Tuesday, September 12, 2023

छहरे–टोखा सुरुङमार्ग बनाउन चीन तयार छ : महत

मन्त्री महत

विदुर । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छहरे–टोखा सुरुङ निर्माणलाई प्राथमिकता दिइएको बताएका छन् । चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीन सरकारसँग सुरुङ मार्गको प्रस्ताव अर्थमन्त्रालयले राखेको पनि अर्थमन्त्री महतले बताए ।
    शनिबार विदुरमा नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित तिज विशेष कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । मन्त्री महतले सुरुङ मार्गको विषयले लामो समय चर्चा पाएको भन्दै थोरै बजेटले निर्माण सम्पन्न नहुने बताए । एक अर्बको बजेट राखें । यद्यपि यो ४०/५० अर्ब लाग्ने आयोजना हो । हाम्रो अहिलेको प्रयासले पुग्दैन । त्यसो हुनाले प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीन सरकारसँग के–के सहयोग लिने भन्ने कुरा गर्दा सुरुङ मार्ग निर्माण चाहिँ चीन सरकारलाई सहयोग प्रस्ताव राखेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ,’ अर्थमन्त्री महतले भने ।
    यस्तै उनले सुरुङ निर्माणका लागि केही धैर्य गर्न जिल्लावासीलाई आग्रह गरेका थिए । सुरुङ निर्माण गर्न डीपीआर बनाउन केही समय लाग्ने पनि उनको भनाइ थियो । ‘सुरुङ मार्ग धेरै जटिल विषय हो । त्यसमा यथेष्ठ ध्यान दिनुपर्ने हुन्छ । त्यो प्रारम्भिक अध्ययन सकेर वातावरणीय अध्ययन आज÷भोलि नै पूरा हुँदैछ । त्यसमा सम्बन्धित निकायलाई लगातार भनिराखेको छु,’ मन्त्री महतले भने । वातावरणीय प्रतिवेदन दिएपछि पूर्ण डीपीआर गर्न पनि चीन सरकार गर्न तयार रहेको उनले बताए । ‘हामी गर्छौं । यसलाई अगाडि बढाउँछौं भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ । तपाईहरू केही समय धैर्य गर्नुस् । यो आयोजना अवश्य अगाडि बढ्छ,’ अर्थमन्त्री डा. महतले भने ।
    सुरुङमार्ग बनेपछि काठमाडौं–नुवाकोटको दूरी छोटिएर नुवाकोटको कायपलट हुने पनि उनले आश्वासन दिएका थिए । त्रिशुली–बालाजु सडक लामो समयसम्म नबन्दा त्यहाँका जनताले दुःख पाएको भन्दै मन्त्री महतले ठेक्कामा समस्या आएको र अब चाँडै कार्यान्वयन हुने बताएका थिए ।
    यस्तै गंगटे–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडकलाई यथेष्ट बजेट राखिएको पनि उनले जानकारी दिए । तर निर्वाचन क्षेत्र १ मा मात्रै बजेट केन्द्रित गरेको आरोपको उनले खण्डन गरेका थिए ।
    कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङले तिज पर्वले दिदिवहिनीहरूलाई  भेटघाटको वातावरण निर्माण गर्नुको साथै सबैमा भावनात्मक सम्बन्ध गास्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले सरकारले गरेका राम्रो कामको सबैले प्रचारप्रसार गर्नुपर्ने बताए । उनले जिल्लाको समग्र विकासमा सबैको सामुहिक प्रयास आवश्यकता रहेको उल्लेख गरेका छन् ।

नुवाकोट प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’

प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधवारबाट औपचारिक रुपमा ‘स्मार्ट कन्ट्रोल रुम’को सुरुवात गरेको छ ।
    नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ । स्मार्ट कन्ट्रोल रुमको बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
    कन्ट्रोल रुमको उद्घाटन समारोहमा बोल्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्मुख प्रहरी उपरीक्षक रमेश पण्डितले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै डिजिटल रुपमै घटनाको जानकारी लगत र रिपोर्टको लागि पहिलो चरणमा आन्तरिक स्मार्ट कन्ट्रोल रुम सञ्चालन गरिएको बताए ।
    सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने तथा एसएमएसबाट समेत घटनाबारे जानकारी गराई तत्काल घटनास्थल पुग्न यस सम्बन्धी एप पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । जसका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको उनले बताए ।
    स्मार्ट कन्ट्रोल रुममा तत्कालका लागि २/२ थान फोन, कम्प्युटर र सिसिटिभी क्यामेरा निगरानी मनिटर गरी सेवाको सुरुवात गरिएको छ । कन्ट्रोल रुम स्थापनार्थ विदुर नगरपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका लगायतले सहयोग गरेका छन् ।
    बागमती प्रदेशका प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको बारेमा जानकारी दिँदै सूचना प्रविधिका कारण पछाडी परेको र नागरिकले घटनाको बारेमा जानकारी गराए पनि समयमा प्रहरी आउँदैन भन्ने गुनासो समाधान गर्न स्मार्ट कन्ट्रोलको अवधारणा सहयोगी हुने विश्वास व्यक्त गरे । मकवानपुरमा सञ्चालनमा ल्याई सकेको छ भने काभ्रे र चितवनमा यसपछि सञ्चालनमा ल्याईने केसीले जानकारी दिए ।

गोसाइँकुण्ड जानेको संख्या ४० प्रतिशतले घट्यो

रसुवा । गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ ।
    युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।
    गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत आठ लाख २४ हजार सात सय संकलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार २४७ भक्तजन गोसाइँकुण्ड गएको आफ्नो ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो । प्रतिव्यक्ति एक सय रुपैयाँ लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट संकलन उक्त शुल्क रकम राजश्व खातामा दाखिला भइसकेको छ ।
    तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार संघलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले जानकारी दिए । लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी संख्यामा कमी आएको उनले बताए ।
    यसै बीच, गोसाइँकुण्डमा यस पटकको जनैपूर्णिमामा मेला भर्न गएको भक्तजनहरूले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ संकलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिएका छन् ।
    उनले भेटी रकम गणना सम्पन्न भएको र  रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत संकलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे ल्याई गणना सम्पन्न भएको थियो ।

तस्बिर समाचार

रसुवाको गोसाइँकुण्डमा यस पटकको जनैपूर्णिमामा मेला भर्न गएको भक्तजनहरूले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ संकलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा भक्तजनले चढाएको भेटी गणना गर्न जिल्ला सदरमुकाम धुञ्चे ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय धुञ्चेमा दुई दिन लगाएर भेटी गणना गरिएको थियो ।


तस्करीको सञ्जालमा रसुवागढी नाका

 एक किलो सुन सहित रसुवा नाकाट पक्राउ परेका महिला

रसुवा । नेपालको चीनसँगको व्यावसायिक कारोबार भइरहेकोे रसुवागढी नाका सञ्चालनमा आएसँगै अवैध कारोबार धन्दासमेत मौलाइरहेको पुष्टि भएको छ ।
    रसुवागढी नाकाबाट पछिल्लो समय सुन तस्करी गर्ने गिरोहका लागि सुगममार्ग बनेको छ । भदौको दुई हप्तामा मात्र यो नाकाबाट भन्सार छली गरेर ल्याएको तीन केजी सुन बरामद भएको छ ।
    भन्सार छली गरेर ल्याएको सुन बरामद भएसँगै यो नाका त्रिभुवन विमानस्थलपछि सुन नेपाल भित्र्याउन प्रयोग हुने नाकाको रूपमा रहेको प्रमाणित भएको छ । दुई हप्तामा तीन केजी सुन बरामद भएपछि सुरक्षा सतर्कता कडा पारिएको छ । त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडा भएपछि सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार भइरहेको छ ।
    त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बाहिरिएको विषयमा छानबिनको चर्चा सेलाउन नपाउँदै चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीबाट भित्रिएको दुई किलो सुनसहित भदौ २ गते शनिबार दुईजनालाई प्रहरीले रसुवाको स्याफ्रबेँसीमा पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेँसीबाट दुई किलो सुनसहित दुईजनालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि बरामद सामानसहित कारबाहीका लागि राजस्व विभागमा पठाएको छ ।
    रसुवागढी नाकासँगैको टिमुरेबजारबाट स्याफ्रुबेँसीतर्फ आउँदै गरेका पैदलयात्री सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– ५ पोखरी बस्ने वर्ष २४ का सुदीप शेर्पालाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा शेर्पाले लगाएको सेतो रङको टी–सर्टभित्रको कालो रङको चेस्टगार्डको भित्री खल्तीमा दुई किलो सुन लुकाइछिपाई ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ बगम स्थायी घर भई हाल टिमुरेमा बसोवास गर्दै आएका वर्ष ३० का फुसाङ्बु शेर्पाले उक्त पहेँलो धातु दिएको भन्ने जानकारी पाएपछि फुसाङ्बु शेर्पालाई पक्राउ गरी दुवैलाई राजस्व विभागमा पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । गएको शनिबार बेलुका ६ बजेतिर पासाङल्हामु राजमार्ग अन्र्तगत स्याफ्रुबेँसीबाट नियमित चेकजाँचको क्रममा दुई किलो सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।
    स्याफ्रुबेँसीमा सुन बरामद भएको दुई हप्तापछि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ३ की ४१ वर्षीया पाछेमु तामाङ गुरुङ एक किलो सुनसहित भदौ १६ गते शनिबार चेकजाँचको क्रममा पक्राउ परेकी छिन् । गएको शनिबार रसुवागढीको मितेरीपुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमनकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सारले संयुक्त चेकजाँच गर्दा उनी पक्राउ परेकी हुन् ।
    चीनको भू–भागबाट नेपालतर्फ पैदल आउँदै गरेकी उक्त महिलाको साथबाट लुकाइछिपाई चारवटा टुक्रा पारी ल्याएको सुन फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए । केही समयदेखि केरुङ नाकाबाट सुन तस्करी कम भएको भनिए पनि चिनियाँ पक्षले रसुवागढी नाकाबाट आयात–निर्यात र रसुवावासीलाई आवत–जावतमा खुला गरेपछि सुन तस्करले फेरि यो नाका प्रयोग गर्न थालेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङले बताए ।

एमालेका विरुद्ध स्टन्टबाजी नगर : पोखरेल

पत्रकार सम्मेलन

बट्टार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ताको डोली डुलाउनेहरूले एमालेका विरुद्ध कुनै पनि स्टन्टबाजी नगरे हुन्छ भनेका छन् ।
    सरकारले भ्रष्टाचारका काण्डको छानबिन र कारबाही गर्नेभन्दा पनि भ्रष्टाचारमा म्ंलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको उनले बताए । झापाको गिरीबन्धु टी–स्टेटलगायत गोकर्ण फरेस्ट रिसोर्टलगायत एमाले सरकारको पालामा भएका नीतिगत निर्णयलाई छानबिन गर्न उनले चुनौती दिए । एमाले नुवाकोटको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथिको रूपमा नुवाकोट आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले बुधबार पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
    उनले एमालेको अडानपछि सरकार सुन काण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरीय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्य–तथ्य छानबिन गर्न पार्टीले सहयोग गर्ने जानकारी दिए । बुधबार र बिहीबार हुने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले संगठन सुदृढीकरणका लागि प्रशिक्षण भेला गरिरहेकाले सुदृढ एमालेले नै राष्ट्रियताको जगेर्ना र जनजीविकाको सवालमा खरो ढंगले काम गर्न सक्ने बताए । सो कार्यक्रममा प्रशिक्षणको विषयवस्तुबारे जानकारी गराउँदै एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नुवाकोटमा एमालेको गतिविधिको जानकारी गराएका छन् ।
    प्रशिक्षण कार्यक्रममा सूचना प्रविधि र सञ्चारबारे वाइपी आचार्य, अर्थ राजनीतिबारे एमालेका स्थायी समिति सदस्य एवम् केन्द्रीय लेखा समितिका संयोजक पुष्पराज कँडेल, ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा र परिकल्पनाबारे बागमती प्रदेश कमिटीका इन्चार्ज स्थायी कमिटी सदस्य गुरु बराल, जबजको विकास, दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार विषय–वस्तुमा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पहिलो दिन बुधबार प्रशिक्षण दिएका थिए ।
    एमाले नुवाकोटका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले दिएको जानकारीअनुसार दोस्रो दिनको प्रशिक्षणमा केन्द्रीय स्कुल विभागका रामशरण प्याकुरेलले प्रशिक्षण, सीप, कला र शैली, पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रीय स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले माक्र्सवादी विश्व दृष्टिकोण, बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जनसङ्गठन र पार्टीबीचको अन्तरसम्बन्ध, पूर्वपोलिटब्युरो सदस्य एवम् पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयन र पार्टीका उपमहासचिव विष्णु रिमालले राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन र मिसन २०८४ को विषयवस्तुमा प्रशिक्षण दिएका छन् ।

सहमहामनत्रीको भाषण सुनेपछि भोक्किएका थिए सापकोटा

रिपोर्टर्स क्लबमा सहमहामन्त्री महेन्द्र यादव भाषण सुन्दै गरेका सापकोटा (कोलो टोपीमा)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा भदानै २० गते बुधवार खुकुरी प्रहार हुनुभन्दा अघि सोही कार्यक्रममा आक्रमणकारी सहभागि थिए । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो ।
    पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणबारे धारणा राखेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । पक्राउ परेका सापकोटले आफूलाई अभियन्ता भन्ने गरेका छन् । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । जहाँ उनको उपचार भइरहेको छ ।
    यसै बीच, नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ– ‘घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
    कांग्रेसले रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको पनि जानकारी गराएको छ । उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

रक्त सञ्चार कोष स्थापनामा एक करोड

रक्त सञ्चार कोष स्थापना

विदुर । नेपाल रेडक्रस सोसाइटीको ५१ औँ स्थापना दिवसको अवसरमा नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखाले गएको मंगलबार रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ ।
    रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला शाखाबाट सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन तथा व्यवस्थापनका साथै निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापनार्थ रकम संकलन अभियान शुभारम्भ गरेको हो । ‘मनैदेखि सेवा’ नाराका साथ गएको मंगलबार देशव्यापी रेडक्रस दिवस मनाइएको छ । उक्त कार्यक्रममा जिल्ला शाखाका सभापति हरि श्रेष्ठले जिल्लामा सञ्चालित नियमित गतिविधिबारे जानकारी गराउँदै निःशुल्क रगत अभियानको सम्बन्धमा प्रस्ट्याएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आतिथ्यतामा सम्पन्न रेडक्रस स्थापना दिवसमा उपस्थित म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, नागरिक समाजका अध्यक्ष बद्री तिवारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, रक्तदाता मछिन्द्रनरसिंह प्याकुरेल, रेडक्रस नुवाकोटका पूर्वसभापति रामप्रसाद जोशी, रेडक्रस नुवाकोटका कार्यसमिति सदस्य विनोद पाठकलगायतले एक करोड कोष अभियानलाई साथ र सहयोग रहेको प्रतिबद्धता जनाएका थिए ।
    प्रमुख जिल्ला अधिकारी पौडेलले मानवीय सेवामा समर्पित रेडक्रसको हरेक अभियानमा सहयोग गर्दै आइरहेको बताउँदै निःशुल्क रगत अभियानका लागि स्थापना गरिएको एक करोडको कोषका लागि सेवा गर्ने र सेवा लिनलाई पनि समेट्न सुझाव दिए । सो अवसरमा रेडक्रसले जिल्ला अस्पताल त्रिशूलीका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितलाई अक्सिजन, कन्सेट्रेटर एक सेटसहित सर्जिकल माक्स, पिपिई सेट, ब्ल्याङकेटलगायत दुई कार्ट‘न मेडिकल सामग्री हस्तान्तरण गरेको थियो । नुवाकोटमा मानवीय सेवाका लागि क्रियाशील रेडक्रसको एक करोडको कोष स्थापनाको अनुमानित स्रोत जुटाउने खाका कोषाध्यक्ष नवराज सुवेदीले प्रस्तुत गर्दै सहयोगका लागि अपिल गरेका थिए । कोषको ब्याजले सेवा केन्द्रको खर्च व्यवस्थापन भई बिरामीलाई नियमित निःशुल्क रगत उपलब्ध हुने समेत उनले बताए ।
    कार्यक्रममा शाखाका प्रमुख कर्मचारी समुन्द्र अधिकारीले हालसम्मको रेडक्रस गतिविधिको विस्तृत जानकारी गराएका थिए । २०३४ साल असोज १८ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखामा हाल २३ उपशाखा, २४१ जुनियर रेडक्रस सर्कल, चारवटा युवा रेडक्रस सर्कल, आठजना यशस्कर सदस्य, ४१ जना विशिष्ट सदस्य र दुई हजार सात सय ६८ आजीवन सदस्य रहेका छन् । नुवाकोट रेडक्रसको १३ वटा विषयगत समिति क्रियाशील रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले २४ सैं घण्टा रक्तदान तथा रक्ततत्व सेवा दिँदै नियमित रक्तदान शिविर सञ्चालन गरिरहेको छ । रक्त सञ्चार सेवा केन्द्रले नुवाकोट, रसुवा तथा धादिङ जिल्लाका बिरामी तथा घाइतेका लागि सेवा प्रवाह गरिरहेको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा एक हजार पाँच सय ९८ जना व्यक्तिहरूबाट रगत संकलन गरी सेवा प्रवाह गरेको थियो ।
    केन्द्रले नुवाकोट र रसुवाका पालिकासँगको सम्झौताअनुसार पालिकाभित्रका नागरिकलाई रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराइरहेको छ । जिल्ला शाखासहित पञ्चकन्या, दुप्चेश्वर र झिल्टुङ उपशाखामा चारवटा एम्बुलेन्स जिल्लामा सञ्चालन भइरहेको छ । रेडक्रसले जिल्लामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमार्फत २०६० सालदेखि सहकार्यमा स्थापना गरेको सामुदायिक आँखा केन्द्रबाट सेवा दिइरहेको छ । नेपाल रेडक्रस सोसाइटीले जिल्लामा विभिन्न विपत्बाट प्रभावित भएका परिवारका लागि गैरखाद्य सामग्री वितरण गर्दै आइरहेको छ ।

ककनी हाइटमा चिया रोपण

मन्त्रीलाई मायाको चिनो प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष

रानीपौवा । ककनी गाउँपालिकास्थीत ककनी हाइटमा चिया रोपण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको हो । ककनी गाउँपालिका र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै ककनी हाइटमा चिया रोपण कार्य गरिएको गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।
    कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङ, सशस्त्र प्रहरी बल ककनी तालिम केन्द्रका प्रमुख कृष्ण ढकाल, पर्वतारोहण संघका राजेन्द्र लामा, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीयको उपस्थिति  थियो ।

