Monday, June 20, 2022

जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मालक्ष्मीलाई घरमै नागरिकता प्रदान गर्दै । 
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नागरिकहरूको सेवाका लागि घर घरमै पुगेर नागरिकता वितरण गरिरहेको छ । विशेष अवस्थामा रहेको नागरिकहरूलाई घरमै नागरिकता प्रदान गर्नका लागि एक वर्षदेखि प्रशासन कार्यालयले सक्रियता बढाएको छ । यस क्रममा बुधवार शारिरिक अपाङ्गता भएका तारकेश्वर गाउँपालिकाका दुई जनालाई घरमै नागरिकता वितरण भएको छ । 

शारिरिक रुपमा अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेका उनीहरूलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरेको नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनका अनुसार तारकेश्वर गाउँपालिका वडा ३ हटियाका दुई जनालाई नागरिकता प्रदान गरिएको छ । २५ वर्षीय भवनाथ ढकाल र ५९ वर्षीया लक्ष्मी श्रेष्ठले यो सेवा पाएका हुन् । उनीहरूलाई नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र अप्सरा पोखरेल गएका थिए । 

जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मा भवनाथलाई घरमै नागरिकता प्रदान गर्दै । 
भवनाथ आजीवन अपाङ्गता भएका नागरिक हुन् भने लक्ष्मी २ वर्षदेखि ओछ्यानमा परेका छन् । ढकाल बोल्न र हिँडडुल गर्न पनि सक्दैनन् । दिसापिसाब लगायत सबै नित्यकर्म परिवारकै भरमा हुने गरेको उनका बुबा कृष्णलालले बताएका छन् । जन्मेदेखि नै उनको अबस्था उस्तै रहेको छ । उपचार गराउँदा सुस्तमनस्थिति भएको र हातगोडाले काम गर्दैन भनिएको बुवा कृष्णलालले बताए । खाना खुवाउने देखि सबै अरुले नै गर्नुपर्छ ।  
पाँच सन्तानकी आमा लक्ष्मीको नसासम्बन्धी रोगका कारण शरीरको तल्लो भाग चल्दैन । उनी बोल्न सक्छिन् । तर, शौच गर्न अरूकै भर पर्नुपर्ने अवस्था रहेको श्रीमान् हरि श्रेष्ठले बताए । भारतको मुम्बइमा कार्यरत उनले ५ छोराछोरीको पढाई र घर खर्च धान्दै आएका थिए । श्रीमती थला परेपछि उनी स्वदेश फर्किएर लक्ष्मीको हेरचार गरिरहेका का छन् । ‘श्रीमतीको स्याहारसुसारमा लाग्दा कमाइ बन्द भएको छ, अहिले घर खर्च चलाउन समस्या हुन थालेको छ,’ उनले भने । 
शारिरिक रुपमा अपाङ्गता भएका उनीहरू नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट बन्चित थिएर । उनीहरू दुवैलाई नागरिकता दिलाउन २ वर्षदेखि प्रयास भइरहेको थियो । वडाध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार तारकेश्वर गाँउपालिका वडा नम्बर ३ मा मात्रै ४१ जना शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय त परको कुरा वडा कार्यालयसम्म जान सक्दैनन् । 
शुक्रवार तारकेश्वरमा घरमै जिल्ला प्रशासन कार्यालयको टोली पुगेर शारिरिक रुपमा अपाङ्गता भएकाहरूलाई नागरिकता प्रदान गरेको खबर फैलिएपछि धेरैले यो सुविधाको विषयमा सोधिखोजी थालेका छन् । यसरी एक/दुई जनाका लागि घरमै पुगेर कसरी प्रशासनले नागरिकता दियो होला भनेर सोध्ने र जानकारी लिनेहरूको संख्या बढेको छ । शारिरिक रुपमा अपाङ्गता भएका कारण हिडडुल गर्न नसक्ने र नागरिता नै बनाउनका लागि विदुर लैजान पनि असम्भव भएका अन्य नागरिकहरूका लागि घरमै नागरिकता प्राप्त गर्ने विधिका सोधिन थालेको छ । 
निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार विभिन्न रोगका कारण लामो सयमदेखि ओछ्यान परेका प्रमाणित हुने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि घरै पुगेर नागरिकता प्रदान गर्ने प्रक्रियाको सुरुवात हुन्छ । आवश्यकताको प्राथमिकिकरण र भुगोल अनुकुल पारेर प्रशासनले कर्मचारीलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउँदै आएको छ । घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको उनले बताए । ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरूलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिदै आएका छौं ।’
अहिले पनि जिल्ला प्रशासन कार्यालयमा शारिरिक रुपमा अशक्त भएका कारण नागरिकता लिन विदुर आउन नसकेका तीन जनाको निवेदन परेको छ । विदुर नगरपालिकाको कल्यणपुर, ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकाका एक/एक जनाको यस्तो निवेदन जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको छ । उनीहरूलाई नागरिकता दिन कार्यालयको कामको चाप कम भएको अवस्था हेरेर टोली घरमा जाने अर्यालले बताए । 
नुवाकोटमा विदुर नगरपालिका वडा नं. ११ माथिल्लो गेर्खुमा २०७६ सालमा पहिलो पटक जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । 
    २०७६ फागुन ८ गते त्यसबेला १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । उनी हिँडडुल गर्न नसक्ने र दृष्टिविहीन हुन् । कृष्णप्रसादलाई बोकेर जिल्ला प्रशासन ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको निर्देशनमा उनको घरमै पुगेर नागरिकता दिइएको हो । नुवाकोटमा घरमै गएर नागरिकता दिएको यसलाई पहिलो मानिएको छ । 
नुवाकोटमा पहिलो पटक घरमा पुगेर नागरिकता वितरण गरिदै । 

एक वर्षमा सात जनाले पाए नागरिकता

विदुर । नुवाकोटमा एक वषको अवधिमा घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले सात जनालाई नागरिकता प्रदान गरेको छ । नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार तारकेश्वर गाउँपालिका बाहेक पञ्चकन्या गाउँपालिका, बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा यस अघि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । 

पञ्चकन्या गाउँपालिकामा दुई जना, बेलकोटगढी नगरपालिका दुई जना, तारकेश्वर गाउँपालिका दुई जना र ककनी गाउँपालिकामा एक जनाले घरमै नागरिकता पाएका छन् । 

यसरी नागरिकता वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले नागरिकता शाखाका कर्मचारी, नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतदेखि ढड्डानै घरमा पठाउने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार ढड्डानै घरमा पठाउनु पर्ने भएकोले कार्यालयको काम सकिएपछि यो सुविधा दिइएको छ । 

धेरैजसो शुक्रवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य सकेर तीन बजेपछि त्यसरी नागरिकको घरमा ढड्डा बोकेर कर्मचारी पठाइने गरेको अर्यालले बताए ।

नागरिकहरूको समस्याप्रति गम्भिर देखिएको जिल्ला प्रशासन कार्यालयले त्यसरी दीर्घ रोगका कारण वा अन्य अशक्तताका कारण नागरिकता लिनका लागि विदुर आउन नसक्ने नागरिकहरूका लागि अतिरिक्त सेवा दिइरहेको हो । पछिल्लो समय नागरिक बनाउनका लागि गाउँ टोलमा घुम्ती शिविर पनि सञ्चालन नभएकोले अप्ठ्यारोमा परेका नागरिकहरूका लागि आफुहरूले सहयोग पु-याएको निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनले भने– ‘यसरी हामीले दिने सेवाका लागि नागरिकहरूले कुनै खर्च वा शुल्क भुक्तान गर्नुपर्दैन ।’ उनका अनुसार नागरिकहरूलाई अपरझट नागरिकताको आवश्यकता पर्दा पनि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको घटना नुवाकोटमा छ । 

लामो समय विरामी परेर काठमाडौंमा उपचार गरिरहेका एक जनालाई थप उपचारका लागि विदेश जानुपर्ने भएपछि नुवाकोट र काठमाडौंको सिमानामै पुगेर नागरिकता प्रदान गरिएको थियो । बिरामीलाई एम्बुलेन्समा राखेर नुवाकोटको सिमा ल्याइपु-याइएको र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू ढड्डा लिएर गुर्जेभञ्याङ पुगेका थिए । ‘भोलीपल्टै थप उपचारका लागि भारत जानुपर्ने भएको जानकारी प्राप्त भएपनि हामीले कार्यालयको तर्फबाट सेवा दिएका हौं’, अर्यालले भने । 

यसरी घरमै पुगेर नागरिकता दिने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई हुने भएपनि प्रजिअहरूले खासै नागरिकका सुविधाका लागि प्रयास गरेको पाइदैन । जिल्लाभरी कुनै पनि ठाउँमा पुगेर आवश्यक कागजी र कानूनी प्रक्रिया पुरा गराएर अशक्त, अपाङ्गता भएका नागरिकहरूलाई नागरिक दिन सक्ने व्यवस्था छ ।  

नयाँ ‘लाइफ लाइन’ को शिलान्याश


विदुर । विदुर नगरपालिका वडा नं. १ धोवीखोलास्थित त्रिशुली र ढुंगे जोड्ने त्रिशुली खोलामा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । हाल धोबिखोला पट्टि पुलको बेस बनाउन थालिएको छ । अर्को पट्टी समेत पुलको बेसको लागी काम सुरु भएको बताइएको छ । 

पक्कि पुल निर्माणका चासो राख्दै वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितले नगरको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको भन्दै वडामा निर्माण हुन लागिएको चक्रपथको अवधारणा अनुसार काम गरिने बताए । 

तत्कालिन पश्चिम क्षेत्र नम्बर १ को प्रमुख नाकाको रुपमा रहेको साँघु बजार अहिलेको त्रिशुली बजारको खस्किएको व्यापारलाई प्रबद्र्धन गर्न नयाँ पुलको निर्माणले टेवा पुग्ने उनको भनाई छ । २०१७ सालमा निर्मित त्रिशुली पुल जिर्ण हुदैं गईरहेको छ । शहरी विकाससँगै साँघुरो पनि हुँदै गईरहेको र पिक टाईममा ट्राफिक जामको समस्या झेल्नुपरिरहेको अवस्था छ । पुल निर्माण भएपछि नयाँ र पुरानो पुलमा एकतर्फी नियम लागू गरी ट्राफिक व्यवस्थापन गरिने छ । 

नेपाल सरकारको नीतिअनुसार ११ मिटर भन्दा सानो बनाउन नमिल्ने र हाल पुल रहेको स्थानमा नयाँ पुल बनाउँदा क्षति धेरै हुने भएकोले धोवीखोलामा पुल निर्माण गर्न सुरु गरेको हो । सांसद नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका तत्कालिन मयेर सञ्जु पण्डितको पहलमा बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट पुल निर्माण भैरहेको हो । 

हिमडुङ एण्ड थोकर गणेशकुण्डले ठेक्का पाएको उक्त पुल आरसीसी बक्स ग्रिडर प्रि स्ट्रेसमा निर्माण हुनेछ । कुल लागत भ्याटसहित ८ करोड रुपैयाँमा निर्माण हुने उक्त पुलको लम्वाई ६० मिटर र चौडाई ११ मिटर हुनेछ । 

दायाँबायाँ १ मिटर ७५ सेन्टिमिटर फुटपाथ रहने पुलको आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका राजेन्द्र थपलियाले जानकारी दिएका छन् । 

स्थानीय सरकारको उपेक्षामा सहकारी क्षेत्र

विदुर । मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बन्न थालेको छ । 

नुवाकोटमा  करिब ४ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब १५ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यक कानुन, नियम, पूर्वाधार र जनशक्ति तयार नगरी हस्तान्तरण भएका कारण सहकारीको व्यवस्थापनमा भद्रगोल देखिएको हो ।

अनुगमन समेत नहुँदा ‘केही सहकारी’ का कारण समग्र सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । संघीयतापछि सहकारी व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेको छ । तर यो क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । मुलुक पुनःसंरचनामा गएपछी सहकारीको अनुगमन तथा ब्यबस्थापनको जिम्मेवारी सम्हाल्दै आएको डिभिजन सहकारी संघले सम्बन्धित स्थानीय तहमा सहकारीको फाईल हस्तान्तरण गरेको थियो । सहकारीको सबै काम स्थानीय तहमै हुने भएपनि स्थानीय तहले सहकारी क्षेत्रलाई प्राथमिकतामा नराख्दा समस्या सिर्जना भएको छ । 

संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका अधिकार क्षेत्रमा सहकारी राखेको छ । संघले सहकारीको नियमन गर्ने उल्लेख छ भने प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने पनि उल्लेख छ । संघ र प्रदेशको साझा अधिकार र तीनवटै सरकारको साझा अधिकार सूचीमा पनि सहकारी छ । 

कार्यविस्तृतीकरण प्रतिवेदनमा अन्तरप्रदेश कार्य क्षेत्र भएका सहकारीलाई संघ, अन्तरपालिका र जिल्लास्तरीय सहकारीलाई प्रदेश र पालिकास्तरीय सहकारी संस्थालाई स्थानीय तहले व्यवस्थापन गर्ने उल्लेख छ । २०७५ असार मसान्तसम्ममा सहकारीका फाइल सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति भने हस्तान्तरण भएको थिएन । 

वाग्मती प्रदेशअन्तर्गत रहेका ९ डिभिजन सहकारी कार्यालय खारेज भएपछि ती कार्यालयले आफ्नो सबै विवरण सम्बनिधत स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  फाइलका पोका हस्तान्तरण भए तर कर्मचारी स्थानीय तहमा गएका छैनन् । स्थानीय तहमै रहेका रहेका कर्मचारीहरूले जसोतसो सहकारीको काम गर्दै आएका छन् । हाल नुवाकोटको केहि स्थानीय तहमा सहकारी शाखा समेत छैन । पालिकामा रहेका सहकारीहको प्रतिबेदन लिन काम मात्रै स्थानीय तहहरूले गर्दै आएका छन् । 

विदुर नगरपालिकामा बाहेक नुवाकोटमा अरु स्थानीय तहमा सहकारी शाखा भनेर छुट्टै ब्यबस्थापन भएको छैन । स्थानीय तह आफैमा कर्मचारी अभाब भएकाले सहकारीको अनुगमन र ब्यबस्थापनको लागी कर्मचारी ब्यबस्थापन गर्न नसकेको सुर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले बताए । 

सहकारीको अनुगमन र ब्यबस्थापनमा सम्बन्धित स्थानीय तहले प्रभाबकारी काम गर्न नसक्दा सबै सहकारीलाई हेर्ने नजर एउटै बनेको छ । एक सहकारीले बदमासी गरेमा त्यसको असर जिल्ला भरि पर्ने अबस्था रहेको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने बताउछन् । 

जिल्लामा सबैभन्दा धेरै सहकारी हस्तान्तरण भएको विदुर नगरपालिकामा एक जना मात्रै सहकारी शाखामा कर्मचारी छन् । नगरपालिकाले पुस्कर शर्मा रिमाललाई सहकारी शाखामा खटाए पनि एक जना मात्रै रहदा सहकारीको अनुगमन तथा ब्यबस्थापनमा समस्या भएको उनी बताउछन् । विदुर नगरपालिकामा झण्डै १२० वटा सहकारी हस्तान्तरण भएका थिए । सहकारी ऐन बनाएको नगरपालिकाले सहकारी दर्ता मापदण्ड समेत तय गरेको छ । त्यस बाहेक सहकारी क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन । 

संघ सरकारले पठाएको नमूना कानुनलाई नै सहकारी ऐन बनाएका स्थानीय तहले सहकारी सम्बन्धी प्रशासनिक बाहेक अन्य उल्लेखनीय काम गर्न सकेका छैनन् । कृषि, बहुउद्देश्यीय सहकारी दर्ता, सेवा केन्द्र विस्तार, सहकारी शिक्षा तालिम, गोष्ठी, लेखा परीक्षण प्रतिवेदन बुझ्ने लगायत काममा नै सहकारी शाखाहरू सिमित छन् । 

स्थानीय तहले पूर्वाधार विकासमा नै जोड दिँदा सहकारी लगायतका सामाजिक विकासका काम प्राथमिकतामा नपरेको हो । सहकारी शाखाका लागि बजेट, अनुगमन, तालिम केही पनि सञ्चालन गर्न नसक्दा नगरपालिकामा भएको सहकारी शाखा समेत प्रतिबेदन बुझ्ने काममा सिमित भएको छ ।

सहकारीको परियोजना अन्तिम चरणमा

विदुर । सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को  ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । 

बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ । सहकारी बजार विकास कार्यक्रम, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सञ्चालित यो परियोजना फलफूल तथा तरकारी उत्पादनमा सम्लग्न कृषकसँग लक्षित छ । 

सहकारी बजार प्रणालीमार्फत आम्दानीमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन कार्यक्रम केन्द्रित रहेको छ । परियोजनाका निमित्त कार्यक्रम प्रबन्धक दीपक ढकालका अनुसार नुवाकोटसहित चितवन, धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर र मकवानपुरमा यो कार्यक्रम लागू भएको छ । ६ जिल्लाका ७१ सहकारीमार्फत कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको ढकालले जानकारी दिएका छन् । 

यहि कार्यक्रम अनुसार जिल्ला सहकारी संघ नुवाकोटले नुवाकोटमा तरकारी संकलन केन्द्र तथा सुपथ तरकारी बजार सञ्चालनमा ल्याएको छ । यसका साथै, किसानहरूले उत्पादन गरेका तरकारी संकलनका लागी एक सबारी साधन समेत यहि परियोजनना अन्तर्गत खरिद गरेको हो । 

यस्तै, सहकारी बजार विकास कार्यक्रम अन्तर्गत नुवाकोटमा केहि कृषि सहकारी संस्थाहरूलाई ब्यबसायिक रुपमा सामुहिक कृषि प्रणलीमा समेत अग्रसर बनाएको छ ।

मतदाता नामावली संकलन सुरु


विदुर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु गरेको छ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावलीमा नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए नामावलीबाट हटाइने छ ।

विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा स्थानान्तरण गर्न सकिनेछ । मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि अद्यावधिक गरिने छ ।

वि. सं. २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखितभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्न मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । 

सम्वन्धित व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्न सकिने आयोगले जनाएको छ । 

मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन लिन प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने र यस्तो सूचनाको विवरणमाथि निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भन्दै आयोगले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

दिपक थापाको मसानघाट

विदुर । लोकगायक तथा सञ्चारकर्मी दिपक थापाको नयाँ लोक दोहरी गित ‘मसानघाट’ सार्वजनिक भएको छ । 

प्रेमिल जोडीहरूको लामो समयको मायाप्रेम पछिको बाध्यात्मक बिछोडलाई ‘मसानघाट’ गितमार्फत उजागर गरिएको छ । संगै बाच्ने र मर्ने कसम खाई दायाँबायाँ जताजतै मायानै माया छ भनी हिडेका प्रेमीप्रेमीका बीच मायामा अबरोध सिर्जना भएपछि प्रेमीले ‘फुलझैँमाया पलभरमै काडा भो, मैले मुटु दिदा नी टाढा भो, मसानघाटमा गएर टोलाउछु, बाच्नै मन लाछैन कत्तिनी आइज काल भनेर बोलाउछु’ भनेर गितको सुरुवात गरिएको छ । यसैगरी, ‘देनन् मलाई घरबाट निस्कन चाहेर नी पाईएन एक हुन, झ्यालको छेउमा गएर टोलाउछु जहाँ हेरेनी तिमी झै लाईरन्छ मेरो राजा भनेर बोलाँउछु’ भनी प्रेमिकाले गितमा  जवाफ फर्काएकी छिन् ।

गितमा लय शव्द गायक दिपक थापाकै रहेको छ भने गायिका राधा प्रसाईले आवाजमा साथ दिएका छन् । यसअघि बजारमा ल्याईएको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ को अपार सफलतापछि गायक थापाले ‘मसानघाट’ बजारमा ल्याएका हुन् ।  

लामो समयको प्रेम जिवनपछि बिबाहको तयारी गर्दे संगै बाच्ने र मर्ने कसम खाएका दुई प्रेमी बीचको प्रेमकहानी प्रेमीकाको घरमा थाहा भएपछिको बिछोडको अबस्थालाई गितका शव्दले समेटेको गायक थापाले बताए । त्यस्तो अबस्थामा न्याउली झै बिरहको गित गाउदै रातको १२ बजे मसानघाट पुगेर टोलाउदै, आईज काल भनेर बोलाउन मन लाग्ने सम्मको परिस्थितीको सिर्जनालाई गितमा उजागर गरिएको छ । 

टिकटकमा भाईरल गितको म्युजिक भिडियोको निर्देशक गायक मिलन श्रेष्ठले गरेका छन् भने सम्पादन रोशन धितालले गरेका हुन् । गितलाई मिलन फिल्मसको अफिसियल युट्युव च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ । 

बाल उमेरदेखी नै गित संगितमा रुचि रहेका गायक थापाले आगामी दिनमा पनि गित संगितको क्षेत्रमा अनबरत रुपमा लागिरहने बताएका छन् । 

तस्बिर समाचार

सामुदायिक विकास केन्द्र, नेपाल सिडिसीले नुवाकोट र रसुवामा सञ्चालन गरेको परियोजनाको बारेमा समीक्षा सहित शनिवार विदुरमा जानकारी दिँदै संस्थाका कार्यक्रम संयोजक योगराज शर्मा (योगेश) । अगुवा नागरिक समाजको रुपमा स्थापित सिडिसीले आफ्ना परियोजनाहरू सकिदै गर्दा नागरिकसंग अन्तरक्रिया र समीक्षा थालेको छ । 

रसुवाका पदमार्गमा पर्यटक छिटफुट

विदुर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्याधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् ।

पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनःसञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्लाध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थाला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको भनाइ छ ।

एक/दुई दिन अगाडिदेखि दैनिकरूपमा १५/२० जना आन्तरिक र चार/पाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्यसमेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, एवं लौरिविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृङ्खलाले यात्रा मनमोहक बनाएको छ । 

रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौँमार्फत पर्यटकका रूपमा गोसाइँकुण्ड आएका अमेरिकन नागरिक पाठरिक एवं युकेबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उल्लेख गरे । चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म रहने उनीहरूको भनाई छ ।

शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, ग्रीष्म ऋतुको जेठ, शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि अत्यन्तै उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिएका छन् । 

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्गअन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्विम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

जग्गा धिता राखेर ऋण लिन नपाइने

विदुर । बैंक तथा वित्तीय संस्था र सहकारीहरूले जग्गा धितो/बन्धकमा राखेर ऋण दिन बन्द गरेका छन् । 

सरकारले गत २३ जेठमा जारी गरेको भू–उपयोग नियमावली–२०७९ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द भएको हो । नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरूले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो राख्न नसकिने देखिएको छ ।

बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्काका लागि मालपोत कार्यालयमा पत्र पठाउनुपर्ने हुन्छ । तर नियमावली अनुसार स्थानीय तहले वर्गीकरण नगरेका जग्गा रोक्का राख्न नसकिने बताइृउको छ । त्यसका कारण बैंकले ऋण दिन पनि पाएका छैनन् ।

अहिलेसम्म अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रको भू उपयोग योजना बनाएका छैनन् । नियमावलीको व्यवस्थाका कारण अब कहिलेसम्म जग्गा धितोमा राख्न रोकिने हो भन्ने स्पष्ट छैन । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मातहतका निकायलाई पात्राचार गर्दै खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नपर्ने भन्दै निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्न‘पर्ने स्पष्ट गरेको छ ।

तोकिएअनुसारको वर्गीकरण गरेपछि मात्रै धितो वा बन्धकका रुपमा जग्गाको कारोबार रोक्का गर्ने व्यवस्था गरेको छ ।

एकीकृत पाठ्क्रम सम्बन्धी तालिम

विदुर । ककनी गाँउपालिकामा एकीकृत पाठ्क्रम सम्बन्धी पेशागत बिकास तालिम सम्पन्न भएको छ । 

गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयको १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई शिक्षक सिकाइमा सहजिकरणका लागी तालिम सञ्चालन गरेको हो । पालिकाका ४१ बिद्यालयबाट १२३ जना शिक्षक÷शिक्षिकाहरूको सहभागीता रहेको थियो । पाँच वटा समूह निर्धारण गरि विभिन्न विद्यालयमा १५ दिनको प्रशिक्षण दिईएको हो 

गाँउपालिकाको केहि बिद्यालयहरूमा एकिकृत पाठ्यक्रम सुरुवात भैसकेको छ । सबै बिद्यालयमा एकिकृत पाठ्यक्रमको बिकासस तथा कार्यान्वयन गर्नको लागी शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख केशव ज्ञवालीले बताए ।

पाण्डे शिक्षक संघ नुवाकोट अध्यक्ष

विदुर । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा मञ्जु प्रधान र कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।

सचिवमा नवराज लामिछाने र रामप्रसाद रिमाल चयन भए । सह–सचिवमा सुरेन्द्र मुडवरी, तुलसा प्याकुरेल, चोकमाया गुरुङ, सितालाल तामाङ र सेतिमाया तामाङ निर्वाचित भएका छन् ।

सदस्यहरूमा गोमादेवी न्यौपाने, देवकी अधिकारी, अप्सरा ढकाल, सिताराम भण्डारी, भक्तराज जोशी, रामचन्द्र ढुङ्गेल र प्रकाश गौतम चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिमा कमला प्याकुरेल, सावित्री रिजाल, मेनुका अधिकारी, बलराम गिरी, मुकुन्दराज अर्याल, मधुसुधन सापकोटा, रामकृष्ण भट्टराई र श्रीराम गजुरेल चयन भएका छन् । 

संघले केन्द्रिय प्रतिनिधिमा हरेराम गिरी, निलम उप्रेती, रुपा अर्याल पाण्डे, बाबुराम लामिछाने, अर्जुनप्रसाद लामिछाने, वासुदेव खनाल र चर्तुशन अधिकारी छन् ।

दुर्घटनामा परी दुई जनाको मृत्यु

विदुर । नुवाकोटमा भएको दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । तादी गाउँपालिकामा सवारी दुर्घटनामा महिलाको र बेलकोटगढी नगरपाकिलामा खोलामा डुवेर पुरुषको मृत्यु भएको हो । 

तादी गाउँपालिका ४ घिरौंले भीरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका ६ स्थित घरबाट सुन्दरादेवी तादी–४ मा रहेको सुन्दरादेवी माविमा अध्यापन गर्न जाँदै गर्दा महिला शिक्षिक राधिका आचार्यको मृत्यु भएको हो । ३६ वर्षीया आचार्यको स्कुटर भीरको बीचमै अल्झिएको थियो । दुर्घटनापछि खोजीको क्रममा मृतक आचार्यको शव तादी खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

उता, बेलकोटगढी नगरपालिकामा भने एक जनाको खोलामा डुबेर मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर मृत्यु भएको हो । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रिहरीले जनाएको छ । घटना केहि शंकास्पद समेत रहेकाले अनुसन्धान भैरहेको बताईएको छ ।

मिनकुमार केसी बुद्धिजीवी संगठनको संयोजक


विदुर । बाग्मती प्रदेश अन्र्तगत रसुवा, नुवाकोट र धादिङका तिसवटै पालिकहरूमा बुद्धिजीवीहरूको अभियान बढाईने भएको छ । नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत रसुवा, नुवाकोट र धादिङका बुद्धिजीवीहरूको बिस्तारीत बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सो संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीले बौद्धिक हस्तक्षेपका लागि संगठन अभियान जरुरी भएको बताएका छन् ।

नेपालको राष्ट्रियता बलियो पार्न, स्वाधिनता र सार्वभौमिकता अक्षुण राख्न तथा आमुल परिवर्तनकारी जनसमुदायको चाहनालाई सम्बोधन गर्न माओवादी शक्ति बलियो पार्नुको बिकल्प नरहेकाले माओवादीहरूको बृहत एकताको बातावरण तयार पार्न, समाजवादका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका बहुआयामिक आधार तयार गर्न स्थानीय तहसम्मै संगठन निर्माण जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले बुद्धिजीवी संगठनलाई केवल संगठनको औपचारिकतामा सिमित नराखी आन्दोलन, पार्टी र राष्ट्रलाई नै रचनात्मक योगदान दिँदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परिचालनमा समेत कार्यखाका बनाएको बताए ।  

संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारिक र अनुशासनका बिषयमा प्रशिक्षण समेत दिएका थिए । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य तथा नुवाकोट संयोजक पुष्प लामिछाने ‘अरुण’ ले राजनैतिक बैचारिक कामसाथै पार्टी सुदृढ पार्न पनि बुद्धिजीवीहरूको भूमिका बढाउनुपर्ने बताएका छन् । संगठनका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश स्कुल बिभागका सचिव जयराम आचार्यले समसामयिक अन्तर्राष्ट्रिय परीस्थितीको चर्चा गर्दै घरेलु नीतिका बारेमा बौद्धिक भुमिका थप्नुपर्नेमा जोड दिए । 

अर्का केन्द्रीय सदस्य डा. गणेश धमलाले संगठन निर्माणका साथै बौद्धिक स्तरीयता सम्बन्धमा धारणा राखेका छन् । 

नुवाकोटको विदुरमा आयोजित बैठकको अध्यक्षता गरेका संगठनका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष कृष्ण कोपीलाले प्रतिवेदनहरूको तथ्य उतार र बिश्लेषण गरिने प्रतिबद्धता सहित संगठनको कार्ययोजना बनाए । 

बैठकमा धादिङ संयोजक रामकुमार श्रेष्ठ, रसुवाका संयोजक प्रकाश नेपाल, हरी देवकोटा, सुवास बिक, मीनकुमार केसी, हरीबहादुर थापा, ज्ञानु धरेल बुर्लाकोटी, बिष्णु बोहोरा, होमनाथ कोईराला, ओमनाथ तिमिल्सिना लगायतले पालिकाहरूको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेश उपाध्यक्ष बशुराम रिजालका अनुसार बाग्मतीका १३ जिल्ला र ११९ पालिका मध्ये ११ जिल्लाका ४ क्लष्टर अन्तर्गत १०२ पालिकाको सांगठनिक स्थिती र स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको छ ।

बैठकमा पार्टी र संगठनबीचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्दाहरूमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’लाई गम्भिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागि अनिवार्य कदम चाल्नुपर्ने, बैचारिक राजनैतिक काममा जोड दिनुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।

बैठकले नुवाकोटको संयोजकमा मिनकुमार केसीलाई चयन गरेको छ । निबर्तमान संयोजक बाग्मती प्रदेश बुद्धिजीबी संगठनको उपाध्यक्षमा चयन भएकाले नुवाकोटको संयोजनकमा केसीलाई चयन गरेको हो । यस्तै, बैठकले तीन जिल्लाका तिसवटै पालिकामा संगठन अभियान तिव्र पारीने निर्णय भएको छ । गौतमका अनुसार बिभिन्न पेशागत क्षेत्रमा रहेका बिचारले उत्कृष्ट प्रतिभाहरूलाई सो संगठनमा आबद्ध गरिदै आएको छ ।

विपदको बेला खोज र उद्धारको पुर्व तयारी


विदुर । मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाहरूमा देखिने विपत् रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले चन्द्रज्योती माध्यमिक बिद्यालय पिपलटारमा अभ्यास गरेको छ । 

नुवाकोट स्थित नेपाली सेनाको श्रीनाथ गण गणले गएको सोमबार बिद्यालय परिसरमा एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास सञ्चालन गरेको हो । लगातारको वर्षातका कारण उत्पन्न हुने विपतमा नागरिकको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

विपतजन्य घटना जुनसुकै समयमा पनि घट्न सक्ने भएकाले स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सेनाले प्रतिकार्य अभ्यासमा बाढी पहिरोमा उद्धार गर्ने विधि, नदी वा तालमा डुबेको पीडितको उद्धार गर्दा प्रयोग हुने हाइलाइन रेस्क्यु, इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु, फ्लिप डिलजस्ता विधिको प्रदर्शन गरेको थियो ।

ग्रामीण तहमा घरेलु विधि सहज हुने भएकाले ड्रम, खाली बोतल, जर्किनजस्ता स्थानीय सामग्रीको प्रयोग गरी डुंगा बनाएर गरिने इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु गर्न सकिने बिषयलाई समेत  अभ्यासमा देखाईएको थियो । 

कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले प्रतिकूल मौसममा सजग रहन सबै नागरिकलाई आह्वान गरेका छन् । उनले विपतमा परेर उद्धार हुनुभन्दा जोगिनुनै नै उपयुक्त हुने भन्दै त्यस्ता घटना परिहालेमा विपत् व्यवस्थापन समितिमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् । 

मनसुन जन्य बिपद्मा बाढि, पहिरो लगायतका बिपद्हरू रहेकाले समुदायका नागरिकहरूलाई समेत सहभागी गराएर भएको अभ्यासले तत्कालै बिपद्बाट रेस्क्युको लागी नागरिकहरूनै अग्रसर हुनु पर्ने बताएका छन् । एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसकर्मी, नगरका विपत् उद्धारकर्मीहरूको टोली सहभागी थिए । 

कार्यक्रमका सहभागीले विपतको समयमा सम्बद्ध सबै निकाय सक्रिय रहनुपर्नेमा जोड दिएका छन् । नुवाकोटमा रहेको श्रीनाथ गणले विपतजन्य घटना रोकथामका लागि सचेतना कार्यक्रमदेखि अन्य थुप्रै अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको  छ । 

६ अर्ब ५५ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६ अर्ब ५५ करोड ४५ लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले यो अवधिमा ६ अर्ब २५ करोड २६ लाख ९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । 

यो लक्ष्य भन्दा ४.८३ प्रतिशत बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेका कारण  राजस्व सङ्कलन बढेको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए । तर पछिल्लो समय आयातमा कमी आएको छ । कार्यालयले राखेको लक्ष्य भन्दा समग्रमा राजश्व संकलनमा वृद्धि भएको देखिएपनि आयातमा सुधार आउन सकेको छैन । गएको जेठ महिनामा लक्ष्यको तुलनामा ९२.१३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । 

कार्यालयले जेठमा ५५ करोड ९३ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ५३ लाख २८ हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ ।      २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २८ महिनादेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व सङ्कलन प्रभावित बन्दै गएको छ । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३÷७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५÷७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६÷७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्क       रहेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कोभिडका कारण निर्यात लामो समयदेखि ठप्प रहँदै आएको छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारी साधन आवतजावत गथ्र्यो । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

धमाधाम धान रोपाई


विदुर । यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।

नुवाकोटका अधिकांश भुभागमा रोपाई सुरु भएको छ । धानबाली हुने मुख्य फाँटहरूमा समेत धान रोपाई सुरु भैसकेको छ । अहिले नुवाकोटका बिभिन्न स्थानका किसानलाई धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्ष असार पहिलो हप्ताबाट रोपाइँ सुरु हुने भएपनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाई अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्नेमा मनसुन चाँढै भित्रिए पछि रोपाई सुरु भएको हो । खेतमा पानी भरिएपछि रोपाइँ तिर किसान लागेका हुन् । 

रोपाइँ सुरु भए पनि धानखेतीका लागि नभइ नहुने रासायनिक मलको भने अभाव छ । समयमै पानी परेकाले यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभएपछि उत्पादन आधा घट्नेमा चिन्तित छन् । सरकारले यो महिनाको अन्त्यसम्ममा मल सहज हुने दाबी गरेको छ । 

ओझेलमा परेको एउटा गन्तब्य : चिम्टेश्वर


धेरै समयदेखि एउटा दृढ चाहनाले कुत्कुत्याइरहेको थियो । हाम्रा घरतिरका मानिसहरू पहिला–पहिला मालिकास्थान जाने भन्थे । खासमा त्यहाँ मालिकास्थान होइन महादेवस्थान छ भन्ने कुरा मैले पछि मात्रै थाहा पाएको हुँ ।

सानै उमेरदेखि त्यहाँको बारेमा सुनेको र त्यहाँ बाग छ भन्ने कुराले निकै डरलाग्दो बिम्ब दिमागमा बसेको थियो । त्यो बाटो हिँड्दा बाघ देखेको अनुभव सुनाउँदा एक प्रकारको डर दिमागमा बसेको थियो । पछि बिस्तारै त्यो डर हराउँदै गयो । त्यसपछि त्यहाँ पुग्ने उत्कण्ठा अरु तीव्र भएर आउन थाल्यो ।

नुवाकोटकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने त्यो स्थान मेरो घरबाट त्यति टाढा त होइन तर नजिकको तीर्थ हेला भनेझैँ टाढा–टाढा घुम्न जाने म आफ्नै घरको धुरीमा रहेको चिम्टेश्वर भने अहिलेसम्म पुग्न सकेको थिइनँ । यस पटक मेसो मिल्यो । स्थानीय चुनावमा उठेको उम्मेदवारलाई सहयोग गर्न भन्दै व्यक्तिगत बिदा लिएर घर गएको थिएँ । एक हप्ताको गाउँ घुमाइपछि मतदानको दिन आयो । उत्साहपूर्वक मतदान भयो र हाम्रो काम पनि सकियो । जित्ने हार्ने तपसिलको कुरा रह्यो । म फुर्सदिलो भएँ । ३१ गते मेरो ४१औँ जन्मोत्सव थियो । बिहानै उठेर नहाइधुवाइ गरेर बसेको थिएँ । जन्मोत्सवमा केक काट्ने संस्कारलाई मैले कहिल्यै आत्मसात् गरिनँ, बरु कुलपुरोहितलाई बोलाएर अष्टचिरञ्जीवीको पूजा गराउने गर्थेँ । यसपालि कुलपुरोहित बर्खीमा भएकाले त्यो पनि गरिनँ ।

घुम्न जानलाई गर्मीको डर थियो । देवीघाट पुगेर आउनुपर्ला भनेर सोचिरहेको थिएँ । त्यही बेला प्रकाश नेपाल आइपुगे । उनी यसै महिनाको अन्त्यतिर स्नातकोत्तर पढ्न जापान जाँदै छन् । प्रकाश आएपछि एकाएक चिम्टेश्वर जाने कार्यक्रम बन्यो । हामी खाना खाएर जाने भयौँ । खाना पाकेकै थियो । खासमा प्रकाश काफल खाने बहानाले जाने तयारी गर्दै थिए । मचाहिँ चिम्टेश्वर जाने लामो उत्सुकताले उद्वेलित बनेको थिएँ । खाना खाएर पाँचखलेमा निस्कँदा ९ बजेको थियो । गल्छी–देवीघाट खण्डको बालुवाखानीबाट दुई लेनको पक्की बाटो पाँचखले हुँदै बेलकोटगढी नगरपालिकाको कार्यालय भएको बाघखोरसम्म पुगेको छ । बीचमा अलिकति पिच गर्न बाँकी छ ।

हामी त्यही बाघखोर जाने बाटो उकालो लाग्यौँ । केउरेनीसम्म पिच भएकाले सजिलै गयौँ त्यसपछि कच्ची बाटो हिँड्दाको राम्रा÷नराम्रा पक्षलाई आत्मसात् गर्दै हामी पौने घण्टामा बाघखोर पुग्यौँ । समय त्यति धेरै लाग्ने त होइन, हर्रे पुगेपछि हामी चढेको मोटरसाइकलले धोका दिन खोजेको जस्तो ग–यो । तर जसोतसो उक्लियौँ । क्लजतार खुकुलो भएको रहेछ । बाघखोरमा पुगेर त्यो बनायौँ । त्यसपछि भने कुनै समस्या आएन । सिउरेनीको पल्लोछेउ पुगेपछि हामी चिम्टेश्वरतिर उकालो लाग्यौँ । दुई घुम्ती उक्लिएपछि प्रकाश एकाएक खुसी हुँदै कराए । उनले बोटभरि कालै भएर पाकेको काफल देखेका थिए । मोटरसाइकल रोकेर काफल खायौँ र हेर्यौँ जताततै काफल पाकेको थियो । जङ्गलमा अधिकांश बोट काफलका थिए र सबैमा राताम्मे र कालाम्मे भएर काफल पाकिरहेको देखिरहेका थियौँ ।

फर्किँदा खाने भनेर हामी माथितिर लाग्यौँ । कच्ची बाटो एक÷दुई दिनअघि आएको वर्षाले कतै–कतै खोतलेकाले मोटरसाइकलमा जान अलि गह्रो भइरहेको थियो तै पनि हामी कतै हिँडेर कतै चढेर चिम्टेश्वर क्षेत्रमा पुग्यौँ । त्यहाँ पुग्दा लाग्यो म सानो स्वर्गमा आइपुगेको छु । सम्म परेको घाँसे मैदान, स–साना थुम्का अनि सल्लाका रुख र अन्य झाडीले पनि त्यसको सुन्दरतालाई झल्काइरहेको थियो । चिम्टेश्वरको घाँसे मैदानमा पुग्नुअघि हामीले एक जना मानिसलाई बाटोमा भेटेका थियौँ । मैले उनीसँग जङ्गली जनावरबारे जिज्ञासा राखेको थिएँ । त्यहाँ बाघ, बँदेल र दुम्सीको बिगबिगी रहेको कुरा उनैबाट थाहा पाएँ । मनमा हल्ला डर पनि लाग्यो ।

जङ्गलको बीचमा मन्दिर कहाँ छ भनेर पहिले त हामीले चालै पाउन सकेनौँ । त्यहाँ गएका एक जना जो निस्फिक्री भएर घुमिरहेका थिए । उनलाई सोध्यौँ र मन्दिर गयौँ । मन्दिरमा खास कुनै तामझाम थिएन । कंक्रिटको प्रयोग गरेर भर्खरै बनाइएको हो । बाहिरतिर असाध्यै राम्रोसँग कुँदिएका ढुङ्गाहरू देखिँदै छ जो पर्खाल लगाउन प्रयोग गरिएका छन् । मन्दिरभित्र पुरानो ढुङ्गामा शिवलिङ्गको यौनी भाग कुँदिएको छ । बीचमा लिङ्गभागचाहिँ कालो पत्थरको छ, जो कुनै बेला भाँचिएको जस्तो पनि देखिन्छ । उत्तर–पश्चिम कोणमा पत्थरको नन्दी देखिन्छ, जसको टाउको भाग फुटेको प्रस्टै देखिन्छ । नन्दी एउटा ढुङ्गामाथि छ र त्यो ढुङ्गो पनि फुटेको छ । नन्दीको आकृति हेर्दा केही पुरानोजस्तो पनि देखिन्छ । सायद गोठालाले या त्यहाँ जाने कुनै भक्तले अतिश्रद्धावश नन्दीलाई घुमाउँदा फुटेको हुनुपर्छ ।

