Monday, April 10, 2023

नुवाकोटमा रेलमार्ग सर्भे

चिनियाँ टोली नुवाकोटको मुख्य ब्यापारिक केन्द्र बट्टार बजारमा सर्भे गर्दै । तस्बिर : इमेज

विदुर । काठमाडौं–केरुङ र काठमाडौं–रक्सौल रेलमार्ग राष्ट्रिय चर्चामा आएको वर्षौँ भइसक्यो । राष्ट्रिय चर्चामा रहेका यी दुई रेलमार्गको प्राविधिक अध्ययन सुरु गर्ने जिम्मा र अध्ययनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने जिम्मा उत्तर र दक्षिणका मित्रराष्ट्रलाई दिएको थियो । काठमाडौं–केरुङ रेलमार्गको सर्भेका लागि चीन सरकारको चासो बढेको छ । चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे गत हप्तादेखि सुरु गरेको छ भने काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा भारत सरकारले सकेर अन्तिम प्रतिवेदन तयारीमा छ र । चिनियाँ नयाँ वर्ष मनाएर गत फागुन २४ मा फर्किएको प्राविधिक टोली सर्भेका लागि रसुवा पुगेको होर । टोलीमा ४० जना प्राविधिक रहेका छन् । अध्ययन असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन ।

चिनियाँ टोली काठमाडौं, नुवाकोट हुँदै रसुवा पुगेको हो । यी तीनवटै जिल्लामा फिल्ड सर्भे हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवम् प्रवक्ता अमन चित्रकारले बताए । ‘अहिलेसम्म विभिन्न समयमा गरेर ४० जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएर फिल्डमा गइसकेको छ,’ उनले भने, ‘दुई देशबीच भएको सहमतिअनुसार अध्ययन अघि बढ्नेछ ।’ पुस तेस्रो साता पनि चिनियाँ प्राविधिक टोली रसुवागढी पुगेको थियो । त्यतिबेला स्याफ्रुबेँसी, धुन्चे र रसुवागढीलगायत ठाउँको सर्भे गरेर टोली काठमाडौं फर्किएको थियो ।

सुरुमा चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो । अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली थपिएर अध्ययनका लागि आएका हुन् । ‘यसअघि आएर टोलीले सामान्य फिल्ड हेरेर चिनियाँ नयाँ वर्ष मनाउन गएको थियो,’ चित्रकारले भने, ‘अब भने नियमित अध्ययन हुनेछ ।’ उनका अनुसार रेलमार्ग जहाँ–जहाँ बनाइने भनिएको छ, त्यहाँको भौगोलिक बनावटदेखि निर्माणमा लाग्ने कुल लागत अध्ययनबाट थाहा हुनेछ । रेल विभागका प्राविधिक कर्मचारी आवश्यक सहजीकरणका लागि चिनियाँ प्राविधिक टोलीसँगै फिल्डमा गएको उनको भनाइ छ । ‘एरिएल सर्भेबाट फिल्डको अध्ययन गरिनेछ,’ उनले भने, ‘त्यसका लागि हेलिकोप्टर, ड्रोनलगायत उपकरण प्रयोग हुनेछन् ।’

चिनियाँ प्राविधिक टोली कसरी अध्ययन गर्ने भन्नेबारे दुई दिनसम्म छलफल गरेर फागुन २९ मा फिल्ड गएको रेल विभागका महानिर्देशक रोहित बिसुराल बताउँछन् । ‘लामो समयपछिको प्रतीक्षापछि फिल्ड सर्भे सुरु भएको छ,’ उनले भने, ‘केही समस्या नआए तोकिएको समयमै अध्ययन सकिनेछ ।’ अध्ययनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध भएसम्म नेपालकै प्रयोग गर्ने र नभएको खण्डमा मात्र चीनबाट ल्याउने उनको भनाइ छ । प्रारम्भिक अध्ययनअनुसार सम्भाव्यता अध्ययन गर्न ४२ महिना लाग्नेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गको 

वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुङ्गिनेछ । ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । ०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्नेछ । उक्त रेलमार्ग निर्माणगर्न दुई खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

काठमाडौं–केरुङसँगै चर्चामा रहेको काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन । अध्ययनअनुसार उक्त रेलमार्ग निर्माण गर्न तीन खर्ब २० अर्ब रुपैयाँ लाग्नेछ । विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको यो लागत अनुमान निकालिएको हो । ०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । विभागका महानिर्देशक बिसुरालका अनुसार आगामी वैशाख दोस्रो साताभित्र तयार भइसक्नेछ । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले यसको अध्ययन गरेको हो । अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी एक सय ४० किलोमिटर हुनेछ । ‘यो विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बराबरकै अध्ययन हो, अन्तिम प्रतिवेदन तयारपछि यसैका आधारमा निर्माणमा जान सकिनेछ,’ बिसुरालले भने, ‘लागत र दूरीमा भने प्रतिवेदन तयार पार्दासम्म तलमाथि हुन सक्छ ।’ कोंकणले नेपाल सरकारसँगको समन्वयमा आठ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

८८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित


सुनिल श्रेष्ठ

विदुर । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण गत साता सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार देशभर ३० लाख ७ हजार ६४८ बालबालिकाको जन्मदर्ता रहेकोमा ७ लाख ८० हजार ९३३ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको छ । जसमा नुवाकोट जिल्लामा ६८ हजार ६७९ परिवार संख्या रहेकोमा २३ हजार १९६ बालबालिकाको मात्र जन्मदर्ता रहेको छ । जसमा ८ हजार ८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ ।

जिल्लाका दुई नगरपालिकामा २ हजार ९०६ जना र १० गाउँपालिकामा ५ हजार ९८० जना बालबालिका जन्मदर्ता बाहिर रहेको तथ्यांक छ । विदुर नगरपालिकामा ५ हजार १६३ बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ५९५ जना र बेलकोटगढी नगरपालिकामा २ हजार ९२० बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ३११ जना बालबालिका जन्मदर्ता बाहिर रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा १ हजार ३ जना, तादीमा ६९५ जना, सुर्यगढीमा ३६९ जना, किस्पाङमा ३७२ जना, म्यागङमा ४३५ जना, तारकेश्वरमा ४४३ जना, लिखुमा ५३७ जना, पञ्चकन्यामा ४५८ जना, शिवपुरीमा ६०७ जना र ककनीमा १ हजार ६१ जनाको जन्मदर्ता नभएको तथ्याङ्क रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा कुल २ हजार ३३८ जना, तादीमा १ हजार ४७८ जना, सुर्यगढीमा १ हजार २८९ जना, किस्पाङमा १ हजार ४०१ जना, म्यागङमा १ हजार १५३ जना, तारकेश्वरमा १ हजार ३१७ जना, लिखुमा १ हजार ४९४ जना, पञ्चकन्यामा १ हजार ७८ जना, शिवपुरीमा १ हजार ३१९ जना र ककनीमा २ हजार २४४ जना बालबालिकाको जन्मदर्ता छ ।

जन्मदर्ता नहुनुमा पारपाचुके, विविध पारिवारिक उल्झनको कारणले छुटिएको आमाबुबा, अत्यावश्यक काम नपरी आफ्नो बालबालिकाको जन्मदर्ता नगर्ने लगायतका कारण बालबालिकाको जन्मदर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । संविधानले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखे पनि सडक बालबालिका, परिवार त्याग गरेका बालकालिका कानूनी पहिचानबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा १ लाख २८ हजार ९९८ पुरुष र १ लाख ३४ हजार ३९३ महिला गरी कुल २ लाख ६३ हजार ३९१ जना देखिएको छ । जसमा २ हजार ४९४ पुरुष र २४९ महिला गरी कुल २ हजार ७४३ जनाको संस्थागत तथ्यांक छ । वार्षिक जनसंख्या वृद्धि दर ०.५ प्रतिशतका दरले जनसंख्या वृद्धिमा ऋणात्मक देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छर । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।

काम गर्न आठ हजार विदेशिए

विदुर । नुवाकोटबाट वैदेशिक रोजगारीमा जाने बढेका छन् । आर्थिक वर्ष २०७८÷७९ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ८ हजार ४२० जना पुगेका छन् । वैदेशिक रोजगारीमा जाँदा सिप, कानुनी प्रक्रिया अपनाएर जान र सचेत गराउन थालिएको छ । त्यसका लागि अपनाउनुपर्ने विषयका बारेमा विहिबार आयोजित सुरक्षित वैदेशिक रोजगारका विषयमा नुवाकोटका पत्रकारहरूसंग गरिएको अन्तरक्रियामा उक्त जानकारी दिएको हो ।

वागमती प्रदेशबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत लिनेको संख्या ९१ हजार ५१० जना रहेका छन् । रोजगारका लागि दिनानुदिन वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि उनीहरूलाई सिप विकास, कानुनी विधि प्रक्रिया अपनाएर सुक्षित रोजगारीमा जानुपर्ने विदुर नगरपािलकाका मेयर राजन श्रेष्ठले बताए । 

देशभरि सिप सिकेर जाने ३८ प्रतिशत छ । सिप नसिकेका ५४ प्रतिशत रहेको कार्यक्रममा बताइएको थियो । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको व्दिपक्षीय सम्झौता अनुसार वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नुवाकोटमा संचालित छ । २०७२ देखि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखुगाउँ पालिका र शिवपुरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको छ । 

भिजिट भिसा र अध्ययन गर्न जानेको संख्या नुवाकोटमा बढिरहेको स्वीस अन्तर्गत हेल्वेटासका कार्यक्रम अधिकृत भागीराम थारुले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताए । वैदेशिक रोजगारमा गएकाहरू दैनिक ४÷६ जनाको शव आउने जानकारी दिए । विदेश जान सही सूचना र सिप लिएर मात्रै वैदेशिक रोजगारीमा जान उनले सुझाव दिए । 

कानुनी प्रक्रिया नबुझेर विदेशमा रोजगारगारीमा जाने क्रम बढ्दै गएको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए । वैदेशिक रोजगारीले आव २०७८÷७९ मा १० खर्ब ७ अर्व रेमिट्यान्स देशमा भित्रेपनि सुरक्षित र दक्ष जनशक्ति अभाव कायमै रहेको कार्यक्रममा जानकारी दिइयो । नेपालबाट दैनिक २५ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत साउनदेखि फागुनसम्ममा ९ हजार ६६ जनाले राहदानी आवेदन संकलन गरेको छ । गएको ८ महिनामा ८ हजार ४ जनालाई राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । राहदानी वितरण हुन बाँकी साढे ५ हजार रहेको छ । नागरिकले दक्ष, कानुनी प्रक्रिया बुझेर व्यवस्थित, भरपर्दो र सुरक्षित भएर वैदेशिक रोजगार अपनाउनु पर्ने प्रजिअ थापाले बताए ।

नुवाकोटको सिन्दूरे जात्रा सुरुवात मिति यकिन छैन

जिवित देवताको रुपमा पुजिने ८५ वर्षिया धामी हरिमानसिंह डंगोल । तस्बिर : इमेज फाइल

विदुर । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गतका मुख्य गतिविधिहरू सकिएका छन् । तर जात्रा भनेको विधि भने २०८० सालको बैशाख ३ गतेसम्म जारी रहन्छ । भैरवी वर्षबन्धन–२०७९ को धार्मिक विधि वैशाख ३ गतेसम्म कायम रहने नुवाकोट दरबार मौला अमालका द्वारे (सरकारका प्रतिनिधि) महेन्द्रकुमार शाहीले जानकारी दिएका छन् । 

गत फागु पूर्णिमाको दिनदेखि सुरु भएको यो वर्षको भैरवी वर्ष बन्धनअन्तर्गत यही चैत २२ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिंगो ठडाएसँगै यहाँको वातावरण उल्लासमय भएको थियो । जात्राको मुख्य उल्लाख भने चैत २५ गते सिन्दूर खेलेपछि सकिएको छ । ‘सरकारी जात्राका रुपमा रहेको सिन्दूरे जात्रा कहिलेदेखि सुरु भएको भन्ने यकिन मिति पाइन्नँ’, शाहीले भने, ‘विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबार निर्माण गरेर जात्रालाई विशेष रुपमा मनाउने व्यवस्था मिलाइएको देखिन्छ ।’

सिन्दूरे जात्राको विशेष रौनक लिंगो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्का रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोग बलि, राष्ट्रमा के हुन्छ भनेर उनले गर्ने भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाभरका  व्यक्तिहरूको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वका रुपमा रहन्छ ।

शुक्रबार बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका हरिमानसिंह डंगोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गरे । शाहीका अनुसार शनिवार बिहान दोस्रो चरणको भोग खाएपछि बिहान ५ बजे भगवान्सँगको प्रत्यक्ष साक्षात्कारका रुपमा दैवी शक्ति स्वरुपाका धामीले सो भविष्यवाणी गरेका हुन् । ‘भोग बलि खाइसकेपछि आगामी वर्ष (विसं २०८० मा) मुलुकमा के हुन्छ भनेर गोप्य रुपमा भविष्यवाणी गर्न‘भएको र त्यसलाई गोप्य रुपमा नै राष्ट्राध्यक्ष (राष्ट्रपति) समक्ष पठाइनेछ’, द्वारे शाहीले भने, ‘धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई शब्दमा उतारेर राष्ट्रपतिसमक्ष पठाउने गरिएको छ । शुभ रहेमा हर्षोल्लास गरिनेछ भने अशुभ संकेत देखिएमा राष्ट्रप्रमुखका तर्फबाट राष्ट्रपतिले क्षमापूजा गर्न लगाउनुहुनेछ ।’

चैतशुक्ल पूर्णिमाका दिन शुभसाइत बनाई गुभाजुमार्फत विशेष अनुष्ठान र तान्त्रिक विधिबाट भगवान्मा चढाइएको धामीलाई जीवित भगवान् (भैरवी देवीको प्रतीक)का रुपमा लिने गरिन्छ । बिहीबार साँझ भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिरतर्फ प्रस्थान गरेका धामी–धमिनीसहितको लवालस्कर नुवाकोटबाट बट्टारबजार, पुरानोपाटी, इनारपाटी, बाणाचौतारो, तल्लो पीपलटार हुँदै देवीघाट पुगेको हो । परम्परादेखि नै भैरवीदेवीको रथयात्रा गराउँदै आएका लच्याङ्गी गुठियारहरूले बिहीबार साँझ भैरवीदेवीको रथयात्रा भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिर परिसर पु-याएका थिए । अहिले देवीघाटमा रहेका धामीधमिनीसहितको भैरवीको रथयात्रा शनिबार अपराह्न नुवाकोट मण्डलातर्फ पु-याइएको थियो ।

धार्मिक विधिअनुसार गुठीको जग्गामै बनाइएको पदमार्गमा धामीले यात्रा गर्ने गरिए पनि उनको ढल्कँदै गएको उमेर (हाल ८५ वर्ष) र स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै केही स्थानमा सवारीसाधनमार्फत यात्रा गराइएको छ । जात्रालुहरूले धामीले जालपादेवी मन्दिर पुग्नुअघि एक किमी अगावै पृथ्वी स्मारक उद्यान नजिकै त्रिशूली नदीमा स्थान गरेसँगै उनी हिँड्ने बाटोमा शुद्ध र सफा सेतो कपडा ओछ्याएर जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गर्दै जालपादेवी मन्दिरसम्म पु-याएका थिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा जबरजंगगण देवीघाटका नेपाली सैनिकहरूले निशान झन्डा र भैरवी सलामीको बढाई दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर हालेसँगै यो वर्षको सिन्दूरे जात्रा समापन भएको छ । 

अध्यागमन कार्यालयमा भीड


रसुवा । गएको शनिबारबाट रसुवागढी नाका पूर्णरूपमा खुलेसँगै अध्यागमन कार्यालय घझ्खोेलामा सेवाग्राहीहरूको भीड लागेको छ । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमतिपत्र नवीकरण तथा नयाँ लिनेको भीड लागेको हो । 

नाकाबाट मानिसको आवतजावत ३८ महिनादेखि ठप्प रहेको थियो । दुईतर्फी रुपमा मानिसको आवतजावत पनि शनिबार बिहानबाट खुलेको छ । मानिसको आवतजावत खुलेसँगै चीन प्रवेश गर्नको लागि पास नवीकरण तथा नयाँ लिनेहरूको भीड लागेको अध्यागमन कार्यालयले बताएको छ ।

नाकामा आवतजावत बन्द हुँदा तीन वर्षदेखि नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूले प्रस्थान : प्रवेश अनुमति पत्रको नवीकरण तथा नयाँ बनाउन पाएका थिएनन् । शनिबार बिहानैदेखि प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरणको लागि कार्यालय खोलिएको थियो । उक्त दिन नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमति पत्र लिएका २ सय ४० जनाको नवीकरण गरिएको अध्यागन कार्यालय रसुवागढी, रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । त्यस्तै, आवतजावत खुलेको ३८ महिनापछि शनिबार रसुवागढी नाकाबाट २५ जना अराइभल र १२ जना डिपार्चर भएको उनले बताए ।

चीनसँग सीमा जोडिएका जिल्लाबासीहरूलाई चीन सरकारले एक वर्षसम्म प्रवेशका लागि अनुमति दिँदै आएको छ । नेपाल चीन सीमा क्षेत्रका नागरिकहरू नेपाल चीन सीमा क्षेत्रका नागरिकहरूका लागि प्रस्थान : प्रवेश अनुमतिपत्रको आधारमा चीन प्रवेश पाउने गर्दछन् । पहिलो दिन शनिबार प्रस्थान : प्रवेश अनुमति पत्र नवीकरण गरेका चालक, कामदार, व्यापारी र व्यावसायी गरी ८१ जना जिल्लाबासी पनि केरुङतर्फ पुगेका छन् । उक्त प्रस्थान : प्रवेश अनुमतिपत्र लिएका जिल्लाबासी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । अनुमतिपत्र अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो ।

अर्को पनि दमकल खरिद गर्ने निर्णय

विदुर । नुवाकोटमा सुख्खायाममा आगजनी नियन्त्रणका लागि दमकल पर्याप्त नभएको कारण थप दमकल खरिद गर्ने तयारी भएको छ । जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले १२ स्थानीय तह रहेको नुवाकोटमा छिमेकी स्थानीय तहहरूबीचको समन्वयमा दमकल खरिद गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा विदुरमा बसेको  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नुवाकोट आगलागी जन्य विपदबाट जोखिम रहेकाले आगो नियन्त्रणको लागि दमकलको आवश्यक रहेको भन्दै यस्तो निर्णय गरेको हो । जिल्लाको १२ वटै स्थानीय तहहरू मध्ये बढीमा ३ वटा पालिकाहरूबीचको समन्वयमा दमकल खरिद गरी सञ्चालनमा ल्याउन सकिए आगलागी जन्य घटनाबाट क्षतिको न्यूनीकरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् ।

जिल्लाभरिमा सदरमुकामको विदुर नगरपालिकाले मात्रै २ वटा दमकल सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले सञ्चालन गर्ने  दमकलले नगरभित्र मात्रै नभई जिल्लाभर नै सेवा पु-रहेकोले सञ्चालनको लागि अन्य पालिकाहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको मेयर राजन श्रेष्ठले बताए । तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले दम्कल सञ्चालनको ग्रामीण भेगमा सञ्चालित सडक साँघुरो रहेको गुनासो गरे । सडक नजिकका बाहेक वनजंगलमा आगलागी हुँदा दमकलको प्रयोग गर्न असम्भव भए पनि गाउँबस्तीमा आगलागी भएमा दमकलको उपयोगिता बढी हुने उनको भनाइ छ । 

त्यस्तै बैठकमार्फत् विभिन्न ९ बुँदे निर्णयसमेत गरेको छ । सुख्खायामको समयमा आगलागीको घटनाहरू बढ्ने भएकोले त्यस्ता जोखिम युक्त स्थानहरूको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न स्थानीय तह, वडा कार्यलय, डिभिजन वन कार्यलय, प्रहरी युनिट मार्फत नियमित निरिक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

किसानलाई हाते ट्रयाक्टर

विदुर । खेती गर्ने मौसम सुरु भएपछि किसानहरूको सुविधाका लागि नुवाकोटको माझिटारमा किसानहरूलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । 

विदुर नगरपालिका ५ माझिटारमा रहेको अक्कलादेवी कृषि सहकारी संस्थाले आफ्ना किसान सदस्यहरूलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो । सो सहकारीको पहलमा कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष  २०७९–०८० को  स्वीकृत   दलहन बाली  प्रर्वद्धन कार्यक्रमका लागि कृषकलाई  प्रबिधि हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत  ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष राजकुमार अर्जेलले जानकारी दिए ।

अक्कलादेवी कृषि सहकारी संस्थामा आवद्ध १२ जना किसानलाई खेती गर्नका लागि जोतखन गर्नका लागि हाते ट्रयाक्टर प्रदान गरिएको हो । किसानहरूलाई खेत तथा बारी जोतखन गर्न सुविधा पुगेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

विज्ञान माविका पुर्व विद्यार्थीहरूको भेला


काठमाडौं । नुवाकोटको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपमा रहेको विज्ञान माविका भुतपुर्व विद्यार्थीहरूको भेलाले तदर्थ समिति गठन गरेको छ । विद्याल स्थापनादेखि हालसम्म एसएलसी÷एसईईसम्म अध्ययन गरेका पुर्व विद्यार्थीहरूको धभेपुर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको हो । काठमाडौंमा चैत २५ गते भएको पुर्व विद्यार्थीहरूको भेलाले १५ सदस्यीय तर्दथ समिति गठन गरेको छ । 

अध्यक्षमा केशवप्रसाद भण्डारी, उपाध्यक्षमा कृष्णबहादुर राजभण्डारी, सचिवमा बासुदेव अधिकारी, सह–सचिवमा रामशरण खनाल, कोषाध्यक्षमा बैकुण्ठ थापा र सह–कोषाध्यक्षमा बासुदेव खनाल छन् ।  

सदस्यहरूमा सुशीला अधिकारी, कृष्णबहादुर सत्याल, रेखा खनाल, सितालाल तामाङ, अशोक रिजाल, लक्ष्मण खनाल, राजकुमार ओझा, श्यामबहादुर तामाङ र सिर्जना खनाल छन् । 

तस्बिर समाचार

ग्रामिण स्वाबलम्वन विकास केन्द्र (आरएसडिसी)ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई चार दिने लेखा तालिम प्रदान गरेको छ । तालिम समापन समारोहमा पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला केसी (बाँयाँ) सहभागिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै । 


नुवाकोटको सिन्दूरेजात्रा


रिना खनाल

नेपाल एकीकरणपछि एक दशक देशको दोस्रो राजधानीको रूपमा परिचित सांस्कृतिक केन्द्र नुवाकोट सम्पदा र संस्कृतिको भण्डार मान्न सकिन्छ । सङ्घीय राजधानी काठमाडौंजस्तै विभिन्न जात्रा नै जात्राको गाउँभन्दा पनि फरक नपर्ला । जात्रा तथा पर्वमा रमाइरहन नुवाकोट यतिबेला भने सिन्दूरेजात्राको उल्लास छ । सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ । मुख्य आकर्षणको केन्द्र रथयात्रा र जीवित भगवान्को रूपमा पुजिने धामी–धमिनी नै हुन् ।

नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताले गर्दै आएका छन् । यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ । बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ । भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रूपले अपरम्पार छ । देवीजात्रा अर्थात् सिन्दूरेजात्रालाई यस क्षेत्रमा विशेष महत्व साथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दूरेजात्रा धुमधाम साथ मनाइन्छ । यो जात्रा फागुपूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ र यस दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ । यसलाई मिनी सिन्दूरेजात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेँसीबाट फर्कन्छन् ।

सिन्दूरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारको व्यवस्था हँुदै आएको छ । चैत्रशुक्ल चतुर्दशी (यसपटक चैत २२ गते बुधबार) का दिन बेलुका कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधि सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्वारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ र बज्राचार्यद्वारा धामी–धमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ । यसप्रकार धामी–धमिनीमा देवीको रूप धारण भइसकेपछि काम्न थाल्दछन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोच्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलिको कार्य सम्पन्न भइसकेपछि बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइअनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय व्यक्तिबाट हुन्थ्यो । केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न सकिँदैन । लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रूपधारण गरी आसन जमाएर बसिरहनुपर्दछ । यो अवधि धामीका लागि कष्टकर हुन्छ । तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिङ्गो वैशाख कृष्ण नवमी (वैशाख १) र दशमी (वैशाख २) का दिन क्रमशः ढालिन्छ ।

चैत शुक्ल पूर्णिमाको दिन (चैत २३ गते बिहीबार) बिहान धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरबारबाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामी–धमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामी–धमिनी र गणलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहस–नहस बनाएपछि र बर्खाको पानीले ढलेको छ, यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यकती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्दछन् । खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्ति राखिएको हुन्छ । त्यो खटलाई लच्याङका तामाङले बोक्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैँचा हुँदै देवीघाटमा पु¥याइन्छ । भैरवीको बिर्तामा बसेको कुमालेले बाराही मन्दिरदेखि नै भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्दछन् । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।

देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यबाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो ।

हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ । प्रतिपदाको दिन (२४ गते) देवीघाटको मेला सकिएपछि धामी–धमिनीलगायत अन्य गण बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । 

माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामी–धमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्वितीयाको दिन (चैत २५ गते शनिबार) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखको उपस्थितिमा दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । त्यस्तै साततले दरबारअगाडि र तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ । बढाइँ सकिएपछि रथ उठाएर धामी–धमिनीको यात्राका साथ सैनिकको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो जात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धमिनीलाई सिन्दूर हालिन्छ र यसले सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्तीअनुसार जालपादेवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्षबढाइँ गरिएको मानिन्छ । विशेष लयमा नाच्दै रमाउँदै चिराग लिएर नाइकेको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानीतर्फ लम्कन्छ । तुलजाकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । 

रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामी–धमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट अर्थात् (चैत २६ गते आइतबार) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमातृकाको खटअगाडि डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट दुईवटा राँगाको विशेष भोग खुवाइने गरिन्छ । यस अवसरमा बढाइँ गरिन्छ । देवताको रूप धारण गरेका धामीले राँगा, बोकाको रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् ।

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिलाई मन्दिरमा पुनस्र्थापना गरिन्छ । बाह्र भाइ खलकीद्वारा मन्दिरमा क्षमापूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । 

यसपछि पनि स–साना जात्रा भइरहन्छन् । देवी जात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुसियालीमा उत्सवको रूपमा मनाइने परम्परा छ । सिन्दूरेजात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिन प्रमाण भने भेटिएको छैन । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक हरेक दृष्टिले महत्वपूर्ण छ नुवाकोट । 

यहाँका अनेकौँ देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तु भूकम्पले ध्वस्त बनायो । तैपनि यी स्थल स्वदेशी तथा विदेशी पर्यटकको ध्यान तान्न अझै सक्षम छन् । देशकै सबैभन्दा लामो रथयात्रा मानिने पर्वमा स्थानीय सरकारले  बिदा नदिनु गैरजिम्मेवारी मान्ने पो हो कि ? यस पर्वबारे जानकारी गराउन भए पनि नगरपालिकाले सबै जनसमुदायलाई उपस्थित गराउन सार्वजनिक बिदा दिन चुकाउनुहुँदैनथ्यो । यसतर्फ स्थानीय सरकार तथा जनप्रतिनिधिले चासो दिनु जरुरी छ । देश र समाजको एकता र प्रगतिका लागि संस्कार र संस्कृतिलाई आत्मसात् गर्दै प्रवद्र्धन गर्न मद्दत मिल्छ ।

जथाभावी कोट्याउनु हुँदैन नाक

प्रा. डा. ढुण्डीराज पौडेल

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्न‘ जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ?

नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गर्ने विभिन्न भाइरस नाकमा प्रवेश गर्छन् । एलर्जी गर्ने ‘प्रोटिन’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ । धुलो, धुवाँ, संक्रमण गर्ने भाइरस र एलर्जी नाकको माध्यमबाट शरीरमा पुग्दा कसैलाई रोग लाग्छ र कसैलाई रोग लाग्दैन किन भन्ने प्रश्न पनि आउँछ । जो व्यक्तिमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ, नाक सुख्खा भइरहन्छ र एलर्जी भइरहन्छ । उनीहरूमा लामो समयसम्म रुघा लाग्ने, पिनास हुने, नाकको हड्डी बाङ्गो हुने जस्ता नाकको समस्या हुन्छ ।

हामी सामान्य रूपमा नाकबाट राम्ररी अक्सिजन लिइरहेका हुन्छौं । तर नाकमा कुनै समस्या भएको खण्डमा भने नाकबाट राम्ररी अक्सिजन लिन सक्दैनौं ।

सफा गर्नु पर्दैन

स्वस्थ व्यक्तिले नाकको भित्री भागलाई सफा गर्न‘ जरुरी छैन । कुनै रोग नलागेको अवस्थामा नाक, कान जस्ता अंग स्वतः सफा हुन्छ । तर नाकमा संक्रमण भयो, केही जमेर बस्यो र पिनास भयो भने मात्र सफा गर्नुपर्छ । नत्र सामान्य अवस्थामा सफा गर्नु पर्दैन ।

कोट्याउनु हुन्न

नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्न‘ हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ  । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्न‘पर्छ । यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ । कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ ।

सुतेको बेला 

नाकको प्वाल पालैपालो कहिले दायाँ कहिले बायाँ खुल्ने हुन्छ । यो नाकको सामान्य चक्र हो । तर लामो समयसम्म एउटा नाक बन्द भइरहने, नाकबाट बाक्लो सिंगान आउने, टाउको दुख्ने र नाक दुख्ने हुन्छ भने नाकको रोगको लक्षण हुन सक्छ ।

रुघा लाग्दा  

रुघा लाग्ने भनेको भाइरल संक्रमणले हुने हो । भाइरल संक्रमण हुँदा नाकमा पानीको मात्रा बढेर नाक वरपरको कोष सुन्निन्छ र साँघुरिन्छ, जसले नाक बन्द हुन्छ ।

हड्डी बाङ्गो भए

जन्मने बेला पाठेघरको हड्डीमा नाक ठोक्कियो, नाकको विकास हुने क्रममा कतै ठोक्कियो वा बच्चाहरूमा खेल्दा लडेर नाकमा चोट लाग्यो भने नाकको हड्डी बाङ्गो हुन्छ । नाकको हड्डी बाङ्गो भएर वा बढेर नाकको प्वाल बन्द हुने र टाउको दुखिरहने भयो भने शल्यक्रिया गरेर बाङ्गो भएको हड्डीलाई सिधा बनाउनुपर्छ ।

(प्रा. डा. पौडेल नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग अनलाईन खबरका सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

समाजवादीको विदुर अध्यक्षमा सजन


विदुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेलाले २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

विदुर नगर कमिटीको आयोजनामा शनिवार भएको भेलाले विदुर नगर कमिटीको संयोजकमा सजनकुमार श्रेष्ठलाई चयन गरेको हो । पार्टी उपसचिव उद्वव पनेरुका अनुसार सहसंयोजकमा सुजना खतिवडा, सचिवमा दिपेशलाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा जीवन कुमाल, दिपक थापा, सविता श्रेष्ठ, हरिमाया तामाङ श्रेष्ठ, गौरी विक, राजु रिमाल, शंकर गजुरेल, साजन राई, गोपिनी केसी, बासु चित्रकार, अनिश्मा राई, सीता राई, सविता सडौला, कृति थापा, हरि गुरुङ, निर्जल राई, विनोद केसी, शारदा गजुरेल, सम्भव न्यौपाने, महेन्द्रलाल डंगोल छन् । 

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपमहासचिव गंगालाल तुलाधारले समाजवादी पार्टीलाई नुवाकोटको १२ वटै पालिकाहरूमा वडा कमिटी देखि पालिका किमिटी सम्मका सबै संगठन बिस्तार गर्दैलैजानका लागि सहयोग गर्न केन्द्रीय पार्टीले नुवाकोटमा खटाएको र पार्टीको निर्देशन अनुसार सबै भातृसंगठन बनाएर जाने प्रतिवद्वता व्यक्त गरे । उनले संगठनमा आवद्ध सदस्यहरूले पार्टीका हरेक मोर्चामा आफूलाई दरिलो र तर्कसंगत रुपमा टोल र बस्तिहरूमा समाजवादको नारा लिएर जान निर्देशन दिए । तुलाधारले भने – ‘एकीकृत समाजवादी र समाजवादका विषयमा पशिक्षण कार्यकर्तामा दिएर समाजवाद किन चाहिन्छ भन्ने परिभाषा नागरिकहरू माझँ परामर्श दिनुआजको मुख्य आवश्यकता रहेको छ ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लोहनी, केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कँडेल, पार्टी अध्यक्ष गोबिन्द नेपाली, केन्द्रीय निर्वाचन आयोगका सदस्य शसन्त बस्नेत, केन्द्रीय परिषद सदस्य यमकुमार खाती, कृष्णप्रसाद दाहाल प्रदेश कमिटी सदस्य राजु सडौला, पार्टी सचिव पदम उप्रेती, जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल, नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ, युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी, समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगाएतको उपस्थिति रहेको थियो ।

यसै बीच, उक्त कार्यक्रममा नेकपा एमाले बेलकोटगढी नगरपालिका नगर कमिटी सदस्य सोमप्रसाद भट्टले एमाले पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा समाहित भएका छन् । 

महिला संघ समाजवादीमा शान्ता


विदुर । अखिल नेपाल महिला संघ (समाजवादी) नुवाकोटको जिल्ला अधिवेशन आयोजक भेलाले ५१ सदस्यीय सहितको पदाधिकारी चयन गरेको छ ।

विदुरमा भएको भेलाबाट संघको संयोजकमा शान्ता थापा अधिकारी र सचिवमा जमुना गजुरेललाई चयन गरेको छ । सदस्यहरूमा ईश्वरी नेपाल, नानीमैया बस्नेत, शर्मिला राई, सुजना खतिवडा, चम्पा तामाङ, संस्कृति बिश्वकर्मा, बिविना लामिछाने लगायत अन्य ४२ सदस्यहरू चयन भएका छन् । 

भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी नुवाकोटका जिल्ला इञ्चार्च राजेन्द्रप्रसाद लोहनीले महिलालाई घरदेखि वडा, पालिका हुदैं सदनसम्म पुर्याउन पार्टीगत या संगठनका रुपमा सबैले एक्यबद्धता जनाउनुपर्ने बताए । केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कँडेलले महिला संगठन पार्टीको मात्र नभई हरेक महिलाको हक, अधिकारको ओकालत गर्न सक्षम हुनुपर्ने बताए ।

नर्वाचितको सम्मान


विदुर । नेपाल खेलकुद महासंघ समाजवादी जिल्ला कमिटीले स्वतन्त्र विद्यार्थी यूनियनमा निर्वाचित चार विद्यार्थी नेतालाई सम्मान गरेको छ । खेलकुद महासंघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको तर्फबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोटको स्ववियु निर्वाचनमा निर्वाचित भएका तीन जनालाई सम्मान गरेको महासंघका अध्यक्ष रामकाजी दीक्षितले जानकारी दिए । सम्मानित हुनेमा स्ववियुका कोषाध्यक्ष मनोज पौडेल र सदस्यहरू सन्जिता रिमाल र प्रदिप ढुङ्गाना रहेका छन् ।

यसैगरी खेलकुद महासंघले शंकरदेव क्याम्पसको स्ववियुको सदस्य पदमा निर्वाचित नुवाकोटकी बिबिना लामिछानेलाई सम्मान गरेको छ । नवनिर्वाचित विद्यार्थी नेताहरूलाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी, नेकपा एकीकृत समाजवादी नुवाकोटका सचिव पदम उप्रेती, जिल्ला युवा समितिका अध्यक्ष उद्धव पनेरुलगायतले संयूक्तरुपमा खादा लगाई सम्मान–पत्रले सम्मान गरेको छ ।

सशस्त्रको आधारभूत तालिम


ककनी । नुवाकोटमा सशस्त्र प्रहरी जवानको आधारभूत तालिम समापन भएको छ । ककनी गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयमा यही वैशाख १४ गतेदेखि सञ्चालित तालिम शुक्रबार समापन गरिएको हो । 

सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त कवाच समापन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री उपस्थित थिए । उनले नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि कटिबद्ध रहेको बताए । ‘नेपाल, नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि पेसागत दक्षता र मानवअधिकार सम्मान सम्बर्द्धन गर्दै कार्यान्वयनको पूर्ण जिम्मेवारीका साथ कार्य गर्नुपर्ने छ,’ उनले भने । परिस्थितिअनुसार उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन उनले  निर्देशन दिए ।

आधारभूत तालिममा ९३ मध्ये ८५ जना प्रशिक्षार्थीहरू मात्र सहभागी थिए । ३४ हप्ता प्रशिक्षण अवधि रहेकोमा पहिलो चरणमा १७ हप्ता र दोस्रो चरणमा १७ हप्ता गरी दुई चरणमा सञ्चालन भयो ।

तालिमप्राप्त जवानलाई डीआईजी खत्री, सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयका प्रमुख एसएसपी कृष्ण ढकाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका एपी रमेश पण्डितले जवानलाई दज्र्यानी चिह्न लगाइदिएका थिए । धादिङ ज्वालामुखी गाउँपालिका–६ का नवीन श्रेष्ठलाई डीआईजी खत्रीले सुरुमा खुकुरी प्रदान गरेका थिए ।

लेखापढी अध्यक्षमा उत्तमराज


विदुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नुवाकोटको अध्यक्षमा उत्तमराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

गएको शनिबार विदुरमा भएको एसोसिएसनको ८ औं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रुकबहादुर हमाल, सहसचिवमा श्यामराज पाण्डे, कोषाध्यक्षमा शुसिला वाइबा तामाङ र सहकोषाध्यक्षमा नितु थापा शाह निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा तोयानाथ गजुरेल, गोविन्द चालिसे, सृजना तामाङ, माधव सिलवाल, सुरेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे र नारायण पौडेल रहेका छन् । 

कार्यक्रममा जिल्ला न्यायाधीश मदनबहादुर धामिले सेवाग्राहीको अवस्था र मर्मलाई बुझेर सहजीकरण गर्ने र निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पुरा गर्न‘पर्नेमा जोड दिएका छन् । साथै नयाँ कार्यसमितिले प्रविधि मैत्रीपूर्ण, समय सापेक्ष प्रशिक्षणमूलक कार्यक्रमहरू आयोजना गरी सेवाग्राहीलाई सरल छिटोछरितो ढङ्गले कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका छन् ।

सात स्थानीय तहले जग्गा वर्गीकरण गरेनन्

विदुर । नुवाकोटको सात वडा स्थानीय तहहरूले अहिलेसम्म जग्गाको बर्गीकरण गर्न सकेका छैनन् । तोकिएको म्याद नाघेको तीन महिना बितिसक्दा पनि जिल्लाका विदुर नगरपालिका, म्यागङ, किस्पाङ, शिवपुरी र तारकेश्वर गाउँपालिका बाहेकका स्थानीय तहले जग्गाको बर्गीकरण गर्न नसकेका हुन् । 

ती पालिकामा जग्गाको वर्गीकरण भूउपयोग नियमावलीअनुसार वर्गीकरण गरेर मालपोत कार्यालय पठाएपछि अहिले जग्गाको कित्ताकाटको काम खुला भएको छ । गत वर्ष ०७८ जेठ महिनाको अन्तिम साता सरकारले भूउपयोग ऐन र नियमावली जारी गरेको थियो । उक्त नियमावलीअनुसार स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न गत पुस २२ गतेसम्म समय–सीमा दिएको थियो । भूउपयोग ऐन र नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेर मात्र बेचबिखन गर्नुपर्ने व्यवस्था रहेको थियो । यसको निम्ति कृषि र गैरकृषियोग्य जग्गालगायत १० विभिन्न क्षेत्रमा जग्गाको वर्गीकरणलाई नियमावलीले अनिवार्य गरेको छ । वर्गीकरणको आधारमा मात्र अंशबन्डा, किनबेच साथै कित्ताकाटको काम गर्न सकिने नियमावलीमा उल्लेख छ । 

सात वटा स्थानीय तहले जग्गाको वर्गीकरण नगरेको कारण जग्गाको कित्ताकाट रोकिएको मालपोत कार्यालयले नुवाकोटले जनाएको छ । पटक–पटक ताकेता गरिरहँदा पनि जिल्लाको आठवटा स्थानीय तहले आफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न नसकेको मालपोत कार्यालय नुवाकोटले जनाएको छ । 

सरकारले दिएको छ महिना जग्गा वर्गीकरण गर्ने समयसीमालाई नुवाकोटका पाँच स्थानीय तहले कार्यान्वयनमा ल्याएपनि अझै सात स्थानीय तहमा जग्गाको कित्ताकाट नहुँदा किनबेच, अंशबन्डा गर्न स्थानीयले पाएका छैनन् । पालिकाले जग्गाको वर्गीकरण नगर्दा सर्वसाधारणलाई मर्का परिरहेको छ भने सरकारको राजस्वमा समेत प्रभाव परेको छ ।

कृषि र गैरकृषि भूमि वर्गीकरण गर्न नसक्दा जिल्लाको ककनी, तादी, लिखु, पञ्चकन्या, सूर्यगढी, दुप्चेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा कित्ताकाट ठप्प हुन पुगेको छ । दायित्व र जिम्मेवारीलाई ख्याल नगर्दा जिल्लाका आठ पालिकाका जनतालाई मर्का परिरहेको छ । नियमावलीमा नै जग्गाको वर्गीकरणको अधिकार स्थानीय सरकारलाई तोकिएको भए पनि नुवाकोटका सात पालिकाले अझै महत्व नदिँदा आमजनताको धरायसी व्यवहारमा प्रतिकूल प्रभाव परिरहेको छ । भूउपयोग नियमावलीमा भूमिलाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका वा अन्य क्षेत्र भनी १० प्रकारमा वर्गीकरण गर्न‘पर्ने व्यवस्था गरिएको छ । 

नुवाकोटको सात स्थानीय तह सहित देशभरिका झण्डै ६ सय स्थानीय तहले जग्गाको वर्गीकरण टुङ्गयाउन सकेका छैनन् । देशभरका सात सय ५३ वटै पालिकाले गत मङ्सिर २३ गतेसम्म आफ्नो क्षेत्रको जग्गालाई कम्तीमा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिसक्नुपर्ने थियो । सरकारले भूउपयोग नियमावली, २०७९ जारी गरेको नौ महिना भइसक्दा पनि करिब ८० प्रतिशत पालिकाले जग्गा वर्गीकरणमा अलमल गरिरहेको विभागको विवरणले देखाउँछ । जग्गा वर्गीकरण नटुङ्गिँदा देशभर कित्ताकाट पनि ठप्प छ । 

स्थानीय तहले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरी सिफारिस नगरेको जग्गा कित्ताकाट गर्न नपाउने निर्णय गरी परिपत्र भएको थियो । नियमावलीमा भूमिलाई विभिन्न १० प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । तर, तत्काललाई कृषि र गैरकृषि भूमि वर्गीकरण गरेर कित्ताकाट खुलाउने तयारी थियो । २३ मङ्सिरभित्र कृषि र गैरकृषि भूमि वर्गीकरण गर्नुपर्नेमा ८० प्रतिशत स्थानीय तहले अहिलेसम्म वर्गीकरण टुङ्ग्याउन सकेका छैनन् ।

२०७९ साल चैत २७ गतेको सम्पादकीय

जग्गा बर्गीकरणमा किन उदाशिनता ?

सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय नौं÷दश महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण संघीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको छ । भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको महिनौ बितिसक्दा पनि नुवाकोटका सात वटा स्थानीय तहमा कार्यान्वयनमा आएको छैन । यो कार्यान्वयनमा नआउँदा जग्गाको कित्ताकाट र रजिस्ट्रेसन तथा दृष्टिबन्धक पास गर्ने काम भएको छैन । सिङ्गै कित्ताको नामसारी र बैंक रोक्काबाहेक अरु काम नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । नुवाकोटका पाँच वटा स्थानीय तहमा मात्रै यो कार्यान्वयन भएको छ । बाँकी रहेका स्थानीय तहले जग्गाको वर्गीकरणको काम थालेका छैनन् । स्थानीय तहको ढिलासुस्तीले ऐन कार्यान्वयनमा आउन ढिलाइ भएको हो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि बनेको ‘भू–उपयोग ऐन २०७६’ कार्यान्वयनमा गराउन सरकारले जेठ २३ गते ‘भू–उपयोग नियमावली–२०७९’ जारीगरेको थियो । तर स्थानीय तहहरूले भने सरकारले बनाएको ऐन, नियमावली नै वैज्ञानिक नभएको जनाउँदै आलटाल गरिरहेका छन् । 

भू–उपयोग क्षेत्र तथा भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा एक स्थानीय भू–उपयोग परिषद् बनाउनुपर्ने प्रावधान छ । नापी विभागले तयार गरेको भू–उपयोग तथ्याङ्क तथा स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था नियामवलीमा छ । नापी विभागले यसअघि नै सबै स्थानीय तहलाई भू–उपयोग डाटा उपलब्ध गरिसेकेको छ । जग्गालाई १० किसिमबाट वर्गीकरण गर्न गाउँपालिका भए गाउँपालिका अध्यक्ष तथा नगरपालिका भए नगरपालिकाका प्रमुखको संयोजकत्वमा भू–उपयोग परिषद् गठन गर्ने व्यवस्था गरिएको छ । काम सुरु नै गर्न नसक्दा मालपोत र नापी कार्यालयको काम ठप्पजस्तै छ । दैनिक सयौंको संख्यामा रजिस्ट्रेशन पास र दृष्टिबन्धक पास हुँदै आएकामा अहिले छिटफुट मात्रै काम हुने गरेको छ । जग्गा रजिस्ट्रेशन र कित्ताकाटबाट उठ्ने राजस्वमा पनि परेको छ । गत आवको साउनमा भन्दा यो आवको साउनमा राजस्व संकलनमा पनि झण्डै ७० प्रतिशतले गिरावट आएको छ । जग्गा कित्ताकाट नभएपछि अंशवण्डा, वैदेशिक रोजगारीमा जाने र जग्गा किनबेच गर्नेहरूका लागि सबैभन्दा ठूलो समस्या भएको छ । जग्गा बेचेरै र दृष्टिबन्धक राखेरै घर चलाउने वर्गका सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् भने राजस्वसमेत गुम्दै गएको छ ।

भू–उपयोग नियमावलीमा जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्काे प्रयोजनबाट उपयोग गर्न नपाउने व्यवस्था नियमावलीमा गरिएको छ । नियमावलीअनुसार कृषि प्रयोजनका लागि उल्लेख गरिएको जग्गा आवासीय तथा अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन । निययमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदीनाला ताला सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र तथा नेपाल सरकारको आवश्यकतानुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । व्यवस्थाअनुसार आवासीय क्षेत्र भनी लालपुर्जामा उल्लेख गरिएको कित्तामा मात्र घर निर्माण गर्न पाइनेछ । नियमावलीअनुसार आवासबाहेक अन्य विवरण लेखिएको कित्तामा कसैले घर बनाउन चाहेमा स्थानीय सरकारले नक्सापासका लागि अनुमति दिने छैन । यसैगरी कृषि भनी उल्लेख गरिएको जग्गामा कृषि प्रयोजनबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न सकिने छैन । 

भूउपयोग परिषद्ले स्थानीय भूउपयोग योजना स्वीकृत गर्ने, भूमिसम्बन्धी लगत सङ्कलन, विश्लेषण र उपयोग गर्ने, नक्सा अद्यावधिक गराउने, भूउपयोग उपक्षेत्र वर्गीकरण गर्ने, भूउपयोग योजना कार्यान्वयनका प्रक्रिया र मापदण्ड तयार गरी लागू गर्ने, भूउपयोगसम्बन्धी आवश्यक नीति तर्ज‘मा गरी पारित गर्ने अधिकार परिषद्लाई नै दिएको छ । जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्नेछ । लालपुर्जामा उक्त जग्गा कस्तो हो भनी वर्गीकरण गरी अद्यावधिक गरिने छ । एउटा वर्गीकरणमा परेकाको जग्गा अर्काे प्रयोजनमा प्रयोग गर्न‘परेमा आधार र कारण खुलाइ निवेदन पेश गर्न‘पर्नेछ । स्थानीय तहले भू–बनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्न‘पर्नेछ । कृषियोग्य जमिनलाई उपत्यकामा पाँच सय वर्गमिटर (करिब १५ आना ३ पैसा) भन्दा सानो हुने गरी टुक्क्र्याउन पाइने छैन । तराई र भित्री मधेसमा ६७५ वर्गमिटर (करिब दुई कठ्ठा) को सीमा तोकिएको छ । अन्यत्र एक हजार वर्गमिटर (एक रोपनी १५ आना)को नियम बनाइएको छ । आवासीय क्षेत्रका लागि १३० वर्गमिटर (करिब चार आना डेढ दाम)भन्दा कम हुने गरी टुक्र्याउन मिल्ने छैन ।

जति छिटो स्थानीय तहले काम गर्न सक्यो, त्यति नै छिटो कित्ताकाटको काम सुरु हुन्छ । तर, स्थानीय सरकार नतातेसम्म कर्मचारीले केही गर्न सक्दैनन् । संघीय सरकारले भूमिको समुचित उपयोग तथा सार्वजनिक हित समेतलाई ध्यानमा राखी नेपालको सबै क्षेत्रमा भू–उपयोग कार्यक्रम सञ्चालन गर्ने भने पनि स्थानीय तहकै बेवास्ताले ढिलाइ भएको हो । नियमावलीले व्यवस्था गरेअनुसार जग्गा वर्गीकरण गर्न त्यत्ति सजिलो त छैन । तर लामो समयसम्म कित्ताकाटको काम रोकियो भने सर्वसाधारण भड्किन सक्छन् र त्यसले नकारात्मक रूप लिन सक्छ । अब यो नौं महिनाभन्दा बढी ढिला नगरौं । 

२०७९ साल चैत २७ गते । वर्ष:१६ अंक:२५





Friday, April 07, 2023

तीन वर्षपछि आवागमन खुला


धुञ्चे । चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

शनिवार एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिएका छन् । नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उनले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गरेका छन् । रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।

कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छर । बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो साता तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति बनेको छ । 

सहमतिअनुसार शनिबार (१८ चैत) देखि रसुवागढी–केरुङ र आगामी १८ वैशाखदेखि तातोपानी–झाङ्मु नाकाबाट सामान तथा नागरिकको आवतजावत सुरु गर्ने सहमति भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ‘दुवै पक्षबीच १८ चैतदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । यसैगरी, तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र जनताको आवागमन १८ वैशाखदेखि सुरु हुनेछ,’ संयन्त्रको बैठकपछि बुधबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा छ । 

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुरु गर्ने, स्थल बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ उपाय खोज्ने विषयमा छलफल भएको थियो । बैठकमा नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुउपयोगी प्रयोगशाला स्थापनाका लागि सकारात्मक जवाफ दिएको छ । सचिव मरासिनीले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्न र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपालतिर पूर्वाधार निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरे । चीनले यो प्रस्तावलाई स्वागत गरेको महावाणिज्य दूतावासले जनायो । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन दिएको छ । कोभिड– १९ को महामारीसँगै मौसमी व्यापार नाका बन्दछन् । 

बैठकमा दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्वबारे चर्चा भएको थियो । बैठकमा चीनमा नेपालबाट फलफूल, ड्राई मिट र औषधिजन्य जडीबुटी, कृषि तथा पशुजन्य उत्पादनको निर्यात लगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । बैठकमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर बढाउन नेपालले अनुरोध गरेको थियो । बैठकमा चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र गार्मेन्टजस्ता क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायीलाई प्रोत्साहित गर्ने आश्वासन दिएको छ ।

कोभिड– १९ पछि दुवै देशले अपनाएका स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दुवै पक्षले ‘नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्र’को नाम परिवर्तन गरी ‘सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र’ राख्ने सहमति गरेका छन् । वार्तामा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी सहभागी थिए । त्यसैगरी, चिनियाँ प्रतिनिधिमण्डलमा तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभाग, भन्सार, एक्जिट–एन्ट्री र स्वास्थ्य विभागका विदेश मामिला कार्यालयका अधिकारी सहभागी थिए । 

बुधबारै सचिव मरासिनीले तिब्बत स्वायत्त क्षेत्रको जनसरकार अध्यक्ष महामहिम यान जिङहाईसँग शिष्टाचार गरे । भेटमा नेपाल र तिब्बतका पारस्परिक हितका विषयमा छलफल भएको थियो । अध्यक्ष यानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ल्हासामा रात्रिभोज आयोजना गरेका थिए । 

काठमाडौं–ल्हासा उडान प्रस्ताव 

नेपालले कोभिड महामारीपछि बन्द भएको काठमाडौं–ल्हासा उडान सुरु गर्न पनि चीनसँग प्रस्ताव गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले काठमाडौं–ल्हासा सीधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई तत्कालै सीधा उडान सुचारु गर्न आग्रह गरेका थिए । उनको प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिए ।

दुप्चेश्वर दुर्घटनामा मृत्यु हुने तीन पुग्यो


विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ कोल्फुबाट काठमाडौंका लागि छुटेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भई कोल्फु सडक छेउ भीरबाट खस्दा ३ सय मिटर खसेको हो । 
घटनास्थलमै दुई जनाको ज्यान गएको हो भने एक जनाको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । 
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ र वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डिएसपी खड्काले बताएका छन् । सानुकान्छीको मृत्यु ट्रमा सेन्टरमा उपचारको क्रममा भएको हो । सुमोमा १३ जना सवार थिए । उक्त घटनामा चालकसमेत घाइते भएका छन् ।

कारागारमा बिरामी बढे


विदुर । नुवाकोट कारागारमा स्वास्थ्यकर्मी अभावमा धेरै कैदीबन्दी बिरामी पर्न थालेका छन् ।  कारागारमा स्वास्थ्यकर्मी नहुँदा नियमित जँचाउनुपर्ने बिरामी पनि त्यत्तिकै बस्न बाध्य भएका छन् । 

‘बिरामी परेमा जेलभित्र उपचार गराउन अवस्था छैन,’ कारागारका जेलर गंगालाल योगीले भने, ‘१३ जना जति मानसिक रोगी नै छन् । ती रोगीलाई बाहिर उपचार गराउन समस्या छ । औषधि खुवाइरहनुपर्छ । बिरामी धेरै हुने गरेका छन् । स्वास्थ्यकर्मी अभाव छ ।’ कारागारका लागि एकमात्र सिनियर अहेवको दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् । कारागारमा १६ महिला एक दुई वर्षको नाबालक गरी जम्मा १४१ जना छन् । त्यसमध्ये विदेशीको हकमा एक जना अमेरिकी पुरुष र एक बोलेभियन महिला नागरिक छन् । 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरूलाई सहज रुपमा सुत्न र बस्न गाह्रो भएको छ । कारागारको क्षमता पुरुष र महिला ५०/५० जनाको हो । 

तर यही कारागारभन्दा करिब ६ किलोमिटर दूरीमा विदुरमा आधुनिक सुविधासम्पन्न केन्द्रीय कारागार बनिरहेको छ । तीन वर्षदेखि कैदीबन्दीलाई स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म भएको छैन ।

एसईई परीक्षामा नुवाकोटमा ५१ परीक्षार्थी अनुपस्थित

विदुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबार नुवाकोटमा ५१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा २६ जना छात्रा रहेका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । जिल्लामा २४ परीक्षा केन्द्रमा चार हजार दुई सय ९७ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा ५१ जना अनुपस्थित भएका हुन् ।

पहिलो दिन जिल्लाका सबै केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको शिक्षा विकास इकाई नुवाकोटका प्रमुख देवकुमार बरालले जानकारी दिए ।


पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे


रसुवा । पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।

पूर्णरूपमा नाका संचालनमा आएपछि रसुवागढी नाकाबाट सामान लिन केरूङ जान लागेको कन्टेनर । रसुवागढी नाका चीनतर्फको भूभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा दुवै देशका अधिकारीले औपचारिक कार्यक्रम गरेर शनिबारदेखि पूर्णरूपमा रसुवागढी नाका खुलेको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात हुँदै आएको थियो ।

नाकाबाट हुने सामान निर्यात पनि ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । यसअघि नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनरले सामान नेपालतर्फ ल्याइदिने गरेका थिए । निर्यात हुने सामान पनि तिनै कन्टेनरले लैजान्थे । शनिबार पैठारी भएका २२ कन्टेनरमा मूर्ति, कार्पेट, बाँसको मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । शनिबार रसुवागढी नाकाबाट २५ जना आएको र १२ जना गएको पनि अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल–चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र लिएका २ सय ४० जनाको नवीकरण पनि शनिबार भएको छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रे बैठकले ल्हासामा गत बुधबार आयात निर्यात गर्ने सहमति गरेपछि रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो । बैठकले रसुवागढीबाट निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले बताए । 

अब सीमा क्षेत्रमा व्यवसायीले कुनै किसिमको समस्या भोग्नुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको भनाइ छ । तातोपानी नाका पनि एक महिनापछि पूर्णरूपमा खुल्ने चिनियाँ अधिकारीले जनाएका छन् । रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसायी, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला उत्साहित छन् ।

१ लाख मुढा चीन निर्यात

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात गर्न लगिएका बाँसका मुढा ।

रसुवा । निर्यात खुलेको तीन महिनामै रसुवागढी नाका हुँदै चीनतर्फ करिब एक लाख थान बाँसका मुढा निर्यात भएका छन् । 

पुस १२ देखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६०४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । 

कोरोनाका कारण बन्द निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । विभिन्न कारागारमा कैदीले बनाएको मुढा संकलन गरेर व्यवसायीले चीनतर्फ निर्यात गर्दै आएका छन् । निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन गोदाममै थन्काएर राख्नुपरेको व्यवसायी मुकुन्द पौडेलको भनाइ छ । ‘अहिले निर्यात खुल्यो, तिब्बतबाट माग पनि आउन थाल्यो,’ उनले भने ।

कार्यालयमा अब विद्युतीय हाजिरी

विदुर । बागमती प्रदेश सरकारले २०८० वैशाखबाट मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाखबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार गठन भएको पाँच वर्ष बितिसक्दासमेत प्रदेश सरकारको मन्त्रालय र मातहतका कतिपय कार्यालयमा कर्मचारीको दैनिक हाजिर हाजिरीपुस्तिकामा हुँदै आएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले निर्णय वैशाख १ गतेबाट लागू गरिने जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्राडा नरविक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल भएपछि प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको यो दोस्रो पटक हो । यसअघि जम्कट्टेल नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा नियुक्त प्राडा होमनाथ चालिसेले पदबाट राजीनामा दिएपछि थापालाई उपाध्यक्षमा नियुक्त गरिएको छ । 

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठलाई दिने निर्णय गरेको छ। यसअघि प्रदेश सरकारको प्रवक्ता नेकपा (एमाले) बागमती प्रदेशका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया रहनुभएकामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै थपलियासहित चारै जना मन्त्रीले राजीनामा दिएपछि प्रवक्ता रिक्त रहेको थियो । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास रहेका सीमान्तकृत समुदाय चेपाङ र माझी समुदायको पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । उनले भने, “बैठकबाट चेपाङ समुदायको पर्व न्वागी र माझी समुदायको लदी पर्वमा चेपाङ र माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” बैठकमा मुख्यमन्त्रीसहित नेकपा माओवादी केन्द्रका चार मन्त्रीको सहभागिता थियो । यस प्रदेशका ११ मन्त्रालय रहेकामा मन्त्रिमण्डल विस्तार हुन नसक्दा चार सदस्यीय मन्त्रिमण्डल छ ।

केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार, मकवानपुरको भीमफेदी, धादिङलगायतका कारागारबाट कैदीबन्दीले बनेको मुढा व्यवसायीले संकलन गर्छन् । सस्तो र बलियो भएकाले बाँसबाट बनेका मुढाको माग चीनमा बढी छर । यहाँका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीसम्म पुग्ने गरेका व्यवसायी बताउँछन् । विशेषगरी चाडबाडका बेला मुढाको माग धेरै हुने गरेको व्यवसायीको भनाइ छर । पाहुनालाई चिनियाँहरूले नेपाली हस्तकलाबाट बनेका सामग्री उपहार दिन्छन् । अहिले रसुवागढी नाकाबाट चीनतर्फ मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, तामाका सजावटलगायत वस्तु निर्यात भएका छन् । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित भएको थियो ।

मधुमेह र चुरोट सेवन


डा. विनय  भट्टराई

धुम्रपान जोकोहीका लागि पनि हानिकारक हुन्छ । एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छन् भनिन्छ । त्यसमध्ये पनि २५० केमिकल निकै खतरनाक हुन्छन् ।

त्यसैले स्वस्थ व्यक्तिका लागि पनि हानिकारक हुने चुरोटले कुनै रोगबाट पीडितलाई कति असर गर्ला ? अझ मधुमेहका बिरामीका लागि चुरोट खानु भनेको मृत्युको मुखमा धकेल्नु जस्तै हो । हामीले खाएको खानेकुराबाट रगतमा ग्लुकोज बन्दछ । गुल्कोजको मात्रा बढी भएपछि मधुमेह रोग लाग्ने हो । प्याङ्क्रियाजबाट उत्पादन हुने इन्सुलिनमार्फत कार्बोहाइड्रेटलाई कोषिकाहरूमा छिराएर शरीरले शक्ति पाउँछ र त्यो इन्सुलिनको उत्पादन कम भयो वा उत्पादन हुन छोड्यो भने मधुमेह हुन्छ ।

धुम्रपानले इन्सुलिनको स्तर कायम राख्न गाह्रो हुन्छ । चुरोटमा पाइने निकोटिन शरीरमा प्रवेश गरेपछि यसको मात्रा बढ्दै जाँदा इन्सुलिनको प्रभाव कम हुन्छ । रगतमा गुल्कोजकोे मात्रा नियन्त्रण गर्न इन्सुलिनको मात्रा बढी चाहिन्छ तर चुरोटमा हुने निकोटिनले ग्लुकोज पु¥याउने  कोषिकाहरूलाई सुनाउँछ । जसले इन्सुलिन छिर्न पाउँदैन र भएका इन्सुलिनले काम गर्न सक्दैन । जस्तोसुकै प्रकारको मधुमेह भएपनि धुम्रपानले मधुमेहलाई व्यवस्थापन गर्न गाह्रो बनाउँछ । अत्यधिक चुरोट पिउँदा इन्सुलिन प्रतिरोधी भइदिन्छ र औषधिले पनि काम गर्न छोड्छ । र, यसले हाई डोजको औषधि दिने अवस्था आउँछ । धुम्रपानले मधुमेह भएका व्यक्तिको सम्पूर्ण शरीरमा नराम्रो असर गर्छ । यो मानिसको प्रारम्भिक मृत्युलाई निम्तो दिनु जस्तै हो । यदि मधुमेह भएका व्यक्ति धुम्रपान गर्छन् भने उनीहरूलाई  जुनसुकै बेला हृदयघात हुन सक्छ ।

आँखामा असर : धुम्रपानको धुवाँमा पाइने रसायनले धुम्रपान गर्नेको आँखाका लागि विषाक्त हुने आँखाका कोषिकाहरूमा नोक्सान पु-याउँछ । यी जोखिम हुनुको साथै मधुमेह भएका व्यक्तिमा धुम्रपानका कारण रेटिनामा रगतको प्रवाहमा कमी आउँछ र त्यहाँ अक्सिजन ठीकसँग पुग्दैन । यो अवस्थाले आँखामा रेटिनोप्याथी गराउन सक्छ ।

घाउ छिटो भरिंदैन : कुनै पनि चोटपटक लाग्दा केही समयपछि घाउ विस्तारै निको हुँदै जान्छ तर धुम्रपान गर्नेहरूमा भने निको पार्ने प्रक्रियालाई सुस्त बनाउँछ । घाउ र चोटका छिटो फैलिन्छन् । र, छिटो निको हुन सक्दैन ।

मिर्गौलामा असर : धुम्रपानले उनीहरूमा मिर्गौला फेल र स्नायुसम्बन्धी रोगको जोखिम बढाउछ । चुरोट पिउनाले मधुमेहका बिरामीहरूमा अल्बुमिनको कमी ज्यादा हुने सम्भावना बढ्छ ।

मधुमेह अनियन्त्रित : मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा सधैं कम राख्ने प्रयास गर्छन् तर धुम्रपानले रगतमा ग्लुकोजको मात्रा ह्वात्तै बढाउँछ । तब औषधिले पनि यसको प्रभाव कम गर्न सक्दैन ।

रक्तचाप र मुटुरोगको जोखिम : धुम्रपानले धमनीलाई कडा पार्ने काम गर्ने भएकाले यसबाट हुने क्षति दोब्बर हुने हुँदा मुटुको समस्या, रक्तचाप पनि बढाउँछ । मधुमेहका बिरामीले चुरोट पिउँदा इन्सुलिन प्रतिरोध हुन्छ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित हुन्छ । यो मुख्यतया घातक हृदयघात वा कोरोनरी हृदयरोगको जोखिम बढी हुन्छ । धुम्रपानका कारण मुटुमा जम्मा हुने निकोटिनले रक्तनलीमा क्षति पु-याउँछ ।

डिप्रेसन : जब मानिस डिप्रेसनको सिकार हुन्छ, तब मात्र उसले धुम्रपानको बारेमा सोच्छ, त्यसपछि उसलाई धुम्रपानको लत लाग्न थाल्छ । डिप्रेसनमा रहनु मधुमेह भएका व्यक्तिका लागि बढी हानिकारक हुन्छ ।

यौन दुर्बलता : धुम्रपान गर्नेहरूमा यौन दुर्बलताको समस्या हुन सक्छ । यदि मधुमेहका बिरामी हो भने यसलाई झनै बढावा दिन्छ । यसबाहेक मधुमेहका बिरामीमा निकोटिनको मात्राले  अनिद्रा, तनाव, मोटोपन बढ्ने, क्यान्सर र मधुमेहका जटिलता झनै जोखिम देखिने सम्भावना प्रबल हुन्छ । 

(डा. भट्टराई मधुमेह तथा थाइराइड विशेषज्ञ हुन् । उनीसँग अनलाईन खबरका मनिषा थापाले गरेको कुराकानीमा आधारित)

अनाथ बालबालिकालाई भत्ता

घलेभञ्याङ्ग । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले अनाथ बालबालिका संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्तर्गत अनाथ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले कार्यक्रममा समावेश भएका बालबालिकालाई भत्ता वितरण सुरु गरेको अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाइ छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले भत्ता वितरण गरेको हो । गाउँपालिकामा आमाबावु विहीन बालबालिका २२ जना रहेका छन् । त्यसमध्ये बालिका १२ जना र बालक १० जना रहेका छन् । उनीहरूलाई मासिक २ हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ ।

दाइको विरासत थाम्लान् महतले ?


काठमाडौं । नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका उनले यसपटक अर्थमा अवसर पाएका छन् ।

तेस्रोपटक मन्त्रीका रुपमा सिंहदरबार पस्दै गर्दा महतका अगाडि अर्थतन्त्रका सूचकहरूले रातो बत्ती बालिरहेका छन् । विज्ञहरूका अनुसार देशको आर्थिक अवस्था हेर्दा यो कुनै सुविधाको बेला हुँदै हैन । अहिले देशको अर्थतन्त्र अप्ठेरो अवस्थासँग जुधिरहेको छ । बाह्य क्षेत्रको चुनौती कम हुँदै गएपनि अर्थतन्त्रका वास्तविक, सार्वजनिक वित्त र मौद्रिक क्षेत्र समस्यामा छन् ।

राजस्वले चालु खर्च धान्न मुस्किल छ । भन्सारदेखि आन्तरिक राजस्वसम्म गत वर्षको भन्दा कम उठिरहेको छ । अर्थतन्त्रलाई गति दिन सघाउने पूँजीगत खर्च कमजोर छ । बजारमा वस्तु तथा सेवाको माग घटेर उद्योग र सेवा क्षेत्र समस्याग्रस्त छ ।

व्यापार र निर्माण क्षेत्रमा पनि मन्दी छ । उच्च ब्याजदर र तरलता अभावले वित्तीय क्षेत्रमाथि निजी क्षेत्रको विश्वास घटेको छ । नयाँ परियोजनामा लगानी घट्दा कर्जा विस्तार नभएर बैंकहरू समस्यामा छन् । पूँजीबजारमा निराशा मात्रै छ । पर्यटन क्षेत्रमा उत्साह छैन । घरजग्गा कारोबारमा पुरै मन्दी छ । ठूला सहकारीहरू समस्यामा फस्दै गएका छन् ।

यस्तो कमजोर आर्थिक परिसूचकहरूलाई सुधार्नेगरी अर्थमन्त्रीले ल्याउने योजना र गर्ने काम भविष्यको अर्थतन्त्रको अवस्था निर्धारण गर्ने अर्थविद्हरू बताउँछन् । अर्थविद् विश्वास गौचन नयाँ अर्थमन्त्रीले संकट टार्न थुप्रै अलोकप्रिय निर्णय लिनुपर्ने बताउँछन् । त्यसका लागि आँट चाहिने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचान गरी सुधारमा निर्भिकतापूर्वक अडिन सक्नुपर्ने बताउँछन् । यसका लागि सबै पक्षलाई विश्वासमा लिएर निचोडमा पुग्नुपर्ने उनको सुझाव छ । अर्थमन्त्रीका अगाडि चालु खर्चमा व्यापक कटौती गर्नुपर्ने चूनौती रहेको उनको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सम्बन्ध सुमधुर राख्दै थप आर्थिक तथा लगानीको स्रोत खोज्नुपर्ने डा. महतको दायित्व हुनेछ । आँउदो १५ जेठमा आउने आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटलाई राजनीतिकभन्दा बढी आर्थिक लाभमा उपयोग गर्नु उनको दायित्व हुनेछ ।

खुम्चिएको स्रोत बढाउनु र बजेटमा ठूला कार्यक्रमहरूको माग व्यवस्थापन गर्नु महतका लागि फलामको चिउरा सावित हुनेछ ।

पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै सभापति शेरबहादुर देउवाको मन जितेर अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका महतलाई अर्थतन्त्रको संकट पार लगाउँछन् भनेर आम विश्वास जित्नु नै मुख्य चुनौती हुने अर्थविदहरू बताउँछन् । अर्थतन्त्रका समस्यासँग जुध्दै व्यावसायिक जगत र अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्नु उनको मुख्य जिम्मेवारी हुनेछ ।

यस्ता चुनौतीसँग जुध्न उनी सक्षम हुनेछन् भन्ने शंकै छ । संकटापन्न अर्थतन्त्र सम्हाल्ने जिम्मा लिएर आएका अर्थमन्त्री महतको शैक्षिक योग्यता भने अर्थशास्त्रसँगै सम्बन्धित छ ।

उनी बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली अर्थतन्त्रको रुपरेखा कोर्ने डा. रामशरण महतका भाइ हुन् । विदेशमा आकर्षक जागिर खाइरहेका डा. रामशरण महतलाई २०४८ सालमा सत्ता नेतृत्वमा आएका गिरिजाप्रसाद कोइरालाले बोलाएर नेपाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसपछि उनी पटक–पटक अर्थमन्त्री भए ।

नेपाली अर्थतन्त्रको सकारात्मक, नकारात्मक सबैखाले पाटोको चर्चा हुँदा डा. महतको नाम स्वतः आउने गर्छ । उनै रामशरणका भाइ प्रकाशशरण अहिले अर्थ मन्त्रालयको नेतृत्वमा पाएका छन् । उनी अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका स्नातक, अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–च्याम्पेनबाट स्नातकोत्तर र साउदर्न इलिनोइस विश्वविद्यालयका पीएचडी हुन् ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय यात्रा आरम्भ गरेका डा. महत पहिलो संविधानसभा र दोस्रो संविधानसभा दुवैमा सभासद थिए । उनी २०६६ देखि २०६७ चैतसम्म ऊर्जा मन्त्री भएका थिए । त्यसपछि नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारमा उनी परराष्ट्रमन्त्री भए ।

२०७४ को चुनाव हारेका उनी ०७९ सालमा भने समानुपातिक तर्फबाट सांसद भए । २०५८ असोजदेखि २०५९ वैशाखसम्म प्रधानमन्त्री रहँदा आफ्ना सल्लाहकार बनाएका शेरबहादुर देउवाले यसपटक महतलाई कांग्रेसको कोटाबाट अर्थमन्त्री बनाएका छन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।

१६ कात्तिक २०१६ मा नुवाकोटको पञ्चकन्यामा जन्मिएका डा. महत पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका थिए । ०७४ को चुनावमा उनी काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

राजनीतिक रुपमा अनुभवी भएपनि महतले अर्थतन्त्रमा कौशल देखाउने भूमिका पाएका थिएनन् । उनले मुलुकको आर्थिक अवस्थाबारे सार्बजनिक टिप्पणी र विश्लेषण गरेको पनि सुनिने गरेको थिएन । बौद्धिकभन्दा बढी राजनीतिक व्यक्तित्वका रुपमा चिनिएका उनले अब कसरी अर्थमन्त्रालय चलाउलान् भन्नेमा निजी क्षेत्र सशंकित छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी यसअघि ऊर्जामन्त्री हुँदा महतले खासै राम्रो नेतृत्व नदिएको अनुभवका कारण विश्वस्त हुने अवस्था नरहेको बताउँछन् । अर्थशास्त्रका विद्यावारिधी भएकाले नयाँ ढंगले चलाउलान् कि भन्ने आशा भने रहेको बताउँदै उनले भने, ‘उहाँमाथि भरोसा नभएपनि शंकाको सुविधा छ, त्यत्ति हो ।’

डा. महत राजनीतिक रुपमा चतुर र नेतृत्वनजिक रहेर आफ्नो भनाइमा सहमत गराउन माहिर छन् । अर्थमन्त्रीका रुपमा उनले आफ्नो सबल पक्षको उपयोग गरे भने सफल हुने ती व्यवसायीको भनाइ छ ।

कांग्रेस नेता तथा अर्थविद् डा. गोबिन्दराज पोखरेल भने अर्थशास्त्र पढेको मात्र नभई मन्त्री भएर प्रशासनिक संयन्त्र पनि बुझेको हिसावले अर्थमन्त्रीमा महत सफल हुने बताउँछन् ।

‘राजस्व र वैदेशिक मुद्राको स्रोतमा विविधीकरण आवश्यक छ,’ उनी भन्छन्, ‘उहाँले लगानी र उद्योगधन्दा बढाउने गरी आर्थिक विषयसँग सम्बन्धित ऐनहरू संशोधन गरेर सुधारका प्रयास थालिहाल्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी नयाँ अर्थमन्त्रीबाट धेरै आशा गरिएको बताउँछन् । ‘मूल रुपमा उहाँले आफूमाथि भरोसा बढाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘अर्थतन्त्रको समस्या समाधान हुन्छ भनेर जनतालाई विश्वास दिलाउनु नै उहाँको मूल चुनौती हो, त्यसकै लागि काम गर्नुपर्छ ।’

मनोबल बढाउने गरी काम गर्छु : अर्थमन्त्री महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।

‘लघुवित्त र सहकारीहरू समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ । सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’

लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए । त्यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भन्दै उनले यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए । ‘यो र त्यो भन्ने होइन । हामी सँगै काम गर्ने हो । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने हो’ मन्त्री डा. मतहले भने ।

अमेरिकी तारोमा टिकटक

काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पु¥याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो ।

अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ । डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ । बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरूको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो ।

‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ । अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन् । चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओ¥याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ । संसदमा कसैले पनि टिकटकको समर्थन गरेनन् । यसले बालबालिकामा नकारात्मक प्रभाव पारेको धेरैको तर्क थियो । टिकटकले बालबालिका यौनशोषणको जोखिममा पर्दै गएको सांसदहरूको जिकिर थियो । डेमोक्र्याट सांसद क्याथि क्यास्टरले भनेका छन् ‘बालबालिकाको सुरक्षामा ध्यान दिएर एप्लिकेशन बनाउनुपर्नेमा नाफा केन्द्रित भएर त्यसको बेवास्ता गरिएको छ ।’

त्यस एप्लिकेशनको गोपनीयताको सवालमा प्रश्न तेर्सिएपछि एप्लिकेशन चिनियाँ सरकारको इशारामा नचल्ने बताइएको छ । ‘टिकटकमा आएका सामग्रीलाई हामी चिनियाँ सरकारको आग्रहमा प्रवर्धन पनि गर्दैनौं र हटाउँदैनौं’ उनको जवाफ थियो । टिकटक प्रयोगकर्तालाई कुनै पनि सरकारको हस्तक्षेपबाट टाढै राख्ने र बालबालिकाको सुरक्षामा निकै संवेदनशील रहेको जवाफ टिकटकले दिएको छ । संसदमा १० डेमोक्र्याट र १० रिपब्लिकन सांसदले टिकटकलाई प्रतिबन्ध लगाउन बाइडेन प्रशासनले कानुन ल्याउनुपर्ने प्रस्तावमा सहमति दिएका छन् ।

टिकटकका अनुसार बाइडेन प्रशासनले चिनियाँ लगानीकर्ताको स्वामित्व फिर्ता गरे मात्रै अमेरिकामा प्रतिबन्ध नलगाउने शर्त छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएमा अमेरिकामा चिनियाँ लगानी र सामान बिक्रीबारे सोच्नुपर्ने चेतावनी दिएको छ । 

डेमोक्र्याटका सांसद टोनी काडेनले टिकटकले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याएको बताएका थिए। ‘आफ्नो स्वार्थका लागि बालबालिकाको सुरक्षामा ध्यान नदिने यस्ता कम्पनीबाट हामी स्वयंले हाम्रा बालबालिका बचाउनुपर्छ’, उनको भनाइ थियो ।

अमेरिकाले टिकटक प्रतिबन्धका लागि पहल बढाइरहेको छ । त्यसअघि उसले टिकटकलाई आफ्नो भनाइ राख्ने मौका दिएको हो । प्रतिबन्ध कहिले लगाउनेछ भन्ने निश्चित छैन तर संसद टिकटकको प्रतिबन्धमा एकमतझैं छ । बाइडेन प्रशासनले टिकटक प्रतिबन्ध लगाएमा वासिङ्टन र बेइजिङको सम्बन्धमा थप दरार उत्पन्न हुने निश्चित छ । अमेरिकी संसदको एक समितिले प्रतिबन्ध सम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन् ।

लाङटाङ बाहेक क्षेत्रमा यातायात


रसुवा । रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ । 

काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।

प्रत्येक गाउँ टोलमा मोटरबाटो पु¥याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो । भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मरसमेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्नसमेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताएका छन् ।

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रायासअन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताए । मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पु¥याउन सहज भएको किसानले बताएका छन् ।

काठमाडौँको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विमसमेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ ।

अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण हिउँदयामको समयमा मात्र बस सेवा सञ्चालन हुने समस्या छ । यसै वर्षदेखि बृद्विमदेखि–काठमाडौँसम्म नियमित बस सेवा सञ्चालन भएको छ । हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन सहज सहज भएको पर्यटन व्यवसायीले बताएका छन् । शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्के छड्के पैदलमार्गबाट लाङटाङ पुगी सहजरूपले यात्रा गर्न सकिने पथप्रदर्शकले बताएका छन् ।

सिंहदरबार बाहिरको मन्त्रालय


पुष्पराज चौलागाईं

काठमाडौं । देशको सर्वोच्च प्रशासनिक केन्द्र हो, सिंहदरबार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्र होइन, मन्त्रालयदेखि योजना आयोगसम्म सबै सिंहदरबारमै अटाएका छन् ।

बीचमा केही समय बाहिर (नयाँबानेश्वरमा) रहेको संसद भवन पनि सिंहदरबारभित्र धमाधम बनिरहेको छ । तर नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने २०३० सालदेखि सिंहदरबार बाहिरै छ । २५ असार २०३० को आगलागी अघिसम्म यो मन्त्रालय पनि सिंहदरबारभित्रै थियो । अचानक भएको आगलागीले सिंहदरबारको पश्चिम भागबाहेक सबै ध्वस्त भयो । अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको पुरानो भवनमा स¥यो ।

पद्मसुन्दर लावती स्वास्थ्य मन्त्री भएपछि फराकिलो कार्यालयको खोजी भयो । २०३९ सालमा रामशाहपथस्थित सर्वोच्च अदालतको ठीक अगाडि रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय स¥यो ।

फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस इसाडोर कानले डिजाइन गरेको यो भवन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ मा उद्घाटन गरेका थिए । तत्कालीन मन्त्री लावतीको जोडबलमा स्वास्थ्य मन्त्रालय यो भवनमा सरेको थियो । आगलागीबाट क्षतिग्रस्त भएको सिंहदरबार पुनर्निर्माण गर्न‘का साथै नयाँ भवनहरू बन्दै जाँदा मन्त्रालयहरू सिंहदरबार फर्कंदै गए । रामशाहपथमा विशेष किसिमको भवन भेटेको स्वास्थ्य मन्त्रालय भने बाहिरै रमाएको छ ।

पहिले चाहेन, चाहदा पाएन 

स्वास्थ्यका पूर्वअधिकारीहरूको अनुभवमा सिंहदरबार बाहिरै काम गर्न ‘कम्फर्टेबल’ भएकाले भित्र जान धेरै जोडबल गरिएन, प्रशासनतर्फका अधिकारीहरूले पनि स्वास्थ्य मन्त्रालय भित्र नआइदिए हुन्थ्यो भन्ने मन गरेका थिए । २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य सचिव रहेकी डा. सुधा शर्मा काम गर्न मन्त्रालयको भवन पर्याप्त र कम्फर्टेबल भएकाले सिंहदरबारभित्र जान सक्रिय रूपमा पहल नगरेको सुनाउँछिन् । ‘बेलाबेला भित्र लैजाने खासखुस कुरा चल्थ्यो, तर हामीलाई बाहिरै सहज थियो’ डा. शर्माले भनिन्, ‘भवन बनाउन करोडौं खर्चिनुभन्दा आमा सुरक्षा कार्यक्रमलाई देशव्यापी गर्नमा लाग्यौं ।’ 

२०७४ मा स्वास्थ्य सचिव रहेकी डा. किरण रेग्मी पनि जनताको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएका कारण सहजै सिंहदरबारभित्र लैजान सम्भव नभएको अनुभव सुनाउँछिन् । ‘जिल्ला–जिल्लाबाट स्वास्थ्यकर्मीहरू सेवा लिन आइरहनुपर्छ । सिंहदरबारभित्र हुँदा सहजसँग आउजाउ गर्न सम्भव हुन्न’ पूर्व स्वास्थ्य सचिव डा. रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘बाहिर रहँदा हामीलाई पनि स्वतन्त्रता भएको महसुस हुन्थ्यो । भित्र जाँदा गाभिनुपर्ने जस्तो महसुस भएकाले सक्रिय रूपमा सिंहदरबारमा जान पहल गरेनौं ।’

पछिल्लो पटक भने भीडभाड बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सिंहदरबारभित्र जान चाह्यो, तर पाएन । अनावश्यक मानिसहरू स्वास्थ्य मन्त्रालय छिरेर काम प्रभावित भइरहेको महाशाखाका प्रमुख गुनासो गर्छन् । मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने बाहिर हुँदा सुरक्षा व्यवस्था कमजोर हुने र अनावश्यक रूपमा बढी भीडभाड भइरहेको बताउँछन् ।

‘काम नभएका मानिसहरू पनि अनावश्यक रूपमा आइरहेकाले काम प्रभावित भइरहेको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र रहँदा यस्तो अवस्थामा न्यूनीकरण हुन्थ्यो’, उनी भन्छन् ।

हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं भन्छन् पूर्वस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार तत्कालीन मन्त्री उपेन्द्र यादव हुँदा स्वास्थ्य मन्त्रालयलाई भित्र सार्ने छलफल भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक पनि थिए । किनकि २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको प्रधानमन्त्रीको कार्यालय रेट्रोफिट भइरहेको थियो । र, प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा बसेको संघीय मामिला मन्त्रालयको भवन खाली हुने क्रममा थियो ।

३ फागुन २०७७ मा प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेपछि यो भवन खाली पनि भयो । किनकि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्कालीन स्थानीय प्रशासनको भवनमा सरिसकेको थियो । तर प्रधानमन्त्री कार्यालयले छाडेको भवनमा स्वास्थ्यसँगै गृह मन्त्रालयले दाबी ग¥यो । ‘त्यसबेला हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तत्कालीन प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्थ्यो’ तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी भन्छन्, ‘तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं ।’

अहिले पनि राष्ट्रिय योजना आयोगले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग मिलेर सिंहरदरबारको मास्टर प्लान बनाएको छ, जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र ल्याउने योजना नै छ ।

व्यवस्थापन कार्यालयका प्रमुख कुमार घिमिरे सरकारको योजना अनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै लैजाने काम भइरहेको बताउँछन् । घिमिरेका अनुसार हाल सिंहदरबारभित्र भएका अस्थायी प्रकृतिका भवन भत्काउने र नयाँ भवन बनाइनेछ । त्यहाँ सिंहदरबार बाहिर भएको स्वास्थ्य मन्त्रालय र सिंहदरबारभित्र एउटै भवनमा भएका मन्त्रालयलाई छुट्टै भवन दिइनेछ ।

मास्टर प्लानका अनुसार संघीय संसद सचिवालयका लागि छुट्टै भवन बनाउने योजना छ । ‘संसद सचिवालयका लागि नयाँ भवन निर्माण भएपछि स्वास्थ्य मन्त्रालय त्यस ठाउँमा ल्याउने तयारी गरेका छौं’ घिमिरेले अनलाइनखबरसँग भने, ‘नयाँ भवनको निर्माणका लागि योजना बनिसकेको छ । केही समयमै योजना मन्त्रिपरिषद्मा पेश भएर स्वीकृत भएपछि काम अगाडि बढ्छ ।’

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा.यशोवर्धन प्रधान स्वास्थ्य मन्त्रालयका लागि सिंहदरबारको भीडभाडभन्दा बाहिरै रहेको उपयुक्त ठान्छन् । ‘आम जनतालाई पनि बाहिरको यो मन्त्रालयमा भित्रका अरू मन्त्रालयमा भन्दा पहुँच सहज छ’, उनी भन्छन् ।