दलित बस्तीका घर–घरमै धारा

घर–घरमै धारा

तारुका । तारकेश्वर गाउँपालिका वडा नं. ३ तारुका बदेली गाउँको दलितबस्तीमा पिउने पानी योजना सञ्चालन भएको छ । यसबाट दलित समुदायमा पानीको सुविधा पुगेको छ ।
    बदेलीका ५० घरधुरी दलित समुदायका बस्तीलाई लक्ष्यित गरी १० लाख रुपैयाँको लागतमा गाउँपालिकाले निर्माण गरेको कामीधारा खानेपानी आयोजनाको निर्माण कार्य पूरा भएसँगै दलित समुदायलाई पिउने पानीको सुविधा पुगेको वडाध्यक्ष सुर्यमान श्रेष्ठको भनाइ छ । स्थानीय मिजार समुदायका प्रत्येक घरमा पुगेको धाराबाट दलित समुदायका २५० जनालाई प्रत्यक्ष सुविधा पुगेको छ । कामीधारा खानेपानी आयोजनाको तारकेश्वर गापा  अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरे । उनले दलित बस्तीमा अन्य सेवा सुविधा पु¥याउने कार्यका लागि पनि तारकेश्वर गापा क्रियाशील भइरहेको प्रतिवद्धता जनाए ।

तारकेश्वर गाउँपालिकामा स्वास्थ्य केन्द्र विस्तार हुँदै

अन्तरक्रिया कार्यक्रम

तारकेश्वर । तारकेश्वर गाउँपालिकामा तीन वटा स्वास्थ्य केन्द्र विस्तार हुने भएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिकाभित्र तत्काल तीन वटा स्वास्थ्य केन्द्र विस्तार गर्ने बताए । गत साता आयोजित पालिकास्तरीय वार्षिक समीक्षा तथा गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले वडा नम्बर १ को लर्केप, वडा नम्बर २ को माझीगाउँ र वडा नम्बर ६ को डाँडाखर्कमा स्वास्थ्य केन्द्र विस्तार गर्ने बताए ।
    स्वास्थ्यको गुणस्तर बढाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लगनशील भएर जनगुनासो नआउने गरी काम गर्न गाउँपालिका अध्यक्ष अधिकारीले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । उनले कामको गुणस्तरमा सम्झौता नगर्ने बताउँदै गुण र दोषका आधारमा मूल्यांकन गरी प्रोत्साहन र कारबाहीको प्रक्रिया निरन्तर अघि बढाउने उल्लेख गरे ।
    पालिका अध्यक्ष अधिकारीले अत्यावश्यकीय सेवा भएकाले सकेसम्म बिदा नबस्न, बस्नै परे अनिवार्य गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्वीकृत गराउन पनि उनले निर्देशन दिए । उनले खाली भएका पदहरूमा तुरुन्तै स्वास्थ्यकर्मीको पदपूर्ति गर्न स्वास्थ्य शाखालाई निर्देशन समेत दिएका छन । स्वास्थ्य सेवामा स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले निर्धक्क भएर गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

तारकेश्वरका शिक्षकहरू आन्दोलनमा

शिक्षकहरू आन्दोलनमा

दाङसिङ । गाउँपालिकाले गरेको सरुवा बदर गर्न‘पर्ने शिक्षकहरूको माग छ । आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको नाममा नियमविपरित र व्यक्तिगत प्रतिशोध साँधेको भन्दै शिक्षकहरू आन्दोलित भएका छन् । पालिकाभरिका शिक्षकहरूले शिक्षक संघर्ष समिति गठन गरेर पालिका कार्यालयमा धर्ना दिएका छन् ।
    गाउँपालिकाले गरेको सरुवा बदर गर्न‘पर्ने उनीहरूको माग छ । आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन् । गाउँपालिकाले केहिदिन अगाडी सरुवा गरिएका ८६ जना शिक्षकहरूको नामावली गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल सचिवालय नामको फेसबुक एकाउन्टबाट सार्वजनिक गरिएको थियो । अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् । फरक दलमा आस्था राख्ने तथा उनको स्वेच्छाचारी गतिविधिमा प्रश्न उठाउने शिक्षकलाई प्रतिशोध साँधेर सरुवा गरिएको आरोप लागिरहेको छ ।
    उता, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले भने शिक्षकहरूले राजनीति गर्न नहुने भन्दै आन्दोलन त्याग्न आग्रह गरेका छन् । अधिकारीले शिक्षकको काम राजनीति गर्ने नभई पढाउने काम मात्र गर्न आग्रह गरेका छन् । गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका शिक्षकहरूतर्फ ईङ्गित गर्दै उनले गाउँपालिकाले खटाएको स्थानमा गएर पढाउन शिक्षकहरूलाई निर्देशन दिएका छन् । शिक्षकहरूको काम पालिकाले खटाएको ठाउँमा गएर पढाउने हो, उनले भने ।
    अध्यक्ष अधिकारीले शिक्षकहरूको सरुवा गर्दा पालिकाले शैक्षिक योग्यता, विषय र कार्य कार्यक्षमता हेरिएको बताए । उनले पालिकाले गरेको शिक्षकहरूको सरुवा कार्यान्वयन गर्नेमा आफू दृढ रहेको समेत बताएका छन् । शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर अनावश्यक र भ्रामक प्रचारबाजी गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराख्न सबै पक्षलाई समेत आग्र गरेका छन् ।


गाई–गोरू पाल्नेको संख्यामा ठूलो गिरावट

काठमाडौं । नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले गएको बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।
    तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई–गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई–गोरु पालनमा थिए ।
    नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ । कार्यालयका अनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार रहेको थियो ।
    यसै बीच, नेपालमा बाख्रा र च्याङ्ग्राको संख्यमा ठूलो वृद्धि भएको छ । राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार बाख्रा र च्याङ्ग्र्राको संख्या झण्डै डेढ गुणाले बढ्दा भेंडाको संख्यामा भने गिरावट आएको छ । तथ्यांकअनुसार नेपालमा अहिले बाख्रा र च्याङ्ग्राको कुल संख्या एक करोड ४२ लाख ४२ हजार छ ।
    जुन २०६८ को भन्दा ३२ लाख ५२ हजारले धेरै हो । १० वर्षअघि २०६८ मा नेपालमा यस्तो संख्या एक करोड ९ लाख ९० हजार मात्रै थियो । तथ्यांकअनुसार भेंडाको संख्यामा भने गिरावट आएको छ । नेपालमा अहिले भेंडाको संख्या ४ लाख ७८ हजार मात्रै छ । जुन २०६८ को भन्दा तुलनामा एक लाख १९ हजारले कम हो । २०७८ मा नेपालमा भेंडाको कुल संख्या ६ लाख ३ हजार मात्रै रहेको थियो ।
    नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । सातौं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो ।
    नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो ।
    यस्तै,  नेपालमा राँगा र भैंसीको संख्याको नयाँ विवरण सार्वजनिक भएको छ । नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार छ । यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो । केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।
    विवरणअनुसार राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ । जुन संख्या २ लाख ५२ हजार परिवारले कम हो ।

मोटरसाइकल चोरीमा सम्लग्न पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा सम्लग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भइ हाल काठमाडौं बस्ने दुई जनालाई मंगलबार काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो ।
    उक्त मोटरसाइकलहरू खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष परस्त्रीसहित पक्राउ

विदुर । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष परस्त्रीसहित होटलबाट आइतवार दिउँसो पक्राउ परेका छन् । विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट नेपाली कांग्रेसका नेता समेत रहेका हरीबहादुर तामाङ पक्राउ परेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना बिबरण बताउन नचाहे पनि पक्राउको भने पुष्टि गरेको छ । महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले श्रीमान सहित होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार महिला र श्रीमानले उजुरी नदिएपछि वडा अध्यक्ष तामाङलाई आइतवार साँझ नै छाडिएको छ । उनीहरूले आपसी सहमति गरेको अनुमान छ ।

वैज्ञानिकले बनाए मानव भ्रुण

 वैज्ञानिकले बनाए मानव भ्रुण

इजरायली वैज्ञानिकहरूले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रुणको प्रतिरुप तयार पारेका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रुणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन् ।
    प्रयोगशालामा तयार पारिएको सो भ्रुणले हर्मोनहरू समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम मानव भ्रुणको मोडेल तयार पार्न‘को उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरूको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्न‘ रहेको बताइएको छ । शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रुण बन्ने सुरुआती हप्ताहरू निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरूबाट बच्चा आकारको भ्रुण नै विकास हुन्छ । यो बेला भ्रुण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरू आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुन्छ ।
    विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ । भ्रुण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रुण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।
    इजरायली वैज्ञानिकहरूले विकास गरेको पछिल्लो कृत्रिम भ्रुण सुरुआती मानव भ्रुणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रुणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ । प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रूणको तस्वीर जस्तै छ । यस्तो भ्रुणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’
    यो भ्रुणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरू सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् । –बीबीसी

