विदुर । राष्ट्रिय परिचयपत्र अब वडाबाट वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र जिल्लास्तरीय अन्तरक्रियामा जनप्रतिनिधिहरूलाई उक्त जानकारी दिएको हो ।
विभागका निमित्त महानिर्देशक सूर्यबहादुर खत्रीले १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य यो महिनाभित्रमै वडास्तरबाट थालिने बताए । नुवाकोटमा १२ स्थानीय तह र ८८ वडा छन् ।
राष्ट्रिय परिचयपत्रले दोहोरो नागरिकता र राहदानी लिनेहरू निरुत्साहित हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । नुवाकोटमा हालसम्म ३७ हजार ५८६ जनाले राष्ट्रिय परिचयपत्र लिएको विभागले जनाएको छ । वडास्तरबाट राष्ट्रिय परिचयपत्रको लागि ४० जना कर्मचारी परिचालित हुने विभागले जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
राष्ट्रिय परिचयपत्र वडाबाटै
रोजगारी श्रृजनाका लागि जुटे बिदेशबाट फर्किएका जनशक्ति
![]() |
| तामिल समापन समारोह |
लिखु । जिल्लामा बैदेशिक रोजगारीमा गएकाहरूका लागि स्वदेश फिर्ता ल्याउनर स्वदेश फिर्ता भएकाहरूका लागि स्वदेशमा नै रोजगारी अवसर दिई बिदेश जानबाट रोक्न खासै कार्यक्रम र श्रोतको विनियोजन तथा खर्च नगरेको गुनासो आइरहँदा लिखु गाउँपालिकाले बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरूका लागि उद्यमशिलता प्रबद्र्धनः ब्यवसायिक विकास तथा बित्तीय साक्षरता सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको छ ।
जेठ १ गतेदेखि ५ गते सम्म सञ्चालन भएको तालिम कार्यक्रममा विभिन्न बिदेशी मुलुकबाट नेपाल फर्किएका लिखु गाउँपालिकावडा नं. १, २ र ३ का कूल ३७ ब्यक्तिहरूको सहभागिता रहेको थियो । लिखु गाउपालिका, रोजगार सेवाकेन्द्रको आयोजनामा बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिका लागि पुनः एकिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उद्घाटन समारोह निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेको सभापतित्वमा सम्पन्न भएको गाउपालिकाको उपाध्यक्षतथा बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिका लागि पुनः एकिकरण कार्यक्रमका कार्यान्वयन समितिका संयोजक शुभद्राअधिकारी (उप्रेती) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सम्बन्धित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू समेतको समुपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै बिदेशको तातो भूमीमा जोखिमयुक्त कार्य गरी प्यारो मातृभूमीलाई सम्झेर आएका ब्यक्तिहरूका लागि स्वदेशमा आम्दानीका ब्यवसायहरूमा लाग्नका लागि प्रेरित गराउनका लागि यस प्रकारको तालिम आयोजना गरिएकोले सबैलाई आफ्नै मातृभूमीमा आफ्नो पौरख र पसिनालाई सदुपयोग गरी समग्र लिखु गाउपालिकामा उत्पादन र रोजगारी श्रृजना गर्नका लागि अनुरोध गरेका थिए ।
५ दिने तालिमको कार्यक्रमको समापनको क्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम प्राप्त सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै अध्यक्ष श्रेष्ठले गाउँगाउँमा यस प्रकारका तालिम प्राप्त गर्नु लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रुपमा लिदै यस प्रकारको सहयोग सुरुवाती चरणको कार्यक्रम मात्र रहेको जानकारी गराए । आफु र पालिकालाई आत्मनिर्भर र समृद्ध गराउनका लागि बिदेशमा प्राप्त अनुभवलाई सदुपयोग गर्दै ब्यवसायलाई सानो ठुलो होइन त्यसलाई सम्मानपूर्वक अवलम्बन गर्दै स्वाभिमानलाई उच्च राख्नको लागि हौसला प्रदान गरे । उद्यमी, ब्यवसायी र आम नागरिकहरूको सेवामा जनप्रतिनिधिहरूको सदैव साथ र सहयोग रहेन प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । गाउँपालिकामा औद्योगिक ग्राम तथा अन्य औद्योगिक पूर्वाधारका विकासले स्थापित उद्योग ब्यवसायको भविष्य राम्रो रहेको उनले बताएका छन् । अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा उत्पादन क्षेत्रमा खर्च गरेर कृषि तथा उद्योगको विकासमा जोड दिदै आत्मनिर्भर बन्न सबै तहमा जागरुकता आबश्यक रहेको श्रेष्ठले बताएका छन् ।
निमित्ति प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरू मध्येबाट बोल्दै बिरेन्द्र उप्रेतीले तालिम निकै
उपयोगी भएको र यस प्रकारका तालिमले बैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि आफ्नै मातृभूमीमा केही गर्ने उत्प्रेरणा जगाएको बताए । उनले ५ दिनको क्रममा धेरै ज्ञान हासिल गर्ने मौका मिलेको बताए । अर्का सहभागी शान्ता तामाङ्गले पनि यस तालिममा सिकेका सीप तथा ज्ञानको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा अध्यक्षको तर्फबाट वडा नं. २ का अभ्यक्ष प्रेमबहादुर थापा र वडा नं. १ का अध्यक्ष नरहरि पाण्डेले समापन मन्तब्य राख्दै तालिममा प्राप्त भएका ज्ञानलाई ब्यवसायमा उतार्न र प्राप्त भएका अनुदानको सही सदुपयोग गर्न अनुरोध गर्दै भविष्यमा पर्न सक्ने समस्याको सामाधानका लागि सदैव साथ र सहयोग रहने प्रण रेका छन् ।
तालिममा सहभागीहरूलाई प्रशिक्षक पुष्कर शर्मा रिमाल तथा रचना पण्डितले सहजिकरण गरेका थिए । तालिम पश्चात सहभागीहरूले पालिकामा नै केही न केही ब्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता सहित सबैले आ–आफ्नै ब्यवसायको ब्यवसायिक योजनाहरू पेश गरेका छन् । पेश गरिएको ब्यवसायिक योजना अन्तर्गत बाख्रापालनमा १६ जना, कुखुरा पालनका लागि १० जना, बंगुपालनका लागि ४ जना, यातायात सम्बद्ध ब्यवसायका लागि २ जना, फर्निचर ब्यवसाय, होटल ब्यवसाय, तरकारी खेती, माछा पालन र टेलरिङ ब्यवसायका लागि १÷१ जनाको ब्यवसायिक लक्ष्य राखिएको छ । आफ्नो तालिमको सन्दर्भमा उपस्थित सहभागीहरूले बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरू सम्लग्न रहेको बैदेशिक रिटर्नी नमूना कृषि सहकारी संस्था लिमिटेड गठन गर्ने प्रस्ताव समेत गरेका छन् ।
आफ्नै भूमीमा ब्यवसाय गर्न चाहने तालिम प्राप्त जनशक्तिलाई ब्यवसायिक योजना अनुसार प्रति ब्यवसाय ४३ हजार रुपैयाँसम्म ब्यवसायिक अनुदानप्रदान गर्ने आयोजकले जनाएका छन् । गाउँपालिकाले प्रकाशित सूचनाका आधारमा बैदेशिक रोजगारीबाट फर्केका २६० जनाले आवेदन दिई सूचीकृत भएकोमा यस बर्ष कूल ६० जना रिटर्नीहरूलाई दुई चरणमा यस प्रकारको तालिम तथा ब्यवसायिक अनुदान उपलब्ध गराउने आयोजकले जनाएको छ । लिखु गाउपालिकाको ३० प्रतिशत र बैदेशिक रोजगार बोर्डका सचिवालयको ७० प्रतिशत साझेदारीमा पुनः एकिकरण कार्यक्रम सञ्चालनमा आएको रोजगार सेवा केन्द्रका रोजगार संयोजक खिमाकुमारी सुवेदीले बताएका छन् ।
कृषि मन्त्रिसँग किसानको डेलीगेशन
![]() |
कृषि मन्त्रीसंग ककनीका कृषकहरु । |
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) नुवाकोटको अगुवाईमा स्ट्रवरी नुवाकोट ककनीका किसान र कृषि मन्त्रि बेदुराम भुषालबीच भेटघाट सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको रमणीय स्थान ककनी गाउँपालीका स्थित ककनी काउलेथानका किसानहरूले कृषि मन्त्रि बेदुराम भुषाललाई भेटी आफ्नो गुनासो पोखेका हुन् । मन्त्रालयमा करिब एक घण्टा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालको एकमात्र स्ट्रवरीको सफल खेती हुने स्थान ककनीमा विगत ३० वर्ष देखिी स्थानीय किसानहरूले स्ट्रवरी खेती गर्दै आईरहेका छन् । करीब ५०० घरधुरीले प्रत्यक्ष रोजगार पाएको उक्त खेतीमा वर्षेनी करोडौं लगानी हुने गरेको छ भने बजारीकरणको अभाव र मुल्य नपाउँदा बर्षेनी लगानी जोखिममा पर्ने गरेको छ ।
सबै भन्दा उतकृष्ट स्ट्रवरी उत्पादन हुने उक्त क्षेत्रलाई विगतमा स्ट्रवरी पकेट क्षेत्रको रुपमा सरकारले विभिन्न सुविधा दिएको भएता पनी विगत १० वर्षदेखी पकेट क्षेत्र हटाईएको छ । जसका कारण सरकारले दिने प्राविधिक सहयोग तथा अनुदान बाट कृषक बञ्चित हुनुका साथै स्ट्रवरीले बजार नपाएर बारीमै कुहिने स्थिती आएको छ । हाल बालाजुबाट ककनी हुँदै नुवाकोट जाने पासाङल्हानु राजमार्ग निर्माण सम्पन्न नभई अलपत्र परेकोले हुँदा स्ट्रवरीलाई बजार सम्म लैजान अझै कठिन भएको कुरा किसानका प्रतिनिधि शिवकुमार लामाले मन्त्रीलाई जानकारी गराए ।
डेलिगेशनमा रहेका किसान तेजबहादुर लामाले समयमा मल किन्न नपाईने र पाए पनि महंगोमा मल किन्नु पर्ने, बिरुवाहरू सहज रुपमा नपाईने, टनेल निर्माण गरी उत्पादन गर्न नसक्दा असिना पानीले नष्ट गर्ने, बल्ल तल्ल हुकाएको ‘स्ट्रपस् निस्’ भण्डारणको अभावमा बजारमा पुग्नु पहिले नै कुहीने समस्या किसानहरूले भोग्नु परेको बताए । किसान रुपा लामाले ककनीको बाटो र स्ट्रवरी खेतीको प्रबवर्धनको विषय ककनीको जनताको उन्नतीसँग जोडिएको विषय भएको हुँदा सोको तत्काल सम्बोधन हुनुपर्ने बताए ।
कृषि मन्त्री बेदुराम भुषालले स्ट्रवरी खेतीको लागी चाहिने प्राविधिक सहयोग, सरकारी अनुदानको आवश्यकता, पकेट क्षेत्र घोषणा, मलको सहजता, कृषि एम्बुलेन्सको सञ्चालन लगायतका विषयमा आफुले सक्दो पहल गर्ने र सोको लागी परे किसानको प्रतिनिधि समेत समावेश भएको कार्यदल बनाई आवश्यक नीति तय गर्ने प्रतिवद्धता जनाएका छन् । मलको सहजताको लागी प्रत्येक जिल्लाबाट कृषियोग्य जमिनको तथ्यांक नै गलत ढंगले आउने गरेको हुँदा मलको आयात कृषि योग्य जमिनको तथ्यांकमा भर पर्ने बताए । यस बर्षको लागी पाँच लाख बोरा मल आयात गर्ने तयारी रहेको र सो मल कृषि क्षेत्रमा मात्र प्रयोग हुँदा पर्याप्त हुने तर प्लाईउड कारखाना तथा माछापालकहरूले समेत प्रयोग गरिदने हुँदा खेतबारीमा हाल्ने मल अपुग हुन जान्छ भन्ने जानकारी गराए । सरकारले ८५ प्रतिशत अनुदानमा ल्याएको मल अन्यत्र प्रयोग हुँदा समस्या आउने गरेको र सरकारले यसको नियमनको लागी आवश्यक कार्य गर्ने तयारी गरेको बताए ।
