Monday, October 09, 2023

२०८० साल असोज २२ गतेको सम्पादकीय

किन मनाइन्छ चाडपर्व ?
पछिल्लो समय चाडपर्व खर्चिलो बन्दै गएको छ । घाँटी हेरी हाड निल्नु भन्ने मान्यता विपरीत जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने चाहना र तडकभडकले चाडपर्व बोझ र तनावपूर्ण बन्दै गएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूका लागि दशैँ तिहार दशाकै रूपमा परिणत हुँदै गएको छ । चाडपर्वलाई फजुल खर्च गर्ने अवसरको रूपमा होइन । आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउन आवश्यक छ । हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन् । किन मनाइन्छ चाडपर्व ? चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । सामाजिक महत्व चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजवुत पार्ने तथा नविकरण गर्ने सेतु हो । यस्तै जीवनरूपी उकालीओरालीको बीच आउने चौतारी हुन् चाडपर्व । उकाली चढ्दा वा ओराली झर्दा लागेको थकाइ मेट्न चौतारी सहायक भएजस्तै मानिसको व्यस्तताबीच आउने चाडपर्वले चौतारीकै काम गर्छन् । चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुखदुःख बाँड्ने चलन छ । वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षौँदेखिको परम्परा हो । तिहारलाई बिहाबारी गरेर टाढा भएका दिदीबहिनी र दाजुभाइबीच मिलन हुने आत्मीयता बढ्ने पर्व मानिन्छ ।
    चाडपर्व संस्कृतिको उत्पत्तिमा ऋतु परिवर्तन र उत्पादन पद्दतिको महत्वपूर्ण भूमिका रहेको छ । आदिममानव जातिले खाना, छाना, नाना र सुुरक्षाका खातिर जोहो गरेका यावत् क्रियाकलाप र प्रयासहरूले पछिल्ला दिनहरूमा प्रारम्भिक स्वरूप र यथार्थ तथ्यलाई ओझेलमा राखेर विभिन्न धार्मिक जामा र रंगरोगन लगाइदै आएको भेटिन्छ । यथार्थमा हरेक चाडपर्व, उत्सव र जात्रा, गीत संगीत र नृत्यहरूको उद्गमको प्रमुख आधार ऋतु परिवर्तन र मानवजातिको श्रम नै हो । यसमा उनीहरूको बौद्धिक र शारीरिक श्रमले नेतृत्वदायी भूमिका खेलेको छ । त्यसैले हरेक चाडपर्वहरू प्रारम्भमा विशुद्ध सांस्कृतिक पर्व उत्सव नै थिए तर पछिल्ला दिनमा विभिन्न धर्म समुदायले सांस्कृतिक पर्वहरूलाई धार्मिक पर्वको रंग रोगन लेपन गरेर प्रस्तुत गर्दै आएको पाइन्छ र दशैं पर्व, तिहार पर्व, तीज पर्व, छठ पर्व वा अन्य कुनै पनि पर्वहरू सांस्कृतिक पर्व भएकाले कुनै अमुक धर्म सम्प्रदायको घेरामा राख्न वा अमुक धर्म सम्प्रदायको पर्व भनेर ठप्पा लगाउन उचित हुँदैन । विश्वका सबै पर्वहरू मानव जातिका साझा पूर्व हुन् । पर्व संस्कृतिले मानवजातिको प्रारम्भिक अवस्थाको ऐतिहासिक सूचना प्रवाह गरिरहेको छ । यसलाई परम्परागत ढंगले सीमित घेरामा राखेर होइन व्यापकता र आम मानवजातिको हितवद्र्धन सम्वद्र्धनको टेवा र सेवामा लगाउने बुझ्न बुझाउन र ग्रहण गर्र्न सके हरेक पर्व संस्कृति महत्त्व झल्किने देखिन्छ । अतः चाडपर्व संस्कृतिलाई साँघुरो घेरामा सीमित गर्नुभन्दा व्यापकतामा खोज्ने र चाडपर्व संस्कृतिलाई प्रकृति र उत्पादन पद्धति, निर्माण पद्धतिमा राखेर यसको महत्वबारे वस्तुवादी अध्ययन, अनुसन्धान र उपयोग गर्नतिर लागे चाडपर्व संस्कृतिको संरक्षणर लोकप्रियतामा वृृद्धि हुने देखिन्छ ।
    दशैँतिहारलाई वर्ष दिनसम्म नभेटिएका साथीसंगी इष्टमित्र भेट्ने अवसर मानिन्छ । शहरिएका र परदेशिएकाहरू जम्मा हुने र आफूले पाएका ज्ञान बाँड्ने, सामाजिक कार्यमा उपस्थित हुने र सकेको सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको हुन्छ । अझ काठमाडौंलगायतका स्थानमा चाडपर्वका अवसरमा निकालिने जात्रा, नाच त समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको एकताविना त कल्पनै गर्न सकिन्न । पेशा व्यवसायमा तल्लीन भइरहँदा निरस भएको मानव जीवनलाई चाडपर्वमा हुने आफन्त भेटघाट, खानपान, मनोरञ्जन आदिले पुनर्ताजगी दिन मद्दत गर्छन् । धार्मिक महत्व हामीले मनाउने अधिकांश चाडपर्वसँग धार्मिक मान्यताहरू जोडिएका रहेका  पाइन्छन् । हिन्दूहरूको दशैँतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ । हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैँतिहार जस्ता महत्वका चाडपर्वलाई धर्मसँगमात्र सम्बन्धित नबनाएर परम्परा र संस्कृतिका रूपमा विकसित गरिंदै लैजानु पर्दछ ।

No comments:

Post a Comment