Sunday, March 05, 2023

सेयर लगानीकर्ता शिक्षा सचेतना

सेयर सचेतना कार्यक्रम

बट्टार । नेपाल स्टक हाउस प्रालि ब्रोकर नम्बर १४ को आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर लगानीकर्ता शिक्षा सचेतना तथा एकदिने तालिम शुक्रबार सम्पन्न भएको छ । जिल्लामा पहिलोपटक भएको तालिममा दुई सयजनाको सहभागिता थियो ।

नेपाल स्टक हाउस पालिका अध्यक्ष ईश्वरीप्रसाद रिमालको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले गरेका थिए । सहायक प्रजिअ वेदनिधि अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले जिल्लामा सेयर लगानीबारे चासो र चर्चा धेरै हुने गरेकाले यो तालिमबाट सेयरबारे रुचि राख्नेका लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए । नेपाल स्टक हाउस प्रालि ब्रोकर नम्बर १४ ले नुवाकोट र पोखरामा शाखा विस्तार गरेको छ । तालिममा नेपाल धितोपत्र बोर्डका कार्यकारी उपनिर्देशक रूपेश केसी, सिडिएम एन्ड क्लियरिङ लि.को गुनासो व्यवस्थापन अधिकृत देवराज रिजाल आधारभूत विश्लेषक सन्तोषराज बजागाईंले प्रशिक्षण दिएका थिए ।

नेपाल मेटल कम्पनीको भविष्य अन्यौलमा

प्रवीण राउत

३५ वर्षअगाडि नै गणेश हिमालजस्ता सीसा परियोजना आधार क्याम्प सोम्दाङसम्म विद्युत् र सडकमार्ग पुगेको थियो । 

अब उक्त परियोजना सञ्चालनमा आउँछ र नेपाल समृद्ध हुन्छ भन्ने नेपालीको चाहना हालसम्म पूरा हुन सकेको छैन । काठमाडौंबाट नुवाकोट ८० किलोमिटर र नुवाकोटको त्रिशूली–ढुङ्गेदेखि एक सय पाँच किलोमिटरको दूरीमा रहेको यो परियोजनामा सुरुका केही वर्ष प्राविधिक उत्खनन भएर रोकिएको थियो । 

उक्त परियोजना नेपाल मेटल कम्पनीले अगाडि बढाउँदै गर्दा सेयर वृद्धि र लगानीकर्तासम्बन्धी विवादको टुङ्गो लगाउन सर्वोच्च अदालतले मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएको तीन वर्षसम्म पनि उक्त मुद्दाको बहसलाई अदालतले समय नदिँदा नेपाल मेटल कम्पनीको भविष्य अन्योल बनेको छ । सात खर्बभन्दा बढी आम्दानी गर्न सक्ने नेपाल मेटल कम्पनीको सेयर वृद्धि र लगानीकर्तासम्बन्धी विवादको टुङ्गो लगाउन सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तीन वर्ष हुँदासमेत टुङ्गो लाग्न सकेको छैन ।

सर्वोच्चले आगामी सोमबारका लागि पेसी तोकेको छ । उक्त समयमा बहस होला भनेर लगानीकर्ता तथा नेपाल मेटल कम्पनी पर्खेर बसेका छन् । कम्पनीको सेयर वृद्धिलाई लिएर नेपाल सरकार, हङकङको केके बामफोर्ड एन्ड कम्पनी लिमिटेड, नेपालको खेतान समूहबीच मतभेद भएको थियो । ०७४/७५ मा सरकारले लगानी वृद्धि गर्ने निर्णय गर्दै चिनियाँ कम्पनी भित्रिएसँगै खेतान समूह अदालत गएको थियो । 

पुँजी वृद्धि र चिनियाँ लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध खेतान समूह अदालत गएको हो । ‘करिब तीन वर्षसम्म सर्वोच्चमा बहस हुन सकेको छैन । 

सोमबार बहस होला कि भन्ने आशामा छौँ,’ कम्पनीका लेखा अधिकृत हरिप्रसाद घिमिरेले भने, ‘लगानीकर्ता लगानी गर्न तयार छन्, सर्वोच्चले बहस सुनेर निर्णय सुनाइदिएमा कम्पनी भाग्यमानी हुन्थ्यो ।’ 

विवाद टुङ्गिएमा कम्पनी आफ्नो तरिकाले अघि बढ्ने र लगानीकर्ता, कर्मचारी तथा मुलुकलाई सहज हुने उनको भनाइ छ । सरकारी दबाब भएको भए सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने कम्पनीको बुझाइ छ । कम्पनीको विवादलाई लिएर कहीँकतैबाट सर्वोच्चलाई दबाब दिइएको छैन जसले गर्दा पेसी तोक्ने तर बहस नहुने प्रक्रियाले गर्दा कम्पनीका कर्मचारी दिग्दारी भएको बताउँछन् । 

‘सर्वोच्चले पेसी तोकेपछि जान्छौँ, बहस होला भन्ने अपेक्षा राख्छौँ, तर हुँदैन । यस्तो अवस्थामा कम्पनीले के गर्न सक्छ ?’ कम्पनीका एक कर्मचारीले भने, ‘नयाँ मितिमा पनि बहस होला–नहोला अन्योलबीच सर्वोच्च जान्छौँ ।’ ‘सर्वोच्चले पेसी तोकेपछि नजाने भन्ने कुरा हुँदैन, तर मुद्दामा बहस होस् भन्ने हाम्रो चाहना हो,’ शाखा अधिकृत घिमिरेले भने, ‘उद्योग मन्त्रालयको जिम्मेवारी पनि नयाँ मन्त्रीले सम्हालेका छन्, लगानीकर्ताहरू पनि लगानी गर्न आतुर छन् । यस्तो अवस्थामा सर्वोच्चले बहस गर्न दिएमा राम्रो हुने थियो भन्ने हाम्रो भनाइ छ ।’ 

कम्पनी सञ्चालन नहुँदा कर्मचारीका साथै कम्पनी नै प्रभावित बन्न पुगेको छ । सञ्चालन भएमा ठूलो राहत मिल्ने कर्मचारीको भनाइ छ । सरकारको नीतिगत निर्णयको पर्खाइमा रहेको मेटल कम्पनीलाई सरकार स्वयम्ले नै बिनाकारण रुग्ण उद्योगको सूचीमा राखेको छ । गणेश हिमालको १४ हजार पाँच सय फिट (४४२० मिटर) उचाइमा रहेको उक्त परियोजना ०२४ मा उच्चस्तरीय जस्ता र सिसाको खनिज धाउ फेला परेपछि भारतीय कम्पनीले क्यानेडियन जोन्स्म्यानभिल कम्पनीको प्राविधिक परामर्शमा ०२५ देखि ०३० सम्म, युएनडिपी सहयोगमा ०४७ देखि ०५० सम्म र तत्पश्चात् कम्पनी स्वयमले अनुसन्धान तथा खोजतलासबाट कार्यसञ्चालन गरेकोे थियो । 

२०७१ साल माघ महिनामा छाइयुएन मिनरल्स (चिनियाँ कम्पनी) प्रालिले भारतीय र क्यानेडियन कम्पनीको सेयर खरिद गरेको थियो । उक्त क्षेत्रमा उपलब्ध ६ वटा खनिज प्राप्त हुने अनुसन्धानले देखाएको छ । जसमा लारी १, शुप्ले, लारी २, शेरकापिङ, पोक्टान्जो र ग्लेसियर छ । 

उक्त ६ वटा खनिज क्षेत्रमध्ये विस्तृत एक्स्प्लोरेसन गरिएको लारी १ क्षेत्रमा करिब १३ लाख मेट्रिक टन धाउ रहेको अनुमान छ जसमा १३.३० प्रतिशत जस्ता, २.६ प्रतिशत सिसा र प्रतिटन धाउमा २६ ग्राम चाँदी छ । त्यसैगरी सुप्ले खनिज क्षेत्रमा ११ लाख मेट्रिक टन धाउ अनुमान गरिएको र धाउको औसत ग्रेड १६.२५ प्रतिशत जस्ता, ४.० पाँच प्रतिशत सिसा र १९.४३ ग्राम/प्रति टन चाँदी छ । 

परियोजना सञ्चालनको आरक्षित आधारभूत कायम भएको हुँदा प्राविधिक रूपमा परियोजना सम्भाव्य र ऊर्जावान छ । यस्तै, दुवै क्षेत्रको खनिज राशिको गणना गर्दा २४ लाख मेट्रिक टन हुन आउँछ । गणेश हिमालमा उपलब्ध अन्य खनिज क्षेत्रसमेत गणना गर्दा उक्त राशि ३० लाख मेट्रिक टनभन्दा कम नहुने वर्तमान लन्डन मेटल एक्स्चेन्ज मूल्यका आधारमा २०७६ माघ ११ मा उक्त खनिज राशिको मूल्य सात खर्ब ३३ अर्ब आय हुने देखिन्छ । कम्पनी ऐन, २०२१ अन्तर्गत २०३३ सालमा नेपाल सरकार एवम् विदेशी कम्पनीको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो । अर्कोतर्फ सरकार, व्यवसायी र जनताको समेत लगानी रहेको कम्पनीमा सबैभन्दा बढी सेयर नेपाल सरकार तथा सबैभन्दा कम सर्वसाधारण जनताको छ । 

जसमा सरकारको १२ करोड २९ लाख चार हजार रुपैयाँ (७१.३१ प्रतिशत), म्युचुअल टे«डिङ कम्पनी प्रालिको दुई करोड ३२ लाख ५० हजार रुपैयाँ (१३.५० प्रतिशत), छाइयुएन मिनरल्स प्रालि दुई करोड २५ लाख ६० हजार रुपैयाँ (१३.८ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक (साबिक एनआइडिसी) को १९ लाख ९४ हजार रुपैयाँ (१.१६ प्रतिशत), सर्वसाधारण जनता (८४५ जना) १६ लाख ४० हजार रुपैयाँ (०.९५ प्रतिशत) सेयर छ । कुल १७ करोड ८३ लाख ४८ हजार रुपैयाँ लगानी थियो । 

कार्यसम्पादन मूल्यांकनमा म्यागङ गाउँपालिका पहिलो

गाउँपालिका अध्यक्ष आशा तामाङ

विदुर । नुवाकोटको २ नगरपालिकासहित १२ गाउँपालिकामध्ये म्यागङ गाँउपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको छ । ककनी गाउँपालिका दोस्रो भएको छ । यस्तै पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ । तारकेश्वर गाउँपालिका अन्तिममा परेको छ । बजेट विनियोजनदेखि नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा म्यागङ र ककनी क्रमशः पहिलो र दोस्रो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आर्थिक वर्ष २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि गरिएको कार्यसम्पादन सूचांकका आधारमा म्यागङ पहिलो भएको हो । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको बताए । 

म्यागङले ६६.४५ र ककनीले ६१.१९ प्रतिशत अंक पाएका छन् । तेस्रो स्थानको पञ्चकन्या ५६.८९ र शिवपुरी गाउँपालिकाले ५६.६ प्रतिशत पाएका छन् । तादी ५५.८८, विदुर नगरपालिका ५५.५७, दुप्चेश्वर गाउँपालिका ५३.३१, लिखु गाउँपालिका ४६.०८, सूर्यगढी गाउँपालिका ४५.११, किस्पाङ गाउँपालिका ५०.०४, बेलकोटगढी नगरपालिका ४३.४९ र सबभन्दा कमजोर तारकेश्वरले ४०.५१ प्रतिशत पाएका छन् ।

आयोगका अनुसार स्थानीय सरकार ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ–नगरसभामा बजेट पेस गर्न‘पर्छ । त्यसो भए/नभएकोलाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्न‘पर्छ । गरे/नगरेको विषय अर्को सूचक हो । स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे/नगरेकोलाई समेत सूचक मानिएको प्रवक्ता पौडेलले बताए ।