संस्कृति संरक्षणमा त्रिशुलीका महिला समूह

संस्कृति संरक्षणमा त्रिशुलीका महिला समूह

सुनील श्रेष्ठ     

त्रिशुली । नुवाकोट जिल्लाको त्रिशुलीका नेवार समुदायले मनाउने परम्परागत जात्रा मध्ये एक हो– टाकटुके । कृष्णाष्टमीको अवसरमा मनाईने टाकटुके जात्रा नेवार समुदायमा रहेको परम्परागत बाजा र भेषभुषाको प्रर्दशन गरिन्छ । विदुर नगरपालिका त्रिशूलीका दुई महिला समुह नेवार समुदायको संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो संस्कार संस्कृति नयाँ पुस्तालाई सिकाउने तथा पुस्ता हस्तान्तरण गदै सोको जगेर्नाका लागि दक्षिणकाली महिला र बजरंगबली महिला समुह नेवार समुदायको संस्कृतिको रुपमा धाः बाजा बजाउँदै नाचिने टाकटुके नाचलाई निरन्तता दिने अभियानमा सक्रिय भएर लागेका छन् ।
    गएको शनिबार साँघु बजार (त्रिशुली)को गणेश मन्दिरदेखि टाकटुक खेल्दै, नाच्दै सुरु हुने जात्रा स्थानीय क्षेत्र परिक्रम गरी ढुंगेमा रहेको महादेवस्थानसम्म पुग्ने गर्दछ । जात्रामा बालकदेखि वृद्धवृद्धासमेतको सहभागिता रहेको थियो । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पनि नाचमा सहभागिता जनाएका थिए ।
    जात्रा हेर्न आएका विदुर, कोलेनी, बट्टार लगायतका अन्य स्थानका दर्शकहरूले पनि टाकटुके खेलेका थिए । पहिलेको तुलनामा अहिले महिलाहरूको बढी मात्रामा सहभागिता रहने र नाच्ने गरेको स्थानीय अजय शाक्यले बताएका छन् । जात्रामा समुदायका पुरुषहरू जात्राको पङ्क्ति मिलाउने, बाजा बजाउने र भोजभतेर व्यवस्थापनमा लाग्ने गरेको उनले बताएका छन् ।
    परापूर्वकालदेखि सुरु भएको टाकटुके नाच नेवारी लोकगीतको लयमा नाच्ने गरिएको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए । भोटजाने कालखण्डको वर्णन समेत रहेको उक्त गीतमा घरपरिवारको सदस्य, रहनसहन र खानपानको समेतको चर्चा रहेको मार्मिक कथालाई उठान गरिएको उनले बताए । ‘टाकटुके जात्रा पहिले पुरुषवर्गले व्यवस्थापन गथ्र्यो’, दक्षिणकाली महिला समुहका सचिव शान्ति श्रेष्ठले भनिन्– ‘केहि वर्ष स्थगन भएको नाचलाई विगत २७ वर्षदेखि दुई महिला समुहले व्यवस्थापनको साथै निरन्तरता दिदैं आईरहेकाका छौं ।’
    जात्रामा राधाकृष्ण, व्यङ्ग्यात्मक र मनोरञ्जनसहित मनाउने भएतापनि जात्रालाई गाईजात्रासँग जोडेर अन्य जातीय समुदायको भेषभुषा र समुदाय पनि समावेश भइ नाच्ने गरिएको श्रेष्ठले बताईन् । जात्राको सम्पूर्ण व्यवस्थापन गर्ने दक्षिणकालीमा २४ जना र बजरंगबलीमा २८ जना महिला सदस्यहरू छन् । दुई समुहले स्थानीयस्तरमै आर्थिक संकलन गरी जात्रालाई आवश्यक सामाग्री र भोजको व्यवस्थापन गर्दै आईरहेको दक्षिणकाली महिला समूहका अध्यक्ष अञ्जु शाक्यले जानकारी दिईन् ।
    दुई लट्ठी जुदाउँदा जुन ट्वाक्क आवाज निस्कन्छ त्यसलाई प्रेमको प्रतिफलसँग तुलना गरिएको छ । यसलाई पुरुष र नारीको मिलनपछि आनन्दको रुपमा पनि लिने गरेको पाईन्छ । बिहे गरेर चेली माईतमा आएर यस जात्रामा नाच्ने गरेको कथन छ । गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिनदेखि शुरु हुने यो मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, हात्ती नाच र कृष्ण जन्माष्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारेपछि जात्रा सकिन्छ ।

नगरपालिका पानीको मुहान खोज्दै

पानीको मुहान खोज्दै

विदुर । विदुर नगर क्षेत्रमा बढ्दो सहरीकरण र जनघनत्व बृद्धिका कारण खानेपानी समस्या बढ्दै गएपछि नगरपालिकाले संघीय सरकारको सहयोगमा वडा नम्वर १, ७, ८ र ९ लाई लक्ष्यित गरि खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन लागेको छ । म्यागङ गाउँपालिका वडा नम्वर २ र किस्पाङ गाउँपलिका वडा नम्वर ३ को सीमामा पर्ने गद्धीयाखोला मुहानगरि कार्यान्वयन गरिने उक्त खानेपानी योजनाको लागि आवश्यक प्रकृयाहरू पुरा गर्न बिदुर नगरपालिका क्रियाशिल बनेको छ । गएको आईतबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर ३ का वडा अध्यक्ष बद्रीप्रसाद रिमाल र वडा नम्वर ९ का वडा अध्यक्ष हरेराम भण्डारीसहित प्राबिधिक र सरोकारवालाहरूको टोलीले खानेपानी मुहान क्षेत्र अवलोकन गरि आयोजना कार्यान्वयनको सम्भाव्यता र समस्याहरूका बारेमा जानकारी लिएको छ ।
    उक्त क्षेत्रको अवलोकन पछि नगरप्रमुख श्रेष्ठले गद्दिया खोलामा सबै समय पानीको प्रचुर उपलब्धता रहने देखिएकोले अव सम्बन्धित स्थानीयतहहरूसंगको समन्वयमा आयोजना कार्यान्वयनमा तिब्रता दिईने नगरप्रमुख श्रेष्ठले बताए । खानेपानी आयोजना कार्यान्वयनका लागि विदुर नगरपालिका वडा नम्वर ९ का सुनील श्रेष्ठको अध्यक्षतामा चारवटै वडाका उपभोक्ताका प्रतिनिधिहरूरहेको समिति गठन गरि काम अघि बढाईएको नगरपालिकाले जनाएको छ । संघीय सरकारबाट अघिल्लो आर्थिक बर्षमा प्राप्त एककरोड रुपैयाँबाट चारवटै वडामा खानेपानी संकलन ट्यांकी बनाईसकिएको र यसबर्ष मुहान दर्ता लगायतका प्रकृयाहरू पुरा भएपछि पाईपलाईन बिस्तारको काम सुरु गरिने बताईएको छ ।
    विदुर नगरपालिकाका १, ७, ८ र ९ नम्वर वडाका करिब तीनहजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने उक्त खानेपानी आयोजनाका लागि संघीय सरकारले अघिल्लो आर्थिक बर्षबाट क्रमागतरुपमा बिशेष अनुदान उपलब्ध गराउँदै आएको छ ।

सबै जिल्लामा प्रादेशिक कार्यालय

विदुर । बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ ।
    ‘जिल्लामा बागमती प्रदेशको संरचना नै छैन । संरचना नहुँदा कि संघीय सरकारको सहयोग लिनप¥यो कि स्थानीय तहको’ उनले भने, ‘अब आफ्नै संरचना बनाउने र अगाडि जाने तय भएको छ । एकीकृत सेवा प्रवाह गर्नका लागि १३ वटै जिल्लामा एकीकृत कार्यालयको अवधारणा अन्तर्गत ओएनएम गरिसकेका छौं । दशैं अगावै एकीकृत कार्यालयहरू सञ्चालनमा लाँदैछौं ।’ बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आवमा ६२ अर्ब रुपैयाँको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिए ।
    मन्त्री श्रेष्ठका अनुसार प्रादेशिक कार्यालयबाट प्रदेशका सबै मन्त्रालयहरूको सेवा एकीकृत रुपमा प्रवाह हुनेछ । कार्यालयका लागि भवनको खोजी गरिराखेको र संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए ।

निःशुल्क आँखा अप्रेसन

विदुर । सामाजिक संस्था साहारा फाउण्डेसनले तारकेश्वर गाँउपालिकाका आँखाका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ । दृष्टि आँखा केन्द्र कलंकीको सहयोगमा संस्थाले स्वास्थ्य शिबिर आयोजना गरेको थियो । जसमा पहिलो चरणमा २५ जनाको परिक्षण र औषधि उपचार गरेको थियो भने ७ जनाको शल्यकृयाद्वारा उपचार गराएको थियो । बिरामीलाई संस्थाले काठमाडौंसम्म जाने र आउने यातायातको  ब्यबस्था गरी उपचार गरेको हो । संस्थाका अध्यक्ष सुदिप घिमिरेले आर्थिक अभाबका कारण दृष्टिबिहिन भएर बाँच्न नपरोस भन्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको बताए ।

ग्यास लिक हुँदा नुवाकोटको लोप्चनको निधन

विदुर । एलपी ग्यास लिक भएर जलेका नुवाकोटका एक युवकको काठमाडौंमा गएको सोमबार उपचारको क्रममा निधन भएको छ । काम गर्ने क्रममा ग्यासको पाइप लिक भएको र त्यसबाट आगलागी भएको बताइएको छ ।  
    कीर्तिपुरको वर्न अस्पतालमा शनिबार भर्ना भएका बेलकोगढी ११ का युवा राजकुमार लोप्चनको गएको सोमबार बिहान उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । भदौ १६ गते हस्तकला सीसा उद्योगमा काम गर्ने क्रममा सीताश्री ग्यास लिक भएर आगलागी हुँदा राजकुमार घाइते भएका थिए ।
    तारकेश्वर नपा ८ नयाँपुल नजिकै मधुसुदन पाण्डेले सञ्चालन गरेको हस्तकला सीसा उद्योगमा काम गर्ने क्रममा सीताश्री कम्पनीको ग्यास सिलिण्डरको पाइपबाट ग्यास लिक भएर आगलागी भएको थियो ।
    गम्भीर घाइते भएका लोप्चनलाई गएको शनिबार नै कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । लोप्चनको शरिरको झण्डै ७२ प्रतिशत भाग आगोले जलेको बताइएको छ । तीन दिन अस्पतालमा उपचार भएको उनको गएको सोमबार चिकित्सकले निधन भएको जानकारी दिए । मृतक राजकुमार लोप्चनको एक श्रीमती, एक छोरा र एक छोरी रहेको बताइएको छ ।