नुवाकोट जिल्लाका पुर्व सांसद तथा नेकपा (एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय निर्वाचन आयोगका सदस्य अधिवक्ता बसन्त बस्नेत, बिदुर नपाका पुर्व जनप्रतिनिधि तथा प्रदेश सदस्य राजु सडौला, सम्पर्क मञ्चका अध्यक्ष राजु कँडेल, जिल्ला नेताहरू राममणी अधिकारी र प्रकाश नेपाल, नारायण गुरुङ लगायतका नेताहरू उक्त छलफलमा सहभागी थिए । यस अघि अवरुद्ध भईरहेको ककनी हुने नुवाकोट तथा केरुङ जाने पासाङल्हामु राजमार्ग तत्काल निर्माणको लागी पहल गर्न भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई समेत नुवाकोटको एकिकृत समाजवादी पार्टीले अनुरोध गरिसकेको छ ।
भ्रष्टाचार बिरुद्ध रक्तदान
ढुङ्गे । नुवाकोटमा भ्रष्टाचार बिरुद्धको अभियानमा नुवाकोटका ४० जना युवाहरूले रगत दान गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी कारबाहिको माग गर्दै विदुर नगरपालिकाको वडा नम्बर १ ढुङ्गेमा रगतदान गरिएको हो ।
देशको योद्धा–द्धारा भ्रष्टाचार बिरुद्ध गरिएको रक्तदान कार्यक्रममा भ्रष्टाचारको बिरोद्धमा आवाज उठाई लडिरहेकाहरूका लागी ४० जनाले रगतदान गरेको रक्तदान कार्यक्रमको नेतृत्व गरेका युवा अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । देशमा मौलाएको भ्रष्टाचार न्युनिकरणको लागी अभियन्ताहरूले सरकारसंग माग गरेका छन् । रगतदान कार्यक्रममा भ्रष्टाचार बिरुद्धका विभिन्न प्लेकार्डहरू बोकर भ्रष्टाचार न्युनिकरणका लागी बिरोध जनाईएको थियो ।
‘हामीले सहेर नै भ्रष्टाचार बढेको हो’ अब कति सहने भन्दै सयौ जनाले भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागिता जनाएका थिए । ‘भ्रष्टाचारी देशका शत्रु हुन् ।
जसलाइ हामी जनताले देशको मुहार फेर्छ भनेर बिश्वास गरेर नेता बनाइएको हुन्छ उसले हामी जनता लाईनै बेच्ने सम्मको मानव बेचबिखन जस्तो अमानवीय काम गर्ने भ्रष्टाचारीलाई छोड्नु हुन्न । बढालाइ चैन सानालाई ऐन नहोस् ।’ जस्ता नाराहरू लेखिएको प्लेकार्ड बोकेर कार्यक्रमाम सहभागी युवाहरूले बिरोध जनाएका थिए ।
गाउँपालिकाद्धारा लामा गुरुलाई सहयोग
![]() |
| गुरुहरूलाई सहयोग उपलब्ध |
तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका भित्रका दुई स्थान लामा गुरुहरूलाई सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर १ र ५ का लामा गुरुहरूलाई विभिन्न सहयोग प्रदान गरेको हो ।
अध्यक्ष अधिकारीले वडा ५ का लामा गुरुहरूलाई ड्रेसहितको तामाङ बाजा (लामा बाजा) र एक थान साउन्डसिस्टम प्रदान गरेका हुन् । यस्तै वडा १ को कार्यालयमा लामा गुरुहरूलाई बाजा उपलब्ध गराइएको छ । तामाङ जातिहरूको विभिन्न शुभकार्यमा लामा गुरुहरूको महत्वपूर्ण भूमिका रहदै आएको भन्दै धर्म र संस्कृतिको रक्षा गर्न लामा गुरुहरूलाई सहयोग गरेको अधिकारीले बताएका छन् ।
स्थानीय कला संस्कृति र पर्वहरूको संरक्षणको लागि सहयोग गर्ने उद्धेश्यले पालिकाले लामा गुरुहरूलाई सहयोग उपलब्ध गराएका अध्यक्ष अधिकारीले बताए ।
सिँचाइ र बस्ती संरक्षणमा बजेट थपियो
विदुर । जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत कार्यान्वयन गराउनका लागि छ वटा योजना थप भएको छ । बागमती प्रदेस सरकारबाट नुवाकोटका लागि विभिन्न पाँचवटा सिँचाइ र एकवटा बस्ती संरक्षण गर्न थप योजनासहित बजेट प्राप्त भएको उक्त कार्यालयका प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए ।
उनका अनुसार थप भएका छवटा योजनाका लागि ७५ लाख रुपैयाँ प्राप्त भएको छ । ‘थपिएका योजनाका सम्बन्धमा सम्बन्धित लाभग्राही उपभोक्ता किसानलाई जानकारी गराएर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन थालिएको छ ।’ डिभिजन प्रमुख गुरागाईंले भने, ‘थप भएको योजना तथा कार्यक्रम अत्यावश्यक देखिएका स्थान र मागअनुसार प्राप्त भएकाले लाभग्राही किसानलाई लाभ पुग्ने गरेर गुणस्तरीय काम गर्न–गराउन लाग्नेछाँै ।’
थपिएका योजनामध्ये दुप्चेश्वरस्थित तादी बोक्से बसेरी सिँचाइ योजना, सूर्यगढीस्थित डुडेमुहान हँुदै बगुवा–चनौटे सिँचाइ योजना, विदुरस्थित शेराफाँट सिँचाइ योजना, किस्पाङस्थित अधेँरी सुकौने चमानीडाँडा कोकेगाउँ घलेगाँउ तल्लोखेत सिँचाइ योजना, बेलकोटगढीस्थित बालुवाबगर सिँचाइ योजना र लिखुस्थित चौघडाबजार तादी खोला संरक्षणको लागि थप बजेट प्राप्त भएको छ ।
यसअघि बागमती प्रदेश सरकारबाट २६ करोड ५९ लाख १३० रुपैयाँ हाराहारिका योजना कार्यान्वयन रहेकामा यही आर्थिक वर्षभित्र कार्यान्वयन गराउन हाल नयाँ छवटा योजना थपिएको हो । उक्त कार्यालयले चालु आर्थिक वर्षमा सङ्घीय र प्रादेशिकसमेत गरेर ३३ करोड पाँच लाख रुपैयाँ बराबरका १५० योजना कार्यान्वयन गरिरहेको छ । सिँचाइ कुलोको सुद्धिढिकरण, नयाँ निर्माण, स्तरोन्नती तथा मर्मतसम्भारसहित नदी तथा खोलाले पु¥याएको कटान नियन्त्रण तथा जोखिममा परेको बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जा, ऊर्जाको पुनःप्रयोग कार्यक्रमसहित आपतकालीन सेवाअन्तरगत तारजाली वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु
![]() |
| गोसाइँकुण्ड |
कालिकास्थान । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला सुरु भएको छ ।
गंगा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले कुण्डमा स्नान तथा भगवान शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको बताइन्छ ।
समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान शिव निलाद्री पर्वत पुगेको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भई त्यही जलले बनेको पोखरीमा शिव शंकर भगवान विराजमान रहेको बताइएको छ। कुण्डमा डुबुल्की मारेपछि शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ ।
निलाद्री पर्वत अर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एकपटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहिआएको छ । स्थानीय पुरोहित टंकसाद ढकालले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गंगा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुंगा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवानको दर्शन गरी फर्किँदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताए ।
दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ। यस वर्षको गंगा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको संख्यात्मक रूपमा लगत राखिनेछ ।
२०८० साल जेठ ८ गतेको सम्पादकीय
गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा विरलै देखिन्छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो । नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, -याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् ।
वर्षात्मा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ । पछिल्लो समय किसानहरूले बाच्छी नपाल्ने र हरेक महिनाजसो फर्ममा नयाँ नयाँ गाई भित्र्याउने चलन बढेकाले यो रोग नियन्त्रण गर्न चुनौती सिर्जना भएको हो । मृत्युदर निकै कम अर्थात् १० प्रतिशतभन्दा थोरै भएको कारण रोग नियन्त्रणमा सम्बन्धित निकायहरूले त्यति ध्यान दिएका छैनन् । तर यो रोगको कारण किसानले ठूलो नोक्सानी व्यहोर्न परेको छ । दूधमा आत्मनिर्भर उन्मुख भइसकेको नेपाल पुनः ठूलो मात्रामा दूध आयात गर्नुपर्ने अवस्थामा पुग्नुमा यो रोग पनि एक महत्वपूर्ण कारण हो । भाइरल रोग भएकोले यसको कुनै ठोस उपचार छैन । रोग निको हुन लामो समय लाग्ने र रोग निको भएका गाईहरूमा दूध उत्पादन नबढ्दा किसानहरूले उत्कृष्ट भनिएका त्यस्ता गाईहरू नै हटाउनु परेको अवस्था छ ।
लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्न‘पर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्दछ । त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने हुन्छ । यो रोग नियन्त्रण गर्न पशु सेवा विभागले यथाशीघ्र यो रोगको ईपिडेमीयोलोजिकल अध्ययन गरी रोग नियन्त्रण कार्यविधि वा योजना बनाउनु पर्दछ । रोग देखिएको विन्दुबाट अन्य ठाउँमा रोग नफैलियोस् भन्नको निमित्त त्यो ठाउँबाट अन्यत्र गाईको ढुवानी रोक्नुपर्दछ ।
स्थानीय तह वा प्रदेश स्थित भेटेरीनरी अस्पतालले रोग देखिएको ठाउँबाट २० किलोमिटरसम्मको परिधिलाई संक्रमित क्षेत्र र सो क्षेत्रको बाहिरी २० किलोमिटरसम्मको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी रोग नियन्त्रणका उपायहरू अबलम्बन गर्नुपर्छ । यो रोग लाग्न र फैलन नदिने सबैभन्दा प्रभावकारी विधि खोप हो । तर नेपालमा भने रोग भित्रिएको ३ वर्ष बितिसक्दा पनि लम्पी स्किन विरुद्ध खोपको उचित व्यवस्था हुन सकेको छैन । यो रोग नियन्त्रण गर्न तीनै तहको सरकारको समन्वयमा रोग सर्वेलियन्स, भ्याक्सिनेसन र जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ ।
रोगको छिटो निदान गरी नियन्त्रण गर्न स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरूलाई नमूना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनुपर्दछ । रोग नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएकाले छोटो र सहज विधिबाट खोप खरीद गरी सबै उमेर समूह र अवस्थाका गाईलाई वर्षात् अघिनै खोप लगाउनुपर्दछ । यदि सरकारी तबरबाट खोप खरिदको लागि बजेट व्यवस्थापन गर्न अर्को वर्ष कुर्नुपर्ने भए निजी क्षेत्रलाई छोटो प्रक्रियाबाट खोप खरिदको अनुमती दिई किसानलाई अभियानकै रूपमा खोप लगाउन प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