रसुवामा उत्तरगया पहिलो

यसै बीच कार्यसम्पादन मूल्याङ्कनका आधारमा रसुवाका पाँचैवटा पालिकाको अवस्था मध्यम देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा आधारमा रसुवाका गोसाइकुण्ड,आमाछोदिङ्मो,उत्तरगया,कालिका र नौकुण्ड कुनै पनि पालिकाले ६० अंकभार कटाउन सकेका छैनन् ।  सबैभन्दा अब्बल उत्तरगया गाउँपालिका देखिएको छ । उक्त पालिकाले ५९.४४ अंक पाएको छ ।

यस्तै कालिकाले ५४.६० अंक पाएको छ भने गोसाइकुण्ड गाउँपालिकाले ५३ दशमलव ७२१५ अंक पाउँदा आमाछोदिङ्मो गाउँपालिकाले ४७ र सबैभन्दा कम अंक नौकुण्ड गाउँपालिकाले ४५.५७ अंक पाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ । 

महोत्सवको हिसाव चैतमा सार्वजनिक हुने

महोत्सव समापन समारोह

पिपलटार । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ गतेदेखि सुरु भएको महोत्सव फागुन १० गते बुधबार सम्पन्न भएको छ । २०६३ देखि सुरु भएको महोत्सवको यो सातौँ संस्करण भव्यताका साथ सम्पन्न भएको छ । महोत्सव विदुर नगरपालिका–५ पिपलटारमा भएको हो ।

सातौँ नुवाकोट महोत्सव १३ दिनसम्म सञ्चालन भएको थियो । महोत्सवको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्ज‘ननरसिंह केसीले र समापन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गरेका थिए । 

२०४५ सालमा स्थापना भएको संघले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो हुँदा अवलोकनकर्ताले सहज महसस गरेका थिए । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको संघका अध्यक्ष एवम् महोत्सव सञ्चालन मूल समितिका संयोजक ताराबहादुर कार्कीले बताए । महोत्सव डेढ लाखभन्दा बढीले अवलोकन गरेको संघले जानकारी दिएको छ । यसपटक महोत्सको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन, दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ राखिएको थियो । 

अध्यक्ष कार्कीले बताएअनुसार महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएकाले जिल्लाको ४० भन्दा बढी व्यवसायीले स्टल राखेका थिए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन, हस्तकला एवम् व्यापार व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा बाह्य लगानीलाई आकर्षण गर्न महोत्सव केन्द्रित रहेको संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामग्री यसपटकको महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएकाले ती स्टल अवलोकनकर्ताले विशेष चासो र ध्यान खिचेको वरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताइन् । 

महोत्सवको हिसाब चैत महिनाभित्र सार्वजनिक गरेर वैशाखको पहिलो हप्ता संघको अधिवेशन गर्ने कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समिति नुवाकोटसहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको यो महोत्सवको व्यवस्थापन नारायणी फेयर एक्जिबिसन नेपालको र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक थिए ।

महोत्सवमा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद नारायणप्रसाद खतिवडा, संविधानसभाका सदस्यहरू राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, गोविन्द नेपाली, जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सभाका सदस्य एवम् नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्यद्वय बद्री मैनाली र हिरानाथ खतिवडा, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रदेश सभाका सदस्य एवम् निवर्तमान उपसभामुख राधिका तामाङ, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह तामाङ, प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानालगायतले महोत्सवको अवलोकनसहित फरक–फरक दिनको आतिथ्यता ग्रहणसमेत गरेका थिए । जिल्लामा यसअघि सम्पन्न भएका ६ वटा महोत्सवभन्दा बढी दर्शकले अवलोकन गरेको यो महोत्सवमा जिल्लाका सबै तह र तप्काका महानुभावको साथ र सहयोग रहेको महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।

‘जिल्लाको विकासमा लामवद्ध बनौं’


पिपलटार । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं नुवाकोटबाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङले नुवाकोट राजनीतिक रुपमा मात्रै नभई प्राकृतिकरुपमा सौन्दर्यले भरिएको जिल्ला भएको बताएका छन् ।

विदुर नगरपालिका–५ पिपलटारमा आयोजित सातौं नुवाकोट महोत्सवको समापन कार्यक्रममा बुधबार सांसद तामाङले ककनी र शिवपुरीका डाँडाबाट उत्तरी क्षेत्रको हिमाली सम्पदा, धार्मिक हिसाबले पनि थुप्रै तीर्थस्थलले पर्यटकलाई आकर्षित गरिरहेको उनले बताए । नुवाकोट व्यापारिक रुपले विकसित भइरहेको भन्दै सांसद तामाङले चीन र भारतलाई जोड्ने जिल्लाको रुपमा विकास हुने बताए । उनले केही वर्षभित्रमा चीनको केरुङ–नुवाकोट हुँदै काठमाडौ जिल्लालाई रेलले जोड्ने र सुरुङ मार्गको सुरुवात हुने बताए । नुवाकोटलाई राजनीतिकरुपमा कुनै पूर्वाग्रह नराखीकन सबै पार्टी, जुनसुकै विचारधारा भए पनि जिल्लाको विकास गर्ने सवालमा एकताबद्ध भएर सहकार्य गरेर अगाडि बढ्न सांसद तामाङले सबैलाई आह्वान गरेका छन् । उनले कृषि, पर्यटन र औद्योगिक विकासका लागि साझा अवधारण बनाई अगाडि बढ्नपर्ने पनि बताए ।

नेपालको राजनीतिलाई स्थायित्व प्रदान गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र कार्यान्वयन गरी आगामी दिनको राजनीति संघीयस्तरमा मात्र नभई प्रदेशस्तर, स्थानीयस्तरमा र पालिकास्तरमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । 

‘हामी आभारी छौं’

सन्तोष उप्रेती

सन्तोष उप्रेती

द्धितिय उपाध्यक्ष, नुवाकोट उद्योग बाणिज्य संघ 

जिल्लाको समग्र आर्थिक विकासका सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्यले आयोजित सातौं नुवाकोट महोत्सव (२०७९ माघ २७ गतेदेखि फागुन १० गतेसम्म) भब्यताका साथ सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, जलविद्युत, सौर्य विद्युत, पर्यटन, उद्योग, हस्तकला एंव व्यापार व्यवसायलाई प्रवद्र्धनमा महोत्सवले नुवाकोट जिल्लाका लागि टेवा दिएको हामीले प्रारम्भिक समीक्षा गरेका छौं । जिल्लामा आर्थिक तथा लगानीमैत्री बातावरणको सृजना गरी वाह्य लगानीलाई आकर्षण गर्ने उद्देश्यले नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको यो महोत्सवलाई यत्तिको भब्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने तपाई सम्पूर्णप्रति म व्यक्तिगत रुपमा र आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघको तर्फबाट आभार व्यक्त गर्न चाहान्छौं । सातौं नुवाकोट महोत्सवलाई जिल्लाकै मुख्य उत्सवका रुपमा प्रस्तुत गर्नका लागि विभिन्न तरहले सहयोग पु¥याउनुहुने सम्पूर्ण उद्योगी व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका आदरणिय नेतागण, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका सहितका नुवाकोटका सम्पूर्ण स्थानीय तहहरू, महोत्सव आयोजना गरिएको स्थल विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरू, स्थानीय सामाजिक संघसंस्था, नेपाल पत्रकार महासंघ लगायतका सम्पूर्ण पत्रकार मित्रहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं । त्यस्तै, भगवानरुपी तपाई सम्पूर्ण दर्शक महानुभावहरू, जिल्ला समन्वय समिति नुवाकोट सहितका सह आयोजक संघसंस्था र कार्यालयहरू, मुख्य प्रायोजक दुवाल ब्रदर्श प्रा.लि. गंगटे नुवाकोट, सह प्रायोजक घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट र कृषि ज्ञान केन्द्र नुवाकोट, व्यवस्थापक नारायणी फेयर एब्जीवेशन नेपाल चितवन, राष्ट्रिय तथा स्थानीय स्तरमा रहेर कला, साहित्य तथा संस्कृतिमा योगदान पु¥याइरहनुभएको सम्पूर्ण कलाकारहरूलाई समेत आभारसहित धन्यवाद व्यक्त गर्दछौं ।

धार्मिक, ऐतिहासिक कला संस्कृतिको सम्र्वद्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन भन्ने मुल नाराका साथ सञ्चालित १३ दिने यो महोत्सवले जिल्लाको कला, संस्कृति, पौरखी सृजना, जनजातीको भेषभुषा, रीतिरिवाज अनि परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै उद्योग व्यापार र पूर्वाधार विकासको माध्यमबाट जिल्लालाई समृद्ध जिल्लाको रुपमा छुट्टै पहिचान गराउन सफल भएको मैले मात्रै नभई आम जिल्लावासीले अनुभूत गरेको विश्वास लिएको छु । खेलाडीसम्मानदेखि साहित्यक उत्सवसम्म, नेवारी समुदायको लाखे नाँचदेखि तामाङ समुदायको घोडा नाँचसम्म, कुमाल समुदायको परम्परागत प्रविधिदेखि मगर समुदायको जीवन्त इतिहाससम्म एकै स्थलमा उतार्नु हाम्रा लागी चुनौतीपूर्ण र खर्चिलो थियो । विद्यालयस्तरिय नृत्य प्रतियोगिता, दौड प्रतियोगिता, नुवाकोट झल्कने चित्रकला तयार गर्ने र प्रर्दशन गर्नका लागि देशैकै नामीनामी कलाकारहरू (ललितकला) लाई हामीले महोत्सवमा प्रस्तुत गर्यौ । हामीले महोत्सवमा राजनीतिक, जातिय, धार्मिक, सामुदायिक र वर्गिय जस्ता कुनैपनि यो वा त्यो पक्षको गन्ध आउन दिएनौं ।  

विश्व महामारी कोभिड–१९ (नोबेल कोरोना भाइरस) को प्रभाव र पिडा हामीबीच कम भइसकेको छैन । विश्व महामारीको यो विकराल अवस्था केही समय ओझेल परेकै मेसोमा नुवाकोट उद्योग बाणिज्य संघले महोत्सवको सातौं संस्करण गर्नु आफैंमा चुनौतीपूर्ण थियो । यो साल महोत्सव गर्ने या नगर्ने टुङ्गो लगाउनै हामीलाई लामो समय लागेको थियो । क्षमतावान र अनुभवी व्यक्तित्व ताराबहादुर कार्कीको नेतृत्वमा रहेको हाम्रो यस संघले महोत्सव गर्ने र महोत्सवलाई विदुर र बट्टारमै मात्रै आयोजना गरेर परम्पराको निरन्तरता नदिने निर्णय सहित विदुर नगरपालिकाको वडा नं. ५ पिपल्टारमा आयोजना गर्ने जुन निर्णय केही समय अघि भयो, यसैबाट पनि महोत्सवले नयाँ ओझ ग्रहण गर्ने विषय सञ्चार भइसकेको थियो । तैपनि हामीलाई तयारीका लागि उपलब्ध समय असाध्यै कम थियो, यो समयका बीचमा सातौं नुवाकोट महोत्सव जसरी र जुन रुपमा प्रस्तुत भयो, त्यसले अहिलेसम्मका महोत्सव मध्येकै वृहत्त आकार प्राप्त गरेको छ । यसो भन्नुको अर्थ महोत्सव पूर्ण भयो भन्ने चाँही होइन, धेरै कमजोरी र गर्दागर्दै चुक भएको पाटाहरू पनि महोत्सवमा रहे । कत्तिपय हामीले आयोजक संस्थाका जिम्मेवार व्यक्ति भएका नाताले, कत्तिपय तपाई दर्शकहरूले औल्याउनु भएको कारण महोत्सवका सुधार गर्नुपर्ने पक्षहरू हामीसंग ‘रेर्कडेट’ छन् । छोटो समयमा महोत्सव आयोजना गर्नुपरेकोले व्यवस्थापकका रुपमा नारायणी फेयर एब्जीवेशन नेपाल चितवनलाई कलाकार व्यवस्थापकिय र अन्य केही कामको जिम्मेवारी सुम्पेका थियौं, जसले गर्दा कलाकारहरूलाई महोत्सवमा आमन्त्रण गर्ने र उहाँहरूको पारिश्रमिक व्यवस्थापक मार्फत् भुक्तानी गर्नुपर्ने भएका कारण हामीले तपाई दर्शकहरूले भन्नुभएको जत्ति सम्पूर्ण कलाकारहरूलाई महोत्सवको मञ्चमा प्रस्तुत गर्न सकेनौं । केही स्थानीय कलाकारहरू समेत महोत्सवमा हामीले प्रस्तुत गर्न सकेनौं । यस विषयमा विभिन्न संघसंस्था, कलाकार साथीहरू र दर्शकहरूको सुझाव सहितको ध्यानाकर्षण आएको छ । यस विषयमा नुवाकोट उद्योग बाणिज्य संघले महोत्सवको अर्को संस्करणमा सुधार गर्नेगरी ‘नोट’ गरेको छ । 

