई आसन ग्रहण नगरेका, मर्यादाक्रम नमिलाएको र विकास निर्माणको कार्यमा शुभकामना मन्तव्य राख्न नदिएको बन्दै तीन राजनीतिक दलहरूले कार्यत्रलम वहिष्कार गरेर हिडेका थिए ।
    नेपाली काँग्रेस नुवाकोटका सचिव लक्ष्मण श्रेष्ठ, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, र राप्रपाका जिल्ला सदस्य रामकृष्ण भट्टले आयोजकबाट दलहरूलाई अपमान र छोटो शुभकामना मन्तव्य समेत राख्न नदिएको विरोध जनाउँदै कार्यक्रम बहिष्कार गरेको घोषणा गरेका थिए ।

सहायक केन्द्राध्यक्ष निष्काशित

द्धारिका प्याकुरेल
विदुर÷एसएलसी परिक्षामा सहायक केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेका एक जना शिक्षकलाई परिक्षा समन्वय समितिले निष्काशित गरेको छ ।
    हात्तिगौडा स्थित भैरुम उच्चमावि केन्द्रका सहायक केन्द्राध्यक्ष अशोक साहलाई परिक्षाको मर्यादा र नियम विपरित कार्य गरेको भन्दै निष्काशित गरेको हो । विहिवार परिक्षा समन्वय समितिको बैठकले साहलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
    जिल्ला शिक्षा कार्यालय नुवाकोटले यो पाली देखि परिक्षामा हुने गरेका घटनाहरूको दैनिक जानकारी दिनको लागी पत्रकार सम्मेलनको आयोजन ागर्ने गरेता पनि उक्त  तथ्यलाई भने लुकाएको छ । शनिवार जिल्ला शिक्षा कार्यालय नुवाकोटका उप सचिव नरेन्द्रराज पौडेलसंग भएको कुराकानी अनुसार ‘काम गर्न नसकेर साहले राजिनामा दिएका रे !’
    यसै बीच, देउरालीको भुमेदेवी उच्च मावि परिक्षा केन्द्रबाट एसएलसीमा सहभागी भएकी एक छात्रा सुत्केरी भएका छन् ।
    अजिङ्गेर उच्चमाविका इन्दिरा खड्काले परिक्षाको भोलिपल्ट बुधबार विहान जिल्ला अस्पताल त्रिशुलीमा छोरी जन्माएका छन् । उनको बुधबारको नेपाली विषयको परिक्षा छुटे पनि शुक्रबारबाट परिक्षामा सहभागी भएका छन् ।
    नुवाकोटमा सबै २१ वटै परिक्षा केन्द्रमा हालसम्मका परिक्षा  शान्त र मर्यादित रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
    शिक्षा कार्यालयले यस पालीबाट परिक्षा सकिएपछि प्रत्यके दिन एक बजे पत्रकार सम्मेलन गरेर जानकारीहरू दिने नयाँ कार्यको सुरुवात गरेको छ ।
    उक्त पत्रकार सम्मेलनले गर्दा सञ्चारमाध्याममा आधिकारीक जानकारी एकै प्रकारको गएको दावी शिक्षा कार्यालयले गरेको छ ।
    शिक्षा कार्यलयको अनुसार यो बर्षको एसएलसी परिक्षामा आठ जना विभिन्न किसिमका अपाङ्गहरू सहभागी भएका छन् । परिक्षामा दुई दृष्टिविहीन र छ शारिरिक अपाङ्गता भएकाहरू परिक्षामा सहभागी छन् । उनीहरू सबै नियमति तर्फका परिक्षार्थी रहेको बताइएको छ ।
    प्राप्त समाचार अनुसार गेर्खुको सुन्दरीक्यौरेनी उच्च मावि परिक्षाकेन्द्रबाट चण्डेश्वरी उच्च माविका दृष्टिविहीनहरू शोभा न्यौपाने र संगम श्रेष्ठले सहयोगी राखेर परिक्षा दिएका छन् ।
    भवानी उच्च मावि परिक्षा केन्द्रबाट शारिरिक अपाङ्गता भएकाहरू कालिका निमावि चाउथेका असिम भारती, लाङटाङस्नो भ्यू बोर्डिङ्ग स्कुलका बविता तामाङ र भवानी उमावि ओखरपौवाका अस्मिता बलामीले परिक्षा दिइरहेका छन् ।
    चण्डेश्वरी उमाविका कृष्ण फुँयालले सुन्दरीक्यौरिनी उमावि केन्द्रबाट सहयोगी राखेर परिक्षा दिईरहेका छन् । अपाङ्गता भएका परिक्षार्थीको लागि परिक्षा समय डेढ घण्टासम्म थप गरिएको छ ।
    जिल्ला कारागारमा थुनामा रहेको जनज्ञान उच्च माविका नियमित तर्फका परिक्षार्थी सुमन थपलियाले कारागारबाटै परिक्षा दिइरहेका छन् । –प्रशिक्षार्थी

नुवाकोटमा बैंक खोल्नेको होड

द्धारिका प्याकुरेल
बट्टार÷पछिल्लो समयमा नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीब्रता पाएको छ । यसै क्रममा प्राईम बैंकले नुवाकोटको बट्टारमा विधिवत रुपमा आफ्नो शाखा खोली गएको सोमवारबाट कारोवार शुरु गरेको छ ।
    प्राईमले आफ्नो २८ औं शाखाको रुपमा बैंकका प्रबन्ध निर्देशक राजेन्द्रदाश श्रेष्ठले उद्घाटन गरी नुवाकोटमा नया शाखा विस्तार गरेको हो ।
    हाल राष्ट्रबैंकले काठमाडौँ उपत्यकामा नयाँ शाखा खोल्नको लागि मोफसलमा शाखा विस्तार गर्नुपर्ने प्रावधान राखेपछि नुवाकोटमा बैंक तथा बित्तिय संस्था खोल्ने क्रमले तीव्रता पाएको हो । नयाँ बैंक तथा बित्तिय संस्था खोलेसंगै स्थानीय युवा युवतीले रोजगारीको अवसर समेत पाएका छन् । साथै बैंकहरूले शाखा विस्तारसंगै बैंक तथा बित्तिय संस्थामा भएको प्रतिस्पर्धासंगै ग्राहक तथा व्यवसायीहरूले थप सेवा तथा सुविधा पनि पाएका छन् । अहिले बढेको प्रतिस्पर्धासंगै ग्राहकल ३६५ दिनै निक्षेप जम्मा र झिक्ने एवं आर्थिक कारोवार गर्ने सुविधा पाएका छन् ।
    यता बैंकले पनि प्रतिस्पर्धा संगै उद्यम तथा व्यवासय गर्न चाहनेहरूको संख्या जति बढेपनि निक्षेप सङ्कलन तथा ऋण कारोवारमा खासै कमी नआएको र मुलुकको आर्थिक विकास संगै व्यवसाय तथा आर्थिक कारोवारमा लाग्न चाहनेको संख्या दिनप्रतिदिन बढिरहेकोले बैंक तथा बित्तिय संस्थाहरूको वृद्धिसंगै बैंकहरूलाई खासै असर नपरेको बैंकका सञ्चालनकहरूको भनाई छ ।
    नुवाकोट जिल्लामा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय सहकारी बैंक, हाम्रो विकास बैंक, एनबी बैंक, एनडिइपी बैंक, राष्ट्रिय बाणिज्य बैंक गरी सातबटा तिनीहरूको शाखा सहित एक दर्जन भन्दा बढी बैंकहरू रहेका छन् ।

शान्ति समितिमा अर्याल

विदुर÷स्थानीय शान्ति समिति नुवाकोटको संयोजकमा विन्दा अर्याल छानिएका छन् ।
    समितिको मङ्गलबार विदुरमा बसेको बैठकले संयोजकमा     अर्याललाई चयन गरेको हो । एकिकृत माओवादी तर्फबाट संयोजक बनेका नवीन पुडासैनीको चार महिने पदाबधि सकिएपछि नेपाली कांग्रेसको पालो आएको र काँग्रेसका तर्फबाट अर्यालय संयोजक छनोट भएको बताइएको छ ।

नुवाकोटमा कृषि गणना सम्पन्न

विदुर÷छैठौं राष्ट्रिय कृषि गणना सम्पन्न भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना गएको महिना सम्पन्न भएको र सङ्कलित विवरण केन्द्रीय तथ्याङ्क विभागमा पठाइएको कृषि गणना कार्यालयले जानकारी दिएको छ ।
    कृषि गणना अधिकृत नवराज लम्सालका अनुसार तथ्याङ्किय विधि अनुसार छनौट गरिएका विदुर नगरपालिकाको वडा नं. ६, ७ र ९ तथा ६१ मध्ये ५२ वटा गाविसका ७२ वटा वडावाट विवरण सङ्कलन गरिएको छ । सङ्कलकहरूले कार्यालयमा वुझाउने कार्य सम्पन्न भएपछि प्रारम्भिक विवरणका लागि सङ्कलित विवरण केन्द्रमा पठाइएको छ ।
    जिल्ला कृषि गणना कार्यालयले गत माघको पहिलो सातादेखि सञ्चालन गरेको गणनाको लागी २० जना गणक र पाँच जना सुपरभाइजर खटाइएको थियो ।

पुण्यतिथिमा स्मृती सभा

विदुर÷नेपालको लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोईरालाको दोश्रो पुण्यतिथिमा नेपाली काँग्रेस नुवाकोटको आयोजनामा मङ्गलबार सदरमुकाम विदुरमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याई लोकतान्त्रिक संविधान निर्माण गर्न सकेमात्र गिरिजाप्रसाद कोईरालाको सपना साकार हुने धारणा व्यक्त गरे । लोकतान्त्रिक संविधान निर्माण हुन नदिन केही शक्तिहरू लगिपरेको बताउँदै सभासद् केसीले त्यसका बिरुद्ध काँग्रेस लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने केसीले बताउनुभयो ।
    कार्यक्रममा नेपाली काँगे्रस नुवाकोटका निवर्तमान सभापति ध्रुव अधिकारी, क्षेत्रीय अध्यक्ष गोबिन्द थपलिया, प्रेस युनियनका केन्द्रिय सदस्य शिव देवकोटा, महिला संघका अध्यक्ष बिन्दा अर्याल, काँग्रेस जिल्ला सहसचिव दिपक लामा, सदस्य रुपा पाण्डेलगायतका वक्ताहरूले गिरिजाप्रसाद कोईरालाको व्यक्तित्व र लोकतान्त्रिक आन्दोलनप्रतिको योगदानका बारेमा धारणा राखेका थिए ।