Monday, May 15, 2023
आठ पटक म्याद थपेर ५४ प्रतिशत काम
![]() |
| गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको काम सम्पन्न भएको एक खण्ड । |
विदुर । चीन जोडिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनामा ८ पटकसम्म म्याद थप्दा पनि काम भने ५४ प्रतिशत मात्रै सम्पन्न भएको छ । उक्त सडक गल्छीदेखि चीनको नाका मितेरीपुलसम्मको दूरी ८२ किलोमिटर छ ।
‘समग्र भौतिक र वित्तीय प्रगति हालसम्म ५४. ६० प्रतिशत पुगेको छ,’ आयोजनाका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले भने, ‘गल्छी–मैलुङको ४६ किलोमिटर सडकमा ८० प्रतिशत प्रगति छ ।
मैलुङ–स्याफ्रुको काम भरहेको छ भने स्याफ्रुबेसी–रसुवागढीमा सडक निर्माण गर्न चिनियाँ पक्षलाई भनिएको छ ।’ गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी एउटै सडक आयोजनालाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङ ४६, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसी १९ र अन्तिम खण्ड स्याफ्रुबेसी–रसुवागढी खण्ड १७ किलोमिटर दूरी छ ।
पहिलो खण्ड गल्छीदेखि सुकौरे खोलासम्म ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो सडक निर्माणका लागि कोभेक, तुण्डी र रसुवा कन्ट्रक्सन जेभीले २०७३ साल कात्तिक २२ गते ठेक्का सम्झौता गरेको हो । उसको म्याद आगामी असार मसान्तसम्म मात्र छ । यो सडकको ८ पटक म्याद थप भइसकेको छ । यो खण्ड अझै १४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।
गल्छी–देवीघाट–पिपलटारसम्म, गेर्खुखोला–बेत्रावती, रसुवाको नौविसे, किस्पाङ मनकामनाको पुच्छारमा सडक कालोपत्रे भएको छ । देवीघाट पारि जिलिङ, पिपलटारदेखि ढुंगे, रसुवाको बेत्रावती, किस्पाङको शान्तिबजार क्षेत्रमा सडक कालोपत्र हुन बाँकी छ । गंगटेदेखि ढुंगे सडक खण्डका घर टहराको मुआब्जा दिनुपर्ने अदालतले फैसला गरेको छ । रसुवाको बेत्रावतीदेखि बोगटीटार जाने बाटोसम्मको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
शान्तिबजार क्षेत्रमा स्थानीयले मुआब्जा नलिएकाले अवरोध कायम छ । गल्छीदेखि स्याफ्रुबेसीसम्म ११ वटा पक्की पुल बनाउनुपर्नेमा ९ वटा सम्पन्न भएका छन् । ३ वटा निर्माणाधीन छन् ।
दोस्रो खण्डमा पर्ने मैलुङ–स्याफ्रुबेसी १९ किलोमिटर सडकको प्रगति २४ प्रतिशत मात्र छ । सडकको दायाँबायाँ जाली भर्ने र वाल लगाउने काम भैरहेको छ । उक्त सडक कालोपत्रे गर्न भारत कन्स्ट्रक्सन÷सिद्धि साई जेभीले ०७७ साल साउनमा ठेक्का पाएको हो । ३० महिनामा सम्पन्न गर्ने भनिएको थियो । यो खण्डमा सेनाले ट्रयाक खनिदिएको हो ।
स्याफ्रुबेसी–रसुवागढीसम्मको १७ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने भनिएको छ । नयाँ वर्ष र कोरोनाका कारण चिनियाँ पक्ष नआएपछि अब निर्माण थाल्ने आयोजनाले जनाएको छ । सन् २०१८ मा चीन सरकारसँग दुई लेन सहित कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । यहाँ विजुलीको पोल हटाएर निर्माण थाल्न आयोजनाले भनिरहेको छ । यो सडक गल्छीमा पृथ्वी राजमार्गमा जोडिएपछि वीरगञ्ज हुदै भारतसँ जोडिन्छ । यो सडक त्रिदेशी मार्ग बन्ने छ ।
८ अर्ब ३८ करोड खर्च
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमध्ये मुआब्जा, घरटहराको क्षतिपूर्तिमा ६ अर्ब र सडक निर्माणमा ९ अर्ब ५० करोड खर्च हुने छ । हालसम्म सडकतर्फ ५ अर्ब १५ करोड र मुआब्जा (जग्गा–घरटहरा)मा ३ अर्ब २३ करोड रुपैयाँ खर्च भैइसकेको आयोजनाले जनाएको छ ।
छ महिनामै सकियो काम
![]() |
| दोर्खु खोलमा निर्माण भएको पुल |
खरानीटार । तादी गाउँपालिका वडा नंं ३ खरानीटार र वडा नं. १ उर्लेनीको सीमा हुँदै बगेको दोर्खु खोलामा ४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको छ महिनामै सम्पन्न भएको छ । २०७९ साल असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष ( २०८१ साल असार ३०) भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त दोर्खु खोलामाथि पक्की पुलमने बिहीबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुलको उद्घाटन गरेका हुन् ।
ठाडो खोला र पानीको बहावले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताए । उनका अनुसार २४ महिनामा पूरा गर्नपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भएको छ । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार छ करोड ९९ लाख ३९ हजार रुपैयाँमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई ५ करोड ६२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्ख‘ खोलामा निर्माण पक्की पुल निर्माण गरिएको हो । सो अवसरमा मुख्यमन्त्री जमकट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताएका छन् ।
‘विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिइरहेको छ’, उनले भने, ‘ग्रामीण क्षेत्रको विकास र दुर्गमबाट सुगम यातायातको पहुँचले भिन्नता बनाउने भएकाले निर्माण गरिएको पक्की पुलमा १२ महिना गाडी चलाउन जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।’
तादी गाँउपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्म पुग्न कच्ची सात किलोमिटरसहित उर्लेनीको मुख्य बस्ती काल्चे र ओख्रेसम्म पुग्ने सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्न‘पर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले बताएका छन् । उनका अनुसार उर्लेनीको प्रसिद्ध कृषी सामग्री उपजलाई बजार पु-याउन, स्थानीयवासीको दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान र सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलले योगदान पुग्ने विश्वास छ ।
पक्की पुलको निर्माणले गाउँ छाडेर शहर बजारतर्फ जाने बसाइँसराइ रोक्न, भूकम्पपछि जोखिममा परेको उर्लेनीबाट सुरक्षित स्थानको खोजीमा रहेको पीडितलाई आफ्नै थातथलोमा अड्याउन सकिने बागमती प्रदेशसभाका सदस्य राधिका तामाङले बताएका छन् ।
पृथ्वी मावि पहिलो
विदुर नगरपालिकमा रास्वपाको छायाँ सरकार तयार गर्ने
![]() |
| राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले चुनिएका विदुर, बेलकोटगढी नगरपालिकाको कार्यसमिति |
बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने भएको छ । रास्वपाको शनिवार बट्टारमा भएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई सम्बोधन गर्दै सो पार्टीका संसदिय दलका उप नेता बिराजभक्त श्रेष्ठले विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने बताएका हुन् ।
नुवाकोटले रसुवा र धादिङलाई समेत प्रभाव पर्ने र भूराजनीतिक रुपमा मध्य भागमा रहेको बताउदै नुवाकोटको पनि केन्द्र विदुर नगरपालिकामा छायाँ सरकार बनाउने उनले घोषणा गरे । ‘यहाँको स्थानीय सरकारको कामकाजको खबरदारी गर्ने र नागरिकका पक्षमा सक्रिय रहन स्थानीय सरकारलाई काम गर्न बाध्य पार्ने गरी हाम्रो छायाँ सरकारले काम गर्ने छ’ श्रेष्ठले भने ।
सोही प्रसंगलाई सम्बोधन गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपी अर्यालले स्थानीय तहमा भइरहेको अनियमितता र व्यतिथिका बिरुद्ध रास्वपाले अभियान नै सञ्चालन गर्ने बताएका छन् । तीन पटकसम्म रास्वपाले विदुर नगरपालिकाको नेतृत्व तहलाई दवाव दिने, घच्घच्याउने, तर आफ्ना मागहरूको सुनुवाई नभएमा, नागरिकको पक्षमा काम गर्ने तर्फ सकारात्मका नभएका घण्टी बजाउदै नगरपालिका घेर्न जाने उनले बताएका छन् । अर्यालले अन्य पालिकाहरूमा समेत आफुहरूले खबरदारी र रखवारी गर्ने बताएका छन् । ‘हामी स्थानीय सरकारलाई गाली मात्रै गर्दैनौं, हामी काममा सहयोग पनि गर्छौ’, अर्यालले भने, ‘विद्यालय, स्वास्थ्य चौकी तथा सार्वजनिक कामको अनुगमन हामी गर्छौ, आवश्यकताका आधारमा रास्वपाका कार्यकर्ताले स्वयमंसेवकका रुपमा सार्वजनिक शौचालय सफा गर्ने देखि विद्यालयमा सरसफाई, पठनपाठनको व्यवस्थापन, स्वास्थ्य केन्द्रका नियमित सेवा सुचारु गराउनका लागि पहल गर्ने देखि आफुले गर्न सक्ने त्यस्ता कामहरू खुरुखुरु गर्छ पनि ।’
शनिवार भएको दुई नगरपालिकाको उक्त भेलाले नगरस्तरिय नयाँ कार्य समिति गठन गरेको छ । विदुर नगरपालिकामा भरतबहादुर थापा मगर सभापति चुनिएका छन् । उनी यस अघि पनि विदुर नगरपालिकाको सभापति थिए । त्यस्तै विदुर नगरपालिकाको उपसभापतिमा राम खतिवडा, सचिवमा रामप्रसाद रिमाल, कोषाध्यक्षमा उषा डंगोल छन् । सदस्यहरूमा मान पाण्डे, ईश्वरकुमार डंगोल, दीपक ढुङ्गाना, रुपेश सिंह राजपुत, जोनी जेके, अभय डंगोल, नारायणप्रसाद नेपाल, दीपक रिमाल, राजेन्द्र मिजार, आयुष रिजाल, उत्तम अगस्ती, राजुकुमार रिमाल र बिरबहादुृर तामाङ छन् ।
यस्तै बेलकोटगढी नगरपालिकाको सभापतिमा कृष्णप्रसाद पन्थ, सचिवमा रामप्रसाद लामिछाने, कोषाध्यक्षमा सुदिप सापकोटा चुनिएका छन् । सदस्यहरूमा सन्देश न्यौपाने, लुमडीप्रसाद सुवेदी, प्रल्हाद न्यौपाने, राजेन्द्र दाहाल, ठाकुरप्रसाद गजुरेल, निरु ढुङ्गाना, भुवनप्रसाद गजुरेल, गोविन्द तिवारी र सुर्यमान गुरुवाचार्य छन् ।
रास्वपाको नगरपालिका भेला अघि त्यस दिन बिहान नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा सर्वसाधारण र नागरिक अगुवाहरूको सहभागितामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डीपी अर्याल, संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, रमेश खरेल लगायत नेता सहभागी थिए ।
फेरि म्याद थपियो चिलिमेको सहायक कम्पनीमा, १२ वर्षमा पनि बनेन रसुवागढी जलविद्युत्
![]() |
| निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना |
विदुर । नेपालमै सफल मानिएको जलविद्युत् कम्पनी चिमिलेको सहायक कम्पनी निर्माणको हविगत भने झन् झन् खराब भएको छ । निर्माण आरम्भ भएको १२ वर्षसम्ममा पनि उत्पादन गर्न नसकेको चिलिमे जलबिद्युत् कम्पनीको शाखा आयोजनाले फेरि उत्पादनको मिति सारेको छ ।
उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमेको सहायक कम्पनी हो । उक्त कम्पनीले पुनः आफ्नो व्यावसायिक उत्पादन मिति सारेको छ । यसै आर्थिक वर्षमा उत्पादन सुरु गर्ने भनेको रसुवागढीले पुनः उत्पादन मिति ३ महिनापछि सारेको हो । १११ मेगावाट क्षमताको नदी प्रवाही आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि सकिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनामातहत निर्माण भइरहेको यस आयोजनाको तीन महिना म्याद थपिएपछि उत्पादन मिति असोज अन्त्यमा पुगेको छ । २०६८ कात्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति २०७६ पुस १५ मा थियो । तर २०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सारेर २०७८ असारमा पु-याइएको थियो । त्यसपछि २०७७ मा आएको भोटेकोशीको बढीले बाँधलगायत संरचनामा क्षति पु-याएपछि समयमै आयोजना सक्न कठिनाइ भएको भन्दै कम्पनीले फेरि २०७९ सालको फागुनसम्म उत्पादन मिति सारेको थियो । जलविद्युत् कम्पनी चिमिलेको सहायक कम्पनीले त्यस मितिमा पनि उत्पादन गर्न नसकेपछि समय लम्ब्याएर २०८० असारमा पु-याइयो । तर यस अवधिमा पनि नसकिएपछि अहिले पुनः ३ महिना समय थपिएको छ । रसुवागढी आयोजनाबाट २०७८ असारभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहे पनि २०७७ मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पुगेका कारण उत्पादन समय लम्बिएको आयोजना प्रवक्ता नरनाथ न्यौपानेले जानकारी दिए । बाढीले पहुँचमार्गमा क्षति पु-याएपछि पनि समयमा उत्पादन गर्न नसकिएको उनको भनाइ रहेको छ ।
प्रदेश नरहे व्यवस्था रहँदैन : मुख्यमन्त्री
![]() |
| पत्रकार भेटघाटमा मुख्यमन्त्री । |
बट्टार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरू पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरू उठिराखेका छन् ।’
प्रेस सेन्टर नुवाकोटले बिहीबार गरेको प्रेस मिटमा मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकार नरहने हो भने यो संघीयता नै रहँदैन, यो व्यवस्था रहँदैन ।’ उनले स्थानीय तह पनि अहिले रुपमा नरहने दाबी गरे । अहिले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएका महत्वपूर्ण निर्णयहरू, प्रदेशसँग समन्वय र सम्बन्धहरू भैराखेको छ ।’
प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेको उनको भनाइ छ । कृषि क्षेत्रको लगानी बढाउन र रोजगारी दिन प्रदेश सरकारले व्यक्तिलाई अनुदान नदिने, कागजी फर्महरूलाई अनुदान रोक्ने उनले बताए । रासायनिक मलको लागि आफू मुख्यमन्त्री भएपछि कोटा बढाएको र जिटुजी मोडलबाट जान खोजिएको उनले बताए ।
फोहोर ढुवानी फेरि रोक्ने चेतावनी
ककनी । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले एक वर्षअघि फोहोर व्यवस्थापन सम्बन्धमा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै बन्चरेडाँडावासीले पुनः आन्दोलनको चेतावनी दिएका छन् ।
प्रतिबद्धताअनुसार महानगरले सामान्य माग मात्रै पूरा गरेर झारा टार्ने काम गरिरहेको उनीहरूको भनाइ छ । गत जेठमा भएको सहमति अक्षरशः पूरा नभए एक सातापछि फोहोर ढुवानी रोक्ने उनीहरूको चेतावनी छ ।
काठमाडौं उपत्यकाको फोहोर सिस्डोल र बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । फोहोर ढुवानी र व्यवस्थापनमा महानगरले लापरबाही गरेको भन्दै सिस्डोल र बन्चरेडाँडावासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
यही क्रममा गत वर्ष जेठमा स्थानीयको मागअनुसार प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य, शिक्षा, रोजगारलगायत अधिकारको ग्यारेन्टी गर्ने सहमति भएको थियो । स्थानीय राममणि घिमिरेका अनुसार सहमति पूरा गर्न महानगर र केन्द्र सरकार जिम्मेवार बनिरहेका छैनन् । ‘महानगरले सजिला माग मात्रै पूरा गरेको छ, यहाँका स्थानीयको जीवनसँग जोडिएका मुख्य र महत्वपूर्ण माग पूरा गरेको छैन,’ उनले भने, ‘केन्द्र सरकार र महानगरले यसअघि गरेका प्रतिबद्धता पूरा गर्नैपर्छ ।’
बन्चरेडाँडावासीले गत १ भदौमा पनि काठमाडौं उपत्यकाको फोहोर ढुवानी गर्न नदिने चेतावनी दिएका थिए ।
त्यसपछि बन्चरेडाँडा संघर्ष समिति, स्थानीयवासी, काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच माग पूरा गर्नेबारे सहमति भएको थियो । तर, हालसम्म पनि मुख्य माग पूरा नभएको स्थानीयवासी र त्यस क्षेत्रका जनप्रतिनिधिको भनाइ छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले मुख्य मागप्रति बेवास्ता भइरहेको आरोप लगाए ।
‘उपत्यकाको फोहोरका कारण स्थानीयवासीको जीवन दयनीय र जोखिमपूर्ण बनिरहेको छ,’ उनले भने, ‘महानगरले सामान्य माग मात्रै पूरा गरेको छ, त्यसकारण फोहोर ढुवानी अवरोधलगायतका कार्यक्रम सुरु हुँदै छन् ।’ गत शनिबार स्थानीयवासी, ककनी गाउँपालिका र धुनिबेँसी नगरपालिकाबीच केन्द्र सरकारले माग पूरा नगरेकोबारेमा छलफल भएको थियो ।
काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले प्रतिबद्धता पूरा नगरे अब फेरि फोहोर ढुवानी रोक्ने र थप आन्दोलनका कार्यक्रम अघि बढाइने निर्णय भएको थियो । यसका लागि २६ जेठ ०७९ मा भएको सहमति कार्यान्वयन गर्न एक साता कुर्ने निर्णय पनि भएको छ ।
के–के माग पूरा भए ?
ककनी । स्थानीयवासीको मागअनुसार काठमाडौं महानगरले फोहोर प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन, लिच्चड चुहिन नदिने, स्थानीयलाई कृषि तथा बाली क्षतिपूर्ति, फोहोर क्यापिङ गर्न नयाँ डोजर खरिद, विषादी छर्कन पम्प वितरणलगायत तयारी गरेको छ । तर सहमति भए अनुसारको मागहरूमा यो माग भने असाध्यै सामान्य हो ।
काठमाडौं महानगरपालिकाले एक वर्षअघि फोहोर व्यवस्थापन सम्बन्धमा गरेको प्रतिबद्धता कुनै पनि पूरा नगरेको आरोप बन्चरेडाँडावासीको रहेको छ ।
अहिले काठमाडौं महानगरले फोहोर प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन, लिच्चड चुहिन नदिने, स्थानीयलाई कृषि तथा बाली क्षतिपूर्ति, फोहोर क्यापिङ गर्न नयाँ डोजर खरिद, विषादी छर्कन पम्प वितरणलगायत तयारी बाहेक ढुवानीमा टाइमकार्ड, स्थानीयवासीको स्वास्थ्य बिमा, बिजुली बत्तीको व्यवस्था, सडक कालोपत्रेलगायत काम गरिसकेको छ । तर, मुख्य माग पूरा नगरेकोले फोहोर ढुवानीमा अवरोध गर्ने बताए ।
यसबाहेक फोहोर क्यापिङ, प्रभावित क्षेत्रको पहिचान भएपछि जग्गा अधिग्रहण, मुआब्जा वितरण, अति जटिल रोग लागेकालाई महानगरवासीसरह सुविधा दिनुपर्ने, प्रभावित क्षेत्रको विकास निर्माणका लागि महानगरले हरेक वर्ष बजेट विनियोजन गर्नुपर्ने, फोहोरलाई स्रोतबाट वर्गीकरण गर्नुपर्ने, प्रभावित क्षेत्रमा शिक्षाको गुणस्तरका लागि महानगरले पहल गर्नुपर्ने, प्रभावित क्षेत्रलाई हरियाली पार्नुपर्ने, प्रभावित क्षेत्रमा कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने र बन्चरेडाँडावरपरका घरको क्षतिपूर्ति दिनुपर्नेलगायत माग महानगर र सहरी विकासले पूरा गर्न सकेका छैनन् ।
के के भएको थियो सहमति ?
– रातिको समयमा फोहोर फाल्ने र त्यसका लागि आवश्यक सडकबत्ती जडान गर्नुपर्ने ।
– सिसडोल तथा बन्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक
महिनाभित्र व्यवस्थापन गर्ने ।
– फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने, दुई महिनाभित्र व्यवस्थापन गर्नुपर्ने ।
– फोहोरका गाडीबाट लिच्चड नचुहिने व्यवस्था गर्ने ।
– फोहोरमैला प्रभावित क्षेत्रको अध्ययन गर्ने र अति प्रभावित क्षेत्र छुट्याउने ।
– सिसडोलको फोहोर पाँच महिनाभित्र क्यापिङ गर्नुपर्ने ।
– प्रभावित क्षेत्रको पहिचान भएपछि जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम गर्ने ।
– फोहोरमैला व्यवस्थापनमा सम्लग्न चालक तथा सहचालक र कर्मचारीहरूको महानगरले
स्वास्थ्य बिमा गर्नुपर्ने र अति जटिल रोग लागेकालाई महानगरवासीसरह सुविधा दिनुपर्ने ।
– प्रभावित क्षेत्रको विकास निर्माणका लागि महानगरले हरेक वर्ष बजेट विनियोजन गर्न‘पर्नेर ।
– फोहोरलाई स्रोतबाट वर्गीकरण गर्नुपर्ने ।
– प्रभावित क्षेत्रमा शिक्षाको गुणस्तरका लागि महानगरले पहल गर्नुपर्ने ।
– प्रभावित क्षेत्रलाई हरियाली पार्नुपर्ने ।
– प्रभावित क्षेत्रमा कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न‘पर्ने र बन्चरेडाँडावरपरका घरको
तीन महिनाभित्र क्षतिपूर्ति दिनुपर्ने ।
– फोहोर बिसर्जन क्षेत्रको बाटो सहज बनाउनुपर्ने ।
– प्रभावित क्षेत्रमा ओहोरदोहोर गर्न वैकल्पिक सडक निर्माणका लागि पहल गर्नुपर्ने ।
निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीयसँग भएका सम्झौता कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