सिङ्गै जिल्लालाई एउटै मञ्चमा प्रस्तुत गर्ने महाकार्य, महोत्सव आयोजना गरेर मात्रै पनि सफल हुने होइन, जिल्ला स्थित सम्पूर्ण कार्यालय, संघसंस्था, विभिन्न पदमा रहनुभएका नुवाकोटप्रेमी आदरणिय व्यक्ति, पिपलटारवासी, अनि तपाई सम्पूर्ण दर्शक महानुभावहरूको निरन्तर र अटुट सम्वन्ध, सहयोग, सहकार्य र हौसला हामीसंग रहिरहेकै कारण सातौं नुवाकोट महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न सकेका हौं । फेरिपनि सहयोगी सम्पूर्ण कार्यालय, संघसंस्था, व्यक्ति र दर्शक महानुभावहरूलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु । 

चिम्टेश्वरबाट चियाउँदा

चिम्टेश्वरमा निर्माण भएको भ्युटावर

कृष्ण थापा

नुवाकोट । ‘ओहो ! चारैतिर देखिने रहेछ,’ स्थानीय साइँली तामाङले चिम्टेश्वर भ्युटावरको पाँचौं तल्लाको झ्यालबाट चियाउँदै भनिन्,‘अझै हिमाल पनि देखियो ।’ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका ८ वडाहरू (१ देखि ५ र ९ देखि ११ नम्बर वडाहरू) को एउटै डाँडामा बनाइएको छ भ्युटार । भ्युटावरको पश्चिमपट्टि चिम्टेश्वर महादेव छ ।

टावर र चिम्टेश्वर महादेव वरिपरि सल्ला र खर्सुको जंगल छ । हालै आगलागी भएकाले वरिपरि घाँसपात डढेको छ । यहींबाट पूर्व, उत्तर र पश्चिमभेगमा लहरै गौरीशंकर, दोर्जे ल्हाक्पा, लाङटाङ, साञ्जेन, गणेश, मनास्लु, अन्नपूर्ण, चीनको केरुङ क्षेत्रका लस्करै दर्जन हिमालहरू देखिन्छ । त्यसैगरी पूर्वीभेगमा काठमाडौं उपत्यका, ककनी, शिवपुरी, दक्षिणीभेग धादिङका बेंसीं र डाँडाहरू, मकवानपुरकाडाँडा, पश्चिममा नुवाकोट झिल्टुङ, उत्तरी भेग हिमालबाहेक रसुवाका ३ वटा पालिका देखिन्छ । त्यसैगरी यहाँबाट त्रिशूली बजार, विदुर, बट्टार, पिपलटार फाँट देखिन्छ । ‘तुवाँलो लागेन भने हिमालदेखि वरिपरिका फाँटहरू मनमोहक देखिने बेलकोटगढी नगरपालिका–९ का सूर्य तामाङले बताए । पहिलो पटक चिम्टेश्वर पुगेका एक नेपाली पर्यटकले भने,‘यो त चन्द्रगिरिलाई माथ गर्ने ठाउँ रहेछ ।’

पछिल्लो समय साना गाडीहरू चिम्टेश्वरसम्म पुग्ने भएकाले वनभोज खाने, रमाइलो गर्ने र महादेवको दर्शन गर्नेको भीड लाग्ने गरेको बेलकोटगढी नगरपालिका–३ का जयराम पुडासैनीले बताए । चिम्टेश्वरको उत्पत्ति र राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँग जोडिएको स्थानीयहरूको भनाइ रहेको छ । स्वस्थानीमा वर्णन भएअनुसार स्थानीयले चिर्केश्वर भनेर पूजा गर्छन् । सत्यदेवीको चिर (मुटु छेउको भाग) पतन भएकोले चिर्केश्वर हुँदै चिम्टेश्वर भएको स्थानीय पुडासैनीले सुनाए । अर्को देव र दानवले समुद्रमन्थन गर्दा निष्केको कालकुट विष भगवान शिवले पिएर यही ठाउँमा रात बास बसेको र बिहान कुखुरा कराएपछि उनी छिम्टा बिर्सेर गोसाइँकुण्डतर्फ गएको किंबदन्ती रहँदै आएको छ । 

त्यसैगरी पृथ्वीनारायण शाहलाई सपनामा गुरु गोरखनाथले शक्तिशाली मठ चिर्केश्वरमा गएर पूजा गर्नाले शक्ति मिल्ने बताएपछि यही ठाउँमा पूजा गरेको बताइन्छ । यहाँ वस्तुभाउ नब्याएमा, सन्तान प्राप्ति र विजयका लागि भाकल तथा शक्ति माग्न भक्तजन आउने गरेको पुडासैनीले बताए । यहाँ पुरानो इँटा, झिंगटीका टुक्रा र काटेका ढुंगाहरू भेटिन्छन् भने हाल टावर रहेको स्थानमा गढी र बंकर बनाएर सेना राखेको बताइन्छ ।

पूर्वीभेगबाट खुट्किला सहितको बाटो निर्माण गरिएको छ । काठमाडौंबाट पश्चिमभेग बागमारासम्म बस संचालन हुन्छ । त्यसपछि सानो गाडी कच्चीबाटो जंगल हुँदै चिम्टेश्वर पुगिन्छ । पूर्वीभेगबाट ३ वडाको झ्याङलीपोखरीसम्म बस आउँछ । यो चिम्टेश्वरभन्दा दुई किलोमिटर तल छ । यो काठमाडौंदेखि ४८ किमि दुरीमा रहेको छ । २२ सय मिटर उचाईमा रहेको यो स्थान बाहृय र आन्तरिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुने सम्भावना छ ।

अनुदान कार्यक्रममा क्याम्पस छनौट

बट्टार । विश्वविद्यालय अनुदान आयोगले विश्व बैंकको ऋण सहयोगमा सञ्चालनमा ल्याएको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गतको विस्तारित कार्यसम्पादनमा आधारित अनुदान कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पस छनोट भएको छ ।

क्याम्पस अनुदान कार्यक्रममा सहभागिताका लागि प्राप्त भएको प्रस्तावना मूल्याङ्कनका आधारमा छनोट भएको हो । क्याम्पसले निर्धारित मापदण्ड पूरा गरेको तथा शैक्षिक गुणस्तर अभिवृद्धिसमेत भएको र क्याम्पसको लक्ष्य, रणनीतिक योजना, नीति तथा कार्यक्रम, सुशासन, तथ्याङ्क व्यवस्थापनसमेतको आधारमा परियोजनामा छनोट भएको क्याम्पस प्रमुख सुकुमान डङ्गोलले बताए । यो परियोजनाअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न १९ वटा क्षेत्रमा कार्य गर्न सकिनेसमेत क्याम्पस प्रमुख डङ्गोलले बताए । एक अब्बल क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस रसुवा, नुवाकोट र धादिङको एक ऐतिहासिक पृष्ठभूमिले सज्जित क्याम्पस, त्रिदेशीयमार्ग पासाङल्हामु राजमार्गमा अवस्थित यस क्याम्पसमा हाल बहुसङ्कायमा स्नातकोत्तर तहसम्म पठन–पाठन भइरहेको छ । 

२०४२ माघमा स्थापित क्याम्पस विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नो गतिमा अघि बढिरहेको छ । भौतिक, भौगोलिक, शैक्षिक ब्रान्डको हिसाबले यो क्याम्पस आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । क्याम्पस परिवर्तन गर्न र विकास गर्नका लागि विभिन्न प्रयास भएका छन् । यी प्रयासमध्ये विश्वविद्यालय अनुदान आयोगद्वारा सञ्चालित उच्च शिक्षा परियोजनामा सी स्किममा छनोट भई उच्च कार्यसम्पादन गर्न सफल भयो भने सन् २०१५ देखि २०२० अवधिका उच्च शिक्षा सुधार परियोजना सम्पन्न भइसकेको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ र उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउनुपर्छ भन्ने अभिप्रायले ०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभूति (क्युएए) प्रक्रियामा अघि बढेको थियो । क्युएए प्रक्रियाका एक सय २० वटा मापदण्डअन्तर्गतका कतिपय सूचक पूरा गर्दै अघि बढ्ने क्रम तथा ०७२ सालको भूकम्पको प्रभावका कारण ०७२ साल मङ्सिर १ गते स्वअध्ययन प्रतिवेदन पेस भई ०७६ साल असार ७ देखि ९ गतेसम्म प्रा.डा. वासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्वारा प्रिभिजिट सम्पन्न भइसकेको छ । सो समितिले क्युएए प्रमाणीकरण गर्न विभिन्न आठवटा विधामा आवश्यक सुझाव प्रदान गरेको छ । हाल क्याम्पसले प्रिभिजिटबाट प्राप्त सुझाव पूरा गर्ने चरण रहेको छ । 

क्याम्पसको हातालाई व्यवस्थित तथा आकर्षक, क्यान्टिनको व्यवस्थापन, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, कक्षाकोठालाई डिजिटलाइजनजस्ता कार्य सम्पन्न भइसकेको छ । सबै मापदण्ड लगभग पूरा भइसकेको र क्याम्पस र विभिन्न संघ–संस्थाको सम्बन्धका कारण क्याम्पसको भौतिक तथा शैक्षिक गतिविधिमा आमुल परिवर्तन हँुदै गएको छ । क्याम्पसप्रमुख डङ्गोलले विशेष गरेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वर्क एन्ड स्टडीमा केन्द्रीकृत गर्नका लागि क्याम्पसका प्राध्यापकको टिमबाट अध्ययन गर्ने कार्य भइरहेको बताए । निकट भविष्यमा नै विभिन्न दातृ निकाय तथा सङ्घ–संस्थाको सहकार्यका विद्यार्थीलाई रोजगारीको सिर्जनाका साथै दिगो आर्थिक विकासमा लगाई कामका लागि बिदेसिने वातावरणको अन्त्य गर्ने लक्ष्य रहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार हाल छनोट भएको परियोजनालाई सफल बनाई क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षलाई समेटेर उच्च शिक्षाको हबको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । प्रिभिजिटको सुझावलाई कार्यान्वयनसमेत गरिसकेकाले निकट भविष्यमा नै अन्तिम भिजिट सम्पन्न गरी क्युएए प्रमाणीकरण गर्ने बताए ।

नेपालको संविधान, २०७२ ले देशभरमा तीन तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्न तीनै तहमा शैक्षिक अधिकारसमेत प्रत्यायोजन गरेको छ । यसरी हेर्दा नुवाकोट आदर्श बहुमुखी क्याम्पस भौगोलिक, राजनीतक तथा जनघनत्वको हिसाबले पनि बागमती प्रदेशको प्रादेशिक विश्वविद्यालयको रूपमा छलाङ मार्न जरुरी छ । क्याम्पसको भौतिक संरचनालाई भरपूर उपयोगमा ल्याई तीन तहको सरकारसँग उचित सम्मन्वय गर्न सकेको खण्डमा प्रादेशिक विश्वविद्यालयको परिकल्पना साकार हुनेछ । क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । करिब सात हजार विद्यार्थीले ग्य्राजुएट हासिल गरी देश तथा विदेशको विभिन्न क्षेत्रमा उच्च ओहोदामा आसिन हुन पुगेका छन् । करिब ५५ जना प्राध्यापक–कर्मचारी कार्यरत छन् । आगामी दिनमा बिएडआई सिटी, बिआइटी, बिसिए, बिएचएम, बिबिएलगायतका नयाँ विषय थप गर्ने योजना रहेको छ ।

तस्बिर समाचार

अन्तराष्ट्रिय खेलमा भाग लिई सितोरियो करातेका नुवाकोट डोजोका सिनियर खेलाडीहरू देबकुमार लामा र अमृत तामाङ बङ्गलादेशका राजधानी ढाकामा गोल्ड मेडल हासिल गर्न सफल भएकोमा सातोै महोत्सबमा सम्मान गर्दै प्रदेश सांसद बाहादुरसिंह लामा तामाङ । 


स्ववियु चुनाव प्रचारका लागि ४ दिन

विदुर । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ गते मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ । 

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको हो । त्यसपछि ४८ घण्टे मौनअवधि सुरु हुनेछ । २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । फागुन २७ मा प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने समयतालिका प्रकाशित गरिएको छ । त्यसअघि नै उम्मेदवारी दिन चाहने संघ, संगठन वा समूह दर्ता गर्नुपर्नेछ । फागुन १९ मा सम्बन्धित क्याम्पस निर्वाचन समितिमा दर्ता गरेपछि आधिकारिक रूपमा स्ववियु निर्वाचनको गतिविधि अघि बढ्ने अधिकारीले जनाए । ‘प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइन्छ, संघ÷संगठनबाहेक विद्यार्थीहरूले समूह बनाएर पनि प्रत्यक्ष र समानुपातिकमा चुनाव लड्न सक्छन्,’ उनले भने ।

प्रचारका क्रममा भित्ते लेखन गर्न, तुल, फ्लेक्स, पोस्टर टाँस्न र माइकिङ गर्न भने रोक लगाइएको छ । ‘क्याम्पस कम्पाउन्डको बाहिर, भित्र र परिसरमा भित्तेलेखन गर्न पाइने छैन, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न पाइने छैन,’ आचारसंहितामा छ,’ त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न पाइने छैन । माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।’

उम्मेदवारी दिने संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले निर्वाचन घोषणापत्र, उम्मेदवार नामावलीको पर्चा ‘ए फोर’ साइजको एकै रङमा भने प्रयोग गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्याम्पस निर्वाचन समितिले उम्मेदवारलाई एउटै मञ्चमा राखेर परिचयात्मक कार्यक्रम सञ्चालन गर्न दिने भएको छ । निर्वाचन अवधिमा बन्द हडताल गर्न रोक लगाइएको छ । विद्यार्थी संगठन लगायत सरोकारवालासँग छलफल गरेर आचारसंहिता जारी गरिएको सदस्यसचिव अधिकारीले बताए ।

स्ववियु निर्वाचनका लागि राजनीतिक दलसँग निकट २३ वटा विद्यार्थी संगठन केन्द्रीय निर्वाचन समितिको सम्पर्कमा आएका छन् । निर्वाचन लड्नका लागि सम्बन्धित क्याम्पसमा नै संगठन वा समूह दर्ता गर्नुपर्छ । प्रत्यक्षतर्फ भने स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइनेछ । काठमाडौं उपत्यकाका २२ सहित ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गर्न त्रिविले सर्कुलर गरेको छ । क्याम्पसमा निर्वाचन गराउने जिम्मेवारी क्याम्पस प्रमुखलाई तोकिएको छ । उनले निर्वाचन अधिकृत नियुक्त गरी चुनाव सम्पन्न गराउनुपर्नेछ । कुनै कारणवंश तोकिएको मिति (चैत ५) मा निर्वाचन गराउन नसक्ने क्याम्पसले निर्वाचन अधिकृतको सिफारिसमा ३० दिनभित्र गराउनुपर्ने व्यवस्था निर्देशिका गरेको छ ।

त्रिवि कार्यकारी परिषद्बाट स्वीकृत गराएर निर्देशिका लागू गरिएको हो । ‘स्ववियु निर्वाचनलाई तकडभडक र राजनीतिक दाउपेचभन्दा पनि सामान्य प्रक्रियाको रूपमा लिन सबैलाई आग्रह गरेका छौं, क्याम्पस, विद्यार्थीले आफ्नो स्ववियु आफैं छनोट गरेर हामीलाई जानकारी दिए पनि हुन्छ,’ सदस्यसचिव अधिकारीले थपे, ‘विद्यार्थी संगठनले राजनीतिक दाउपेचभन्दा पनि स्ववियुको आवश्यकता महसुस गरेर सहयोग गरेका छन् । 

निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । क्याम्पस प्रमुखहरूले उमेर नाघेर उम्मेदवार बन्न नपाउने तर विद्यार्थी संगठनमा सक्रिय विद्यार्थीबाट असहयोग हुने आशंका गरेका छन् । 

गोसाइँकुण्डमा केबलकार निर्माण गर्ने

 गोसाइँकुण्ड

विदुर । रसुवाको गोसाइँकुण्डमा केबलकार निर्माणदेखि जिरीमा मानव निर्मित तालसम्मका योजना समेटेर बागमती प्रदेश सरकारले नयाँ पर्यटन नीतिको खाका बनाएको छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा अनुसार पर्यटन पूर्वाधारको विकास र विस्तारको योजनामा यस्ता आयोजना समेटिएका छन् ।

पर्यटन नीतिको मस्यौदामा भनिएको छ, ‘दोलखाको जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गरिनेछ, गोसाइँकुण्ड लगायतका स्थानमा केबलकार स्थापना गर्न प्रोत्साहन गरिने छ ।’ पर्यटन नीतिमा गोसाइँकुण्ड एकीकृत विकास परियोजना मार्फत रसुवाको प्रमुख तीर्थस्थल गोसाइँकुण्डको समग्र विकास गरिने समेत उल्लेख गरिएको छ । पर्यटनको सम्भाव्यता भएका जिरी, शैलुङ, कालिञ्चोक र महाभारत क्षेत्रका हिल स्टेशनको एकीकृत विकासका लागि सडकलगायतका पूर्वाधार र स्तरोन्नतीमा ध्यान दिने समेत पर्यटन नीतिमा उल्लेख छ ।

त्रिभुवन राजपथ पर्यटन मार्ग 

काठमाडौं–हेटौडा जोड्ने त्रिभुवन राजपथलाई प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ । त्यसका लागि सडकको मर्मत सुधार सरकारले गर्ने र होटल लगायत सुविधाको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ । समग्र पर्यटन पूर्वाधारको निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरी निजी क्षेत्रको लगानी बढाउने नीति समेत प्रदेश सरकारले लिने भएको छ ।

प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलको विकास गर्न समेत निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । प्रदेश अन्तर्गत पर्ने राष्ट्रिय लोकमार्ग र प्रादेशिक तथा स्थानीय प्रमुख लोकमार्गलाई सम्भाव्यताका आधारमा पर्यटन कोरिडरका रुपमा विकास गर्ने समेत मस्यौदामा उल्लेख गरिएको छ । संघीय सरकारसँगको सहकार्यमा भारतका प्रमुख शहरमा हवाई र बस सेवा सञ्चालन गर्ने समेत नीतिमा उल्लेख गरिएको छ । काठमाडौं केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न काठमाडौं आसपासमा पर्यटन गन्तव्यको विकास गरी सहज पहुँच मार्गको विकास गर्ने समेत नीतिमा उल्लेख छ । स्थानीय तहसँगको सहकार्यमा प्रदेशभरका पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल निकास, साइकल लेन, निःशुल्क इन्टरनेटसहितका सुविधा उपलब्ध गराउने प्रदेश पर्यटन नीतिमा छ ।

होमस्टेलाई आकर्षण

प्रदेश पर्यटन नीतिले पर्यटनको लाभ स्थानीय स्तरसम्म पु¥याउन होमस्टेलाई एम प्रमुख माध्यम बनाउने भनेको छ । जौविक कृषि तथा हस्तकलाको प्रबद्र्धन गरी आयआर्जनका लागि बजारीकरणको विस्तार गर्ने समेत पर्यटन नीतिको योजना छ ।

स्थानीय कृषि उत्पादनमा प्रदेश सरकारले सहयोग गरी बजारीकरणमा समेत सरकारले ध्यान दिने नीतिमा उल्लेख गरिएको छ । हस्तकलाको बिक्री गर्न समेत प्रदेश सरकारले विशेष प्रबन्ध गर्ने भनेको छ । महिलाको नेतृत्वमा वा महिला समूहद्धारा सञ्तालन गरिने पर्यटकीय क्रियाकलापलाई विशेष प्रोत्साहन दिइने भएको छ । प्रदेश सरकारले पशुपति क्षेत्रको विकास र संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गर्ने समेत नीति लिने भएको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसँग समन्वय र साझोदारीमा देवघाट, मनकामना, बुढीगण्डकी, त्रिवेणीधाम लगायत तीर्थस्थलमा पर्यटकीय पूर्वाधारको विकास गर्ने समेत नीतिको लक्ष्य छ । अन्तर्राष्ट्रिय बौद्ध परिपथ र अन्तर्राष्ट्रिय पशुपति परिपथको समेत परिकल्पना नीतिमा गरिएको छ ।

प्रदेश बोर्डमार्फत कार्यान्वयन

पर्यटन नीतिको कार्यान्वयनका लागि प्रदेशमा छुट्टै पर्यटन बोर्डको अवधारणा राखिएको छ । त्यसका लागि नियामावली तथा प्रदेश पर्यटन बोर्ड ऐन निर्माण गरिने उल्लेख छ । प्रदेशको आवधिक योजनाले पर्यटनलाई एक प्रमुख क्षेत्रका रुपमा प्रस्तुत गरेको भन्दै यसको कार्यान्वयनका लागि दिशा निर्देशन गर्न यस्तो ऐन बनाउन लागिएको प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको भनाई छ । नीतिले पर्यटन आयमा वृद्धि ः रोजगारी र समृद्धि नामक दूरददृष्टि बोकेको छ ।

