Monday, October 24, 2022

चौथोपल्ट मैदानमा


खरानीटार । प्रतिनिधिसभा चुनावको लागि नुवाकोटको क्षेत्र नं. १ मा १७ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । ती मध्ये सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट बद्री मैनाली, र सत्ता गठबन्धनबाट माओवादीका हितबहादुर तामाङको उम्मेदवारी छ । स्वतन्त्रबाट निर्मल लामिछाने, जितेन्द्रसिंह ठकुरी,  राजकुमार बस्नेतको उम्मेदवारी छ । राप्रपाबाट सुर्दशन सिटौला, नेमकिपाबाट रिविन्द्र डंगोल, मालेबाट केशव उप्रेती, स्वतन्त्र पार्टीबाट प्रधुम्न महत, मंगोल अर्गनाइजेशनबाट सुरेन्द्र तामाङ, काँग्रेस बीपीबाट श्याम गुरुङ, लोसपाबाट लक्ष्मी रसाइली, राप्रपा नेपालबाट पुष्पा न्यौपाने, हाम्रो नेपाली पार्टीबाट सफलता बोगटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भुवन तामाङ, जनसमाजवादी पार्टीबाट निमेश तामाङ, जसपाबाट देवराज घिमिरेको उम्मेदवारी परेको छ । यस निर्वाचनमा क्षेत्रमा १ एक लाख पाँच हजार २८७ मतदाता छन् । 

सत्ता गठबन्धनबाट यो क्षेत्रमा काँग्रेस प्रवक्ता डा प्रकाशशरण महत उम्मेदवार बन्न चाहन्थे । ०७४ सालको चुनाव काठमाडौं ५ बाट लडे पनि एमालेका इश्वर पोखरेलसँग हारेका थिए । हालसम्म जनताबाट अनुमोदन हुन नपाएका महत नुवाकोट १ बाट यसपटक अनुमोदन हुन चाहन्थे । तर, गठबन्धनको चुनावी तालमेलको पहिले जसले जहाँ जितेको हो त्यहा सोही दलले पाउने सहमतिको आधारमा महतले सो क्षेत्र पाएनन् । महत समानुपातिकमा बसेका छन् । त्यसैले नुवाकोटमा गठबन्धनमा असन्तुष्टि गौण रूपमा रहेको बुझाई एमालेमा छ । उसले काँग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार नपाउनु र ‘एन्टी माओवादी मुभमेन्ट’ क्यास गर्ने एमालेको दाउ छ ।

२०७४ सालको निर्वाचनमा एमालेको मतसहित वामगठबन्धनको मत पाएर जितेका तामाङलाई यो पटक पाँचदलीय गठबन्धनबाट काँग्रेसको साथ छ । ०६४ सालको संविधानसभाको चुनाव, ७० को दोस्रो संविधानसभाको चुनाव र ०७४ को संघीय चुनावको अनुभव गरिसकेका तामाङ चौथोपटक चुनावी मैदानमा छन् । ०६४ र ०७० मा महतसँग हारेका तामाङले ०७४ मा महतलाई हराएका थिए । स्थानीय तहको नतिजाले पनि उत्साहित तामाङले मंसिर ४ मा आफ्नो जित निश्चित भएको बताउँदै आएका छन् । ‘मतपेटिकाले भन्ने हो अहिले भन्दा हतार होला’, उनले भने, ‘वस्तुस्थिति हेर्दा माओवादीले एक्लै पनि चुनाव जित्न सक्छ । अहिले वाम–लोकतान्त्रिक गठबन्धन भएको छ ।’ आफूले पाँच वर्ष सांसद हुँदा गरेका विकास निर्माणदेखि सुख दुःखमा जनताको साथ दिएकाले मत आउने र जनतामा आफू निर्विकल्प भएको तामाङले बताए । 

पहिलो पटक प्रतिनिधिसभाको मैदानमा रहेका मैनाली एमालेका जिल्ला अध्यक्ष हुन् । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका मैनाली राजनीतिक रूपमा पाएको अवसरबाट प्रमाणित गरिसकेको दाबी गर्छन् । स्थानीय चुनावको नतिजाअनुसार एमालेमाथि गठबन्धन भारी परेको देखिन्छ । ‘मलाई हलुका लागेको छ, भारी लागेको छैन,’ मैनालीले भने, ‘गठबन्धन नेताबीच मात्र भएको छ । जनताको बीचमा गठबन्धन भएको छैन ।’

गठबन्धनको सरकारको पालामा भएको कमजोरीलाई चुनावमा लिएर जाने मैनालीको तयारी छ । ‘महँगी भ्रष्टाचार र अन्तर्राष्ट्रिय सम्बन्धले गठबन्धनको जनाधार कमजोर भएको छ हामीलाई असर छैन,’ मैनालीले भने । स्थानीय चुनावको नतिजा संघ र प्रदेशका चुनावसम्म आउँदा परिवर्तन हुने उनको दाबी छ । ‘मत भनेको स्थिर हुँदैन । जनताले हाल्ने मत हो । मान्छेका मनस्थिति केही समयमा बदलिन्छ । स्थानीय तहको नतिजा आँकडा मात्र हो, त्यसले असर गर्दैन,’ उनले भने । प्रदेशसभामा आफूले खेलेको भूमिका र एमालेको एजेन्डालाई जनताले रुचाएकाले आफूलाई सहज भएको मैनालीको दाबी छ । 

नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष÷उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा काँग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, काँग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा रहेका दल एकीकृत समाजवादीले जम्मा २ हजार २४५ मत प्राप्त गरेको थियो ।

यसरी सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीले स्थानीय चुनावमा प्राप्त गरेको मत जोड्दा ५४ हजार ३७१ हुन आउँछ । एमालेसँग आवश्यकताका आधारमा तालमेल गरेको राप्रपाले नुवाकोटमा भने तालमेल नगर्ने भएको छ । जिल्लामा राप्रपा एकल रूपमा चुनावी मैदानमा जाने राप्रपाका सहमहामन्त्री तथा नुवाकोट क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार झनक प्याकुरेलले जानकारी दिए । स्थानीय तहमा एमालेको मत १८ हजार २६७ हो । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा वामगठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा छन् । एमालेका उम्मेदवार मैनालीले ०७४ मा प्रदेश ख बाट चुनाव जितेका थिए । मैनालीले २० हजार पाँच सय ९ मत ल्याएर प्रदेशसभामा विजयी हुँदा काँग्रेसका रमेशकुमार महतले १२ हजार दुई सय १७ मत ल्याएका थिए । महत अहिले पनि सो क्षेत्रमा चुनावी मैदानमा छन् । (शिलापत्रको सहयोगमा)

कसरी उदाए हितबहादुर ?

खरानीटार । हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उहाँ सदैव जनताको सुखदुःखमा साथैमा छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आएका छन् । दाजुभाइ सामान्य किसानी कर्ममा रहेका छन्, हितबहादुर भने वर्गीय उत्पीडन परिवर्तनका लागि वर्गसंघर्षमा होमिए । 

हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गर्न‘भयो । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे । 

राजनीतिक पृष्ठभूमि

हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा माक्र्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भइ कम्युनिष्ट राजनीतिमा लाग्नेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । भातृ संगठनमा सक्रिय रहँदै गर्दा उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने । 

२०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख,  २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने । 

तामाङ खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा तामाङ नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहे । उनको नेतृत्वदायी क्षमताको मूल्यांकन गर्दै २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । तर, पनि तामाङ झुकेनन् ।  आफ्नो समुदायमा पछाडि परेकाहरूलाई प्रेरणा बन्ने गरेका तामाङ चेतना, शिक्षा, समानता, विकासका कुरा आमनागरिकलाई बुझाएर सिकाएर समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । उनी जातीय वा अन्य कारण पछाडि पारिएका वर्गलाई उत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने कुरामा सचेत छन् । 

पछि माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । उनी नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा थिए । आफ्नै क्षमता र संघर्षमा समाज र राजनीतिलाई सँगसँगै डोरो¥याएका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने ।

जनयुद्धकै मूल एजेन्डा संविधान सभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भएको थियो । उनी आफ्नै जिल्लाको क्षेत्र नम्बर २ को उम्मेदवार बने ।  पार्टी युद्धबाट भर्खर उदाउँदै गरेको । देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । काँग्रेसको बलियो पकड भएको उनको क्षेत्रमा उनले जित हासिल गर्न सकेनन् तर नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग कडा प्रतिष्पर्धा भयो । तामाङ झिनो मत (१०४ मत) ले पराजित भए ।

हितबहादुर हारमा आत्तिने जितमा जोसिने मान्छे थिएनन् । उनी हरेक समयलाई आफ्नै गतिमा जान दिनुपर्छ, धैर्यता नै मानिसको जितको असल हतियार हुनसक्छ भन्ने मान्यता राख्छन् । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्ने लगभग निश्चित जस्तै भएपछि पार्टीले जनपरिषद् गठन ग¥यो । पार्टीले सबै प्रदेशस्तरमा प्रदेश ताम्सालिङ स्वायत्त जनपरिषद् गठन ग¥यो हितबहादुर त्यसको प्रमुख बने । पहिलो संविधानसभाबाट जनताको संविधान नबनेपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए ।  तर पनि उनले सफलता हात पार्न सकेनन् । 

दोस्रो संविधानसभाबाट २०७२ सालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने ।  त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । 

यसरी ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । उनी अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा तामाङ वाम–लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार छन् ।  पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस भइ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको साझा उम्मेदवार बनेका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रूपमा परिचित छन् । आफ्नो क्षेत्रमा आम नागरिकसँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ताको रुपमा तामाङ चिनिन्छन् । 

सातौं पटक उम्मेदवार


विदुर । पछिल्लो समय राजनीतिक क्षेत्रमा युवाले स्थान पाउनुपर्ने आवाज बाक्लो उठ्न थालेको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवाहरूले समेत स्थानीय निर्वाचनमा जित हासिल गर्न सफल भएपछि दलहरूमा समेत युवा तथा नयाँ अनुहारको पक्षमा आवाज मुजबुत हुन थालेको छ । दलभित्रै युवा र परिवर्तनको पक्षमा कुरा उठे पनि मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जेष्ठ तथा पुरानै अनुहारहरूको बोलवाला कायम भएको छ ।

नुवाकोटमा पनि ठूला भनिएका दलहरूमा परिवर्तनको पक्षमा युवाहरूले कुरा गर्न थाले पनि मैदानमा भने जेष्ठलाई नै अघि लगाएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरमा ध्रुव अधिकारी उम्मेदवार थिए । अधिकारीविरूद्ध तत्कालीन काँग्रेस युवाहरूले ‘युवालाई अवसर दिनुपर्छ’ भन्दै बेत्रावतीदेखि देविघाटसम्म मोटरसाइकल -याली गरेका थिए । अहिले त्यही पार्टीभित्र ७६ वर्षका अर्जुननरसिंह केसीले नुवाकोट क्षेत्र नं. २ मा प्रत्यक्षको टिकट पाएका छन् । काँग्रेसमा कोइराला खेमाका केसीले टिकट जित्न निकै पापड बेल्नु परेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरको नेता भनेर चिनिएका केन्द्रीय सदस्य बहादुरसिंह लामाले पनि नुवाकोट २ मै उम्मेदवार बन्न प्रयास गरेपछि केसीलाई टिकटको लागि सकस भएको हो ।

काँग्रेस नुवाकोटका सभापति, क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत लामा पक्षधर भएको कारण पनि केसीलाई थप सकस भएको हो । नुवाकोट क्षेत्र नं. २ को बैठकले केसीको नाम समानुपातिकमा र प्रत्यक्षमा लामाको नाम पठाएपछि केसी झन् चिढिएका थिए । बहादुरसिंह लामा पक्षधर मानिने क्षेत्रीय समितिले केसीलाई पाखा लगाएपछि उनी प्रत्यक्षतर्फ टिकट पाउन झन् सक्रिय भए । 

एकचालीस वर्षअघि नै सांसद

नुवाकोटको राजनीतिमा ४१ वर्षदेखि एउटै व्यक्ति निरन्तर राजनीतिमा सक्रिय छन् । राजनीतिमा सक्रियमात्र होइन, २०४८ सालपछिका हरेक निर्वाचनमा उम्मेदवार समेत भइरहेका व्यक्ति हुन्–अर्जुननरसिंह केसी । पञ्चायतकालदेखि प्रजातान्त्रिक काल हुँदै गणतन्त्रसम्म पनि केसी नै नुवाकोटमा उम्मेदवार बनिरहन सफल छन् । प्रजातन्त्रपछिको हरेक निर्वाचनमा उम्मेदवार हुन सफल केसीको यो सातौं पटकको उम्मेदवारी हो ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कायम ६३ उम्मेदवारमध्ये ज्येष्ठ उम्मेदवार केसी नै हुन् । ७६ वर्षीय केसी ‘युवालाई राजनीतिक क्षेत्रमा अघि ल्याउन आफू उम्मेदवार भएको’ बताउछन् । 

    नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएका काँग्रेसका केन्द्रीय सदस्य केसीले यो पटक आफ्नो निर्वाचनको लडाईं अन्तिम भएको भनाइ सार्वजनिक भएको छ ।

४१ वर्ष अघिदेखि अर्जुननरसिंह केसी नुवाकोटको राजनीतिमा प्रत्यक्ष जोडिदै आएका छन् । तत्कालीन गाउँखर्क गाउँ पञ्चायतको उपप्रधानपञ्च भएका केसी जिल्ला पञ्चायतको सदस्य भएका थिए–२०३६ साल अघि नै । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतमा उम्मेदवार भएर विजयी भए । २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजित भएपछि २०४४ सालमा जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित केसीले नुवाकोटमा २०४६ सालको जनआन्दोलन दमन गर्न अग्रणी भूमिका खेलेको आरोप छ । जनआन्दोलन दमन गर्न गठित प्रतिकार समितको संयोजक केसी नै थिए । प्रजातन्त्र पुनस्र्थापनापछि सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत बनेका केसी २०४७ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस राजनीतिमा प्रवेश गर्नासाथ केसी २०४८ को आम निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट उम्मेदवार भई विजयी भए । २०५१ नुवाकोट क्षेत्र नं. ३ बाट विजयी भएका केसी २०५६ सालमा क्षेत्र नं. ३ मा एमालेका महेन्द्रबहादुर पाण्डेसँग पराजित भएका थिए । केसी २०६४ सालको संविधान सभा निर्वाचनमा भने नुवाकोट क्षेत्र नं. १ बाट उम्मेदवार बने । ०६४ मा नेकपा माओवादी केन्द्रकी विमला सुवेदीसँग पराजित भएका केसीले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सुवेदीलाई नै पराजित गरी विजयी भए । 

२०७२ को संविधानपछि नुवाकोट दुई निर्वाचन क्षेत्रमा सीमित भयो । २०७४ को निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवार भएका केसी नेकपा एमालेका नारायणप्रसाद खतिवडासँग पराजित भए । 

अन्तिम निर्वाचन

निर्वाचित भएर गृहमन्त्री बन्ने धोको पालेका केसीले अहिलेको निर्वाचनलाई आफ्नो जीवनको अन्तिम निर्वाचन भनेका छन् । 

मनोनयन दर्तापछि विदुरमा पत्रकार भेटघाट गरी नेता केसीले पार्टीभित्र र बाहिर पनि युवाहरूको नेतृत्व सुरक्षित गर्न आफू उम्मेदवार भएको र यो नै आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन भएको समेत बताएका छन् । 

केसीले भने ‘यो मेरो जीवनको अन्तिम निर्वाचन हो । फेरि म लड्न सक्दिन पनि होला । अर्को चुनावमा यही (नुवाकोट) आएर नयाँ उम्मेदवारलाई सघाउने छु । पहिलेको निर्वाचनमा कतै आफ्नो उम्मेदवारी अन्तिम भनेको रहेछु भने त्यो होइन, अहिलेको अन्तिम हो ।’

नेता केसीले संसदमा उपस्थित भएर आफ्ना कुरा राख्दा संसारले देख्ने र सुन्नेमान्छे जिल्लाको आफूमात्र भएको दाबी गर्दै एकीकृत विकास परियोजना भित्र्याएर आफ्नो क्षेत्रको विकासमा कायापलट गर्ने धोको पूरा गर्न उम्मेदवार भएको बताए ।

केसी बलियो

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा आएको मतको आधारमा गठबन्धनको तर्फबाट उम्मेदवार काँग्रेस नेता केसी नै बलियो देखिएका छन् । ठूला राजनीतिक दलहरू एकल रूपमा निर्वाचनमा जाँदा पनि नुवाकोटमा काँग्रेस अन्य दलभन्दा केही बलियो रहेको छ । काँग्रेससँग माओवादी पनि गठबन्धनमा रहेका कारण जितको बलियो सम्भावना देखेकै कारण केसी यो पटक टिकटको ल्याएका हुन् । 

दुई नगरपालिका र तीन गाउँपालिका रहेको क्षेत्र नं. २ मा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका वडाअध्यक्षका उम्मेदवारहरूले २९ हजार ८६१ मत ल्याएका थिए । 

नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारहरूले २६ हजार ७७ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवाहरूले १४ हजार ५७८, राप्रपाले दुई हजार एक सय र नेकपा एकीकृत समाजवादीले ९६१ मत ल्याएका थिए । गठनबन्धनबाट प्रदेश क्षेत्र नं. २ ‘ख’ माओवादीलाई परेको भए पनि अन्तिममा काँग्रेसका बहादुरसिंह लामा तामाङको उम्मेदवारी कायम भएको कारण पनि केसीले थप सुरक्षित महसुुस गरेका छन् । केसीकै जोडबलमा संघको टिकटका दाबी गरिरहेका पार्टीभित्रकै विरोधी खेमाका लामालाई प्रदेशमा कायम राखी माओवादी उम्मेदवार राममाया बोगटीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन् । 

लामाले टिकट नपाएको खण्डमा संघमा केसीलाई लामा पक्षधरबाट हुन सक्ने असहयोगको खतरा पनि टरेको हुँदा केसीले गत निर्वाचनमा आफूलाई पराजित गर्न सफल नेकपा एमालेका नारायणप्रसाद खतिवडालाई यो पटक हराएर पैंचो तिर्न सक्ने सम्भावना बलियो छ । (स्वतन्त्र समाचार सेवाको सहयोगमा)

‘बद्री मैनालीले कोल्ड स्टोर कप्लक्कै खानुभयो’


विदुर । नुवाकोट निर्वाचन क्षेत्र १ (२) का वाम–गठबन्धनका उम्मेदवार राधिका तामाङले नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बद्री मैनालीले चुनाव जितेर भ्रष्टाचारबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् । 

नुवाकोट(काठमाडौं सम्पर्क समिति गठबन्धन दलले शनिबार काठमाडौंमा आयोजना गरेको चियापान तथा दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेता एवं पूर्वराज्यमन्त्री तामाङले अनुदानको नाममा मैनालीले कोल्ड स्टोर (शीत भण्डार) को रकम खाएको टिप्पणी गरेका छन् । ‘अघिल्लो निर्वाचनमा बद्री मैनालीजी र म प्रदेशतर्फ वाम गठबन्धनबाट जितेका हौं । उहाँले जितिसकेपछि कोल्ड स्टोर कप्लक्कै खानुभयो,’ उनले भने, ’राधिका तामाङले केही पनि खाएको छैन । म सप्रमाण बुझाउँदैछु तपाईंहरूलाई । मैले राज्यले तोकेको सेवासुविधा लिएँ । त्यो भन्दा १ रुपैयाँ यताउता गरेको छैन ।’ निर्वाचनमा मैनालीले स्वच्छ प्रतिस्पर्धाको साटो पैसाको आडमा मतदातालाई दिग्भ्रमित पारिरहेको भन्दै तामाङले आफूले पैसा नभए पनि जनताको विश्वासमा चुनाव जितेको बताए ।

‘प्रतिस्पर्धी दलका उम्मेदवार बद्रीजीसँग पैसा छ । उसले जित्छ कि भन्ने दिग्भ्रमित बनाइरहेको छ । त्यो मलाई थाहा छ । राधिका तामाङ हिजो जितेको पैसा भएर होइन । नुवाकोट जनताको सहयोग र मायाले जितेको थिएँ,’ राधिका तामाङले भने, ‘हितबहादुर तामाङ, राधिका तामाङसँग पैसा थिएन विश्वास थियो । हामीसँग अठोट थियो । योजना थियो । त्यो हिसाबले जनताको मन जित्यो र जनताबाट त्यो जिम्मेवारी प्राप्त ग¥यौं ।’ वाग्मती प्रदेशका निवर्तमान उपसभामुख समेत रहेका तामाङले हिजो जस्तै जितेर गएपछि मतदाताको शिर निहु¥याउने काम नगर्ने प्रतिबद्धता जनाए ।

‘तपाईंहरूले जिताएर पठाउनुभएपछि मैले खराब काम गरिनँ । फेरि पनि जिताएपछि गठबन्धनको मात्रै होइन । नुवाकोटका जनताको साझा उम्मेदवारको भूमिका निभाउनेछु । बोल्नेभन्दा पनि म परिणाममुखी काम गर्नमा विश्वास गर्छु । त्यसका लागि लाग्नेछ ।’ तामाङले भने । 

नुवाकोटमा डेंगुको जोखिम कायम

विदुर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम नुवाकोटमा कामयमै छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार असोज मसान्तसम्म नुवाकोटको १२ वटै स्थानीय तहमा डेंगुको संक्रमण पुगेको थियो । १२ वटै स्थानीय तहका नागरिकहरूलाई त्रिशुली अस्पतालमा राखेर उपचार गरेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । 

    असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । तिहार सुरु भएसंगै अधिकांश स्थानमा डेंगुको प्रकोप बढेको छ । डेंगुबाट सामान्य विरामी भएकाहरूलाई त्रिशुली अस्पतालले घरमै बसेर रेखदेख गर्न आग्रह गरेको छ । केही असहज भएमा तत्कालै अस्पताल आउन आग्रह गर्दै अस्पतालले केही दिन डेंगुको उच्च जोखिम रहेको अनुमान गरेको छ । तिहार सकिने र चिसो मौसम बढ्ने भएपछि  यसको संक्रमणमा कमी आउने अनुमान छ । 

तिहार सुरुभएसंगै नागरिकहरूको चहलपहल बढेको र डेंगु संक्रमित व्यक्तिको ओहोरदोहोरले यो रोग फैलनलाई बढी बल पुगेको हो । नुवाकोटमा डेंगुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागी सर्च गर्ने र नष्ट गर्ने अभियान सञ्चालन गरे पनी यसको जोखिम जिल्लामा कायमनै रहेको बताईएको छ । 

स्वास्थ्य कार्यालय नुवाकोटको आग्रहमा नुवाकोटको १२ वटै स्थानीय तहले संक्रमण नियन्त्रण तथा रोकथामको लागी लामखुट्टेको बासस्थानको खोजी गर्ने र नष्ट गर्ने अभियाननै सञ्चालन गरेको थियो । 

पछिल्लो समय चिसो बढे पनी अझै २ साता जती सतर्क रहन आग्रह गरेको छ । स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्ने तथा संक्रमण जोखिम नियन्त्रण गर्ने अभियानमा सबैलाई एकजुट हुनको लागी कार्यालयले आग्रह गरेको छ । 

सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्न‘ तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय हो । डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंगु लामखुट्टको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।

फेरियो चुनाव प्रचार शैली

विदुर । निर्वाचन आयोगले ठूला आमसभा र तडकभडकमा रोक लगाएपछि नुवाकोटमा राजनीतिक दलहरू र उम्मेदवारले प्रचारशैलीमा बदलेका छन्र । यसअघि प्रत्यक्ष भेटघाट गर्दै आएका उम्मेदवारको ध्यान अहिले सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरूमा केन्द्रित छर । त्यसबाहेक प्रचार कार्यालय स्थापना गरेर भेटघाटलाई भने निरन्तरता दिएका छन्र ।

नुवाकोटको दुई संघिय निर्बाचन क्षेत्र र ४ प्रदेश निर्बाचन क्षेत्रमा उम्मेदवार निकट कार्यकर्ता र प्रचारकले फेसबुक, ट्वीटर, टिकटक जस्ता सञ्जाललाई बढी प्रयोग गरिरहेका छन्र । उम्मेदवारका नाममा ‘फेसबुक पेज’ बनाएर प्रचार गर्ने र त्यसलाई ‘बुस्ट’ गर्न थालेका छन् । यसका लागि उम्मेदवारहरूलेनै निजी सहयोगी वा कार्यालयमै कर्मचारी खटाएका छन् । 

ठुला दलका उम्मेदवारहरूले निर्बाचन परिचालन समिति तयार गरेर यस अभियानलाई तिब्रता दिएका छ न् । निर्बाचन क्षेत्र अन्तर्गत रहेका सबै वडा तहसम्मका कार्यकर्तालाई निर्बाचन सम्बन्धि जिम्मेवारी दिएको छ । सबै वडा तहसम्म निर्बाचन परिचालनका लागी सम्पर्क कार्यालय स्थापना गरेर प्रचार तीव्र बनाइएको छ । 

सञ्चार क्षेत्रमा उम्मेदवारले गरेका काम र भावी योजनाबारे पत्रकारलाई जानकारी गराउने, फेसबुक पेज बुस्ट गरी प्रचार गर्ने लगायतलाई तिब्र पारिएको छ । ‘१७ गतेदेखि हामी चुनावी सभाहरूको आयोजना गर्ने छौं, अहिले प्रचारका लागि र उम्मेदवारको एजेण्डा लैजानका लागि हामी सञ्चार माध्यममा केन्द्रित भएका छौं’ काँग्रेस जिल्ला उप सभापति राजु थापाले भने । त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने समेत पहिलाको जस्तो चुनावी प्रचारप्रसार अहिले नभएको बताउँछन् । उनका अनुसार अहिले राजनीति दल र उम्मेदवारहरू प्रविधिको प्रयोगबाट आफुलाई नागरिकहरू माझमा पु¥याइरहेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको समेत अभ्यास यही रहेको पाइन्छ । सञ्चार माध्यमको कार्यक्रमहरूमा अतिथिका रुपमा सहभागि हुने र आफ्नो एजेण्डा मतदाताहरूबीच लैजाने अभ्यासमा आफुहरू रहेको उनले बताए ।  

निर्वाचन आयोगले मतदान हुनुभन्दा १७ दिनअगाडिसम्म प्रचारप्रसार र आमसभामा रोक लगाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई पहिलोपटक सम्झाउने र अटेर गरे कानुन अनुसार कारबाही गरिने निर्वाचन कार्यालयले जनाएको छर । मोटरसाइकल वा अन्य सवारी साधन प्रयोग गरी ¥याली निकाल्न र राष्ट्रिय झण्डा बोकेर प्रचारप्रसारमा सरिक हुन आयोगले रोक लगाएको छर । निर्वाचन आयोगले कात्तिक १७ गतेभन्दा अगाडि आचारसंहिताको व्यवस्थाअनुसार प्रचार प्रसारका कार्यक्रम नगर्न निर्देशन गरेको छ । 

आयोगले आचारसंहिताको दफा १३ बमोजिम मतदान हुने दिनभन्दा सत्र दिन अघिसम्म गर्न नपाउने भनेका प्रचार प्रसारका गतिविधि नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४ मंसिरमा मतदान हुँदैछ । त्यसको १७ दिनअघि अर्थात् कात्तिक १७ गतेसम्म आचारसंहिताले निषेध गरेका प्रचार प्रसारका कार्यक्रम गर्न पाउँदैनन् । कात्तिक १७ गतेसम्म जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।

आयोगले प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भन्दै दल तथा उम्मेदवारहरूलाई स्मरण गराएको छ ।

उम्मेदवारहरू एजेण्डा सहित भेटघाटमा

शनिवार काठमाडौंमा आयोजित काँग्रेस–माओवादीको संयुक्त कार्यक्रम । तस्बिर सौजन्यः प्रकाश रैला 

विदुर । मंसिर ४ गते तोकिएको संघ तथा प्रदेशको निर्बाचनका लागी नुवाकोटमा गठबन्धन दलहरूले उम्मेदवार परिचयात्मक कार्यक्रम तथा घरदैलो र भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । दुई वटै निर्बाचन क्षेत्रमा निर्बाचन परिचालन कमिटि निर्माण गरी पालिकास्तरिय उम्मेदवार परिचयात्मक कार्यक्रम सहित घरदैलो र भेटघाट कार्यक्रममा उम्मेदवारहरू व्यस्त छन् । दुई निर्बाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने अरुण र क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस जिल्ला उपसभापति राजु थापाको संयोजकत्वमा निर्बाचन परिचालन कमिटि गठन गरेको छ । 

गठबन्धन, चुनावी एजेण्डा, हितबहादुर तामाङ, राधिका तामाङ, रमेश कुमार महत  निर्बाचन परिचालन कमिटिले दुई वटै दलको नेता तथा कार्यकर्ताहरूलाई निर्बाचन अबधिभरमा बिभिन्न जिम्मेवारी तोकेर निर्बाचनलाई सम्पन्न गर्ने काममा जुटेको क्षेत्र नम्बर १ का निर्बाचन परिचालन कमिटिका संयोजक पुष्प लामिछानेले बताए । लोकतान्त्रिक बाम गठबन्धन तर्फबाट बनेका उम्मेदवारहरूलाई निर्बाचित गराउन हाल परिचयात्मक कार्यक्रमको सुरुवात भएको छ । सबै स्थानिय तहमा निर्बाचन आचार संहिताले तोके अनुसारको २५ जना भन्दा कम कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारहरू गाँउगाँउ छिर्न थालेका छन् । जस अन्तरगत क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारहरू हितबहादुर तामाङ, राधिका तामाङ र रमेश कुमार महतले ककनी, लिखु, शिवपुरी, दुप्चेश्वर, तादी र सुर्यगढी गाँउपालिकामा आफ्नो चुनावी एजेण्डा सहित घरदैलो भेटघाट तथा परिचयात्मक कार्यक्रम कार्यक्रम गरेका छन् । शनिवार उनीहरूले संयुत्तः रुपमा काठमाडौंमा रहेको नुवाकोटका मतदातासंग अन्तरक्रिया गरे । 

यसैगरी क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरू अर्जुननरसिंह केसी, बहादुरसिंह लामा तामाङ र रामप्रसाद ढुङ्गानाले बेलकोटगढी नगरपालिका, किस्पाङ र म्यागङ पालिका स्तरिय भेटघाट कार्यक्रम गरे । उनीहरूपनि शनिवार काठमाडौंको कार्यक्रममा सहभागि थिए  । 

यसै बीच, शनिवार काठमाडौंमा भएको कार्यक्रममा काँग्रेस–माओवादीको झन्डै तीन हजार कार्यकर्ताको उपस्थिति रहेको थियो । संयुक्त गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ सम्पर्क समितिद्वारा आयोजना गरिएको चाडपर्व विशेष सुभकामना आदानप्रदान, चियापान एवं उम्मेदवार परिचय कार्यक्रम काँग्रेस तादी काठमाडौं सम्पर्क समितिका सभापतिको सभापतित्वमा नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिका सचिव प्रकाश रैलाले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता थियो भने विशिष्ठ अतिथिको रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अर्ज‘ननरसिंह केसी, नेकपा माओवादी केन्द्रका पोटिलब्युरो सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हितबहादुर तामाङ,माओवादी केन्द्रका पोलिलब्युरो सदस्य तथा नुवाकोट इन्चार्ज एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिमला सुबेदी थिए । 

सो कार्यक्रमको अतिथिहरूमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं. २  को २ प्रदेश सभा उम्मेदवार बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशका निवर्तमान उपसभामुख एवं निर्वाचन क्षेत्र नं. १ को क प्रदेशका उम्मेदवार राधिका तामाङ , काँग्रेस जिल्ला सभापति एवं निर्वाचन क्षेत्र नं. १ को ख प्रदेश सभा उम्मेदवार रमेश महत, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नं. २ को क प्रदेश सभा सदस्य उम्मेदवार रामप्रसाद ढुंगाना, नेपाली काँग्रेस निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्र सम्पर्क 

समन्वय प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार श्रीकृष्ण अधिकारी, नेपाली काँग्रेस नुवाकोट जिल्ला पुर्व सभापति ध्रुव अधिकारी, माओवादी केन्द्र नुवाकोट जिल्ला सह–इन्चार्ज एवं बागमती प्रदेश सचिवालय सदस्य हिरानाथ खतिवडा, माओवादी केन्द्र नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने, नुवाकोट जिल्ला सम्पर्क समन्वय समिति इञ्चार्ज एवं प्रदेश सचिवालय सदस्य किरणकुमार रिजाल, माओवादी केन्द्र बागतमी प्रदेश समिति सदस्य एवं प्रदेश सभा समानुपातिक उम्मेदवार मिना वाइवा लगायत थिए । 

यसै बीच अर्को समाचार अनुसार हाल गठबन्धन दलका उम्मेदवारहरूले नयाँ चुनावी रणनीति समेत तय गरेको निर्बाचन परिचालन कमिटिले जनाएको छ । सम्बधित स्थानीय तह वा वडामा पुग्दा त्यस वडा बाहेकका अरु कार्यकर्ताहरू सहभागी नहुने जनाएको छ । आचार संहिताका कारण भिड कम गर्नको लागी सम्बन्धित स्थानिय तह वा वडाको मात्रै मतदाताहरूसँग भेटघाट गर्न उम्मेद्धवारहरू गाँउगाँउ पुग्न थालेका छन् । मतदाताहरू गठबन्धनका उम्मेद्धवारहरूसँग प्रत्यक्ष संबाद गर्न र गाँउको समस्या समाधानको लागी पहलकदमि लिईदिन आग्रह गर्न थालेका छन् । दुई वटै निर्बाचन क्षेत्र र ४ ओटै प्रदेश सभा निर्बाचन क्षेत्रका गठबन्धन तर्फका उम्मेद्धवारहरू पुरानै अनुहार र बिकासप्रमी भएको भन्दै मतदाताहरू समेत उत्साहित भएको काँग्रेस उपसभापति राजु थापाले बताएका छन् । 

गठबन्धन दलले नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पुर्बमन्त्रि हितबहादुर तामाङ, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब मन्त्री अर्ज‘ननरसिंह केसीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य पुर्ब कृषि राज्यमन्त्री एवं बाग्मती प्रदेश निबर्तमान उपसभामुख राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापपति रमेशकुमार महतलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ को प्रदेश क प्रदेशमा नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश कमिटि उपाध्यक्ष एवं तत्कालिन जिल्ला बिकास समितिका पुर्ब उपसभापति रामप्रसाद ढुङगाना, प्रदेश ख मा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब सांसद बहादुरसिंह लामा तामाङलाई उम्मेदवार बनाएको छ । 

यसै बीच, आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र  र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा काँग्रेस जिल्ला उपसभापति राजु थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल छन् । 

सदस्यमा काँग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी, माओवादी केन्द्रबाट नवीन पुडासैनी, राजकुमार रेग्मी, गोकर्णनाथ न्यौपाने, नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल छन् ।  समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।  

उक्त समितिले गठबन्धन दलहरूको साझा उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको सह संयोजक कल्पना रिमालले जानकारी दिए । उनका अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी छ ।

यसै बीच, नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धन दलका उम्मेद्दवारहरूले विदुर नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्दवार अर्ज‘ननरसिंह केसी, दुई वटै प्रदेश सभा सदस्य पदका उम्मेद्दवारहरू रामप्रसाद ढुङ्गाना र बहादुरसिंह लामा तामाङ र समानुपातिक सूचीमा रहेका उम्मेद्दवारहरूले विदुरका अगुवा कार्यकर्ता भेटघाट गर्दै गठबन्धन नेतृत्वले निर्बाचन केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । 

मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्बाचनमा गठबन्धन दलमा रहेका सबै कार्यकर्ताहरूलाई समुदाय वा टोल टोलमा निर्बाचन केन्द्रित हुनको लागी निर्देशन दिएको हो । निर्बाचन परिचालन कमिटि क्षेत्र नम्बर २ का संयोजक काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले बिदुर नगरपालिका दुई वटै प्रदेशमा बिभाजित रहेकाले प्रदेश र संघ निर्बाचन रणनीती परिचालन कमिटिले दिए अनुसार समुदाय तहमा खटिनको लागी आग्रह गरे । अगुवा कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार अर्जुननरसिंह केसीले गठबन्धनको साझा उद्देश्य प्राप्तिको लागी सबै एकजुट हुनको लागी आग्रह गरेका छन् । 

मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुसाशन कायम गर्न र महङगी नियन्त्रणको लागी गठबन्धन दलले अधिराज्यभर जित हासिल गर्न‘पर्ने भन्दै त्यसै अनुसार समुदाय तहमा खटिनको लागी उहाँले निर्देशन दिएका छन् ।

माओवादीको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

विदुर । नेकपा माओवादी केन्द्रले आगामी ५ वर्षसम्म संविधान संशोधन मार्फत देशलाई जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ विस्तारै माहोल बनाएर लग्ने उद्घोष गरेको छ । आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै माओवादीले संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लग्ने घोषणापत्रको मस्यौदा बनाएको हो ।

आगामी ५ वर्षको ‘रोड म्याप’ तयार गर्नेक्रममा माओवादीले विभिन्न ११ विषयका विज्ञसँग परामर्श गरेको थियो । विषय विज्ञसँग छलफल गरी घोषणापत्र लेखन समितिले तयार गरेर फाइनल ड्राफ्ट केन्द्रीय कार्यालयमा बुझाइसकेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘पार्टीको घोषणापत्र तयार भइसक्यो । अब फाइनल टच दिनमात्रै बाँकी छ,’ रातोपाटीसँग ढकालले भने, ‘पदाधिकारी बैठक बसेर १/२ भित्रै घोषणापत्र प्रकाशन गरेर जनताको बिचमा ल्याउँछौँ ।’ संविधान निर्माण भएको सात वर्षपछि माओवादीले उच्च प्राथमिकता दिई शासकीय प्रणाली फेर्ने विषयलाई घोषणापत्रमा समेटेको हो । माओवादीकै जोडबलमा पहिलो संविधानसभा चुनावपछि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रायः सबै दल सहमत भएका थिए । पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा माओवादी कमजोर भयो । त्यसपछि दुवै मुद्दा छोडेर संसदबाट निर्वाचित प्रधानमन्त्री र मिश्रित निर्वाचन प्रणालीमा जान प्रमुख दल सहमत भए ।

अहिलेको संसदीय व्यवस्था बदनाम भएको र त्यसबाट देशको विकास तथा समृद्धि हुन नसकेको निष्कर्ष निकाल्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य रहेको भन्दै माओवादी केन्द्रले ती विषयलाई घोषणापत्रमै उल्लेख गरेको घोषणापत्र लेखन समितिका एक सदस्यले बताए । ‘अहिलेको संसदीय व्यवस्था जनतामा बदनाम भयो । यसबाट देशको विकास र समृद्धि ल्याउन कठिन भयो,’ ती सदस्यले भने, ‘निर्वाचन महँगो हुँदा इमानदार नेता–कार्यकर्ता निर्वाचित हुन नसक्ने स्थिति भयो । शासन व्यवस्था र निर्वाचन प्रणालीकै कारण भ्रष्टाचारी, दलाल, तस्करहरू राज्य सत्तामा मौलाए ।’ त्यसैले, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान माहोल बनाउने र सबै दललाई सहमत गराएर संविधान संशोधन गर्ने लक्ष्य माओवादी केन्द्रले लिएको उनको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले समेत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आन्दोलन गर्ने बारम्बार उद्घोष गर्दै आएका छन् । यसैगरी जनताबाट निर्वाचित जनप्रतिनिधिलाई मन्त्री बनाउँदा भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै अबदेखि जनप्रतिनिधिलाई कानुन निर्माणमा मात्रै केन्द्रित गर्नेगरी व्यवस्था गर्ने माओवादी केन्द्रको प्रस्तावित घोषणापत्रमा उल्लेख छ । देशमा भ्रष्टाचार मौलाएको भन्दै २०४६ सालदेखि राजकीय पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग बनाउने पनि प्रस्तावित घोषणापत्रमा उल्लेख छ ।

राज्य सत्तासँग नजिक बसेका व्यक्तिहरूले अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै स्वतन्त्र व्यक्तिको नेतृत्वमा शक्तिशाली आयोग बनाउने र सबै पार्टीका केन्द्रीयदेखि जिल्लासम्मका पदाधिकारीले समेत सम्पत्ति सार्वजनिक गर्दैै जनताबाट पब्लिक अडिट गर्न‘पर्ने प्रस्ताव गरेको ती सदस्यले बताए ।

घोषाणपत्रमा समेटिएका प्रतिबद्धता :

माओवादी केन्द्रले घोषणापत्रमा नेपालको कुल जनसंख्याको झण्डै २० प्रतिशत गरिबीलाई घटाएर आगामी ५ वर्षमा ८ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । किसानको आम्दानी दोब्बर बनाउने र किसान पेन्सन कार्यक्रमलाई प्रभावकारी बनाउने पनि घोषणापत्रमा भनिएको छ । आधुनिक बिउ बिजन र कृषिको आधुनिकीकरण गर्न पहल गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई पूर्णतया निःशुल्क कार्यान्वयन गराउने, शिक्षामा भएको असमानता हटाउन एउटै पाठ्यक्रम बनाउने पनि माओवादी केन्द्रको प्रस्तावित घोषणापत्रमा उल्लेख छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिई स्वदेशमै रोजगारी वृद्धि गर्न आवश्यक वातावरण बनाउने, संविधान बमोजिम निःशुल्क स्वास्थ्य सेवा व्यवस्था कार्यान्वयनलाई जोड दिने, दीर्घ रोगीहरूले पाइरहेको सुविधालाई दोब्बर बनाउने, चिकित्सा शिक्षा अध्ययनलाई सस्तो र सर्वसुलभ बनाउँदै राज्यको दायित्वमा राख्ने प्रतिवद्धता पनि माओवादी केन्द्रले घोषणापत्रमार्फ जनाउँदै छ ।

विकास खर्चमा सन्तोषजनक प्रगति नभएको अवस्थालाई मध्यनजर गर्दै सबै क्षेत्रका पूर्वाधार निर्माणको अवस्थालाई अवलोकन, नियमन, सुपरिवेक्षण गर्न विकास प्राधिकरणको अवधारणा माओवादी केन्द्रले अघि सारेको छ । 

यस्तो खालको प्राधिकरण संघमा मात्रै बनाउने प्रस्ताव गरिएको छ । यस्तै निर्यात प्राधिकरण बनाउने र यस्तो प्राधिकरणले निर्यातकर्ताको समस्या सुन्ने, निर्यातलाई प्रोत्साहन गर्ने र नेपाली उत्पादनलाई विश्व बजारसम्म पु¥याएर ब्राण्ड स्थापित गर्ने भनिएको छ ।

देशमा उत्पादन हुँदै गएको विद्युतको अन्तरिक र बाह्य स्रोतको व्यवस्था गर्ने पनि प्रस्तावित घोषणापत्रमा भनिएको छ । देशमै ५ हजार मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने र अरु थप ५ हजार मेगावाटको अन्तर्राष्ट्रिय व्यापारका लागि परिस्थिति निर्माण गर्ने उद्देश्य माओवादी केन्द्रले लिएको छ । त्यसका लागि छिमेकी देशसँग सन्धि सम्झौता गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै नेपालका सम्पूर्ण वन क्षेत्रमध्ये करिब ५१ प्रतिशत उत्पादनशील र पहुँचयोग्य रहेकाले यस्ता उत्पादनशील वन क्षेत्रको पूर्ण क्षमताको उपयोग हुनेगरी व्यवस्थित व्यवस्थापन पद्धति अवलम्बन गर्दै वन पैदावारको प्रचुर उत्पादन गरी घरेलु आवश्यकतालाई परिपूर्ति गर्ने र वन पैदावार निर्यातको नीति लिने पनि माओवादी केन्द्रको प्रस्तावित घोषणापत्रमा उल्लेख छ । यसबाट १५ करोडभन्दा बढी घनफिट काठ उत्पादन भई वार्षिक न्यूनतम १ खर्ब रुपैयाँको काठ तथा दाउरा उत्पादन हुने जनाइएको छ ।

काठमाडौं उपत्यका र त्यसपछि पोखरालगायतका प्रमुख सहरमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरी वायु प्रदूषण नियन्त्रण गर्ने, चेपाङ्ग, राउटे, वनकरियाहरूलाई वन किसानको रूपमा घोषणा गर्ने र तिनीहरूलाई वनपैदावार र निश्चित आय उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने पनि प्रस्तावित घोषणापत्रमा भनिएको छ । 


२०७९ साल कात्तिक ७ गतेको सम्पादकीय

जुवातासबाट ध्यान हटाऔं

हिन्दु धर्मावलम्वीहरूको दोस्रो महान पर्व तिहार सुरु भएको छ । बजार तिर तिहारको किनमेलको चहलपहल सुरु भैसकेको छ भने गाउँ घर तिरपनि तिहारको रमझमले छुन थालिसकेको छ । तिहारको आफ्नै इतिहास र कथा छ । तिहारको सांस्कृतिक पक्षको कुरा गर्दा देउसी भैलोको कुरा अग्रपङ्तिमा आउँछ । देउसी भैलो तिहारसंगै जोडिएर आउँछ, त्यसरी नै जोडिएर आउँछ जुवा र तास । जुवा तास खेल्ने प्रचलन कहिले कहाँबाट सुरु भयो भन्ने कुराको यकिन नभए पनि यसको सुरुवात मनोरञ्जनकै उद्देश्यले गरिएको हो भन्ने कुरामा चाहिँ दुइमत छैन । हाम्रो पौराणिक धर्म ग्रन्थमा पनि जुवाको उल्लेख गरेको पाईन्छ । स्वयम देवी देवताले समेत समय व्यतित गर्न जुवा खेलेको प्रसंगहरू हाम्रो ग्रन्थमा पाईन्छ । जुवाकै कारणले महाभारतको युद्ध भएको थियो । सुरुवाती समयमा मनोरञ्जनको दृष्टिकोणले आविष्कार गरिएको भएपनि पछिल्लो समयमा जुवा तास एउटा गम्भीर सामाजिक विकृतिको रुपमा देखिएको छ । जुवा तासकै कारण कायौं घर परिवारको बेहाल भएको हामीले प्रत्यक्ष देखेका छौं । यसकै कारणले सामाजिक होहल्ला झै झगडा देखि लिएर हत्या सम्मको घट्ना भएको हामीले देखे सुनेका छौं । जुवा तासले आजसम्म कसैको भलो भएको छैन र पनि मानिसबीच यो प्रिय छ । भर्खर स्कुल कलेज पढ्दै गरेका किशोर किशोरी, युवा युवती हुन या चाहे प्रौढ या बृद्ध या केही नपढेको मजदुर होस् या चाहे लेखपढ गरेको जागिरे या राजनीतिज्ञ या राज्यको उच्च ओहोदाको व्यक्ति हरेक माझ लोकप्रिय छ, यो जुवा र तास भन्ने कुरा । प्रत्येक मानिसले आफ्नो जीवनमा जुवा तासको अनुभव एक न एक पटक पक्कै गरेका हुन्छन् ।

समय गतिशिल र परिवर्तनशिल छ । गतिशिल समयसंगै समाज पनि परिवर्तन हुँदै जान्छ । आजको नेपाली समाज हिजोको नेपाली समाज भन्दा धेरै कुरामा फरक छ । वर्तमान नेपाली समाजको लागि तास एउटा अभिन्न पाटो जस्तै बनिसकेको छ । तिहार जस्तो चाडमा झन अझ धेरै यस्तो समस्यामा प्रहरी र प्रशासनको पनि विषेश चासो रहेको हुन्छ । जुवा तास नियन्त्रणको लागि भटाभट जुवाडे पक्रनेकाम गरिएको हुन्छ । तर उपलब्धि खोइ ? प्रत्येक वर्ष तिहारमा ठाउँ ठाउँमा जुवा र तासको खाल जमेकै हुन्छ त । यदि नियम र कानूनको डरलेमात्र यो कुराको नियन्त्रण सम्भव भएको भए धेरै पहिले नै नेपाली समाजबाट जुवा तास हटिसकेको हुन्थ्यो । तर नुहने रैछ भनेर प्रमाणित भैसक्यो । तसर्थ यसको नियन्त्रणको लागि खाली पक्रने र थुन्ने भन्दा पनि अरु विकल्पहरू के के हुन सक्छन् त्यता तिर ध्यान दिनु जरुरी छ । जस्तै की जुवातास खेल्नेहरू आफै सजग बन्नु बलियो उपाय हुनसक्छ । मनोरञ्जनका लागि भन्दै खेलिने जुवातासले आर्थिक जीवनमा ठुलो धक्का लाग्न स्क्छ । आर्थिक जीवन स्वस्थ्य हुनसकेन भने त्यसबाट उत्पन्न हुने समस्याले व्यक्ति र परिवार मात्रै होइन समाजनै प्रदुषित पार्न सक्छ । तसर्थ यसपालिको तिहारबाट नै जुवातासको ‘ह्याङ’ हटाएर आफुसंग भएकै धन बचत गरेर आर्थिक समृद्धिको सुरुवात गरौं । 

२०७९ साल कात्तिक ७ गते । वर्ष : १६, अंक : ०३

Monday, October 17, 2022

बद्री मैनालीको पहिलो गाँसमै ढुंगा

उम्मेदवारी दर्ता पछि मैनाली बीचमा र सुशिल खड्का (दाँयाँ) पुर्णलाल श्रेष्ठ (बाँयाँँ) । 

खरानीटार । नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नं. १ मा उम्मेदवार बनेका एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । उम्मेदवारी दर्ता गराएपछि असोज २३ गते खरानीटारमा आयोजित कोण सभामा उनले पहिलो पटक ब्यक्त गरेको चुनावी भनाई विवादमा तानिएको छ । काँग्रेस–माओवादी गठबन्धका तर्फबाट माओवादी केन्द्रका नेता हितबहादुर तामाङसंग प्रतिस्पर्धा गरिरहेका मैनालीले काँग्रेस र माओवादकिा सबै उम्मेदवारहरूको सत्तोसराप गरे । आफ्ना प्रदेश सभाका दुई उम्मेदवारका साथ कोण सभालाई सम्वोधन गर्न उभिएका मैनालीले अराजनीतिक भाषण गरेको भन्दै राजनीतिक वृत्तमा आलोचना भएको छ । 

मैनालीले माओवादी नेता राधिका तामाङलाई पदका लागि मान्छे मार्ने भनेर संघिन आरोप लगाए । साथै माओवादी नेता हितबहादुर तामाङ अघिल्लो पाली आफ्नो कारणले मात्रै निर्वाचित भएको र काँग्रेसका उम्मेदवार रमेशकुमार महतलाई अघिल्लो चुनवामै आधा भन्दा बढी मतले आफुले हराएको भन्दै दम्भ पोखे । 

काँग्रेस–माओवादी गठबन्धनमा माओवादीको भागमा परेको प्रतिनिधि सभा क्षेत्रमा उनले प्रतिस्पर्धा गरिरहेपछि उनले काँग्रेस फस्लयाङ्फुस्लुङ गर्ने छन् र काँग्रेसको मत लिने छन् भन्ने एमाले नेताहरूकै अड्कलनमा पानी खन्याउने गरी उनले मन्तब्य राखे । ‘मैनालीले त्यो कार्यक्रममा निक्कै अपरिपक्व रुपमा अभिव्यक्ति जाहेर गरे’ एमालेका उक नेताले भने । उनका अनुसार माओवादीलाई मत हाल्न मन नगर्ने केही काँग्रेसहरू समेत मैनालीको उक्त अभिव्यक्तिबाट भड्किएका छन् ।   

यसै बीच, नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार एवं निवर्तमान उपसभामुख राधिका तामाङले आफूहरूमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्ने नेकपा एमालेका उम्मेदवारको अभिव्यक्ति पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएका छन् । 

नुवाकोटको तादी गाउँपालिका खरानीटारमा रहेको निर्बाचन अधिकृतको कार्यालयमा गएको आइतबार उम्मेदवारी दिएपछि एमाले नुवाकोट अध्यक्ष एवं क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बद्री मैनालीले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि लगाएको आरोपको खण्डन गर्दै तामाङले आफ्ना कुकर्महरू ढाकछोप गर्न अरुमाथि निराधार आछेप लगाएको समेत टिप्पणी गरेका छन् ।   

राजनीतिक आधारबिनाका व्यावसायिक पृष्ठभूमिका मान्छेले आफू चुनाव जित्न नसक्ने भएपछि दिएका अराजनीतिक अभिव्यक्तिप्रति आफ्नो कुनै प्रतिक्रिया नरहेको तामाङले बताए । 

विचार, सिद्धान्तको राजनीति गर्ने र विधिको शासन मान्ने जो कसैले निर्वाचन आचरसंहिता आकर्षित हुने गरी अरुमाथि वैयक्तिक आक्षेप लगाउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु पराजित मानसिकताको उपज रहेको प्रदेश सभा सदस्य पदका उम्मेदवार राधिका तामाङले बताए । 

खरानीटारमा आयोजित काँग्रेस–माओवादीका उम्मेदवारहरुको बैठकमा तामाङ, महत लगायतका नेताहरू

यसै नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले सरकारी बजेटले कार्यकर्ता पोस्नमात्रै काम गरेको टिप्प्णी गरेका छन्  । उनले ५ वर्षको बीचमा कतै आफ्नो निर्वाचन क्षेत्रमा ४ किलोमिटर बाटो कालोपत्रे भएको देखाउन मैनालीलाई चुनौती समेत दिएका छन् । 

    वाम–लोकतान्त्रिक गठबन्धनको शनिबार खरानीटारमा बसेको क्षेत्रीयस्तरको संयुक्त बैठकलाई सम्बोधन गर्दै तामाङले निवर्तमान प्रदेशसभा सदस्य राधिका तामाङको क्षेत्रमा थुप्रै काम भए पनि मैनालीले देखिने काम गर्नै नसकेको ठोकुवा गरे । ‘बद्रीजीले के गर्न‘भयो भने आफ्नो पहलमा जाने रकम टोल, टोलमा, वडा वडामा कतै ५० लाख, कतै ३० लाख, कतै ४० लाख, कतै ६० लाख दिएर कार्यकर्ता पोस्नमात्रै काम गर्न‘भयो । देखिने खालको कुनै काम गर्न‘भएन उहाँले,’ उनले चुनौतीको शैलीमा भने, ’उहाँको पहलमा ४ किलोमिटरमात्रै कालोपत्रे भएको सडक देखाउनुस् त ? पैसा उत्तिनै आउने हो ।’

‘यहाँ प्रदेश माननीय राधिका तामाङ हुनुहुन्छ । हामीले केही कामहरू गरेर देखायौं । त्यत्तिकै हैसियतामा जित्नुभएका बद्री मैनाली हुनुहुन्थ्यो । उहाँ (राधिका) को क्षेत्रमा जति काम देखाउनुभएको छ । उहाँ (बद्री)को क्षेत्रमा कतै देख्नुभएको छ ?,’ हितबहादुर तामाङले भने,  ’गुर्जेदेखि समुद्रदेवीको सिंगै तेर्सो भाग कालोपत्रे भएको छ । गुणस्तरीय कालोपत्रे । त्यसपछिको बाँकी कामलाई निरन्तरता दिनका निमित्त अहिले ७१ करोडको टेन्डर भाको छ । शेराबगर–कुख्रे–मानेभञ्याङ हुँदै दुप्चेश्वर आउनका निमित्त । हामीले शिवपुरीको ढलानघरबाट कुण्डला घलेभञ्ज्याङ हुँदै समुन्द्रटार जाने सडकको टेण्डर सम्पन्न गरिसक्यौं । हाम्रै पहलमा रानीपौवाबाट शेरा हुँदै विदुरमा जोड्ने सडक टेन्डर गर्दैछौं ।’

पछिल्ला वर्षमा सरकारलाई नुवाकोटमा अलि बढी रकम पार्न प्रेसर दिएको भन्नुहुँदै निवर्तमान सांसद तामाङले आफूहरू ३ जनाको उम्मेदवारी १ नम्बर क्षेत्रको विकासको निमित्त भएको बताएका छन् । उनले निर्वाचित भइसकेपछि विकास निर्माणका विषयमा सामूहिकरुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘सन्तुलित हिसाबले कुन ठाउँमा के गर्ने, भौतिक पूर्वाधारको हिसाबले, कृषि क्षेत्रको हिसाबले  मतदाताले चाहेअनुसार सामूहिकरुपमा छलफल गरेर काम गर्न हामी संकल्परत छौं,’ उनले भने ।

क्षेत्र १ (१) का उम्मेदवार एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य राधिका तामाङले पात्र मन पर्ला, नपर्ला तर पार्टी वा गठबन्धन हार्न नहुने र गठबन्धन जिताउनका निम्ति सबै नेता, कार्यकर्ता लाग्नेमा विश्वास व्यक्त गरेका छन् । केही कमीकमजोरी भए चुनावपछि समीक्षा गर्ने भन्नुहुँदै उहाँले एकताबद्ध भएर चुनावमा लाग्न आग्रह गरे । 

क्षेत्र १ (२) का उम्मेदवार एवं नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले आफू उम्मेदवार भएको ठाउँमा माओवादीलाई प्राथमिकता दिने, हितबहादुर तामाङ र राधिका तामाङ उठेको ठाउँमा काँग्रेसलाई प्राथमिकता दिने गरी संयुक्त अवधारणा ल्याउने बताएका छन्  । ’हामीसँग प्रतिस्पर्धा गर्न खोज्ने दलका साथीहरूले उम्मेदवारी दिएको दिन बोलेको मैले सुनेको छु, उहाँहरूलाई मेरो चुनौती हो, तपाईंहरू सक्नुहुन्छ भने काम गरेर देखाउनुस्,’ महतले भने, ‘हिजो निर्वाचित भएर उहाँहरूले के–के काम गर्नभएको छ हामीले बुझेका छौं । उहाँहरूले कति दुरुपयोग गर्न‘भएको छ । त्यो पनि बुझेका छौं । हिजो सँगसँगै हिँड्दा ठीक हुने आज अलग हुँदा बेठीक हुने ? त्यो राजनीतिक चरित्र होइन । त्यो चरित्र यो निर्वाचनले सदाका लागि परास्त गर्नेछ ।’ 

काँग्रेस क्षेत्र नम्बर १ का सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ गठबन्धनका उम्मेदवारहरूमाथि एमाले उम्मेदवारले जथाभावी बोलेको भन्दै असन्तुष्टि जनाए । उनले आफूहरू जाइनलाग्ने र आइलागेमा नछोड्ने चेतावनी दिएका छन् । 

मैनालीसंग स्पष्टीकरण मागियो

विदुर । नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले शनिवार स्पष्टीकरण सोधेको छ । 

औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल भएको भन्दै आयोगमा उजुरी परेको थियो । ‘तपाईंले मतदातालाई नगदै वितरण गर्न‘ भएको हो, होइन ? तपाईंले मतदातालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ ।

    तीन दिनभित्र (मंगलवारसम्म) स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

विज्ञापन खर्च पनि बुझाउनु पर्ने

विदुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचन–२०७९ का क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने आग्ह गरेको छ । सो विवरण निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ ।

आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगबाट जारी भएको विज्ञप्ती अनुसार सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको बताईएको छ । 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ । 

२ र ३ गते भिटामिन ‘ए’

विदुर । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन आगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको हो । 

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरूलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिकालाई खुवाउने गरिन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नेपाल सरकारले अभिभावकलाई आग्रह गरेको छ ।

महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइसकेको बताएको छ ।

गाउँपालिका अध्यक्ष तामाङद्धारा ३८ लाखको जग्गा दान


घलेभञ्याङ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता तेजबहादुर तामाङ (रमेश)ले ३८ लाख रुपैयाँ भन्दा बढीको जग्गा दान गरेका छन् । 

स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई तीन कित्ता जग्गा आफ्नै रकमबाट खरिद गरेर दान गरेका हुन् । तीनवटै कार्यालयलाई लालपुर्जा सहित हस्तान्तरण गरिएको जग्गाको मुल्य ३८ लाख रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । 

गाउँपालिका अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा कार्यालय स्थापना गरेको प्रहरी चौकीको लागि दुई रोपनी जग्गा दान गरेका छन् । गाउँपालिका कार्यालय नजिकै कार्यालय स्थापना गरी बसेको प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि आफ्नै जग्गाको आवश्यकता परेपछि उनले व्यक्तिगत लगानीमा जग्गा खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेका हुन् । उक्त जग्गाको मुल्य छ लाख रुपैयाँ भन्दा बढी रहेको पञ्चकन्या प्रहरी चौकीले जनाएको छ । 

यस्तै, पञ्चकन्या स्वास्थ्य चौकीलाई भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष तामाङले ५ रोपनी जग्गा दान गरेका छन् । उक्त जग्गाको मुल्य २४ लाख भन्दा बढी रहेको बताइएको छ  ।  गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले वडा नं. ३ स्थित पञ्चकन्या माविलाई भवन निर्माणका लागि झण्डै नौं लाख रुपैयाँको जग्गा दान गरेका छन् । विद्यालय आसपासमा रहेको आठ लाख मुल्य बरावरको ६ रोपनी १२ आना जग्गा  अन्य व्यक्तिसंग खरिद गरेर विद्यालयकै नाममा अध्यक्ष तामाङले पास गरिदिएको विद्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष तामाङले ति तीन वटा कार्यालयका लागि ४० लाख भन्दा बढी रकमको जग्गा खरिद गरेर दान गरेका छन् । 

विद्यालय, प्रहरी तथा स्वास्थ्य कार्यालयलाई व्यवस्थित र थप प्रभावकारी पार्नका लागि आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष तामाङले बताएका छन् । सार्वजनिक जमिनको संरक्षणमा आफु सचेत रहेको र संवेदनशिल निकायहरूलाई परेको जग्गाको अभाव टार्न निजी लगानीमा सहयोग गरिएको उनले बताए । 

नुवाकोट २ (१) प्रदेशको मतपत्रमा रुख चिन्ह आउने

काँँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका गीता अमात्यले निर्वाचन आयोगनबाट उम्मेदवारी फिर्ता नलिएर काँग्रेस पार्टी कार्यालयबाट जारी गरेको विज्ञप्ती । 

विदुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा गरी ६ सिट रहेको नुवाकोटमा ६६ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा १८ र निर्वाचन क्षेत्र नं. २ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ को १ मा ७, १ को २ मा १० जना छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ मा १३ जना र २ को २ मा ७ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये दुवै क्षेत्रको गरी तीन जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । भने तीन जनाले फिर्ता लिने समय गुज्रिएको भन्दै विज्ञप्ती निकालेर फिर्ता लिएको घोषणा गरेका छन् । तर उनीहरूको चुनाव चिन्ह मतपत्रमा भने छापिएर आउने भएको छ । 

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीलाई भाग परेको क्षेत्र नं. २ को १ खोसिएपछि ‘भएको लफडा’ मिलाउनै भनेर आवश्यकता भन्दा बढी उम्मेदवारी हालेका काँग्रेस–माओवादी गठबन्धबाट नै अहिले चेपिएका छन् । त्यस क्षेत्रमा काँग्रेसकको तर्फबाट प्रदेश सांसदको उम्मेदवारी दिएका गीता अमात्यको उम्मेदवारी फिर्ता भएको छैन । उनले विज्ञप्ती जारी गरेको भएपनि समयमा नै निर्वाचन आयोगमा उम्मेदवारी फिर्ता लिन नगएको कारण प्रदेशको मतपत्रमा रुख चिन्ह पनि छापिएर आउने भएको छ । क्षेत्र नं. २ को २ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका राममाया बोगटीले भने उम्मेदवारी फिर्ता लिएका छन् । 

प्रदेशमा रुख चिन्ह पनि कायम भएर आउदा गठबन्धनभित्रै ‘घात’ गर्न सजिलो हुने पो हो कि भन्नेमा माओवादीका नेताहरू सशंकित देखिएका छन् । विदुर नगरपालिकाका केही वडा र बेलकोटगढी नगरपालिकाको सबै भुगोल पर्ने उक्त क्षेत्रमा एमालेको मत समेत गठबन्धनको हाराहारीमा देखिएको छ ।  

प्रत्यक्षतर्फको चुनावका लागि मतपत्र छपाइ सुरु भएको छ । बिहीवारदेखि मतपत्र छाप्न थालेको हो । उम्मेदवारको मात्र चिह्न रहने गरी प्रत्यक्षतर्फको

मतपत्र छपाइ सुरु गरिएको होे । मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ ।

यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । प्रदेश सभातर्फ ३३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै र प्रतिनिधि सभाको १३५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै गरी चार करोडभन्दा धेरै मतपत्र छापिने आयोगले जनाएको छ । 

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम भने सम्पन्न गरेको छ । आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ गरिसकेको छ ।

काँग्रेस–माओवादी गठबन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङ, एमालेबाट बद्री मैनाली, राप्रपाबाट सुदर्शन सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. प्रद्युम्न महतलगायतले उम्मेदवारी दिए । 

निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, एमालेका नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे, स्वतन्त्रबाट ३ जनासहित अन्य पार्टी चुनावी मैदानमा छन् ।

त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को १ मा काँग्रेस–माओवादी गठबन्धबाट माओवादी केन्द्रका राधिका तामाङ, एमालेबाट सुशील खड्का, राप्रपाबाट रामु पण्डितलगायतको उम्मेदवारी छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को २ मा गठबन्धनबाट नेपाली कांग्रेसबाट रमेश महत, एमालेबाट पूर्णलाल श्रेष्ठ, राप्रपाबाट विमल थापालगायत छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को १ काँग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, एमालेका केशवराज पाण्डे, राप्रपाबाट दीपेश लामा, नेपाल मजदुर किसान पार्टीबाट श्याम लामा, स्वतन्त्रबाट ३ जना छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को २ मा काँग्रेस–माओवादी गठबन्धबाट नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ, एमालेबाट विजयसिंह लामा, राप्रपाबाट रणप्रसाद न्यौपाने, हाम्रो नेपाली पार्टीबाट बसन्त सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनबाट दिलमान तामाङ छन् ।

तीन सिटमा २९ जनाको उम्मेदवारी

धुञ्चे । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा २९ जनाको उम्मेदवारी परेको छ ।

      मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार प्रतिनिधिसभाका लागि ११ र प्रदेश सभा (क) तर्फ ९ र प्रदेश सभा (ख) तर्फ ९ जनाको उम्मेदवारी परेको छ । एक मात्र प्रतिनिधिसभा सदस्य सिटमा वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य मोहन आचार्यले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपा एमालेबाट पार्टीबाट केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा संविधानसभा सदस्य छोवाङ तेन्जेन तामाङले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एकिकृत समाजवादी) पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समेत शिवप्रसाद लमिछानेले उम्मेदवारी दिएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिननाथ देवकोटा, राप्रपाबाट टिकाप्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर बासी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट विकास गलान र जनसमाजवादी नेपाल पार्टीबाट सृजना सुनुवारले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । कर्सावाङदी तामाङ, रामशरण पौडेल र लिला बहादुर न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

प्रदेश सभा (क) का लागि ९ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली काँग्रेस वागमती प्रदेश कमिटी सदस्य तथा पुर्व प्रदेश सभा सदस्य प्रभात तामाङले उम्मेदवारी दर्ता गराए । एमालेबाट पुर्व जिल्ला समन्वय समिति, रसुवाका प्रमुख कुल प्रसाद भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

  प्रदेश सभा (क) का लागि जनसमाजवादी नेपाल पार्टीबाट कामी थोक्रा, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट जितमान तामाङ, तामाङसालिङ लोकतान्त्रिक पाल्देन वाङदी तामाङ, मजदुर किसान पार्टीबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डंगोल, नेकपा (एकिकृत समाजवादी) पार्टीबाट सनथ देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रप्रसाद गोतामे, एमालेबाट बागमती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तामाङ उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टीबाट तुल्सीराम ग्वाछा, नेकपा (एकिकृत समाजवादी) पार्टीबाट रामप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट वाङदे घले, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट वाङजेन तामाङ, नेपाली काङ्ग्रेस (बिपी) पार्टीबाट शारदा कुमार न्यौपाने, राप्रपाबाट हरिप्रसाद घिमिरे उम्मेदवार छन् ।

नुवाकोटका स्थानीय तह उम्मेदवारबाट ३० करोड जरिवाना उठ्ने

विदुर । बैशाख ३०, २०७९ मा सम्पन्न स्थानीय तहको निर्बाचनको खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट निर्वाचन आयोगले ३० करोड रुपैयाँ जरिवानामा उठाउने भएको छ । 

जिल्लामा १० गाउँपालिकामा विभिन्न पार्टीका अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा पर्दैछन् । उनीहरूबाट जनही तीन लाख ५० हजारका रुपैयाँका दरले तीन करोड १५ लाख रुपैयाँ असुल गर्न‘पर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । निर्वाचन आयोगले सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने एक हजार ६९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नपर्ने उनले बताएका छन् । 

जरिवना तिर्नेमा विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढी नगरपालिकाका प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेदवार पनि जरिवानामा परेका छन् । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने छ । खर्च विवरण नबुझाएका उपप्रमुखका उम्मेदवार २१ जनाबाट ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल हुने बताइएको छ । नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार ४२७ जनाले खर्च विवरण बुझाएका छैनन् । उनीहरूलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट आठ करोड ५४ लाख रुपैयाँ असुल हुन्छ । 

यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको संख्या नुवाकोटमा एक हजार १५६ जना रहेका छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट १७ करोड ३४ लाख रुपैयाँ जरिवाना असुल हुने छ । 

स्थानीय तहको निर्वाचनको खर्च विवरण निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । सो अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सख्यामा रहेका छन् । नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउने ३१२ जना छन् ।

साढे छ सयलाई आकस्मिक सेवा

त्रिशुली । दशैपर्वको बिदाको समयमा नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालबाट झण्डै सात सय बिरामीले आकस्मिक सेवा सेवा लिएका छन् ।

अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैपर्वको बिदामा दोब्बर बढी ६७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार अघिल्ला दुई वर्षको दशै पर्वमा कोरोना संक्रमणको जोखिम रहेको समयमा समेत पर्व बिदामा कुल तीन सय हाराहारीका बिरामीले सेवा लिएकामा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिए । 

दशै बिदाको अवधिमा ज्वरोका बिरामी २३०, डेंगुका १६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार, भवितव्य मृत्यु भएका व्यक्तिको शव परीक्षण एक जनासहित अन्य विभिन्न स्वास्थ्य समस्या भएका २३० बिरामीलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको छ । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका अध्यक्ष राजु पण्डितले बताएका छन् । उनका अनुसार अस्पतालले दशै बिदाको समयमा बहिरङ्ग विभाग (ओपीडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दशै बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

वाग्मती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शैयाको त्रिशुली अस्पतालले आन्तरिक स्रोतबाट १०० शैया चलाउँदै नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा पु-याइरहेको छ । अस्पतालले डेंगु रोगको निःशुल्क परीक्षणसहित कोरोना परीक्षणका लागि आरटी–पिसीआर परीक्षण प्रयोगशाला डिजिटल एक्सरे, आइसीयू, एनआइसीयू, एचडीयूलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

अब म चुनाव उठ्दिन : केसी

अर्जुननरसिंह केसी आफ्नो भनाई राख्दै (बीचमा) दायाँ रमेश महत, बाँयाँ बहादुरसिंह लामा तामाङ । 

विदुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसीले यस पटकको निर्वाचन आफ्नो अन्तिम रहेको बताएका छन् । २०४८ सालदेखी सबै संसदिय निर्वाचनमा उम्मेदवार रहदै आएका नेता केसीले यसपटकको निर्वाचनलाई आफ्नो जीवनको अन्तिम निर्वाचनको रुपमा लिएको बताएका छन् । 