गएको शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उपत्यकाको फोहोर प्रभावित नुवाकोट सिसडोल बञ्चरे क्षेत्रको समस्या समाधानका सम्बन्धमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न र निर्णय कार्यान्वयनका लागि शहरी विकास मन्त्रीको संयोजकत्वमा गठित समितिलाई निर्देशन दिएका हुन् । बञ्चरे डाँडामा फोहोर अव्यवस्थित तरिकाले फालिएको, लिच्चड व्यवस्थापन नगरी खोलामा बगाइएको, स्थानीयलाई अनावश्यक मुद्दा चलाइएको र सम्झौताअनुसार भौतिक एवं स्वास्थ्य शिक्षाका पूर्वाधार निर्माण नगरिएको भन्दै फोहोर प्रभावित नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलित छन् ।
गएको शुक्रबार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, अर्थमन्त्री डा. प्रकाशशरण महत, शहरी विकास मन्त्री सीता गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नुवाकोटका सांसदहरू अर्ज‘ननरसिंह केसी, हितबहादुर तामाङ, विमला सुवेदी, सीता मिजार, बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ, प्रदेश सभा सदस्य राधिका तामाङ, रमेशकुमार महत, रामप्रसाद ढुंगाना, ललितपुर, भक्तपुर, धुनिवेसी, बेलकोटगढी, मध्यपुर ठिमी र ककनी गाउँपालिकाका प्रमुख र विभिन्न पालिका प्रमुख प्रशासकीय अधिकृतहरूसहित छलफल भएको हो ।
प्रधानमन्त्रीले बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको समस्या स्थायी समाधानका गर्ने, स्थानीयलाई लगाइएका मुद्दा तत्काल फिर्ता लिने, लिच्चड व्यवस्थापन गर्ने र पुर्वाधारको काम सुरु गरी स्थानीयसँगका सबै सहमति १० दिनभित्र कार्यान्वयनमा लैजान शहरी विकास मन्त्रीको संयोजकत्वमा गठित १३ सदस्यीय समितिलाई निर्देशन दिएका हुन् ।
ढिकी जाँतो चुलीको पर्यटकीय सम्भावना
![]() |
| ढिकी, जाँतो चुलीमा गएको दसैंमा घुम्न गएका आन्तरिक पर्यटकहरू । तस्बिर : इमेज फाइल |
विदुर । नेपालका धेरै जिल्लामा स्थानीय सरकार पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार, पूर्वाधार निर्माणका कार्यमा जुटिरहेको छ ।
आफ्नो पालिकाभित्र रहेको पर्यटनसँग सम्बन्धित ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक स्थलको खोजीनिती र प्रचार–प्रसारमा लाखौँ बजेट आइराइरहेका छन् ।
नुवाकोटमा पनि ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक रूपमा असंख्य सम्भावना बोकेको क्षेत्र रहेको भए पनि त्यसको खोजीनीति, प्रचार–प्रसार, संरक्षण र त्यहाँसम्म पुग्ने बाटो, सडक र अन्य पूर्वाधारका लागि स्थानीय तहले खासै महत्व दिएको देखिँदैन ।
नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट १५ किलोमिटरको दूरीमा रहेको ढिकी, जाँतो चुलीको बारेमा स्थानीय पालिकाले चासो नदिँदा पर्यटकीय सम्भावनाको क्षेत्र हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको सिमानामा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय सम्भावना रहेको स्थान हुँदाहुँदै पनि स्थानीय निकायको प्राथमिकतामा पर्न नसक्दा ओझेलमा परेको छ ।
विदुर नगरपालिकाको वडा नं. ८, १२, १३ र तारकेश्वर गाउँपालिकाको वडा नं. ६ को शिरमा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको क्षेत्र हो । यस क्षेत्रमा पुग्ने सडकमार्ग, पैदलमार्गका लागि सिँढी र न्यूनतम पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीयले गाउँपालिका र नगरपालिकालाई घचघच्याइरहेका छन् ।
विदुर नगरपालिकाको बट्टार हावाघरबाट चारघरे–भट्टगाउँ हुँदै जामुनेबाट ढिकी, जाँतो, चुली र बट्टार हावाघरबाट मूलाबारी–भदुवार–फिर्केप हुँदै ढिकी, जाँतो र चुली पुग्न सकिन्छ । त्यसैगरी, विदुरबाट गौरीबेंसी–चारघरे–भट्टगाउँ–जामुने हुँदै र त्रिशूलीबजारबाट कोलनी–बगुवामाझीगाउँ–कठेरी–जामुने हुँदै चुली पुग्न सकिन्छ । यी चार स्थानबाट सडकमार्ग हुँदै भट्टगाउँसम्म गाडी, मोटरसाइकल, बस, ट्रकमा सहजै पुग्न सकिन्छ ।
भट्टगाउँबाट चुली पुग्न पाँच किलोमिटर उकालो लागेपछि पुग्न सक्ने स्थानीय सामाजिक अभियन्ता रामप्रसाद भट्टले जानकारी दिए । विदुरबाट चुली पुग्ने दूरी १५ किलोमिटर रहेकोसमेत उनले बताए ।
चैनपुरबाट पन्थगाउँ–भदुवार–फिर्केप हुँदै चुली पुग्न पनि सकिन्छ । झन्डै दुई हजार मिटरको उचाइमा रहेको ढिकी, जाँतो र चुलीको प्रचार–प्रसार र संरक्षणमा एक दशक अघिदेखि स्थानीय व्यवसायी एवम् सामाजिक अभियन्ता बद्रीप्रसाद भट्ट सक्रिय रहेका छन् ।
विदुरबाट सवारीसाधन लिएर आउँदा एक घन्टामा भट्टगाउँ र डेढ घन्टामा चुली पुग्न सकिन्छ । विदुर नगरपालिकाभित्र रहेको उच्च स्थानमध्ये यो चुलीबाट धादिङ, गोरखा, भक्तपुरको नगरकोट, रसुवा, काठमाडौंको रानीवनको डाँडा, चन्द्रागिरी, मकवानपुरको दामन, सिमभञ्ज्याङ, चितवन, तनहुँको बन्दीपुरलगायत १८ वटाभन्दा बढी जिल्ला मौसम सफा भएको समयमा देखिने भएकाले युवा–युवतीको रोजाइमा पर्ने गरेको छ । आजभोलि चुली हेर्न जानेहरूको सङ्ख्या बढिरहेको छ । ड्राई पिकनिक अर्थात् घरबाटै खानेकुरा लिएर जानेहरू दैनिक एक–दुई ग्रुप हुने गरेको छ ।
मौसमानुसार चुलीको वरपर गुराँसको फूल, काफल, ऐंसेलु र टिम्मुरलगायत आयुर्वेदिक औषधिजन्य जडीबुटी प्रशस्त पाइन्छ । यो क्षेत्रको विकास गर्न सके ढिकी, जाँतो, चुली, बट्टार, त्रिशूली, कोलनीलगायतको नयाँ पिकनिक स्थल बन्न सक्नेछ ।
पोके तथा घुमुवा व्यापारीलाई कस्दै उद्योग बाणिज्य संघ
![]() |
| नुवाकोट उद्योग बाणिज्य संघको बैठक |
विदुर । पोके तथा घुमुवा व्यापारीहरू गैरकानूनी रुपमा व्यापार गरी हिडेको भन्दै नुवाकोट उद्योग बाणिज्य संघले उनीहरलाई नियन्त्रणमा लिने निर्णय गरेको छ ।
बिहीबार नुवाकोट उद्योग वाणिज्य संघको बैठकले पोके व्यापारी नियन्त्रणको लागि संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन भएको छ ।
उपसमितिमा जिल्लाका मोबाईल, मदिरा, फेन्सी, प्लास्टिक, मेडिकल, भाडाकुडा, खाद्यान्न, कपडा र होटल गरी नौं वस्तुगतका व्यापारी संगठनका प्रतिनिधिहरू छन् । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, बिल नै जारी नगरी कपडालगायत विभिन्न सामग्री बिक्रीका लागि नुवाकोटका बजार तथा गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रण लिन उपसमिति तयार गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
अनाधिकृत पोके व्यवसायीलाई सम्बन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्नसमेत आग्रह, स्थानीय निकायसँग समन्वय, सिमा नाकामा जानकारीमूलक होर्डिङबोर्ड, डिजीटल तथा भौतिकरुपमा उपभोक्तामा जनचेतना कार्यक्रम गरिने बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।
जिल्लाभर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि प्रभावकारी कदम भने यस अघिनै चालिए तापनि पूर्णरुपमा कार्यन्वयन आउन सकेको थिएन । पोकेव्यापारीहरू मौसम अनुसारका कपडा, भाडाकुडा, तथा अन्य वस्तुहरू घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा सदरमुकाममा चहलपहल समेत कम हुन थालेपछि स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै संघकै अगुवाईमा पोके व्यापारी नियन्त्रण अभियान सञ्चालन गरिने बरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।
अनलाइन फारम निः शुल्क हुँदै
![]() |
| प्रशासनको कार्यस्थल अनुगमन गर्दै जनप्रतिनिधहरु । |
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम जेठ १ गतेबाट निःशुल्क भरिदिने भएको छ । नुवाकोटको विदुर नगरपालिकाले यो सेवा दिन लागेको बताइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच गएको सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको हो ।
आगामी जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिका मार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । त्यसका लागि सामीमा यस अिघनै कार्यरत कर्मचारीहरूलाई प्रयोग गरिने बताइएको छ । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था आफैँ मिलाउने भएको छ । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि अनलाइन आवेदन अनिवार्य गरिएको छ । सोही कारण जिल्लाभरका सेवाग्राहीलाई निःशुल्क सेवा दिनका लागि विदुर नपाले जिम्मेवारी लिन लागेको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी थापाका अनुसार अनलाइन आवेदन फाराम भरेवापत अहिले राहदानीका लागि तीन सय रुपैयाँ र राष्ट्रिय परिचयपत्रका लागि एक सय रुपैयाँ शुल्क लिन प्रशासन कार्यालयले तोकेको शुल्कमा निजी क्षेत्रले सेवा दिँदै आएका छन् ।
‘अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावासयिक सेवा प्रदायकहरूले महँगो शुल्क ( पाँच हजार रुपैयाँसम्म) लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ’, प्रजिअ थापाले भने, ‘विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहजसहित आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।’
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन साता लाग्ने छ । त्यसै गरी पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्र भने सेवाग्राहीले चाहेको समयमै भर्न पाइरहेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सयभन्दा बढी हुने प्रशासनको तथ्याङ्क छ ।
आगामी जेठ १ गतेदेखि प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदनको सेवा लिन पुग्नेलाई विदुरले निःशुल्क फाराम भर्नेसहित विदेश जाँदा अपनाउनुपर्ने प्रक्रिया, जान चाहेको देशको कानुनी सेवा, सीपसहितको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने जनाएको छ ।
विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पु-याउँदै आएको सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।
४० जनाले लिए सीपमूलक तालिम
![]() |
| तालिममा सहभागिहरु |