२०७९ साल फागुन १५ गतेको सम्पादकीय

कार्यकर्ताको आवाज सुन्नु जरुरी

नेकपा एमालेले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । नुवाकोटमा शनिवारबाट अभियान सुरु भएको छ । अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ । नुवाकोट, रसुवा र धादिङसहित ७७ वटै जिल्लामा फागुन ९ गतेदेखि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । एमालेले पार्टी सुढृदीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेकोछ । एमाले नुवाकोटले शनिबार जिल्ला कमिटीको बैठक गरेर अभियानलाई १२ वटै पालिका र ८८ वटै वडामा गर्ने कार्यक्रम तय गरेको छ । सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठन क्रियाशील हुन नसकेकाले सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने निर्देशन पनि आएको समाचार सार्वजनिक भएका छन्  । नुवाकोट जिल्लाको १२ वटै पालिकामा केन्द्रीय प्रतिनिधिसँगै बागमती प्रदेश कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यलाई फरक–फरक भूगोलमा खटाइएको छ । खटाइएको प्रतिनिधिसँगै पालिका कमिटीको अध्यक्ष र पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने छ । यो अभियानमा जिल्ला कमिटीका, प्रदेश, क्षेत्र र वडा कमिटीका सबै पदाधिकारी र सदस्यको हाजिरी रेकर्ड राख्नसमेत जिल्लाले निर्देशन गरेको छ । जिल्लामा सम्पन्न बैठकले अभियानका लागि जिल्ला आएका केन्द्रीय सदस्यसहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्षहरूको संयुक्त बैठक बसेर वडा तहका कार्यक्रम बनाइरहेको छ । 

पार्टीका सबै नेता–कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तर्विरोध देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेकाले पनि यो अभियानले पार्टी थप व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने छ । स्थानीय तहको परिणामपछि विभिन्न तहमा समीक्षा गर्दै केन्द्रको निर्देशनअनुरूप त्यस निर्वाचनमा देखिएका कमी–कजोरीलाई सच्याउने, आपसमा देखिएका मनमुटाव हटाउने, कमजोर बनेका सङ्गठन सङ्गठित र सुदृढ बनाउँदै निराश बनेको मनस्थितिमा ऊर्जा थपेर मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जाने तयारी प्रदेश कमिटीको तर्फबाट राम्रैसँग गरिए तापनि एमालेको ठूलो पङ्क्तिमा एकखालको नैराश्यता र निष्क्रियता बढिरहेको थियो । पछिल्लो समयमा समाजका विभिन्न क्षेत्रमा विकृति–विसङ्गति, कार्यकर्ताको बीचमा अराजकता, स्वछन्दता बढिरहेकाले पार्टीको मूल्य, मान्यता र परम्परामा ह्रास आउन खोजिरहेका घटनाप्रति एमालेको इमानदार पङ्क्तिमा चिन्ता व्याप्त थियो । समाजका सम्पूर्ण अवयवलाई आपसी सहिष्णुता कायम गर्दै इमानदारिता, जवाफदेहिता, नैतिकता र पारदर्शितालाई उच्च प्राथमिकता दिन पार्टीले कार्यक्रम र्न ढिला भइसकेको थियो ।

पार्टी र सङ्गठन चल्ने विचारले हो । हामीसँग हाम्रो पार्टी सञ्चालनका लागि मात्र होइन देश सञ्चालन गर्ने सही दृष्टिकोण र विचार छ । तसर्थ यो विचार आमपार्टी पङ्क्ति र जनताका बीचमा पु¥याउनु जरुरी छ । पार्टी पङ्क्तिभित्र राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक प्रशिक्षण सञ्चालन गर्ने र जनताका बीचमा जाँदा पार्टी विचारलाई व्यवस्थित रूपले उनीहरूले बुझ्ने भाषामा राख्ने हैसियत नुवाकोट जिल्ला नेतृत्वले प्रमाणित गर्न सकेको छैन । आमकार्यकर्ता, शुभचिन्तक र पार्टी सदस्यका चरम नैराश्यता र जिल्लाको वर्तमान नेतृत्वप्रतिको असन्तुष्टि चरम रूपमा छ । सातौँ जिल्ला अधिवेशन भएको एक वर्ष बितिसक्दा पनि विधानतः जिल्ला कमिटीको संख्या कति हो भनेर टुङ्गो लगाउन सकेको छैन । कतिलाई म जिल्ला कमिटीको सदस्य छु कि छैन भन्नेसमेत थाहा छैन । विधानतः एक सय ४२ हो कि अहिले भन्ने गरिएको १८३ भन्ने नै टुङ्गो लागेको छैन । तीन हजार दुई सय शुल्क बुझाएका र खाएका उनीहरूलाई पटक–पटक अपमानित गर्ने गरिएको छ । नेतृत्वका आसेपासेलाई प्रश्रय दिने काम भएको छ ।

सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेको मतदाता र समर्थक–शुभचिन्तकको ठूलो संख्या रहे पनि जिल्ला पार्टीले सही नेतृत्व दिन सकेन र अनपेक्षित रूपमा हार व्यहोनुप¥यो । वर्तमान नेतृत्वले त्यसको हालसम्म पनि वस्तुगत रूपमा गम्भीर छलफल गरेर योजना बनाउन सकेको छैन । ठूला नेताहरूको ठेलमठेलमा स्थानीय नेता–कार्यकर्ता मिचिएका छन् । काठमाडांैमा ठूलाठूला कुरा गर्ने, नेताहरूको निवास र पार्टी केन्द्र गोलचक्कर लगाइरहने र जिल्लामा एक दिन पनि बिताउन नचाहने, जिल्लामा देखिने कार्यक्रममा भने उपस्थित हुने नेतृत्वपङ्क्ति रहेसम्म यस्ता जुनसुकै अभियान सफल नहुने बताउनेको संख्या बलियो छ एमाले पार्टीभित्र ।

जिल्लाका नेताहरू आफैँ अनुशासित र परिवार, गाउँ, समाज र पार्टीमा नमुना बन्नुपर्ने र मातहतका नेता–कार्यकर्तालाई पनि अनुशासित र आदर्श व्यक्ति बन्न प्रेरित गर्न‘ बाँकी नै छ । नेकपा (एमाले)का नेता–कार्यकर्ता समाजमा रहेका असल मान्छेभन्दा पनि ज्ञान, व्यवहार र आचरणमा श्रेष्ठ नभएको गुनासो ज्यादै नै रहेको छ । यो अभियानले पार्टी र जनसङ्गठन आमजनसमुदाय तहमा पुग्नैपर्ने भएकाले पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गरिएको जनाइए तापनि नुवाकोटमा भने ‘मिसन ग्रासरुट’ होइन मिसन झ्यासझुस पो हुने हो कि भन्न आशङ्का रहेको नाम नबताउने सर्तमा एकजना जिल्ला नेताले बताए । नुवाकोट पार्टी सङ्गठनभित्र अर्को गम्भीर समस्याका रूपमा रहेको अल्छीपन, अराजक, अनुशासनहीनताको अवस्थाबाट चिन्तित हुनुपर्ने र निर्ममतापूर्वक समीक्षा गरी कदम चाल्नु आवश्यक छ । अभियानले अनुशासनसम्बन्धी तालिम दिएर कार्यकर्ता र नेता हुनुको अर्थ सिकाउनुपर्ने पनि त्यत्तिकै आवश्यक छ ।

२०७९ साल फागुन १५ गते । वर्ष:१६ अंक:२०

 

Monday, February 20, 2023

‘सर’ माग्दै सडकमा

विषयगत शिक्षकको माग सहित तीन महिनादेखि हुननसकेको पढाईको जानकारी दिन भिमसेन माविका विद्यार्थीहरूले बट्टारको मुख्य सडकमा बुधवार गरेको प्रर्दशन । तस्बिर : केदार ढकाल

केदार ढकाल

बट्टार । लामो समयदेखि विषयगत शिक्षकको अभाव झेलिरहेको विदुर नगरपालिकाको वडा नम्बर २ बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गएको हप्ता सडकमै उत्रिएर प्रदर्शन गरे । 

बिषयगत शिक्षकको माग गर्दै उनीहरूले बुधवार बट्टारको मुख्य सडकसमेत तीन घण्टा अवरुद्ध पारे । विद्यार्थीहरू हातमा कापीकिताव लिएर सडकमा बसेर नाराबाजी गर्न थालेपछि तत्कालिन अवस्थामा त जिल्लाकै ध्यान त्यही तानियो । तर मागको सम्वोधन भने हुन सकेको छैन । बुधवार (फागुन ३ गते) देखि विद्यार्थीहरू दुई दिन ‘राम्रो पढाई हुने’ आशामा विद्यालय गए । दुई दिनदेखि भइरहेको लगातार सार्वजनिक विदाका कारण विद्यार्थीहरूले आफ्नो मागका बारेमा औचारिक रुपमा के भइरहेको छ भनेर जानकारी लिन पाएका छैनन् । 

कक्षाकोठामा पढिरहनुपर्ने बेलामा विद्यार्थीहरू सडक आन्दोलन गर्न थालेपछि विदुर नगरपालिकाका मेयर, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा शाखाका अधिकृतहरू हस्याङ्फस्याङ गर्दै बट्टार पुगे । तर विद्यार्थीहरूको माग अनुसारको शिक्षक र गतिलो पढाईको आश्वासन भने पुरा हुन सकेको छैन । बुधवार विद्यार्थीहरूले गरेको प्रदर्शन र आन्दोलन पछि विद्यालय र पढाईमा राम्रो परिर्वतन आउने आशामा विद्यार्थीहरू थिए । तर आउनेहरू आए, भन्नका लागि के के भने, वडा अध्यक्ष र मेयरबीच झण्डै कुटाकुट भयो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरूले एकअर्कालाई सत्तोसराप गरे तर विद्यार्थीहरूले शिक्षक र विद्यालयमा पढ्ने वातावरण चाँही अझै पाउन सकेका छैनन् । 

विदुर नगरपालिकाको बेवास्ता र राजनीतिक खिचातानीका कारण आफ्नो विद्यलायको अवस्था दयनिय रहेको र तीन महिना भन्दा बढी समयदेखि पढाई समेत नभएको विद्यार्थीहरूले बताएका छन् । बर्षौदेखी दरबन्दी अनुसारको शिक्षक नहुनु र बिद्यालयको पढाईको अबस्था खस्किदै गएपछि एकाएक सडकमा उत्रिन आफुहरू बाध्य भएको विद्यार्थीहरूले बताएका छन् । हालको व्यवस्थापन समिति खारेजी, बिद्यालयको अनियमितता नियन्त्रणका साथै विषयगत शिक्षक उनीहरूको माग रहेको छ । 

बिद्यालयमा ३ वटा शिक्षकको पद रिक्त भएसंगै ब्यवस्थापन समितिले नगरपालिकालाई बारम्बार झकझकाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उत्सव अर्यालले बताएका छन् । नगरपालिकालाई पटकपटक जानकारी गराउँदा समेत मेयर राजन श्रेष्ठले वास्ता नगरेको उनको आरोप रहेको छ । यता नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भने विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष अर्यालको कमजोरीका कारण बिद्यालयमा शिक्षकको पदपुर्ति गर्न नसकिएको बताएका छन् । मेयर श्रेष्ठले ब्यवस्थापन समितिका अध्यक्षलाई बैठकमा बोलाउदा नआउने र विद्यालयप्रति चासो नदिएको कारण शिक्षकको पदपुर्ती गर्न नसकेको आरोप लगाएका छन् । बिद्यालय ब्यवस्थापन समितिको लडाईले गर्दानै विद्यालय यस्तो परिस्थितिमा आईपुगेको विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कायस्थले बताए । हालको ब्यवस्थापन समिति परिवर्तन गरेमात्रै स्कुलको अबस्था सुधार हुने वडा अध्यक्ष कायस्थको भनाई रहेको छ ।

विद्यालयले बिगत ४ बर्ष देखी बार्षिक प्रगती विवरण देखाउन नसकेको, शिक्षक ब्यवस्थापन गर्न नसकेको र बिद्यार्थीहरूको गुनासो बिद्यालयले सुनुवाई गर्न नसकेकोमा बिद्यालयकै कमजोरी रहेको भिमसेन माविका निमित्त प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । उनले ब्यवस्थापन समितिकै कमजोरी र बिद्यालयप्रति विदुर नगरपालिकाले वास्ता नगर्दा बिद्यालयको हालत खराब भएको बताए । 

दुर्घटनामा श्रीमान् श्रीमतीकै निधन

बिहीवार चैनपुरमा भएको बस दुर्घटना

विदुर । नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा तारकेश्वर गाउँपालिकाकाका एकै परिवारका दुई जनाको ज्यान गएको छ । ३ जनाको मृत्यु भएको उक्त बस दुर्घटनामा २३ जना घाइते भएका छन् । 

तारकेश्वर गाउँपालिका भमराका ७८ वर्षिया रामप्रसाद अर्याल र उनको श्रीमती सीतादेवी अर्यालको निधन भएको हो । उनीहरू तारकेश्वर गाउँपालिकाका नेपाली काँग्रेसका सभापति केशवराज अर्यालका बाआमा हुन् । मृत्यु हुने थप एक जनामा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली छन् ।  


विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका वडा नं. १ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका थिए । बस सडकबाट २० फिट तल खसेको थियो । 

यसै बीच, बिहीवार नै नुवाकोटमा भएको अर्को सवारी साधन दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुप्चेश्वर वडा नं. ३ र ६ को सिमानामा पर्ने दोरदोरे खोल्चामा बोलेरो जिप दुर्घटनामा परेको हो ।  

संसारकै ठुलो खुकुरी महोत्सवमा

सातौं नुवाकोट महोत्सवमा प्रर्दशनीको लागि राखिएको ६३ किलोको खुकुरी । तस्बिर : इमेज

पिपल्टार । सातौं नुवाकोट महोत्सवको आठौं दिन शुक्रवार महोत्सव प्रवेश गर्ने मुख्य गेटमा आइपुगेर एउटा ट्याक्टर रोकियो। ट्याक्टरबाट ओर्लिएका तुलबहादुर विकले जब खुकुरी बोक्न अर्को मान्छे बोलाउन थाले अनि गेटमा जम्मा भएका अन्य मानिसहरू अलमलमा पर्न थाले । १० फिट लम्बाई रहेको फलामको खुकुरी दुई जानले मुस्किलले बोकेर स्टिलसम्म पु-याएका तुलबहादुर विकलाई अहिले त्यही खुकुरीसंगै बसेर दर्शकलाई फोटो खिचाउनमै भ्याइनभ्याई छ । 

लिखु गाउँपालिका वडा नं. २ लब्धुका तुलबहादुर विकले तयार गरेको ६८ किलाको उक्त फलामको खुकुरी अहिले नुवाकोट महोत्सवको मुख्य आकर्षणमा परेको छ । महोत्सवकै लागि भनेर डेढ महिनादेखि घरमै निर्माण भइरहेको उक्त खुकुरी विकले शुक्रवार मात्रै महोत्सव स्टलमा ल्याएका हुन् । ‘अझै धेरै काम बाँकी छ, यो खुकुरीमा, तर महोत्सव आधाआधी भइसक्यो भनेर हत्तार गरेर ल्याए’ उनले इमेज साप्ताहिकसंग भने । 

अहिलेसम्म ४० किलोको मात्रै खुकुरी बनेको सुनेका विकलाई जीवनमा सबै भन्दा ठूलो खुकरी बनाउने रहर थियो । तर त्यसलाई कसरी बनाउने र कहाँ प्रदर्शन गर्ने भन्ने सोचिरहेका तुलबहादुर बिकले दुई महिना अघि सातौं नुवाकोट महोत्सव हुने जानकारी पाए । उनलाई वर्षैदेखि लागेको ठूलो खुकुरी बनाउने र दुनियाँलाई देखाउने रहर पुरा गर्नका लागि यही महोत्सवलाई प्रयोग गर्ने हुटहुटी चल्यो र ‘संसारकै ठुलो खुकुरी’ बनाउन जुटे । उनले आफ्नो परिवारका सदस्यहरूको साथ लिएर यो खुकुरी बनाएका हुन् । 

२०६३ सालबाट सुरु भएको नुवाकोट महोत्सबदेखि नै आफ्नो सिर्जनालाई स्टलमा राखेर देशदुनियाँलाई देखाउँदै आएका तुलबहादुर बिकलाई अहिले यही संसारकै ठुलो खुकुरी भनिएको ६८ किलोको फलामे खुकुरीले चर्चामा ल्याएको छ । अहिले उक्त कुखुरीको माग धेरैले गरेका छन् । महोत्सव आयोजक संस्थादेखि विभिन्न व्यक्ति र संस्थाले उक्त खुकुरी आफ्नो लागि विक्रि गर्न आग्रह गरिरहेको उनले बताए । अन्तराष्ट्रिय प्रर्दशनीका लागि समेत उक्त कुखुरीको माग आएको विकले सुनाए । खुकुरीको मुल्य यत्तिनै भनेर नतोकिएको र अझै यसमा निर्माणको काम बाँकी रहेको उनको भनाई रहेको छ । 

यो खुकुरी तयार गर्न नै ७०/८० हजार रुपैयाँ खर्च भइसकेको उनको अनुमान छ । नुवाकोट महोत्सवको २१२ नम्वरको स्टलमा लिखु–२ लब्धुका तुलबहादुर विकले तयार गरेको ‘संसारकै ठुलो खुकुरी’ राखिएको छ । 

७५ हजारले गरे महोत्सवको अवलोकन

पिपल्टार । सातौं नुवाकोट महोत्सवको हालसम्म ७५ हजार दर्शकले अबलोकन गरेका छन् । माघ २७ गतेदेखि फागुन ७ गतेसम्म १० दिनको अवधिमा उक्त संख्यामा दर्शकहरूले महोत्सव अबलोकन गरेको नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन् । महोत्सव अझै तीन दिन सञ्चालन हुने छ । महोत्सवको समापन बुधवार (फागुन १० गते) दिउँसो नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य एवं नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले गर्ने छन् ।  

बाघमारा : सुनको कचौरा

नुवाकोटको तादी गाउँपालिका वडा नंं ४ मा रहेको बाघमार

अधिवक्ता रामेश्वर भण्डारी

नुवाकोट  जिल्लाको पुर्बीभेग अन्तरगत तादी गाउँपालिका वडा नं. ४ सुन्दरादेबीमा अबस्थित बाघमारा साच्चिकै रमणिय अनि सुन्दर पर्यटन क्षेत्रको रुपमा चिरपरिचित ठाउँ हो । काठमाडौबाट टोखा छहरे मार्ग हुँदै करिव ३ घण्टा भित्रमा बाघमारामा पुक्न सकिन्छ । बाइपास ककनी हुँदै त्रिशुली निस्केर पनि पुग्न सकिन्छ त्यसै गरी काठमाडौ गल्छी त्रिशुली हुँदै पनि जान सकिन्छ । बाघमारा नुवाकोटको स्थानीय पर्यटन स्थलको रुपमा केहि बर्षदेखि चलन चल्तीको रुपमा आएको पाइन्छ । 

मुलुकको अहिलेको शासन ब्यबस्था संघीय अनि तीन तहको सरकारको अबधारणाले गर्दा आज बाघमारा जस्ता ठाउँको खोजिनीति हुने गरेको पाइन्छ ।

नुवाकोट जिल्लाको अतिनै सुन्दर ठाउँको रुपमा रहेको यो पर्यटन क्षेत्रलाई बिकास गर्ने हो भने त्यस क्षेत्रका ब्यक्तिहरू लगायत सिङ्गो नुवाकोट जिल्ला को आर्थिक सामाजिक रुपामा ठुलो टेवा पुग्ने देखिन्छ । तीन तहको सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्न‘ पर्ने देखिन्छ । सातबिसे बाघमारा सडक २०५४ साल देखि सुरु गरेको पाइएता पनि जुन उद्देश्यको लागि सडक बनाउने काम गरिएको थियो त्यस उद्देश्यलाई आज सातबिसे बाघमारा सडक खण्डले पुरा गर्ने सकेको छैन । पाँच किलोमिटर बाटोलाई करोडौं लगानी गर्दा पनि आज सडकको गुणस्तरलाई हेर्दा निकै नै कमजोर अबस्थामा सडक रहेको छ । अहिलेसम्म पनि बर्षायाममा गाडी जान गाह्रो पर्ने अबस्थामा सडक रहेको देखिन्छ ।

२०५४ सालको गाउँ बिकासमा जसरी पनि बाघमारामा बिकास गर्न‘ पर्छ भन्ने काउलेका  मानबहादुर तामाङ अनि रामेश्वर भण्डारी लगायतले नब युवा बिकास मञ्चको गठनगरि पर्यटन अनि कृषिमा जोड दिनु आबश्यता हो भनी रसुवा मुहान भएको सिचाइको ब्यबस्थापन गर्ने काम सेभद चिल्ड्रेन अन्तराष्ट्रिय गैरसरकारी संस्थाले गरेको थियो । त्यहाका किसान कृष्णप्रसाद सिटौला मानबहादुर तमाङ लगायत दर्जनभन्दा बढी किसानहरूले उच्च क्षेत्रमा अर्गानिक घिउसिमी लगाएत आलु जौउ लगायत कृषिको सुरु गरेको पाइन्छ ।

नब युवा कल्बले आफ्नो उद्देश्य अनुसार काम गर्न पाएन संस्था राजनीतिका कारण संस्थाले गति लिन सकेन । २०५७ सालसम्म सक्रिय रहेको संस्था पछि मुलुकमा भएको जनयुद्धको कारण बन्द हुन पुग्यो । अनि मानबहादुर तमाङ अझै बाघमारामा सपना देखिरहेका छन् अनि रामेश्वर भण्डारी भने काठमाडौंमा बाघमाराको सपना देखिरहेका छन् ।

साच्चिकै बाघमारा सुनको कचौरो हो हामी सुनको कचौरोलाई हातमा लिएर माग्न हिडिरहेका छौ । आज मुलुकले नयाँ मोड लिएको छ । सिंहदरवारको काम आज गाउँपालिकाले गर्न सफल भएको छ । बाघमाराको बिकासमा सबै भन्दा अगाडी गाउपालिकाले आफ्नो दायित्व पुरा गर्न‘ पर्ने हुन्छ । जुन स्थानीय सरकार उसको प्रमुख भुमिका त्यस क्षेत्रमा हुने गर्दछ । हामी सम्पुर्ण नुवाकोटबासीहरूको मात्र होइन कि यो क्षेत्रलाई बिश्वसामु पुराउनु पर्ने छ स्थानीय पर्यटन क्षेत्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बनाउनु पर्नेछ ।

हामीले बाघमाराको लागि एउटा छुट्टै बिकास समिति बनाएर सरोकारवाला बिज्ञहरूको रोडम्यापमा काम गर्ने हो भने गाउँपालिका लगायत सिङ्गो जिल्लाको बिकासमा टेवा पुर्याउने काम बाघमाराले गर्ने छ । बाघमारा बास्तबमा सुनको कचौरा हो हामी बाघमारालाई चिन्ने प्रयास गरौ अनि बुझ्ने काम गरौ ।  

८० सालको चैते दसैं ८१ सालमा

८० सालको विदा क्यालेण्डर

विदुर । नयाँ वर्षमा हिन्दुहरूका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्ष २०८० सालको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । 

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । यसरी धकेलिने क्रममा २०८० सालमा चैते दसैं नै नहुने भएको छ । २०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो । 

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ । साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् । श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ । असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरू यो वर्षको भन्दा कम्तिमा पनि १५ दिन पछाडि धकेलिएका हुन् ।

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

विदुर । फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् । विभिन्न दिवस, पर्व र शनिबारीय सहित यो फागुन महिनामा मात्रै ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन् । 