संघमा सदस्य मनोनित

 संघमा सदस्य मनोनित

विदुर । नुवाकोटका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य संघको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ । गत २०८० वैशाख ८ गते सम्पन्न संघको ११ औँ अधिवेशन तथा १८ औँ वार्षिक साधारणसभा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
    उक्त कार्यसमितिले विधानअनुसार मनोनीत गर्न‘पर्ने पाँच सदस्यलाई दुईपटकको कार्यसमिति बैठकले पूर्णता दिएको छ । संघको मनोनीत कार्यसमितिको सदस्यमा मनिषा सापकोटा, शिवराज लामिछाने, गगन लामा, प्रमोद श्रेष्ठ र सज्जन उत्सुक सापकोटा चयन भएका छन् । संघको निवर्तमान अध्यक्षसहित २८ जनाको कार्यसमिति रहने विधानमा व्यवस्था रहेको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

रानीपौवा–पिपलटार सडक डिपीआर

ककनी । नुवाकोट जिल्लाको पुरानो मार्गको रुपमा रहेको पासाङल्हामु राजमार्ग अन्र्तरगत रानीपौवादेखि पिपलटार सडक खण्डका लागि सडक डिपीआरको काम सुरु भएको छ ।
    सडक विभाग उक्त सडक आयोजनाले डिपीआरको काम अघि बढाएको छ । डिपीआर सकिए लगत्तै रकम सुनिश्चित गरेर ठेक्का प्रक्रिया सुरु गरिने जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त सडकका लागि बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धतासहित डिपीआरको काम अघि बढाउन दिएको निर्देशन अनुसार उक्त काम सुरु भएको बताइएको छ । उक्त आयोजनाका प्रमुख मेघराज मरासैनीका अनुसार करिब डेड महिनासम्मका सडकको डीपीआरको काम सम्पन्न हुनेछ । रानीपौवाबाट पीपलटार ३४ किमि छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ ।
    रानीपौवा–पीपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । दुवै खण्डको ठेक्का चालु आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेकोे उनले जानकारी दिए । रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट डीपीआर गरेपछि ठेक्का लगाइनेछ । यहाँ २ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको आयोजना प्रमुख मरासैनीले जानकारी दिए । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्ज‘न–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि २०७७ असार ९ मा ठेक्का सम्झौता तोडियो । अहिले कम्पनी कालोसूचीमा छ ।

महिला उद्यमी समितिमा खतिवडा

 महिला उद्यमी समितिमा खतिवडा

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले महिला उद्यमी विकास समितिको संयोजकमा सुजना खतिवडालाई चयन गरेको छ । गत शुक्रबार खतिवडाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
    समितिको सदस्यहरूमा अञ्जली पाण्डे, उर्मिला श्रेष्ठ कसाजु, पूर्णिमा अर्याल, ज्ञानु थापा, सरस्वती नेपाल, बबी रिमाल, अनिता लामा, कमला कुवर, सुभद्रा अधिकारी, सृजना नेपाली, भागिरथी पाण्डे, युनिशा तामाङ, सरस्वती आचार्य र सरस्वती बस्नेत रहेका छन् । संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले जिल्लाका महिला उद्यमीहरूको लगत संकलन, महिला लघु उद्यमका क्षेत्रमा लगानी र बजारीकरणमा समन्वयन भूमिका, महिला उद्यमीहरूको प्रवद्र्धन र यससँग सम्बन्धित नीति, ऐन, कार्यक्रम सम्बन्धमा कार्य गर्ने, विकास कार्यक्रम र योजनाहरू तयार गर्ने लगायतमा कार्य गर्ने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । जिल्लामा विभिन्न क्षेत्रमा उद्यम गरिरहेका महिला उद्यमीलाई एकीकृत गरी आर्थिक तथा सामाजिक विकासमा मजबुत बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
    समितिका संयोजक खतिवडाले महिला उद्यमशिलताको विकासले लैङ्गिक विभेदका साथै महिला हिंसा न्यूनीकरण गर्न, रोजगारी सिर्जना गर्ने र आर्थिक तथा सामाजिकमा मजबुत बनाउन समितिले टेवा पुर्याउने बताईन् । हिन्दु महिलाहरूको तीजको अवसरमा संघको आयोजना र महिला उद्यम समितिको समन्वयमा आगामी भाद्र २७ गते इलम प्रशिक्षण केन्द्रमा महिला उद्यमीले तयार गरेका हस्तकलाका सामग्री प्रदर्शन गर्न‘को साथै तीज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम तय गरिएको संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।

२०८० साल भदौ २५ गतेको सम्पादकीय

भड्किलो बन्दैछ तिज
हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन देखि भाद्र पञ्चमीसम्मको तीन दिन हिन्दू नेपाली नारीहरूले मनाउने पर्वको आफ्नै महत्व र विशेषता रहेको छ । सत्ययुगमा माता पार्वतीले भगवान शिवलाई आफ्नो बर(स्वामी)को रुपमा पाउनको लागि निराहार रहि उहाँको सुस्वास्थ्य र उहाँको शरीरमा कुनै बाधा नपरोस् भनी कामना गरी ब्रत बसेको र उहाँलाई स्वयं भगवान प्रकट भइ मनोकामना पुरा हुने बरदान दिएको दिन भाद्र शुक्ल तृतीयामा हरेक नेपाली हिन्दू नारीहरूले यस पर्वलाई आफ्नो पतिको दिर्घायू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै व्रत बस्ने गर्दछन् । यस पर्वमा विशेष गरी तृतीयाको दिन भगवान िशवको पुजाअर्चना गरेर सुरु गरिन्छ र पञ्चमीको दिन सप्तऋषिहरूको पुजा गरी समापन गरिन्छ । यस पर्वमा विवाह गरेर गएकी आफ्नी चेलिहरूलाई माइतीले सम्मानका साथ घरमा बोलाउने र मिठामिठा पक्वान्न बनाएर खुवाउने गर्दछन् । सक्नेले आफ्नी चेलीलाई नयाँनयाँ लुगाकपडाहरू उपहार स्वरुप दिने गर्दछन् । विवाह गरेर गएका चेलीहरू माइतीमा आउने तिजको अघिल्लो दिन माइतीले पकाएर दिएका मिठा मिठा खानाहरू (दर) खाने, एक अर्कामा दुःखसुख साट्ने गर्दछन् र भोलिपल्ट बिहान सबेरै उठेर नुहाँईधुवाई सकिचोखा कपडा लगाएर सक्नेले निराहार र नसक्नेले फलफूल खाएर दिनको मध्यान्नीमा भगवान शिवको पुजाअर्चना गरी नाचगान गरी रमाइलोसंग दिन बिताउँदछन् । लोमो समयसम्म भेटघाट नभएका गाउँका दिदीबहिनीहरूसंग भेटघाट गर्ने, रमाइलो गर्ने पर्वको रुपमा पनि यो तिजपर्व प्रचलित छ । साँझको समयमा पनि भगवानको आराधना गर्न गर्दछन् भने भोलिपल्ट गणेश चतुर्थीको पुजा गरी पर्सिपल्ट वा भाद्रशुक्ल पञ्चमीको दिन सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाई तिजलाई विधिवत् रुपमा समापन गरिन्छ ।

पुर्विय दर्शनको ठूलो धार्मिक मान्यता र परम्परा रहेको यो पर्व आजकल भडकिलो, महंगो र अनावश्यक रुपमा विकृति पैmलिदै गइरहेकोले धार्मिक क्षेत्रमा कार्य गर्ने सवैलाई चिन्तित तुल्याएको छ । सनातन संस्कृतिका सवै पर्वको छुट्टाछुट्ै महत्व रहेको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारणहरू छन् । बेलाबेलामा खाली पेट रहनु स्वास्थ्यको लागि उत्तम मानिन्छ जसलाई हाम्रो धार्मिक भाषामा व्रत भनिन्छ । शाकाहारी भोजन, फलफूल खानु, दुध पिउनु जस्ता कुरालाई विज्ञानले पनि राम्रो मान्छ जसलाई सनातनीय भाषामा सात्वयिक भोजन भनिन्छ । परिवारका एक सदस्यले अर्को सदस्यको सुस्वास्थ्य, दिर्घायूको कामना गर्ने कुरा आफैमा महत्वपूर्ण रुपमा लिनु पर्दछ । सनातन धर्म संस्कृतिको सबै परम्पर वैज्ञानिक र हितकारी छन् यो कुरालाई कसैले नकार्न सायदै सक्दैनन् र पनि धर्म संस्कृति र परम्परालाई नै चुनौति दिने खालका क्रियाकलापले यसको महत्वलाई घटाउदै र विश्वास हराउँदै गएको छ । विशेषत : यो तिज पर्व नाचगान र उत्सवको रुपमा मनाउने परम्परा हो तर अहिले हामीले सुन्ने तिज गितहरू कस्ता छन् ? के शब्द राखेर गितहरू बनेका छन् ? के त्यी गितहरूले हाम्रो मौलिकतालाई संरक्षण गरेको छ ? के हाम्रो धर्मको रक्षा गरेको छ ? या नारीहरूलाई सम्मान गरेको छ ? साँच्चै तिजको गित भनेर प्रशारण हुने कतिपय गितहरू त दिदीबहिनीसंग संगै बसेर हेर्न वा सुन्न पनि लाजै लाग्दो हुन्छ । रत्यौली र तिजको फरक पनि छुट्याउने नसक्ने आजकालका आफुलाई केही आधुनिक पाराको गायक भनेर घोषणा गर्ने र पैसै कमाउनका लागि यस्ता हर्कत गर्ने गरेको देखिन्छ । गित गाउन पाए भन्दैमा जस्तो पायो त्यस्तो शब्दको प्रयोग गर्ने, कुन संस्कृति, कुन परम्परा र त्यसको महत्व नै नबुझी नानाभाँती शब्दहरूको प्रयोग गर्दा पनि हामीहरू चुपचाप त्यही गित यूट्यूवबाट डाउनलोड गरी चर्को आवाजमा होटेल र रेष्टुरेष्टतिर गई परम्परा जोगाएका छौ भन्दा अपाच्य भएको महसुस हुन्छ ।
    सरकारले तिज पर्व मनाउने एउटा दायरा बनाउन जरुरी छ । समाजमा पैसा र पहुँचको भरमा जे जसो पनि गर्दै जाने प्रवृत्ति हावी हुँदै गएको छ । अब यसलाई नियन्त्रण गर्नैपर्ने भैसकेको देखिन्छ । अहिले तिज केही बर्ष यता बिदेशमा रहेका नेपालीहरूले समेत धुमधामका साथ मनाउन थालेको पाइन्छ । यो एक हिसाबले गर्वको कुरा हो । हामीले हाम्रो चाडपर्व संस्कृति मनाउनुपर्छ तर मौलिकता नै बिर्सिने तबरले नभई त्यसलाई बढी तडकभडक नगरी सामन्य र मौलिक तरिकाले त्यसको भावना र मर्म अनुसार मनाउने गरियो भने अवस्य राम्रो हुनुको साथै चाडपर्व र संस्कृतिको मौलिकतामा कुनै ह्रास आउन पाउँदैन । हिजोको दिनमा हिन्दु नारीको मात्र चाड भनेर चिनिने तिज अहिले भने सारा नेपाली नारीहरूको मात्र नभएर सबैको साझा चाडको पर्व बनेको छ । जसलाई सकारात्मक रुपमा लिँदै तिजको भावना, रितिरिवाज परम्परा र मौलिकता अनुसार चलेर हुने खाने र हुँदा खाने दुबै बर्गको साझा चाड बनाउन जरुरी छ । अहिलेसम्म जे जस्तो भएपनि अबको दिनहरूमा भने तिज लगायत सम्पुर्ण पर्बहरूलाई खर्चिलो र भड्किलो हुनबाट बचाउने बिषयमा आजैदेखि सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस र सबै आ–आफ्नो ठाउँ बाट सहयोग पु-याऔं ।

२०८० साल भदौ २५ गते । वर्ष:१६ अंक:४५

 

 

Monday, September 04, 2023

रानीपौवा सडकमा फेरि ठेक्का

तीनपिप्ले–रानीपौवा सडकका लागि १ अर्ब ३३ करोड र रानीपौवा–पीपलटारका लागि २ अर्ब चाहिने

ककनी । काठमाडौंदेखि नुवाकोट जोड्ने तीनपिप्ले–रानीपौवा सडकको ठेक्का तोडेको एक वर्षपछि पुनः ठेक्का गर्ने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता माग गरिएको छ ।
    बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी ५५.५ किमि हो । यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी मात्र १२.५ किमि छ । यो सडकको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजित ५० करोड रुपैयाँ अपुग हुने भन्दै थप रकमको स्रोत सुनिश्चितता मागिएको होर । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गर्न लागिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियोर । तर, सात पटक म्याद थप्दा पनि काम सकिएन ।
    काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिएको इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा ठेक्का सम्झौता तोडेर तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । अहिले उक्त खण्डमध्ये तीनपिप्ले–रानीपौवा १२.५ किमिमा ठेक्का गरेर स्तरोन्नति गर्न लागिएको हो । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए ।
    ‘ठेक्का तोडेको खण्डमा फेरि ठेक्का गरेर काम गर्न लागिएको हो,’ उनले भने, ‘त्यसका लागि स्रोत सुनिश्चितताको माग गरिएको छ, अर्थले सहमति दिए चालु आर्थिक वर्षमै ठेक्का गर्न सकिन्छ ।’ त्यस्तै रानीपौवा–पीपलटार खण्डको पनि यही आर्थिक वर्षमा ठेक्का गर्न परामर्शदातालाई सर्भे गर्न लगाइएको छ । त्यसका लागि परामर्शदाताले डेढ महिनाको समय मागेको उनले सुनाए । परामर्शदाताबाट फाइनल रिपोर्ट पेस भएपछि त्यसका लागि पनि स्रोत सुनिश्चितता माग गरिने आयोजनाले जनायो । रानीपौवाबाट पीपलटार ३४ किमि छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ ।
    रानीपौवा–पीपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । ‘दुवै खण्डको ठेक्का चालु आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा दुवै खण्डका लागि बजेट सुनिश्चित भए ठेक्काको काम टुंगिन्छ ।’
    रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) गरेपछि ठेक्का लगाइनेछ । यहाँ २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए ।
उक्त निर्माण कम्पनीसँग पनि २०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
    नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौंसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । ‘९ वर्षअघि स्तरोन्नतिका नाममा सडक भत्काएदेखि स्थानीयलाई जीवनयापनमा समस्या भएको छ, सडकको छेउछाउमा तरकारी, फलफूल र होटल व्यवसाय गरेर जीवन निर्वाह गर्नेहरू अहिले पलायन बनेका छन्,’ उनले भने, ‘तरकारी, फलफूल लगाउनेहरूले हिजोआज लगाउन छाडेका छन् ।’
    ट्राउट माछाको स्वाद लिन काठमाडौंदेखि आन्तरिक पर्यटक आउने गरे पनि अहिले सडकको अवस्थाले गर्दा त्यो क्रम घटेको उनको भनाइ छ । ‘अहिले होटल व्यवसाय बन्द भएर घरबासै उठेको अवस्था छ,’ उनले भने ।

यही वर्ष काम सक्ने प्रतिबद्धता

सांसदहरुको टोली प्रधानमन्त्रीसंग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासाङल्हामु राजमार्गअन्तर्गतको रानीपौवा–पिपलटार सडकखण्ड आन्तरिक स्रोत जुटाएर भए पनि यही वर्ष सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    शनिबार नुवाकोट जिल्लाका सांसदहरूको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत तीनपिप्ले–पिपलटार सडकखण्डको तीनपिप्ले–रानीपौवा खण्डको लागि मात्र बजेट निकासा भएको विषयमा नुवाकोटका प्रतिनिधिहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
    यही वर्ष नै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म कालोपत्र गर्न÷गराउन उनीहरूले प्रधानमन्त्रीसँग माग गरेका थिए । टोलीले बन्चरेडाँडा ल्यान्डफिल साइटले पारेको समस्या र पटक–पटक भएका सम्झौताको बेवास्ताप्रतिसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद अर्जुननरसिंह केसीको सचिवालयले जनाएको छ । भेटका क्रममा सांसद केसीले पासाङल्हामु राजमार्ग र बन्चरेडाँडा ल्यान्डफिल साइटको बारेमा सरकार गम्भीर नभए संसद् भवनभित्रै आमरण अनशन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यस्तो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्दैै अविलम्ब सम्बन्धित निकायसँग छलफल गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्ने आश्वासन दिए ।
    नुवाकोटका सांसदहरूले काठमाडौंको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयवासीको जीवन नारकीय बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरू अर्ज‘ननरसिंह केसी र सीता मिजार तथा नेकपा माओवादी केन्द्रका सांसदहरू हितबहादुर तामाङ र विमला सुवेदी, कांग्रेस नेता जगदीश्वरनरसिंह केसीसहित जिल्लाका नेताहरू र जनप्रतिनिधिको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो ।

एमसीसीद्धारा जग्गा अधिग्रहण प्रक्रिया सुरु

विदुर । अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले ४०० केभी प्रसारण लाइन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।
    जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन, रातमाटे सबस्टेसनदेखि हेटौंडा सबस्टेसन र रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा पर्ने नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका जग्गाहरू अधिग्रहण गर्न लागिएको जनाएको छ ।
    नुवाकोटका शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जनाएको छ ।
    सूचना प्रकाशित भएको २१ दिन भित्र सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
    एमसीसी परियोजना औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा गएको छ । एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।
    यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।
विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् ।

‘देशलाई पराधिन बनाउने एमसीसी काम छैन’

एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रिया

विदुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपालीको हितमा नभएको भन्दै विरोध जनाएको छ ।
    मंगलबार विदुरमा आयोजित एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रियामा नेकपाका स्थायी कमिटी सदस्य भरतले स्वाधिन र स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गर्न लागिएको बताए । उनले शान्त देशको सुखी नेपाली हुन चाहेको भन्दै एमसीसीले देश बनाउनेभन्दा उपनिवेश बनाउने खतरा बढेको र नेपाल युक्रेन जस्तो बन्ने दाबी गरे । ‘एमसीसी लागू भयो भने देश पूर्ण उपनिवेश बन्छ,’ उनले भने, ‘हाम्रो देशको स्वाधिनता र स्वतन्त्रता खतम हुन्छ ।’
    उनले एमसीसी नेपालको हितमा नभएपछि संसद्ले १२ बुँदे मसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी किन पास गरेको भनेर प्रश्न गरे । १२ बुँदे संसद्बाट नभई जनताबाट अनुमोदन गर्नुपर्ने उनको भनाइ थियो । उनले एमसीसी खारेजीको विरुद्धमा पूर्खाले नालापानीमा लडेजस्तै सबै एक ढिक्का भएर लड्नपर्ने बताए ।
    अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिका महासचिव राजकुमारीले एमसीसी राष्ट्रको पक्ष नभएको बताइन् । ‘एमसीसी नेपाली जनता र हाम्रो पार्टीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘नेपाली र नेपाललाई रणमैदान बनाउन खोजिएको छ । यसलाई खारेज गर्न सबै नेपाली दिदीबैनीहरू एकजुट भएर लडौं ।’
    पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजादले एमसीसीको नेपालको हितमा नभएको भन्दै परनिर्भरता बढाउने प्राकृतिक स्रोतसाधनमाथि विदेशीको हस्तक्षेप हुने बताए । नेपाल समाजवादी पार्टी नुवाकोटका अध्यक्ष भगवान रानामगर एमसीसीको विषयलाई पार्टीको माथिल्लो तहले निर्णय गर्ने बताए ।

ईन्द्रायणी चौरमा घटना, जसको घर भत्कियो उसैलाई मुद्दा

घर टहरा भत्काइएपछि आक्रोशित बनेका ईन्द्रायणी चौरमा बस्दै आएका भुकम्प पिडितहरू ।

विदुर । जिल्ला प्रहरी कार्यालयले गत शनिबार भएको घटनामा सात जनालाई पक्राउ गरि मुद्दा चलाउने भएको छ ।
    विदुर नगरपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति तथा गृह मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको २०७९ भदौं २७ गतेको बैठकले विदुर नगरपालिका वडा नं. १ स्थित ईन्द्रायणी चौरमा रहेको साविक भैरवी –१ कित्ता नम्बर ५० को १४२–१०–२–३ रोपनी जग्गा क्षेत्रफल लिजमा सिटिइभिटी अन्तर्गतको पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय भएकोमा २०७२ साल को भुकम्प पश्चात जिल्लाका बिभिन्न स्थानबाट आएर उक्त जग्गामा लामो समयदेखि अबैध रुपमा कब्जामा लिई टहरा बनाई बस्दै आएका थिए ।
    उक्त शिक्षालयले बिदुरनगरपालिकालाई जग्गा खालि गराउन अनुरोध गरे अनुसार वैशाख १७ गते गते बिदुर नगरपालिकाले सर्वदलीय बैठक मार्फत जग्गा खाली गराउने निर्णय गर्दै पटक पटक जग्गा खाली गर्न सूचना प्रकाशित गर्दै आएकोमा अटेरी गरेपछि भदौं ७ गते भएको जिल्ला सुरक्षा समितिको निर्णयानुसार ९ गते शनिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली लगायतको टोली जग्गा खाली गर्न उक्त स्थानमा पुगेको थियो । प्रहरी पुगेपछि उनीहरूले ढुंगामुढा गरि प्रहरी माथि आक्रमण गरेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीद्वारा ११ सेल अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरी निरीक्षक सहीत ७ जना प्रहरी घाईते भएका थिए ।
    घटनामा सम्लग्न ७ जनालाई पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र ब्यहार कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परि मुद्दा दर्ताका लागि म्याद थप भएकाहरूमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तर्क बहादुर तामाङ, ४५ वर्षीय तेजबहादुर तामाङ, ३३ वर्षीय बहादुर बिक, ४५ वर्षीय श्रीमाया तामाङ, ४४ बर्षिया जितबहादुर तामाङ, रसुवा आमाछेदिङमो वडा नं. १ का ३५ वर्षीय तेन्जिङ तामाङ र रसुवा नौकुण्ठ गाउँपालिका वडा नं. ५ का २९ वर्षीय ठाकुर तामाङ छन् । 

आठ वर्षदेखि बसोवास रहेको ६५ घरटहरा भत्काइयो
विदुर । भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका–१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो । घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ ।
    सुकुम्बासीको ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक रुद्र कँडेलको टाउकोमा गहिरो चोट लागेको छ भने एक सहायक हवल्दार घाइते भएका छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गर्न‘परेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । ‘नगरपालिकाले पटक–पटक ठाउँ छाड्न गरेको आग्रहलाई अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा हटाइएको हो,’ प्रजिअ पौडेलले भने, ‘०७५ सालदेखि विभिन्न निकायले पटक–पटक कोसिस ग¥यो । ३ पटक वडाले, ३ पटक नगरपालिकाले, सर्वदलीय बैठकबाट निर्णय गरेर आग्रहसहित माइकिङ गर्दा पनि नहटेपछि नगरपालिकाले नेतृत्व लिएर अगाडि बढ्न चाहेको बेलामा सुरक्षा दिएका हौ ।’
    भूकम्पपीडितले भने हटेर जाने समय नै नदिइ घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् । सिम्बुटार बस्दै आएकी रसुवा ठूलोहाकुकी मिना घलेले बर्खाको बेला नहटाइदिन आग्रह गरे पनि प्रशासनले बलमिच्याइँ गरेको बताइन् । ‘बाढीपहिरो आएका बेलामा हामी कहाँ जाने ?,’ उनले भनिन्, ‘बर्खामासमा कहाँ गएर बस्ने ? समय दिनु प-यो । चराचुरुंगीले त गुँड खोजेर बसेको छ, हामी त मान्छे हो ।’ व्यवस्थित बसोबास भएपछि जान्छौं भने पनि जबर्जस्ती बिचल्ली पारिएको उनले बताइन् ।
    नुवाकोट किस्पाङ–१ भाल्चेका जीतबहादुर घले भूकम्पले गाउँ तहसनहस पारेकाले बस्ने ठाउँ नभएरै सिम्बुटारमा शरण लिएको बताए । ‘गाउँमा पहिरो छ । बर्खाको बेला नउठाइदिए हुन्थ्यो,’ उनले भने । सोही ठाउँकी श्रीमाया घलेले तीन महिनाजति समय दिए सर्न तयार रहेको आग्रह गर्दागर्दै घरटहरा भत्काएर बिजोग बनाइदिएको बताइन । उनले भनिन् ‘हामीलाई जाने ठाउँ व्यवस्था गरिदिनुस् जग्गा छोडिदिन्छु भनेका हौं ।’
    विदुर नगरप्रमुख राजन श्रेष्ठले पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरूलाई समय दिएका थियौं,’ उनले भने,‘जहिले पनि एक/एक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु प¥यो ।’
    २०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो ।
    सुरुमा म्यागङ, किस्पाङ, सूर्यगढी गाउँपालिका र रसुवा हाकुका गरी ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेकालाई विदुर नगरपालिकाले २०७५ देखि सिम्बुटारको जग्गा खाली ३÷३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ ।
    सिम्बुटारमा भूकम्पपीडित बसेको जग्गा विदुर नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले २०७९ सालमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको नाममा सरकारले भाडामा दिएको छ । उक्त जग्गा १४३ रोपनी छ ।

त्रिशुली अस्पतालमा प्रसूति सेवा सुरु

त्रिशुली । दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ । अस्पतालमा गएको सोमवारबाट स्त्रीरोग विशेषज्ञ उपस्थित भएपछि सेवा सुरु भएको हो ।
    सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा बन्द भएको थियो । नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको विदुर नगरपालिका–९ कोलोनीस्थित त्रिशुली अस्पतालमा सम्बन्धित चिकित्सक नहुँदा दुई सातादेखि प्रसूति सेवा प्रभावित भएको थियो । बागमती प्रदेश सरकारले प्रसूति रोग विशेषज्ञ डा. प्रशान्त शर्मा र डा. विदुर भण्डारीलाई खटाएपछि अस्पतालमा प्रसूति उपचार तथा शल्यक्रिया सेवा सुरु भएको अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए । उनका अनुसार सम्बन्धित चिकित्सकले कार्य सुरु गरेपछि बिरामीहरूलाई निकै सुविधा पुगेको छ ।
    गत महिना त्रिशुली अस्पतालमा विरामीलाई आकस्मिक, बहिरंग, शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कार्यरत दुई जना स्त्रीरोग विशेषज्ञ सरुवा भएपछि प्रसूति सेवा दुई साता समस्या परेको थियो ।
    त्रिशुली अस्पतालमा हाल विभिन्न १३ जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ आएर कार्य सुरु गरेपछि  दैनिक ८० देखि एक सय जना स्त्रीरोगको उपचार गर्न आउनेहरू लाभान्वित भएका छन् ।

आँखा पाक्ने प्रकोप सामान्यतर्फ

विदुर । मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् ।
    नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो । आँखाको सेतो भाग सुन्निने र पाक्ने यो कन्जक्टिवाइटिसलाई आई फ्लुसमेत भनिन्छ । मुलुकका विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामीमध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक छ । आँखा पाक्ने संक्रमण दर दिनहुँ घट्दो क्रममा रहेको चिकित्सकहरूले बताएका छन् । जिल्ल अस्पताल त्रिशुलीका अनुसार हाल संक्रमित दर पहिलेको दाँजोमा करिब ८० प्रतिशत घटिसकेको छर । सम्भवतः असोजदेखि संक्रमण खासै नदेखिने अनुमान छर । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले संक्रमित दर बहिरंग विभागका कुल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए । ‘आँखा पाक्ने प्रकोप सामान्य अवस्थामा पुगेको देखिन्छ,’ उनले भने । उनले अस्पताल आएका बिरामीमध्ये २ देखि ३ प्रतिशतमा मात्र भाइरल कन्जक्टिवाइटिस देखिएको जनाए ।
    ३ देखि ४ प्रतिशतमा आँखाको नानीमा असर परेको छ । आँखा पाक्ने बिरामीमध्ये करिब ५ प्रतिशतका नानीमा असर देखिएको छ । यो संक्रमण हुँदा आँखा मिच्न र पानी छ्याप्न नहुने भन्दै नेत्र विशेषज्ञहरू बरु आँखालाई सफा रुमालले सेक्न सुझाव दिन्छन् । स्वास्थ्यकर्मीको सल्लाहबिना आँखामा राख्ने औषधि प्रयोग गर्नु हुँदैन ।

कानुन, मानव अधिकार समिति सभापतिमा सुवेदी

विदुर । प्रतिनिधिसभाका विषयगत कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी चयन भएकी छिन् । समितिले गएको आइतबार गरेको मनोनयनका आधारमा गएको सोमबार उनलाई सभापतिमा सर्वसहमत चयन गरेको हो ।
    उनले गएको आईतबार आफ्नो उम्मेदवारी मनोनयनका लागि दर्ता गराएकी थिईन् । उनको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती, समर्थकमा एमाले सांसद महेश बर्ताैला, कांग्रेस सांसद रमेश लेखक र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका थिए । सुवेदीलाई सभापति चयन गर्ने समिति बैठकको अध्यक्षता कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । बैठकमा पदेन सदस्यका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।
    यसै बीच, विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । गएको सोमबार सभामुख देवराज घिमिरेले सभापतिहरूलाई शपथ खुवाएका हुन् । एमालेबाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह, पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन् ।
    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, नेपाली काँग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी बिमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्विरोध भएका छन् ।

सामुदायिक विद्यालयहरूलाई फर्निचर वितरण

विवतरण भएको फर्निचर

विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका ११ वटा विभिन्न सामुदायिक विद्यालयहरूलाई फर्निचर उपलब्ध गराएको छ । गएको मंगलवार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले विद्यालयहरूलाई फर्निचर उपलब्ध गराएका हुन् ।
    केही महिना अगाडि गाउँपालिका अध्यक्ष अधिकारीले बिद्यालयहरूको अनुगमन गर्दा केही विद्यालयहरूमा फर्निचरको अति आवश्यक रहेको देखेपछि आज सो विद्यालयहरूलाई आवश्यकताको आधारमा दराज, कुर्सी, अफिस टेवल र लो टेवल वितरण गरिएको हो । वितरण गरिएको सामाग्रीहरूमा दाराज ११ थान, अफिस कुर्सी, ११ थान, अफिस टेबल ११ थान र लो टेबल ५५ थान रहेका छन् । विद्यालयलाई चाहिने आवश्यक फर्निचर वितरण गर्दै आउँपालिका अध्यक्ष अधिकारीले पछिल्लो समय पालिका भित्रको शैक्षिक सुधारका लागि शिक्षकहरूको सरुवा गर्ने निर्णयलाई लिएर अनावश्यक हौवा फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
    उनले पालिकाको शैक्षिक सुधार गर्ने काममा अवरोध सिर्जना गर्ने र भाँड्ने मानसिकताबाट मुत्त हुने सबैलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाको शैक्षिक उनन्नयको लागि आफु विद्यालयहरूलाई जस्तो सुकै सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

काँग्रेस सभापतिसहितको राजीनामा

राजीनामा

विदुर । नेपाली काँग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का पदाधिकारीहरूले पदबाट सामुहिक राजीनामा दिएका छन् । आन्तरिक किचलोका कारण विदुर नगरपालिका वडा नं. ११ का इकाई सभापतिसहित सचिव र कोषाध्यक्षले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा कार्यवहाक सभापति ज्ञानप्रसाद प्याकुरेल, सचिव नमराज चालिसे र कोषाध्यक्ष कु प्रसाद तिमिल्सिना छन् ।
    उनीहरूले राजीनामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति रमेश महत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत लामा र विदुर नगरपालिकाका नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाएका छन् । सभापति सहित पदाधिकारीहरूले विकास निर्माणमा आफ्नो वडालाई पछि पारिएको, पार्टीभित्र गुट मौलाएको लगायतका विषय उल्लेख गर्दै राजीनामा दिएका छन् । राजीनामा पत्रमा आफूहरूले उठाएको विषयहरूमा सम्बोधन हुने विश्वास उनीहरूले गरेका छन् । नगरपालिकामार्फत हुने विकास निर्माणमा सहकार्य नभएको, वडामा बजेट विनियोजन गर्दा भेदभाव गरेको आरोप छ ।  
  विदुर ११ मा पार्टी सभापति शेरबहादुर घलेको निधन भए पछि प्याकुरेललाई केही दिन अघि मात्रै कार्यवहाक सभापति बनाएको थियो ।

एक किलो सुनसहित महिला पक्राउ

रसुवा ।  रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका ४१ वर्षीया पाछेमु तामाङ गुरुङ पक्राउ परेकी हुन् ।
    शनिबार बिहान साढे ११ बजे रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो । उक्त सुनको चौल एक किलो रहेको अनुमान गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

गाउँमै ‘अक्सिजन कन्सनटेटर’ मेसिन

सामाग्री हस्तान्तरण कार्यक्रम ।

कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
    नेपाली काँग्रेसका नेता, बरिष्ठ चिकित्सक डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । केसीको सक्रियतामा बिरामीहरू कृष्णमाया राई र रिता ढुंगानालाई डाक्टरको सिफारिस अनुसार नियमित अक्सिजन लगाउनु पर्ने भएकोले ले १/१ थान अक्सिजन कन्सन्टेटरसहित अन्य स्वास्थ सामाग्रीहरू स्वास्थ कार्यालय लाई हस्तान्तरण गरिएको थियो ।
     सो अवसरमा वडा अध्यक्ष तिमिल्सिनाले वडा नं. २ भित्र रहेका अति आवश्यक भएका व्यक्तिहरूका लागि हाल ८ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन सञ्चालनको लागी तयारी गरिएको जानकारी दिए । उनले हाल वडा भित्र रहेका बासिन्दाहरूलाई अक्सिजनको अति आवश्यक परेमा आफ्नो आवश्यकता अनुसार वडा बाटै ‘अक्सिजन कन्सनटेटर’ मेसिन लिएर घरमै लगेर सेवा दिन सुरूवात गरिएको छ । हाललाई १० लिटरका चार वटा मेसिनहरू रहेको, ५ लिटरका ४ वटा र अवस्यकता अनुसार ४ वटा ठुलो सिलिन्डर उपलब्ध गरिएको छ । यसबाटै सेवा सुचारु गरिएको र मेसिन थपेर १० देखि १२ वटासम्म पुर्याउने तयारी रहेको तिमल्सिनाले जानकारी दिए ।
    वडा अध्यक्ष तिमल्सिनाल  स्वास्थ्य मन्त्रालय अन्तर्रगतको स्वास्थ्य सेवा विभागबाट हाललाई ७ वटा ‘अक्सिजन कन्सनटेटर’ मेसिन ल्याइएको र आगामी दिनमा यसलाई थप गरी विभिन्न सेवा सहित समावेश गरिने समेत बताए । वडाअध्यक्ष तिमल्सिनाले हाल आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र जसमा चार जना कर्मचारी सहित हाल सञ्चालनमा रहेको सेवालाई अब आफ्नै भवनबाट सुचारु गर्न लागिएको समेत जानकारी दिए । उनले अत्याधुनिक आयुर्वेद औषधालय पनि छिट्टै आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा रहेको बताए । अस्पतालको उपचार पश्चात् बिरामीहरूलाई अक्सिजन आवश्यक पर्ने हुनाले यसको सहजताका लागि वडा भित्र रहेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिन आवश्यक ठानेर यस्तो काम गरिएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिए । निकट भविष्यमा नै वडा बासिहरूलाई आधारभुत निशुल्क स्वास्थ्य सेवा सुचारु गरिने बताएका छन् । अति आवश्यक पर्दा वडामै आएर समेत सेवा लिन सकिने तिमल्सिनाले जानकारी दिए ।
    जनताको सुखदुःख मा निरन्तर सहकार्य गरिने केसीले बताए । आयुर्वेदिक चिकित्सा मार्फत वडा कार्यलयसँग सहकार्य गरेर सक्दो आयुर्वेदिक औषधालयमा विभिन्न किसिमको रोगको उपचारका साथै अत्याधुनिक सेवा बिस्तार गर्न आयुर्वेद मेडिकल काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुरुङमार्गमा चीनको सहयोग मागिदै

विदुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।
    यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट छुट्याएका छन् । तर, चीनसँगको नाका केरुङ लक्षित यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिमा बन्ने भन्ने तय हुन भने बाँकी छ ।
    असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्ज‘भञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । नसँगको समझदारी अनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै ब्यहोरिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्न‘पर्नेछ । अध्ययन भइरहेको टोखा–छहरे सुरुङमार्ग खण्डको डीपीआर र ईआईए टुंग्याएर निर्माणमा जाने सहमति गर्न नेपाली पक्ष आतुर छ ।
    ‘चीनले अध्ययन गरिरहेको परियोजना भएकाले यसमा सहमति हुनसक्ने सम्भावना छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले भन्यो, ‘चीनले अनुदानका लागि नेपाललाई दिएको सिलिङभित्रबाट मात्रै खर्च गर्ने अडान राख्यो भने ठूलो लागतको परियोजनामा समझदारी हुन सहज अवस्था पनि छैन ।’ १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा–छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो ।
    अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालभित्र पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने गरी करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका थिए । नेपालले गरेको प्रारम्भिक अध्ययन र चीनले गरेको सम्भाव्यता अध्ययनले यो आयोजना सम्भाव्य रहेको देखाइसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने करिब ४.२ किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दुरी घटाउन सकिने सडक विभागका अधिकारीहरूको भनाइ छ । टोखाबाट थानसिंग फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । त्यसैमा टोखाबाट जाने सडकलाई जोड्ने सरकारको योजना छ ।
    स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको काम गरिरहेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक गाडी पनि दुई घण्टामै पुग्न सक्ने अधिकारीहरू बताउँछन् । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छाडेपछि रसुवाको रसुवागढी नाकासम्मका पूर्वाधार निर्माणलाई सरकारले महत्व दिएको छ । यो योजना पूरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दुरी करिब ८० किलोमिटरमा छोटिनेछ । त्यसैकारण पनि यो एजेन्डालाई प्राथमिकता दिइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।