विदुर । बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश युवा परिषद् जिल्ला युवा समिति नुवाकोटबाट ४० जनाले सीपमूलक तालिम लिएका छन् ।
बेरोजगारलाई आत्मनिर्भर गर्ने बनाउने उदेश्यले समितिले सञ्चालन गरेको तालिमबाट प्रारम्भिक बाल शिक्षा तथा विकास (मन्टेश्वरी)मा २० जना र सिलाई कटाईमा २० जना महिलाले सीपमूलक तालिम प्राप्त गरेका हुन् । समितिले गत वर्षको चैत १८ गतेदेखि वैशाख २५ गतेसम्म ६५ दिन सञ्चालन गरेको तालिममा नुवाकोट, रसुवा र धादिङका महिलाले लाभ लिएको समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
कार्यक्रममा विदुरका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुंगेल, सचेतना केन्द्रका प्रमुख यमकुमार खाती लगायतले तालिमपछि प्रशिक्षार्थीहरूले आफ्नो व्यवहारमा लागू गरी आत्मनिर्भर हुनुपर्ने बताए । नयाँ विधि र प्रविधिको विकाससँगै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षण सिकाईलाई जोड दिदै समितिले मन्टेश्वरी तालिमले गुणस्तरीय शिक्षा प्रदान गर्न र र स्वरोजगार तथा व्यवसायीक प्रबद्र्धनको लागि सिलाई कटाई तालिमको आयोजना गरिएको समितिले जनाएको छ ।
कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षकद्वय सुजना खतिवडा र पार्वती अधिकारीले सहजीकरण गरेको तालिममा पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा मन्टेश्वरी र विदुरको सचेतना केन्द्रमा सिलाई कटाई सञ्चालन भएको थिए ।
दुध बोकेरै मासिक १७ हजार कमाई
– सुनील श्रेष्ठ
विदुर । सदाझैं झिसमिसेमै उठेर गाउँघरबाट दुध संकलन गरी सदरमुकाम विदुरसम्म दुध पु¥र्याउन छन् – खेमप्रसाद भट्ट । विदुर नगरपालिका १२ नं. वडा भट्ट गाउँस्थित किसानहरूका घरबाट दुध संकलन गरेर दूध डेरीसम्म पु¥याउन थालेको १५ वर्ष बितिसकेको छ । ‘विदुरमा दुध पुर्याउन थालेको ११ वर्ष भो’, उनले भने ‘त्यो भन्दा पहिले अरु ठाउँमा प्लास्टिकका बट्टामा दुध राखी दुध पु-याउने गरेको थिएँ ।’
करिब दुई घण्टाभन्दा बढी समय खर्चेर दिनहुँ ४० लिटर दुधको क्यान बोकेर पुर्याउने गर्छन् । घरेलुबाट दुध प्रशोधनको तालिमसमेत लिएका उनले आफै दुधको फ्याट मात्रा चेकजाँच गर्ने, दुध संकलन गर्ने अनि दुध डेरीसम्म पुर्याउने गर्छन् । गाउँघरको दुध पु-याउन उनलाई सहकारी आवश्यक पर्दैन । न त दक्ष प्राविधिक नै । आफ्नो हात जगन्नाथ भनेझैँ हातमा सीप छ उनको । ‘दुधको क्यान बोकेर -महिनाको १५ सयमा पाउने गरेको थिएँ’ उनले भने, ‘अहिले महिनाको १७ हजार कमाउँछु । क्यानमा दुध बोकेरै ५ जनाको परिवार पालेको छु ।’ उनी थप्छन्– ‘घर खर्च धानेको छ । बिहान दुध बोक्छु, दिउँसो घर, खेतबारीमा समय खर्चने गरेको छु । दुधको लागि दुईवटा भैँसी पालेको छु । भैँसीलाई घाँसपात, आहार गर्छु ।’
उनीसँगै दुध पु-याउन अरु दुईजना साथी छन् – महानन्द भट्ट र अर्जुनप्रसाद भट्ट । तीनै जना लस्करै, सुसेल्दै, रमाईलो गर्दै दुधको क्यान बोकेर हिँड्ने गर्छन् । उनीहरूको विश्रामस्थल सिमचौरस्थित झोलुङ्गे पुलमा आएर हुने गर्दछ । विदुर नपा वडा नम्बर ४ र १२ जोड्ने झोलुङ्गे पुलसँगै एकसय मिटरको पक्की पुल बनिरहेको छ, पुलले उनीहरूलाई सहज हुने भएको बताउँछन् ।
‘गाउँमै पसिना बगाएर आएको आम्दानीले म सन्तुष्ट छु’ उनले भने, ‘सदरमुकामसम्म दूध लैजान सवारीसाधन माथि गाउँसम्म मोटर बाटो पुगे पनि कच्ची बाटोले गर्दा वर्षामा मोटर नजाने भएकोले दुध बोकेरै लाने गरेका हौं ।
दुई घर आगलागीमा परे
चोकदे । सूर्यगढी गाउँपालिका ४ दार्मेको तिमिल्सिना टोलमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । स्थानीय हेमप्रसाद तिमिल्सिना र एककृष्ण तिमिल्सिनाको घरमा आगलागी भएको वडाध्यक्ष रामशरण राईले जानकारी दिए ।
उनीहरूको धनमाल, जस्तापाता, लत्ताकपडा र घर निर्माण गर्न राखिएको काठपात समेत आगलागीमा परेको वडाध्यक्ष राईले बताए । आगलागीमा कुनै मानवीय क्षति भने नभएको र क्षतिको विवरण लिने कार्य भएको उनले बताए ।
आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष राईले बताए । नजिकै सामुदायिक वनमा समेत आगलागी भइरहेको उनले बताएका छन् ।
सुभद्रा नेपाल अर्थात् ‘नाफाको जिन्दगी’
ध्रुबकुमार रावल र भोलाराज पौडेल (यो समय डटकम)
म जन्मिएको ठाउँ अहिलेको विदुर नगरपालिका वडा नम्वर ७ (त्यतिबेलाको तुप्चे गाविस) राजनीतिक चेतनाको हिसावले राम्रो ठाउँ थियो । म सानैदेखि विद्यार्थी संगठनमा आवद्ध भएको थिएँ, त्यतिबेला विद्यार्थी संगठन पाँचौ छैठौँ दशौं भन्ने चलन थियो । २०४७/४८ सालतिर म म १०, ११ वर्षको मात्रै थिएँ । त्यतिबेला नै म भित्र थोरै थोरै राजनीतिक चेतना विकास भएको थियो । २०५१ सालमा नेकपा माओवादी पार्टीले विभिन्न अभियान सञ्चालन गरेको थियो । त्यो अभियान सञ्चालन गर्दा हामी अप्रत्यक्ष रुपमा यो अभियानमा जोडिन पुग्यौँ । हाम्रो गाविसमा २०४९ सालमा पनि जनमोर्चाले चुनाव जितेको थियो । कम्युनिष्ट ‘व्याकराउण्ड’ भएको ठाउँमा जन्मिएपछि मलाई पनि यसको छाप प-यो । २०५२ साल मंसिरतिर जस्तो लाग्छ, त्यहाँ एउटा कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा स्व. पोष्टबहादुर बोगटी (दिवाकर) आफैं आउनु भएको थियो । त्यो कार्यक्रममा उहाँले गुरिल्लाको कुरा गर्न‘भयो, मलाई गुरिल्ला कस्तो हुन्छ भनेर अचम्म लाग्यो । उहाँले बोल्दै जाँदा गाउँर्कै दुई चार जना बूढापाकाहरूलाई देखाएर ‘गुरिल्ला’ भनेपछि गुरिल्ला भनेको एउटा विद्रोह गर्न सक्ने, विद्रोही मान्छे, समाजको विकृति विरुद्ध बोल्न सक्ने मान्छेलाई गुरिल्ला भन्दो रहेछ भन्ने बुझेँ । मैले २०५४ सालमा एसएलसी दिएँ, त्यसपछि महिला संगठन, वाइसिएलमा संगठित भएँ । स्व. रवि बोगटी (पोष्टबहादुर बोगटीको छोरा) र म सँगै पढेका थियाँै । रवि २०५६ सालमा बट्टार क्याम्पसबाट गिरफ्तार परे । त्यसपछि खास पढ्ने वातावरण भएन । अनि म माओवादीको पूर्णकालीन कार्यकर्ता बने । पहिले विद्यार्थी संगठनमै काम गर्न थालेँ । त्यतिबेला जनताको घरमा जनतालाई सम्झाएर मागेर खानुपर्ने अवस्था थियो । म त्यतिबेला धादिङको सेमजोङ र मार्पाक भन्ने स्थानमा खटिएको थिएँ । धादिङ जिल्लाको विद्यार्थी सम्मेलनको तयारी हुँदै रहेछ । संगठन निर्माणको लागि हामी विद्यालयहरूमा पुग्थ्यौँ । विहान खान खाने बेलामा हामी मागेर खान सक्दैनथ्यौँ । हामी तीन जना साथी थियौँ । हामीले करिव एक महिना जति विहानको खाना खाएनौँ । विहान दालमोठ चिउराको भरमा हामी संगठन निर्माणमा जुट्यौँ । बेलुकी चाँहि आफूभन्दा सिनियर नेताहरूसँग भेट हुन्थ्यो, उहाँहरूले खाना मागेर हामीलाई खुवाउनुहुन्थ्यो ।
सुरुका वर्षहरूमा म अधिकांश समय धादिङ संगठन निर्माणको काममा जुटेँ । २०५८ सालमा पार्टीले २÷३ वटा ठूला ठूला आक्रमण ग-यो, स्याङ्जा, दाङलगायतका ठाउँमा आक्रमण गरेपछि सरकारले सेना परिचालन ग¥यो । देशमा संकटकाल लाग्यो । म धादिङमै थिएँ । मेरो हात भाँचिएको थियो । जिल्ला अस्पतालहरूमा उपचार गर्न सम्भव भएन । म उपचारको लागि काठमाडौं जानुपर्ने भयो । वीर अस्पतालमा चिनिएका मान्छेहरू भेटिने भएपछि म एउटा क्लिनिकमा उपचार गराउँदै थिएँ । हात फ्याक्चर भएको लामो समय भइसकेकोले प्लाष्टर गर्न नमिल्ने भएपछि ‘एक्सरसाइज’ गर्न‘पर्ने डाक्टरको सुझाव थियो । क्लिनिकमा उपचार गराउने क्रममा पुस २१ गते राति म गिरफ्तारीमा परेँ । नेपाली सेनाले गिरफ्तार गरेर मलाई छाउनी व्यारेकमा राख्यो । यो कुरा मैले पछि थाहा पाएँ । झण्डै दुई महिना हनुमान ढोका र छाउनी व्यारेकमा राख्यो । त्यसपछि मलाई केन्द्रीय कारागारमा राखियो । तीन महिनाको पुर्जी दिइन्थ्यो । तीन महिना पूरा भएपछि फेरी हनुमान ढोका लेराउने गरिन्थ्यो । यो क्रम चलिरहेको थियो । जेल परेको १५ महिना जति भएको थियो, जस्तो लाग्छ, मेरो माइली दिदीले सर्वोच्चमा रिट हाल्नु भएको रहेछ । त्यो सुनुवाई चाँहि २०६० माघको १२ गते हुँदै थियो । त्यही दिन विहान एउटा घटना घट्यो । सशस्त्र प्रहरीको कृष्णमोहन श्रेष्ठको हत्या भयो । त्यसले गर्दा मेरो रिहाइमा विलम्व भयो । त्यसले तरंग पैदा ग¥यो । त्यसको पर्सिपल्ट सर्वोच्चले रिहाइ ग¥यो । २०६० फागुन १ गते छुट्ने भएँ । राजनीतिक व्यक्तिलाई सर्वोच्चले छाडेपनि प्रहरीले फेरी समाउने गर्दथ्यो । त्यतिबेलाका वार्ताकार नै मलाई लिन आउनुभयो । उहाँहरूकै गाडीमा राखेर म जेलबाट छुटेँ । मलाई फेरी हनुमान ढोकामा लैजानको लागि प्रहरीहरू परिचालन भएको थियो । प्रहरीहरूबाट नै मैले आफू फेरी गिरफ्तारीमा पर्न लागेको सुचना पाएर नै वार्ता टोलीलाई नै लिन बोलाएको थिएँ । मेरो भिनाजु नवराज अधिकारी पत्रकार हुनुहुन्थ्योँ, उहाँमार्फत नै वार्ता टोलीलाई सम्पर्क गरेर वार्ताकार वीरेन्द्र झापाली र डिआर लामिछाने नै आएर मलाई छुटाउनुभयो । जेलभित्रका यातना, कष्ट र भोग्नुपरेको पीडाको बारेमा म अहिले बोल्दिन, किनभने देशले उपलब्धी हाँसिल गरेर पनि यतिका परिवर्तन भइसकेका छन् । पूराना विषयहरू खोतलेर यस्तो उस्तो भन्नुमा अहिले सान्र्दभिक हुँदैन पनि । कतिपय साथीहरूले पूराना कुराहरू खोतल्नु पनि हुन्छ । मेरा हात गोडा सहज अवस्थाका छैनन् मेरो तर, पनि म यो विषयमा धेरै बोल्दिन ।
जेलबाट छुटेर म नुवाकोट घर आएँ । चौघडाको एउटा कार्यक्रम थियो । आमाले एक्लै पठाउन मान्नु भएन । मैले बहिनीलाई साथी लिएर गंगटेतर्फ जाँदै थिएँ । त्यहाँ गाडी कुरेर बसिरहेको बेलामा नुवाकोटको प्रहरी टोलीले मलाई गिरफ्तार गर्न खोजेँ । त्यतबेला युद्ध विरामको बेला थियो । जेल जीवनबाट मैले प्रहरी, आर्मीसँग कसरी कुरा गर्न‘पर्छ भन्ने कुरा सिकेको थिए । उनीहरूलाई मैले ठीक छ, तिमीहरूले मलाई गिरफ्तार गर्न त सक्छौँ, तर, अहिले भइरहेको वार्ता प्रक्रिया सबै रोकिन्छ भनेपछि उनीहरू पछि हटे । त्यसपछि म चौघडाको कार्यक्रममा गएको थिएँ । त्यसपछि मलाई नुवाकोटमा बस्न असहज भयो भनेर पार्टीले फेरी धादिङ पठायो । धादिङको भूगोलमा म लामो समयसम्म काम गरेँ । त्यहाँको दुःख, कष्ट, पीडा त्यहाँका युद्धका अनुभवहरू त्यहाँका जनतालाई चिन्ने अवसर पनि दिलायो । त्यहाँको समस्यालाई बुझ्ने अवसर मैले प्राप्त गरेँ । त्यहाँ कार्यरत रहँदा प्रहरीको घेरावन्दीमा पर्ने भाग्नुपर्ने अवस्था धेरै पटक आयो । गिरफ्तारीमा भने परिन । २, ४ वटा जटिल खालको घेरावन्दी तोडेर भाग्न पनि सफल भएको छु । एक पटक मेरो हातको छाला नै लछार्ने गरी गोली लाग्यो । तातो गोलीले डाम मात्रै बस्यो । गोली लागेर घाइतेसमेत पनि भइँन । शान्ति प्रक्रिया सुरु भएपछि ०६३ को मंसिर तिर मलाई पार्टीले आफ्नै जिल्ला जाँदा राम्रो हुन्छ भनेर पठायो । त्यसपछि निरन्तर म नुवाकोटकै पार्टी संगठनमा आवद्ध भएर काम गरिरहेको छु ।
जीवनमा धेरै अविस्मरणीय क्षणहरू मसँग छ । नेपाली सेनाको घेरावन्दीमा पनि मलाई छाडेको घटना जीवनकै महत्वपूर्ण घटना ठान्दछु । गोरखामा एउटा अभियानको क्रममा एउटा हेल्थपोष्टमा औषधि लिनको लागि हामी गएका थियौँ । हेल्थपोष्टमा तल र माथि दुवै तर्फ सशस्त्रसहितको सेनाको टोली रहेछन् । शान्ति नाम गरेको साथी र म दुई जना मात्रै थियौँ । म शौचालय जान खोजेको थिएँ, शौचालय खोज्ने क्रममा तल माथि नै सेना देखेँ । मैले शान्ति दिदी भनेर बोलाएँ । सबैतिर सेना छ भनेर जानकारी गराएँ । उहाँले त्यसो भए यो गल्लीबाट जाऔं भन्नुभयो । गल्लीबाट हामी हिँड्दै थियौँ । सादा पोसाकका तीन जना सैनिकहरू हिँडिरहेका रहेछन् । हामी के गर्ने के गर्ने भयौँ, अगाडी पनि सेना पछाडि पनि सेना ।
हामीलाई हामीहरू हिँडिरहन पर्छ जस्तो लाग्यो । गोली नहान्दासम्म केही गर्न सक्ने अवस्था थिएन । उनीहरू भन्दा अगाडी कसरी जाने भन्ने सोच आयो । सेनासँग बारीको छेउमा भेट भयो । ४ मिटर पर गएपछि हामीले फर्किएर हे¥यौँ । उनीहरू हाँसे । हाँस्ने मान्छेले मार्दैन जस्तो मलाई लाग्यो । हामी दौडिएर जंगलभित्र गयौँ । हामीले पार्टीभित्र पटक पटक सेटमा कुरा गर्न खोज्यौँ तर, हामी गिरफ्तार भएको सुचना पुगेको रहेछ । हामीसँग पार्टीले कुरा गर्न मानेन । पार्टीसँगको हाम्रो सम्पर्क टुट्यो । कारण हामी सेनाको नियन्त्रणमा छाँै भन्ने पार्टीमा हल्ला चलेको रहेछ । हामी दिनभरी जस्तो जंगलमै बस्यौँ । सेनाले किन यस्तो ग-यो भन्ने जिज्ञासा आयो, साँझ परेपछि हामी गाउँ आयौँ । एउटा सहिद परिवार¥ाई सेनाले एक जना शान्ति नाम गरेका र अर्को एक जना माओवादीलाई दुव्लो भएका कारणले गोली हान्न सकेनाँै, तिनीहरू दुई जना बाँचेका छन् भनेर गएको रहेछ । त्यसको भोलीपल्ट मात्रै हामीले यो कुरा थाह पायौँ । द्वन्द्वको चरम उत्कर्षको बेला पनि सेनाभित्र यस्ता दयालु मान्छे हुँदा रहेछन् भनेर मलाई अहिले पनि लागिरहन्छ ।
जनयुद्ध सुरु गर्दा, जनयुद्धताका र अहिलेको माओवादीमा खासै धेरै फरक त छैन । त्यतिबेला जुन अपेक्षा गरिएको थियो, जुन खालको भविष्य देखेका थियौँ, अहिले केही परिमार्जन भएका छन् । कतिपय अपेक्षाहरू पूरा भएका छन्, कतिपय भएका छैनन् । दुई सय वर्षको पूरानो एउटा युगको अन्त भएको छ । हामीले यो भन्दा धेरै सपना देखेका थियौँ । तर, नेपालको संरचना, भूगोल र परिस्थितिले सबै पूरा हुन सकेन भन्ने मलाई लाग्छ । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीका एजेण्डा हुन् । संविधानसभाबाट संविधान निर्माणको कुरा माओवादी कै एजेण्डा हुन् । जनताले जति अपेक्षा गरेका थिए, त्यो सबै चाँहि पूरा हुन सकेन । आमूल परिवर्तनको कुरा हामीले गरेका थियौँ । राजनीतिक हिसावले, आर्थिक हिसावले सामाजिक हिसावले परिवर्तनको कुरा अझै पूरा भएको छैन । देशलाई समृद्ध बनाउने चरणमा अव सबै मिलेर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
संघीयता भर्खरै स्थापित भएको विषय हो । कार्यान्वयन गर्ने पक्षबाट केही कमजोरी भएका कारण केही समस्याहरू उत्पन्न भएका छन् । जनताले जसलाई निर्वाचित गराएर पठाउनु भएको छ । कार्यान्वयन गर्ने पक्षले नै संघीयताको विषयमा नबुझेको हो कि भन्ने मलाई लाग्छ । जनताको अधिकार जनताको घरआँगनमा दिने कुरामा आफू शासकको रुपमा स्थापित भइरहने, जनतालाई शासन व्यवस्था कस्तो दिने भन्दा पनि आफूले शासन गर्नेमा केन्द्रीत हुँदा संघीयता धेरै साना राजाहरू जन्माउने व्यवस्था पो रहेछ भन्ने कुरा परेको छ । संघीयता मुलुकमा स्थापित भइसकेपछि हरेक पालिका, समाज, वस्तीमा हेर्ने हो भने यसले सकारात्मक उर्जा दिएको छ । यसलाई व्यवस्थित र स्थापित गर्न नसक्नु यसका मूल्य मान्यतालाई सहीरुपमा परिचालन गर्न नसक्नु राजनीतिक दलहरूको कमजोरी हो ।
राजनीतिक दलले राजनीति बुझेका, संघीयता बुझेका व्यक्तिलाई स्थापित गराउनुपर्नेमा पैसाको आडमा दलहरूले टिकट दिने र त्यस्तै व्यक्ति निर्वाचित हुँदा संघीयता कार्यान्वयनमा समस्या भएको हो । जनताको अधिकार स्थापित गर्ने सवाल भन्दा आफूले कसरी शासन गर्ने भन्नेमा केन्द्रीत हुनेहरूको जमात बढ्दै जाँदा संघीयता नै बदनाम हुने डर उत्पन्न भएको छ ।
राजनीतिमा लागेर मैले धेरै पाएको छु । राजनीतिमा नलागेको भए तपाईले मलाई चिन्नु हुँदैनथ्यो । आम नागरिकहरूले मलाई चिन्ने अवसर पाउनुहुन्थेन । जनताको घरआँगनमा पुगेर आफूले जानेको कुरा सिकाएँ । अहिलेसम्म पनि जनताको कामको लागि दौडिरहेको छु । व्यक्तिगत रुपमा मैले ठूलो लाभ लिएको छैन । लाभ लिनको लागि म लागेको पनि होइन । व्यक्तिगत रुपमा त म सन्तुष्ट नै छु । व्यक्तिगत रुपमा मैले केही गुमाएको पनि छैन ।
आन्दोलनका क्रममा थुप्रै होनाहार साथीहरू गुमाएको छु । त्यो पीडा मसँग छ । म राजनीतिमा निरन्तर छु । लाभको पदमा जाने लोभ छैन । जनताको सेवामा निरन्तर लागिरहन पाउँ भन्ने मेरो चाहना हो । फलानो मान्छे गलत हो भन्ने कुरा स्थापित भएन भने म यसमै सन्तुष्ट छु ।
माओवादी आन्दोलनकै कुरा गर्ने हो भने युवाहरूको बलमा भएको आन्दोलन हो । म आफैं पनि १७, १८ वर्षको उमेरमा बन्दुक बोक्न तयार भएको मान्छे हुँ । म भन्दा पछाडि को छ माओवादी आन्दोलनमा भनेर भनेर मैले पनि खोजिरहेको छु । राजनीतिक दलहरूले युवाहरूलाई राजनीतिक बैचारिकरुपमा प्रशिक्षित गराउन सकेका छैनन् । के सही हो, के गलत हो भन्ने कुरा युवामाझ पु-याउनै सकिएको छैन । पुँजीवादले यस्तो बनाइदिएको छ, सबै कुरा पैसा मात्रै हो भन्ने कुरा स्थापित भइरहेको छ । विचार के हो ? राजनीति के हो ? भन्ने कुरालाई स्थापित गर्न हामीले सकेनौँ । अहिले केही वैकल्पिक पार्टीहरू आइरहेका छन् यो क्षणिक हो भन्ने मलाई लाग्छ । विचारबाट आएका, ठूला आन्दोलनबाट आएका पार्टीलाई त नेपालको राजनीतिमा टिक्न गाह्रो परिरहेको सन्दर्भमा वैकल्पिकरुपमा उदाएका पार्टी केही समय रहेपनि विस्तारै सेलाउँछन् भन्ने मेरो बुझाई हो । पूराना राजनीतिक दलहरूले नयाँ पुस्तालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ । (राष्ट्रिय भूमि आयोग, नुवाकोटकी सदस्यसमेत रहेकी नेपालसँग कुराकानीमा आधारित)
२०८० साल जेठ १ गतेको सम्पादकीय
अनियन्त्रित भ्रष्टाचारले थिचेको नेपाल
नेपालमा भ्रष्टाचार अनियन्त्रित हुँदा साधारण नागरिकको राज्यमाथिको विश्वास घटेको छ । नवजात लोकतन्त्र उदय भएको एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमा प्रजातन्त्रप्रति आस्था घट्दै गई त्यहाँका नागरिकमा नकारात्मक प्रभाव परिरहेको छ । नेपालको अवस्था त खराबमध्येको खराबमा रहेको छ । यद्यपि नागरिक र लोकतन्त्रका प्रमुख अभिकर्ता राजनीतिक दलले भ्रष्टाचार उन्मूलनका लागि दृढ इच्छाशक्ति प्रदर्शन गर्ने हो भने भ्रष्टाचारलाई उन्मूलन गर्न नसके पनि नियन्त्रण गर्न सकिन्छ । नयाँ नेपालको परिकल्पना साकार पार्ने हो भने भ्रष्टाचारमा शून्य सहिष्णुता चाहिन्छ । यसका लागि सबै नेपाली एक ढिक्का भएर भ्रष्टाचारविरुद्ध सङ्गठित संघर्ष गर्नुको विकल्प छैन । समाज विविधतायुक्त हुन्छ । एउटै प्रकृतिका मानिस सबै हुँदैनन् । सबै मानिसबाट समान व्यवहार, आचरण र चालचलनको अपेक्षा गर्न सकिँदैन र हुँदैन पनि । सदाचारी, भ्रष्टाचारी, क्षमतावान्, क्षमताहीन, समाजसेवी, स्वार्थी आदि सबै खाले मानिस समाजमा भेटिन्छन् । कथनी र करनी एउटै भएका र बोल्ने एउटा गर्ने अर्कै स्वभाव भएका एउटै समाजमा रहेका हुन्छन् । अरूको पीडामा सँगसँगै रुने र अरूको दुःखमा रमाउने दुवै स्वभावका मानिसले समाज बनेको हुन्छ । रामराज्यमा त सीतालाई अन्याय हुन पुगेको थियो भने कलियुगको नेपालमा न्यायै मात्र मिल्छ भन्ने अपेक्षा सायदै कसैले गरेको होला । राजनीतिक दल यही समाजबाट निर्मित हुन्छन् । समाजको प्रतिरूप दलहरूमा देखिनु कुनै अनौठो कुरा होइन । देश र समाजको नितान्त सेवा गर्दछु भन्ने भावनाका साथ राजनीतिमा समाहित भएका पनि दलहरूमा छन् र राजनीतिका माध्यमबाट सत्तामा पुगेर शक्ति आर्जन गर्दै सत्ता शक्तिका माध्यमबाट आफ्ना पनाति पुस्तासम्मलाई पुग्ने गरी सम्पत्ति जोड्ने उद्देश्यले सव्रिmय भएका पनि त्यत्तिकै संख्यामा छन् । सच्चा राजनीतिज्ञ सत्तामा पुगे भने जनताको भाग्य ठहरिन्छ । दुराशय भावनाका साथ राजनीतिमा होमिएकाको हालीमुहाली हुँदा देश र जनता दुवैको दुर्भाग्यले डेरा जमाउन पुग्दछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर मुलुक अहिले व्यापक हलचलको अवस्थामा छ । विशेष गरी देश र जनताको जिम्मेवारी लिएर बसेका उच्चपदस्थ पदाधिकारीमाथि नै अभियोग लागेका कारण शासकीय व्यवस्थादेखि लिएर पुराना दलका आचरणका सम्बन्धमा विविध प्रश्नको ओइरो लागेको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा देशै चलाउनुपर्ने उपप्रधानमन्त्री, मुलुककै शान्तिसुरक्षा र सुशासनको प्रत्याभूति दिलाउनुपर्ने गृहमन्त्रीका साथै गृहसचिव जस्तो संवेदनशील पदाधिकारी मुछिएपछि गणतन्त्रप्रति अनुदारहरूले सल्बलाउने मौका पनि पाएका छन् । संघीयताका विरुद्धमा मात्रै बोल्दै आएकासमेत गणतन्त्रलाई दोषारोपण गर्न उक्सिएको पाइन्छ । सोच्नुपर्ने कुरा के हो भने यो प्रकृतिका घटना सम्भव हुने भनेको गणतन्त्रमै हो । अवसर पाउँदा भ्रष्टाचार गर्नेको संख्या बढ्न सक्ने व्यवस्था पनि गणतन्त्र नै हो र प्रमाण पुग्दा जोसुकै होस्, कारबाहीको दायरामा आउन बाध्य हुने प्रणाली पनि गणतान्त्रिक प्रणाली नै हो । शासकहरू पूर्ण रूपमा लोकतान्त्रिक आचरणमा प्रतिबद्ध नहुँदासम्म सुशासनको प्रत्याभूति दिन चुक्ने वातावरण यही स्वतन्त्र व्यवस्थामा मिल्छ भने चुकेपछि कानुनको कठघरामा शक्तिशाली व्यक्ति भए पनि बाँधिनुपर्ने अवस्था गणतन्त्रमा नै सम्भव हुन सक्छ ।
काण्डमा सम्लग्नहरू विभिन्न षड्यन्त्रका माध्यमबाट भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई प्रभावित गर्न प्रयत्न गर्ने नै भए, भ्रष्ट जेल जानै पर्छ भन्ने मानसिकता बोकेकाले पनि बुझेर वा नबुझी विभिन्न विचार प्रस्तुत गर्दा नकारात्मक प्रभाव पर्न जाने खतरा पनि देखिएको छ । त्यसैले सबै संवेदनशील हुनुपर्ने अवस्था अहिलेको हो । अहिलेको अवस्था भनेको भ्रष्टाचारका विरुद्ध कदम चालेका प्रधानमन्त्रीलाई अझ बढी सहयोग गर्नुपर्ने समय हो । कारबाहीको साँचो हातमा बोकेर बसेका गृहमन्त्रीको हौसला बढाउँदै निर्दोष नपरोस् र दोषी नउम्कियोस् भन्ने सुझावका साथ अझ बढी प्रेरित गर्ने समय हो यो । अनुसन्धानमा खटिएका प्रहरीलाई विभिन्न खाले धम्की आउने सम्भावनालाई नकार्न सकिँदैन । ती प्रहरीको पछाडि आमजनता उभिएका छन् भन्ने अनुभूति दिलाउनुपर्ने दायित्व आमनागरिकको हो । मैले समर्थन गरेको पार्टीको नेता मुछिने भयो भनेर गलत कदम समाजका सदस्यले चाले भने आफ्नो खुट्टामा आफैँले बञ्चरो हाने सिवाय केही हुँदैन ।
Monday, May 08, 2023
१९ विद्यालयको कक्षा घटुवा
![]() |
| बेलकोट |
बाघखोर । विद्यार्थीको संख्या विवरण गतल तयार गरेर धेरै विद्यार्थीलाई पढाई रहेको प्रतिवेदन तयार गर्ने नुवाकोटको १९ वटा सामुदायिक विद्यालयहरूको कक्षा घटुवा भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका १९ सामुदायिक विद्यालयको कक्षा घटुवा भएको हो । उक्त कारबाहीलाई स्थानीय सरकारले तह समायोजन नाम दिइएको छ ।
शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी संख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।
बेलकोटगढी नगरपालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म) स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी संख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । ‘विद्यालयले विद्यार्थी संख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो संख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो’, नगरप्रमुख गुरुङले भने, ‘विद्यार्थी कम भएका विद्यालयले अनुगमनमा पुगेका कार्यदलका पदाधिकारीलाई घरमा चाडपर्व परेको, अभिभावक घरायसी काममा व्यस्त भएको लगायतका बहाना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी संख्याअनुसार न्यून पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको हो ।’
कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश बालकक्षादेखि कक्षा १ सम्म पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ । बेलकोटगढी–१२ मा रहेको चण्डीदेवी माविमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एक सय १६ विद्यार्थी देखाए पनि नियमित उपस्थिति र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले उक्त विद्यालयलाई बालविकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ ।
सो विद्यालयसहित विभिन्न १९ विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगरउपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिएका छन् ।
कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु-याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनः विचार गरिनेछ । ‘विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन्’, उपप्रमुख दाहालले भने । बेलकोटगढी नगरपालिकाभित्र हाल १९ माध्यमिकसहित ५४ सामुदायिक विद्यालय सञ्चालित छन् । पालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको बताएका छन् ।
सडकमा ७ करोड ६२ लाख निश्चित
![]() |
| सडकको लागि थपिएको बजेट । |
विदुर । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुर्जे–छहरे सडक आयोजनालाई ७ करोड ६२ लाख स्रोत निश्चित भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुर्जे सडक आयोजनाका लागि सात करोड ६२ लाख रुपैयाँ बराबर स्रोत सहमति दिइएको हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करोड रुपैयाँ भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’मा उल्लेख छ । स्रोत आउने आसमा उक्त सडक खण्डमा सडक डिभिजन नुवाकोटमार्फत उधारो ठेक्का लगाई यसअघि काम सुरु भएको छ ।
उक्त योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले नुवाकोटसँगै चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर गरेको छ । गुर्जे–छहरे सडकलाई ७ करोड ६२ लाख सहमति दिइए पनि ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम जारी छ । जसअनुसार नुवाकोट शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीसँग गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर तथा सूचना अधिकारी सुमन बस्नेतले बताए । उक्त खण्डमा ७ करोड १३ लाख स्टिमेट गरिए पनि बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको हो । बस्नेतका अनुसार चौडा नपुगेको ठाउँमा अधिकतम ७ मिटर पु¥याउने, गुणस्तरीय कालोपत्रेको काम हुनेछ ।
चैत १३ गते ३ किमि सडकको लागि ६ करोड ठेक्का सम्झौता भएको हो भने उक्त रकमको लागि सडक डिभिजन कार्यालयले संघ र प्रदेशको निर्वाचनअघि नै फाइल तयार पारी भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरेको थियो । निर्वाचनपछि टेन्डर आह्वान गरिएको थियो । प्राविधिक सहायक सुपरभाइजर विशाल खड्काले थापागाउँ क्षेत्रमा कटिङ र नाली बनाउने काम भइरहेको बताए । जेठभरिमा पिचको काम सकाउने लक्ष्यसहित अहिले मेसिनरी वाल लगाउने, नाली बनाउने काम भइरहेको छ । डोजर, टिपरसहित झन्डै ५० जना सडक मजदुर खटिएका छन् ।
चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत आवको २करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटर मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।
नुवाकोट प्रवेशको छोटो मार्ग टोखा–छहरे सडकखण्ड काठमाडौं सामाखुसीबाट नुवाकोट छहरेसम्मको दुरी २९ किलोमिटर रहेको छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै पाँच वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो ।
तर बर्खायाममा नागरिकले कष्ट पाउँथे । नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपथ्र्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।
तर, पछिल्लो करिब ४ वर्षको अवधिमा भने यो सडकले विस्तारै काँचुली फेर्दै गरेको आभाष हुन्छ । काठमाडौंतर्फ झोर र जगात क्षेत्रको कालोपत्रे तथा ढलानसहित पक्की सडक बनिसकेको छ । गुर्जेभञ्ज्याङदेखि गुरुङगाउँ, थानाभञ्ज्याङ, चाँपबोट क्षेत्रसम्मै कहींकतैबाहेक सडक बिनाअवरोध यातायात सञ्चालनको लागि बर्खायाममा पनि सहज बनेको छ । अब करिब ५ किलोमिटर जति स्तरोन्तति आफ्नो कार्यकालमा सकाउने लक्ष्य रहेको उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको भनाइ छ ।
सांसद तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भ्यू रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेशबाट बजेट छुट्याउन सफल भएका छन् । सांसद तामाङ, बागमती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जेको सार्वजनिक शौचालयदेखि गुरुङगाउँ, थानाभन्ज्याङ, सिस्नेरी भीर कटिङ हुँदै चाँपबोटसम्म आर्थिक वर्ष ०७७/७८ मा १० करोड र सडक बोर्डबाट ५ करोड बजेट परेको थियो ।
१० करोड बजेट प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसबमोजिम योजनामा खर्च गर्न मिल्ने सरकारको नीतिअनुसार सांसद तामाङले सो सडक खण्ड निर्माणका लागि एकमुष्ठ सिफारिस गरेका थिए । अन्य निर्वाचन क्षेत्रका सांसदले भने उक्त १० करोड रकम ८/१० वटा योजनामा कनिक छरेझै गरिएको पाइएको छ ।
त्यस्तै, थप बजेट आवश्यक परेको सिस्नेरी भीर कटिङलगायतका लागि सडक बोर्डबाट सांसद तामाङलगायतको पहलमा १० करोड रुपैयाँ पारिएको थियो । जसको काम सम्पन्न भइसकेको छ । २०७८/७९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ७ करोड रहेको बजेटलाई नयाँ अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त सडकखण्डलाई १० करोड बजेट पु¥याइदिएका हुन् । चालु आर्थिक वर्ष २०७९/८० मा पनि ६ करोड रुपैयाँ परेको थियो । जसको ठेक्का सम्झौतापछि कार्यान्वयन जारी छ ।


