फागुन १ देखिनै यो महिनाको सार्वजनिक विदा सुरु भएको थियो । सरकारले १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । ७ गते प्रजातन्त्र दिवस मनाइएको छ । शिवरात्री शनिवार परेकोले एक दिनको विदा अझ छलिएको छ । ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको बिदा छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभएपनि अधिकांश स्थानीयतहले बिदा दिने गरेका छन् । फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ ।  

जिल्लामा प्रदेश सरकारको कार्यालय

विदुर । बागमती प्रदेश सरकारले १३ वटा जिल्लामा सेवा विस्तारका लागि कार्यालय खोल्ने गरी तयारी गरेको छ । 

सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत कार्यालय खोल्ने तयारीका लागि अध्ययन कार्यदल गठन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । समितिको संयोजकमा प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला छन् । आवश्यकताका आधारमा मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछन् ।

प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका लागि एकीकृत कार्यालय सञ्चालनको तयारी गिरिएको मन्त्री श्रेष्ठले बताए । प्रदेश सरकार मातहतको प्रशासनिक सङ्गठनहरू जिल्ला जिल्लामा नहुँदा योजनाहरू कार्यान्वयनमा जटिलता आएको र सम्बन्धित स्थानीय तहले पनि त्यस तर्फ चासो कम देखाउँदा ती योजनाहरू समयमा नै सम्पन्न हुन नसक्ने गरेको उनको भनाई छ । प्रदेश सरकारका सबै प्रशासनिक कार्यहरू हेटौँडा र काठमाडौंबाट मात्र संचालन हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको उनले बताए ।

कार्यदलले अध्ययन गरेर मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाएपछि  १३ वटै जिल्लामा  कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने छ । प्रशासनिक खर्च, सेवा प्रवाह लगायतका विषयमा अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयको मातहतमा रहने गरी कार्यालय खोल्ने सुझाव सहित प्रतिवेदन पेस गर्ने उनले बताए ।

कला/साहित्य

बेत्रावतीका कलाकार शशीकुमार डंगोलले तयार गरेको नुवाकोटको जिवित देवी कुमारीको चित्रकला । 


स्ट्रबेरी खेतीबाट वार्षिक ६ करोड

ककनीको स्ट्रबेरी खेती

कृष्ण थापा

नुवाकोट । ककनी गाउँपालिका २ तमभित्ताकी ३६ वर्षीया सूर्जेमाया तामाङको दिनचर्या स्ट्रबेरीखेतीमै बित्ने गरेको छ । उनी अहिले स्ट्रबेरी टिप्ने र घरमाथि ककनी–चाउथे ग्रामीण सडक छेउमा बसेर स्थानीय ठेकेदारहरूलाई ग्रेडिङ (सानोठूलो) छुट्याएर स्ट्रबेरी जोखेर दिने गर्छिन् । 

‘एक दिन बिराएर स्ट्रबेरी टिपिन्छ,’ उनले भनिन्, ‘टिपेको स्ट्रबेरी गाउँमै लिन आउँछन् ।’ जति बिरुवा लगाउन सक्यो उति फाइदा हुने उनी बताउँछिन् । ‘१० देखि १५ हजार बिरुवा रोप्न सक्यो भने ९/१० लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘तर ६–७ हजार बिरुवा रोपेमा ३ लाख रुपैयाँ आम्दानी बस्छ ।’ कात्तिक, मंसिर, पुस र माघ चार महिना स्ट्रबेरीले राम्रो उत्पादन दिने उनी बताउँछिन् । उनले ३ रोपनीमा ७ हजार बिरुवा लगाएकी छन् । पुरानो फलेको बिरुवा हटाएर यहाँका किसानले नयाँ बिरुवा भदौमा सार्छन् । भदौमा रोपेपछि कात्तिकबाट उक्त बिरुवाले फल दिन थाल्ने उनले बताइन् । ‘कोदो ४० रुपैयाँ प्रतिकिलो भाउ पनि आउँदैन,’ उनले भनिन्, ‘स्ट्रबेरी त साना फलकै किलोको डेढ सय आउँछ भने ठूलोको प्रतिकिलो ३–४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ मकै र कोदोभन्दा स्ट्रबेरीले फाइदा भएपछि लगाउन छाडिदिएको उनले बताइन् ।

सूर्जेमायाका २ छोरी र १ छोरा छन् । उनी एकल महिला हुन् । उनको श्रीमान्को हृदयघातका कारण मृत्यु भएको ३ वर्ष भइसकेको छ । त्यसपछि स्ट्रबेरीकै कमाइले बच्चा पढाउने खर्च धानेकी छन् । दुई छोरी ककनीको ब्राइटार स्कुलमा पढाएकी छन् । ‘सानी छोरी आयुष्मा कक्षा १ मा पढ्छे । छोरो अमृत १२ कक्षामा पढ्दै छ । ठूली छोरी अमृता ९ कक्षा पढ्दै छे,’ उनले स्ट्रबेरी टिप्दै भनिन् । उनले ३/४ सय बिरुवाबाट यो खेती थालेकी हुन् । ‘त्यतिबेला डेढ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भनिन् । यहाँका किसानले नेहारा र तोची जातका स्ट्रबेरी लगाउने गरेको उनले बताइन् । उनका छिमेकी बलराम लामा २७ वर्षका युवा हुन् । उनले १० हजार बिरुवाको स्ट्रबेरीखेती गरेका छन् । एक दिन बिराएर ४०–४५ किलो स्ट्रबेरी उत्पादन गरेर बिक्री गर्छन् । ठेकेदारले ३ सय रुपैयाँ किलोका दरले गाउँबाट लैजान्छन् । ‘धान, मकै र कोदो एकमुरी बेच्दा पनि ३/४ हजार रुपैयाँ आउँदैन,’ उनले भने, ‘यो एक क्रेट बेच्दा ३/४ हजार आउँछ । फाइदा छ ।’

वैदेशिक रोजगारीभन्दा स्वदेशकै स्ट्रबेरीले कमाइ दिएको उनी बताउँछन् । ‘विदेशमा गए पनि दुःख गर्न‘पर्छ,’ उनले भने, ‘दुःख गर्दा यहीँ पैसा छ ।’ उनले पनि एक्लै यो खेतीबाट वार्षिक ५÷६ लाख रुपैयाँ कमाउने गरेको बताए । १४ सयदेखि १९ सय मिटर उचाइमा दक्षिणपूर्वी फर्किएको पाखोमा लगाए स्ट्रबेरी खेती फस्टाउने किसानहरूको अनुभव छ । गाउँकै स्थानीय ठेकेदारले गाउँमा फलाएका स्ट्रबेरी जम्मा गर्ने गरेका छन् । जम्मा गरेका स्ट्रबेरी ग्रेड छुट्याएर छुट्टै क्रेटमा राखिन्छ । ठूलो, मझौला र सानो गरी तीनथरि बनाएर जोखेपछि स्थानीय ठेकेदारले गाडीमा राखेर बजार पु¥याउँछन् । काउले, चित्रे र तमभित्तामा बढी तामाङ समुदायले अहिले यो खेती गर्छन् । स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम नभएको स्ट्रबेरी उठाउने स्थानीय ठेकेदार मेघबहादुर तामाङले बताए ।

उनले स्ट्रबेरी बेच्न थालेको ४/५ वर्ष भयो । यहाँ ३ सय रुपैयाँमा जोखेको स्ट्रबेरी बजारमा २ सय रुपैयाँमा पनि बिक्री भइरहेको उनी बताउँछन् । ‘ज्याला बस्छ, त्यति हो,’ मेघबहादुर तामाङले भने ।’ उनी मंसिरबाट चैतसम्म बिक्री गर्छन् । स्थानीय ठेकेदार र किसानको स्ट्रबेरी खेतीलाई पकेट वा जोन क्षेत्रको रुपमा विकास गर्न‘पर्ने माग छ । उत्पादित स्ट्रबेरी काठमाडौंको न्युरोड, कालीमाटी, पोखरा, नेपालगन्ज र भारतसम्म पुग्ने गरेको छ । सरकारले उत्पादित स्ट्रबेरीलाई बजारीकरण गर्ने र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र हवाई माध्यमबाट बाहिर निकासी गर्न सके किसान र बिक्रीकर्ताले राम्रो आम्दानी लिन सक्ने ठेकेदार मेघबहादुर र किसान बलराम तामाङले बताए ।

सुजिम बजारको शाखा विस्तार

त्रिशुली बजारमा भएको उद्घाटन समारोह

त्रिशुली । सुजिम बजारले त्रिशुलीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । गएको शनिबार एक कार्यक्रमबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उक्त बजारको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारले अघि बढाएको सार्वजनिक साझेदारी अवधारणा अन्तर्गत निजीलाई सँगसँगै लिएरमात्र राष्ट्रको विकास सम्भव हुने भएकोले स्वस्थ निजी क्षेत्रलाई प्रवद्र्धन गराएर कलकारखाना, उद्योग भित्र्याउन सक्षम रहने नगरप्रमुख श्रेष्ठले बताएका छन् । सुजिम जिल्लामा मात्र सिमित नभई राष्ट्रियस्तरको ब्राण्डमा विकास हुन शुभकामना व्यक्त गरेका छन् ।

त्रिशुली बाघटार कोलनीमा मुख्य कार्यालय रहेको सुजिमले उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामाग्री किनमेल गर्ने विकासको लागि शाखा विस्तार गरिएको बजारका प्रबन्धक सुजिम श्रेष्ठले बताए । निकट भविष्यमा जिल्लाका मुख्य बजार क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य छ । स्थानीय तथा स्वदेशी उत्पादन सामाग्रीलाई प्राथमिकतामा राखेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न ब्राण्डका चार हजारभन्दा बढीका सामानहरू सुजिममा रहेको उनले जानकारी दिएका छन् ।

नुवाकोट, रसुवा र धादिङका उपभोक्ताहरूलाई व्यवसायिकमार्फत् उपभोग्य समान उपलब्ध गराउँदै आईरहेका जिल्लाकै प्रतिष्ठित व्यापारी शुक्रमान श्रेष्ठका तीन छोराहरूको नाम सुवर्ण, जीतेन्द्र र महेन्द्रको पहिलो अक्षरबाट सुजिम नाम रहन गएको सुजिम बजारका कार्यकारी निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । 

बजारको आकर्षक ठाउँमा रहेको भुइँतल्लादेखि चौथौं तल्लासम्म बालबालिका, महिला र पुरुषको लागि आवश्यक खाद्य, पिय पदार्थ, शृंगार लगायतका 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामाग्रीहरू छन् । निश्चित सामानमा १० देखि २० प्रतिशत छुटको व्यवस्था छ । सुजिममा नगदसहित फोनपे, क्युआर र क्रेडिट तथा डेबिट कार्डद्वारा बिल भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

गीताका जीवनोपयोगी ६ श्लोक

विदुर फुँयाल

श्रीमद्भागवत गीतामा सात सयवटा श्लोक छन् । र, सम्पूर्ण गरेर १८ वटा अध्याय छन् । यसमा अर्ज‘नको विषाद योगबाट सुरु भएर मोक्ष सन्यास योगसम्म समेटिएका छन् । यसमध्ये सुरुको एउटा श्लोकले भन्छ, गीता अध्ययन गर्ने र प्राणायामको अभ्यास गर्ने मान्छेको यो जन्म मात्र होइन, पूर्वजन्मको पनि पाप नष्ट हुन्छ भनिएको छ । 

यसमा विज्ञान र मनोविज्ञान दुवै छ । खासमा गीताले मान्छेलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक रुपमा स्वस्थ हुने मार्गदर्शन दिएको छ ।