हामीले श्रद्धासाथ शिवलिङ्गमा ढोग्यौँ । मन्दिरमा मानिसको आस्था हुन्छ । हामीले पनि आस्थालाई ढोग्यौँ । मन्दिरभित्र घुम्दै गर्दा मनमा एकाएक आयो– ‘शरीर स्वस्थ रहोस् सबैभन्दा सुख र सम्पत्ति पनि त्यही हो । म स्वस्थ रहूँ ।’ त्यहाँबाट निस्किएर मैले केहीबेर सुनसान जङ्गलमा ध्यान गरेँ । मन पवित्र भयो । लाग्यो मेरो ४१औँ जन्मोत्सव खास भएको छ । भनिन्छ पृथ्वीनारायण शाहले यस ठाउँमा गढी बनाएका थिए । सायद नुवाकोट र बेलकोटगढी आक्रमण गर्न तथा काठमाडौं उपत्यका हेर्न त्यो स्थान उपयुक्त ठानेका थिए । उनले त्यहाँ चिम्टेश्वर महादेवको आराधना गरेको किंवदन्ती पनि रहेको छ । चिम्टेश्वर महादेवको आफ्नै प्रकारको कथा पनि त्यहाँ सुनिन्छ । समुद्र मन्थनबाट निस्किएको विष खाएपछि महादेव उत्तरापन्थ लागेका र त्यो स्थानमा आइपुगेर चिम्टा छोडेका कारण त्यहाँ चिम्टेश्वर महादेव पुजिन थालेको कहानी त्यस स्थानसँग जोड्ने गरिएको छ । मन्दिरमा पूजा एक जना माताले गर्दै आएकी छिन् । हामीले उनको आफ्नै गुनासो सुन्यौँ ।

मन्दिरभन्दा माथिल्लो थुम्कोमा विकासको भद्दा रूप ‘भ्यु टावर’ बन्दै छ । परिवारसहित रात बिताउन मिल्ने स्तरीय होटल, स्थानीय उत्पादन र सेवा अनि सांस्कृतिक विशिष्टताको अभावमा ‘भ्यु टावर’ विकासको नाममा मजाक मात्रै हो भन्ने लाग्यो । त्यो डाँडो आफैँमा ‘भ्यु टावर’ हो । त्यहाँबाट लाङटाङ, गणेश, जुगल, दोर्जेलाक्पालगायत आधा दर्जन हिमश्रृङ्खलाका अतिरिक्त काठमाडौं उपत्यका, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, दोलखा, रामेछाप, धादिङ जिल्लाको केही भाग देख्न सकिन्छ ।

त्यहाँबाट तिब्बतको केरुङ पनि देख्न सकिन्छ भन्ने सुन्यौँ तर तुवाँलोले गर्दा देख्न सकिएन । वर्षको एक पटक हिउँ पर्ने गरेको कुरा सल्लाका फेदमा लागेका लेउले मौन भाषामै भनिरहेका थिए । हामी निर्माणाधीन टावरको माथिसम्म गयौँ र हेर्यौँ । बाटामा थुप्रै लालीगुराँसका बोटहरू देखिरहेका थियौँ । त्यो देखेर लाग्यो–यो ठाउँ पक्कै २००० मिटर माथि छ ।

टावरबाट ओर्लिएर सम्म परेको घाँसे मैदान घुम्यौँ । जताततै बियरका बोतल फुटाएर फ्याँकिएको थियो । खुट्टामा बिझ्नुभन्दा पहिला मनमा बिझ्यो । माल पाएर चाल नपाएपछि के लाग्छ ! जुन स्थानले त्यहाँको स्थानीय जीवनमा आमूल परिवर्तन गर्न सक्छ त्यो स्थानलाई त्यति कुरूप बनाएको त्यहीँका मानिस टुलुटुलु हेरेर कसरी बस्न सकेका होलान् ! लाखौँ मानिसको मनलाई आनन्द दिनसक्ने त्यो स्थानलाई केही मानिसले नरक बनाइरहेका छन् । संरक्षण गर्ने निकाय र मानिसको अभावमा पनि त्यो मनलाग्दीले त्यो क्षेत्रलाई निकै जोखिम बनाएको महसुस गरेँ । फुटेका सिसा मानिसको खुट्टामा बिझे के गर्ने होला?

२०७० वैशाखमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको आयोजनामा रानीपौवादेखि चिम्टेश्वर हुँदै देवीघाटसम्मको पैदलयात्रा गरेपछि यो क्षेत्र पर्यटकीय हिसाबले चर्चामा आउन थाल्यो । त्यस बेलासम्म त्यो स्थान धार्मिक हिसाबले वरपरका मानिसको आस्थाको केन्द्र बनेको थियो । २०७० पछि आन्तरिक पर्यटक जान थाले तर बियरका कार्ट‘न बोकेर । खाए, रमाइलो गरे र त्यही फुटाएर हिँडे । आज त्यो क्षेत्र हिँडिनसक्नु भएको छ । बेलकोटगढी नगरपालिकाले भर्खर–भर्खरै मोटरबाटो त्यहाँसम्म पु-याएको छ । काठमाडौंबाट रानीपौवा हुँदै ३५ किलोबाट पनि त्यहाँ पुग्न सकिन्छ । बेल्कोटको धमलेबाट बाघखोर निस्किएर पनि जान सकिन्छ । कोल्पुटारबाट सिधै उक्लिएर दुईपीपल हुँदै पनि जान सकिन्छ । यता कुमरीतिरको बाटो पनि त्यहाँ जोडिएको छ। माथि धेरै वातावरण दुषित नहोस् भनेर सिँढी पनि निर्माण गरिएको छ । हामी भने सिँढी नचढेर मोटरबाटोबाट गएका थियौँ । त्यहाँको पर्यटन विकासका लागि बागमती प्रदेश सरकारले पनि काम गरिरहेको छ । काठमाडौंबाट नजिक रहेको त्यति सुन्दर स्थान चिनाउनै नसकेर पछि प–यो भन्ने लागिरह्यो । ध्यान ग-यौँ । सुसेल्यौँ । नाच्यौँ । फोटो खिच्यौँ । घुम्यौँ । समग्रमा आनन्द लियौँ । निकैबेरको घुमाइपछि हामी तलतिर झर्यौँ ।

आउँदा सुनसान भएको जङ्गल मानिसको कोलाहलले भरिएको थियो । बाघखोरमा चुनावी परिणाम सुन्न आएकाहरू काफल खान यता आएका थिए । जताततै काफल पाकेको थियो । प्रकाश र मैले एक डेढ घण्टा लगाएर २÷३ किलो काफल टिप्यौँ र ओरालो लाग्यौँ । बाघखोरमा मानिसको भिड थियो । हामी हर्कको पसलमा चिया खाएर ओरालो लाग्यौँ । घर पुग्दा ५ बज्नै आँटेको थियो । घर पुगेपछि लाग्यो लामो समयदेखिको एउटा धोको पूरा भएको छ ।

२०७९ साल असार ६ गतेको सम्पादकीय

 विद्यालयमा दिवा खाजाको प्रभावकारिता वृद्धि गर्नु आवश्यक

साना हुर्कदै गरेका बालबालिकालाई पोषणयुक्त खाना आवश्यक पर्छ । हाम्रो समाजमा धेरै बालबालिका पोषणयुक्त खानाको कमीले कुपोषण हुने, पुड्को हुने, कम तौलका हुने मात्र होइन, रक्तअल्पतालगायत दीर्घ खालका रोगबाट समेत पीडित छन् । कुपोषणले शारीरिक मात्र होइन, बौद्धिक विकासमा समेत असर गर्ने अध्ययनहरूले देखाएका छन् । यस सम्बन्धमा भएका अध्ययनहरूले उपयुक्त खाजाको व्यवस्था गर्न सके बालबालिकालाई दिनभरका लागि चाहिने पोषण तत्व तथा क्यालोरिको एकतिहाइ भाग विद्यालय खाजा कार्यक्रमले पूर्ति गर्न सक्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म प्राप्त गर्ने गरी पारित गरेको दिगो विकासका लक्ष्यमध्ये दोस्रो भोकमारी र कुपोषण अन्त्य, तेस्रो स्वास्थ्य र चौथो सबै बालबालिकालाई समतामा आधारित गुणस्तरीय शिक्षासम्बन्धी लक्ष्य प्राप्तिलाई विद्यालय खाजा कार्यक्रमले प्रत्यक्ष सहयोग पु¥याउँछ भने अन्य लक्ष्य प्राप्तिमा समेत अप्रत्यक्ष मद्दत गर्छ । 

हाम्रो समाजका धेरै परिवारमा आर्थिक विपन्नता, पोषणको मात्रा पुग्ने खालका खाद्य वस्तु अभाव, स्तरीय खाना किन्न रकम कमी, धेरै समय श्रममा खर्चिनुपर्ने, बालबालिकालाई  खाना र खाजा बनाउन फुर्सद नहुने आदि कारण पोषणयुक्त खाना र खाजा खुवाउन नसक्ने अवस्था एकातिर छ भने अर्कातिर चेतना कमीले घरमा भएका सीमित स्रोत÷साधन पनि केलाई महत्व दिई खर्च गर्ने भन्ने निर्णय क्षमता अभाव, समाजमा इज्जत÷प्रतिष्ठा बढाउने चाहनामा बजारमा पाइने जस्तोः चाउचाउ, कोकाकोला, फ्यान्टा, चिजबलजस्ता खानेकुरामा खर्च गर्ने कारण पनि बालबालिकालाई पोषण अभाव भएको पाइन्छ । हाम्रा कतिपय खानासम्बन्धी परम्परा तथा बानी पनि स्वास्थ्यअनुकूल छैनन् । विद्यालय गएका बालबालिकालाई कि दिनभर भोकै बस्नुपर्ने कि सडक तथा नजिकका बजारमा पाइने गुणस्तरहीन र म्याद नाघेका खानेकुरा (खाजा)खानुपर्ने बाध्यता छ । अर्कातर्फ खाना सम्बन्धमा उपयुक्त परामर्श अभावमा बालबालिका लोभ्याउने व्यावसायिक र पत्रु खानाप्रति आकर्षण हुनु स्वाभाविकै हो । विद्यालयमा नियमित पोषणयुक्त खाजा खुवाउन सक्ने हो भने यस कार्यक्रमले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा त सहयोग पुग्छ नै, साथै विद्यालयप्रति बालबालिकाको अपनत्व बढ्ने, नियमित स्कुल उपस्थित हुने, विद्यालयलमा समेत पारिवारिक वातावरण दिन सकिने भएकाले बालबालिकामा त्यसको सकारात्मक प्रभाव पर्नेजस्ता महत्वपूर्ण उपलब्धि हासिल हुन्छन् । शैक्षिक उपलब्धि बढाउन, खेललगायत सिकाइमा बालबालिकाको सक्रियता बढाउन पनि यसले उत्तिकै योगदान दिन्छ । विद्यालय दिवा खाजामार्फत समुदायको खानासम्बन्धी बानीमा सुधार ल्याउन र स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्नसमेत सहयोग गर्न सकिन्छ । विद्यालयमा बालबालिकाले सँगै बसेर समान किसिमको खाजा खाँदा पनि समनताको भावना जागृत हुन मद्दत पुग्छ । अर्कातर्फ विपन्न परिवारका पोषणको मात्रा नपुगेका बालबालिकालाई पनि उपयुक्त पोषण प्राप्त हुने भएकाले यसबाट सानो लगानीमा संविधानको भावनाबमोजिम समाजवाद उन्मुख समाज निर्माण गर्नेतर्फ सहयोग पुग्छ । 

यसर्थ यस कार्यक्रमलाई प्रभावकारी बनाउन र उपलब्धिपूर्ण बनाउन विभिन्न प्रयास गर्न आवश्यक छ । चेतनामूलक कार्यक्रम गरी अभिभावकमार्फत विद्यालयमा पोषणयुक्त खाजा व्यवस्था गर्न, बालबालिकाको शारीरिक र बौद्धिक विकास गर्न बजारका पत्रु खाना होइन स्वास्थ्यवद्र्धक खानामा ध्यान दिन आवश्यक छ भन्ने सोचाइ निर्माण गर्नु अति आवश्यक छ । स्थानीय तहले पनि अभिभावकलाई खाजा सम्बन्धमा सचेतीकरण गर्ने, आफूले विनियोजन गरेका बजेट पारदर्शी गर्ने, खाजा व्यवस्थापनका लागि समिति बनाउने, बजेट पठाउँदा विद्यार्थी संख्या यकिन गरेर मात्र पठाउने, समितिमार्फत समय–समयमा खाजा कार्यक्रमको अनुगमन गर्ने गर्न आवश्यक छ । प्रदेश र संघबाट पनि अनुगमन नियमित गरिनुपर्छ । यस सम्बन्धमा अध्ययन÷अनुसन्धान गर्ने, जस्तोः नेपालका विभिन्न क्षेत्र र समुदायको खानाको बानी अध्ययन गरी घरको खानामा प्राप्त नहुने खालका तत्व पूरा गर्नेे खाजाको सूची (रेसिपी) बनाउने र विद्यालयहरूलाई सिफारिस गर्ने गर्न सकिन्छ । जस्तो : नुवाकोटको विकट तथा ग्रामिण क्षेत्रका समुदायको घरको खानामा बढी कार्बोहाड्रेड हुने, प्रोटिन कम हुने कुरा अध्ययनले देखाएका छन् । यस्तो अवस्थामा विद्यालयको दिवा खाजामा प्रोटिनको मात्रा बढी भएका खानाको सूची बनाई विद्यालयमा प्रयोग गराउँदा खाजाको प्रभावकारिता बढ्छ । यसरी स्थान, क्षेत्र र समुदाय विशेष फरक क्यालोरीसहितको सम्भावित सूची निर्माण गरी अभिमुखीकरण गर्ने, स्थानीय बाली तथा खाद्य सामग्री प्रयोग गरी खाजा खुवाउने, विद्यालयलाई पुरस्कृत गर्ने, निर्मित निर्देशिकामा विज्ञ र सरोकारवालाको सहभागितामा परिमार्जन गर्ने, निर्देशिका कार्यान्वयनलाई अनिवार्य गर्नेजस्ता काम गर्न सकेमा विद्यालयमा सञ्चालित दिवा खाजाको प्रभावकारिता आवश्यकता अनुसार वृद्धि गर्न सकिन्छ ।


२०७९ साल असार ६ गते । वर्ष : १५, अंक : ३६

 

Monday, June 13, 2022

किन मिले माओवादी–काँग्रेस ?

जिल्ला समन्वय समिति नुवाकोटमा निर्वाचित प्रमुख, उपप्रमुख र सात जना सदस्यहरू पदभार ग्रहणपछि शुक्रवार कार्यालय परिषरमा । 
विदुर । जिल्ला समन्वय समिति  (जिसस) नुवाकोटको निर्वाचन शुक्रवार निर्विरोध रुपमा टुङ्गििएको छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले तयार गरेको गठबन्धको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध रुपमा जिससको चुनावी प्रक्रिया टुङ्गोमा पुग्यो । उम्मेदवारको समर्थक र प्रस्तावक बस्नका लागि आवश्यक दुई मध्ये एमालेसंग एक भोट मात्रै भएकोले उसले उम्मेदवारी नै दर्ता गराउन सकेन । मुख्य दुई ठूला दलनै मिलेपछि एक भोट भएको एमाले पेलिएको हो । 

मंगलवारसम्म माओवादी केन्द्र एक्लै जिसस गठन गर्ने ‘मुड’मा देखिएको थियो । माओवादीको प्रदेश समितिमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेताको बैठकमै काँग्रेससंग सहकार्य नगर्ने बहुमत स्वर थियो । तर बुधवार उम्मेदवारको मनोनय पत्र दर्ता गर्ने बेलामा भने काँग्रेससंगको ‘गठबन्धनको निरन्तरताको’ देखिदो कारण बाहिर आयो । 

जिल्ला सभामा माओवादीसंग १२, काँग्रेससंग ११ र एमालेसंग १ मत छ । एमाले नुवाकोटका जिम्मेवार नेताहरूले जिससमा निःशर्त माओवादीलाई सघाउने बताउँदै आएका थिए । अन्तिम समयमा एमालेले दुई सदस्य मात्रै माग गरेको थियो ।  माओवादीले प्रमुख, उपप्रमुख र अन्य पाँच सदस्य लिने अवसरलाई ‘अवसरको रुपमा’ देखेन । माओवादी एक नेताका अनुसार दुई कारणले माओवादीले एक्लै जिसस गठन नगरेर काँग्रेसलाई उपप्रमुख र चार सदस्य दिएको छ । नौं सिटमा प्रमुख सहित ४ सिट माओवादीले राखेर उपप्रमुख सहित ५ सिट काँग्रेसलाई दियो । यसरी दुई सदस्य मागिरहेको एमालेसंग माओवादीले सहकार्य नगर्नमा संघ र प्रदेशको निर्वाचनमा समेत काँग्रेस–माओवादी बीच हुने गठबन्धन मुख्य रहेको बताइएको छ । माओवादी जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार केन्द्रको निर्देशन अनुसार काँग्रेससंग जिससमा गठबन्धन भएको हो । अझै बाँकी निर्वाचनहरूमा गठबन्धन कायम रहने र नुवाकोटको सन्र्दभमा मात्रै नभई काँग्रेस बलियो भएको अन्य जिल्लामा  माओवादीलाई जिससमा प्रमुख दिने गरी छलफल भएकोले यसो गरेको उनले बताए ।  

तर, समाचार श्रोतका अनुसार नुवाकोटमा एमालेसंग माओवादीको गठबन्ध हुने सम्भावना एमालेको विदुर नगर कमिटिका कारण भत्किएको हो । विदुर नगरपालिका वडा नं. ९ मा माओवादीबाट निर्वाचित वडा अध्यक्ष हरिराम भण्डारीको अख्तियारले अघि बढाएको मुद्दाको विषयमा एमालेले अराजनीतिक व्यवहार देखाएको आरोप छ । ‘भण्डारीको सन्र्दभमा हामीलाई एमालेले बढी नै लखेटेको हो’, एक नेताले भने– ‘त्यस घटनाबाट हामीले एमालेसंग विश्वास गरेर सिङ्गै जिसस दाउमा राख्न सकेनौं ।’ एमालेको मत काँग्रेस तर्फ जाँदा मात्रै पनि गोलाप्रथाबाट निर्वाचित हुनुपर्ने र प्राप्त भइरहेको समन्वय प्रमुख पद गुम्न पनि सक्नेमा माओवादी भित्र लामो छलफल भएको थियो । 

जिसस प्रमुखमा रजिन्द्रविक्रमसिंह ठकुरी (माओवादी) उपप्रमुखमा दलबहादुर तामाङ (काँग्रेस) निर्वाचित भएका छन् । सदस्यहरू माओवादीका तर्फबाट रामचन्द्र पौडेल, मोहन पुडासैनी र धनमाया विक, निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट राजेन्द्र श्रेष्ठ, सम्झना सेढाइँ, सन्तोषी देवकोटा र कान्छी सुनुवार जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् ।  

को हुन् रजिन्द्रविक्रम सिंह ठकुरी ?

विदुर । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा माओवादी–काँग्रेस गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भएपछि जिल्लामा एकाएक रजिन्द्रविक्रम सिंह ठकुरीको सोधिखोजी सुरु भयो । राजनीतिक वृत्तमा कम सुनिएको नाम जिल्ला प्रमुखका रुपमा उदाएपछि उनको बारेमा धेरैले अनेक अनुमान र टिप्पणी गरे । नुवाकोट क्षेत्र नं. १ का उनको परिचय क्षेत्र नं. २ का आफ्नै नेता कार्यकर्तामा पनि कम थियो । 

नुवाकोट निर्वाचन क्षेत्र नं. १ को पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा ठकुरीले बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडा सदस्य जितेका छन् । उनी नेकपा माओवादी केन्द्र पञ्चकन्या गाउँ समितिको उपाध्यक्ष हुन् । ४० वर्षका उनी २०५६ सालबाट तत्कालिन माओवादीको सशस्त्र युद्धमा लागेका हुन् । युद्धताका जनमुक्ती सेनामा काम गरेका रजिन्द्रविक्रम सिंह ठकुरीले एसएलसीसम्मको अध्ययन गरेका छन् । 

कृषक पृष्ठभुमीका ठकुरी  आमाबुबा, श्रीमती र एक छोरासंग पञ्चकन्या–४ मा बस्छन् । गाउँमा उनी वासु नामले चिनिन्छन् ।  


‘आफ्नै पारामा’ दीपक कायस्थ


विदुर । नव निर्वाचित जनप्रतिनिधिहरूले वियज उत्सव र भोजभत्तेरबाट अहिलेसम्म छुटकारा पाएका छैनन् । निर्वाचित हुनका लागि नागरिकहरू बीच उम्मेदवारले गरेको प्रतिवद्धता पुरा गर्नका लागि अधिकांश जनप्रतिनिधिहरूले कहिले र कसरी जाने भनेर सोच्न पनि नभ्याइरहेको बेलामा विदुर नगरपालिकाका एक वडा अध्यक्ष भने आफ्नो चुनावी वाचा सम्झदै टोलटोलमा पुगिरहेका छन् । 

विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक कायस्थ चुनाव प्रतिबद्धता पुरा गर्दै अहिले समुदायर गाउँटोलमा पुगिरहेका छन् । अन्य जनप्रतिनिधिहरू अझै भोजभत्तेरमा अलमलिरहँदा उनी भने नागरिकहरूको माग अनुसारको सामाग्री आफ्नै निजी खर्चमा खरिद गरेर घरघर गइरहेका छन् । भोट माग्ने क्रममा मतदाताको घरदैलोमा पुग्दा देखेको खानेपानीको समस्या हटाउने प्रतिबद्धता वडा अध्यक्ष कायस्थले जितेको केहि दिनमै खानेपानीको समस्या समाधान गरेका छन् । 

उनको सहयोगबाट सुर्यगढी गाँउपालिकाको सिप्लिघान मुहान गरी विदुरको नुवाकोट दरवार क्षेत्रसम्म खानेपानी ल्याएपछि ३ सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । चुनाव जितेपछिको भोजभत्तेर जस्ता अनावश्यक खर्च नगरी नागरिकहरूको दैनिक जीवनमा परेको समस्या समाधान तर्फ आफु लागेको वडा अध्यक्ष कायस्थले बताए । सिप्लिघान मुहान गरी नुवाकोट क्षेत्रसम्म लाग्ने ६३ र ५० ईन्च साईजको पाइप र सम्पुर्ण ‘फिटिङ’का सामग्रीहरू उपलब्ध गराएको उनले बताएका छन् । वडाबासीको समस्या समाधानका लागी  कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाएका छन् । 

कायस्थ नेकपा एमालेबाट वडा नं. २ मा निर्वाचित भएका हुन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर उठाएका उम्मेदवार भन्दा उनले १४८ बढी मत पाएका थिए । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार सुरजप्रसाद श्रेष्ठले ७९२ मत र कायस्थले ९४० मत पाए । 

नेताहरूको आँखामा नुवाकोटको क्षेत्र नं. १

विदुर । स्थानीय तहको निर्वाचन शुक्रवार (जेठ २७ गते) बाट सकिएको छ । जिल्ला समन्वय समिति नुवाकोटको पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान र समन्वय प्रमुखलाई सपथ खुवाइसंगै यो पटकको स्थानीय तह निर्वाचन नुवाकोटमा सकियो । तर स्थानीय तह निर्वाचन सम्पन्न नहुँदै संघ र प्रदेशको निर्वाचनका सरगर्मी नुवाकोटमा बढ्न थालेको छ । आउँदो मंसिरमा हुने अनुमान गरिएको संघीय निर्वाचनमा उम्मेदवारी घोषणाको क्रम सुरु भइसकेको छ ।

नुवाकोटको क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट दुई नेताले उम्मेदवार हुने ‘इन्ट्रेस्ट’ देखाएको समाचारहरू स्थानीय तह निर्वाचन मैजादो नहुँदै बाहिर आएका छन् । नुवाकोट काँग्रेस भित्र देखिएको महत र केसी विभाजकै निरन्तरताको रुपमा दुवै पक्षबाट क्षेत्र नं. १ मा उम्मेदवारीको स्वघोषणा आएका छन् । क्षेत्र नं. १ बाट संघीय सांसदका लागि नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत र नुवाकोट काँग्रेस सभापतिका निकटतम प्रतिद्धन्द्धी तथा काँग्रेस महासमिति सदस्य डा. केदारनरसिंह केसीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । डा. केसीले आफ्नो फेसबुक मार्फत २०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै चुनाव लड्न चाहेको घोषणा गरेका हुन् । प्रवक्ता डा. महतले क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको प्रचार गरेको तेस्रो दिननै डा. केसीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी प्रस्तुत गरेका हुन् । 

अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले प्रतिनिधित्व गर्ने त्यस क्षेत्रमा २०५१ सालदेखि काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत काँग्रेसका तर्फबाट उम्मेदवार बन्दै आएका छन् । अघिल्लो पटक समेत डा. महत काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । अघिल्लो संघीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनबाट माओवादीका नेता हितबहादुर तामाङ क्षेत्र नं. १ मा उम्मेदवार बनेर निर्वाचित भएका थिए । अहिले दाई महतले स्वास्थ्य अवस्थाका कारण ‘फिल्डको राजनीति नगर्ने’ चर्चा चलिरहेको समयमा भाई महत (डा. प्रकाशशरण महत) ले क्षेत्र नं. १ अथात् दाईको ‘स्पेश’ लिन खोजेको काँग्रेसका एक नेताले बताएका छन् ।  

नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ । गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेको पनि जिल्ला नेताहरू बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा लगेर कार्यक्रम गरेका थिए । गत निर्वाचनमा एमालेका उम्मेदवार पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महतले १३ हजार १६९ मत ल्याई फराकिलो अन्तरले पराजित भएका थिए । महतले अहिले रोजेको नुवाकोट १ मा पनि कांग्रेस अघिल्लो पटक फराकिलो अन्तरले पराजित भएको थियो ।

माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत सहित पराजित भएका थिए । शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर पालिका नुवाकोटको १ नम्बर क्षेत्रमा पर्दछन् । शिवपुरी, सूर्यगढी र तादीमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको छ । काँग्रेसले जितेका यि तीन गाउँपालिकमा मध्ये पनि शिवपुरी र तादीमा माओवादी केन्द्रको प्रभाव बढी देखिएको छ । यि दुई पालिकाको अध्यक्षमा काँग्रेसले जितेको भएपनि उपाध्यक्षदेखि बहुमत वडाहरू माओवादीसंग छ । 

यो संगसंगै काँग्रेस र माओवादी केन्द्र बीच संघीय निर्वाचनमा हुनसक्ने गठबन्धनलाई पनि जोडेर हेर्न थालिएको छ । काँग्रेस माओवादीबीच गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादी केन्द्रको भागमा पर्ने सम्भावना प्रवल रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । उनका अनुसार त्यस्तो अवस्थामा माओवादीका तर्फबाट हितबहादुर तामाङ उम्मेदवार बन्ने छन् । गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादीलाई र क्षेत्र नं. २ काँग्रेसलाई भाग लाग्ने अनुमान गरिएको छ । त्यस्तो अवस्थामा क्षेत्र नं. १ मा तामाङ र क्षेत्र नं. २ मा काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ उम्मेदवार बन्ने सम्भावना बढी छ ।  

यस्तै नेपाली काँग्रेसमा महाधिवेशन प्रतिनिधि, पुर्व जिल्ला प्रवक्ता कृष्ण कुइँकेलले समेत क्षेत्र नं. १ बाट संघीय सांसदमा उठ्ने घोषणा गरेका छन् । राजनीतिक दलप्रति नागरिकहरूको मोह भङ्ग भएकोले आफ्नो उम्मेदवारी स्वतन्त्र रहने कुँइकेलले बताएका छन् । पार्टीले उम्मेदवार नबनाए वा बनाएपनि आफ्नो स्वतन्त्र रुपमा संघीय सांसदका रुपमा उठ्न चाहेको उनले बताएका छन् । राजनीतिक दलहरू प्रति नागरिकहरूको वितृष्णा बढ्दो देखिएकोले आफ्नो उम्मेदवारी कुनै दल विशेषबाट नहुने तर्क उनको रहेको छ । क्षेत्र नं. १ मा पर्ने दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवार तयार गरेर स्वतन्त्रको प्यानल नै तयार गरेर आसन्न निर्वाचनमा होमिने कृष्ण कुइँकेलले शनिवार इमेज साप्ताहिकसंगको कुराकानीमा बताएका छन् । 

तारकेश्वर र म्यागङले जगाएको आश

टोल फ्री सेवाको सुरुवात गर्दै तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (बीचमा) उपाध्यक्ष हरिप्रसाद रिमाल (दाँयाँ) र प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी (बाँयाँ)। 
विदुर । स्थानीय तह निर्वाचनको दोश्रो चरणको निर्वाचनको नतिजासंगै नव निर्वाचित जनप्रतिनिधिहरूले काम थालेका छन् । विशेष गरी पाँच वर्ष संघीयता कार्यान्वय, कार्यालय व्यवस्थापन र जनप्रतिनिधिलाई सिक्नका लागि बढी समय खर्च भएपनि अबको जनप्रतिनिधिबाट नतिजामुखी कामको अपेक्षा नागरिकहरूले गर्न थालेका छन् । नयाँ जनप्रतिनिधिहरू सामान्य कामबाटनै नागरिकहरूलाई प्रभावित बनाउने र नयाँ केही गर्ने योजना सहित चुनिएका छन् । नागरिकहरूको दैनिकीमा सघाउनेदेखि जनउत्तरदायि सरकारका रुपमा स्थानीय तहलाई उभ्याउने क्रममा नुवाकोटमा दुई पालिकाहरूले सुरुवात गरेको फरक दुई कामले आशाको सञ्चार गरेको छ ।

नुवाकोटको तारेकश्वर गाउँपालिकाले २४ घण्टा सेवा दिने गरी निःशुल्क हटलाईन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै नुवाकोटको अर्को स्थानीय सरकार म्यागङ गाउँपालिकाले छोरीहरूलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि एक महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले छोरीलाई २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाको मानव विकास सूचांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरू उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । 

उता, तारकेश्वर गाउँपालिकाले २४ घण्टा सेवा दिने गरी निःशुल्क हटलाईन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका कार्यालय दाङसिङमा अध्यक्ष शिव अधिकारीले सेवा केन्द्रको उद्घाटन गरेका छन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवा केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

नागरिकले १६६००१४५२२२ मा फोन गरेर सल्लाह, सुझाव र जुनकुनै गुनासोलाई २४ सैं घण्टा फोन गरेर टिपाउन सक्ने छन् । नागरिकबाट आएका गुनासोलाई सम्बोधन गरिने र सकारात्मक सल्लाह, सुझावलाई कार्यान्वयन गर्दै जाने योजनाले सेवा सुरु गरेको अध्यक्ष अधिकारीले बताए । 

यो सेवाले नागरिक र जनप्रतिनिधि बीचको सम्बादलाई अझ सहज बनाइए नागरिकको हितमा काम गर्न ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । बर्खायाम पनि सुरु भएको र आगामी बर्षको बजेट निर्माणको तयारी समेत सुरुभएकाले आजैदेखि यो सेवा सञ्चालना ल्याएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई रहेको छ । 

यस्तै, तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा सञ्चालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय समेत गरेको छ । बैठकले क्रसर र बालुवाखानी सम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीलाई जिम्मेवारी समेत दिएको छ । 

वडा सदस्यको गाडी भाडामा

दाङसिङ । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा सदस्य चोकराज शाक्यको बा २० च ८८६८ नम्बरको बोलेरो जिप गाउँपालिकाको कार्यालयले भाडामा लिएको छ । 

गाउँपालिकालाई गाडी आवश्यक रहेको र सस्तो भाडामा उपलब्ध भएकोले शाक्यको भाडा लिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताएका छन् । गाउँपालिकासंग एउटा मात्रै सरकारी नम्बर प्लेटको स्कोरपियो गाडी छ । अहिले लिइएको वडा सदस्यको गाडीको मासिक भाडा डेढ लाख रुपैयाँ रहेको छ । शाक्य काँग्रेस महासमिति सदस्यसमेत हुन् । उनी गाउँपालिका अध्यक्षका दावेदार थिए । तर, जिल्ला समन्वय समितिको प्रमुख बनाउने गरी उनलाई वडा सदस्य बनाइएको थियो । 

बिजुलीको तारमा आठ घण्टा

माइला विक शनिवार तारबाट निकालिएपछि फुटुङ्गमा रहेको  नवजीवन परोपकार समाजमा । 

विदुर । शनिवार झण्डै आठ घण्टा एक पुरुषले उच्च भोल्टेज क्षमताको प्रसारण लाइन (हाइटेन्सन)मा समय विताए । घण्टौंसम्म तारतारै उता उता हिडिरहेका उनका कारण नुवाकोट मात्रै नभई दुनियाँ नै तरंगित बन्यो । मानसिक सन्तुलन ठिक नभएको भनिएका ति पुरुषलाई अहिले काठमाडौं राखिएको छ । उनलाई शनिवार राती नै काठमाडौं लगिएको छ । 

ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले शनिवार राती उद्धार गरेको हो । तालिमप्राप्त सैनिकहरू टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति ओर्लिएका हुन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । साँझ ७ः२० मा उनलाई बिजुलीको तारबाट जमिनमा उतारिएको थियो । परिवार नभएकोले जिल्ला प्रहरी कार्यालय नुवाकोटले काठमाडौं फुटुङ स्थित नवजीवन परोपकार समाजमा उपचार र संरक्षणका लागि शनिवार राती नै राखेको छ ।  

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का ४२ बर्षिय माइला भनिने हिमबहादुर सुनार विक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो । बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।

झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर गएको थियो । ‘८ घण्टासम्म माथिल्लो त्रिशूली–३ ’ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित बन्यो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरह्यौं ।’ माग धान्नका लागि दिनभरी नै भारतबाट समेत बिजुली ल्याइएको थियो । 

तस्बिर समाचार


एक साथ प्रभा र अम्बिका : विदुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित प्रभा बोगटीलाई सम्मान गर्दै शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र विष्ट । संस्थाले शुक्रवार नुवाकोटमा आयोजना गरेको सेवा कार्यालय उद्घाटन समारोहमा उनको सम्मान गरेको हो । साथमा उपप्रमुख पदमा नेकपा एमालेबाट प्रतिस्पर्धा गरेर उपविजेता बनेका अम्बिका पौडेल नेपाल ।

 तस्बिर : इमेज साप्ताहिक

‘बागमतीमा युवा सशक्तीकरण’

विदुर । प्रदेश युवा परिषद्को कार्यालय बागमतीको आयोजनामा युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत वक्तृत्वकला प्रतियोगिता विदुरमा सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषद् स्थापना दिवसको अवसरमा प्रतियोगिताको आयोजना भएको हो । 

‘सिर्जनशीलता र उद्यमशिलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका आठ र रसुवा जिल्लाका चार जना युवायुवतीको सहभागीता थियो ।

१६–२४ उमेर समुहको खुल्ला वक्तृत्वकला प्रतियोगितामा नुवाकोटका  महिलातर्फ बेलकोटगढी नगरपालिकाका बिविना लामिछाने र पुरुषतर्फ रामेश्वर गजुरेल प्रथम भएका छन् । 

रसुवाबाट प्रतियोगितामा सहभागि मध्ये महिलातर्फ कालिका गाउँपालिकाका कृतिका पौडेल र पुरुषतर्फ नौकुण्ड गाउँपालिकाका दावाछिरिङ लामा प्रथम भएका छन् । विजेताहरूलाई जनही ३ हजार रुपैंयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । 

बिजेताहरूले आगामी असार ४ गते हेटौडामा हुने प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा उनीहरू चार जनाले नै सहभागिता जनाउने नुवाकोटका अध्यक्ष उद्वव पनेरुले जानकारी दिएका छन् । 

रसुवा जिससमा भयो गोलाप्रथा

विदुर । जिल्ला समन्वय समिति रसुवाको निर्वाचनमा दुई पक्षले बरोवरी मत पाएपछि गोला प्रथाबाट बिजेता छानिएका छन् । त्यसरी गोला तान्दा  प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । 

नौ सदस्य पदको लागि शनिबार भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । गोला तान्दा प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा विजय लामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

समितिको सदस्यहरूमा एमालेका कामी छिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमालेको देशी रानी तामाङ, कांग्रेसको कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी छन् । पाँच वटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले ५/५ सिट जितेका थिए ।

चुनाव चिह्न जनताको टाउकोमा

विदुर । नेकपा एमालेका सांसद नारायण खतिवडाले नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि भइरहेको समस्याहरूको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जेठ २४ र २५ गते फोहोर व्यवस्थापनको क्रममा प्रहरीले  ज्यादती गरेको भन्दै त्यसको ध्यानाकर्षण गराए । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद खतिवडाले स्थानीय चुनावमा भोट लिनको लागि चुनाव चिह्नको लागि प्रयोग भएको लौरो नुवाकोटका जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे ।

‘फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरूमाथि दमन भएको छ । स्थानीय चुनावमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटका जनताहरूको टाउको र ढाडमा बजारिन पुगेको छ । उनले भने ।

लायन्स क्लब अध्यक्षमा आचार्य


विदुर । लायन्स क्लब अफ नुवाकोट उपकार २३५ जे को बर्ष २०२२/२३ को लागि नयाँ कार्य समिति चयन भएको छ ।

अध्यक्षमा राजकुमार आचार्य, उपध्यक्षमा अञ्जली पाण्डे, सचिबमा अमित गजुरेल र कोषध्यक्षमा हरिबंश ढकाल चयन भएका छन् । त्यस्तै कोअडिनेटरहरूमा सन्तोष उप्रेती, बिबेक लामिछाने, रामेश्वर अधिकारी, सुशान अधिकारी, किशोर अर्याल छन् । 

एमालेको ज्ञापनपत्र प्रधानमन्त्रीलाई


विदुर । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र नुवाकोटले १५ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार जनसंगठन समन्वय संयन्त्रका संयोजक निलकण्ठ आचार्य नेतृत्वको समुहले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेपाली जनताको प्रमुख पेशा र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि व्यवसाय हाल आएर संकटग्रस्त अवस्था छ । एकातिर कृषि पेशा परम्परागत रुपमा नै सञ्चालन भएका कारण उत्पादनमा वृद्धि हुन सकिरहेको छैन भने अर्कोतिर उत्पादन लागत बढी भएका कारण कृषकहरू मारमा परिरहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालीहरूको प्रमुख खाद्यवाली मकै तथा धान उत्पादन गर्ने बेला नै रासायनिक मलको अभाव भइरहेको छ, तसर्थ यथाशीघ्र कृषकको लागि पर्याप्त मात्रामा रासायनिक मलको आपूर्ति गर्ने व्यवस्था गर्न हामी जोडदार माग गरेको छ । शैक्षिक सत्र शुरु भएको एक महिना बित्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीहरूले शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनु बिडम्बना हो । तसर्थ बालबालिकाहरूलाई यथाशीघ्र पाठ्यपुस्तक उपलब्ध गराईयोस् ।’

भण्डारीको निलम्बनले उठाएको दुई प्रश्न

निलम्बनमा परेका विदुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरिराम भण्डारी । 

विदुर । निर्वाचन आयोगले आफूसँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत छिद्रको पहिचान नगर्दा नुवाकोटको विदुर नगरपालिका वडा नं. ९ मा नागरिकहरूको काम नै बन्द भएको छ । निर्वाचित वडा अध्यक्षलाई निलब्न गर्नु भन्ने पत्र पठाएको र वडा अध्यक्षले कार्यवहाक दिएको सदस्यले समेत काम गर्न नपाउने भएपनि वडाबाट हुने दैनिक कामकाज नै प्रभावित बन्यो । 

यताको जस्तै देशै भरीको घटनाक्रमलाई हेर्दा एउटा स्थानीय तह र अन्य दुईवटा वडा हाल नेतृत्वबिहीन भएका छन् । 

गत मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सूचना निकाल्यो । अख्तियारले निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अनि सम्बन्धित स्थानीय तहमा पत्र पठाएर भ्रष्टाचारको आरोपमा निलम्बित भएका र विशेष अदालतबाट दोषी ठहर भइसकेका जनप्रतिनिधिहरूलाई निलम्बन गर्न भन्यो । 

अख्तियारको यो निर्णयपछि दुई प्रश्न एकैसाथ उब्जिएका छन् । 

पहिलो, भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएर निर्वाचित हुँदासमेत प्रतिस्पर्धी र सम्बन्धित निर्वाचन अधिकृतले पत्तो पाएनन् । 

दोश्रो, स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था, जसले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई उम्मेदवार हुन छेक्दैन, तर निर्वाचित भएपछि पदमा बहाल हुन र काम गर्न रोक्छ ।

भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरू स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको भन्दै निलम्वनको व्यवस्था कार्यान्वयन गर्न सम्वन्धित निकायमा लेखि पठाएको छ । जेठ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिराम भण्डारीको हक यस्तो भनेको छ । 

‘नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं. ९ स्थित सुलक्षण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकोले निजउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी लिई यस आयोगबाट मिति २०७६।५।२० गते विशेष अदालतमा मुद्दा दायर भई उक्त मुद्दा विचाराधीन रहँदाकै अवस्थामा निज हरिराम भण्डारी स्थानीय तहको निर्वाचनमा बिदुर नगरपालिका, वडा नं. ९ को वडाध्यक्षमा निर्वाचित भएकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएको कुनै व्यक्ति÷राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित उनी बाहेक एक गाउँपालिका अध्यक्ष र दुई वडाध्यक्ष निलम्बनमा परेका छन् । 

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहहरूलाई पत्र लेखेको छ ।

अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो । 

यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावललाई पनि निलम्बन गर्न अख्तियारले पत्र पठाइसकेको छ । उनी कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । यो मुद्दा हाल विचाराधीन छ ।

निर्वाचन आयोग के भन्छ ?

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संसदले पारित गरेको ऐन अनुसार नै आयोगले उम्मेदवारहरूको योग्यता र अयोग्यताको मापदण्ड निर्धारण भएको बताउछन् । 

‘ऐनमा नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फैसला अन्तिम भएर बसेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने भनेको छ’ उनी भन्छन्, ‘भ्रष्टाचारको आरोप लागेकै भरमा हामीले उम्मेदवार हुन रोक्न मिल्दैन ।’ उनले प्रतिनिधि सभा र प्रदेश सभामा पनि उस्तै योग्यता तोकिएकाले भ्रष्टाचारको आरोप लागेका कुनै व्यक्तिलाई उम्मेदवार हुन रोक्न नसकिने बताए । 

भ्रष्टाचारमा मुछिएको र सार्वजनिक पदमा भएको व्यक्तिमाथि मुद्दा चलेपछि प्रमाण लुकाउने जोखिम हुने मान्यताका आधारमा उसलाई निलम्बन गरिन्छ । 

भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचार मुद्दा लाग्नासाथ त्यसको किनारा नहुँदासम्म सार्वजनिक पदमा भएको व्यक्ति निलम्बन हुन्छन् । तर निर्वाचन सम्बन्धी कानूनी त्यससँग अनुकुल हुने नदेखिएकाले भ्रष्टाचार मुद्दा लागेकै कारण उम्मेदवार हुन रोक नहुने व्यवस्था राखियो ।