बडादशैंको शुभकामना
संस्कृति पहिचान हो । संस्कृति सभ्यता हो । संस्कृति मानव जातिको स्थायी सम्पत्ति हो । संस्कृतिको जन्म, विकास, विस्तार र विनास समय कालखण्डमा हुँदै आएको छ । कुनै संस्कृति व्यक्तिबाट सुरू भयो । जसको लिखित ईतिहास छ । कुनै संस्कृति कसले सुरू गर्यो ? कहिले सुरू भयो, त्यसको कुनै लिखित ईतिहास छैन । जुन निरन्तर संस्कारको रूपमा चल्दै आएको छ । चाड र पर्वहरू संस्कृतिका आधार हुन् । दशैं लोक संस्कृति हो । आज आफ्नो संस्कृतिको अवहेलना गर्ने र बाह्य संस्कृतिको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले बिस्तारै नेपाली पहिचान हराउँदै जाने देखिन्छ । बहुलवाद र बहुुल साँस्कृतिक परम्परा हाम्रो साझा पहिचान हो । विविधता भित्रको एकता, सद्भाव र सहिष्णुता हाम्रो बिशेषता हो । भनिन्छ दशैँ हिन्दुहरूको महान चाड हो । यो पर्व सबैभन्दा लामो समयसम्म मनाइने पर्वका रुपमा पनि लिइन्छ । अर्को तर्फ नारी शक्ति र शसक्तिकरणको प्रतिकका रुपमा पनि यो पर्व केन्द्रित छ । दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा–टाढाबाट आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आशिर्वाद लिने–दिने प्रचलन छ ।
दशैं पर्वमा देखिएको रौनकसँग यसका पछाडि कैंयौं दुःख, पीडा, समस्या, विकृतिहरू पनि छन् । पछिल्ला वर्षहरूमा दशैं निको महङ्गो हुने गरेको छ । पहिले नयाँ कपडा लगाउनु पर्छ, पिङ खेल्नु पर्दछ, इष्टमित्र, आफन्त भेटेर घरमा जेजस्तो छ त्यसैमा रमाइलो गरी मनाउनु पर्दछ भन्ने मान्यता र व्यवहार थियो । तर, आजकल पर्वमा गाडी किन्ने, टाढा–टाढा भ्रमण जाने, घरमै खसी–बोका काट्ने लगाएतका महङ्गा गतिविधि हुने गरेका छन् । पर्वको अवसरमा घरमा सवारी भित्राउनु, मिठो खानु र घुम्नु सकारात्मक पक्ष हुन् । तर, यस्ता गतिविधिलाई महङ्गो बनाउनु, साखका रुपमा लिनु, देखाउनुले पर्वका नाम खर्च र भड्किलो भएको होकि भन्ने देखिन्छ । कैंयौंले नयाँ तथा महङ्गो गाडी किनिरहेको अवस्थामा, पर्वका नाममा कैंयौं दिनदेखि खर्च गरिरहँदा दैनिक काम गरे मात्रै खान पुग्ने, एकदिन मिठो खान, राम्रो लगाउन पनि धौं–धौं हुने, जिविकोपार्जनकै लागि वैदेशिक रोजगारमा जाने गरिब तथा विपन्न वर्गलाई पर्वमा झन् पीडा हुन सक्दछ । आफ्नो क्षमताअनसार पर्व मनाउनु सबैको अधिकार हो । तर, आफ्नो क्षमता प्रदर्शन गर्दा आफूभन्दा कमजोरलाई पीडा नहुनेगरी मनाउनु उत्तम हुन्छ । अर्कोतर्फ पर्वले आफन्त, इष्टमित्र, छिमेकी सबैको मन जोड्ने महत्व राख्दछन् । तसर्थ दशैं केवल धार्मिक मान्यता र क्षणिक खुशियालीको माध्यम मात्रै नभई सबैको जीवनमा शान्ति कायम गर्ने आशिर्वाद र शक्तिको स्रोत बनोस् । दशैं आफन्तको विछोड र आर्थिक अभावले त्रसित हुने गरिबका लागि समृद्धिको प्रेरणादायी स्रोत बनोस्, बास्तवमै सबैको साझा पर्व बनोस् । बडादशैंको सम्पूर्ण पाठकहरूमा हार्दिक मंगलमय शुभकामना ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, October 16, 2023
२०८० साल असोज २९ गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment