Wednesday, November 08, 2023

महंगोमा मेसिन किन्नकै लागि सरुवा

 महंगोमा मेसिन किन्नकै लागि सरुवा

उपेन्द्र खड्का/उकेरा डटकम
काठमाडौँ । तीन जिल्लाका अस्पतालका लागि तीन वटा सिटी स्क्यान मेसिन किन्न बागमती प्रदेश सरकारले २४ करोड बजेट छुट्टायो । नुवाकोट, सिन्धुली र भक्तपुर अस्पतालमा आठ करोडका दरले तीन वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।
    त्यसमध्ये नुवाकोटको त्रिशूली अस्पतालका लागि सिटी किन्ने प्रक्रिया टेन्डर भएर प्रिबिड मिटिङ समेत सकिइसक्यो । इमानदार भएर किन्ने हो भने यी तीनै मेसिन करिब  १५ करोडमा जडान गर्न सकिन्छ । तर केन्द्रदेखि प्रदेशसम्मको स्वास्थ्यमन्त्रीको इन्ट्रेस्टमा सिधै नौ करोड बढी मूल्यमा सिटी किन्ने तयारी गरेका छन् । यसमा प्रत्यक्ष सम्लग्न देखिए स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का, सम्बन्धित अस्पतालका प्रमुखसम्म उनका सहयोगी देखिएका छन् । सेटिङ मिलाउन मन्त्री बस्नेतको नाताले भान्जा पर्ने ज्ञानेन्द्र थापा देखिएका छन् ।
    सेटिङमा मेसिन आपूर्ति गर्नेमा ‘मेट्रोनिक्स नेपाल प्रालीका कार्यकारी निर्देशक धिरज थपलिया अनि भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी सक्रिय छन् । त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह यो समूहको मुख्य सहयोगी बनेका छन् । सिटी स्क्यान खरिदकै लागी उनलाई त्रिशूली अस्पतालमा सरुवा गरिएको हो ।
    सिन्धुली र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यमा सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरीटेण्डेण्टमा डा. त्रिभुवनचन्द्र झा छन्। उनले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन अगाडि बढाइसकेका छन् ।
    सिन्धुली अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलिया छन् । सिन्धुलीमा खरिद प्रक्रिया अगाडि बढाउन खरिद इकाई गठन भइसकेको खुल्यो । मिलेमतोमा हुन लागेको खरिदमा बिचौलियाको रूपमा नातामा स्वास्थ्यमन्त्रीका भान्जा पर्ने थापा सबैभन्दा धेरै सक्रिय देखिए । सम्बन्धित अस्पतालको प्रमुखसँग भेट्ने, आफू निकट आपूर्तिकर्ताको प्राविधिक स्पेशिफिकेशन अनुसारकै स्पेशिफिकेशन बनाउन लगाउन उनी सक्रिय देखिए । स्वास्थ्यमन्त्री बस्नेतले प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीलाई बाइपास गर्दै प्रदेश सचिव मार्फत काम अगाडि बढाएको विश्वस्त स्रोतले उकेरालाई जानकारी दियो । जोशीसँग उकेराले खरिदबारे कुरा गर्दा उनले त्यही संकेत गरे ।
क्यानननै सिटी किन्न स्पेक लक
सो समूहले तीनवटै अस्पतालमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन खरिद गराउन सोही अनुकूल स्पेशिफिकेशन बनाउन लगाएका छन् । त्रिशूलीको स्पेशिफिकेशन लक्ड छ । अन्त पनि सोही स्पेशिफिकेशन अनुसार टेन्डर आव्हान गर्ने तयारी अगाडि बढिसकेको देखियो । क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च भएकाले यीमध्येबाटै सिटी खरिदको तयारी गरिएको छ । दुई वर्ष अघि मेसिन उत्पादक कम्पनी ‘तोसिवा’लाई ‘क्यानन’ले लिएको हो । क्यानन जापानी मेसिन हो । क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ हो । यसका प्रमुख धिरज हुन् । भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन् । उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन् । स्वास्थ्य मन्त्री बस्नेतका भान्जा ज्ञानेन्द्र थापा, धिरज र आरएसका मुख्य सहयोगी हुन् । मेसिन उत्पादक कम्पनी क्याननको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रा.ली.’ भए पनि मेट्रोनिक्सले यो सिटीको टेन्डर प्रस्ताव नगरी आरएस भण्डारीले भण्डारी सर्जिकल वा उनी निकट अन्य कम्पनीमार्फत त्रिशूलीको सिटी खरिदका लागि टेन्डर पार्ने रणनीति रहेको देखिन्छ ।
    यी सबै चाँजोपाँजो मिलाउन सक्रिय देखिएका थापासँग उकेराले सम्पर्क गर्दा उनले ‘आफू स्वास्थ्य मन्त्री बस्नेतको आफ्नै भान्जा नभए पनि नाताले भान्जा पर्ने’ बताए । उनले आरएस भण्डारीसँग पनि चिनजान भएको स्विकारे । ‘आरएस भण्डारी चिन्छु,’ थापाले भने । उनले मिलेमतोमा सिटी स्क्यान मेसिन किन्न आफू संलग्न रहेको झुटो भएको दाबी गर्दै भने ‘म मन्त्रालयमा केहीमा पनि छैन । खरिदमा न मेरो फर्म छ, न यो विषयमा मलाई केही थाहा छ । मैले यो विषयमा अहिलेसम्म काम गरेको पनि छैन । जिरो छु, खासै मलाई केही थाहा पनि छैन ।’
    उनले जे दाबी गरे पनि उकेराले प्राप्त गरेको तथ्यहरूले उनी सिटी मेसिन खरिद प्रक्रिया आफू अनुकूल बनाउन सक्रिय रहेको देखिन्छ । थापाले ‘माथिको आदेश’ भन्दै त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी खरिदका लागि सिटीको खरिद प्रक्रिया चाँडो अगाडी बढाउनका दबाब दिँदै आएका छन् । तीन अस्पतालमध्येका एकका कर्मचारीले भने ‘छिटो गर्नुपर्यो भन्ने हिसाबले मलाई प्रेसर आइरहेको छ ।’ खरिद प्रक्रियामा संलग्न एक जनाले स्वास्थ्यमन्त्री बस्नेतका भान्जा बताउँदै थापाले आफूलाई भेटेर खरिदमा मलाई सहयोग गर्नुपर्यो भनेको उकेरालाई बताए ।
    त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले एउटा कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन नबनाएको र मेसिन खरिदमा कमिसनको खेल नरहेको दाबी गरे । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट सिटी खरिदको प्राविधिक तथा आर्थिक लगायतको कागजात स्वीकृति भएर आएको उनले बताए । ‘स्पेशिफिकेशन प्रदेश (स्वास्थ्य) मन्त्रालयबाट नै अप्रुभ भएर आउने हो,’डा. सिंहले भने । पाँच करोड भन्दा बढी मूल्यको सामान खरिद गर्दा प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद अनुमति लिनुपर्ने उनले जानकारी दिए । उनले दिएको जानकारीबाटै यो खरिद बदमासीमा प्रदेशको स्वास्थ्य मन्त्रालयका अधिकारीको संलग्नता थप पुष्टि गर्छ । सिटी खरिदको विषयमा आरएस भण्डारीले आफू संलग्न नरहेको दाबी गरे । ‘मैले २५ वर्षको करिअरमा आजका दिनसम्म एउटा सिटी पनि बेचेको छैन,’ भण्डारीले भने, ‘सिटी स्क्यान मेसिन सप्लाई गर्दा पनि गर्दिनँ । मसँग कम्पनी पनि छैन ।’ उनले आफूसँग कम्पनी नरहेको दाबी गरे पनि भण्डारी सर्जिकल हाउस उनकै हो । उनले अहिले सो कम्पनी आफ्नो भाइहरूले चलाउने गरेको खुलाए । ‘६–७ वर्षदेखि यो (मेडिकल) बिजनेस मेरो भाइहरूले हेरिरहेका छन्, म हेर्दिन,’ उनले दाबी गरे ‘भण्डारी सर्जिकल हाउस भन्ने मेरो हैन, भाइहरूले गर्छन् । म त्यसमा इन्भल्भ छैन । म अहिले ह्याम्समा मात्रै इन्भल्भ छु ।’
त्रिशूलीमा प्रिबिड, अन्त खरिद तयारी
नुवाकोटको त्रिशूली अस्पतालले ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उसले सो मेसिन करिब आठ करोडमा खरिद गर्ने गरी टेन्डर (बोलपत्र) आह्वान नै गरिसकेको छ । त्रिशूली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्रिशूली अस्पतालले किन्न लागेको सिटी स्क्यान मेसिनको करिब पाँच करोड रुपैयाँ लागत पर्ने जानकारस्रोतले बतायो ।
    सिन्धुली अस्पताल र भक्तपुर अस्पतालले पनि त्रिशूलीकै मूल्यको सिटी स्क्यान मेसिन खरिदको तयारी गरेका छन् । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अहिले सिटी स्क्यान राख्ने ठाउँ लगायतका बारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘सिटी कहाँ राख्ने, कस्तो किसिमको किन्ने भन्ने बुझ्न एउटा टिमलाई लगाएका छौँ, ’डा. झाले भने, ‘उहाँहरूको रिपोर्ट आइसकेपछि मात्रै खरिद प्रक्रिया अगाडी बढ्छ ।’
    सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविशेक थपलियाले प्राविधिक नभएकाले सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडी नबढेको र प्रक्रियामा रहेको जानकारी दिए । डा. थपलियाका अनुसार सिटी किन्नेबारे प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग समन्वय भइरहेको छ । ‘हामीले आपूर्तिलाई पठाएका छौँ, हाम्रोमा कोही पनि टेक्निसियन हुनुहुन्न,’ उनले भने, ‘खरिद इकाइहरूमात्रै गठन भएको छ, खासै केही पनि भएको छैन ।’
त्रिशूलीमा तीन करोडको खेल
त्रिशूली अस्पतालका प्रमुख सिंह नै निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाउन सक्रिय देखिए । खरिदमा जोडिएका अस्पतालका केही कर्मचारीले निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी स्पेशिफिकेशन नबनाई खुल्ला प्रतिस्पर्धामा जान सुझाव दिएका थिए । उनले माथिबाटै दबाब छ भन्दै स्पेशिफिकेशन बदल्न मानेनन् नै बरु खरिद प्रक्रिया सुरु भएपछि बायोमेडिकल इन्जिनियरलाई नै निकाले । डेढ वर्ष अघि (२०७८, फागुन) मा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो । त्यो बेला प्रदेशले आह्वान गरेको टेन्डर चाहेको कम्पनीलाई दिने प्रयास गर्दा कमिसनमा विवाद निम्तिएपछि प्रक्रिया नै रद्द भएको थियो । जापानी कम्पनी हिताचीको नेपाली सप्लायर्सले गत वर्ष यही मुख्य प्राविधिक स्पेशिफिकेशन भएको सिटी स्क्यान मेसिन करिब पाँच करोडमा ल्याइदिनेगरी प्रस्ताव गरेका थिए ।
    क्यानन–तोसिवाले करिब ६ करोड ४० लाखको टेन्डर हालेको थियो । स्पेशिफिकेशन अहिले जुन हो मुख्य बुँदा अहिले पनि त्यही नै हो । त्यो बेला पाँच वटा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर सूचनामा सिटी स्क्यान मेसिनको खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर)ले कम्तीमा ८० लाख बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख गरेको थियो । सो जमानत रकमको आधारमा हेर्दा औसतमा पाँच वटा सिटी स्क्यान मेसिन करिब ३२ करोडमा किन्न टेन्डर भएको पुष्टि हुन्छ ।
    यसरी हेर्दा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले डेढ वर्ष अघि खरिद गर्न खोजेको एउटा सिटीको लागत मूल्य करिब ६ करोड ४० लाख देखिन्छ । यो त मेसिन खरिदका लागि छुट्टाइएको बजेटको सिलिङ हो । मेसिन यो रकम भन्दा कममा खरिद हुन पनि सक्थ्यो । तर, डेढ वर्षको अन्तरालमा नै त्रिशूली अस्पतालले त्यही किसिमको मेसिन करिब तीन करोड बढी मूल्यमा किन्न टेन्डर गर्यो ।
    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा) ले सिटी स्क्यान मेसिनको टेन्डर गर्दा उसले पाँच वर्षको वारेन्टी राखेको थियो । ‘दी वारेन्टी पिरियड फर दीज् आइटम्स स्यालबी फाइव एयर्स कम्प्रिहेन्सीभ वारेन्टी इन्क्लुडिङ एक्स–रे ट्युब, अल पार्टस् एन्ड लेवर’, डेढ वर्षअघि आपूर्ति व्यवस्थापन केन्द्रले गरेको सिटीको टेन्डरको कागजातमा भनिएको थियो ।
    तर, त्रिशूली अस्पतालले ‘दी वारेन्टी पिरियड फर दीज आइटम इन्क्लुडिङ एक्स–रे ट्युब स्यालबी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन अगेन्स्ट एनी म्यानिफ्याक्चर डिफेक्ट्स’ लेखेर अहिले सिटी मेसिनको वारेन्टीको समय दुई वर्ष मात्रै राखेको छ ।
    वारेन्टीको समय घटाउनासाथ मेसिनको मूल्य कम हुनुपर्ने हो । तर उल्टो बढ्यो । वारेन्टीको अवधिभर मेसिनमा कुनै समस्या आए कम्पनीले बेहोर्न‘पर्ने हुन्छ । तर, वारेन्टीको समय सकिएपछि मेसिन खरिद गर्ने संस्थाले नै मर्मत लगायतका खर्च बेहोर्न‘पर्ने हुन्छ । जति छोटो समयको वारेन्टी राख्यो मेसिन ल्याउने सप्लायर्सलाई त्यति बढी फाइदा हुन्छ । वारेन्टी पाँच वर्षबाट घटाएर दुई वर्ष बनाउँदा मेसिनको मूल्य नै करिब तीन करोड कम हुने एक जानकारले बताए । ‘दुई वर्ष वारेन्टी राखेको छ भने त तीन करोड जति फरक हुन्छ,’ ती जानकारले भने, ‘बजेट बढ्ने भनेकै वारेन्टीले हो यस्तोमा ।’
    यो मेसिनमा जुत्ता किन्दा छुट्टै तुना किन्नुपर्छ भन्ने जस्तै गरी प्राविधिक स्पेशिफिकेशन बनाइए देखिन्छ । तर डा. सिंह आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड भएकाले दुई वर्षपछि मेसिन बिग्रिए पनि अस्पताललाई आर्थिक भार नपर्ने कुतर्क गर्छन् । ‘आठ वर्षको कम्प्रिहेन्सिभ पिरियड छ । दुई वर्षको वारेन्टी छ । त्यो स्ट्याण्डर्ड नै हो भनेका छन्,’ उनले भने, ‘सीएमसी छ, उनीहरूले आएर बनाउँछन् ।’ कुराकानीका क्रममा डा. सिंहले मेसिनै छनोट भइसकेजस्तै गरी कुरा गरेका थिए । ‘जुनजुन कम्पनीको बीडमा परेन नि, यिनीहरूले ठ्याक्कै यही–यही प्रश्न गरेको छन्,’ डा. सिंहले भने ।
कर्मकाण्डी प्री–बिड मिटिङ
त्रिशूलीको टेन्डर सूचनामा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र प्रस्तावक कम्पनी (बिडर) ले कम्तीमा २१ लाख १३ हजार दुई सय बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) राख्नुपर्ने उल्लेख छ । सो जमानत रकमको आधारमा हेर्दा औसतमा करिब आठ करोड ४५ लाख २८ हजार मूल्यको सिटी स्क्यान मेसिन खरिदको लागि टेन्डर भएको देखिन्छ । तर, यो सिटी खरिदका लागि बजेटको सीमा आठ करोड मात्र हो ।
    सामान्यतया टेन्डर आह्वान गर्न‘ अघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई खरिद गरिने मेसिनको स्पेशिफिकेशन पठाइन्छ । सप्लायर्सले दिएको मेसिनको लागत अनुमानलाई आधार मानेर टेन्डर गर्ने संस्थाले मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत अनुमान तयार गर्छ । सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत तयार गरी टेन्डर प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ ।
    त्रिशूलीको टेन्डर आह्वानको सूचनामा ‘प्रि–बिड मिटिङ’ हुने मिति कात्तिक एक गते बुधवार दुई बजे (अक्टोबर १८)  लाई तोकिएको थियो । तोकिएको समयमा अस्पतालले ‘प्रि–बिड मिटिङ’ पनि राखेको देखिन्छ । टेन्डर आह्वानपछि ‘प्रि–बिड मिटिङ’को छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने हो ।
    प्रि–बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन् । त्रिशूली अस्पतालको ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग समेत गरेका थिए । अस्पतालले क्यानन–तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय सप्लायर्सहरूलाई थाहा हुने नै भयो । उनीहरूले प्राविधिक स्पेशिफिकेशनका बुँदा संशोधनको माग पनि गरे ।
    अस्पतालले कात्तिक १३ गते सोमबार (अक्टोबर, ३०) मा सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ । तर, प्रमुख बुँदाहरूमा भने झन् बढी क्यानन–तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी संशोधन गरियो । करिब २४ घण्टा (साउन १९ गते) भित्रमा स्पेशिफिकेशन बुझाउन ‘माथिबाटै अर्डर आएको छ’ भन्दै अस्पतालकै एक कर्मचारीले साउन दुई गते त्रिशूली अस्पतालका सम्बन्धित कर्मचारीलाई स्पेशिफिकेशन सहित पठाएको म्यासेज उकेरासँग सुरक्षित रहेकाले यसले समेत खरिदमा भइरहेको मिलेमतो पुष्टि गर्छ ।
    डा. सिंहले गरेको कुराकानीबाट समेत निश्चित कम्पनीको उत्पादकसँग मिल्नेगरी स्पेशिफिकेशन बनाएको पुष्टि हुन्छ । उनले प्रि–बीड मिटिङमा ४–५ वटा सप्लायर्स सहभागी भएको र प्रि–बीडमा आएको राय अनुसार स्पेशिफिकेशन थप खुला गरेर सबैजसोले टेन्डर हाल्न पाउने वातावरण बनेको दाबी गरे । ‘स्पेशिफिकेशन पब्लिष्ट भएपछि तीन वटा जस्तोले मात्रै बीड गर्न पाउँछ डाक्टरसाप भनेर कुरा आयो । (बीड गर्न) अरू नपाउनेहरू आए,’ डा. सिंहले भने, ‘प्रि–बिडमा सबैको राय लियौँ । अब त लगभग सबैलाई नै ओपन छ त्यो ।’
त्रुटि देखिए खरिद रोक्न लगाउँछु
खरिद प्रक्रियामा संलग्नताबारे स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सम्पर्क गर्ने प्रयास सफल भएन । उता बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भने सिटी खरिद प्रक्रियामा कुनै त्रुटिका गुनासो आए र त्रुटि देखिए प्रदेश सचिवमार्फत खरिद प्रक्रिया नै रोक्न निर्देशन दिने बताए । उनले त्रिशूली, सिन्धुली र भक्तपुरमा सिटी आवश्यक देखिएपछि खरिदका लागि बजेटको व्यवस्थापन गरेको जोशीले बताए । ‘त्यस्तो भएको भए, उजुरी केही परेको भए म सचिवज्यूमार्फत त्यो (खरिद प्रक्रिया) रोक्न लगाउँछु, हेर्न लगाउँछु,’ स्वास्थ्यमन्त्री जोशीले भने, ‘त्रुटि छ भने त (खरिद प्रक्रिया रोक्न) निर्देशन दिन सकिहालिन्छ नि ।’
    स्वास्थ्यमन्त्री जोशीले सिटी खरिदका लागि अस्पताललाई तोकेर नै बजेट विनियोजन भएको बाहेक आफूलाई खरिद प्रक्रियाको बारेमा जानकारी नभएको बताए । ‘प्रक्रिया अगाडी बढाउने काम अस्पतालको हो,’ मन्त्री जोशीले भने, ‘त्यो (काम) मन्त्रालयको हैन ।’
    मिलेमतोबारे जिज्ञासा राख्दा उनले मन्त्रालय आफैँले यस्तो खरिदको काम गर्नु हुँदैन र नीति नियम बनाउने काम हो भन्ने  आफ्नो मान्यता रहेको तर्क गर्दै उनले मन्त्रालय आफैँले सामान खरिद गर्ने काम गर्नु हुँदैन भनेर अस्पतालहरूलाई जिम्मा दिएको बताए ।

विदुरको कोसेली घर र वधशाला सञ्चालनको तयारीमा

 विदुरको कोसेली घर र वधशाला

विदुर । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बसपार्कमा निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको कोसेली घर । नगरपालिकाले उपलब्ध गराएको जग्गामा दुई तलाको (भुइँ र पहिलो तला) कलात्मक शैलीमा निर्माण भएको कोसेली घर ।
    नगरपालिका र जिल्लाका लघु उद्यमी तथा कृषकले उत्पादन गरेको सामग्री प्रदर्शनी र बिक्री गर्ने र विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने उद्देश्य रहेको कोसेली घरको रहेको छ । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको लागत साझेदारीमा निर्माण सम्पन्न भएको भवनको कुल लागत ८५ लाख रहेको भए पनि उपभोक्ता समितिमार्फत निर्माण हुँदा ७० लाखमा सम्पन्न भएको छ ।
    भवन निर्माणमा नगरपालिकाको २२ लाख र घरेलु तथा साना उद्योग कार्यालयको ४८ लाख लगानी रहेको उपभोक्ता समितिले जानकारी दिएको छ ।
    २०७७ सालमा निर्माण सुरु भएको कोसेली घर ०७९ मा सम्पन्न भएको थियो । नगरको आय–आर्जनसँग जोडिएको कोसेली घर र वडा नम्बर ४ सिमचौरको घुमाउनेमा निर्माण सम्पन्न भएको वधशाला सञ्चालनको पर्खाइमा रहेको छ ।

विदुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासिकमा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आवको तीन महिनामा एक करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ३८.९३ प्रतिशतले वृद्धि हो ।
    गत वर्षको पहिलो त्रैमासमा नगरपालिकाले एक करोड ११ लाख २८ हजार ६२८ राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ राजश्व वृद्धि भएको विदुर नगरपालिका नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिएका छन् । यस नगरपालिकाले सबैभन्दा धेरै एकीकृत सम्पत्ति  शिर्षकबाट राजस्व संकलन गरेको छ । सो शिर्षकबाट रु १४ लाख २७ हजार ८९० रुपैयाँ संकलन भएको हो ।
    अन्य भूमिकरमा १४ लाख २१ हजार ५१४ रुपैयाँ र व्यवसाय दर्ता करमा ६ लाख ७४ हजार २२० रुपैयाँ संकलन गरेको छ । विज्ञापन करमा ३२ हजार एक सय रुपैयाँ, दस्तुर तथा सेवा शुल्कमा चार लाख २० हजार २२० रुपैयाँ, निकासी करमा एक हजार, वहाल करमा २१ लाख ४५ हजार ७२१ रुपैयाँ, पञ्जीकरण दर्तामा दुई लाख २२ हजार आठ सय रुपैयाँ संकलन भएको छ । नक्सा पासबाट १५ लाख ३६ हजार ४७८, नाता प्रमाणितमा एक लाख ४६ हजार पाँच सय रुपैयाँ, सिफारिस दस्तुरमा १९ लाख ९८ हजार २९९ रुपैयाँ, शिक्षा क्षेत्र शुल्क तथा दस्तुरमा तीन हजार चार सय रुपैयाँ संकलन भएको छ ।
    राजस्व वृद्धिमा वडागततर्फ गत आवभन्दा चालुआवमा सबैभन्दा बढी १३ नम्बर वडाको १०७.९१ प्रतिशत र सबैभन्दा कम ९ नम्बर वडाको ३.०९ प्रतिशत राजस्व वृद्धि भएको देखिएको छ । यस्तै चालु आवमा वडा नम्बर ४ ले सबैभन्दा बढी र सबैभन्दा १३ नम्बर वडाले कम राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा १ नम्बर वडाले ११ लाख नौ हजार २०१ रुपैयाँ, २ नम्बर वडाले १३ लाख ५९ हजार १० रुपैयाँ, ३ नम्बर वडाले छ लाख ७७ हजार १६९ रुपैयाँ, ४ नम्बर वडाले २२ लाख ७० हजार ६६३ रुपैयाँ र ५ नम्बर वडाले १४ लाख ६६ हजार ६३९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
    ६ नम्बर वडाले सात लाख ८३ हजार ५६२ रुपैयाँ, ७ नम्बर वडाले चार लाख ९८ हजार ५११ रुपैयाँ, ८ नम्बर वडाले छ लाख ६८ हजार ४९१ रुपैयाँ, ९ नम्बर वडाले १३ लाख तीन हजार ७२० रुपैयाँ, १० नम्बर वडाले चार लाख २९ हजार ६५० रुपैयाँ, ११ नम्बर वडाले तीन लाख ३८ हजार ५६२ रुपैयाँ, १२ नम्बर वडाले दुई लाख ९२ हजार १२० रुपैयाँ र १३ नम्बर वडाले पाँच लाख ५२ हजार ५४८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

किस्पाङमा अस्पताल बन्ने

 किस्पाङमा अस्पताल

काहुले । नेपाल सरकारको संघीय मन्त्री परिषद्ले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको ४ रोपनी जग्गा सोही गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् ।
    यसै बीच, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा सरकारले नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा अस्पताल भवन निर्माणका लागि उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

लामटाङमा विदेशी भन्दा स्वदेशी पर्यटक बढी

 लामटाङमा स्वदेशी पर्यटक

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रसुवा जिल्लाको लामटाङ विदेशीभन्दा स्वदेशी पर्यटकले अहिले भरिभराउ भएको छ । गोरो छाला हुनेलाई मात्र पर्यटक मान्ने नेपालीको सोचाइलाई लामटाङ पदमार्गमा स्वदेशी पर्यटकको भिडले सोच बदलेको छ ।
    यस क्षेत्रमा पर्यटकीय सिजन वर्षको ६ महिना अर्थात् असोज, कात्तिक, मंसिर र फागुन, चैत, वैशाख रहेको छ । यस वर्षको पहिलो पर्यटकीय सिजनमा विदेशीभन्दा स्वदेशी पर्यटक ओइरिएपछि यहाँका होटेल, लज भरिभराउ भएका छन् । लामटाङ राष्ट्रिय निकुञ्जमा रहेको यो क्षेत्र गोसाइँकुण्ड गाउँपालिका– ४ मा पर्छ । लामटाङ पदमार्ग स्याफ्रुबेँसीबाट सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि लामटाङसम्म २९ किलोमिटर रहेको छ । काठमाडौंबाट स्याफ्रुबेँसीसम्म सडकमार्ग छ ।
    लामटाङका व्यवसायीलाई असोज लागेपछि पर्यटकलाई वास राख्न र खुवाउन भ्याइनभ्याई भइरहेको वडा नम्बर ४ का अध्यक्ष ढिण्डुप जाङ्वाले बताए । यसपटक नेपाली पर्यटक अत्यधिक आएकोसमेत उनले जानकारी दिए । कोरोना महामारीपछि बिस्तारै लामटाङमा पर्यटक संख्या र गतिविधि बढ्दै गएको छ ।
    दसैँ, तिहारको समयमा रसुवाको लामटाङ र गोसाइँकुण्ड क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन होटेल व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । मौसम खुलेको समय र दसैँ, तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा गोसाइँकुण्ड र लामटाङ क्षेत्र पर्ने गरेका छन् ।
    काठमाडौंबाट छोटो दूरी र छोटो समयमा पदयात्रा गर्न सकिने भएकाले पनि रसुवाका यी दुई क्षेत्र विदेशी र स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेका हुन् ।
    गत साता ललितपुर गोदावरीका अशोक सिलवाल चारजना साथी लिएर रसुवाको सदरमुकाम धुन्चे हुँदै स्याफ्रुबेँसीबाट लामटाङ प्रस्थान गरेका थिए । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्न गोदावरीबाट दसैँको बिदामा आएको उनले बताए । रसुवा कालिकास्थानका प्रह्लाद खतिवडा पनि दसैँको टीका लगाएर ६ जनाको दलबलसहित लामटाङको दृश्यावलोकनका लागि गत हप्ता प्रवेश गरेका थिए । उनी मात्र होइन, सर्वोच्च अदालतका न्यायाधीशसहित उच्च अदालतका न्यायधीशको टिमले समेत दसैँअगाडि यस क्षेत्रको भ्रमण गरेको क्यान्जिन गुम्बाका होटेल व्यवसायी तेन्जिन डोल्मा लामाले बताइन् । विदेशीका अलावा लामटाङ क्षेत्रको भ्रमण गर्नेमा नेपाली सेनाको उच्च तहका व्यक्तिसमेत रहेका छन् । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी (जर्नेल) शंकर पण्डितले त यस वर्षको दसैँ यतै बिताए । दसैँ यस वर्ष नभएकाले काठमाडौंबाट नजिकको पदयात्रामार्ग लामटाङ हिमालको दृश्य अवलोकन गर्न रोजेको उनले बताए ।
    लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने लामटाङ पदमार्ग क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । विगतमा दसैँको समयमा बाह्य पर्यटकको मात्र चहल–पहल हुने गरेकामा यस वर्ष नेपालीको चाप थेग्नसमेत होटेल व्यवसायीलाई गाह्रो परिरहेको छ ।
    विदुरका ओमराज श्रेष्ठ दाजुभाइ दसैँ बिदाको समय सदुपयोग गर्न लामटाङ भ्रमणमा आएको भेटियो । उनी भन्छन्, ‘लामो समयदेखि लामटाङ आउने योजना थियो, बल्ल यस वर्ष आउने समय मिल्यो ।’ लामटाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको श्रेष्ठको भनाइ छ । ‘हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवद्र्धन गर्न सक्नुपर्छ,’ उनले भने ।
    श्रेष्ठजस्तै नुवाकोट बट्टारकी रिता कार्की पनि आफन्तको टोली बनाएर आइतबार लामटाङको प्राकृतिक सौन्दर्यसँग रमाउन व्यस्त थिइन् । ‘लामटाङबाहेक अरू कुन ठाउँ हुन सक्छ स्वर्ग ? यही हो, एकपटक आउनैपर्ने ठाउँ नै लामटाङ हो, जीवित अवस्थामा नै स्वर्ग पुगेको आभास भइरहेको छ,’ कार्कीले भनिन् । ‘मरेपछि स्वर्ग पुगिन्छ–पुगिँदैन, जिउँदै आएका छौँ हामी त स्वर्गमा, यस ठाउँमा एकपटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ,’ उनले भनिन् ।
    चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको कार्कीको सुझाव छ । सात सय वर्षभन्दा पुरानो क्यान्जिङ गुम्बा, एसियाकै पहिलो उच्च स्थानमा रहेको याक चिज उत्पादन केन्द्र, लामटाङ बेसक्याम्प, हिमाली दृश्यावलोकन गर्ने क्यान्जिन रीलगायत अवलोकन गर्ने ठाउँ रहेको छ ।
    यहाँ पुग्ने पर्यटकले लामटाङ पदमार्गको हिमाली दृश्यको साथसाथै तामाङ संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै लामटाङको आतिथ्य सत्कारलाई भरपूर रूपमा आनन्द लिन सक्छन् । यहाँका बाटोमा आउँदा झरना, खोला, खोल्सा, भिर, पहाड, उकाली–ओरालीको भरपूर रूपमा घुम्दै एक हप्ता बिताउन सकिन्छ । कार्कीले भनिन्, ‘यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।’ यहाँ आएर हिमालको एकदम नजिक पुगेजस्तो भइरहेको छ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
    यसले प्रस्ट हुन्छ कि नेपाली समाजमा भ्रमण गर्ने प्रचलन बढेको छ । नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपूर सदुपयोग गर्न थालेका छन् । यसमा हिन्दूहरूको महान् पर्व बडादसैँ र तिहार यस वर्ष एउटै महिनामा परेको छ । अहिले नेपालीले बिदाको समय पूर्ण रूपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् ।
    दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, स्कुल अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै लामटाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला लामटाङ आउने आन्तरिक पर्यटक बढेका छन् । दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र लामटाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् । विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको वडाध्यक्ष ढिण्डुप जाङ्वाले बताए । उनका अनुसार दसैँको बिदामा दैनिक रूपमा लामटाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यवसाय उकासिने अपेक्षासहित व्यवसायीमा खुसी छाएको छ ।
    स्थानीय होटेल व्यवसायी निमा लामा भन्छिन्, ‘आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याइनभ्याई छ ।’ दसैँको बिदामा दैनिक आन्तरिक पर्यटक एक हजार पाँच सयभन्दा बढी आइसकेको लामाले बताइन् । ‘हामीलाई भ्याइनभ्याई भएको छ, स्थानीय होटेल व्यवसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दसैँ आउँदाको भन्दा बढी खुसी छाएको छ,’ उनले भनिन् । अहिले लामटाङका सबैजसो होटेल भरिभराउ रहेको उनले बताइन् ।
    आन्तरिक पर्यटकले लामटाङलाई गन्तव्य बनाएर आउँदा होटेल तथा पर्यटन व्यवसायी बन्द–व्यापार चलायमान भएको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको स्थानीय होटेल व्यवसायी याङजिन तामाङले बताए । ‘यस वर्ष लामटाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नभए दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ,’ उनले भने । पर्यटकले यस क्षेत्र प्रवेश गर्दा मौसम र वासस्थानका लागि भने आवश्यक जानकारी लिनुपर्ने उनको सुझाव छ । चिसो मौसममा होटेल नपाउने समस्या हुन सक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उनको सुझाव छ ।
    तामाङले भने, ‘विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।’ यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उनले बताए । पर्यटकीय सिजन भएकाले सबै प्रकारका होटेलमा पर्यटक रहेका वडाध्यक्ष जाङ्वाले जानकारी दिए । आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उनले बताए ।
    ‘जुनसुकै होटेलमा धेरथोर भए पनि पर्यटक रहेको पाइन्छ,’ जाङ्वाले भने । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा लामटाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी लामटाङमा पर्यटक घुम्न आउने गर्दछन् ।
    पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, लामटाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै लामटाङ हिमाल चढ्न र पुरानो ऐतिहासिक गुम्बा (७ सय वर्ष पुरानो) तथा एसियाकै पहिलो याक चिज उत्पादन केन्द्र (२००९ सालमा स्थापना भएको) को अध्ययन गर्न लामटाङ आउने गरेको चिज उत्पादन केन्द्रका प्रमुख (विगत २७ वर्षदेखि कार्यरत) ग्याल्बो तामाङले बताए । लामटाङ पदमार्गमार्फत पदयात्रामा आएका पर्यटकले त्यस क्षेत्रका होटेलले लिने शुल्क एकरूपता नभएकोबारेमा गुनासो गर्ने गरेका छन् । पदमार्गका होटेलले खाना र वासको शुल्क तल्लो क्षेत्र बम्बो, रिन्चेन, लामा होटेलमा भन्दा माथिल्लो क्षेत्र घोडातबेला, लामटाङ, क्यान्जिङ गुम्बा क्षेत्रमा केही सस्तो रहेको सञ्चारकर्मी एवम् डबली खबर अनलाइनका सञ्चालक सुनील श्रेष्ठले बताए ।
    पर्यटकीय पदयात्रामार्ग पहिलो सगरमाथा बेसक्याम्प, दोस्रो अन्नपूर्ण बेसक्याम्प र तेस्रो लामटाङ बेसक्याम्प रहेको पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य शिव लामिछानेले जानकारी दिए । पर्यटन व्यवसाय आतिथ्यतामा आधारित व्यवसाय भएकाले स्थानीय व्यवसायीमा त्यो गुण हुनुपर्नेसमेत उनले बताए ।
    लामटाङ क्षेत्रका व्यवसायीले सगरमाथा बेसक्याम्पकै जति खाना, नास्ता र वासलगायत अन्य खाद्य तथा पेयपदार्थको मूल्य रहेको यस क्षेत्रमा आउने पर्यटक र गाइडहरूले बताउने गरेका छन् । यस क्षेत्रमा आउने पर्यटकले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य हुनुपर्ने सुझाव दिने गरेका छन् ।
    जिल्लाका सरोकारवाला निकायले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य भए–नभएको अनुगमन गरेर यो मार्गको भ्रमण गर्ने पर्यटकले यस क्षेत्रको बारेमा सकारात्मक सन्देश लैजाने वातावरण बनाइदिन सके पर्यटकको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य लामिछानेको धारणा रहेको छ । वर्षको ६ महिना स्वदेशी तथा विदेशी पर्यटक ओइरिने यो मार्गको कतिपय ठाउँमा बाटो बगेको, कतिपय ठाउँमा फड्के र पुल हाल्नुपर्ने, पदयात्रीका लागि ठाउँठाउँमा जानकारीमूलक सूचना बोर्ड अपडेट सम्बन्धित निकायले गरिदिनुपर्नेसमेत उनले सुझाव दिए ।
    यो पदमार्गमा घोडा, खच्चर र स्थानीय व्यवसायी तथा पर्यटक जोखिम मोलेरै आवत–जावत गर्ने गरेका छन् । गत वर्ष यो मार्गमा विदेशी र स्वदेशी दुई–दुईजनाको लडेर र ढुङ्गाले लागेर मृत्यु भएको थियो ।

२०८० साल कात्तिक २० गतेको सम्पादकीय

तिहारको हार्दिक शुभकामना
उज्यालो/झिलिमिली चार्ड तिहार । नेपालीहरूको घर–घरमा भित्रिन अब चार दिनम ात्रै बाँकी छ । बजारमा तिहार लक्षित किनमेल बढेको छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चार्डले विशेष भूमिका निभाएको हुन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ । प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । पौराणिक मान्यताअनुसार यस दिन यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन् । त्यही सम्झनामा यो दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने र टीका तथा माला लगाइदिने चलन चलेको हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली माला लगाइदिने र मिष्ठान्न भोजन तथा खानेकुरा खान दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, वस्त्र, गहनालगायत सामग्री दिने परम्परा तथा प्रचलन रहँदै आएको छ ।
    भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतीक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतीकका रूपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइको पूजा हुने र दिदीबहिनीलाई पनि टीका लगाई दक्षिणा, वस्त्र र गहना दिने प्रचलन रहेकाले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिने गरिन्छ । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ । यसका साथै यही दिनदेखि नेपाल संवत्अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ ।

नेपालीहरूको बडा दशैं पछिको दोस्रो ठुलो पर्व तिहारको चौतर्फी उत्साह र रौनकता लगभग भाइनै सकेको छ । शहदेखि गाउँसम्म तिहार पर्वको खुशियाली छाएको छ । उज्यालो पर्वको रुपमा मनाइने यस पर्वमा झिलिमिलि बत्तीले घरहरू रंगिने सुरसार भएका छन् । शहर बजारमा फूल र अरु व्यापार व्यवसायको चहलपहल सुरु भएको छ । तिहार उज्यालो पर्व त हुँदै हो । यसका अतिरिक्त रंगहरूको पर्व पनि हो । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाइरहेको छ । दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ ।
    केही वर्ष यता छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । तिहार पर्वले पनि दशैं जस्तै सर्वत्र व्यापकता पाउदै गएको छ । तिहारले पनि राष्ट्रिय महत्व पाएको छ । बडादशैं पछि नेपाल सरकारले सबै भन्दा धेरै दिन सार्वजनिक विदा दिने गर्दछ । यस पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बीचमा होस् या दाजुभाइ, दिदीबहिनीहरूका बीचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई स्थापित गर्छ । यस वर्षको तिहारले पनि नेपाली समाजमा सबैका माझमा अझी बढी आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । तपाई सम्पूर्ण पाठक महानुभावहरूमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।

२०८० साल कात्तिक २० गते । वर्ष:१७ अंक:६

 

Monday, October 30, 2023

किस्पाङमै चिकित्सा र फार्मेसी पढाई

किस्पाङको ऐसेलुभुमे मावि र काहुले गाउँ

काहुले । नुवाकोटमै पहिलो पटक किस्पाङ गाउँपालिकामा ‘सामान्य चिकित्सा’ (हेल्थ असिस्टेन्ट) र ‘डिप्लोमा इन फार्मेसी’ पढाइ हुने भएको छ ।
    किस्पाङ गाउँपालिकाले किस्पाङ बहुप्राबिधिक शिक्षालय मार्फत जिल्लामै पहिलो पटक ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ पढाउन लागेको हो । गाउँपालिकाले यसका लागि सम्पूर्ण तयारी समेत पूरा गरेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गाउँपालिकाले गाउँसभा मार्फत बजेट सुनिश्चित गरेर किस्पाङ बहुप्राबिधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ को कक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि चिकित्सा शिक्षा आयोगको सहमतिमा प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले सञ्चालन अनुमति दिएको छ ।
    परिषद्ले सञ्चालन अनुमति दिएसँगै भर्ना पनि खुलाएको छ । किस्पाङ बहुप्राबिधिक शिक्षालयले ‘सामान्य चिकित्सा’ मा ४० जना र ‘डिप्लोमा इन फार्मेसी’मा ४० जना पढाउने गरी अनुमति पाएको छ । गाउँपालिकाले अनुमति प्राप्त गरेसँगै न्यून शुल्कमा गुणस्तरीय प्राबिधिक शिक्षा दिने भन्दै तीन वर्षका लागि एकमुष्ठ एक लाख पन्चानब्बे हजार रूपैयाँ शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ठ तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले जानकारी दिए ।
दुबै विषयमा ४०–४० जना
प्रमुख प्रशासकीय अधिकृत खतिवडाले असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको बताए । परिषद्ले अनुमति दिनु अघि किस्पाङ बहुप्राबिधिक शिक्षालयको सम्भाव्यता अध्ययन र निरीक्षण गरेको थियो । अध्ययन र पूर्वाधार निरीक्षण टोलीमा चिकित्सा शिक्षा आयोग र परिषद्का विज्ञहरू सहभागी थिए । उनीहरूको रायपछि परिषद्ले अध्ययनका लागि अनुमति दिएको हो । नुवाकोटकै दुर्गम गाउँको उपमा पाएको किस्पाङमा जिल्लामै पहिलो पटक स्वास्थ्यका दुई विषय ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’को अध्यापन हुनेभएपछि स्थानीयहरू उत्साहित बनेको गाउँपालिकाका अध्यक्ष बीरबल तामाङले बताए ।
    नेपाली कांग्रेसका नेता समेत रहेका गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामा गाउँपालिकाले शिक्षालय सञ्चालनका लागि अनुमति पाउँदा निकै खुशी लागेको र सबैले सहयोग गरेर सफल बनाउनुपर्ने बताए । पूर्व अध्यक्ष लामाले आफूले पनि  
सहयोग गरेको बताउँदै सम्बन्धनका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले निकै मिहेनत गरेको उनले बताए । निजीमा करिब ४ लाख रूपैयाँ फार्मेसी इन डिप्लोमा र करिब पाँच लाख रूपैयाँ सामान्य चिकित्सा अध्ययन गराउन शुल्क छ । तर गाउँपालिकाले एक लाख पन्चानब्बे हजारमै दुबै शिक्षा दिने उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । न्यौपानेले भने, ‘सदरमुकाम भन्दा बाहिर दुर्गममा पनि गरिब र न्यून आय भएकालाई पनि शिक्षा दिनुपर्छ । नुवाकोटका विद्यार्थी देशको अन्य भागमा पुग्दा आर्थिक बोझ थोपरिएर पनि गुणस्तरीय शिक्षा नपाइरहेको अवस्थामा न्यून शुल्कमा गुणस्तरीय प्राबिधिक शिक्षा दिनेगरी तयारी गरेका छौँ । यो सम्पूर्ण जिम्मेवारी नाफाका लागि नभई जनताका लागि  गरेका हौँ । सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’
    त्रिशुली अस्पताल नमूना बनाउन विकास समितिको अध्यक्ष भएर सफल नेतृत्व गरेका न्यौपानेले अब ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ राम्रो नतिजा दिन गाउँपालिकाले हरतरहले वातावरण बनाउने बताए । उनले अब किस्पाङ विस्तारै प्राविधिक शिक्षाका लागि केन्द्र बन्ने दाबी गरे ।
प्राबिधिक शिक्षा दिने पहिलो पालिका
बागमती प्रदेशमा यी कार्यक्रम सञ्चालन गरेर शिक्षा सेवा विस्तार गर्ने पहिलो गाउँपालिका बनेको छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तह रहेका छन । बागामतीका ७४ गाउँपालिका मध्ये नुवाकोटको किस्पाङ गाउँपालिका आफैँ स्वास्थ्यतर्फको प्राबिधिक शिक्षालय सञ्चालन गर्ने पहिलो पालिका बनेको हो ।
    किस्पाङ बहुप्राबिधिक शिक्षालयका लागि तत्कालका लागि ४२ कोठे छात्राबास भवन र २१ कोठाको कक्षाहरू रहेका छन् । प्रशिक्षकहरूको चुनौति रहे पनि सहज रूपमा सञ्चालन गर्न सकिने प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत स्वास्थ्य सेवाका अधिकृत विनोद न्यौपाले जानकारी दिए । गाउँमै बसेर प्राविधिक शिक्षा पढ्न चाहनेका लागि यो धेरै महत्वपुर्ण अवसर हुने न्यौपानेले बताए । उनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले प्राविधिक शिक्षामा गाउँपालिकाले लगानी गरेको बताए ।
पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिकि शिक्षाको केन्द्र पनि बन्ने भएको छ । नुवाकोट जिल्लाको साविक गाविसहरू साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिली किस्पाङ गाउँपालिका बनेको हो । यस गाउँपालिकाको पूर्वमा रसुवाको उत्तरगया, पश्चिममा नुवाकोटको म्यागङ, उत्तरमा धादिङको रुविभ्याली गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ । यस गाउँपालिकाको जनसंख्या १४८६१ र क्षेत्रफल ८२.५७ वर्ग किमी रहेको छ ।

बुधवारबाट बेलकोटगढी महोत्सव

प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८०

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव हुने भएको छ । महोत्सवलाई प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० नाम दिइएको छ । महोत्सवको उद्घाटन पर्सी बुधवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गर्नेछन् । महोत्सव ११ दिन (कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म) सञ्चालन हुने छ ।
    महोत्सव स्थल केउरीनीको त्रिशुली नदी बगरमा स्टल तथा खेल र मनोरञ्जनका सामाग्रीहरू व्यवस्थापन भइसकेको महोत्सवका व्यवस्थापक नविन केसीले जानकारी दिएका छन् । उनका अनुसार ११५ वटा स्टलहरू तयार भएका छन् । ति स्टलहरूलाई बेलकोटगढी नगरपालिकाको पहिचान र उत्पादनले भरिभराउ पारिने तयारी छ । साथै नुवाकोट जिल्लाका कृषि तथा परम्परागत उत्पादनले महोत्सवमा विशेष स्थान प्राप्त गर्ने छन् ।
    महोत्सवको तयारी पुरा भएको र अब उद्घाटनको दिनको प्रतीक्षा मात्रै रहेको वडा नं. ५ का अध्यक्ष मदन भुजेलले जानकारी दिएका छन् । महोत्सवको आयोजना बेलकोटगढी नगरपालिका वडा नं. ५ ले गरेको हो । महोत्सवको सह आयोजकमा बेलकोटगढी नगरपालिकाको वडा नं. ५ बाहेकका सम्पूर्ण वडाहरू, संरक्षकमा बेलकोटगढी नगरपालिका र विशेष सहयोगी संस्थाका रुपमा जिल्ला समन्वय समिति नुवाकोट रहेको छ ।
    देविघाट–गल्छी मुख्य सडकसंगै रहेको नदी किनारलाई महोत्सव स्थल बनाइएकोले दर्शकहरूलाई महोत्सव स्थलसम्म पुग्नक यातायातको कुनै अभाव र आवातजावतमा समस्या नहुने आयोजकले जनाएको छ ।
    सांस्कृतिक कार्यक्रमको समेत भब्य तयारी रहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती कमाएका ६० भन्दा बढी कलाकारहरूको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सव व्यवस्थापक केसीले बताए । उनका अनुसार महोत्सवमा झण्डै एक करोड रुपैयाँको कारोवार हुने अनुमान गरिएको छ । धादिङ नजिकै महोत्सव आयोजना भएकोले धादिङका व्यापारि, कृषक तथा दर्शकहरूले समेत महोत्सवबाट फाइदा र मनोरञ्जन लिनसक्ने बताइएको छ ।

आठौं नुवाकोट महोत्सव माघ २५ देखि

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले आठौं नुवाकोट महोत्सव माघ २५ देखि फागुन ८ गतेसम्म गर्ने भएको छ । संघको आयोजनामा हुने महोत्सव विदुरमा हुने बताइएको छ ।
    संघले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६, २०७०, २०७३, २०७४, २०७६ र २०७९ मा सम्पन्न गरिसकेको छ । कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव गर्न लागेको संघले जानकारी दिएको छ । विगतमा सम्पन्न महोत्सव अनुभव र जिल्लावासीको सल्लाह, सुझावमा यसपटकको महोत्सव विशेष हुने वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास र सांस्कृतिक जागरण गराउने महोत्सवको उद्देश्य छ ।
    विगतमा गरेको महोत्सवले जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको होटेल व्यवसायी संघका अध्यक्ष बासु अधिकारीले बताए । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणलाई उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा सहयोग पुग्ने संघको अपेक्षा छ ।
    जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु¥याउने, स्थानीय बजारको विकास, विस्तार एवम् विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तत्र्रिmया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्ग र टोखा–छहरे सुरुङमार्ग, बालाजु–ककनी–पिपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको निर्माण अगाडि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य संघले राखेको छ । महोत्सवको तयारीका लागि जिल्लास्तरीय सरोकारवालाको बैठक गर्ने तयारी गरिरहेको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन् ।

घट्यो खसी–बोकाको बिक्री

काठमाडौं । धादिङको नीलकण्ठ– ५ का पूर्णबहादुर श्रेष्ठ काठमाडौंको नागार्जुन नगरपालिका– १ मा मासु पसल चलाउँछन् । उनको धादिङ मिट सपले हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार गथ्र्यो । यस वर्ष पनि दशैं नजिकिएसंगै पूर्णबहादुरले धादिङ र गोरखाबाट मासु बिक्रीका लागि २ दर्जन खसी–बोका खरिद गरेर ल्याए । फूलपातीको अघिल्लो दिन काठमाडौं आइपुगेका खसी–बोकाको मासु पुरै बिक्री होलान् भन्ने उनको आशा थियो । तर, दशैं सकियो उनले गाउँबाट ल्याएको खसी–बोका अझै दाम्लोमै छन् ।
    यस पटक मानिसहरू दशैंमा मासुमा खर्च गर्न हच्किएको उनको अनुभव छ । ‘यो वर्ष मान्छेहरूले मासु नै कम खाए । सिङ्गो खानेले आधा खाए । आधा खानेले किलो  खाए,’ उनले अनुभव सुनाए, ‘पैसा नै नभएका कारण ग्राहकले मासुमा कम खर्च गरे ।’
    कैलालीका अमर राना दशैंका बेला सातजना साथीहरूसँग मिलेर दार्चुला र बैतडीबाट खसी–बोका तथा भेडा–च्याङ्ग्रा ल्याएर धनगढीलगायतका बजारमा बिक्री वितरण गर्थे । यसपटक पहिलेभन्दा थोरै खसीबोका ल्याएको तर त्यो पनि सबै बिक्री नभएर आफ्नो समूह यसपालि ठूलो घाटामा गएको राना बताउँछन् । गत वर्ष २५ सयको संख्यामा खसी–बोका, च्याङ्ग्रा र भेडा बिक्री गरेकामा यो वर्ष ६ सय गोटा पनि मुस्किलले बिक्री गरेको राना बताउँछन् ।
    पहिलो लटमा बजार झार्न भनेर किनेर राखेका १५० गोटा खसी–बोका बिक्री नहुने भएपछि पहाडबाट अझै नझारेको उनले बताए । ती खसी–बोका, च्याङ्ग्रा र भेडा तिहारका लागि धनगढी झार्ने तयारी गरेको अमर बताउँछन् ।
    काठमाडौं र धनगढीमा मात्रै होइन, देशभर नै गाउँदेखि सहरसम्म यस पटक उपभोक्ताले मासुको खपत घटाएको व्यवसायीहरू बताउँछन् । कतिपय किसानहरूले घरबाटै खसी बिक्री गर्न पाएनन भने बिक्री गरे खसी–बोका, च्याङ्ग्रा र भेंडा पनि बजारमा खपत नभएको व्यापारीको भनाइ छ ।
    खसीको मासु बिक्रीमा परिचित नयाँ बानेश्वरको आइकालु मिट सपमा पनि यस पटक ग्राहकले मासु बाहेकका अन्य उत्पादनको किनमेल नगरेको लेखा प्रमुख गोपाल पाण्डे बताउँछन् ।
    ‘पहिले पहिले मासु किन्न आउँदा ससेज लगायतका अतिरिक्त मासुजन्य वस्तु खरिद गर्थे,’ पाण्डे भन्छन्, ‘यस पटक मासु राम्रो बिक्री भयो तर उपभोक्ताले अन्य उत्पादन खरिद गरेनन् ।’ फ्रोजन मासु तथा मासुजन्य अन्य सामग्रीको बिक्री घटेको उनले सुनाए ।
    काठमाडौंमा मात्रै दशैंमा ६० हजार खसी–बोका बिक्री हुने गरेकोमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको नेपाल राष्ट्रिय मासु व्यवसायी संघ अध्यक्ष रमेश खड्गी बताउँछन् ।
सरकारकै पनि बिकेनन्
दशैंमा उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष २२ सय १३ वटा खसी–बोका र च्याङ्ग्रा खरिद गरेको थियो । तर, दशैंमा ती सबै खसी–बोका, च्याङ्ग्रा बिक्री भएनन् । कम्पनीका अनुसार बागमती प्रदेश कार्यालय थापाथलीमा २७० गोटा च्याङ्ग्रा र ३० खसी बिक्री नभएर बसेका छन् । खसी–बोका र च्याङ्ग्राको मूल्य ३ पटक मूल्य घटाउँदा पनि बिक्री नभएको कम्पनीले जनाएको छ ।
    कुल १६ सय ५९ वटा खसी–बोका र ५५४ गोटा च्याङ्ग्रा खरिद गरेकामा ३ सय गोटा नबिकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । बजार मूल्यमा प्रतिस्पर्धी नभएर हो कि भनेर मूल्य घटाइए पनि अझै बिक्री नभएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलोपटक जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६८० र च्याङ्ग्राको १२६० रुपैयाँ तोक्यो । तर, त्यतिमा बिक्न गाह्रो भएपछि दुवैमा प्रतिकिलो १० रुपैयाँ छुट दिइयो । यस्तै, दोस्रोपटक खसी–बोकाको ६६० र च्याङ्ग्राको १२३५ र तेस्रो पटक घटाएर खसी–बोकाको ६०० र च्याङ्ग्राको ११६० रुपैयाँ प्रतिकिलो कायम गरिएको कम्पनीले जनाएको छ । तर, यति मूल्यमा पनि पूरै खसीबोका बिक्री नभएको उनले बताइन् ।
देशभर यस्तै भयो : संघ
संघका अनुसार यो वर्षको दशैंमा देशैभर मासुको बिक्रीमा ह्रास आएको छ । उपभोक्ताले खुलेर चाडपर्वमा खर्च गर्न नसकेका कारण गाउँबाट ल्याएको खसी–बोका गाउमै फर्काउनु पर्ने अवस्था आएको संघका अध्यक्ष रमेश खड्गीले बताए । काठमाडौंमा मात्रै ६० हजार खसी–बोका दशैंमा बिक्री हुनेमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको अध्यक्ष खड्गी बताउँछन् । ‘मासु खाने मानिसहरू विदेश गए । भएकासँग पैसा भएन,’ अध्यक्ष खड्गी भन्छन्, ‘यो वर्ष हामीले नसोचेको अवस्था मासु व्यापारमा आएको छ । खसी फिर्ता लगेको तपाईले देख्न पाउनुहुन्छ ।’
    यो साल सबै प्रकारका मासुको बिक्री घटेको संघका उपाध्यक्ष उमेश खड्गीले बताए । मानिसहरूलाई आर्थिक रुपमा समस्या भएका कारण खर्च गर्नमा हच्केको हुन सक्ने उनको अनुमान छ ।
    काठमाडौंमा करिब ३ वर्षदेखि खसीको मासुको मूल्य १३ सय रुपैयाँ हाराहारी रहेको संघको भनाई छ । मूल्य नबढे पनि बजारमा ठूलो मात्रामा खपतमा ह्रास आउनुको कारणबारे विस्तृत तथ्यांक संकलनकै क्रममा रहेको संघको भनाइ छ ।
    खसी, बोका र च्याङ्ग्रा सहित कुखुराको मासु समेत बिक्री बजारको आकार भन्दा आधाले घटेको संघको दाबी छ । तर, सरकारसँग यसबारे यथेष्ट तथ्याङ्क नभएका कारण यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
    सरकारले २०७६ सालदेखि भारत लगायतका मुलुकबाट खसी बोका आयातमा प्रतिबन्ध लगाएको छ । गत महिना सार्वजनिक भएको राष्ट्रिय कृषि गणनाको तथ्यांकअनुसार नेपालमा पछिल्लो एक दशकमा खसी र बोकाको संख्यामा डेढ गुणाले वृद्धि भएको छ । २०६८ सालमा एक करोड ९ लाख ९० हजारको संख्यामा रहेको खसी बोकाको संख्या २०७८ मा आइपुग्दा एक करोड ४२ लाख ४२ हजार पुगेको छ । –अनलाइन खबरबाट

तस्बिर समाचार

नुवाकोटको ककनी गाउँपालिका वडा नंं ४ को फुङ्गफुङ्गे झरना हेर्न आएका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनको परिवार गत हप्ता तस्बिर खिचाउँदै ।


विद्यालयमा ‘राम्रो राजनीति’ हुनुपर्छ र त्यसको लाभ विद्यालयले लिनुपर्छ : बाबुराम लामिछाने

पृथ्वी मावि विदुरका प्रधानाध्यापक बाबुराम लामिछाने

प्रतिमा मुडभरी

सामुदायिक बिद्यालय भन्नेबित्तिकै हाम्रो मष्तिस्कमा गरिबका छोराछोरीले पढ्ने बिद्यालय वा राजनीतिले तहसनहस पारिरहेको बिद्यालयको चित्र घुमिहाल्छ । तर समयसँगै रूपान्तरित भएर धेरै सामुदायिक बिद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् । त्यस्ता बिद्यालयहरूले नतिजाबाटै समग्र सामूदायिक बिद्यालयमाथि लागिरहेको नकारात्मक आक्षेपको खण्डन समेत गरिरहेका छन् ।
    सामूदायिक बिद्यालयमाथि लाग्ने आम आक्षेपको नतिजाबाटै खण्डन गरिरहेका थोरै सामूदायिक बिद्यालयको अग्रपंक्तिमा पर्छ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको पृथ्वी माध्यामिक बिद्यालय । देशको राजधानी रहेको बागमती प्रदेशको उत्कृष्ट दोस्रो सामूदायिक बिद्यालय रहेको पृथ्वी गत एसइइको नतिताका आधारमा प्रदेशभरीका बिद्यालय मध्ये उत्कृष्ट दोस्रो बनेको हो । सामूदायिक बिद्यालयहरू शिक्षक र व्यवस्थापन समिति र राजनीतिक दलहरूको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रम बढी रहेकै समयमा पृथ्वी माविले भने यी सबै विवाद र निराशा चिर्दै नमूना बनाउने काम गरिरहेको छ । जसको नेतृत्व प्रधानाध्यापक बाबुराम लामिछानेले गरिरहेका छन् । लामिछानेले नेतृत्व गरिरहेको पृथ्वी मावि प्रदेशमा दोस्रो भए पनि काठमाडौँ उपत्यकालाई बाहिर राख्दा पहिलो हुन्छ ।
    एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै उत्कृष्ट बिद्यालय घोषित भएको हो । बिद्यालय प्रदेशभरीमै उत्कृष्ट हुँदा थप उत्साहित भएका प्रधानाध्यापक लामिछाने राजनीतिलाई बाहिर राखेर बिद्यालयको समग्र विकास गर्न नसकिने बताउँछन् । राजनीतिले नै सामूदायिक बिद्यालय बिग्रियो भन्ने तर्क बन्दै गैरहेको परिप्रेक्ष्यमा बाबुराम भने बिद्यालयमा राजनीति हुनुपर्ने र त्यसको लाभ बिद्यालयले लिनुपर्ने बताउँछन् ।
    लामिछानेले राजनीतिलाई सकारात्मक स्थान दिए त्यसले पनि सकारात्मक रूपमै सहयोग गर्ने बताए । प्रधानाध्यापक लामिछाने बिद्यालयको उपलब्धिलाई सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताउँछन् । सामान्य कुराहरूमा ध्यान दिएर काम गर्ने हो भने बिद्यालयहरू नमुना बन्न सक्ने बाबुरामको भनाइ छ । उनले शिक्षकहरू खुशी र उत्साहित भएर कक्षामा प्रस्तुत हुँदा विद्यार्थी मार्फत राम्रो नतिजा दिन सक्ने बताउँछन् । कक्षा कोठामा विद्यार्थी र शिक्षकले गरेको मिहेनत नै बिद्यालय उत्कृष्ट हुनुको कारण रहेको र आफूहरू सिकाइ उपब्लधिमा केन्द्रीत रहेको उनको भनाइ छ ।
    लामिछानेले भने, ‘म राजनीतिलाई सम्मान गर्छु राजनीति समाजको पुँजी हो त्यो पुँजीलाई उपयोग गर्न जान्नुपर्छ । समाजका गतिशिल मान्छे विभिन्न दलमा आवद्ध भएका हुन्छन् उनीहरूलाई निष्पक्ष बस भनेर भन्न सकिदैन, भने पनि मान्दैनन् । त्यसकारण राजनीतिक पुँजीलाई बिद्यालयको हितमा प्रयोग गर्नुपर्छ ।’ बाबुरामले अघि भने, ‘राजनीति गतिशिल हुन्छ । त्यसलाई हितमा प्रयोग गरिएन भने अहितमा प्रयोग हुनसक्छ । हाम्रो बिद्यालयमा राजनीति गर्न आउनेहरूले चाहिँ बिद्यालयको हितमा काम गर्नुहुन्छ ।’ बिद्यालयभित्र राजनीति हुनुहुँदैन भन्ने कुराको बिपक्षमा रहेको बताउने लामिछानेले नेता र जनप्रतिनिधिले समुदायको प्रतिनिधित्व गर्ने बताए । उनले राजनीति गर्नेहरूलाई घृणा गरेर र पूर्वाग्रह राखेर त काम गर्न नै नसकिने बताए । बाबुरामले भने, ‘हाम्रोमा आउनेहरूले बिद्यालयको  स्वार्थलाई केन्द्रमा राखेर काम गरिदिनुहुन्छ । हामीले पनि उहाँहरूका लागि त्यस्तै वातावरण बनाइदिएका छौँ ।’
    प्रधानाध्यापक बाबुरामले बिद्यालयको सफलतामा प्रधानाध्यापकको हैसियतमा आफू पनि खुशी नै रहेको बताए । सामूदायिक बिद्यालयको तुलनामा निजी बिद्यालयको गुणस्तर माथि छ भन्ने आम मान्यता भए पनि नुवाकोटको विदुरमा त्यसको ठीक उल्टो छ ।  पृथ्वी माविमा पढ्न नपाएमात्र विद्यार्थीहरू निजी बिद्यालयमा जाने गरेका छन । गत शैक्षिकसत्रमा त बिद्यालयमा विद्यार्थी र अभिभावको भीड थेग्न हम्मेहम्मे परेको थियो ।
    स्रोत साधानको सीमिततामा काम गर्नुपरेको र सबै अभिभावको चाहना पूरा गर्न नपाउँदा  दुःख लागेको बाबुराम बताउँछन् । सुधार वा प्रगति रातारात वा एकै रातमा हुने कुरा नभए पनि पृथ्वी माविले थोरै समयमा राम्रो विश्वास आर्जन गरेको छ । बिद्यालयले प्राप्त गरेको विश्वासको हिस्सेदार विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला निकाय सबै रहेको भनाइ छ । – दैनीकी डटकमबाट

सदाबहार फूलका पातहरू रामवाण औषधि

सदाबहार फूल

सदाबहार फूलको बोट घरको वरिपरि कतै देख्नु भएको होला । सदाबहार फूललाई अङ्ग्रेजीमा पेरिविङ्कल पनि भनिन्छ । यसको पात र फूल जति सुन्दर देखिन्छन्, यसको औषधीय गुण थाहा पाउँदा तपाईंलाई पत्याउन मुस्किल पर्छ ।
    आयुर्वेदका अनुसार सदाबहार पातको सेवनले शरीरको धेरै गम्भीर समस्यामा धेरै फाइदा गर्छ । आयुर्वेदमा लामो समयदेखि यसको प्रयोग हुँदै आएको छ, यसबाहेक सदाबहार फूल र पातलाई परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ । सदाबहारको पात मधुमेह जस्ता गम्भीर समस्याहरूको लागि रामवाण उपाय मानिन्छ । यसबाहेक मलेरिया, घाँटी दुख्ने र ल्युकेमियाको समस्यामा यसको सेवन निकै फाइदाजनक हुन्छ । सदाबहार पातको प्रयोगले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न पनि निकै फाइदाजनक हुन्छ । सदाबहार पातका फाइदाहरू र यसको प्रयोग कसरी गर्ने भन्ने बारे विस्तृत रूपमा जानौँ । 

सदाबहार पातका फाइदा
आयुर्वेदमा सदाबहारलाई रोगका लागि सञ्जीवनी भनिन्छ । आजको समयमा, आहार र जीवनशैलीसँग सम्बन्धित कारणहरूले गर्दा मानिसहरूमा धेरै समस्या तीव्र गतिमा बढिरहेका बेला सदाबहार पातको प्रयोग धेरै उपयोगी हुन सक्छ । भारतको आरोग्य स्वास्थ्य केन्द्रका आयुर्वेदाचार्य डा. एसके पाण्डेका अनुसार सदाबहार पातको प्रयोगले शरीरमा वात र कफ दोष हटाउन निकै फाइदाजनक हुन्छ । यसमा पाइने तितोपन शरीरका लागि निकै फाइदाजनक हुन्छ । शरीरका यी समस्यामा सदाबहार पातको प्रयोग लाभदायक मानिन्छ ।

१. घाँटीको सङ्क्रमणमा फाइदाजनक
घाँटीको इन्फेक्सनको समस्यामा सदाबहारको पात निकै फाइदाजनक हुन्छ । यसमा पाइने एल्कालोइड्स, अजमालिसिन, सर्पेन्टाइन नामक तत्त्वले शरीरमा रहेको इन्फेक्सनलाई हटाउन निकै उपयोगी मानिन्छ । सदाबहार पातको काढा र रस रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यो फूल तथा यसको पात धेरै उपयोगी छ ।

२. रक्तचापको समस्यामा उपयोगी
सदाबहार रक्तचाप नियन्त्रणका लागि निकै फाइदाजनक हुन्छ । सदाबहार पातमा पाइने गुण उच्च रक्तचापमा फाइदाजनक हुन्छ । रक्तचापको समस्या भएमा सदाबहारको जरा पनि प्रयोग गर्न सक्नुहुन्छ । विशेषज्ञको सल्लाहका आधारमा रक्तचाप नियन्त्रण गर्न सदाबहार पात र जराको सेवन गर्न सकिन्छ ।

३. मधुमेह रोगीका लागि रामवाण
मधुमेहको समस्यामा सदाबहारको पात निकै फाइदाजनक मानिन्छ । यसमा पाइने एल्कालोइड नामक तत्व शरीरमा इन्सुलिन उत्पादन गर्न निकै लाभदायी हुन्छ । सदाबहार पातको जुस पिउनु मधुमेह रोगीको लागि धेरै लाभदायक हुन्छ । सदाबहार पातको रस दिनहुँ बिहान चिकित्सकको सल्लाह अनुसार पिउन सक्नुहुन्छ ।

४. क्यान्सरमा फाइदाजनक
सदाबहार पातमा पाइने क्यान्सर प्रतिरोधी गुणले शरीरमा रहेका क्यान्सर कोशिकाहरूलाई हटाउन वा निको पार्ने काम गर्छ । सदाबहारको पातमा पाइने भिन्क्रिस्टिन र भिन्ब्लास्टाइन एल्कालोइड्सले क्यान्सर कोशिकाहरूलाई हटाउन निकै फाइदाजनक हुन्छ ।

५. छाला सम्बन्धी समस्यामा उपयोगी
छाला सम्बन्धी समस्यामा सदाबहार पातको प्रयोग निकै फाइदाजनक हुन्छ । छालामा चिलाउने, इन्फेक्सन वा अन्य समस्या भएमा सदाबहार पातको लेप प्रभावित क्षेत्रमा लगाउनाले फाइदा हुन्छ । यसबाहेक, सदाबहार पातहरू डन्डिफोर र चाउरीपन आदिको लागि पनि धेरै उपयोगी छन् ।    

माथि उल्लेखित समस्याहरू बाहेक अन्य धेरै समस्या र रोगहरूमा सदाबहार पातको प्रयोग लाभदायक हुन्छ । चिकित्सक वा विज्ञको सल्लाह लिएर सदाबहार पातको प्रयोग गर्नुपर्छ ।

त्रिशुली जलविद्युतको शेयर कारोवार कहिले ?

 त्रिशुली जलविद्युत

नुवाकोट । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीले यहि केही सातमै शेयर सुचिकृत गराउने जनाएको छ ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले  असोज महिना भित्रमा शेयर सूचीकरण गराईसक्ने बताएका थिए । तर कान्तरि केही काम बाँकी रहेकोले अब केही साता लाग्ने बताइएको छ । आईपीओको लागि अंकित मूल्यको बाँकी रहेको ९० प्रतिशत रकम माग गरेको समयमा पूर्ण रुपमा आवेदन नपरेकोले शेयर सूचीकरणमा ढिलाई भएको छ । कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ  अंकित मूल्यको १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।
    कम्पनीले बाँकी ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि १०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै लगानीकर्ताले २०७९ मा बाँकि ९० रुपैयाँको लागि आवेदन नदिएपछि शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए । उनका अनुसार करिब ७ करोड रकम जतिको आवेदन परेको थियो ।  यो शेयर आम सर्वसाधारणकै हकको शेयर भएकोले उनीहरूले आवेदन दिउन् भन्ने उदेश्यले  म्याद थप गर्नको लागि कोशिस गरिएकोले सूचीकरणमा ढिलाई भएको हो । म्याद थपको लागि नियामक निकायमा समन्वय गर्दा म्याद थप सम्भव नभएपछि जति आवेदन आएको छ त्यसकै आधारमा शेयर सूचीकरण गराउने तयारी भईरहेको उनले बताए ।
    सञ्चालक समितिले निर्णय गर्ने र ७ करोड बाहेकको शेयर सूचीकरण प्रक्रिया अगाडी बढ्ने उनले जानकारी दिए । उनले छिट्टै नै संचालक समितिले निर्णय गर्ने र शेयर सूचीकरण भईसक्ने बताए । शेयर सूचीकरण भए लगत्तै कारोबार गर्न सकिने छ ।
    कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । प्रति कित्ता १० रुपैयाँको दरले खरिद गरिएको शेयर त्ख्ऋी सिम्बलमा लगानी कर्ताको मेरोशेयर खातामा आईसकेको छ ।
    कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले २०७९ असोजमा प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने थियो । त्यस समय ७ करोडको आवेदन नपरेको कम्पनीले जनाएको छ । कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनीको आईपीओमा १० हजार कित्ता आवेदन दिएर जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका थिए ।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता नै माग गरेकोमा २० कित्ता नै शेयर पाएकी थिइन् । तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।
    आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
    आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ ।

बुद्धभूमि हाइड्रोपावरको हकप्रद आउँदै

विदुर । नुवाकोटमा सञ्चालित बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।
    बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र एनआइसी एशिया क्यापिटलबीच यस सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्र बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे ।
    सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले कति प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर खुलाएको छैन ।

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

धुञ्चे । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला सवारी साधन, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापतबाट राजस्व वृद्धि भएको हो ।
    भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ माल सामग्रीको नियमानुसार भन्सार शुल्कबापत रु पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको हो ।
    साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ । गत आव २०७९÷८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा २०९ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।  
    मालसामग्री प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताए । यस्तै नेपाली व्यवसायीले झिकाएको करिब ५०० चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाई काठमाडौँ लाने कार्य अगाडी बढिरहेको बताइएको छ ।

सुमन पाण्डेलाई पर्यटन नेतृत्व पुरस्कार

सुमन पाण्डेलाई पर्यटन नेतृत्व पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । दुई साता अघि स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरूलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना गरेको हो ।
    समारोहमा २० जना राष्ट्रिय व्यवसायिक र आठ जना अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सिजन मिडियाले जनाएको छ । मिडियाको स्थापना दिवसको अवसरमा नुवाकोटका पर्यटन व्यवसायी सुमन पाण्डे ‘पर्यटन नेतृत्व पुरस्कार’ बाट पुरस्कृत भएका छन् । पर्यटन र होटल व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शहरी विकास मन्त्री सीता गुरुङले संयुक्तरुपमा अवार्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन् र यसको माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिने बताए । समारोहमा आइकोनीक मुभी पर्सनालिटी अवार्ड वरिष्ठ फिल्मी कलाकार नीरविक्रम शाह, आइकोनीक हेल्थ प्रोफेशनल अवार्ड डा. भगवान कोइराला, आइकोनीक सेफ अवार्ड सेफ सन्तोष शाह, बैङ्किङ सिइओ अफ दि इयर बैंकर किरणकुमार श्रेष्ठ लगायतलाई सम्मान गरेको थियो ।
    यस्तै, सो अवसरमा आइकोनीक एभियसन प्रर्सनालिटी अवार्ड क्याप्टेन विजय लामा, उत्कृष्ट मिडिया प्रर्सनालिटी अवार्ड वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ ,उत्कृष्ट महिला उद्यमी अवार्ड विदुषी राणा, भर्सटायल सिङ्गर आनन्द कार्की, उत्कृष्ट हस्पिटालीटि सर्भिस अवार्ड अभिशेक विक्रम शाह, उद्यमशीलता उत्कृष्ट अवार्ड बद्री खनाल, उत्कृष्ट युवा उद्यमी अवार्ड करण चौधरी, उत्कृष्ट पत्रकारिता अवार्ड सविन धमला, उत्कृष्ट भिडियो पत्रकारीता अवार्ड अशोक बस्नेत, युवा उद्यमी अवार्ड सागर ढकाल, मिडिया पर्सनालिटी अवार्ड गिता श्रद्धा अर्याल समेत सम्मानित भएका छन् ।
    नेपालबाट विदेशीभूमिमा गई आफुलाई व्यवसायीको रुपमा स्थापित गराई व्यवसायीहरूपमा सफलता हासिल गरेका डायस्पोरा बिजनेश अवार्डबाट राजेन्द्रकुमार शर्मा (कतार), जलविद्युत उद्यमी अवार्डबाट खगेन्द्र न्यौपाने (मलेसिया), प्रभावशाली युवा उद्यमी अवार्डबाट स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया) र युथ लिडरसिप एचिभर्स अवार्डबाट युवा व्यवसायी सुलन थापा (जापान)लाई सम्मान गरिएको छ ।
    सिजन मिडियाले एसियन मुलुकका विभिन्न व्यवसायीक व्यक्तिवहरूलाई पनि नेपालमा निमन्त्रर्णा गरी विभिन्न विधामा अवार्ड वितरण गरेको थियो । अन्तर्राष्ट्रिय विज्ञ अवार्ड डा. नेहाल मयूर भारत, मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड रथचाफोल सुवानचोट थाइल्याण्ड र यू क्याव मायो मिन म्यान्मारलाई प्रदान गरिएको थियो ।
    उत्कृष्ट शान्ति र मानवीय सेवा अवार्डबाट सोमचाई चत्री थाइल्याण्ड, ड्रामा फर सोसियल एक्सिलेन्स अवार्डबाट जुल्पकावत श्रीसुवुन थाइल्याण्ड, उत्कृष्ट मिडिया प्रोफेसनल अवार्डबाट होउ झिहोङ चीन, उत्कृष्ट अन्तर्राष्ट्रिय व्यावसायिक प्रशिक्षक डा. स्टीवन खाव, मलेशिया मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्डबाट फैजल रजा खान पाकिस्तान र सामाजिक कार्यकर्ता पुरस्कार सोक्चान लुन कम्बोडियनलाई अवार्ड प्रदान गरीएको थियो ।

‘ककनी प्रचुर सम्भावना भएको क्षेत्र हो’

डा. बाबुराम भट्टराई परिवारको साथ ककनीमा

ककनी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नुवाकोट जिल्लको पर्यटकीय क्षेत्र ककनीको भ्रमण गर्दै त्यसको पर्यटकीय विकासको सम्भावना आफ्नो धारणा सार्वजनिक गरेका छन् । तीन दिने ककनी बसाईका क्रममा विभिन्न मनोरम दृष्यहरूको फोटो समेत सार्वजनिक गर्दै डा. भट्टराईले नुवाकोटको ककनी पर्यकटकीय विकासका लागि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरे ।
    भ्रमणपछि उनले आफ्नो समाजिक सञ्जल फेसबुक मार्फत भनेका छन्, ‘राजधानी निकट नुवाकोटको ककनी क्षेत्र पर्यापर्यटन, साहसिक पर्यटन, मनोरन्जनात्मक पर्यटन लगायत ट्राउट माछा, स्ट्रबेरी आदि व्यवसायिक खेती र विविध उद्यमशीलताको प्रचुर सम्भावना भएको क्षेत्र हो ।’
    पूर्व प्रधानमन्त्री भट्टराईले त्यस क्षेत्रको विकासको मुख्य मेरूदण्ड रहेको देशकै सबभन्दा पुरानोमध्येको काठमाडौं–ककनी–त्रिशुली सडक गत १० बर्षदेखि जीर्ण अवस्थामा अलपत्र रहेको र विभिन्न वहानामा छिटै बन्नेबारे अझै आशंका रहेकाले त्यसक्षेत्रको समग्र विकासमा निकै वाधा परेको प्रत्यक्ष अनुभूत भएको समेत आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
    उनले विभिन्न समस्याका बाबजुत पनि युवा उद्यमीहरूले त्यहॉ एड्भेन्चर क्याम्प, होमस्टे, होटेल, व्यवसायिक खेती आदिमा निकै लगानी गरेकोमा प्रशंसा समेत गरेका छन् । उनले युवाहरूको त्यस्ता सक्रिय जागकतालाई जिम्मेवार व्यक्ति र निकायले तिनलाई निराश पारेर विदेशिनु पर्ने अवस्था सिर्जना नगरुन भनेर सुझाव पनि दिएका छन् ।
    डा. भट्टराईले आफ्नो भ्रमण र तीन दिनको बसाई र घुमघाम निकै सुखद बनाउनुहुने सबैलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

तस्बिर समाचार

रसुवा जिल्लाको मैलुङमा रहेको भाङ्गे झरना । जसले पछिल्लो दुई वर्षदेखि आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ । तस्बिर : इमेज


वाणिज्य संघले सुरु गर्यो मुखपत्र प्रकाशन

मुखपत्र बिमोचन कार्यक्रम

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले मुखपत्रका रुपमा अर्धवार्षिक बुलेटिन ‘उद्योग वाणिज्य सन्देश’ प्रकाशन थालेको छ । कात्तिक पहिलो हप्ता संघले मुख पत्रको विमोचन गरेको छ । संघले प्रकाशन आरम्भ गरेको अर्धवार्षिक बुलेटिनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष ताराबहादुर कार्कीले संघको सचिवालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच विमोचन गरेका हुन् ।
    संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नका साथै सरोकारवालासँगको सहमति र सहकार्यलाई जोड दिनेछ । संघको मुखपत्रका रुपमा प्रकाशन गरिएको रङ्गिन बुलेटिनले संघका गतिविधि तथा कार्यक्रम र उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य सन्देश प्रकाशनका संयोजक सन्तोष उप्रेतीले बताए ।
    मुखपत्र बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले आफ्नो धारणा राख्दै नुवाकोट उद्योग बाणिज्य संघ अब ‘डिजिटल युगमा प्रवेश गर्नुपर्ने’ र आर्थिक उन्नतीका लागि अभियान चलाउनुपर्ने बताए ।

दसैंलाई आर्थिक मन्दीको असर, प्रहरीले जुवाको खालमा समेत पैसा भेट्न सकेन

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
    दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरूलाई बैंकबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरू बताउँछन् । निजी क्षेत्रका मालिकमात्र होइन मजदुर कर्मचारीहरूले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् ।
    त्यसो त लुकी छिपी जुवातास खेल्नेहरूको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताउँछन् । उनले भने, ‘१५ जना समातिँदा ३० रुपैयाँ हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।’ उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरू यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताउँछन् । उनले भने, ‘आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कस्ले खेल्ने ?’ हुनेखाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनी बताउँछन् ।  उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउँछन् । यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ । उनले भने, ‘क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।’ दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उनी बताउँछन् । यससँगै मानिसहरूमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उनले बताए ।
    पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, ‘दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।’ मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले बताए । उनले भने, ‘सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो छ सय रुपैयाँमा बिक्री भएकामा पछिल्ला दिनहरूमा पाँच सय रुपैयाँमा पनि बिक्न सकेन ।’ कुखुराको खपत पनि निकै न्यून भएको उनी बताउँछन् ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, ‘आर्थिक रुपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।’ व्यावसायिक क्षेत्र धराशयी भएको र महङ्गी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उनको बुझाइ रहेको छ ।
    रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गरे । उनले भने, ‘दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।’ एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उनले बताए । उनले भने, ‘संस्कृति जगेर्नाका लागिमात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।’ सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग नआएको धेरैको भोगाइ छ ।

२०८० साल कात्तिक १३ गतेको सम्पादकीय

भुलिदै दसैंको मौलिक परम्परा
यसपटकको दसैं सकिएको छ । दसैंको महत्व अन्य भन्दा हिन्दु धर्मालम्बीहरू मााझ छ । यसलाई बिजयको खुसीयाली भएकैले होला बिजयादशमी भनिन्छ । बिजयादशमी पर्व हिन्दु धर्मालम्बीहरूले धुमधामका साथ मनाउने गर्छन् । हुनेले खाने, पिउने, लगाउने नै भए । नहुनेले ऋणधन गरेर पनि मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा दसैंलाई मनाउने गरेको पाईन्छ । दसैंको रौनक हरेक तरिकाबाट देखिन्छ । अझै पनि बजारमा भन्दा गाउँमा दसैं आएको रौनक बढी हुने अनुभव हुन्छ । छोराछोरी पढाउन बजारतिर बस्नेलाई पनि चाडपर्व सुरु भएपनि छिटो गाउँ फर्किन मन लाग्छ । चाडपर्वको महत्व भनेको गाउँमा बढी हुने गरेको छ । बजारतिर सरसामान किन्नेको भिडभाड भएपनि गाउँमा भने मौलिक सांस्कृति र परम्परागत तौरतरिका हुन्छ । तर, युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता र परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ । रातो माटो र कमेरोले पोतिएर घर गाउँमा देखिन छोडेका छन् । इनामेल र आयातित रंगले घरघर रंगिन थालेपछि गाउँका मड्किना गृहिणीहरूले विर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ । सबै बस्तु बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन अब । दसैं नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन् । दशैं धार्मिक, सांस्कृतिक र सामाजिक चाड पनि हो । दशैंले समाजलाई जोड्छ । नाता सम्वन्धलाई नविकरण गरिदिएर सदभाव र अपनत्वको भाव उत्पन्न गरिदिन्छ । तर,मोवाइल र ईन्टरनेटको प्रयोगले नाता सम्वन्धहरू औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् । सानासाना नानीबाबुहरू मावली जान भन्दा मोवाइलमा गेम खेल्न रुचाउँछन् । पैदल हिडेर रात साँझमा माइती, मावली र ससुराली जानेहरू गाउँगाउँ सडक सञ्जाल पुगेपछि सवारी साधनमा हुइँकिन थालेपछि गाउँमा गोरेटो बाटोहरू पनि सुनसान देखिन्छन् । वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि हराईसकेको छ । गाउँको मौलिकता हराएको छ । गाउँलेहरू बजारमा आश्रित बनेका छन् । अचेल बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैँ कुरी रहनु नपर्नेभएको छ ।

अहिले शहरीकरण र बसाइँसराइले गर्दा पनि पहिलाको तुलनामा दशैंको त्यो रौनक हराउँदै गएको छ । नयाँ लुगा लगाउन र मिठो खान दशैं नै कुर्न‘ पर्छ भन्ने कुरा हराएको छ । पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एक गाउँठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र छ । परिणाम आफ्ना र आफन्तबीचमा दुरी बढेको छ । अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन । रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ । जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ । जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ । लाहुरे आएपछि उसकै घरमा लौ खसी काट्ने भन्ने सुनिन्थ्यो । अहिले भने लाहुरेको खासै मतलव छैन । बजारतिर सुनसान बन्दै जाादा गाउँतिर रौनक बढ्न सुरु हुन्छ । खसी, बोका खोज्न दुर्गम गाउँतिर जानेहरूको छुट्टै मजा छ । दसैंलाई पालेको खसी मोटायो कि दुब्लायो भनेर हेर्न जाने गर्थे । दसैंं सुरु भएपछि गाउँ–गाउँमा माईकका आवाज आउन थाल्छ । पहिले पहिले भने नवदुर्गा सुरु भएपछि दैनिक कोटघरमा बन्दुक पड्काउने, मेला लाग्ने हुन्थ्यो । तर गाउँको रौनकका रुपमा लिईने भरुवा बन्दुक कमै पड्कन थालेका छन् । १५÷२० वर्ष अघिसम्म गाउँमा भरुवा बन्दुक पड्केको आवाजले दसैंं आएको रौनकै बेग्लै हुने गर्दथ्यो । तर, अहिले भने कमै सुनिन्छ । गाउाका कोटघरमा घटस्थापनामा जमरा राख्नेदिन देखिनै दैनिक भरुवा बन्दुकको आवाज आउन थालेपछि दसैंको महशुष हुने गर्दथ्यो ।
    आजकाल भने दसैं आएजस्तो पनि नहुने अवस्था छ । स्थानीयबासी मौलिक परम्परा हराउदै गएकोमा चिन्तित छन् । समय, काल, परिस्थितिले पनि यस्तो भएको हुनसक्छ । गाउँमा पहिले प्रायः भरुवा बन्दुक हुने गर्दथ्यो । तर, माओवादी द्वन्द्वयता भने प्रशासनले त्यस्ता बन्दुक राख्न दिएको छैन । भरुवा बन्दुक बिहे, दसैं, अन्य चाडपर्वमा साईत हेरेर पड्काउने गरिन्छ । गाउँघरमा भरुवा बन्दुक पड्काउने, शंख फुक्ने आवाज आउन छाडिसकेको छ । गाउँघर र छिमेकी गाउँमा घटस्थापनादेखि सुरु हुने सामुहिक पुजा, कोटघरमा रमाईलोसंग गरिने पुजा पनि कमै मात्र हुन थालिसकेको छ । बैद्धिक विधिअनुसार नवरात्रका नौ दिनसम्म कुल देवता र शक्तिपिठमा बसेर गाउलेले पुजा गर्ने, नौ दिन निराहार बस्ने र अष्टमीका दिनमा कालरात्री पुजा गरिसकेपछि मात्रै खाने चलन समेत हट्न थालिसकेको छ । बजारमा बस्नेलाई यस्ता कुराको कुनै मतलव नै छैन । घर घरमा मानो उठाउने र मठ मन्दिरमा बृद्ध, युवाहरू नवरात्रमा बस्ने चलन पनि हट्न थालेको छ । गाविसमा भएका कोटघरमा सामुहिक पुजामा समेत समस्या आईसकेको छ । कोटघरमा जाने बाटो खन्न समेत छाडिएको छ । अहिले सरकारी पैसा आएपछि मात्र बाटो खनिन्छ । अझै टाठाबाठा उपभोक्ता समूह परे भने त त्यो बाटो पनि खनिदैन । सरकारी रकम आउला र बाटो खनम्ला भन्ने हुन थालिसके । युवाको विदेश पलायन, आधुनिक संस्कृतिको विकाससंगै पुराना चलनहरू हट्दै गएको हुन सक्छ । यातायात र सञ्चारको विकाससंगै भित्रिएको बाह्य संस्कृतिले मौलिक पर्वहरू आधुनिक बन्दै गएका हुन् । दसैं पनि सांस्कृतिक अतिक्रमणमा परेको छ । गाँउघरमा राखिने रोटे पिङ्ग, लिङ्गे पिङ्ग, जाँंते पिङ्ग समेत कम हुदै गएको छ । तर, मौलिक परम्परा भुल्दै जानु दुःख पक्ष हो । 

२०८० साल कात्तिक १३ गते । वर्ष:१७ अंक:५

 

Monday, October 16, 2023

कारागार निर्माण अलपत्र

 नुवाकोटमा निर्माणाधिन केन्द्रीय कारागार

विदुर । केन्द्रीय कारागार नुवाकोटमा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र पूरा भएको छ । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने तोकिएको समयमा पूरा नहुँदा आयोजनाको लगानी अलपत्र अवस्थामा रहेको छ ।
    विदुर नगरपालिका–६ खम्पाली क्याम्पमा निर्माण भइरहेको कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य राखिएको थियो । निर्धारित मिति दुई वर्ष गुज्रिसक्दा पनि कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत् गुरुयोजनासहित केन्द्रीय कारागार भवनको पहिलो चरणमा घेराबारा लगाउने काम सम्पन्न भएको छ । कारागार निर्माणको दोस्रो चरणको निर्माण कार्य पूरा भएको छैन । हालसम्मको प्रगति ९० प्रतशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका इन्जिनियर अजय भट्टराईले बताए ।
    सम्झौता भएको संरचनाको काम सम्पन्न भए एक हजार तीन सय कैदीबन्दी नुवाकोट स्थानान्तरण हुनेछन् । लामा÷रमण जेभीले २०७६ असोज २९ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोज ३० गते ४७ करोड ८१ लाख रुपैयाँमा सम्झौता गरेको थियो । छैटौँपटक थप गरिएको म्याद पनि २०८० असोज २ गते सकिएको छ । आर्थिक वर्ष २०७९/८० का लागि आठ करोड ७४ लाख बजेट थियो । सोमध्ये आठ करोड ७४ लाख रुपैयाँ खर्च भइसकेको छ ।
    सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्यअन्तर्गत आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गत वर्ष २०७९/८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको छ । आयोजनाले करिब साढे चार अर्ब लागतमा थप पाँच हजार पाँच सय थुनुवा कैदीबन्दी राख्ने संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।
    कारागारमा सीप भएकाहरूका लागि रोजगार कक्ष, खेलमैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए । बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्तावउपर मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट कार्य भइसकेको छ ।
अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि आव २०८०/८१ का लागि ४० करोड रकम सुनिश्चित गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनील ठाकुरले बताए । ५३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्रीय कारागार अझै पाँच हजार सात सय कैदीबन्दीका लागि राख्न भवन बनाउनुपर्ने आयोजना प्रमुख ठाकुरले बताए ।