श्रीमद्भागवत गीतालाई कतिले धर्मसँग जोड्ने गरेका छन्, कतिले सम्प्रदायसँग । तर यो जीवन दर्शनको एक सर्वोच्च ग्रन्थ हो । गीताले जीवन र जगतलाई बोध गराएर सही र सन्तुलित जीवन बाँच्नका लागि बाटो देखाइदिन्छ । गीताको रचना नै रणभूमिबाट भएको छ । कुरुक्षेत्र मैदानमा अर्जुन र कृष्णजीबीच भएको संवादबाट गीताको रचना भएको भनिन्छ । अतः यसको सुरुवात हुन्छ, अर्जुन विषाद युगबाट ।

यहाँ रणभूमिलाई आजको संसारको रुपमा चित्रण गर्न सकिन्छ । अनि अर्जुनमा जुन किसिमको विषाद देखिएको छ त्यसलाई आजको हाम्रो विचलित मनको प्रनिनिधि मनोदशा मान्न सकिन्छ । यो संसार नै एउटा कुरुक्षेत्र हो । 

यहाँ आएपछि माया, मोह, घृणा, इष्र्या सबैकुराले हामीलाई पिरोलेको छ । हाम्रो खुसी र आनन्द दुर्लभ भएको छ । सबै मान्छे समस्या नै समस्याको घेराबन्दीमा छन् । त्यही कारण एउटा सुन्दर चोला लिएर जन्मिएका मान्छे आफैंलाई सिध्याउने मनोदशामा पुगिरहेका छन् । यिनै कुरामाथि श्रीकृष्णले दिएको सारभूत जवाफ नै श्रीमद्भागवत गीताको गुदी हो । अध्ययनले देखाएको छ, अहिले प्रत्येक ४० सेकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एक जनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एक जनाले आत्महत्या गर्छ । 

नेपालमा दिनमा औसत १३ देखि १४ जनाले आत्महत्या गर्छ । विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो समस्या आत्महत्याजनित हुनेछ । मान्छेहरू चाँडै डिप्रेसनमा जानेछन् । 

कसरी थाहा पाउने ग्यास सिलिन्डरको म्याद ?

ग्यास सिलिण्डरमा भएको म्याद

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा लागेको आगोले हाम्रो भान्छा कति सुरक्षित छ भन्ने प्रश्न फेरि टड्कारो रूपमा उठेको छ । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो ।

म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्न‘ जोखिमपूर्ण हुन्छ । तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन । उपभोक्ताले ग्यास बिक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर भान्छामा प्रयोग गरिरहेका छन् र खतरा निम्त्याइरहेका छन् । 

तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्न‘भयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ । उक्त मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन् । म्याद गुज्रिएको सिलिन्डर फेला प¥यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । दस वर्षपछि उक्त सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ । सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरिने मालीले बताए । ‘सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ । परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ । त्यसपछि ५ वर्षमा अर्को हाड्रोलिक परीक्षण गरिन्छ,’ उनले भने, ’ पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डरलाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ ।’

यसरी पटकपटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गरिने माली बताउँछन् । ‘हाइड्रोलिक परीक्षण गर्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलामका रूपमा बेचिन्छ,’ उनले भने । हाइड्रोलिक परीक्षण सबै ग्यास उद्योगमा हुँदै आएकाले म्याद गुज्रिएका र जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजार पठाइने सम्भावना कम रहेको अध्यक्ष मालीले दाबी गरे । उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन् । सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ । म्याद अंग्रेजीमा लेख्ने गरिन्छ । 

उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ । उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ ।

‘एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ,’ मालीले भने, ’ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ । त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बरसम्म भन्ने बुझ्नुपर्छ ।

अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ । यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ । त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ । आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो । यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ । 

  ग्यास लिक भए बिजुलीको स्विच नछुनुस्

ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको छ । 

जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईका अनुसार धेरै मानिसलाई ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन । भट्टराईले भने ‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन ।’

कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ । स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरले झैं काम गर्छ । 

‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसै गरी स्विच अन÷अफ गर्दा पनि स्पार्क निस्किन्छ,’ भट्टराईले भने, ‘त्यसपछि आगो लागिहाल्छ । कोठामा भएको मान्छे ढलिहाल्छ ।’ ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन् । 

‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नुहुन्न । बरू कोठाका झ्याल–ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ’ भट्टराईले भने ।

डान्सिङ स्टार र दोहोरी च्याम्पियन

डान्सिङ स्टार र दोहोरी च्याम्पियन

प्रभा ढुङ्गाना

ककनी । नुवाकोटको ककनीमा डान्सिङ स्टार र दोहोरी च्याम्पियन प्रतियोगिता भएको छ । राष्ट्रिय संगितकर्मी संघ नुवाकोटको आयोजना र राष्ट्रिय संगितकर्मी संघ ककनी गाउँपालिकाको सह आयोजनामा राखिएको डान्सिङ स्टार र दोहोरी च्याम्पियन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ककनी गाँउपालिकाका अध्यक्ष सुमन तामाङले सांस्कृतिक प्रतियोगिताहरूले आफ्नो संस्कृति जगेर्ना, कला प्रस्फुटन, लुकेका प्रतिभाहरूको उजागर हुने बताए । कला, संस्कृति, रितिरिवाजको जगेर्नाका आफ्नो सधै साथ र सहयोग रहिरहने अध्यक्ष तामाङले बताए । कार्यक्रममा बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया लामाले गाँउठाँउमा गुम्सिएर बसेका कलाकर्मीहरूलाई अगाडी बडाउनको लागी जिल्लामा रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्न र गराउनका लागि गरिएको कार्यक्रमको प्रशंसा गरे । ककनी गाँउपालिकाका वडा अध्यक्षहरू, सदस्यहरू, समाजसेवी, राष्ट्रिय संगितकर्मी संघका विभिन्न पालिका अध्यक्षहरू, स्थानियहरू लगायतको उपस्थिति थियो ।

प्रतियोगिताको दोहोरी च्याम्पियनमा १२ जना कलाकाकारहरूले दोहोरी च्याम्पियन र १९ जनाले नृत्यमा सहभागिता जनाए । दुवै प्रतियोगितामा प्रथम हुने कलाकारलाई २५/२५ हजार रुपैयाँ नगद, दोश्रो स्थान हासिल गर्नेलाई नगद १५/१५ हजार रुपैयाँ र तेश्रो स्थान हासिल गर्ने कलाकारलाई नगद १०/१० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । 

दोहोरीतर्फ चर्चित गायक प्रकाश कटुवालको संयोजकमा अमृत खाती र सैलाफ वाइबाको निर्णयले सबिन तामाङ र रिता गुरुङले प्रथम स्थान हासिल गरे । दोश्रो स्थानमा दिल श्रेष्ठ, सबिना तामाङ र तेश्रो स्थान अम्बिका ढुंगाना र जगत बोगटीले हासिल गरे । त्यस्तै सान्त्वना स्थान उत्तम लामिछाने र सरिता तामाङले पाएका थिए । 

नृत्यतर्फ शुक्र लामाको निर्णायक सम्योजकमा बिजय लामा र दीक्षा घिमिरेको निर्णयले विशाल तामाङ पहिलो, अनिशा तामाङ दोश्रो सुरेन तामाङ तेश्रो र सबिन लामा सान्त्वना स्थानमा  बिजयी भएका छन् ।

अर्चना स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, केन्द्रीय महासचिव अमृत खाती, संघका बागमती प्रदेश अध्यक्ष रामहरि भण्डारी, संघका जिल्ला सल्लाहकार शैलाप वाईबा, जिल्ला सल्लाहकार विकी लो लामा र गायक समीर लामालगायतको उपस्थिति थियो । 

एमालेको सुदृढीकरण अभियान

विदुर । नुवाकोटमा नेकपा एमालेको संगठन सुदृढीकरणका लागि पाँच जना केन्द्रीय सदस्यलाई एमालले जिम्मेवारी दिएको छ । जिम्मेवारी पाउनेमा शर्मिला कार्की, माधव अर्याल, भारती पाठक, हरिकृष्ण व्यञ्जनकार र गीता कार्की छन् । 

शर्मिला कार्कीलाई बेलकोटगढी नगरपालिका र तारेकश्वर गाउँपालिकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भारती पाठकलाई विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । त्यस्तै माधव अर्याललाई दुप्चेश्वर गाउँपालिका, सूर्यगढी  गाउँपालिका र तादी गाउँपालिकाको जिम्मेवारी दिइएको छ । हरिकृष्ण व्यञ्जनकार लाई ककनी र लिखु गाउँपालिकामा तोकिएको छ । गीता कार्कीलाई पञ्चकन्या र शिवपुरी गाउँपालिकाको जिम्मेवारी छ ।

एमालेको दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू भएको छ । पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन एमालेले २ महिने अभियान थाल्नेको हो । 

इन्जिनियरिङ पढ्नेलाई गाउँपालिकाले दियो अनुदान

छात्रबृत्तिको रकम गाउँपालिकाको तर्फबाट हस्तान्तरण हुँदै । 

रानीपौवा । ककनी गाँउपालिकाले इन्जिनियरिङ अध्ययनका लागी छात्रबृत्ति प्रदान गरेको । गाँउपालिकाका अध्यक्ष सुमन तामाङले यसअघि आफ्नो पालिका भित्रका बिद्यालयबाट एसईई उतिर्णपछि डाक्टर र ईन्जिनियर अध्ययन गर्ने बिद्यार्थीलाई छात्रबृत्ति दिने घोषणा गरेका थिए । 

घोषणा अनुरुप ककनी गाउँपालिकाले वडा नम्बर २ का अमृत बलामीलाई इन्जिनियर पढ्नका निम्ति छात्रवृत्ति बापत रकम प्रदान गरेको छ । बलामीलाई इन्जिनियर पढ्नका निम्ति छात्रवृत्ति बापत दुई लाख पचास हजार रुपैयाँको चेक गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङले हस्तान्तरण गरे । 

बलामी हाल कोसमोस कलेज ललितपुरमा अध्ययनरत छन् । गाउँपालिकाले दिएको छात्रवृत्तिको सहि सदुपयोग गरी भविष्यमा आफ्नै गाउँपालिकाकै लागि कहि गरेर देखाउने ईच्छा रहेको बलामीको भनाई रहेको छ ।

विद्यालय भवन हस्तान्तरण

नवनिर्मित विद्यालय भवन

देविघाट । विदुर नगरपालिका वडा नं. ५ देवीघाटमा रहेको शहिद जगतप्रकासजंग शाह संस्कृत माविका लागि निर्मित तीनवटा भवन गएको हप्ता हस्तान्तरण भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटका प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दातृ संस्थाको तर्फबाट विद्यालयलाई भवन हस्तान्तरण गरेका हुन् । भूकम्पबाट क्षतिग्रस्त सो विद्यालयमा पठनपाठन तथा दैनिक कार्य सहजताका लागि १० करोड १५ लाख रुपैयाँको लागतमा तीनवटा २४ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । कक्षा १० सम्म पठनपाठन हुँदै आइरहेको सो विद्यालयमा हाल २८ जना आवासीयसहित ५५० जना विद्यार्थी अध्ययनरत छन् । 

७० अंक ल्याए लाइसेन्स पाइने

विदुर । बागमती प्रदेशमा गएको मंगलबारबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो । फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते बिदा परेकोले २ गते आजबाट लागू गर्ने भएको हो । 

प्रदेशमा पटक पटक रोकिँदै आएको लाइसेन्स लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू हुने प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि सवारी चालक अनुमति पत्र लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो । 

यसअघि सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि तत्कालीन मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका लागू गर्न निर्देशन दिएको हो । सो प्रणाली अन्य प्रदेशहरूमासमेत लागू भइसकेको छ । 

ग्रेडिङ सिस्टममा अंकभार

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल भने फेल भइँदैन । 

यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । 

यसैगरी साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक सङ्केतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (¥याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ । 

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्ति रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन । 

दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रेलाई -याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ । 

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ ।