Friday, April 07, 2023

ब्याटमिन्टन कभर्ड हल बन्ने

विदुर । नुवाकोटमा व्याटमिन्टन कभर्ड हलको निर्माण सुरु भएको छ । जिल्लामा खेल क्षेत्रको विकास र खेलाडीहरूको सम्र्बद्धनका लागि ब्याटमिन्टन कभर्ड हलको आवश्यकता ठहर गरेर विदुर नगरपालिकाले ब्याटमिन्टन कभर्ड हलको निर्माण सुरु गरेको हो । 

विदुर नपा–२ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा निर्माणाधिन कभर्ड हलको आइतबार शिलान्यास गरिएको छ । ब्याटमिन्टन कभर्ड हलको शिलान्यास गर्दै मेयर राजन श्रेष्ठले खेल, खेलाडी तथा खेल संरचनाको विकासमा नपाले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए । काठमाडौसँग जोडिएको नुवाकोटमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना रहेको पनि मेयर श्रेष्ठको भनाई छ । 

ब्याडमिन्टन कभर्ड हलको लागि जग्गा सम्याउने र डीपीआर तयारका लागि पाँचलाख ७७ हजार ३६६ रुपैयाँ लागत छ । उपभोक्ता समितिले एकलाख १६ हजार ५६६ रुपैयाँ परिचालन गर्ने भएको छ । विदुर नगरपालिकाले चार लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । सो कार्य आगामी २०८० साल जेठ १५ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।

पत्रकारहरुको दुर्घटना बीमा

विदुर । बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको १३ जिल्लाका पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिदिएको हो । 

मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले दिएको जानकारी अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।  चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको बताए । उनले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थालाई समेत पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिए ।

आगलागीबाट घर जलेर नष्ट

विदुर । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित गणेशस्थानमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । 

पशुचौपायालाई कुडो बनाउने क्रममा फैलिएको आगोबाट घरमा रहेको खाना पकाउने ग्यास समेत पड्किएर आगलागी भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताएका छन् । 

उनका अनुसार पञ्चनारायण मानन्धरको घरमा आगलागी भएको हो । आगलागीको कारण घरमा रहेको नगद सहित सबै सामान जलेर नष्ट भएको छ । गाउँपालिकामा हालसम्म बारुण यन्त्र नहुदा आगो नियन्त्रणमा लिन नसकिएको समेत अध्यक्ष तामाङको भनाइ छ । 

पीडित परिवारलाई तत्कालका लागि खाने बस्ने व्यवस्था मिलाउन गाउँपालिकाले राहात उपलब्ध गराएको छ ।

प्रहरीलाई दुव्र्यवहार गर्ने चालक पक्राउ

विदुर । प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन् । 

वीरगन्ज–गल्छी–देवीघाट–विदुर सडकमार्ग अन्तर्गत बिदुर नगरपालिका–४ बट्टारबजारमा प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा तनहुँको ब्यास नगरपालिका वडा नं. १ का २९ वर्षीय बलबहादुर नेपाली पक्राउ परेका हुन् ।

नारायणगढबाट यात्रु बोकेर देवीघाट हुँदै  त्रिशुलीतर्फ जाँदै गरेको बा ४ ख ८९१९ नम्बरको बस रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चालकले दुव्र्यवहार गरेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार चालक नेपालीले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

विपद् नियन्त्रणमा जुट्न आग्रह


विदुर । जिल्लामा भएका विपद्जन्य घटना हुन नदिन र ती घटनामा खोज तथा उद्धार गर्न तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला निकाय र स्थानीय तहलाई निर्देशन दिएको छ । 

समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बिहीबार बसेको बैठकले विभिन्न ९ बुँदे निर्णय गर्दै स्थानीय तहका पदाधिकारी र सरोकारवाला निकायलाई उक्त निर्देशन दिएको हो । 

नुवाकोट आगलागीको जोखिमयुक्त जिल्ला भएकाले आगलागी नियन्त्रणका लागि दमकलको अभाव रहेकाले १२ वटै पालिकाका आपसमा मिली बढीमा २/३ वटाको समन्वयमा दमकल खरिद गरी सञ्चालन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 

त्यसैगरी सुक्खायामको सुरुवासँगै आगलागीजन्य विपद्मा वृद्धि हुने र जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय तहले आफ्नो वडातहबाटै डढेलो लगाउने कार्यलाई नियन्त्रण गर्नुपर्ने प्रजिअ थापाले बताए ।

आगलागीको जोखिमयुक्त स्थानको पहिचान गरी उक्त क्षेत्रका स्थानीय जनप्रतिनिधि, जिल्ला वन कार्यालय तथा स्थानीय प्रहरी युनिटमार्फत नियमित निरीक्षण गराउनुपर्नेछ । जिल्ला विपद् व्यवस्थापन कोषबाट जिल्लाका विभिन्न स्थानमा भएका विपद्जन्य घटनाका पीडितहरूलाई ०७९ पुस १३ गतेदेखि चैत ९ गतेसम्म राहत स्वरुप उपलब्ध गराइएको ७० हजार रुपैयाँ उपलब्ध गराई अनुमोदन गरेको बताइएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिले आफ्नो तहमा रहेको विपद् उद्धारको सामाग्रीहरू दुरुस्त अवस्थामा राख्न भनिएको छ । त्यसैगरी अपुग सामग्री खरिद गरी राख्न, विवरण तथा भण्डार गरिएको बारेमा समेत जानकारी दिन भनिएको छ । 

मनसुनजन्य विपद्बाट पूर्ण क्षति भएका निजी आवासको पुनर्निर्माणको कार्य वर्षात्को मौसम अगाडि सम्पन्न गर्ने साथै लाभग्राहीले प्राप्त गर्ने सहयोगका लागि स्थानीय निकायले गर्नुपर्ने निरीक्षण तथा प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सफ्टवेयरमार्फत तत्काल गर्न निर्देशन दिएको छ ।

उत्तरगयामा २० वर्षे गुरुयोजना बनाइँदै


बेत्रावती । उत्तरगया गााउँपालिकाले २० वर्षे गुरुयोजना निर्माण थालेको छ । पालिकाभित्रका सम्भावनालाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न २० वर्षे गुरुयोजना निर्माण गर्न थालेको हो ।

स्थानीय सरकारले आफ्नो संस्थागत सुदृढीकरण, समग्र विकास एवंम समृद्धिको खाकासहितको दीर्घकालीन योजना निर्माणका लागि गुरुयोजना निर्माण थालिएको पालिका अध्यक्ष माधव अर्यालले बताए । 

गुरुयोजना निर्माण गर्न पुर्व तयारी स्वरुप पालिकाले २ दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको बताए । विज्ञ र सरोकारवाला राखेर मंगलबार र बुधबार पालिकाले कार्याशाला गरेको हो । पालिकाको भौगोलिक क्षेत्र अनुसार जनससंख्या बृद्धि, सहरीकरण र आर्थिक समृद्धिको सम्भावनाको खोजी गर्ने भएको छ । स्थानीय सरकारसंग उपलब्ध स्रोत साधन, जनशक्ति र सम्भाव्य लगानीका स्रोतको खोजी गर्दै आगामी २० वर्षमा समग्र विकास योजना तर्जुमा गर्ने गुरुयोजनामा उल्लेख छ । विकासमा प्रादेशिक सन्तुलन, समावेशिता, प्राकृतिक स्रोत र साधनको संरक्षण, सम्र्बद्धन र उपयोग गर्दै मर्यादित काम र रोजगारी सिर्जना गर्न गुरुयोजना आवश्यक रहेको गाउपालिका उपाध्यक्ष चमेली गुरुले बताइन् ।

गुरुयोजनाले दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति लिएको छ । पालिकाको विकास कार्यक्रममा सबै नागरिकले आत्मसात गर्ने गरी यसका सूचकलाई आधार मानेर स्थानीय तहको योजना निर्माण गरिने छ । दिगो विकास लक्ष्यले निर्दिष्ट गरे बमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिपक अधिकारीले समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्ष समेटेर २०९९ साल सम्मका लागि समष्टिगत योजना निर्माण हुने बताए ।


युवा संघको अध्यक्षमा सापकोटा


विदुर । नेकपा एमाले निकट युवा संगठन रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा चयन भएका छन् । आईतवार भएको संघको ९ औ अधिवेशनबाट सापकोटाको नेतृत्वमा निर्विरोध ४७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै समितिको उपाध्यक्षमा रमेश ढकाल सचिवमा विवेक फुँयाल सह–सचिवमा रुपक पौडेल र दिनेश न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा म्लाङसिंह तामाङ र साईवर सर्कल प्रमुखमा अस्मिता तामाङ चयन भएको  युवा संघ नुवाकोटले जानकारी दिएको छ ।

अस्थिरता चाहनेले टाउँको उठाउन खाजिरहेको छ : तामाङ

विदुर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङले मुलुकमा अस्थिरता रहीरहोस् भन्नेहरूले टाउको उठाइरहेको बताएका छन् ।

जिल्ला समन्वय समिति नुवाकोटले मंगलबार र बुधबार विदुरमा आयोजना गरेको बैठकमा बोल्दै सांसद तामाङले परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्न नदिने प्रयास भइरहेको बताएका हुन् । नेता तामाङले भने, ‘कुनै न कुनै हिसाबले मुलुकमा अस्थिरता भइरहोस् भन्ने चाहनेहरूको टाउको उठाउन दिने कि नदिने भन्ने कुरा छ । त्यो हाम्रो भूमिका, कामकारबाही र व्यवहारले निर्धारण गर्छ ।’

उनले अहिलेको परिवर्तनप्रति वितृष्णा पैदा गराएर शान्ति र स्थिरता संस्थागत गर्न नदिने कसरत भइरहेकोले त्यसमा सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । ‘देशमा सुशासन कसरी दिने, समाजमा शान्ति दिने सवालमा, विकासको सवालमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ । हामी महत्वपूर्ण र गम्भीर खालको क्षणमा छौ’ उनले भने ।

नेता तामाङले संघीयस्तरका ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवा र वृत्तिविकास रोकिएको पनि बताए । ‘संघीयस्तरका ऐनहरू बनाउन सकिराखिएको छैन,’ उनले भने, ‘निजामती कर्मचारी विधेयकलाई संसद्मा टेबुल गर्न सकिरहेका छैन । कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने ?’ संवैधानिक परिषद्को अधिकार र कर्तव्यसँग सम्बन्धित विधेयकसमेत पारित गर्न नसकिएकोमा उनले गुनासो पोखे ।

संघीय सांसद विमला सुवेदीले लोकतान्त्रिक गणतन्त्रप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताइन् । कार्यक्रम जिल्लाका सरकारी, गैसस र १२ वटै पालिकाहरूका प्रमुख र प्रतिनिधिले आफ्नो प्रस्तुति राखेका थिए ।

बालअधिकार समिति गठन

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका ६ वटा वडामा वडा स्तरीय बाल अधिकार समिति गठन भएको छ । ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्धारा गुडनेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा आइसिडिपी परियोजना अन्तर्गत रहेर दुप्चेश्वर गाउँपालिका बाल अधिकार समिति गठन भएको हो ।

गाउँपालिकाको ७ वटा वडा नम्बर वडा नम्बर ६ मा समिति गठन गर्न बाँकी रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले बताईन् । बालबालिकाको क्षेत्रमा आइपर्ने समस्याहरू वडा स्तरबाटै समाधान गर्न सहजिकरण गर्ने र हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यको साथ वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बाल कल्याण अधिकारी समेत रहनुभएका शाखा प्रमुख लामिछानेले बताईन् ।

वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य सचिव रहने गरी १३ सदस्यीय गठन गरिएको बाल अधिकार समितिमा शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयंंशेविका, महिला तथा आमा समूह, बालबालिकाको क्षेत्रमा काम गर्ने गैर सरकारी सस्था, प्रहरी, बाल क्लव, अपांगता भएका व्यक्ति, आदिवासी जनजाती लगायत वर्गबाट प्रतिनिधित्व रहने पनि बताए । लामिछानेका अनुसार वडा स्तरमा गठित बाल अधिकार समितिबाट हुन नसकेका विषयबस्तुको संवोधन पालिकास्तरको बाल अधिकार समितिले गर्नेछ । गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङको संयोजकत्वमा पालिका स्तरीय बाल अधिकार समिति गठन भइसकेको छ ।

बागमती प्रदेशको पाँचवर्षे उपलब्धि सार्वजनिक


विदुर । ३ माघ ०७४ मा प्रदेश ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेसँगै सुरु भएको बागमती प्रदेश सरकारले पाँच वर्षमा गरेका उपलब्धि शुक्रबार एक पुस्तकका रूपमा सार्वजनिक गरिएको छ । 

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘बागमती सरकारको पाँच वर्ष’ पुस्तक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पुस्तक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक गरेका हुन् । पुस्तकमा प्रदेश सरकारले पाँच वर्षमा ५३६ किलोमिटर सडक कालोपत्रे गरेकोदेखि स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत प्रदेशका ५६७ छोरीबुहारीलाई छात्रवृत्ति दिएकोसम्मका कुरालाई समेटिएको छ  । विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राहरूको स्वास्थ्य प्रवर्द्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरी हालसम्म एक सय १९ तहका ४५९ विद्यालयमा नर्सको व्यवस्था गरिनुका साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको विषयलाई सरकारले उपलब्धि मानेको छ ।

यस्तै, प्रदेश सरकारले पाँच वर्षको अवधिमा ६९ वटा पक्की पुल र सातवटा झेलुंगेपुल निर्माण सम्पन्न गरेको, संशोधनसहित ७० वटा ऐन निर्माण गरेको, ११ वटा अध्यादेश, ३३ वटा नियमावली, पाँचवटा निर्देशिका, ४४ वटा कार्यविधि, सातवटा मापदण्ड र १२ वटा आदेश जारी गरेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

पाँचवर्षे उपलब्धि :

–  नेपाल सरकारले मिति ०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र मिति ०७४ माघ २८ गते नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट श्री डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको ।

– शून्यताबाट सुरु भएको प्रदेश सरकार स्थापनाको समयमा सात मन्त्रालय र निकायहरू रहेकोमा हाल ११ मन्त्रालय तथा प्रदेश सरकारअन्तर्गत निकाय एक सय ९८ कायम रहेका ।

–  प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधनसमेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका पाँच, कार्यविधि ४४, मापदण्ड सात र आदेश १२ गरी जम्मा एक सय ८६ वटा जारी भएको ।

–  प्रदेशको पहिलो पाँचवर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्यांक उपयोग गरिएको ।

–  संघीय सरकारसँगको समन्वय र सहकार्यमा २० वटा समपूरक र विशेष अनुदानका आयोजना सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहमा नवप्रवर्तनात्मक परियोजना सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।

–  प्रदेशमा आव ०७८–७९ सम्ममा एक लाख ५५ हजार एक सय ७९ उद्योग दर्ता भएको ।

– नौवटा जिल्लामा १० शीतभण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५ हजार आठ सय मेट्रिक टन फलफूल तथा तरकारी भण्डारणमा सहजता हुने ।

–  एक हजार ४१ सिँचाइ योजना सम्पन्न भई एक लाख ३१ हजार तीन सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको र १६ वटा नदीको नदी नियन्त्रणको गुरुयोजना तयार गरी नदी नियन्त्रणका कार्य सुरु गरिएको ।

– दुई सय ७६ वटा खानेपानी योजना सम्पन्न भई थप ४६ हजार एक सय ९६ घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पुगेको ।

–  यस अवधिमा कच्ची सडक सात सय ६१ किमि, ग्राभेल सात सय ७९ किमि, कालोपत्रे पाँच सय ३६ किमि, ढलान सडक एक सय ५४ किमि, सडक पुल ६९ वटा र झोलुंगेपुल सातवटा सम्पन्न भएका ।

–    सहरी विकास तथा भवन पूर्वाधारतर्फ दुई सय ३० भवन, चार सय ३४ पार्क निर्माण, एक सय ९५ सरकारी कार्यालय मर्मत र दुई हजार ८९ जनता आवास निर्माण सम्पन्न ।

– युवा उद्यमशीलता विकासअन्तर्गत दुई सय ६० स्वयंसेवक परिचालन, ४३ व्यवस्थित खेलमैदान, जिल्लास्तरीय रंगशाला सात, कभर्डहल ३० वटा सम्पन्न भएको ।

– सामुदायिक वन तथा अन्य क्षेत्रमा गरी तीन सय ९६ हेक्टरमा कुल ६ लाख २२ हजार नौ सय ८५ जडीबुटीको बिरुवा रोपण गरिएको ।

–  बागमती प्रदेशलाई ९७.२२ प्रतिशत साक्षरतासहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।

– उच्च शिक्षामा महिलाको पहुँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत पाँच सय ६७ छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको ।

–  प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमुना विद्यालय स्थापना, दुई सय २१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बससेवा उपलब्ध, तीन सय ३१ माविमा ई–लाइब्रेरी, एक सय ९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र दुई सय २१ वटा सामुदायिक क्याम्पसलाई सबलीकरण गरिएको ।

–  बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागू गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।

–  विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राको स्वास्थ्य प्रवर्द्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म एक सय १९ तहका चार सय ५९ विद्यालयमा कार्यान्वयन गरिएको ।

–  मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको ।

–  प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहको लागि आठ सय २५ विभिन्न पदको विज्ञापनमार्फत परीक्षा सञ्चालन गरी नियुक्तिका लागि सिफारिस भएको ।

– बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको ।

– १३ जिल्लाका जीर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।

–यस अवधिमा प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई दायर भएका दुई सय आठ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको जसमा ८१ प्रतिशत मुद्दामा सफलता प्राप्त भएको ।

२०७९ साल चैत १३ गतेको सम्पादकीय

अर्थतन्त्रलाई सधैंको संकट

गत आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको असोजदेखि सुधार भएर माघ मसान्तमा आउँदा १ खर्ब १ खर्ब ३३ अर्बले बचतमा पुगेको छ । तर यस्तो सुधारमा निर्यात र पर्यटन आम्दानीको हिस्सा छैन । गत आर्थिक वर्षको भन्दा आयात १९.९ प्रतिशतले घटेको र रेमिट्यान्स २७.१ प्रतिशतले बढेको अवस्थाका कारण मात्र बाह्य क्षेत्र सुधार देखिएको हो । गत असार मसान्तमा विदेशी विनियम सञ्चिति ९ अर्ब ५४ करोड डलरमा झरेर ६.९४ महिनाको वस्तु तथा सेवाको आयात मात्रै धान्न सक्ने अवस्थामा झरिसकेको थियो । माघ मसान्तमा आउँदा विदेशी विनिमय सञ्चिति बढेर १० अर्ब ५० करोड डलर पुगेको छ भने सञ्चिति पर्याप्तता सूचकांक ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । तर, आयात घट्दाको प्रभाव राजस्वसहितको सरकारी वित्तसँगै आन्तरिक अर्थतन्त्रमा समेत परेको छ । बाह्य क्षेत्रको सन्तुलन कायम गर्न आयातमा भएको कडाइ, ब्याजदरको वृद्धि तथा गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि देखिएको लगानीयोग्य स्रोत अभावले गर्दा आन्तरिक आर्थिक गतिविधि खुम्चिएको छ । लक्ष्य अनुसार भन्सार तथा आयकर उठ्न नसक्दा सरकारी वित्त अवस्थामा दबाव छ । राजस्वले चालु खर्च धान्न मुश्किल पर्ने अवस्था छ । आयात घट्दा भन्सार राजस्व घटेको छ भने आयातमा आधारित अर्थतन्त्र आयात कमजोर बनेसँगै आन्तरिक आर्थिक गतिविधि पनि कमजोर बन्न पुगेको छ । जसले आयकर पनि घट्न पुगेको देखिन्छ । राजस्व असुली लक्ष्यभन्दा धेरै कम छ । आर्थिक वर्षको ८ महिनामा भन्सार राजस्व, लक्ष्यको ५८ प्रतिशत मात्र उठाउन सकेको सरकारले आन्तरिक राजस्व पनि लक्ष्यको ७९.६८ प्रतिशत मात्र संकलन गरेको छ । आर्थिक वर्ष २०२४÷२५ पछि पहिलो पटक राजस्व संकलन ऋणात्मक अवस्थामा पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ८ चैतसम्म सरकारको आम्दानी ६ खर्ब ३६ अर्ब ९४ करोड छ भने खर्च ७ खर्ब ९७ अर्ब ९० करोड पुगेको छ । सरकारको खाता १ खर्ब ६० अर्ब रुपैयाँ घाटाछ ।

यस्तो अवस्थामा कमजोर पूँजीगत खर्च र भारी चालु खर्चले सरकारलाई सकसको अवस्थामा पु¥याएको छ । बुधबारसम्म चालुतर्फ ६ खर्ब २० अर्ब खर्च गरेको सरकारले पूँजीगततर्फ जम्मा ८९ अर्ब ३६ करोड खर्च गरेको छ । ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले अहिलेसम्म २३.७४ प्रतिशत मात्रै रकम खर्चिन सकेको छ । त्यसमाथि अहिले अधिकांश विकासे मन्त्रालयहरू नेतृत्वविहीन छन् । यसले विकास बजेट खर्चका योजना असारतिरै सोझिंदै छ । आन्तरिक ऋण परिचालन गरिरहेको छ । सरकारी वित्त व्यवस्थापनमा दबाव झेलिरहेको सरकारलाई महँगो लागतको ऋण परिचालनले थप दबाव बढाएको छ । गत आर्थिक वर्षमा औसत ७.७४ प्रतिशत रहेको विकास ऋणपत्रको लागत चालु आर्थिक वर्षमा हालसम्म बोलकबोल भएको विकास ऋणपत्रको लागत औसत ९.९५ प्रतिशत रहेको छ । विकास ऋणपत्र मात्रै नभएर ट्रेजरी बिलको लागत समेत वृद्धि भएको छ । बैंकिङ क्षेत्र पहिलो पटक प्रश्नको घेरामा छ । विगतमा बाह्य क्षेत्र र सार्वजनिक वित्त क्षेत्र समस्यामा पर्दा पनि बैंकिङ प्रणालीमाथि कुनै गुनासो थिएन । तर अहिले बैंकको ब्याजदरलाई लिएर व्यवसायीहरू नै सडकमा आएका छन् भने लघुवित्त र सहकारी क्षेत्रमाथि अनेकन् प्रश्न उठेका छन् । कोभिडको महामारी र रूस–युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा आएको विचलनको प्रभावले भएको मूल्य वृद्धिको प्रभाव नेपालमा पनि परिरहेकै छ । आयातित वस्तुमा निर्भर अर्थतन्त्रमा विश्वभर परेको मुद्रास्फीतिको चाप नेपालमा पनि परिरहेको छ । महँगीका कारण क्रयशक्ति कमजोर भएका नागरिक दैनिक गुजाराकै समस्या भोगिरहेका छन् । उच्च आयात र महँगी नियन्त्रणको लागि राष्ट्र बैंंकले ब्याजदर बढाउँदा बैंकिङ प्रणालीमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि देखिएको लगानीयोग्य तरलता अभाव र उच्च ब्याजदरको प्रभावले व्यवसायी समस्यामा परे, जसको प्रभावले वित्तीय क्षेत्रमाथि नै अविश्वासको वातावरण सिर्जना भएको छ ।

व्यवसायिक गतिविधिमा सुस्तताले आम्दानी घटेको बेलामा कर्जाको लागत वृद्धि हुँदा व्यवसायीहरू समस्यामा छन् । वित्तीय क्षेत्रविरुद्ध सडक आन्दोलन समेत भइरहेको छ । वित्तीय क्षेत्रको बाहुल्य रहेको पूँजीबजारमा ब्याजदर वृद्धि र वित्तीय क्षेत्रमाथिको अविश्वासका बीच निराशाजनक अवस्था छ । निजी क्षेत्र पनि संकटोन्मुख छ । उद्योग, पर्यटन, शिक्षा, यातायात जस्ता सबैतिर वृद्धि रोकिएको छ । पर्यटन वर्ष २०२० को लागि ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरू कोभिड महामारी र त्यसपछि देखिएको आर्थिक मन्दीको कारण समस्यामा छन् । यति मात्रै नभएर उच्च मूल्यवृद्धि नियन्त्रणको लागि विश्वभरको केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका छन् । 

यस्तो जोखिमपूर्ण अवस्थामा अर्थ मन्त्रालयको नेतृत्वमा को आउँछ भन्नुले भोलिका दिनमा हाम्रो अर्थतन्त्र कुन दिशामा जान्छ भन्ने संकेत गर्छ । सामान्य समयमा मुलुकको अर्थतन्त्र राजनीतिले चलाउने हो । तर अहिले अर्थतन्त्रले राजनीति चलाउने बेला छ र, अर्थमन्त्री बनाउँदा प्रधानमन्त्री र सत्तारुढ दलहरूले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ । अहिले अर्थ मन्त्रालय सम्हाल्न आउने व्यक्तिसँग अर्थतन्त्रको ज्ञान हुनुपर्छ । समस्या बुझेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित पार लगाउने क्षमतावान व्यक्ति अर्थमन्त्री हुनुपर्छ । विगतमा अर्थतन्त्रको विषयमा खासै दक्खल नभएका राजनीतिज्ञले पनि अर्थ मन्त्रालय सम्हालेका थिए । तर अहिले अर्थतन्त्रको ज्ञान भएको व्यक्ति अर्थमन्त्री नभए मुलुक थप समस्यामा फस्न सक्ने छन् । अब नियुक्त हुने अर्थमन्त्रीसँग अर्थतन्त्रको ज्ञानसँगै आम जनताको भरोसा पनि हुनुपर्छ । किनकि नयाँ अर्थमन्त्रीले अर्थतन्त्रमा देखिएको संकट टार्न थुप्रै अलोकप्रिय निर्णय गर्नुपर्ने हुन्छ । त्यो बेलामा आम नागरिकले अर्थमन्त्रीमाथि भरोसा गर्न सकेनन् भने कुनै पनि निर्णय कार्यान्वयन गर्न सहज हुन्न । अर्थतन्त्रको अहिलेको संकट बुझ्न खोज्ने र बुझेपछि यसलाई यसरी निकास दिन्छु भन्ने दृढ इच्छाशक्ति भएको अर्थमन्त्री चाहिन्छ । अर्थमन्त्रीले सरोकारवाला सबै पक्षलाई विश्वासमा लिएर संवाद गरी एउटा निचोड निकाल्नुपर्ने छ । अर्थमन्त्री अर्थतन्त्रको समस्या यो हो भनेर पहिचान गर्न सक्ने र त्यसको सुधारको लागि निर्भीकतापूर्वक अडिन सक्ने व्यक्ति चाहिन्छ । यसले अर्थतन्त्रको सुधारको काम गर्दैछ भन्ने विश्वास नागरिक र बाह्य जगतका मान्छेलाई दिलाउन सकिने परिस्थिति बन्न सक्छ । 

स्ववियुमा गठबन्धन मात्रै


विदुर । आइतवार भएको नुवाकोटको दुई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी निकट विद्यार्थीहरूको गठनबन्धले जित हात पारेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस त्रिशुलीमा संयुक्त प्यालनका उम्मेदवारहरूको सेट नै निर्वाचित भएको छ । 

दुवै क्याम्पसको सभापतिमा प्यालनका तर्फबाट काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदावर र सचिवमा नेकपा माओवादी केन्द्र निकटका अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवारहरू निर्वाचित भएका छन् । त्रिशुलीको मत परिणाम आइतवार साँझ नै आएको थियो भने बट्टार क्याम्पसको अन्तिम मत परिणाम आइतवार विहान मात्रै आएको हो । 

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनबाट सभापतिमा नेविसंघका रविन दाहालको नेतृत्वको प्यानल विजयी भएको  छ । दाहालले कुल खसेको मत ७४२ मा ३४१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार  रिजन प्रधानले १७३ मत पाएका छन् । एमाले निकट अनेरास्ववियुका फैसलदिन मियाले १६७ मत पाएका छन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका दाहालको नेतृत्व रहेको प्यानलबाटै सचिवमा ४३० मत ल्याउँदै अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु विजयी भएका छन् । कोषाध्यक्षमा गठबन्धनबाटै ३४० मत ल्याएर एकीकृत समाजवादी निकट अनेरास्ववियूका मनोज पौडेल विजयी भए । 

यस्तै सदस्यहरूमा नेविसंघको तर्फबाट अश्विन रिमाल, सन्तोष पन्त र सुप्रिया पौडेल, क्रान्तिकारीको तर्फबाट अस्मिता पौडेल र जनक भट्ट, अनेरास्ववियूबाट संजिता रिमाल र प्रदिप ढुङ्गाना विजयी भएका छन् । केन्द्रमा राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन फेरिएपछि त्यसको प्रभाव स्ववियु निर्वाचनमा परेको हो । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघसहितको तीन विद्यार्थी संगठनले गठबन्धन गरेर चुनावी मैदानमा गएका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

नुवाकोट क्याम्पसमा कुल एक हजार १४३ जना विद्यार्थी मतदाता रहेकामा ६५ प्रतिशत मात्र मत खसेको थियो ।

त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच बनेको गठबन्धनै बिजयी भएको छ । सभापतिमा किरण मंग्राती, सचिवमा रिसाल तामाङ र कोषाध्यक्षमा उर्मिला तामाङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा शान्तबहादुर तामाङ, सजना खाती, अशोक अधिकारी, तुलसा अधिकारी र सन्तोषी सुर्खेती निर्वाचित भएका छन् । 

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा नेकपा एमाले निकट अनेरास्ववियुको बाहुल्यता रहेको छ भने त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस त्रिशुलीमा नेपाली काँग्रेस निटक नेविसंघको बाहुल्यता रहेको छ । 



गाउँपिच्छे बाँदर आतंक


विदुर । नुवाकोटमा पछिल्लो समयमा ग्रामीण भेगमा बाँदरले बाली सखाप पारेर दुःख दिएको गुनासो बढेको छ । ‘बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाइदिएको बढी गुनासो आयो,’ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले भने, ‘किसानको गुनासो कति सुन्ने नियन्त्रण गर्न सकिएन ।’ जिल्लाका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ ।

डिभिजन वन कार्यालय नुवाकोटले शुक्रबार आयोजना गरेको वन तथा वातावरणसम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा कृषकले लगाएको बाली बाँदरले खाइदिएपछि क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् ।

तादी, पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, सूर्यगढी, ककनी, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकालगायतका स्थानीय तहमा बाँदरका कारण स्थानीयले खेतबारीमा बाली लगाउन कम गरेको पालिकाहरूले जनाएका छन् । ‘अब मकै लगाउने बेला भयो,’ सूर्यगढी गाउँपालिका–५ का रामराज कम्वरले भने, ‘जुठेल्नामै आएर बाँदरले खाइदिन्छ । अहिले त रातो र लंगुर बाँदर आउँछ ।’

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाइने व्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको व्यवस्था छैन । नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ । बाँकी ३७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षणसम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराइएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने व्यवस्थाबारे जानकारी दिइएको थियो । हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाइते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष सन्तमान तामाङले बताएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सीडीओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाइ हुनेमा आशावादी रहेको बताए । बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

स्थानीय तहका कारण आयोगले काम गरेन

विदुर । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा ढिला भएको छ ।

गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भएको आठबुँदे प्रतिबद्धताअनुसार जग्गा वितरण सुरु भइसक्नुपर्ने थियो । तर हालसम्म कार्यतालिका अनुसार सुरुआती चरणको निवेदन संकलनको कामसमेत पूरा नभएको जिल्ला अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले जानकारी दिए । स्थानीय तहसँग आयोगको केन्द्रीय कार्यालयबीच भएको सम्झौता र त्यसपछि गरिएको प्रतिबद्धताअनुसार वडातहबाट प्रारम्भिक चरणमा गर्नुपर्ने निवेदन संकलनको विवरणसमेत जिल्ला कार्यालयलाई प्राप्त हुन बाँकी छ । ‘भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पालिकाले फरक–फरक समयमा ३५ दिने सूचना प्रकाशित गरेर संकलन गरेका थिए । निवेदनको छानबिनपश्चात् पालिका हुँदै जिल्लामा आइपुग्नुपर्नेमा लिखु गाँउपालिकाबाहेक अन्य पालिकाको प्राप्त हुनै बाँकी छ’, उनले भने, ‘वडा र पालिकाबाट अनुमोदन भएर आएको विवरणमाथि छानबिन गर्दै भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अघि बढाउन पालिकाले गर्ने सिफारिसको पर्खाइमा छौँ ।’

आयोगको जिल्ला कार्यालयको अनुसार हालसम्म नुवाकोटका बाह्रमध्ये सात पालिकाबाट पाँच हजार ४८९ परिवारको निवेदन संकलन भएको छ । ती निवेदनमाथि अहिले वडा र पालिकाले नै प्रविष्ट गरेर जाँचबुझ गरिरहेको जानकारीमा आएको आयोगको जिल्लास्थित कार्यालयका सदस्यसचिव तथा नापी कार्यालय नुवाकोटका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिए । ककनीले एक हजार ८६३, सूर्यगढीले ४६१, किस्पाङले २६२, शिवपुरीले ९९१, म्यागङले १७०, तादीले १८१ र लिखु गाँउपालिकाले एक हजार ५६१ निवेदन वडातहमा दर्ता गरी प्रक्रिया अघि बढाएका छन् । 

अन्य पाँच पालिकाको वडा तहले संकलन गरेको निवेदनको संख्यासमेत यकिन हुन बाँकी रहेको छ । उक्त पालिकाहरूमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका रहेका छन् । 

गत असार २७ मा आयोगको केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्लाका बाह्रवटै पालिकाको प्रमुखले कार्यतालिका निर्धारण गरेर भूमिहीनलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतालगत्तै बर्खायाम सुरु भएको, प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको आचारसंहिता, चाडपर्व, जग्गाको वर्गीकरण गर्न‘पर्ने बाध्यतालगायत कारण देखाइ वडा र पालिकाले तोकिएको समयभित्र काम पूरा गर्न नसकेको जानकारी गराएको सदस्य सचिव सिंह बताउछन् ।

वाणिज्य संघको चुनाव बैशाख ९ गते

सन्तोष उप्रेती
विदुर । जिल्लाका उद्योगी–व्यवसायीको छाता सङ्गठन नुवाकोट उद्योग वाणिज्य संघको ११ औँ अधिवेशन तथा १८ औँ वार्षिक साधारणसभा वैशाखमा हुने भएको छ । बैशाख ७ गते साधारण सभा हुने र निर्वाचन प्रक्रृया ९ गते हुने संघका अध्यक्ष ताराबहादुर कार्कीले जनाकारी दिएका छन् । 

यो अधिवेशनले नेतृत्व चयन गर्ने भएकाले उद्योगी–व्यवसायी नेतृत्वमा पुग्न दौडधुप थालेका छन् । संघको वैशाख ९ गते हुन लागेको चुनावमा संघका वर्तमान कार्यसमितिका पदाधिकारीले नेतृत्व लिने घोषणा गर्न थालेका छन् । संघको विधानअनुसार गत वर्ष चैतमै अधिवेशन गरिसक्नुपर्ने थियो । कोरोनाको महामारी, स्थानीय र त्यसपछिको संघ र प्रदेशको चुनावले गर्दा अधिवेशन १३ महिनापछि आगामी वैशाखमा हुन लागेको महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भावी अध्यक्षमा दाबी गर्दै टिम तयार गर्न तल्लीन छन् । उनले दुई हप्ता अघि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए ।

संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती एक वर्षअघिदेखि अध्यक्षको आकांक्षी रहेका छन् । उप्रेतीले सदस्यता नवीकरणदेखि वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यसँग समन्वय गरिरहेका छन् । दुवै जना नेपाली काङ्ग्रेसनिकट व्यवसायी रहेका छन् । 

काङ्ग्रेसइतर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा पनि छुट्टै टिम बनाएर संघको अधिवेशनमा नेतृत्व लिने तयारीमा जुटिरहेका छन् । संघको निर्वाचन घोषणाले उद्योगी–व्यवसायीलाई भन्दा पनि राजनीतिक दललाई चटारो परेको छ । कोभिडको मारले थिलथिलो भएका व्यवसायी अहिलेको बैंकको पेलाइले बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तो अवस्थामा पनि राजनीतिक दलले उद्योगी–व्यवसायीलाई उरालिरहेका छन् । संघको भावी नेतृत्व सर्वसम्मत गराउन पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र अग्रज व्यवसायीले छलफल सुरु गरेका छन् । अधिवेशनबाट २२ जना निर्वाचित हुनेछन् । संघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, तनिजना महिला सदस्य, नौजना खुला सदस्य, दुईजना वस्तुगत सदस्यको निर्वाचन हुनेछ । निर्वाचनमा झन्डै दुई हजारजना सदस्य मतदाता रहेको संघको सचिवालयले जानकारी दिएको छ ।

राजेन्द्र श्रेष्ठ

    २०४५ सालमा स्थापना भएको संघमा सातजना नेतृत्वमा पुगिसकेका छन् । संघको पहिलो संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, प्रथम अधिवेशनबाट निर्मल श्रेष्ठ, दोस्रो अधिवेशनबाट पनि निर्मल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०५३ मा भएको तेस्रो अधिवेशनबाट बलराम रिजाल, २०५६ मा भएको चौथो अधिवेशनबाट धननारायण चित्रकार र २०५९ मा भएको पाँचौँ अधिवेशनबाट पुनः धननारायण चित्रकार अध्यक्षमा निर्वाचित भएका थिए । 

त्यसैगरी, संघको छैटौँ अधिवेशन २०६२ र सातौँ अधिवेशन २०६५ बाट शरण उत्सुक सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी, २०६५ मा भएको आठौँ अधिवेशनबाट राजन श्रेष्ठ, २०७२ र २०७६ मा भएको नवौँ र दशौँ अधिवेशनबाट ताराबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका थिए । 

नुवाकोटको गोरू पर्वलाई अन्तराष्ट्रिय पुरस्कार


विदुर । नुवाकोटका पुरु लम्साल निर्देशित वृत्तचित्र ‘गोरु पर्व’ले उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ । बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ उक्त अवार्ड पाउन सफल भएको हो । 

गएको माघ १२–१४ गते अर्थात् जनवरी २६ देखि २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायतका विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको छ ।

तारुकाको चन्दनीमा हरेक वर्ष माघेसंक्रान्तिको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथि निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठक र निरञ्जन सिग्देलले गरेका हुन् । वृत्तचित्रको छायांकन रमेशकुमार धमला र ज्योति सिंह र सम्पादन लव प्याकुरेलले गरेका हुन् । वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन राजेन्द्र बजगाईंको पाश्र्वसंगीत रहेको छ ।

निर्देशक लम्सालले गोरु पर्व नेपालको मौलिक संस्कृति भएको बताए । उनले भने, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरूको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौं ।’

रसुवाका बालबालिकाहरूमा कुपोषण

धुञ्चे । रसुवा जिल्लाका बालबालिकाहरूमा कुपोषण भेटिएको छ । भुकम्पका कारण बिस्थापित भएर बिभिन्न स्थानमा एकीकृत बस्तिको रुपमा रहदै आएका स्थानका बालबालिकाहरूमा कुपोषण पुष्टि भएको छ । २०७२ सालको भूकम्पका कारण रसुवामा १ हजार १४८ परिवार विस्थापित भएका थिए । रसुवाको उत्तरगया र आमाछोदिङमो गाउँपालिकाबाट विस्थापित भएका धेरै जना उत्तरगया–५ को बेत्रावतीमा झरेका थिए ।

केही समय बसेपछि भूकम्पले विस्थापित उनीहरूको परिवार उत्तरगयाकै खाल्टे झरेका हुन् । जो अहिलेसम्म गाउँ फर्किन पाएका छैनन् । २०७४ सालदेखि उनीहरू खाल्टे र बोगटीटारमा टिनको छाप्रामा बस्दै आएका छन् । भूकम्पका कारण बसाइँ सर्न बाध्य भएर क्याम्पमा बस्दै आएकाहरूको परिवारलाई कोरोना महामारीले स्वास्थ्य सेवाको पहुँचमा झनै समस्यामा पा¥यो । अभाव र संकटमा परेका विस्थापितका परिवारमा पोषिलो खानेकुराको पहुँच नहुँदा बालबालिकामा कुपोषणको समस्या देखिन थालेको हो । 

खाल्टेमै बस्ने विस्थापित परिवारको सदस्य समेत रहेकी महिला स्वास्थ्य स्वयंसेविका सिटी तामाङ भन्छिन्, ‘भूकम्पपछि क्याम्पमा रहेका बालबालिकामा झाडा–पखाला, छालासम्बन्धी रोग, कुपोषण जस्ता स्वास्थ्य समस्या देखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कोरोनाको महामारीका बेला खाल्टे बस्तीमा करिब ९ जना ख्याउटे बालबालिका भेटिएका थिए ।’

कोभिड–१९ पछिको बन्दाबन्दीका कारण बालबालिकाको नियमित पोषण जाँच हुन नसक्दा कुपोषित बालबालिका पहिचान गर्न समस्या परेको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारमा अर्को विस्थापित क्याम्प छ । त्यहाँ दुई वर्ष मुनिका ९ जना बालबालिका छन् । यीमध्ये ४ जनामा कुपोषण देखिएको छ । २०७९ माघमा नौकुण्ड गाउँपालिकामा पनि कुपोषित बालबालिका भेटिएका छन् । त्यहाँको वडा नं ३ मा ३ र १ मा २ जना कुपोषित बालबालिका भेटिएको स्वास्थ्य स्वयंसेविकाहरूको भनाइ छ ।

विस्थापित क्याम्प भन्दा बाहिर रहेका भूकम्प प्रभावित समुदायका बालबालिकामा पनि कुपोषणको समस्या भेटिएको छ । जस्तो, रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–५ मा गत वर्ष एक जना कुपोषित बालक भेटिएका थिए । यस वर्ष भने कोही भेटिएका छैनन् ।

आमाछोदिङमो–३ गतलाङमा ३ जना कडा कुपोषित बालबालिका भेटिएकोमा थाम्बुचेतमा रहेको बहिरंग उपचार केन्द्रमा उपचार भएर घर फर्केको स्वास्थ्य शाखा प्रमुख निमा लामाले बताए । 

यस्तै, भूकम्पबाट प्रभावित कालिका गाउँपालिकामा यस वर्ष पाँच वर्ष मुनिका ८ बालबालिका कुपोषित भेटिएका छन् । कुपोषित भएको थाहा पाएपछि उनीहरूको उपचार पनि भएको छ । यसमध्ये एक जनाको अहिले पनि उपचार भइरहेको छ ।

उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र ठकुरीले भूकम्प जस्तो विपद्का बेला विस्थापित समुदायमा कम उमेरमै विवाह भएपछि जन्मेका बालबालिकामा कुपोषणको समस्या धेरै देखिएको बताए । 

प्रजनन अंग परिपक्व नभइकन विवाह गर्ने र बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्ने र कुपोषित बच्चा जन्मने जोखिम बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार, कोभिड–१९ महामारीका बेला जिल्लाभरका ४ हजार ८५७ बालबालिकाको पोषण जाँच हुनुपर्नेमा बन्दाबन्दीका कारण ४ हजार २७८ जनाको जाँच नै हुनै सकेन । रसुवामा अहिले दुई वर्ष मुनिका ५ हजार ३७० बालबालिका छन् ।

रसुवामा यस वर्ष कति बालबालिका कुपोषित छन् भन्ने सम्बन्धमा वास्तविक तथ्याङ्क स्वास्थ्य कार्यालयसँगै छैन । स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले संघीयतापछि सबै काम स्थानीय तहले गर्ने भए पनि गाउँपालिका तहबाट एचएमआईएस अनलाइन प्रणाली अन्तर्गतको डिएचआईएस–२ मा अपडेट नगरेकाले जिल्लाभरको पूर्ण तथ्याङ्क आउन नसकेको बताए । स्थानीय तहले पोषण जाँचपछिको तथ्याङ्क यो प्रणालीमा नराख्दा कुपोषित बालबालिका पहिचान गरेर आवश्यक नीति योजना र बजेट कार्यक्रम बनाउन समस्या पर्ने देखिन्छ । योसँगै भौगोलिक विकटताका कारण बस्तीबाट पोषण जाँच्ने स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने र समय लाग्ने भएकाले कतिपय कुपोषित बालबालिका पहिचानमा समस्या भइरहेको छ ।

संघीय सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम अनुसार दातृ निकायहरूको सहयोगमा बालबालिकालाई कुपोषित हुनबाट जोगाउन र गर्भवती आमाको पोषण अवस्था सुधारका लागि भन्दै २०७०/७१ देखि ५ वर्षसम्मका लागि १९ अर्ब २ करोड रुपैयाँ बजेटको बहुक्षेत्रीय पोषण योजना सुरु गरेको थियो ।

खाद्यान्न अभावका कारण कुपोषण

धुञ्चे । रसुवा जिल्लामा कुपोषणका विभिन्न कारणमध्ये खाद्यान्न अभाव एक प्रमुख कारण देखिएको छ । यहाँ खेतीयोग्य जग्गा कम छ । 

कृषि उत्पादनका हिसाबले रसुवामा वर्षमा करिब १५०० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि कार्यालयको प्रतिवेदनबाट देखिन्छ । रसुवामा अन्न उत्पादन कम हुने भएकाले यो न्यूनतम खाद्य असुरक्षित जिल्लामा रहेको छ ।  

स्थानीयस्तरमा धेरै उत्पादन नहुने भएकाले चामल समेत आयात हुने गरेको छ ।  पेटभरी खान समेत धौ–धौ हुने भएपछि पोषणयुक्त खानेकुरा पाउन रसुवाका नागरिकहरूलाई समस्या रहेको छ ।  

यो जिल्लामा कृषि उत्पादनका हिसाबले ८ प्रतिशत जति जमिन मात्रै खेतीयोग्य छ । यहाँ भएको १ लाख ५ हजार २०० हेक्टर जमिनमध्ये १२ हजार ४५८ हेक्टर मात्र खेतीयोग्य छ । यसमा पनि १२०० हेक्टरमा मात्र खेती भइरहेको छ भने ११ हजार १६७ हेक्टर पाखोबारी रहेको कृषि कार्यालयको तथ्याङ्क छ । 

यसरी खाद्य उत्पादन कम हुने जिल्लामा सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिका विपद्को समयमा झनै जोखिममा पर्ने गरेको देखिन्छ । विपद्को समयमा पोषणयुक्त खाना जुटाउने र नियमित खान कठिनाइ परिरहेको स्थानीयहरू बताउँछन् ।

नुवाकोट सेवा समाजमा कार्की


विदुर । नुवाकोट सेवा समाज युएईको अध्यक्षमा नविन कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा २० सदस्यीय कार्य समिति गठन भएको छ ।

गएको शनिबार भएको साधारणसभा तथा अधिवेशनबाट समाजको बरिष्ठ उपाध्यक्ष रविनकुमार खड्की, उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्ष अम्बिका मोहरा, महासचिवमा जगन अधिकारी, सचिवमा सुजन थापा, कोषाध्यक्षमा ईश्वर घिमिरे, सहकोषाध्यक्षमा पार्वती न्यौपाने, प्रवक्तामा सबिना भट्ट चयन भएका छन् ।

सदस्यहरूमा भने श्याम शिवभक्ति, मेनुका अधिकारी, भानुभक्त दाहाल, रञ्जना गौतम, सञ्जय तमाङ, राजेन्द्र खड्का, बिष्णु रिमाल, राजिन्द्र गौतम, सुमित्रा राई, हेमराज नेपाल र राजुविक्रम खतिवडा चयन भएका छन् । समाजको सल्लाहकारमा बासुदेव ढुङ्गाना, राजुराज फुयाल र कानुनी सल्लाहकारमा प्रल्हाद पाठक चयन गरिएको छ ।

समाजका नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो नेतृत्वको लागि समाजले आगामी दिनमा समाज र समाजवासीको हित, सुख, शान्ति र विकासका लागि 

आफूलाई पूर्ण समर्पित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । साधारणसभामा समाजका अध्यक्ष बासुदेव ढुंगाना, बरिष्ठ–उपाध्यक्ष रबिन खड्गी, महासचिव इश्वर घिमिरेलगायतले समाजको वार्षिक नीति तथा कार्यक्रम र प्रगति विवरणबारे प्रस्तुत गरेका थिए ।

आगलागी हुँदा ३ पसल जले


विदुर । नुवाकोटको विदुर नगरपालिका–१ ढुंगेबजारमा आगलागी हुँदा जस्ताको टहराभित्र रहेका तीन वटा पसल जलेका छन् ।

विदुर नगरपालिका–९ घर भइ ढुंगेबजारमा भाँडा पसल गर्ने रामेश्वर अधिकारीको पसल, सुरेश श्रेष्ठको किराना पसल र अर्को फलफूलको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरिक्षक लक्ष्मी खड्काले बताइन् ।

आगलागी गएको सोमबार राति ११ बजेतिरबाट सुरु भएर बिहान दुई/तीन बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सट भइ आगलागी भएको प्रहरीले बताएको छ । 

आगलागीबाट मानवीय क्षति नभएपछि प्लाष्टिका भाडा, खाद्यान्न सामाग्रीसहित लाखौंको क्षति भएको पसलेले बताएको प्रहरीले जनाएको छ ।

कफी खेती गर्ने महिलालाई सहयोग


रोशन बोगटी

पैतिसकिलो । ककनी गाउँपालिकाका कफी खेती गर्ने महिलाहरूलाई दास स्मृती प्रतिष्ठानको तर्फबाट युवा नेता तथा समाजसेवी पुर्णलाल श्रेष्ठले १ लाख सहयोग गरेका छन् । 

साकानो तोच्यु कम्पनी लिमिटेड जापान तथा हिमालयन लक्जरी बिन्स प्रालि नेपालद्वारा प्रशिक्षण दिइएको एक दिने कफी खेती तालिममा सहभागी महिलाहरूलाई बीउ खरिदको लागि श्रेष्ठले सहयोग गरेका हुन् । सहयोग गर्दै पुर्णलाल श्रेष्ठले महिलाहरूले सहयोग पाएमा उद्यम गरेर व्यवसायिक बन्न सक्ने बताएका छन् । 

उनले ककनीमा व्यवसायको लागि सम्भावित क्षेत्रहरूको पहिचान गरी समुदायमा कुन व्यवसाय उपयुक्त छन् ती उपयुुक्त ब्यवसाय गर्न इच्छुक हरूलाइ जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताए । कार्यक्रम ल्याह्सो फ्याफुल्ला सामाजीक उद्यमी महिला सहकारी संस्थाले आयोजना गरेको थियो ।

मृगलाई बासस्थानमा छाडियो


विदुर । विदुर नगरपालिका–२ शिवालयटोलमा बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको छ । 

स्थानीय समुदायको बस्तीमा आइपुगेको मृग स्थानीयले वनका कर्मचारीलाई खबर गरेपछि उद्धार गरी छाडिएको डिएफओ दीर्घनारायण कोइरालाले बताए । उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको कार्यालयले जनाएको छ ।


हटाइए १५ सय दोहोरो मतदाता

विदुर । नुवाकोटमा दोहोरो सूचीमा रहेका एक हजार पाँच सय मतदाता सूचीबाट हटेका छन् । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा दोहोरो मतदाता नामावली भएकाको सूचीबाट नाम हटाइएको हो ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार दोहोरो मतदाता, निधन भएका, नाम फरक, दुई स्थानीय तहमा नामावली रहेको लगायत त्रुटि सच्याउने क्रममा नामावलीबाट सो संख्यामा मतदाता हटाइएका हुन् । जिल्लाका १ हजार ५ सय दोहोरो मतदाताको नामावली हटाइएको कार्यालय प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । कार्यालयले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तर्क्रिरया कार्यक्रममा उक्त जानकारी दिइएको हो । मतदाताले आफ्नो विवरण अनलाइनबाटै अद्यावधिक गर्न सक्ने प्रमुख गौतमले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा २ लाख ४० हजार २७८ जना मतदाता छन् । 

सासु–बुहारी सम्मानित

देवचन्द्र भट्ट

नुवाकोट । बेलकोटगढी नगरपालिकाले उत्कृष्ट सासुबुहारीलाई सम्मान गरेको छ ।  नगरपालिकाले आफ्नो १३  वडाका ४३ जना सासु–बुहारीलाई सम्मान गरेको हो । 

सासु तथा बुहारीहरू जो घरायसी काममा व्यस्त हुने गर्दछन्,उनीहरूको कामको योगदानलाई कदर गर्दै स्थानीय सरकारले सम्मान गरेको हो । 

नगरपालिकाले तोकेका मापदण्डमा परेका सासु– बुहारीलाई सम्मान गरिएको मेयर जगतबहादुर गुरुङले बताए । लैङ्गिक हिंसा र घरेलु हिंसा नभएको परिवारको सदस्य, छोरा, छोरी र बुहारीमा विभेद नभएको, परिवारका सबै सदस्यहरू शिक्षा र स्वास्थमा पहुँच पुगेको, बाल विवाह नभएको घर, बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको घर, बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको र सासु बुहारीको आमाछोरीको जस्तो व्यवहार भएको मापदण्डको आधारमा १३ वडाबाट उत्कृष्ट सासु बुहारीलाई सम्मान गरिएको मेयर गुरुङले बताए । ‘लैंगिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराको साथ मेयर गुरुङले सासु बुहारी सम्मानले महिलाले आ–आफ्नो घर तथा समुदायमा गर्ने काममा अझै परिपक्वता आउने र समाजलाई हिंसामुक्त राख्न पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बेलकोटगढी नपाका १३ वडाका सहकारी तथा किशोरी समूहबीच लोकदोहोरी प्रतियोगिता समेत गरिएको थियो । लोक दोहोरी प्रतियोगितामा बेलकोटगढी नपा वडा नं. ३ को प्रगतिशील महिला समूह प्रथम भएको थियो । दिपशिखा सहकारी महिला विकास समूह दोस्रो भयो ।

चिम्टेश्वर आमा समूह तेस्रो भएसँगै रातमाटे महिला समूहले सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा प्रथम भएको समूहले नगद ५ हजार, दोस्रोले ३ हजार, तेस्रो भएको समूहले  २ हजार रुपैयाँ र सान्त्वना भएको समूहले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

छोरी–बुहारीलाई निःशुल्क उच्च शिक्षा दिइने


रसुवा । आर्थिक अभावका कारण उच्च शिक्षाको संघारमा पुग्न नसकेका छोरी–बुहारीहरूलाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउने उदेश्य अनुरुप कालिका गाउँपालिकाले छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ ।

११३ औं नारी दिवसको अवसरमा आयोजित जिल्लास्तरीय लोकदोहोरी प्रतियोगितामा गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बरका वडाध्यक्ष सन्दिप पौडेलले उक्त घोषणा सार्वजानिक गरेका हुन् । गएको बुधबार बसेको शिक्षा समितिको बैठकले करिब ३३ लाख विनियोजित बजेटबाट छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत पालिकाका क्षेत्रभित्रका छोरी–बुहारीहरूलाई निःशुल्क उच्च शिक्षा प्रदान गरिने निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।

‘कालिका हिमालयन क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गर्ने पालिकाका सबै बुहारीलाई मासिक २० हजार रुपैंयाँको बुहारी छात्रवृत्ति कार्यक्रम लागु गरिएको छ ।’ उक्त क्याम्पसमै स्नाकोत्तर तहमा अध्ययन गर्ने १० जना छात्रालाई मासिक २० हजारको छात्रवृत्ति प्रदान गरिने भएको छ ।

राजनैतिक प्रतिशोधको आधारमा नभई आर्थिक अवस्था कमजोर भएका परिवारका पढ्नबाट बञ्चित भएका छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरिने प्रवक्ता पौडेलले बताए । छात्रवृत्ति कार्यक्रमले बुहारी तथा छात्राको उन्नती प्रगति हुनुको साथै देश निर्माणमा महिलाले पनि उतिकै योगदान गर्नसक्ने भएकोले पालिकाले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएको हो । छोरी–बुहारी छात्रवृत्तिको प्रभावकारिता बारेमा अध्ययन गरी छनोट भएकालाई अध्ययन अवधिभर पालिकाले रकम प्रदान गरिने पौडेलले बताए ।

अधिकांश वनमा डढेंलो


विदुर । सुख्खायाम सुरु भएसँगै नुवाकोटका जंगलमा डढेंलो बढ्न थालेको छ । ३३ वन क्षेत्रमा डढेलो लागेको पुष्टि भएको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले बताए । डढेलोले रुख, वुट्यान, जंगली जनावरका साथै चराचुरुङ्गी क्षति हुने गरेको छ ।

डढेलाले नियन्त्रण गर्न र क्षती हुन नदिन आवस्यक कार्य भइरहेको कोइरालाले बताए। उनका अनुसार जंगलमा डढेलो सुरक्षा गर्न १० जना हरित स्वंसेवक नियुक्त गरेर आवस्यक कार्य भइरहेको बताए । अधिकृत कोइरालाका अनुसार डढेलो नियन्त्रणका लागि कम्तिमा २० जना हरित स्वंसेवक नियुक्त गरेर सवारीसाधनसहित गस्ती गराउन सकियो भने नियन्त्रण प्रभावकारी हुन्छ । 

वनले करारमा अग्नि नियन्त्रकको नाममा १० जना कर्मचारीलाई आगामी असारसम्मका लागि पाँच महिनाको नियुक्ति दिएर राख्ने गरेको छ ।

सुक्खायाम लागेसँगै वनभित्रको सुकेको पत्कर सफा गर्ने, वन प्रवेशमा कडाइ गर्ने र सलाई–लाइटरजस्ता वस्तु नलैजान सर्वसाधारणलाई आग्रह गरिएको सहायक वन अधिकृत राजकुमार यादवले बताए । 

वडा तहमा जन्मदर्ता अभियान सञ्चालन


लाकुरीभञ्याङ्ग । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ र २ मा जन्मदर्ता अभियान सञ्चालन गरिएको छ ।

पन्चकन्या गाँउपालिकाको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपाल तथा ग्रामिण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल)को सहकार्यमा वडा स्थित विद्यालयहरूमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन गरिएको हो । इन्द्रायणी माध्यमिक विद्यालय बानियाटार, आँपचौर आधारभूत विद्यालय, शान्ति विद्या मन्दिर आधारभूत विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको अभिभावकसँग अन्तक्रिया गरी उक्त अभियान सञ्चालन गरिएको थियो । 

उक्त अभियानमा वडा अध्यक्ष, वडा सचिव, वडा सदस्यहरू, सम्वन्धित विद्यालयका प्रधानाध्यापक, जन्मदर्ता गर्न बाँकी रहेका बालबालिकाको अभिभावक, रुडेक नेपालका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जन्म दर्ता गराउन बाँकी बालबालिकाको अभिभावकसँग छलफल गरी जन्मदर्ता नगर्नुको कारण, जन्मदर्ता गर्दाको प्रक्रियाहरू, आवश्यक कागजात लगायतको विषयमा जानकारी गराइएको थियो । जन्म दर्ताको विषयमा वडा नम्बर १ का सचिव सचिव रोशनी पराजुली र वडा नम्बर २ मा वडा सचिव विष्णुमणि घिमिरेले सहजिकरण गरेका छन् । 

अन्तरक्रियाको क्रममा उमेर नपुगी विवाह गरेका, विवाह पछि सम्वन्धमा समस्या व्यहोरिरहेका र अन्य विविध कारणले विवाहदर्ता नभएका आमावुवाका सन्तानहरूको जन्मदर्ता नभएको सम्वन्धित अभिभावकहरूले बताएका थिए । बालबालिकाको पहिचानसँग जोडिएको जन्मदर्ता तत्काल गराउन अभिभावकहरूले प्रतिवद्धता समेत जनाएका छन् । जन्म दर्ता लगायत व्यक्तिगत घटना दर्ता ३५ दिन भित्रमा गराएको खडमा कुनै शुल्क नलाग्ने सरकारी व्यवस्था समेत रहेको छ । 

अन्तरकलेज टि–२० क्रिकेटमा रणभूमेश्वरी विजयी


विदुर । छैठौं अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा रणभूमेश्वरी मावि विजयी भएको छ । नुवाकोट क्रिकेट संघको आयोजना प्रतियोगितामा नारायणदेवी माविलाई ४३ रनले पराजित गर्दै जित निकालेको हो ।

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा गएको हप्ता भएको फाइनल खेलमा रणभुमेश्वरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय २६ रन बनायो । रणभुवनेश्वरीका राजेश रिमालले सर्वाधिक २७ रन र पवन राईले बिस्फोटक ब्याटिङ गर्दे ८ बलमा २२ बनायो । यसैगरी राजन थापामगरले नटआउट रहँदै १६ रन बनाउन सफल भए ।

खेलमा नारायणदेवी माविले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाई ८३ रनको सामान्य योगफल बनायो । नारायणदेवीका आशिक नेपालीले २९ र सुनिल अधिकारीले १३ रन बनाए । बलिङतर्फ नारायणदेवीका आशिक नेपाली र सुवोद लामिछानेले समान ४÷४ विकेट लिए । 

खेलमा राजेश रिमाल म्यान अफ द म्याच घोषित भए । विजयी र उपविजयीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए । प्रतियोगितामा आशिक नेपाल उत्कृष्ट बलर, राजेश रिमाल उत्कृष्ट ब्याटमान र आशिक नेपाली उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

फाल्गुण २६ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा रणभुवनेश्वरी मावि, नारायणदेवि मावि, नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली माविको सहभागिता रहेको थियो ।

संघ स्थापना दिवसमा सम्मान

विदुर । नुवाकोट तेक्वान्दो संघले स्थापना दिवसको अवसरमा १९ वटा विद्यालयलाई सम्मान गरेको छ ।

विदुर नगरपालिका–२ कर्भडहलमा गएको शनिबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रमेशकुमार महतले विद्यालयका पदाधिकारी तथा खेलाडीलाई सम्मान गरेका थिए । नुवाकोट तेक्वान्दो संघको ३० औं वर्षमा प्रवेशको अवसरमा ती विद्यालयका छात्रछात्राले खेलखेलिरहेका स्कुललाई सम्मान गरिएको संस्थापक प्रशिक्षक हरिहर पाण्डेले बताए । नुवाकोटमा २९ वर्षको अवधिमा १ हजार ५ सय खेलाडी उत्पादन भैसकेको उनले बताए ।

अहिले नुवाकोटमा व्ल्याक बेल्टका ४७६ जना खेलाडी छन् । उक्त खेलको माध्यमबाट आफ्नो सुरक्षा र शरीर तन्दुरुस्त राख्ने सफल तेक्वान्दो खेलप्रतिको आकर्षण बढ्दै गएको संस्थापक प्रमुख प्रशिक्षक पाण्डेले बताए ।

२२ स्वर्ण पदकसहित लिखु प्रथम

चौघडा । १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लिखु गाउँपालिका २२ स्वर्णपदकसहित प्रथम भएको छ । गएको बुधबार सम्पन्न भएको प्रतियोगितामा लिखुले १४ रजतपदक र पाँच कास्यपदक प्राप्त गरी प्रथम भएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा विदुर नगरपालिकाले १२ स्वर्ण पदकसहित पाँच रजतपदक र १० कास्य प्राप्त गर्दै द्वितीय र सूर्यगढी गाउँपालिकाले पाँच स्वर्ण पदकसहित नौ रजत पदक र आठ कास्य पदक प्राप्त गरी तृतीय भए ।

फागुन २१ देखि २४ गतेसम्म क्षेत्रपाल माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ विधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो । छनौट भएकाहरूले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

बलात्कार कसूरमा २३ दिन कैद सजाय

विदुर । ककनीका एक पुरुषलाई बलात्कार कसूरमा २३ दिन कैद सजायको फैसला भएको छ । जिल्ला अदालतद्वारा पीडितलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ । गाउँकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूरमा ककनी गाउँपालिका वडा नं. २ का ५० वर्षीय सानुकान्छा बलामीलाई सजाय सुनाएको हो ।

बलामीले किशोरीलाई २०७८ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मंसिर २४ गते उजुरी दर्ता भएको थियो । जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै २३ दिन कैद सजायका साथ २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ । साथै ७ सय रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको जिल्ला अदालतकी सूचना अधिकारी रीता लामिछानेले बताइन् ।

सरकारी वकिलको कार्यालयले बलात्कार कसूर कायम हुनुपर्ने माग दाबी गरेर अदालतमा मुद्दा दर्ता गराएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मंसिर २४ गते नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा गरिएको थियो । जिल्ला अदालतले बलामीलाई २०७८ पुस १४ गते ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यसै बीच, बलात्कार कसुरमा नुवाकोटका एक वृद्धलाई दुई वर्ष कैद सजायको फैसला भएको छ । १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय ऋषिबहादुर बाँस्कोटालाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष कैद सजायको फैसला गरेको हो ।

नुवाकोटका जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले गएको मंगलबार आंशिक दाबी पुग्ने ठहर गर्दै २ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ  पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । २०७७ मंसिर २४ गते बलात्कार गरेको दावी गर्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २९ गते उजुरी दर्ता भएको थियो । जिल्ला अदालतले आरोपित बाँसकोटालाई २०७७ पुस १६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा २६ महिनापछि अन्तिम फैसला भएको हो ।

आम्दानी बढेपछि आलुमा आकर्षण


विदुर । गहुँ र तोरी खेती गर्ने यहाँका किसान पछिल्ला वर्ष आलु खेतीमा आकर्षित भएका छन् । आलुले राम्रो भाउ पाउन थालेपछि किसानको जीवनस्तर फेरिँदै गएको छ । ‘आलुबाट बढी आम्दानी हुन थाल्यो,’ सूर्यगढी गाउँपालिका–५ की उमा कँडेलले भनिन्, ‘गहुँ–तोरीभन्दा चार गुना फाइदा पाइएको छ ।’

उनको पाँच जनाको परिवारको खर्च आलु बेचेरै चलेको छ । उनी वार्षिक ५० बोराभन्दा बढी आलु उत्पादन गर्छिन् । एउटा बोरामा कम्तीमा पनि ४५/५० किलो आलु जान्छ । ‘गहुँ खेती गर्दा ज्याला उठ्नै गारो थियो,’ उनले भनिन्, ‘अहिले घर खर्चदेखि छोराछोरीको पढाइ खर्च यसैले धानेको छ ।’ उनी ५/६ रोपनीमा आलु खेती गर्छन् । 

आलु खेतीबाट आयआर्जनले जीवन फेरिएको बताउँछन् । ‘पहिला मुस्किलले पैसा देख्न पाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले यो नगदे बाली भएको छ र त्यस्तो अवस्था छैन ।’ त्यसैगरी छिमेकी पञ्चकन्या–२ का रामकृष्ण सिटौला पनि आलुबाटै मनग्य आम्दानी गरेका छन् । अन्य बालीभन्दा आलुमा फाइदा भइरहेको बताए । अहिले ४/५ बोरा आलुको बीउ लाग्छ । आलु खेतीमा मिहिनेत गरे पनि किसानले सजिलो रूपमा लिएका छन् । प्रतिकिलो १५–१९ रुपैयाँका दरले आलु बिक्री भएको किसानहरूले बताए ।

नुवाकोटका अधिकांश किसानले वर्षे धान भित्र्याएपछि आलु खेती गर्छन् । यहाँ नीलो एमएस पोट्री टु प्वाइन्ट थ्री जातको आलु खेती बढी छ । आलुले स्थानीय किसानको जीवन सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको ९ वटा गाउँपालिका र एउटा नगरपालिकामा आलु खेती गरिँदै आएको छ । नुवाकोट आलुको बीउबिजन प्रमाणीकरण गर्ने पहिलो जिल्ला पनि हो । एमएस पोट्री टु प्वाइन्छ थ्री, जनकदेव, कार्डिनल र खुमल रातो जातका बीउ छन् । 

बीउबिजन गुण नियन्त्रण केन्द्र हरिहरभवनको सहयोगमा पाँच वर्षअघि नेपालमा पहिलो पटक बीउ प्रमाणीकरण गर्न सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क पुस्तिकाअनुसार हिउँदे आलु खेती ३ हजार ५ सय ६० हेक्टर र बर्खे ७४५ हेक्टर गरी ४ हजार ३०५ हेक्टरमा क्षेत्रफलमा लगाइने गरेको छ । यहाँका आलुको मुख्य बजार काठमाडौं र पोखरा हो ।

सूचनाको हक तल्लो वर्गसम्म कार्यान्वयन हुने


विदुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले सूचनाको हकलाई तल्लो वर्गमा कार्यान्वयन गर्ने बताएका छन् । 

विदुरमा गएको शनिबार आयोजित सूचनाको हक प्रवद्र्धन कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मातहत कार्यालयमा सूचनाको हकलाई मौलिक हकको रुपमा कार्यान्वयनमा लैजान कार्यक्रम गरिएको बताए । सूचनाको हक तल्लो वर्गसम्म पु¥याउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिए ।

उनले राजनीतिक सुशासन कायम गर्न र समृद्धिको यात्रा अगाडि बनाउन सूचनाको महत्वपूर्ण भूमिका रहने भन्दै सूचनाले नागरिकलाई सशक्त बनाउने पनि विचार राखे । मन्त्री श्रेष्ठले भने, ‘यो सूचनाले नागरिकलाई सशक्त बनाउने गर्छ । मुख्य सूचना लिने र दिने हो । नागरिकलाई सूचना दिने हो ।’

मन्त्रालयका सचिव नारायणप्रसाद शर्माले प्रदेश सरकार सुशासनतर्फ लागि परेको बताए । त्यसैगरी वाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले सूचना लिने र दिनेबीच द्वन्द्व रहे पनि सूचना लिन पाउनु नागरिकको हक भएको बताए । उनले कानुनमा भएका भाषा सरिलीकृत गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले सूचना हक लागू गरेर भ्रष्टाचार कम गर्न सुझाव दिएका छन् । उनले सार्वजनिक महत्वका हरेक सूचना स्थानीयलाई समयमै दिएर सुसूचित गराउनुपर्नेमा जोड दिए ।

प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकको माध्यमबाट वाग्मती सरकारले गरेका कामकारबाही पारदर्शी गराई नागरिकमा लोकतन्त्रप्रति बढेको नकारात्मक भावना निरुत्साही गराउन सघाउन पुग्ने बताए । त्यसैगरी मन्त्रालयका अनुशील सापकोटाले सूचनाको हक र त्यसको इतिहासबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

एसइईमा प्रथम हुनेलाई ५० हजार

धुन्चे । रसुवा जिल्लाको कालिका गाउँपालिका–२ ले एसइई परीक्षा २०८० मा जिल्ला प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । 

कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेले कालिका हिमालयन माविबाट एसइई दिने ६८ जना छात्रछात्रालाई सोमबार शैक्षिक सामग्री वितरण गर्दै उक्त घोषणा गरेका हुन् । एसइई परीक्षा २०७९ ब्याचका ६८ जना विद्यार्थीलाई एक–एकवटा क्याल्कुलेटर, एक–एकवटा जोमेट्रिक बक्स, स्केल, पाँचवटा कलमसहित शैक्षिक सामग्री वितरण गरेका हुन् । 

आजका विद्यार्थी देशको भोलिका कणर्धार भएको र उनीहरूको हौसला बढाउन विद्यालयको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै मायाको चिनोसमेत प्रदान गरिएको थियो । वडाध्यक्ष न्यौपानेले आफ्नो व्यक्तिगत खर्चमा ६८ जना विद्यार्थीलाई जनही आठ सय रुपैयाँबराबरको शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । शैक्षिक सामग्री वितरण कार्यक्रममा कालिका गाउँपालिका–२ का शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्षले कालिका हिमालयबाट यस वर्षदेखि एसइर्ई दिने विद्यार्थी जिल्ला प्रथम भएमा विद्यार्थीलाई ५० हजारको पुरस्कार दिने घोषणा गरेको विद्यालयका प्रधानाध्यापक श्याम गुरुङले बताए ।

थापा महासंघको केन्द्रीय प्रतिनिधि


विदुर । नेपाल कराते महासंघको केन्द्रीय प्रतिनिधिमा नुवाकोटका राजु थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

गत हप्ता चितवनमा भएको १३ जिल्लाको बागमती प्रदेशको अधिवेशबाट थापा केन्द्रीय प्रतिनिधिमा चयन भएका हुन् । उनी नुवाकोट करातेका अध्यक्ष हुन् । थापा नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटका उपसभापति समेत हुन् । 

सामुदायिक रेडियोको परामर्श सम्मेलन


गल्छी । रेडियो धादिङले आयोजना गरेको सामुदायिक रेडियो परामर्श सम्मेलन गएको मंगलबार सम्पन्न भएको छ । उक्त सम्मेलनको उद्घाटन सञ्चार सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्दै राजनीति र सामाजिक परिवर्तनमा सामुदायिक रेडियोहरूको महत्वपूर्ण भूमिका रहेकाले स्थानीय तथा मातृ भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरेर थप भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिका र गाउँपालिका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्लाका पत्रकार र देशभरका ६० सामुदायक रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजरको उपस्थिति रहेको कार्यक्रममा मन्त्री शर्माले भने, ‘सामुदायिक रेडियोहरूको भविष्यलाई कसरी उज्ज्वल बनाउने र राष्ट्रले चाल्नुपर्ने कदमको विषयमा पनि छलफल होस् र छलफलका निष्कर्ष मन्त्रालयलाई पनि दिनुस् ।’ तपाईंहरूले निकालेको निष्कर्ष सरकारलाई नीति तथा कार्यक्रम र बजेट बनाउनसमेत काम लागोस् । सामुदायिक रेडियो बचाउन र सामाजिक जागरण ल्याउन के–कस्तो नीति तथा कार्यक्रम ल्याउनुपर्छ खुलेर छलफल गर्न‘होस् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पनि कार्यक्रममा जोडिएकाले सामुदायिक रेडियोमा आबद्ध महिलाको नेतृत्व र दिगो बनाउन सक्ने विषयमा समेत छलफल गर्नुहोस् ।’

रेडियो धादिङका संस्थापक अध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले २०४६ साल चैत १४ गतेको भएको व्यवस्था परिवर्तन गर्न गरिएको आन्दोलनको सन्दर्भ उठाउँदै बिबिसी नेपाली सेवाको समाचारबाट आन्दोलन उठेको बताए । आन्दोलनमा मानिस निस्कन सकेका थिएनन् । नेताहरू मात्र सडकका थिए । जब बिबिसीले १० औँ हजार नागरिक व्यवस्था परिवर्तन गर्न सडकमा उत्रिए । नेपालमा व्यवस्था परिवर्तन हुने सङ्केत देखियो भन्ने समाचार सुनेपछि १५ गतेबाट आन्दोलनमा अत्यधिक मानिस सडकमा आएको स्मरण उनले सो अवसरमा सुनाए । ०६२÷६३ मा पनि धादिङ डोकोमा रेडियो सञ्चालन गरेर आन्दोलनमा मानिस उतार्न सहज भएको बताउँदै त्यही डोको रेडियोको प्रभावबाट रेडियो धादिङ सञ्चालनमा ल्याइएको बताए । यसकारण सामुदायिक रेडियोले सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गर्न‘पर्छ । सरकारले पनि सामुदायिक रेडियो टिकाउन उपयुक्त नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने बताए । आजको दिन पनि सबै गाउँबस्तीमा सञ्चार सुविधा नपुगेको र सबै बस्तीमा रेडियो सुन्न सक्ने अवस्था नभएकाले मन्त्रीको ध्यानाकर्षण उनले गराए ।

राजनीतिक दलहरूले चलाएको आन्दोलनमा सञ्चार जगत्को सकारात्मक सहयोगले आन्दोलन सफल भएको बताउँदै प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले सामुदायिक रेडियोमा आबद्ध सञ्चारकर्मी तथा अभियन्ताको स्वास्थ्य बिमा सरकारले गर्न‘पर्नेमा जोड दिए । संंसार प्रविधिमैत्री भइसकेकाले प्रविधिको प्रयोग गर्न सक्ने वातावरण सरकारले बनाइदिनुपर्ने बताए । धादिङ ०६२÷६३ को आन्दोलन सफल बनाउन डोकोमा सञ्चालन गरेको रेडियोको भूमिका स्मरण गर्दै प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले सामुदायिक रेडियोलाई अहिले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालले चुनौती थपिएको बताए । त्यो चुनौतीको सामना गर्नु स्थानीयको विश्वास जित्ने समाचार र कार्यक्रम प्रसारण गर्नुपर्नेमा उनले जोड दिए । सबैको हातमा मोबाइल छ । नेट भएपछि सबै समाचार मोबाइलमा आउँछ । तर, आफूलाई बिहानको समाचार रेडियोबाटै सुन्नुपर्ने बानी परेकाले ६ बजेदेखि ७ बजेसम्म रेडिया नै सुन्ने गरेको बताए । सामुदायिक रेडियोले स्थानीयलाई लक्षित गरी स्थानीय समाचार तथा कार्यक्रम प्रसारण गर्न जोड दिनुपर्ने बताए । सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष अर्ज‘न गिरीले अझ पनि सामुदायिक रेडियोमैत्री ऐन–कानुन पर्याप्त नभएकाले मन्त्रीको ध्यान जानुपर्ने बताए ।

२०५४ साल जेठ ९ पहिलोपटक सामुदायिक रेडियो सगरमाथाले प्रसारण अनुमति पाएको थियो । सामुदायिक रेडियो प्रसारणको २५ वर्ष भएकाले यसै सन्दर्भमा परामर्श सम्मेलन गरिएको रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले बताए । सम्मेलनमा आदिवासी जनजातिको भाषा पुनरुत्थान, संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक प्रसारण र सामुदायिक अभियानको साझेदारी, सामुदायिक प्रसारणमा महिला सहभागिता, नेतृत्व विकासका अवसर र चुनौती, 

सामुदायिक प्रसारणका २५ वर्षका उपलब्धि, मुख्य चुनौती र सम्भावना गरी चार क्षेत्रगत विषयमा कार्यपत्रमाथि प्रस्तुति र टिप्पणी गर्ने कार्यक्रम रहेको छ । रेडियो धादिङले रेडियो प्रसारण सुरु गरेदेखि नै चेपाङ र तामाङमा समेत समाचार प्रसारण गर्दै आएको छ । चेपाङ भाषामा समाचार प्रसारण गर्ने रेडियो धादिङ हो भने समाचारलेखन,वाचक उद्धव चेपाङ हुन् ।

एमालेको अभियान नुवाकोटका सबै टोलमा


विदुर । नेकपा एमाले सङ्गठन सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेर ७७ वटै जिल्लाको वडाको टोलटोलमा पुगेको छ । 

यो अभियानअन्तर्गत नुवाकोट जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि १२ वटै पालिकाको बैठक गरेर कार्ययोजना तयारीका लागि बैठक सम्पन्न गरेर वडावडामा प्रतिनिधिमार्फत भेला, बैठकमा व्यस्त छन् । जिल्लामा एमाले केन्द्रीय कार्यालयले खटाएका प्रतिनिधिसँगै प्रदेश र जिल्लाले खटाएका प्रतिनिधि पालिका कमिटीसँग समन्वय गरेर कार्ययोजना बनाउन व्यस्त छन् ।

नुवाकोट जिल्लामा अभियान सफल बनाउन पार्टीले केन्द्रीय सदस्य कृष्णबहादुर राई, हरिकृष्ण व्यञ्जनकार, शर्मिला कार्की, निता कार्की र माधव अर्याललाई खटाएको छ । पहिलो चरणमा केन्द्रीय प्रतिनिधिले १२ वटै पालिका कमिटीको बैठक गरेर अभियानबारे छलफल गरिसकेको जिल्ला पार्टी उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । जिल्लाको विदुर, किस्पाङ, म्यागङ र सूर्यगढी पालिकामा अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य कृष्णबहादुर राईले गएको शनिबार कार्ययोजना तयारीका लागि संयुक्त बैठक विदुरमा सम्पन्न गरेर वडा र टोलटोलमा प्रतिनिधिलाई खटाएको जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले बताए । सम्पन्न संयुक्त बैठकले अभियानअन्तर्गत गरिने कार्ययोजना पारित गरेको सचिव सुदर्शन नेपालले जानकारी दिए । 

यो अभियान वैशाख ९ गते समापन हुने भएकाले एमालेका जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य अहिले जिम्मेवारी पाएको भूगोलमा सम्बन्धित कमिटीसँग समन्वय गरेर सङ्गठन सुदृढीकरण र विस्तारमा व्यस्त छन् । 

जिल्लाको १२ वटा पालिका, ८८ वटै वडामा एमालेले यो अभियान सदस्यता विस्तार, नवीकरण, कमिटी पुनर्गठन, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा सङ्गठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्र्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकाममा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ । यो अभियान चिनियाँ नेता माओले आमाबाट प्राप्त गरेको शिक्षासँग मिल्दो–जुल्दो देखिन्छ । सायद अध्यक्ष केपी शर्मा ओलीलाई पनि एमालेको जरामा मलजल नपुगेको अनुभूति भएको छ । जराको उपचार सकिएपछि लाग्न सक्छ, रोग त हाँगा र टुप्पामा पनि पो रहेछ र त्यहाँ पनि उपचार जरुरी छर । कुनै समय आमा बिरामी पर्दा बगैँचा हेरचाहको जिम्मेवारी माओले पाएछन् । केही दिनपछि आमा तङ्ग्रिएर बगैँचा पुग्दा डाँठहरू सुकेका र पात पहेँलो हुँदै गएका देखिछिन् । 

छोराले बगैँचा स्याहार नगरेको ठानेर आमा रिसाइछिन् । दैनिक पात पुछ्दै, हाँगाहरू पानीले सफा गरे पनि बोटबिरुवाको हालत खराब भएको माओले स्पष्टीकरण दिएछन् । यो सुनेपछि आमाले भनिछिन्, ‘तिमीले मिहिनेत गरेछौ, तर सही ठाउँमा गरेनछौ ।’ जरामा पानी हालेको भए हाँगा र पात सुक्दैनथ्योर । यो अर्तीपछि माओले चीनको जरा, ग्रामीण किसानबाट क्रान्ति सुरु गरेर । यसकै जगमा जनगणतन्त्र चीनको स्थापना भयो ।

एमालेले पनि जरा सङ्गठनका रूपमा रहेको टोलसम्मका पार्टी प्रणालीमा उपचार गर्ने अभियान ल्याएको छ । जरा स्वस्थ र सञ्चारित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू बलिया हुन्छन् । यसअघि पार्टीका जराहरू कमजोर भइरहेकोप्रति त्यति वास्ता गरिएन । जरालाई माया नगर्ने व्यवहार विकसित हुँदै गयो । जरा सङ्गठनले पाउनुपर्ने अधिकार कटौती हुँदै गए । जस्तो गत स्थानीय निर्वाचनमा, जसले जिताउनुपर्ने हो, उसलाई बेवास्ता गरियो । उम्मेदवार छनोटको अधिकार कटौती गरियो । काम मात्र थोपरियो । माथिल्ला कमिटीबाट वडा र पालिकामा उम्मेदवार तोकिए । यसको परिणाम दुःखद आयो । पछिल्लो समय जरा सङ्गठनलाई ध्यान नदिई टुप्पा–टुप्पाबाट पार्टीका सबै निर्णय भइरहेका छन् । निर्णय अधिकार खिच्ने, आफू–आफू मिलेर लाभको बाँडफाँट गर्ने तथा राजकीय पद र सुविधाको खिचातानी गर्ने परिपाटी अस्वाभाविक रूपमा देखियो । हाँगा र पातमा अनेक विकृति फैलिएपछि पार्टी थेग्ने जरा शिथिल र रोगी हुन थाले । हालै सकिएको तीनै तहका निर्वाचनमा जराले आफ्नो तागतसम्म प्रस्तुत गर्न सकेन ।

संसदीय प्रतिस्पर्धामा अब्बल एमालेले मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सफल प्रयोग गरिरहेको छ । नेपाली विशेषतासहितको जबजको जगमा एमालेले जनमत पाइरहेकै छ । यति हुँदाहुँदै पनि सङ्गठन नै सङ्गठन भएको पार्टी किन असङ्गठितजस्तो लाग्छ ? विचार भएको पार्टीका नेता–कार्यकर्ता किन दोबाटोको यात्रीजस्तो अलमलमा छन् ? पार्टीको आधार मानिएको जनवर्गीय सङ्गठन किन शक्तिहीन भइरहेका छन् ? यस्ता प्रश्न मिसन ग्रासरुटले निरुपण गर्ने अपेक्षा गरिएको छ । निर्वाचन परिणाम सोचेभन्दा फरक आउँदै छ भन्ने पत्तो नपाउने ग्रासरुट सङ्गठन त्यति बेला निदाएकै थिए त ! भुइँ सङ्गठनमा लागेको रोग निदान गर्न यसपटक केन्द्रीय टोली खट्ने भनिएको छ । परन्तु, यो ‘दौडाहा टोली’ मात्र हुन सक्छ । दौडेर पुग्ने, दौडेर फर्कने मात्र गर्दा वडास्तर सङ्गठन सुदृढ गर्ने अभियान प्रभावकारी हुन सक्दैनन् । 

हुन त ग्रासरुटमा खटिएका पार्टी नेताहरू ६० दिनसम्मै जनताका घरमा हुने भनिएको छ । नेताहरूको सुविधाभोगलाई निरुत्साहित गरिएको छ । प्रत्येक दिनको कामको दैनिक कार्यतालिका केन्द्रमा सम्प्रेषण गर्न भनिएको छ । चुनौती सामना गर्न र नवीन विचार दिन सक्ने नेता–कार्यकर्ता उत्पादन गरिने उल्लेख छ । तर्कशील, मिहिनेती, श्रमजीवी नेता र कार्यकर्ता बनाउने लक्ष्य राखिएको छ ।

केन्द्रीय सदस्यले आफ्नो जिल्ला र पालिकाभन्दा फरक स्थानमा काम गर्नुपर्ने सूची सार्वजनिक भएको छ । तिनले सबै वडामा काम गर्नेछन् । आवश्यकताका आधारमा टोल कमिटीसम्म पुग्नेछन् । नेताहरूले घर–घरमा पुगेर जनताका समस्या बुझ्नेछन् । गुनासा पहिचान गर्नेछन् । निर्वाचन जितिएन भने पार्टीले शासन गर्न सक्दैन । 

जबजको मार्गदर्शन अनुसार समाजवादका आधार तयार गर्न सत्तामै पुग्नुपर्छ । पार्टीबाहिरका कारकबाहेक पछिल्ला निर्वाचनमा सोचेअनुरूप परिणाम नआउनुमा अन्तर्घात र अस्वस्थ अन्तर्सङ्घर्ष मुख्य कारण भएको एमालेको निष्कर्ष छ । 

अहिलेको अभियानले यसैको उपचार गर्ने उद्देश्य लिएको छ । त्यस्तै प्रविधिको उचित प्रयोग गर्न पनि पार्टीपङ्क्ति चुक्दै छ । मिसन ग्रासरुटले कार्यकर्तालाई प्रविधिको दास बन्ने होइन, प्रविधिको उपयोग गर्न सिकाउँछ । यसको विकृत पक्षबाट जोगिन पहल गर्छ । अभियानले पार्टी सङ्गठनका इन्जिनका पार्टपुर्जा कसकास गर्छ । तल्ला सङ्गठनको जराको ओखती गर्छ । पार्टी सदस्यता नवीकरण गर्न शिविर सञ्चालन गर्छ । नयाँ सदस्यलाई आकर्षित गर्छ । राजनीतिक दलका लागि पार्टी सदस्य ठूलो सम्पत्ति हो । –त्रिशुली प्रबाह साप्ताहिकबाट साभार

२०७९ साल चैत ६ गतेको सम्पादकीय

स्ववियु समय सापेक्ष बनाउनु आवश्यक

स्वतन्त्र विद्यार्थी युनियन सबै विद्यार्थीको मतद्वारा चुनिने एउटा वैधानिक संस्था हो । देश, काल र समयअनुसार स्ववियुको स्थापना तथा नामकरण फरक ढंगले गरिए पनि संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्च छ । पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ सालअगाडिदेखि नै हुँदै आएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा भने २०२० साल स्ववियु स्थापना भयो । १९ वैशाख, २०२० मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी डम्मरवीर थापा र भक्तगोविन्द श्रेष्ठलाई त्यस वेलाका विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गरे । सो कारबाहीविरुद्ध विद्यार्थी जमात मूलतः स्ववियु खोल्न पाउनुपर्ने मागसहित आन्दोलित बन्यो, परिणामस्वरूप त्रिविमा स्ववियु स्थापना भयो । २० भदौ २०२० मा त्रिविमा विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि विद्यार्थी युनियनको नाम परिवर्तन गरी स्वतन्त्र विद्यार्थी युनियन राखियो । 

पञ्चायती व्यवस्थामा राजनीतिक व्यवस्थालाई चुनौती दिँदै हुर्किएको स्ववियुले के आजको राजनीतिक व्यवस्थाका दुर्गुणमाथि प्रश्न गर्न सक्छ ? क्याम्पसका ठेक्कापट्टा, शिक्षक नियुक्ति, नक्कली कार्ड, थेसिस बेचबिखन, प्रश्नपत्र खरिद–बिक्री, विद्यार्थी भर्नाको रकममा अनियमितता, प्रशासनसँग विभिन्न बहानामा पैसाको लेनदेन आदि तमाम मुद्दामा आजको विद्यार्थी आन्दोलन र स्ववियु अल्झिरहेको छ । समयको पदचापलाई पछ्याउने स्ववियु निर्माणको दिशातर्फ समग्र विद्यार्थी आन्दोलन अग्रसर हुन जरुरी छ । वास्तवमा स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि मात्रै नभई जनजीविकाका सवाल र राष्टिूयताका सवालमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले स्ववियुलाई पनि समय सापेक्ष बनाउँदै लैजानु आवश्यक छ । अनियमितता र भ्रष्टाचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौँ पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने, चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ । त्यसका लागि सुरुबाटै आचारसंहिता बनाएर जानु उपयुक्त हुन्छ ।  

चुनावको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि कुनै न कुनै बहाना बनाएर चुनाव रोक्ने प्रवृत्तिको सिकार स्ववियु चुनाव बन्दै आएको छ । कथंकदाचित टेबुल टकबाट चुनाव रोक्ने प्रयास विफल भए हिंसा र विध्वंसमा समेत विद्यार्थी संगठन उत्रिएका दृष्टान्त छन् । उनीहरूका यस्ता काममा शासक दलले साथ दिएका छन् । सत्ताको दुरुपयोग हुने गरेको छ । विद्यार्थी संगठनका नाममा हुने विध्वंशात्मक घटना र सत्ता दुरुपयोगले विद्यार्थी आन्दोलन अझ बदनाम बन्यो । शासक दलसम्बद्ध विद्यार्थी संगठनका गलत क्रियाकलापले समग्र विद्यार्थी राजनीति बदनाम हुँदा स्ववियु चुनावको उपादेयतामाथि नै प्रश्न उठ्न थाल्यो । लोकतान्त्रिक र शैक्षिक रूपान्तरणको आन्दोलनको धरोहर स्ववियु निर्वाचनलाई पञ्चायत वा माओवादी हिंसाले पनि रोक्न सकेको थिएन । 

विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापित स्ववियुमा पछिल्ला वर्षमा देखिएका गुन्डागर्दी, अपारदर्शिता र आर्थिक अनियमितता मौलाउन थालेको छ । विकृति नै विकृति मौलाएकोले यसमा आमूल सुधार आवश्यक छ । स्ववियु निर्वाचनमा भइरहेका चुनावी प्रचार–प्रसारका व्यापक तडकभडक र आर्थिक गतिविधिका अस्वाभाविक प्रक्रिया विगतभन्दा भिन्न, पारदर्शी र समयानुकूल बनाउन आवश्यक छ । 

क्याम्पस र विश्वविद्यालयमा नयाँ पुस्ता मात्र आइरहेको छैन । उसले नयाँ सोचविचारसहितको पद्धति अँगाल्ने नयाँ दिमाग पनि ल्याएको छ । त्यसलाई सम्बोधन गर्ने हामीसँग के नयाँ सोच, शैली, विवेक, पद्धति र कार्ययोजना छ ? सबैले आफैँलाई सोध्नुपर्ने प्रश्न हो यो । त्यो हुन सकेन भने आफ्नो संगठनको नामको अघिल्तिर महान तथा गौरवशाली संगठन भन्ने फुर्को जोडेर मात्र काम चल्नेवाला छैन । 

यसै पनि सरकारी शैक्षिक संस्थाप्रतिको आकर्षण ओरालो लागिरहेको अनि राजनीतिलाई फोहोरी खेलको रूपमा अर्थ्याइने गरिएको सन्दर्भमा त्यो हुन नदिन र राजनीति नै देशका सबै नीतिको मियो हो र त्यसैअनुसार हामी राजनीतिबाट टाढा बसेर मात्र होइन, त्यसैभित्र पसेर सुधार गर्नुपर्छ भन्ने चेतना कहिले भर्ने हो ? अनि पढाइमा असफल भएपछि मात्र राजनीति विकल्प बन्न सक्छ भन्ने आम बुझाइलाई चिर्नुपर्ने बेला भएको छ । 

समय–सापेक्ष स्ववियुको संरचना र स्वरूप अनि त्यसको भूमिका पनि परिवर्तन हुनु आवश्यक छ नै । विकासशील राष्ट्रको प्रमुख समस्या भनेको दक्ष र दीक्षित मानवीय शक्तिको अभाव नै हो, एकातिर भने बेरोजगारीका कारण शिक्षित युवापंक्तिको विदेश पलायन अर्को समस्या हो । जबसम्म नीति निर्माताले यसरी नै शिक्षा क्षेत्रलाई राजनीतिक नाराको रूपमा मात्रै सीमित गर्छन्, तबसम्म देशमा कुनै पनि परिवर्तन र उपलब्धि दिगो हुन नसक्ने निश्चित छ । 

नेपालका विश्वविद्यालयबाट वर्षेनी हजारौँ नेपालीले स्नातकोत्तर तह उपाधि हासिल गर्छन् । तर, उचित अवसरको अभावमा तिनीहरू विदेश पलायन हुन बाध्य छन् । देशको आवश्यक जनशक्ति कुन हो र कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गरेपछि जनशक्तिको खपत र देशको सर्वांगीण विकास हुन सक्छ भनी पहिचान गर्न आजको आवश्यकता छ ।