यस अघिको चुनवामा पनि आफुले अन्तिम भनेको हल्ला फैलाएको प्रति खण्डन गर्दै उनले कहिकतै अघिल्लो पटकनै अन्तिम चुनाव उठ्दै गरेको नबताएको र यसलाई आफ्नो जीवनको अन्तिम निर्वाचनको रुपमा दर्ज गरिएको नेता केसीले बताएका छन् । ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अर्को निर्वाचनमा म उम्मेदवार बन्ने छैन’ केसीले भने– ‘यस पटक पनि म निर्वाचन नलड्ने कि भन्ने नै मुडमा थिए, तर पार्टीको आन्तरिक विषय यसरी जकडियो कि निर्वाचनको मुखमा नभनु’ उनले भने । 

नेता केसीले अन्तराष्ट्रिय शक्ति सन्तुलन कायम र लोकतन्त्र सुदृढिकरणको लागी आफ्नो उम्मेदवारी रहेको उद्घोष समेत गरेका छन् । दुई ठुला राष्ट्र बीचमा रहेको नेपालले लिने अन्तराष्ट्रिय नीति तथा शक्ति सन्तुलनका लागी आफ्नो उम्मेदवारी रहेको प्रष्ट गरेका छन् । ‘संसदमा उभिदै गर्दा नुवाकोटबाट उम्मेदवारी दिएकाहरू मध्ये मेरो तुलनमा अन्तराष्ट्रिय पहिचान भएको कोही छ त ? छ भने भन्नु होला’ केसीले भने ।  

यस्तै, उनले पटक पटक सांसद र मन्त्री हुँदा सुरु गरेका नुवाकोटका समग्र बिकास निर्माणको कामलाई गती दिने देखि सिङ्गै मुलुकलाई सम्बृद्ध बनाउने योजनामा आफु रहेको उनको भनाई रहेको छ । 

यसै बीच, नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हितबहादुर तामाङले राष्ट्रिय स्वाधिनता र रक्षाको लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गठबन्धन दल नेतृत्वको सरकार आएसँगै मुलुकमा स्थापित भएका मुद्दाहरूलाई संस्थागत गर्ने, र त्यससँगै नागरिकहरूको भावना अनुरुपको बिकासको लागी गठबन्धन दलहरू सक्रिय रहने तामाङको भनाई रहेको छ । 

मंसिर ४ गतेको निर्बाचन पछि गठबन्धने नेतृत्वमा सरकार गठन हुने र अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरण भ्रष्टाचार निबारण, बिकासको लहरका लागी साझ धारण सहित आफुहरूको उम्मेदवारी रहेको उनले बताएका छन् । 

दुई संघीय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केनद्रको तर्फबाट राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापति रमेशकुमार महत उम्मेदवार छन् । क्षेत्र नम्बर २ को प्रदेश क मा नेकपा माओबादी केन्द्रबाट रामप्रसाद ढुङगाना र प्रदेश ख मा नेपाली काँग्रेसबाट बहादुरसिंह लामा तामाङको उम्मेदवारी छ । 

मलाई एक पैसा कमाउनु छैन : सुमनविक्रम


विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सुमनबिक्रम पाण्डेले नुवाकोटको पर्यटन प्रबद्र्धन र बिकासका लागि लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विदुरमा पत्रकार सम्मेलन गर्दै उनले ३३ बर्षको आफ्नो लामो पर्यटन क्षेत्रको अनुभबलाई जिल्ला र केन्द्रका बीचमा जोड्ने पुलको काम गर्ने बताए । 

उनले जिल्लाको परिवर्तन र विकासका लागि आफुले जित्नुको विकल्प नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न क्षेत्र नं. २ का नागरिकहरूसंग अपिल गरेका छन् । भर्खरै स्थापना भएको पार्टी भएपनि नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको महौल उल्लेख्य स्थापित हुँदै गएको उनको भनाई रहेको छ । 

विभिन्न क्षेत्रमा काम गर्ने जिल्लाका नागरिकहरूको आग्रहमा उम्मेदवारी दिएको  उनको भनाई छ । पुराना राजनीतिक दलहरूसंग नागरिक वाक्कदिक्क भएकोले आफ्नो सम्भावना बलियो रहेको तर्क पाण्डेको छ । ‘हामी त भिजनसहित आएका छौं, हामी राजनीतिबाट कमाउनका लागि पनि होइन’ पाण्डेले भने– हाम्रो उद्देश्य सेवा र विकासका लागि भन्नेमा सबै क्लियर छन् ।’ 

आफ्नो राजनीतिक यात्रको उद्देश्य नुवाकोटलाई अर्को तहको विकास चरणमा प्रवेश गराउने रहेको सुमनविक्रम पाण्डेले बताएका छन् । पर्यटन ब्यवसायबाट नै आफ्नो व्यक्तिगत उन्नती भइसकेकोले पदको दुरुपयोग नगर्नेमा आफु पर्ने र नुवाकोटको सम्वन्ध अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने हैसियत आफ्नो रहेको उनको भनाई छ । 

डोलबहादुर घलेले लिए लालटिन चिन्ह


खरानीटार । नुवाकोटमा स्वतन्त्र उम्मेदवारी दिएका मध्ये बढी चर्चामा रहेको डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा लालटिन चिन्ह लिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का घलेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

लामो समय सैन्य जागिरे जीवनमा रहेका घले पछिल्लो समय सफल निर्माण व्यवसायीका रुपमा नुवाकोटमा परिचित छन् । उनी १० वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा कार्यरत थिए । जागिरे जीवनपछि निर्माण व्यवसायमा लागेका घले हाल विदुर नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवास गर्छन् । ४० वर्षिया डोलबहादुर घलेले देशमा भइरहेको यथास्थितिका कारण विकास निर्माण र समाज परिवर्तन हुन नसकेकोले जनप्रतिनिधिका रुपमा समेत युवाहरूको आवश्यकता रहेको बताएका छन् । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलले समेत भविष्यका लागि केही गर्ने आशा नरहेको बताउँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘कुनै दल विशेषको विरुद्धमा नभई मुलधारको राजनीतिमा युवाहरूको आवश्यकता देखेर उम्मेदवारी दिएको हुँ’ घलले भने ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार र युवाहरूको पक्षमा देखिएको लहरका कारण मतदाताहरूले के रुचाइरहेका छन् भन्ने संकेत गरेको उल्लेख गर्दै उनले नुवाकोटमा आशा लाग्दो र विकास अनि परिवर्तनका लागि केही गर्ने युवाले अवसर पाउने अवस्था रहेको दावी गरेका छन् । पुराना दलबाट वाक्कदिक्क बनेका नागरिकहरूले स्वतन्त्र उम्मेदवारको पक्षमा माहौल सृजना गर्ने भएकै कारण आफ्नो जितको सम्भावना समेत रहेको उनको भनाई रहेको छ ।

राजनीतिक यात्रामा जत्तिनै योगदान दिएपनि कुनै पनि दलमा कुनै पद बिना आजसम्म समर्पित हुँदै आएका उनले थप उल्लेख गरे– ‘आज आएर कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको देखेको हुँदा अब म आफै उमेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा मेरो जीवन समर्पण गर्न चाहन्छु ।’

राजनीतिलाई नेताहरूले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाजसेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको घलेले बताएका छन् ।

उनको पहिलो चुनावी मुद्दा भ्रष्टाचार अन्त्य हो । भ्रष्टाचार अन्त्य भए समाजको आधा विकास त्यतिकै हुने उनी दाबी गर्छन् । अहिले नुवाकोटमा जति पनि विकास निर्माणका कार्य हुन्छन्, त्यहाँ ५० प्रतिशत भन्दा बढी भ्रष्टाचार भएको उनको दाबी छ । ‘म निर्वाचित भएँ भने कम्तीमा मैले जित्ने निर्वाचन क्षेत्रबाट भ्रष्टाचार हटाएर देखाउँछु, त्यसले अन्य क्षेत्रका जननिर्वाचित प्रतिनिधिलाई पनि मेरो अभियानले डोर्याउने छ,’ उनी आत्मविश्वासी बने ।

दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आउनसक्ने तर्क डोलबहादुर घलेको छ । जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको उनको भनाई छ । खानेपानी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रणमा मात्र ध्यान दिँदा पनि जनता खुसी हुने उनको भनाई छ । ‘अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन । लोकतन्त्रमा मतदाताले मताधिकार मार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको देशैभरी हामी देख्न सक्छौं’ घलेले भने, ‘दलहरूले यस अघिका निर्वाचनहरूको उम्मेदवार छनौट गर्दा पनि विवेकपूर्ण देखिएनन् । जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ । मतदाता सचेत हुन थालेका छन् । छानीछानी आफूले रोजेको उम्मेदवारलाई भोट दिएका छन् ।’

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डोलबहादुर घलले भने– ‘हिजोको राजनीतिक परिवेशमा मैले गरेको सहयोग, त्याग र बलिदान अनि गाउँ समाजलाई बिकासको बाचा सोचे जस्तो कुनै पनि दल वा व्यक्तिले नगरेको हुँदा अब मेरो राजनीतिक यात्रा समाजको लागि समर्पित गर्ने छु ।’

नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् । लिखु, सुर्यगढी, ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको वडा नं. १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा रहेका छन् । घलेले उममेदवारी दिएका त्यस क्षेत्रमा काँग्रेसबाट रमेशकुमार महत, एमालेका पुर्णलाला श्रेष्ठ उम्मेदवार छन् । 

एमाले उम्मेदवारको एजेण्डा सार्वजनिक


विदुर । नेकपा एमालेका उम्मेद्धवारहरूले गत हप्ता पत्रकार सम्मेलन गरेर आसन्न निर्बाचनमा सन्र्दभमा पार्टीको एजेण्डाहरू सार्बजानिक गरेका छन् । 

दुई संघीय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्रका उम्मेद्धवारहरूले पार्टी र आफ्ना एजेण्डाहरूलाई प्राथमिताको आधारमा पुर्णता दिदै जाने बताएका छन् । निर्बाचित भए या नभए पनि संगठन र आम जनता भन्दा बाहिर गएर कुनै कार्यमा सम्लग्न नहुने प्रष्ट पारेका छन् । नेकपा एमाले नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद खतिवडाले राष्ट्रिय स्वाधिनता र रक्षाको लागी आफ्नो उम्मेद्धवारी रहेको बताए । गठबन्धन दल नेतृत्वको सरकार आएसँगै मुलुकमा अन्तराष्ट्रिय सम्बन्ध बिग्रिएको र भ्रष्टाचारमा लिप्त भएको खतिवडाले दावी गरेका छन् ।

मंसिर ४ गतेको निर्बाचन पछी नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने र अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरण भ्रष्टाचार निबारण, बिकास निर्माणको लहर लगायतको लागी आफुहरूको उम्मेदवारी रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार बद्री मैनालीले आफु प्रदेश मन्त्री र सांसद रहँदा सुरु गरेका कार्यहरूको पुर्णता दिनको लागी आफ्नो उम्मेदवारी रहेको बताए । आफु प्रदेश सांसद र मन्त्री हुँदा नुवाकोटमा ५ अर्ब भन्दा बढीको बजेट बिकास निर्माणको र कृषिको क्षेत्रमा आएको र त्यस मार्फत सञ्चालित योजनाहरूको पुर्णताको लागी यस पटकको निर्वाचनमा संघीय संसदमा आफ्नो उम्मेदवारी रहेको समेत उल्लेख गरेका छन् । 

नेकपा एमालेले नुवाकोटको क्षेत्र नम्बर १ मा बद्री मैनाली, क्षेत्र नम्बर २ मा नारायणप्रसाद खतिवडा, निर्बाचन क्षेत्र नम्बर १ को प्रदेश क मा सुशिल खड्का, ख मा पुर्णलाल श्रेष्ठ, निर्बाचन क्षेत्र नम्बर २ को क मा केशबराज पाण्डे र ख मा बिजय लोप्चनलाई उम्मेदवार बनाएको छ । 

पहिलो चुनावमै स्वतन्त्रले ल्याए तेश्रो भोट


विदुर । बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू बाजी मारेसंगै आसन्न मंसिर ४ को निर्वाचनमा देशै भरीबाट स्वतन्त्र उममेदवारहरू उठ्ने क्रम ह्वात्तै बढेको छ । अघिल्लो चुनवारुमा ठुला दलका उम्मेदवारले नै डमीका रुपमा स्वतन्त्र उम्मेदवार उठाउने गरेकोमा यसपालि चुनावनै जित्नेसम्मको आाकलमा स्वतन्त्र उम्मेदवारी दिनेहरू बढेका छन् । 

त्यसो त, ६४ वर्ष अगाडि २०१५ मा नेपालमा भएको पहिलो संसदीय चुनावमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार थिए । साथै तिनै स्वतन्त्र उम्मेदवारहरूले तश्र।ो धेरै मत समेत ल्याएका छन् । राणाशाहीको पञ्जाबाट मुक्त भएर मुलुक प्राजातान्त्रिक व्यवस्थातिर लम्किदै गर्दा दलका उम्मेदवारसँगै साढे दुई सय भन्दा बढी स्वतन्त्र उम्मेदवार चुनावमा उत्रिएका थिए । अनलाइन खबरले लेखेको समाचार अनुसार १०९ सिटका लागि भएको चुनावमा राजनीतिक दलहरू मध्ये कसैले पनि १०९ वटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन सकेका थिएनन् । तर, स्वतन्त्र उम्मेदवारको संख्या भने २६८ थियो । यो चुनावमा दलहरूमा सबैभन्दा धेरै १०८ उम्मेदवार कांग्रेसले मात्र उठाएको थियो ।

२०१५ यताका ६४ वर्षमा नेपालले पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र गरेर तीनवटा शासन व्यवस्था भोगिसक्यो । यो अवधिमा राजनीतिक, सामाजिक परिवर्तन भएपनि स्वतन्त्र उम्मेदवारको लहर भने ६४ वर्ष अगाडि जस्तै यसपटक पनि देखिएको छ । संसदीय चुनाव अगाडि भएको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपी हमालको विजयले संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्न हौस्याएको छ । 

०१५ मा ९ वटा राजनीतिक दल चुनावी मैदानमा थिए । १०९ सिटका लागि भएको चुनावमा ९ वटै राजनीतिक दलका कुल उम्मेदवार ५१८ थिए । स्वतन्त्र र राजनीतिक दलका गरेर ७८६ उम्मेदवार चुनावी मैदानमा थिए । राणा र कांग्रेसको संयुक्त मन्त्रिमण्डल सहित २०१५ सम्म ८ वटा सरकार परिवर्तन भए । यो राजनीतिक अस्थिरतालाई दलहरूको गलत काम करार गर्दै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । स्वतन्त्र उम्मेदवारको लहरबारे लिलाभक्त मुनकर्मी आफ्नो किताब ‘नेपालको आधुनिक इतिहास’मा लेख्छन्, ‘यिनीहरू आ–आफ्नो जिल्लामा भएका समस्याहरू राखेर सरकारले गरेका अन्यायहरूको घोर भत्र्सना गर्दै पार्टीभित्र भएको खिचातानी समाप्त गर्न आफ्नो व्यक्तित्व प्रदर्शन गरी प्रचारमा लागेका थिए ।’

दलहरूको प्रतिको वितृष्णा कतिसम्म थियो भन्ने एउटा उदाहरण हो उपत्यका (काठमाडौं) क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवार बनेका लालसिंह महर्जन ‘किसान’को घोषणापत्र । घोषणापत्रमा महर्जनले त्यतिखेरका सबै राजनीतिक दलको चर्को आलोचना गरेका छन् । बीपी र मातृकासहित कोइराला बन्धु र कांग्रेसलाई पदलोलुपहरूको समूहको आरोप लगाउँदै उनी लेख्छन्, ‘जनताको आवाज, जन कल्याण्को भावनालाई कुल्चेर प्रगति विरोधी कांग्रेस र त्यसका पद लोलुप नेता कोइराला बन्धुहरूले दिल्ली सम्झौता गरी क्रान्तिलाई दबाए ।’

नेपाली कांग्रेसलाई ‘फासिस्ट’ संगठन भएको आरोप लगाउँदै महर्जनले कांग्रेसले मजदुर, किसानको मिठो सपना भंग गरेको आरोप लगाएका थिए ।

कम्युनिष्ट पार्टीले पनि किसान र आम जनतालाई धोका दिएको आरोप उनले लगाएका छन् । उनी घोषणापत्रमा लेख्छन्, ‘२००९ सालमा रौतहटमा कम्युनिस्टले किसानलाई भड्काएर कृषि क्रान्ति सुरु गरे । तर, जब सरकारको दमन सुरु भयो कम्युनिस्टहरू भागे । किसान तवाह भए । कम्युनिस्टको पछि लागेर किसानले धोका सिवाय अरु के पायो ?’

यस्तै अर्को उदाहरणसहित उनी कांग्रेसको आलोचना गर्छन्, ‘२००३ सालमा कांग्रेसले विराट नगरमा मजदुरहरूलाई भड्काएर संघर्ष सुरु गर्यो । तर, आफ्नो सरकार गठन भएपछि मजदुरमाथि गोली चलायो, मोल बन्द गरायो । मजदुर गरिब थियो, भोकै मर्न‘पर्ने भयो ।’

कुनै पनि राजनीतिक दलले मजदुर, किसान र आम मानिसको भलाइका लागि काम नगरेको दाबी गर्दै उनी राजनीतिक दलमाथि खनिन्छन् । 

उनी लेख्छन्, ‘आज यो स्पष्ट भएको छ कि कुनै पनि पार्टीले किसान भलाइको लागि अघि सर्ने छैन । आफै जमिनदार छ । आफ्नु पार्टी नै सामन्तवादी छ । उनीहरू सामन्त–भूमिपति) हरूकै भलाइमा बोल्ने छ, चल्ने छ ।’ कम्युनिस्ट पार्टीले आफ्नो घोषणापत्रमा गोर्खा भर्ती केन्द्र बन्द गराउने उल्लेख गरेको स्मरण गर्दै महर्जनले आफ्नो घोषणापत्रमा ‘कम्युनिष्ट भर्ती केन्द्र’ पनि बन्द गराउने उल्लेख गरेका थिए ।

आफूलाई ‘किसान’को हिमायती दाबी गर्दै लालसिंह महर्जनले घोषणापत्रको सुरुवातमै आफू चुनाव जितेर संसदमा पुगेपछि किसान, मजदुर र मध्यम वर्गको भलाइका लागि अवस्था अनुसार राजनीतिक दल, स्वतन्त्र सांसदसंग मिलेर काम गर्ने वाचा गरेका थिए ।

महर्जनले चुनाव भने जितेनन् । उनको क्षेत्रबाट कांग्रेस नेता गणेशमान सिंहले १० हजार ९ सय ८६ मत ल्याएर चुनाव जिते । महर्जनले १ सय ९१ मत मात्र ल्याए । काठमाडौं क्षेत्र नम्बर १ मा महर्जन सहित चार जना स्वतन्त्र उम्मेदवार थिए ।

स्वतन्त्र उम्मेदवार बनेका २६८ मध्येमा सप्तरी पश्चिम क्षेत्र नम्बर ३७ बाट हरिहरलाल चौधरी, क्षेत्र नम्बर ४६ सर्लाहीबाट रामदुलार । क्षेत्र नम्बर ७३ जुम्ला उत्तरबाट भीमप्रसाद श्रेष्ठ र क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणबाट जयबहादुुर महत क्षेत्री गरेर चार जनाले मात्र चुनाव जिते । २४६ जनाको त जमानत (धरौटी) नै जफत भयो । यो चुनावमा २५० रुपैयाँ धरौटी तोकिएको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल मतको ६ भागको एक भाग मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने नियम थियो ।

गृष्मबहादुर देवकोटाको किताब ‘नेपालको राजनीतिक दर्पण भाग–२’ मा प्रस्तुत तथ्याङ्क अनुसार ४५ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि पाएनन् ।

०१५ को चुनावमा उठेका कतिपय स्वतन्त्र र दलकै उम्मेदवारलाई राजा महेन्द्रले दलका उम्मेदवार हराउन उठाएको आरोप पनि लाग्दै आएको छ । मोरङ दक्षिण विराटनगरबाट साढे नौ हजार मत ल्याएर चुनाव जितेका कांग्रेस संस्थापक नेता बीपी कोइरालाका निकटतम प्रतिस्पर्धी भएका दिलबहादुर श्रेष्ठलाई दरबारले चुनाव उठाएको आरोप लगाउँछन् राष्ट्रिवादी गोर्खा परिषद्का नेता (पछि कांग्रेस) भरतशमशेर ।

इतिहासकार डा. राजेश गौतमले लेखेको शमशेरको अन्तर्वार्ता किताब ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर’ मा उनी भन्छन्, ‘बीपीविरुद्ध राजदरबारद्वारा प्रस्तुत स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले पनि घुँडा टेके ।’ ०१७ मा महेन्द्रले ‘कु’ गरे शासन सत्ता आफ्नो हातमा लिएपछि महेन्द्रले २०२० मा श्रेष्ठलाई पञ्चायत सहायक मन्त्री नियुक्त गरेका थिए ।

त्यसो त भरतशमशेरले आफ्नो विरुद्ध पनि राजाले उम्मेदवार खडा गरेको आरोप लगाएका छन् । ‘मेराविरुद्ध खडा गराइएको रानी –रत्नराज्यलक्ष्मी) को मामा योगविक्रम शाहको जमानत जफत भयो,’ भरतशमशेरले भनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरबाट भरतशमशेरले ८ हजार ८८० मत ल्याएर चुनाव जितेका थिए भने । स्वतन्त्र उम्मेदवार बनेका रानीका मामा योगविक्रम शाहले ७७६ मत पाएका थिए । पोखरा पश्चिम क्षेत्र नम्बर ९९ बाट स्वतन्त्र उम्मेदवार बनेका राजा महेन्द्रका ससुरा हरिशमशेर जबराले पनि चुनाव हारेका थिए । उनलाई नेपाली कांग्रेसका मीनबहादुर गुरुङले हराएका थिए ।

भरतशमशेरले भने जस्तै सबैतिर दरबारले स्वतन्त्र बनाएर आफ्ना उम्मेदवार नपठाएको बताउँछन् इतिहासकार डा. राजेश गौतम । उनी भन्छन्, ‘केही स्वतन्त्र उम्मेदवारलाई दरबारको सहयोग थियो । तर, अधिकांश उम्मेदवार भने सांसद बन्न पाइने लोभमा चुनावमा उठेका थिए ।’

चुनावी इतिहासका जानकार डिल्लीराम मिश्रका अनुसार कतिपय स्वतन्त्र उम्मेदवारहरू दलबाट टिकट नपाएपछि आफूलाई स्वतन्त्र करार गर्दै ‘बागी’ उठेका थिए । ‘०१५ को चुनावमा दलहरूसंगको आक्रोशले नै स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको हो । 

तर, कतिपय उम्मेदवार भने दलबाट टिकट नपाएपछि बागी बनेर उम्मेदवारी दिएका थिए’ उनी भन्छन् । ०१५ को चुनावमा स्वतन्त्र उम्मेदवारले घडी, चरा, माछा, घैला, पानस, हात्ती, तराजु, घण्टा, सारंगी, मसी कलम, धारा, घोडा, डुंगा र फूल चुनाव चिहृन पाएका थिए । अहिले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पाएको ‘घण्टा’ चुनाव चिहृन पाएका थिए काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालसिंह महर्जनले । ‘किसानको जय गराउन घण्टालाई भोट दिनुहोस्’ भन्दै उनले आफ्नो प्रचार–प्रसार गरेका थिए ।

अहिले स्वतन्त्र उम्मेदवारले दलतन्त्रको विरोध गर्दै मतदाता आकषिर्त गर्न अनेक घोषणा गरे जस्तै महर्जनले आफूले वाचा गरेको काम गर्न नसकेमा सांसद पदबाट हटाउने अधिकार जनतालाई दिने घोषणा गरेका थिए । उनले आफ्नो घोषणापत्रको अन्तमा लेखेका थिए, ‘श्री लालसिं महर्जनले यस घाोषणपत्र बमोजिम काम नगरेमा, गर्न नसकेमा वहाँलाई संसदबाट फिर्ता बोलाउने शक्ति यस लालसिंह चुनाव सहायक कमिटीलाई लेखिदिएको छ ।’