Monday, July 24, 2023

बञ्चरेडाँडा किन आन्दोलित ?

आन्दोलनमा स्थानीय र जनप्रतिनिधिहरु

ओखरपौवा । काठमाडौं उपत्यकाको फोहोरको समस्या फेरि बल्झिएको छ । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन गएको सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरूलाई बाटोमै रोकेका छन् । स्थानीयहरूले यो पटकको आन्दोलनलाई ‘निर्णायक’ भनेका छन् र यसपटक आफ्ना सारेकारका मुद्दाहरू ‘वार कि पार’ लगाउने बताएका छन् । नुवाकोटको ककनी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि गाउँ परिषद्बाट प्रतिगाडी १५ सय रुपैयाँसम्म लिने गरी निर्णय गरेपछि फोहोर बिर्सजनमा समस्या पर्ने यसअघि नै देखिसकेको थियो । तर, ककनीको निर्णय संविधान र कानुन विपरीत हुने भन्दै विरोध भएपछि स्थानीयहरूले गएको सोमबारदेखि नै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
    ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाइँ फोहोर फाल्ने स्थान र मानव बस्तीहरू छुट्याउनुपर्ने माग गरेर आन्दोलन थालिएको बताउँछन् । काठमाडौं उपत्यकाबाट ल्याएर फोहोर विसर्जन गरिरहने तर विगतमा भएको सहमतिअनुसार काम नगर्ने सरकारी प्रवृत्तिको विरोधमा आन्दोलनमा आउनुपरेको उनले बताए । ‘वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर यहाँको बस्तीलाई फोहोरबाट छुट्याउनुपर्छ भन्ने माग थियो, सहमति पनि भएको थियो,’ उनले भने, ‘कार्यान्वयन नभएपछि समस्या भएको हो ।’
    २३ जेठ २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित स्थानीय तहरूबीच १० बुँदे सहमति भएको थियो । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया थाल्ने सहमति भएको थियो । तर, काम सुरु पनि भएको छैन ।
सहमति गर्ने, कार्यान्वयन नगर्ने
२६ जेठ, २०७९ मा महानगरपालिकाले पनि ल्यान्डफिल लाइट क्षेत्रको वैज्ञानिक अध्ययन गरेर प्रभावित क्षेत्र छुट्याउने र अध्ययन प्रतिवेदनका आधारमा तोकिएको काम गर्ने सहमति गरेको थियो ।
यसका लागि संघीय सकरार अन्तरगतको शहरी विकास मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता महानगरले जनाएको थियो । तर, एक वर्षसम्म अध्ययन नै नसकिएपछि स्थानीय तहका जनप्रतिनिधिकै अगुवाइमा बञ्चरेडाँडा र सिसडोल क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । स्थानीयहरू ‘कि हामीलाई मारी दे, कि बस्ती सारी दे’ भन्ने लगायतका नारा लगाउँदै आन्दोलित छन् ।
    ‘पहिलोजस्तो प्रतिबद्धता मात्रै जनाएर अब फोहोर विसर्जनको अवरोध हट्दैन,’ आन्दोलनका नेतृत्व गरेका वडाध्यक्ष बजगाइँ भन्छन्, ‘यो वार कि पारको आन्दोलन हो, यसपटक ठोस निर्णय नभएसम्म पछि हट्दैनौं ।’ काठमाडौं महानगरका एक अधिकारीका अनुसार स्थानीयको माग पूरा गर्ने हो भने तुरुन्तै ३०० देखि ५०० रोपनीसम्म जग्गा अधिग्रहणको निर्णय गर्न‘पर्छ । ल्यान्डफिलसाइट क्षेत्र नजिकका बस्तीहरूलाई हटाउन महानगरपालिकाले ठूलो रकम खर्च गर्न नसक्ने भन्दै उनले संघीय सरकारले नै यसमा लगानी गर्न‘पर्ने ती अधिकारीको भनाइ छ । ‘जग्गा अधिग्रहणको काम सहज हैन,’ उनले भने, ‘तर, स्थानीयहरूले आफूलाई सकस भएको भनेपछि सरकारले त्यसमा गम्भीर भएर सोच्नुपर्ने अवस्था भने आइसकेको छ ।’
    बञ्चरेडाँडामा आन्दोलन सुरु हुनु यति मात्रै कारण भने छैन । काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका फोहोर पठाउने स्थानीय तहरूले अझै आफ्नो प्रतिबद्धताअनुरुप स्रोतकै फोहोर वर्गीकरण गरेर  बञ्चरेडाँडामा पु-याउने काम गरिरहेका छैनन् । महानगरसहित पहिले सिसडोलको डम्पिङसाइटमा जसरी नै कुहिने, नकुहहिने र अधिक हानिकारक फोहोर बञ्चरेडाँडा पु-याएर माटोले पुर्ने काम भइरहेको छ । शहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर, फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ ।
    सबैभन्दा धेरै फोहोर उत्सर्जन गर्ने काठमाडौं महानगरले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना निकालेको थियो । मेयर बालेन्द्र शाह आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक ¥याली र कार्यक्रममा सहभागी भएका थिए । आइतबार र बुधबार नकुहिने र सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका समेत बताएको थियो । साथै कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई ५०० रुपैयाँ जरिवाना गर्ने महानगरको चेतावनी थियो । ९ असारको सूचनामा भनिएको थियो, ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।’ तर, यो अझै लागु भएको छैन । यसका कारण शहरी विकास मन्त्रालयले करिब १ अर्ब लागतमा बनाएको बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु नै घट्ने अवस्था देखिसकेको छ ।
    अझ फोहोर फालेपछि बञ्चरेडाँडामा बनाएर भरिएको लिच्चड पोखरी, फिल्टर पुलको व्यवस्थापन समेत राम्रोसँग भएको छैन । यसले गर्दा लिच्चड पोखरी भरिएर स्थानीय खोल्सामा बगिरहेको छ । यसले स्थानीयहरूलाई त्यहाँ बस्न झन समस्या भएको छ । स्थानीय श्रीराम ढुंगाना सरकारले उचित व्यवस्थापन नगर्दा स्थानीय क्षेत्रमा बस्न/बाँच्नै सकस भइरहेको बताउँछन् । ‘यहाँ खान लाग्दा झिंगा नै मुखभित्र पर्छ,’ उनी भन्छन्, ‘दुर्गन्ध उत्तिकै छ, स्थानीयहरू दर्दनाक जिन्दगी बाँचीरहेका छन्, ल्यान्डफिललाइट प्रभावत क्षत्रेका बासिन्दालाई उचित मुआब्जा दिएर छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था गर्न‘पर्छ ।’ प्राविधिक रुपमा अध्ययन भएर तयार भएको प्रतिवेदनलाई छिटो छलफलमा ल्याएर स्थानीयहरूलाई फोहोरको साम्राज्यबाट हटाइहाल्नुपर्ने उनको माग छ ।
    महानगरले फोहोर प्रशोधनका लागि बनाउने ‘फ्याक्ट्री’ रहने ठाउँसहित सबै प्राविधिक विषयहरूको टुंगो लगाएर जनतालाई दुर्गन्ध र रोगबाट मुक्ति दिनपर्ने ढुंगनाको भनाइ छ । महानगरले कुहिने फोहोरका लागि ५ ठाउँमा एक–एक रोपनी जग्गामा प्रशोधन केन्द्र र एक ठाउँमा २ सय रोपनीको मल उत्पादन केन्द्र बनाउने योजना बनाएको छ । नकुहिने फोहोरको लागि २ ठाउँमा २०–२० रोपनी जग्गामा प्रशोधन केन्द्र खोल्ने योजना छ । तर, त्यस्ता केन्द्रहरू कहाँ बनाउने र बञ्चरेडाँडाको कति प्रभावित क्षेत्र थप उपयोग गर्ने भन्ने तय भएको छैन ।
के भन्छ संघीय सरकार ?
शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको निर्देशनअनुसार बञ्चरेडाँडामा वैज्ञानिक फोहोर व्यवस्थापन र स्थानीयको माग सम्बोधन हुने गरी कार्ययोजनाको मस्यौदा तयार भइसकेको बताउँछन् । ‘फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहहरूकै हो, हामीले बनाएको कार्यायोजनाबारे उपत्यकाका सबै स्थानीय तहहरूसँग छलफल गर्न चाहेपनि उहाँहरूले नगर परिषद्को बैठक लगायत कारण देखाएर समय दिनु भएको छैन,’ सचिव श्रेष्ठले भने, ‘स्थानीय तहहरू सँग सहमति लिएर कार्ययोजनाको उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाउँछौं ।’
    उनले भने अनुसार मस्यौदामा नै उक्त जग्गा अधिग्रहणसहित फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका योजनाहरू राखिएका छन् । स्थानीय तहरूले सहमति दिएपछि संघीय सरकारकातर्फबाट गर्न‘पर्ने काम मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर अघि बढ्ने उनको भनाइ छ । ‘हामीले सबै गृहकार्य सकाएका छौं, मेयरसाहाबहरूले समय दिएर कार्ययोजनाबारे छलफल गरेपछि सबै विषयहरूमा एउटा निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने,‘हामी जतिसक्दो छिटो स्थानीय तहरूसँग बैठक बसेर कार्ययोजनाको टुंगो लगाउँछौं ।’

सिसडोलको नियति भोग्दै बन्चरेडाँडा

गोविन्द पोखरेल
बन्चरेडाँडा, नुवाकोट । खपीनसक्नु दुर्गन्ध छ । झिँगा भन्किएका छन् । फोहोरको थुप्रोभन्दा निकै परसम्म पनि धेरैबेर उभिन गाह्रो पर्ने वातावरण छ । ‘तपाईंलाई यहाँ एकछिन फोटो खिच्न त यस्तो गाह्रो भयो । हामी एक वर्षदेखि यो ठाउँमा कसरी बसेका छौं थाहा पाउनुभयो नि ?,’ मंगलबार दिउँसो बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुग्दा संवाददातासँग धादिङको धुनीबेंसी–१ का ज्ञान लामाले आक्रोशमिश्रित भावमा भने ।
    बन्चरेडाँडा ल्यान्डफिल साइटमा जथाभावी फालिएको फोहोर (माथि) र कुहिने फोहोरबाट निस्कने लिचेट जम्मा हुने पोखरी । कुहिने फोहोर छुट्याउन कडाइ नगर्दा पोखरी भरिएर लिचेट कोल्पु खोलामा पुगेको छ । यो ठाउँ नुवाकोट र धादिङको सिमाना हो, जहाँ सिसडोलवासीले खेपेको फोहोरको ज्यादती दोहोरिने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आएर प्रतिबद्धता गरेका थिए । त्यसको एक वर्ष बितिसकेको छ । तर, उनले भनेजस्तो अवस्था परिवर्तन नभई समस्या विस्तारै बढ्दै छ । ५० वर्षसम्मका लागि उपत्यकाको फोहोर विसर्जन गर्न मिल्ने भनेर चर्चा भएको बन्चरेडाँडा एक वर्ष नपुग्दै आधा भरिएको छ । सिसडोलवासीले जस्तै बन्चरेडाँडा आसपासका सिउँडिनी, उप्रेती टोल, दोभान, काफलचौर, नयाँबस्तीका बासिन्दा झिँगा धपाउँदै हैरान छन्। फोहोर यत्रतत्र त छँदै छ, त्यसको लिचेट खोलामा मिसिँदा वातावरण झन् दूषित भएको छ ।
    संविधानले सबै नागरिकका लागि गरेको स्वस्थ वातावरणमा बस्न पाउने हकको ग्यारेन्टी धुनीबेंसी–१ र नुवाकोटको ककनी–३ का बासिन्दालाई सपना लाग्छ । सिसडोलको पुरानो विसर्जनस्थल हुँदै करिब ३ किलोमिटर ओरालो र उकालो हुँदै पुगिन्छ बन्चरेडाँडा । उपत्यका र आसपासका २१ पालिकाको फोहोर यहाँ फालिन्छ । कुडुले बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार दैनिक १८० देखि २ सयवटा टिपरले फोहोर विसर्जन गर्दछ ।
करिब १५ सय टन फोहोर यहाँ दैनिक रूपमा विसर्जन हुँदै आएको छ । फोहोर व्यवस्थापनका लागि अपनाउनुपर्ने प्रक्रिया पूरा नगरेपछि स्थानीयवासी रुष्ट मात्र छैनन्, गत सोमबारदेखि आन्दोलित छन् ।
    सामान्यतः पुनर्प्रयोग हुने छुट्याएर काम नै नलाग्ने फोहोर मात्रै ल्यान्डफिल साइटमा पु¥याइन्छ । तर, बन्चरेडाँडामा पनि सिसडोलकै तरिका अपनाएर फोहोर जथाभावी विसर्जन हुन थालेको छ ।
    फोहोरलाई २५ सेन्टिमिटरसम्म कम्प्याक्सन (थिच्ने) र त्यसमाथि १५ सेन्टिमिटर माटो हालेर क्यापिङ (छोप्ने) गर्ने भनिए पनि पालना नहुँदा दुर्गन्ध फैलिएको छ । ‘दुर्गन्धको पहिलो पीडित नै हामी हौं । कि मानिस बस्नुप¥यो कि फोहोर बस्नुप¥यो,’ लामाले भने, ‘पहिला फोहोरलाई क्यापिङ गर्ने भनिएको थियो भएन, सबै उल्टो भएको छ ।’
ल्यान्डफिल कि डम्पिङ साइट ?
सामान्यतः ल्यान्डफिल साइटमा काम नै नलाग्ने फोहोरलाई मात्रै पु¥याइन्छ । तर यहाँ सबै किसिमका फोहोरलाई एकै ठाउँमा हालेर खन्याउने गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक रोबर्ट डंगोलका अनुसार ल्यान्डफिल साइटमा कुहिने फोहोर पूर्ण रूपमा निषेध हुनुपर्छ ।
    ‘सेनेटरी ल्यान्डफिल भन्नेबित्तिकै त्यहाँ लैजाने केही गर्न नसकिने फोहोर हो,’ उनले भने,‘काठमाडौंको हकमा कुहिने फोहोरलाई ल्यान्डफिल साइटमा लगेर थुपारिन्छ । यो गलत हो ।’ कुहिने फोहोरबाट निस्कने लिचेट धेरै नै हानिकारक हुने उनी बताउँछन् ।
    स्रोतबाट संकलित फोहोरलाई ट्रान्सफर स्टेसनमा लगेर छुट्याउनुपर्छ । छुट्याएपछि काम नै नलाग्ने फोहोरलाई मात्रै सेनेटरी ल्यान्डफिल साइटमा पु¥याइन्छ । तर, यो प्रक्रिया अवलम्बन नगरी फोहोर सोझै बन्चरेडाँडा लगेर फाल्दा समस्या देखा पर्न थालेका हुन् । बन्चरेडाँडामा डम्पिङ साइटमा जसरी नै सबै किसिमका फोहोरलाई एकै ठाउँमा राख्दा दुर्गन्ध धेरै नै फैलिएको छ । प्याक गरिएको कुहिने फोहोर अक्सिजनको अनुपस्थितिमा कुहिँदा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न हुन्छ । जसका कारण धेरै दुर्गन्ध फैलने गर्छ ।
    प्रभावित क्षेत्रका बासिन्दा नवराज ढुंगानाले दुर्गन्धका कारण बस्न निकै गाह्रो भएको बताए । ‘कि यो सदाका लागि बन्द गर्न प-यो कि राम्रोसँग व्यवस्थापन गर्नु प-यो,’ उनले भने,‘यहाँ काठमाडौंका मेयरको घर थियो भने पनि धेरै पटक आन्दोलन गर्थे ।’ पटक–पटक गरिएका सहमति कार्यान्वयन नहुँदा विरोधमा उत्रिनुपरेको उनले बताए ।
    वातावरणीय अध्ययन गर्ने भनेर गत वर्ष सहमति गरिए पनि हालसम्म काम अगाडि बढेको छैन । बन्चरेडाँडामा राखिएका ग्यासका पाइपहरू पनि फोहोरले पुरिएका छन् ।
डिजाइन एक, विसर्जन अर्कै
बन्चरेडाँडा ल्यान्डफिल साइटको डिजाइन कुहिने फोहोर लैजाने किसिमको छैन । ‘फोहोर वर्गीकरण गरेर काम नलाग्नेमात्रै ल्यान्डफिलमा लैजानुपर्ने हो, तर त्यसो गरिएको छैन,’ फोहोर व्यवस्थापन विज्ञ ढुण्डीराज पाठकले भनेर । सहरी विकास मन्त्रालयले सेनेटरी ल्यान्डफिलकै अवधारणामा बन्चरेडाँडा डिजाइन गरेको हो । जसमा सबै किसिमका फोहोरको पुनः प्रयोग, वर्गीकरण गरेपछि मात्रै खसाल्ने किसिमको बनाइएको छ ।
    ‘यहाँ अस्पतालजन्य र औद्योगिक फोहोरलाई पनि सँगै राखिएको छ । यी फोहोर म्युनिसिपल सोलिड वेस्टमा पर्दैनन्,’ उनले भने । उनका अनुसार अस्पतालबाट निस्कने फोहोरको ३० प्रतिशत हानिकारक छन्, ती फोहोरलाई एकै ठाउँमा राख्दा संक्रमण फैलन्छ । ल्यान्डफिल साइटमा फोहोरलाई पु¥याउनुअघि वर्गीकरण गरेर मल र पुनः प्रयोगलगायत आयआर्जनको स्रोतमा लिइन्छ । ‘संकलन हुने फोहोरलाई प्रशोधन गरेपछि २५ प्रतिशतलाई मात्रै ल्यान्डफिल साइटमा लैजान सकिन्छ भन्ने हो तर यहाँ कार्यान्वयन नै भएन,’ विज्ञ पाठकले भने, ‘फाल्नैपर्ने फोहोरलाई मात्रै ल्यान्डफिलमा फाल्ने हो, यसमा निर्माणजन्य उद्योगका सामग्री पनि हुन्छन् ।’ ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्दा थोरै स्थानमा धेरै फोहोर राख्नुपर्ने हुन्छ । तर बन्चरेडाँडामा धेरै क्षेत्रफलमा फोहोरलाई छरपस्ट रूपमा फिँजाएर कम्प्याक्ट गर्दा अर्को समस्या थपिएको उनले बताए ।
    बन्चरेडाँडाको वातावरण अध्ययन प्रतिवेदन सन् २००९ मा नै पास गरिएको थियो । तर ईआईएमा औंल्याइएका समस्या समाधानका लागि गर्न‘पर्ने काम नगरिएको सहरी विकास मन्त्रालयका इन्जिनियर रवीन्द्र बोहरा बताउँछन् । ल्यान्डफिल साइटको व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको छ । ‘हामीले महानगरपालिकालाई हस्तान्तरण गर्दा ५० सेन्टिमिटरको लेयरमा फोहोरलाई कम्प्याक्सन (थिच्ने) र त्यसमाथि १५ सेन्टिमिटरको माटोको क्यापिङ (माटो हालेर फोहोर छोप्ने) भनेर दिएका थियौं तर महानगरले काम नै गरेन,’ बोहरा भन्छन् । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापनको कामलाई गम्भीरतापूर्वक नलिँदा स्थानीयवासीलाई सास्ती भएको गुनासो आएको उनले बताए । ‘माटोले क्यापिङ गर्नु भनेका थियौं, गरेनन् । ल्यान्डफिल साइट व्यवस्थापन गर्नका लागि छुट्टै निर्देशिका नै जारी गरेका छौं,’ बोहराले भने, ‘१४ वर्षअगाडिको ईआईएले अवलम्बन गर्नु भनेका काम भएका छैनन् ।’ लिचेट व्यवस्थापनको विषयमा भने उनले कानुनी अस्पष्टताका कारण हस्तान्तरण गर्न नसकिएको बताए । लिचेट पोखरी व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयसँगै छ । कामपाले फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइटमा अवलम्बन गर्नुपर्ने काम नगर्दा लिचेट  धेरै भएको मन्त्रालयको आरोप छ ।
लिचेट कोल्पु खोलामा
सबै किसिमका फोहोर एकै ठाउँमा ल्याएर थुपार्दा बन्चरेडाँडा ल्यान्डफिल साइट अव्यवस्थित देखिएको छ । त्योभन्दा बढी बिजोग कोल्पु खोलामा देखिएको छ । काठमाडौं उपत्यकाका र आसपासका स्थानीय तह गरेर करिब ५० लाख मानिसका कारण उत्पन्न हुने फोहोर र त्यसबाट निस्कने लिचेट कोल्पु खोलामा मिसाइएको छ । लिचेट पोखरी भरिएपछि उक्त दूषित पानीलाई सिधै खोलामा मिसाइएको हो ।
    ६३ वर्षीय आस्थाबहादुर लामाले भने, ‘खोला फोहोर भएर पस्नै नसकिने भयो ।’ लिचेटमा धेरै किसिमका गाह्रौं धातु पनि मिसिन्छन् । साइट डिजाइन गरेकोभन्दा बढी मात्रामा लिचेट निस्कँदा भूमिगत जलसतहमा पुग्ने जोखिम बढेको छ । लिचेटमा अनुसन्धान गरेका सहप्राध्यापक डंगोलले भने, ‘डिजाइन गरेको भन्दा पनि बढी लिचेट आयो भने त्यसले अवस्था भयावह हुन्छ । अझ अस्पतालको फोहोर पनि एकै ठाउँमा मिसिन्छ भने रोगको खतरा बढ्छ ।’ कामपाका इन्जिनियर सरकारदीप श्रेष्ठले बन्चरेडाँडामा तह लगाइने फोहोरमध्ये दैनिक आधाजसो काठमाडौंको हुने बताए । ‘दैनिक १५ सय टन जति हुन्छ त्यसको आधा जति काठमाडौं महानगरको हुन्छ,’ उनले भने ।
    बन्चरेडाँडा ल्यान्डफिल साइटको क्षेत्रफल १ हजार ७९२ रोपनी भनिए पनि जमिनको सिमाना प्रस्ट छैन । यस्तै, सिसडोल र आलेटार गरेर ४३२ रोपनी जग्गा सहरी विकास मन्त्रालयको नाममा छ । तर कुन कुन क्षेत्र पर्छन् भन्नेबारे तारघेरा छैन । सरकारले बन्चरेडाँडाका लागि भनेर निजी ७ सय रोपनी जग्गा खरिदसमेत गरेको छ ।
    एक अर्बभन्दा बढी लगानी खर्चिएको ल्यान्डफिल साइट गत वर्ष निर्माण सम्पन्न नहुँदै सहरी विकास मन्त्रालयले व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । झिँगा नियन्त्रणका लागि औषधि एवं कीटनाशकहरू छर्ने र स्थानीयवासीलाई वितरण गर्ने काम भइरहेको श्रेष्ठले बताएर । ‘झिँगा नियन्त्रणका लागि स्प्रे दिएका छौं । विषादीको मात्रा बढाएका छौं,’ उनले भने । स्थानीयका लागि कामपाले प्रतिपरिवार ३५ सय रुपैयाँको दरले वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिएको उनले बताए । ‘काठमाडौं महानगरपालिकाले प्रभावित क्षेत्रमा वार्षिक १० देखि १२ करोड रुपैयाँ खर्च गरिरहेको छ,’ इन्जिनियर श्रेष्ठले भने ।
२१ पालिकाको विसर्जनस्थल
बन्चरेडाँडा ल्यान्डफिल साइटमा अहिले काठमाडौं उपत्यकाका १७ वटा स्थानीय तह, काभ्रेका मन्डनदेउपुर र बनेपाको फोहोर विसर्जन हुँदै आएको छ । धादिङको धुनीबेंसी र नुवाकोटको ककनी गाउँपालिकाले पनि यहीँ फोहोर तह लगाउँछन् । दैनिक १८० देखि २ सय टिपर फोहोर विसर्जन हुने गरेको महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । हरेक टिपरले ७ टनसम्म फोहोर बोक्ने गरेका छन् । विसर्जन हुने फोहोरमध्ये ९० प्रतिशत निजी क्षेत्रले उठाउँदै आएको फोहोरमैला व्यवसायी संघका महासचिव मित्रप्रसाद घिमिरेले बताए । १० प्रतिशतमात्रै फोहोर स्थानीय तह आफैंले व्यवस्थापन गर्दै आएका छन्् ।
    काठमाडौं महानगर क्षेत्रबाट दैनिक ७ टन फोहोर निस्कन्छ, जसमा ६ सय टन निजी क्षेत्रले उठाउने गरेको छ । संकलित फोहोरमध्ये निजी क्षेत्रले औसतमा १० प्रतिशत घटाएर ल्यान्डफिल साइट लैजाने गरेको छ । जग्गा अभावका कारण फोहोर प्रशोधन व्यवस्थापन हुन नसकेको उनले बताए । फोहोर सोझै मिल्काउन लैजानुअघि वर्गीकरण गर्नु हितकर हुन्छ । वर्गीकरण गर्दा पुनः प्रयोगका वस्तु निस्कन्छन्, जसबाट दरिलो आम्दानी गर्न सकिन्छ । उपत्यकाका पालिकामध्ये काठमाडौं र ललितपुर महानगरपालिकाले मात्रै ट्रान्सफर स्टेसन बनाएका छन् । जहाँबाट जाने फोहोरमा पुनः प्रयोगमा आउने वस्तु छुट्याइएका हुन्छन् । अरू धेरैजसोले वर्गीकरण नगरी फोहोर सिधै बन्चरेडाँडामा पु-याउँछन् ।

महानगरले दियो एक प्रतिशत कोटा

ककनी । काठमाडौं महानगरमार्फत आगामी शैक्षिक सत्रमा ११ कक्षामा करिब पाँच हजार विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् । यसमध्ये १ प्रतिशत (करिब ५० जना) सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका समुदायिक विद्यालयका लागि उपलब्ध गराउन भएको छ । महानगरभित्र रहेका निजी विद्यालयहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिअन्तर्गत करिब पाँच हजार विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गर्न लागेको हो ।  छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि महानगरले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको छ । सरकारले ०६७ देखि नै निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेको थियो । तर, उनीहरूले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए । छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएको भन्दै महानगरले यसपटक सबै निजी स्कुललाई कक्षा ११ को १० प्रतिशत कोटा खाली राखेर विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो ।
    महानगरका अनुसार महानगरभित्रका निजी स्कुलहरूमा कक्षा ११ मा झन्डै ५० हजार विद्यार्थी भर्ना हुन्छन् । त्यसमध्ये १० प्रतिशत अर्थात् पाँच हजारलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । यसमध्ये पनि ८५ प्रतिशत अर्थात् चार हजार दुई सयभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुनेछन् ।
कसलाई कति कोटा ?
छात्रवृत्ति कार्यक्रमका लागि महानगरले कोटा वर्गीकरण गरेको छ । जसमध्ये खुला ४० प्रतिशत, आरक्षण कोटा ४५ प्रतिशत, महानगरभित्रका स्थायी बसोवासी ९ प्रतिशत, १ प्रतिशत बन्चरेडाँडा र सिसडोलका सामुदायिक विद्यालयबाट आएका विद्यार्थी र ५ प्रतिशत निजी विद्यालयका उत्कृष्ट तथा जेहेनदार विद्यार्थीलाई प्रदान गरिनेछ । आरक्षण कोटा ४५ प्रतिशतभित्र ३३ प्रतिशत छात्रा र १२ प्रतिशत मधेसी रहनेछन् ।

फोहोरको गाडीबाट शुल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
    ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर आउने सानो गाडीसँग प्रतिखेप १००० र ठूलासंग प्रति गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।
    गएको सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यसरी शुल्क लिनु संविधानको धारा २२८ (२) धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ विपरीत देखिएको प्रारम्भिक निश्कर्ष निकालेको हो । ‘ककनी गाउँपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहोरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जाने समेत देखिएको हुँदा सुविधा सन्तुलनको दष्टिले प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म’ गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।
    ककनी गाउँपालिकाको उक्त निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वोच्चमा रिट दिएको थियो ।

भारतको भैँसी, अमेरिकाको घाँस

भारतबाट मुर्रा भैसी ल्याई व्यवसायिक रुपमा दुध व्यवसाय गर्दै आएको तिगाउँका कँडेल आफ्नो फर्ममा 

प्रकाश सिलवाल

तिगाउँ । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्न‘पर्ने हुन्छ ।’ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्व पायो ।
    यो विषय नेपालको संघीय संसदमासमेत चर्चा पायो । हाँसोमजाकको विषय पनि बन्योे तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी थियो ।
    कडेँल कृषि फार्ममा रहेका मुर्रा जातका भैँसीहरू । एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ ।
    नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्न‘पर्छ । सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवा लगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ । सो फर्मले प्रति भैँसी दुई लाखदेखि १० लाख रुपैयाँसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ ।
    ‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ ।’ फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो । यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ । यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन ।’ कडेँल हस्तकला व्यवसायमा सफल व्यक्ति हुन् । उनले उक्त व्यवसयामा आफूसँगै काम सिकाएर सय बढीलाई करोडपति बनाएका छन् ।
    उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौँ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्न‘भएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरे । आयात–निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बसे । त्यसपछि उनी नेपालमै केही गर्न‘पर्छ, युवापुस्तालाई पनि प्रेरणा दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्के । सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गरेका छन् । उनले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिएका छन् । कृषि र पशुपालनसहित विषादिरहित खानको अभियानमा जोडिएका महत्वपूर्ण व्यावसायिक सम्मान (सिआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाएका छन् ।
    कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन् । एक गिरी गाई पनि छ । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए । यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फर्ममा हालसम्म करिब  डेढ करोड रुपैयाँको लगानी भइसकेको छ ।
    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताएका छन् ।

नुवाकोट र रसुवामा करोडको क्षति

विदुर । लम्पी स्किन संक्रमणले गाईगोरु मर्ने क्रम बढिरहँदा गोठ रित्तो हुने डरले नुवाकोट र रसुवाका किसान यतिबेला चिन्तित छन् । लम्पी स्किनका कारण दुई जिल्लामा एक करोड रुपैयाँभन्दा बढी क्षति भएको बताइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोट–रसुवाका प्रमुख तथा पशु विज्ञ भरत पाण्डेका अनुसार गाई गोरु मरेर एक महिनामै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
    ‘२० क्यान दुध बेच्ने गरेका किसानहरूले अहिले १० क्यान दुध मात्रै बेचिरहेका छन् । गाईगोरु धमाधम मरिरहेका छन् । किसानलाई महिनामै एक करोडभन्दा बढी क्षति भएको छ,’ पाण्डेले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोट–रसुवा कार्यालयका अनुसार नुवाकोटमा ४ सय ११ वटा र रसुवामा ३२ वटा गाई र गोरु मरिसकेका छन् । एक साता अघि मात्रै शिवपुरी गाउँपालिका ८ थापागाउँका बैकुण्ठ आचार्यले पालेका ६ वटा गाई मरे । आचार्य भन्छन्, ’सुरुका दिनमा गाईले घाँसपानी खान छाड्यो । ज्वरो आयो । औषधि ल्याएर खुवाएँ । तर बिस्तारै घाँसपानी खानै छाडेर गाई मरे । बँचेका गाईलाई औषधि खुवाएर उपचार गरिरहेको छु ।’
    लम्पी स्किनले आफ्नो मात्रै १५ लाख जतिको क्षति भएको बताउँछन् आचार्य । संक्रमण फैलनुअघि दैनिक १५० लिटर दुध बेच्ने गरेका आचार्य अहिले ७० लिटर दुध मात्रै बिक्री गर्न थालेका छन् । यस्तै विदुर नगरपालिका १० माझगाउँका रघुनाथ प्याकुरेलका हलगोरु हालै मरे । खेत रोपाइँका लागि तयार पारिएका गोरु मरेपछि ४ हजार जति क्षति भएको बताउँछन् प्याकुरेल । सोही वडाका नारायण खतिवडाको जोत्ने बेला भएको बाच्छो मरेपछि उनले पनि छिमेकीको गोरु मागेर रोपाइँ जसोतसो सकाए ।
    किर्ना, भुसुना, डाँठ र लामखुट्टेको टोकाइबाट लम्पी स्किन सर्ने गरेको पशु चिकित्सकको भनाइ छ । यो रोग पशुचौपायामा लागेपछि छालाभित्र गाँठागुँठी आउने, ज्वरो आउने, दुध उत्पादन घट्ने, चिप्रा लाग्ने, खान मन नगर्ने त्यसपछि मर्ने गरेका छन् । लम्पी स्किनले धमाधम पशु मरिरहँदा रोग नियन्त्रणको लागि सरकारले खोप उपलब्ध गराइदिनुपर्ने किसनहरूको माग छ । उपलब्ध खोप पनि सर्वसुलभ नहुँदा किसानहरू थप चिन्तामा परेका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार संक्रमित पशुलाई सिटामोल, मोलफेन पी–१६००, रेस्कोबल, टिबल, चर्मिल मल्हम लगायतका औषधि जतिसको चाँडो उपलब्ध गराउनुपर्ने देखिएको छ । नुवाकोटमा मात्रै १ लाख र रसुवा ३० हजार पशुचौपाया रहेको तथ्याङ्क छ ।

के के हुन् सरकारले निःशुल्क दिने औषधिहरु ?

निःशुल्क पाइने औषधिहरु

रसुवागढी नाकाबाट २९ अर्बको आयात

 रसुवागढी नाका

ज्ञानेन्द्र न्यौपाने

रसुवा । नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई एक अर्ब ४३ करोड दुई लाख रुपैयाँ बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।
    चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
    तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा २९ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिएका छन् । यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्यांकनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख रुपैयाँ राजस्व असुली भएको छ ।
    सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताए । व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ । कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।
    नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्यांकन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख रुपैयाँ बराबरको हुन आउँछ । वर्षायामको बाढीपहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ । यद्यपी भन्सार विभागले तोकेको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व संकलन भएको छ ।  नौ अर्ब ३८ करोड रुपैयाँको लक्ष्य राखिएकोमा गत आवमा आठ अर्ब २४ करोड ८३ लाख रुपैयाँ मात्र असुली भएको छ । यो लक्ष्यको प्रतिशत ८८ मात्र हो । चीनबाट आयात भएका जुत्तालगायतका माल सामग्री लोड भएका दुई सयभन्दा बढी ट्रक कन्टेनरको सामग्री व्यापारीद्वारा गत वर्ष जाँच पास गराउन बाँकी राख्दा राजस्व असुली कमी भएको छ ।
    गत वर्ष २०७९/८० को राजस्व असुली भने छ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा केही कमी हुँदै गएको छ । तत्कालीन कार्यालय प्रमुख रामप्रसाद रेग्मी कार्यरत रहँदा आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब २७ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने आव २०७७/७८ मा तीन अर्ब ५४ करोड २७ लाख रुपैयाँ राजस्व मात्र असुली भएको जनाइएको छ । भन्सार कार्यालयले गत आवमा व्यापारीबाट २९ करोड रुपैयाँ जरिवाना असुलिएको छ ।
    व्यापारीले आयात गरेका माल सामग्री जाँच पास गर्नु पूर्व गरिएको घोषणा परिमाणको विवरणमा तथ्य फरक पर्ने र लेखिएका र कन्टेनरमा भेटिएका परिमाणमा फेरबदल पार्ने गरेका कारण जाँचकीको प्रतिवेदन एवं नियमको प्रवधान अनुरूप जरिवानाको राजस्व असुल उपर गरिएको भन्सार कार्यालयले जनायो ।
भन्सार हातामा रोजगारीको अवसर
चीनबाट आयात भएका माल सामग्री जाँच परीक्षणका क्रममा लोड अनलोडका काममा ६१० जना मजदुरले काम पाइरहेको भन्सार अधिकारीले जनाएका छन् ।
    सवारी साधनतर्फ रसुवागढी नाकामा छ सय ट्रक कन्टेनरका चालक तथा छ सय सहचालक संलग्न रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनीको ट्रक एकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । तातोपानी नाकामा कार्य गर्ने चालक तथा सहचालक रसुवागढी केन्द्रित भएको बताइएको छ ।
    चीनको उत्पादक कम्पनीदेखि केरूङ तथा रसुवागढीसम्म नेपाली व्यापारी व्यवसायीले माग गरेको माल सामग्री ढुवानी गरिरहेको र नेपालीको हितमा आफूले निरन्तर रूपमा सहयोग गरी रहने चिनियाँ ढुवानी सेवा मुसा टान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले बताएका छन् । भन्सार तथा सीमा सुरक्षाका लागि टिमुरेमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरिरहेका छन् ।

नुवाकोट काँग्रेस ‘अगुवा’को चियापान

चियापानमा सहभागी काँग्रेसका नेता तथा कार्यकर्ता

काठमाडौं । नेपाली काँग्रेस नुवाकोटका प्रमुख नेताहरूको अनुपस्थितिमा नुवाकोट काँग्रेसका अगुवाहरूले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
    गत हप्ता काठमाडौंको दियालो फुडल्याण्डमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका काँग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण कुईँकेलको सक्रियतामा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति धु्रब अधिकारी, पूर्व सचिव सुरेन्द्रराज अधिकारी, पूर्व कोषाध्यक्ष महेन्द्र थिङ., भरत खड्का, काँग्रेसका पूराना नेता बाबुकाजी पाठक, रामप्रसाद अधिकारी, विषम रिमाल, चोकराज शाक्य, रामकृष्ण थापा कांग्रेस जिल्ला सहसचिव यादव नेपाल, पूर्व महासमिति सदस्य पदमराज पौडेल, महाधिवेशन प्रतिनिधि दिपक लामा, जयराम दाहाल, तादी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस तादीका सभापति नारायणप्रसाद पाण्डे, कांग्रेस क्षेत्र नं. २ का सचिव नमराज पाण्डे लगायतका अन्य नेता कार्यकर्ताको उपथिति रहेको थियो ।
    कार्यक्रममा पूर्व सभापति अधिकारीले मुलुकमा स्वर्गीय बीपी कोइरालाले देखाएको बिचार र शिद्धान्तको अझै सान्र्दभिकता रहेको भन्दै नेपाली काँग्रेसले बिर्सदै गएको गुनासो गरे । कार्यक्रममा सहभागिहरूले नेपाली काँग्रेसका नेताहरू सत्ता स्वार्थमा केन्द्रीय हुँदै गएको र त्याग र बलीदानी गरेका नेता कार्यकर्तालाई बिर्सन थालेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । नेता अधिकारीले औपचारिक कार्यक्रम पर्खेर बस्नु भन्दा यस्ता अनौपचारिक कार्यक्रम गरेर पनि पार्टीलाई अघि बढाउन सहयोग गर्न सकिने भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए ।
    कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई स्वागत गर्दै काँंग्रेस नेता कृष्ण कुइँकेलले वीपी कोइरालाको स्मृतिमा पार्टीका साथीभाइहरूसँग भेटघाटका लागि कार्यक्रम राखिएको जानकारी दिएका थिए । नेपाली काँग्रेसका पुराना नेता देखि युवा नेताहरूको उपस्थिति रहेको कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गरेका नेपाली काँग्रेसका वरिष्ठ नेताहरूको भने सहभागिता थिएन ।
    आयोजकले नेताहरूलाई भन्दा पार्टीका सक्रिय नेता कार्यकर्ताहरूसँग पार्टीको अवस्था र भावी रणनीतिका बारेमा अन्र्तक्रियाका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा अन्र्तक्रिया भनिएपनि केहीले मात्रै बोलेका थिए । कार्यक्रममा सभाागिहरू मध्ये अधिकांशले पार्टीलाई गुट उपगुटबाट मुक्त गराउन आवश्यक भएकोमा जोड दिएका थिए

भारतले दियो स्कुल बस

त्रिशुली स्कुलका अध्यक्ष र सहायक प्रअ बसको चाँन्सो बुझ्दै ।

विदुर  । भारतीय राजदूतावासले आज नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुलबस हस्तान्तरण गरेका हुन् ।
    राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखि यसरी सहयोग गर्दै आउने परम्परा रहेको बताए ।
    उपहारस्वरूप नुवाकोटको विदुर नपा–१ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई एक स्कूल बस, किस्पाङ गाउँपालिका–४ साल्मे स्वास्थ्य चौकी र म्यागङ गाउँपालिका वडा नं. ३ देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एम्बुलेन्स प्राप्त भएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । त्यसयता भारतले अहिलेसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

सुर्यगढीको आफ्नै एम्बुलेन्स

 सुर्यगढीको आफ्नै एम्बुलेन्स

चोकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट जनतालाई सेवा दिने भएको छ । गाउँपालिकाले ठेक्का प्रक्रियाबाट एम्बुलेन्स खरिद गरि सेवा दिन थालेको हो ।
    नेपाल सरकारबाट राजश्व छुट भएको सो एम्बुलेन्सको सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले तामाङले जानकारी दिएका छन् । गएको आईतवार गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले एम्बुलेन्स प्राप्त भएसँगै पालिकाले आवश्यक मापदण्ड पुरा गरेर सेवा सञ्चालन गरिएको जानकारी दिए । नागरिकलाई सेवा दिन एम्बुलेन्स खरिद गरी ल्याएको अध्यक्ष घलेले बताए । उनले गाउँपालिका भित्रका नागरिक बिरामी हुँदा नियमित सेवा दिने समेत जानकारी दिए । ‘जनतालाई दुःख थियो । कोही बिरामी भए सदरमुकाम विदुरबाट एम्बुलेन्स झिकाउनुपथ्र्यो’, उनले भने, ‘अब गाउँपालिकामै एम्बुलेन्स सुविधा उपलब्ध हुनेछ ।’ यसअघि गाउँपालिकामा एम्बुलेन्स नहुँदा अध्यक्ष घलेले अघिल्लो कार्यकालमा आफ्नो गाडीलाई विरामी बोक्ने तथा आफु स्कुटर हिड्थ्ये । सुर्यगढी गाउँपालिकामा एम्बुलेन्स आइपुगेको भन्दै स्थानीयहरूले समेत खुशी व्यक्त गरेका छन् ।

निरबहादुर कारबाहीमा, मन्त्रालयले छानविन गर्दै

विदुर । कार्यालय समयमै कार्यकक्षमा बसेर रक्सी खाने नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा सचिव निरबहादुर राना लगायतका वडाका कर्मचारीहरू माथि कारबाही हुने भएको छ ।
    कार्यकक्षमै रक्सी खाएको भिडियो र समाचार बाहिरिएपछि दैनिकीसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढीसकेको जानकारी दिए । उनले छानविन गरेर दोषी देखिए विभागीय कारबाही समेत हुने बताए ।
    गएको आइतबार आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन भएको भन्दै वडा सचिव रानासहितले कार्यकक्षमै जाँडसहितको भोज गरेका हुन् । उनले कार्यकक्षमै भोज गरेपछि वडा कार्यालयको जाँडको भट्टी भएको भन्दै नागरिकहरूले सामाजिक सञ्जाल मार्फत चर्को आक्रोश व्यक्त गरेका छन् ।
    कार्यकक्षमा रक्सी खानेमा रानासहित कार्यालय सहयोगी श्रीधर श्रेष्ठ र अन्य कर्मचारी पनि रहेको थियो । वेथिति भैरहेको गुनासो आइरहने लिखु वडा नम्बर ६ मा यस्तो देखिएपछि सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेका छन् ।

साल्मे स्वास्थ्य चौकीलाई एम्बुलेन्स

विदुर । भारतीय दुतावासले नुवाकोटको साल्मे स्वास्थ्य चौकीका लागि एक थान एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुतावास मार्फत किस्पाङ–४ साल्मे स्वास्थ्य चौकीको लागि एक थान एम्बुलेन्स प्राप्त भएको हो ।
    दुतावासले प्रदान गरेको एम्बुलेन्ससँगै उक्त क्षेत्रका बासिन्दाहरूलाई राहत पग्ुने किस्पाङ्ग गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बिनोद तामाङले बताए । संघीय संसद माननीय एवं नेपाली कांग्रेसका नेता अर्ज‘ननरसिंह केसीको पहलमा एम्बुलेन्स प्राप्त भएको वडा अध्यक्ष तामाङले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा उल्लेख गरेका छन् ।

माथिल्लो मैलुङको आइपिओ जारी

विदुर । माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ ।
    कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ बिक्री गर्ने लागेको छ ।
    जसमध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वा नं. १ मा वस्ने बासिन्दालाई ५ लाख ७१ हजार ४३० कित्ता, आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २,३,४ र ५ मा बस्ने बासिन्दा र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नंं. ५ मा बस्ने बासिन्दाहरूलाई २ लाख ८५ हजार ७२० कित्ता शेयर छुट्ट्याइएको छ ।
    त्यसै गरी रसुवा जिल्लाको अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूलाई १ लाख ४२ हजार ८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर निष्काशन भएको छ । सर्वसाधारणका लागि छुट्याइएको १५ लाख कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि निष्काशन गर्नेछ ।
    यस आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
    स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटलको कार्यालय, सानिमा बैंक विदुर र किस्पाङ शाखा, नुवाकोट, एनएमबि बैंक धुन्चे रसुवा शाखाबाट आवेदन दिन सक्नेछन् ।
    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत शेयर खरिद आवेदन दिन सक्नेछन् । स्थानीयका लागि जारी आईपीओको निष्काशन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन भदौ १ गते बैंकिङ समयपछि हुनेछ ।
    तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन् ।

नुवाकोटमा प्रेसर हर्न निषेध

विदुर । नुवाकोटलाई ध्वनिप्रदूषणमुक्त बनाउन प्रेसर हर्न निषेध अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको छ ।
    दैनिक सवारीसाधन चेकजाँच गरेर ट्राफिकले ट्रक, बस, टिपरमा जडान भएका प्रेसर हर्न झिक्ने र पुनः नराख्न सम्झाई–बुझाई छाड्ने गरेको छ ।
    ट्राफिकले जिल्लाको विभिन्न स्थानमा सवारीसाधन चेकजाँच नियमित गरेर सिटबेल्ट नभएकालाई सिटबेल्ट राख्न लगाउने, सवारीसाधनमा खुइलिएको नम्बर प्लेट परिवर्तन गरी नयाँ राख्न लगाउने, प्रेसर हर्न झिक्न लगाउने, बिलबुक र सवारी लाइसेन्सको नवीकरण गरे–नगरेको जाँच गर्ने गरेको छ । सरकारले तोकेको भाडादर र आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा समेत ट्राफिक प्रहरी सक्रिय रहेको छ । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने गरेको सर्वसाधारणको गुनासोलाई मध्यनजर गरेर दैनिक फरक–फरक स्थानमा छड्के चेकजाँचलाई समेत निरन्तरता दिइरहेको छ ।
    सुरक्षित सवारी अभियानलाई सफल पार्न सरोकारवाला निकायसँग सहयोग र सल्लाह लिएर अगाडि बढिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजीव तिवारीले बताए ।
    सवारीसाधन चेकजाँचको क्रममा अनावश्यक टाँस गरिएका स्टिकर, झालरसमेत हटाउन थालेको छ । सवारीसाधनलाई कारबाही गरेर राजस्व उठाउनेभन्दा पनि सचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गरिएको ट्राफिक प्रमुख तिवारीले बताए । सरोकारवाला निकायसँग सहयोग र समन्वय गरेर सचेतनामूलक बोर्ड राख्ने तयारीमा ट्राफिक कार्यालय रहेको छ ।

प्रविधिमैत्री ‘त्रिशुली स्कूल’

 प्रविधिमैत्री ‘त्रिशुली स्कूल’

सुनील श्रेष्ठ

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बाहिरबाट हेर्दा भवन जति आकर्षक र व्यवस्थित लाग्छ, भित्र कक्षाकोठा र विद्यालयको वातावरण पनि उत्ति नै शिक्षणमैत्री छर । प्रविधिमैत्री पठनपाठन र नियमित जसो हुने अतिरिक्त क्रियाकलापले थप ज्ञान आर्जन गर्न सहज रहेको विद्यार्थी र अभिभावको रोजाइमा छर । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुली राममन्दिर नजिक र समिप भई बग्ने त्रिशुली नदीले विद्यालयको सुन्दरतालाई अझै बढाएको छ ।
    पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन प्रविधिको प्रयोग हुन थालेको छ । २०५७ एसएलसी व्याचको पूर्वविद्यार्थी म– सुनिल श्रेष्ठ । विद्यालयको ६५ औं वार्षिकोत्सव समारोहमा आफ्नो व्यवसायीक सेवालाई आफु अध्ययन गरेको विद्यालयलाई अनलाईमाफत् संसारभर जोड्नको लागि निःशुल्क रुपमा विद्यालयको आधिकारिक वेबसाइट खडा गर्ने प्रतिबद्धता गरेअनुसार २०७२ चैत २६ गते देखि विद्यालयको कार्यक्रम, गतिविधि तथा जानकारीमुलक सूचना र परिक्षाको नतिजा प्रकाशनलाई समेत प्रविधिको प्रयोग गरी अघि बढाइयो । विद्यालयका प्रधानाध्यापक महेन्द्र राउत र सहप्रधानाध्यापक राजेन्द्र दवाडीसँगको आधिकारिक सहमतिमा मेरो संस्था त्रिशुली वेब सर्भिसबाट निःशुल्क रुपमा अधिकारिक वेबसाइट खडा गरिएको थियो । वेबसाईट निर्माण भएको मितिदेखि विद्यालयको सूचना तथा जानकारीलाई उक्त कम्पनीबाट निःशुल्क रुपमै अध्यावधिक गरिंदै आइरहेको छु । समयको विकाससँगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले यस विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा आफु जोडिन पाउँदा भाग्यमानी ठानेको छु ।
    विद्यालयमा २०७० सालमै एडीएसएल जोडिए तापनि पूर्ण उपयोगमा भने आएको थिएन । सरकारले २०७२ भदौदेखि देशभरका एक सय सामुदायिक विद्यालयहरूमा भी–स्याट प्रविधिका माध्यमबाट कक्षालाई अध्यापन गराउने कार्यक्रम अनुसार यस विद्यालमा पनि दुरशिक्षाको सुरुवात भएको थियो । जस अन्तर्गत कक्षा दशका अंग्रेजी, गणित र विज्ञानको साथै अन्य सबै विषयको अध्यापन गराईएको थियो । यसै कार्यक्रमबाटै विद्यालयले प्रविधी सिकाई युगमा प्रवेश गरेको थियो । सानोठिमीको स्टुडियोबाट सिधै प्रसारण र अध्यापन हुने गथ्र्यो । तर यो कार्यक्रम फलदायिक हुन सकेन । अन्ततः करिब दुई वर्षमै त्यस कार्यक्रम बन्द भयो । अहिल सामाजिक सञ्जाल युट्युबमा रेकर्ड भएको अध्ययन सामाग्रीहरू राखिने गरिएको छ । विद्यार्थीको अनुकुल समयमा ती सामाग्रीहरू हेर्ने गर्दछ ।
    विद्यालयमा ६३ थान कम्युटरसहित कम्युटर ल्याब स्थापना भइ अहिले कम्प्युटर कक्षा सञ्चालन हुदै आईरहेको छ । विद्यालयमा आवश्यकताको सूचनामार्फत् नै स्थानीय जनशक्तिहरू परिचालनमा रहेका छन् । विद्यालय परिसर र सबै कक्षाकोठाको सुरक्षा निगरानीको साथै मूल्याङ्कनको लागि ८० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । शिक्षक र विद्यार्थी नियमित र समयमानै कक्षाकोठामा प्रवेश गरे नगरेको नियमनमा समेत सिसिटिभी क्यामेराको सहयोग पुगेको छ । शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुगेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गर नगरकोे शैक्षिक सुधारका धेरै सूचक पूरा भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले जानकारी दिनुभयो ।
    समयको पावन्दीलाई हेरेर विद्यालयमा अध्यनरत विद्यार्थीहरूको लागि सूचना प्रवाह गर्न आव २०७६ मै डिजिटल नोटिसको उपकरण जडान गरिएको थियो । जसले गर्दा कक्षाकोठामा सूचना लिएर हरेक पटक पढेर सुनाउने सूचना तथा जानकारीको प्रक्रियाको अन्त्य गरेको छ । सम्बन्धित सूचना सम्बन्धित कक्षालाई मात्र पनि दिन मिल्ने प्रविधिको सुविधा रहेको छ । विद्यालयमा ५३ जना शिक्षक कार्यरत छन् । सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिम समयसमयमा सञ्चालन गरेर १३ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।
    अन्य शिक्षकलाई पनि आवश्यक स्रोत जुटाउने कार्य प्रक्रिया अघि बढेका छ । विद्यालयले परीक्षाको लागि प्रश्नावली बनाउने, उत्तरपुस्तिकाको चेकजाँचको अंक मिलान, शैक्षिक सहयोगी सामाग्रीहरू संकलन लागयतका कार्यहरू डिजिटल माध्यामबाट शिक्षक स्वयंले गर्ने गरेको छ । जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरको साथै शिक्षकको प्रविधी क्षमता र अध्यापनको आधारको उचाई बढेको छ ।
    किताबी अध्यापनको साथै अतिरिक्त अध्यापनको लागि ई–पुस्तकालय पनि छ । पुस्तकालयमा १० कम्प्युटर जडान गरिएको छ । विद्यार्थीले समय हेरेर ईन्टरनेटमार्फत् अध्ययन तथा खोज गर्ने गरेका छन् । पुस्तकालयमा ईन्टरनेट सेवाप्रदायकको सहयोग र विद्यालयको आन्तरिक व्यवस्थापनमा सामाजिक सञ्जालका वेबसाईटहरू बन्द गरिएको छ । आव २०७४/०७५ देखि विद्यालयको लेखा प्रणाली, मासिक बिल, तलब, भत्ता लगायतका सम्पूर्ण कारोबारहरूलाई एकाउन्टेन्ट सफ्टवेयरमा राख्ने गरिएको थियो । तर नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा विभागको शिक्षा र मानव संसाधन विकास केन्द्रले तयार एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग हुदैं आईरहेको छ । देशभरका सामुदायिक र निजी विद्यालयमा अध्यनरत विद्यार्थीहरूको सम्पूर्ण जानकारी पाउन सकिन्छ । विद्यालयमा भौतिक निर्माण पूर्वाधार, फर्निचर तथा फर्निसिग सामाग्री, स्टेशनरी, मेशिनरी सामान, शैक्षिक समाग्री, खेलकुद सामाग्री, विज्ञापन लगायत विविध सामग्री खरिद विक्री गर्न चाहने संस्थाहरूको गत आर्थिक वर्षमा करचुक्ता भए नभएको समेत त्यस लेखा प्रणालीद्वारा प्रविष्टि हेर्न सकिने छ । एस.एम.एस.मार्फत् विद्यालयको सुचनालाई विद्यार्थी र अभिभावकको मोबाईलमा पु-याउने कार्य भईरहेको छ । जसले गर्दा ईन्टरनेट नहुनेको हकमा भने लाभदायी देखिएको छ ।
    विज्ञान र प्रविधिको प्रयोग गरेर शिक्षण क्रियाकलाप सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ  । विद्यालयमा माध्यामित तहको व्यवस्थापन, शिक्षा संकायको साथै इन्जिनियरिङ, विज्ञानको पढाइ पनि हुन्छ । मल्टिमिडियामार्फत् अध्ययन–अध्यापन र सिकाइका कारण विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।
    महिनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरूलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन सेनेटरी प्याड र प्रविधियुक्त भेन्डिङ पनि जडान गरेको छ । विदुर नगरपालिकाले विद्यालयलाई प्याड उपलब्ध गराउने गरेको छ । प्याड झिक्नको लागि विद्यालयले नै सिक्काको व्यवस्था गरेको छ । विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्रा पनि खुसी छन् ।
    विद्यालयमा स्मार्ट बोर्डको पनि जडान गरिएको छ । आधुनिक बोर्डले स्वास्थ्य बद्र्धकको साथै प्रविधीमैत्री पठनपाठनलाई सहज गरेको छ ।
    विद्यालय प्रविधिमैत्री शिक्षामा अघि बढेको छ । विद्यालय सुधार, प्रविधिमैत्री विद्यालय निर्माणको लागि शिक्षकको क्षमता वृद्धिका लागि पछिल्लो समय कार्यक्रमलाई निरन्तता दिदैं आईरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न तथा आकर्षण बढाउनका लागि शैक्षिक कार्यक्रम बढाउन आवश्यक छ ।

२०८० साल साउन ८ गतेको सम्पादकीय

सिसडोल, बञ्चरेडाँडा : समाधान उन्मुख नभएको एउटा समस्या
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानमा चुनौती थपिएको छ । सिसडोल र बञ्चरेडाडाँका स्थानीयसँगको पटक पटकको विवादका कारण फोहोर व्यवस्थापनमा समस्या देखिएको हो । स्थानीय बासिन्दाको अवरोधका बीच प्रहरी परिचालन गर्दै फोहोर फालिएको घटनाहरू अघिल्लो हप्ताको मात्रै होइन, वर्षौदेखि पटक पटक देख्न पाइएको छ । तर यो दिगो समाधान नभएको भन्दै फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न आवश्यक छ । फोहोर व्यवस्थापन गर्ने पहिलो चुनावी एजेन्डा बोकेर निर्वाचित भएका बालेन साहलाई यतिबेला सर्वसाधारणले फोहोर व्यवस्थापनका लागि दबाब दिन थालेका छन् । काठमाडौंका मेयर बालेन साहले अब फोहोर उठ्ने र समस्या नहुने बताएका छन् । लामो समयसम्म फोहोर नउठ्दा सडक तथा सार्वजनिकस्थलमा रहेको फोहोरले वातावरणीय प्रदूषण बढाउनुका साथै सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्न सक्छ । काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा पारेको असरबारे अध्ययन गर्न विज्ञहरूको टोली सिसडोल पुगेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ ई. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली सिसडोल गएको थियो । तर, त्यपछिका कामहरू भने भएगरेको पाइएको छैन ।  सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाँडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई राखेर गएको सोमबार राति सहमति गरेपछि धेरैलाई लागेको थियो, मंगलबार बिहानबाट काठमाडौंको फोहोर उठ्न थाल्नेछ । यो सोचेजस्तो सहज थिएन । सम्झौतामा एउटा महत्वपूर्ण कुरा छुटेको थियो र त्यही चूकका कारण मन्त्रालयको बन्दकोठामा भएको सम्झौता एक बिहान पनि टिकेन। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहवरमा भएको सम्झौता बञ्चरेडाँडाको खुला फिल्डमा स्वीकार्य भएन । सरकारले काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि सिसडोल र बञ्चरेका बासिन्दालाई विश्वासमा लिनु जरूरी थियो । मुख्य सरोकारवाला भनेको प्रभावित क्षेत्रका स्थानीयहरू संलग्न संघर्ष समिति हो जसले १७ वर्षदेखि निरन्तर यो मुद्दा उठाउँदै संघर्ष गरिरहेको छ । यही संघर्ष समितिसँग विगतका कयौं सरकारले कयौंचोटि वार्ता ग¥यो, स्थानीय सरोकारका माग पूरा गर्ने बाचा र सम्झौता ग¥यो । तर कुनै पनि बाचा पूरा गरेन। कुनै पनि सम्झौता पालना भएन । उनीहरू बारम्बार आन्दोलनमा ओर्लिए । आफ्ना माग पूरा नहुन्जेल फोहोर फ्याँक्न दिन्नौं भने । त्यसैले सरकारले वार्ता गर्नुपर्ने, माग सुन्नुपर्ने र विश्वास जितेर सम्झौता गर्नुपर्ने संघर्ष समितिसँग नै हो। जनप्रतिनिधिहरू भनेका यो मुद्दामा साक्षी किनारा मात्र हुन् । सरकारले भने ठिक उल्टो काम ग¥यो । भुक्तभोगी स्थानीयहरूको समूहलाई किनारा लगाएर भर्खरै आएका जनप्रतिनिधिलाई मात्र राखी बैठक र सम्झौता ग¥यो । काठमाडौंबाट निस्कने फोहोर जुन ठाउँमा लगेर विसर्जन गरिँदैछ, त्यो कुनै मानवविहीन अनकन्टार, निर्जन भूमि होइन । त्यो कसैको गाउँ हो । त्यहाँ मान्छे बस्छन् । ती मान्छे काठमाडौंमा बस्ने मान्छेजस्तै छन् । उनीहरू आफूलाई विश्वासमा नलिई र आफ्नो मञ्जुरीबिना राज्यले चालेको कदमलाई ज्यादतीका रूपमा लिन्छन् । र सरकारसंग स्थानीयहरूको विश्वास भंग भइसकेको छ ।
    स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था पनि सम्झौताले नसमेटेकोमा स्थानीयहरूको आपत्ति छ । पहिले फोहोर व्यवस्थापनमा संलग्न हुने सवारी चालक, प्राविधिक, अनुगमनकर्ता, सहचालक, विज्ञ लगायत कर्मचारी नियुक्त गर्दा योग्यताअनुसार प्रभावित क्षेत्रका जनतालाई प्राथमिकता दिने भनिए पनि सम्झौतामा त्यो कुरा परेको छैन । जो स्थानीयहरूले खोजीरहेका छन् । जहाँसम्म सडक निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेट विनियोजन गर्ने भन्ने सम्झौतामा उल्लिखित बुँदा छ, त्यो पहिले नै टुंगो भइसकेको छ । बजेटको पुरानै लड्डु देखाएर झुक्याउन लागेको आरोप स्थानीयहरूको रहेकै कारण सरकराले यसपटक ठोस काम गर्नु आवश्यक देखिएको छ । तीनपिप्लेबाट बञ्चरेसम्मको सडक स्तरोन्नति गर्न टेन्डर खुलेको पहिल्यै हो । मुड्खुबाट सोझै बञ्चरे आउने टूयाक पनि खुलेको छ । यी पूर्वनिर्धारित कार्यक्रम हुन् । पुरानै कार्यक्रम देखाएर स्थानीयहरूलाई फकाउने प्रयासमा सरकार देखिएको छ । सरकाले सम्झौताको प्रति लिएर स्थानीयहरूसँग वार्तामा बस्नु आवश्यक छ । संघर्ष समितिलाई समेत सम्लग्न गराएर यो सम्झौता पुनः तयार पार्नुपर्छ । यसमा प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, गुठी जग्गाको बन्दोबस्त, मल कारखाना स्थापना, स्थानीय रोजगारी लगायत सरोकारका जुन जुन विषय परेका छैनन्, त्यो समय तालिकासहित उल्लेख भएर आउदा समस्या समाधान हुनसक्ने देखिन्छ ।

२०८० साल साउन ८ गते । वर्ष:१६ अंक:३९

 

Monday, July 17, 2023

गोरु पाल्न छोड्दै किसान

फाइल तस्बिर

विदुर । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि प्रयोग गरिन्थ्यो । छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पु-याइन्थ्यो र खेतीपाती गरिन्थ्यो ।
    भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी नै । बजारसँगै गाउँमा पनि वस्तुभाउ पाल्नाको संख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पु¥याउन गाह्रो परेको तादी गाउँपालिका वडा नं. –५ का किसान बद्रीप्रसाद अधिकारीले बताए । गाईभैँसी पाल्नेको कमी भएसँगै खेतबारीमा अहिले रासायनिक मलको प्रयोग बढ्न थालेको उनको भनाइ थियो । उनका अनुसार जोत्न आधुनिक हलो (मिनीटेलर) तथा ट्याक्टरको प्रयोग हुँदै गएका छन् ।
    एकदशक अगाडिसम्म सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा पनि धेरै क्षेत्रफल खेत रोपाइँ गर्ने किसानले अहिले सिँचाइको राम्रो व्यवस्था हुँदा पनि रोपाइँ गर्ने जमिन थोरै हुँदै गएको लिखु गाउँपालिका वडा नं. ६ का रमेश अधिकारीले बताए । उनले अहिले गाउँमा हल गोरु भेट्याउनै मुस्किल पर्ने जनाए । ‘बुढापाकाले पूर्णिमाका दिन खेतबारी जोत्न हुँदैन भन्ने परम्परागत मान्यता थियो । अहिले आधुनिक हलोको प्रयोग गरेर किसानले जहिले पनि खेतपानी जोत्ने गर्छन् । यसले हाम्रो सांस्कृमा समेत प्रभाव पारेको छ’, अधिकारीले भने, ‘पहिले एक हल गोरुले एक दिनमा गर्ने काम मिनीटेलरले दुई घन्टामै सक्ने हुँदा आधुनिक हलोको प्रयोग बढ्दै गएको हो ।’ उनले आफ्ना पालामा अहिलेको जस्तो आधुनिक हलको विकास नभएको हुँदा हल गोरुको विकल्प नभएको बताए । पछिल्लो समय आधुनिकताले गर्दा स्थानीयले गोरु पाल्न छोडेका उनको भनाइ थियो ।
    ‘हाम्रा बाउबाजेले गोठमा दुई÷तीन हल गोरु पाल्थे, खेतबारी जोत्ने बेला गाउँभरिका मान्छेको खेतबारी जोत्न जान्थे, अन्य समय वन पाखामा चराउने, गोबरबाट मल बनाउने गरिन्थ्यो, अहिले खेतमा मल पु¥याउनै सकिन्न, गाईभैँसी पाल्न छोडियो’, अधिकारीले भने, ‘बजार गयो युरिया मल किनेर ल्यायो, बारीमा खन्यायो। रसायनिक मलको प्रयोगले किसानलाई धेरै सहज बनाएको छ तर पशुचौपाया पाल्ने परम्परा हराउँदै गएको छ ।’
    पञ्चकन्या गाउँपालिका–२ का केशव मिश्रले सहरबजारमा मात्र नभई गाउँसम्म आधुनिक हलो आएपछि स्थानीयले गाईगोरु पाल्न छोडेको बताए । उनले अघिल्लो वर्षसम्म आफूले दुई हल गोरु पाल्दै आएकामा अहिले गोठ रित्तै रहेको बताए । पहिले २०÷२५ मुरी धान फल्ने खेतमा धान रोप्ने गरेको सुनाउँदै अहिले काम गर्न मान्छे नहुँदा १० मुरी मात्रै धान खेतमा रोपाइँ गरेको उनले बताए । गाउँलेको बजार मोहले ग्रामीण जनजीवन हराउन थालेको उनको भनाइ थियो । ‘असार लागेदेखि साउन नसकिदासम्म रोपाइँ हुन्थ्यो, त्यस अवधि पूरै पर्ममा गइन्थ्यो, गाउँभरिका खेताला हुन्थे, रोपाइँ गर्दा बारीमा मकै कुटाउँदै निकै रमाइलो पनि हुन्थ्यो, अहिले त्यो चलन हरायो’, मिश्रले भने ।
    उनी थप्छन्– ‘अहिलेका मान्छेले धेरै सुविधा खोज्न थाले, घरको काम गर्न पनि गाह्रो मान्छन् । युवा बजार बस्ने, विदेश जाने भन्छन्, पढे लेखेका छन् । हामीले जस्तो पशुचौपाया पाल्न खोज्दैनन्, त्यही भएर गाउँमा गाई, गोरु, भैँसी र पाठापाठी निकै कम छन् ।’
    उता, तादी गाउँपालिका वडा नं. ६ का सिरपेन तामाङ आधुनिक हलोले जोत्दा बाली उत्पादन राम्रो नहुने भन्दै आफूले गाउँमा खोजेरै भए पनि गोरुले जोत्ने गरेको बताउछन् ।  गोरुले जोत्ने पुरानो परम्परा रहेको हुँदा आफ्नो हात पाखुरा चल्दासम्म आधुनिक हलोको प्रयोग नगर्ने तामाङको भनाइ थियो । अहिले गाउँका धेरैजसो जमिनमा खेती नहुँदा वनमारा झारले भरिन थालेको उनले सुनाए ।
ग्रामीण क्षेत्रमा आधुनिकीकरणसँगै परम्परागत शैलीका खेतीपातीलाई पनि जोड दिने सोचमा स्थानीय सरकारहरू रहेका नुवाकोटमा देखिएको छ । केही वर्षयता गाउँका कृषकले आधुनिक हलो प्रयोग गर्न थालेको भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि स्थानीय सरकारले प्रेरित गर्ने सोच रहन थालेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् ।
    पछिल्लो समय आधुनिक हलो र रसायनिक मलको प्रयोग बढ्दै गएकाले पशुचौपाया पाल्ने किसानको संख्यामा कमी आएको बताउँदै अध्यक्ष तामाङले आगामी वर्षदेखि पशुपालन गर्ने कृषकलाई केन्द्रले अनुदान दिने र प्रोत्साहन गर्ने योजना बनाउनु पो पर्ने हो कि भनेर छलफल सुरु भएको बताएका छन् । ‘अहिले पनि धेरै किसानले आधुनिक हलो मनपराउनु भएको छैन । काम गर्ने जनशक्तिको अभाव र गोरु नपाएपछि बाध्यताले मिनिटेलर प्रयोग गरेका छन् । उनीरुलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने सामग्री अनुदानमा सहयोग गरिरहेको छ’, उनले भने, ‘बजारी क्षेत्रमा आधुनिक हलोको प्रयोग गरे पनि गाउँमा गोरुबाटै जोत्नुपर्छ भन्ने मान्यता रहेकाले गोरु पाल्ने कृषकलाई पनि अनुदान दिने व्यवस्था मिलाउनु पर्ने देखिएको छ ।’

रैथाने बाली लोप हुने अवस्थामा

भोलाराज पौडेल
विदुर । बेलकोटगढी नगरपालिकाका अधिकांश खेतमा १५ वर्ष अघिसम्म हिमाली, बासमति, पोखरेली, टाइचिन, चाइनाबलु, मंसुलीलगायतका धानखेती हुन्थ्यो । तर, अहिले यो नगरपालिकाका अधिकांश ठाउँमा यस्ता धान देख्न पाइँदैन । यी धानको सट्टा आयातित हाइव्रिट जातले स्थान ओगटेको छ । बेलकोटगढीमा मात्र होइन, नुवाकोट जिल्लाका तल्लो भेगमा परम्परागत रैथाने धान मासिँदै गएको छ ।
    छोटो समयमा धेरै उत्पादन लिन विदेश तथा नेपालमै उन्नतजातको विउ लगाउँदा रैथाने जातको बाली क्रमशः लोप हुँदै गएको छ । ‘हाम्रो पालाको धानको विउ अहिले हराएर गयो’ बेलकोटका कालिबहादुर तिवारी भन्छन्– ‘त्यतिबेलाको धान खेतमै बास्ना आउँथ्यो, अहिले एकादेशको कथा भएको छ ।’ थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिनको लागि परम्परागत रुपमा लगाइने बालीको बाली लगाउन छाडेर उन्नत बीउ रोज्न थालेपछि रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो । परम्परागत रुपमा लगाइने बालीबाट थोरै उब्जनी हुने हुँदा उत्पादन लागतसमेत बढ्न जाने भएपछि किसानहरू परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाउन छाडेका हुन् । ‘पुरानो जातका बीउले सोचेजस्तो आम्दानी गर्न सकिँदैन, आफ्नो परिवार पाल्न र त्यसबाट केही जोहो गर्नको लागि पनि उन्नत जातको लगाउनुपर्ने बाध्यता छ’ बेलकोटकै अर्का किसान कुवेर थपलिया भन्छन्– ‘धान, मकै र विभिन्न तरकारीका विउ पनि हाइव्रिट र उन्नजातकै लगाउने गरेको छुु ।’ उनी १५ वर्षदेखि अन्न तथा तरकारी बालीमा उन्नत तथा हाइव्रिट जातको विउ लगाउछन् ।
    स्थानीय जातको बीउ लगाउँदा लगानी अनुसारको उत्पादन हुन नसक्ने भएकाले आफूहरूको रोजाइमा उन्नतजातको विउ नै पर्ने गरेको किसानहरू बताउँछन् । हाइव्रिट जातका बाली लगाउँदा त्यसको विउ फेरी प्रयोग गर्न नसकिने भएको हुँदा वर्षेनी नयाँ विउ खरिद गर्नका लागि लाखौँ रकम बाहिरिने गरेको छ । घरायसी प्रयोगका लागि उत्पादन गरिने बालीमा त उन्नत तथा हाइव्रिटको विउ प्रयोग गर्न थालेपछि व्यावसायिक खेती गर्ने किसान त उन्नत जात भन्दा फरक लगाउनै चाहँदैनन् । रैथाने जातको प्रवर्धनको लागि रैथाने जस्तै देखिने खालका केही विउ बजारमा आएपनि यसको प्रवर्धन अझै हुन सकेको छैन । हाइव्रिटको तुलनामा उन्नत जातका विउ कम उब्जनी हुने भएपछि किसानहरू सकेसम्म हाइव्रिट नै प्रयोग गर्दछन् । जसले परम्परागत बालीहरू लोप हुने अवस्थामा पुगेका छन् ।
    स्थानीय जातका बाली विरुवामा धेरै प्रकारका रोग किराहरूले दुःख दिने गरेको गुनासोसमेत किसानहरूको छ । किसानहरूको रोजाइमा हाइव्रिट विउ पर्न थालेपछि यसको नकारात्मक असरसमेत बेला बेलामा देखिने गरेको छ । छिमेकी देश भारतसहित विभिन्न देशबाट नेपाल भित्रने कतिपय हाइव्रिट विउ नेपालको हावापानीमा उब्जनी नहुने र लगाएका बालीले उत्पादन नदिँदा बेला बेलाका ठगिने गरेकोसमेत गुनासो आउने गरेको छ । रैथाने बालीको विउ हरेक वर्ष एउटै प्रयोग गर्दा उत्पादनमा ह्रास आउनेक्रमलाई उन्नत तथा हाइव्रिटले रोकेपनि भावी पुस्ताको लागि रैथानेबाली कथाको रुपमा सीमित हुने अखिल नेपाल किसान महासंघ (समाजवादी)का केन्द्रीय नेता यमकुमार खाती बताउँछन् । परम्परागत बालीले जीवन यापनमा समस्या पर्नेहरू अहिले आएको उन्नतजातले उब्जनी त बढेको छ, यसका नकारात्मक असरहरू पनि धेरै छन्’ –खातीले भने ।
    किसानले बर्सेनी एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो । बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बीउ धेरैले प्रयोग गर्न थालेको बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल बताउँछन् ।
रैथाने बालीमा पर्ने कोदो खेती अहिले विस्तारै हराउँदै गएको छ । कोदो खेतीको ठाउँमा तरकारी खेती हुन थालेपछि यो अन्नवाली नै लोप हुन लागेको हो । कोदोजन्य पदार्थमा कार्बोहाइड्रेटको अलावा प्रोटिन, फाइबर, भिटामिनको साथै क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिज तत्व पाइन्छ । यसको प्रयोगले उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नबाट बचाउन सक्ने अध्ययनले देखाएपनि जिल्लाका अधिकांश स्थानमा यसको खेती नै गर्न छाडिएको छ ।
    थोरै जमिनमा धेरै उत्पादन भएपनि स्थानीय र उन्नत जातको खाँदा स्वादिलो हुने किसानहरू बताउँछन् । पछिल्लो समय स्थानीय उतपादनको माग केही बढेपछि उत्पादन भने घटेर गइरहेको किसानहरूको भनाई छ । आकर्षण र मागको तुलनामा उत्पादन बढ्न नसक्दा हाम्रा रैथाने बाली नै लोप हुने अवस्थामा पुिगसकेको स्वयंम् किसानहरू नै बताउँछन् ।

५५ प्रतिशतमात्रै रोपाइँ

काठमाडौं । मुलुकभर अहिलेसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको  थियो ।
    गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ । विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

शिक्षकका सन्तान बोडिङ पढ्न नपाउने

चोकदे । सुर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षकबाट नै सुरु गरेको छ । आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले छोरा छोरीलाई निजी विद्यालयमा पढाउन नपाउने नियमलाई कडाईकासाथ कार्यान्वयनमा ल्याएको छ ।
    यस्तै जनप्रतिनिधिहरूले पनि सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाउने शिक्षकको तलब समेत रोक्का गरेको छ । निजी विद्यालयमा पढाउने केही शिक्षकको तलब रोक्का गरेको गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा नै पढाउने प्रतिवद्धता जनाएपछि तलब भुक्तानी गरेको थियो । अन्य शिक्षकहरूलाई पनि प्रतिवद्धता जनाउँदै तलब दिएको छ ।
    गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले सामुदायिक विद्यालयको स्तरलाई बढाउन र अन्य सर्वसाधारणलाई पनि सरकारी विद्यालयका शिक्षकले पनि आफूले पढाउने विद्यालयमा नै छोराछोरी पढाएका छन् भन्ने सन्देश जाने हुनाले यस्तो निर्णय गरिएको बताए । उनले आगामी वर्षदेखि यसलाई कडाईकासाथ लागू गरिने पनि जानकारी दिए । सुर्यगढी गाउँपालिकामा झण्डै तीन दर्जन विद्यालय छन् । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोरा छोरीलाई निजी विद्यालयमा पढाएको विषयमा देशभरबाटै सरकारी शिक्षकको आलोचना हुने गरेको छ ।
    सामुदायिक विद्यालयका शिक्षकहरूले भने यसमा असहमती जनाएका छन् । कतिपयले आफ्ना छोराछोरीलाई समय परिस्थिति अनुसार उनीहरूको रोजाइको ठाउँमा पढाउन पाउनुपर्ने समेत बताएका छन् । गाउँघरमा पढ्ने उमेर समूहका बालबालिकाहरू नबस्ने अवस्थाका कारण धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका र नाम चलेका भनिएका विद्यालयहरूमा पनि विद्यार्थीको संख्या भने अत्यन्त न्युन रहेको छ । अर्कोतर्फ पुराना र तालिम नभएका, उमेर पाकेका शिक्षकहरू भएकाले पनि सामुदायिक विद्यालयको पढाई निजीको तुलनामा कमजोर देखिदै आएको छ । सुर्यगढीको यो निर्णयले सामुदायिक विद्यालयको सुधारमा थोरै भने पनि सहयोग पुग्ने सरोकारवालाहरूले बताएका छन् ।

फोहोरको गाडीले प्रवेश शुल्क तिर्नुपर्ने

ककनी प्रवेश गरेको फोहोर बोकेको गाडीको लाम

रानीपौवा । ककनी गाउँपालिकाले आगामी आज साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ ।
    गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी एक सय रुपैयाँ र अन्यका लागि एक हजार रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । ‘आगामी आर्थिक वर्ष २०८०/८१ सुरु हुने दिन १ साउनदेखि फोहोर बोक्ने गाडीसँग शुल्क लिन्छौं,’ उनले भने । तर, संविधानले सवारीको आगमनलाई प्रभावित गर्ने गरी स्थानीय तहले यस्तो सेवा शुल्क लिने अधिकार दिएको छैन । यसबारे अध्यक्ष तामाङले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको जिम्मेवारी हो, यो गर्दा शुल्क लिन पाइन्छ, हामी ल्यान्डफिल साइट प्रभावित क्षेत्र भएकाले स्वभाविक रुपमा फोहोर व्यवस्थापन गर्नेहरूले हामीलाई प्रभावितका रुपमा व्यवहार गर्नुपर्छ ।’
    बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको उनले बताए । ‘फोहोर ल्याउने गाडीका चालकलाई पनि यसबारे जानकारी गराएका छौं,’ उनले भने । सामान्य अवस्थामा काठमाडौं र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ । ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर पु-याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुन्छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

बसहरू त्रिशुली बसपार्क पुग्नै पर्ने

त्रिशुली । विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुलीमा रहेको बसपार्कलाई व्यवस्थित बनाउनको लागी यातायात व्यवसायीहरू सहमति भएका छन् । साउन १५ गतेदेखि अनिवार्य रूपमा काठमाडौंबाट आएका बसहरू त्रिशुली बसपार्कमा लैजाने विषयमा लामो दुरीका यातायात व्यवसायीहरू सहमत भएका छन् ।
    विदुर नगरपालिका वडा नम्बर १ को कार्यालयले बसपार्कमा आबाश्यक पूर्वाधारको क्रमशः व्यवस्थापन गर्दै लैजाने र रात्रिकालिन अवस्थामा समेत बसपार्कमा सुरक्षा प्रदान गर्ने भएपछि व्यवसायीहरूले आफ्ना सवारीहरूको अन्तिम र सुरु गन्तव्य त्रिशुली बसपार्कलाई बनाउने भएका हुन् । काठमाडौंबाट आएका सबै सवारीहरू अनिवार्य रूपमा त्रिशुली बसपार्क पुग्ने भएका छन् । यसका साथै, त्रिशुली बसपार्कबाट स्थानीय रूपमा चल्ने सवारीहरू त्रिशुली अस्पताल हुँदै घुमेर बट्टार तर्फ जाने रुट तय गरेको छ ।
    जसले गर्दा ढुङ्गेमा हुँदै आएको सवारी चाप समेत घट्ने भएको छ । रसुवाबाट आएका र रसुवा जाने सवारीहरू लामो समय सम्म ढुङ्गेमा रोकिदा सवारी र यात्रुहरूमा जोखिम रहँदै आएको थियो । त्यसलाई समाधान गर्न वडा कार्यालयले ढुङ्गे भन्दा केही माथि बस पार्क गर्नको लागी अस्थायी केन्द्रको स्थापना गर्ने भएको छ । ढुङ्गेमा यात्रुहरू ओराल्ने र चढाउने मात्रै गरेर रोकिने बस ढुङ्गे माथिे खाली स्थानमा राखिने भएको छ ।
सवारी सुरक्षाको लागी वडा कार्यालयले ढुङ्गे माथि चौडा रहेको सडक किनाराको व्यवस्थापन गर्ने र रातिको लागी समेत राख्न मिल्ने गरी बिजुलीको व्यवस्थापन गर्ने भएको हो ।
    यातायात ब्यबसायिहरू सँग छलफल गर्दै विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले वडा नम्बर १ मा सडक सुरक्षाको लागी कुनै कसुर बाँकी नराख्ने बताउँदै यातायात ब्यबसायिहरू लाई निर्देशन समेत दिएका छन् । ब्यवसायीहरूको र बसपार्कको व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गर्ने बताउँदै उनले यात्रुहरूको सहजताको लागी सवारीको सुरु बिन्दुबाट अन्तिम गन्तव्य सम्म अनिवार्य लैजानु पर्ने बताए । अधिकांश यात्रुबाहक सवारीहरूले काठमाडौंबाट त्रिशुलीका यात्रुहरू बोकेर ढुङ्गेमै छाड्ने गरेको गुनासो आएपछि वडा अध्यक्ष रञ्जितले यातायात ब्यबसायीहरूलाई निर्देशन दिएका हुन् ।

नुवाकोट काँग्रेसको सम्मेलन भदौभित्र

विदुर । नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले जिल्लाका ८८ वटै वडा, १२ पालिका, चार प्रदेश क्षेत्र र दुई संघीय निर्वाचन क्षेत्रीय तहको सम्मेलन आगामी भदौ मसान्तभित्र गर्ने निर्णय गरेको छ ।
    जिल्ला कार्यसमितिको २० औँ बैठकले चारवटै तहको सम्मेलन गर्न प्रतिनिधि खटाउने र पार्टीको सदस्यतालाई बृहत् रूपमा वितरण गर्न अनलाइनबाट सदस्यता वितरण गर्ने अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यसमितिका सचिव वैकुण्ठ मिश्रले गएको सोमबार जारी गरेको विज्ञप्तीमा नुवाकोट जिल्लाका स्वदेश तथा विदेशमा रहेका पार्टीसमर्थक लोकतन्त्रवादीलाई अनलाइन सदस्यता भर्न आह्वान गरिएको जनाइएको छ । बैठकले जिल्ला पार्टीले महाधिवेशन, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र स्थानीय तहको जनप्रतिनिधिसँग साउन मसान्तभित्रछलफल गर्ने निर्णय गरेको जिल्ला उपसभापति राजु थापाले जानकारी दिए ।
    विधानबमोजिम नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन गर्ने, केन्द्रीय कार्यसमितिको परिपत्र र निर्देशनअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण पार्टीको विधान र नियमावलीअनुसार गर्ने र विधान अनुसार बुझाउनुपर्ने लेबी  बुझाउने सम्बन्धमा व्यवस्थित गर्न पत्राचार गर्ने उप सभापति थापाले जानकारी दिएका छन् ।
    पार्टी छाडेका स्वतन्त्र उम्मेदवार रहेका र स्वतन्त्र उम्मेदवारका समर्थक र प्रस्तावक रहेकाको विवरण वडा तहबाट पालिका, प्रदेश र क्षेत्रमार्फत जिल्ला कार्यसमितिमा माग गर्ने निर्णय भएको सचिव मिश्रले बताए ।

सूचनाको हक सम्बन्धी अन्तरक्रिया

अन्तरक्रिया

विदुर । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा विदुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
    गएको सोमबार भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले सूचनाको हक र व्यवहारिक प्रयोगका बारेमा सहजिकरण गरेका थिए । नेपालमा सूचनाको हकको अभ्यास, यसका सिद्धान्तहरू, सार्वजनिक निकायको दायित्व र सूचनाको संरक्षण, सूचनाको दुरुपयोग र सूचनाको हकका सन्दर्भमा चुनौती लगायतका विषयमा जानकारी गराए ।
    कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्नेमा जोड दिईन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले नुवाकोटका सरकारी कार्यालयहरूले आगामी आवबाट प्रत्येक तीन/तीन महिनामा कार्यालयको गतिविधि प्रकाशन गर्न निर्देशन दिए ।
    जिल्ला समन्वय समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतको आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्थित स्थानीय र सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले सूचनाको हक सम्बन्धि नीतिलाई सरकारी निकायका पदाधिकारी र आमनागरिकले हतियारको रुपमा लिएर दुरुपयोग गरेको बताए ।

खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

विदुर । नुवाकोटमा आगामी साउन १९ गतेदेखि खुल्ला -यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नुवाकोट बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
    प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ चौथो हुनेले ४ हजार रुपैयाँ पाँचौ हुनेले ३ हजार रुपैयाँ र छैठौँ देखि दशौं स्थान प्राप्त गर्नेले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय रेटिङ्ग प्राप्त खेलाडीहरुसँग खेल्ने अवसर प्राप्त हुने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष जोशीले बताए । प्रतियोगितामा आवश्यक खेलाडीहरुसँग खेल्नुपर्ने अन्तर्राष्टिूय फिडे नियम भएकोले केही जिल्ला बाहिरको खेलाडीहरुलाई वाईल्ड कार्डमार्फत प्रतियोगितामा समावेश गराईने छ ।
    प्रतियोगतामा जिल्लाका सबै बुद्धिचाल खेलाडीलाई सहभागी हुन नुवाकोट बुद्धिचाल संघले आह्वान गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन साउन १८ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ । जिल्लाका खेलाडीलाई दर्ता शुल्क तीन सय र जिल्लाबाहिरको खेलाडी लागि एक हजार रुपैयाँ तोकिएको छ ।

त्रिशुलीमा बगेर विद्यार्थी बेपत्ता

विदुर । बेलकोटगढी नगरपालिका–७ महादेवफाँटस्थित त्रिशुली नदीमा नुहाउने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।
    महादेव माविमा कक्षा ५ मा अध्ययरत १० वर्षीय रामचन्द्र बिक विद्यालयबाट छुटेर त्रिशुलीमा नुहाउने क्रममा असार २६ गते बगाएर बेपत्ता भएको प्रहरी कार्यालय नुवाकोट प्रमुख एसपी रमेश पण्डितले बताए ।

फेसबुकबाट उठ्यो उपचार खर्च

चेक हस्तान्तरण कार्यक्रम

तारकेश्वर । विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।
    प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा अर्थपथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८२० रुपैयाँ जम्मा भएको हो ।
    संकलित सहयोग रकम मंगलवार पत्रकार तारुके सहितको उपस्थितिमा परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पुर्व अध्यक्ष रमेशबहादुर वस्ती, वडा नं. २ का वडा अध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमालसहित घरमै पुगेर तारुकेले प्राप्त सहयोग रकमको चेक सन्तोषका श्रीमती रितु नेपालीलाई हस्तान्तरण गर्दै अब पैसा अभावकै कारण बिरामी सन्तोषको उपचार नरोकिने विश्वास व्यक्त गरे ।
    ‘पैसाकै अभावको कारण सन्तोषको उपचार रोकिने अवस्था छैन’, तारुकेले भने–‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजीक सञ्जालबाटै सबैलाई आव्हान ग-यौँ । मानविय यस कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’ यस अभियानमा पत्रकार तारुकेसहित भारमा रहेका सोही गाउँका दिपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिहरूले पहलकदमी दिएका थिए भने सामाजीक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एकसय जना सहयोगीहरूले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए ।
    दुई वर्षअघि वैदेशीक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुनपुग्यो । उपचारका लागि राजधानी काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एकलाख रुपैयाँ डिजोजिड राख्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठूलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो ।
    त्यसपछि सन्तोषकी श्रीमती आफ्नै गाउँपालिकावासी समेत रहेका पत्रकार तारुकेलाई भेट्न पुगिन र आफ्नो दुःखको कहानी सुनाइन् । सन्तोषले गरिबीकै कारण उपचार नपाउने परिस्थिति आउन नदिन आफूले पहल गर्ने आश्वासन दिएका थिए । तारुकेले सहयोगका लागि सबैलाई गरेको आह्वानपछि बिरामीले उपचार पाउने वातावरण बनेको र सन्तोषले न्याय पाउने अवस्था बनेको तारकेश्वर गाउँपालिका २ का वडा अध्यक्ष शिव पनेरुले प्रशंसा व्यक्त गरे ।
    सहयोग संकलनको लागी तारुकावासी भारतमा रहेका दिपक ढकाललगायतले सहयोग गरेका थिए । करिव १ सयभन्दा बढी व्यत्तिहरूबाट संकलित १ लाख ९७ हजार रकम बिरामीको उपचारमा खर्च हुनेछ ।

तस्बिर समाचार

गाउँमा सिंहदरबार : नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नं. २ को कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनकान लागि जम्मा भएका नागरिकहरू र सरकारी कर्मचारी ।

कुमरी खोलामा स्टील ट्रस ब्रिज

बेलकोटगढी । बेलकोटगढीस्थित कुमरी खोलामा ‘स्टील ट्रस ब्रिज’ बन्ने भएको छ । बेलकोटगढी नगरपालिका वडा नं २ मा रहेको कुमरी खोलामा नगरपालिकाको २७ लाख १२ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
    बिहीबार आयोजित कार्यक्रमकामा नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले शिलान्यास गरे । कार्यक्रममा उपप्रमुख दाहालले जग खनिएको स्थानमा ढुंगा राखेर शिलान्यास गरे । दाहालले पछिल्लो समय नगरपालिकासँग माग भए अनुसारको योजनाका लागि रकम नभएपनि प्राथमिकताका आधारमा नगरको विकासमा लागि आफूहरू क्रियाशिल रहेको बताए । उनले बिकासका लागि पूर्वाधार बिकास महत्वपूर्ण रहेको बताउँदै बिकास निर्माणका काममा नागरिकको निरन्तरको पहरेदारीले गुणस्तरिय काम हुनेमा जोड दिए ।
    कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिना, एमाले नगर अध्यक्ष रुपा सापकोटा, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्ज‘न न्यौपाने लगायतले पुल निर्माणले उक्त क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने धारणा राखेका थिए ।

मदिरा र सुर्तीको अनुगमन

विदुर । कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीको अध्यक्षतामा मदिरा तथा सुर्तीजन्य बस्तुहरूको दर्ता तथा बजारको आज अनुगमन गरेको हो ।
    बजार अनुगमनका लागि कोष तथा लेखा नियन्त्रण प्रमुख भिमप्रसाद देबकोटा, नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, प्रहरी निरिक्षक पुष्प दर्लामी, विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक कायस्थ लगायतका टोलीले बजार अनुगमन गरेका हुन् ।
    विदुर नगरपालिका अन्तर्गतका मुख्य ब्यापारिक केन्द्रहरू त्रिशुली बजार, ढुङ्गे, विदुर, बट्टार बजार, हावाघर क्षेत्रमा होटल, मदिरा ब्यबसायी, खाद्यान्न किराना, होलसेल पसलहरूमा मदिरा तथा सुर्तीजन्य पदार्थको अन्तःशुल्क दर्ता तथा नवीकरण गर्नको लागि अनुरोध तथा जानकारी गरााइएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

पञ्चकन्यामा तयार हुँदै चिया बगान

 पञ्चकन्यामा तयार हुँदै चिया बगान

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नौमती बाजा घन्काउँदै चिया रोपिएको छ । पालिकाको वडा नम्बर ४ घ्याङस्वारामा निर्माणाधीन ‘सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान’ आसपासमा श्रमदानसहित मंगलबार चियारोपण कार्यक्रम सम्पन्न भएको हो । मंगलबार चिया, सुन्तला, एभोकाडो गरी झन्डै १३ हजार बिरुवा रोपिएको छ । अध्यक्ष तेजबहादुर तामाङकाअनुसार चिया साढे १२ हजार, सुन्तला २ सय रोपिएका छन् ।
    पालिकाले ‘कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम’ भन्ने सन्देशसहित राखिएकोले कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दल, विभिन्न निजी तथा गैरसरकारी क्षेत्र, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । चियारोपण सकिएपछि पार्क क्षेत्रमा बाजाको तालमा अध्यक्ष, उपाध्यक्षलगायत नाचेका थिए भने खाजापानीको समेत व्यवस्था गरिएको थियो ।
    भविष्यमा गाउँपालिकाको आयस्रोतको माध्यम बनाउने उद्देश्यअनुरुप घ्याङस्वारामा पार्क निर्माण भइरहेको छ । झन्डै २० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कस्थलबाट दक्षिण उत्तरतर्फ रहेको भुमेस्थान मन्दिरसम्म जाने सिँढी निर्माण सकिएको छ । भूमेथान मन्दिर नजिक भ्यूटावर निर्माण गर्ने, त्यसबाट पार्कस्थलमा झर्न जिपलाइन बनाउनेलगायतका योजना रहेको अध्यक्ष तामाङले जानकारी दिए । नयाँ आर्थिक वर्षको पालिकाको बजेटमा जिपलाइन सम्भाव्यता अध्ययन र खेलकुद मैदान सम्याउनका लागि समेत बजेट विनियोजन गरिइसकेको छ ।
    घ्याङस्वाराँबाट नुवाकोटका जिल्ला सदरमुकामका पूर्वीभेग, रसुवामा पर्ने गणेश हिमाल, राहुचुली हिमाललगायत हिमशृंखलालगायत दृश्य अवलोकन गर्न सकिन्छ । वनभोजमा जानेहरूका लागि आवश्यक सेटहाउस जस्ता संरचना, पाहुना गृह निर्माण भइसकेको छ । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्राण त्यागेकाहरूको सम्झनामा सहिद स्मारक पार्क निर्माण गरी गाउँपालिकाभित्रमा जनयुद्धकालमा सहिद भएका ११ जनाको अर्धकदको सालिक बनाएर अनावरण गरिसकिएको छ ।

लम्पी स्किनबाट तीन सय चौपाया मरे

संक्रमित चौपाया

विदुर । नुवाकोटका १२ वटै स्थानीय तहमा लम्पी स्किन तीव्र गतिमा फैलिएको छ । एक लाख २० हजार गाई र गोरुको तथ्याङ्क रहेको नुवाकोटमा अहिलेसम्म ११ हजार भन्दा बढी पशुचौपाया संक्रमित भइसकेका छन् ।
    सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा तीन सय चौपाया मरेका छन् । क्याप्री पक्स भाइरसको कारणले संक्रमण हुने यस किसिमको रोग फैलिएसँगै लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ ।
    गएको सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार भने जिल्लामा छ हजार एक चौपाया सङ्क्रमित भएको तथ्याङ्क छ भने १७८ गाई मरेको छ । चार हजार ८२५ गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाई सकेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेका अनुसार जिल्लामा संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको बताएका छन् । दिनहुँ लम्पी स्किन रोगकाकारण गाईवस्तुहरू सङ्क्रमित भइरहेका छन् । अहिलेसम्ममा जिल्लामा गाई, गोरु र भैसीं गरी करिब ११ हजारभन्दा बढी चौपाया सङ्क्रमित भइसकेको उनले जानकारी दिए । स्थानीय तहले पनि यकिन तथ्यांक नपठाउँदा र दिनहुँ यस रोगबाट सङ्क्रमित हुने चौपायाको संख्या बढ्नेक्रम रहेकोले तथ्याङ्क यकिन गर्न कठिन भएको उनले बताए ।
‘यो रोगको लागि भेटेनरीले कुनै पनि औषधि प्राप्त भएको छैन’ उनले भने ‘जिल्लामा सञ्चालित निजीस्तरीय भेटेनरीले उपलब्ध गराउँदै आईरहेको छ भने कोहि किसानले काठमाडौंबाट ल्याई पशुचौपायाको उपचार गरिरहेका छन् ।’ लम्पी स्किन रोगकाकारण बिरामी भएका गाईको दुध खान हुन्छ तर दुधलाई अधिक मात्रामा उमालेर खाँदा मानिसमा नपर्ने सल्लाह दिए ।
    विदुर नगरपालिकामा लम्पी स्किन रोगकाकारण एक हजारभन्दा गाईवस्तु सङ्क्रमित भएको पशु शाखाका प्रमुख विष्णुप्रसाद रिजालले जानकारी दिए । ‘लम्पी स्किन रोगकाकारण गाई मर्नेको क्रम रोकिएको छैन’, उनले भने ‘हालसम्म करिब दुईसयभन्दा बढी गाई मरिसकेको छ । अवस्था भयाभय बन्दै गईरहेको छ ।’ सङ्क्रमित गाईको उपचारमा जटिल बन्दै गईरहेको छ । बिरामी गाईको घाउमा किरा पर्ने, घाउ निको नहुने समस्याले उपचारमा जटिलता थपेको उनले बताए ।
    यसैगरी बेलकोटगढी नगरपालिकामा ६० चौपाया मरेको पशु शाखाका प्रशान्त राईले जानकारी दिए । किसानले पालिका वा प्राविधिकलाई जानकारी गराए मात्र अभिलेख राख्ने गरिएको बताए । शाखाबाट खटिगएका प्राविधिकले नगरका वडा नम्बर ६, ७, १०, १२ र १३ क्षेत्रका दुईसय किसानका ७५० चौपायालाई खोप लगाएको जानकारी दिए । जसमा वडा नम्बर १२ र १३ मा बढी गाई, गोरु र भैसीं सङ्क्रमित रहेको बताए ।
    म्यागङ गाउँपालिकाका ८४० चौपाया सङ्क्रमित भएको छ । जसमा ३२ गाई र गोरु मरेको पशु शाखाका प्रमुख सुदर्शन सापकोटाले जानकारी दिए । पालिकाका कृषकहरूको १५० चौपायामा खोप लगाईए तापनि ६० प्रतिशतमा लम्पी स्किनको लक्षण देखिएकोले किसानले पनि आफ्नो वस्तुभाउलाई खोप लगाउन नमानेपछि खोप लगाउने कार्य बन्द गरिएको उनले बताए । पहिले दिनहुँ २० को हाराहारीमा चौपाया सङ्क्रमित हुने देखिएकोमा अहिले १२ वटा चौपायामा देखा पर्न थालेको उनले जानकारी दिए ।
    नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ । शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो । नियन्त्रणको लागी उपचार थालिएपनि समस्या समाधान भएको छैन ।
    यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटर भन्दा ठूलो) देखिने, १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छर । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छर । उड्ने किराले संक्रमण फैलाउने गरेका छन्र । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ। यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ ।
    यसै बीच, पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ । विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले आज विज्ञप्ती जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरे । विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
    विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिए । विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन् । सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार ८१९ पशु निको भइसकेका जनाइएको छ । अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन् । रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ ।